Category: विचार/अन्तर्वार्ता

  • समृद्धिको प्रस्थान बिन्दु एमसीसी

     

    सुरेन्द्र केसी, भक्तपुर, चैत्र १४

    नेपाली काँग्रेस २००६ सालमा ‘जनताका लागि जनताले’ भन्ने पवित्र उद्देश्यका साथ स्थापना भएको हो । नेपाल प्रजातान्त्रिक काँग्रेस र राष्ट्रिय काँग्रेस एक भएपछि पार्टी स्थापनाको उद्देश्यबारेको घोषणामा भनिएको थियो, ‘अब हाम्रा देशवासी घोर अन्यायविरुद्ध जुर्म‘राएर उठ्नु आवश्यक छ, यथाशीघ्र सम्पूर्ण अवन्नतिको जरा नै उखालेर फ्याँक्नु परेको छ । तानाशाही सरकारलाई समाप्त गरी देशको उन्नति गर्न हिम्मत गर्ने तरुणले काँग्रेस पार्टी स्थापना गरेका छन् । सम्पूर्ण जनताको तागत बटुलेर एउटा अन्तिम आन्दोलन गरी स्वेच्छचारी पारिवारिक शासनलाई उखेलेर फ्याँक्ने निश्चय गरेका छौँ ।’

    उक्त घोषणापत्रमा शान्तिपूर्ण आन्दोलनबाट परिवर्तन सम्भव नभए क्रान्तिद्वारा भए पनि राणा शासन अन्त्य गरिनेछ भन्ने प्रष्ट रूपमा उल्लेख गरिएको थियो । त्यसैगरी, परिवर्तनपश्चात् बालिग मताधिकारका आधारमा चुनिएका जनप्रतिनिधिबाट एक परिषद् वा भेला बोलाइनेछ, ती प्रतिनिधिलाई नै नेपालको संविधान वा राज्य सञ्चालनसम्बन्धी नियमकानुन बनाउने सम्पूर्ण जिम्मेवारी दिइनेछ । यसैगरी काँग्रेस प्रजातान्त्रिक मूल्य र मान्यताका साथै समतामूलक आर्थिक वितरण प्रणालीलाई आदर्श मान्छ भनी दुई पार्टीको एकता महाधिवेशन सम्पन्न भएको थियो ।

    अन्त्यमा तानाशाही शासनविरुद्ध क्रान्ति गर्ने उद्देश्यका साथ रौतहट जिल्लाको सिमानामा पर्ने भारतको वैरगनियामा विक्रम संवत् २००७ असोज १० र ११ गते राजनीतिक सम्मेलन आयोजना ग-यो । क्रान्तिको कमाण्डर मातृकाप्रसाद कोइराला भए भने सञ्चालनको जिम्मा भने बीपी र सुवर्णशमशेरको जिम्मामा थियो । कात्तिक २४ गतेबाट सुरु भएको क्रान्तिमा २७ गते नै हवाईजहाजबाट राणाविरोधी पर्चा छरिएका थिए । कात्तिक २५ गते राति र बिहान वीरगन्ज कब्जा गरी सरकारको हातहतियार लुटियो ।
    यसरी विभिन्न कालखण्डका परिवर्तनको नेतृत्व काँग्रेसले गर्दै आएको छ । ०४६ र ०६२/०६३ को सफल आन्दोलन पनि काँग्रेसकै नेतृत्वमा सम्भव भयो । पछिल्लो पटक नेपालको संविधान २०७२ पनि काँग्रेस नेतृत्वमै जारी भएको हो । सोही संविधानको प्रावधानअनुसार सङ्घीय संरचनाको स्वरूपबमोजिम तीनै तहको निर्वाचनसमेत काँग्रेसले नै सम्पन्न ग-यो ।

    झन्डै दुईतिहाइ प्रतिनिधिको समर्थनप्राप्त केपी ओली नेतृत्वको सरकारका असंवैधानिक, अहंकारी र स्वेच्छाचारी गतिविधिकै कारण मुलुकको अस्तित्व रक्षाका लागि काँग्रेस सत्ताको नेतृत्व गर्न बाध्य भयो । सङ्घीय सरकारमा मात्र होइन सातमध्ये ६ प्रदेशमा नेतृत्व गरेको नेकपाको सरकार सबै प्रदेशबाट मुक्त हुनुप¥यो । बालुवाटारबाट बालकोट पुग्नु परेपछि ओलीलाई दर्दनाक पीडा भयो । ओलीका प्रतिक्रिया एउटा सामान्य अबुझ कार्यकर्ताका भन्दा पनि कमजोर आउन थाले । राष्ट्रिय सभा निर्वाचन परिणाम ओलीलाई अर्को धक्का बन्यो ।

    २००७ मा काँग्रेसले गरेको क्रान्तिपछिको परिवर्तनलाई धोका हो भन्ने वामपन्थीहरूले त्रिभुवन विमानस्थल बनाउँदा भारतीय सेना प्लेन चढेर नेपाल आउँछन् भन्दै विमानस्थल निर्माण रोक्न पुगेका थिए । २०२८ सालमा राजा महेन्द्रबाट माओको रातो किताब मागेर काँग्रेसका विरुद्ध गाउँमा सङ्गठन गर्न गएकाहरू २०३६ सालमा जनमत सङ्ग्रह बहिष्कार गरी राजालाई सघाउने पुगे । २०६२/६३ को आन्दोलनपश्चात् २०७२ मा जारी संविधानमा बहुलवाद लेख्न नदिनेहरूले लोकतन्त्रको कुरा गर्न कसरी सुहाउँछ ? काठमाडौँ–निजगढ फास्ट ट्र्याकको विरोध गरी हालसम्म निर्माण गर्न नदिनेहरू कसरी समृद्धिको पक्षधर हुन सक्छन् ?

    मुलुकलाई खर्बौं नोक्सान पु-याउनेहरू कसरी राष्ट्रवादी र प्रजातन्त्रवादी हुन सक्छन् ? काँग्रेसको समृद्धि यात्रामा साथ दिने हो भने मुलुकबाट गरिबी हट्नेछ अनि कम्युनिस्ट नामका बिल्लाको अर्थ रहँदैन भनेरै समृद्धिको प्रस्थान बिन्दु मानिएको एमसीसीको विरोधमा लाग्नेहरू पनि आफूलाई लोकतन्त्रवादी भनिरहेका छन् । जनतालाई कतिन्जेल मुर्ख बनाइरहने हो ? परिवर्तनलाई आत्मासात् गर्दै मुलुकलाई आर्थिक क्रान्तितर्फ अग्रसर गराई समृद्धिको यात्रामा लैजान खोज्ने काँग्रेसजस्तो पार्टी राष्ट्रघाती कि व्यक्ति र पार्टीको हितका लागि मुलुकको अस्तित्व दाउमा राख्नेहरू राष्ट्रघाती ? आम जनताले एक पटक गम्भीर भएर सोच्ने बेला आएको छ । यो कुरा आम सर्वसाधारणसमक्ष बेलैमा पु-याइएन भने निर्वाचन नजिकिँदै गरेका बेला जनतालाई फेरि भ्रममा पार्ने खेल हुन सक्छ, यसतर्फ काँग्रेसजन सजग हुनुपर्छ ।

    संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) द्वारा प्रदान गरिने करिब ६० अर्बको अनुदान लिँदा राष्ट्रघात देख्नेहरूले अनुदान मागको निवेदन दिँदा किन सोचेनन् ? त्यतिबेला राष्ट्रघात नदेखेका नेताहरूले सम्झौता अनुमोदनमा राष्ट्रघात देख्नु कसैको उक्साहट मात्रै नभएर बहुलबादी प्रजातन्त्रको विरुद्धमा थियो भन्ने स्पष्ट हुँदैन र ? वामपन्थीको दोहोरो चरित्रप्रति काँग्रेस सचेत हुनुपर्छ । काँग्रेस सुरुदेखि नै एमसीसीको पक्षमा थियो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले यसलाई संसद्बाट पारित गराउन महìवपूर्ण भूमिका निर्वाह गर्नुभयो । एमसीसी अनुमोदनपछि उहाँको उचाइ बढेको आभास हुँदैछ, किनकि यो सम्झौता आर्थिक विकासको प्रस्थान बिन्दु मात्र नभई कोसेढुङ्गा हुुनसक्छ, तोकिएको समयभित्र सम्पन्न भयो भने ।

    एमसीसी सहयोग लिएर विश्वका ४५ भन्दा बढी राष्ट्र समृद्धिको यात्रामा लम्केका छन् भने केही देशले दोस्रो अनुदानसमेत लिइसकेका छन् । नेपालमा एमसीसीको महìव हेर्नुभन्दा वामपन्थी र प्रजातन्त्रवादीबीच द्वन्द्व भयो । विश्वका प्रजातन्त्रवादी समुदायको साथ र सहयोग लिन पनि एमसीसी आवश्यक थियो । माओवादी नेता नारायणकाजी श्रेष्ठ र समाजवादीका नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल दुवैजनाको एउटै भनाइ थियो, ‘यो अनुदान लिएर संसद्बाट अनुमोदन गराउने हो भने आर्थिक उदारीकरण हुन्छ र खुला बहुलवादी लोकतन्त्रलाई अँगाल्नुपर्ने हुन्छ, जुन संविधानमा लेखिएको समाजवादको विरुद्ध हुन्छ ।’ लोकतान्त्रिक समाजवादबाट लोकतन्त्र निकालिदियो दियो भने त्यो साम्यवाद हुन्छ जुन कुरा उहाँहरूले घुमाउरो पारामा भन्न खोज्नु भएको हो । यसले उहाँहरू प्रजातान्त्रिक पद्धतिको विरोधमा खुलेआम लाग्नुभएको स्पष्ट हुँदैनथ्यो र ?

    आजभन्दा करिब दुई वर्षअघि श्रीलङ्काले एमसीसी अनुदान फिर्ता गरेको थियो जसको कारण हाल श्रीलङ्का आर्थिक सङ्कटमा परेको छ । दक्षिण एसियामै सबैभन्दा बढी करिब ९२ प्रतिशत साक्षर भएको देश हाल आएर टाटा पल्टिने अवस्थामा पुगेको छ । तेलको लाइन लाग्दालाग्दै मानिसको मृत्यु हुन्छ भने परीक्षाका लागि कापी किन्ने विदेशी डलर नभएको कारण बालबालिकाको परीक्षा नै स्थगित गर्न‘परेको दुःखद अवस्था छ ।

    चीनको ऋणमा बनाएको एक मात्र हम्बनटोटा बन्दरगाह निर्माणमा लागेको ऋण तिर्न नसक्दा ९९ वर्षका लागि चीनले त्यहाँ आफ्नो झन्डा गाडेको छ । त्यति मात्र कहाँ हो र उक्त बन्दरगाहमा चीनको सैनिक गतिविधिसमेत हुन थाल्यो भन्दै भारतले आपत्ति जनाइसकेको छ । चीनले विदेशी राष्ट्रलाई प्रदान गर्ने ऋण वार्षिक १० प्रतिशतले बढाएको छ । पाकिस्तानमा चीनको ६० अर्बको ऋण लगानी छ । त्यहाँ पनि आफूले बनाइदिएको ग्वादर बन्दरगाह ४० वर्षका लागि चीनले लिएको छ । जहाँ चीनले ९१ प्रतिशत राजस्व असुल्छ । त्यसैगरी, जिबुटी, मल्दिपस, मङ्गोलिया, लाओस, किर्गिस्थान र ताजिकिस्तान चीनले आफ्नो ऋण थोपरेर औँलामा नचाएका देशमा पर्छन् । अझ अफ्रिकन मुलुक बिस्तारै बाहिर निस्किँंदै छन् । नेपाललाई समेत त्यही कोटीमा राख्ने प्रयास नहोला भन्न सकिन्न ।

    बीआरआईअन्तर्गत चीनले रेललगायत विद्युत् र सडकमा सहयोग गर्ने चाहना व्यक्त गर्दै आएको छ । चीनका विदेशमन्त्री तीनदिने नेपाल भ्रमणपछि स्वदेश फर्किएका छन् । उक्त भ्रमणमा भएको नौबुँदे सहमति कार्यान्वयन प्रक्रिया कसरी अघि बढ्छन् त्यसले पनि उसको भूमिका स्पष्ट हुनेछ । आशा गरौँ, चिनियाँ सहयोग पनि आर्थिक वृद्धिमा ठूलो सहयोगी बन्नेछ ।

