Category: राजनीति

  • भक्तपुर नगरपालिकाको १६ औं नगरसभा शुरु

    भक्तपुर, असार ८
    भक्तपुर नगरपालिकाको १६ औं नगरसभा बैठक शुक्रवार शुरु भएको छ । बैठकको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमले जनताको गाँस, बाँस र रोजगारीको बन्दोबस्त गर्नुपर्नेमा जोड दिनुभयो ।
    उहाँले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुले आआफ्नो निर्वाचन क्षेत्रमा बसी त्यस ठाउँको विकासतर्फ जोड दिनुपर्ने बताउँदै कृषिजन्य खाद्यान्न विदेशबाट आयात रोक्न कृषि क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो ।
    प्रधानमन्त्री कार्यकारी प्रमुख भएको हुँदा प्रधानमन्त्रीको निर्देशन पालना नगर्नेहरुलाई बर्खास्त गर्नुपर्छ भन्दै उहाँले नेपालको प्राकृतिक स्रोतसाधन नेपाललाई नै अपुग भएको हुँदा विदेशीलाई बेच्न नहुने धारणा राख्नुभयो ।
    भक्तपुर नपाले नगरपालिकाभित्र दर्ता नभएका सहकारी संस्थाहरु सञ्चालनमा रोक लगाउनुपर्नेमा जोड दिंदै उहाँले समस्याग्रस्त सहकारी संस्थाहरुको अनुगमनमा सम्बन्धित निकायले क्रियाशीलता देखाउनुपर्छ भन्नुभयो ।
    संघ र प्रदेशहरुले स्थानीय तहहरुको विकास निर्माणको काममा हस्तक्षेप गर्न नहुने धारणा राख्दै उहाँले विकास निर्माणमा स्थानीय जनताको सहभागिता, श्रमदानसहितको उपभोक्ता समितिमार्फत आर्थिक अनुशासन, मितव्ययी र पारदर्शी रुपमा सम्पन्न गर्नुपर्छ भन्नुभयो ।
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भक्तपुर नगरको चौतर्फी विकासको निम्ति नगरपालिकाले गरेका हरेक कार्यमा नगरबासीहरूको संधै साथ र सहयोग प्राप्त हुँदै आएको स्मरण गर्नुभयो । सोही क्रममा नगरको विकासको निम्ति विगतदेखि वर्तमानसम्म विभिन्न भूमिकामा रही प्रत्यक्ष र अप्रत्यक्ष साथ र सहयोग गर्ने सबैमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।
    नगरपालिकाले संविधान र कानुनले दिएका अधिकारभित्र रही भक्तपुर बासीहरूको हितलाई केन्द्रमा राखेर कार्य गर्दै आएको चर्चा गर्दै उहाँले स्थानीय निर्माणले राष्ट्रिय स्तरको सेवा दिने भावनाअनुरुप काम गर्दै आएको र निर्वाचन घोषणापत्रमार्फत जनतालाई दिएको वचन एक एक गरी पूरा गर्ने चरणमा रहेको बताउनुभयो ।
    भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले विभिन्न सीपमूलक तालिम, युवा उद्यामशील ऋण प्रवाह गरी युवाहरुलाई व्यवसाय गर्न प्रोत्साहन गर्दै आएको बताउनुभयो ।
    जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत अशोककुमार पोखरेलले कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण लगायतका कार्य गर्दै आइरहेको बताउनुभयो ।
    ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालको ब्रम्हायणी भवनबाट आइसीयु सेवा सञ्चालन गरिने जानकारी गराउनुभयो ।
    ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवालले कलेजहरुको गुणस्तरीय शिक्षा कार्यान्वयनको लागि शिक्षक कर्मचारीहरुलाई तालिम दिनुका साथै उच्च शिक्षा अध्ययनको व्यवस्था गर्दै आइरहेको बताउनुभयो ।

     

     

