Category: विविध

  • भक्तपुरको रोम्बस स्कुलले पाए ‘आइएसओ सर्टिफिकेट’

    भक्तपुर, माघ १६
    भक्तपुरको रोम्वस सेकेण्डरी स्कुलले अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्रमाणपत्र ‘आइएसओ सर्टिफिकेट’ प्राप्त गरेको छ । भक्तपुरको कमलविनायकको टाउन प्लानिङमा अवस्थित उक्त विद्यालयले आइएसओ सटिर्फिकेट प्राप्त गरेको हो ।
    एभरेष्ट इन्टरनेशनल म्यानेज्मेन्ट कन्सल्टेन्सी एण्ड टे«निङ एजेन्सी प्रा.लि.ले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तरको मानकको रुपमा विद्यालयलाई आइएसओ सर्टिफिकेट दिँदै आएको छ ।
    सोही कन्सल्ट्यान्सीले बुधबार विद्यालयलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेको हो । उक्त संस्थाले भक्तपुर जिल्लामा रहेका विद्यालयहरुमध्ये आइएसओ सर्टिफिकेट प्राप्त गर्ने रोम्वस भक्तपुर नगरपालिकाको पहिलो र जिल्लाको दोस्रो विद्यालय रहेको जनाएको छ ।
    सर्टिफिकेट हस्तान्तरण कार्यक्रममा नेकपा (एस) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आइएसओ प्राप्त गर्न सफल रोम्वस स्कुललाई बधाई दिँदै विद्यालयले शिक्षा क्षेत्रमा छोटो अवधिमै उल्लेखनीय योगदान पुर्याउन सफल भएको बताउनुभयो ।


    उहाँले अभिभावकको ध्यान आफ्नो बालबालिकाको भविष्यप्रति हुने भएकाले विद्यालयले अभिभावकको मनोविज्ञानलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ज्ञान र बुद्धि फरक विषय भएको उल्लेख गर्दै उहाँले अहिलेका पुस्तालाई संसारसँग स्पर्धा गर्ने ज्ञानको जरुरी रहेको बताउनुभयो । “विद्यालयले प्राप्त गरेको आइएसओ सर्टिफिकेटले त्यो आवश्यकता पूरा गर्ने मार्ग प्रशस्त गरेको छ,” उहाँले भन्नुभयो ।
    बालबालिकालाई संस्कारयुक्त शिक्षा, नैतिक शिक्षा, सूचना प्रविधियुक्त शिक्षा र देशभक्तिपूर्ण शिक्षा जरूरी रहेको आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, “घरमा घरको अनुशासन, विद्यालयमा विद्यालयको अनुशासन, समाजमा समाजको अनुशासन र पेशामा पेशागत अनुशासन भए शिक्षाको उद्देश्य साकार हुन्छ ।”
    उहाँले आजका बालबालिका प्रफुल्ल भए भोली देश प्रफुल्ल हुने बताउँदैं नैतिकवान्, जिम्मेवार, अनुशासित नयाँ पुस्ताको जरुरीलाई पूरा गर्ने शिक्षाको खाँचो औंल्याउनुभयो ।
    कार्यक्रममा कन्सल्टेन्सीका प्रवन्ध निर्देशक शैलेन्द्र खरेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता कोजू र संस्थापक प्रिन्सिपल डा. राजेन्द्र कोजूलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
    सो अवसरमा डा. इवामुरा मेमोरियल अस्पतालको आकस्मिक शाखाका डा. विनोद दंगालले विद्यालयले प्राप्त गरेको सफलताको लागि बधाई दिनुभएको थियो । सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा प्रिन्सिपल डा. कोजूले उक्त प्रमाणपत्रसँगै विद्यालयको शैक्षिक गुणस्तर सुनिश्चितताको आधार बनेको बताउनुभयो ।

     

  • विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्छौं – प्रधानमन्त्री ओली

    भक्तपुर, माघ १४
    प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउन दुई ठुला दलको सहकार्यमा बनेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताउनुभएको हो ।
    राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको बताउँदैं उहाँले लोकतन्त्र यताका विकास निर्माणको गति बेग्लै भएको बताउनुभयो ।
    “अब नेपाल विकासको क्रममा अगाडी बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नेछ,” उहाँले भन्नुभयो ।


    उहाँले सत्ता साझेदार कांग्रेसको बलियो साथ रहेकोले यो सरकारले कसैले छात्ति पिटेर बिलौना गर्दैमा नढल्ने बताउनुभयो । “सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली काँग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ,” उहाँले भन्नुभयो ।
    प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गर्नुभयो । उहाँले संसदको हिउँदें अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गर्नुभयो ।
    प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भन्नुभयो, “मलाई रुघाखोकी लागेको हो । एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्यू गरेको देख्यो भने आइसियु कक्षमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् ।”
    प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गर्नुभयो ।


