Category: विविध

  • नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा जाग्नु चिन्ताको विषय – अध्यक्ष बिजुक्छें

    भक्तपुर, असोज ११
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा जाग्नु चिन्ताको विषय भएको बताउनुभएको छ । विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले आयोजना गरेको साँस्कृतिक गुरु सम्मान र पथप्रदर्शकलाई प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष बिजुक्छेंले राजनीतिक अस्थिरताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।
    उहाँले नयाँ पुस्तालाई राजनीतिमा सक्रिय बनाउन राजनीतिशास्त्र, इतिहास, भूगोल र संस्कृतिजस्ता विषयको महत्वबारे विद्यार्थीहरुलाई जानकार गराउनुपर्ने र सरकारले यस्ता महत्वपूर्ण विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययन अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा नगरका २० जना साँस्कृतिक गुरुहरुलाई सम्मान गर्दै बिजुक्छेंले साँस्कृतिक गुरुहरुको ज्ञान, विवेक र सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरको कला, संस्कृति र भाषा स्थानीय व्यक्तिहरुलाई सिकाउँदै लानुपर्ने आवश्यकता औंल्याउनुभयो ।


    नयाँ तथा आधुनिक घर निर्माण गर्दा पु¥याउनुपर्ने सावधानीबारे जनतालाई सचेत पार्नुपर्ने बताउँदैं अध्यक्ष बिजुक्छेँले नगरबासीहरुलाई नक्सा बमोजिम घर निर्माण गराउनेतर्फ जोड दिनुभयो ।
    कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाले कला र संस्कृति संरक्षणका विभिन्न विधाका स्थानीय सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो । प्रमुख प्रजापतिले भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा पुनःनिर्माणका कार्य करिब करिब अन्तिम चरणमा पुगिसकेको जानकारी दिँदैं जनताको साथ र सहयोग रहेका कारण स्वाभिमानीपूर्वक नगरपालिकालाई अगाडि बढ्न मद्दत पुगेको बताउनुभयो ।
    उहाँले भक्तपुरको कला सँस्कृतिलाई जीवन्त बनाउन विभिन्न कालखण्डमा नेपालबाट हराएका वा चोरी भएका मूर्तिहरु फिर्ता गर्न आवश्यक पहल गरिरहेको बताउनुभयो ।


    नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले मौलिक भाषा, कला र संस्कृति संरक्षण गर्दै नयाँ पुस्तालाई आवश्यकताबोध गराउनुपर्ने बताउनुभयो । सांसद गोसाईंले हाम्रो संस्कृतिलाई जीवन्त बनाउँदै लानुपर्ने र आफ्नो विधाको सीप र ज्ञानलाई लिपिबद्ध गर्न सके हाम्रो कला र संस्कृति संरक्षण हुँदै जाने बताउनुभयो ।
    नगरपालिकाका उपप्रमुख रजनी जोशीले कोभिड महामारीका कारण भक्तपुर नगरपालिकामा पर्यटन शुल्कबाट हुने आम्दानी झण्डै शून्यमा झरेको बताउनुभयो ।
    संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपाल मण्डलको अन्य सहरले भन्दा भक्तपुरले सांस्कृतिक गरिमा कायम गर्दै आएको बताउनुभयो । भक्तपुरलाई खुला आकासमुनिको खुला संग्रहालयको रुपमा चित्रण गर्नुहुँदै उहाँले विश्वविद्यालयहरुमा संस्कृति विषय अध्ययन गर्ने विद्यार्थीहरुको संख्या घट्नुमा चिन्ता प्रकट गर्नुभयो ।
    उहाँले पथ प्रदर्शकहरुले भक्तपुरका सम्पदाहरुबारे पत्ता लागेको नयाँ नयाँ तथ्य पर्यटकहरुमाझ वैज्ञानिक ढंगले प्रस्तुत गरी संसारसामु भक्तपुरलाई जोड्नुपर्नेमा जोड दिनुभयो ।


    कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सांस्कृतिक गुरुहरुलाई जनही १५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गर्नुभयो । साथै सांस्कृतिक गुरुहरुलाई प्रमुख प्रजापतिले दोसल्ला ओढाउनुभयो र उपप्रमुख जोशीले साँस्कृतिक गुरुहरुलाई पूmलमाला लगाइ सम्मान गर्नुभयो ।
    बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले विश्व पर्यटन दिवसको अवसरमा आयोजित टुर गाईड तालिमका सहभागी स्थानीय पथ प्रदर्शकहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भने सम्मानित सांस्कृतिक गुरुहरुको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो ।
    सम्मानित हुने सांस्कृतिक गुरुहरुमा भनपा वडा नं. १ का गोविन्द भुजु र विकुबहादुर दुवाल, वडा नं. २ का विष्णुभक्त सुवाल र लक्ष्मीभक्त कुस्मा, भनपा ३ का लक्ष्मीप्रसाद मानन्धर र गणेशबहादुर त्वायना, भनपा ४ का मंगलाल ग्वाछा र लक्ष्मीभक्त घेमोसु, भनपा ५ का रामलाल माक र रत्नभक्त ध्वजु, भनपा ६ का विष्णु सुवाल र विष्णुभक्त सिजख्व, भनपा ७ का दिलबहादुर त्यात र इन्द्रबहादुर लाखा, भनपा ८ का बुद्धिसागर प्रजापति र रामभक्त गणेजु श्रेष्ठ, भनपा ९ का विष्णुभक्त कुसी र मानबहादुर चोलेखो, भनपा १० का हरिभक्त मगजु र शिवभक्त वनमाला रहेका छन् ।

