Category: विविध

  • कक्षा १२ को परीक्षा भाद्र ३० बाट हुने, होम सेन्टरको व्यवस्था

    भक्तपुर, भाद्र १६
    यसअघि स्थगित भएको कक्षा १२ को परीक्षा यही भाद्र ३० गतेदेखी सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधवार बसेको बैठकले रोकिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
    बोर्डले परीक्षाको तालिका समेत प्रकाशन गरेको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर, कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो ।
    बोर्डले होम सेन्टरबाटै परीक्षा दिन पाईने व्यवस्था गरेको छ । बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कोरोनाको जोखिम रहेको अवस्थामा परीक्षार्थीलाई अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, कोठा खोजेर बस्नुपर्ने बाध्यता हुने भएकाले होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताउनुभयो ।
    कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गरिएपनि १२ को भने भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो ।
    कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००, एक सयभन्दा कम विद्यार्थी भएका तीन हजार ४०० र ५०० भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा छन । सरकारले यसअघि परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप अभियानसमेत सञ्चालन गरेको थियो ।

  • प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता खोजौं – सञ्चारसचिव अर्याल

    काठमाण्डौं, भाद्र १५
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता कायम गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । सचिव अर्यालले आज (मंगलवार) प्रेस काउन्सिल नेपालको भ्रमण गर्दै काउन्सिलले सञ्चारमाध्यमको अनुगमन तथा नियमनसँगै प्रेस स्वतन्त्रताको रक्षाका साथै जवाफदेहिता कायम गर्नुपर्ने जोड दिनुभयो ।
    सचिव अर्यालले काउन्सिलको उद्देश्य अनुसार दायरा फराकिलो रहेको भन्दै पहिले के काम गर्ने हो त्यो निश्चित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले सञ्चारसम्बन्धी कानुनमा के कस्तो सुधार गर्नुपर्ने हो सुझाव दिन आग्रह गर्दै स्वतन्त्रताभित्र जवाफदेहीता हुनुपर्ने धारणा राख्नुभयो । काउन्सिल र मन्त्रालयबीच उचित समन्वय हुनुपर्ने भन्दै उहाँले काउन्सिलले के कस्तो आधारमा कसरी अनुगमन गरेको छ ? सरोकारवालासँग छलफल हुनुपर्ने बताउनुभयो । उहाँले आवश्यक सहयोग, समन्वय र सहकार्यको लागि मन्त्रालय सधैँ तयार रहेको उल्लेख गर्दै अनलाइन वर्गिकरण, प्रेस सङ्ग्राहलय निमार्र्ण तथा कर्मचारी विनियमावलीको विषयमा थप छलफल गर्नुपर्ने बताउनुभयो ।
    काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाबाट आएका सामग्रीहरु हेर्ने र उजुरी सुन्ने जिम्मा काउन्सिलको भएको बताउँदै यसबीच भए गरिएका काम–कारबाहीबारे संक्षिप्तमा धारणा राख्नुभयो । उहाँले प्रेस स्वतन्त्रताको संरक्षण, आचारसंहिताको निमार्ण र कार्यान्वयन, पत्रकार तथा कर्मचारीको दक्षता अभिवृद्धि लगायतको काम काउन्सिलले गर्दै आएको बताउनुभयो । उहाँले प्रेस सङ्ग्राहलय निमार्णको काम अगाडि बढेकाले यसलाई प्रभावकारी बनाउन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।


    काउन्सिलका सदस्य दीपक पाण्डेले काउन्सिल कस्तो बनाउने भन्नेमा विस्तृत छलफल हुनुपर्ने धारणा राख्नुभयो । काउन्सिलका सदस्य–सचिव गोगनबहादुर हमालले काउन्सिल र सूचना तथा प्रसारण विभागबाट प्रदान हुने सेवाबारे जानकारी दिदैं मिडियाको व्यवसायिकता र विश्वसनियता बढाउनुपर्ने, श्रमजीवी पत्रकारको हितमा थप काम गर्नुपर्ने बताउनुभयो ।
    काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले हालसम्म सूचीकरण भएका अनलाइन, काउन्सिलको काम, कर्तव्य र उद्देश्य लगायत काउन्सिलको समग्र पक्षबारे जानकारी दिनुभयो । उहाँले पत्रपत्रिकारको वर्गीकरण, अनलाइनबाट उजुरी, मिडिया विकास कोषबाट सञ्चारमाध्यम एवं पत्रकारलाई दिइँदै आएको अनुदान, काउन्सिलको गठन, ऐन, नियम तथा मापदण्ड, काउन्सिलको पदाधिकारी नियुक्तिको प्रकृयाबारे पनि जानकारी गराउनुभयो ।
    सो अवसरमा सचिव अर्याल र मन्त्रालयका सहसचिव अनिलकुमार दत्त सहितले मिडिया अनुगमनमा प्रयोग भएका मिडिया अभिलेखीकरण प्रविधिको अवलोकन गरी के÷कसरी अनुगमन हुने गरेको छ भन्ने चासो राख्नुभएको थियो । उहाँको जिज्ञासाबारे उप–प्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिनुभयो । उहाँले प्रेस काउन्सिलसँग सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको अर्काइभ सिस्टम भएको भन्दै कोही कसैले गलत समाचार सम्प्रेषण गरेर डिलिट गरेपनि काउन्सिलसँग सुरक्षित रहने बताउनुभयो ।

  • समाजलाई आमुल परिवर्तन गर्न शिक्षामा जोड दिनुपर्छ – अध्यक्ष बिजुक्छें

    भक्तपुर, भाद्र १५
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजलाई आमुल परिवर्तन गर्न शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा मंगलबार भक्तपुर नगरपालिकाले आयोजना गरेको विचार गोष्ठीमा नेता बिजुक्छेंले हरेक विद्यालय तथा शैक्षिक संस्थाहरुमा सुविधायुक्त पुस्तकालयको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके शिक्षाको समेत विकास हुने बताउनुभयो ।
    उहाँले जनतालाई शिक्षित र देशलाई समृद्ध बनाउने उद्देश्यले पुस्तकालय दिवस मनाउनुपर्ने बताउनुभयो । “पुस्तकालय भनेको ज्ञानको भण्डार हो,” उहाँले भन्नुभयो, “तर ज्ञानको भण्डार नेपालका पुस्तकालयहरु अझै व्यवस्थापन हुन बाँकी रहेको छ ।”