    प्रधानमन्त्री ओलीले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतंकको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।
    कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापाले आफु जनप्रतिनिधि हुँदा विकासको मूल फुटेको र अहिले नहुँदा विकास रोकिएको भनेर भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले विकास निर्माण नियमित प्रक्रिया भएको बताउँदैं भन्नुभयो, “यदि भक्तपुरमा विकासको गति रोकिएको भए कहाँ, कसरी, कसले रोक्यो प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ ।” उहाँले अमूक व्यक्ति सत्तामा हुँदा मात्र वा जनप्रतिनिधि हुँदा मात्र विकास हुन्छ भन्ने भ्रम पनि नराख्न आग्रह गर्नुभयो ।
    उहाँले विकास निर्माण कसैको खल्तीको पैसाले नभई राज्यको ढुकुटी प्रयोग गरेर हुने चर्चा गर्दै कोभिड महामारीपछिको समयमा आर्थिक गतिविधि सुस्ताउँदा राज्यको आर्थिक अवस्था कमजोर भएकाले पनि विकास निर्माण असर परेको बताउनुभयो ।
    उहाँले सूर्यविनायकमा बन्ने भनेको प्राणी उद्यानलाई तत्काल अघि बढाउन आगामी वर्षको बजेटमा आवश्यक बजेट विनियोजन आग्रह गर्नुभयो । उहाँले विगतमा जग्गा प्लटिङ गर्नेको स्वार्थमा सडक बन्ने गरेको टिप्पणी गर्दै विकासमा सहकार्य र राजनीतिमा प्रतिपष्र्धा गर्न तयार रहेको बताउनुभयो ।


    पूर्वमन्त्री महेश बस्नेतले आफु निर्वाचन हारेर पनि मन्त्री भएको स्मरण गराउँदैं १३ महिना उद्योग मन्त्री हुँदा भक्तपुरमा विकासको वृजारोपण गरेको र पछि निर्वाचन जितेर सांसद हुँदा भक्तपुरमा विकासको मूल फुटाएपनि अहिले ठप्प भएको दावी गर्नुभयो । उहाँले अन्तराष्ट्रिय रंगशाला निर्माणमा केही राजनीतिक दलको विरोधका कारण सम्भव नभएको बताउँदैं नगरपालिका घोषणा हुँदा कुनै पूर्वाधार नभएको सूर्यविनायकमा अहिले जताततै बाटोघाटो, खानेपानीको सूविधा आफ्नै पहलमा भएको दावी गर्नुभयो ।
    कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले ६ रोपनी जग्गा मध्ये ३ रोपनीमा फैलिएको भवनमा दुईवटा लिफ्ट, तीन सय जना अट्ने सेमिनार हल, दुईवटा बैठक कक्ष, एउटा पुस्तकालय, एउटा तालिम कक्ष र ९२ वटा कार्यकक्ष रहेको जानकारी दिनुभयो ।
    उहाँले नयाँ भवन बाबुरत्न जेभी कन्स्ट्रक्सन कम्पनीले भ्याटबाहेक २० करोड ४१ लाख ५२ हजार रुपैयाँमा निर्माण सम्पन्न गरेको बताउनुभयो । कोभिडका कारण भवन निर्माणमा दुई वर्ष ढिला भएको जानकारी दिँदैं उहाँले दुई साँगुरा कोठाबाट शुरु भएको सूर्यविनायक नगरपालिकाको दैनिक कार्य हाल अत्याधुनिक भवनबाट शुरु हुँदैं गर्दा जनताले सरल र सहजरुपमा सेवा प्राप्त गर्ने विश्वास दिलाउनुभयो ।
    कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, काठमाण्डौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबू महर्जनलगायतले सम्बोधन गर्नुभएको थियो ।

     

  • प्रचार प्रसार र दैनिक खुल्ला नहुँदा भक्तपुरको चारधाम ओझेलमा

    लक्ष्मी गारु, भक्तपुर, माघ १४
    ख्वप लाय्कू (भक्तपुर दरवार स्क्वायर) परिसरमा अवस्थित पवित्र तिर्थ स्थलका चारधाम देवस्थल ओझेलमा परेको छ । ख्वप लाय्कूको दक्षिण पश्चिममा अवस्थित चारधाम प्रचार प्रसारको अभाव र दैनिक दिनभरी मन्दिर खुल्ला नहुँदा भक्तपुरको पवित्र चारधाम स्थल ओझेलमा परेको हो ।
    भक्तपुरमा चारधामका पाँच देवस्थल रहेका छन । ख्वप लाय्कू प्रवेश गर्ने मूख्य प्रवेशद्धार खौमा ढोकाको दक्षिणतर्फ रहेको चारधाम अन्र्तगत बद्रीनाथ, जगन्नाथ, केदारनाथ, द्धारिकानाथ(गोपीनाथ) र रामेश्वर महादेवको देवस्थल रहेको छ ।
    भक्तपुरको ख्वप लाय्कूमा अवस्थित तलेजु भवानी सहित चारधामका पाँच देवस्थलका देवीदेवताको श्रद्धापुर्वक नियमित पुजापाठ गर्नाले मृत्युपछि बैकुण्ठ बास हुने धार्मिक विश्वास स्थानीयहरुको रहेको छ ।
    चारधामका सबै देवलमा दैनिक बिहान नित्य पुजा हुन्छ । दिनभरी बन्द हुने यी देवलहरुमा नित्य पुजाको क्रममा स्थानीयले मन्दिर भित्रै गएर पुजाआजा र दर्शन गर्न पाईन्छ । तर प्रचार प्रसारको अभावमा चारधाममा दर्शनार्थीहरु भने न्यून मात्रामा आउने गरेको द्धारिकानाथका पुजारी विनोदराज शर्माले बताउनुभयो ।
    “प्रचार प्रसार नहुँदा भक्तपुरमा चारधाम छ भन्ने नै आमनागरिकलाई जानकारी छैन । यहाँका स्थानीय पनि खासै पुजाआजा र दर्शन गर्न आउँदैंन,” उहाँले भन्नुभयो ।