  • लागु औषध कारोवारीमा संलग्न एक महिलासहित ६ जना पक्राउ

    भक्तपुर, असोज ९
    भक्तपुर प्रहरीले लागु औषध ओसारपसार, खरिद बिक्रि र वितरण गर्ने विभिन्न पाँच तहका कारोवारीलाई पक्राउ गर्न सफल भएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले गत साउन १७ गतेदेखी अनुसन्धानका क्रममा लागु औषधका कारोवारीका विभिन्न पाँच तहका एक महिला सहित ६ जनालाई पक्राउ गर्न सफल भएको हो ।
    घटना विवरण अनुसार गत साउन १७ गते दिउँसो भक्तपुर नगरपालिका–५ क्वाछेंमा सवारी जाँचका क्रममा भक्तपुर–६ बोलाछें बस्ने २१ वर्षिय राजेश शाहीले हाँकेको बागमती प्रदेश ०२–०१६ प ०१२६ नम्बरको मोटरसाईकलमा सवार १९ वर्षिया सरिता शाहीले बोकेको प्लाष्टिकको झोलाभित्र निलो रंगको तीन वटा प्लाष्टिकको पोकामा २८५ एम्पुल लागु औषध फेला परेको थियो ।
    सो घटनाको अनसन्धान गर्ने क्रममा प्रहरीले शाहीलाई लागु औषध बिक्रि गर्ने धादिङ बेनिघाट गाउँपालिका–३ घर भई हाल काठमाण्डौं बुढानिलकण्ठ–७, हात्तिगौडा बस्ने ३९ वर्षिय केशब क्षेत्रीलाई भक्तपुरको सूर्यविनायकचोकबाट २४३ एम्पुल लागु औषधसहितलाई पक्राउ गरिएको परिसरले जानकारी दिए । क्षेत्रीले शाहीलाई लागु औषध बिक्रि गरेको खुल्न आएको थियो ।
    सो घटनाको थप अनुसन्धान गर्ने क्रममा गत साउन २० गते भारतबाट लागु औषध ल्याउने विशाल यादव भन्ने राम विश्वास रायलाई पक्राउ गर्न सफल भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो । सर्लाही साविक महिनाथपुर गा.वि.स. वडा नं. ०९ हाल परिवर्तित धनकौल गाउँपालिका–४ महिनाथपुर बस्ने बर्ष २८ वर्षिय यादवले भारतबाट लागु औषध ल्याई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानमा बिक्रि वितरण गर्ने गरेको प्रनाउ गिरीले बताउनुभयो ।
    त्यसैगरी उपत्यकामा लागु औषधको कारोवार गर्ने सर्लाही हरकठवा गा.वि.स. वडा नं. ३ हाल परिवर्तित धनकौल गाउँपालिका–३, हरकठवा बस्ने २६ वर्षिय अलि महम्मद भन्ने मोहमद शेष इन्ताजलाई भदौ २२ गते काठमाण्डौं कोटेश्वरस्थित विश्राम गेष्ट हाउसबाट पक्राउ गरिएको प्रनाउ गिरीले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा इन्ताजले राम विश्वास राय यादव र रविन देउलासमेतलाई लागु औषध बिक्री वितरण गर्ने गरेको खुल्न आएपछि ललितपुर उपमहानगरपालिका१२ थती स्थायी घर भई हाल ललितपुर महानगरपालिका २८ हरिसिद्धि बस्ने २९ वर्षिय देउलालाई भदौ २९ गते पक्राउ गरिएको प्रनाउ गिरीले बताउनुभयो ।
    देउलालाई ललितपुर हरिसिद्धिमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले पक्राउ परेकाहरुको साथबाट नोफिन ६७६ थान, डाइजेपाम ६७६ थान, फेनरगन ५८१ थान, नाइट्राभेट– १० (१८०० थान ट्याब्लेट), प्रोमेथाजिन ९५ थान, मोटरसाइल एक थान, मोवाईल ९ थान, सिमकार्ड १३ र नगद ४६ हजार बरामद गरिएको परिसरले जनाएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • भक्तपुरमा पुलुकिसी जात्रा मनाईंदै

    भक्तपुर, असोज ८
    भक्तपुरमा शुक्रबार पुलुकिसी जात्रा मनाईंदै छ । स्थानीय लाकुलाछें टोलबाट शुरु हुने पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा, कुमाले टोल, नासमना, बंशगोपाल इटाछे.,दरवारस्क्वायर, त्रिपुरासुन्दरी, चोछें, भोलाछें, नागपोखरी, गछें, सुजमारी, तचपाल, गोलमढी, सुकलढोका लगायतका स्थानको परिक्रमा गर्ने प्रचलन रहेको छ ।
    लाकुलाछें टोलका बासिन्दाले बा“सको मान्द्रोले तयार गरेको पुलुकिसीलाई निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सु“ढ राखी पुलुकिसी तयार गरिन्छ । जात्रा शुरु हुनुअघि तमारीस्थित आकाश भैरवलाई गुठी संस्थानको बलीसहितको सरकारी पुजा गरिन्छ । जात्रामा पुलुकिसीलाई नगर परिक्रमा गराउँदा चारजना मानिसले बोक्ने र एकजनाले पुलुकिसीको तल घण्टा बजाएर आउने गर्छ ।
    जात्राको क्रममा पुलुकिसीलाई नगरका दोबाटो र चौबाटोहरुमा धान खुवाउने, तमारी र दरवार स्क्वायरमा आगो तपाउने, सुजमारीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन रहेको छ ।
    देवराज इन्द्रका विश्वासिलो सेवक पुलुकिसीलाई ऐरावत हात्तीको रुपमा लिने भएकाले यसलाई ऐरावत हात्ती जात्रा पनि भन्ने गरिन्छ । जात्राको क्रममा पुलुकिसीको सुढंले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वास अनुसार जात्राको समय पुलुसिकी आउ“दा सुंढले छुन्छकी भनी मानिसहरु परपर बस्ने गर्दछ । पुलुकिसी जात्रासँगै आज आठ दिन मनाइने इन्द्रजात्रा समेत सम्पन गरिन्छ ।
    लोककथन अनुसार ईन्द्रका आमा बसुन्धरालाई पुजाका लागि पारिजातको फुल खोज्न हिँडेका जयन्तलाई चोरीको आरोप लगाउँदै दैत्यहरुले पक्रेर मुलचोकमा बाँधेर राखेका थिए । यो कुरा ईन्द्रले थाहा पाएर दैत्यहरुलाई युद्धमा हराएर छोरा जयन्तलाई दैत्यहरुको चंगुलबाट छुटाएर ल्याए । सोही कथनलाई विभिन्न देवी पुराणहरुमा उल्लेख गरिएको छ ।
    सोही पुराणहरुमा आधारित मुपात्र जात्रा र पुलुकिसी जात्रा हुन । जात्रामा ईन्द्रका छोरा जयन्तको खोजीमा हिँडेका पुलुकिसी र जयन्तलाई नियन्त्रणमा लिएका मुपात्रको भेट हुँदा कथंकदाचित हात्ती बन्ने पात्र र उनका सहयोगीहरुले मुपात्रलाई कुल्चेर मा¥यो भने पनि कुनै कानुन नलाग्ने मान्यता रहेकोले मुपात्र र पुलुकिसीको भेट हुन नहुने स्थानीय वासिन्दाहरु बताउँछ ।
    देवीपुराण गन्थ्र अनुसार इन्द्रजात्रासँग सम्वन्धित यस पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिडेको सम्झनामा मनाइने गरेको इतिहास तथा सँस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

  • १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

    भक्तपुर, असोज ८
    यौन प्यास मेटाउन भन्दै १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर प्रहरीले २५ वर्षिय युवकलाई पक्राउ गरी बिहिवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुली साविक झागाझोली गा.वि.स. वडा नं. ४ हाल परिवर्तित सुनकोशी गाँउपालिका वडा नं. ४ बस्ने २५ वर्षिय मिठाराम धिमाल छन ।
    धिताललाई भक्तपुर प्रहरीले बुधवार महोत्तरीको बर्दिवास नगरपालिका १ मा लुकीछिपी बसीरहेको अवस्थामा पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी उपरिक्षक दिपक गिरीले बताउनुभयो । धिताललाई परिसरका प्रहरी नायव निरिक्षक टपेन्द्र भण्डारी नेतृत्वको प्रहरी टोलीले पक्राउ गरिएको हो ।
    धितालले गत साउन १५ गते १३ वर्षिया बालिकालाई मध्यपुर थिमि ४ स्थित सिजन गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको भन्दै बालिकाका अभिभावकले साउन १८ गते किटानी जाहेरी दिएका थिए । धितालले प्रारम्भिक अनुसन्धानमा यौन प्यास मेटाउन १३ वर्षिया बालिकालाई गेष्ट हाउसमा लगेर यौन सम्पर्क गरेको बताएको प्रनाउ गिरीले जानकारी दिनुभयो । उनलाई कानुन बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • पत्रकार महासंघको प्रतिनिधि मण्डल र प्रजिअ शर्माबीच भेटवार्ता

