Category: विविध

  • भक्तपुरको चाँगुनारायणमा एक युवक मृत फेला

    भक्तपुर, फागुन ६
    भक्तपुरको चाँगुनारायणमा मंगलवार दिउँसो एक युवक मृत फेला परेका छन । चाँगुनारायण नगरपालिका –४ खोरिया भन्ने स्थानमा १९ वर्षिय निरोज लामा मृत फेला परेका हुन ।
    साथीको घरमा आएका लामा सुतेकै स्थानमा मृत फेला परेको हो । चाँगुनारायण–४ स्थित २१ वर्षीय बादल तामाङको घरमा लामा मृत फेला परेको हो । मृतक लामा र तामाङ साथी हुन ।
    सोमवार राती लामा तामाङको घरमा गई खाना खाई सुतेका थिए । दिउँसो ३ बजेसम्म लामा नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको घरधनी तामाङले बताएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपाने जानकारी दिनुभयो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी नेउपानेले बताउनुभयो ।

     

  • निशान मिनि ट्रकको ठक्करले ७२ वर्षिया बृद्धाको मृत्यु

    भक्तपुर, फागुन २
    भक्तपुरको चाँगुनारायण नगरपालिका–३ कोल्पाकोट ओरालोमा निशान मिनि ट्रकको ठक्करले शुक्रवार ७२ वर्षिया बृद्धाको मृत्यु भएको छ । भक्तपुरको व्यासीबाट झौखेलतर्फ जाँदैं गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान मिनि ट्रकले ठक्कर दिँदा चाँगुनारायण नगरपालिका–५, पिखेल बस्ने ७२ वर्षिया केकई मग्रराती मगरको मृत्यु भएको हो ।
    ट्रकको ठक्करले गम्भिर घाईते भएकी मगरलाई उपचारको लागि काठमाण्डौं मेडिकल अस्पताल दुवाकोट लगिएकोमा त्यही उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
    प्रहरीले मिनि ट्रक चालक भक्तपुर नगरपालिका–१०, कमलविनायक बस्ने ५४ वर्षिय ईन्द्र नारायण सितखुलाई नियन्त्रणमा लिएर थप कारवाही गरिरहेको डिएसपी नेउपानेले बताउनुभयो ।

     

  • वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ

    भक्तपुर, फागुन २
    वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी गरेको अभियोगमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२, दुवाकोट बस्ने ४१ वर्षिय गणेश बहादुर थापा र काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–४, काफ्लेचोक घर भई हाल बनेपा नगरपालिका–६, बनेपा बस्ने ३९ वर्षिय दिनेश प्रसाद अधिकारी रहेका छन ।
    उनीहरुले बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा, अजरबैजान र मोरिसस लैजाने भन्दै विभिन्न व्यक्तिहरुबाट ७१ लाख ७० हजार ठगी गरी फरार भएको प्रहरीको आरोप छ ।
    पिडितहरुलाई लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहिन भएकोमा पिडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज नेउपानेले बताउनुभयो ।
    उनीहरुलाई मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को ठगी सम्बन्धी कसूरको दफा १४(६) बमोजिम भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी नेउपानेले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका अधिकारी र थापाबाट अन्य व्यक्तिहरु समेत ठगिएको भए जिल्ला प्रहरी परिसर भक्तपुरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

     