    गोरखापत्र अनलाइनबाट

     

  • पुनर्ताजकीकरणमा कांग्रेस

    रजनी अमात्य जोन्छें, भक्तपुर, कार्तिक ३०

    मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस १४ औँ महाधिवेशनको प्रक्रियामा अघि बढि रहेको छ । हालसम्म १३ वटा हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न भईसकेका छन् भने विभिन्न जिल्लाहरुमा पालिका तह सम्म अधिवेशन सम्पन्न भईसकेका छन् । केन्द्रीय निर्वाचन समितिले बाँकी रहेका तहको निर्वाचन सम्पन्न गर्नका लागि कार्यतालिका प्रकाशित गरिसकेको छ । प्रारम्भिक तहमा सम्पन्न भएका अधिवेशनबाट सदैव उठ्ठै आएको कांग्रेस भित्रको रुपान्तरणीय पक्षहरुको उजागर भईरहेको छ । संघीय संरचना अनुरुपको सांगठनिक संरचना, नितिगत बहस, आर्थिक–सामाजिक, राजनीतिक रुपान्तरणका आधारपत्र र पार्टीका विभिन्न पदमा युवाको घोषणा र भिजनरी युवा नेतृत्वको खोजले कांग्रेसलाई पुनर्ताजकीकरण गर्ने अनुमान गरिदै छ ।
    सदैव उठ्ठै आएको पुस्तान्तरणको कुरालाई अहिले सार्थकता पाउँदै आएको छ यद्दपी पहिलो तहका नेताहरुको अझै पद आकांक्षा कायम रहेकै कारण तत्काललै पुस्तान्तरण असम्भव देखिएको छ । पार्टींं केन्द्रीय नेतृत्व (पार्टी सभापति देखि केन्द्रीय सदस्य) मा पनि ६० वर्षसम्म कै वर्चस्व भएतापनि १४ औँ महाधिवेशनको क्रियाशीलता वितरणको विवरण अनुसारको केन्द्रीय डेटा सिस्टममा इन्ट्री भएको ९ लाख बढी क्रियाशील सदस्यता मध्ये १८ वर्ष देखि ४० वर्ष उमेर समुहका ३३ प्रतिशत युवाको उपस्थितिलाई मध्यनजर गरी हेर्दा निकै उत्साहजनक रहेको छ । सम्मानजनक रुपमा नेतृत्वको दावी गरीरहेका क्षमतावान् युवापुस्ता अघि बढिरहेको हेर्दा पक्कै पनि पार्टीमा नयाँ युगको सुरुवात हुने संकेत प्रदान गरेको छ । कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा देखिएको युवा आकर्षण र परिवर्तनको सुरुवातले अन्य पार्टीलाई पनि समयानुकुल परिवर्तित मार्गमा रुपान्तरित हुन प्रतिष्पर्धात्मक चुनौती प्रस्तुत गर्न सक्दछ ।

    लोकतान्त्रिक शासन पद्धतीमा पार्टी बलियो भयो भने मात्र सदन र सरकार बलियो हुन्छ । पार्टीलाई गुटबन्दी रहित र स्वच्छ प्रतिष्पर्धात्मक बनाउनका लागि पनि नेपाली कांग्रेसको १४ औँ महाधिवेशन कोशेढुङ्गा सावित हुनेमा आम कार्यकर्ता विश्वस्त रहेका छन् । कांग्रेस भित्रको गुटबन्दी र अन्तरविरोध कायम रहे रुपान्तरित मार्गमा रहेको कांग्रेस सहि गन्तव्यमा पुग्न असम्भव रहन्छ । तसर्थ, सम्पूर्ण नेपाली राजनीतिक दललाई लोकतान्त्रिक पद्धतीमा ल्याउन र सही राजनीतिक संस्कारको विकास गर्नका निम्ति पनि १४ औँ महाधिवेशनले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ ।
    समावेशी कांग्रेस
    सदैव नेपाली कांग्रेसलाई परम्परागत र यथास्थितिवादी पार्टीका रुपमा चित्रण गर्ने प्रयास गर्दै आएका छन् । यसको ठिक विपरित क्रियाशील सदस्यतामा उल्लेख्य रुपमा उपस्थित भएको खस आर्य, दलित, मुस्लिम, महिला आदि समुदायको उपस्थितिलाई हेर्दा कांग्रेस थप समावेशी हुदै गएको पाईन्छ । त्यसैगरी कांग्रेसको नियमावली अनुसार क्षेत्रीय प्रतिनिधि चयन प्रक्रियामा समेत महिला, दलित, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिहरुलाई अनिवार्य समावेश गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ । जसले गर्दा कांग्रेसलाई थप समावेशी मार्गमा लगेर लोकतान्त्रिक पार्टीको परिचय प्रदान गर्न थप मद्धत पुगेको छ । लोकतान्त्रिक पार्र्टीलाई समावेशी बनाउँदै यथास्थितिबाट रुपान्तरण गर्ने अभिभारा युवापुस्ताको काँधमा रहन्छ तसर्थ पनि कांग्रेस प्रतिको युवा आकर्षणले गर्दापनि दीर्घकालिन रुपमा कांग्रेसलाई थप मजबुट बनाउन टेवा पुग्दछ ।
    युवापुस्ताको आकर्षण
    भर्खरै सम्पन्न पालिका स्तरिय निर्वाचनबाट वडा तह र क्षेत्रीय प्रतिनिधिमा युवापुस्ताको उल्लेख्य सहभागिता भएको देखिन्छ । हिमाली जिल्लामा सम्पन्न जिल्ला अधिवेशन सम्मको प्रारम्भिक नतिजा नियाल्दा समेत प्रदेश र संघिय तहमा पनि बढी भन्दा बढी युवापुस्ताको सहभागिता देखिएको छ । कांग्रेसको १४ औँ महाधिवेशनबाट क्रियाशिल सदस्यताको संख्या ९ लाख हाराहारीमा पुगेको छ । जसमा १६ देखि ४० वर्ष उमेर समुहका ४० प्रतिशत भन्दा बढि क्षेत्रीय प्रतिनिधि र वडाहरुमा निर्वाचित भएका छन् । अहिलेका युवापुस्ताले ९ लाख क्रियाशिलहरुको भावना अनुसारको पार्टी हाक्न सक्षम नेतृत्वको आकांक्षामा रहेका छन् । नवपुस्ताको आकर्षण र सहभागितालाई पार्र्टी नेतृत्वले सही दिशानिर्देश गर्न सक्षम हुनुपर्दछ त्यसको लागि सहि प्रशिक्षण र संस्कारयुक्त राजनीतिक वातावरण सिर्जना गर्न पार्टीले भिजनरी कार्यनिति ल्याउनु अपरिहार्य रहेको छ । यद्दपी, युवापुस्ता समेत गुटगत राजनीति र पार्टीको अस्वभाविक सिन्डिकेट तोड्न तयार रहनु पर्दछ । विद्यार्थी एव विभिन्न भातृ संघ संस्थाबाट राजनीतिक यात्राको सुरुवात गरेका सयौँ युवा आज वडा, पालिका र जिल्ला तह सम्म आफ्नो पहँुच पुयाउन सफल रहेका छन् यसले गर्दा आगामी महाधिवेशनमा युवाको हस्तक्षेपकारी भूमिका रहन्छ भन्ने स्पष्ट रहेको देखिन्छ ।
    आगामी कार्यदिशा
    राधेश्याम जोन्छेँ जस्ता शहिदहरुको बलिदान र लाखौँ उर्जावान क्रियाशील साथीहरुको योगदानले आज नेपाली कांग्रेस यहाँ सम्म आइपुगेको छ । आज यीनै शहिदहरुको त्यागले नै गणतन्त्रको जन्म भएको छ र आज गणतन्त्रलाई संस्थागत गराउनका लागि पनि नेपाली कांग्रेसको भूमिका अग्रणी रहेको छ । आज गणतन्त्रलाई संस्थागत ढंगमा लानका लागि पनि १४ औ महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यक रहेको छ । संघियता पछिको स्थानीय शासकिय स्वरुप अन्तर्गतको स्थानीय तह, प्रदेश तह र संघिय तहको अधिवेशन सम्पन्न हुँदैछ, यसले पनि संघियतालाई मजबुद बनाउन टेवा पु¥याउँदछ । गणतन्त्रको हिमायती पार्टी भएकाले पनि यसको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्दछ ।
    यथास्थितिवादी, पुरातनवादीको रुपमा नेपाली कांग्रेसलाई अर्थाउने प्रयास गरिन्छ तर अबको महाधिवेशनको प्रारम्भिक चरणले ती भ्रमलाई चिर्न मद्दत पु¥याएको छ । आगामी दिनमा जसरी युवापुस्ता नेपाली कांग्रेस प्रति आर्कषित भएका छन् यीनलाई पार्टीले सही ढंगले प्रचालित गर्नुपर्ने अभिभारा रहेको छ । यसको लागी पार्टीले सही रुपले प्रशिक्षित, परिचालन र संगठित भएर अगाडि बढाउनु पर्ने आवश्यक छ ।
    जनमतले पाँच वर्षका लागि स्थायी सरकार बनाउनका लागि दिएको म्यानडेट आज कम्युनिष्ट पार्टीले तिन वर्ष नपुग्दै जनताको सपना माथि तुषारापात गरेको छ र त्यो अधुरो सपना पुरा गर्ने जिम्मेवारी पनि नेपाली कांग्रेसको काँधमा रहेको छ । त्यसैले आज एकातर्फ तोकिएको समयमा नेपाली कांगे्रसले आफ्नो महाधिवेशन सम्पन्न गरी कांग्रेसको रुपान्तरणीय पक्षलाई संस्थागत गर्नुपर्ने जिम्मेवारी रहेको छ भने अर्कातर्फ कम्युनिष्ट सरकारले जनतामाथि थोपारेको नैराश्यतालाई विकास र स्थायित्व प्र्रदान गरी ती नैराश्यतालाई आशातित मार्गमा लैजानु महत्वपुर्ण कर्तव्य रहेको छ । यसर्थ नेपाली कांग्रेसको भूमिका आगामी दिनमा अझ सशक्त र सबल हुदँै जानु आवश्यक छ, जसले संघियता, लोकतन्त्र र सबैखाले परिवर्तनहरुको नेतृत्व गर्न सफल हुनेछ ।
    (लेखिका बागमति प्रदेशका प्रदेशसभा सदस्य एवम् शहिद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठान भक्तपुरका अध्यक्ष हुनुहुन्छ ।ं

  • पुस्तक समीक्षा – सामान्य कथाको असामान्य प्रस्तुतिः उपन्यास ‘स्यानी’

    –नारायणप्रसाद सुवेदी

          मातृ ममताको सेरोफेरोमा रहेर, आफूँसमेत कथाको प्रमुख पात्र बनेर लेखिएको औपन्यासिक आख्यान हो ‘स्यानी’ । यो संसारमा यदि कसैले निस्वार्थ रूपमा कसैको सेवा गर्ने गरेको छ र माया दिने गरेको छ भने त्यो पात्र नै आमा हो । आमाले सन्तानहरूलाई दिने माया र त्यसैका कारण उठाएको दुःख कष्ट, भोगेको मान अपमान तथा कतिपय जोखिमहरू सबै अमूल्य छन् । त्यसको बदलामा आमालाई केही दिएर चुकाउँछु भनेर यदि कुनै सन्तानले भन्छ भने त्यो जति महामूर्ख सायदै यस संसारमा भेटिएला । गर्भावस्थामा राख्दा होस् या प्रशव पीडामा छटपटाइ रहँदा होस् ‘सबै पीडा र व्यथाहरू सन्तानकै खाँतिर गरेंँ र मैले जे गरेँ गर्नुपर्ने भएर गरेँ, भोग्नुपर्ने भएर भोगेँ, यो मेरो कर्तव्यको अभिन्न अंश हो’ भनेर खुसी मनले स्वीकार आमाबाहेक यो दनियाँमा अरू कसले गर्न सक्ला ?