  • सूर्यविनायकको नगरप्रमुखलाई कांग्रेसको १४ बुँदें ध्यानाकर्षपत्र

    भक्तपुर, असार ४
    नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले मंगलवार सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई १४ बुँदें ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको नगरपालिकालाई कांग्रेसले विकास निर्माणका योजना, नीति निर्माण, शिक्षा, स्वास्थ्य। सहकारीलगायतका १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
    ध्यानाकर्षण पत्र बुझाएपछि नगरसमितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सूर्यविनायक नगरसभापति निशान ढुंगेलले नगरले गरेका राम्रा कामको प्रशंसा गर्दै नगरलाई व्यवस्थित गर्न र नगरवासीको सहज र सरल तरिकाले सेवा सुविधा प्राप्त गर्न पाउने अधिकारलाई ध्यानमा राखी केही विषयमा नगरप्रमुखको ध्यानाकर्षण गरेको बताउनुभयो ।
    नगसभापति ढुंगेलले भु–बर्गीकरण नीति, नेपाल रेडक्रस सोसाइटी भक्तपुर सँगको सहकार्यमा नगरवासीलाई निःशुल्क रक्त उपलब्धताको व्यवस्था, निःशुल्क शववहान सेवा, हनुमन्ते करिडोरमा नक्शा पासको व्यवस्था नगरक्षेत्रको विद्यालयहरुमा प्रतिस्पर्धाद्धारा प्रधानाध्यापकको छनौट, शिव सर्किट निर्माण, लौकुरी भञ्याङ्ग देखि साँगा सम्म पर्यटन मार्ग घोषण, मेलम्चीको पानीलाई सूर्यविनायक नगरपालिकाका थप वडाहरुमा उपलब्ध गराउने प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।
    तर दिगो विकासको सवालमा नगरपालिका चुकेको उहाँले आरोप लगाउनुभयो । विकासका नाममा कतिपय सडकहरु ढल नबिच्छ्याई कालोपत्रे गरिएको बताउँदैं ढुंगेलले ती हेर्दा विकास भए पनि अन्ततः नीतिगत भ्रष्टाचार भएको टिप्पणी गर्नुभयो ।
    “राज्यको करोडौं लगानी गरेर गरिएको कालोपत्रे केही महिनामा ढल बिच्छ्याउने नाममा भत्काउनु पर्ने भएपछि कसरी विकास मान्ने ? त्यो त नीतिगत भ्रष्टाचार भएन र ?,” उहाँले प्रश्न गर्नुभयो ।


    ध्यानकषर्णपत्रमा सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्नुपर्ने, प्रत्येक वडामा एक विशेषज्ञ सेवा सहितको ५ शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने, नगर क्षेत्रका सामुदायिक विद्यालयहरुको भौतिक पुर्वाधार विकासलाई बालमैत्री र अपाङ्गमैत्री बनाईनुपर्ने, सबै विद्यालयहरुमा प्रविधियुक्त शिक्षण विधि लागु गर्नुपर्ने, नगरका आवश्यक स्थानहरुमा सार्वजनिक सौचालय निर्माण गर्नुपर्ने उल्लेख छ ।
    खानेपानी समस्या देखिएका क्षेत्रहरुमा तत्काल सफा, स्वच्छ खानेपानी व्यवस्था गर्नुपर्ने, नगरक्षेत्रका खानेपानी उपभोक्ता समितिको अनुगमन गरी मुल्याङ्कन गर्ने पद्धती बसाल्नुपर्ने, सूर्यविनायक न.पा. भित्रको प्राकृतिक श्रोतको पहिचान गरी आत्मनिर्भर हुन वडा नं. ८ को सिपाडोलस्थित आशापुरीलगायत क्षेत्रको मूलको पानी संकलन गरी नगरवासीहरुमा यथासम्भव पानी वितरणको व्यवस्थापन गर्नुपर्ने माग कांग्रेसले गरेको छ ।
    नगरको समृद्धि र दिर्घकालिन निरन्तर आयस्रोतको सम्भावना बाकेको पर्यटन क्षेत्रको विकासका लागि शिव सर्किट तथा पर्यटन पदमार्गको व्यापक प्रचार प्रसार एवं आवश्यक पुर्वाधार निर्माण गर्नुपर्ने, लाकुरी भञ्ज्याङ्देखि साँगा सम्मको क्षेत्रलाई पर्यटन पदमार्ग सँगसँगै पर्याय पर्यटन क्षेत्रको रुपमा विकास गर्न न्युनतम पुर्वाधार विकास सहित नीजि क्षेत्रको सहभागितामा विभिन्न स्थानहरुमा योग, ध्यान, रिक्रियशन सेन्टरको रुपमा विकास गर्नेपर्ने, वडा नं. ४ मा निर्माण भएको भ्यूटावरको सही सदुपयोग गर्न त्यस्ता स्थानहरुलाई नीजि क्षेत्र आकर्षित हुने गरी दीर्घकालिन लिज पद्धतीमा जान आवश्यक नीति निर्माण गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
    यसैगरी स्थानीय कला, संस्कृति, जात्रा, पर्व, मठ मन्दीर, बाजागाजा संरक्षण, सम्बर्धन तथा प्रवद्र्धनका लागि विशेष ध्यान दिनुपर्ने, नगदेवाली, पुष्पखेती, पशुपंक्षी पालन गरिरहेका किसानहरुका लागि उत्प्रेरित गर्ने प्रकृतिको कार्यक्रम कृषिमा युवा वर्गको आकर्षण बढाउन अनुदान तथा सहुलियत कर्जाको व्यवस्था गर्नुपर्ने माग पनि कांग्रेसले गरेको छ ।
    कृषि बजारीकरणका लागि नगरपालिकाको कम्तीमा दुई स्थानमा कृषि वस्तु बेच बिखन गर्न कृषि चोक बजारको निर्माण गर्नुपर्ने, प्रस्तावित नगर औद्योगिक ग्रामको यथाशिघ्र निर्माण तथा संचालन गर्नुपर्ने, नगर क्षेत्रभित्र निर्माण शुरु गरी सम्पन्न हुन नसकेका सडक, पुल, पुलेसा, विद्युत, खानेपानी लगायतका पुर्वाधारका कामहरु अविलम्बन सम्पन्न गर्नुपर्ने, चरखण्डी खोला लगायत अन्य खोला तथा खोल्सीहरुको उचित मापदण्ड कायम गरी करिडोेर निर्माण गर्नुपर्ने, नगरको शहरी, भौतिक, पर्यटकीय, कृषी, औद्योगिक क्षेत्रको एकीकृत पुर्वाधार योजना अन्तर्गत विकास गर्न पनि ध्यानाकर्षण गराएको छ ।
    सम्पूर्ण वडाहरुलाई समेट्ने गरी नगर रुट कायम गरी नगर बस सेवा सञ्चालन गर्नुपर्ने, नीजि क्षेत्रले जग्गा प्लटिङ् गर्दा सार्वजनिक जग्गा अतिक्रमण नहुने व्यवस्था गर्नुपर्ने, सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने, हनुमन्ते लगायत सबै नदी किनारहरुमा जग्गा नक्सा पास गर्दा न्यायपुर्ण मापदण्ड निर्धारण गर्नुपर्ने माग कांग्रेसको छ ।


