Category: राजनीति

  • पार्टी बनाउने की भत्काउने भन्ने नेतृत्वको जिम्मेवारी – एमाले वरिष्ठ नेता नेपाल

    भक्तपुर, साउन ७
    नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपा पक्षीय युवा संघ नेपालले पिपुल्स भोलियन्टर (पिभी) घोषणा गरेको छ । युवा संघले ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहिवार भक्तपुरमा आयोजित कार्यक्रममा शिव श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय पिभी घोषणा गरेको हो ।
    पिभी इन्चार्ज संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राई र सचिव मनोज खत्री तोकिएका छन् । यसअघि नेपालनिकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको थियो ।
    नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली पक्षीय युवा संघले हालै युथ फोर्स ब्युँताएपछि नेपाल पक्षले पनि पिभी ब्युँताएको हो । एमालेको आठौं महाधिवेशनले पिभी विघटन गरेको थियो ।
    पिभी घोषणा गर्दै वरिष्ठ नेता नेपालले पार्टी बनाउने की भत्काउने भन्ने जिम्मेवारी नेतृत्वको हातमा हुने बताउनुभयो । उहाँले पार्टी नेतृत्वमा तानाशाह र हिटलर प्रबृत्ति मौलाएका कारण अहिलेको अबस्था आएको बताउनुभयो ।
    उहाँले आफुहरुले पार्टीमा विभाजन नचाहेको तर गलत बाटोमा हिँडेको नेतृत्वलाई सही दिशामा हिँडाउने प्रयास गरेको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनमा अहिले कालो बादल मडारिएको बताउदै भन्नुभयो, ‘अहिले कालो बादल मडारिएको छ, त्यो बादललाई हटाएर अगाडि बढ्नुपर्छ ।’
    अंहकारको घोडामा चढेका बादशाहलाई घोडावाट उतारेपछि मात्र बास्तविकताको ज्ञान हुने भन्दै उहाँले भन्नुभयो, ‘अहंकारको घोडामा चढेका बादशाहलाई घोडाबाट ओर्लिनु पर्दा कस्तो हुन्छ, देखियो ।’ कमजोरी सुधार गर्नेले मात्र सम्मान पाउनेमा जोड दिंदै नेता नेपालले नेतृत्वले गल्ती सुधारे मात्र एकता सम्भव हुनेसमेत खुलासा गर्नुभयो । नेता नेपालले पार्टी नेतृत्व गलत बाटोमा हिड्दा दुई तिहाइ बहुमत भएको आफ्नै पार्टीको सरकार ८३ जनामा खुम्चिएर खुस्कनु परेको टिप्पणी गर्नुभयो ।
    पिपुल्स भोलुण्टिएर पार्टीको युवा दस्ताको रुपमा देश र जनताको सेवा गर्ने अभियानमा लाग्ने विश्वास व्यक्त गर्दै वरिष्ठ नेता नेपालले युवाहरु अध्ययनशील हुनुपर्ने र समाज परिवर्तनका पुस्तकहरु पढेर ज्ञानले भरिपूर्ण बन्नुपर्ने आवश्यकता समेत औल्याउनुभयो । सत्ता र स्वार्थको भोक नभएका इमान्दार युवाहरु मात्र पिपुल्स भोलुण्टिएर बन्न सक्ने बताउदै नेता नेपालले सच्चा कम्युनिष्ट कार्यकर्ता बन्नु कठिन कार्य भएको र सबैको बशको विषय नभएको जिकिर गर्नुभयो ।
    अप्ठ्यारो बेलामा आफ्नाको पहिचान हुने भन्दै उहाँले पार्टीमा सहि र गलतको कित्ता छुट्टिएको र युवाहरु गलतमा बदलीने नभई गलतलाई सहि तर्फ बदल्न सक्नुपर्ने बताउनुभयो । असल उत्तराधिकारी युवाबाटै जन्मनु पर्छ भन्दै उहाँले जस्तोसुकै परिस्थितिमा पनि मैदान छाडेर भाग्न हुदैन भन्ने पढेको र सिकेको बताउनुभयो ।
    पार्टी भित्र भएका गल्ति कमिकमजोरीलाई समिक्षा गर्दै आत्माआचोचना गर्दै लागेको धूलो ट्कटक्याउदै फेरी उठेर जनताको माझ जानुपर्छ भन्दै उहाँले जनताले फेरी कम्युनिष्टलाई सत्ताको नेतृत्वमा पुर्याउने दावी गर्नुभयो । नेता नेपालले पिभीमा संलग्न युवाहरुलाई जनताको मन जित्ने गरि काम गर्न, इमान्दारी, समर्पण, निष्ठा, संकल्प र देश तथा जनताको लागि काम गर्न निर्देशन दिनुभयो ।
    कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवम् युवा संघका ईन्चार्ज रघुजी पन्तले माधव नेपाललाई गाली गर्न र पुत्ला जलाउन छाडेर नेतृत्वले एकताको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
    उहाँले नेपालको भविश्य युवाहरुको काँधमा रहेको भन्दै पिपुल्स भोलुण्टिएर सचेत युवाको संगठन प्रमाणित हुने विश्वास व्यक्त गर्नुभयो । सस्थापक महासचिव पुष्पलालले भने झैँ सिद्धान्त, संगठन र संघर्ष बाट बिचलित नबनी जनताको सेवामा लाग्न उहाँले पिभीलाई निर्देशन समेत दिनुभयो ।
    उहाँले दुई तिहाई नजिकको सरकार र यति ठूलो पार्टी अहिले कहाँ पुग्यो फर्केर हेर्न आग्रह गर्दै लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउन बाध्य भएर शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभयो ।
    कार्यक्रममा युवा संघका अध्यक्ष नरेशकुमार शाहीले पिपुल्स भोलिएन्टर युवाहरुको वैचारिक प्लेटफार्म भएको दावी गर्दै विचार सही भए हतियार मात्र होइन, मिसायल विरुद्ध पनि लड्न सकिने बताउनुभयो ।
    उहाँले माधव नेपाललाई सतिसालको संज्ञा दिँदैं हिजो गणतन्त्र स्थापनाको आन्दोलन र आज गणतन्त्र, संघीयता र संविधानको रक्षाका लागि नेता नेपालले ठूलो त्याग गरेको बताउनुभयो ।
    नेकपा एमाले नेपाल पक्षका भक्तपुर अध्यक्ष रजन केसीले पिभीको घोषणा भक्तपुरमा हुनु भक्तपुर पार्टीको लागि ऐतिहासिक र उत्साहजनक रहेको बताउनुभयो । कार्यक्रममा रंजन मोहन सैंजूको नेतृत्वमा ५५ सदस्यीय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी र उमेश घोरासैनीको नेतृत्वमा पिभी भक्तपुरको समेत घोषणा गरिएको थियो ।

