Category: राजनीति

  • एमाले नेता बस्नेतलाई सच्चिन राप्रपा भक्तपुरको चेतावनी

    भक्तपुर, मंसिर ५
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भक्तपुरले नेकपा एमालेका पोलिट्व्यूरो सदस्य महेश बस्नेतलाई सच्चिन चेतावनी दिएको छ । राप्रपाले आज (मंगलवार) पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले नेता बस्नेतले राप्रपा भक्तपुरका नेताहरुमाथि अनर्गल आरोप लगाएको भन्दै सच्चिन चेतावनी दिएको हो ।
    एमाले नेता बस्नेतले युवा संघ नेपालले मंसिर ३ गते भक्तपुरमा आयोजित एक कार्यक्रममा राप्रपा भक्तपुरका पुर्व जिल्ला अध्यक्ष एवम् तत्कालिन भक्तपुर जिल्ला विकास समितिका पुर्व सभापति स्व. सुरेन्द्रप्रताप शाह र उनका छोरा राप्रपाका सहमहामन्त्री रविन्द्र प्रताप शाहले चाँगुनारायण नगरपालिका–६, नगरकोटको ११३ रोपनी जग्गा बेचविखन गरी अपचलन गरेको अभिव्यक्ति दिएको राप्रपा भक्तपुरले जनाएको छ ।
    राप्रपाले सोही अभिव्यक्ति विरुद्ध पत्रकार सम्मेलन गर्दै एमाले नेता बस्नेतलाई उक्त आरोप पुष्टि गरेर देखाउन चुनौती समेत दिएको छ ।
    “राप्रपा नेता स्व. सुरेन्द्र प्रताप शाह र उनका सुपुत्र एवम् राप्रपा केन्द्रीय सहमहामन्त्रीको संलग्नतामा भक्तपुर जिल्ला चा.न.पा.–६, नगरकोटको ११३ रोपनी जग्गा वेचविखन गरि अपचलन गरेको आरोप लगाउनुको साथै निराधार एवम् कपोकल्पीत र भ्रामक वक्तव्य दिँदैं हिँडेका प्रति ठोस आधार, प्रमाण पेश गर्न र पुष्टि गर्नका लागि भक्तपुर राप्रपा एमाले भक्तपुरका नेता महेश बस्नेतलाई चुनौती दिन चाहन्छ,” पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।
    राप्रपा भक्तपुर सचिवालय सदस्य अर्जुन कार्कीले जारी विज्ञप्तीमा राजनीतिक चरित्रलाई भुलेर गैर जिम्मेवार र बर्बररुपमा आएका निराधार अभिव्यक्ति प्रति विश्वास नगर्न आम भक्तपुरबासीलाई आग्रह समेत गरिएको छ । राप्रपा भक्तपुरले चरित्र हत्या गर्ने उद्देश्यले अभिव्यक्ति दिने बस्नेतलाई आवश्यक कारवाही गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई आग्रह समेत गरेको छ । साथै बस्नेतले आफ्नो अभिव्यक्तिमा सुधार नगरि भविष्यमा पनि यस्तै अभिव्यक्ति दिए राप्रपा भक्तपुर चुप लागेर नबस्ने चेतावनी समेत दिएको छ ।


    पत्रकार सम्मेलनमा राप्रपाका नेताहरुले बस्नेतलाई सात दिनभित्र आत्मालोचना सहित सच्चिएर अघि बढ्न आग्रह समेत गरेका छन । कार्यक्रममा राप्रपा सहमहामन्त्री रविन्द्र प्रताप शाहले बस्नेतले भ्रामक प्रचार गरी हिलो छ्याप्ने कार्य गरेको भन्दै आरोप पुष्टि गर्न चुनौती दिनुभयो । “के प्रमाणको आधारमा बोल्नुभयो ? कसरी बोल्नुभयो ? महेश बस्नेतजीलाई चुनौती दिन चाहन्छु, प्रमाण पेश गर्न र पुष्टि गर्न,” नेता शाहले भन्नुभयो, “जुन खालको लाञ्छना सुरेन्द्र प्रताप शाहको बाबुछोराले बेच्यो भनेर लगाउनुभएको छ । त्यो पुष्टि गर्नको निमित्त चुनौतीका साथ भन्न चाहन्छु, तपाईंले त्यो पुष्टि गरेर देखाउनुस । पुष्टि गरेर देखाउनुभयो भने हामी तपाईंको नोकर बसुँला होइन भने तपाईं हाम्रो नोकर बस्ने दिन पनि आउनसक्छ ।”
    राजनीति गर्ने क्रममा पार्टीको सिद्धान्त र विचार जुनसुकै स्थानमा राख्न पाउने संवैधानिक अधिकार रहेको बताउँदैं उहाँले एमाले नेता बस्नेतलाई व्यक्ति प्रति लक्षित गरेर लाञ्छना लगाउने कार्य नगर्न पनि चेतावनी दिनुभयो ।
    पत्रकार सम्मेलनमा राप्रपा नेताहरु रामेश्वर थापा, राजु पुरीलगायतले एमाले नेता बस्नेतलाई आत्मालोचनासहित सात दिनभित्र आफ्नो अभिव्यक्ति सच्याउन चेतावनी दिनुभएको थियो ।