    भक्तपुरमा रहेको सार्वजनिक पुस्तकालयहरुको व्यापक सदुपयोग गर्नुपर्ने औंल्याउनुहुँदै उहाँले पुस्तकालय व्यवस्थापकहरुको स्तरवृद्धि र पुस्तकालय व्यवस्थित सञ्चालनको लागि नगरपालिकाले प्राविधिक तथा आवश्यक सहयोग गर्नुपर्छ भन्नुभयो ।
    सार्वजनिक पुस्तकालयहरुमा दक्ष जनशक्तिको अभाव देखिएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले पुस्तकालयमा आउने पाठकलाई राम्रोसँग व्यवहार गर्ने र पुस्तक दिने जनशक्ति व्यवस्थापनमा पुस्तकालयहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।
    “पुस्तकालयमा बस्ने जनशक्तिलाई वैज्ञानिक पुस्तकालय व्यवस्थापनबारे तालिम दिनुपर्छ,” उहाँले भन्नुभयो, “प्राचीन महत्व बोकेका पुस्तकहरुको संग्रह पुस्तकालयले सुरक्षित ढंगले राख्नुपर्ने र नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि पुस्तकालय गएर अध्ययन गर्ने संस्कृतिको विकासमा जोड दिनुपर्छ ।”
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान र प्रविधिको विकाससँगै आधुनिक र प्रविधियुक्त पुस्तकालयको महत्व झन् बढ्दै गएको बताउँदैं भक्तपुर नगरपालिकाबाट सञ्चालित जनज्योति पुस्तकालयलाई थप व्यवस्थित र समायानुकूल सुधार गर्ने प्रयास गरिरहेको जानकारी दिनुभयो ।
    “जनज्योति पुस्तकालयमा इ. लाइब्रेरीको विकास, उच्च शिक्षाको लागि अध्ययन गर्न छुट्टै व्यवस्थित अध्ययन कक्षको व्यवस्था र उच्च शिक्षा हासिल गर्ने विद्यार्थी र बुद्धिजिबीहरुको सुझावअनुसार थप पुस्तकहरु राख्ने हामीले तयारी गरिरहेका छौं,” उहाँले भन्नुभयो ।


    पुस्तकालय भनेको नयाँ बिषय अध्ययन अनुसन्धान गर्नेहरुको लागि अत्यन्त उपयोगी ठाउँ भएको बताउँदै उहाँले प्राचीन पुस्तक र पत्रपत्रिकाहरु पनि पुस्तकालयहरुमा सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुस्तक पढ्ने बानी र पुस्तलकालयसँग अभ्यस्त रहने बानीले सुसंस्कृत, सुसुचित र सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो । उहाँले समाजका हरेक क्षेत्रमा राष्ट्रिय, नगरस्तरीय, विश्वविद्यालय, कलेज÷विद्यालयस्तरीय मात्र नभई वडा÷ टोलहरुमा समेत पुस्तकालयहरु अपरिहार्य भएको बताउनुभयो ।
    इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपालमा संस्थागत रुपमा पुस्तकालय स्थापना भएको २०० वर्षभन्दा लामो इतिहास पूरा भएको बताउँदैं भक्तपुरको साकोथामा अवस्थित साफू कुथि छेँ नेपालकै पहिलो पुस्तकालय भएको र यसबाट भक्तपुर शिक्षाको केन्द्रको रुपमा रहेको स्पष्ट पार्नुभयो ।
    विचार गोष्ठीमा भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य छोरीमैया सुजखु (प्रजापति), जनज्योति पुस्तकालयका अधिकृत भूपाल मूल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, वडा नं. ९ का वडाअध्यक्ष रबिन्द्र ज्याख्व, भक्तपुर पुस्तकालय संघका अध्यक्ष सुरेन्द्र दुवाल, प्रगति पुस्तकालयका अध्यक्ष रबिन्द्रप्रसाद कुसी, सहिद राजकुमार स्मृति पुस्तकालयका अध्यक्ष कृष्णप्रसाद सुवाल र सहिद स्मृति पुस्तकालयका अध्यक्ष नारायणप्रसाद मचामसीले पुस्तकालयहरुको इतिहास, वर्तमान अवस्था र चुनौतीहरुबारे आआफ्नो धारणा राख्नुभएको थियो ।

