Category: राजनीति

  • कांग्रेस प्रतिवेदनमा संचार क्षेत्रका बिषय नसमेटिनु दुखद ः अध्यक्ष लम्साल

    गोदावरी, ललितपुर, फागुन ९
    नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको महासमिति बैठकमा संचार क्षेत्रलाई समेट्ने गरेर कुनै पनि प्रस्ताव नआउनु दुखद भएको बताउनुभएको छ ।
    प्रेस युनियनका तर्फबाट महासमिति सदस्य चयन हुनुभएका अध्यक्ष लम्सालले महासमिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै संचार क्षेत्रले जताततै चुनौती भोग्दै गरेको अवस्थालाई कांग्रेसको महासमिति बैठकमा प्रस्तुत कुनै पनि प्रतिवेदनमा समावेश नगरिनु दुखद भएको बताउनुभयो ।
    “प्रेस, न्यु मिडिया, पत्रकारिता जगतले भोग्दै गरेका चुनौती बारे महासमिति बैठकमा कुनैपनि प्रतिवेदनमा केही आएन, कांग्रेस जस्तो लोकतान्त्रिक दलले संचार क्षेत्रको विषयमा केही नबोल्नु दुःखद छ”, लम्सालले भन्नुभयो ।
    उहाले कांग्रेसलाई गुट बनाउन र आफ्न्नो मान्छे बनाउन बाहेक अन्य परिणाममुखी काम गर्न फुर्सद नभएको भन्दै कांग्रेसले आफुलाई बलियो बनाउन सबै तहका नेताहरु सुध्रिनु पर्ने बताउनुभयो ।
    लम्सालले पार्टीबाट निर्वाचित बनेका नेताहरुमा वडा तह, प्रदेश तह र केन्द्र तहसम्म भ्रष्टचारको गन्ध बढ्दै गएको भन्दै गठबन्धनका कारणसमेत धेरै क्षेत्रमा कांग्रेसीहरुले अवसर गुमाउनु परेको बताउनुभयो ।
    महाससमिति बैठकमा धारणा राख्दै महासमिति सदस्य तथा अग्रज पत्रकार तारानाथ दाहालले दुई महामन्त्रीले पेश गरेको प्रतिवेदनलाई परिमार्जनसहित बैठकले पारित गर्दा महासमितिमा आएका शब्दको थुप्रोलाई ब्यवस्थित गर्न सकिने धारणा राख्नुभयो ।

     

  • कांग्रेस महासमिति बैठकमा ३७५ जनाले राखे धारणा

    गोदावरी, ललितपुर, फागुन ९
    ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन उपसभापित एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदनमाथि चार वटा हलमा समूहगतरुपमा छलफल भएको छ ।
    प्रतिवेदनमाथि छलफलका लागि कोशी र सुदूरपश्चिमका महासमिति सदस्यहरुलाई गोदावरी हल, कर्णाली र मधेश प्रदेशका लागि विशंखुनारायण हल, बागमती र गण्डकी प्रदेशका लागि फूलचोकी हल र लुम्बिनी र भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरुलाई कोन्ज्योसोम हल छुट्याइएको थियो । चारवटै हलमा सम्बन्धित प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले महासमिति सदस्यहरुको सुझावहरुलाई टिपोट गर्नुभएको थियो ।


    चार वटा हलमा भएको बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापतिहरु, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु, जनसम्पर्क समितिका प्रमुखहरुले बैठकमा पेश भएका पाँचवटै प्रतिवेदनमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ । छलफलमा देशभरबाट आउनुभएका महासमिति सदस्यहरुले पनि प्रतिवेदनमा आफ्नो विचार राख्नुभएको छ । महासमितिमा पेश भएका पाँचवटै प्रतिवेदनमा महासमिति सदस्यहरुले सुधारका केही सुझावहरु पेश गर्नुभएको छ ।
    छलफलमा गोदावरी हलबाट ११०, विशंखुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोन्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरुले आफ्नो धारणा राख्नुभएको थियो ।
    महासमिति बैठकमा कांग्रेसले संविधानको कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्नुपर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतराहरुलाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिनुपर्ने विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।