     

  • महासमिति बैठकले कांग्रेसलाई नयाँ उचाईमा पुर्याउँछ–सहमहामन्त्री आङदम्बे

    भक्तपुर, कार्तिक १९

    नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदम्बेले आगामी महासमिति बैठकले कांग्रेसलाई वैचारिकरुपमा नयाँ आयामका साथ उचाईमा पुर्याउने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा ‘क’ को शनिवार आयोजित पहिलो सम्मेलनमा सहमहामन्त्री आङदम्बेले महासमिति बैठकलाई नीति महाधिवेशनको रुपमा आयोजना गर्न लागिएको बताउँदैं उक्त ऐतिहासिक सम्मेलनले कांग्रेसलाई नयाँ विचारसहित अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको हो ।
    उहाँले लोकतान्त्रिक पार्टीमा आफ्ना विचार राख्ने स्वतन्त्रता भएको र सोही क्रममा कहिल्यै कहीँ ध्यान पुर्याउन नसक्दा वैचारिक स्खलन हुने गरी नेताहरुको भनाई आउने गरेको र त्यसले आम कार्यकर्ताहरुलाई अलमलमा पार्ने गरेको बताउनुभयो ।


    पार्टीभित्र उत्पन्न विभिन्न गुट उपगुटले एकले अर्कोलाई गाली गर्ने प्रवृत्तिले इमान्दार कार्यकर्ताको भावनामा ठेस पुग्ने गरेको टिप्पणी गर्दै उहाँले यसले पनि पार्टीलाई कमजोर बनाउने हुँदा त्यस्ता गतिविधि नगर्न आह्वान गर्नुभयो ।
    लोकतन्त्र स्थापनामा भक्तपुरको अतुलनीय योगदान रहेको चर्चा गर्दै उहाँले भक्तपुरले हिजोको पहिचानलाई जोगाउन सक्नुपर्नेमा जोड दिनुभयो । “भक्तपुर प्रजातन्त्र सेनानीहरुको जिल्ला हो । हिजो लोकतान्त्रिक आन्दोलनमा भक्तपुर लोकतन्त्रवादीहरुको सेल्टर रहेको थियो । भक्तपुरले यही पहिचालाई जोगाउन सक्नुपर्छ । लोकतन्त्रको हरेक असजिलो अवस्थामा पनि भक्तपुरले साथ दिएको छ,” उहाँले भन्नुभयो ।


    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले पार्टी विधान अनुसार चल्नुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
    अर्का केन्द्रीय सदस्य रमा कोइराला पौडेलले कांग्रेसले गरेका विकासका कामलाई प्रचार गर्न नसक्नु र जनता समक्ष पुर्याउन नसक्नुनै कांग्रेसको कमजोरी भएको बताउनुभयो ।
    नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानियाँले लोकतन्त्र भनेको स्वच्छ प्रतिष्पर्धा गर्ने व्यवस्था भएकाले नयाँ पार्टीले पनि स्वच्छ प्रतिष्पर्धा गरेर कांग्रेसलाई विस्थापित गरेर देखाउन चुनौती दिनुभयो । नयाँ पार्टीमा कांग्रेसको इतिहास मेटाउने र लोकतन्त्र स्थापनामा कांग्रेसको योगदानलाई कसैले चाहेर मेटाउन नसक्ने बताउँदैं उहाँले भ्रमको खेती नगर्न नयाँ दलहरुलाई आग्रह गर्नुभयो ।


    नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले चिया पसलहरुमा बसेर कांग्रेसले कांग्रेसलाई गाली गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउँदैं लगेको बताउनुभयो । उहाँले संघर्षका बेला एकजुट भएर लागेका नेता कार्यकर्ता अहिले लोकतान्त्रिक व्यवस्थामा एकले अर्कोलाई सम्मान दिन नसक्नु नै कांग्रेसको कमजोरी भएको बताउनुभयो ।


    कार्यक्रममा नेपाली कांग्रेसका सूर्यविनायक नगरसभापति निशान ढुंगेल, भक्तपुर क्षेत्र नं. २ प्रदेश सभा ख का सभापति ओमप्रकाश श्रेष्ठ, भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की, क्षेत्र नं. १ का सभापति जीवन खत्री, बागमती प्रदेशका पुर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, बागमती प्रदेश समितिका सदस्य सुमन कार्की, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठलगायतले कांग्रेसलाई कमजोर भए लोकतन्त्र कमजोर हुने चर्चा गर्नुभयो ।
    सम्मेलनले वार्षिक प्रतिवेदन, भावी नीति तथा कार्यक्रम र आर्थिक प्रतिवेदन पारित गरेको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा ‘क’का सभापति प्रदिप कार्कीले बताउनुभयो ।