    उहाँका अनुसार द्धारिकानाथको मन्दिरमा कार्तिक शुक्ल पुर्णिमाको दिन नसा(भुटेको मकै, गहँु, लाभा, भटमास)ले भगवानको आकृति बनाई पुजा गर्ने परम्परा रहेको छ । त्यसैगरी वर्षको एकदिन पुरोहितसहित राखेर रुद्धी पुजा गरी केदारनाथको बुसादाँ(जन्मदिन) गर्ने परम्परा छ ।
    चारधाममा बालाचतुर्थीमा सतविज छर्ने परम्परा पनि छ । मल्लकालदेखि चल्दै आएको यो परम्परा अहिले पनि कायमै रहेको पुजारी शर्मा बताउँछन । चारधाममा महास्नान गराउने परम्परा भने लोप भैसकेको छ ।
    बद्रीनाथ १७ औं शताब्दीमा राजा भुपतिन्द्र मल्लले बनाएको इतिहासमा उल्लेख छ । शिखर शैलीमा दाँचीअप्पाले निर्मित देवस्थलको गर्भगृहमा डेढ फिट अग्लो भगवान विष्णुको मुर्ति छ । मन्दिरमा ढुङ्गाको कलात्मक थाम, कलात्मक काठको ढोका र अगाडी एक जोडा सिंह रहेको छ ।
    जगन्नाथ मन्दिर राजा भुपतिन्द्र मल्ल कै पालामा निर्माण गरिएको हो । यस मन्दिरमा बाँया सेतो बलराम, बीचमा रातो सुभद्रा दायाँ, निलो कृष्णको काठको मुर्ति रहेको छ । यी तीन देवीदेवताको संयुक्त नाम जगन्नाथ हो । हाल यस मन्दिरको पुननिर्माण कार्य भैरहेको छ ।


    केदारनाथ मन्दिरमा पशुपतिमा जस्तै जलहरी भएको शिवलिङ्ग स्थापना गरिएको छ । राजा भुपतिन्द्र मल्लको समयमा निर्माण गरिएको यो मन्दिर पनि दाँचीअप्पाले शिखर शैलीमा निर्माण गरिएको छ । मन्दिरको चारै दिशामा चारवटा बुर्जाहरु जडित एकादश रुद्रका सुनमोलम्बा लगाएको धातुको शिरोभाग मुर्तिहरु, कलात्मक ढुङ्गाको थाम र धातुको गजुरले बनेको छ । मन्दिरको अगाडि ढुङ्गेधारा र पश्चिममा साँढे रहेको छ ।
    द्धारिकानाथ(गोपीनाथ)मन्दिर दुई तल्ले झिँगटीको छाना र सुनको मोलम्बा गजुर भएको मन्दिर हो । काठका कलात्मक भ्mयाल ढोकाहरुले निर्मित मन्दिरमा दायाँ बायाँ नृत्य मुद्रामा रहेको कृष्णका जेठी र माइली श्रीमती सत्यभामा र रुकुमणीको बीचमा महाविष्णु ध्यानमा रहेका कृष्णको मुर्ति छ । जसमा माथिको दुई हातमा शंख र गदा छ । तलको दुई हातले बाँसुरी समाएको छ । दुई गाई माथि खुटा टेकेर आशन बनाएको छ । मुल प्रवेश अगाडि गरुडध्वज स्तम्भ रहेको छ ।
    त्यसैगरी रामेश्वर मन्दिर जलहरी सहितको शिलाको शिवलिङ्ग भएको मन्दिर हो । ६ फिट अग्लो प्लेट फर्मको बीचमा शिवलिङ्ग भएको यस मन्दिर चुनासुर्की प्लाष्टरले ढलान गरी घोप्टिएको कमलको फुलको आकारका छाना भएको नाग शैलीको मन्दिर हो । यस मन्दिरमा जलहरी सहितको शिवलिङ्ग र शिलाका कलात्मक थामहरु छन ।
    चारधामको रुपमा प्रख्यात देवस्थलमा द्धारिकानाथ, केदारनाथ, बद्रीनाथ र जगन्नाथ पर्दछ । भारतमा चारधाम यात्राका बेला हिउँदमा केदारनाथ जान नसक्ने अवस्थामा रामेश्वरको दर्शन गर्ने प्रचलन रहेको छ । सोही अनुसार भक्तपुरमा चारधाम निर्माण गर्ने क्रममा केदारनाथसँगैं रामेश्वरको पनि देवस्थल निर्माण गरिएकोले ५ वटा रहन गएको पुजारी शर्माले बताउनुभयो ।


