भक्तपुर, पुस २३
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको थाकलमाथमा रहेको सरस्वती माध्यमिक विद्यालय अब हरित विद्यालय बन्ने भएको छ । नगरपालिकाको हरित विद्यालय कार्यक्रम निर्देशिका, २०७५ अनुसारको मापदण्ड एक वर्षभित्र पुरा गरी सरस्वती मावि हरित विद्यालय बन्न लागेको हो ।
निर्देशिकामा सामुदायिक विद्यालयको स्वामित्वमा रहेको खाली जग्गामा अनिवार्य रूपमा बालबालिकालाई मनोरञ्जन दिने खेल सामग्री राख्नुपर्ने, विभिन्न प्रजातिका बोटबिरुवा रोपण, संरक्षण तथा सम्वद्र्धन गर्नुपर्ने प्रावधान राखिएको छ ।
हरित विद्यालय अवधारणा अन्तरगत छात्राहरूलाई स्यानिटरी प्याड निर्माण तालिम, प्लास्टिक र प्लाष्टिकजन्य वस्तुको पुनःप्रयोग गरि विभिन्न शैक्षिक सामग्री निर्माण गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी विद्यार्थीहरुलाई कौशी खेती प्रवद्र्धन, च्याउखेती लगायतका सिपविकासका तालिम दिने, फोहोरमैला व्यवस्थापनका साथै बगैंचा निर्माण र आकाशेपानी व्यवस्थापनको बारेमा समेत ज्ञान दिने कार्यक्रम रहेको हरित विद्यालय निर्माण परियोजनाका सहयोगी संस्था ग्लोबल पिस फाउन्डेसनका सिनियर प्रोजेक्ट अफिसर सृजना सितिखुले बताउनुभयो ।
यस्तै वातावरणमैत्री स्कुल बनाउने, त्यसका लागि शिक्षक, विद्यार्थीको क्षमता अभिवृद्धि गरि वायु प्रदूर्षण न्यूनीकरणका कार्यक्रम समेत गरिने र त्यस अन्तरगत प्रत्येक हप्तामा एक ÷ दुईवटा तालिम र अभिमुखीकरण गरिनेछ ।
हरित विद्यालयको प्रावधान पुरा गर्ने विद्यालयलाई हरित विद्यालय घोषणा गर्ने नीतिअनुरुप सरस्वती मावि हरित विद्यालय बन्न लागेको चाँगुनारायण नगरपालिका खानेपानी तथा सरसफाइ स्वच्छता शाखा(वास) प्रमुख सुरेन्द्र लामिछानेले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक टीकाराम पाण्डेले हरित विद्यालयको अवधारणा पूरा गर्नका लागि विद्यालय कटिबद्ध रहेको बताउनुभयो । उहाँले वातावरण स्वच्छ राख्नपनि हरित विद्यालय कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजिव पुरीले हरित विद्यालय कार्यक्रमलाई पूर्णरूपमा सफल बनाउन कटिबद्ध भएर लाग्ने बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नं.८ का अध्यक्ष जनक खत्रीले विद्यालयको समग्र शैक्षिक स्तर उकास्नका हरित विद्यालय अवधारणा सहायक सिद्ध हुने बताउनुभयो । “हरित विद्यालयसँगै विद्यार्थी, शिक्षक र समग्र विद्यालयको स्तरमा सुधार हुनेछ । यस्तो विद्यालयलाई नगरपालिकाले थप सहयोग पनि गर्नेछ,” उहाँले भन्नुभयो ।
नगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को परीक्षा उत्कृष्ट विद्यालय बन्न सफल सरस्वती मावि गत वर्षको एसईई परीक्षामा पनि जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको थियो ।
Category: विविध
-
सुडालको सरस्वती मावि पहिलो हरित विद्यालय बन्ने
-
शुभश्री सहकारीको अध्यक्षमा श्यामसुन्दर कायस्थ चयन
भक्तपुर, पुस २१
मध्यपुर थिमि–४ शंखधरचोकस्थित शुभश्री वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा श्याम सुन्दर कायस्थ सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको शनिवार सम्पन्न १७औं वार्षिक साधारण सभाले कायस्थलाई अध्यक्ष चयन गरेको हो ।
