Category: राजनीति

  • गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघद्धारा मसाल जुलुश प्रदर्शन

    भक्तपुर, जेठ ९
    नेपाल विद्यार्थी संघ भक्तपुरले बुधवार साँझ थिमिमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै मसाल जुलुश प्रदर्शन गरेको छ । नेविसंघले सहकारीको वचत अपचलन गृहमन्त्री लामिछाने संलग्न भएको आरोप लगाउँदैं उहाँको राजीनामा माग्र्दै मसाल जुलुश प्रदर्शन गरेको हो ।
    थिमिको बहाखाबजारबाट शुरु भएको मसाल जुलुश शंखधरचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीहरुले केही बेर सडक समेत अवरोध गरेका थिए ।
    प्रदर्शनका क्रममा सहभागीहरुले सहकारी ठगलाई कारवाही गर, गृहमन्त्री राजीनामा दे, गिरीबन्धु टि स्टेटको जग्गा प्रकरणका दोषीलाई कारवाही गर, सहकारीको वचत फिर्ता दे लगायतका नारा लगाएका थिए ।

     

  • नेकपा एमाले जिल्ला अध्यक्षमा पुनः देउजा निर्वाचित (मत परिणामसहित)

    भक्तपुर, जेठ ६
    नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा पुनः वचन देउजा निर्वाचित भएका छन । एमालेको ९ औं जिल्ला अधिवेशन अन्तर्गत शनिवार सम्पन्न निर्वाचनमा अध्यक्षका अर्को उम्मेदवार मोहनवीर श्रेष्ठलाई पराजित गर्दै देउजा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
    निर्वाचनमा एमालेका ४९८ प्रतिनिधि मध्ये ४९१ मत खसेको थियो । जसमा देउजा २९० प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रत्याशी श्रेष्ठले २०१ मत प्राप्त गर्नुभयो ।
    एमालेको उपाध्यक्षमा किरण थापा निर्वाचित हुनुभयो । बागमती प्रदेशसभा सदस्य थापाले सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई पराजित गरेको हो । थापाले २६२ मत प्राप्त गरे भने बासुदेवले २२९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाए ।
    सचिवमा विष्णु तामाङ्ग २७५ मतका साथ विजयी हुँदा उहाँका प्रतिष्पर्धी शम्भुप्रसाद दाहालले २१६ मत प्राप्त गर्नुभयो । उपसचिव महिलामा उत्तरा नेपाल २१८ मतका साथ विजयी हुँदा सुचित्रा श्रेष्ठ प्रधानाङ्गले २०७ र जुना बस्नेतले ६६ मत प्राप्त गर्नुभयो ।
    उपसचिव पुरुषमा सानुकाजी कायस्थ निर्वाचित हुनुभयो । उहाँले २५४ मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी राजकुमार जोशीले २३७ मत प्राप्त गर्नुभयो । दुवै जना सूर्यविनायक नगरपालिकाका वडा अध्यक्षहरु हुन । कायस्थ वडा नं. १ र जोशी वडा नं. ५ का वडाअध्यक्ष हुन ।
    खुल्ला सदस्यमा अनिलकुमार श्रेष्ठ, राधाकृष्ण न्यौपाने, रमेश बुढाथोकी, राजु सुवेदी, राजकुमार बुढाथोकी, निरञ्जन बजगाईं, अशोकराज ढुंगेल, दिपेन्द्र थापा, कृष्णहरु िमहत, राष्ट्र सम्शेर थापा, रामेश्वर बोहरा, साधुराम दाहाल विजयी भए ।