    नगर क्षेत्रभित्र रहेका सामुदायिक, नीजि र धार्मिक वन को संरक्षणमा जोड दिनुपर्ने, नगरक्षेत्रका पानीका मुहानहरुको संरक्षण गर्नुपर्ने, राष्ट्रिय प्राणी उद्यान यथाशीघ्र पुरा गर्न सम्बन्धित निकायमा पहल गर्नुपर्ने, गणेशमान बाटिका क्षेत्र आध्यात्मिक तथा पर्याय पर्यटनसँग पनि सम्बन्धित भएका कारण सो क्षेत्रको विकास र संरक्षणमा नगरपालिकाले अपनत्व ग्रहण गर्नुपर्ने, नगरपालिकाबाट प्रदान गरिने सेवा–सुविधा छिटो, छरितो र प्रविधिमैत्री हुनुपर्ने, उपभोक्ता समिति गठनको सम्बन्धमा ब्यापक जनगुनासो रहेकोले सरोकारवाला समुह सम्बन्धित क्षेत्रका उपभोक्ताहरुको ब्यापक भेला गरी वास्तविक उपभोक्ताको समिति बनाईनुपर्ने उल्लेख छ ।
    करका दर नभई दायरा बढाएर कर, करले होइन रहरले तिर्ने मैत्रीपुर्ण कर प्रसाशन नीति लागु गर्नुपर्ने, आगामी ३ वर्षलाई लक्षित गरी नगर भित्रका बुद्धिजीवि, योजनाविद, समाजसेवी, सम्पुर्ण राजनैतिक दलको व्यापक सहभागितामा बडा तथा नगर गौरवका योजना पहिचान गरी कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय रुपमा बढ्दो सहकारी समस्यालाई समाधान गर्नको लागि कार्ययोजना सहितको अनुगमन निरिक्षण गरी बचतकर्ताको बचत रकम संरक्षण, सुरक्षित गर्न आवश्यक प्रवन्ध गर्नुपर्ने, सहकारी सिद्धान्त मर्म र भावना विपरित कार्य गर्नेलाई कारबाही गर्नुपर्ने माग कांग्रेसले गरेको छ ।
    नगरपालिकाले विकास योजना तयार गर्दा प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापन गर्दै दीगो विकास लक्ष्य समेतलाई ध्यानमा राख्दै उपलब्ध स्रोत र साधनको उच्चतम उपयोग गर्ने नीति लिनुपर्ने, विकास योजना कार्यान्वयन गर्दा अधिकतम सहमति न्युनतम क्षतिको नीति अबलम्बन गर्नुपर्ने, जनप्रतिनिधि जनताका सेवक हुन शासक होइनन् भन्ने मान्यतालाई आम नगरवासीले अनुभव गर्ने गरी व्यवहारमा उतार्नुपर्ने माग ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको कांग्रेस सूर्यविनायक नगर प्रवक्ता रमेश खड्काले बताउनुभयो ।
    ध्यानाकर्षणपत्र बुझ्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले कांग्रेसले उठाएका कतिपय विषयवस्तु कार्यान्वयन भइरहेको र बाँकी पनि नगरको स्रोत र साधनको अधिकतम उपयोग गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
    उहाँले नगरपालिकाले राजनीतिमा प्रतिष्पर्धा र विकासमा ऐक्यवद्धता भन्ने मूल सिद्धान्त अनुसार नगरपालिकाले कार्य गरिरहेको भन्दै कांग्रेसको ध्यानाकर्षपत्र आफ्नो लागि उर्जा भएको बताउनुभयो । उहाँले भ्रष्टाचार र अनियमितता आफुले पनि नगर्ने र अन्य जनप्रतिनिधि र कर्मचारीलाई गर्न नदिने प्रतिवद्धता जनाउनुभयो ।