  • सहकारी सदस्यलाई परम्परागत खाना र जडिबुटीको प्रयोगसम्वन्धि अभिमुखीकरण

    भक्तपुर, फागुन २
    परम्परागत मौलिक खाना र जडिबुटीको सही प्रयोगका साथ यसलाई व्यवसायिकरण गर्ने ध्येयका साथ सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई अभिमुखीकरण गरेको छ । सिद्धि गणेशको लघुवित्त तथा वचत कोष परिचालन उपसमितिको आयोजनामा सदस्यहरुलाई सो अभिमुखीकरण गरेको हो ।
    कार्यक्रममा डा. सरिता श्रेष्ठले नेपालको मौलिक खाना वैज्ञानिक रुपले पोषण युक्त भएको बताउनुभयो । नेवारहरुको विभिन्न पर्वको खानाको छुट्टै विशेषता र अद्धितीय भएको बताउँदै उहाँले यसलाई पकाउने र खाने शैलीमा विज्ञान लुकेको दृष्टान्त स्पष्ट पार्नुभयो ।
    जडिबुटीको प्रयोग गर्दा पनि आयुर्वेदका चिकित्सकको परामर्शमा मात्र लिनुपर्ने जानकारी दिंदै उहाँले जडिबुटीको प्रयोगको पनि पद्धति भएको र यसको खाने समय एवम् मात्रा हुने जानकारी दिनुभयो ।
    परम्परागत औषधी जडिबुटी र औषधीको सही प्रयोगसम्वन्धि पुस्तकका सम्पादक पूर्णभक्त दुवालले गलत, बिग्रेका वा म्याद नाघेका औषधि सेवन गर्नाले रोग ठीक हुनुको सट्टा अर्को रोग वा उपद्रव भई पैसा, समय र स्वास्थ्य बरबाद हुनसक्ने हुँदा सहि, नबिग्रेको, गुणवान् औषधि मात्र प्रयोग गर्नुपर्ने सल्लाह दिनुभयो ।
    नेपाली बजार विदेशी जडिबुटीबाट बनेको औषधिले भरिएको र नेपाली उत्पादन धरासायी भएको दृष्टान्त पनि उहाँले प्रस्तुत गर्नुभयो ।


    उहाँले जडिबुटी र परम्परागत उत्पादन थलोमा पु¥याएर ‘कृषक समूह’ गठन गरी ‘प्राविधिक प्रशोधन तालिम’ दिएर व्यवसायसँग जोड्नुपर्ने जानकारी दिंदै परम्परागत खाना र जडिबुटीलाई आयआर्जनको माध्यम बनाउन सहकारी संस्थाहरुले पहल गर्नुपर्ने बताउनुभयो ।
    कार्यक्रममा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सदस्यहरुको आय आर्जन बृद्धि गर्न र क्षमता अभिवृद्धि गर्न सहकारीले विभिन्न तालिम दिंदै आएको जानकारी दिनुभयो ।
    सिद्धि गणेश सहकारीका वित्त अधिकृत चन्द्रप्रसाद दुमरुले स्वागत गरेको कार्यक्रममा सहकारीका सञ्चालक रत्नश्वरी चवालले सिद्धि गणेशले सदस्यहरुको स्वास्थ्य सवल पार्दै आय आर्जन गर्ने हौसला दिन कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।

     

  • ‘लिजा’मा मध्यपुर थिमि जिल्लामा दोस्रो


    भक्तपुर, फागुन २
    स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा मध्यपुर थिमि नगरपालिका भक्तपुर जिल्लामा दोस्रो भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को लिजाको नतिजामा मध्यपुर थिमि १०० अंकमा ९१ अंक प्राप्त गरी जिल्लामा दोस्रो बनेको हो ।
    जिल्लाका चार पालिका मध्ये चाँगुनारायण नगरपालिका पहिलो बनेको छ । चाँगुनारायणले १०० पूर्णाङ्कमा ९२ दशमलव ५ अंक प्राप्त गरी जिल्ला पहिलो बनेको हो । जिल्लमा सूर्यविनायक नगरपालिकाले ९०.५ अंक प्राप्त गर्दै तेस्रो र भक्तपुर नगरपालिकाले ८९ अंक प्राप्त गर्दै चौंथो बनेको छ ।
    यस्तै चाँगुनारायण भक्तपुर जिल्ला प्रथमका साथै काठमाण्डौं उपत्यकाका १८ वटा पालिकामध्ये तेस्रो बन्न सफल भएको छ । उपत्यकामा काठमाण्डौंको तारकेश्वर नगरपालिका ९८.५ अंक प्राप्त गर्दै प्रथम, ललितपुर महानगरपालिका ९३.५ अंक प्राप्त गर्दै दोस्रो बनेको हो ।
    संघीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन गर्दै आएको छ ।