     

     

  • शहिदको उच्च सम्मान हुनुपर्छ – सांसद थापा

    भक्तपुर, कार्तिक १९
    नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले लोकतन्त्र स्थापनाको लागि ज्यानको आहुती दिने शहिदलाई राज्य र आम नागरिकले उच्च सम्मान दिनुपर्ने बताउनुभएको छ । शहिद राधेश्याम जोन्छे स्मृती प्रतिष्ठानको शनिवार आयोजित १८ औं साधारणसभामा सांसद थापाले लोकतन्त्रको रक्षाको लागी शहिदहरुको योगदानलाई कहिल्यै भुल्न नहुने बताउँदैं शहिदको सधै उच्च सम्मान हुनुपर्ने बताउनुभएको हो ।
    “मुलुकमा लोकतन्त्र स्थापनाका लागि ज्यानको आहुती दिने शहिदहरुको योगदानलाई भुल्न हुँदैंन । शहिदहरुलाई राज्य र आम नागरिकले सधैं उच्च सम्मान दिनुपर्छ,” उहाँले भन्नुभयो ।
    उहाँले पार्टीमा काम गर्ने क्रममा कहिले कहीँ स–साना मतभेद उत्पन्न हुनु स्वभाविक भएपनि त्यस्ता मतभेद त्यागी पार्टी एकताको पक्षमा नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।
    उहाँले शहिद राधेश्याम जोन्छें कांग्रेसका कुशल नेतृत्वकर्ता र संगठन निर्माणकर्ता भएको स्मरण गर्दै जोन्छेंको जन्मथलो र राजनीतिक कर्मथलो भक्तपुरमा कांग्रेसलाई बलियो बनाउन एकजुट भएर लाग्नुपर्ने र कांग्रेस एकढिक्का भएर संगठन बिस्तारमा लाग्न सके मात्र जोन्छेप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
    कार्यक्रममा प्रजातन्त्र सेनानी तथा वरिष्ठ साहित्यकार एवम् नेपाली कांग्रेस भक्तपुरका पुर्व सभापति तिलक प्रकाश कायस्थले कार्यकर्ताले विवेक प्रयोग गर्नुपर्ने र नेताको केवल दास बन्न नहुने धारणा राख्नुभयो ।
    प्रतिष्ठानका अध्यक्ष एव बागमती प्रदेशका पुर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेले परिवर्तनलाई आत्मसाथ गर्दै लोकतन्त्रको मुल्य मान्यताको रक्षा गर्नु लोकतन्त्र प्रेमीहरुको अभिभारा रहेको बताउनुभयो ।
    साधारण सभाले प्रष्ठिानका महासचिव दयामान कर्माचार्यले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिबेदन र कोषाध्यक्ष नरेन्द्र भुजुले प्रस्तुत गर्नुभएको आर्थीक तथा लेखा परिक्षक प्रतिबेदन पारित गरेको थियो ।

     

  • कांग्रेस भक्तपुर क्षेत्र नं. २, प्रदेश सभा ‘क’ सम्मेलनको लोगो सार्वजनिक

    भक्तपुर, कार्तिक १४
    नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २, प्रदेश सभा ‘क’ को प्रथम ऐतिहासिक सम्मेलनको लोगो सोमवार सार्वजनिक गरिएको छ । लोगो नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापा र केन्द्रीय सदस्य एवम् सांसद रमा कोइराला पौडेलले संयुक्तरुपमा सार्वजनिक गर्नुभएको हो ।
    सो अवसरमा जिल्ला सभापति एवम् सांसद थापाले सम्मेलनले पार्टीलाई सुदृढिकरण, गतिशिल र क्रियासिल बनाउन तथा संगठनमा उर्जा थप्ने भएकाले सबैलाई एकमत भएर सम्मेलन सफल बनाउन लाग्न निर्देशन दिनुभयो ।


    उहाँले सम्मेलनले कार्यकर्तामा उर्जा थप्ने र यस्ता खालका गतिविधिले संगठन चलाएमान र जनता तथा कार्यकर्ताको कुरा बुझ्ने सुवर्ण अवसर हुने बताउनुभयो । उहाँले पार्टीमा ब्यक्ति विशेष भन्दा पनि ईमान्दारका गरेको कार्यले पार्टीलाई बलियो बनाउने धारणा राख्नुभयो ।
    केन्द्रीय सदस्य एवम् सांसद पौडेलले कार्यकर्ताको भावना र जनताको पिडा बुझेर अघि बढ्ने संगठन नै बलियो र मजबुद बन्ने भएकाले सम्मेलनले आम कार्यकर्ताको भावना बोल्न सक्नुपर्ने बताउनुभयो ।
    क्षेत्र नं. २, प्रदेश सभा ‘क’का सभापति प्रदिप कार्कीले सम्मेलनमा पार्टीको नीति तथा कार्यक्रम, वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत हुने र ती प्रतिवेदन छलफल गरी पारित गर्ने जानकारी दिनुभयो ।
    सम्मेलन यही कार्तिक १८ गते शनिवार केन्द्रीय सहमहामन्त्री भिष्मराज आडंदम्बेको प्रमुख आतिथ्यतामा दधिकोटमा हुँदैछ ।