     

  • बहुसंख्यक जनताले संघीयता बुझ्न सकेको छैन – अध्यक्ष बिजुक्छें

    भक्तपुर, असार ३
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपालका बहुसंख्यक जनताले संघीयता अझै बुझ्न नसकेको बताउनुभएको छ । कानुन अध्ययन समाज–नेपालले सोमवार भक्तपुरमा आयोजित ‘संघीयता कार्यान्वयनका चुनौती र उपादेयता’ विषयक विचार गोष्ठीमा अध्यक्ष बिजुक्छेंले १० प्रतिशत भन्दा कम नागरिकहरुले मात्र संघीयताको विषय बुझेको बताउनुभएको हो ।
    उहाँले चुनावका लागि प्रशस्त छलफल गर्ने समय दिएको भए बहुसंख्यक जनता सचेत हुने बताउँदैं नेपालमा राजनीतिक संस्कार नै नभएकाहरु र भ्रष्टहरुको जमातका कारण देश चालक विनाको गाडी बनेको औंल्याउनुभयो ।
    उहाँले नीति बनाउनु पर्ने सांसदहरु विकास निर्माणमा जोडिएकै कारण संघीयताको कार्यान्वयनमा समस्या आएको बताउनुभयो । “संसद सदस्यको काम ठेक्कामा लाग्ने होइन, नीति बनाउनुपर्ने मान्छेले विकास निर्माण गरेकै कारण संघीयताको कार्यान्वयनमा समस्या आएको हो,” उहाँले भन्नुभयो ।
    देशको लागि राम्रा, इमानदार र कर्तव्यनिष्ठ कानुनविद्को आवश्यकता औंल्याउँदैं उहाँले हरेक कुरामा आलोचनात्मक रुपमा हेर्न र सभ्यतादेखीकै इतिहासको अध्ययन गर्न जोड दिनुभयो । उहाँले नैतिकता हराएका बेइमान कानुन व्यवसायीका कारण जनतालाई थप पीडा थोपरेको बताउनुभयो ।
    समाजका संस्थापक अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधान मस्यौदाको क्रममा स्वायत्तता र विकेन्द्रीकरणमा जोड दिएको स्मरण गर्दै स्थानीय तहलाई संविधान र संघले दिएका अधिकारलाई केन्द्रले एक एक गरी खोसिरहेको बताउनुभयो । उहाँले देशमा प्राज्ञिक र बौद्धिक छलफल तीव्र पार्नुपर्नेमा जोड दिनुभयो । संघ, प्रदेश र स्थानीय सरकारबीचको कार्यक्षेत्र र जिम्मेवारीबारे स्पष्ट नभएकाहरुले शासन सत्ता चलााएकै कारण संघीयताको कार्यान्वयनमा समस्या आएको बताउनुभयो ।
    वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले शासक वर्गको गैरजिम्मेवारपूर्ण कार्य, राजनीतिक बेइमानी र अज्ञानताले देश बन्धकमा परेको औंल्याउनुभयो । उहाँले प्रमुख दलका प्रमुख नेताहरु नै ठेकेदारहरु भएका कारण नीति बनाउनुपर्ने ठाउँमा बजेटलाई महत्व दिने गरेको बताउनुभयो ।
    उहाँले विधि निर्माणमा ध्यान नदिनु र निरन्तर सरकार परिवर्तन गर्नु नै संघीयताको कार्यान्वयनमा जटिलता थपेको स्पष्ट पार्नुभयो । कर्मचारी, व्यापारी, ठेकेदार र विचौलियाले बजेट निर्माण गरिने भएकाले संघीयता कार्यान्वयन गर्न नसकेको उहाँको ठहर छ ।
    समाजका अध्यक्ष अधिवक्ता राम प्रसाद प्रजापतिले संघीयता कार्यान्वयनको उपादेयता विषयमा र अधिवक्ता मनज ज्याख्वले चुनौती विषयमा प्रस्तुतीकरण गरेको उक्त कार्यक्रममा अधिवक्ता शिवराज दाहाल, अधिवक्ता राधेश्याम सुवाल, अधिवक्ता राजेन्द्र सुवाललगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

     

