Category: विविध

  • मध्यपुर थिमिको बोडेमा अवस्थित पलेस्वाँ पुखुःमा डुंगा सरर

    लक्ष्मी गारु, भक्तपुर, भाद्र ३०
    मध्यपुर थिमि–८ बोडेस्थित पलेस्वाँ पुखुः (कमलपोखरी)मा डुंगा सञ्चालनमा आएको छ । मध्यपुर थिमि नगरपालिकाले दुई वटा डुंगा स्थानीय उपभोक्ताहरुलाई सहयोग गरेसँगै पलेस्वाँ पुखुःमा शुक्रवारदेखी डुंगा सञ्चालनमा आएको हो ।
    बोडेको कुमारी मन्दिर परिसरका साथै मध्यपुर थिमि नगरभित्र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पलेस्वाँ पुखुःमा डुंगा सञ्चालनमा ल्याएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो । कुमारी परिसर र पलिस्वाँ पुखुःको सौन्दर्यले स्थानीय आन्तरिक पर्यटकलाई आकर्षित गर्न थालेसँगै सुन्दरतालाई थप बढाउन तथा पुखुःलाई जिवन्त बनाउन नगरपालिकाले स्थानीय युवा उपभोक्ताहरूमार्फत डुंगा सञ्चालनमा ल्याएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले डुंगा सञ्चालनसँगै आन्तरिक र बाह्य पर्यटक संख्यामा बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
    यो पोखरीमा फुलेको कमलको फुल बोडेस्थित तलेजु देवीलाई चढाउने परम्परा रहेको छ । “बोडेको यो कमलपोखरीमा फुलेको फुल स्थानीय लायकू दरबारमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने र साउनमा हुने नीलबाराही नाचमा सोही पोखरीमा फुलेको कमलको फुल चढाएर जात्रा चलाउने परम्परा छ,” स्थानीय बासिन्दा एवं वडा नं. ९ का वडाध्यक्ष रामकाजी चक्रधरले भन्नुभयो ।


    तत्कालीन बोडे गाउँ पञ्चायत वडा नं.६ को कित्ता नं १ को सो पोखरी १५ रोपनी नौ आना क्षेत्रफलको रहेको छ । सो पोखरी वि. सं. २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामाबाट मनाङ घरभई काठमाडौँको ठमेल बस्ने ग्ल्याल्पो गुरुङको नाममा बिक्रि भएको थियो । जसमध्ये १३ रोपनी नौ आना ग्ल्याल्पोको नाममा, एक रोपनी तेन्जी शेर्पेनीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङको नाममा रजिष्ट्रेसन पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा सो पोखरी बिक्रि गरेको पाइएको छ । पोखरी खरिदकर्ताले घर बनाउन भन्दै पोखरी पुर्न थालेपछि स्थानीयले सार्वजनिक पोखरी व्यक्तिको नाममा दर्ता गरी बिक्रि समेत भइसकेको जानकारी पाएका थिए ।
    धार्मिक महत्वको ऐतिहासिक पलेस्वाँ पुखुः व्यक्तिले दर्ता गरी नीजि बनाई सकेको अवस्थामा नगरपालिकामा जनप्रतिनिधिहरुको बहालीसँगै पुखुःलाई पुनः सार्वजनिक कायम गराउन कानुनी उपचार खोजिएको थियो । नगरपालिकाको अगुवाईमा स्थानीय संघर्ष समितिले भक्तपुर जिल्ला अदालतमा पुखुः सार्वजनिक कायम हुनुपर्ने माग दावीसहित रिट दर्ता गरिएको थियो । सोही मुद्दामा भक्तपुर जिल्ला अदालतले २०७५ असार १९ गते मंगलबार न्यायधीस मातृकाप्रसाद मरासिनीको इजलासले बोडे क्षेत्रको उक्त कमलपोखरी ‘पलेस्वाँ पुखु’ सार्वजनिक सम्पत्ति रहेको फैसला सुनाएको थियो ।