  • किटनाशक विषादीको विकल्पमा जैविक विषादीको प्रयोग बढ्दो

    लक्ष्मी गारु, भक्तपुर, भाद्र १५
    भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा विषादी प्रयोग गर्न छाड्नुभएको छ । उहाँले एग्रोभेटको सुझाव अनुसार भिटामिनको प्रयोग गरेपनि किटनाशक विषादीको स्थानमा जैविक विषादी प्रयोग गरेको बताउनुभयो ।
    “बालीमा किरा वा रोग लागे सो अनुसार तितेपाती, क्यातुके, गाईको गहुँत मिसाएर २२ दिनसम्म पकाएर कालो कपडाले छोपी हावा जान नदिएर बनाएको स्थानीय विषादी प्रयोग गर्छु । रासायनिक किटनाशक विषादी हालेको तरकारी आफू पनि खान्न, अरुलाई खुवाउनु हुँदैन,” उहाँले भन्नुभयो ।
    सूर्यविनायक नगरपालिका–७ कै अर्का किसान सुमित्रा मगरले पनि तरकारीमा न्यून मात्रामा विषादी प्रयोग गर्ने गरेको बताउनुभयो । उहाँले पनि एग्रोभेटको अनुसार भिटामिन थोरै प्रयोग गर्ने गरेको जानकारी दिँदैं विषादीकोरुपमा घरेलु उपचार विधि सञ्चो, टिमुर लसुन प्रयोग गरिएको बताउनुभयो ।
    अर्का किसान सरस्वती नगरकोटीले टिमुर २० ग्राम, ल्वाङ २० ग्राम, खोर्सानी ५० ग्राम, रक्सी ५० एम.एल, लसुन ५० ग्राम, असुर बकाइनो, तितेपाती सुकेको १०० ग्राम १ लिटर पानीमा ४५ मिनेट पकाएर विषादी बनाउन सकिने जानकारी दिनुभयो ।
    त्यसैगरी चाँगुनारायण नगरपालिका–२ का किसान टेकबहादुर लाखाजुले रासायनिक मल प्रयोग नगरी तरकारी बालीमा जैविक मल प्रयोग गरेको बताउनुभयो । उहाँले उपभोक्ताहरुले पनि जैविक मल प्रयोग गरेको तथा अर्गानिक तरकारी उपभोग गरेर रासायनिक मल र विषादी प्रयोग गरेका तरकारीलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
    भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका किसानहरुले तरकारी बालीमा विषादी र रासायनिक मलको विकल्पमा जैविक मल र विषादी प्रयोग गर्न थालेका छन । मानव अधिकार सञ्चार प्रतिष्ठान, नेपाल (इह्रिकन)ले भक्तपुरका ती दुई नगरपालिकामा गरेको अध्ययनले किसानहरु विषादी र रासायनिक मलको प्रयोगमा सचेत बन्दै गएको देखिएको हो ।
    जिल्लाका ग्रामिण भेगमा गम्भिर प्रकृतिका नसर्ने रोग लागेका बिरामीहरुको संख्या बढ्न थालेपछि किसानहरुले तरकारी बालीमा विषादी प्रयोगमा कमी ल्याएको सो अध्ययनले देखाएको छ ।
    “विगत पाँच वर्षको तुलनामा अहिले सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा लगाइएका तरकारीमा विषादीको प्रयोगमा कमी भएको पाइएको छ,” इह्रिकनका कार्यक्रम व्यवस्थापक पंकज देवकोटाले भन्नुभयो, “तरकारीमा प्रयोग भएका विषादीले मानवीय स्वास्थ्यमा गम्भिर असर परेका विभिन्न समाचार, लेख रचना र सामाजिक सञ्चालबाट प्रचारप्रचार भएपछि स्थानीय किसानमा चेतना जागृत भएको छ ।”
    विषादीको प्रयोगमा तुलनात्मकरूपमा कमी आए पनि निर्मूल भने हुन सकेको छैन । केही किसानहरुले बढी उत्पादन गर्ने लोभमा मानव स्वास्थ्यमा गम्भिर असर गर्ने विषादी अझै प्रयोग गरिरहेको पनि सो प्रतिवेदनले औंल्याएको छ । अध्ययनका क्रममा छोटो समयमा राम्रो मूनाफा खोज्ने किसानको प्रवृत्तिका कारण तरकारीमा अन्धाधुन्नरुपमा विषादीको प्रयोग भएको पाईएको देवकोटाले बताउनुभयो ।
    चाँगुनारायण नगरपालिका–६ का किसान लक्ष्मी के. सी.ले विषादी प्रयोग नगर्दा पर्याप्त उत्पादन नहुने धारणाले गर्दा गोलभेडा खेतीमा सबैभन्दा बढी विषादी प्रयोग हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “टनेल खेतीमा अत्याधिक मात्रामा विषादी प्रयोग हुन्छ । त्यस्तै सबैभन्दा बढी माटोमा अम्लियपन हुनुको कारणनै झारमार्ने विषादीको प्रयोग बढी हुनु हो ।”
    नेपाल सरकारले नुवान, झारनासक टिटाक्लोर, डाइकोरफास्ट, काउरोक्युरादेन लगायतका विषादीहरु रोक लगाइएको छ । अध्ययनका क्रममा चाँगुनारायण र सूर्यविनायकमा उक्त विषादीको प्रयोग नभएको पाइएको देवकोटाले बताउनुभयो ।
    विषादीको प्रयोगले स्थानीय किसानले लगाएका बाली नालीहरुमा डडुवा, ढुसी, माटोको अम्लियपन बढ्दै गएकाले व्यवसायिक रूपमा लगाएका खेतीहरुमा समस्या आएको देवकोटाले बताउनुभयो । “किसानहरुले बालीनालीमा रासायनिक मल र विभिन्न किसिमका विषादीहरुको प्रयोग बढी गर्दा माटोको उर्वराशक्तिमा कमि आएकाले किसानहरुले रसायनिक मल भन्दा पनि स्थानीय कम्पोष्ट मलको प्रयोग गर्नुपर्ने र त्यसको लागि नगरपालिकाले आवश्यक व्यवस्था गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
    जैविक विषादीको प्रयोग बृद्धि गर्न किसानहरुलाई कृषि विषादी र किटनाशक औषधिसम्बन्धी तालिम तथा गोष्ठी आवश्यक भएको सूर्यविनायक नगरपालिका–७ स्थित साना किसान सहकारी संस्थाकी अध्यक्ष अम्बिका भण्डारी बस्नेतले बताउनुभयो । उहाँले विषादीको विकल्प नगरपालिकाले किसानलाई दिन नसकेको गुनासो गर्नुभयो ।
    तरकारीमा रसायनिक विषादीको सट्टा जैविक विषादिको प्रयोग सम्बन्धमा नगरपालिकाले स्थानीय किसानलाई तालिम दिए पनि किसानले भने एग्रोभेटको सल्लाहमा विषादीको प्रयोग गर्ने गरेको चाँगुनारायण नगरपालिकाको कृषि शाखा प्रमुख मणिराम दवाडीले बताउनुभयो ।
    कृषि व्यवसाय प्रवद्र्धन नीति, २०६३ मा व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरूको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने उद्देश्य अनुरुप प्राङ्गारिक खेती प्रविधिद्धारा उत्पादित कृषिवस्तुहरूको गुणस्तर प्रमाणीकरण गरी कृषि व्यवसायलाई प्रवद्र्धन गरिने उल्लेख गरेपनि स्थानीय स्तरमा त्यस्तो व्यवस्था नभएको नीतिगत विष्लेषण पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    प्रतिवेदनमा चाँगुनारायण नगरपालिकाको कृषि कार्यमा हुने विषादि प्रयोगलाई नियन्त्रण गर्नको लागि आवश्यक कदम अगाडि बढाइने र सूर्यविनायक नगरपालिकाले कृषिलाई आधुनिकिकरण र व्यावसायिकरण गर्ने नीति लिएपनि सो अनुसार कार्यक्रम अघि बढाउन नसकेको बताईएको छ ।
    स्थानीय स्तरमा नै प्राप्त गर्न सकिने जडिवुटी, कुहिएका केराबाट भिटामिन बनाउन सक्ने, सिस्नो, तितेपाती, बकाइनो र खुर्सानीहरु पिधेर विषादी बनाउन सकिन्छ तर यस सम्बन्धमा स्थानीय तहले जुनरुपमा पैरबी गर्नुपर्ने हो सो नगरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
    नगरपालिकाले नै स्थानीय कानुन निर्माणमा रसायनिक विषादीको विकल्प जैविक विषादी हो भनी उल्लेख गरी सोही अनुसार कानुनलाई कडाइका साथ कार्यान्वयन गर्ने र किसानलाई जैविक विषादीप्रति सचेत पार्दै जाने हो भने किसानमा जैविक विषादीप्रति आकर्षण हुन सक्ने देखिन्छ । यसका लागि नगरापालिकाले अभियान नै सञ्चालन गर्नुपर्ने इह्रिकनको प्रतिवेदनले औंल्याएको छ ।
    त्यसैगरी जैविक विषादी र मलको प्रयोग बृद्धि गर्न माटोको उर्बराशक्ति परीक्षण गर्न स्थानीय स्तरमा माटो परीक्षणको व्यवस्था गर्नुपर्ने, किटनाशक औषधिको नियन्त्रण गर्नको लागि एग्रोभेटमा नै जैविक विषादीको प्रयोग बारे एग्रोभेट सञ्चालकहरुलाई प्रशिक्षण प्रदान गर्नुपर्ने आवश्यकता समेत प्रतिवेदनमा औंल्याएको छ ।