     

  • आर्गस एजुकेशनको सेवा भक्तपुरको सूर्यविनायकमा शुरू

    भक्तपुर, माघ १९
    विश्वका विभिन्न देशमा आफ्नो कार्यालय भएको ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको अर्को शाखा भक्तपुरको सूर्यविनायकमा बिस्तार भएको छ । भक्तपुर नगरपालिका वडा नं ४ सूर्यविनायकमा आर्गसको शाखा शनिवारबाट सञ्चालनमा आएको हो ।
    सो शाखाको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले एजुकेशन कन्सल्टेन्सीहरुले विद्यार्थीहरुलाई राम्रो करियर मार्गनिर्देशन गरी सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशमा सिकेका सम्पूर्ण सीप र त्यहाँ गरेका अध्ययन एवम् अनुभव आफ्नै देशमा फर्केर उपयोग गर्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
    आर्गास एजुकेशनले विदेशका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुलाई अध्ययन अध्यापनका लागि कन्सल्टेन्सी सेवा प्रदान गर्दै आएको छ । संस्थाले माइग्रेसन र भिसा सर्भिस पनि प्रदान गर्दै आएको छ ।
    यस संस्थाले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै आइईएलटिएस पिटिई तयारी कक्षा, करियर काउन्सेलिङ्ग, माइग्रेशन सर्भिसेस लगायतका सम्पूर्ण सेवा तालिम प्राप्त र लाइसेन्स प्राप्त व्यक्तित्वहरुले प्रदान गर्दै आएको छ ।
    विशेषगरी अस्ट्रेलिया, डेनमार्क, न्युजिल्याण्ड, बेलायत, अमेरिका, क्यानाडा, स्विजरल्याण्ड, आयरल्याण्ड, दक्षिण कोरिया लगायतका देशहरुमा यस कन्सल्टेन्सीले आफ्नो सेवा दिदै आएको छ ।
    कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी धौबन्जा, भक्तपुर चेम्बर अफ कर्मसका अध्यक्ष कविदास श्रेष्ठ, नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव राम गोपाल कर्माचार्य, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, भक्तपुर टेलरिङ्ग व्यवसायी संघका निवर्तमान अध्यक्ष गणेशभक्त गोसाई, किकम्पा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष देवचन्द्र बज्राचार्य, रोटरी क्लब अफ भक्तपुरका पे्रसिडेन्ट नोमिनी दशरथ प्रजापति, कान्जिरोवा कलेजका प्रिन्सिपल महेन्द्र खनाल, समाजसेवी तथा राजनीतिज्ञ विनोद कायष्ठ, भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बजार्चार्य र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
    कार्यक्रममा आर्गस एजुकेशनका सीईओ अरुण चित्रकार, प्रबन्ध निर्देशक लिजा चित्रकार साथै भक्तपुरका अध्यक्ष अच्युत प्रजापति र निर्देशक किरण सुवालले पनि संस्थाको भावी योजना र सेवाहरुको बारेमा चर्चा गर्नुभएको थियो ।

     