    मल्लकालमा राजधानी शहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चारधामको देवस्थलहरुको नित्य र पर्व पुजा गुठी संस्थान मार्फत सञ्चालनमा छन । त्यसैगरी मर्मत सम्भार कार्यको लागि स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भैरहेको पुजारी शर्माले बताउनुभयो ।
    धार्मिक तथा साँस्कृतिक महत्व झल्काउनुका साथै राष्ट्रहितको लागि भक्तपुर दरवार क्षेत्रमा चारधाम स्थापना गरेको ईतिहास तथा सँस्कृतिविद् प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो । विषेशगरी भारतमा जान नसक्ने तथा आर्थिक अवस्था कमजोर भएका र असाहाय अशक्तलाई आफ्नै ठाउँमा चारधाममा दर्शन एवम् पुजा गर्न सजिलो लागि बनाएको उहाँले बताउनुभयो ।
    “भक्तपुरमा चारधामका पाँच प्रसिद्ध देवस्थल यहाँका स्थानीय जनताहरुको अवस्थालाई बुझेर बनाएको हो,” उहाँले भन्नुभयो, “आर्थिक रुपले कमजोर, कार्य व्यस्तताले भारतमा जान नसक्नेहरु, बृद्धबृद्धा, बालबालिकाहरुका लागि यही दर्शन पुजन गराउने उद्देश्यले तत्कालिन राजधानीको मुटु भक्तपुरको लाय्कूमा यी देवलहरुको तान्त्रिक विधिपुर्वक प्राण प्रतिस्था गरी स्थापना गरिएको हो ।”
    भक्तपुरमा चारधाम स्थापना गर्र्नुको अर्को कारण तत्कालिन शैव र वैष्यमा कुनै भेदभाव छैन भन्ने सन्देश दिनुपनि रहेको स्थानीय किंवदन्ती रहेको छ । तत्कालिन समयमा शिवका अनुयायी शैव समूदाय र विष्णुका अनुयायी वैष्य समूदायबीच केही मतभिन्नता रहेको अवस्थामा नेपाल मण्डलमा त्यस्तो कुनै विमेल छैन भन्ने सन्देश दिन दरवार क्षेत्रभित्र चारधामका पाँच देवलको निर्माण गरेको कथन रहेको प्रा. डा. श्रेष्ठले जानकारी दिनुभयो ।
    विष्णुको लोकप्रियता अत्यन्त बढेको तत्कालिन समयमा सामाजिक एकता र सद्भाव झल्काउन एकै स्थानमा चारधाम निर्माण गरेको प्रा. डा. श्रेष्ठले बताउनुभयो । “धार्मिक समन्वय साँस्कृतिक एकता सदभावको एउटा उत्कृष्ट उदाहरण हो चारधाम । शिव र विष्णुमा कुनै भेदभाव छैन भन्ने भाव यसले दिन खोजेको छ । त्यो युगमा विष्णुको लोकप्रियता अत्यन्त बढेको समयमा चारधाम निर्माण भएको देखिन्छ,” प्रा.डा श्रेष्ठले भन्नुभयो ।
    मल्लकालमा राजधानी शहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चारधामको देवस्थलहरु नृत्य र पर्व पुजा गुठी संस्थान मार्फत संचालनमा छन । त्यसैगरी मर्मत सम्भार कार्यको लागि स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भैरहेको छ ।
    चारधामका पाँचै देवस्थल मल्लकालिन राजा भुपतिन्द्र मल्लको पालामा निर्माण गरिएको इतिहासमा उल्लेख छ । चारधाम अन्र्तगत बद्रीनाथ, जगन्नाथ र केदारनाथको देवल १९९० सालको भुकम्पले केही क्षती पु¥याएको थियो । केदारनाथको गजुरको भागमा क्षती भएर जिर्णोद्धार गरिएको थियो । त्यसपछि २०७२ सालको भुकम्पले पनि केदारनाथको देवलको आधा भाग भत्काएपनि भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरिसकेको छ ।
    चारधाम राजा भुपतिन्द्र मल्लको पालामा निर्माण गरेको भनिएता पनि पछिल्लो अनुसन्धानका क्रममा नेपाल संम्वत ३४७ मै जगन्नाथको जीर्ण प्रतिमा फेरिएको पुरानो अभिलेखमा फेला परेको प्रा. डा. श्रेष्ठले बताउनुभयो । “जगन्नाथको देवल राजा यक्ष मल्लको भन्दा पहिला आन्नदेवको समय तिर १२ औं शताब्दीमा स्थापना भएको अनुसन्धानले देखाएको छ । त्यो समय नेपाल मण्डलमा जगन्नाथको इपि सेन्टर भक्तपुर नै हुन । त्यसपछि चारधाम कान्तिपुर र ललितपुरमा समेत बिस्तार भएको हो,” उहाँले भन्नुभयो ।
    भारतको सिक्किममा केही वर्ष अघि निर्माण गरेको चारधामको प्रचार प्रसारले अहिले पश्चिम सिक्किममा वार्षिक लाखौं धार्मिक पर्यटकहरु दर्शनका लागि जाने गरेको छ । भक्तपुरमा भएको चारधामको पनि प्रचार प्रसार गरी दैनिकरुपमा दिनभरी भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था गर्न सके वार्षिक लाखौं भक्तजन आउने र यसले भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा थप टेवा पुग्ने देखिन्छ । यसतर्फ सम्बन्धीत निकायको गम्भिर ध्यान जानुपर्ने देखिन्छ ।

     

     

     

     