    खुल्ला महिला सदस्यमा पवित्रा गेलाल, सावित्री थापा, जयन्ती महत, तारा खतिवडा सापकोटा, सरिता तिम्सिना भट्टराई, र शर्मिला बस्नेत निर्वाचित भए ।
    भूगोलतर्फ मध्यपुर थिमि नगरको खुल्लामा विष्णु श्रेष्ठ, प्रकाश थापामगर, अनिश आचार्य, उमेश श्रेष्ठ, राजेश बानिया, शैलेन्द्र कुमार श्रेष्ठ र नारायण प्रसाद न्यौपाने निर्वाचित भए ।
    भूगोलको मध्यपुर थिमि महिलामा रामकेशरी श्रेष्ठ, तुलसा प्रजापति, शकुन्तला श्रेष्ठ र इन्दु शर्मा निर्वाचित भए ।
    चाँगुनारायण नगरपालिका भूगोल खुल्ला सदस्यतर्फ गणेश प्रससाद दुलाल, दिनेश लामिछाने, रामप्रसाद दाहाल, शालिकराम लामिछाने, लक्ष्मण तिमिल्सिना, धनबहादुर लामा, इश्वर थापा, राजन श्रेष्ठ, रमेश खनाल, केशव काफ्ले विजयी भए ।
    त्यसैगरी चाँगुनारायण नगरपालिका भूगोल महिलातर्फ कृष्णप्यारी थापा, पवित्रा तिमिल्सिना, मञ्जु थापा, जानुसिंह ठकुरी निर्वाचित भए ।
    सूर्यविनायक नगरपालिका भूगोल खुल्ला सदस्यमा प्रेमबहादुर कार्की, कृष्णहरी पहाडी, श्यामकाजी मानन्धर (अनिल), गोविन्द चौंलागाई, शिवराम राउत, भोला राउत, श्रीराम व्यान्जु, उत्तम थापा, मनकराम थापा, विवेक श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, सुमन परियार, उमेश बस्नेत, केपी न्यौपाने, मोहनकृष्ण श्रेष्ठ र मनोज थापा निर्वाचित भए ।
    सूर्यविनायक नगरपालिका भूगोल महिलातर्फ पविता श्रेष्ठ, पार्वती नगरकोटी, शोभा केसी, कमला पोखरेल, अनिता पाण्डे, गिता बिसुंके पुर्कुटी, तारा खड्का बस्नेत र रामेश्वरी थापा निर्वाचित भए ।
    भक्तपुर नगरपालिका भूगोल खुल्लातर्फ सागर द्योला, कृष्णगोविन्द सुवाल, नरेश दुवाल र रुकेश रञ्जित निर्वाचित भए ।
    जिल्ला खुल्ला युवा सदस्यमा निरोज नगरकोटी, प्रकाश लामिछाने, प्रदिप थापा र चित्रबहादुर लामा, जिल्ला खुल्ला युवा महिलामा कविता श्रेष्ठ र विना बस्नेत निर्वाचित भए ।
    युवा सदस्य चाँगुनारायण नगरपालिकाबाट रोशन दाहाल, भक्तपुरबाट राजाराम सुवाल, सूर्यविनायकबाट दिपेश खत्री र पुष्पराज बस्नेत, मध्यपुर थिमिबाट जेके अधिकारी निर्वाचित भए ।
    युवा सदस्य महिलामा मध्यपुर थिमिबाट सरिता श्रेष्ठ, उत्पीडित क्षेत्र खुलामा रामकृष्ण मिजार, पुजन त्रिखत्री, उत्पीडित महिला भगवती परियार र अनु बयलकोटी, खुल्ला नेवार जनजातीमा ज्ञानकुमार मकै र इन्द्र प्रधान, खुल्ला नेवार जनजाती महिलामा हिरा श्रेष्ठ, खुल्ला गैर नेवार जनजातीमा कान्छा तामाङ्ग र अजय तामाङ्ग निर्वाचित भए ।
    यसैगरी लेखा समिति संयोजकमा राजकुमार लामिछाने (प्रिन्स), सदस्यहरुमा रामकृष्ण पोखरेल, राम सुवेदी, पुष्पराज ढकाल, र सुरज परियार विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