    महासमिति सदस्यहरुले सामाजिक न्यायका लागि नेपाली कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै पर्यटन प्रबर्द्धनमा जोड दिनुपर्ने, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै नेपालको हितमा काम गर्नुपर्ने, वैदेशिक लगानीको वातावरण सिर्जना गर्दै आर्थिक सुधार गर्नुपर्ने, उर्जा र जलश्रोतको सदुपयोग गर्न विदेशी लगानी भित्र्याउन पहल गर्ने, युवा पलायनलाई रोक्न रोजगारीका अवसहरु बढाउनुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारलाई रोक्न पहल गर्नुपर्ने, खेलकुदको पूर्वधार विकास गरी खेल पर्यटनलाई प्रबर्द्धन गर्नुपर्ने, जलवायु परिवर्तनको संकटविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, कुनै पनि नेपालीलाई गैरनागरिक हुन नदिने प्रावधान गर्नुपर्ने, क्रियाशील सदस्यतालाई थप खुकुलो र पारदर्शी बनाउनुपर्ने, सञ्चार क्षेत्रलाई स्वतन्त्र, सशक्त र प्रभावकारी बनाउन सञ्चार नीति संशोधन गर्नुपर्ने, लगायतका विषयमा जोड दिनुभएको छ । सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्न पनि अधिकांश महासमिति सदस्यहरुले सुझाव दिनुभएको छ ।
    महासमिति बैठकको बन्द सत्रको बिहानी सत्रमा मुल हलमा समूहगत छलफलबाट प्राप्त सुझावहरु प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नुहुनेछ । तत्पश्चात बिहीबार नै अपरान्ह २ः३० बजेपछि समापन समारोह गरिने महासमिति बैठक प्रचार प्रसार उपसमितिका संयोजक एवम् कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

     

  • कांग्रेसले राजनीतिलाई विकाससँग जोड्नुपर्नेमा जिल्ला सभापतिहरुको जोड

    गोदावरी, ललितपुर, फागुन ९
    नेपाली कांग्रेसको महसमिति बैठकको तेस्रो दिन विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ । छलफलमा कांग्रैसका जिल्ला सभापतिहरुले कांग्रेसले राजनीतिलाई जिकाससँग जोड्नुपर्नेमा जोड दिएका छन ।
    छलफलमा चितवनका सभापति राजेश्वर खनालले राजनीतिलाई विकाससँग जोड्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा, रोजगारी र कृषिलाई जोडेर लैजाँदा जनशक्ति व्यवस्थापन पनि सहज हुने बताउनुभयो । सरकार र पार्टीबीचको सम्पर्क बढाउनुपर्ने उहाँको सुझाव छ ।
    स्याङजाका सभापति राजु थापाले जनताको म्यान्डेट अनुसार गठबन्धन गरिएको उल्लेख गर्दै चार वर्षपछि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय अहिले नै निर्णय गर्नुपर्छ भन्नु उपयुक्त नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिपक्षी दल नेकपा एमाले अहिले गठबन्धन तोड्ने रणनीतिमा छ । जनतामा संघीयता महँगो भयो भन्ने चिन्ता बढ्दो देखिन्छ ।” भ्रष्टाचार विरुद्ध कांग्रेस अडिग छ भन्ने सन्देश दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
    धनकुटा जिल्ला सभापति दिनेश राईले कोशीमा हामीले विकासका मुद्दालाई अघि बढाउन नसकेको अवस्थामा राजनीति कसरी गर्ने हो भन्दै महासमिति बैठकमा प्रश्न गर्नुभयो । “कोशी प्रदेको नामांकनको विषय पेचिलो हुँदै गर्दा नेतागणहरु कहाँ कानमा तेल हाल्नुभएको छ । कोशी प्रदेशमा हामीले कसरी राजनीति गर्ने ? कुनै पनि राजनीतिक दलहरु खुलेर कार्यक्रम गर्न पाएको छैन,” उहाँले भन्नुभयो । उहाँले कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके १४ जिल्ला सभभापति मिलेर समाधान दिने बताउनुभयो ।

