Category: राजनीति

  • संघीयता भन्दा राजतन्त्र चार गुणा खर्चिलो रहेको मन्त्री बज्राचार्यको दावी

    २०८० चैत्र २१, बुधवार, ललितपुर |

    बागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले अबबाट सम्पदा पुनर्निर्माणको बजेट खर्च हुने तर सम्पदा जीर्ण हालतमा रहने अवस्थाको अन्त्य हुने दावी गरेका छन् । बुधवर पाटनको लायकू कुमारी दर्शन गर्न रत्नाकर महाविहार पुगेका मन्त्री बज्राचार्यले यस्तो भनेका हुन् ।

    सो अवसरमा उपस्थित रत्नाकर महाविहारका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग कुरा गर्दै मन्त्री बज्राचार्यले जीर्ण अवस्थामा रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको दायित्व बागमति प्रदेश सरकारले लिने बताए । ‘विगतमा बहाःबही, मठ, मन्दिर लगायतका सम्पदाको पुनर्निमाणको नाममा बजेट खर्च भएको तर, सम्पदा भने जीर्णै अवस्थामा रहेको देखियो । अब यस्तो हुँदैन । अब म आफैंले निरिक्षण गर्नेछु र बजेट सहि ठाउँमा सदुपयोग भई हाम्रासम्पदाहरु गर्वले ठडिनेछन्’ मन्त्री बज्राचार्यको भनाई हो ।

    साथमा मन्त्री बज्राचार्यले संघीयता निकै खर्चिलो र राज्यको लागि बोझ भयो भन्ने भ्रम चिर्नको लागि आम जन समुदायमा आग्रह गरे । संघीयताको मर्म र अर्थ नबुझेर भ्रम सिर्जना भएको भन्दै संघीयतालाई सहि दिशामा डो¥याएर वास्तविक संघीयता समाजलाई दिनुपर्ने विचार उनले राखे । ‘अहिले संघीय वा प्रदेश सभासदहरुमा जति खर्च भइरहेको छ, विगतमा राजाको पालामा दरवारका कर्मचारीहरुको तलबमा त्यसको तीन गुणा, चार गुणा खर्च हुन्थ्यो । संघीयता खर्चिलो हैन, विगतको तुलनामा किफायती छ’ मन्त्री बज्राचार्यको दावी हो । हाल बागमति प्रदेशमा मात्रै ६ लाख उद्योग दर्ता रहेको तथ्याङ्क सुनाउँदै बज्राचार्यले संघीयतामा उद्योग, कलकारखाना बन्द भएको नभई राजतन्त्रमै बन्द भएको वा बन्द हुने वातावरण बनेको दावी पनि गरे ।

    सोही अवसरमा रत्नाकर महाविहारबाट मन्त्री बज्राचार्यलाई कार्यकाल सफलताको कामनासहित नेवार परम्परा अनुसार सगुन दिइएको थियो । कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, रत्नाकर सहकारीका अध्यक्ष करुणारत्न बज्राचार्यले पहिल्यैदेखि स्थानीय संस्कृति, सम्पदाको संरक्षण, प्रवद्र्धनमा सक्रिय व्यक्ति नै बागमति प्रदेशको संस्कृति मन्त्री बनेर आउँदा समाजमा ठुलो आशा जागेको बताए । उज्वतदेव महाविहारका पूर्व अध्यक्ष रमेशराज बज्राचार्य, रत्नाकर महाविहार संरक्षण समितिका सचिव किरण बज्राचायले समाजसँग सल्लाह आदानप्रदान र छलफल गर्दै अगाडी बढ्न मन्त्री बज्राचार्यलाई सुझाव दिएका थिए ।
    औपचारिक कार्यक्रम पछि मन्त्री बज्राचार्यले पुनर्निर्माणको क्रममा रहेको रत्नाकर महाविहारका संरचनाहरुको अवलोकन गरेका थिए । हिजो शालिकराम जम्कट्टेल नेतृत्वको बागमति प्रदेश सरकारले विश्वासको मत पाएसँगै मन्त्री बज्राचार्यले आजै काठमाडौं बसन्तपुरमा रहेकी लायकू कुमारी र भक्तपुरकी लायकू कुमारीको दर्शन गरी आशिर्वाद थापेका छन् ।

  • थिमि चारदोवाटोको आकाशे पुल छिटो निर्माण हुनुपर्ने माग गर्दै तरुण दल र नेविसंघको प्रदर्शन

    भक्तपुर, चैत्र २०
    नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संयुक्तरुपमा मंगलवार मध्यपुर थिमिको चारदोवाटो चोकमा प्रदर्शन गर्दै उक्त स्थानको आकाशे पुल छिटो निर्माण गर्न माग गरेका छन ।
    आकाशे पुल निर्माणको कार्य लामो समयदेखी रोकिएको र उक्त पुल निर्माण नहुँदा दुर्घटनाको जोखिम बढेको भन्दै नेविसंघ र तरुण दलले संयुक्तरुपमा विरोध प्रदर्शन गरेको हो ।
    प्रदर्शनकारीहरुले आकाशे पुल तुरुन्त निर्माण गर, बटुवाको जीवन यात्रा–बेवारिसे पुलबाट वर्षमा कयौं जीवन घाटा, हाम्रो सुरक्षा हाम्रो हक अधुरो निर्माणमा भयो धेरै बकबक, जनताको सुरक्षा ग्यारेन्टी गर जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए ।