  • उपप्रधान मन्त्रीहरु सिंह र पौडेलद्धारा चाँगुनारायण नगरपालिकाको अवलोकन

    भक्तपुर, माघ १८
    उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले बिहिवार चाँगुनारायण नगरपालिकाको वडा नं. १ देखी ४ सम्म स्थलगत अनुगमन गर्नुभएको छ ।
    काठमाण्डौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको ईशान (उत्तर पुर्वी) भागमा निर्माण गर्न लागेको नयाँ शहर आयोजना (स्मार्ट सिटी) निर्माणको योजना कार्यान्वयनका लागि सिंह र पौडेलले स्थलगत अनलोकन गर्नुभएको हो ।
    उहाँहरूले चाँगुनारायण नगरपालिकाका वडा नम्बर १ दुवाकोटबाट शुरु गरी वडा नम्बर २, वडा नम्बर ३ झौखेल र वडा नं. ४ चाँगु क्षेत्रको अवलोकन गर्दै चाँगुनारायण मन्दिरको दर्शन गर्नुभएको थियो ।
    प्रस्तावित काठमाण्डौं ईशान नयाँ शहरमा चाँगुनारायण नगरपालिकाको वडा नं. १ देखी ५ सम्मको पुरै भाग, वडा नं. ६, ७ र ८ को केही भाग पर्दछ । प्राधिकरणले नयाँ शहर निर्माण गर्ने निर्णय गरी प्रस्ताव गरे बमोजिम शहरी विकास मन्त्रालयले २०७४ असार ५ गते राजपत्रमा सूचना प्रकाशित गरी सो क्षेत्रको जग्गा कुनै भौतिक परिवर्तन गर्न र टुक्र्याउन नपाउने गरी रोक लगाएको छ ।
    सात वर्षमा निर्माण सम्पन्न गर्ने प्रस्ताव गरेपनि हालसम्म नयाँ शहर निर्माण शुरु नै हुन सकेको छैन, जसले गर्दा स्थानीय पिडित बन्दै आएका छन । स्थानीयले नयाँ शहर खारेज हुनुपर्ने माग गर्दै आएका छन ।
    स्थलगत अनुगमनपछि सिंह र पौडेल दुवैले नयाँ शहरको कार्य यथाशिघ्र छिटो अगाडि बढाउने बताएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।
    खत्रीका अनसार लामो समय देखि जग्गा रोक्का हुँदा समस्या आएको र यसको निराकरण भनेको नयाँ शहरको योजना कार्यान्वयनको बाटो मात्र भएका कारण मन्त्रीहरूको टोलीले नगरपालिका क्षेत्रको अवलोकन गरेको हो । “स्मार्ट सिटी अन्तर्गत कहाँ अस्पताल बन्ने कहाँ खेल मैदान बन्ने तथा यहाँको विकासमा के कति लागत लाग्छ साथै स्मार्ट सिटी कार्यान्वयन गर्दा यहाँ भएका बस्ती तथा विकासका मोडललाई कसरी आत्मसाथ गर्दै लैजाने भन्ने विषयमा छलफल तथा अवलोकन भएको हो,” नगर प्रमुख खत्रीले भन्नुभयो ।
    सो अवसरमा बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले चाँगुनारायण नगरपालिका क्षेत्रमा स्मार्ट सिटी कार्यान्वयन नहुँदा यहाँका जनताले भोग्नु परेका समस्याहरुको बारेमा मन्त्रीहरुलाई जानकारी गराउँदैं यसको कार्यान्वयन छिटो भन्दा छिटो गराउनु माग गर्नुभएको थियो ।
    टोलीमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, नायव आयुक्त नवराज प्याकुरेल, पूर्व सचिव मनि राम गेलाललगायत सहभागी थिए । उहाँहरुलाई चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरुले स्वागत गर्दै स्थलगत अवलोकनमा सहजीकरण गर्नुभएको थियो ।

     