  • नेमकिपा अध्यक्ष बिजुक्छें र उत्तर कोरियाली राजदुत मानबीच भेटवार्ता

    लक्ष्मी गारु, भक्तपुर, साउन ७
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) र नेपालका लागि उत्तर कोरियाका राजदुत जो योङ मानबीच बिहिवार साँझ बिजुक्छें निवास कमलविनायकमा भेटवार्ता भएको छ ।
    भेटमा अध्यक्ष बिजुक्छें र राजदुत मानबीच दुई पक्षीय समसामयिक विषयवस्तु र कोरोना भाइरसको महामारी, यसले निम्त्याएको विपत्ती र रोकथाम तथा उपचार पद्धतीको विषयमा छलफल भएको बताईएको छ ।
    भेटमा अध्यक्ष बिजुक्छेँले कोरोना भाइरस (कोभिड–१९)को महामारीले नेपाली जनतालाई समाजवादी र पुँजीवादी व्यवस्थाबीचको भेदबारे स्पष्ट हुने अवसर मिलेको बताउनुभयो ।


    उहाँले कोभिड महामारीमा अक्सिजन अभावकै कारण धेरैको मृत्यु भएको उल्लेख गर्दै कुनै पनि देश भौतिक रुपले मात्र अगाडि बढ्दैमा जनताको सेवा नहुने कुरा कोभिड महामारीले प्रमाणित गरेको बताउनुभयो ।
    अध्यक्ष बिजुक्छेँले कोभिडको महामारीमा उत्तर कोरियाका जनताको रक्षाको लागि त्यहाँको सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै भन्नुभयो, “उत्तर कोरियाले जनतालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको कारण हरेक क्षेत्रमा सफलता मिलेको हो । उत्तर कोरिया कोभिडबाट पूर्ण सुरक्षित हुनुमा कोरियाली सरकारको निकै ठूलो भूमिका रहेको छ ।
    उहाँले कम्युनिष्टहरुको निम्ति उत्तर कोरिया उदाहरणीय देश रहेको बताउँदैं किम जोङ उनको नेतृत्वको प्रशंसा गर्नुभयो ।
    राजदूत मानले कोरियाली राष्ट्रपति किम जोङ उनको नेतृत्वमा साम्राज्यवादी देशहरुसँग डटेर लड्न साहस मिलेको बताउँदै संयुक्त अधिराज्य अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न खोजिरहेको र वार्ताका लागि आफूहरु सकारात्मक रहेको बताउनुभयो ।
    उहाँले सुयोग्य नेतृत्व, एकताबद्ध जनता र आणविक शक्तिको विकासले अब कुनै पनि देशले उत्तर कोरियालाई झुकाउन नसक्ने दावी समेत गर्नुभयो ।
    उत्तर कोरियाली सरकारले जनताको सेवामा समर्पित भएर काम गरिरहेको स्पष्ट पार्दै राजदुत मानले नेमकिपाले उत्तर कोरिया र कोरियाली जनताप्रति देखाएको ऐक्यबद्धताको निम्ति धन्यवाद दिनुभयो ।


    भेटमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँ, कोरियाली राजदुतावासका तर्फबाट सल्लाहकार किम जोन ह्योक र दुतावासका अफिसर पिक जिन ह्योकको पनि उपस्थिति थियो ।
    यसअघि राजदुत मानले भक्तपुर नगरपालिका कार्यालय पुगेर नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसँग भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी राजदुत मानले भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङ, कलेजका पुस्तकालय र प्रयोगशालाको स्थलगत अवलोकन गर्नुका साथै विभिन्न जिज्ञासा व्यक्त गर्नुभएको थियो ।
    साथै राजदुत मानले भक्तपुरको मौलिक उत्पादनको समेत स्थलगत अवलोकन गर्नु भएको थियो । सो अवसरमा राजदुत मानले जु जु धौ बनाउने विधिको बारेमा पनि जिज्ञासा राख्नुभएको थियो ।

  • एमाले नेता नेपाल पक्षले ‘पीभी’ ब्युँताउँदै

    भक्तपुर, साउन ७
    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एमालेको पुरानो जनवर्गिय संरचना ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्युँताउने भएको छ । नेपाल समूहले आज भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा भव्य कार्यक्रम मार्फत ‘पीभी’ घोषणा गर्न लागेको हो । घोषणा नेता नेपाल स्वयम्ले गर्नेछ ।
    त्यसको लागि सम्पूर्ण तयारी भएको र पीभीको केन्द्रीय संरचना घोषणा गरी करिव ३ हजार स्वयम् सेवक दस्ता सार्वजनिक गरिने स्रोतले बताए । नेकपा एमाले अध्यक्ष के पी शर्मा ओली पक्षले ‘युथ फोसर्’ ब्युँताएर नेपालविरुद्ध अराजक गतिविधि गर्न थालेपछि त्यसलाई काउन्टर दिन नेपाल पक्षल पनि पीभी ब्युँताउन लागेको बताईएको छ ।

    एमालेले पीभीलाई आठौं महाधिवेशनबाट विघटन गरेको थियो । नेपाल पक्षले यसअघि अखिल फोर्सको घोषणा गरिसकेको छ ।

  • विपीको ३९ औं स्मृती दिवसमा माल्यापर्ण र वृक्षारोपण

    भक्तपुर, साउन ६
    जननायक विश्वेश्वर प्रसाद (विपी) कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस भक्तपुरले पार्टी कार्यालयमा विपीको तस्विरमा माल्यार्पण तथा वृक्षारोपण गरेको छ ।
    सो अवसरमा नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले विपीले अंगिकार गरेको राजनीतिक, सामाजिक र साहित्यिक सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
    भर्खरै नेपालको राजनीतिले कोर्ष परिवर्तन गरेको उल्लेख गर्दै थापाले बदलिँदो परिस्थितीमा नेपालको संविधान, लोकतन्त्र, मुलुकको अस्मिताको रक्षा गर्ने दायित्व र जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आइपरेको बताउनुभयो ।


    उहाँले गएको निर्वाचनमा स्थायित्व र विकास दिन्छु भनी जनतासँग मत मागेर झण्डै दुई तिहाई बहुमत हासिल गरेका कम्युनिष्टहरुको घर झगडाले लथालिंग अवस्थामा पुगेको नेपालको राजनीति र जबरजस्ती भत्काउन खोजिएको संविधानलाई सही ट्रयाकमा हिँडाउने नेतृत्व कांग्रेसले लिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कांग्रेसको रहर भन्दा पनि परिस्थितीजन्य उपज हो । कम्युनिष्टले जनादेश बमोजिम काम गर्न सकेन ।’
    उहाँले कोभिड–१९ को महामारीबाट जनताको जनधनको रक्षा गर्ने प्रमुख प्राथमिकता सरकारको हुनुपर्नेमा जोड दिँदैं भन्नुभयो, पहिला जनता अनि विकासको मान्यता लिएर सरकार हिँड्नु पर्छ । कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।


    उहाँले आसन्न पार्टीको १४ औं महाधिवेशनको सन्दर्भमा जिल्लामा सौहार्दपूर्ण र स्वच्छ प्रतिष्पर्धा गरेर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । जिल्लाको नेतृत्वको दौडमा रहेका सबै नेताहरुलाई मैदान खुल्ला भएको र सबैले आ–आफ्नो समूह बनाई नेतृत्वको प्रतिष्पर्धामा आउन छुट भएको चर्चा गर्दै सभापति थापाले आन्तरिक प्रतिष्पर्धामा जो कोही अघिपछि भएपनि आउँदो स्थानीय र संघ प्रदेशको निर्वाचनमा पार्टी एक भएर अघि बढ्ने वातावरण निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रम संयोजक एवम् पार्टी उपसभापति हरिप्रसाद नेपाल र भक्तपुर क्षेत्र नं. १ का कांग्रेस सभापति जीवन खत्रीले विपीको समाजवादी चिन्तनलाई सबैले अंगिकार गर्न सके सबै नेपाली सुखी र खुसी हुने बताउनुभयो ।


    कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा ढकाल, केन्द्रीय नीति तथा प्रशिक्षण विभागका सदस्य सुरेन्द्र के सी, बागमति प्रदेशसभा सदस्यद्धय कृष्णलाल भँडेल र रजनी जोन्छें, पुर्व जिल्ला सभापतिहरु गणेशमान चक्रधर, महेश श्रेष्ठलगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

  • नेपाली कांग्रेसमा डिजिटल मतदान प्रविधि तयार – प्रतिनिधिले जिल्लाबाटै केन्द्रीय नेतृत्व चयन गर्न सक्ने

    नेपाली कांग्रेसमा डिजिटल मतदान प्रविधि तयार – प्रतिनिधिले जिल्लाबाटै केन्द्रीय नेतृत्व चयन गर्न सक्ने

    भक्तपुर, साउन ५
    नेपाली कांग्रेसले नेतृत्व चयनका लागि डिजिटल प्रविधि विकास गरेको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले १४ औं महाधिवेशनलाई लक्षित गरी डिजिटल प्रविधिमार्फत महाधिवेशन प्रतिनिधिहरुले जिल्लाबाट मतदान गर्न सक्ने व्यवस्था गरेको हो । तर यसको प्रयोगका लागि केन्द्रीय समितिले अनुमोदन गरी स्विकृत गर्नुपर्ने छ ।
    विभागका संयोजक एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समितिले आवश्यक ठानेमा ‘डिजिटल भोटिङ’का लागि प्रविधि तयार गरिएको बताउनुभयो । विभागको आज (मंगलवार) सम्पन्न तेस्रो पुर्ण बैठकपछि जारी विज्ञप्तीमा कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको जनाएको छ ।
    विज्ञप्तीमा ‘केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शुन्यबाट शुरु गर्नु नपर्ने गरि विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको’ उल्लेख छ ।
    ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको उक्त प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको जनाएको छ ।
    बैठकले ‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत तय गरेको र जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको विज्ञप्तीमा उल्लेख छ ।
    प्रविधि मैत्री अभियान अन्तर्गतको थप प्रगति बारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरुप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने निर्णय बैठकले गरेको छ ।
    त्यसैगरी बैठकले १४ औं महाधिवेशनको प्रचार प्रारम्भ गर्ने निर्णय गरेको छ । पार्टीको १४ औं महाधिवेशनको प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने निर्णय बैठकले गरेको छ । त्यस क्रममा बिषय केन्द्रित प्रचारलाई गहन बनाउन केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णय समेत बैठकले गरेको छ ।
    महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधार लगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै क्रियाशिल सदस्यबीच पु¥याउन आवश्यक दृष्टिगत गरि केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव दिनेश थापा मगरलाई दिइएको छ ।
    विभागले पहिलोपटक कांग्रेसमा वेबसाइटमार्फत क्रियाशील सदस्यताको अभिलेखिकरण (डाटा इन्ट्री) गर्ने काम गरेको थियो । कांग्रेसले वेवसाइटबाटै पार्टी सदस्यता लिन मिल्ने व्यवस्था गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६–१९ सम्म काठमाण्डौंमा हुँदैछ ।

  • भक्तपुरमा कांग्रेस नेताहरुको ध्यान नगरसभापति र वडाबाट प्रतिनिधि चयनमा केन्द्रीत

    भक्तपुरमा कांग्रेस नेताहरुको ध्यान नगरसभापति र वडाबाट प्रतिनिधि चयनमा केन्द्रीत

    जगत प्रजापति÷लक्ष्मी गारु, भक्तपुर, साउन ५
    नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिएसँगै भक्तपुरमा पनि यसको सरगर्मी शुरु भएको छ । जिल्ला, क्षेत्र र नगरसभापतिमा आकांक्षीहरुले टोल टोल र वडा वडामा क्रियाशिल सदस्यहरुसँग भेटघाट, भेला र कोठे बैठकलाई तिब्रता दिएका छन । स्थानीय चोकचोक र चिया गफमा समेत कांग्रेसको अधिवेशनबारे चर्चा परिचर्चा हुन थालेका छन ।
    पार्टीको १३ औं अधिवेशनको दौरान जिल्ला सभापतिको पहिलो चरणको निर्वाचनमा दुर्लभ थापा, अष्टकुमार कवे, राजाराम खड्का र गणेशमान चक्रधरले प्रतिष्पर्धा गरेका थिए । कवे र खड्का कोइराला–पौडेल खेमा तथा थापा र चक्रधर देउवा खेमाका भएपनि एक आपसमा सहमति हुन नसक्दा चारै जनाले पहिलो चरणमा सभापतिमा प्रतिष्पर्धा गरेका थिए ।
    तर कसैले पनि विधान बमोजिम ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा थापा र कवेबीच निर्वाचन भएको थियो । जसमा थापाले चक्रधर र खड्का समूहको सहयोगमा बाजी मारेको थियो ।
    भक्तपुरमा कांग्रेसका विभिन्न समूह क्रियाशिल रहेको देखिन्छ । जसमध्ये पार्टी सभापति दुर्लभ थापा, अष्ट कवे, गणेशमान चक्रधर, कविर राणा, विनोद प्रसाद कायष्ठ, महेश श्रेष्ठलगायतको समूह जिल्लामा क्रियाशिल रहेको स्रोतले बताएका छन ।
    कवे, श्रेष्ठ, राणा र कायष्ठ कोइराला–पौडेल समूहका हुन भने थापा र चक्रधर देउवा पक्षका हुन । यसका अलावा विभिन्न नेताहरुको उपसमूह पनि रहेको छ । जसको चलखेलले पनि जिल्लाको समिकरण र निर्वाचन परिणाममा बदलाव आउन सक्छ ।

