Category: विज्ञान/प्रविधि

  • विज्ञान प्रदर्शनीमा जनप्रेमी वल्र्ड प्रथम

    भक्तपुर, फागुन १९
    शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले सानो थिमिस्थित आदर्श माध्यामिक विद्यालयमा शुक्रवार आयोजित जिल्ला व्यापी माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनीमा मध्यपुर थिमि–२, कौशलटारस्थित जनप्रेमी वल्र्ड स्कुल प्रथम भएको छ ।
    प्रदर्शनीमा देवी मा.वि. दोस्रो र ख्वप मा. वि. तेस्रो भएको छि भने आदर्श मावि लाय्कू थिमिले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रदर्शनीको मूल्याङ्कन समूहमा युवराज अधिकारी (पाठ्यक्रम अधिकृत ), अरुण चौधरी र हेमन्त ढुङ्गाना रहनु भएको थियो । प्रदर्शनीमा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार, तेस्रो हुनेले २ हजार र सान्त्वना पुरस्कार पाउनेले एक हजार नगद पुरस्कार प्राप्त गरे ।
    विद्यार्थीको कक्षागत पाठ्यक्रम अनुसार विज्ञान विषयमा खोज तथा अनुसन्धानका पाठहरूमा भनिएजस्तै ती बस्तुहरूको अनुसन्धान एवं प्रयोगबाट कसरी मानव जीवनलाई सहज तुल्याउन सकिँदो रहेछ भनेर शिक्षण सिकाईका लागि विज्ञान प्रदर्शनी गरिएको हो ।
    विद्यार्थीले विज्ञान, प्रविधि, कला, संस्कार, संस्कृतिलगायतका विषयमा पाठ्यपुस्तकमा अध्ययन गरिएका विषयलाई विभिन्न सामग्री प्रयोग गरी विभिन्न प्रतिभा प्रदर्शनी गरेका थिए ।
    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कमला ज्ञवालीले युवापुस्ताहरूको सोचलाई उद्यममा परिवर्तन गर्न यस किसिमको प्रदर्शनी राखिएको बताउनुभयो । पढाइमा सीप जोड्नु पर्ने भएकोले यस किसिमको प्रदर्शनीलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
    शिक्षा तथा मानव श्रोत विकास इकाईका सह सचिव जयराम अधिकारीले विज्ञानले मानिसलाई वैज्ञानिक चिन्तन दिने र प्रयोगमा ल्याउने, चिन्तन गर्ने, तथ्य तथ्याङ्क तार्किक निकाल्न मद्दत गर्ने बताउनुभयो ।
    विज्ञान प्रदर्शनीमा छनोट हुन भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञानसँग अन्तरसम्बन्ध हुनुका साथै वातावरण मैत्री अविस्कार गरेको हुनुपर्ने प्रावधान राखिएको थियो । जिल्लामा प्रथम हुनेले हेटौडामा आयोजना हुने प्रदेश स्तरीय विज्ञान प्रदर्शनीमा भाग लिनेछन् ।

  • अङ्ग प्रत्यारोपणः अमेरिकामा मस्तिष्क मृत घोषणा गरिएका मानिसमा ‘सुँगुरको मिर्गौलाले काम गर्‍यो’

     

    • मिशेल रोबर्ट्स
    • स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन

    अमेरिकामा शल्यचिकित्सकहरूको एउटा समूहले एक व्यक्तिमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण परीक्षण गरिएको त्यसले अङ्ग प्रत्यारोपणको प्रतीक्षा गरिरहेका गम्भीर बिरामीमा दाताबाट प्राप्त हुने अङ्गको अभावसम्बन्धी समस्या समाधान गर्ने सक्ने विश्वास गरिएको बताएका छन्।

    उक्त प्रयोगात्मक अभ्यासका क्रममा त्यस्तो मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति “ब्रेन-डेड” अर्थात् “मृतमस्तिष्क” भएको अवस्थामा पुगेका बिरामी थिए।