  • नेकपा एमाले भक्तपुरको ९ औं जिल्ला अधिवेशन बिहिवारदेखी शुरु हुने

    भक्तपुर, जेठ २
    नेकपा (एमाले) भक्तपुरको ९ औं अधिवेशन बिहिवारदेखी शुरु हुनेभएको छ । दुई दिने अधिवेशनले नेकपा एमाले भक्तपुरको नयाँ नेतृत्व चयन समेत गर्ने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
    अधिवेशनमा पार्टीको विधान अनुसार जिल्लाका ४ वटै तहका वडाबाट चयन भएका प्रतिनिधि, जनवर्गिय संगठनका प्रतिनिधि, जिल्ला कार्यसमितिले मनोनित गरेका, सल्लाहकार परिषद र आयोजक समिति गरी कुल ४९८ जना प्रतिनिधिहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष वचत देउजाले जानकारी दिनुभयो ।
    चुनदेवीस्थित इम्पेरियल बैंक्वेटमा हुने अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छ । अबिधेशनको बन्द सत्रमा पार्टीको राजनीतिक, संगठानिक, आर्थिक तथा लेखा प्रतिवेदन प्रस्तुत हुनेछ ।
    अध्यक्ष देउजाले ९ औं जिल्ला अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न समितिहरु बनाएर काम गरेको बताउनुभयो । उदघाटन कार्यक्रम भव्य बनाउन भक्तपुरका दुई ठाउँमा पार्टीका नेता, कार्यकर्ता भेला भएर ¥यालीसहित उदघाटन स्थलमा आउने कार्यक्रम रहेको देउजाले बताउनुभयो ।
    उहाँका अनुसार सल्लाघारी चोकमा मध्यपुर थिमि नगर कमिटीका सबै बडाहरु, सूर्यविनायक नगर कमिटीका वडा नं १, २, ३, ४ र ५ साथै चाँगुनारायण नगर कमिटीका वडा न. १, २ र ३ का सहभागी भेला हुने छ ।
    यसैगरी सूर्यविनायक चोकमा भक्तपुर नगर कमिटीका सबै वडाहरु, सूर्यविनायक नगर कमिटीका बडा नं. ६, ७, ८, ९ र १० साथै चाँगुनारायण नगर कमिटीका वडा नं.४, ५, ६, ७, ८ र ९, का सहभागी भेला भएर उद्घाटनस्थल पुग्ने छ ।

     

  • नेविसंघले बुझाए सरकारलाई ६ बुँदें ज्ञापनपत्र

    भक्तपुर, जेठ १
    नेपाल विद्यार्थी संघ भक्तपुरले मंगलवार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
    नेविसंघले सहकारी वचतकर्ताहरुको वचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न माग गरेको छ ।
    ज्ञापनपत्रमा सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समिति गठन गर्न समेत माग गरेको छ ।
    नेविसंघले शिक्षा विधेयक तत्काल लागु गर्न समेत माग गरेको छ । “विद्यार्थी केन्द्रित आवश्यक विद्येयक परिमार्जन तथा संशोधन सहित विद्यालय शिक्षा विधेयक २०८० तत्काल लागू गर्न माग गर्दछौं,” ज्ञापनपत्रमा उल्लेख छ ।


    उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउन र विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न समेत नेविसंघले माग गरेको छ ।
    नेविसंघले भक्तपुरमा रहेका संस्थागत विद्यालयहरूमा शुल्कलाई नियमन गर्न र सार्वजनिक विद्यालयमा २१ औं शताब्दी मैत्री अध्यापन पद्धति तथा गुणस्तरीय शिक्षा लागू गराउन समेत माग गरेको छ ।
    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले ज्ञापनपत्रलाई तत्काल सम्बन्धीत निकायमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै जिल्लामा सहकारीको अनियमितता नियन्त्रण गरी सर्वसाधारणको वचतको सुरक्षा गर्ने र समग्र जिल्लाको सुरक्षा व्यवस्था चुष्ट पारिएको जानकारी दिनुभयो ।
    ज्ञापनपत्र बुझाउन नेविसंघ भक्तपुरका अध्यक्ष बद्रीराम थापाको नेतृत्वमा टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