    यस्तै मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले महासमिति बैठकको निर्णय केन्द्रीय समितिले उल्टाउन नपाउने बताउनुभयो । उहाँले पनि पहिचानको विषयमा कुरा उठाउनुभएको छ । साथै उहाँले क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्लालाई दिनुपर्ने धारणा राख्नुभयो ।
    सुनसरी जिल्ला सभापति केदार भण्डारीले आफ्नो मान्छे परे गठबन्धन ठिक नपरे बेठिक भन्ने परिपाटी अन्त्य गरिनुपर्ने बताउनुभयो । उहाँले कोशीमा कांग्रेसले गठबन्धन गरेर गल्ती नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेलाई कमजोर पार्न सक्नुपर्छ । माओवादीलाई धेरै विच्काउनु हुन्न । गठबन्धन तलमाथी नबनोस् । गठबन्धन गर्न हुन्न हुन्न भन्ने कुरा अहिले यहाँबाट गर्न हुन्न । धेरै कुरा जिल्लालाई बाइपास गरेको देखिन्छ । सभापतिले जिल्ला समितिमा संस्थागत छलफल गरेर आउनुपर्छ । जिल्लालाई कमजोर बनाएर केन्द्रले निर्णय गर्दा कार्यकर्ताको मन दुखेको हुन्छ । नामाकरणको विषयमा पनि स्पष्ट पारेर जानुपर्छ कोशीमा सहज वातावरण बनाउन लाग्न अनुराध छ ।”
    झापाका सभापति देउमान थेवेले गठबन्धनको कुरा छुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनको कुरा ८३ तिर गर्दा भइहाल्छ नि। अहिले हतार किन गर्न त्यति आवश्यक छैन । यसले इलाममा उपनिर्वाचन हुँदैछ, त्यहाँ असर गर्छ । गठबन्धनकै कारण ७ प्रदेशमा सरकारमा छौं । गठबन्धन अस्ति नहुँदा हाम्रो ओठमुख सुकेको थियो । सातै प्रदेश र संघ जाँदा के हुन्छ ? केपी ओलीले अर्को गठबन्धन गर्ने भनिसके ।”
    कैलाली सभापति नारायणदत्त भट्टले प्रदेश समितिलाई कसरी सक्रिय बनाउने र उनीहरुलाई कसरी गाउँ–गाउँ पु¥याउने त्यसतर्फ पार्टी ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले थप्नुभयो, “महाधिवेशन कहिले गर्ने भन्ने कुरा आएको छ, समयमा गर्ने समयमा नसके विधानले व्यवस्था गरे बमोजिम गर्ने, नसके संविधानको धारा प्रयोग पाँच वर्ष र ६ महिना बढाउने । तर सकभर समय गर्ने ।”

    गठबन्धन नगर्ने कुरा पारित हुन सक्ने भए पनि अहिले नै फैसला गर्ने समय नभएको सभापति भट्टले बताउनुभयो । भावनामा बगेर काम गर्दा पछुताउनुपर्ने परिस्थिती हुन सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन तत्कालीन आवश्यक्ता हो, ८४ सम्म देशमा के–के हुन्छ ? कम्युनिष्टहरु एक हुन्छौं भनेका छन् । अनि के हुन्छ? कांग्रेस पार्टी भोली कसरी सफल हुन्छ ।”

     