    केन्द्रको समिकरणले पनि जिल्लामा प्रभाव पार्ने भएकाले भक्तपुरमा क्रियाशिल समूहहरु मध्ये अहिले नै यस्तै समिकरण बन्ने छ भन्ने आंकलन गर्न नसकिने अवस्था छ । यद्यपी केन्द्रमा विकसित नयाँ नयाँ समिकरणसँगै नेतापुत्रत्रय विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीचको बाक्लो हिमचिम र भेटघाटको असर जिल्लामा पनि परेको छ ।
    स्रोतका अनुसार भक्तपुरमा कवे, श्रेष्ठ, राणा र कायष्ठबीच गठबन्धन हुने पक्का भएको छ । चक्रधर समूह पनि कवेसँग गठबन्धनको तयारीमा रहेको बुझिएको छ । चक्रधरको समूहमा रहेका महासमिति सदस्य मदनकृष्ण श्रेष्ठ, चक्रधर र कवेलाई केन्द्रीय नेतृत्वले एक ठाउँमा उभिन सुल्झाएको स्रोतले बताए । यस्तो अवस्था आए यसपटक दुलर्भ थापाको टोलीले विभिन्न असन्तुष्ट समूह र स–साना उपसमूहलाई एकिकृत गरेर अघि बढ्ने तयारीमा रहेको बुझिएको छ ।
    यतिबेला सबै समूह आफ्नो रणनीति तय गरेर वडा र नगरसमितिका उम्मेदवार चयन गर्ने र नगरसभापतिसहित वडा वडाबाट प्रतिनिधि आफ्नो पक्षमा ल्याउने तयारी गरिरहेका छन ।
    मध्यपुर थिमि नगरसमितिको सभापतिमा चक्रधरले यसअघि पराजित भएका हरिदास प्रजापतिलाई अघि सारेका छन । त्यसैगरी थापा समूहले अहिलेकै सभापति सुरेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।
    कवेको समूहमा भने आकांक्षी धेरै भएकाले कसलाई अघि सार्ने भन्ने निक्र्यौल नभएको बुझिएको छ । यस समूहमा वडा नं. २ का वडाअध्यक्ष एवम् वडा सभापति राम थापा मगर, नगरसमिति सदस्य अनिल श्रेष्ठ, तरुण दलका पुर्वजिल्ला अध्यक्ष श्रीकृष्ण श्रेष्ठ सभापतिका आकांक्षी देखिएका छन । त्यसैगरी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले पनि नगरसभापति बन्ने आकांक्षा व्यक्त गरेका छन ।
    यसै समूहमा श्रेष्ठले ओमप्रकाश श्रेष्ठलाई नगरसभापतिमा अघि सार्ने तयारी गरेको स्रोतले बताएको छ । यद्यपी कवे, श्रेष्ठ र चक्रधरको समूहबीच एकता भए यस समूहबाट मध्यपुर थिमिमा कवेले चाहेका व्यक्ति सभापतिका उम्मेदवार बन्ने बताईएको छ ।
    स्रोतका अनुसार कोइराला–पौडेल खेमाले सूर्यविनायक नगरसभापतिमा कविर राणा समूहका रवि राणालाई उठाउने भएका छन । साविक अनन्तलिंगेश्वर नगर उपसभापति रहनुभएका राणा वरिष्ठ पत्रकार एवम् कांग्रेस नेता कविर राणाका भाई हुन । सूर्यविनायकमा कांग्रेस संस्थापन पक्ष देउवा खेमाका दुर्लभ समूहले जिल्ला सचिव निशान ढुंगेललाई उठाउने तयारी गरेको छ । ढुंगेल स्वयम्ले सभापति लड्ने इच्छा गरेका हुन ।
    त्यसैगरी चाँगुनारायण नगरपालिकमा कोइराला–पौडेल खेमाबाट चक्रधर समूहका शिवहरी के सीलाई नै सभापतिमा दोहो¥याउने तयारी गरेको छ । के सी वडा नं. २ का वडाअध्यक्ष समेत हुन । थापा समूहले चाँगुनारायणमा साविक महामञ्जु श्री नगरकोट नगरसभापति यादव प्रसाद अधिकारीलाई उठाउने तयारी गरेको स्रोतले बताए । यस समूहबाट जनक खत्री पनि आकांक्षी रहेको स्रोतको भनाई छ ।
    भक्तपुर नगर सभापतिमा थापा समूहले अहिलेकै सभापति राम अवाललाई अघि सार्ने तयारी गरेको छ । यहाँ कोइराला–पौडेल खेमाका कवे समूह कसलाई नगर सभापतिको उम्मेदवार बनाउने भन्ने बारे छलफल मै रहेको बुझिएको छ । यहाँ राणा र कायष्ठको पनि प्रभाव भएकाले तीनै पक्ष छलफलमा रहेको बताईएको छ ।
    भक्तपुरमा प्रदेश सभा निर्वाचन क्षेत्र समिति र प्रतिनिधि सभा क्षेत्रीय समितिका आकांक्षीहरु खुलेर सार्वजनिक भएका छैनन् । जिल्ला सभापतिको उम्मेदवार बन्न कांग्रेसमा पहिला महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ । अहिले नै जिल्ला सभापतिको उम्मेदवार घोषणा गर्दा महाधिवेशन प्रतिनिधिमै पराजित हुने हो की भन्ने डरले नेताहरु खुल्न नचाहेको बताए पनि केही नेताहरु भने खुल्न थालेका छन ।
    हाल महाधिवेशन प्रतिनिधि समेत रहनुभएका कवेले जिल्ला सभापतिमा उठ्ने जानकारी दिनुभयो । उहाँले त्यसका लागि वडा वडा र टोल टोलमा भेला र बैठक गरी तयारीलाई तिब्रता दिएको बताउनुभयो । उहाँले नगरका सभापतिहरुका लागि छलफल भइरहेको तर आकांक्षी धेरै भएका कारण टुंगो लाग्न बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरसभापतिका आकांक्षी धेरै छन । दुईचार दिनमा यसको पनि टुंगो लाग्छ । सकेसम्म छिटो निर्णय गर्ने योजना छ तर साथीहरुसँग छलफल भैरहको छ ।’
    जिल्ला सभापति थापाले सभापतिमा दोहो¥याउने भन्दा पनि साथीहरुको सरसल्लाहमा तल्लो तहदेखि जिल्लासम्म सबै ठाउँमा सबै साथीहरुलाई समेटेर निर्विरोध गरी जाने योजनामा रहेको बताउनुभयो । यसका लागि व्यापक छलफल भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको विषम परिस्थितीमा निर्वाचन मार्फत भन्दा पनि सहमति र सहकार्यमा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल भइरहेको छ । साथीहरु सकारात्मक छन ।’
    उहाँले जिल्लामा समिकरणको कुरा हल्ला मात्र भएको दावी गर्दै सबैलाई समेत्ने गरी नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो समूह र अरु जिल्ला स्तरिय नेताहरुको सुझावमा आफु सभापतिमा दोहो¥याउने वा नदोहो¥याउने निर्णय गर्ने बताउनुभयो ।
    चक्रधरले पनि समिकरणको कुरा हल्ला मात्र भएको प्रतिक्रिया दिनुभयो । उहाँले समूहका साथीहरुको सहयोग भए जिल्ला सभापतिमा आउने इच्छा रहेको बताउनुभयो । पुर्व जिल्ला सभापति समेत रहनुभएका चक्रधरले नगरसभापतिको विषयमा उम्मेदवारी दर्ता गर्ने बेला मात्र टुंगो लाग्ने बताउनुभयो ।