  • पारागनको वार्षिकोत्सवमा २५१ विद्यार्थी सम्मानित

    भक्तपुर, माघ १७
    भक्तपुरको पारागन एकेडेमी (ईंग्लिश सेकेण्डरी बोर्डिङ्ग स्कुल)का २५१ विद्यार्थी र पत्रकार विकास प्रहर बुधवार सम्मानित भएका छन । पारागनको २२ औं वार्षिकोत्सवको अवसरमा उनीहरु सम्मानित भएका हुन ।
    पारागनले ८६ जनालाई एकेडेमिक अवार्ड, ७८ जनालाई स्पोट्र्स अवार्ड, ५५ जनालाई एक्टिब स्टुडेन्ट्स अवार्ड, ३२ जनालाई एसईई सम्मान गरी कुल २५१ जनालाई सम्मान गरेको हो । साथै लामो समयदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार प्रहरलाई पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
    सो अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवालले नयाँ पुस्तालाई आत्मनिर्भर बनाउने शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । उहाँले देशमा परनिर्भरता बढ्नुमा श्रमप्रति सम्मान नगराउने गलत शिक्षा नीति जिम्मेवार भएको टिप्पणी गर्नुभयो ।
    कार्यक्रममा डा. इवामुरा अस्पतालको आकस्मिक सेवामा कार्यरत डा. विनोद दंगालले विद्यार्थीमा कुपोषण बढ्दै गइरहेको उल्लेख गर्दै बढ्दो स्वास्थ्य समस्याको मुख्य कारण खानपिन भएको बताउनुभयो । डा. दंगालले विद्यार्थीलाई जङ्कफुडबाट टाढा राख्न सके त्यसले विद्यार्थीको स्वास्थ्यका साथै पढाइमा समेत सकारात्मक प्रभाव पर्ने जानकारी दिनुभयो ।
    बाल विकासविज्ञ सानू अमात्यले विद्यार्थीको सर्वाङ्गीण विकास गराउने वातावरणयुक्त विद्यालय रोज्न अनुरोध गर्नुभयो । उहाँले विद्यार्थीको पढाइमा सुधार ल्याउनका लागि अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका उल्लेखनीय हुने भएकाले तीन पक्षबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
    मोटिभेस्नल स्पिकर तुल्सीहरि प्रजापतिले विद्यार्थीलाई रचनात्मक बनाउनका लागि मोबाइलको प्रयोग कम गराउनुपर्ने र सन्तानको भविष्यका लागि अभिभावकले गुणस्तरीय समय दिनुपर्ने बताउनुभयो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. कमलराज गोसाईं, यूएसडिएफका अध्यक्ष श्रीराम सुवाल, अभिभावक प्रतिनिधि सुजना बासुकला, विद्यालयका व्यवस्थापक रत्नवीर किसी, पूर्व विद्यार्थी एन्जल खड्काले शैक्षिक उत्कृष्टता हासिल गर्न विद्यार्थी, अभिभावक, विद्यालय, शिक्षक शिक्षिका सबैको उत्तिकै सक्रियता आवश्यक पर्ने बताउनुभयो ।
    विद्यालयका प्रिन्सिपल पुण्यराम कवांलगायतले विद्यालयमा हाल १ हजार ६३ विद्यार्थी अध्ययनरत रहेको र ७५ जना शिक्षकहरु कार्यरत रहेको जानकारी दिनुभयो ।
    सोही कार्यक्रममा वर्ष अभिभावक सम्मान गरिएको थियो । उनीहरुलाई विद्यार्थीको पढाइमा चासो, शिक्षकसँगको अन्तरक्रिया, रचनात्मक सुझाव दिएको, शिक्षकसँग परामर्शका आधारमा छनोट गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुत गरिएको थियो ।

     

  • फागुन १४ गतेदेखि चैत ३ गतेसम्म ५०० बृहत श्रामणेर प्रव्रज्या कार्यक्रम बुद्ध जन्मभूमि लुम्बिनीमा हुने