  • चित्तपोल स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्टे«टर सहयोग

    भक्तपुर, भाद्र १०
    सूर्यविनायक नगरपालिका–१० स्थित चित्तपोल स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्टे«टर सहयोग प्रदान गरिएको छ । शैक्षिक परामर्शको सेवा प्रदान गर्ने एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेस अन्तर्गतको एक्सपर्ट एडुकेशन फाउण्डेशनले बुधवार सो सहयोग प्रदान गरेको हो ।
    सो अवसरमा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् सूर्यविनायक नगरपालिका–१० का वडा अध्यक्ष शिवराम राउतले भक्तपुर जिल्लाकै विकट क्षेत्रको रुपमा रहेको चित्तपोल अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि विकास दृष्टिले पछाडी रहेको चर्चा गर्दै प्राप्त अक्सिजन कन्सन्ट्रेटर सहयोगले कोभिडको महामारीमा चित्तपोलका जनताको ज्यान जोगाउन थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफुहरु निर्वाचित भएर आएपछि हेल्थपोष्टको स्तरबृद्धि र गुणस्तरिय सेवाका लागि ल्याव स्थापना गरी सञ्चालनमा ल्याएको जानकारी गराउँदैं थप स्वास्थ्य सामग्री सहयोगको अपेक्षा गर्नुभयो ।
    स्थानीय समाजसेवी एवम् नेपाली कांग्रेसका नेता अंगत खड्काले जनताको जीउधनको रक्षाका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले कोभिड विरुद्धको लडाईं एक्लै लडेर जित्छु भन्ने कल्पना बाहिर भएको तथ्य विश्वको अवस्थाले छर्लङ पारेको बताउँदै चित्तपोल जस्तो ग्रामिण भेगको स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाउन स्वास्थ्य सामग्री सहयोग गर्ने संस्थालाई धन्यवाद दिनुभयो ।
    दातृ संस्था एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेसका देवी प्रसाद लम्सालले कोरोनाको दोस्रो लहरमा नेपालमा अक्सिजनको अभाव देखिएपछि ५० वटा अक्सिजन कन्सन्ट्रेटर अष्ट्रेलियाबाट ल्याएर देशका विभिन्न भागमा सहयोग प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले सर्भिसेसको देश विदेशमा गरी ३५ वटा शाखा रहेको र ती शाखाहरुमा कार्यरत करिव ६ सय कर्मचारीहरुले स्वईच्छाले गरेको सहयोग रकम तथा अन्य सहयोगी हातहरुबाट संकलित रकमबाट स्वास्थ्य सामग्री खरिद गरी सहयोग गरेको बताउनुभयो
    कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख मुकुन्द प्रसाद चौलागाईं र खिमानन्द पौडेलले प्राप्त सहयोगले स्वास्थ्य चौकीको सेवा बिस्तारमा थप टेवा पुगेको र यसले चित्तपोलका जनताले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास दिलाउनुभयो ।

  • मृतकको आत्माको शान्तिको कामना गर्दै गाईजात्रा मनाईंदै

    लक्ष्मी गारु, भक्तपुर, भाद्र ७
    हाँस्य व्यंग्य र ख्याल ठट्टासहित दिवंगतहरुको आत्माको शान्तिको कामना गर्दै आज काठमाडौं उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिती रहेको मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ साँपारु (गाईजात्रा) पर्व मनाईंदैछ ।
    साँपारु धार्मिक तथा सांस्कृति महत्व बोकेको पर्व हो । भक्तपुरमा साँपारुको औपचारिक शुरुवाट जनैपुर्णिमाको साँझ नै गरिन्छ । साँपारुको पूर्व सन्ध्यामा जनैपुर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पुजा गरि निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा साँपारु पर्व शुरु हुने परम्परा रहेको छ ।
    यसवर्ष कोरोना संक्रमणको जोखिमका कारण साँपारु पर्वलाई औपचारिकतामा सिमित गर्ने भक्तपुर नगरपालिका र सरोकारवाला निकायहरुको आग्रह र निर्णयका कारण आइतवार साँझ गाईजात्रा घिन्ताङघिसी नाच नगर परिक्रमा नगरिएको गुठी संस्थान भक्तपुरले जनाएको छ ।

    फाइल तस्विर

    भक्तपुर साँपारु पर्व औपचारिक शुरुवात जनैपुर्णिमाको साँझ भएपनि दरवारस्क्वायरस्थित तलेजु भवानीको साँया (गाईजात्रा) निकालेपछि मात्र सर्वसाधारणले आफ्ना मृतक आफन्तको सम्झनामा साँया निकालिन्छ । सो अनुसार सोमवार बिहान भाले नबास्दै तलेजुको साँया निकालिएको तलेजुका मुल नाईके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
    भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्रा भन्दा भिन्न र मौलिक शैलीको रुपमा लिईन्छ । यहाँको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो । त्यससँगै दिवंगतको आत्माको शान्तिको कामना गर्दै निकाल्ने तहामचा भक्तपुरमा मनाईने गाईजात्राको अर्को आकर्षण हो । त्यसैले भक्तपुरमा गाईजात्रा हेर्न तथा अवलोकन गर्न उपत्यकाका तीन जिल्लाका साथै आसपासका हजारौं मानिस आउने गर्दछ ।
    धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त लयमा घिन्ताङघिसी नाच करिव एक हात लामो गोलाकार काठको लट्ठी एक आपसमा बाजाको तालमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने नाच भएकोले जति बढी सहभागीको संख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ ।