  • कांग्रेसले सुशासनलाई मुलमन्त्र बनाउने महामन्त्री थापाको प्रस्ताव

    गोदावरी, ललितपुर, फागुन ८
    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताउनुभएको छ । ललितपुरको गोदवारीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेश गर्दै उहाँले कांग्रेसको अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिनुभयो ।
    उहाँले भन्नुभयो, “पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौं । अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौं ।”
    महामन्त्री थापाले कांग्रेसलाई लोकतन्त्रमा आस्थावानहरूको एकमात्र विश्वासिलो र आम जनताको भरपर्दो पार्टी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । महामन्त्री थापाले आन्तरिक प्रतिस्पर्धामा गुटगत भिन्नता देखिएपनि सार्वजनिक हितका विषयमा एकजुट भएर लाग्ने सामूहिक भावना कांग्रेसमा रहेको बताउनुभयो ।
    गठबन्धनबारे बोल्दै महामन्त्री थापाले तत्कालिन सरकारले पटक पटक असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेपछि गठबन्धनको परिस्थिती बनेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “एक विशिष्ट परिस्थितीमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँचदलिय गठबन्धनको नेतृत्वगर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको थियो । त्यसैको निरन्तरता स्वरुप पार्टीले लोकतन्त्र र संविधानको रक्षार्थ र स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको थियो ।”
    प्रस्तावमा आगामी आवधिक निर्वाचनहरुमा एक्लै निर्वाचन लड्ने परिस्थिती निर्माण गर्ने उल्लेख गरिएको छ । “पार्टी संगठन र समर्थक, शुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमतसहितको लोकप्रिय पार्टीको रुपमा स्थापित गर्नेछौं,” उहाँले भन्नुभयो ।


    महामन्त्री थापाले निर्वाचनमा उम्मेदवार छनोट गर्दा अहिलेको व्यवस्था कायम राख्ने वा सम्बन्धीत तह र क्षेत्रका क्रियाशिल सदस्यको प्रत्यक्ष मतदान (प्राइमरी इलेक्सन)बाट उम्मेदवार छनोट गर्ने प्रस्ताव गर्नुभएको छ ।
    उहाँले संसदीय उम्मेदवार छनोट गर्दा पनि सम्बन्धित क्षेत्रका पार्टीका क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट टुंग्याउन प्रस्ताव गर्नुभएको छ । थापाले यो बाहेक सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरूले मतदान गरेर बढी मत ल्याउने एक महिलासहित तीन जना छनोट गरी निर्णय गर्ने तहमा पठाउने प्रस्ताव पनि गर्नुभएको छ । उहाँले यसरी पठाउँदा तीन जनाभन्दा बढीको नाम सिफारिस नै गर्न नपाउने पनि प्रस्ताव गर्नुभएको छ ।
    त्यस्तै, निर्णय गर्ने निकायले सम्बन्धित क्षेत्रबाट सिफारिस भएका तीन जनामध्ये एक जना चयन गर्ने र सिफारिस भएका तीन जनाभन्दा बाहिरबाट उम्मेदवार बनाउन नपाउने व्यवस्था गर्न पनि उहाँले प्रस्ताव गर्नुभएको छ ।
    थापाले पार्टीबाट समानुपातिकतर्फका उम्मेदवार छनोट गर्दा निश्चित मापदण्ड नै बनाउन प्रस्ताव गरेका छन् । “पार्टीले समानुपातिकको सूची बनाउँदा सम्बन्धित क्लस्टरमा पनि विगतमा अवसर नपाएका समुदाय, क्षेत्र र क्लस्टरलाई प्राथमिकता दिने,” उहाँले प्रस्तावमा उल्लेख गर्नुभएको छ, “पार्टीले लोकप्रिय र सक्षम उम्मेदवार पत्ता लगाउन सर्भेलगायत अन्य विधि र प्रक्रिया अवलम्बन गरी निश्चित मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने ।”
    सरकार र पार्टीको सम्बन्धमा सबै तहमा केही न केही समस्या भएपनि ती समस्या समाधानका लागि छलफलका माध्यमबाट पार्टी अघि बढ्ने महामन्त्री थापाले जिकिर गर्नुभयो ।