    फैसला लगत्तै नगरपालिकाले संरक्षणको कार्य थालेको थियो । नगरपालिकाले तत्काल पुखुःको सिमांकन छुट्याई चारैतर्फ पर्खाल लगाउन थाल्यो । पुखुः पुरानै स्वरुपमा फर्केपछि हालै स्थानीय युवाहरुले पुखुःभित्रको घाँस, झारपात उखेलेर सफा गरेको थियो । पुखुःको स्वामित्व विवाद सम्बन्धी मुद्दा हाल पाटन उच्च अदालतमा विचाराधिन रहेको छ ।
    पलेस्वाँ पुखुःमा डुंगा सञ्चालन गर्न नगरपालिकाले दुई वटा डुंगा प्रदान गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । स्थानीय उपभोक्ताको माग बमोजिम २ वटा डुंगा नगरपालिकाले खरिद गरेर अनुदान दिईएको हो, उहाँले भन्नुभयो । उहाँले एउटा डुंगाको मूल्य २ लाख ५० हजारमा खरिद गरेको जानकारी दिनुभयो ।
    स्थानीय युवाहरुको उपभोक्ता समितिले प्रतिव्यक्ति २५ रुपैंया शुल्क लिएर डुंगा सयर गर्ने व्यवस्था गरेको छ । डुंगा चढ्दा बालबालिका र जेष्ठ नागरिकलाई भने निःशुल्क गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । डुंगा सञ्चालन सम्बन्धी बाँकी व्यवस्थापन र कार्यविधि निर्माण स्थानीय उपभोक्ता समितिले गर्ने छ, नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।
    नगरपालिकाले चालु आर्थिक पलेस्वाँ पुखुः संरक्षणका लागि ७५ लाख रुपैंया विनियोजन गरेको छ । पुखुःलाई आकर्षक बनाउन पुखुःको चारैतीर ढलान गरेर मर्निङवाक गर्न सकिने गरी फुटपाथ निर्माण गरिएको छ । फुटपाथको निर्माणपछि साँझ बिहान पुखुःमा टहल्ने स्थानीयको भिड लाग्ने गरेको छ । पुखुःको थप आकर्षणको लागि हालै २० हजार माछाका भुरा छाडिएको छ ।
    आगामी दिनमा पुखुःको फुटपाथलाई थप स्तरीय बनाउन तथा खालि खुट्टा पनि हिंड्न मिल्ने गरी तेलीया र्इंटा बिच्छ्याउने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

    तस्विर ः नगरप्रमुख मदनसुन्दर श्रेष्ठको फेसबुकबाट

  • पिडित केन्द्रीत न्याय व्यवस्था र यसको कार्यान्वयन हुनुपर्नेमा जोड

    भक्तपुर, भाद्र २९
    मानव बेचबिखन र बाल संरक्षणको सवालमा पिडित केन्द्रीत न्याय व्यवस्था र यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिईएको छ । सेन्टर फर लिगल रिसर्च एण्ड रिसोर्स डेभलम्प्मेन्ट(सेलर्ड)ले भक्तपुरका सञ्चारकर्मीहरुलाई मंगलवार आयोजना गरेको मानव बेचबिखन तथा बाल संरक्षणबारे अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले मानव बेचबिखन र बाल संरक्षण सम्बन्धमा समाचार संप्रेषण गर्दा पिडितको न्यायलाई जोड दिनुपर्ने बताएको हो ।
    ‘सुरक्षाका लागि साथ– साथ परियोजना’अन्तर्गत सञ्चारकर्मीहरुलाई मानव बेचबिखन र बाल अधिकार संरक्षणका विषयमा जानकारी दिन र पीडितको अधिकारबारे दक्षता बृद्धि गर्नका लागि सेलर्डले सो कार्यक्रम आयोजना गरेको हो ।
    कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अवधारणा, कानूनी व्यवस्था र अन्तर सम्बन्ध सम्बन्धी प्रस्तुतीकरण गर्दै काठमाडौं स्कूल अफ ल का सहप्राध्यापक कपिल अर्यालले विभिन्न खाले प्रलोभनमा परेर शिक्षित र उच्च घरानाका सदस्य समेत मानव तस्करीको जालमा परेर बेचबिखनमा पर्ने गरेको बताउनुभयो ।


