Category: राजनीति

  • भक्तपुर नगर कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

    भक्तपुर, जेठ १७
    भक्तपुर नगरपालिकाको नगर कार्यपालिकाको पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका छन । भक्तपुर नगरपालिकामा निर्वाचित महिला वडासदस्यहरु मध्येबाट कार्यपालिकामा निर्वाचित हुने पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएको हो ।
    नेपालको संविधानको धारा २१६ को उपधारा ४ बमोजिम भक्तपुर नगरपालिकाको नगर कार्यपालिका सदस्यमा वडा नं. ३ का सुनिता अवाल (प्रजापति), वडा नं. ५ का कृष्णप्यारी भुजू, वडा नं. ६ का रोशनमैंया सुवाल, वडा नं. ७ का रञ्जना त्वाती र वडा नं. ९ का छोरीमैंया सुजखु प्रजापति निर्विरोध निर्वाचित हुनुभएको हो ।
    भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले क्लिन स्विप गरेको थियो । विपक्षी दलका कोही पनि सदस्य नगरसभामा निर्वाचित हुन नसकेकाले नगर कार्यपालिका सदस्यमा पनि नेमकिपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन ।
    यसैबीच नवनिर्वाचित नगर कार्यपालिका सदस्यहरुले आजै शपथ ग्रहण गरेका छन । सो अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिदैं कार्यपालिकाले पूर्णता पाएसँगै छिट्टै कार्यविभाजन गरी हरेक क्षेत्रमा विशेष ढंगले काम गर्ने बताउनुभयो ।
    नगरपालिकाले सस्तो लोकप्रियताको लागि नभई भक्तपुर नगर र नगरबासीहरुको सन्तुलित विकास र आर्थिक जीवनस्तर उकास्ने ढंगले काम गर्दै आइरहेको बताउँदैं उहाँले जनतासँग एकाकर भई काम गर्न सके जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
    उपप्रमुख रजनी जोशीले निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता एक एक गरी पूरा गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दै आगामी कार्यकाल अझ सफल र उपलब्धीमूलक हुने ढंगले काम अगाडि बढाउने बताउनुभयो ।

     

  • मध्यपुर थिमि नगर कार्यपालिकामा लोकतान्त्रिक बाम गठबन्धन विजयी

    भक्तपुर, जेठ १७
    मध्यपुर थिमि नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन विजयी भएको छ । नगर कार्यपालिकाको मंगलवार सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै मध्यपुर थिमिमा लोकतान्त्रिक बाम गठबन्धन विजयी भएको हो ।
    मध्यपुर थिमि नगरपालिकामा कुल ४६ मत थियो जस मध्ये ४२ मत खसेकोमा एक मत बदर भएको सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार मध्यपुर थिमि नगर कार्यपालिका सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु महिला सदस्यमा नेपाली कांग्रेसका उजला थापा श्रेष्ठ, तुईलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी हुनु भएको छ । उहाँहरु सबैले २८÷२८ मत प्राप्त गर्नुभएको सिलवालले बताउनुभयो ।
    त्यसैगरी दलित तथा अल्पसंख्यकतर्फ कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका जसे सार्की र सरोज परियार तथा नेकपा माओवादी केन्द्रका बालकृष्ण परियार विजयी हुनुभएको छ । उहाँहरुले पनि २८÷२८ मत प्राप्त गर्नुभएको सिलवालले जानकारी दिनुभयो । निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले १३÷१३ मत प्राप्त गर्नुभएको थियो भने नेपाल मजदुर किसान पार्टीले निर्वाचनमा सहभागिता जनाएनन् ।

     

  • जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको छ – महामन्त्री थापा

    भक्तपुर, जेठ ११
    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको बताउनुभएको छ । नेपाली कांग्रेस निर्वाचन परिचालन समिति भक्तपुरले बुधवार आयोजना गरेको निर्वाचित जनप्रतिनिधिहरुको बधाई तथा सम्मान कार्यक्रममा महामन्त्री थापाले स्थानीय तहको निर्वाचन परिणामले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको पुष्टि भएको बताउनुभएको हो ।
    उहाँले भन्नुभयो, “जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको पुष्टी स्थानीय तहको निर्वाचनले गरेको छ, यस पटकको स्थानीय तहको निर्वाचनमा कांग्रेसले राम्रो उपलब्धी र सफलता प्राप्त गरेको छ ।” उहाँले कम्युनिष्ट पार्टीलाई जनताले दिएको विश्वास अनुसार काम गर्न नसक्दा कांग्रेसको लोकप्रियता बढेको बताउँदैं यसलाई निरन्तरता दिन नवनिर्वाचित जनप्रतिनिधिले जनचाहना अनुसार इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
    उहाँले निर्वाचित नगर प्रमुखहरुलाई मेयर साहेब भएर नभई जनप्रतिनिधिको रुपमा जनताको सेवक भएर काम गर्न निर्देशन समेत दिनुभयो । उहाँले जनप्रतिनिधिहरुले गर्ने कामको मूल्यांकन पार्टीले निरन्तर गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको जनप्रतिनिधिको मूल्यांकन पार्टीले गर्छ, तपाई मेयर साहेब होइन, नगर प्रमुख हो, यो कुरालाई नभुल्नुस्, तपाईले जनप्रतिनिधि भएर काम गर्नुहोस । गर्नुपर्ने कति काम गर्नुभयो र गर्नै नहुने कति काम गर्नुभयो कि भएन, त्यसको मूल्यांकन पार्टीले गर्छ, पार्टीले त्यसका लागि मूल्यांकन रिपोर्ट कार्डको व्यवस्था गरेको छ ।” उहाँले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचत जनप्रतिनिधिलाई जनताको गर्नुपर्ने कामलाई कुनै पार्टी विशेष भनेर विभेद नगरी काम गर्न र गर्न नहुने काम कुनै पनि नगर्न निर्देशन दिनुभयो ।
    उहाँले पार्टीका नेता कार्यकर्ता ढिलो नगरी आमनिर्वाचनको तयारीमा जुट्न निर्देशन समेत दिनुभयो । मंसिर या फागुनमा हुने गरी आमनिर्वाचनको घोषणा हुन्छ, समय धेरै छैन, त्यसैले आजैदेखि त्यसको तयारीमा लाग्नुस्,” उहाँले भन्नुभयो । उहाँले विगतमा भक्तपुरको उम्मेदवार छनोटमा पार्टीले गलत गरेको टिप्पणी गर्दै आगामी निर्वाचनमा भक्तपुरको चाहना अनुसारको उम्मेदवार छनोट गरिने विश्वास समेत दिलाउनुभयो ।
    स्थानीय तहको निर्वाचनको सफलताले देश नयाँ अध्यायमा प्रवेश गरेको भन्दै उहाँले अब एमालेलाई र केपी ओलीलाई गाली र आलोचना गरेर कांग्रेसले समय बर्वाद नगर्ने बताउनुभयो । उहाँले कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताउँदैं जनप्रतिनिधिहरुले नागरिकका हक, जवाफदेहीता, सेवा, नीतिगत व्यवस्था, स्रोतको व्यवस्थापन, समन्वय र संस्थागत विषयमा ध्यान पु¥याएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बिज्ञ, व्यबस्थापन एवं अन्य सहयोग माग भएका पार्टीले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्र्तघात गर्ने जो कोहीलाई छुट नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पार्टीको आधिकारीक उम्मेदवार हराउन लाग्ने, असहयोग गर्नेलाई कारवाही गरेरै छाड्ने बताउनुभयो ।
    उहाँले भन्नुभयो, “यस पटकको चुनावमा कस कसले कहाँ अन्तर्घात गर्यो पार्टीमा त्यसको रिपोर्ट प्रमाणसहित आएको छ, पार्टीले टिकट दिएका उम्मेदवारलाई हराउन अन्य पार्टीसँग मिलेर भोट बेचेर आफ्नै साथी र पार्टीलाई अन्र्तघात गर्नेहरु अब एकछिन पनि पार्टीमा रहने छैनन्, सबैलाई कारबाही हुन्छ ।” उहाँले दिनभरी कांग्रेसको प्रचारमा हिड्ने, रातभरी एमालेका नेता महेश बस्नेतसँग बसेर पैसामा बिक्नेलाई पार्टीले कारबाही गर्ने बताउँदैं कांग्रेस भित्रको ठेकेदारी प्रथालाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    कार्यक्रममा कांग्रेसबाट मध्यपुर नगरपालिकामा प्रमुखमा विजयी हुने सुरेन्द्र श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका प्रमुखमा निवार्नचित हुने जीवन खत्रीले पार्टीको निर्देशन र संकल्प अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचन परिचालन समितिका संयोजक एवम् नेपाली कांग्रेस भक्तपुरका उपसभापति ब्रिजेश अवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा निर्वाचित कांग्रेसका ६५ जना जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