    भक्तपुर, असोज ६
    भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र नेपाल पत्रकार महासंघ भक्तपुरको प्रतिनिधि मण्डलबीच बुधवार भेटवार्ता भएको छ । भेटमा समसामयिक विषयवस्तु, जिल्लाको शान्ति सुरक्षा र नजिकिँदो चाडपर्वको बारेमा छलफल भएको जनाईएको छ ।
    भेटमा प्रजि शर्माले पत्रकार र सुरक्षा निकायको उद्देश्य जनताको मानवअधिकारको रक्षा, उनीहरुको जिविकोर्पाजनसँग जोडिएका मुद्दाहरुलाई सहज र सरल ढंगले राज्यले सम्बोधन गरोस भन्ने उद्देश्य रहेको जनाउँदैं दुवै संस्थाले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
    उहाँले पत्रकार राज्य, प्रशासन र आमनागरिकको पुलको काम गर्ने संस्था भएकाले जनताको समस्या जस्ताको तस्तै निर्धक्क राख्न, समाचार सम्प्रेषण गरी नागरिकलाई सूसुचित गर्न र प्रशासनलाई झक्झक्याई रहन आग्रह गर्नुभयो ।
    नजिकिएको चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्तु दुरुष्ट राख्न सुरक्षा निकायबीच समन्वय गरी रणनीति तयार गरिएको र थप छलफल गरी कार्यान्वयन गरिने जानकारी दिँदैं उहाँले चाडपर्वमा हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्न आवश्यक कदम चालिने बताउनुभयो ।
    भक्तपुरमा भर्खरै कार्यभार सम्हाल्नु भएकी शर्माले कर्मचारी जनताका सेवक भएकाले कार्यालय समय १०–५ को ड्युटीमा सिमित हुन नहुने बताउनुभयो । भक्तपुर क्षेत्रफलले सानो जिल्ला भएपनि यहाँका मौलिक कला सँस्कृति, विश्व सम्पदा सुचीकृत सम्पदा, चावपर्व जात्राले भरीपूर्ण धनी जिल्ला भएकोले विशेष महत्व रहेको बताउनुभयो ।
    उहाँले गुल्मीलाई कार्यसम्पादनको मूल्यांकनमा देशकै तेस्रो उत्कृष्ट जिल्ला बताउन सफल भएको जानकारी दिँदैं उहाँले शान्ति सुरक्षाको दृष्टिले भक्तपुरलाई सर्वोत्कृष्ट जिल्ला बनाउनेमा आफ्नो भरपुर प्रयास रहने प्रतिवद्धता जनाउनुभयो ।
    भक्तपुरमा ठूला अपराधिक घटना तुलनात्मकरुपमा कम देखिएपनि चोरी, लागु औषध, तस्करी, महिला हिँसाका घटना बढी रहेको पाईएकाले यसलाई नियन्त्रणका लागि ठोस कदम चालिने बताउनुभयो ।


    उहाँले शहरी क्षेत्र र ग्रामिण भेगका विपतका घटनाका प्रकृति फरक फरक हुने भएकाले कोभिड– १९ महामारीलगायत प्राकृतिक विपत्तीका घटनासँग जुध्न प्रभावकारी योजना बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले कोभिड १९ विरुद्ध जारी खोपको अनुगमन गर्ने र पहुँचका आधारमा नभई लक्षित वर्गले पाउने सुनिश्चितता प्रदान गर्ने बताउनुभयो ।
    प्रजिअ शर्माले सामाजिक मुद्दामा सकारात्मक पहल गर्ने, जिल्ला प्रशासन कार्यालयलाई सञ्चारमैत्री बनाईने, सूचनाको हकको कार्यान्वयनको लागि सबै सरकारी निकाय र विषयगत कार्यालयलाई पनि सोही अनुसार पारदर्शी बनाईने प्रतिवद्धता व्यक्त गर्दै त्यसका लागि पत्रकारहरुसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
    सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले पछिल्लो समय सिडिओ र एसपीलाई स्वागत गर्ने बहानामा प्रभावित पार्ने र आफ्नो अभिष्ट पूरा गर्ने व्यक्ति र समूहसँग सतर्क रहन सिडिओ शर्मालाई सुझाव दिनुभयो ।
    उहाँले भक्तपुरको शान्ति सुरक्षा कायम राख्ने र नागरिकको हक सुरक्षित गर्ने सवालमा महासंघ प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । भेटमा अध्यक्ष प्रजापतिले महासंघको भवन निर्माणलगायतका गतिविधि प्रजिअ शर्मालाई जानकारी गराउनुभएको थियो ।
    त्यसैगरी महासंघका सचिव एवं भक्तपुर पोस्टका सम्पादक संजीप घिमिरे ‘शुभचिन्तक’ले प्रजिअ जिल्लाकै प्रशासन प्रमुख भएकाले जनताले अनुभुती गर्नेगरी जिल्लास्थित सरकारी निकायको सेवा सरल र सहज बनाउन भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
    प्रतिनिधि मण्डलमा महासंघ भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्का, पुर्वअध्यक्ष विकल प्रसाद श्रेष्ठ र कार्यसमिति सदस्य राम तमाखुलगायतको सहभागिता रहेको थियो भने छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी र प्रशासकिय अधिकृत यज्ञराज  जोशीको पनि सहभागिता रहेको थियो ।

  • तीनदिने भक्तपुरको मुपात्र जात्रा आजबाट शुरु

    लक्ष्मी गारु, भक्तपुर, असोज ६
    ईन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आज साँझबाट शुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको मुपात्र जात्रा भक्तपुरमा आश्विन कृष्ण द्धितियादेखि चौथीसम्म तीन दिन मनाइन्छ ।
    जात्रामा मूपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीनजनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्ग लगाई शृगांरपटारका साथ तरवार समात्न लगाई भक्तपुर नगर पुरै परिक्रममा गराउने प्रचलन छ । नगर परिक्रमा गर्दा भक्तपर नगरको टोल टोलमा ठड्याइ राखेको यमःद्योलाई मुपात्र राक्षसले तीनपटक घुमेर तरवारले हाने गर्दछ ।

    जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भिमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दिप) बालिन्छ । याँमता त्रिशुल आकारको हुन्छ । त्रिशुलमा जस्तै माथि फर्किएका तीन वटा टुप्पामा बालिने बत्ति नै याँमता अर्थात आकाश दिप हो । साथै आजै तचपालस्थित स“ला गणेशलाई खटमा राखी भक्तपुर शहर परिक्रममा गराई सँला गणेश जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा निकाल्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमाहरुमा परिक्रमा गराइन्छ ।

    जात्राको दोस्रो दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय छुमा गणेशकहाँ गएर सुकुना बालेर आईसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा शुरु गरिन्छ । याँमता बालिसकेपछि चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरवार स्क्वायरको तलेजु भवानीको दशर्न गराइन्छ । याँमता दरवार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मुपात्र जात्रा गरी नगर परिक्रमा गराईन्छ । राती सँला गणेश र छुमा गणेशलाई आ–आफनो द्योःछे (देवगृह)मा पु¥याईन्छ ।

    जात्राको तेस्रो दिन अर्थात आश्विन कृष्ण चौथीका दिन तमारीमा रहेको आकाश भैरवलाई गुठी संस्थान कार्यालयवाट विधिवत रुपमा बली सहितको सरकारी पुजा गरिन्छ। पुजा सकिएपछि तल्लो टोलहरु तपालछीं र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुना बालेर ल्याउँछ । त्यही सुकुनामा बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता बालिन्छ । बालीसकेपछि याँमतासँगै त्यसको पछाडी तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । यस दिन जात्रामा नायखिङ (खड्गी समुदायको विषेश)बाजा बजाएर भैरवनाथको खटलाई नगर परिक्रमा गराइन्छ ।

    भैरवको खट जात्रा गरेपछि स्थानिय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रो माथि नीलो कपाडाले छोपेर अगाडीको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा शुरु गरिन्छ । तमारीको भैरव मन्दिर अगाडि तीन पटक घुमेर पुलुकिसी जात्रा शुरु गर्छ । जात्रामा पुलुकिसीलाई चार जना मानिसले बोकेर ल्याईन्छ भने एक जनाले पुलुकिसी भित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।

    जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधा भन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा निकालिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्छ ।

    ईन्द्रजात्रा सम्बन्धी लोककथन अनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन ब्रत बस्न पारिजात फूलको खाँचो प¥यो । ईन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फुल खोज्न पठाए । जयन्त पारिजातको फुल खोज्दै दैत्यहरुको बगैंचामा प्रवेश गरे । दैत्यहरुले पक्रेर दोवाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा ईन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यहरुसँग लगाई गरे । लडाईमा ईन्द्रको जित भयो । दैत्यहरुले ईन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर क्षमायाचना गर्छन । सो क्रममा दैत्यहरुलाई जनतामाझ शहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भएबमोजिम ग्रन्थको कथामा आधारित गरी यो जात्रा प्रारम्भ गरिएको किवंन्दती रहेको इतिहास तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।
    जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ । सो अनुसार मुपात्र बन्ने व्यक्तिलाई अछुतको व्यवहार गरिन्छ। त्यसैले यो जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँकालाई मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ ।

  • भक्तपुरमा यमःद्यो ठड्याउँदै ईन्द्रजात्रा आजबाट शुरु

    लक्ष्मी गारु, भक्तपुर, असोज २
    धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत ईन्द्रजात्रा भक्तपुरमा आजबाट शुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्धादशीको दिन भक्तपुर नगरका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यमःद्यो ठड्याएर जात्रा शुरु गरिन्छ ।
    भक्तपुरको ईन्द्रजात्रामा स्थानिय गुठीयारले टोल टोलमा यमःद्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता(आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकीसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाइन्छ ।
    जात्राको पहिलो दिन स्थानीय गुठियारहरुले नगरको टोल टोलमा विधिवत पूजाआजा सहित नगरका ईताछें., तेखापुखुः, मुलाखःु, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मी स्थान, चासुखेललगायतका स्थानहरुमा यमःद्यो ठड्याइन्छ । दोस्रो दिनलाई शुन्य दिन मानिन्छ । यस दिन जात्राको कुनै कार्यक्रम हुने छैन ।
    जात्राको तेस्रो दिन अर्थात इन्द्र जात्राको दिन साँझ खौमास्थित ईन्द्रायणी देवीको खट जात्रा मनाइन्छ । जात्रामा ईन्द्रायणी देवीलाई सिंङ्गारपटार गरी विधिवत पुजा गरेर परम्परागत बाजागाजाका साथ दाफा, भजन गाएर, स्थानिय महिलाहरु हाकुपटासीमा सजिएर सुकुना बालेर, बालबालिका र वृद्धहरु ढुप दिप बालेर सिद्धपोखरीले परिचित ईन्द्र दहको दक्षिण दिशाको बिचमा ल्याई विराजमान गराईन्छ । जात्राको क्रममा राती पालाको दिप बालेर दहलाई सजाईन्छ । यस दिन राती दहमा मेला लाग्छ । मध्यराती तान्त्रिक पुजा गरी ईन्द्रायणीलाई भोगवली चढाउने परम्परा रहेको छ ।
    जात्राको चौथौ दिन यन्या पुन्ही(भाद्र शुक्ल पुर्णिमा)को अवसरमा धार्मिक तीर्थस्थलको रुपमा रहेको प्रसिद्ध प्राचीन इन्द्र दहमा बिहानै स्नान गरी ईन्द्रायणी देवीको पुजाआजा गर्ने भक्तजनहरु ठूलो घुइँलो लाग्ने गर्छ । देवराज ईन्द्रले स्नान गरेको दह हुनाले यस दिन ईन्द्र दहमा स्नान गरी ईन्द्रायणी देवीको पुजा आराधना गरेमा पूण्यप्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास छ । यस दिन ईन्द्रायणी देवीको मात्र नभएर दह छेउछाउमा रहेका लिच्छविकालिन र मल्लकालिन शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु तथा वासुकी नागको समेत पुजा गरिन्छ । दहको पूर्वदिशामा रहेको शिवलिङ्गमा जल चढाई पिउने परम्परा छ । राती ईन्द्रायणी देवीलाई परम्परागत बाजागाजाका साथ पुनः जात्रा गरी खौमा स्थित देवगृहमा ल्याई विधिवत पूजा गरी आशनमा विराजमान गराइन्छ । जात्राको पाँचौ दिनलाई पनि शून्य मानिन्छ ।