    उहाँले मानव बेचबिखन जस्तो जघन्य अपराध न्यूनिकरणका लागि सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो । अमेरिकादेखी अफ्रिकाको केन्यासम्म विभिन्न बहानामा मानव तस्करी हुने गरेको र एक अध्ययनले क्यूवापछि अमेरिकामा हुने मानव तस्करीका घटना र पिडितको संख्यामा नेपाल दोस्रो रहेको बताउनुभयो ।
    पिडितले नै अन्यलाई बेचबिखन गर्ने गरेको घटना समेत रहेको बताउँदैं सहप्राध्यापक अर्यालले तस्करहरुले वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई समेत अमेरिकालगायतका युरोपका धनी मुलुकमा पठाउने भनी बेचबिखन गर्ने गरेको तथ्यांक प्रस्तुत गर्नुभयो ।
    उहाँले नेपालका विकट पहाडी भूभागका गरिव बालबालिकाहरुलाई उचित शिक्षा दिक्षा दिने नाममा राजधानीलगायत ठूला शहरमा ल्याई बालगृहमा राख्ने र त्यहाँ उनीहरुलाई देखाएर विदेशी दाताबाट सहयोग लिई आयआर्जन गर्ने गरेको बताउनुभयो ।
    उहाँले मानव तस्करहरुले शहरमा आरामदायी जीवन जिउन पाईने, धनी मानिससँग बिवाह गराईदिन्छु, धर्म सन्तान बनाउने, शहरमा राम्रो जागिर लगाइदिने, व्यापारमा लगाईदिने, कलाकार वा मोडल बनाईदिने, शहरको राम्रो विद्यालयमा पढाईदिने र शहरमा घुम्न र रमाइलो गर्न जाने जस्ता प्रलोभनमा पारेर बेचबिखन गर्ने गरेको पाईएको जानकारी दिनुभयो ।
    सहप्राध्यापक अर्यालले नेपालका बालगृहहरु नै बालअधिकार हननको केन्द्र बनिरहेको जानकारी दिदैं सरकारको नीति अनुसार सेलर्डले बालगृहको अन्त्यका लागि कार्य गरिरहेको बताउनुभयो । उहाँले बाल अधिकार संरक्षणका लागि स्थानीय सरकारको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
    उहाँले बाल अधिकार र बाल संरक्षणको विषयमा स्थानीय तहलाई अधिकार दिइएको उल्लेख गर्दै अझ पनि बाल अधिकारको विषयलाई स्थानीय तहले प्राथमिकतामा राख्ने नगरेको बताउनुभयो ।
    सोही कार्यक्रममा अधिवक्ता सुखदेव सापकोटाले पीडितको अधिकार, पीडित केन्द्रीत न्याय व्यवस्था र त्यसको कार्यान्वयन विधि, बाल संरक्षणसम्बन्धी अवधारणा र मूलभूत कानूनी व्यवस्था, पीडित केन्द्रीत समाचार सम्प्रेषणबारे प्रस्तुती दिँदैं सञ्चारकर्मीहरुले पिडितको न्यायलाई केन्द्रमा राखी कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
    उहाँले रहेक घटनालाई नजिकबाट नियाल्न सक्ने सञ्चारकर्मीहरुले पीडितलाई न्याय हुने गरी समाचार, सूचना प्रकाशन र प्रशारण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले बालअधिकारको संरक्षण हुन नसक्दा बालबालिकाहरु समस्यामा पर्ने गरेको, बालबालिकाहरु विभिन्न खाले यौन दुव्र्यहार, यौन हिंसाको सिकारमा पर्न बाध्य भएको बताउनुभयो ।
    अधिवक्ता सापकोटाले मावन बेचबिखन, मानव तस्करी, ओसारपसारजस्ता विषय गहन र मानव अधिकारसँग जोडिएकाले सोबारेमा समाचार सम्प्रेषणको क्रममा संवेदनशीलता अपनाउनुपर्ने सुझाव दिनुभयो ।
    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले सञ्चारकर्मीहरुलाई पुनर्ताजगी गराउन, परिवर्तीत कानुनी व्यवस्थाका बारेमा जानकारी दिलाउन समय समयमा यस्ता अभिमुखीकरण कार्यक्रमको खाँचो रहेको बताउनुभयो ।
    अभिमुखीकरण कार्यक्रममा महासंघ भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्का, आयोजक सेलर्डका प्रतिनिधि अधिवक्ता जमूना पसछें, महासंघका सचिव संजीप घिमिरेलगायतले मानव बेचबिखन तथा बाल संरक्षणका विषयमा चर्चा गर्नुभएको थियो ।

  • प्रेमिकासँगको अश्लिल तस्विर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने युवक पक्राउ

    भक्तपुर, भाद्र २८
    महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले प्रेम सम्बन्धमा रहँदा प्रेमिकासँग खिचेको अश्लिल तस्विर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका – ८, घरभई हाल काठमाण्डौं टोखा धनेश्वर बस्ने २३ वर्षिय सुजन जिरेल छन ।
    पहिले प्रेमिकासँग प्रेम सम्बन्धमा हुँदा खिचेका फोटो, भिडियो अहिले सम्बन्ध बिग्रिएपछि फेसबुक र इन्स्टाग्राममा पोस्ट गर्ने कसुरमा उनलाई काभ्रेको पाँचखालबाट पक्राउ गरिएको महाशाखाका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
    महाशाखाका अनुसार जिरेलले प्रेमिकाको मोबाइल खोसेर मोबाइलमा रहेको फोटो र भिडियो फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए । एसपी कोइरालाका अनुसार काठमाडौंमा बस्ने जिरेलकी प्रेमिकाले आइतबार महाशाखामा उजुरी दिनुभएको थियो । प्रेम सम्बन्धमा हुँदा उनीहरुले एकअर्काको आइडी–पासवर्ड पनि शेयर गरेका थिए । यसको फाइदा उठाउँदै जिरेलले प्रेमिकाकै आइडीबाट अश्लिल भिडियो र फोटो अपलोड गरेका थिए ।
    पक्राउ परेका जिरेल विरुद्ध विद्युतीय कारोबार ऐन कसुरमा आवश्यक कारबाहीको लागि सोमबार महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाइएको महाशाखाले जानकारी दिए ।