     

  • सबै राजनीतिक दलहरुसँग सहकार्य गरी अघि बढ्छौं – नगरप्रमुख श्रेष्ठ

    भक्तपुर, जेठ ९
    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरका सबै राजनीतिक दलहरुसँग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले आज (सोमवार) आयोजित शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै नवनिर्वाचित प्रमुख श्रेष्ठले पार्टीको सिद्धान्त र विचार फरक भएता पनि समृद्ध मध्यपुर थिमि निर्माण गर्न सबै राजनीतिक दलहरुसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको हो ।
    उहाँले निर्वाचनमा दलका प्रतिनिधिकारुपमा जनतामा गएपनि निर्वाचित भएपछि साझा जनप्रतिनिधिको रुपमा काम गर्नुपर्ने बताउनुभयो । “यहाँ नेपाली कांग्रेस मात्र होइन नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरु पनि निर्वाचित भएका छन । चुनावमा जाँदै गर्दा राजनीतिक दलको प्रतिनिधिको रुपमा गए पनि निर्वाचित भएर आएपछि मध्यपुर थिमिको साझा जनप्रतिनिधिको रुपमा काम गर्नुपर्छ,” उहाँले भन्नुभयो, “सबै राजनीतिक दलहरुको साझा विचारलाई आत्मसाथ गर्दै एकल नेतृत्व होइन सामूहिक नेतृत्व गरेर अघि बढ्नुपर्छ ।”


    उहाँले निर्वाचन घोषणापत्रमा उल्लेख भएको नगरको सेवालाई विभेदमुक्त बनाउने प्रतिवद्धतालाई कार्यान्वयन गर्ने, नगरको खानेपानी, फोहोर व्यवस्थापनलगायतका समस्यालाई क्रमशः समाधान गर्दै लैजाने बताउनुभयो । उहाँले नगरका राम्रा योजनालाई निरन्तरता दिँदैं सम्पदा संरक्षण, व्यवस्थित शहरीकरण, स्वास्थ्यमा सरल पहुँचलगायतका योजना कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निर्वतमान जनप्रतिनिधिको कार्यकालमा भएका राम्रा कामको अनुशरण गर्दै विगतमा गर्न नसकेका काम र कमीकमजोरीलाई सुधार गरेर समृद्ध नगरपालिका निर्माण गर्ने अभियानमा सबै एकतावद्ध भएर अघि बढ्न सबैलाई आग्रह समेत गर्नुभयो ।
    कार्यक्रममा भक्तपुर जिल्लाका मूख्य निर्वाचन अधिकृत गोपाल बास्तोलाले मध्यपुर थिमिका केही मतदान स्थल साँघुरो र अफ्ठ्यारो स्थानमा रहेकोले मतदान गर्दा सुरक्षित र सुविधायुक्त तरिकाले मतदान गर्ने वातावरणका लागि ती मतदान स्थल उपयुक्त स्थानमा स्थानान्तरण गर्नका लागि नवनिर्वाचित प्रमुख, उपप्रमुख र राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।