     

  • संघीयतालाई सुदृढ बनाउन भाषा विधेयक ल्याएका हौं–मूख्यमन्त्री जम्मकट्टेल

    भक्तपुर, कार्तिक ३
    बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्मकट्टेलले संघीयतालाई सुदृढ बनाउन र संघीयताको मूल मर्मलाई व्यवहारमा लागु गर्न नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन विधेयक पारित गरेको बताउनुभएको छ ।
    नेकपा माओवादी केन्द्र मध्यपुर थिमि नगर समितिले शुक्रवार थिमिमा आयोजित सम्मान, शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा मूख्यमन्त्री जम्मकट्टेलले संविधानले नेपाल बहुभाषिक मुलुक भएको स्विकार गरेको अवस्थामा संविधानलाई कार्यान्वयन गरी संघीयतालाई थप बलियो बनाउन नेपाल भाषा र तामाङ भाषालाई प्रदेश सरकारको कामकाजको भाषा बनाउन ऐन पारित गरेको बताउनुभएको हो ।


    “अन्तराष्ट्रिय स्तरमा नै नेपालको पहिचान भनेको बहुजाती, बहुभाषी, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुभुगोल भएको मुलुक हो । संविधानले पनि यो स्विकार गरेको छ । संविधानलाई कार्यान्वयन गरी संघीयतालाई बलियो बनाउन प्रदेश सरकारले यो ऐन ल्याएको हो,” उहाँले भन्नुभयो ।
    संविधानले स्विकार गर्दा पनि कतिपय कुराहरु कार्यान्वयन हुन बाँकी रहेको बताउँदैं उहाँले ऐन कार्यान्वयनका लागि नियमावली र कार्यविधि बनाउन बाँकी रहेको जानकारी दिनुभयो । “ऐन पारित भएको छ । अब नियमावली बनाउनुपर्छ , केही कार्यविधि बनाउनपर्छ र स्थानीय तहसँग समन्वय गरेर कार्यान्वयनमा लैजानुपर्छ,” उहाँले भन्नुभयो ।
    १० वर्षे जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलनको फलस्वरुप संविधानसभाबाट संविधान निर्माण गर्न सफल भएको र यो संविधानले हाम्रो वास्तविक पहिचान स्विकार गरेको बताउँदैं ढिलै भएपनि राम्रो काम भएको भनेर सबैले प्रशंसा गरेको चर्चा गर्नुभयो ।


    उहाँले भाषा आयोगले २०७६ मा नै सिफारिस गरेपनि अघिल्लो प्रदेश सभामा विधेयक बनाउन नसक्दा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाष बनाउन नसकिएको बताउनुभयो ।
    “कुनै बेला नेपाल भाषाको पक्षमा बोल्दा र लेख्दा समेत जेल जानु पर्ने अवस्थाबाट राजनीतिक परिवर्तनसँगै विभिन्न जाती र वर्गले गरेको आन्दोलनको उपलब्धीको रुपमा अहिले स्थानीय स्तरमा बोलिने भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन सफल भएका छौं,” उहाँले भन्नुभयो ।


    बागमती प्रदेशको नामाकरणमा केही असन्टुष्टी रहेको बताउँदैं यसको नाम नेवाः ताम्सिालिङ हुनुपर्नेमा आफुले अघिल्लो प्रदेश सभामा अन्तिमसम्म अडान लिएको स्पष्ट पार्नुभयो । “भूगोल र भूगोल अनुसार जाती र वर्गको बाहुल्यता रहेको नेपालमा सोही अनुसार पहिचानको आधारमा प्रदेशको नामाकरण गर्न सकिएको भए यसले संघीयतालाई बलियो बनाउँछ । बहुसंख्यक जनताको भावनाको प्रतिनिधित्व गर्छ, त्यो भित्र हामी सबै अटाउन सक्छौं तर त्यो सम्भव भएन,” उहाँले भन्नुभयो ।
    नेपाल बहुभाषिक, बहुजातिय र बहुसाँस्कृतिक मुलुक भएकाले संविधान अनुसार स्वायत्त इलाका र स्वशासित स्थानहरु बनाउनुपर्ने बताउनुभयो । “जुन स्थानमा जुन समूदायको बाहुल्य छ, संविधानले अधिकार दिएको छ । नेपाल भाषा र तामाङ भाषाको निर्णयले आधार निर्माण गरेको छ । अब स्वायत्त इलाका र स्वशासित स्थानहरु बनाउँदैं जानुपर्छ,” उहाँले भन्नुभयो ।
    उहाँले बागमती प्रदेशको राजधानी समेत अपायक भएको बताउँदैं यसलाई सबैको पायक पर्नेगरी बनाउनुपर्नेमा जोड दिनुभयो ।