  • मिडिया नेपालको उपाध्यक्षमा भक्तपुरका श्रेष्ठ

    भक्तपुर, भाद्र २८
    मिडिया नेपालको केन्द्रीय उपाध्यक्षमा भक्तपुरका वरिष्ठ पत्रकार विकलप्रसाद श्रेष्ठ मनोनित हुनुभएको छ । गोपाल प्रसाद पौड्यालको अध्यक्षतामा गठित केन्द्रीय कार्यसमितिमा पत्रकार श्रेष्ठ उपाध्यक्ष मनोनित हुनुभएको हो ।
    नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ लामो समयदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँको प्रकाशन र सम्पादनमा प्रक्षेपण दैनिक र नेपाल न्युज साप्ताहिक प्रकाशन हुँदै आएको छ ।
    मिडिया नेपालको विधानको परिच्छेद ५ को दफा १९ बमोजिम श्रेष्ठलाई उपाध्यक्षमा मनोनयन गरिएको हो । पत्रकार श्रेष्ठ सहित सूर्य बास्तोला कास्की, हेम्बाबू लेखक कञ्चनपुर, श्रीधर सुवेदी बाँके, अंगद देवकोटा जुम्लालाई पनि उपाध्यक्षमा मनोनयन गरिएको छ । मिडिया नेपालको महासचिवमा मुकुन्द ढुंगाना नुवाकोट र कोषाध्यक्षमा राजेन्द्र बस्नेत सोलुखुम्बुलाई मनोनयन गरिएको मिडिया नेपालले जनाएको छ ।

  • विश्वराम कवांको ‘मेरो जीवन यात्रा’ पुस्तक सार्वजनिक

    भक्तपुर, भाद्र २६
    भक्तपुरका सफल व्यवसायी विश्वराम कवांले आफ्नो जीवनीमा आधारित पुस्तक ‘मेरो जीवन यात्रा’ प्रकाशन गरेको छ । पुस्तकमा लेखकले आफ्नो बाल्यकालदेखि अहिलेसम्मको जीवन यात्राका विभिन्न पक्षहरुकाबारेमा बयान गर्नुभएको छ ।
    पुस्तक ६ खण्डमा विभाजित छ । पारिवारिक जीवन र विश्वराम कवां, खेलकुदमा विश्वराम कवां, शिक्षामा विश्वराम कवां, भक्तपुर काण्ड र विश्वराम कवां, सामाजिक कार्य र विश्वराम कवां तथा व्यवसायिक यात्रा र विश्वराम कवां गरी पुस्तक ६ भागमा विभाजित छन् ।
    शुरुमा शिक्षण पेशा रोजेका विश्वराम अहिले भक्तपुरका चर्चित व्यवसायीमा गनिन्छन् । शिक्षण पेशाबाट सेवा निबृत भएपछि उहाँले व्यवसायिक जीवन शुरु गर्नुभएको थियो । यो वीचमा उहाँ खेलकुद क्षेत्रमा पनि सक्रिय बन्नुभयो । साथै उहाँ समाजसेवामा पनि सक्रिय बन्नुभयो । पुस्तकमा उहाँले आफ्ना जीवनका यिनै पक्षहरुकोबारेमा चर्चा गर्नुभएको छ ।
    पुस्तकमा कवांको बारेमा विभिन्न क्षेत्रका नौ जना लेखेका लेखहरु पनि समावेश गरिएको छ । पुस्तकमा कवांको खेलकुद जीवनकोबारेमा रवीन्द्र खर्वुजा, शिक्षण पेशाकोबारेमा डा. किशोर हाकु दुवाल, सामाजिक कार्यकोबारेमा रामगोपाल कर्माचार्य, ज्ञानसागर प्रजापति, भक्त राजभण्डारी, नारायणबहादुर दुवाल, न्हुछेभक्त कवां, रामगोपाल कर्माचार्यलगायतले लेखेका लेख समावेश गरिएको छ ।
    पुस्तकको शनिवार विमोचन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वरामको जीवनमा आधारित पुस्तक समाजका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
    भक्तपुर नगरपालिका वडा नं ७ मा जन्मेका कवां हाल ६१ वर्षका हुनुहुन्छ । लेखक कवांले पुस्तक विक्रीबाट उठेको रकम सुस्त मनस्थिति अभिभावक संघलाई सहयोगार्थ प्रदान गर्ने जानकारी दिनुभयो ।
    पुस्तक एक सय ४५ पृष्ठको रहेको छ । पुस्तकको सम्पादन पत्रकार कृष्ण किसीले गरेका थिए । विमोचन समारोहमा विभिन्न व्यक्तित्वहरुले प्रकाशित पुस्तकबारे चर्चा परिचर्चा गरेका थिए ।