    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तरुण दलका केन्द्रीय सदस्य राजु थापाले भक्तपुरका अलपत्र विकास निर्माणमा तरुण दल र नेविसंघले निरन्तर खबरदारी गरिरहने बताउनुभयो ।
    उहाँले राजधानीको व्यस्त सडकमा निर्माण थालेको आकाशे पुल समेत लामो समयसम्म सम्पन्न नहुनुले नेपालको विकास निर्माणमा ठेकेदारले गर्ने लापरवाही र बेइमानी छर्लङ भएको बताउनुभयो । उहाँले यथाशिघ्र उक्त पुल निर्माण सम्पन्न नगरे निर्माण व्यवसायीको घर घेर्न समेत पछि नपर्ने चेतावनी दिनुभयो ।

     

  • डा. महतले भने, “प्रधानमन्त्रीले झुट बोले”

    भक्तपुर, फागुन २८
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोड्नुमा आफूलाई पनि कारक ठानेपछि तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत स्पष्टीकरण दिँदैं प्रचण्डले झुटो बोलेको आरोप लगाउनुभएको छ ।
    उहाँले सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा कांग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको दावी समेत गर्नुभयो । उहाँले राज्य स्रोतमा मितव्ययिता अपनाएको र प्रधानमन्त्रीबाट आएका केही अनुचित प्रस्तावमा बजेट दिन इन्कार गरेको जिकिर गर्नुभयो ।
    “अर्थमन्त्रीले प्रधानमन्त्रीलाई सहयोग गरेन भन्ने झुट हो,” महतले भन्नुभयो, “के गर्न सम्भव छ, के छैन भनेर प्रष्ट कुरा राखिएको थियो । त्यसबेला ती विषयमा प्रधानमन्त्री पनि समझदार हुनु भएको थियो ।”
    सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएकाहरुलाई मन्त्रिपरिषदबाट शहीद घोषणा गर्ने निर्णयमा असहमति रहेको र प्रमाणीकरणमा नपरेका लडाकुलाई आर्थिक प्याकेज दिन अस्वीकार गरेको महतको भनाइ छ ।


    सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका र ज्यान गुमाएकाहरुलाई आर्थिक सहायता दिने विषय एउटा कार्यदलले टुंग्याइसकेको बेला प्रधानमन्त्रीले फेरि त्यही विषय उठाएको महतले बताउनुभयो । त्यस्तै शहीद घोषणामा पनि प्रधानमन्त्रीले केही छुटपुट रहेको भन्दै मन्त्रिपरिषदमा ल्याए पनि धेरै ठूलो संख्या देखिएको उनको भनाइ छ ।
    मन्त्रिपरिषद बैठकले गरेको निर्णयका आधारमा गत शुक्रबार २६७४ जना शहीदको नाम राजपत्रमा प्रकाशित गरिएको छ । “केही छुट भएछ भन्ने कुरा होे । अहिले आउँदा त २६÷२७ सयको नाम आएको छ,” उहाँले भन्नुभयो । सुशासनको कुरा गर्दा प्रधानमन्त्रीले कुरा ठीक हो भन्ने तर व्यवहारमा त्यसको विपरीत गर्ने गरेको महतले बताउनुभयो ।
    “राजश्व दुरुपयोग गर्न दिनुहुँदैन भनेर लागेँ, आर्थिक सहायता जथाभावी बाँड्न हुँदैन भनेर मितव्ययिता अपनाएँ”, महतले भन्नुभयो, “यो गर्नु गलत हो, पाप हो ? मितव्ययी हुँदा उपलब्धि नहुने हो ?” विधि र प्रक्रियासँग नभएका प्रस्तावलाई आफूले रोकेको महतले स्पष्टीकरण दिँदैं भन्नुभयो, “साधन र स्रोतलाई जथाभावी खर्च गर्ने हो भने हामी अठ्यारोमा पर्ने निश्चित छ,”
    नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया सम्बन्धमा उत्पन्न विवादका सम्बन्धमा महतले स्पष्ट पार्दै महतले नयाँ स्टक एक्सचेञ्ज दिने÷नदिने विषय आफ्नो क्षेत्राधिकारभित्र नभएकोे बताउनुभयो । “प्रधानमन्त्रीले नै प्रक्रिया रोक्नुभएको हो । मन्त्रिपरिषदले गरेको निर्णय खोल्ने नखोल्ने निर्णय हुने मन्त्रिपरिषद्बाट,” महतले भन्नुभयो, “जहाँबाट रोकिएको त्यहीँबाट निर्णय हुने हो । हामीले खोल्न पनि भनेनौं । नखोल्न पनि भनेनौं ।”