          अहिलेको संसार व्यापारीहरूको संसार हो । सबैले यहाँ नाफा र घाटाको हिसाब किताब गरेर मानिसहरू बसिरहेका छन् । जुनसुकै बेला पनि मानिसहरूसँग तराजु साथमा रहेको हुन्छ । जुन बेला तराजु आफूँतर्फ ढल्किन्छ अनि बल्ल त्यो काम गर्ने जाँगर निकाल्छन् । यस्तो लेनदेनको दुनियाँमा आमा भन्ने एक पात्र र शब्दसमेत अमूल्य र व्यापक छ । यही मूल मर्मलाई आत्मसात गरेर नै लेखक खगराज बरालले यस उपन्यासमा आमासँगका अनुभूतिलाई अविरल बगाएका छन्, यही बगाइमा नै सकिएको छ ‘स्यानी’ ।

          आमाको मृत्युपश्चात गरिने संस्कारको दौरानमा नै रहँदा पहिलो दिन देखि तेह्रौं दिन सम्मलाई प्रतिनिधित्व गर्ने गरी १३ अध्यायहरू बनाइएका छन् । तेह्र दिने किरिया कर्मका बेला मनमस्तिष्कमा सिर्जना भएका विचार र ओतप्रोत भएका भावनाहरू यसमा मुखरित भएका छन् । यो ‘स्यानी’ उपन्यासको विजारोपण त्यही बेला नै भएको रहेछ । त्यही विजलाई भु्रणको आकार पाएपश्चात उपन्यासको रूपमा धर्तीमा जन्मिन पनि लामो समय नै लागेछ भन्नु पर्छ । बाल्यकालका प्रतिबिम्बहरू एक एक गरी उछालिएर आएका छन् । त्यस बेलाका बाल मनोभावनाका सामान्यभन्दा सामान्य कुराले मनमस्तिष्कमा हुने मथिङ्गल जस्ताको त्यस्तै उपन्यासमा उतारिएको छ । भाषा समेत आफ्नो जन्मस्थानको सेरोफेरोको नै प्रयोग भएको छ, चाहे आफ्नो परिवारको होस् चाहे यस उपन्यासको कथाले मागेअनुसारका पात्रहरूको होस् । त्यसैले पनि यस क्षेत्रका मानिसका लागि यो आफँैले बोलेको र आफ्नै बाल्यकालमा घटेका घटनाहरूसँग दाँजेर हेरिने र बाल्यकालको सम्झना आउने खालका घटनाहरू भएकाले म अहिले पनि त्यही अवस्थामा छु जस्तो लागिरहन्छ । म यो ‘स्यानी’ उपन्यास पढेर मनोरञ्जन पनि गरेँ र भावनामा पनि धेरै बगेँ, लेखकले भने जस्तै गरी झल्याँस्स बिउँझिएँ ।

          उपन्यास पढ्दै जाँदा लेखकले गरुड पुराणका विभिन्न प्रसङ्ग उल्लेख गरेका छन् । पुराणहरू यत्तिकै लेखिएका पक्कै पनि होइनन् । पुराण लेखिँदाको समयमा यससम्बन्धमा प्रशस्त बहस भएको हुनुपर्छ । पुराणहरू पौराणिक र आर्षकालका उपज हुन् । त्यस समयको विषयवस्तु वर्तमान समाजमा हुबहु उपयोग हुन पक्कै सक्दैन तर पुराणमा उल्लेख भएका समाजका हितका विषयलाई भने उपयोग गर्न सकिन्छ भन्ने मान्यता उपन्यासमा पाइन्छ । पुराणका कथा र दृष्टान्तका माध्यमबाट समाजमा केही अनुशासन कायम गर्न सकिन्छ । यसलाई आवश्यकता, स्थान र समयअनुसार प्रोत्साहन गर्न आवश्यक छ । धार्मिक संस्कारमा बैज्ञानिक कारणहरू छन् । बिना अनुसन्धान र बिना निष्कर्ष पुराणमा वर्णित कथा र दृष्टान्तलाई अन्धविश्वासको लेप लगाएर यस्ता व्यावहारहरूलाई छोड्दै आएका छौं । सदाचार र अनुशासनमा बस्ने हो भने समाजमा व्यभिचार, भ्रष्टाचार र कुशासन हुँदैनथ्यो भन्ने सन्देश मिल्दछ । सद्मार्गमा नहिँड्दा हाम्रो समुदायलाई नै घाटा भएको छ भन्ने सन्देश गरुड पुराणका अंश अंश उल्लेख गरेर त्यसको सन्देश दिन लेखक सफल रहेको देखिन्छ । आख्यानकै बीचमा एक पात्र नौली आमै देखिन्छिन् । वास्तवमा नौली आमै निकै आँटिली र जाँगरिली रहिछन् । सर्प घरमा पस्दा पनि नडराइकन बाहिर निकाल्ने प्रयास गर्छिन् । त्यहाँ एउटा गालीको वाक्य पनि छ ‘तेरो निराजो पर्ना’ । त्यहाँको समुदायमा प्रचलित यो शब्द नौलो लाग्यो तर कथाअनुसार रिस उठ्दा कसैलाई गाली गरेको भन्ने आशय बुझ्न कठिन भएन ।

          लेखकले उपन्यासको हरेक अङ्कमा सुरुतर्फ संस्मरणका कुराहरूमा खेलेका छन् । त्यसलाई आफ्नो भावनामा लगेर अन्तिममा आमासँगै जोडेका छन् । आफ्ना लागि आमाले गरेका सबै योगदान र दिएको माया ममतालाई एकातिर राखेर त्यति गरेकी आमालाई मैले केही पनि दिन सकिनँ भन्ने अनुभूति व्यक्त गरेर हरेक अङ्क टुङ्गिएको छ । पाँचौं अङ्कको अन्त्यमा ‘मलाई बचाउन दौडिएर भिरस्वाँरा पुग्ने आमालाई मैले भने केही गर्न सकिनँ’ भनेर म पात्रले आँखाबाट आँसु झरिरहेको अभिव्यक्ति एउटा उदाहरण हो ।

          यसरी सरसर्ति हेर्दा ‘स्यानी’ उपन्यास जननीप्रति एक सन्तानको अगाध आस्था र विश्वासका साथ गरिएको मायाको समर्पण हो । कतिपय अधुरा सपनाको प्रतिबिम्ब पनि हो भने अन्तर्आत्मादेखि प्रष्फुटन भएको ममताको अभिव्यक्ति पनि हो । यसमा काल्पनिक कुराहरु गुँथिएको पाइन्न । लेखकले कतिपय पात्र काल्पनिक हुन् भने पनि जे जति घटनाक्रमहरू छन् ती सबै यथार्थ नै छन् । यस्ता घटना उपन्यासका म पात्रले भोगेका होलान् कि समुदायका अन्य व्यक्तिले भोगेका होलान् ।

          स्वभाविक अभिव्यक्तिका रूपमा गाँसिएका शब्दहरू सरल वाक्यमा सहज अडिएका छन् । वाक्य गठन सरल छ । स्थानीय जनजिब्रोको प्रयोग भएको छ । जो कसैले पनि यो पढिरहँदा फेरि के भएको होला भन्ने कौतुहलता रहिरहने गरी सबै अङ्क नसकिउन्जेल विश्राम लिन मन मान्दैन । उपन्यासका हरेक विषयवस्तुले केही न केही सन्देश पनि दिएको छन् । कम्तीमा पनि हाम्रा साँस्कृतिक धरोहरहरूलाई पछ्याइ रहँदा धेरै फाइदाहरू समाजले पाएको रहेछ । यसलाई जानी नजानिकनै पनि व्यवहार गर्दा बेफाइदा पनि त केही थिएन । समुदायमा अनुशासन थियो, मर्यादा थियो, मूल्य पनि थियो तर त्यही संस्कार र संस्कतिलाई अन्धविश्वास र कथित अविकसित समाजको उपज ठानेर धुलिसात पार्दा अहिले समाजमा मानवीयताको समेत खडेरी परेको छ । नैतिकता र सच्चरित्रता कुन चराको नाउँ हो जस्तो भएको छ । त्यसैले संस्कार र संस्कृतिलाई निरन्तरता दिऔं र पुस्तान्तरण गरौं भन्ने खालको सन्देश लेखकले यस उपन्यासमार्फत दिएको पाइन्छ ।

          ‘स्यानी’ उपन्यासको महत्त्वपूर्ण पक्ष यसको वास्तविक कथा हो । यो कुनै एकादेशबाट सुरु भएको कथा होइन । यो कुनै समुदायको उदाहरणी पात्रका बारेका लेखिएको पनि होइन । उपन्यासका पात्र सामान्य छन् । घटना सामान्य छन् । लेखक आफैँ पात्र पनि बनेका छन् । यो उपन्यास बीचबाट सुरु भएको छ र बीचबाटै टुङ्गिएको छ । यो उपन्यासको कथा काल्पनिक पनि छैन । काल्पनिक र तिलस्मी कथाका आधारमा लेखिने उपन्यासभन्दा यो भिन्न हुनु नै यसको विशेषता हो । कुनै बैशालु युवतीको कथा होइन ‘स्यानी’, कुनै युवतीको रोमाञ्चित वर्णनमा घुमेको छैन स्यानी । अनावश्यक प्रकृति वर्णनमा अल्मलिएको छैन ‘स्यानी’ । स्यानी उपन्यासमा वास्तविक पात्र छन्, वास्तविक समाज छ, वास्तविक बोली लवज छ, वास्तविक रहनसहन छ, वास्तविक ठाउँ विशेष छ । समाजमा घटेका र घट्ने घटनामा आधारित छ । दैनिक जीवनमा घट्ने घटनालाई आधार बनाएर पनि उपन्यास लेखिन्छ भन्ने उत्कृष्ट नमुना हो ‘स्यानी’ । यति मात्र होइन, आँचालिकताको अति उत्कृष्ट उदाहरण बनेको पनि छ ‘स्यानी’ ।

          कुनै पनि कुरा यो संसारमा आफैँमा पूर्ण छैन । विज्ञानले स्वीकार गरेको यो सत्यता यसमा पनि लागू हुन्छ । उपन्यास पढ्दा तेस्रो कोही व्यक्तिलाई पात्रको रूपमा उभ्याउँदा केही थप थाप र आख्यानलाइ रोचक पार्न फुर्र्का गाँस्न सकिने हुँदो रहेछ । समाजका अरू पक्षलाई पनि उजागर गर्ने गरी थप सन्देश तथा मनको भावना पोख्न पाइने हुँदोरहेछ तर आफैँ पात्र बनिरहँदा त्यसमा सहज रूपमा थप भावना सिर्जना गर्न कठिनाइ हुँदोरहेछ । त्यसैले तेस्रो पात्र खडा गरेर लेखेको भए यसको रौनकता अझ बढ्ने थियो होला भन्ने मलाइ लागेको छ ।

          आमालाई स्नेह गर्ने र आमाको ममताको बारेमा गहिरिन चाहनेका लागि ‘स्यानी’ उपन्यास पठनीय छ । शोक उपन्यास भएकाले मन अलि दह्रो बनाएर पढ्नुपर्ने हुन्छ । एकपटक ‘स्यानी’ पढेर आफ्नो बाल्यकाल र आमालाई सम्झिने हो कि !

  • मनन् गरौं कोरोना नियन्त्रणमा मेरो भूमिका के ?