  • कर्मचारी यूनियन भक्तपुरमा चक्रधर निर्विरोध निर्वाचित

    भक्तपुर, माघ १३
    नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी यूनियन भक्तपुरको अध्यक्षमा निरज चक्रधर निर्वाचित हुनुभएको छ । यूनियनको शनिवार सम्पन्न अधिवेशनले चक्रधरलाई निर्विरोध निर्वाचित गरेको आज (आइतवार) घोषणा गरेको हो । चक्रधर मध्यपुर थिमि नगरपालिकामा कार्यरत हुनुहुन्छ ।
    अधिवेशनले खुल्ला उपाध्यक्षमा मालपोत तथा भूमिसुधार कार्यालय भक्तपुरमा कार्यरत दिपक कोइराला, महिला उपाध्यक्षमा चाँगुनारायण अस्पतालका बालकुमार रेग्मी (प्रभा), समावेशी उपाध्यक्षमा मध्यपुर थिमि नगरपालिकाका श्रीकृष्ण प्रजापति निर्विरोध निर्वाचित भएका छन ।
    यस्तै सचिवमा मध्यपुर थिमि नगरपालिकाका रजिया चौधरी, कोषाध्यक्षमा नापी कार्यालयका जुमिन अधिकारी र सहसचिवमा जुद्ध वारुण यन्त्र कार्यालयका हिमाल घर्ती मगर निर्वाचित भएका छन ।
    सदस्यहरुमा जिल्ला प्रशासन कार्यालयका सिताराम प्याकुरेल र विष्णुहरी थापा, मध्यपुर थिमि नगरपालिकाका दिलबहादुर राजबहाक, नापी कार्यालयका यज्ञराज चौधरी र चाँगुनारायण नगरपालिकाका सुदिपा खड्का निर्वाचित भएका छन ।
    यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधि चाँगुनारायण नगरपालिकाका सुरज पौडेल, बलराम तिमिल्सिना, नापी कार्यालयका राजिब श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका सरिता उपाध्याय र यातायात व्यवस्था कार्यालयका महोन प्रसाद धिताल निर्विरोध निर्वाचित भएका छन ।
    प्रदेश प्रतिनिधिमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सत्यनारायण ध्वजू र इश्वर कुमार पाण्डेय, चाँगुनारायण नगरपालिकाका आशा माझी, मध्यपुर थिमि नगरपालिकाका गोकुलबाबु रेग्मी र यातायात व्यवस्थापन कार्यालयका जगदिश थापा निर्विरोध निर्वाचित भएका छन । लक्ष्मी गारु –––

  • नगरकोट भ्रमण वर्ष सफल बनाउन नागरिकलाई घरघरबाट जागृत गर्नुपर्नेमा जोड

    भक्तपुर, माघ १२
    चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ को तयारी शुरु गरेको छ । नगरपालिकाले शुक्रवार मूल समारोह समितिको प्रथम बैठक राख्दै नगरकोट भ्रमण वर्ष–२०८२ मने औपचारिक तयारी शुरु गरेको हो ।
    नगर प्रमुख एवम् मूल समारोह समितिका संयोजक जीवन खत्रीको अध्यक्षतामा बसेको बैठकले भ्रमण वर्षलाई सफल बनाउन प्रत्येक नगरबासीलाई घरघरबाट जागृत गर्नुपर्नेमा जोड दिईएको छ । बैठकले भ्रमण वर्षलाई व्यापक बनाउन सरोकारवाला सबै निकाय सम्मिलित समितिहरु बनाउनु पर्ने सुझाव समेत दिएको छ ।
    बैठकमा प्रमुख खत्रीले चाँगुनारायणको धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुलाई प्रचार प्रसार गरि पर्यटन मार्फत नगरलाई समृद्ध बनाउन भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पार्नुभयो । उहाँले माघभित्र सबैको सुझाव संकलन गरि फागुनदेखि प्रचार प्रसारमा लाग्ने पनि जानकारी गराउनुभयो ।
    बैठकमा प्रतिनिधिसभा सांसद तथा समितिका सल्लाहकार दुर्लभ थापाले समग्र चाँगुनारायणको पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले नगरकोट भ्रमण वर्ष आयोजना गरिनु सराहनीय कार्य भएको बताउनुभयो ।


    सांसद थापाले नगरकोट–कमलविनायक सडक नगरपालिका आफैले निर्माण गर्न बजेट विनियोजन गरेकोमा खुसी ब्यक्त गर्दै कानूनी प्रक्रिया पुर्याएर चाँडो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरकोट भ्रमण वर्ष सफल बनाउन सबै एकजुट भएर तयारीमा लाग्नुपर्ने समेत बताउनुभयो । अर्का, संघीय सांसद तथा समितिका सल्लाहकार सन्तोष परियारले पर्यटन प्रबद्र्धन गर्दै आन्तरिक तथा बाह्रय पर्यटनमार्फत नगरको विकास गर्ने सोच राख्नु सकारात्मक कदम भएको बताउनुभयो । परियारले नगरकोट भ्रमण वर्ष सफल बनाउन संघबाट गर्नुपर्ने र खेल्नुपर्ने जस्तोसुकै भूमिका निर्वाह गर्न र सहयोग गर्न तयार रहेको बताउनुभयो ।
    बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले नगरकोट भ्रमण वर्षमार्फत नगरभित्र रहेका विभिन्न जातजाती, धर्म, कला संस्कृतिको जर्गेना, उत्थान तथा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद श्रेष्ठले भ्रमण वर्ष सफल बनाउन प्रत्येक नगरबासी घर–घर टोल–टोलबाट लाग्नुपर्ने समेत बताउनुभयो ।
    बागमती प्रदेशका पूर्व मन्त्री तथा समितिका सल्लाहकार कृष्णलाल भँडेलले भ्रमण वर्ष अवसर र चुनौती दुवै भएको भन्दै नगरपालिका मात्रको एक्लो प्रयासले सफल नहुने भएकाले सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
    बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठले नगरपालिकाले आफ्नै स्रोत र साधनबाट समृद्ध नगर बनाउने सोचका साथ पर्यटन प्रबद्र्धनमा लाग्नु अत्यन्तै महत्वपूर्ण कार्य भएको बताउनुभयो ।