    चिकित्सकीय भाषामा त्यसको अर्थ उनी निको भएर जीवित हुने सम्भावना थिएन र उनलाई चिकित्सा उपकरणको सहायतामा मात्रै जीवित अवस्थामा राखिएको थियो।

    उनलाई दिइएको मिर्गौला आनुवंशिक परिवर्तन गरिएको एउटा सुँगुरबाट निकालिएको थियो।

    सुँगुरको वंशाणुमा गरिएको त्यस्तो परिवर्तन बिरामीको शरीरले प्रत्यारोपण गरिएको अङ्ग स्वीकार गरोस् र बाहिरी अङ्गको रूपमा त्यसलाई अस्वीकार नगरोस् भन्ने हेतुले गरिएको बताइएको छ।

    तस्बिर स्रोत, NYU Langone

    उक्त चिकित्सकीय परीक्षणका विवरणहरूबारे समकक्षी विज्ञहरूबाट समीक्षात्मक धारणहरू प्रकाशित भइसकेका छैनन्।

    तर विज्ञहरूले भने यसलाई एक प्रकारको उन्नत प्रयोग भएको बताएका छन्।

    यसअघि पनि त्यस किसिमका परीक्षणहरू भएका मानवबाहेक अन्य प्रजातिका प्राइमेट अर्थात् नरवानरमा गरिएको थियो।

    अङ्ग प्रत्यारोपणमा सुँगुरको प्रयोग नौलो भने होइन। सुँगुरको मुटुको भल्भ मानिसको शरीरमा पहिले पनि व्यापक प्रयोग भएको छ। अनि आकारको हिसाबले पनि सुँगुरका भित्री अङ्ग मानिससँग मिल्दोजुल्दो हुन्छ।

    न्यूयोर्क विश्वविद्यालयको ल्याङ्गोन मेडिकल सेन्टरमा भएको दुई घण्टा लामो शल्यक्रियामा चिकित्सकले सुँगुरको मिर्गौलालाई मस्तिष्क मृत भएका बिरामीको रक्तनलीसँग जोडिदिएका थिए। उनीहरूले रक्तसञ्चार सञ्चालन भएपछि बिरामीको शरीरले मिर्गौलालाई स्वीकार गरी सहज ढङ्गमा काम गर्छ वा अस्वीकार गर्छ भन्ने हेर्नका लागि त्यसो गरेका हुन्।

    शल्यचिकित्सकहरूको उक्त समूहले झन्डै साढे दुई दिन मिर्गौलाको निगरानी गरे, पटकपटक जाँच र परीक्षण गरे।

    अनुसन्धानको नेतृत्व गरिरहेका चिकित्सक रोबर्ट मोन्ट्गोमरीले बीबीसीसँग भने, “हामीले मानवमिर्गौला प्रत्यारोपण गरे सरह काम गरिरहेको मिर्गौला देख्यौँ जुन एउटा सामान्य मानवमिर्गौलाले गर्ने सबै कुरासँग मिल्दोजुल्दो देखियो।”

    “सुँगुरको मिर्गौलाले मानव शरीरमा पनि सामान्य रूपमा काम गर्‍यो। प्रत्यारोपण गरिएको शरीरले त्यसलाई अस्वीकार गरेन।”

    शल्यचिकित्सकहरूले सुँगुरको मिर्गौलासँगै थाइमस ग्रन्थिको केही भाग समेत प्रत्यारोपण गरेका थिए। कण्ठाधारनजिकै हुने उक्त ग्रन्थिले प्रतिरक्षा कोशिकाहरूको विकास गरी मानव शरीरलाई लामो समयसम्म मिर्गौला अस्वीकार गर्न रोक्ने सम्भावना भएकाले त्यसो गरिएको हो।