    निसन्देह ः निषेधाज्ञा नाम मात्रको भएको छ । चोक, टोल, पसल, बजार, सरकारी कार्यालयलगायतमा चहलपहल उस्तै गरी बढेको छ । निषेधाज्ञा खुकुलो बनेसँगै बढेको चहलपहलले स्वास्थ्य जोखिम पनि उत्तिक्कै बढेको छ । किनकि बढ्दो भीडका कारण कोभिड बढ्ने सम्भावना उत्तिक्कै रहेको स्वास्थ्यकर्मीहरु र स्वास्थ्य क्षेत्रका विज्ञहरु चिन्ता गरिरहेका छन् । सबैतिर बढेको भीडले स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डको पालनामा पनि बेवास्ता गर्न थालेका छन् । कतिपयको मुखमा मास्क देखिँदैन, अधिकांश भौतिक दूरीको ख्याल नगरी हिँडेका देखिन्छन्, गफिएका देखिन्छन् । यो दृष्य हेर्दा अवस्था सामान्य बनेको भान हुन्छ । तर, कोरोना भाइरसको दिनदिनै बढेको संक्रमणको संख्याले भने जोखिम उस्तै गरी बढेको आभाष हुन्छ । यो अवस्था हुँदा पनि ख्याल गरिएको छैन । यो कतै भयावह रुप लिने मौन समय त बनिरहेको छैन ? मनमा प्रश्न उठ्छ ।
    निषेधाज्ञाका दिनहरु सकिएका छैनन्, यो जारी गर्ने निकायको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय हरेक दश दिनमा यसको म्याद लम्ब्याउँदै छ । तर, निषेधाज्ञाको न्यूनत्तम विषयलाई समेत सर्वसाधारणदेखि समाजका बुज्रुकले समेत ख्याल गरेका छैनन् । निषेधाज्ञामा यो गर्न पाइन्छ, यो गर्न पाइँदैन भनेर जिल्ला प्रशासन कार्यालयले तीन पाने सूचना प्रकाशन गर्छ तर त्यसको कार्यान्वयन भएको, नभएको विषयमा अनुगमन गरिएको छैन । प्रशासन पनि उदास देखिएको अनुभव गर्न थालिएको छ । यसर्थ पनि निषेधाज्ञा नाममात्रको सावित भइरहेको छ । प्रशासनका निर्णयहरु कागजी खोस्टामा रुपान्तरण भइरहेका छन् । यतातर्फ सम्बन्धित तह र निकायले ख्याल गर्न सके पनि स्वास्थ्य जोखिमको बढ्दो ग्राफलाई छेक्न सकिने सम्भावना छ । तर, सम्बन्धित निकाय यसबारेमा मौनप्रायः छ ।
    लापरहबाही बढिरहेको छ । खोपजस्तो अत्यावश्यक चीज ग्रहणका लागि बढेको चासोले खोप केन्द्रहरुमा भीड बढेको छ । त्यो भीड नै कहिँ कोरोना संक्रमणको कारण पो बन्छ कि ? भन्ने चिन्ता पनि एकातिर छ । अर्कोतिर मानिसहरु (जो बढी लापरवाही गर्छन् र गर्न रुचाउँछन्) खोप केन्द्रमा भीड गर्न हुने अन्यत्र गर्न नहुने भन्ने कुतर्क गरी आफै–आफैंमा दंग भइरहेका छन् । यो मनोविज्ञानकै कारण कोरोनाले भयावह रुप लिइरहेको छ । यसको अर्थ त्यो भीडलाई व्यवस्थित नगर्ने भन्ने होइन, त्यसलाई व्यवस्थित गर्नुको विकल्प छैन । अर्को अहिले साउन महिना, विशेष रुपमा हरेक सोमबार महादेवको दर्शन गर्ने, पूजा अर्चना गर्ने चलन पनि बढेको छ । देवालय, शिवालयहरुमा महिला दर्शनार्थीहरुको भीड थेगि नसक्नुको छ । त्यसलाई व्यवस्थित गर्नका लागि प्रहरी बाहेक अरु कोहीको चासो देखिँदैन । प्रहरीको एकोहोरो सिठ्ठी फुकाइले मात्र त्यो सम्भव छैन । तर, स्थानीय भने त्यो भीड देखेर दंग छ, मक्ख छ । यस्तो बेलामा स्थानीय तह, क्षेत्र, टोल र बस्तीमा भएका सामाजिक संघसंस्था र सहकारीलगायतले स्वयम्सेवी रुपमा जनचेतना जगाउने काम, भीडलाई सुरक्षित तरिकाले व्यवस्थित गर्ने काम र स्वास्थ्य मापदण्ड अपनाउनका लागि हौसला दिने काम गरेको भए सम्भावित जोखिमलाई कम गर्न बल पुग्ने थियो, विडम्वना हामी रमिता हेर्न मात्र माहिर छौं ।
    हो, जहाँ पनि भद्रगोलको अवस्था छ । कुनै राजनीतिक दलले कुनै विषयको विरोधमा आयोजना गरिने जुलुस, ¥याली तथा विरोध सभाको दृष्य हेर्दा कोरोनाविहीन समयमा रहेको भान हुन्छ । उनीहरुको प्राथमिकता मास्क, सेनिटाइजरमा नभइ आफ्नो स्वार्थको विषयमा केन्द्रीत हुन्छ । अहिलेको मूल मुद्दा नै कोरोनाविरुद्धको लडाइँ हुनुपर्नेमा त्यसलाई प्राथमिकतामा राखेको देखिँदैन । भिडभाड गर्नु, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नु नै कोरोना संक्रमणको प्रमुख कारण ठहर भइरहेको समयमा पनि यसलाई बेवास्ता गर्नु कदापि पनि मानव हितकर विषय हैन ।
    यही बीचमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरको संकेत गर्दै अझ बढी सचेत हुन आग्रह गरेको छ । मन्त्रालयले अहिले पनि मास्क लगाउने कार्यलाई दैनिकी नबनाएको भन्दै मास्क अभियान थालनी गरेको छ । अरु केही गर्न नसके पनि कम्तिमा मास्क लगाउने कार्यलाई दैनिकी बनाउँदा मात्र पनि त्यसले जोखिम कम गर्न सघाउने भएकाले हामीले मास्क अभियानलाई सफल बनाउनु पर्छ । त्यो अभियान अरु कोहीका लागि नभएर व्यक्ति–व्यक्तिको स्वास्थ्य सुरक्षाका लागि हो । यसलाई मनन् गरी दैनिक व्यवहारमा जोड्नु अहिलेको आवश्यकता हो ।
    कोरोना संक्रमणले प्रत्येक व्यक्तिलाई असर, प्रभाव पारे पनि हामीमा लापरबाही गर्ने प्रवृत्ति नघटेको यथार्थ छिपेको छैन । यसको असर समाजका प्रत्येक क्षेत्रमा परेको छ । आर्थिक क्रियाकलापहरु थप्प भएका छन् । यसले हाम्रो नियमित दैनिकी सञ्चालन गर्न समेत अफ्ठ्यारो स्थिति सिर्जना भएको छ । यो सबैले बुझेकै विषय र सन्दर्भ भएर पनि हामी लापरवाही गर्नमै रमाइ रहेका छौं । यो स्वभाव र दैनिकी पक्कै पनि राम्रो दिनको संकेत होइन । बेलैमा हामी सचेत हुनैपर्छ । कोही, कसैको लहलहैमा नलागी आफै सचेत हुनुको विकल्प छैन । स्वास्थ्य नै मुख्य सम्पत्ति भन्ने सावित भइरहेको समयमा पनि यो किसिमको लापरबाहीलाई हामी स्वयम्ले आत्म अनुशासित भएर पालना नगरी हुन्न । समाजलाई स्वस्थ राख्नका लागि व्यक्ति पनि स्वस्थ हुन जरुरुी छ । अहिलेको समयमा नागरिक भावनालाई अझ व्यवहारमा प्रयोग गर्न बिर्सनु हुन्न । स्वास्थ्य जोखिम कम गर्नका लागि भूमिका खेल्नेलाई सरकारले पनि प्रोत्साहन गर्नु पर्छ । प्रहरीले अहिले बाटो, सडक, चोकमा उभिएर प्लेकार्ड बोकी जनतालाई प्रश्न गरिरहेका छन्, ‘तपाईंको मास्क खोई ?’ यो प्रश्न उसले सोध्नुपर्ने अवस्था आउन नदिनका लागि हामीले आफ्नो जिम्मेवारी के हो ? त्यो बिर्सनु हुन्न ।
    आइतबारमात्रै सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरी नेपाली नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने र सोही अनुसार कार्यनीति बनाउने कार्यक्रम तय गरेको छ । कार्यक्रमले आगामी चैतभित्र सबै नेपालीहरुलाइै खोपको प्रबन्ध गर्ने तय गरेको छ । यो सकारात्मक विषय हो । तर सरकारले त्यसलाई कागजमामात्र सीमित गर्नु हुन्न । त्यसलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कोरोनामुक्त र कोरोनाको खोप पाएको देशको परिचय बनाउनका लागि युद्धस्तरमा काम गर्नुपर्छ । ओलीको सरकार भए पनि यस्तै हो, अहिले पनि यस्तै हो भन्ने जनताको मनोभावना बुझेर ओलीले भन्दा फरक, जनमुखी काम गरी नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने कुरालाई सरकारले उच्च प्राथमिकतामा राख्नै पर्छ । त्यसले मात्र सरकारको साख गिर्ने छैन । नत्र, उही शैलीले जनताले राहतको अनुभव गर्ने छैनन् ।
    कोरोना कहरबाट मुक्त हुने प्रयास कुनै पनि एकल संस्था, निकायको पहलले मात्र सम्भव हुन्न । यसका लागि व्यक्तिव्यक्तिमा नयाँ जागरण आउनु पर्छ । व्यक्ति स्वयम्मा अनुशासित भए, उसले आफ्नो नागरिक कर्तव्य र जिम्मेवारीलाई व्यवहारमा उतारेको खण्डमा कोरोनाविरुद्धको सामूहिक लडाइँ जित्न सकिन्छ । एक व्यक्तिकै कारण पनि पूरा समाजलाई असर पुग्न सक्छ भन्ने कुरा व्यक्तिले मनन् गर्नु अहिलेको आवश्यकता हो । यसैले भिडमा जानेहरु, मन्दिरमा गएर भिडभाड गर्नेहरु, मास्क लगाउन आनाकानी गर्नेहरु, स्वास्थ्य सुरक्षालाई बेवास्ता गर्नेहरुले यसलाई बढी मनन् गर्नुपर्छ ।