    चीनसँग ऋण र अनुदान लिन समेत महत सहयोगी नभएको आरोप लागेको थियो । सो सम्बन्धमा स्पष्ट पार्दै महतले प्रधानमन्त्री चीन भ्रमणमा जाँदा किन अनुदान नलिएको भनी प्रश्न गर्नुभयो । उहाँले आफु परराष्ट्रमन्त्री भएको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआईआर) मा नेपालले हस्ताक्षर गरेको भएपनि प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको बताउनुभयो ।
    “हामीले भनेको यति मात्र हो कि ऋण लिँदा प्राथमिकताको क्षेत्र पहिचान गरौं । विश्व बैंक, एडीबीले एक प्रतिशतभन्दा सस्तो ब्याजमा ऋण दिन्छ,” उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन्छ, कम शर्त राखिएको सहुलियत पूर्ण ऋण वा अनुदान भयो भने मात्र स्वीकार गर्नुपर्छ भनेका हौं ।”
    प्रचण्ड सरकारले हालसम्म गरेको उपलब्धि कांग्रेसकै कारण भएको महतको दाबी छ । प्रधानमन्त्री प्रचण्डले गत आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दा कांग्रेससहितको सरकारले नतिजा दिन नसकेपछि गठबन्धन छाडेको स्पष्टीकरण दिनुभएको थियो । महतले प्रधानमन्त्रीलाई भने, “मितव्ययी हुँदा, सुशासन सुनिश्चित गर्दा, दुरुपयोग नगर्दा उपलब्धि नहुने हो ? यो कुरामा सहमत हुन सकिन्न ।”

    पूर्वअर्थमन्त्री महतले आगामी वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा ठूलो संख्यामा लगानीकर्ता आउने वातावरण आफूले बनाएको दाबी समेत गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन आफूले तयार पारेको मार्ग चित्रले मुलुकको अर्थतन्त्रलाई झनै गति दिने दावी समेत गर्नुभयो । उहाँल सो मार्ग चित्र वर्तमान सरकारले छोडे मुलुकको अर्थतन्त्र फेरि अफ्ठ्यारोमा पर्ने निश्चित रहेको जिकिर समेत गर्नुभयो ।
    उहाँले स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने र औषधिका लागि गाँजा खेती गर्ने कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
    पत्रकार सम्मेलनमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक एवम् केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, विभागका सदस्य दिपकप्रसाद कुईकेल, नेपाल प्रेस यूनियनका अध्यक्ष शिव लम्साललगायत विभागका सदस्यहरुको उपस्थिती रहेको थियो ।

  • गुण्डुमा यातायात कार्यालय निर्माण तत्काल शुरु गर्नुपर्नेमा भक्तपुर सांसदहरुको जोड

    भक्तपुर, फागुन १२
    भक्तपुरका संघीय र बागमती प्रदेशका सांसदहरुले गुण्डुको हाके डाँडामा प्रस्तावित यातायात कार्यालय यथाशिघ्र निर्माण कार्य शुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाको संयोजकत्वमा शनिवार थापाको सचिवालयमा बसेको सांसदहरुको बैठकले हाके डाँडामा यातायात कार्यालय निर्माणमा देखिएको अवरोध हटाउन संयुक्त पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । साथै बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा सबै राजनीतिक पार्टीका तर्फबाट संयुक्त रुपमा अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
    भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं ७ गुण्डुको हाके डाँडामा प्रस्ताव गरिएको यातायात कार्यालय भवन निर्माण अहिले अलपत्र परेको छ । निर्माण गर्ने ठेक्का समेत लागिसकेको र ठेकेदारले मोविलाइजेशन खर्च समेत भुक्तानी लिई सकेपनि हालसम्म सो स्थानमा यातायात कार्यालय निर्माणको काम शुरु हुन सकेको छैन ।
    सो भवन निर्माणका लागि हाल जग्गाको भोगाधिकारको समस्या देखिएको छ । बागमती प्रदेशको यातायात मन्त्रालयले जग्गाको भोगाधिकार नलिई बोलपत्र गरेको पाईएको छ ।


    जिल्लाभित्रको विकास निर्माणले सबै जनता लाभान्वित हुने भएकोले राजनीतिक प्रतिष्पर्धा भएपनि विकास निर्माणका सवालमा एक ठाउँमा उभिनुपर्छ भन्ने मान्यताले गुण्डुको यातायात कार्यालय निर्माणमा सबै एकमत भएको सांसद दुर्लभ थापाले बताउनुभयो ।
    जग्गाको भागाधिकार टुंगो नहुँदै ठेक्का लगाउनु, ठेकेदारले मोविलाइजेशन खर्च भुक्तानी लिनु र रकम लिएर काम नगर्नुमा अनियमितता भएको हुन सक्ने भन्दै सांसद थापाले राज्यले सबै प्रक्रिया नपुगी किन तत्कालीन समयमा टेण्डर गर्यो भन्ने प्रश्न उब्जिएको बताउनुभयो ।
    बैठकमा प्रतिनिधिसभा सदस्य रमा कोइराला पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी संसदिय दलका सचेतक एवम् सांसद सन्तोष परियार, बागमती प्रदेशसभा सदस्य किरण थापा, सुरेश श्रेष्ठ, तत्कालिन गुण्डु गाविसका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की, नेपाली काग्रेस सूर्यविनायक नगर सभापति निशान ढुगेललगायतको सहभागिता रहेको थियो ।

     

  • प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्दै कांग्रेस महासमिति बैठक सम्पन्न