    बैठकमा नगर उपप्रमुख रमेश बुढाथोकीले नगरकोट भ्रमण वर्ष मनाउनुको उद्देश्य, हालको तयारी, भ्रमण वर्षले पार्ने प्रभाव र पर्यटन प्रबद्र्धनमा पुग्ने लाभका विषयमा विस्तृत योेजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिको तर्फबाट राप्रपाका अर्जुन कार्की, रास्वपाका नगर अध्यक्ष रोशन थापालगायतले नगरकोट भ्रमण वर्षको लागि गर्नुपर्ने तयारीका विषयमा धारणा राख्नुभएको थियो ।
    बैठकमा नगर प्रवक्ता एवम् वडा नं. ८ का वडाअध्यक्ष जनक खत्री, वडा नंं ६ नगरकोटका वडाध्यक्ष धन बहादुर लामा भ्रमण वर्षका विषयमा विविध जनाकारी दिनुभएको थियो ।
    बैठकमा प्रमुख प्रशासकीय अधिकृत तथा समितिको सदस्य सचिव शिव प्रसाद हुमेगाई र वडा नं. १ देखि ९ वडाका वडाध्यक्षहरु, सल्लाहकारहरु, राजनीतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

     

  • नेपाल बाैद्ध परियत्ति शिक्षाकाे परीक्षा आजदेखि शुरू

    न्यूजअफ, ललितपुर, माघ १२ गते ।

    बु. सं. २५६८ औं को नेपाल बौद्ध परियत्ति शिक्षाको तह ४ देखि १० सम्मको परीक्षा आजदेखि शुरु भएको छ । साथै परियत्ति तह १ देखि ३ सम्मको परीक्षा भने फागुन महिनामा संचालन हुनेगरी नियमिततर्फ जम्मा ४३७४ जना परीक्षार्थीहरु परीक्षामा सामेल छन् ।
    उपत्यका भित्रका लागि तह ७ देखि १० सम्मका काठमाण्डौ, भक्तपुर र काभ्रेका परीक्षार्थीहरुका लागि परीक्षा केन्द्र वानेश्वरस्थित विश्व शान्ति विहारमा र ललितपुरको भास्सरा मा. वि. पूर्णचण्डीमा ललितपुरका परीक्षार्थीहरुले परीक्षा दिइरहनुभएको जानकारी केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञान महास्थविरले जानकारी दिनुभएको छ ।
    त्यस्तै तह ४ देखि ६ सम्मका परीक्षाका लागि ललितपुरमा पूर्वी भेगका परीक्षार्थीहरु ललितपुरको थैनामा रहेको यशोधरा मा.वि. तथा पश्चिम भेगका परीक्षार्थीहरुका लागि भास्सरा मा. वि.लाई परीक्षा केन्द्र तोकिएको छ । काठमाण्डौका लागि भने धर्मकिर्ति विहार काठमाण्डौ, किर्तिपुर, एहिपस्सिको विहार, भक्तपुरमा मुनि विहार, काभ्रेका लागि बनेपा आदि स्थानीय क्षेत्रहरुलाई परीक्षा केन्द्र तोकिएको छ ।
    यसका साथै बुटवल, धनकुटा, पाल्पा, सुर्खेत, तनहुँ, कपिलवस्तुलगायतका उपत्यकाबाहिरका क्षेत्रहरु तथा मुलुकबाहिर अमेरिका एवं अष्ट्रेलियामा पनि आजैदेखि परियत्तिका परीक्षा शुरु भएको छ ।
    आजदेखि शुरु भएको परीक्षामा तह ४–६ सम्मका परीक्षार्थीहरुले प्रथम पत्र एवं तह ७ – १० सम्मका चौथो पत्रका विषयहरू समावेश छन् ।
    तह ७ – १० सम्मका प्रथम, द्वितीय र तृतीय पत्रहरुको परीक्षा गत भदौ–असोज महिना नै भईसकेको छ ।
    स्मरणीय रहोस, अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षालाई लुम्बिनी विश्वविद्यालयले मान्यता दिइसकेकोले परियत्तिमा कोविद अर्थात तह १० पूरा गरेका विद्यार्थीहरुले लुम्बिनी विश्वविद्यालयमा बुद्ध धर्ममा स्नातकोत्तर तहमा भर्ना हुन सकिन्छ ।