  • प्रधानमन्त्री ओलीलाई सर्वोच्चको एक पछि अर्को धक्का

    प्रधानमन्त्री ओलीलाई सर्वोच्चको एक पछि अर्को धक्का

    जगत प्रजापति
    भक्तपुर, जेठ २८
    प्रधानमन्त्री के पी शर्मा ओलीलाई पछिल्लो केही समय यता विपक्षी दलहरुले मात्र होईन दशकौं सहयात्रा गरेका आफ्नै दलका नेताहरुले पनि अधिनायकवादी बाटोमा हिँडेको, स्वेच्छाचारी बनेको तथा अलोकतान्त्रिक, गैरसंवैधानिक र अवैधानिक कदमतर्फ अग्रसर भएको आरोप लगाउने गरेका छन । प्रधानमन्त्री ओलीका पछिल्ला केही कदम सर्वोच्च अदालतले धमाधम बदर गर्नथाले पछि भने ओली साँच्चै स्वेच्छाचारी कदमतर्फ अघि बढेको पुष्टि भएको छ ।
    सर्वोच्च अदालतले बिहिवार मात्रै ओलीका दुई कदम बदर गरि दिए । नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सर्वोच्चले बिहिवार प्रधानमन्त्री ओलीलाई अर्को धक्का दिए । सर्वोच्चले हिजो नै कर्णाली प्रदेशका प्रदेश सभा सदस्य प्रकाश ज्वालासहित चार जनालाई गरेको अनुशासनको कारवाही बदर गरिदिएको थियोे ।
    बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की र अधिवक्ता विष्णु निष्चललगायतले दिएको रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले भनेको छ– ‘सुविधा सन्तुलनको दृष्टीले हेर्दा अहिले नै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य देखिन आएन तसर्थ नेपाल सरकार मन्त्रिपरिषदको सिफारिस बमोजिम जेठ ९ मा सम्माननीय राट्रपतिबाट जारी गरिएको नेपाल नागरिकता अध्यादेश प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्नु नगराउन यथास्थितिमा राख्नु’ भनि अन्तरिम आदेश जारी गरिएको छ ।
    प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद विघटन गरेको भोलीपल्ट सो अध्यादेश जारी गरेका थिए । मधेशवादी दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई सरकारमा ल्याउन ओलीले सो अध्यादेश ल्याएका थिए । ‘अघिल्लो दिन संसदको प्रतिनिधिसभा विघटन भएको र लगत्तै भोलीपल्ट अध्यादेश जारी गरिएको देखिँदा यसप्रकारको अभ्यासलाई सहज, सामान्य वा नियमित अभ्यासको रूपमा लिइयो भने संविधान प्रदत्त विधायिकाको अधिकार वा कार्यक्षेत्रमा हस्तक्षेप हुन पुग्ने र शक्तिपृथकीकरणको सिद्धान्त अनुकुल व्यवस्थित संविधानका प्रावधानहरूको प्रयोग वा कार्यान्वयनमा अनुचित असर पर्न जानेसमेत देखिन्छ,’ संवैधानिक इजलासले भनेको छ ।
    नागरिकता सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा वर्षौदेखी अलपत्र रहेको छ । संसदिय समितिमा छलफलका क्रममा सहमति कायम हुन नसकेपछि सो विधेयक थन्किएको हो । विधेयकका केही प्रावधानमा प्रधानमन्त्री स्वयम् र उनको दलको कडा प्रतिवाद रहेकाले पनि विधेयकमा सहमति हुन नसकेको हो ।
    विषेशगरी नेपालको तराई मधेशमा नागरिकता सम्बन्धी जटिल समस्या रहेको छ । त्यहाँ लाखौं नागरिक नागरिकता विहिन रहेको मधेशवादी दलहरुको दावी छ । प्रधानमन्त्री ओलीले तराई मधेशमा सहजरुपमा नागरिकता प्राप्त गर्ने प्रावधानको कडा विरोधीको रुपमा प्रस्तुत हुँदै आएका थिए, तर सत्ता जोगाउन र मधेशवादी दललाई खुसी बनाउन उनले एकाएक नागरिकता सम्बन्धी अध्यादेश जारी गरे । जसले धेरैलाई आश्चर्यमा समेत पारेका थिए ।
    त्यस्तै सर्वोच्च अदालतले कर्णाली प्रदेशका सांसद प्रकाश ज्वालासहित चार जनालाई पार्टीको सदस्य र सांसद नरहने गरी गरिएको कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वासको मतको पक्षमा मतदान गरेको भन्दै ओलीले ज्वालासहित चार जनालाई कारवाही गरेको थियो ।
    सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई वैधानिकता दिन अस्वीकार गर्दै ओलीको निर्णय बदर गरेको हो । सर्वोच्चले नेकपालाई विघटन गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुनःस्थापना गरेपछि फागुन २८ गते बसेको नेकपा एमाले स्थायी कमिटि बैठकले महाधिवेशन आयोजक समिति बनाएका थिए । त्यही समितिले बैशाख १० गते ज्वालासहित नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
    राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय कमिटीबाट मात्र निस्कासन गर्न सक्ने व्यवस्था उल्लेख गर्दै सर्वोच्चले ‘प्राकृतिक न्यायको सिद्धान्त र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२(२)(३) को भावनाको प्रतिकुल देखिएको’ भन्दै कारबाहीको निर्णय कार्यान्वयन गर्न रोक लगाइएको हो ।
    त्यस्तै यसअघि बैशाख ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले मन्त्रिपरिषद बिस्तार गरी रामबहादुर थापा ‘बादल’ लगायत माओवादी छाडेर एमालेको ओलीपक्षमा लागेका नेताहरुलाई मन्त्री बनाएका थिए । सो विरुद्ध परेको रिटमा पनि सर्वोच्चले जेठ ६ गते प्रधानमन्त्री ओलीको निर्णय बदर गरिदिएका थिए । सर्वोच्चको निर्णयले थापालगायतका मन्त्रीहरु पदमुक्त भएका थिए ।
    प्रधानमन्त्रीले जसपाका १० नेतालाई समावेश गरी मन्त्रिपरिषद बिस्तार गरेको कदमका विरुद्धपनि सर्वोच्चमा रिट परेको छ । सो रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । त्यस्तै संसद विघटन विरुद्धको रिटमा पनि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले राष्ट्रपति कार्यालयलाई समेत ७ दिनभित्र फाइल बुझाउन आदेश दिएको छ ।
    सर्वोच्चका पछिल्ला निर्णय र आदेशले ओलीलाई अप्ठयारोमा पारेको विष्लेशकहरुको भनाई छ । तर ओलीका समर्थकहरु उनका कदमलाई अग्रगामी र वैधानिक ठान्छन । उनीहरु यस्तो प्रतिक्रिया दिन्छन की मानौं ओली मात्र सही हो, ओलीका विरोध गर्ने सबै प्रतिगमनकारी हुन, राष्ट्र विरोधी हुन । आफ्ना विरोधीलाई तह लगाउन अनेक तिकडम अपनाउन सिपालु ओली आफैंपनि विरोधीलाई तिखो वचन लगाउँछन । उनीहरुको यस्तै यस्तै हर्कतले ओलीलाई दिनप्रतिदिन अलोकप्रिय बनाउँदैं लगेको छ । ओलीका केही कदमले उत्पन्न नेपालको राजनीतिक गतिरोधले मुलुक अस्थिरतातर्फ धकेलिएको छ तर ओली र उनका समर्थकहरुले यसको हेक्का राख्न सकेको छैन ।

  • झुठको पुलिन्दा धेरै बेर टिकेन

    झुठको पुलिन्दा धेरै बेर टिकेन

    भक्तपुर, जेठ २१, जगत प्रजापति

    राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टिका प्रसाद ढकालले बिहिवार राती ९ बजेर ३५ मिनेटमा एउटा सनसनीपूर्ण ट्वीट गरे । उनले ट्वीटमा राष्ट्रपतिको अग्रसरतामा अमेरिकाले नेपाललाई ५० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको खुलासा गरे ।
    ‘सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशिलताले कोभिड–१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ । हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ,’ ढकालले ट्वीटमा उल्लेख गरेका थिए ।
    जेठको पहिलो साता विकसित भएको राजनीतिक घटनाक्रम र ती घटनामा प्रधानमन्त्री के पी शर्मा ओलीको रबरस्ट्यामको रुपमा काम गरेको भन्दै आलोचित बनेका राष्ट्रपति भण्डारीले त्यसयता कोरोना विरुद्धको खोप र स्वास्थ्य सामग्री अनुदानमा ल्याउन पहलकदमी र अग्रसरता देखाएका छन । उनले टेलिफोनमा प्रत्यक्ष सम्वाद गरेपछि चिनिया राष्ट्रपतिले तत्काल १० लाख खोप दिने घोषणा गरे । सो घोषणा अनुसारको खोप नेपाल आइसकेको छ । राष्ट्रपतिकै आग्रहमा थाई राजपरिवारले स्वास्थ्य सामग्री सहयोग गरेको छ । उनले भारतका समकक्षीलाई पनि पत्र पठाई खोप सहयोग गर्न आग्रह गरेका छन ।
    यसै सन्दर्भमा राष्ट्रपति भण्डारीले अमेरिकाका लागि नेपालका राजदुत डा. युवराज खतिवडामार्फत अमेरिकी राष्ट्रपति जे वाइडेन समक्ष खोप सहयोगको आग्रह गरेका थिए । ढकालको ट्वीटले आम मानिसमा चासो बढ्नु स्वभाविक हो ।
    ढकालको ट्वीटपछि यो खबर राती नै कयौं अनलाईन सञ्चारमाध्यमहरुले ब्रेकिङ न्यूजको रुपमा प्रकाशन गरे । राती नै यो खबरले सनसनी मच्चायो । नमचाउनु पनि किन ? नेपाल अहिले कोरोना भाइरसको महामारीको चपेटामा परेको छ । मानिसमा त्राहीत्राही छ । जनता निषेधाज्ञाले घरभित्र थुनिनु परेको अवस्था छ । खोप लगाउन बाँकी जनता खोप कहिले आउला भनेर सरकारको मुख ताकेर बसेका छन । सरकारले समयमा खोपको व्यवस्थापन गर्न चासो नदिएको, कोरोना विरुद्धको लडाईंका लागि आवश्यक तयारी समयमा नगर्नाले जनता अक्सिजन र औषधिउपचार गर्न नपाएरै प्राण त्याग्न बाध्य भएको आरोप विपक्षीहरुले लगाउँदै आएका छन । सरकारलाई यो चुनौतीको रुपमा खडा भएको अवस्थामा एकाएक विश्व शक्ति राष्ट्र अमेरिकाले ५० लाख डोज खोप दिने खबर राष्ट्रपतिको सञ्चार विज्ञजस्तो गरिमामय पदमा आसिन ढकालबाट सार्वजनिक भएपछि नपत्याउनु पनि कसरी ?
    लगत्तै प्रधानमन्त्री के पी शर्मा ओलीका अन्धभक्त समर्थकहरुले पनि यसलाई भाइरल नै हुने गरी सामाजिक सञ्जालमा शेयर गरे । राष्ट्रपतिलाई गाली गर्नेहरुलाई गतिलो जवाफ फर्काए ।
    बिहिवार राती नै अर्को समाचार प्रकाशनमा आयो, जुन समाचारले ढकालको ट्वीटको खण्डन ग¥यो । समाचार अनुसार अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको थियो । जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकलाई उपलब्ध गराउने घोषणा गरिएको थियो ।
    कोभ्याक्समार्फत वितरण हुने खोपमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जाने र बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जाने घोषणा गरिएको थियो ।
    एशियाका लागि छुट्याइएको ७० लाख डोज खोप नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुन्यूगिनी, ताइवान र एशिया प्यासिफिक आइल्याण्डलाई दिने घोषणा अमेरिकी राष्ट्रपति कार्यालयको छ ।
    अमेरिकाले जुन महिनाको अन्तिमसम्ममा ८ करोड डोज कोरोना खोप विश्वभर सहयोग गर्दैछ, यसमध्ये पहिलो चरणमा दिइने साढे २ करोडको खोप वितरणको योजना अमेरिकी राष्ट्रपति जे वाइडेनले सार्वजनिक गरेका हुन् । कोभ्याक्स कार्यक्रममार्फत नेपालले २० प्रतिशत जनसंख्यालाई खोप पाउने अपेक्षा छ । हालसम्म २ लाख ८४ हजारभन्दा बढी डोज खोप आइसकेको छ ।

    बिहिवार राती नै खण्डित भईसकेको समाचारलाई पुष्टि गर्न शुक्रवार बिहान प्रधानमन्त्री के पी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि एक तिहाई खोपको व्यवस्थापन भन्दै खोप सम्बन्धी एक ट्वीट गरे । उनले पनि अमेरिकाले नेपाललाई ५० लाख खोप दिने जानकारी दिए । उनले लेखेका छन, ‘एक तिहाई खोपको व्यवस्थापन– अमेरिकाबाट अनुदान ५० लाख, चीनबाट अनुदान १८ लाख, भारतबाट अनुदान १० लाख, सुरक्षकर्मीलाई प्राप्त १ लाख, भारतबाट खरिद १० लाख, खरिदको आउनबाँकी १० लाख, कोभ्याक्स अनुदान ३ लाख ४८ हजार–जम्मा १ करोड २ लाख ४८ हजार, कुल चाहिने ४ करोड डोज । बधाई छ सरकार ।’
    ढकालले आफ्नो ट्वीट राती हटाए । किनकी उनको ट्वीटमा कुनै सत्यता थिएन । उनले सरासर झुठ बोलेर जनतालाई झुक्याउने प्रयास गरेका थिए । तर त्यो झुठको पुलिन्दा धेरै बेर टिक्न सकेन । उनले राती नै उक्त ट्वीट डिलिट गरेर अर्को ट्वीट गरे । उनले नयाँ ट्वीटमा लेखेका छन, ‘मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु! यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो ।’
    ढकालको ट्वीट झुठो भएको प्रमाणित भइसकेपछि पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारले पुनः अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिन लागेको ट्वीटर मार्फत सार्वजनिक गर्नु अर्को लज्जाको विषय हो । उनले पनि पहिलेको ट्वीटलाई हटाएर अर्को ट्वीट गरिसकेका छन । त्यसमा उनले भनेका छन, ‘तथ्यांक लेख्न उचित लागेन । हामीलाई ४ करोड डोज खोप चाहिन्छ, त्यसका निम्ति राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेका छन । आफु र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरुले राष्ट्रपतिको विरोध गर्ने पाखण्डीपन त प्रकट भएकै छ ।’
    देशको गरिमामय पदमा आसिन व्यक्तिको सचिवालयमा बसेका जिम्मेवार व्यक्तिहरुले गर्ने यस्ता गल्तीलाई के भन्ने ? के यो जानी जानी जनता झुक्याउन गरेको ट्वीट थियो ? यसको जवाफ ढकाल र थापा दुवैले दिनैपर्छ । यस्ता ट्वीटले थापा र ढकालको व्यक्तिगत प्रतिष्ठामा आँच ल्याएको त छ नै, यसले प्रधानमन्त्री र राष्ट्रपतिको गरिमामा समेत ठेस पु¥याएको छ ।