  • पारदर्शीता र सुशासन एकअर्काको पुरक ः राष्ट्रपति पौडेल

    भक्तपुर, बैशाख २७
    राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताउनुभएको छ । उहाँले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गर्नुभयो ।
    नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) द्वारा आयोजित कार्यक्रमको विहिबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
    “मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोको रुपमा पनि लिन सकेका छौं, हरबखत् चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखापरीक्षकको उच्चतम धर्म हो, आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो, तसर्थ, न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ”, उहाँले भन्नुभयो ।
    लेखापरीक्षकहरुको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गर्दै उहाँले सम्बन्धित निकायलाई पारदर्शी र जवाफदेही बनाउन चार्टर्ड एकाउण्टेण्टको विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्वपूर्ण हुन्छ भन्नुभयो ।
    “कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता हो, देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ, विकास निर्माणका ठूलो खर्चमा प्रयोग हुन सक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखापरीक्षणबाटै सम्भव हुनसक्दछ”, उहाँले भन्नुभयो ।

  • संघीय व्यवस्थाको बारेमा जनताले प्रश्न गर्न थालेका छन – नेता सिंह

    भक्तपुर, बैशाख १२
    नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् सांसद प्रकाशमान सिंहले लोकतन्त्र, संघीय व्यवस्था र प्राप्त राजनैतिक उपलब्धीको विषयमा जनताहरुले प्रश्न गर्न थालेको बताउनुभएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अमर नक्षत्र एवम् नेपाली कांग्रेसका अग्रपंक्तिका नेता स्व. जगन्नाथ आचार्यको १०१ औं जन्म जयन्तीको अवसरमा मंगलवार भक्तपुरको कौशलटारमा आयोजित कार्यक्रममा नेता सिंहले लोकतान्त्रिक संघीय व्यवस्थासहितको संविधान जारी भई दुई पटक तीनै तहको निर्वाचन सम्पन्न भएर सरकार गठन भएतापनि आवश्यक ऐन कानूनहरु अझै बन्न नसक्दा जनताहरुले प्रश्न गर्न थालेको बताउनुभयो ।
    जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आयोजित कार्यक्रममा नेता सिंहले भन्नुभयो, केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के हो ? खोई त ? भन्ने त आइरहेको छ नी । किन त भन्दा हामीले आवश्यक संघीय कानूनहरु समयमा बनाउन नसकेको कारणले हो ।
    उहाँले कांग्रेस अहिले प्रतिपक्षमा भएता पनि विधेयक ल्याउन र त्यसमा छलफल गर्न संसदमा अवरोध नगरेको बताउँदैं सहकारीको रकम अपचलन, हिनामिना र ठगीमा संलग्नलाई मन्त्रीमा राख्न हुँदैन भनेर ती मन्त्रीहरुको मात्र विरोध गरेको स्पष्ट पार्नुभयो ।