    फाइल फोटो

    जात्राको छैठौ दिनदेखी तीन दिनसम्म लगातार याँमता र मुपात्र जात्रा मनाइन्छ । पहिलो दिन सकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भिमसेन मन्दिरमा एक जोडी याँमता (त्रिशुल आकारको माथि फर्किएका तीन वटा टुप्पामा बालिने बत्ती) बालिन्छ । लगतै तचपालको सँला गणेशलाई विधिवत पुजा गरी खटमा राखी राखिन्छ । गणेशलाई खटमा राखिसकेपछि अगाडि याँमता त्यसपछि सलाँ गणेशको जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा मनाइन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमाहरुमा परिक्रमा गराइन्छ ।
    जात्रामा मुपात्र प्रमुख र धिःचा नामक उनका अन्य दुई जना सहायक सहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्गलगाई शृङ्गारपटारका साथ तरवार समात्न लगाई शहर परिक्रमा गराउने प्रचलन छ । शहर परिक्रमा गर्दा टोल टोलमा ठड्याएको यमःद्योलाई मुपात्रले तीन पटक घुमेर तरवारले हान्ने गरिन्छ ।
    जात्राको सातौ दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय साँझ छुमा गणेशकहाँ गएर सुकुना बालेर आईसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा शुरु गरिन्छ । याँमता चोछेंमा पुगेपछि छुमा गणेश त्यसको पछाडी गई जात्रा गर्छ । लगतै भक्तपुरको दरवार स्क्वायरबाट मुपात्र निकालेर जात्रा गरिन्छ ।
    जात्राको अन्तिम दिनमा तल्लो टोलको मानन्धर समुदायले एक जोडी याँमता लाने परम्परा छ । यस दिन याँमतासँगै तमारी(तौमढी)को भैरवको खट जात्रा र पुलुकिसी जात्रा गरिन्छ । शुरुमा तल्लो टोलहरु तेखाचो र तापालाछींका मानन्धर समुदायले भैरवनाथ मन्दिरमा गई सुकना बालेर आउँछ । त्यसपछि बुलाचास्थित ढुंगेधारामा एकजोडी याँमता बालेर जान्छ । त्यसको पछाडी तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । खट जात्रामा नायखिङ (खड्गी समुदायको विषेश)बाजा बजाएर भैरवनाथको रथलाई परिक्रमा गराइन्छ । परिक्रमा गर्नु पुर्व गुठी संस्थानबाट भैरवलाई विधिवत रुपमा बली पुजा गरिन्छ ।
    भैरवको खट जात्रा गरेपछि स्थानिय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रो माथि नीलो कपाडाले छोपेर अगाडीको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा शुरु गरिन्छ । जात्रा शुरु गर्न अगाडि तमारीको भैरव मन्दिर अगाडि तीन पटक घुमेर पुलुकिसी जात्रा शुरु गर्छ । जात्रामा पुलुकिसीलाई चार जना मानिसले बोकेर ल्याईन्छ भने एक जनाले पुलुकिसी भित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।
    देवराज ईन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीको रुपमा लिइने पुलुकिसीलाई नगर परिक्रमा गराउँदा दोबाटो चौबाटोहरुमा धान खुवाउने, टौमढी र दरवार स्क्वायरको डबलीमा आगो तपाउने, सूजमारीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन रहेको छ । जात्राको क्रममा पुलुकिसीको सुढंले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वास अनुसार पुलुसिकी आउ“दा सुंढले छुन्छकी भनी मानिसहरु परपर भाग्ने गर्दछ । देवीपुराण ग्रन्थ अनुसार पुलुकिसी जात्रा देवराज ईन्द्रका पुत्र जयन्तलाई खोज्न हिडेको सम्झनामा मनाएको हो ।
    जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधा भन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा शुरु गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्छ ।
    ईन्द्रजात्रा द्धापरयुगदेखि सञ्चालन भएता पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणहरुको संकलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको सँस्कृतिकर्मीहरु बताउँछन् ।
    लोककथन अनुसार स्वर्गका राजा देवराज ईन्द्रकी आमा बसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन ब्रत बस्न पारिजात फूलको खाँचो प¥यो । ईन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फुल खोज्न पठाए । जयन्त पारिजातको फुल खोज्दै दैत्यहरुको बगैंचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोवाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा ईन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यहरुसँग लगाई गरे । लडाईमा ईन्द्रको जित भयो । दैत्यहरुले ईन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी माग्छन । सो क्रममा दैत्यहरुलाई जनतामाझ शहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भएको आधारमा जात्रा प्रारम्भ गरिएको किवंन्दती रहेको इतिहास तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।
    देवराज ईन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत वस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ ग¥यो । त्यसपछि जयन्तलाई दुई हात पछाडी बँँँंाँधेर राख्यो । पछि जयन्तलाई छुटाउन देवता र दैत्यहरु वीच सङ्गग्राम भई देवताको जित भएको खुशियालीमा इन्द्रजात्रा मनाउदै आएको किवंन्दती रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताउनुभयो ।
    भक्तपुरमा ईन्द्रजात्रा देशमा सुख, शान्ति, समृद्धि कायम होस्, कुनै पनि प्राकृतिक विपती आईनलागोस्, देशमा अनिकाल, महामारी, अतिवृष्टि नहोस, काल र शत्रु नाश होस् भन्ने उद्देश्यले मनाउँदै आएको प्रा.डा श्रेष्ठले बताउनुभयो । साथै यस जात्राले मुला चोर पनि चोर घोडा चोर पनि चोर नै हो भन्ने मुख्य सन्देश दिएको उहाँको भनाइ रहेको छ ।

     

  • उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रण फितलो

    काठमाडौं, भाद्र ३१
    सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रण फितलो भइ जनताले स्वास्थ्य अधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप विषयक अध्ययनले नेपालमा सुर्तीमाथि लगाइने कर दक्षिण एसियामा नै सवैभन्दा कमजोर रहेको देखिएको छ ।
    सुर्ती उद्यमीले सामाजिक उत्तरदायित्वको नाममा गरिने प्रायोजन र विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई अदृष्य तवरले गरिने प्रायोजनका कारण सुर्ती नियन्त्रण हुन नसकेको देखिएको छ । सार्वजनिक स्थलमा खुलमखुला धुमपान गर्ने र विद्यालयको १०० मिटर वरपर सुर्तीको विक्रि वितरण गर्न रोक लगाउने कानुन कार्यान्वयनमा फितलो हुनुको कारण सुर्ती उद्यमी व्यवसायीकै अप्रत्यक्ष हात रहेको देखिएको अध्ययनकर्ता एवम् प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका महासचिव शान्तलाल मुल्मीले बताउनुभयो ।
    सुर्तीजन्य पदार्थ नियन्त्रणमा उद्यमीको हस्तक्षेप विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गर्न बिहिवार आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले बालबालिका र महिलाहरुले समेत सुर्ती सेवन गर्ने गरेको तथ्यांकले आफू झस्केको बताउँदै यसका लागि नीतिगत व्यवस्थालाई अझ कडाइ गर्न आफूले पहल गर्ने बताउनुभयो ।
    विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेस सम्वाजिराओ पाण्डवले नेपालमा तीन जनामा एक जनाले अर्थात एक तिहाइ जनताले सुर्ती सेवन गर्ने गरेको र त्यसमा पनि ५० प्रतिशत पुरुषले सुर्ती सेवन गर्ने गरेको तथ्यांक डरलाग्दो भएको बताउनुभयो । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को १ दशमलव ८ प्रतिशत सुर्ती सेवनमा खर्च हुने गरेको पनि बताउनुभयो । वर्षेनी २५ हजार मानिसको सुर्तीकै कारण ज्यान जाने गरेको र सुर्तीकै कारण नसर्ने रोग लागेकाहरुको मृत्यु सरदर आयुभन्दा अगावै हुने गरेको जानकारी दिँदैं उहाँले सुर्तीमा करवृद्धि गरी निरुत्साहन पार्नुपर्ने, सुर्तीरहित क्षेत्र घोषणा र सवै किसिमका सुर्ती प्रचार, प्रवद्र्धनलाई निरुत्साहित पार्न सरकारलाई सुझाव पनि दिनुभयो ।
    राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका निर्देशक सुनिलराज शर्माले सुर्तीमा कर वृद्धि गर्न सरकारलाई आफूहरुले पनि घच्घच्याइरहेको बताउँदै सुर्तीरहित क्षेत्रका लागि प्रयास जारी रहेको जानकारी दिनुभयो ।
    उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले सुर्ती नियन्त्रणका लागि समय सान्दर्भिक रुपमा कानुनको परिमार्जन आवश्यक रहेकाले ७ ओटा विषयमा संशोधनका लागि पहल भइरहेको बताउनुभयो ।
    बानियाँले दैनिक ७३ जनाको ज्यान लिने सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा उद्यमीको हस्तक्षेपकै कारण अहिलेसम्म सुर्ती नियन्त्रण तथा नियमन ऐन २०६७ र नियमावलीमा भएको ९० प्रतिशत स्वास्थ्य चेतावनी अंकित चित्र सुर्तीको बट्टामा राख्ने प्रावधान कार्यान्वयन हुन नसकेको पनि बताउनुभयो ।
    सहायक प्रमुख जिल्ला अधिकारीले जिल्लास्तरमा र स्थानीय तहका कार्यकारी अधिकृतले सुर्ती नियन्त्रणका लागि गर्नुपर्ने अनुगमन झारा टार्ने तवरले वर्षको १ घण्टामात्र गर्नुमा पनि सुर्ती उद्योगीकै प्रभाव र दबाब देखिएको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका महासचिव शान्तलाल मुल्मीले आरोप लगाउनुभयो ।
    मुल्मीले चुरोट खुलमखुलम रुपमा अस्पतालको छेउछाउमा समेत विक्रि वितरण र सेवन भइरहेको , सहायक प्रमुख जिल्ला अधिकारीले वार्षिक प्रतिवेदन बनाउनका लागि र बजेट सकाउनका लागि मात्र सुर्ती नियन्त्रणको अनुगमन गर्ने गरेको जानकारी दिनुभयो ।
    कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सञ्चारकर्मी एवम् राजधानी दैनिकका वरिष्ठ उपसम्पादक पूर्णभक्त दुवालले नेपालमा वर्षेनी सुर्ती सेवनमा मात्रै ४७ अर्ब रुपैयाँ खर्च हुने गरेको र यसबाट उत्पन्न जोखिम तथा रोगका कारण हुने खर्च भयावह रहेको दृष्टान्त पेश गर्नुभयो । हेल्थ टुडेका सम्पादक पद्मराज जोशीले स्वास्थ्य कर कोषको उपयोग स्वास्थ्य क्षेत्रमा नै गर्न लगाउनका लागि पहल हुनुपर्ने बताउनुभयो ।
    सुर्तीको कुनै पनि प्रचार प्रसार र प्रवद्र्धन गर्न नहुने कानुनी व्यवस्था हुँदा हुँदै पनि सुर्ती उद्योगले विभिन्न प्रायोजनको नाममा बजारीकरण गरिरहेको अध्ययनको निष्कर्ष छ । सामाजिक उत्तरदायित्वको नाममा सुर्ती उद्योगले सुर्तीको प्रवद्र्धन र प्रचारप्रसार गरिरहेको अध्ययनले औंल्याएको छ ।

  • निपा भाइरस ः नेपालमा पनि सावधान हुन आग्रह, संक्रमणबाट कसरी जोगिने

    भक्तपुर, भाद्र ३१
    छिमेकी भारतका केही स्थानमा निपा भाइरसको संक्रमण देखा परेको विवरण सार्वजनिक भएसँगै नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
    अहिलेसम्म नेपालमा कसैमा संक्रमण भएको पुष्टि भएको छैन । तर देशका ११८ अस्पताल र स्वास्थ्यसंस्थामा शंकास्पद बिरामीहरू देखिए बेलैमा जानकारी गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।
    भारतको केरलास्थित कोझिकोडेमा एक १२ वर्षे बालकको ज्यान गएपछि नेपालले पनि सतर्कता बढाइएको हो । बिज्नस स्ट्यान्डर्ड पत्रिकाका अनुसार भारतमा थप दुई जनामा निपा भाइरसको संक्रमण पुष्टि भएको छ ।
    सन् २०१८ को मे महिनामा पनि केरलामा निपा भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यस बेला त्यहाँ १७ जनाको उक्त भाइरसका कारण मृत्यु भएको थियो ।
    निपा भाइरस के हो ?
    एनआईभी भनिने निपा भाइरसको सङ्क्रमण तुलनात्मक रूपमा नयाँ किसिमको रोग हो । मन्त्रालयका अनुसार निपा भाइरस पशुबाट मानिसमा सर्छ र यसले गम्भीर प्रकृतिको रोग लाग्छ । उक्त भाइरस प्राकृतिक रूपमा ‘फ्रूट ब्याट’ जातको चमेरोमा पाइने बताइएको छ । मन्त्रालयका अनुसार निपा भाइरसले मस्तिष्कमा संक्रमण गराउँछ । सुरुमा यो भाइरसले श्वासप्रश्वाससम्बन्धी समस्या गराउँछ ।