  • राप्रपाको भक्तपुर अध्यक्ष कार्की निर्वाचित

    भक्तपुर, जेठ १९
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भक्तपुरको अध्यक्षमा अर्जुन कार्की निर्वाचित हुन भएको छ । राप्रपाको शुक्रवार सम्पन्न जिल्ला अधिवेशनले कार्कीलाई अध्यक्ष निर्पाचित गरेको हो । कार्कीले १९५ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्धन्द्धी पूर्व जिल्ला अध्यक्ष रामशरण लामिछानेले ९२ मत प्राप्त गर्नुभयो ।
    अधिवेशनले जिल्ला सदस्यहरुमा पूर्णकृष्ण अवाल, राजु कुईकेल, विक्रम थापा, रिना लाखाजु, बद्री लाखाजु, मुकुन्द कार्की, श्यामकृष्ण नयाँजु श्रेष्ठ, राजेन्द्र गारु, कान्छा मोहन रोक्का, रमा थापा, रामेश्वर पोखरेल, दिनेशकुमार व्यान्जु, देवीमाया आचार्य, श्रीजना फम्बो निर्वाचित भएका छन ।
    यसैगरी रामभक्त पक्का, धन सिल्पकार, नविन पाण्डे, दिपक, खड्का, प्रविण कार्की, कमलदिप थापा, भक्तराज खत्री, माया नेपाली, राजकुमार माकाजु र राधिका रानाभाट पनि सदस्यमा निर्वाचित भएका छन ।
    राप्रपाको विधान अनुसार जिल्ला समितिका अन्य पदाधिकारीहरु जिल्ला समितिको पहिलो बैठकले तोक्ने छन । ३१ सदस्यीय जिल्ला समितिका ६ सदस्य जिल्ला समितिले मनोनित गर्नेछन ।

     

  • लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनुपर्छ–बागमती प्रदेश सांसद श्रेष्ठ

    भक्तपुर, जेठ १८
    बागमती प्रदेश सभा सदस्य सांसद सुरेश श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बताउनुभएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्दै पर्यटनलाई प्राथमिकता दिन सके प्रदेशको आम्दानीको श्रोत बढ्ने बताउनुभएको हो ।
    “प्रदेशको आम्दानीको श्रोत दिन प्रतिदिन घट्दो रहेको छ तर हामीले बजेटमा उत्पादनलाई प्राथमिकता दिन नसक्दा जनताहरू सङ्घीयता प्रति नै प्रश्न गर्न थालेको छ,” उहाँले भन्नुभयो ।
    प्रदेश भित्र विभिन्न जनजातीहरुले उत्पादन गर्दै आएको घरेलु मदिरा उत्कृष्ट मदिरामा पर्ने गरेकोले देहको आयात घटाएर व्यापार घाटा कम गर्न विदेशी मदिरालाई रोक लगाई प्रदेश भित्रका आदिवासी जनजातिले उत्पादन गर्दै आएका मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउन सके प्रदेशको आम्दानीको ठुलो श्रोत बढाउन सकिने धारणा राख्नुभयो ।
    उहाँले लोकल मदिरालाई ब्राण्डीङ गर्न आवश्यक कानुन बनाई कार्यान्वयनमा ल्याउन सरकार समक्ष ध्यानाकर्षण गराउनुभयो । उहाँले लोकल मदिरालाई ब्राण्डीङ गर्न सके यहाँका आदिवासी जनजातिहरूको जीवनस्तर उकास्न ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    उहाँले पर्यटन नै दिगो आम्दानीको स्रोत भएकाले घरेलु उत्पादनलाई पर्यटन उद्योगसँग जोड्नुपर्नेमा जोड दिनुभयो । “प्रदेशको आम्दानीको श्रोत भनेको पर्यटन क्षेत्र र घरेलु उत्पादन नै प्रमुख हो । पर्यटन क्षेत्रको विकास विना अबको आर्थिक रूपान्तरणको पाटो सबल बन्न सक्ने अवस्था देखिँदैन तर पनि बागमती प्रदेश भित्रका सम्पदाको अवस्था बेहाल छ । यिनको संरक्षण र प्रर्वदन गरी आर्थिक रूपान्तरणमा भूमिका निर्वाह गर्न बागमती प्रदेश सभाको भूमिका अझै मजबुत हुनुपर्छ,” श्रेष्ठले भन्नुभयो ।
