Category: राजनीति

  • निर्वाचनमा हारेपनि आन्दोलनमा हार्नु हुन्न ः अध्यक्ष बिजुक्छें

    भक्तपुर, भदौ ६
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चुनावमा हारे पनि कुनै पनि आन्दोलनमा हार्न नहुने बताउनुभएको छ । पार्टीको भक्तपुर जिल्ला समितिको पूर्ण बैठकलाई सोमवार सम्बोधन गर्दै बिजुक्छेंले चुनाव भनेको हारजितको खेल भएकाले त्यसमा हारेपनि जनताको पक्षमा हुने कुनैपनि आन्दोलन हार्न नहुनेमा जोड दिनुभएको हो ।
    उहाँले मुलुकको परिस्थितीले नयाँ नयाँ आन्दोलनको खाँचो भएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको अहिलेको अवस्थामा नयाँ नयाँ आन्दोलन गर्नुपर्ने स्थिति बनेको छ । राजनीीतमा चुनावमा हार्न सक्छौँ तर कुनै पनि आन्दोलनमा हार्नु हुँदैन ।”
    बैठकमा उहाँले कार्यकर्तामा आवश्यक गुणबारे स्पष्ट पार्दै प्रशिक्षण समेत दिनुभएको थियो । राजनीतिलाई फाइदा र बेफाइदामा केन्द्रीत गर्दा मुलुक आजको अवस्थामा पुगेको विश्लेषण गर्दै उहाँले भन्नुभयो “फाइदा–बेफाइदामा केन्द्रित हुने कार्यकर्तामा जुझारूपन हुँदैन । वैचारिकरूपले ठीक कार्यकर्ताहरुले पार्टीभित्र होस् या समाजमा सङ्घर्ष गर्छन् ।”
    वर्गीय तथा पेशागत सङ्गठनका इन्चार्जहरूको समेत उपस्थिति रहेको बैठकमा बिजुक्छेंले आत्मसमीक्षा तथा आत्मालोचना साङ्गठनिक जीवनको महत्वपूर्ण गुण रहेकोमा जोड दिनुभयो । “कुनै पनि कार्यकर्ता पार्टीप्रति इमानदार छ–छैन गतिविधिबाट थाहा हुुन्छ, आफ्नो र परिवारको फाइदाको निम्ति होइन जनताको सेवामा कति समर्पित भयो भन्ने कुराले पार्टी कार्यकर्ताको मूल्याङ्कन गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो ।

  • भक्तपुर कांग्रेसको प्रशिक्षण शाखा गठन

    भक्तपुर, असार २६
    नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले जिल्ला प्रशिक्षण शाखा गठन गरेको छ । जिल्ला उपसभापति विजेश अवालको सभापतित्वमा गठन गरिएको प्रशिक्षण शाखामा शनिवार अन्य पदाधिकारी र सदस्यहरु मनोनयन गरी शाखालाई पूर्णरुपमा गठन गरिएको हो ।
    पार्टी उपसभापति एवम् शाखा सभापति अवालले पार्टीको विधान र नियमावली बमोजिम शाखाको उपसभापतिमा रामभक्त थापामगर र सचिवमा दिनेश न्यौपानेलाई मनोनयन गर्नुभएको छ ।
    यस्तै सदस्यहरुमा रामेश्वर भूजु, राजु अर्याल, न्हुछे भक्त कवां, उत्तम नारायण मल्ल, डा. तारानाथ घिमिरे, डा. जानुका पौडेल, राम थापा, ज्ञान बहादुर केसी, जनार्दन घिमिरे, ओम प्रकाश श्रेष्ठ, लक्ष्मी शोभा प्रजापति र तारा डतवाललाई मनोनित गरी प्रशिक्षण शाखा गठन गरिएको हो ।
    शाखाले पार्टीको विधान, नियमावली, सिद्धान्त र नीति बमोजिम कार्यकर्ताहरुलाई प्रशिक्षित गरी जिल्लामा कांग्रेसको संगठन मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएको छ ।

     