सभाले संस्थाको उपाध्यक्षमा रत्नसुन्दर कायस्थ, सचिवमा सुन्दर बज्राचार्य र कोषाध्यक्षमा तुल्सीमान श्रेष्ठ चयन गरेको छ ।
यसैगरी आगामी ४ वर्षका लागि सञ्चालक सदस्यहरुमा ज्ञानकृष्ण श्रेष्ठ, काशीभक्त कायस्थ, बालकृष्ण श्रेष्ठ, नन्दलाल श्रेष्ठ र संजिता धुंजु चयन हुनुभएको छ । लेखा सञ्योजकमा उत्तम श्रेष्ठ र सदस्यद्धयमा गोपाल न्हा श्रेष्ठ र शुभेच्छा बज्राचार्य चयन हुनुभएको छ ।
सभामा संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ३२ लाख ९० हजार ७ सय ५० रुपैंया खुद वचत गरेको जानकारी दिनुभएको थियो । साधारण सभाले सचिव काशीभक्त कायस्थले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष तुल्सीमान श्रेष्ठले आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
सभामा ज्येष्ठ शेयर सदस्यहरु, बाल वचतकर्ता, इसईई सम्मानका साथै बालकुमारी बाँसुरी खलःलाई पनि नगद र उपहारसहित सम्मान गरिएको थियो ।
यसअघि सभाको उद्घाटन गर्दै मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले पर्यटन विकासका लागि बजेट छुट्याएर काम गर्न सहकारीहरुलाई आग्रह गर्नुभयो । मध्यपुर थिमिको कला, सीप, संस्कृति, सम्पदा, पेशा व्यवसायलाई पर्यटनसँग जोड्न मध्यपुर महोत्सव आयोजना गरिएको बताउनुभयो ।
सभामा भक्तपुर जिल्ला वचत संघका उपाध्यक्ष विरेन्द्रभक्त प्रधानाङ्ग, भक्तपुर जिल्ला वचत संघका लेखा संयोजक बालमुकुन्द उपाध्याय लगायतले सहकारी विविध पक्षका बारेमा चर्चा गर्नुभएको थियो । -
बालकुमारी सहकारीको खुद नाफा ३ करोड ३३ लाख
भक्तपुर, पुस २१
मध्यपुर थिमि–४ शंखधरचोकस्थित बालकुमारी वचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ३ करोड ३३ लाख २० हजार ५ सय रुपैंया खुद नाफा गरेको छ । संस्थाले आ.व. २०८०÷०८१ मा २ अर्ब १३ करोड ३८ लाख रुपैंयाको कारोवार गर्दै उक्त नाफा आर्जन गरेको हो ।
संस्थाको शनिवार सम्पन्न २४ औं वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष तुईलाल श्रेष्ठले संस्थाको शेयर पुँजी १३ करोड ७० लाख ९७ हजार ८ सय रुपैंया पुगेको जानकारी दिनुभयो ।
साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघ नेपालकी महाप्रबन्धक चित्राकुमारी सुब्बाले स्थानीय बासिन्दाद्धारा समूदायमा आधारित बालकुमारी सहकारी भक्तपुर जिल्लाकै उदाहरणीय सहकारी भएको बताउनुभयो ।
कार्यक्रममा आदर्श मावि लाय्कुमा अध्ययनरत २ जना र बालप्रेमी मावि सुँगाटोलमा अध्ययनरत २ जना गरी ४ जना छात्रछात्रालई नगदसहित छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसैगरी संस्थाका ज्येष्ठ शेयर सदस्यहरु महिला र पुरुष गरी ४ जनालाई दोसल्ला र नगद सहित सम्मान गरिएको थियो ।
गतवर्षको एसर्ईई परीक्षामा उत्कृष्ट अकं हासिल गरेको शेयर सदस्यका ४ जना छोराछोरीलाई पनि नगद सहित सम्मान गरिएको उक्त कार्यक्रममा संस्थाद्धारा आयोजित विभिन्न तालिमका प्रशिक्षकरुलाई कदरपत्र प्रदान गरिएको थियो । साथै शेयर सदस्यहरु मध्ये स्नातकोत्तर तह र पिएचडी उत्तीर्णहरुलाई पनि सम्मान गरिएको थियो ।