    भक्तपुर, फागुन ९
    ललितपुरको गोदावरीमा सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले प्राप्त सुझावहरुका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जन सहित अन्तिम रुप दिने गरी तीन वटा प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
    बैठकले उपसभापति पूर्ण वहादुर खड्काले प्रस्तुत गर्नुभएको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गर्नु भएको सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको समसामयीक राजनीतिक प्रस्तावलाई बैठकको सुझावहरुका आधारमा केन्द्रीय समितिले अन्तिम रुप दिने गरी सर्वसम्मत पारित गरेको हो ।
    यसैगरी बैठकले कांग्रेसका प्रवक्ता एवं अर्थ मन्त्री डा. प्रकाशसरण महतले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझाव सहित ग्रहण गर्नुका साथै लेखा समितिका संयोजक श्याम प्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको लेखा परिक्षण प्रतिवेदन अनुमोदन गरेको महासमिति बैठक प्रचार प्रसार उपसमितिका संयोजक मीन बहादुर विश्वकर्माले बताउनुभयो ।
    उहाँले उपसभापति खड्का, महामन्त्रीद्धय थापा र शर्माको प्रस्तावले नेपाली कांग्रेसको नीति, सांगठानिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गरेको बताउनुभयो ।
    ‘राजनीतिक स्थायीत्व, रुपान्तरण नविनता । स्वतन्त्रता, न्याय र समानता ।। नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता ।।।’ उद्धघोषका साथ प्रारम्भ भई उत्साहकासाथ सम्पन्न बैठकबाट हासिल नविन उर्जालाई सम्पूर्ण एकताका साथ संगठन निर्माण र बिस्तारमा जुट्दै नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिवद्धताका साथ ऐतिहासिक महासमितिको बैठक सम्पन्न भएको विश्वकर्माले बताउनुभयो ।
    नेपाली कांग्रेसको महत्वपूर्ण उपस्थिीति सहित निर्माण भएको गठवन्धनलाई निरन्तरता दिई वर्तमान सरकार मार्फत भ्रष्ट्राचार, वेथिती र विसंगतिका विरुद्ध वैधानिकरुपमै अभियान संचालन गरि सुशासन र राष्ट्रिय सदाचार पद्धती स्थापित गर्न सम्पूर्ण रुपले कृतसंकल्पित रहने अठोट बैठकले गरेको छ ।


    यसैगरी अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतिहरुलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै, मुलूकमा विद्यमान सवैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैङ्गिक विभेद र हिंसा विरुद्ध कार्यक्रमिक अभियान संचालन गर्ने प्रतिवद्धता कांग्रेस महासमिति बैठकले गरेको छ ।
    तीनै तहका सरकार संचालनमा देखिएका समस्याहरुलाई समाधानका लागि नेतृत्वदायी भूमिका प्रति सचेत रहदै, किसान, सहकारी वचतकर्ता, मीटरव्याज र लघुबित्त पिडितहरुले भोग्दै आएका पिडालाई अभिलम्व समाधान गरि पिडितलाई न्याय दिलाउँन सरकारको गंभिर ध्यानाकर्षण बैठकले गरेको विश्वकर्माले बताउनुभयो ।
    कांग्रेसले नेपालको संविधानको रक्षा, संघीय समावेसी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गमसाथ नागरिकको अवस्था रुपान्तरण गर्ने प्रण गर्दै शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालिन न्यायका विषय चाँडै टुङ्याउँने प्रतिवद्धता जाहेर गरेको छ ।
    नेपाली जनताले गरेको पटक पटकको क्रान्ति, संर्घष र आन्दोलनवाट प्राप्त उपलव्धीहरुको रक्षा गर्दै संस्थागत विकास एवं संविधानले निर्दिष्ठ गरेका विषयलाई आत्मसाथ गरि, नेपालको संविधानको रक्षा, संघीय समावेसी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गमसाथ नागरिकको अवस्था रुपान्तरण गर्ने प्रण कांग्रेस महासमिति बैठकले गरेको छ ।

     

     

  • स्मार्ट सिटीको जग्गा फुकुवा गर्न सांसद कोइरालाको माग

    भक्तपुर, फागुन ९
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद रमा कोइराला पौडेलले स्मार्ट सिटीका नाममा भक्तपुर र काठमाण्डौंमा रोक्का राखेको जग्गा फुकुवा गर्न माग गर्नुभएको छ । सांसद कोइरालाले बिहिवारको संसद बैठकको शुन्य समयमा बोल्दै स्मार्ट सिटीको काम पनि अघि नबढ्ने र जग्गा रोक्का राख्दा स्थानीय जनताको जीवनस्तरमा ठूलो असर गरेकोले जग्गा फुकुवा हुनुपर्ने माग गर्नुभएको हो ।
    उहाँले भक्तपुरको दुवाकोटमा गर्ने भनिएको विर अस्पतालको बिस्तारीत सेवा कहिले शुरु हुन्छ भनेर प्रश्न समेत राख्नुभयो । उहाँले विर अस्पताल बनाउने भनी जग्गामा तारवार लगाएको वर्षौ बितिसक्दा पनि अस्पताल निर्माण शुरु नभएको भन्दै अस्पताल बन्छ की बन्दैन भनी प्रश्न गर्नुभएको हो ।
    उहाँले भक्तपुरको कमलविनायक भत्केपाटी–नगरकोट सडक अझै निर्माण सम्पन्न नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पटक पटक म्याद थपेर पनि निर्माण व्यवसायीले सो सडक निर्माण पुरा नगर्दा स्थानीय जनता मात्र नभई नगरकोट आउने विश्वका पर्यटक समेत पिडीत बनेको धारणा राख्नुभयो ।

     

  • महासमिति बैठकमा प्रदेश सभापतिहरुले भने – कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत बनौं