  • पार्टी हित विपरित सामाजिक सञ्जालमा अभिव्यक्ति नदिन भक्तपुर कांग्रेसको निर्देशन

    भक्तपुर, असार २३
    नेपाली कांग्रेस भक्तपुरले पार्टीको हित विपरित सामाजिक सञ्जालमा सार्वजनिक अभिव्यक्ति नदिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । कार्यबहाक जिल्ला सभापति उर्मिला वनको सभापतित्वमा बिहिवार पार्टी कार्यालयमा बसेको बैठकले पछिल्ला केही दिन यता सामाजिक सञ्जाल फेसबुकमा पार्टी हित विपरित अभिव्यक्ति आएकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाउँदैं त्यस्ता गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको हो ।


    बैठकले त्यस्ता गतिविधि नगर्न र नगराउन जिल्ला समिति मातहतको क्षेत्रीय, नगर, वडा र टोल समितिहरुलाई निर्देशन समेत दिएको जिल्ला सचिव सुशिल बस्नेतले बताउनुभयो । बैठकले पार्टीको निर्देशनको उलंघन गरे पार्टीको विधान अनुसार अनुशासनको कारवाही गर्ने निर्णय समेत गरेको छ । बैठकमा जिल्ला पदाधिकारीका साथै पार्टीका नगर, प्रदेशसभा र वडा सभापतिहरुको समेत सहभागिता रहेको थियो ।

  • भक्तपुर नगरपालिकाको नगरसभामा एमसीसी र एसपीपी बारे छलफल

    भक्तपुर, असार १२
    भक्तपुर नगरपालिकाको नगरसभामा एमसीसी र एसपीपी सम्झौताबारे छलफल भएको छ । नगरपालिकाको १२ औं नगरसभाको आइतवार बसेको बैठकको विशेष समयमा नगरसभा सदस्यहरुले एमसीसी र एसपीपी सम्झौताबारे आप्mना धारणा राखेका थिए ।
    नगरसभाको विशेष समयमा सदस्यहरु रामसुन्दर बासी, गंगालक्ष्मी बमनु, कल्पना शिल्पकार, पुरुषोत्तम तमखू, इन्द्रबहादुर प्याठले एमसीसी र एसपीपी सम्झौता राष्ट्रघाती भएकोले खारेज हुनुपर्ने र दुवै सम्झौताबारे जनतालाई सचेत पार्नुपर्ने धारणा राख्नुभएको थियो । साथै उहाँहरुले सिद्धपोखरी वरिपरि हरियाली प्रवद्र्धन गर्नुपर्ने, घरभाडा कर उठाउनुपर्ने, देको मिवा इतापाके आवास योजना छिटो सम्पन्न गर्नुपर्ने, नगर प्रहरीको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।
    त्यस्तै नगरसभा सदस्यहरु कृष्णगोपाल चौगुठी, हेरा ख्याजु, श्यामसुन्दर मातां, नारायणप्रसाद त्वानाबासु, कृष्णनारायण दुमरु, सूर्यप्रसाद श्रेष्ठ, मञ्जुमैया लाखा, सिद्धिराम अवाल, जितेन्द्र मुनंकर्मी र गोविन्द दुवालले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्दै हनुमानघाट सुधारको योजना ल्याउनुपर्ने, भनपा ७ स्थित पाँचाख्योमा हरियाली प्रवद्र्धन गर्नुपर्ने, सडक बत्ती मर्मत सम्भार गर्नुपर्ने, साना र दुई पांग्रे सवारीसाधन पार्किङ व्यवस्था गर्नुपर्ने, नगरकोट सडकको दायाँबायाँ पेटी बनाउनुपर्ने, नगरबासीहरुलाई सरुवा रोगबाट बचाउन खानेपानीको फिल्टरको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
    यसैगरी बैठकमा नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजित बजेटबारे दफावार छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै नगरसदस्य हेरा ख्याजुले संघ र प्रदेशको बजेट समयमै प्राप्त गर्न पहल गर्नुपर्ने, महेश्वरी खेलमैदानको लागि छुट्याएको बजेट अपुग भएको बताउनुभयो ।
    त्यस्तै नगरसदस्य पुरुषोत्तम तमखुले इखालाछी मठ पुनःनिर्माणको लागि छुट्याएको बजेट कम भएको, जितेन्द्र मुनंकर्मीले नपाले आर्थिक स्रोत बढाउनेतर्फ ध्यान दिनुपर्ने, हरिरत्न गोर्खालीले नपाको बजेट समाजवादउन्मुख भएको बताउँदैं वडास्तरीय योजनामा छुट्याइएको रकम समयानुसार वृद्धि गर्नुपर्ने बताउनुभयो ।
    अर्का सदस्य रामसुन्दर बासीले भौतिक निर्माणमा जोड दिनुपर्ने, नपाले मानसिक रोग विशेषज्ञको व्यवस्था गर्नुपर्ने, सामुदायिक विद्यालयमा भौतिक सुधार गर्न बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो ।
    बैठकको अध्यक्षता गरिरहनु भएका नगरप्रमुख सुनिल प्रजापतिले नगरको शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई क्रमशः प्राथमिकतामा राखी बजेट छुट्याएको प्रष्ट पार्दै नगरबासीहरुबाट प्राप्त राय सुझावका आधारमा जनमुखी बजेट निर्माणमा नपाले जोड दिएको बताउनुभयो ।

  • भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम ः शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई प्राथमिकता

    भक्तपुर, असार ८
    भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० मा शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा जोड दिने भएको छ । भक्तपुर नगरपालिकाको १२ औं नगरसभामा बुधवार नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख सुनिल प्रजापतिले आगामी आर्थिक वर्ष पनि शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा नगरपालिकाले विशेष जोड दिने बताएको हो ।
    कुल ९५ बुँदामा समेटिएको नीति तथा कार्यक्रमको शिक्षा शिर्षकमा मात्र १५ बुँदा समेटिएका छन । शिक्षामा नगरपालिकाले ख्वप विश्व विद्यालय स्थापनालाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले हाल विभिन्न क्षेत्रका ७ वटा शैक्षिक संस्था सञ्चालन गरिरहेको छ ।
    कार्यक्रममा ‘विश्वविद्यालय सञ्चालन गर्न विज्ञहरूको टोली गठन गरी आवश्यक तयारी गरिने’ उल्लेख छ । सामुदायिक विद्यालयहरूमा विज्ञान प्रयोगशाला र गणित प्रयोगशालाको निर्माण गर्ने, नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार केन्द्रहरूलाई थप व्यवस्थित र स्तरीय सेवा प्रदान गर्दै वडा—वडामा विस्तार गर्ने, इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषालगायतका विषयहरूमा उच्च शिक्षा हासिल गर्ने नगरबासी विद्यार्थीहरूको लागि दिँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिने, भक्तपुरलाई ज्ञान—विज्ञानको केन्द्रको रूपमा विकास गर्न नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा नयाँ विषयहरू थप गर्दै लाने, कुनै पनि नगरबासी विद्यार्थी आर्थिक कारणले उच्च शिक्षा हासिल गर्नबाट बञ्चित नहोस् भन्ने उद्देश्यले प्रदान गर्दै आएको शैक्षिक ऋणलाई निरन्तरता दिँदै समयानुकूल ऋण रकमको सीमा बृद्धि गर्ने कार्यक्रम रहेको छ ।
    यस्तै पठन संस्कृतिको विकासको लागि वडा—वडामा स्थापित पुस्तकालयहरूका लागि आवश्यक सहयोग गरी नियमित सञ्चालनको व्यवस्था मिलाउने, जनज्योति पुस्तकालयलाई इ–लाइब्रेरीको रूपमा विकास गर्ने, गृहिणी महिलाहरू एवम् प्रौढ नगरबासीहरूका लागि निरन्तर शिक्षा सञ्चालन गर्ने, विद्यालय र कलेज जीवन छुटेका नगरबासीहरूका लागि बिहान र साँझ कक्षा सञ्चालनको व्यवस्था गर्ने भएको छ ।