    उहाँले भक्तपुरकै गौरवका पुरातात्विक सम्पदाहरू भक्तपुर दरबार स्क्वायर, न्यातपोल, चाँगुनारायण मन्दिर, नगरकोट, त्रिशुलडाँडा, बौद्ध धर्मको सबै भन्दा पवित्र स्थान मिलारेप्पा अर्थात् महामञ्जुश्री, नगरकोटको रत्नचुडेश्वर महादेव पोखरी, ताथलीको गढी, भक्तपुरका विभिन्न स्थानमा रहेका चट्टान अभिलेखहरू, ध्याम्पेडाँडा, धार्मिक पर्यटकीय स्थल, सूर्यविनायक मन्दिर, डोलेश्वर मन्दिरलगायत भक्तपुरका दुई दर्जन भन्दा बढी प्राकृतिक तथा पुरातात्विक स्थानहरूको प्रचार प्रसारको अभाव रहेको बताउनुभयो ।
    उक्त स्थानहरूको प्रचार प्रसार तथा आवश्यक भौतिक संरचनाहरूको निर्माण गर्न सके प्रदेशमा धार्मिक तथा अन्य पर्यटनको विकास गर्न सकिनेमा जोड दिँदैं उहाँले प्रदेश भित्रका अन्य धार्मिक एवं सांस्कृतिक स्थानहरूको अध्ययन गरी प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो ।
    उहाँले प्रदेशको अर्को उत्पादनको क्षेत्र कृषि भएपनि समयमा मल, बिउविजन पाउन नसक्नु किसानहरुको दुर्भाग्य भएको बताउँदैं बिउविजन तथा मलखाद सहज र सरल रुपमा उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराउनुभयो । उहाँले लामो समय देखि किसानलाई अति आवश्यक रहेको मल र गुणस्तरीय बिउविजन समयमा उपलब्ध नहुँदा उत्पादकत्व घट्दो रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
    अघिल्लो वर्ष देशैभरी महामारीका रूपमा रहेको लम्की स्किन र अन्य सरुवा रोगका कारण भएका चौपाया मरेपनि किसानले पशु बिमाको रकम पाउन नसक्नु दुःखद भएको बताउनुभयो । “बागमती सरकार किसानको मर्म बुझ्न भन्दा बेखवर भएर बस्यो । किसान भारतमा जस्तै आत्महत्या गर्ने अवस्थामा पुग्दा समेत सरकार बेखवर छ । आगामी दिनमा त्यस्तो समस्या आउन नदिन र पूर्व तयारी अवस्थामा रहन र किसानको पक्षमा उभिन सरकार तयार भएर बस्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
    बागमती प्रदेश कार्यालयमा दर्ता भएका सहकारीहरू सबै भन्दा बढी समस्याग्रस्त रहेको देखिएको बताउँदैं उहाँले सरकारले सहकारीको समस्या समाधानमा ध्यान नदिएको आरोप लगाउनुभयो ।
    “समस्याग्रस्त सहकारी धेरै बागमती प्रदेशमा छ । त्यसमा पनि सङ्घीय राजधानी रहेका तीन जिल्लाका सहकारी बढी छन । सङ्घीय सरकारले झारो टार्ने निर्णय गरेको छ । सङ्घीय सरकारले जुन पाँच लाख सम्मको बचत उपलब्ध गराउने निर्णय गरेको छ यो केवल अलमलाउने खालको निर्णय मात्र देखिन्छ । यसतर्फ बागमती प्रदेश सरकाको भूमिका किन देख्न पाईएको छैन,” उहाँले भन्नुभयो ।
    उहाँले वर्षा मौसमको शुरुवातसँगै मेलम्ची सबैको चासोको विषय बनेको बताउँदैं भक्तपुरको खानेपानी समस्या सम्बोधन गर्न बागमती सरकारको तयारी के छ भनी प्रश्न गर्नुभयो ।
    उहाँले सरकारको नीति तथा कार्यक्रमले बाग्मती प्रदेशमा रहेको विकासका योजनाहरूले पूर्णता पाउने सङ्केत नदेखिएको भन्दै विनियोजित बजेट कार्यान्वयन गराउने कार्यालयहरूको ढिलासुस्ती, गैरजिम्मेवारीपन र झन्झटिलो व्यवस्थाका कारण धेरै विकास बजेट कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
    चालु विकासका कामहरूमा देखिएको लापरबाहीलाई नियन्त्रण गर्ने खालका योजना नभई कागजमै सीमित गरिने खालको बजेट विनियोजनले विकासको सम्भावना कम देखिएको उहाँले बताउनुभयो ।
    उहाँले बागमती प्रदेशमा रहेको विकास सर्वसाधारण पहुँचमा अझै पर्न नसकेको बताउँदैं यसतर्फ बागमती सरकारको ध्यानाकर्षण गराउनुभयो ।