    कार्यक्रममा पुर्व भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने, शिक्षा, स्वास्थ्यलाई मौलिक हकको रुपमा संविधानमा लेख्ने र महिलाका अधिकारलाई मौलिक हकको रुपमा स्थापित गर्ने नेतृत्व नेकपा माओवादी केन्द्रले लिएको बताउनुभयो ।
    उहाँले भ्रष्टाचारकै कारण मुलुक अहिलेको अवस्थामा पुगेको बताउँदैं चाहे त्यो नीतिगत भ्रष्टाचार होस, चाहे त्यो संस्थागत होस या व्यक्तिगत, यो अवस्थाबाट मुलुकलाई मुक्ति दिलाउन र मुलुकमा सुशासन र सदाचारिता निर्माणका लागि पहल गर्ने दल नेकपा माओवादी केन्द्र भएको दावी गर्नुभयो ।


    नेपाली कांग्रेस मध्यपुर थिमि नगर सभापति हरिदास प्रजापतिले निर्वाचनमा जसरी गठबन्धन गरेर जनता समक्ष गएका थियौं, यो पाँचवर्षे कार्यकाललाई सोही अनुसार केन्द्रदेखी स्थानीय तहसम्म सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
    नेकपा माओवादी केन्द्र मध्यपुर थिमि अध्यक्ष एवम् मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्रमा धेरै लगानी बृद्धि गरी सबै जनतालाई सहज र सरलरुपमा शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यले काम गरिरहेको बताउनुभयो ।


    कार्यक्रममा गत असोजमा सम्पन्न येंया पुन्ही म्ये प्वा खनेगु जात्रामा जिब्रो छेडाएर, करिव ४० किलोको अर्धचन्द्रकार भ्ये (महादिप) काँधमा बोकेर पैदल पशुपतिनाथको दर्शन गरी फर्केर इतिहास निर्माण गरेका बालकराम नानीचा श्रेष्ठ, महाकाली प्याखँ, थिमि गुँला बाजा खलः गुर्णकिर्ति महाविहार, थिमि भैलः प्याखँ चपाचो, लाय्कु भैल गुरु अर्जुन श्रेष्ठ र निरन्जन श्रेष्ठ, २५ वर्षपछि थिमिमा लाखे प्याखँ प्रदर्शन गर्ने कपाली समाज, नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलः पुखुःसी नगदेश, मानन्धर युवा समूह (याँमता थाथुसा चोडे) शिवा सायमी खलः (गुँला बाजा शिवाटोल), नीलबाराही देवगण नाचका कोटा गुरु बाबुकाजी भिँदुवा श्रेष्ठ (मरोरान्त), ताहानानी बासुरी खलः, पञ्चरंगी भजन खलः, डा. रामकृष्ण चन्द्यो श्रेष्ठ, समाजसेवी तथा राजनीतिकर्मी कृष्णलाल गोजा श्रेष्ठ, पुर्वमन्त्री शशी श्रेष्ठ र बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्मकट्टेललाई सम्मान गरिएको थियो ।

     

  • गठबन्धन ५ वर्षका लागि हो, कसैले भत्काउन सक्दैन–अध्यक्ष नेपाल

    भक्तपुर, कार्तिक १
    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता गठबन्धन कसैले भत्काउन नसक्ने बताउनुभएको छ । नेकपा एकिकृत समाजवादी भक्तपुर जिल्ला कमिटीले बुधवार गठ्ठाघरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अध्यक्ष नेपालले सत्ता गठबन्धन पाँच वर्षका लागि बनेकोले कसैले चाहेर भत्काउन नसक्ने ठोकुवा गर्नुभएको हो ।
    उहाँले देशलाई प्रतिगमनमा लैजान खोज्नेहरुले सत्ता गठबन्धन भत्काउन अनेक षडयन्त्र गरिरहेको बताउँदैं त्यस्तो षडयन्त्र कुनै पनि हालतमा सफल नहुने दावी गर्नुभयो ।
    अध्यक्ष नेपालले नेपाली जनतालाई वंश परम्परा स्विकार्य नभएको बताउँदैं राजनीति नै गर्ने ईच्छा भए दल खालेर राजनीतिमा आउन र चुनाव लड्न पुर्वराजा ज्ञानेन्द्रलाई चुनौती दिनुभयो ।
    “अस्ति भएको निर्वाचन आफैंमा जनमत संग्रह हो । जनताले सीधै पार्टीलाई विश्वास गरेका छन भन्ने देखाएको छ,” उहाँले भन्नुभयो, “आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव चुनावमा सामेल होउन् ।” उहाँले भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताउनुभयो ।
    नेकपा एकिकृत समाजवादी भक्तपुर अध्यक्ष श्याम बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