  • ‘संख्या प्राथमिक होइन, नेपाललाई खर्चालु पर्यटक चाहिन्छ’

    १३ पुस, काठमाडौं । हामी नेपाल, भ्रमण वर्ष २०२० को संघारमा छौं । २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष सुरु गर्दा दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ) थिए । भ्रमण वर्षको औपचारिक उदघाटनको केही दिन पहिले चार वर्षे कार्यकाल पूरा गरेर विदा भए ।

    समग्रमा नेपाल भ्रमण वर्षको तयारी कस्तो छ, कहाँ चुक्यौं, कहाँ राम्रो भयो ? साच्चै २० लाख पर्यटक भित्र्याउन सम्भव छ ? हामीलाई पर्यटकको संख्या मात्र चाहिएको हो कि खर्चालु पर्यटक पनि ? यस्तै सवालमा पर्यटन बोर्डका निवर्तमान सीईओ जोशीसँग अनलाइनखबरकर्मी अच्युत पुरीले कुराकानी गरेका छन् ।

    नेपाल भ्रमण वर्ष २०२० को तयारीमा शुरुदेखि नै लाग्नु भयो । कसरी आएको हो भ्रमण वर्ष मनाउने सोच ?

    भ्रमण वर्षको तयारीको सिलसिला खोज्दै जाँदा सन् २०१५ मा पुग्नु पर्छ । त्यसबेला भूकम्पका कारण नेपाल संकटमा थियो । यो संकटबाट हामी केही हदसम्म सम्हालिएपछि सन् २०१८ मा भ्रमण वर्ष मनाउने गरी मन्त्रिपरिषदबाट कार्यविधि पास भयो र सोहीअनुसार घोषणा भएको हो । भूकम्प, सीमा नाकामा भएको अवरोध, राजनीतिक अस्थिरताका बीचमा सन् २०१८ त्यति उपयुक्त हुँदैन कि भन्ने निष्कर्षमा हामी पुग्यौं । सन् २०१७ मा बजेट भाषणबाटै सन् २०२० लाख वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्ष मनाउने घोषणा भयो । त्यसपछि यसले गति लिएको हो ।

    भ्रमण वर्षका लागि करिब पाँच वर्षको तयारीको समय थियो, अन्तिम समयसम्म पनि चटारो उस्तै छ, तयारीमा कमजोरी देखिएको हो ?

    विविध कारणले भ्रमण वर्षका लागि कार्यक्रम संयोजक नियुक्तिमा अलिकति समय लाग्यो । पछिल्लो सवा एक वर्षयता मात्र भ्रमण वर्षले कार्यक्रम संयोजक पाएको हो । त्यतिबेला यो कार्यक्रमलाई तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले निकै महत्व दिएर अगाडि बढाउनु भएको थियो । उहाँको कार्यकालमै पहिलो मूल आयोजक समितिको बैठक बस्यो । पर्यटन बोर्ड सदस्य सचिवको भूमिकामा रहेको छ । सोही बैठकले भ्रमण वर्षको नारा र लोगो तयार पार्न प्रस्ताव आह्वान भयो । ‘लाइफ टाइम एक्स्पेरियन्स’ नारा तय गरी लोगो पनि छान्यौं । अहिले भने तीव्रताका साथ कार्यक्रम अगाडि बढेका छन्  ।

    भ्रमण वर्षको उद्देश्य र औचित्यलाई तपाईं कसरी पुष्टि गर्नुहुन्छ ?

    भ्रमण वर्षलाई मुख्यतया चार भागमा ध्यान केन्द्रित गरेर अगाडि बढाइएको हो । नेपाललाई अन्तर्राष्ट्रिय जगतमा आकर्षक गन्तव्यका रुपमा स्थापित गराउने काम यस अभियानका दौरान हुनेछन् । आन्तरिक रुपमा पर्यटन प्रवर्द्धन गर्ने र मुलुकभित्र पर्यटन क्षेत्रका सम्बन्धमा जनचेतना अभिवृद्धिमा समेत यो अभियान महत्वपूर्ण हुनेछ । पर्यटनको महत्व र बुझाइलाई जनस्तरमा समेत बुझाउन प्रयास हुनेछ । केही प्याकेज ल्याउने, छुट र सहुलियत दिने गरी कार्यक्रम अगाडि बढेको छ । अर्कोतर्फ सबैभन्दा चूनौतिपूर्ण र कठिन अवस्था आधारभूत आवश्यकताको हो । पूर्वाधारको विद्यमान अवस्थामा केही न केही सुधार गर्ने योजना छ । यी चार वटा क्षेत्रमा केन्द्रित रहेर भ्रमण वर्षको तयारी गरिएको हो ।

    प्रवर्द्धनमा निकै राम्रो तयारी हामीले गरेका छौं । पछिल्लो एक वर्षमा विजनेश टु विजनेश प्रवर्द्धन, लक्षित समूहसम्म पुगेर हुने प्रवर्द्धनमा बढी कार्यक्रम केन्द्रित गरिएको छ । विश्वका ४० वटा स्रोत बजारमा नेपालका पर्यटनसँग आवद्ध साढे तीन सयभन्दा बढी कम्पनीका मानिसलाई सम्बन्धित मुलुकका पर्यटन व्यवसायीसँग जोड्ने गरी काम भएको छ । अर्कोतर्फ सीधै उपभोक्तासम्म प्रवर्द्धन पुर्‍याउने गरी लण्डनमा बस ब्राण्डिङदेखि लिएर चीनको सिटि्रप र भारतको ओला क्यापसँगको सहकार्य यही उद्देश्यबाट अगाडि बढेका हुन् ।

    पछिल्लो एक वर्षमा करिब ३ सयभन्दा बढी विदेशी पत्रकार, ब्लगर्स, सेलिब्रेटी तथा आफ्नो मुलुकमा कुनै न कुनै प्रभाव पार्न सक्ने व्यक्तिहरुलाई नेपालमा भ्रमण गराएका छौं । यसरी विभिन्न माध्यमबाट प्रवर्द्धनको काम अगाडि बढेको छ । जनचेतनामा पनि विभिन्न कोणबाट काम भइरहेका छन् । प्याकेजका हिसाबले होटेल संघ नेपाल, टान, नाट्टा, होमस्टे एशोसिएशन जस्ता संघ-संस्थाले अग्रसरता देखाएका छन् । सरकारी स्तरबाट पनि छिट्टै एक प्याकेज घोषणाको तयारी भइरहेको छ ।

    सन् २०१८ बाट २०२० मा भ्रमण वर्षको समय सार्दै गर्दा सरकारले भनेको थियो, त्यतिन्जेल पर्यटकीय पूर्वाधार बनिसक्छन्, मुलुकभित्र व्यापक तयारी हुन्छ र मुलुक २० लाख पर्यटक भित्राउन सक्षम हुन्छ, तपाईंलाई लाग्छ, मुलुक त्यो हिसाबले तयारी अवस्थामा छ ?

    मुलुक र गन्तव्य भ्रमणको दृष्टिकोणबाट सन् २०२० पक्कै पनि एक उपयुक्त समय हो । हामीले अन्य क्षेत्रमा यो बीचमा धेरै सुधार गर्न सक्यौं, तर पूर्वाधारमा भने अपेक्षाअनुसार काम भएनन् । पछिल्लो एक वर्षयता भने आशलाग्दो ढंगले केही काम अगाडि बढेको पाइन्छ । खासगरी त्रिभुवन विमानस्थलको धावनमार्ग जिर्णोद्धारको काम सकिएको छ । अब त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनका लागि योग्य बनेको छ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थल सन् २०१९ को सेप्टेम्बरमै सञ्चालनमा आइसक्छ भनिएको थियो, त्यसमा केही ढिला भएको छ ।

    तर २०२० को पहिलो त्रैमासिकभित्र सञ्चालनमा आउन सक्यो भने पनि त्यो भ्रमण वर्षका लागि निकै महत्वपूर्ण सावित हुने छ । अन्य तयारीका काम त हामी सन्तोषजनक अवस्थामा छौं । पछिल्लो समय  मन्त्रीज्यूले नयाँ अवधारणा सार्वजनिक गर्नु भएको छ, २०२० लाई आधार वर्ष मानेर २०३० सम्म ‘भ्रमण दशक’ मनाउनुपर्छ । यो यस मानेमा महत्वपूर्ण छ कि नेपाललाई यदि कुनै क्षेत्रले छिटो समृद्ध बनाउन सक्छ भने त्यो पर्यटन नै हो । तर विगतमा सतही रुपमा यस क्षेत्रलाई प्राथमिकता दिएको भनिए पनि त्यति धेरै महत्व पाइसकेको छैन । त्यसकारण आगामी दशकलाई नै भ्रमण दशकका रुपमा मनाउँदा त्यसले मुलुकमा पर्यटनले पाएको महत्व दर्शाउने छ । हरेक वर्ष पर्यटक आकर्षित गर्ने कार्यक्रम ल्याउन सक्छौं ।

    सन् २०१९ को तथ्यांकलाई आधार मान्ने हो भने मासिक पर्यटक आगमन औसत ९० हजार रहेको छ । यसअनुसार अझै पनि वार्षिक १२ लाख पर्यटक भित्राउन धौधौ छ । सन् २०२० मै आगमन २० लाख कसरी पुग्छ ? संख्यात्मक रुपमा पर्यटक २० लाख भित्राउने रणनीति के हो ?

    सन् २०२० मा २० लाख पर्यटक आगमनको लक्ष्य राखिरहँदा तीन वटा आधारलाई केन्द्रमा राखिएको थियो । सन् २०१८ मा २५ प्रतिशतको वृद्धि थियो । सन् २०२० मा २० लाख पर्यटक भित्राउन सन् २०१९ मा करिब ३०/३१ प्रतिशत र २०२० मा ३१ प्रतिशतको वृद्धि हामीलाई चाहिएको थियो । यो लक्ष्य खासगरी हवाई पूर्वाधारमा बढी केन्द्रित थियो । आगमन संख्याका हिसाबले सन् २०१९ उत्साहजनक छैन । यसो हुनुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब वर्षभर नै औसत ७/८ घण्टा बन्द भयो, मर्मतका कारण ।

    हामीलाई मुलुकको आयस्रोत बढाउन, रोजगारीका अवसर सिर्जना गर्न नै धेरै पर्यटक चाहिएको हो । त्यसकारण हाम्रो पहिलो प्राथमिकता संख्याभन्दा राजश्व नै हो

    अर्कोतर्फ एकदमै राम्रो संख्यामा पर्यटक बोकिरहेको जेट एयर बन्द यसै वर्ष भयो । जेट एयर केवल भारतीय पर्यटक मात्र नभई तेस्रो मुलुकमा पर्यटक बोक्नेमा समेत पहिलो नम्बरमा आउने कम्पनी थियो । त्यसको विकल्पमा अरु वायुसेवा कम्पनी आउन नसक्दा अन्ततः पर्यटक आगमनमा असर पुगेको हो । अब हामीले आशा गर्ने सन् २०२० लाई हो । यस वर्ष हामीलाई कम्तीमा ४० प्रतिशतभन्दा माथिको वृद्धिदर आवश्यक छ । त्यसका लागि कम्तिमा १६-२० वटा नयाँ उडान दैनिक नेपालमा थपिनुपर्छ । करिब १० वटा उडान काठमाडौंमा थपिन सक्ने सम्भावना देखिएको छ । भैरहवाको विमानस्थल छिट्टै सम्पन्न भएर त्यहाँबाट पनि नयाँ-नयाँ एयरलाइन्सले उडान थाल्ने वातावरण निर्माण भएमा २० लाखको लक्ष्य पुग्न सक्छ भन्नेमा हामी ढुक्क छौं ।