    उहाँले सहकारीका विषयमा कांग्रेसले उठाएको मुद्दाको संसदमा सामना गर्न नसकेर सरकारले संसद अधिवेशन अन्त्य गरेको आरोप समेत लगाउनुभयो । उहाँले लगानी सम्मेलनमा आउने लगानीकर्ताको आकर्षण र सहजताको लागि अध्यादेश मार्फत ऐन संशोसन गर्नुभन्दा संसदबाट विधिसम्वत तरिकाले संशोधन गरेको भए लगानीकर्ताहरु थप उत्साहीत हुने बताउनुभयो ।
    उहाँले पार्टीभित्र कमीकमजोरी भइरहेको अवस्थामा सबै तहका नेताहरुले सो विषयमा बोल्नुपर्छ भन्ने सन्देश स्व. आचार्यको जीवनले दिने बताउनुभयो । उहाँले अधिकारको लागि लामो संघर्ष गर्ने नेताहरु अधिकार प्राप्तीपछि त्यसलाई संरक्षण र सुदुपयोग गर्नेक्रममा बाटो बिराउन थाले नेता कार्यकर्ताहरुले खबरदारी गर्नुपर्ने खाँचो औंलउनुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले स्व. आचार्य हक्की र निडर नेता भएको चर्चा गर्दै तत्कालीन शक्तिशाली पार्टी नेता गिरिजा प्रसाद कोइरालासँग समेत मतभेद राख्न सक्नु उहाँको विषेशता भएको बताउनुभयो ।
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले स्व. आचार्य क्रान्तिकारी, जुझारु र सशक्त नेता भएको स्मरण गर्नुभयो ।
    बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले स्व. आचार्यले बनाएको कांग्रेसको धरातल र आधारको जगमा उभिएर नै अहिले भक्तपुरका कांग्रेस बलियो राजनैतिक शक्ति बनेको बताउनुभयो ।


    नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीले २०४६ सालको जनआन्दोलनमा काठमाण्डौं उपत्यकाको कमाण्डर रहेका स्व. आचार्यको राजनैतिक जीवनलाई स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने र उहाँको शालिक स्थापना गरेर नयाँ पुस्तालाई उहाँको जीवनीका बारेमा जानकारी दिनुपर्ने बताउनुभयो ।
    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले लोकतन्त्र र जनताको अधिकार रक्षाका लागि स्व. आचार्यको सिद्धान्तलाई मार्ग निर्देशनको रुपमा अंगिकार गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक शक्तिहरु एकजुट हुन आवश्यक भएको बताउँदैं स्व. आचार्यलाई प्रेरणाको स्रोतको रुपमा लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
    कार्यक्रममा स्व. आचार्यका राजनैतिक सहकर्मी नेपाली कांग्रेस भक्तपुरका पूर्वसभापति एवम् पूर्व सांसद लेखनाथ न्यौपानेलाई सम्मान गरिएको थियो ।
    प्रतिष्ठानका अध्यक्ष विनोद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानीत लेखनाथ न्यौपाने, कांग्रेस भक्तपुरका अग्रज नेता रामप्रसाद दवाडी, नेपाली कांग्रेस मध्यपुर थिमि ३ नं. वडा सभापति कृष्णहरी आचार्यलगायतले स्व. आचार्यको राजनैतिक जीवन र उहाँले भूमिसुधारका विषयमा गरेका सुधारका कार्यको चर्चा गर्नुभएको थियो ।

     

  • नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ को कार्यालय कमलविनायक दोपाटीसगैं सर्यो