    गोदावरी, ललितपुर, फागुन ९
    नेपाली कांग्रेसको महासमिति बैठकमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत बन्नुपर्नेमा सहभागीहरुले जोड दिएको बताउनुभएको छ ।
    बैठकमा नेपाली काग्रेस कोशीका सभापति उद्धव थापाले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरी जानुपर्ने विषय उठेको जानकारी गराउनुभएको छ । त्यसैगरी पार्टीले युवा आकर्षण बढाउन नसकेको र गठबन्धनको विषयमा अहिले नै निर्णय गर्ने समय नभएको विषय उठेको पनि उहाँले जानकारी गराउनुभएको छ ।
    सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले विपक्षीबाट घेराबन्दीमा परेको बेलामा महासमति सदस्यबाट पार्टी र देशको बारेमा चिन्ता र चासो आउनु राम्रो रहेको वियय उठेको जानकारी गराउनुभयो । ‘यति धेरै चिन्ता र चासो आउनु राम्रो हो,’ उहाँले भन्नुभयो ।
    उहाँले कांग्रेसको नेतृत्वमा युद्धरत माओवादीलाई जंगलबाट शान्तिपूर्ण राजनीतिमा नल्याएको भए देशको हालत के हुने थियो भने प्रश्न गर्नुभयो । ‘देशको वस्तुस्थिति बुझेर वृहत शान्ति सम्झौताको माध्यमबाट क्षति न्यूनिकरण भयो । जंगलमा रहेको माओवादीलाई संसदभित्र हामीले लगेको हो । कांग्रेस देशको प्रमुख पार्टी भएकाले दस्तावेजको रुपमा दिएका छांै ।’ उहाँले भन्नुभयो ।
    त्यस्तै, कर्णाली प्रदेश सभापति ललितजंग शाहीले नीति प्रस्ताव सान्दर्भिक भएकालेृ इमानदार भएर कार्यान्वयन हुनुपर्ने बताउनुभयो । ‘नीति प्रस्ताव अत्यन्तै समयसान्दर्भिक भएको र यसलाई इमान्दारितापूर्वक कार्यान्वयनमा जानुपर्ने विषय आएको जानकारी गराउनुभएको छ । उहाँले गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन हतार हुने बताउनुभयो । ‘गठबन्धन भित्र अघि वा पछि भन्ने कुरा रणनीतिक विषय हो भन्ने धारणा आयो । यो तत्कालीन समयले माग गर्ने विषय हो । अहिलेनै गर्ने नगर्ने अलि हतार हो । तीनै प्रस्तावलाई चलयमान र गतिशित बनाउनुपर्छ,’ उहाँले बताउनुभयो ।
    वर्तमान गठबन्धन सर्वसम्मत रुपमा गरेकाले त्यसलार्य निरन्तरता दिन इमान्दारीता देखाउनुपर्नेमा उहँले जोड दिनुभयो । केन्द्रीय सदस्य स्वतः महासमिति सदस्य हुने प्रस्ताव खारेज हुनुपर्ने उहाँले बताउनुभयो ।
    मधेश प्रदेशका सभापति कृष्ण यादवले महासमिति सदस्यहरुले निर्वाचनका क्रममा बढ्दो अन्तर्घात घटाउन सकेको पार्टी बलियो हुँदै जाने र टिकट वितरणलाई पारदर्शी बनाउनुपर्ने सुझाव प्राप्त गरेको जानकारी गराउनुभयो । टिकट नपाएका साथीहरुले नै अर्को साथीलाई हराउन लागेका कारण अन्तर्घात बढेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ’टिकट पाउने फिल्डमा खटिन्छ भने नपाउने हराउन लाग्छ ।’
    त्यसैगरी कांग्रेसमा युवा पुस्ताको आकर्षण घट्दै गएको विषयमा मधेश प्रदेशका महासमिति सदस्यहरु उठाएको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ’महाधिवेशन र महाधिवेशनबीच दुई वर्ष फरक गर्नुपर्छ । यसो गर्दा सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने आवाज उठेको छ ।’
    सभापति यादवले मधेशमा कांग्रेस ठूलो पार्टी भए पनि सरकारको नेतृत्व लिन नसकेको पनि गुनासो आएको उहाँले जानकारी गराउनुभयो ।
    बागमती प्रदेशका सभापति इन्द्र बानियाँले किसानलाई आधुनि कृषितर्फ प्रोत्साहन गर्नुपर्ने, जनताका दैनिक जीवनका समस्याहरुलाई समाधान गर्न पहल गर्ने, सरकार र पार्टीबीच समन्वय गराउनुपर्ने र शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नुपर्नेलगायतका मागहरु उठेको जानकारी गराउनुभएको छ ।
    गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केन्द्रदेखि स्थानीय तहमा पार्टी संरचनालाई बलियो बनाउनुपर्ने, टिकट वितरणलाई पारदर्शी बनाउने र आगामी निर्वाचनमा कांग्रेसलाई एकल बहुमत ल्याउनुपर्ने कुराहरु उठेको जानकारी गराउनुभएको छ ।
    लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले तीन तहका सरकारले संविधानले दिएको अधिकारका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने बारे जानकारी जानकारी गराउनभयो । उहाँले भन्नुभयो, ’गैरआवासीय नेपालीहरुलका लागि पनि आगामी निर्वाचनमा पनि मतदानको व्यवस्था गराउनर्ने कुरा उठेको छ, यसलाई व्यवस्थित गर्न कांग्रेस पहल गर्नु सुझाव प्राप्त भएको छ ।’