  • भक्तपुरका निवा शाक्यहरुको ४सय बर्ष पुरानो ईतिहास सम्बन्धी पुस्तक विमोचन

    लक्ष्मी गारु, भक्तपुर, भाद्र २६
    भक्तपुर दरवार स्क्वायरमा रहेको लुंःध्वाका (सुनकोे ढोका अर्थात गोल्डेन गेट) बनाउने ‘निवा’ शाक्यहरुको ईतिहास समेटिएको नेपाल भाषामा लेखिएको ‘ख्यपया ‘निवा’ शाक्यतयेगु इतिहास’ नामक पुस्तक आज (शनिवार) विमोेचन गरिएको छ ।
    भक्तपुरका निवा शाक्यहरुको चारसय बर्ष पुरानो ईतिहास समेटिएको सो पुस्तक प्राध्यापक सूवर्ण शाक्यले विमोचन गर्नुभएको हो । सो पुस्तक भक्तपुरको खौमा निवासी आरती गुठी निवा संघका नायो (अध्यक्ष) संघरत्न शाक्यले लेख्नुभएको हो ।
    पुस्तकको विमोचन गर्दै प्रा. शाक्यले काठमाण्डौ, ललितपुर र भक्तपुरमा रहेका निवा शाक्यहरुको ईतिहासका बारेमा चर्चा गर्दै पुस्तकले निवा शाक्यहरुको बारेमा धेरै जानकारी दिन सफल भएको बताउनुभयो ।
    पुस्तकका लेखक संघरत्नले भक्तपुरको विश्व प्रसिद्ध लुंःध्वाका र ङाताःपोल्हँ (पाँच तल्ले मन्दिर)को गजुर लगायत विभिन्न मुर्तिहरुको निर्माणमा भक्तपुरका निवा शाक्यहरुको भूमिका र योगदान महत्वपूर्ण रहेको विषयमा विभिन्न प्रमाणको आधारमा पुस्तक तयार गरिएको जानकारी दिनुभयो ।

    “शाक्य समुदायमा निवा शाक्य छ भन्ने धेरैलाई थाहा नभएको हुनाले जानकारीको लागि यो पुस्तक प्रकाशन गरेका हौं,” लेखकका छोरा शाक्यन शाक्यले भन्नुभयो, “वास्तवमा निवा भनेको शब्द के हो ? कस्तो ब्यक्तिलाई प्रयोग गरिन्छ ? कहाँबाट आएको हो ? निवाहरुसँग भएको कला कौशल कस्तो हो ? भन्ने बारे जान्न चाहनेहरुको लागि यो पुस्तक धेरै सहयोगी हुनेछ ।”
    कार्यक्रममा त्रिरत्न शाक्य, प्रा.सिद्धिरत्न शाक्य, साहित्यकार तिलक प्रकाश कायस्थ, वौद्ध विद्वान रत्नसुन्दर शाक्यलगायतले पुस्तकले भक्तपुरमा रहेका लुकेका इतिहास उजागर गर्न र राजामहाराजाहरुको मात्र नभइ वास्तविक कामदारहरुको समेत ईतिहासबारे बुझ्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
    आरती गुठी निवा संघले प्रकाशन गरेको सो पुस्तकमा मल्लकालीन राजा विश्वमल्लदेखि रणजीत मल्लसम्मको ईतिहास समेटिएको छ । सो अवसरमा पुस्तकका लेखकले निवा शाक्यहरुको ईतिहास सम्बन्धी प्रमाणहरु गुठीलाई हस्तान्तरण गरेको थियो ।