    भक्तपुर, बैशाख ११
    नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ र प्रदेश समिति १ (क)को पार्टी कार्यालय कमलविनायक दोपाटीसगंै सरेको छ । यसअघि इटापाको जय नेपाल चोकमा रहेको कार्यालय सोमवारदेखी कमलविनायक सरेको हो ।
    कार्यालय स्थानान्तरणपछि आयोजित कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले उद्घाटन गर्दै पार्टी कार्यालय भक्तपुर क्षेत्र नं. १ का जनतालाई पायक पर्ने स्थानमा सरेकोले संगठन बिस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    उहाँले पार्टी संगठनसँगै विकास निर्माणका कार्यमा समेत सहकार्य गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिँदैं जनताका वास्तबिक समस्याको पहिचान गरी पार्टीलाई जनताका जनजिविकासँग समिपमा राख्न सुझाव दिनुभयो ।
    उहाँले संगठन विना विकास सम्भव नभएको बताउँदैं पार्टीका बारेमा सामाजिक सञ्जालमा अनेक टिका टिप्पणी गर्ने, पार्टीका कार्यक्रममा सक्रियता नदेखाउने र गैर जिम्मेवार भएर हिँड्नेको कुरा पार्टीले नसुन्ने चेतावनी दिनुभयो ।
    “हिजो देशमा यत्रो परिवर्तन ल्याउने कांग्रेस आज त्यस्तै गैर जिम्मेवार कार्यकर्ताका कारण बदनाम भएको र कमजोर हुने अवस्था आएको छ,” उहाँले भन्नुभयो, “अब यसरी चल्दैन । त्यस्ता गैर जिम्मेवार व्यक्तिका कुरा पार्टीले सुन्नुपर्छ भन्ने छैन ।”
    उहाँले हिजो जन्मेको रवि लामिछाने जस्ताले ईतिहास बोकेका, जनताको मुक्तिका लागि लडेका नेता कार्यकर्तालाई ललकारेको देख्दा र त्यसैको लहलहैमा स्वार्थ लुट्न नपाएका आफ्नै पार्टी भित्रका नेता कार्यकर्ताले गर्ने गरेको विरोधले आफु आश्चर्यमा परेको बताउदै स्वार्थका लागि र कमाउनका लागि कांग्रेसमा लागेको भए अरू पार्टीमा जान सुझाव दिनुभयो ।


    उहाँले पार्टीले गरेका राम्रा कामको तारिफ र नराम्रा कामको विरोध पार्टीमा आएर गर्न सक्नुपर्ने बताउँदैं फाईदा हुँदा ठिक र नभए बेठिक भन्नेका पछाडी नलाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
    कार्यक्रममा क्षेत्रिय सभापति एवं चागुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले कार्यकर्ता र नेताहरूका गुनासोहरू सधै सुन्ने गरेको बताउँदैं पार्टी कार्यालय जुनसुकै समय पनि खुल्ने र केही विषयमा छलफल र बहश गर्नुपर्ने भए पार्टी कार्यालयमा आउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
    उहाँले केही प्रतिक्रियावादीहरुले कांग्रेसप्रति लगाएका केही भ्रमपूर्ण आरोपलाई चिरेर अघि बढ्नुपर्ने खाँचो रहेको औंल्याउँदैं पार्टी एक र्भर अघि बढे प्रतिक्रियावादीहरु आफैं परास्त हुँदैं जाने बताउनुभयो । “सामूहिक रूपमा अगाडि बढौ । तेरो मेरो नभनी हाम्रो र हामी भनी अगाडि बढौ । आरोप प्रत्यारोपमा नलागौं,” उहाँले भन्नुभयो ।
    कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गंगा अवाल, प्रदेश सासद सुरेस श्रेष्ठ, क्षेत्र नम्वर २ का क्षेत्रिय सभापति भेष बहादुर कार्की, बागमती प्रदेशका पुर्व राज्यमन्त्री रजनी जोन्छे, चाँगुनारायण नगर समितिका सभापति शिवहरी के सी, जिल्ला सचिब सुशिल बस्नेतलगायताका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

  • आज लोकतन्त्र दिवस मनाईंदैं

    भक्तपुर, बैशाख ११
    आज बैशाख ११ । लोकतन्त्र दिवस । २०६२ सालमा शुरु भएको दोस्रो जनआन्दोलनको बलमा २०६३ बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रको जहानियाँ प्रत्यक्ष शासनको अन्त्य भएको थियो । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।
    सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो ।
    २०५९ जेठ ८ गते विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले पुनःस्थापना गरे । सोही संसदको २०६३ जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।
    विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजा ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै÷हटाउँदै गरे ।
    विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो । तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो ।
    २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा काठमाडौं केन्द्रित निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए । काठमाडौंको चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए ।


    आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनसर््थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । उनले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरे । यसैले यही वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।
    विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।
    यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।
    विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । जसअनुसार देशमा तीन तहको सरकार कायम छन् ।