     

  • कांग्रेसका नेताहरूले भने – यो महासमिति बैठकले कांग्रेसप्रति आकर्षण बढाउने काम गरोस्

    गोदावरी, ललितपुर, फागुन ९
    नेपाली कांग्रेसको महसमिति बैठकको चौँथो दिन विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ । बैठकमा भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताउनुभयो । उहाँले गठबन्धन हुनु या नहुनुले के फरक पर्छ भन्दै प्रश्न गर्नुभयो । अहिले उहाँले आफू गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको बताउँदै पाँच वर्ष गठबन्धन हुनुपर्ने बताउनुभयो ।
    उहाँले भन्नुभयो, “नैतिकताको आधारमा राजीनामा दिएपछिमात्र गठबन्धन छोड्छु । पाँच वर्ष गठबन्धन गर्नुपर्छ । पार्टी पूर्ण रुपमा सभापतिय प्रणालीमा जानुपर्छ । पदाधिकारी कति छन् गन्न पनि सक्दिन । जति पदाधिकारी भए पनि केही हुने रहेनछ । दुईजना महामन्त्री भए पनि केही हुने रहेनछ । यो महासमिति बैठकले कांग्रेसले कांग्रेसलाईमात्र भोट हाल्ने वातावरण बनाओस् ।”


    महासमिति सदस्य गोपाल विश्वकर्माले भने गठबन्धन नगर्ने विषय केन्द्रीय समितिबाट अनुमोदन गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन नगर्ने कुरा केन्द्रीय समितिबाट अनुमोदन गराउनुस् । गौतम बुद्ध जन्मेको देशमा हिन्दु राष्ट अभियान चलाउने कि नचलाउने केन्द्रीय समितिबाट निर्णय गराएर आउनुस् ।’
    उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीको घोषणा पत्र कार्यान्वयन गराउन ध्यानाकर्षण पनि गराउनुभयो । ‘पार्टीले घोषणा गरेको घोषणापत्र किन कार्यान्वयन भएन सभापति ज्यू ? पार्टी पदाधिकारी, मन्त्री र केन्द्रीय सदस्य सबैले जिम्मा लिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यदि यो कार्यान्वयन भएको भए व्यवस्था विरोधि आन्दोलन हुने नै थिएन ।’
    महासमिति सदस्य भीमसेनदास प्रधानले तल्लो तहमा छलफल गरेर महासमिति बैठक गर्ने वातावरण आगामी बैठकहरूमा मिलाउन आग्रह गर्नुभयो ।


    स्याङ्जाका महासमिति सदस्य युवराज पाण्डेले समस्या पहिचान गरेर मात्र नछोड्न आग्रह गर्नुभयो । उहाँले समस्या समाधानको उपाए खोज्न पनि नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘समस्याको पहिचान गरेर हामीले छुट पाउदैनौ समाधान पनि गर्नपर्छ । सरकारमा उपप्रधानमन्त्री हुनुहुछ ? केके गर्ने केके गरियो खाका खोई ? हामी कहाँ पुग्ने दशपछि योजना खोई ? हामी पछि पर्नुको कारण गठबन्धन हो । मेरो ठाउँमा मैले संगठन गर्ने चुनाव लड्न नपाउने ? एक्जिक्ट पोलिसी हुनैपर्छ ।’
    काठमाडौँकी महासमिति सदस्य गीता दवाडीले गठबन्धनका कारण कांग्रेसीले कांग्रेसकै उम्मेदवारलाई भोट हाल्न नपाएको भन्दै गुनासो गर्नुभयो । ‘हामीले गठबन्धन बनाएर अरु पार्टीलाई भोट हाल्न पर्यो । हाम्रा सन्तानले तपाईहरुले अरु पार्टीलाई भोट हाल्न नपर्ने बनाएर आउनु भनेर पठाउनुभएको छ’ उहाँले भन्नुभयो, ‘७७ जिल्लामा १ जना महिला सभापति खोई ? हामी महिला पुरुषहरुले जे भन्यो त्यसमा सहिछाप गछौं ।’


    मकवानपुरकी महासमिति सदस्य पवित्रा विकले समानुपातिक र प्रत्यक्षतर्फ एक ÷एक पटकमात्रै चुनाव लड्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।’
    काठमाडौँका अर्का महासमिति सदस्य सुशील भट्टले पार्टीको विधान युवाप्रतिनिधित्व कति हुने हो तोक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विधानमा युवा प्रतिनिधित्व कति हुने हो तोकियोस् ।’
    सिन्धुलीबाट आउनु भएका गोविन्द पहाडीले गठबन्धन बेकारको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन बेकारको विषय हो यो आवश्यक छैन । राष्टियता लोकतन्त्र प्रति हाम्रो दृष्टिकोण के हो ? यो स्पष्ट हुनुपर्छ ।’
    धादिङका महासमिति सदस्य बालकृष्ण सापकोटाले गठबन्धनको विषयमा तत्कालीन समयमै निर्णय गर्नेबारे ध्यान दिन भन्नुभयो ।