  • लोप हुने अवस्थामा पुगेको सूर्यविनायक जात्रा यसवर्ष पुनः सञ्चालन

    भक्तपुर, भाद्र २५
    गणेश चतुर्थीको अवसरमा दशकौंपछि भक्तपुरको सूर्यविनायक गणेशको जात्रा यसवर्ष पुनः सञ्चालन भएको छ । करिव करिव लोप हुने अवस्थामा पुगेको यो जात्रा सूर्यविनायक नगरपालिका वडा नं. ८ र ६ को अग्रसरतामा यसवर्ष पुनः सञ्चालनमा आएको हो ।
    गणेश चतुर्थीको अवसरमा मनाईने यो जात्रा सञ्चालन नभएको पाँच दशक भन्दा बढी भइसकेको स्थानीय बताउँछन । हरेक वर्ष गणेश चतुर्थीको दिन सूर्यविनायकको जन्मोत्सवको रुपमा गणेशलाई खटमा राखी सिन्दर छर्कदैं नगर परिक्रमा गरी मनाईने यो जात्रालाई यसवर्ष सूर्यविनायक मन्दिर व्यवस्थानका लागि गठित सूर्यविनाक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लबले जात्रालाई निरन्तरता दिएको हो ।
    सूर्यविनायक मन्दिरको प्रांगणबाट शुरु भएको जात्राका क्रममा खटलाई स्थानीय तीनधारा, पिपलबोट, गुन्चा टोल, राजथला टोल, सूर्यविनायक चोक, चालिसे गाऊँलगायतका टोलमा धिमे, भुस्या, धाँ बाजाको साथमा परिक्रमा गरिएको थियो । जात्रामा स्थानीय ढल्चा भजन, दाफा खलः तथा गुठीयारहरुको सहभागिता रहेको थियो ।


    “यो जात्रा परापुर्वकालदेखी चल्दै आएको जात्रा हो । तर बीचमा रोकिएको दशकौं भयो । गतवर्षदेखी पुनः सञ्चालन गर्ने तयारी भएपनि कोरोनाका कारण सम्भव भएन । यसवर्ष जात्रा सुचारु गर्न सफल भएका छौं,” जात्रा व्यवस्थापन समिति संयोजक विष्णुप्रसाद राजथलाले भन्नुभयो । उहाँले जात्रालाई प्रत्येक वर्ष निरन्तरता दिईने बताउनुभयो ।
    काठमाण्डौं उपत्यकाका चार प्रमुख विनायक मध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भन्दछन । यो गणेशको मुख्य मुर्तीलाई वर्षको दुई पटक मात्र सार्वजनिक गरी पुजा गर्ने प्रचलन रहेको राजथलाले बताउनुभयो । उहाँका अनुसार गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने यो गणेशको मुर्तीलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा बैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र त्यहाँ बैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पुजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ ।


    “जात्रा करिव करिव लोप हुने अवस्थामा पुगेकोले यसको संरक्षण गर्नका लागि पुनः जीवन्त बनाएका छौं’, सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापामगरले भन्नुभयो ।
    सूर्यविनायक मन्दिर सूर्यविनायक नगरपालिकाको वडा नं. ८ र ६ को सिमानामा रहेको छ । जात्रा दुई वटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा रहेको छ भने जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुथीहरु पनि दुई वटै वडाको क्षेत्रमा रहेको छ । त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुई वटै वडाले २÷२ लाख बजेट विनियोजन गरेको अध्यक्ष थापाले बताउनुभयो ।
    स्थानीय वडाबाट बजेट व्यवस्थापनसँगै परम्परादेखि चल्दै आएको जात्रालाई निरन्तरता दिन सहज भएको संयोजक राजथलाले बताउनुभयो ।

  • चोर दोष मुक्तिका साथै दशै भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

    लक्ष्मी गारु, भक्तपुर, भाद्र २५
    भाद्र शुक्ल पक्ष चतुर्थी । गणेश चतुर्थीको अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस भन्ने कामनासाथ आउँदो दशै भित्र्याउन चथाः गणेश र चन्द्रमाको पुजा गरी चथाः पर्व मनाउँदैछन ।
    भगवान गणेशको जन्म दिन मानिएको चतुर्थीको दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पुजा गर्न चथाः गणेशको तस्बिर सहित पूजामा चाहिने सामाग्रीहरु भित्र्याउने गर्छ ।
    गणेश चतुर्थीलाई नेवार समुदायले दशैं भित्र्याउने चाडको रुपमा समेत लिने भएकाले यस दिनलाई दशैंको प्रारम्भ पर्वको रुपमा लिइन्छ । यस दिन विशेषगरि घरघरमा मासु भित्र्याउने चलन रहेको छ । नेवार समुदायमा चथाः पर्व राम्रो भए दशै पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास रहेको पाईन्छ । आजकै दिन भक्तपुरका किसानहरुले आ–आफ्ना अदुवा खेतीको पुजा गरी नयाँ अदुवा निकाल्ने प्रचलन समेत रहेको छ ।