    भारतको पश्चिम बङ्गाल र बंगलादेशमा उक्त भाइरस देखा परिसकेको र पछिल्लो समय दक्षिण भारतको केरलामा भाइरस फेला परेसँगै नेपालमा पनि सतर्कता बढाइएको अधिकारीहरू बताउँछन् । भाइरस पशुपक्षीबाट मानिसमा सर्ने भएकाले यसलाई ‘जूनोटिक’ रोगको वर्गमा राखिएको छ ।
    प्रायः सुँगुर, बङ्गुर र फलफूल खाने चमेरोमा संक्रमण भएपछि मानिसमा पनि सर्न सक्ने मन्त्रालयको भनाइ छ । यो भाइरस पशुबाट पशु, पशुबाट मानिस र मानिसबाट मानिसमा सर्न सक्छ । त्यसैले कोभिड महामारीमा जस्तै मास्क लगाउने जस्ता जनस्वास्थ्यका मापदण्ड महत्वपूर्ण मानिन्छ ।
    संक्रमित जनावरको तरल पदार्थसँग संसर्गमा आएका जुनै उमेर समूहका मानिसलाई प्रभाव पर्ने बताइएको छ । भारतमा संक्रमण फैलाउने चमेरो नेपालमा पनि पाइने, सुँगुरपालन कृषकको रोजाइमा परेको व्यवसाय रहेको र मानिसबाट मानिसमा सर्न सक्ने हुँदा नेपाल जोखिममा रहेको डा. शेरबहादुर पुन बताउँछन ।
    त्यसै कारण पनि नेपालमा भाइरस आउन सक्ने सम्भावना भएका ठाउँमा अहिल्यै सतर्कता अपनाउनुपर्ने विज्ञहरू बताउँछन ।
    लक्षण के हुन ?
    निपा भाइरसका लक्षणमा ज्वरो आउने, टाउको दुख्ने र मानिसहरू छिट्टै बेहोस जस्तो गराउने र एकदमै छिटो गम्भीर अवस्थामा भाइरसले पुर्याउन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन् ।
    त्यसबाहेक रिँगटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलको सुजन पनि प्रमुख लक्षणमध्ये रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । भारतसँग नेपालको खुला सीमा रहेकाले यसको जोखिम नेपालमा रहेको बताइन्छ ।
    यसको उपचार छ कि छैन ?
    मन्त्रालयका अनुसार यो भाइरसको संक्रमणको निश्चित उपचार छैन । यो भाइरसविरुद्ध खोप पनि बनिसकेको छैन । तसर्थ यसबाट जोगिने कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
    भाइरसबाट बच्नका लागि बिरामी पशुपक्षीनजिक नजाने र पशुपक्षीसँगै काम गर्ने व्यक्तिहरू होसियार रहनुपर्ने हुन्छ । त्यस्तै तरकारी, माछामासु राम्रोसँग पकाएर र फलफूल राम्रोसँग पखालेर खानुपर्ने हुन्छ । सरसफाइमा पनि ध्यान दिनुपर्ने हुन्छ ।
    गाईबस्तुका गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर पिउने, बेलाबेलामा साबुन पानीले हात धुने र भिडभाडमा मास्क लगाउनाले भाइरसको रोकथाम गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ ।
    कोभिड र निपा भाइरस कसरी छुट्टाउन सकिन्छ ?
    प्रारम्भिक लक्षणले कोभिड वा निपा भाइरसमध्ये कुनबाट मानिसहरू संक्रमित भएका हुन भन्ने कुरा थाहा नहुन सक्ने अधिकारीहरू बताउँछन् । तर निपा भाइरसले मस्तिष्कमा असर गर्छ र मानिसहरू छिट्टै बेहोस हुने सम्भावना रहन्छ । यो भाइरस सरेपछि बिरामीले काम्ने गरेको पनि पाइएको छ ।
    “कुन हो भनेर पत्ता लगाउने त फेरि पनि स्वास्थ्यकर्मी र अस्पतालहरूकै काम भयो,’’ पौडेलले भन्नुभयो, “सर्वसाधारणहरूलाई ज्वरो कम भएन, शरीर दुख्ने भयो, छिटै गम्भीर जस्तो अवस्था भयो भने छिटै अस्पताल जानुपर्यो ।’’


    देशभरिका ११८ अस्पताल र स्वास्थ्यसंस्थालाई निदान गर्न गाह्रो छ भने नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन भनिएको उहाँले जानकारी दिनुभयो ।
    नेपालमा यो भाइरसको परीक्षण गर्नका लागि आवश्यक पूर्वाधार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै उपलब्ध रहेको सरकारी भनाइ छ । निपा भाइरस तीव्र गतिमा फैलिन सक्ने भनिए पनि कोभिडसँग तुलना गर्दा भने त्यो गति केही सुस्त रहेको डा. पुन बताउँछन् ।
    “आजको मितिसम्म एकदमै धेरै सर्दै गएर भूगोल पनि पार गर्दै एक ठाउँबाट अर्को ठाउँमा गएको खासै देखिएको छैन । त्यो कारण कोरोनाभाइरसको तुलनामा आजको मितिसम्म सर्ने क्षमता देखिएको पुष्टि चाहिँ हुँदैन,” पुनले भन्नुभयो ।
    नेपालका लागि निपा भाइरस कत्तिको चिन्ताको विषय हो ?
    यद्यपि यसको प्रकोप चिन्ताको विषय भने रहेको पौडेल बताउँछन् । संक्रमित मानवबाट मानवमा भाइरस सर्न सक्ने हुँदा पनि सचेत रहनु जरुरी रहेको उनी बताउँछन् ।
    “किनभने यसको मृत्युदर उच्च छ । संक्रमितमध्ये दुई जनामा एक जनाको मृत्यु हुन सक्छ । कुनै अध्ययनले त ७५ प्रतिशतसम्म मृत्यु हुनसक्ने भन्छ । त्यो भनेको उच्च हो,” उहाँले भन्नुभयो ।
    संक्रमितको मृत्यु हुनसक्ने सम्भावनाबाहेक यो भाइरसले लामो समयसम्म स्वास्थ्यसम्बन्धी समस्या पनि पार्न सक्ने अध्ययनहरूले देखाएको डा. पुन बताउँछन् । भाइरसबाट संक्रमित भएका २० प्रतिशतमा पछिसम्म कुनै न कुनै किसिमको समस्या देखा पर्न सक्ने अध्ययनहरूले देखाएको उहाँको भनाइ छ । त्यसमा नसा सम्बन्धी समस्या पनि देखिने गरेको अनुसन्धानहरूले देखाएको उहाँले बताउनुभयो ।
    स्रोत ः विश्व स्वास्थ्य सङ्गठन
    बिबिसी नेपाली सेवाबाट साभार

  • मध्यपुर थिमिलाई जापानी प्रविधिको रिकीसी कम्पोष्ट मलको एसियाकै तालिम केन्द्रको रुपमा विकास गर्ने

    भक्तपुर, भाद्र ३०
    मध्यपुर थिमि वडा नं. ४ मा सञ्चालित जापानी प्रविधिको रिकीसी कम्पोष्ट मल उत्पादन केन्द्रलाई एसियाकै तालिम केन्द्रकोरुपमा विकास गर्ने भएको छ । मध्यपुर थिमि नगरपालिकाको समन्वयमा राष्ट्रिय सञ्चार केन्द्रले थिमिमा आयोजित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र जापानी रिकीसी कम्पोष्ट मल प्रविधि बारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले सो जानकारी दिनुभएको हो ।
    केही समयपछि श्रीलंका र बंगलादेशको टोली रिकीसी कम्पोष्ट मल प्रविधिबारे अध्ययनका लागि आउने जानकारी दिँदैं उहाँले फोहोरको उचित व्यवस्थापन गर्न सके मोहर कमाउन धेरै समय नलाग्ने उत्कृष्ट र नमूना योग्य उदाहरण रिकीसी कम्पोष्ट मल भएको बताउनुभयो । उहाँले केन्द्रले मल उत्पादन शुरु भए यता ३ करोड भन्दा बढीको मल बिक्रि गरिसकेको जानकारी दिनुभयो ।