    सुनीता तुलाधर,
    ललितपुर, माघ १६ गते ।
    बुद्ध शिक्षा जनमानसमा फैलाई सभ्य समाज निर्माण गर्ने उद्देश्यका साथ यही फागुन १४ गतेदेखि चैत ३ गतेसम्म बुद्ध जन्मभूमि लुम्बिनीमा अल्पकालिन “५०० बृहत श्रामणेर प्रव्रज्या कार्यक्रम” को आयोजना हुँदैछ । अखिल नेपाल भिक्षु महासंघ र थाई धर्मदूत इन्डिया–नेपालको संयुक्त आयोजना तथा प्रव्रज्या समाज नेपालको व्यवस्थापनमा मुलुकभरका ५०० जना कुलपुत्रहरुलाई प्रव्रजित गर्ने (श्रामणेर बनाउने) कार्यक्रमको आयोजना गर्न लागिरहेको जानकारी आज ललितपुरको पुल्चोकस्थित अक्षयश्वर महाविहारमा आयोजित एक पत्रकार सम्मेलन मार्फत दिइएको हो ।
    उक्त सम्मेलनमा बोल्नुहुँदै अखिल नेपाल भिक्षु महासंघका प्रव्रज्या उपसमितिका संयोजक भिक्षु पञ्ञामूर्ति महास्थविरले प्रव्रज्या अवधिभर प्रव्रजित श्रामणेरहरुले शील पालना गरी बुद्ध शिक्षाका आधारभूत ज्ञान प्राप्त गरेर गहन ध्यान अभ्यास सिकिने बताउनुभयो । उहाँले राजकुमार सिद्धार्थले बुद्धत्व प्राप्त गर्नुभएपछि कपिलवस्तुका राजा शुद्धोदनको निमन्त्रणामा २० हजार भिक्षुहरुका साथ प्रथमपटक कपिलवस्तु आगमन हुँदाको जस्तो धम्मयात्राको अनुभव पनि प्रव्रजित भएकाहरुले गर्न सक्ने जानकारी दिनुभयो ।
    धम्मकाय फाउण्डेसनका निर्देशक एवं प्रव्रज्या सामाजिक नेपालका संरक्षक थाई धर्मदूत भिक्षु थावर्न थावरोले बुद्ध शासनलाई चीरकालसम्म रहोस भनी श्रामणेर प्रव्रज्या कार्यक्रम संचालन गरीरहेको बताउनुहुँदै नेपालबाट थाइल्याण्डमा बुद्ध धर्म प्रचारप्रसार भएकोले त्यहाँका भिक्षुहरु, जनसाधारणहरु नेपालप्रति अति नै कृतज्ञ छन्, त्यसैले नेपालले पुनः धेरै भन्दा धेरै बुद्ध धर्मबाट लाभ लिन सकोस भनी नेपालमा श्रामणेर प्रव्रज्यामा सहयोग गरीरहेको भन्नुभयो ।
    अ.ने.भि. महासंघका कोषाध्यक्ष एवं प्रव्रज्या सामाजिक नेपालका अध्यक्ष भिक्षु बोधिज्ञान महास्थविरले बुद्ध जन्मभूमि नेपालमा स्थायी प्रव्रजित भिक्षुहरुको संख्या जति हुनुपर्ने हो त्यति नभएपनि अस्थाई रुपमा भएपनि प्रव्रजित संस्कार वृद्धि होस एवं प्रव्रजितहरुको संख्या वृद्धि होस भनी श्रामणेर प्रव्रज्याको कार्यक्रमहरु संचालन गरीरहेको बताउनुभयो ।
    त्यस्तै अ.ने.भि. महासंघका सचिव भिक्षु निग्रोध महास्थविरले प्रव्रजित जीवन एकचोटि अनुभव गर्नुपर्ने अवसरका रुपमा लिई प्रव्रजित हुन अनुरोध गर्नुहुँदै लुम्बिनीमा फागुन २० गते प्रव्रज्याका साथै २१ गतेदेखि २४ गतेसम्म चौथो अन्तर्राष्ट्रिय तिपिटक पाठ हुन गइरहेको जानकारी दिनुभयो । उहाँले यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारबाट पनि सहयोगको अपेक्षा राख्नुहुँदै लुम्बिनीको महिमा, लुम्बिनीको गरिमा र नेपालीको धर्मसंस्कृति विश्वमा तरंगित गर्न यस्ता खालका कार्यक्रमहरुको आयोजना भइरहन अत्यावश्यक भएको तथा लुम्बिनीमा पर्यटकहरु आउँदा धर्मले तरंगित भएका ध्वनिहरु सुनाउन र आध्यात्मिक एवं बौद्ध विहारका जीवनको वातावरण देखाउन र धारण गर्न जरुरी रहेको बताउनुभयो ।
    पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिनुहुँदै प्रव्रज्या उपसमितिका संयोजक भिक्षु पञ्ञामूर्ति महास्थविरले यस प्रव्रज्या कार्यक्रममा सहभागी हुन जुनसुकै समुदायका नेपाली कुलपुत्रहरु जो उमेर १६ वर्ष माथिका आफ्नो दैनिकचर्या सम्हाल्न सक्ने स्वस्थ व्यक्ति जो पनि हुनसक्ने जानकारी दिनुभयो । उहाँले यस कार्यक्रममा सहभागी हुन कुनै खर्च नलाग्ने पनि जानकारी दिनुहुँदै प्रव्रज्या कार्यक्रममा सहभागी हुन आव्हान गर्नुभयो ।
    उक्त पत्रकार सम्मेलनमा अखिल नेपाल भिक्षु महासंघ, थाइ धर्मदूत इण्डिया–नेपाल, प्रव्रज्या सामाजिक नेपाललगायत लुम्बिनी विकास कोष, ललितपुर महानगरपालिका, माझखण्ड बुद्ध विहार, अक्षयश्वर महाविहार, धर्मोदय सभा, युवक बौद्ध मण्डल, नेपाल मगर बौद्ध सेवा समाज, नागबहाल टोल सुधार समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
    यस कार्यक्रमका सह आयोजकहरुमा थाई राजकीय विहार, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका, धर्मोदय सभा, बौद्ध विहार संघ, अक्षयश्वर महाविहार, हिरण्यवर्ण महाविहार, धम्मसाकच्छा संघ, नेपाल मगर बौद्ध सेवा समाज, युवक बौद्ध मण्डल नेपाल, बुद्ध समाज नेपाल, वल्र्ड एलियन्स अफ बुद्धिस्ट, लुम्बिनी विश्वविद्यालय, नागबहाल टोल सुधार समिति, धम्मकाय विश्वविद्यालय, धम्मकाय फाउण्डेसन र प्रोमिस ल्याण्ड रहेका छन् ।
    यस प्रव्रज्या कार्यक्रमको समय तालिका निम्नानुसार रहेको छ –