    त्यस्तै नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्षसमेत रहेका महासमिति सदस्य देवेन्द्रकुमार शेरचनले कांग्रेसले आफ्नो नीतिमा खेलकुदलाई पनि समेट्नुपर्ने बताउनुभयो । शेरचनले अन्य पार्टीहरुले खेलकुदलाई मूल नीतिका रुपमा अबलम्बन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘महासमिति बैठकमा खेलकुदको विषयमा जति चर्चा हुनुपर्ने हो त्यति हुन सकेको छैन । नेपालमा फुटबल र क्रिकेटको राम्रो सम्भावना भए पनि कांग्रेसले त्यसलाई आफ्नो प्राथमिकता दिन सकेको छैन। अब यसलाई सच्याएर जानुपर्छ ।’
    नेपाली विद्यार्थी संघबाट प्रतिनिधित्व गरेका दुजाङ शेर्पाले २०८४ को मिसन भन्दा पनि जनताका मुद्दा सम्बोधनमा कांग्रेस केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले गठबन्धन रणनीतिक विषय भएको पनि बताउनुभयो । महासमिति सदस्य भारती जोशीले तीनवटै प्रतिवेदन राम्रो भएको उल्लेख गर्नै गठबन्धनको विषयलाई कूटनीतिक र रणनीतिक रुपमा निर्णय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।


    रोल्पाका महासमिति सदस्य मनोजमणि आचार्यले जनताको निराशालाई सम्बोधन गर्ने गरी कांग्रेसले निर्णय गर्नुपर्ने बताउनुभयो । महासमिति सदस्य भानुभक्त ढकाल महासमिति बैठकले जनताका मुद्दालाई सम्बोधन गरी दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
    रुपन्देहीका महासमिति सदस्य दीपक पौडेलले गठबन्धन रहन नभएर बाध्यता भएको र यो बाध्यता अन्त्य गर्न कांग्रेसले पहल चाल्नुपर्ने बताउनुभयो । गुल्मीका महासमिति सदस्य भगवती काफ्लेले गठबनधन रणनीतिक विषय भएको उल्लेख गर्नुभयो । जनसम्पर्क समिति जापानबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य रोशन केसीले गठबन्धनको विषयलाई अहिले हतार गरेर निर्णय गर्न आवश्यक नभएको बताउनुभयो । नवलपारसीका महासमिति सदस्य अनिता शर्माले भ्रष्टाचार अन्त्य गर्न कांग्रेसले काम गर्नुपर्ने बताउनुभयो ।
    रुपन्देहीका महासमिति सदस्य सुन्दरराम गहतराजले महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदन राम्रो भए पनि ती प्रतिवेदनलाई कार्यान्वयन गर्नुमा जोड दिनुपर्ने बताउनुभयो । गुल्मीका महासमिति सदस्य पार्वती कुवँरले भातृसंस्थाको नियमानुसार समयमा नै अधिवेशन गरेर संगठनलाई चलायमान गर्नुपर्ने बताउनुभयो । महासमिति सदस्य सञ्जय शेर्पाले कांग्रेसले गठबन्धन जनतासँग गर्नुपर्नेमा जोड दिँदै पार्टीसँगको गठबन्धनलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । महासमिति सदस्य शशिकुमार केसीले भातृसंस्थाको समयमा नै निर्वाचन हुनुपर्ने सुझाव दिनुभयो । जिल्ला र स्थानीय तहका नेताहरु मात्र नभएर कांग्रेस केन्द्रका नेताहरु मात्र नभएपनि गाँउगाउँ जानुपर्ने बताउनुभयो ।
    महासमिति सदस्य शान्ता भण्डारी अर्घाखाँची महामन्त्रीको प्रतिवेदनको प्रशंसा गर्दै यसको पालना गर्नुपर्नेमा जोड दिनुभयो । महासमिति सदस्य राजेन्द्र खत्रीले सांस्कृतिक संघलाई शुभेच्छुक नभई भातृसंस्था बनाउनुपर्ने बताउनुभयो । अर्घाखाँचीका महासमिति सदस्य निर्मला क्षेत्रीले महासमितिले पारित गरेका प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । महासमिति सदस्य एकबहादुर पुनले नेपालीलाई नेपालमै बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
    कागेश्वरी मनोहरा नगरपालिकाका मेयरसमेत रहेका महासमिति सदस्य उपेन्द्र कार्कीले गठबन्धनको विषयमा छलफल गर्नु राम्रो भए पनि यसलाई अहिले नै निर्णय गर्नु नहुने बताउनुभयो ।
    गोरखाकी महासमिति सदस्य शोभा अधिकारीले आर्थिक विकासका लागि बागमती र गण्डकी प्रदेश कृषि, पर्यटन, जडिबुटी, पशुपालन, उद्योग, कलकारखाना, व्यापार व्यवसाय, हाइड्रो आदी सम्भावना भएको क्षेत्र भएको बताउँदै यसमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
    उहाँले विकासका लागि आन्तरिक र बाह्य लगानीको वातावरण सिर्जना गरी नेपाली कांग्रेसले कृषकले उत्पादन गरेका कृषिजन्य सामग्रीलाई सरकार आफैँले खरिद गरेर बजार व्यवस्थापन गर्न पहल गरोस् भन्दै ध्यानाकर्षण गराउनुभयो ।
    पार्टीमा ३३ प्रतिशत निर्वाचन क्षेत्र महिलालाई मात्रै छुट्याउने र महिला–महिलाबीच मात्रै प्रतिस्पर्धा गराउन पनि उहाँले सुझाव दिनु भयो। उहाँले न्यू मिडिया र सञ्चार क्षेत्रमा भएको दुरुपयोगलाई नियन्त्रण गर्न सञ्चार नीति परिमार्जन गर्न पनि आग्रह गर्नुभयो ।