    उहाँले काठमाण्डौं उपत्यकाका जनप्रतिनिधिहरुले राजनीतिक दलभन्दा माथि उठेर खानेपानी र फोहोर व्यवस्थापनको समस्यालाई साझा समस्याको रुपमा सहकार्य र समन्वय गरेर समाधानमा जानुपर्ने खाँचो औंल्याउनुभयो ।
    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मध्यपुर थिमिमा बढ्दो शहरीकरण व्यवस्थित गर्नुपर्नेर यहाँको कलासँस्कृतिलाई पर्यटनको आकर्षणको रुपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो । निर्वाचन अधिकृत मैंया कँडेल र सहायक निर्वाचन अधिकृत केशव सिलवालले निर्वाचनलाई भयरहित वातावरणमा स्वच्छ, मर्यादित र विवादरहित ढंगले सम्पन्न गर्न सहयोग गर्ने सबै राजनीतिक दल, आम मतदाता, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सम्पूर्णलाई धन्यवाद दिनुभयो ।


    कार्यक्रममा मूख्य निर्वाचन अधिकृत बास्तोलाले नवनिर्वाचित प्रमुख श्रेष्ठलाई र श्रेष्ठले उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाउनु भएको थियो ।
    शपथ लगत्तै नगरप्रमुख श्रेष्ठलगायतका जनप्रतिनिधिहरु मध्यपुर थिमि–१, लोकन्थलीस्थित वि पि पार्कमा रहेको वि पि को शालिकमा माल्र्यापण गर्नुभएको थियो । सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापालगायत नेपाली कांग्रेसका जिल्ला, नगर र क्षेत्रीय समितिका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।
    यसैगरी मध्यपुर थिमि नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले आजै पदभार ग्रहण गरेका छन ।

     

  • भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुद्वारा शपथ तथा पद्भार ग्रहण

    भक्तपुर, जेठ ७
    भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुले शुक्रवार शपथ ग्रहण गर्दै पदभार ग्रहण गर्नुभएको छ ।
    भक्तपुर नगरपालिका कार्यालयको प्रांगणमा सम्पन्न कार्यक्रममा मूख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिलाई शपथ ग्रहण गराउनुभएको थियो भने प्रमुख प्रजापतिले उपप्रमुख, नगरको १० वटै वडाअध्यक्षलगायत सदस्यहरुलाई शपथ गराउनुभएको थियो ।
    सो अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुले पार्टीको घोषणापत्र र जनचाहना अनुसार काम गर्न निर्देशन दिनुभयो । उहाँले जनप्रतिनिधिहरुलाई एम्बुलेन्स र दमकलको सेवा सरह रातदिन जनताको सेवामा खट्न आग्रह समेत गर्नुभयो ।


    निर्वाचनमा सिद्धान्तहिन गठबन्धनको कुनै औचित्य नभएको भक्तपुरका जनताले स्पष्ट पारेको बताउँदैं उहाँले देको मिवा ईतापाको जग्गा एकिकरण आयोजना छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनप्रतिनिधिहरुले कुरामा भन्दा काममा ध्यान दिनुपर्ने बताउँदैं भक्तपुर नगरपालिकामा नेमकिपालाई अत्याधिक बहुमतका साथ विजयी गराउन सहयोग गर्नुहुने मतदातालगायतलाई पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
    नवनिर्वाचित प्रमुख प्रजापतिले जनप्रतिनिधिहरु सबैको साझा व्यक्तित्व भएको हुँदा कुनै आग्रह र पूर्वाग्रह नराखी कानुनअनुसार छिटो र छरिटो रुपमा काम सम्पन्न गर्ने विश्वास दिलाउनुभयो ।