    दोस्रो रणनीति, व्यापक प्रचार-प्रसार नै हो । संसारभर नै नेपाल प्रवर्द्धनमा व्यापकता दिएका छौं । यस वर्ष हामीले नेपाली डायस्पोरालाई बढीभन्दा बढी सहभागी गराउँदैछौं । गैरआवासीय नेपालीको सञ्जाल विश्वका ८० भन्दा बढी मुलुकमा फैलिएको छ । कूटनीतिक नियोग र दूतावासलाई समेत यस वर्ष मुख्य ध्यान  पर्यटक नेपाल पठाउनमा लगाउन आग्रह गरिएको छ । उहाँहरुसमेत निकै सक्रिय हुनु भएको छ ।

    प्रवर्द्धनका सिलसिलामा हामीले नयाँ-नयाँ शैलीलाई समेत अंगिकार गरेका छौं । विगतमा सेलिब्रेटीका माध्यमबाट हुने प्रचार प्रसारलाई त्यति महत्व दिइदैनथ्यो । अहिले त्यसमा बढी जोड दिइएको छ । डिजिटल प्लेटफर्ममा हामी विगतमा निकै कमजोर अवस्थामा थियौं, अहिले त्यसमा ठूलो सुधार गरेका छौं । सामाजिक सञ्जालदेखि लिएर अनलाइनमाध्यममा हाम्रो बलियो उपस्थिति छ ।

    तेस्रो रणनीति, ‘नयाँ मार्केट-नयाँ सन्देश’ रहेको छ । मुलुकभित्रका विविध सिमितताका बीचमा पनि हामीले पर्यटक आगमन बढाउनु पर्ने छ । नेपालको पर्यटन मौसममा आधारित पर्यटन हो । अक्टोबर-नोभेम्बरमा पदयात्री आउने, अप्रिल-मेमा पर्वतारोही आउने, बाँकी मौसम भने कम पर्यटक आएर सबै क्षेत्र सिथिल रहनु पर्ने अवस्था थियो । अब समर, मनसुन र विन्टर गरी तीन वटा मौसमलाई केन्द्रित गरी छुट्टाछुट्टै स्रोत बजारमा प्रवर्द्धनका कार्यक्रम केन्द्रित गर्दै लगेका छौं ।

    समरमा दक्षिण एसिया (बंगलादेश-भारतलगायत) बजारमा केन्द्रित भएका छौं । किनकी अधिक गर्मी हुने समयमा नेपालको चिसो हावापानीले उहाँहरुलाई आकर्षित गर्न सक्छ । अर्कोतर्फ मध्यपूर्वी एसियाली मुलुकबाट सम्भावना भएर पनि हामीले पर्यटक ल्याउन सकेका छैनौं । किनकी हवाई सञ्जालको दृष्टिकोणबाट मध्यपूर्वी एसियाली मुलुक सबैभन्दा सहज मुलुक हुन् । पाकिस्तानको ठूलो जनसंख्या अहिले मध्यपूर्वी देशमा गएर बसेको छ ।

    धनाड्य भारतीय वर्ग पनि ती मुलुकमा पुगेको छ । तेस्रो मुलुकमा मानिस पनि उत्तिकै रहेका छन् । हाम्रो प्रवर्द्धन ती मुलुकमा केन्द्रित भएको छ । भैरहवामा अन्त्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेपछि केही बुद्धिष्ट मुलुकहरुबाट पर्यटक आगमन बढ्ने अपेक्षा छ । सोहीअनुसार भियतनाम, कम्बोडिया, म्यानमारजस्ता देशमा समेत कार्यक्रम पुगेका छन् । हवाई सञ्जालको बिस्तारसँगै जापान, कोरिया र चीनबाट पनि थप पर्यटक नेपाल आउने पक्का छ । त्यहाँ पनि प्रवर्द्धनका कार्यक्रम बढेका छन् । त्यसैले नेपाल जस्तो गन्तब्यका लागि २० लाख पर्यटक ठूलो संख्या होइन, हामी ल्याउन सक्छौं ।

    संख्यालाई मानक बनाइरहँदा हाम्रो आवश्यकता गुणस्तरीय पर्यटक कि धेरै पर्यटक भन्ने प्रश्न उठ्छ, गुणस्तरीय पर्यटक ल्याउने खालको छुट्टै रणनीति के छ ?

    पर्यटकको संख्यामात्र बढाउनु भनेको कुनै पनि देशका लागि थप जनसंख्या बढाउनु मात्र हो । त्यो त भार मात्र हो । हामीलाई मुलुकको आयस्रोत बढाउन, रोजगारीका अवसर सिर्जना गर्न नै धेरै पर्यटक चाहिएको हो । त्यसकारण हाम्रो पहिलो प्राथमिकता संख्याभन्दा राजश्व नै हो ।

    लक्ष्य निर्धारण गर्दा यति संख्याबाट यति राजस्व संकलन गर्छौं भनेर तोक्नु उचित हुन्थ्यो कि संख्या ?

    भ्रमण वर्षको सन्दर्भमा इमान्दारीसाथ भन्दा विगतकै परम्परा पछ्याइएको हो । हाम्रा हरेक घोषणामा संख्यालाई नै पहिलो प्राथमिकता दिने प्रचलन रह्यो । संख्या वास्तवमा आन्तरिक रणनीति हो । तर हामीले नबुझेर हो कि संख्या नै मार्केटिङ स्लोगन जस्तै भएको छ । भ्रमण वर्ष भन्नासाथ ‘कति लाख पर्यटक ?’ भन्ने बुझिन्छ । वास्तवमा त्यसो होइन । २० लाख पर्यटक भित्राउछौं भन्नुको मतलव नै उनीहरुबाट यति राजश्व संकलन हुन्छ भन्ने नै हो । अहिले संख्या बढी प्रचारमा आएको छ, त्यो प्राथमिक विषय होइन, नेपाललाई खर्च गर्ने पर्यटक चाहिएको छ । र, यसमा काम पनि गरेका छौं ।

    गुणस्तरीय पर्यटक भित्राउन दुई वटा पाटोमा कार्यक्रम केन्द्रित गरेका छौं । जहाँबाट अलि बढी पर्यटक आउँछन्, त्यहाँ बढी प्रवर्द्धन हुन्छ । जर्मन, जापानजस्ता मुलुक विगतमा बढी पर्यटक आउने भए पनि अहिले हामीले गुमाउँदै गएको स्रोत बजार हुन् । वार्षिक ३/४ लाख पर्यटक आउँदा मात्र पनि यी मुलुकबाट ३०-४० हजार पर्यटक नेपाल आउँथे, अहिले घटेर २० हजारमा पुगेको छ । यसमा पछिल्लो समय प्रवर्द्धनका कार्यक्रम बढी केन्द्रित हुँदा त्यहाँबाट आगमन दर बढ्न थालेको छ ।

    अमेरिका गुणस्तरीय पर्यटकका दृष्टिकोणबाट महत्वपूर्ण स्रोत बजार हो । विगतमा यहाँ हाम्रो धेरै गतिविधि नै थिएन । पछिल्लो दुई-तीन वर्षयता हामीले अमेरिकामा प्रवर्द्धनका धेरै कार्यक्रम पुर्‍याएका छौं । त्यसको सुखद पक्ष देखिएको छ । नेपाल धेरै आउने मुलुकमा श्रीलंका तेस्रो स्थानमा थियो, त्यसलाई पछि पार्दै अमेरिका तेस्रो मुलुक बन्न पुगेको छ । यसरी बढी खर्च गर्ने पर्यटकलाई भित्राउने कोसिस पनि उत्तिकै जारी छ ।

    तर गुणस्तरीय पर्यटक भित्राउने सवालमा हाम्रो मुलुक भित्रकै पनि केही समस्या बाधकका रुपमा रहेका छन् । नेपालको पर्यटन व्यवसायीको संख्या अत्यधिक छ । त्यहाँ नौलो सेवा सिर्जना गरेर त्यसलाई बेच्नेभन्दा सस्तोमा प्याकेज बेच्ने प्रतिस्पर्धा छ । त्यसलाई सुधार गर्नु जरुरी देखिन्छ ।

    भ्रमण वर्षले पर्यटकले गर्ने खर्च र राजश्व संकलनमा कति सुधार गर्ला ?

    सरकारी तथ्यांकअनुसार सन् २०१८ मा प्रतिदिन प्रतिपर्यटक खर्च अधिकतम ४५ डलर छ । यसलाई हामीले अधिकतम ६० डलरसम्म पुर्‍याउन सक्छौं भन्ने अपेक्षा छ । तर यसलाई तथ्यांकमा ठ्याक्कै देखाउने सन्दर्भमा भने नेपालमा धेरै चूनौती छन् । आउने पर्यटकले खर्च गरेको हुन्छ, तर त्यो सरकारी प्रणालीमा देखिएको छैन । नदेखिएको खर्चको गणना हुँदैन ।

    उदाहरणका लागि केही समय अगाडि कुनै एक पर्यटकलाई नेपाली टूर अपरेटर्सले दैनिक १ सय २५ डलरमा प्याकेज बिक्री गर्थ्यो । त्यसबेला २५ डलर टूर अपरेटर्सले लैजान्थ्यो भने १ सय डलर दरबारमार्गको एक होटेलले लियो । तर पछिल्लो दिनमा अनलाइन माध्यमबाट बुकिङको ट्रेण्ड बढेको छ । जसले गर्दा हिजो टूर अपरेटर्ससँग आइपुग्ने रकम विदेशमै अनलाइन माध्यमले खाइरहेको छ ।

    अर्कोतर्फ विगतमा धेरैजसो पर्यटक होटेलमै बस्थे । अहिले अलि लामो यात्रामा आएका पर्यटक होटेलमा बस्दैनन् । उनीहरु होमस्टेमा बस्लान् या बेड एण्ड ब्रेक फास्ट सेवा उपलब्ध हुने साना लजहरुमा बस्न थालेका छन् । हुन त यसले नेपालीलाई नै रोजगारी दिएको छ, तर धेरैजसो सानो व्यवसाय अहिले पनि राज्यको राजश्व प्रणालीमा आवद्ध भइसकेको छैन । त्यसकारण सरकारको गणनामा त्यो राजश्व देखिँदैन । पर्यटकले खर्च गर्दा पनि सरकारी संयन्त्रको दायरामा नआउँदा नेपालमा कम खर्चालु पर्यटक मात्र आउँछन् कि भन्ने देखिएको हो । यसका लागि भने सरकारको डिजिटल क्षमता बढाउन आवश्यक छ । बोर्डले यो सुझाव सरकारलाई दिएको छ ।

    पर्यटनको कुरा गर्दा नेपाल एक महत्वपूर्ण क्षेत्र धार्मिक गन्तव्य बन्न सक्छ भन्छौं, भ्रमण वर्षको रणनीति केही छ ?

    नेपालको पर्यटनमा तीन-चार वटा उत्पादन महत्वपूर्ण छन् । त्यसमध्ये एक साहसिक प्रोडक्ट हो । त्यसमा पनि पर्वतारोहण र पदयात्रा, दोस्रो व्यापार-व्यवसायका लागि आउने कर्पोरेट सेक्टर हो । तेस्रो स्वयमसेवक, अनुसन्धानकर्ता र ग्रुपमा आउने युवाको समूह पर्छ । चौथो महत्वपूर्ण क्षेत्र नै धार्मिक पर्यटक हुन् । हामीले हिन्दु र बुद्धिष्ट पर्यटक भित्राउने योजनासहित प्रवर्द्धनका योजना बनाएका छौं ।

    विगतदेखि नेपाल केबल साहसिक पर्यटकका लागि मात्र उपयुक्त गन्तव्य हो भन्ने आम मान्यता रहिआएको छ । तर हाम्रो क्षमता त्योभन्दा धेरै छ । सानो क्षेत्रफल, छोटो समय तर, एकै स्थानमा धेरै अनुभव र अनुभूति गराउन सक्ने गन्तव्य नेपाल हो । धर्म, संस्कृति, मौलिकता, प्रकृति, साहसिक गन्तव्यसहित हरेक पर्यटकीय प्रोडक्ट एकै स्थानमा पाइने संसारका धेरै कम गन्तव्यमध्ये नेपाल पनि एक हो । त्यसकारण पनि हामीले नेपाललाई ‘लाइफटाइम एक्स्पेरियन्स भेन्यू’का रुपमा स्थापित गर्ने कोसिस गरिरहेका छौं ।

    नेपालले अब पर्यटक भित्राउन खोजेको नयाँ स्रोत बजार के हो ? त्यहाँ हाम्रो योजना के छ ?