    फाइल तस्विर

    तहामचा बाँसबाट बनाईन्छ । हरियो करिव १५ फिट लामो चारवटा बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाईन्छ । तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाईन्छ । तहामचालाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराईन्छ । तहामचामा मृतकको तस्विर समेत राखिन्छ । त्यसले जात्रा हेर्न आएकाहरुलाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्दछ । तहामचालाई नगरपरिक्रमा गराउनु पूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले क्रियापुत्रद्धारा संकल्प गराई विधि विधान अनुसार पुजा गर्ने प्रचलन रहेको छ ।
    भक्तपुर कै तालाकोस्थित कुमालेहरुले भने मृतक आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराईन्छ । कुमालेहरुको पुख्र्यौली पेशा माटोका भाँडा बनाउनु हो । त्यसैले उनीहरुले आफ्नै मौलिक पुख्यौली पेशा अन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गराईने गरेको संस्कृतिकर्मी प्रा डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन ।
    गाईंसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्री कृष्णा लिला समेत प्रदर्शन गरिन्छ । साथै केटाकेटीहरुलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाको रुपमा श्रृंगारी बाजागाजाका साथ वासा लुइके गरेर प्रर्दशन गर्ने प्रचलन समेत रहेको छ ।
    गाईजात्राको दिन विधिवत रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतक आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास रहेको छ ।
    गाईजात्रा विशेषगरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किम्वदन्ती भएपनि नेवार समुदाय बाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाईंदैन । मल्लकालमा नेपाल मण्डल विशेषगरी काठमाडौं उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वको रुपमा विकास भएको प्रा. डा. श्रेष्ठले बताउनुभयो । नेवार समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालिन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्रा. डा. श्रेष्ठको भनाई छ ।
    प्रा. डा. श्रेष्ठ गाईजात्रा नेवार समूदायले लिच्चवीकालदेखी नै मनाउँदैं आएको दावी गर्नुहुन्छ । ‘यो जात्रा प्रताप मल्लले चलाएको भन्ने कुरा सत्य होइन । मल्लहरुका पूर्वज जयस्थिति मल्ल हुन् । जयस्थिति मल्ल प्रतापमल्ल भन्दा तीन सयवर्ष अधिका उनका पूर्वज हुन् । जयस्थिति मल्लको पालामा लेखिएको प्रसिद्ध गोपालराजवंशावली ग्रन्थमा साँयात शव्दको उल्लेख छ, उहाँले भन्नुभयो, ‘साँ को अर्थ हो गाई र यात को अर्थ हो यात्रा वा जात्रा । यस प्रमाणको आधारमा जयस्थिति मल्लको पालामै गाईजात्रा मनाइन्थ्यो भन्ने कुरा थाहा पाइन्छ ।’
    लिच्छवीकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाईएकाले लिच्छवीकालमा पनि गाईजात्रा मनाईन्छ भन्ने मान्न सकिने उहाँको भनाई रहेको छ । उहाँले १४ औ शताव्दी भन्दा अगाडि लिच्छविकालको अन्त्यतिर गाईजात्रा पर्व सुरु भएको मान्न सकिने आधारहरु भएको बताउनुभयो ।
    प्रताप मल्लकी रानी पुत्र वियोगको शोकमा डुबेकाले रानीको मन शान्त पार्न सो बेलादेखी गाईजात्रामा हाँस्य व्यग्य, ख्याल ठट्टा समेत प्रदर्शन गर्न थालिएको हुन सक्ने संस्कृतिकर्मीहरुको मत रहेको छ ।
    भक्तपुरमा साँपारु पर्व तान्त्रिक विधिले गर्ने भएकाले यहाँको गाईजात्रा अन्य स्थानको भन्दा भिन्न र मौलिक शैलीको भएको अर्का संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताउनुभयो । ‘भक्तपुर तन्त्र विद्यायुक्त शहर हो । यहाँका हरेक साँस्कृतिक परम्पराहरु तान्तिक विधि पूर्वक मनाइन्छ,’ उहाँले भन्नुभयो, ‘भक्तपुरमा प्रत्येक पाइला पाइलामा तान्त्रिक शक्ति छ, त्यही शक्तिको आधारमा यहाँ सापारु मनाइन्छ ।’

    फाइल तस्विर

    भक्तपुर नगर तन्त्रको आधारमा स्थापित भएको र त्यही आधारलाई मानेर यहाँ मृतकको नाममा ताहासाँ, दोसाँ, महादेव पार्वती, बासा लाकेगुलगायत गरी नगरपरिक्रमा गराईने परम्परा रहेको राजोपाध्यायले बताउनुभयो । त्यसका साथै यहाँ राधाकृष्णको प्रतिक नागाचा प्याखं, देवी प्याखं, भैल प्याखं, माकचा प्याखं, लाखे प्याखं, लगायत विभिन्न नाचहरु प्रर्दशन गरिन्छ ।
    साँपारुको दिन मध्य रातमा तलेजुको ताहासाँले नगर परिक्रमा गरेर साँपारु शुरु गरिन्छ भने अन्तमा महादेव र पार्वतको प्रतिकका रुपमा परालको भैरव र नकीजु अजिमाको ताहासाँ बनाएर महादेवको गणहरुको प्रतिक घिङताघिसी लाने गरेको उहाँले बताउनुभयो ।
    ‘जात्रा एउटा शिवशक्तिको प्रतिकका रुपमा पनि लिइन्छ । नगर पक्रिमा गर्दा पाइला पाइलामा भएका दैविक शक्तिले मृतकको आत्मा शान्त गराइन्छ । यी सबै काठमाण्डौ र पाटनको भन्दा निकै फरक र पृथक छ,’ उहाँले भन्नुभयो ।
    गाईजात्रा सबै ठाउँमा मृतकको शान्तिका लागि मनाएपनि अन्य स्थानमा तान्त्रिक शक्ति नभएको राजोपाध्यायले बताउनुभयो । ‘पाटनमा दशमहाविद्या तन्त्र भएर पनि त्यो अनुसारको जात्रा मनाउँदैन । सामाजिक विकासको क्रममा काठमाण्डौ पाटनमा त्यो विस्थापित हुँदै गएकाले यहाँको जस्तो नमनाएको हो,’ उहाँले भन्नुभयो ।
    कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष गाईजात्रा पर्व दिउँसो नै समापन गर्ने तयारी भएको भैरव नाइके माइला छुकांले जानकारी दिनुभयो । भक्तपुरमा भैरवनाथको साँया निकालेपछि गाईजात्रा सम्पन्न हुने परम्परा रहेको छ । गुठी संस्थान, नगरपालिका र सरोकारवालाहरुको बैठकले यसवर्ष दिउँसो २ बजे नै भैरवको ताहासाँ निकालेर नगर परिक्रमा गर्ने तयारी भएको छुंकाले बताउनुभयो ।