यसैगरी येंया पुन्ही म्येप्वा खनेउ जात्रा (ईन्द्रजात्राको अवसरमा थिमिमा मनाईने जिब्रो छेड्ने जात्रा)मा जिब्रो छेडाएर पशुपतिसम्मको पैदल यात्रा गर्नुभएका साहसी विरेन्द्रभक्त गजु श्रेष्ठलाई नगद १० हजार नगद सहित विशेष सम्मान गरिएको थियो ।
यस्तै संस्थामा कार्यरत कार्यालय सहायक प्रविण श्रेष्ठ र जुनियर सहायक नानीकेशरी प्रजापतिलाई नगद १० हजार नगदसहित वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार र व्यवस्थापक सुजेन्द्र श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको थियो ।
सभाले सचिव पृथ्वीराम श्रेष्ठको वार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष सुदिप श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा संयोजक चन्द्रमोहन जोशीको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
कार्यक्रममा जिल्ला वचत संघ भक्तपुरका सञ्चालक एवं बालकुमारी साकोसका पूर्व अध्यक्ष पञ्चकृष्ण श्रेष्ठ, मध्यपुर थिमि नगरपालिका सहकारी शाखाका प्रमुख अभयन्द्र रञ्जित, जिल्ला सहकारी संघ भक्तपुरका सचिव रामप्रसाद कासुला, शंखधर साकोसका अध्यक्ष श्याम श्रेष्ठलगायतका वक्ताहरुले समुदायमा आधारित नीति, विधि र प्रविधियुक्त सहकारीमा कुनै समस्या नरहेको भन्दै बालकुमारी साकोसका सामाजिक कार्यहरुको प्रशंसा गर्नुभएको थियो । -
मध्यपुरका गायक आश्रयसहित ७ जना नेवा आइडलको फाइनल प्रवेश
भक्तपुर, पुस २१
मध्यपुर थिमिका युवा गायक आश्रय रञ्जित ‘नेवाः आइडल सिजन २’ को फाइनल प्रवेश गरेको छ । आश्रयसँगैं सुजितमान शाक्य, हाना महर्जन, रत्नमान महर्जन, अशेष महर्जन, अनिल सयामी र अनिशराज श्रेष्ठ पनि सांगीतिक रियालिटी शो ‘नेवाः आइडल २’ को फाइनल प्रवेश गरेको ।
फिजिकल तथा डिजिटल अडिसनमार्फत सहभागी ५० जनामध्ये विभिन्न चरणबाट छनोट हुँदै आएका ७ जनाबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । फाइनल माघ ५ गते हुने छ । ठमेलस्थित नेपा सा जिए ए हलमा दिउँसो २ बजेदेखि फाइनल शुरू हुने आयोजक फाल्कन इभेन्टले जनाएको छ ।
आइडलको मुख्य निर्णायकमा गोबिन्द ह्युमत खड्गी र संगिता शाक्य थापा छन् । आइडलको निर्देशन अन्जीता खड्गीले गर्नुभएको छ । आयोजक फाल्कन इभेन्टका कार्यकारी अध्यक्ष मनोज नेवाः खड्गीका अनुसार ५० प्रतिशत निर्णायकको मतको आधारमा र ५० प्रतिशत दर्शकको भोटिङका आधारमा विजेता छनोट गरिने छ ।
विजेताले ट्रफीसहित नगद १ लाख २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । दोस्रोले ५० हजार पाउँदा तेस्रोले २५ हजार प्राप्त गर्नेछन् । त्यस्तै चौथो र पाँचौंले १०÷१० हजार प्राप्त गर्नेछन् । नेवाः आइडल पहिलो सिजनको विजेता मन्जिल शाक्य घोषित भएका थिए ।
नेपाल भाषाको संगीत अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सकिन्छ भन्ने उद्देश्य लिएर आइडल गरिएको आयोजकको भनाइ छ । साथै लुकिरहेका प्रतिभालाई प्रोत्साहन गर्ने, सांगीतिक क्षेत्रमा नेवाः मौलिकता प्रस्तुत गर्ने, गैर नेवाःहरूलाई पनि नेवाः संगीत र नेपाल भाषामा आकर्षित गर्ने लगायतका उद्देश्य रहेको आयोजकले जनाएको छ ।