     

  • लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको छ–उपप्रधानमन्त्री खड्का

    भक्तपुर, असोज ३०
    नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको प्राप्त उपलब्धीसँगैं संघीय लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको बताउनुभएको छ ।
    नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले मंगलवार भक्तपुरमा आयोजना गरेको ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य’ विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले संविधानको कार्यान्वयन र लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकासमा थप चुनौती देखा परेको बताउनुभएको हो ।


    “अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनमा अझै चुनौती बाँकी रहेको छ । विभिन्न बहानामा, विभिन्न कारणले हामीले गरेका कतिपय कामबाट, कतिपय निर्णयबाट तिनै कुरालाई बोकेर मुद्दा बनाएर संविधानलाई चलाउने प्रयास भइरहेको छ,” उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरुलाई हल्लाउने प्रयास भइरहेको छ । त्यसलाई जोगाउनु छ, कार्यान्वयन गर्नु छ ।”
    संविधानले दिएको मौलिक हक जोगाउने चुनौती थपिएको बताउँदैं उहाँले यसमा कांग्रेस जिम्मेवार भएर लाग्नुपर्ने खाँचो रहेको औंल्याउनुभयो । दलहरूले संविधान सभामार्फत सिङ्गो नेपाली जनता र संसारका लोकतन्त्रवादीलाई दिएको विश्वास पूरा गर्ने प्रक्रिया अगाडि बढिरहेको उहाँको भनाइ थियो ।


    उहाँले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा दलहरु चुकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “२०७२ सालमा जारी गरेको संविधानपछिको ८ वर्षको अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन सकेन । संंघीय कानून पहिलो प्राथमिकतामा राख्नुपर्ने भए पनि अहिलेसम्म अल्मलिएको छ । सबै राजनीतिक दलहरूको अगाडि अहिले संविधान कार्यान्वयनको चुनौती रहेको छ ।”
    उहाँले सिंगो नेपाली जनता र मुलुकलाई संविधानले जोड्न बाँकी रहेको बताउँदैं बताउनुभयो । “हामीले संविधानसभामार्फत सिंगो नेपाली जनतालाई दिएको विश्वास र वचन पूरा गर्न बाँकी छ । सिंगो मुलुकलाई यो संविधानसँग जोड्न बाँकी छ,” उहाँले भन्नुभयो ।


    उहाँले जनतामा छाएको निरासालाई आशा र विश्वासको वातावरणमा बदल्ने चुनौती कांग्रेसका जनप्रतिनिधिको काँधमा आएकाले कांग्रेसबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिहरुले पार्टीसँगको समन्वयमा जनताको मन जित्ने किसिमले काम गर्न निर्देशन समेत दिनुभयो ।
    उहाँले अरुलाई दोष दिएर भन्दा पनि आफ्नो स्वमूल्यांकन गरेर अघि बढ्नुपर्ने खाँचो रहेको बताउनुभयो । उहाँले आफ्नो गल्ती कमजोरी औंल्याउने व्यक्ति आफ्नो लागि सबैभन्दा नजिकको हितैषी, अभिभावक, नेताको रुपमा लिने गरेको बताउनुभयो ।
    उहाँले कांग्रेसप्रति जनताको गुनासो बढ्न नदिन प्रत्येक नेता र जनप्रतिनिधिको व्यवहार र बोलीबचनमा सुधार गर्दै जनताको घरदैलोमा गएर जनताको पीडामा मल्हम लगाउनुपर्नेमा जोड दिनुभयो ।


    नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले कांग्रेस बलियो भए देश बलियो हुन्छ भन्दै कांग्रेसलाई एक ढिक्का बनाएर बलियो बनाउन गाउँ तहदेखि नै लाग्नुपर्नेमा जोड दिनुभयो ।
    नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले भेदभावसहित ढंगले काम गर्नुपर्ने बताउनुभयो । उहाँले केही जनप्रतिनिधिले निर्वाचित भएपछि पार्टीलाई बिर्सने गरेको टिप्पणी गर्दै भोली पनि निर्वाचन आउँछ र निर्वाचन लड्नुपर्छ भन्ने मनमा राखेर पार्टीसँग पनि समन्वय गरेर जनप्रतिनिधिहरुले काम गरे आगामी निर्वाचनमा पनि कांग्रेसलाई हराउने ताकत कसैमा नहुने बताउनुभयो ।
    “टिकटको लागि पार्टी चाहिने, चुनाव लड्न पार्टी चाहिने, निर्वाचन जित्न पार्टी चाहिने र निर्वाचन जितिसकेपछि पार्टी चटक्कै बिर्सिने परिपाटी पनि छ,” उहाँले भन्नुभयो, “त्यस्ता साथीहरुले पार्टीको नीति सम्झनुस, पार्टीले गरेका प्रतिवद्धता सम्झनुस, पार्टीको आदर्श, मूल्य मान्यता सम्झनुस र अर्को निर्वाचनपनि आउँछ र निर्वाचन लड्नुपर्छ भन्ने पनि सम्झनुस ।”