    तस्बिर स्रोत, NYU Langone

    अङ्ग प्रत्यारोपणको प्रतीक्षा सूचीमा रहेका मानिसहरूको लागि तत्काल अङ्ग खोज्न आवश्यक भएको डा. मोन्ट्गोमरीको धारणा छ। उनले आफूले पनि मुटु प्रत्यारोपण गराएका छन्।

    उनी आफ्नो यो कार्य विवादित हुन सक्ने स्वीकार्छन्।

    “एउटा मानिसलाई बचाउनका लागि अर्को मर्नुपर्ने परम्परा सधैँ रहिरहनेछैन,” उनी भन्छन्,”मलाई थाहा छ यो चिन्ताको विषय हो। अनि यो पनि सत्य हो कि अहिले ४० प्रतिशत बिरामीले अङ्ग प्रत्यारोपण कुर्दाकुर्दै ज्यान गुमाउँछन्।”

    उनले मासु र औषधिका लागि प्रयोग गरिने सुँगुर मिर्गौला प्रत्यारोपणका लागि प्रयोग गरिनुमा कुनै समस्या नभएको बताए। यो परीक्षण प्रारम्भिक भएको र यस विषयमा थप अनुसन्धान आवश्यक रहेको बताए।

    मिर्गौला प्राप्त गर्ने मानिसका परिवारको अनुमतिपछि शल्यक्रिया गरिएको हो। सुरुमा परिवारकै सदस्य ती बिरामीलाई मिर्गौला दिन तयार थिए।

    अमेरिकी नियामक संस्था एफडीएले आनुवंशिक रूपमा परिमार्जित सुँगुरका अङ्गहरू यस्ता किसिमका अनुसन्धानका लागि प्रयोग गर्ने अनुमति दिएको छ।

    डा. मोन्ट्गोमरीले आगामी एक दशकमा सुँगुरका अन्य अङ्गहरू मुटु, फोक्सो र कलेजो पनि मानवमा प्रत्यारोपण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

    द न्याश्नल हेल्थ सर्भिस इन इङ्ल्यान्डकी (एनएचएस) सघन उपचारकी चिकित्सक डा. मार्याम खोस्रवीले भनिन्, “जनावरबाट मानिसमा प्रत्यारोपण हामीले दशकौँदेखि अध्ययन गरिरहेको विषय हो र एउटा समूहले यो कार्यलाई अघि बढाउनु निकै रोचक विषय हो।”

    नैतिकतासम्बन्धी विषयलाई इङ्गित गर्दै उनले भनिन्,”हामीले यस्तो प्रत्यारोपण गर्न सफल भयौँ भन्दैमा व्यवहारमा गर्नैपर्छ भन्ने होइन। सम्बन्धित पक्षले यस्ता प्रश्नको कस्तो उत्तर दिन्छ त्यो पर्खनुपर्ने हुन्छ।”

    एनएचएस ब्लड एन्ड ट्रान्सप्लान्टका प्रवक्ताले भने तत्कालका लागि मिल्दो मानव दाताहरू हुनु प्राथमिकताको विषय भएको बताए।

    परीक्षण गरिएको जस्तो प्रत्यारोपण वास्तविक व्यवहारमा हुन अझै समय लाग्ने भएकाले मानव अङ्गदानमै ध्यान पुर्‍याइनुपर्ने उनको धारणा छ।

    “अनुसन्धानकर्ता र चिकित्सकहरूले बिरामीलाई प्रत्यारोपण गराउने सम्भावना बढाउन निरन्तर काम गरिरहे पनि सबै जनाले अङ्ग प्रत्यारोपणबारे निर्णय गरेर यदि अङ्ग प्रत्यारोपण सम्भव छ भने आफूले के चाहेको हो त्यो आफ्नो परिवारलाई जानकारी दिन आवश्यक छ,” उनले भने।

     