     

  • मृतक डाँगीलाई शहिद घोषणा गर्न राप्रपा सहमहामन्त्री शाहको माग

    भक्तपुर, बैशाख ४
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनको क्रममा मारिएका पार्टी कार्यकर्ता ठाकुरप्रसाद डाँगीलाई सरकारले सहिद घोषणा गर्न माग गरेको छ । रफत सञ्चार क्लव भक्तपुरले मंगलवार आयोजित अन्तरसंवाद कार्यक्रममा राप्रपाका सहमहामन्त्री रविन्द्र प्रताप शाहले गत चैत्र २७ गते काठमाण्डौंमा भएको प्रदर्शनमा घाईते भएर उपचारका क्रममा मृत्यु भएका आफ्ना कार्यकर्ता डाँगीलाई शहिद घोषणा गर्नुपर्ने माग गर्नुभएको हो ।
    उहाँले सरकारले डाँगीलाई शहिद घोषणा नगरे राप्रपाले कडा सडक आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ । उहाँले भन्नुभयो, “शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा घाईते भएका डाँगीलाई शहिद घोषणा गर्नुपर्ने राप्रपाको माग छ । सरकारले शहिद घोषणा नगरे कडा आन्दोलन गर्ने र सरकारले यसको मूल्य चुकाउनु पर्ने छ ।”
    उहाँले सरकारका गृहमन्त्रीले शान्तीपूर्ण रुपमा परिचालन गरिएको अन्दोलनमा जसरी दमन गरे त्यो नेपालकै इतिहासमा अक्षम्य रहेको बताउँदै अन्दोलनमा गरिएको दमनको निन्दा गर्नुभयो ।
    उहाँले राप्रपाको बैशाख १६ र १७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थप अन्दोलनको घोषणा गर्ने स्पष्ट पार्नुभयो । गणतन्त्र असफल भईसकेको जीकिर गर्दैँ शाहले राष्ट्रपतिको स्थानमा राजातन्त्र नभई राजसंस्था स्थापन गर्ने राप्रपाको मूल एजेन्डा भएको बताउनुभयो ।

     

     

  • बहुलराष्ट्रिय राज्य स्थापना नभएसम्म अभियान नरोकिने, उद्घोष भद्रकाली प्रदर्शनमा पक्राउ परेकाहरुको तत्काल रिहाईको माग

    काठमाडौं, चैत्र २८  ।

    भद्रकाली प्रदर्शनको क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरिए चौकी घेराउसम्मका विरोध कार्यक्रम गर्ने नेवाः राष्ट्रिय परिषदले जनाएको छ । राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गतको नेवाः राष्ट्रिय परिषदले हिजाे सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । कार्यक्रमका वक्ताहरुले शनिबार भएको शान्तिपूर्ण सांस्कृतिक र्यालीमाथि राज्यले बरबरता देखाएको भन्दै पक्राउ परेकाहरुको तत्काल रिहाईको माग गरेका हुन् ।