    पहिलो कार्यकालमा कानुनी र प्राविधिक कारणले पूरा हुन नसकेको कामहरु यस कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले पार्टीले निर्वाचनको समयमा सार्वजनिक गरेको निर्वाचन घोषणापत्र अनुरुप काम गर्ने वाचा समेत गर्नुभयो ।
    बागमती प्रदेशका प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले स्थानीय तहको निर्वाचनमा भक्तपुर नपाले हासिल गरेको सफलताबाट सिंगो देश जितेको अनुभव भएको बताउनुहुँदै भक्तपुर नपाका जनप्रतिनिधिहरुले हिजोका दिनमा झैं अविचलित रुपमा जनताको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नर्वाचित जनप्रतिनिधिलाई आगामी कार्यकाल सफलताको शुभकामना दिनुहुँदै मतगणनाको कार्य अरु जिल्लाको तुलनामा भक्तपुरमा छिटो सम्पन्न भएको बताउनुभयो ।


    भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले निर्वाचन प्रक्रिया सुधार गर्नुपर्ने, निर्वाचन भएकै ठाउँमा मतगणनाको व्यवस्था गर्नुपर्ने र मतदान केन्द्रहरुको सुधार आवश्यक रहेको बताउनुभयो ।
    नगरप्रमुख सुनिल प्रजापतिलगायतका जनप्रतिनिधिहरुले शपथ ग्रहण लगत्तै कार्यालय पुगेर पदभार समेत ग्रहण गरेका थिए । त्यस लगत्तै बसेको भक्तपुर नगरपालिकाको पहिलो बोर्ड बैठकले देशमा प्रजातन्त्र पुनःस्थापनाको लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरुमा शाहादत्त प्राप्त गरेका ज्ञात अज्ञात सम्पूर्ण शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै जनअधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका आन्दोलनहरूमा घाइते भएका वीर योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरेको छ ।


    त्यस्तै वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदान गरी निर्वाचित गराउनु हुने सम्पूर्ण मतदाता एवम् नगरबासीहरुप्रति आभार व्यक्त गरेको छ । साथै स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुर, मतदान अधिकृतलगायत निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीहरु, प्रशासन, सुरक्षाकर्मीहरु स्वयम्सेवकहरूप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ ।

     

  • सुर्यविनायकमा प्रमुख,उपप्रमुखमा एमालेका थापा र भट्टराई निर्वाचित

    भक्तपुर, जेठ ५
    भक्तपुरको सुर्यविनायक नगरपालिकामा नेकपा एमालेका प्रमुख, उपप्रमुखमा निर्वाचित भएका छन । नेपाली कांग्रेस र एकिकृत समाजवादी पार्टीको गठबन्धनलाई पराजित गर्दै प्रमुखमा बासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सरिता खतिवडाले जानकारी दिनुभयो ।
    निवर्तमान प्रमुख समेत रहनुभएका नेकपा एमालेका बासुदेव थापा १४ हजार ७५८ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी गठबन्धनकातर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका निशान ढुंगेलले १३ हजार २३२ मत प्राप्त गर्नुभयो ।
    त्यसैगरी उपप्रमुखमा सरिता भट्टराई १४ हजार ४९० मतसहित निर्वाचित हुँदा उहाँका निकटम प्रतिद्धन्द्धी एकिकृत समाजवादी पाटी श्याम बस्नेतले ६ हजार ६६१ मत प्राप्त गर्नुभयो ।
    नेकपा एमालेले सूर्यविनायकमा नगरप्रमुख, उपप्रमुख, सहित वडा नं. १, ५, ७, ८ र १० का वडाअध्यक्षसहित बहुमत सदस्य जित हात पारेको छ, भने नेपाली कांग्रेसले वडा नं. २, ३, ४, ६ र ९ मा वडाअध्यक्ष जितेको छ ।
    सूर्यविनायकमा कांग्रेसले २०७४ को परिणामलाई सुधार गरेको छ । २०७४ मा कांग्रेसले वडा नं. २, ३ र ६ मात्र वडा अध्यक्ष जितेको थियो । यसपटक कांग्रेसले एमालेको गढकोरुपमा परिचित वडा नं. ४ र ९ मा वडाअध्यक्ष जित्न सफल भएको हो ।