    यस दिन राती नेवार समुदायले कौशी वा घरको आँगनमा चथाः गणेश र चन्द्रमाको विधिवत पुजा गर्ने गरिन्छ । पूजामा कमलको फूलको पातमा चथा गणेशको तस्बिर राखेर, नैबद्य, पंचपकवान, अनार, केरा, अम्बा, नासपाती, काँक्रा, सुन्तला, काँचो भिजाएको काँचो केराउ, कमलको फूल, नयाँ अदुवाको बोट तथा मकै, भटमास, गहुँ, बदाम, मुगी, केराउ, चना, बकुल्ला समेत आठ प्रकारका भुटेको गेडागुडी चढाइन्छ । साथै पूजामा ध्यूमा भुटेको आरुको वियाँ, दुवो, कालो तिलको लड्डु, मुला खाइसी(भोगते जस्तो एक प्रकारको फल) चढाउँछन् । चथा गणेशको पूजा सकेपछि आकाशतिर हेरेर चन्द्रमाको पूजा गरिन्छ । पूजामा घर परिवारका सबै सदस्यहरु बस्नुपर्ने परम्परा छ । पूजा सकेपछि घरका सबैजना बसेर चथा गणेशलाई चढाएको पंचपकाव, काँक्रा, फलफुल र भुटेका गेडागुडी प्रसादको रुपमा खाने चलन रहेको छ । प्रसाद खाइसकेपछि दहिको सगुन सहितको भोज खाइन्छ ।
    यस दिन चथा गणेशको पूजा गरे खुशी मिल्ने, जीवनमा चिताएको मनोकाक्षा पुरा हुनुका साथै दशै राम्रोसँग मनाउन पाउने लोक मान्यता रहेको छ । चन्द्रमालाई विधि पूर्वक पुजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास रहेको छ ।
    नेवार समुदायमा चथाको दिन गणेश र चन्द्रमाको पुजा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखा परेपछि मात्र पुजा गरी प्रसाद खाएर घर भित्र जाने प्रचलन रहेको छ ।
    राती चन्द्रमाको पुजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ्ग अस्थाई र गौण हुने तथा उसका राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देश समेत दिने गरेको संस्कृतिविद् तथा ईतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुभयो ।
    पौराणिक लोककथन अनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भनी ठूलो हेला र अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जोकोहीलाई चोर दोष लागोस भनेर श्राप दिएछन । गणेशको सोही श्रापको प्रभावले त्यसदिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो।
    त्यसपछि देवीदेवताहरु समेतले चन्द्रमाको मुख हेर्न छाडिदियो । यसले गर्दा चन्द्रमाको ठूलो बेइज्जत भयो र चन्द्रमा बाहिर आउन, हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुग्यो । त्यसपछि चन्द्रमा महादेवको शरणमा गयो र उनै महादेवको सहयोगले गणेशलाई दुवो, लड्डु र मुला चढाई क्षमायाचना गरे । चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अब देखी भाद्र शुक्ल चौथीको एक दिन बाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिए । साथै गणेशले राती विधि पूर्वक चन्द्रमाको पुजा गरे सो दिनमा चन्द्रमा दर्शन गरेपनि चोर दोष नलाग्ने वरदान समेत दिएकाले गणेश चतुर्थीको दिन राती चन्द्रमाको पुजा गर्ने परम्परा बसेको लोककथन पाईन्छ ।
    आजै ईन्द्रजात्राको लागि भक्तपुरबाट काठमाडौंको बसन्तपुरसम्म लिंगो लैजाने परम्परा रहेको छ ।

  • आज हरितालिका तिज मनाईंदै

    भक्तपुर, भाद्र २४
    भाद्र शुक्ल तृतीयाको अवसरमा आज सनातन धर्मावलम्बी खसआर्य समूदायका महिलाहरूले हरितालिका तिज पर्व मनाउँदैछन । महादेवको पूजा आराधना गरी अविवाहिता युवतीले ईच्छ्याएको पति पाउन र विवाहिता महिलाले आफ्ना पतिको दिर्घायूको कामना गरी तिज पर्व मनाउने प्रचलन रहेको छ ।
    तिजको व्रतमा हिन्दू नारीहरू बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्छन् । हिमालय पर्वत र मेनाकी पुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार र निर्जला व्रत बसी कठिन तपस्या गरेको र त्यसैको प्रभावस्वरूप महादेव पति पाएको पौराणिक कथन छ । यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वासमा महिलाहरू तिजको व्रत बस्छन् ।
    व्रतालु महिलाहरू आफ्नो पायक पर्ने शिवालयमा पुगी शिवपार्वतीको पूजा गर्छन् र एक आपसमा नाचगान गरी गितमार्फत मनका बह पोख्ने गर्दछन । सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने गर्छन् । भोलिपल्ट सबेरै लोापामुद्रालाई अघ्र्य दिएपछि तिजको व्रत पूर्ण भएको मानिन्छ ।