यसैबीच ‘नेवाः आइडल सिजन २’ को भोटिङ शुरु भएको छ । आइडल विजेता ५० प्रतिशत दर्शकको भोटिङका आधारमा पनि हुने भएकाले भोटिङ खुल्ला गरिएको आयोजकले जनाएको छ ।
फाइनल प्रवेश गरेका आश्रयाको भोटिङ कोड एनआई ००४ रहेको छ । आश्रयले यस अघि पनि विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेको छ । उहाँले चर्चित भारतीय गायन रियालिटी शो ‘सुर श्री’ को पाँचौं संस्कारको सेमिफाइनलसम्मको यात्रा तय गर्नुभएको थियो । -
शहीद बैकुण्ठहरि स्मृति पत्रकारिता पुरस्कार थापालाई प्रदान
भक्तपुर, पुस २१
पत्रकार बलराम थापालाई शहीद बैकुण्ठहरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल भक्तपुर शाखाले शहीद बैकुण्ठहरि श्रेष्ठको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार थापालाई शनिवार सम्पन्न सेन्टरको तेस्रो जिल्ला अधिवेशनको क्रममा प्रदान गरिएको हो ।
पुरस्कारको नगद राशी १० हजार रुपैंया रहेको छ । मूलप्रवाह मासिक पत्रिकामार्फत देश, जनता र सर्वहारा वर्ग पक्षमा कलम चलाएर योगदान दिएको भन्दै थापालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
सो अवसरमा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले कुर्सी, पद र प्रतिष्ठालाई केन्द्रमा राखी सत्ताधारीहरु शत्रुतापूर्ण व्यवहारमा ओर्लिएको आरोप लगाउनुभयो । उहाँले नेपालमा नेतान्याहु जन्मने खतरा रहेको औल्याउदै प्रेस जगतले उनीहरूलाई समयमै सच्याउन सक्नुपर्नेमा जोड दिनुभयो । “बहुदलीय व्यवस्थामा दलहरूबीच समन्वय हुनुपर्नेमा निषेधको सोच बढ्नु प्रत्युत्पादक हो,” उहाँले भन्नुभयो, “यस्तो सोच विरुद्ध प्रेस जगतले बेलैमा खबरदारी गर्नुपर्छ ।”
उहाँले दलाल पूजीवादले सर्वसत्तावादलाई बढावा दिएको बताउदै विश्व साम्राज्यवादको लाइन पनि यहीँ भएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा वर्तमान सरकार गठन यसैको पटाक्षेप भएको आरोप लगाउनुभयो । वर्गीय अन्तर्विरोध पहिचान गरि अघि बढ्नुपर्ने आवश्यकता औल्याउदै उहाँले तबमात्र समाजवाद सम्म पुग्न सकिने विचार व्यक्त गर्नुभयो ।
प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले नेपाल पत्रकार महासंघमा प्रेस सेन्टरलाई सरकार समर्थक दुई ठुला संगठनले रोक्न खोज्दाखोज्दै पनि सान्दार जीत हासिल गरेको भन्दै देशको राजधानी रहेको उपत्यकामा सेन्टरको एकलौटी जित भएको बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, प्रतिमा श्रेष्ठ, जिल्ला संयोजक सुनिल बासु, प्रेस सेन्टरका उपाध्यक्ष एवम् उपत्यका इन्चार्ज निर्मल ज्ञवाली, अध्यक्ष नवराज दाहाल लगायतले प्रेस सेन्टरले खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।
यसैबीच अधिवेशनले मदन ढुंगानाको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । ७ सदस्यीय पदाधिकारीमा निराजन सिलवाल र रत्नकाजी प्रजापति उपाध्यक्ष, प्रदीप श्रेष्ठ सचिव, निसा कुस्मा र अमृता बुढाथोकी सहसचिव तथा बाबुराम दाहाल कोषाध्यक्ष चयन भएका छन ।