    उच्चगतिमा आर्थिक प्रगति हासिल गरिरहेको मध्यम आय भएको जनसंख्या र सामाजिक सञ्जालमा अधिक संलग्न रहने युवा वर्गलाई अब नेपालले नेपाल भित्राउन सक्छ । कुनै एक साथीले इन्स्टामा राम्रो तस्वीर पोष्ट गर्‍यो भने सोही स्थान पछ्याउँदै ग्रुप बनाएर पुग्ने टे्रण्ड चलेको छ । यस्तो समूहले ठूलो खर्च नगर्ला, तर उनीहरुमार्फत गन्तव्य प्रवर्द्धन र स्थापित गराउन सहयोग पुग्छ । चीन र भारतमा यस्ता समूहलाई बढी केन्द्रित गर्न सकिने सम्भावना छ र त्यहाँ प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाइएको छ ।

    बंगलादेश विगतमा हामीले धेरै प्राथमिकता नदिएको देश थियो । तर ढाका एउटै शहरमा साढे तीन करोड जनसंख्या छ । काठमाडौंबाट मात्र एक घण्टाको दूरीमा छ । उनीहरु शौखिन पनि छन् । त्यसकारण बंगलादेशलाई पनि केन्द्रित गरिएको छ । अबको प्रवर्द्धनमा बुद्धिष्ट मुलुक छुटाउनै नहुने स्रोत बजार हुन् ।

    यूरोपमा केबल फ्रेन्च, जर्मन र अंग्रेजी बोल्ने गन्तव्यमा मात्र केन्द्रित भएकोमा अब पूर्वी यूरोपमा हामी पुग्न थालेका छौं । पोल्याण्ड, हंगेरी, चेकलगायत मुलुकबाट राम्रो संख्यामा पर्यटक बढिरहेका छन् । मध्यपूर्व र इजरायलसमेत केन्द्रमा छ ।

    विश्वका नामी-नामी सेलिब्रेटीलाई नेपाल ल्याउन सकिन्छ, लियोनल मेसी हुन् वा विराट कोहली उनीहरुले एक दिन मात्र नेपालमा आइदिएर एउटा फोटो पोष्ट गर्दा संसारभर नेपालको प्रचार हुन्छ, त्यसतर्फ कुनै रणनीति छ ?

    पर्यटन मात्र होइन, संसारभर हरेक व्यवसायमा सेलिब्रेटीको सहभागिताले धेरै ठूलो प्रभाव पारेको छ । अझ गन्तव्य प्रवर्द्धनमा त यसको एकदमै ठूलो भूमिका खेल्छ । हामीले त्यसका लागि पहल मात्र गरेका छैनौं, पछिल्लो समय उपलब्धीसमेत हाँसिल भएको छ । सन् २०२० का अवसरमा संसारभरका १५ जना सेलिब्रेटीलाई सदभावना दूत बनाएका छौं । उहाँहरुमार्फत प्रवर्द्धनमा हामी सक्रिय हुन्छौं ।

    अघिल्लो महिना यूनिसेफको एक कार्यक्रममा भाग लिन भारतीय क्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउनुभयो । उहाँलाई हाम्रै पहलमा पशुपति भ्रमणमा लग्यौं । अन्य गन्तव्यमा समेत घुम्नु भयो । ‘म सुन्दर देश नेपालमा छु’ भन्दै इन्स्टामा तस्वीर हाल्नु भएको थियो । त्यहाँ लाखौं मानिसले लाइक र कमेन्ट गरेका थिए । गन्तव्य प्रवर्द्धनमा यो निकै प्रभावकारी उपाय हो ।

    भ्रमण वर्षको उदघाटनमै सेलिब्रेटी ल्याउन पाएको भए राम्रो प्रचार प्रसार हुन्थ्यो नि

    भ्रमण वर्षको सुरुवात र अंग्रेजी नयाँ वर्ष एक पटक पर्‍यो । त्यतिखेरै संसारभर धेरै जना मानिस बिदा मनाउन निस्कन्छन् । उनीहरु अग्रीम योजना बनाएर भ्रमणमा निस्कछन् । यद्यपि ‘न्यू इयर इन नेपाल’ भन्ने अवधारणामा करिब २५/३० जना मुलुकका पर्यटन मन्त्रीलाई आमन्त्रण गरेका थियौं । त्यसमध्ये ७/८ जनाले भाग लिने सम्भावना देखिएको छ । करिब ४५ जना विदेशी पत्रकार भ्रमण वर्षको शुभारम्भका अवसरमा आउँदै हुनुहुन्छ । उहाँहरुलाई नेपालका विभिन्न गन्तव्यमा घुमाउनेछौं । आगामी फेब्रुअरीमा नेपालमा उडान गरिरहेका वायुसेवा कम्पनीका सीईओहरुलाई बोलाएर एउटा सम्मेलन गर्दैछौं । जनवरी ७ तारिखमा नेपालका सबै कूटनीतिक नियोग र दूतावासमा भ्रमण वर्षको शुभारम्भ हुनेछ । कूटनीतिक नियोगलाई समेत सम्भव भएसम्म सम्बन्धित मुलुकका सेलिब्रेटीलाई सहभागी गराउन निर्देशन जारी भएको छ ।

    भर्खरै सम्पन्न सागलाई भ्रमण वर्षको प्रवर्द्धनमा कत्तिको उपयोग गर्नुभयो ?

    सागको रिपोर्टिङमा आउनु भएका केही पत्रकारलाई हामीले नेपालका गन्तव्यमा भ्रमण गरायौं । सागको उदघाटनमा राज्यका तर्फबाट सम्माननीय राष्ट्रपतिसहित सबै महानुभावले भ्रमण वर्ष २०२० का सम्बन्धमा बोलिदिनु भयो । यसको अन्तर्राष्ट्रिय प्रचार भएको छ । नेपालको मौसम पनि निकै राम्रो भयो । इभेन्टले यस अभियानलाई निकै सहयोग गरेको छ ।

    खेलाडीहरुलाई पनि घुमाउन कुनै पहल भयो ?

    प्रतियोगितामा आउने खेलाडीहरुको निश्चित भ्रमण तालिका हुन्छ । त्यसकारण हाम्रो इच्छामा उहाँहरु समय मिलाउन सक्नुहुन्न । हामीले अफर भने गरेका थियौं ।

    भ्रमण वर्षको सम्पूर्ण तयारी सकाएर उदघाटन गर्ने समयमा तपाईं रिटायर्ड हुनुभयो, महत्वपूर्ण क्षणमा बोर्ड सीईओविहीन हुँदा कस्तो असर पर्ला ?

    सन्देशका हिसाबले केही असर गरे पनि त्यति ठूलो असर गर्दैन । किनकी पर्यटन बोर्ड संस्था त्यहाँ छँदैछ । मन्त्रालय तह र मन्त्रीज्यूबाट मलाई भ्रमण वर्षको तयारीका सन्दर्भमा समन्वय गरिदिनुस् भन्ने आग्रह भएको छ । म अवकास पाएपछिका दिनहरुमा पनि उत्तिकै व्यस्त छु, जति दुई दिन अगाडि थिएँ । अहिले बैठक, समन्वय र फलोअपमा खटिएकै छु । फरक यति मात्र हो, म सीईओका रुपमा कार्यकारी अधिकार प्रयोग गर्न पाउँदिनँ । अरु हिसाबले म सक्रिय नै छु ।

    त्यसो भए अवकासको अनुभूति भएको छैन ?

    पक्कै पनि, त्यति धेरै भएको छैन । किनकी पर्यटन मेरालागि जागिर वा पद कहिले पनि रहेन । यो मेरो रुचिको विषय हो । आफ्नो मन पर्ने क्षेत्र भएका कारण म जहिले पनि उत्तिकै ऊर्जाका साथ खटिएको छु । फेरि पनि सीईओका लागि आवेदन खुलेको थियो । मैले पनि एक योग्य उम्मेदवारका रुपमा आवेदन दिएको छु । सम्भवतः १५/२० दिनमा यो प्रक्रिया पूरा होला ।

    चार वर्षे कार्यकालको अनुभव कस्तो रह्यो ?

    मैले सीईओका रुपमा पर्यटन बोर्ड छिर्दै गर्दा पर्यटनमा नेपालको मनोबल खस्किएको अवस्था थियो । आगमन संख्या स्वाट्टै घटेको र लगानीकर्ताको मनोबल खस्किएको थियो । लामो समय पर्यटनमा बिताएका हस्तीले समेत मसँग भन्नुहुन्थ्यो, ‘अबको ५ वर्ष नेपालको पर्यटन फर्किंदै फर्कन्न ।’ संसारभर नेपालको पहिचान ‘नो गो जोन’का रुपमा थियो । नेपाल जानै हुँदैन, त्यहाँ पूरै संरचना ढलेका छन् भन्ने सोचाइ थियो । आपूर्तिको असहजताले झनै सेवा पनि दिन नेपाल सक्षम छैन भन्ने प्रचार विदेशमा भएको थियो ।

    लोडसेडिङ पनि हटेको थिएन । सिलिण्डर पाउँदैन, गाडी पाउँदैन, इन्धन छैन भन्ने प्रचार पर्यटकीय बजारमा भएको थियो । यही अवस्थाले मलाई देशका लागि अझै खट्नुपर्छ भन्ने उत्प्रेरणा दियो । म सीईओ बन्नका लागि दिएको आवेदनमा तीन-चार वटा ‘भिजन’ पेश गरेको थिएँ । त्यसबेला चार वर्षमा कुन वर्ष के गर्छु भन्नेबारे स्पष्ट योजना प्रस्तुत गरेको थिएँ । चार वर्षपछि मैले जुन नतिजाको अपेक्षा गरेको थिएँ, त्यो पूरा भएको छ, त्यसकारण मैले गरेको प्रयासमा आफू सन्तुष्ट छु ।

    अर्कोतर्फ म सीईओ बनेर आएको समयमा एकातर्फ पर्यटन उद्योगकै मनाबल खस्किएको समयमा बोर्डभित्रैको वातावरण झनै संकटपूर्ण थियो । २३ जना कर्मचारी अख्तियारको छानबिनका कारण निलम्बनमा थिए । माथिल्लो स्तरका कर्मचारी कोही बाँकी थिएनन् । लेखा र प्रशासन रित्तै थियो । म माघमा पदबहाली गर्दा उक्त आर्थिक वर्षको बजेटसम्म पास भएको थिएन । अडिट भएको थिएन, विनियम बनेका थिएनन् । त्यस्तो परिस्थितिमा प्रवेश गरेर पनि सम्भवतः बोर्डमा एक मात्र यस्तो भाग्यमानी सीईओ बनेको छु, जसको नियुक्तिमा पनि कुनै विवाद बनेन, अवकासको समयसम्म पनि विवादित हुनु परेन । अझै निजी क्षेत्रको तर्फबाटै यो मान्छे फेरि आउनु पर्छ भनेर आवाज उठ्दा व्यक्तिगत रुपमा मलाई निकै सन्तुष्टि मिल्छ ।

    अन्त्यमा, नेपाली पर्यटनका सवल पक्ष र दुर्बल पक्ष के हुन् ?

    सवल पक्ष एक ‘नेपाली मान्छे’ नै हो । जसलाई संसारले निकै मन पराउँछ । अर्को ‘नेपाल देश’ । जुन प्राकृतिक र भौगोलिक रुपमा निकै सुन्दर छ । पर्यटनमा यो निकै महत्वपूर्ण पक्ष हो । दुर्बल पक्ष भने पूर्वाधार नै हो । पूर्वाधार जति चाँडो बढाउन सक्यौं, २० लाख निकै सानो संख्या हो ।