    भक्तपुरमा यो पर्वको अवसरमा भाद्रकृष्ण अष्टमीसम्म शहरका देवीदेवताहरु दत्तात्रय, भैरव, भिमसेन, बाराही, कृष्णको खट जात्रा गरिन्छ । गाईजात्राकै अवसरमा भक्तपुरमा माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी नाच, भैरव नाच, लुसिचा प्याखंलगायतका नाच प्रदर्शन गर्ने प्रचलन रहेको छ । तर यसवर्ष कोरोनाका कारण ती नाचहरुको प्रदर्शनलाई स्थगित गरिएको छ ।

  • मध्यपुर थिमिको एक गेष्ट हाउसमा होक्स बम फेला

    भक्तपुर, भाद्र ६
    भक्तपुरको मध्यपुर थिमि–४ स्थित एक गेष्ट हाउसमा शनिवार राती होक्स बम फेला परेको छ । शिवशरण भुजुले सञ्चालन गरेको दिव्यश्वरी गेष्ट हाउसको पहिलो तलको कोठा नं. ४ मा सो होक्स बम फेला परेको हो ।
    बमलाई शनिवार राती नै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो ।
    घटना विवरण अनुसार भाद्र ५ गते करिव सत बजे दिव्यश्वरी गेष्ट हाउसको कोठा नं. ४ मा पुरानो कुकरमा नाङ्गो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद वस्तस फेला परेको थियो ।
    तत्कालै घटनास्थलमा महानगरिय प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायव उपरिक्षक नरहरी रेग्मी सहिको अनुसन्धान टोली घटना स्थल पुगेको थियो । प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोली समेत झिकाई राती साढे १० बजे शंकास्पद् बस्तुलाई निस्कृय पार्दा सो वस्तु होक्स बम भएको पुष्टि भएको प्रनाउ गिरीले जानकारी दिनुभयो । ‘शंकास्पद वस्तुमा बिष्फोटक पदार्थ फेला परेन। उक्त कुकर भित्र ब्याट्री तार राखी बिजुलीको प्लगमा जोडेको पाईयो,’ प्रनाउ गिरीले भन्नुभयो ।
    घटनाको अनुसन्धानको क्रममा बम राखेको अभियोगमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–२, डाडाँगाउ स्थायी घर भएका ३२ वर्षिय नबिन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङ गत साउन ३२ गते देखी उक्त गेष्ट हाउसको कोठा नं. ११० मा बस्दै आएका थिए । आफुलाई बुद्ध चित्रको माला बेच्ने भन्दै दिव्यश्वरी गेष्ट हाउसमा बस्दै आएका तामाङले खाएको र कोठाको भाडा समेत गरी ४० हजार पुगेपछि गेष्ट हाउसका सञ्चालक भुजुले पैसा माग्दा उनलाई तसार्उन तामाङले होक्स बम राखेको खुल्न आएको प्रनाउ गिरीले बताउनुभयो ।
    तामाङलाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • नेवार समुदाय गुन्हुपुन्ही, पहाडमा जनैपुर्णिमा र मधेशमा राखी मनाईंदैं

    लक्ष्मी गारु, भक्तपुर, भाद्र ६
    श्रावण शुक्ल पुर्णिमाको अवसरमा आज हर्षोल्लासका साथ नेवार समूदायले गुँपुन्ही, पहाडी समुदायले रक्षाबन्धन, जनैपुर्णिमा तथा ऋषितर्पणी र मधेसी समुदायले राखी पर्व धुमधामले मनाउँदैछ ।
    आज तागाधारीले एकाबिहानै नजिकको नदि, तलाउ, कुवा, पोखरी, कुण्डमा स्नानगरी जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) लगाईन्छ । वैदिक परम्पराअनुसार तागाधारीले लगाउने जनैलाई ब्रम्हसुत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । जनैमा दुई शिखा हुन्छ जसमध्ये एउटा शिखाका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर र अर्को शिखाका तीन डोरालाई कर्म, उपासना र ज्ञानको रुपमा लिईन्छ । जनै लगाउनेले माछा, मासु, मदिरा सेवन गर्न नहुने विधान रहेको छ ।
    यसै दिन शरीर शुद्ध गरी देवता, सप्तऋषिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्र र पितृलाई पनि तर्पण गरिने भएकाले नै जनैपुर्णिमाको दिनलाई ऋषितर्पणी समेत भन्ने गरिएको हो ।
    यसदिन गुरु पुरोहितको हातबाट मन्त्रोच्चारणगरी तयार गरेको रक्षासुत्र डोरो बाँध्ने प्रचलन पनि रहेको छ । गुरु पुरोहितहरूले मानव रक्षाका लागि जप, तप र पूजा गरी तयार गरेको डोरो ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ मन्त्रोच्चारणका साथ यजमानहरुको हातको नाडीमा बाँधिदिने गर्दछ । यसरी डोरो बाँध्ने प्रचलनले आजको दिनलाई रक्षाबन्धन पनि भनिन्छ ।
    नेवार समुदायले भने पञ्चतत्व अर्थात होम गर्दा हाल्ने तत्व सहितको डोरो बाँध्ने प्रचलन रहेको छ । जसले भुत, प्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ। विषेशत क्षेत्री बाहुनहरुले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भएपनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद ओम धौभडेलले बताउनुभयो । नेवार समुदायमा डोरो बाँध्दा बली राजाबाट रक्षा गरोस् भन्ने श्लोक वाचन गरि महिलाको बाँया र पुरुषको दायाँ हातमा डोरो बाध्ने गरिन्छ ।
    यसै दिन कम्तीमा नौ प्रकारका विभिन्न गेडागुडीहरुको मिश्रण क्वाँटी खाने प्रचलन समेत रहेको छ । विशेषगरी एकादशीको दिन भिजाएर टुसा उम्रिएको गेडागुडीको परिकार क्वाँटी खानाले शरीरमा ताप उत्पन्न हुने र वर्षायाममा लाग्ने चिसोको रोगबाट बच्ने, दुषित पानीका कारण लाग्ने रोग व्याधीले कमजोर पारेको शरिरलाई तागत दिने गर्दछ ।
    नेवार समुदायको गन्हुुपुन्ही
    श्रावण शुक्ल पुर्णिमालाई नेवार समुदायले भने गुन्हुपुन्ही पर्वको रुपमा मनाईन्छ । नेपाल सम्वतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौं महिना हो । गुँलामा पर्ने भएकाले नेवारीमा यसको नाम गुन्हुपुन्ही रहन गएको संस्कृतीकर्मीहरुको भनाई रहेको छ । गुन्हुपुन्हीकै असरमा नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने प्रचलन रहेको छ ।