  • शारदा माविमा सिपमूलक व्यवहारिक शिक्षाको शुरुवात

    भक्तपुर, साउन २४
    भक्तपुरको शारदा माध्यामिक विद्यालयले चालु शैक्षिक सत्रदेखी विद्यार्थीहरुलाई किताबी सैद्धान्तिक ज्ञानका साथ साथै विभिन्न सिपमूलक व्यवहारिक शिक्षा पनि प्रदान गर्न थालेको छ । शिक्षालाई उत्पादन श्रमसँग जोड्दै शिक्षित बेरोजगारको समस्यालाई न्यूनिकरण गर्न शारदाले सो शिक्षाको शुरुवात गरेको हो ।
    भक्तपुर नगरपालिका–२ यालाछेंमा वि.सं.२००९ सालमा स्थापना भएको सो विद्यालयले समयको आवश्यकतालाई मध्यनजर गरी उत्पादन श्रमसँगसँगै जोडिएको शिक्षाको शुरुवात गरेको जनाएको छ ।
    विद्यालयले चालु शैक्षिक सत्रदेखी वाद्यवादन, फूलबारी निर्माण, चित्रकला, जडिबुटी खेती, जैविक खेती, सुकुल बुन्ने कला, विभिन्न हस्तकला, विभिन्न खेल प्रशिक्षण, भाषा प्रशिक्षण, च्याउ खेती, करेसाबारीको कामलाई जीवन उपयोगी शिक्षासँग जोड्नका लागि विषय क्षेत्र बनाएको छ । त्यसैगरी दैनिक घरायसी काम र ससाना समस्या आफैंले समाधान गर्न सकिने सीप पनि दिने योजना बनाएको विद्यालयका प्राचार्य रोशनराज तुइँतुइँले बताउनुभयो ।


    ‘हामीले धेरै पहिलादेखि शिक्षालाई उत्पादन श्रमसँग जोड्नुपर्ने कुरा बताउँदै आइरहेका छौं, तर सकिरहेका थिएनौं, तर यो शैक्षिक सत्रबाट भने हामीले त्यसलाई मूर्त रुप दिनका लागि प्रयास गरेका छौं,’ प्राचार्य तुइँतुइँले भन्नुभयो ।
    उहाँले जीवनोपयोगी शिक्षा र व्यवहारिक ज्ञानलाई उत्पादन श्रम र सीपसँग जोडी विद्यार्थीलाई थप व्यवहारिक बनाउने अवधारणाले व्यवहारिक शिक्षाको कक्षा शुरु गरेको बताउनुभयो । ‘हाम्रा विद्यार्थीहरुसँग सर्टिफिकेट त हुने भयो, तर हातमा सीप नहुने भयो, त्यसले गर्दा विद्यार्थी अपूर्णजस्तै हुने भयो, त्यसलाई चिर्नका लागि पनि शिक्षालाई व्यवहारिक बनाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘अझ पढेका विद्यार्थीमा कामलाई हेला गर्ने, जागिरलाई मात्र काम ठान्ने प्रवृत्ति देखिएको छ, त्यो कम गर्ने काम विद्यालय तहदेखि नै गर्नुपर्छ ।’
    उहाँले आगामी दिनमा घरायशी समस्याको समाधानका बारेमा पनि व्यवहारिक शिक्षा दिने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा पढेका विद्यार्थीलाई घरमा बत्ती बिग्रियो भने एउटा चिम फेर्न, स्वीच फेर्न समेत आउँदैन, धाराको पाइप फुट्दा जोड्न आउँदैन, ती घरायसी काम गर्ने सीप पनि हामी यसमा समावेश गर्छौं ।’ त्यसका लागि विद्यालयले छु्टटै ल्याब र खेती गर्नका लागि खेत समेत भाडामा लिएको उहाँले जानकारी दिनुभयो ।