    कार्यक्रममा बागमती प्रदेशअन्तर्गत १३ जिल्लाका पार्टी सभापति, प्रदेश समितिका पदाधिकारी, प्रदेश सांसद, प्रदेश प्रतिनिधि र प्रदेशअन्तर्गतका स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, भक्तपुरका स्थानीय नेता कार्यकर्तालगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रममा डा खिमलाल देवकोटा, डा बुद्धिमान श्रेष्ठ, प्रा. कृष्ण खनाल, डा सुरेश आचार्यले अभिमुखीकरण गर्नुभएको थियो ।

     

  • इजरायलमा हमासको आक्रमणमा मारिने नेपालीको सम्झनामा सल्लाघारीका दीप प्रज्वलन

    भक्तपुर, असोज २३
    इजरायलमा हमासको आक्रमणमा मारिने नेपाली विद्यार्थीहरुको सम्झनामा भक्तपुरको सल्लाघारी तिनकुनेमा दीप प्रज्वलन गरिएको छ । नेपाल तरुण दल भक्तपुरको आयोजनामा मंगलवार साँझ दीप प्रज्वलन गरिएको हो ।
    सो अवसरमा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले इजरायलमा मारिने नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अपर्ण गर्दै जुनसुकै बहानामा गरिएको आतंककारी हमला कुनैपनि दृष्टिले सही मान्न नसकिने बताउनुभयो । उहाँले सरकारले बाँकी नेपालीको यथाशिघ्र उद्धार गर्नुपर्नेमा जोड दिँदैं सरकारको प्रयासको प्रशंसा गर्नुभयो ।


    सो अवसरमा नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ र २ का सभापतिहरु, नगर सभापतिहरु, बागमति प्रदेश कमिटीका सदस्यहरु, नेपाल तरुण दलका केन्द्रीय सदस्यहरु, जिल्लाका पदाधिकारी एवम् सदस्यहरु र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
    गत असोज २० गते हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर कृषि अध्ययनका लागि इजरायल पुगेका १० नेपाली विद्यार्थीको ज्यान गएको छ ।
    इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन् ।

     

  • शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नुपर्छ–राष्ट्रपति पौडेल

    काठमाडौँ, ३ असोज
    राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताउनुभएको छ ।
    संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
    उहाँले भन्नुभयो, “कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन ? मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ ।”
    राष्ट्रपति पौडेलले गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन, यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो, यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि भएको उल्लेख गर्नुभयो ।
    उहाँले भन्नुभयो, “राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ हामीले प्राप्त गरेका छौ, तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ । गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन, यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो, यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँंकी छ ।”


    राष्ट्रपति पौडेलले हामी सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेका छौं र अहिले हामीसँग आफैँले बनाएको संविधान छ भन्दै वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेकोमात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको बताउनुभयो ।
    उहाँले भन्नुभयो, “हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको हो, अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्र्तय हो ।”
    उहाँले व्यवस्था त परिवर्तन भएपनि हाम्रो देश समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन सकको छैन् भन्दै “हामीले प्रशासनिक रुपमा राज्यको पुनः संरचना ग¥यौ, तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको छ, तर, राज्यको चरित्रको भने पुनः संरचना हुन अझै बाँकी छ,” भन्नुभयो ।
    उहाँले हाम्रो सुखद भविष्य प्राप्त गर्न हामीले राजनीतिक उपलब्धिहरूलाई जोगाउँंदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प छैन भन्नुभयो ।
    “हिमाल पहाड तराईको अनुपम भौगोलिक संरचनाको हाम्रो बहुजाति, बहुभाषी, बहुसंस्कृति र विभिन्न सम्प्रदायलाई हाम्रो संविधानले समान संरक्षण प्रदान गरेको छ । यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्भाव र भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन् भन्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
    उहाँले भन्नुभयो, “लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनौट भई अहिले संविधानतः तीनैतहका सरकारहरू बनेका छन् । यी निश्चय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिहरूका जगमा हाम्रो भविष्यको सुखद यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु ।”
    हाम्रो देशलाई नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना हाम्रो अगाडि छ र यो निकै महत्वपूर्ण अवसर हो भन्दै राष्ट्रपति पौडेलले “तर हामीले आफ्नो आचरण, चरित्रमा व्यापक सुधार गरेर लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा मात्र त्यो सम्भव छ” भन्नुभयो ।