अधिवेशनबाट रोशन क्षेत्री र रुपक ढुङ्गाना लगायत केन्द्रीय प्रतिनिधि र बाबुकाजी श्रेष्ठ र सुरेश श्रेष्ठ लगायतलाई प्रदेश प्रतिनिधि चयन गरिएको सेन्टरका निवर्तमान अध्यक्ष संजीप घिमिरे ‘शुभचिन्तक’ले बताउनुभयो । -
तारा स्काउटको दिक्षान्त समारोह सम्पन्न
भक्तपुर, पुस २१
तारा माध्यमिक विद्यालय, बोलाछेंमा सञ्चालित तारा स्काउट ट्रुपका विद्यार्थीहरुलाई दिक्षा दिइएको छ । चरित्रवान र सर्वाङ्गिण विकासमा सक्षम भइ स्काउटको नियम प्रतिज्ञा पालना गर्ने विद्यार्थीहरुलाई शनिवार दिक्षा दिइएको हो ।
नेपाल स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्यले स्काउटलाई दिक्षा दिंदै स्काउट स्वयंसेवी भावनामा ओतप्रोत हुने र पैसाका लागि नभइ समाजका लागि काम गर्ने र मेहनती हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ४ का अध्यक्ष उपेन्द्र सुवालले प्रत्येक विद्यालयमा स्काउट शिक्षा पु¥याउन सकेको खण्डमा बालबालिकाहरु कुलतमा नफस्ने बताउँदै देशभक्त नागरिक उत्पादन भइ राष्ट्रलाई टेवा पुग्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिका स्थानीय स्काउट आयुक्त बालकृष्ण बनमालाले स्काउट कर्तव्यनिष्ठ र निडर हुने धारणा राख्दै विश्वासयोग्य बन्नका लागि मेहनत तथा परिश्रम गरी अर्ध सैनिकजस्तो भएर कार्य गर्नुपर्ने बताउनुभयो ।
स्थानीय सदस्यता बृद्धि आयुक्त पूर्णभक्त दुवालले स्काउटले अप्ठ्यारो र समस्यामा आफू बचेर अरुलाई उद्धार गर्ने भएकाले यो शिक्षा हरेक व्यक्तिले लिन आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय प्रशिक्षकद्वय अच्युत प्रजापति र रत्ना चवालले स्काउटले कसैंलाई भेदभाव नगरिकन तन मन र कर्मले पवित्र हुने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक प्रेमलक्ष्मी त्वायना र पूर्व प्रधानाध्यापक पुष्पलाल सुजखुले दिक्षित विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए । -
ईप्सन भक्तपुरको पाँचौं अधिवेशनले खड्का अध्यक्ष चयन
भक्तपुर, पुस २०
एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन भक्तपुर) को पाँचौं अधिवेशन शुक्रवार सम्पन्न भएको छ । भक्तपुर ११ वटा संस्थागत विद्यालय सदस्य रहेको ईप्सनको अधिवेशनले क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल जी.बी. खड्कालाई अध्यक्ष चयन गरेको छ ।
यस्तै उपाध्यक्षमा सुर्योदय सेकेण्डरी स्कुलमा प्रिन्सिपल विजय कर्माचार्य, सचिवमा पारिजात बिद्याकुञ्जका प्रिन्सिपल विक्रम थापा, सहसचिवमा ग्लोवल एकेडेमी का प्रिन्सिपल के. वी. ङाखुसी र कोषाध्यक्षमा हिमाल एकेडेमीका प्रिन्सिपल प्रदिप थापा चयन हुनुभएको छ ।
यसैगरी सदस्यमा मदरल्याण्ड ईङ्गिलस स्कुलका प्रिन्सिपल संजय खड्का, ईडेन गार्डेन ईङ्गिलस स्कुलका प्रिन्सिपल जयप्रकाश राई, सेन्ट जोन्स ईङ्गिलस स्कुलका प्रिन्सिपल देवदत्त भट्ट, विमल मेमोरियल विद्यापिठका प्रिन्सिपल कुमार थापा मगर, युनिटी ईङ्गिलस स्कुलका प्रिन्सिपल विपीन गुमाञ्जु र नगरकोट सनराईजका प्रिन्सिपल सुर्य घिसिङ्ग चयन हुनुभएको छ ।