    फाइल तस्विर

    सामाजिक रूपमा पनि तिजको ठूलो महत्व रहेको छ । तिजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनीहरू एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी मिठामसिनो (दर) खाने गर्छन् । तिजका दिन नाचगान गरी घरव्यवहारमा पाएका दुःखकष्टलाई गीतमा उतार्ने गर्छन् । तिजमा गाइने विभिन्न ठाउँका भाका लोकसाहित्यका सम्पत्ति मानिने गरेका छन् । तिजका बेला सौभाग्यका सूचक राता वस्त्र तथा आभूषण लगाउने चलन छ ।

    फाइल तस्विर

    यसैबीच हरितालिका तिजको अवसरमा विहिबार भक्तपुरको विभिन्न स्थानका महादेव मन्दिरहरुमा ब्रतालु महिलाहरुको घुईंचो लागेको छ । विशेषगरी भक्तपुरको दत्तात्रय, केदारनाथको शिर डोलेश्वर, दरवार स्क्वायरको पशुपति मन्दिर, आशापुरी, सुवर्णेश्वर, अन्नतलिङ्गेश्वर, शिलु र यातु महादेव मन्दिरमा ब्रताल महिलाहरुको घुईंचो लागेको हो ।
    तिजको दिन महिलाहरु रातो पहिरण, छड्के तिलहरी र विभिन्न गरगहनाले सजिएर निराहार व्रत बसी महादेव मन्दिर आउने गर्छन् । आजको दिन महिलाहरु व्रत बस्नाले अटल सौभाग्य र सदासर्वदा भरिभराउ, श्रीमान् र परिवारजनको सुस्वास्थ्य दिघायू हुने जनविश्वास रहेको पाइन्छ ।
    तिजको दिन पार्वतीले भगवान् शिव वर प्राप्त होस भनी मनोकाक्षा राखेर व्रत बसेपछि चलन रही आएको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।

  • यसवर्ष पनि पञ्चदान पर्व औपचारिकतामा सीमित

    भक्तपुर, भाद्र २१
    भक्तपुरका बौद्धमार्गीहरुले आइतवार पञ्चदान पर्व औपचारिकतामा सिमित गरी बिहारमा बुद्धको पुजा गरी मनाएका छन । भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने भक्तपुरको पञ्चदान पर्व सामान्य औपचारिक पूजामा सीमित गरी मनाएको हो ।
    कोभिड संक्रमणको बढ्दो उच्च जोखिमलाई ध्यानमा राख्दै पञ्चदान पर्वलाई सामान्य औपचारिक पूजामा सीमित गरी मनाईएको थथुबही महाबिहारका देवचन्द्र बज्राचार्यले बताउनुभयो ।
    उहाँले पञ्चादन पर्व मनाउन बुद्धलाई बिहार ल्याए बढी भीड हुने र त्यसले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने खतरा बढेकाले बिहारभित्र पूजा गरी मनाएको बताउनुभयो । उहाँले भन्नुभयो “आजको पर्वमा देवतालाई बाहिर ल्याई नगरका मात्र नभई सबै गुठियारहरुको समेत पूजा थाप्ने परम्परा छ । यसरी पूजा थाप्दा भिड बढी हुने भएको संक्रमणको बढ्दो उच्च जोखिमलाई ध्यानमा राखेर पाँचै बिहारको संयुक्त छलफलमा यसवर्ष पनि गएको वर्षमा जस्तै सामान्य औपचारिकतामा सीमित गरिने निर्णय भए अनुसार पञ्चदान मनाईएको हो ।”


    बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवम् ठूलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर बुद्धलाई दिनभर नगरको विभिन्न स्थान तथा बौद्ध बिहारहरुमा परिक्रमा गराई मनाउने परम्परा रहेको छ ।
    दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धको पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारका रहेका छन् ।
    पञ्चदानमा जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, घिरौला, बोडी, कांक्रो, क्वाटी आदि गच्छे अनुसार चढाउने परम्परा छ ।
    पञ्चदानलाई स्थानीय भाषामा पंजरां भनिन्छ । पंजदान भन्नुको मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यसदिनमा पृथ्वीबाट उब्जेको अन्न र फलपूmल गरि पाँच प्रकारका वस्तु दान गरिन्छ ।