  • वक्तृत्वकला प्रतियोगितामा अमिनिटी स्कुलकी देउता प्रथम

    भक्तपुर, माघ १६
    शहिद दिवसको अवसरमा नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मध्यपुर नगर समितिले बुधवार आयोजित मध्यपुर थिमि नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा अमिनिटी सेकेण्डरी स्कुलकी छात्रा देउता कोइराला प्रथम हुनुभएको छ ।
    ‘न्याय र स्वतन्त्रता प्राप्तीमा शहिदहरुको संघर्ष’ बिषयक उक्त वक्तृत्वकला प्रतियोगितामा नवरत्न लाईफ स्कुलकी वितिषा मानन्धर दिद्धिय हुनुभयो । प्रतियोगितामा दिव्य दिप ज्योती ईङ्गलिस स्कुलकी सन्भी भुसाल तृतिय र जनप्रेमी वल्र्ड स्कुलकी आम्सीका खड्काले सान्त्वना स्थान हासिल गरेको प्याव्सन मध्यपुर थिमि नगरसमितिका अध्यक्ष सुमन बस्नेतले बताउनुभयो ।


    प्रतियोगितामा मध्यपुर थिमि नगरभित्रका विभिन्न विद्यालयका २५ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्याव्सन भक्तपुरका अध्यक्ष राजन कसपालले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।
    विद्यार्थीहरुलाई पढाईका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउने र कितावी ज्ञानलाई व्यवहारमा उतार्ने कला विकासको लागि प्रतियोगिता आयोजना गरेको प्याव्सन मध्यपुर थिमिका अध्यक्ष बस्नेतले बताउनुभयो ।