  • नेमकिपा अध्यक्ष बिजुक्छें र बागमति प्रदेशका मुख्यमन्त्री पौडेलबीच भेटवार्ता

    नेमकिपा अध्यक्ष बिजुक्छें र बागमति प्रदेशका मुख्यमन्त्री पौडेलबीच भेटवार्ता

    लक्ष्मी गारु, भक्तपुर, साउन ४
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीच सोमवार साँझ कमलविनायकस्थित बिजुक्छें निवासमा भेटवार्ता भएको छ ।
    सो अवसरमा अध्यक्ष बिजुक्छेँले प्रदेश आफ्नो क्षेत्रको विकासको लागि स्पष्ट योजनासहित अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा नेमकिपाले निरन्तर जोड दिँदै आएको बताउँदैं स्थानीय तहले नयाँ नयाँ स्रोतको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश र स्थानीय तहले केन्द्रको मुख ताकेर होइन आफ्नै भरमा विकास गर्नुपर्छ ।’


    अध्यक्ष बिजुक्छेंले वाम पक्षधरहरु निर्वाचित भएका प्रदेश र स्थानीय तहहरुमा इमानदारीपूर्वक काम हुनुपर्नेमा जोड दिँदैं भ्रष्टाचार रोक्न सके धेरै काम हुने र जनताले पनि सुख पाउने बताउनुभयो ।
    भेटमा मुख्यमन्त्री पौडेलले आफूसँग स्थानीय तहमा लामो समयसम्म काम गरेको अनुभव भएको बताउँदैं आफु स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा प्रदेश सरकारको ध्यान नपुगेको स्वीकार गर्दै स्वास्थ्य क्षेत्रमा भक्तपुर नपालाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