    विद्यालयले केही समयअघि नै सो योजना बनाए पनि बजेट अभाव हुँदा त्यसलाई कार्यान्वयन गर्न नसकिएको प्राचार्य तुईतुईले बताउनुभयो । ‘यही शैक्षिक सत्रका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विद्यालय समावेश भएपछि सो योजनालाई अघि बढाउन सहयोग पुगेको हो,’ उहाँले भन्नुभयो, ‘सो कार्यक्रमअन्तर्गत नव प्रवर्तनात्मक प्रविधि र विद्यार्थी शैक्षिक सुधार तथा शिक्षण सामग्री व्यवस्थापनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले विद्यालयलाई समावेश गरेको छ ।’
    सो विद्यालयमा हाल ३५० विद्यार्थी अध्ययनरत छन । विद्यार्थीहरुलाई सिप सिकाउन शिक्षकसँग भएका सीपलाई उपयोग गर्नुका साथै स्थानीय व्यक्तिहरुलाई समेत प्रशिक्षकका रुपमा सहयोग मागिने प्राचार्य तुईतुईले बताउनुभयो ।
    ‘स्थानीयस्तरमै पनि वर्षौंदेखि विभिन्न पेशा, व्यवसाय गरिरहेका, दाफा, भजनमा संलग्न व्यक्तिहरु छन्, तिनीहरुको सीपलाई नयाँ पुस्तामा हस्तान्तरणका लागि पनि हामीले यो प्रयास गरेका हौं’, उहाँले भन्नुभयो ।
    विद्यालयको नयाँ अवधारणामा विद्यार्थीको पनि अभिरुचि रहेको पाईएको छ । हाल विद्यार्थीहरु वाद्यवाधन बजाउने, सुकुल बुन्नेलगायतका सिपको व्यवहारिक ज्ञान लिन थालेका छन ।
    विद्यालय तहबाटै शिक्षालाई व्यवहारिक बनाउनुपर्ने जरुरी रहेको शिक्षाप्रेमी हिमालयश्वरलाल मुलले बताउनुभयो । उहाँले पाठ्यक्रममा आधारित रहेर विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउन सके त्यसले शिक्षालाई थप गुणस्तरीय बनाउन सघाउने बताउनुभयो ।
    ‘हाम्रो पाठ्यक्रम उत्कृष्ट छ, पाठ्यक्रममा हरेक विषयको क्रियाकलाप गराउन भनेको छ, तर सीमित स्रोत, साधनको कमी, बजेटजस्ता कारण त्यसलाई नगर्दा समस्या भएको छ, माटोसँगै हुर्कनुपर्ने विद्यार्थी माटोलाई हेला गर्ने बनेका छन्, यसैले अब माटोलाई माया गर्ने जनशक्ति उत्पादनका लागि पनि यस्तो अवधारणाको शिक्षा दिनुपर्छ’ उहाँले भन्नुभयो ।

  • नेपाल टेलिकमको मोवाइल सेवा अवरुद्ध, फोन नलाग्ने समस्या

    नेपाल टेलिकमको मोवाइल सेवा अवरुद्ध, फोन नलाग्ने समस्या

    भक्तपुर, असार ९
    नेपाल टेलिकम (एनटिसी)को मोबाइल फोन सेवा अवरुद्ध भएको छ । बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो । मोबाइल नम्बर डायल गर्नासाथ कल सकिएको संकेत देखिने गरेको छ । यसो हुनुको कारण खुलेको छैन ।
    टेलिमकमका अनुसार प्राविधिक समस्या देखिएकाले फोन नलाग्ने भएको हो । तर कहाँ कस्तो समस्या देखिएको हो त्यसबारे खुलाएको छैन । एनसेलका नम्बर र ल्याण्डलाइनबाट समेत एनटिसीका नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो ।
    मोबाइलमा फोन नलाग्दा सेवाग्राही समस्यामा परेका छन् । समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकम कार्यालयले जनाएको छ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले सिस्टममा समस्या आएकाले जीएसएम नम्बरमा फोन नलाग्ने समस्या आएको बताउनुभयो । ‘हाम्रा धेरै सिस्टम छन्, कहाँनिर समस्या आयो भन्ने पत्ता लागिसकेको छैन । प्राविधिक साथीहरुले समस्या समाधानका लागि काम गरिरहनु भएको छ,’ उहाँले भन्नुभयो ।

  • नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन भेटियो

    नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन भेटियो

    भक्तपुर, असार ७
    नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन फेला परेको छ । राष्ट्रिय प्रयोगशालाले देशका विभिन्न भागबाट गत वैशाख २६ गते देखि जेठ २० गतेसम्म विभिन्न उमेर समूहलाई प्रतिनिधित्व हुने गरी ४८ वटा नमूना संकलन गरी भारतस्थित डब्लुएचओ मान्यताप्राप्त प्रयोगशालामा गरेको परीक्षणमा कोरोना भाइरसको नयाँ म्युटेसन फेला परेको हो ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ४८ नमुनामध्ये ९ वटामा नयाँ म्युटेसन फेला परेको जनाएको हो । संकलित नमुना जिन सिक्वेन्सिङ गर्न गत जेठ २६ गते पठाईएको थियो ।
    ती मध्ये ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) र एउटामा अल्फा भेरियन्ट (बी १.१.७) फेला परेको जनाएको छ । सहप्रवक्ता अधिकारीका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको हो, जसलाई ए वाई .१ नाम पनि दिईएको छ ।
    हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा (बि.१.१.७) र डेल्टा (बि.१.६१७.२) भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट (बि.१.६१७.१) पुष्टि भएको छ ।
    यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनबाट पाईएको मन्त्रालयले जनाएको छ । केही समयअघि बेलायती सञ्चारमाध्यमले नेपाल भेरियन्ट भनेर दाबी गरेको यही म्युटेसन हुन सक्ने बताईएको छ । मन्त्रालयले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन भूमिका बढाउन अपिल गरेको छ ।

  • यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

    यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

    चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो ।

    यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८ सेमी छ । यो ल्यापटपको वजन ७ सय ग्राम रहेको छ ।

    म्याग वानमा एप्पलको म्याकबुकमा भन्दा धेरै पोर्टस् रहेका छन् । यसमा तीनवटा फूलसाइज युएसबी ३.० पोर्ट, टाइप सी कनेक्टर, माइक्रो एसडी कार्ड रिडर, एउटा अडियो सकेट तथा एउटा माइक्रो एचडीएमआई पोर्ट रहेको छ ।

    म्याग वान अल्ट्रा पोर्टेबल ल्यापटपको मूल्य Gearbest मा ७ सय ९० डलर रहेको छ ।

    समाचार अनुसार यो एउटा सानो, हलुका, पातलो तर शक्तिशाली डिभाइस हो । यसमा अत्याधुनिक इन्टेल कोर एमथ्री ८१००वाई सीपीयू रहेको छ । त्यस्तै १६ जिबी र्याम तथा ५ सय १२ जीबीको इन्टनरल स्टोरेज रहेको छ । ल्यापटपको टचस्क्रिन डिस्प्लेको रिजोलुसन २५६० गुणा १६०० पिक्सेल रहेको छ ।

    निकै सानो हुनुका बाबजुत पनि यो ल्यापटपमा शक्तिशाली ३० एम्पियर आवर क्षमताको ब्याट्री राखिएको छ । यो ब्याट्रीले ७ घण्टाको ब्याकअप दिन्छ । यो ल्यापटपलाई टाइप सी कनेक्टरको सहयोगमा कुनै पनि पावर बैंैकबाट समेत चार्ज गर्न सकिन्छ ।

    यद्यपि यो ल्यापटपमा वेबक्याम छैन र यसमा ३६० डिग्री हिन्ज र एक्टिभ पेन सपोर्ट पनि उपलब्ध छैन ।

    -एजेन्सीको सहयोगमा