  • अर्थमन्त्री डा. महतको प्रतिवेदन ः आर्थिक परिसूचकमा क्रमशः सुधार

    गोदावरी, ललितपुर, फागुन ८
    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जारी महासमिति बैठकमा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
    नेपाल सरकारको अर्थमन्त्री समेत रहनुभएका डा. महतले लोकतान्त्रिक समाजवादको आर्दशलाई आत्मासाथ कांग्रेसले गर्ने बताउनुभयो । उहाँले आर्थिक वृद्धि र न्यायोचित वितरण, उपत्पादन वृद्धि र रोजगारी सिर्जना तथा सामाजिक सुरक्षाको प्रत्याभुति गर्नुपर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको जानकारी दिनुभयो ।
    २०७७ असार मसान्तमा बैंक तथा वित्तिय प्रणालीमा ३२१० अर्बबाट वृद्धि भई कर्जा प्रवाह ०७९ असार मसान्तसम्म ४६२१ अर्ब पुगेको डा. महतले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । उहाँले अर्थतन्त्रलाई गतिशिल बनाउन पहल भइरहेको भन्दै रू १०० मा कम्पनी खोल्न सकिने सरल व्यवस्था गरिएको बताउनुभयो ।
    बजेट अनुसशानका लागि आर्थिक वर्ष ८०÷८१ को बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्राणाली सुधारका अधिंकास विषयहरू कार्यान्वयन क्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“परम्परागत शैलीमा आउने नीति तथा कार्यक्रम र बजेट निर्माण प्रकृयामा सुधार गर्न आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ लाई संसोधन गरि संसदमा बजेटका सिद्धान्त र प्राथामिकताबारे यथेष्ट छलफल गर्ने व्यवस्था मिलाइएको छ ।”
    प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री महतले अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा सुरू गरिएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो–“जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा ऋण परिचालन पनि गर्न सुरू गरिएको छ ।”
    अर्थतन्त्रमा चुनौती कायमै रहेपनि समिष्टिगत आर्थिक परिसूचकमा क्रमश सुधार हुँदै गएको उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

     

  • गठबन्धनबाट उपलब्धी हासिल तर चुनौती र असन्तुष्टि छ – महामन्त्री शर्मा

    गोदावरी, ललितपुर, फागुन ८
    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसायिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै गठबन्धनबाट उपलब्धी हासिल गरेपनि चुनौती र असन्तुष्टि रहेको उल्लेख गर्नुभएको छ ।
    महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गर्दै भन्नुभयो, “पटक पटकको संसद् विघटन र संविधानको रक्षका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट उपलव्धी हासिल भएको छ तर, पनि असन्तुष्टी र चुनौतीहरू बढ्दै गएको देखिन्छ ।”
    प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको उल्लेख गर्नुभएको छ । एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभार कांग्रेसको रहेको बताउनुभएको छ ।
    उहाँले लोकतन्त्रको विकल्प समुन्न लोकतन्त्र भएको बताउनुभयो । महामन्त्री शर्माले भन्नुभएको छ–“संघर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधाननै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतीको उचाईंमा पुराउने भरपर्दो माध्याम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट छ ।”
    महामन्त्री शर्माले सरकारको प्रभावकारीता र कमजोरी माथी खुलेर छलफल गर्नुपर्ने र कांग्रेसले सम्हालेका मन्त्रालयको प्रगति र कमजोरीको पनि समिक्षा गर्नुपर्ने बताउनुभएको छ ।
    “वर्तमान अवस्थामा नेपाली समाजमा देखिएका असन्तुष्टी र पीडाको पहिचान यही समाजले बनाएको सबैभन्दा ठूलो दलको महासमिति बैठकले गर्नुपर्छ र त्यसलाई क्रमश समाधान गरेर जाने संकल्प र दृढणता राख्नुपर्छ,” उहाँले लेख्नुभएको छ ।
    महामन्त्री शर्माले राजनीतिक प्रतिको विकर्षण अन्त्य गरि देशप्रति भरोसा वृद्धि गर्ने, छिमेकी मित्रराष्ट्रहरूसँग वृहत्तर सहकार्य गर्ने, पर्यावरण रक्षा सहित भौतीक विकासमा जोड दिने, शिक्षा क्षेत्रमा सुधार गर्ने कार्यभार कांग्रेसको जिम्मेवारी रहेको बताउनुभयो ।
    यदाकदा उग्र राष्ट्रवाद देखिने गरेको उल्लेख गर्दै महामन्त्री शर्माले भन्नुभएको छ–“उग्र राष्ट्रवादका कारण बाह्य लगानीको वातावरणलाई विगतमा परेका असरहरूले छोडेका प्रभावहरूको पृष्ठभुमिमा फेरि त्यस्तो स्थिती आउन नदिन गम्भिर सर्तकता अपनाउन जरूरी छ ।”