     

     

  • आज गणतन्त्र दिवस

    भक्तपुर, जेठ १५
    आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको हो ।
    यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय सरकारले गरेको छ ।
    वि.सं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।
    वि.सं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । वि.सं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए । अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनः स्थापना गर्न बाध्य हुँदै बैठकसमेत आह्वान गरे ।
    वि.सं २०६३ जेठ ४ गते बसेको पुनसर््थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।
    यसैको जगमा वि.सं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो ।
    पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । वि.सं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।
    संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।
    संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्राध्यक्ष बनिन् । हाल तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । त्यसभन्दा अगाडि नेपालमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे ।

     

  • सहकारी ठगका मतियारलाई बिपीको नाम लिने अधिकार छैन – कांग्रेस सांसद रमा कोइराला

    भक्तपुर, जेठ १४
    नेपाली कांग्रेस सांसद रमा कोइराला पौड्यालले ‘सहकारी ठगका मतियारलाई बिपीको नाम लिने अधिकार’ नभएको बताउनुभको छ । प्रतिनिधि सभाको आइतवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले राखेका भनाइप्रति लक्षित गर्दै सांसद कोइरालाले उक्त भनाई राख्नुभएको हो ।
    “बिपी त विश्वका नेता हुन् । उहाँले नाम लिन पाउनुहुन्छ । तर सहरकारी ठगी गर्नेहरूको मतियार भएका व्यक्तिहरूले बिपीको नाम लिने अधिकार छैन है,” संसद बाहिर पत्रकारहरुसँग कोइरालाले भन्नुभयो । उहाँले संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसको विरोध नरोकिने र कांग्रेस नथाक्ने बताउनुभयो । “राणाहरूसँग नथाकेको, पञ्चहरूसँग नथाकेको, कांग्रेस कम्युनिस्टहरूसँग थाक्दैन । त्यो कुरा बुझेर राख्नुहोला । हामी थाक्दैनौं,” उहाँले भन्नुभयो ।
    सांसद कोइरालाले आफू मजदुर संगठनबाट आएको र श्रमिकको आवाज उठाउँदै आएको सांसद भएको दावी गर्दै सहकारीमा गिटी कुट्ने, साग, मकै बेच्ने, सानासाना व्यवसाय गर्ने गरिबहरूको पैसा भएको बताउनुभयो । “त्यो अर्बौं पैसा घपलक्क पारेर आफ्नो बिजनेस गर्ने मिडियामा लान मिल्छ? अनि त्यसको छानबिन नभए के हुन्छ,” उहाँले भन्नुभयो ।
    प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिएका रास्वपा सांसद वाग्लेले रोस्टममा पुगेपछि बिपी कोइरालाले स्थापित गरेको मानकलाई लज्जास्पद र औचित्यहीन अवस्थामा पु¥याइएको भन्दै खेद प्रकट गरेका थिए । वाग्लेले बिपीको नाम लिएपछि कांग्रेस सांसदहरुले होहल्ला गरेका थिए ।
    वाग्लेलाई सभामुख देवराज घिमिरेले समेत दुई पटक विषयमा केन्द्रीत भएर बोल्न रुलिङ गरेका थिए । “यो असहज वातावरणमा यसरी गरिमामय संसदमा उपस्थित भएर बोल्न पर्लाजस्तो मलाई लागेको थिएन,’ सांसद वाग्लेले भनेका थिए । ६५ वर्षअगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर, हामी सबैका प्रेरणा, मेरा त राजनीतिक आदर्श बिपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पु¥याउनलाई, यो लज्जास्पद र औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ ।”
    साथै वाग्लेले ७४ लाख सहकारी बचतकर्ताहरूको समस्या समाधान गरिनुपर्ने बताएका थिए । वाग्लेले यसो भनिरहँदा सभामुख देवराज घिमिरेले ’माननीय सदस्य विषयमा केन्द्रित भएर आफ्नो अभिव्यक्ति दिनुस’ भनेका थिए ।
    सांसद वाग्लेले सहकारीबारे समाधान उन्मुख हुने हो कि व्यक्ति केन्द्रित भएर खराब नजिर बनाउने भन्ने नै मूल मुद्दा रहेको बताएका थिए । सहकारीमा संसदीय छानबिन समिति बनाउने र त्यसको कार्यादेशबारे कुरा भइरहेको उनको भनाइ थियो ।
    “औचित्यहीन र कर्मकाण्डी विरोधको औचित्य छैन,” वाग्लेले भनेका थिए । सभामुख घिमिरेले फेरि वाग्लेलाई विषयमा केन्द्रित हुन भनेका थिए ।

     

  • सभामुख सहकारी ठगीको मतियार बन्यो–सांसद थापा

    भक्तपुर, जेठ १३
    नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले सभामुख देवराज घिमिरेलाई सहकारी गठीका मतियार भएको आरोप लागउनुभएको छ ।
    सहकारी ठगी प्रकरणमा कांग्रेसले आइतवार काठमाण्डौंको प्रदर्शनी मार्गमा आयोजित खुल्ला सभालाई सम्बोधन गर्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन नगरी सत्तारुढ दलको इशारामा जबरजस्ती संसद चलाउनुले सभामुख पनि सहकारी ठगीको मतियार बनेको पुष्टि हुने बताउनुभएको हो ।
    उहाँले कांग्रेसको धैर्यताको परीक्षा नलिन सभामुखलाई चेतावनी समेत दिनुभयो । संसदमा सभामुख नेकपा एमालेको कार्यकर्ताकोरुपमा प्रस्तुत भइरहनुभएको छ । कांग्रेसको अवरोधकाबीच पेलेर संसद चलाउनुभएको छ । सत्ता गठबन्धनको इशारामा चल्नुभएको छ । खबरदार कांग्रेसको धैर्यताको परीक्षा नलिनु होला, उहाँले भन्नुभयो ।
    उहाँले विगतमा तानाशाही राणा र निरंकुश राजासँग नझुकेको कांग्रेसलाई अहिलेको अधिनायकवादी सत्ताको एके ४७ ले झुकाउन नसक्ने दावी गर्नुभयो । उहाँले राणा र राजासँग लडेको कांग्रेसले अब कम्युनिष्ट अधिनायकवाद विरुद्ध अन्तिम लडाई लड्नुपर्ने दिन आएको बताउनुभयो ।