  • महासमितिले जनताको जनजिविकाको सवाललाई सम्बोधन गर्नुपर्छ – सभापति थापा

    गोदावरी, ललितपुर, फागुन ९
    नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले महासमिति बैठक आमनागरिकका जनजिविकाका सवालमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा बिहिवार धारणा राख्ने क्रममा उहाँले बैठक गठबन्धनमा केन्द्रीत भएकोमा असन्तुष्टि व्यक्त गर्दै महासमितिले जनताको जनजिविकाको सवाललाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
    उहाँले आफुपनि गठबन्धनको बलले निर्वाचन जितेर आएको उदाहरण प्रस्तुत गर्दै अहिलेको गठबन्धनलाई पाँच वर्ष निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले गठबन्धन रणनीतिक विषय भएको बताउँदैं अहिले नै यस बारेमा चर्चा गर्नु अनुचित भएको धारणा राख्नुभयो ।
    “महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भयो । गठबन्धन हुनु या नहुनुले के फरक पर्छ ? म आफु पनि गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको हो । यो गठबन्धन पाँच वर्ष निरन्तर जानुपर्छ,” उहाँले भन्नुभयो ।


    उहाँले महासमिति बैठकले अहिलेको राज्यको जल्दो बल्दो विषय मिटरव्याज पिडीत, सहकारी पिडीत, किसानहरुको मल बिउविजनका समस्या, युवाहरुको विदेश पलायनका विषय, रोजगारका सवाल र समग्र अर्थतन्त्र सवल बनाउने विषयमा केन्द्रीत गरेर नीति निर्माण गरी कांग्रेसलाई सोही नीति अनुसार अगाडि बढाएर आम जनताको भरोसा योग्य पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो ।
    उहाँले कांग्रेसलाई पूर्ण रुपमा सभापतिय प्रणालीमा चलाउने व्यवस्थामा जानुपर्ने बताउनुभयो । “पदाधिकारी कति छन् गन्न पनि सक्दिन । जति पदाधिकारी भए पनि केही हुने रहेनछ । दुईजना महामन्त्री भए पनि केही हुने रहेनछ । कांग्रेसलाई पूर्ण रुपमा सभापतिय प्रणालीमा सञ्चालन गर्ने व्यवस्थामा जानुपर्छ,” उहाँले भन्नुभयो ।
    उहाँले महासमिति बैठकले कांग्रेसले कांग्रेसलाई मात्र भोट हाल्ने वातावरण बनानुपर्नेमा समेत जोड दिनुभयो ।

  • कांग्रेस महासमिति बैठकमा उठ्यो मिडियाको मुद्दा

    गोदावरी, ललितपुर, फागुन ९
    नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्द सत्रमा बोल्दै महासमिति सदस्यहरुले मिडियाका मुद्दाहरु पनि उठाएका छन् । महासमिति बैठकमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको प्रतिनिधित्व गर्दै महासिमिति सदस्य सरोज अधिकारीले मिडियाका मुद्दा उठाउनु भएको हो ।
    उहाँले प्रेस स्वतन्त्रतामाथिको हमाल नै लोकतन्त्रमाथिको हमाल भएको उल्लेख गर्दै मिडियालाई मजबुत बनाउनका लागि लोकतन्त्रको हिमायती पार्टी नेपाली कांग्रेसले विशेष पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय मिडियामाथि आक्रमण गरेर लोकतन्त्रलाई कमजोर बनाउने काम भइरहेको छ । यसतर्फ नेपाली कांग्रेसको ध्यानाकर्षण होस् ।”
    उहाँले शुभेच्छुक संस्थालाई पार्टीले मतदानका लागि मात्रै उपयोग गर्न खोजेको उल्लेख गर्दै अधिकार पनि दिनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “भूगोलबाट आउने र शुभेच्छुक संस्थाबाट आउने सबैको योगदान उत्तिकै भएकोले अधिकार पनि दिनुपर्दछ ।”
    त्यसैगरी जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्दै महासमिति सदस्य सीता सापकोटाले विदेशमा रहेका नेपालीहरुलाई पनि यही देशमा राजनीति अधिकार दिनुपर्ने बताउनुभएको छ । त्यसैगरी महासमिति सदस्य चिन्तामणि सापकोटाले पनि गैर–आवासीय नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।
    महासमिति सदस्य धनञ्जय रेग्मीले गठबन्धन २०४६ सालदेखि चलिरहेको उल्लेख गर्दै गठबन्धन नगरे संगठन बलियो नहुन सक्ने तर्क गर्नुभयो । महासमिति सदस्य शेखर खड्का र विष्णु पोखरेलले महामन्त्रीहरुको प्रस्तावमा समर्थन जनाउँदै उक्त प्रतिवेदनहरु कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । महासमिति सदस्य विमल सुवेदीले महासमितिमा पेश भएका प्रस्तावहरुलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
    महासमिति सदस्य उमा थापा मगरले महिलालाई ३३ प्रतिशतले मात्र नहुने बताउनुभयो । महासमिति सदस्य बिमला गैरेले प्रतिवेदन सुन्दा सुन्दर लागे पनि यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।