  • मध्यपुर थिमिमा ४,२०३ किशोरीलाई एचपीभी खोप लगाईने

    भक्तपुर, माघ ११
    एचपीभी खोप अभियान अन्तर्गत मध्यपुर थिमिका ४ हजार २ सय ३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । यहीँ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा मध्यपुर थिमिका विद्यालय जाने ४ हजार ७२ र विद्यालय बाहिरका १३१ जना किशोरीहरुलाई एचभीपी खोप लगाइने भएको हो ।
    मध्यपुर थिमिमा खोप अभियानका लागि ५६ विद्यालय र १० अन्य स्वास्थ्य संस्थामा केन्द्र तोकिएको छ । अभियानमा एक केन्द्रमा एक स्वास्थ्यकर्मी र दुई जना महिला स्वास्थ्य स्वयम् सेविका परिचालन हुने मध्यपुर थिमि नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो । जसअनुसार ६६ जना स्वास्थ्यकर्मी र १३२ जना महिला स्वयम् सेविका गरी कुल १९८ जना जनशक्ति परिचालन हुनेछ ।


    एचपीभी खोप अहिले अभियानका क्रममा कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने र विद्यालय बाहिरका १० देखी १४ वर्ष उमेर समूहका किशोरीहरुलाई लगाइदिने कार्यक्रम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख शान्तिराम खतिवडाले बताउनुभयो ।
    एचभीपी खोप महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप हो । यो खोप एक पटक लगाए महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)मा कार्यरत डा. रमण रञ्जितले बताउनुभयो ।
    एचपीभी खोप स्वास्थ्यका दृष्टिले सुरक्षित रहेको डा. रञ्जितले बताउनुभयो । उहाँका अनुसार यो खोप लगाएपछि खोप लगाएको स्थानमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिंगाटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने र वान्ता हुने जस्ता सामान्य लक्षण देखिन सक्छ ।
    नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । जसमध्ये एक हजार ३ सय १३ जनाको मृत्यु हुने गरेको छ, जुन औसतमा प्रत्येक दिन ४ महिलाको यो रोगका कारण मृत्यु हुने गरेको अनुमान छ ।


    महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरबाट महिलाहरुको मृत्यु हुनेमा यो पहिलो स्थानमा रहेको छ ।
    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरभित्र क्यान्सरका बिरामी दिनप्रतिदिन बृद्धि भइरहेकोले यस्तो अभियानलाई शतप्रतिशत सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । नयाँ नयाँ अभियानमा अशिक्षितहरुले भन्दा पनि शिक्षित र जाने बुझेकाहरुले नै बढी आशंका गर्ने गरेको बताउँदैं उहाँले त्यस्ता आशंकाहरुलाई चिरेर अघि बढ्न जरुरी रहेको धारणा राख्नुभयो ।

     

  • स्यानिटरी प्याडमा सुन लुकाएर ल्याउने महिलाको पहिचान खुल्यो, पक्राउ पर्न बाँकी

    भक्तपुर, माघ १०
    गत पुस १४ गते दिउँसो भक्तपुरको सानो थिमिमा लुटिएको करिव आधा किलो सुन ल्याउने महिलाको पहिचान भएको छ । उनी काभ्रेकी भएको प्रहरीले जनाएको छ । उनी पक्राउ पर्न बाँकी भएकाले प्रहरीले ती महिलाको परिचय सार्वजनिक गर्न नमिल्ने बताएको छ ।
    गत पुस १४ गते फ्लाई दुवाईको उडानबाट काठमाण्डौं आएकी ती महिलाले स्यानिटरी प्याडमा लुकाएको आधा किलो सुन सानो थिमिमा फिल्मी शैलीमा लुटिएको थियो । नक्कली प्रहरीले सक्कली प्रहरीलाई डियुटीमा राखेर उक्त सुन लुटिएको थियो ।
    उक्त सुन लुटिएको विषयमा कुनै उजुरी नआएपनि प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि सुन लुटिएको घटना सार्वजनिक भएको हो ।
    अनुसन्धानको क्रममा सुन ल्याउने महिला भरिया मात्र भएको खुलेको प्रहरी स्रोतले जानकारी दिए । उनी भरिया भएता पनि सुन तस्करीको कोर टिमकै सदस्य हुनुपर्ने प्रहरीको अनुमान रहेको छ ।
    “तस्करहरुले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रलोभनमा पारी १५÷२० ग्राम सुन बोकाएर पठाउने गरेपनि स्यानिटरी प्याडमा लुकाएर करिव आधा किलो सुन ल्याउनुले ती महिला सुन तस्करको कोर टिमका सदस्य हुन सक्छ,” प्रहरी स्रोतले भने ।
    प्रहरीले सुन भरियासँगैं सुन धनीको पनि खोजी गरिरहेको जनाएको छ । तर तत्काललाई भरिया पक्राउ नपरेकोले सुन धनीका बारेमा जानकारी प्राप्त नभएको प्रहरी स्रोतले बताए ।
    प्रहरीले उक्त सुन लुटिएको घटनामा संलग्न भएको आरोपमा पूर्व प्रहरीसहित तीन जनालाई गत पुस १९ गते पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाण्डौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाण्डौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भनिने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भई काठमाण्डौं महानगरपालिका–६ बस्ने २२ वर्षीय लालबहादुर तामाङ रहेका छन ।
    पक्राउ पर्ने मध्ये नेपाली पूर्व प्रहरी हुन । उनले तीन महिना अघि मात्र प्रहरीबाट राजीनामा दिएका थिए । राजीनामा अघि प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत नेपालीले प्रहरीको सिआइवी भएको नक्कली परिचयपत्र खेखाएर सानो थिमि प्रहरी प्रभागमा कार्यरत प्रहरी प्रयोग गरेर सुन ल्याउने महिला चढेको ट्याक्सी रोक्न लगाएर सुन लुटेका थिए ।
    उक्त घटनाका मूख्य योजनाकारहरु पनि अझै फरार छन । उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ । परिसर भक्तपुरका एसपी माधवप्रसाद बुढाथोकीले उनीहरूविरुद्ध ठगी, संगठित अपराध र भन्सार छली लगायतका कसुरमा अनुसन्धान भइरहेको बताउनुभयो ।