एउटै पाठ्यक्रम तथा पाठ्यपुस्तक मार्फत पठनपाठन, संयुक्त परीक्षा सञ्चालन, शिक्षक सशक्तिकरण कार्यक्रम, विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप लगायतका सञ्चालन गर्दै शैक्षिक उन्नयनमा अग्रसर यो संस्था वि.स. २०५७ मा स्थापना भएको हो ।
अधिवेशनले ईप्सनलाई सदस्य विद्यालयहरुको स्रोत केन्द्रका रुपमा अगाडी बढाउने, शिक्षक सशक्तिकरण कार्यक्रमलाई प्रभावकारी बनाउने र शिक्षक तथा विद्यार्थी विपद् कोष सञ्चालनलाई भावी योजनाका रुपमा अगाडी बढाउने योजना पारित गरेको नवनिर्वाचित अध्यक्ष खड्काले बताउनुभयो । -
बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ताथली धिमे खलः प्रथम
भक्तपुर, पुस २०
बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली धिमे खलः प्रथम भएको छ । चाँगुनारायण नगरपालिकाले शनिवार ताथलीमा आयोजित उक्त प्रतियोगितामा सहभागी ५५ टोली मध्ये उत्कृष्ट प्रस्तुती पस्कँदैं ताथली धिमे खलः प्रथम हुन सफल भएको हो ।
विजेता ताथलीले नगद रू. ५० हजार, शिल्ड, १ थान धिमे बाजा, २ थान भुछ्या र सिछ्या पुरस्कार प्राप्त गरे ।
यस्तै प्रतियोगितामा चाँगुनारायण नगरपालिका–९ ताथलीको फैकावु गणेश साँस्कृतिक समूह दोस्रो हुन सफल भएको छ । फैकावुले नगद २५ हजार, शिल्ड, प्रमाणपत्र, एक थान धिमे, एक थान भुछ्या र एक थान सिछ्या पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा नियो फ्यूजन बाजा समूह भक्तपुर तेस्रो हुन सफल भएको छ । तेस्रो हुने नियो फ्यूजनले नगद १० हजारसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमे र एक थान भुछ्या प्राप्त गरे ।
बनेपा काभ्रेको देउला बासुरी बाजा धिमे खलःले प्रतियोगितामा उत्कृष्ट चौंथो स्थान हासिल गरी सान्त्वना पुरस्कार जित्न सफल भएको छ । सान्त्वना पुरस्कार जित्न सफल देउला बासुरी बाजा धिमे खलःले नगद ५ हजारसहित शिल्ड, प्रमाणपत्र र धिमे एक थान प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट पाँचौंका साथै निर्णायकको उत्कृष्ट छनोटमा वाङ्ख्यो दाफा भजन खलः काभ्रे बनेपा पर्न सफल भएको छ । उत्कृष्ट प्रस्तुति (निर्णायक छनोट)लाई धिमे बाजा १ थानले पुरस्कृत गरे ।
प्रतियोगितामा उत्कृष्ट छैंटौं देखी १० औ स्थानमा क्रमशः लाय्कू धिमे खलः पनौती, सिवा साय्मी खलः मध्यपुर थिमि, तलेजु बाजा खलः लुभु, बालकुमारी धिमे खलः काठमाण्डौं, सौडोल साँस्कृतिक बाजा खलः ताथली सौडोल पर्न सफल भएको छ । उत्कृष्ट छैंटौं देखी १० औं स्थानसम्म पर्न सफल टोलीले एक एक थान भुस्या पुरस्कार स्वरुप प्राप्त गरे ।
प्रतियोगितामा विजेता र उत्कृष्ट हुन सफल टोलीलाई पुरस्कृत गर्दै भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले धिमे बाजा प्रतियोगिताले आउँदो नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतियोगिताले नगरको साँस्कृतिक बाजागाजा र कला सँस्कृति जगेर्ना गर्न पनि मद्दत पुगेको बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकामा विश्व सम्पदा सुचीकृत चाँगुनारायण मन्दिर र रमणीय पर्यटकीय स्थल नगरकोट रहेकोले चाँगुनारायणमा पर्यटनको विकासका लागि नगरकोट भ्रमण वर्ष २०८२ मनाउन लागिएको जानकारी दिनुभयो ।