    यही प्रचलन नेवार समुदायबाट बिस्तार भएर अन्य समुदायमा पनि क्वाँटी खाने प्रचलन चलेको संस्कृतिकर्मीहरुको भनाई छ । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ ।
    रोपाईं र धान खेत गोडमेलको बेला तथा वर्षातको मौसम भएकाले तातो पोषणयुक्त आहारले शरिरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञान अनुसार जनै पुर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।
    ‘खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसम अनुसारको चाडपर्व मनाउने र सोही अनुसारका खानेकुरा खाने गर्दछन यसको एउटा उदाहरण श्रावण शुक्ल पुर्णिमामा क्वाँटी खाने प्रचलन हो,’ उहाँले भन्नुभयो ।
    गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले पनि खस आर्य समुदायले जस्तै रक्षासुत्र डोरो बाँध्ने प्रचलन रहेको छ । नेवार समुदायले भने पञ्चतत्व सहितको डोरो बाँध्ने प्रचलन रहेको छ । जसले भुत, प्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशत क्षेत्री बाहुनहरुले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भएपनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद ओम धौभडेलले बताउनुभयो ।
    भ्यागुताको पुजा
    जनैपुर्णिमा अर्थात गुन्हुपुन्हीको अवसरमा आज नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुताको पुजा गरी भात र क्वाँती खुवाउँदै छ । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पु¥याउने जीवको रुपमा भ्यागुतालाई लिने गरिन्छ । कृषकहरु प्राकृतिक देवताका रुपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर भ्यागुतालाई पुज्ने गर्दछन ।


    वर्षा गराउने दुत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उव्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रुपमा सिमिको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारी लगायतका खाद्य परिकार राखेर खेत खेतमा गई किसानहरुले भ्यागुतालाई पुजा गर्ने तथा भोजन गराउने परम्परा रहेको प्रा. डा. श्रेष्ठ बताउ“छन । जसलाई स्थानिय भाषामा ‘व्या“चा जाः नक वानेगु’ भनिन्छ ।
    ‘मानिसको महान गुरुहरु मध्ये भ्यागुता पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरको रुपमा लिई नेवार समुदायले भ्यागुता पुजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो,’ उहाँले भन्नुभयो ।
    रोपाईंको समयमा कृषकहरुले आ–आफ्नो खेत खन्दा मरेका कीरा फट्याङ्गग्रा र भ्यागुतालाई मारेको दोष निवारण गर्न र पाप मोचन गर्नका लागि पनि आजका दिन भ्यागुतालाई पुजा र भोजन गराउने प्रचलन रहेको प्रा. डा. श्रेष्ठ बताउँछन ।

    भक्तपुरका कुण्डहरुमा मेला

    जनैपुर्णिमाको अवसरमा भक्तपुरका विभिन्न गुण्डहरुमा मेला लागेको छ । नगरकोटको महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचिन धल्चा पुखुः(कालदह)मा बिहानैदेखी स्नान गर्ने भक्तजनहरुको घुईंचो लागेको हो ।
    गोसाईंकुण्डको प्रतिक मानिने नगरकोटको महादेव पोखरीमा स्थानीय तामाङ झाँक्रीहरुको विशेष मेला लाग्दछ । आजको दिन परम्परागत भेषभुषा सजिएर डम्फु बजाउँदै नाच्दै पोखरीमा स्नान गर्ने प्रचलन रहेको संस्कृतिकर्मीहरु बताउँछन । जनैपुर्णिमाको दिन कुण्डहरुमा स्नान गरी महादेवको दर्शन गरे गुरुहरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।


    लोककथन अनुसार महादेवले कालकुट विष सेवन गरेपछि छटपटिएर गोसाईंकुण्ड जानेक्रममा नगरकोटमा बास बसेको धार्मिक विश्वासको आधारमा आजको दिन सो कुण्डमा मेला लाग्ने गरेको अर्का संस्कृतिकर्मी प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गोसाईंकुण्ड जान नसक्ने भक्तजनहरुले यो कुण्डमा स्नान गरे गोसाईंकुण्डमा स्नान गरे सरह नै पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।’
    त्यसैगरी गोसाईकुण्डकै प्रतिक मानिने भक्तपुरको धल्चा पुखुः (कालदह)मा पनि बिहानैदेखि स्नान गर्नेको भिड लागेको छ । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरवारस्क्वायरस्थित शिलु महादेव (फसी देगः) को दर्शन गरे गोसाईंकुण्ड गए सरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाईन्छ ।
    आजको दिन कालदहमा स्नान गरी महादेवको पुजाअर्चना गरे सुख, शान्ति र पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास र मान्यता समेत रहेको छ । कालदहमा स्नानपछि भक्तजनहरु जनै फेर्ने र रक्षा बन्धनको प्रतिक हातमा डोरो बाँध्ने गर्दछन ।
    मधेशी समुदायको राखी
    आजै मधेशी समुदायले भाई वहिनी विचको प्रेमको प्रतिकको रुपमा रहेको राखी पर्व धुमधामले मनाईन्छ । मधेशी समुदायका दिदी बहिनीहरुले आ–आफ्ना दाजु भाईको दिर्घायुको कामना गर्दै रक्षा कवचको प्रतिक हातमा रंगीविरंगी राखी बाँधिदिएर राखी पर्व मनाउँदै छन ।
    दिदीबहिनीले दाजुभाईलाई नाडीमा राखी बाँधेर दीर्घायू तथा प्रगतिको कामना गर्दै आशिष दिने गर्छिन भने दाजुभाईले पनि सक्दो उपहार दिने प्रचलन छ ।
    पछिल्लो समय यो संस्कृति काठमाडौं उपत्यका लगायत पहाडमा पनि बिस्तार भएको छ । आधुनिक प्रविधिको विकाससँगै एक समुदायको संस्कृती अन्य समुदायले पनि अनुसरण गर्ने क्रममा राखी बाँध्ने चलन मधेशी बाहेकका अन्य समुदायले पनि अनुशरण गर्न थालेको हो ।


    राखी बाँध्ने संस्कृति दिदीबहिनी र दाजुभाईबीचको आपसी प्रेम, सद्भाव बढाउनुका साथै एक अर्कामा भातृत्वको भावना जागृत गराउने पर्व हो । मधेशी बाहेकका अन्य समुदायमा यो संस्कृति विशेषगरी युवा पुस्तामा लोकप्रिय हुँदै गएको छ ।
    पहाडी समुदायमा दाजुभाईको दिर्घायुको कामना गर्दै तिहारमा भाईटिका गरेजस्तै मधेसी समुदायमा राखी बाँध्ने संस्कृति रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो । राखी बाँध्ने संस्कृति हाम्रै नेपालका मिथिलाञ्चल लगायतका तराई– मधेश क्षेत्रको संस्कृति भएकोले बिस्तारै अन्य समुदायमा पनि यसको प्रभाव बढ्दै जानु सामाजिक सद्भावका लागि उत्तम भएको उहाँले बताउनुभयो ।