  • मध्यपुर थिमिको प्रमुखमा कांग्रेसका सुरेन्द्र, उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण निर्वाचित

    भक्तपुर, जेठ ४
    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन विजयी भएको छ । गठबन्धनले मध्यपुर थिमिमा नगरप्रमुख, उपप्रमुख, ६ वटा वडासहित बहुमत सदस्य जित हार पारे भने २ वटा वडाअध्यक्ष नेकपा एमाले र एकमा नेपाल मजदुर किसान पार्टी विजयी भए ।
    मध्यपुर थिमिमा प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्नै ज्वाइँ एवम् निवर्तमान प्रमुख नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई पराजित गरेको छ । गठबन्धनकातर्फबाट उम्मेदवार बनेका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरे भने उहाँका निकटम प्रतिद्धन्द्धी मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गर्नुभयो ।
    २०७४ मा मदनसुन्दरले नेपाली कांग्रेसका अष्ट कवेलाई पराजित गर्दै प्रमुखमा निर्वाचित हुनुभएको थियो । सो बेला नेमकिपासँग तालमेल गरेको मदनसुन्दरले १४ हजार मत पाएका थिए । यसपटक एक्लै चुनावी मैदानमा उत्रेको एमालेले मध्यपुर थिमिमा प्रमुख गुमाउन पुग्यो ।
    उपप्रमुखमा पनि गठबन्धनका विजयकृष्ण श्रेष्ठ निर्वाचित हुनुभयो । नेकपा माओवादी केन्द्रका श्रेष्ठले १२ हजार १०२ मत ल्याई विजयी हुँदा उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी उत्तरा नेपालले ८ हजार ८६३ मत पाउनुभयो ।
    मध्यपुर थिमिको नगरसभामा गठबन्धनले करिव दुई तिहाई सिट जितेको छ । मध्यपुर थिमिको ४७ सदस्यीय नगरसभामा गठबन्धनले २९ सिट जितेको छ भने नेकपा एमालेले १३ र नेमकिपाले ४ सिट जितेको छ ।
    नेपाली कांग्रेसले नगरप्रमुख, ६ वडाअध्यक्ष र १८ जना नगरसभा सदस्यसहित महुमत सिट जितेको छ । कांग्रेसले वडा नं. १ मा वडाअध्यक्षसहित ४, वडा नं. २ मा वडाअध्यक्षसहित २, वडा नं. ३ मा वडाअध्यक्षसहित ४, वडा नं. ४ मा एक सदस्य, वडा नं. ५ मा वडाअध्यक्षसहित ३, वडा नं. ६ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको निर्वाचन कार्यालयले जनाएको छ ।
    त्यसैगरी वडा नं. ७ मा दुई सदस्य, ८ मा एक सदस्य जितेको कांग्रेसले वडा नं. ९ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ ।
    नेकपा माओवदी केन्द्रले उपप्रमुखसहित वडा नं. ६ मा एक र वडा नं. ९ मा एक सदस्य जितेको छ भने नेकपा एमालेले वडा नं. १ मा एक सदस्य, २ मा तीन सदस्य, वडा नं. ३ मा एक सदस्य, वडा नं. ४ मा वडाअध्यक्षसहित ४, वडा नं. ५ मा दुई सदस्य, वडा नं. ७ मा वडाअध्यक्षसहित ३ सदस्य जितेको छ । त्यसैगरी नेमकिपाले वडा नं. ८ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ ।

     