उहाँले धिमे बाजा प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न जसरी सबैले साथ सहयोग गरे त्यसरी नै नगरकोट भ्रमण वर्ष सफल बनाउन पनि सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । -
डलर देखाई ठगी गर्ने पक्राउ
भक्तपुर, पुस १९
अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–११ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने ४७ वर्षिय सुजित मिजारलाई पक्राउ गरेको छ ।
मिजारलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, भक्तपुर शाखा र पिसीसीबी थिमिबाट खटिएको प्रहरी टोलीले भक्तपुरको सल्लाघारीबाट बिहिवार पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट वारदातमा प्रयोग भएको माईक्रोम्याक्स कम्पनीको मोबाइल, चाँदीको ब्रासलेट एउटा र चाँदीको औठी दुई वटा बरामद भएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
मिजारले गत पुस ३ गते मध्यपुर थिमि नगरपालिका–४ स्थित मध्यपुर अस्पताल नजिक हनुमन्ते खोला छेउको एकान्तमा काठमाण्डौ महानगरपलिका वडा नं. ९ धुम्बाराही बस्ने ५५ वर्षिय हरी कृष्ण बराललाई अमेरिकी डलर देखाई ५ लाख रुपैंया ठगी गरी फरार भएको एसपी आचार्यले बताउनुभयो ।
“मिजारले फोन सम्पर्क गरी बराललाई मध्यपुर अस्पताल नजिक हनुमन्ते खोलाको छेउ एकान्त ठाँउमा बोलाई योजनाबद्ध तरिकाले रातो रुमालले बेरेको अवस्थामा रहेको पैसाको आकारमा काटिएको कागजको बिटो देखाई नेपाली रुपैंया ५ लाख ठगी गरी फरार भएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो,” एसपी आचार्यले भन्नुभयो ।
मिजारलाई प्रहरी वृत्त थिमि ल्याई थप कारबाही र अनुसन्धान भइरहेको एसपी आचार्यले बताउनुभयो । -
सानो थिमिमा भएको स्कुटर दुर्घटनाका घाईते मध्ये एकको उपचारका क्रममा मृत्यु
भक्तपुर, पुस १९
भक्तपुरको मध्यपुर थिमि–२ सानो थिमिमा गत मंगलवार राती स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको उपचारको क्रममा बिहिवार साँझ मृत्यु भएको छ ।
सानो थिमि चोकबाट मगरगाउँतर्फ जाँदै गरेको बा.प्र.०२–०२८ प ६६१० नं को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सानो थिमि धुन्चोपाखा बस्ने ३१ वर्षिय निश्चल प्रकाश राजभण्डारी र उनको श्रीमती २८ वर्षिय पुजा श्रेष्ठ घाईते भएका थिए ।
सो दुर्घटनामा बेहोश भएका राजभण्डारीको बाँया खुट्टामा भित्री चोट, टाउको र अनुहारमा धसारीएको चोट र ढाँडमा भित्री चोट लागेको थियो भने बोल्न सक्ने अवस्थाका श्रेष्ठको बाँया खुट्टा भाँचिएको थियो ।
घाईते भएका दुवै जनालाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल कौशलटार लगिएको थियो । राजभण्डारीलाई थप उपचारका लागि बिहिवार दिउँसो नर्भिक अस्पताल काठमाण्डौं रिफर गरिएको थियो । त्यही उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज नेउपानेले बताउनुभयो ।
घाईते श्रेष्ठको भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रनाउ नेउपानेले जानकारी दिनुभयो ।