  • कोरोनाको कारण बोडेको द्यो प्याखँ प्रदर्शन नहुने

    भक्तपुर, भाद्र ४
    मध्यपुर थिमि वडा नं. ८ र ९ बोडेमा गाईजात्राको भोलीपल्टदेखी शुरु हुने धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको द्यो प्याखँ (निलबाराही गणनाच) यसवर्ष प्रदर्शन नहुने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यसवर्ष द्यो प्याखँ प्रदर्शन नहुने ८ नं. वडा कार्यालयले जानकारी दिएको हो ।
    वडाका प्रमुख प्रशासकिय प्रमुख ई. रविन्द्र श्रेष्ठले शुक्रवार एक सूचना जारी गर्दै भिडभाड नहुने गरी विधि मात्र पुर्याई द्यो प्याखँ सम्पन्न गर्ने जानकारी दिनुभयो । सूचनामा कोरोना भाइरस (कोभिड –१९)को संक्रमण तीब्र रुपमा बढीरहेको कारणले द्यो प्याखँ प्रदर्शन नगर्ने र कुनै पनि पुजाआजा नगर्ने नगराउने उल्लेख गरिएको छ ।
    भक्तपुरका चार स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सबै भन्दा धेरै कोरोना प्रभावित स्थानीय तह हो । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मध्यपुर थिमिमा हिजो (बिहिवार) साँझसम्म ८ हजार ६०९ जना कोरोना संक्रमित भइसकेको छन भने यहाँ ६८ पुरुष र ३४ महिला गरी १०२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेको छ ।
    मध्यपुर थिमिमा २३६ पुरुष र २१० महिला गरी ४४६ जना सक्रिय संक्रमित छन । ती मध्ये १३ पुरुष र २० महिला गरी ३३ जना अस्पतालमा उपचाररत छन । सक्रिय संक्रमित मध्ये ४१३ जना होम आइसोलेसनमा छन ।

  • सल्लाघारीमा बसपार्क बनाउने कामनपाको प्रस्तावमा भक्तपुर नगरपालिकाद्वारा विरोध

    भक्तपुर, भाद्र १
    भक्तपुरको सल्लाघारीमा काठमाण्डौं उपत्यकाको पुर्वी नाका साँगाबाट उपत्यका प्रवेश गर्ने लामो दुरीका ठूला सार्वजनिक बसको बसपार्क बनाउने काठमाण्डौं महानगरपालिकाको प्रस्ताव प्रति भक्तपुर नगरपालिकाले विरोध गरेको छ ।
    भक्तपुर नगरपालिकाले काठमाण्डौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर सल्लाघारीको १०८ रोपनीको खुल्ला क्षेत्रमा पार्किङ व्यवस्थाको लागि प्रतिवेदन तयार गरेको भन्दै आपत्ति समेत व्यक्त गरेका छन । ‘काठमाण्डौं महानगरलाई आफ्नो क्षेत्राधिकार बुझ्न र स्थानीय सरकारको स्वायत्तताबारे अध्ययन गर्न पनि भक्तपुर नगरपालिका सचेत पार्न चाहन्छ,’ नगरपालिकाले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
    भक्तपुर नगरपालिकाको भौगोलिक र प्रशासनिक अधिकार क्षेत्रको विषयमा अनधिकृत रुपले काठमाडौं महानगरपालिकाले गठन गरेको अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्नुलाई खेदजनक विषय भएको बताएको छ भने ख्वप विश्वविद्यालय स्थापना गर्न नदिने जालसाजी भएको आरोप लगाएका छन ।
    विज्ञप्तीमा गत साउन ३२ गते महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी नेतृत्वको प्रतिनिधि मण्डलले नगरप्रमुख सुनिल प्रजापतिसँग भेटघाट गरेको र सो भेटमा विभिन्न विषयमा छलफल हुनुका साथै यातायात संचालन सम्बन्धी अध्ययन कार्यदलको विषयमा पनि सामान्य छलफल भएको जनाउँदैं सल्लाघारीस्थित १०८ रोपनी जग्गामा भक्तपुर नगरपालिकाले २०६० सालदेखि नै ख्वप विश्वविद्यालय स्थापना गरी सो अन्तर्गत चिकित्सा शास्त्र अध्ययनका लागि सदुपयोग गर्ने योजना रहेको विस्तृत जानकारी दिएको जनाएको छ ।
    छलफलमा बसपार्कजस्ता अत्यन्त व्यस्त हुने संवेदनशील विषयमा सबैसँग गहन छलफल गरी उपयुक्त ठाउँमा टुंगो लगाउनुपर्ने तथा बसपार्क क्षेत्रमा हुने वातावरणीय र साँस्कृतिक प्रदुषण, आर्थिक र सामाजिक प्रभावलगायतका विषयमा गम्भीरताका साथ अध्ययन हुनुपर्ने पनि सुझाव दिएको जनाएको छ ।
    नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टसँग समन्वय गरी आफ्नै लगानीमा चारैतिर पर्खाल लगाई गेटहरुकोसमेत व्यवस्था गरी संरक्षण गर्दै आएको जनाउँदैं काठमाण्डौ महानगरपालिकाको यातायात संचालन सम्बन्धी अध्ययन कार्यदलद्वारा सहमति विना यातायात सञ्चालनसम्बन्धी प्रतिवेदन पेश गरेको भन्दै प्रतिवेदनलाई भक्तपुर नगरपालिकाले गैरजिम्मेवार र स्थानीय तहको अधिकारमाथि हस्तक्षेपको रुपमा लिएको छ ।
    ‘भक्तपुर नगरपालिकाको भौगोलिक र प्रशासनिक कार्यक्षेत्रको सल्लाघारी क्षेत्रमा बसपार्क सञ्चालन गर्ने काठमाण्डौं महानगरपालिकाको कार्यदलले प्रस्ताव गर्नु संघीयताको मर्म विकेन्द्रीकरणको भावना र स्थानीय स्वायत्तताको सिद्धान्त विपरीतसमेत रहेको प्रष्ट पार्न चाहन्छ,’ विज्ञप्तीमा उल्लेख छ ।