     

  • कांग्रेस महासमिति बैठकमा ५ प्रतिवेदन पेश हुने, हिन्दु राष्ट्र एजेण्डा नबन्ने

    भक्तपुर, फागुन ६
    ललितपुरको गोदावरीमा सोमवार शुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा ५ प्रतिवेदनमाथि छलफल हुने भएको छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेश गरिने गोदावरीमा आइतवार आयोजित पत्रकार सम्मेलनमा प्रचार प्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
    बैठकमा नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नेछन् । महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक प्रतिवेदन पेश गर्ने छ । प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्ने संयोजक विश्वकर्माले बताउनुभयो ।
    बैठकमा आधिकारिक प्रतिनिधिको संख्या दुई हजार १०५ भए पनि सहभागीको संख्या २५ सय बढी पुग्ने विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय समितिका १६५ जना, संघीय निर्वाचन क्षेत्रबाट १ हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, ७७ जिल्लाका सभापति लगायत सहभागी हुनेछन् । महासमिति सदस्य नभएका ४६ जिल्लाका सभापतिलाई पनि आमन्त्रित सदस्यका रुपमा बैठकमा सहभागी गराउने पार्टीले निर्णय गरेको छ ।
    महासमिति बैठकका लागि ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ मूल नारा बनाइएको छ ।
    नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । ‘तराइ, पहाड, मधेस, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाइनेछ,’ विश्वकर्माले भन्नुभयो, ‘महासमिति बैठकमा बढी भन्दा बढी सहभागीले बोल्ने अवसर जुरोस् भनेर समूह विभाजन गरिएको हो । ६० प्रतिशत प्रतिनिधिले बोल्न पाउने अवस्था हुन्छ ।’
    महासमिति बैठकमा करिब दुई करोड खर्च हुने कांग्रेसले अनुमान गरेको छ । महासमिति बैठकका लागि करिब ८० लाख रुपैयाँ आर्थिक संकलन हुने अनुमान गरिएको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।


    महासमितिमा सहभागी हुने प्रत्येकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । त्यसबाट खर्च नपुग्ने भएकाले पार्टीका शुभचिन्तकहरुबाट स्वेच्छिक सहयोगको अपिल गरिएको उहाँले बताउनुभयो । ‘दर्ता शुल्कबाट ६०÷६५ लाख उठ्ने अनुमान गरेका छौं । लेबीबाट २२ लाख उठ्ने अनुमान गरेका छौं,’ विश्वकर्माले भन्नुभयो ।
    महासमिति बैठकबाट आवाससम्म पुग्नका लागि २० वटा निशुल्क बसको व्यवस्था गरिने छ । बिहान ७ बजे बैठक स्थलमा जानका लागि तयार हुनुपर्ने प्रतिनिधिलाई बेलुका ६ बजे बस्ने ठाउँमा बस मार्फत पु¥याइने छ ।
    विश्वकर्माले बैठकमा हिन्दु राष्ट्रको एजेण्डा प्रतिवेदनमा समावेश नहुने स्पष्ट पार्नुभयो । हिन्दु राष्ट्र बनाउनुपर्ने मुद्दामा व्यक्ति विशेषले धारणा राख्न पाउने तर आधिकारीक एजेण्डा नहुने उहाँले बताउनुभयो ।
    ‘हाम्रो पार्टी जातीय पार्टी होइन, क्षेत्रीय पार्टी होइन, धार्मिक, साम्प्रदायीक पार्टी होइन । राष्ट्रिय पार्टीमा यी सबै आकांक्षाहरु समेट्नुपर्ने हुन्छ,’ विश्वकर्माले भन्नुभयो, ‘केन्द्रीय समितिमा बोल्नु भएको छ । महासमिति बैठकमा पनि बोल्नुहुन्छ । बोल्न त पाउनु प¥यो नि । विचार व्यक्त हुनसक्छन । आधिकारिता पाउँदैनन् ।’
    उहाँले कांग्रेसको चार ताराको अर्थ एउटा धार्मिक स्वतन्त्रता भएको बताउँदैं पार्टी स्थापनाकालदेखीको सिद्धान्तमा अहिलेसम्म कुनै परिवर्तन नभएको स्पष्ट पार्नुभयो ।
    महासमिति बैठकको सोमबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने छन् ।