  • एउटा वडाको मत गणना अगावै मध्यपुर थिमिमा सुरेन्द्र र विजयकृष्णको जित पक्का

    भक्तपुर, जेठ ३
    नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा जित पक्का भएको छ । मध्यपुर थिमिको ९ वटा वडा मध्ये ९ नंम्बर वडाको मतगणना अघि नै श्रेष्ठको जित पक्का भएको हो ।
    वडा नं. ९ मा कुल २७३७ मत खसेको छ । नौ वटा वडा भएको यस नगरपालिमा सुरेन्द्रले वडा नं. ८ को मत गणना सकिँदासम्म १३ हजार ७५६ मत ल्याई सकेको छ भने उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले १० हजार ३०८ मत प्राप्त गरेका छन । उहाँहरु बीचको मतान्तर ३४४८ रहेको छ । यस हिसावले गन्न बाँकी वडा नं. ९ को सबै मत मदनसुन्दरलाई जाँदा पनि सुरेन्द्रको जित पक्का भएको हो ।
    त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठको जित पक्का भएको छ । उहाँले पनि वडा नं. ९ को मतगणना अगावै जित पक्का गरेको हो । वडा नं. ८ को मत गणना सकिँदा विजयको मत ११ हजार ३९१ रहेको छ भने उहाँका निकटम प्रतिष्पर्धी नेकपा एमालेकी उत्तरा नेपालको मत ८ हजार २१८ रहेको छ । उहाँहरु बीचको मतान्तर ३१७३ रहेको छ ।
    मध्यपुर थिमिमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको हो । २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमाले र नेमकिपाले गठबन्धन गरेको थियो । सोही गठबन्धनका कारण मध्यपुर थिमिमा एमालेका मदनसुन्दर श्रेष्ठ १४ हजार मतका साथ प्रमुखमा निर्वाचित हुनुभएको थियो । यस पटक नेमकिपा एक्लै चुनावी मैदानमा रहेको छ ।

     

     

  • मध्यपुर थिमिमा नेमकिपाले खाता खोल्यो, वडा नं. ८ मा थापा श्रेष्ठ विजयी

    भक्तपुर, जेठ ३
    नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा पनि खाता खोलेको छ । भक्तपुर नगरपालिकामा क्लिन स्विप गरेको नेमकिपाले मध्यपुर थिमिमा भने वडा नं. ८ मा पुगेर खाता खोलेको हो ।
    मध्यपुर थिमि ८ को वडा अध्यक्षमा नेमकिपाका रमेश थापा श्रेष्ठ विजयी हुनुभयो । उहाँले एक हजार २२६ मत पाउनुभयो भने उहाँको निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलकृष्ण प्रजापतिले एक हजार ४५ मत पाउनुभयो । थापा श्रेष्ठ यसअघि २०७४ को निर्वाचनमा वडा नं. ८ बाटै वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । पराजित प्रजापति २०७४ को निर्वाचनमा पनि नेमकिपाका देवकृष्ण मोय् श्रेष्ठसँग पराजित भएका थिए ।
    वडा सदस्यमा भने मिश्रित नतिजा आएको छ । महिला वडा सदस्यमा नेपाली कांग्रेसका उज्वला थापा श्रेष्ठ निर्वाचित हुँदा बाँकी सबै सदस्य नेमकिपाका विजयी भए । जसअनुसार दलित महिला सदस्यमा मनिसा परियार १०१७, खुल्ला सदस्यमा विजयप्रकाश साहुखल ९२८ र सुरेन्द्र था श्रेष्ठ ९७७ मतले निर्वाचित भयो ।

  • ललितपुरमा चिरिबाबु अग्रता बढाउँदैं

    भक्तपुर, जेठ ३
    ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले निकटम प्रतिष्पर्धीलाई दोब्बर मतान्तरले पछि पारेका छन । पछिल्लो मत परिणाम अनुसार महर्जनले ८,५३४ मत ल्याएका छन भने उहाँका निकटम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३,७८५ मत मत ल्याएका छन् ।
    यस्तै, उपमेयरमा नेकपा एमाले मन्जली शाक्य बज्राचार्यले अग्रता बनाएकी छन् । मन्जलीले ४,३३५ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले २,७९४ मत मत ल्याएका छन् ।