    कार्यक्रममा बोल्दै नेवाः राष्ट्रिय परिषदका संयोजक सुमन सायमीले राज्यले नागरिकको शान्तिपूर्ण रुपमा सांस्कृतिक प्रदर्शन पाउने संवैधानिक अधिकार खोसेको बताए । शान्तिपूर्ण रुपमा भएको सांस्कृतिक प्रदर्शनमा प्रहरीले महिला, बौद्ध भिक्षुहरुलाई समेत निर्घात कुटपिट गरेको र अस्पतालमा उपचाररत घाइेतलाई समेत पक्राउ गरेको बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा यस्तो हुन्छ भने यो लोकतन्त्रकै उपहास हो । हाम्रा ६ जना साथीहरु अझै हिरासतमै छन् । उनीहरुलाई बुधबारसम्ममा निःशर्त रिहा नगरिए हामी चौकी घेराउसम्मका विरोध कार्यक्रम अघि बढाउनेछौं’ संयोजक सायमीले भने ।
    गत चैत्र २४ गते शनिबार परिषदले बसन्तपुरबाट सांस्कृतिक र््याली निकालेको थियो । सो र््याली बसन्तपुरबाट काठमाडौंको विभिन्न क्षेत्रबाट टुँडिखेल हुँदै भद्रकाली पुगेको थियो । भद्रकाली पुगेपछि प्रहरीले निषेधित क्षेत्र भन्दै रोक्न खोज्दा त्यहाँ दुवै पक्षबीच झडप भएको थियो । झडपको क्रममा प्रहरीले चिवर लगाएका बौद्ध भिक्षुलाई समेत लात हान्दा यसको सर्वत्र आलोचना र विरोध भइरहेको छ । यद्यपि प्रहरीले भने बौद्ध भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारवाही गर्ने बताइसकेको छ ।
    आजको पत्रकार सम्मेलनमा बोल्दै अभियानका संयोजक राजेन्द्र महतोले भिक्षुलाई दुर्व्यवहार भएकोमा प्रहरीलाई कारवाही गरेर नपुग्ने भन्दै गृहमन्त्रीले माफी माग्नुपर्ने माग राखेका छन् । ‘शान्तिपुर्ण सांस्कृतिक प्रदर्शनमा आएकालाई टाउको फुटाइदिने, धिमेय्, डम्फु, झ्याम्टालगायतका सांस्कृतिक बाजा फुटाइदिने, भिक्षुलाई लात हान्ने । यो सबैको जिम्मेवारी गृहमन्त्रीले लिएर माफी माग्नुपर्छ । माफी नमाग्ने भए गृहमन्त्रीले राजिनामा दिए हुन्छ’ महतोले भने । साथै महतोले बहुलराज्य स्थापना, र नेपाः मण्डल प्रदेश घोषणा नभएसम्म आफुहरुको अभियान नरोकिने उद्घोष गरे । राज्यले नै आदिवासी जनजाति समुदायको पहिचान मेटाउने लागिपरेको आरोप लगाउँदै महतोले सबैको अस्तित्व स्थापित गर्न आफुहरुले अभियान थालेको बताए । ‘माइतीघर हैन, फिब्वख्यः हुनुपर्यो, टुँडिखेल होइन, तिंख्यः नै हुनुपर्यो र बागमति प्रदेश होइन, नेपाःमण्डल प्रदेश हुनुपर्यो नेवाः समुदायको भुमिमा । एकनश्लीय सोच र नीति कसैलाई पनि स्वीकार छैन’ संयोजक महतोको भनाई हो ।
    स्वनिगः विशेष ब्यूरोका संयोजक रविन्द्र कुमार श्रेष्ठले शान्तिपूर्ण प्रदर्शनमा बौद्ध भिक्षु, रमजानको व्रत बसिरहेका मुस्लिम समुदायमाथि मात्र नभई, प्रदर्शनमा सहभागी नै नभएका भद्रकालीमा दर्शन गर्न आएका तामाङ दर्शनार्थीहरुलाई समेत प्रहरीले लखेटी लखेटी कुटपिट गरेको आरोप लगाए । कार्यक्रमका अन्य वक्ताहरुले सबैको अपनत्व हुने, समानता र समावेशी प्रतिनिधित्वसहितको बहुलराष्ट्रिय राज्य स्थापनाका लागि पटक पटक भद्रकालीमा भेला हुने र पटक पटक टाउकोमा लाठी खान तयार रहेको भन्दै एकलजातीय राज्य अन्त्य हुनुपर्ने माग गरेका थिए । पत्रकार सम्मेलनमार्फत बहुलराष्ट्रिय राज्य स्थापनार्थ सम्पूर्ण नेपालीहरु एक हुन आह्वान गरिएको छ ।