     

     

  • कांग्रेस महासमिति बैठकका लागि तीन बुँदें नारा तय

    भक्तपुर, फागुन ३
    नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म गोदावरीमा हुने महासमिति बैठकका लागि ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने तीन बुँदें नारा तय गरेको छ ।
    कांग्रेसको महासमिति बैठकको तयारीबारे बुधवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महासमिति बैठक प्रचार प्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले सो जानकारी दिनुभएको हो ।
    महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले ५६ पृष्ठको नीति प्रस्ताव पेश गर्ने भएको छ । ‘आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पृष्ठको नीति प्रस्ताव महासमितिमा पेश हुनेछ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयो ।
    यस्तै महासमितिमा छलफलका लागि महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेश गर्ने तयारी रहेको विश्वकर्माले बताउनुभयो ।
    महासमितिमा छलफल गरिने यी तीन प्रस्ताव बिहीबार सानेपामा बस्ने पार्टी केन्द्रीय समिति बैठकले पारित गर्नेछ । महासमिति बैठकका लागि तयारी अन्तिम चरणमा पुगेको विश्वकर्माले बताउनुभयो ।
    कांग्रेसले महासमितिको बैठकका लागि तयार पार्ने स्वागत द्धारमा पार्टीका संस्थापक नेता विपी कोईराला र सभापति शेरबहादुर देउवाको तस्वीर राख्ने पनि जनाएको छ । महासमितिका लागि उपत्यकाको सडकमा दायाँ र बायाँ, रिङरोड, सातदोबाटोदेखि कार्यक्रम स्थलसम्म झण्डा राखिने छ ।
    यस्तै स्वागत द्धार काठमाडौँको नागढुंगा, कलंकी, गोंगबु, महाराजगञ्ज, चाबहिल, कोटेश्वर, बल्खु, चोभार, ललितपुरको बालकुमारी, सातदोबाटो, लुभु, गोदावरी, चापागाउँ, कुपण्डोल, भक्तपुरको साँगा, सूर्यविनायक, कमलविनायक, कौशलटार, जडिबुटी, काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी, धुलिखेल, बनेपा, धादिङको गजुरी र नौबिसे, नुवाकोटको ककनी र जरसिङपौवामा रहने विश्वकर्माले बताउनुभयो ।
    सहभागीहरुलाई तस्वीर खिच्नका लागि आकर्षक स्थानमा सेल्फी प्वाइन्ट बनाउने पनि प्रचारप्रसार उपसमितिको तयारी छ ।
    उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तादान कार्यक्रम गर्ने, कार्यक्रम अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ्य शिविर रहने, नेपाली कांग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्दर्भिक विषयका पुस्तक बिक्री वितरण कक्ष राख्ने तयारी रहेको छ । फागुन ७ गते उद्घाटन र १० गते समापनका बेला कार्यक्रम प्रत्यक्ष प्रसारण गरिने कांग्रेसले जनाएको छ ।
    महासमितिमा करिब दुई हजार तीन सय जना सहभागी हुनेछन् । कांग्रेसले २०७८ को मंसिरमा १४ औं महाधिवेशन गर्दा नेतृत्व अधिवेशन मात्रै गरेर नीति अधिवेशन पछि गर्ने निर्णय गरेको थियो ।