    उहाँहरुबीच देशको परिवर्तित राजनीतिक घटनाक्रमको विषयमा पनि छलफल भएको बताईएको छ । भेटवार्तामा बागमति प्रदेशमा नेमकिपाबाट निर्वाचित सांसदहरु सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु तथा नेकपा एमालेका प्रदेशसभा सदस्य दिपक निरौला, भक्तपुर नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीको पनि सहभागिता थियो ।
    मुख्यमन्त्री पौडेलले बिजुक्छेंसँग भेटवार्ता गर्नुअघि भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शैक्षिक संघसंस्था, ख्वप अस्पताल, ख्वप अस्पताल कोभिड वार्डको अवलोकन गर्नुभएको थियो भने भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिसँग छलफल गर्नुभएको थियो ।

  • एमालेका २२ सांसदले दिए देउवालाई विश्वासको मत (नामावली सहित)

    एमालेका २२ सांसदले दिए देउवालाई विश्वासको मत (नामावली सहित)

    भक्तपुर, साउन ४
    प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका २२ जना सांसदहरुले विश्वासको मत दिएका छन । नेकपा एमालेले सांसदहरुलाई देउवाको पक्षमा मत नदिन ह्वीप जारी गरेपनि २२ जनाले फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए ।
    देउवालाई मत दिने एमाले सांसदहरुमा यसअघि ओली समूहमा रहेका ८ जना पनि छन । वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १० जनाले पार्टी एकता जोगाउन भन्दै मतदानमा सहभागी नभई संसद भवनबाट बाहिरिएपनि ओली पक्षका ८ जनाले भने देउवाको पक्षमा मतदान गरेका थिए ।
    देउवालाई मत दिने एमाले सांसदहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।
    त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन ।

  • प्रधानमन्त्री देउवाले पाए संसदको विश्वास – पक्षमा १६५, विपक्षमा ८३ मत

    प्रधानमन्त्री देउवाले पाए संसदको विश्वास – पक्षमा १६५, विपक्षमा ८३ मत

    भक्तपुर, साउन ३
    प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आइतवार संसदमा प्रस्तुत विश्वासको प्रस्तावमाथि भएको मतदानमा उहाँले १६५ मत प्राप्त गर्नुभयो भने उहाँको विपक्षमा ८३ मत मात्र खसेको थियो ।
    मतदानमा सहभागी २४९ सदस्य मध्ये एक मत तटस्थ बसेका थिए । देउवाको प्रस्तावमा राप्रपाका सांसद राजेन्द्र लिंदेन तटस्थ बसेका थिए । त्यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल मतदानमा सहभागी भएन ।
    देउवालाई कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एमालेका २२, जनता समाजवादी पार्टीका ३२, राष्ट्रिय जनमोर्चाका एक जनाले मत दिएका थिए । देउवालाई संसद विश्वास पाउन १३६ मत आवश्यक थियो ।
    देउवाले प्रधानमन्त्री नियुक्त भएको चार दिनमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको हो । सर्वोच्चको परमादेश पछि संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री बनेका देउवाले धारा ७६ (६) अनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिनुभएको हो ।

  • प्रधानमन्त्री देउवाले राम्रा कामका लागि ओलीलाई धन्यवाद दिँदै विश्वासको मत दिन आग्रह गरे (सम्बोधनको पुर्ण पाठ सहित)

    प्रधानमन्त्री देउवाले राम्रा कामका लागि ओलीलाई धन्यवाद दिँदै विश्वासको मत दिन आग्रह गरे (सम्बोधनको पुर्ण पाठ सहित)