     

  • भक्तपुरको बेखालमा स्वास्थ्य सेवा केन्द्र सञ्चालन

    भक्तपुर, माघ १०
    भक्तपुर नगरपालिकाको वडा नं. १० स्थित बेखालमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । नगरपालिकाले वडा वडामा स्वास्थ्य सेवा पुर्याउने नीति अनुसार वडा नं. १० मा बिहिवारबाट बेखाल स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
    केन्द्रमा सामान्य स्वास्थ्य जाँच, ल्याव र आवश्यक औषधीलगायतको सुविधा रहेको छ । केन्द्र हाललाई दैनिक दिउँसो ३ बजेदेखी साँझ ६ बजेसम्म सञ्चालन गरिने ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले जानकारी दिनुभयो । केन्द्रमा आगामी दिनमा विशेषज्ञ सेवा थप गर्दै लाने योजना रहेको उहाँले बताउनुभयो ।


    ख्वप अस्पताल भक्तपुर नगरपालिकाले सञ्चालन गरेको नगर अस्पताल हो । केन्द्र नगर अस्पताल मातहत सञ्चालन हुने भएकाले बिरामीलाई थप उपचार आवश्यक परे केन्द्रले ख्वप अस्पतालमा रिफर गर्न सकिने व्यवस्था गरिएको छ ।
    स्वास्थ्य बीमा बोर्डले ख्वप अस्पताललाई २५ करोड रुपैंया भन्दा बढी भुक्तानी गर्न बाँकी रहेकोले अस्पताल सञ्चालन र व्यवस्थापनमा समेत समस्या भएको डा. मल्लले बताउनुभयो ।
    केन्द्रको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य सेवा केन्द्र जनताको साझा संस्था भएकोले यसको संरक्षण र संवद्र्धनमा जनताको सहभागिता आवश्यक भएको बताउनुभयो ।
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले हालसम्म ६ वटा वडामा स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिसकेको जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा भक्तपुर नमुनाको रुपमा विकास भइरहेको बताउँदै उहाँले सरकारले सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुपर्नेे धारणा व्यक्त गर्नुभयो ।
    सो अवसरमा सांसद सुवाल र नगर प्रमुख प्रजापतिलगायतले बेखाल स्वास्थ्य केन्द्रको स्थलगत अवलोकन पनि गर्नुभएको थियो ।

     

  • सवारी दुर्घटनाका घाईते महिलाको उपचारको क्रममा मृत्यु

    भक्तपुर, माघ १०
    भक्तपुर मध्यपुर थिमि–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकलले कारलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । गत माघ ७ गते भएको उक्त घटनामा गम्भिर घाईते भएकी मोटरसाइकलमा सवार भोजपुर पात्लेपानी गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौ पेप्सिकोला बस्ने २३ वर्षिया सपना राईको उपचारका क्रममा बुधवार साँझ मृत्यु भएको हो ।
    दिव्यश्वरी प्लानिङस्थित क्षमावती ग्रुप कम्पनी अगाडि पेप्सीकोलाबाट मगर गाँउतर्फ जाँदै गरेको बा. प्र.०१–०२७ च. ९२७ नं.को कारलाई सोही दिशातर्फ जाँदै गरेको बा. ५० प. ७४१ नं.को मोटरसाईकलले ठक्कर दिँदा सपना र उनकी ३ वर्षिया छोरी ईश्वरी राई घाईते भएका थिए ।
    घाईते दुवै जनालाई उपचारका लागि मदरल्याण्ड अस्पताल पेप्सीकोला लगिएको थियो । गम्भिर घाईते भएकी सपनालाई थप उपचारका लागि काठमाण्डौं मेडिकल कलेज सिनामंगल लगिएकोमा त्यही उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले जानकारी दिनुभयो ।
    दुर्घटनामा घाईते बालिका ईश्वरी उपचार पश्चात डिस्चार्ज भइसकेको छ । दुर्घटनमा संलग्न दुई वटै सवारी साधन र कार चालक रामेछाप सुनापाती गाउँपालिका–१ घर भई हाल काठमाण्डौ बुढानिलकण्ड नगरपालिका–४ बस्ने ३४ वर्षिय कृष्ण प्रसाद गौतमलाई प्रहरी वृत्त थिमिमा राखी थप कारवाही भइरहेको प्र.नि. पौडेलले बताउनुभयो ।