     

  • सहकारी र गिरिबन्धु काण्डलाई छायाँमा पार्न मिडिया आतंक – सांसद थापा

    भक्तपुर, जेठ १०
    नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले सहकारी वचत अपचलन र गिरीबन्धु टि स्टेट काण्डलाई छायाँमा पार्न गृहमन्त्रीले मिडिया आतंक मच्याएको आरोप लगाउनुभएको छ ।
    रफत सञ्चार क्लवमा बिहिवार आयोजित सञ्चार–संवाद कार्यक्रममा सांसद थापाले सहकारी ठगी प्रकरणमा संलग्न गृहमन्त्री रवि लामिछाने एवं गिरिबन्धु टि स्टेटको जग्गा प्रकरणमा संलग्न केपी शर्मा ओलीको अक्षम्य गल्तीलाई छायाँमा पार्न सरकारले मिडियामा आतंक मच्चाएको बताउनुभएको हो ।
    “सरकारले कान्तिपुर मिडियामा गरेको हस्तक्षेप निकृष्ट, घोर आपत्तिजनक भएकाले म त्यसको भत्सर्ना गर्दछु,” थापाले भन्नुभयो ।
    सांसद थापाले नेपाली कांग्रेसले घोषणा गरेको सडक आन्दोलनबाट वर्तमान संविधानमा अपरिहार्य संशोधनको बाटो खुला गर्ने खुलासा गर्नुभयो । उहाँले अहिलेकै निर्वाचन प्रणाली र यही कार्यशैली विद्यमान रहेसम्म कुनैपनि दलको बहुमत नआउने हुनाले राजनीतिक अस्थिरता रहिरहने भएकाले संविधानमा संशोधन गर्न सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।


    सांसद थापाले संसदमा सत्तापक्षको अहिलेको रवैयाले गर्दा संसदीय इतिहासमा कालो धब्बा लागेको पनि टिप्पणी गर्नुभयो । उहाँले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिकाले संघीय गणतन्त्र र लोकतान्त्रिक व्यवस्थाको घाँटी निमोठ्ने कार्य भएको आरोप लगाउँदै भन्नुभयो, “सभामुखले संसदमा एक पार्टीको कार्यकर्ता भएर होइन कि सभामुखजस्तो भएर निष्पक्ष, तटस्थताको सिद्धान्त अंगालेर अगाडि बढ्नु जरुरी रहेको छ ।”
    केही दिन अगाडिको प्रतिनिधिसभाको बैठकको घटनाक्रम स्मरण गर्दै उहाँले भन्नुभयो, “संसदको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदहरूप्रति जुन अभद्र व्यवहार देखाए, त्यो अत्यन्त दुःखदायी र घोर भत्सर्ना योग्य छ । ओली अहिले गिरिबन्धु भ्रष्टाचार काण्डमा मुछिएका कारण आत्तिएका र अत्तालिएका छन । त्यसैले अराजक स्थिति सिर्जना गर्नेतर्फ प्रयासरत छन् ।”
    उहाँले प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिँदें फेरी पनि कांग्रेसलाई लाञ्छना लगाउने अभिव्यक्ति दिए क्षम्य नहुने बताउनुभयो । “जंगलमा रहेका माओवादीलाई शहरमा ल्याउनु के कांग्रेसको अपराध थियो ? अहिले त्यही जंगलीले कांग्रेसलाई चुनौती दिएको छ, त्यो कदापि सह्य छैन”, उहाँले भन्नुभयो ।
    उहाँले सहकारीका महाठग र गिरिबन्धुमाथि निष्पक्ष कारवाही नभएसम्म मुलुकमा लोकतान्त्रिक मूल्यमान्यता अगाडि बढ्न नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु सरकारको घोर अलोकतान्त्रिक र आपत्तिजनक कार्य हो भन्दै निन्दा गर्नुभयो ।
    उहाँले भन्नुभयो, “संसदका महासचिव पदमप्रसाद पाण्डेको पनि त एउटै नम्बरका दुईटा नागरिकता रहेको सन्दर्भ छँदैछ तर सिरोहियोमाथि मात्र के–को अनुसन्धान र कारवाही ? त्यसकारण सरकारको यो हस्तक्षेपकारी कदम लज्जास्पद र घोर आपत्तिजनक छ ।”
    कांग्रेसले भोलि शुक्रबारदेखि आरम्भ गर्ने सडक आन्दोलनबारे प्रकाश पार्दै उहाँले भन्नुभयो, “कांग्रेसको आन्दोलन अब गैरकम्युनिष्ट चरित्रको हुने र लोकतान्त्रिक शक्तिलाई एकजूट पार्दै अगाडि बढ्ने छ, आन्दोलनको क्रममा हिन्दु राष्ट्र वा राजावादी सबै शक्तिलाई पनि संवाहक बनाउने सम्भावना रहेको छ ।”