    भक्तपुर, साउन ३
    प्रधानमन्त्री शेरबहादुर देउवाले के पी शर्मा ओलीलाई राम्रो कामको लागि धन्यवाद दिनुभएको छ । देउवाले ओलीका कमी कमजोरीहरुलाई सच्याउँदैं अघि बढ्ने विश्वास व्यक्त गर्दै आफु संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गर्नुभयो ।
    संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दे प्रधानमन्त्री देउवाले राजनीतिक दलले साझा उदेश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नुपर्ने बताउनुभयो । उहाँले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताउनुभयो ।
    मन्तव्यको पूर्णपाठ ः
    माननीय सभामुख महोदय,
    प्रतिनिधि सभा विघटन पश्चात सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनःस्थापित भएको छ । आज सभाको आठौं अधिवेशन प्रारम्भ भईरहेको छ । म सबै भन्दा पहिले सबै माननीय सदस्यहरुलाई हार्दिक बधाई दिन चाहन्छु । नेपाली जनताको ठूलो त्याग, तपस्या र बलीदानले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । इतिहासको लामो कालखण्डमा लोकतन्त्रका लागि भएका राजनीतिक संघर्षमा बलीदान गर्ने सम्पूर्ण शहिदहरुलाई सम्मानपूर्वक स्मरण गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । लोकतन्त्रको स्थापना र संरक्षणका लागि योगदान गर्नु हुने सबै नेपाली नागरिककाप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
    पटक–पटकको प्रतिनिधि सभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्यौल र अनिश्चितताको स्थिति रह्यो । नेपालको संविधानको धारा ७६ (३) बमोजिम नियुक्त हुनु भएका निवर्तमान प्रधानमन्त्री माननीय के.पी. शर्मा ओलीजीले धारा ७६ (४) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत नलिई धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिलाई अनुरोध गर्नु भएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रकृया प्रारम्भ भयो । केही समयको राजनीतिक र संवैधानिक अभ्यास पश्चात म नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त भएको छु । र मेरो नेतृत्वमा मन्त्री परिषद् गठन भएको छ । मलाई प्रधानमंन्त्रीमा नियुक्त हुन सहयोग र समर्थन गर्नु हुने राजनीतिक दलका नेताहरु, माननीय सदस्यहरु लगायत सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । यो सरकारलाई भविष्यमा पनि निरन्तर सहयोग र समर्थन रहने विश्वास पनि लिएको छु ।
    माननीय सभामुख महोदय,
    अहिले मुलुक निकै जटिल अवस्थामा छ । विश्वव्यापी रुपले फैलिएको कोभिड–१९ को प्रकोपले हामी निकै प्रभावित भएका छौ । दैनिक रुपले संक्रमण बढी रहेको छ । मानिसहरुको मृत्यु भईरहेको छ । म कोभिड—१९ का कारण मृत्यु भएका सबैको आत्माको चीर शान्तिको कामना गर्दछु । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । अस्पतालमा उपचार गराईरहनु भएका सबैको शिघ्र स्वास्थलाभको कामना गर्दछु । कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि अहोरात्र खटेर काम गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाली नागरिकलाई कोभिड—१९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता हुनेछ । सरकारले कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि सबै उपायहरु अवलम्बन गर्नेछ भन्ने म प्रतिवद्धता व्यक्त गर्दछु ।
    माननीय सभामुख महोदय
    हामी यहाँ उपस्थित सबै राजनीतिक दलहरुको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यसको संरक्षण र सुदृढीकरण पनि हामी सबैको प्रयासबाट मात्र सम्भव छ । बहुदलिय व्यवस्थामा फरक–फरक राजनीतिक बिचार हुने तीनका बिचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना प्रत्यालोचना हुने विषयहरु स्वाभाविक र राम्रा हुन । ती आवश्यक पनि छन । तथापी हाम्रा केही साझा चुनौति, उद्देश्य र गन्तव्य छन । जस्का लागि हामीले सहकार्य र सहयात्रा गर्नु पर्छ । कोभिड—१९ हाम्रो तत्कालको चुनौति हो । गरीबी, वेरोजगारी, अशिक्षा जस्ता तमाम साझा समस्या छन । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान हाम्रा साझा विषय हुन । नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन हाम्रो साझा गन्तव्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमवाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु हामी सबैको साझा उद्देश्य हो । यसका लागि हाम्रा बिचमा सहकार्य र सहयात्राको आवश्यकता छ ।
    सभामुख महोदय,
    हामी सबैसंग आ–आफ्ना अनुभवहरु छन । माननीय के.पी. शर्मा ओलीले विगत साढे तीन वर्ष सरकारको नेतृत्व गर्नु भएको छ । वहाँले गर्नु भएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु । वहाको अनुभव हाम्रा लागि उपयोगी हुनेछ । विगतमा भएका राम्रा कामहरुलाई निरन्तरता दिदै कमी कमजोरी सुधार गर्दै लानु पर्नेछ । महत्वपूर्ण नयाँ कामहरु पनि गर्नुछ । देशमा सुशासन कायम गर्नुछ । यसका लागि सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरु बिच निरन्तर सम्वाद, सहकार्य र सामुहिक प्रयत्न आवश्यक छ भन्ने मेरो मान्यता छ र यसका लागि म सदैव प्रयत्नशिल रहने छु । हामी राजनीतिक दलहरु एक अर्काका शत्रु होईनौ बरु हाम्रा साझा उदेश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नु पर्दछ ।
    सभामुख महोदय,
    संसदीय लोकतन्त्रको स्थापनाका लागि देशमा लामो त्याग तपस्या र बलीदानपूर्ण संघर्ष भएको हो । संसदलाई अधिकार सम्पन्न, जिवन्त र क्रियाशिल बनाउनु पर्दछ । सरकार संसदप्रति उत्तरदायी रहनु पर्दछ भने संसदले सरकारका सबै गतिविधिप्रति ध्यान दिई अनुगमन गर्नु पर्दछ । यसले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ । निरन्तरको राजनीतिक अन्यौल, अनिश्चितता र अस्थिरताले लोकतन्त्रलाई नै कमजोर गर्दछ । तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिड्न जरुरी छ ।
    सभामुख महोदय,
    म नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्न सम्मानित प्रतिनिधि सभामा प्रस्तुत भएको छु । सबै माननीय सदस्यहरुले मलाई विश्वासको मत दिनु हुनेछ भन्ने विश्वास गरेको छु ।
    धन्यवाद !