     

  • कांग्रेस नेताहरुद्धारा महासमिति बैठकस्थलको निरीक्षण

    भक्तपुर, फागुन २
    नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरुले मंगलवार साँझ महासमिति बैठक स्थलको निरीक्षण गर्नुभएको छ । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले आगामी फागुन ७ देखि हुन गइरहेको महासमिति बैठक स्थल ललितपुरको गोदावरी पुगेर बैठक स्थलको निरीक्षण गर्नुभएको हो । कांग्रेसको महासमिति बैठक यही फागुन ७ देखि १० गतेसम्म हुँदैछ ।
    बैठक स्थलको निरीक्षण गर्दै उपप्रधान तथा रक्षामन्त्रीसमेत रहनुभएका उपसभापति पूर्णबहादुर खड्काले अहिलेसम्मको तयारी राम्रो भएको भन्दै आवश्यक थप तयारी जिम्मेवारी अनुसार व्यवस्थित तरिकाले सम्पन्न गर्न आग्रह गर्नुभयो ।


    महासमिति बैठकका लागि गठन गरिएका समितिले आ–आफ्नो जिम्मेवारी अनुसारको काम समयमा सम्पन्न गर्न पनि खड्काले आग्रह गर्नुभएको छ । तयारीका लागि केन्द्रीय समिति वा केन्द्रीय तहबाट गर्नुपर्ने सबै सहयोग र समन्वय गरिने भन्दै सबै तयारी समयमा सक्न उहाँको आग्रह थियो ।
    स्थलगत निरीक्षणका क्रममा महासमिति बैठक तयारीका लागि गठित विभिन्न समितिका प्रमुखहरूले आ–आफ्नो जिम्मेवारीमा रहेका कामको अवस्थाबारे बारे जानकारी पदाधिकारीहरूलाई गराएका थिए ।
    निरीक्षण कार्यक्रममा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्यहरू उदयसम्शेर राणा, जितजंग बस्नेत लगायतका नेताहरू पनि सहभागी हुनुभएको थियो ।

     

  • नेपाली कांग्रेस महासमिति बैठक प्रचार प्रसार समिति बिस्तार

    नेपाली कांग्रेस महासमिति बैठक प्रचार प्रसार समिति बिस्तार

    भक्तपुर, माघ २६
    नेपाली कांग्रेसको आगामी फागुन ७ गतेदेखि प्रारम्भ हुने पार्टीको महासमिति बैठकको प्रचार प्रसारको लागि गठन गरिएको प्रचार प्रसार उपसमिति बिस्तार गरिएको छ । उपसमिति संयोजक एवम् पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शुक्रवार उपसमिति बिस्तार गर्नुभएको हो ।
    संयोजक विश्वकर्माले उपसमितिमा किरण गिरी, काठमाण्डौं, बद्री सिग्देल, बर्दिया, सरोज अधिकारी, धादिङ, रोजी पराजुली ढकाल, मोरङ, महेश्वर गौतम, काठमाण्डौ, केदारनाथ दाहाल, ललितपुर र जगत प्रजापति, भक्तपुरलाई सदस्य मनोनयन गर्दै उपसमिति बिस्तार गर्नुभएको गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
    यसअघि गत माघ २१ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पनु भएको थियो ।
    महासमितिको बैठक तयारी मूल समितिका संयोजक समेत रहनुभएका देउवाले प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशम्शेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गर्नुभएको थियो ।
    यसैगरी स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिको संयोजकमा ईन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर)लाई जिम्मेवारी प्रदान गरेको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।