    नमूना परियोजनाको रुपमा शुरु गरेको केन्द्रलाई नगरका ९ वटै वडामा बिस्तार गर्ने लक्ष्य रहेको र फोहोरको उचित व्यवस्थापन गर्न सके नगरको फोहोर नगरभित्रै व्यवस्थापन हुने उदाहरण रिकीसीको सफल प्रयोगले दिएको उहाँले बताउनुभयो ।
    नगरप्रमुख श्रेष्ठले नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्तरबृद्धिले कोरोना महामारीमा सर्वसाधारणले सहज र सरल स्वास्थ्य सेवा प्राप्त गरेको दावी गर्नुभयो । अस्पताललाई नगरपालिका मातहत ल्याएपछि ल्याव, शैयाको संख्या बृद्धि, आईसीयु, हाइकेयर युनिट, अक्सिजन प्लान्टको निर्माण, भेन्टिलेटरलगायतको सेवा बिस्तारले अस्पताललाई जिल्लाकै उत्कृष्ट अस्पतालको रुपमा विकास भएको दावी गर्नुभयो ।
    उहाँले नगरपालिकाभित्र समानता र समानुपातिकरुपमा सबै क्षेत्रको विकास भएपनि सम्पदा क्षेत्रको मात्र बढी चर्चा भएकोले ढल, सडक सुधारलगायतमा नगरपालिकाको ध्यान जान नसकेको हो की भन्ने जनगुनासो आउने गरेको चर्चा गर्दै नगरप्रमुख श्रेष्ठले सम्पदा क्षेत्रमा भन्दा कयौं गुणाबढी काम सडक र ढलको व्यवस्थापनका काम सम्पन्न भएको तथ्य प्रस्तुत गर्नुभयो ।


    नगरप्रमुख श्रेष्ठले संघीयताको मर्म अनुसार स्थानीय तह सञ्चालन गर्ने देशकै पहिलो नगरपालिका मध्यपुर थिमि भएको दावी गर्दै नगरपालिकाले संघीय र प्रदेश सरकारका संघीयता विरोधी निर्देशनहरुलाई ठाडै अस्विकार गर्ने गरेको जानकारी दिनुभयो । उहाँले कर्मचारी समायोजनका क्रममा अनावश्यक कर्मचारी नलिने अडानलाई मन्त्रालयले स्वीकार्न बाध्य भएको बताउनुभयो ।
    उहाँले स्थानीय सरकार सञ्चालन ऐनको मर्म अनुसार प्रशासकहरुले काम गर्न नसक्दा विगतमा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतसँग समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतको स्थानीय स्वायत्त शासन ऐनका प्रावधानसँग घुलमिल भएका प्रशासकहरु स्थानीय सरकार सञ्चालन ऐन अनुसार अघि बढ्न नसक्दा विगतमा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतसँग समस्या उत्पन्न भएको थियो । अहिले त्यस्तो समस्या छैन ।”
    कार्यक्रममा नगर उपप्रमुख अञ्जनादेवी मधिकर्मीले नगरको विकासमा सबै जनप्रतिनिधिहरुको योगदान रहेको चर्चा गर्दै सञ्चारकर्मीहरुले सबै काम नगरप्रमुख एक्लैले गरेको जस्तो गरी समाचार सम्प्रेशन गर्ने गरेको भन्दै गुनासो गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले सरोकारवाला सबैको सहयोगले नगरपालिकाको मुहार फेरिन थालेको बताउनुभयो ।
    नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले नगरपालिकामा जनप्रतिनिधिहरुको बहालीसँगै सम्पदा पुनःनिर्माण, स्वास्थ्य र फोहोर व्यवस्थापनमा नमूना योग्य काम भएको बताउनुभयो ।


    कार्यक्रममा रिकीसी कम्पोष्ट मल उत्पादन केन्द्रका प्रमुख उषा गिरीले चितवनको राप्ती, सिन्धुलीको दुधौली, काभ्रेको पाँचखाल, भक्तपुरको भक्तपुर र काठमाण्डौंको चन्द्रागिरी नगरपालिकाले पनि रिकीसी कम्पोष्ट मल उत्पादन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
    त्यसैगरी नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका प्रमुख डा. ज्ञानकृष्ण कायष्ठले अस्पतालले गतवर्ष प्रदान गरेका सेवाबाट लाभान्वितको संख्या, अस्पतालमा उपलब्ध सेवा, स्वाथ्यकर्मी र कर्मचारीहरु, सेवा विस्तारका योजनालगायतको विवरण प्रस्तुत गर्नुभयो ।
    उहाँले अस्पतालमा आउने बिरामीको करिव ८० प्रतिशत हिस्सा स्वास्थ्य बिमाका लाभग्राही आउने गरेको जानकारी दिँदैं सरकारले समयमा स्वास्थ्य बिमाको रकम निकासा नदिँदा कर्मचारीलाई तलव खुवाउन, आवश्यक औषधी र स्वास्थ्य उपकरण खरिदमा समेत समस्या रहेको बताउनुभयो ।
    कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका योजना महाशाखाका प्रमुख ईं सत्यनारायण शाहले नगरपालिकाले विगत चार वर्षमा सम्पन्न गरेका विकास निर्माणका बारेमा विस्तृत जानकारी दिनुभएको थियो । उहाँले आर्थिक वर्ष २०७४⁄०७५ देखी २०७७⁄०७८ सम्म नगरपालिकाले सम्पदातर्फ सत्तल, मन्दिर, बिहार, लायकु दरवार, पोखरी, प्रवेशद्धार, पाटी, ढुंगेधारा, घाट सुधारलगायतका कार्यमा ३७ करोड ४३ लाख ८२ हजार, भवनतर्फ वडा कार्यालय, सामुदायिक, हेल्थपोष्ट, अस्पताल भवन निर्माण तथा मर्मत कार्यमा २१ करोड ८४ लाख १८ हजार, खानेपानी र इनार ममर्तमा ४ करोड ५७ लाख ८५ हजार, बाटो, सडक, पुल, ढल, ढुंगा छपाईमा ५९ करोड, ८२ लाख ५१ हजार खर्च भएको जानकारी दिनुभयो ।
    उहाँले पार्क निर्माण र खेलकुदमा १३ करोड, २५ लाख २१ हजार, सडक बत्तिमा ७७ लाख ९० हजार, भूक्षय नियन्त्रण, टेवा पर्खाल निर्माणमा ९ करोड २८ लाख ६४ हजार खर्च भएको बताउनुभयो ।
    त्यस्तै नेपाल आर्थिक पत्रकार समाज (सेजन)का निवर्तमान अध्यक्ष भिम गौतमले विकास पत्रकारिताका बारेमा प्रस्तुतीकरण गर्दै विकास पत्रकारिताका विविध पक्षको जानकारी दिनुभयो ।
    केन्द्रका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार पुष्कर बुढाथोकी, केन्द्रका सचिव हेमराज ढकालले मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेका विकासका योजनाका बारेमा चर्चा गर्नुभएको थियो भने सेजनका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।