    अहिले जनआन्दोलनका उपलब्धिहरू माथि फेरि कहीं, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा हामी सचेत हुनैपर्छ भन्ने उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले भन्नुभयो, “ जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि हामी चनाखो हुनैपर्छ । यस्तो अवस्था किन र कसरी आउन सक्छ ? यो प्रश्नमा हामी सबै जिम्मेवार हुनु आवश्यक ठान्दछु ।”
    हाम्रो संस्कृति र प्रकृतिले हामीलाई देशमा रोजगारी र आम्दानी दिने असीमित संभावनाको ढोका खोलेको उहाँको भनाइ थियो ।
    “सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट हाम्रो जलस्रोत र उर्जा शक्तिको मात्र उचित व्यवस्थापन गर्न सके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना अगाडि देखापरेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
    उहाँले सुशासन नै हाम्रो अमनचयन, विकास र समृद्धिको आधार भएकाले उल्लेखित सबै क्षेत्रमा सुधारको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।
    “यसका लागि सन्तुलित र प्रभावकारी परराष्ट्र नीतिका माध्यमबाट द्विपक्षीय र बहुपक्षीय अन्तराष्ट्रिय सम्बन्धलाई अझै सुदृढ गरी राष्ट्रिय अर्थतन्त्रलाई सबलीकरण गर्दै युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सृजना गर्न म सबैमा आग्रह गर्दछु ।”
    जलवायु परिवर्तनको प्रभावका कारण विगत केही वर्षयता प्राकृतिक प्रकोपहरूले हाम्रो देश र विश्वलाई अत्यन्तै बढी प्रभावित पारिरहेको प्रसंग उल्लेख गर्दै उहाँले त्यसैले जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि विश्व समुदायलाई साथ लिदैँ अगाडि बढ्नु अहिलेको अर्को महत्वपूर्ण आवश्यकता भएको स्पष्ट गर्नुभयो ।
    राष्ट्रपति पौडेलले भन्नुभयो, “समयले हामीलाई जुन दायित्व दिएको छ, त्यो दायित्व पुरा गर्न तथा राज्यव्यवस्थाका हरेक आयाममा देखिने अव्यवस्थालाई हटाएर लोकतान्त्रिक मूल्यको संस्कार विकास गरी समाजको समग्र रूपान्तरण गर्न अब एकतावद्ध बनौँ र यसका लागि आजै ऐतिहासिक संकल्प गरौँ ।”


    आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैं लेख्ने नेपाली जनताको ७ दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज आठ वर्ष पुरा भएको छ भन्दै उहाँले यो गौरवमय क्षणमा म सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दछु भन्नुभयो ।
    आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौं यातना सहने र जस्तै कष्टमा पनि अविचलित भइ परिवर्तनको पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई उहाँले अपार सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्न गर्नुभयो । साथै राष्ट्रपति पौडेलले “लोकतान्त्रिक आन्दोलनका अग्रज नेताहरूलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्न चाहन्छु” भन्नुभयो ।

  • विपि जन्मजयन्तीको अवसरमा बोडेमा वृक्षारोपण

    भक्तपुर, भदौ २४
    महामानव विपि कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा मध्यपुर थिमि–८ बोडेको लाँख्यो पार्कमा वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. ८ ईकाइ समितिको आयोजनामा सो वृक्षारोपण गरिएको हो ।
    सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले विपि नेपाल र एसियामा मात्र नभई विश्वमा परिचित समाजवादी नेता भएको बताउनुभयो । उहाँले मध्यपुर थिमिको पहिलो खानेपानी ट्यांकी र धारा वितरणमा विपिको सहयोग रहेको बताउनुभयो ।


    खानेपानीको अभावले दैनिक जीवन कष्टकर बन्दै गएपछि थिमिका तत्कालिन कांग्रेस नेताहरुको पहलमा विपिले सहयोग गरेपछि बोडेमा खानेपानीको ट्यांकी निर्माण गरी टोल टोलमा सार्वजनिक धारा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
    देशको विकासमा युवाहरुको भूमिकालाई महत्वपूर्ण स्थान दिएका विपिले आफ्नो सरकारको पालामा नेपालका युवाहरुलाई इजरायल, बेलायत जस्ता देशमा विभिन्न सिपको प्रशिक्षण र तालिमका लागि पठाएको स्मरण गर्नुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले विपिको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । नेपाली कांग्रेस भक्तपुरका पुर्व जिल्ला सभापति गणेशमान चक्रधरले कांग्रेस नेताहरुले नै विपिलाई पछ्याउन नसकेको बताउनुभयो । उहाँले कांग्रेसले विपिको समाजवादी चिन्तनलाई पालना गर्दै युवाहरुलाई पनि त्यसको प्रशिक्षण दिनुपर्नेमा जोड दिनुभयो ।


    वडा सभापति दिलकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की, प्रदेश सभा २ (ख)का सभापति ओमप्रकाश श्रेष्ठ, मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापति, मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठलगायतका नेता कार्यकर्ता एवम् जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।