    स्वास्थ्यतर्फ भक्तपुर नगरपालिकाले आगामी वर्ष ख्वप अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालन गर्ने, आवश्यकताअनुसार बिशेषज्ञ सेवा थप्दै ख्वप अस्पतालमा प्रसुती सेवा सञ्चालन गर्ने, वडा—वडामा चिकित्सकसहितको स्वास्थ्यउपचार केन्द्रहरूको विस्तार गर्ने, घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी बनाउने, गम्भीर रोग लागेका बिरामीहरूलाई दिइँदै आएको आर्थिक सहयोग रकमलाई निरन्तरता दिने, आयुर्वेदिक उपचार सेवालाई वडा—वडामा विस्तार गर्ने, रगत आवश्यक पर्ने बिरामी नगरबासीहरूको लागि निःशुल्क रगतको व्यवस्था गर्ने भएको छ ।
    भक्तपुर नगरपालिकाले वडा नं १ स्थित निर्माणाधीन भाज्या पुखु, वडा नं ४ को इखालाछी मठ, हाडा छेँ र लक्ष्मीनरसिंह मन्दिर तथा वडा नं. २ को इन्द्रायणी द्योछेँको पुनःनिर्माण आगामी आर्थिक वर्ष सम्पन्न गर्ने भएको छ ।
    त्यस्तै २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको लायकूस्थित थंथु दरबार (पहिले नगरपालिका रहेको भवन) को मौलिक शैलीमै पुनःनिर्माण कार्यलाई अगाडि बढाउने, भक्तपुरको जनजीवन झल्किने साँस्कृतिक म्युजियम (सङ्ग्रहालय) निर्माणको कार्यलाई अगाडि बढाउने, साँस्कृतिक गुरुहरूलाई नगदसहित सम्मान गर्ने, भक्तपुरमा आन्तरिक र बाह्य पर्यटकहरूको प्रवद्र्धनको लागि सन्ध्याकालीन सांस्कृतिक प्रदर्शनीको व्यवस्था मिलाउने र दाफा, भजन र गुठीहरूको अभिलेख व्यवस्थित गर्न नगरपालिकामा दर्ता गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।
    यसैगरी भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, कुहिने र नकुहिने फोहोर घर—घरबाटै निश्चित समय र बार तोकेर सङ्कलन गरी ती फोहरबाट कम्पोष्ट मल बनाइ किसानहरूलाई सस्तोमा बिक्री गर्ने व्यवस्था मिलाउने, प्लाष्टिकको प्रयोगमा न्युनीकरणका साथै त्यसको वैकल्पिक उपाय अवलम्बन गर्न नगरभित्रका सहकारी र विभिन्न सं्घ—संस्थासँग समन्वय गरी कार्य अगाडि बढाइने, मेलम्चीको पानी नगरबासीहरूको घर—घरमा वितरण गर्ने व्यवस्था मिलाउने, कौसी खेती प्रविधिलाई प्रोत्साहन गर्ने, युवाहरूलाई रेफ्रिजेरेटर, वासिङ मेसिन, मोटरसाइकल, मोबाइल, विद्युतीय उपकरण मर्मत लगायतका सीपमूलक तालिम प्रदान गर्ने, जुजु धौ, टका टपुली (भादगाउँले टोपी), हाकु पटासी, ताइच्युन च्युराजस्ता स्थानीय परम्परागत उत्पादन तथा सीपलाई आयआर्जनको स्रोतको रूपमा विकास गरी रोजगारीको प्रबद्र्धन गर्ने नीति लिने नगरप्रमुख प्रजापतिले नगरसभामा जानकारी दिनुभयो ।
    ट्राफिक व्यवस्थापन र नगरका बजार व्यवस्थापनमा सुधार ल्याइ भक्तपुरलाई व्यवस्थित नगरको रूपमा विकास गर्न नगर प्रहरीको व्यवस्था गर्ने, विश्व सम्पदा सूचीमा सुचिकृत दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्रहरूमा रात्रीकालीन विशेष बत्तीको व्यवस्था गर्ने, नगरपालिकाका गतिविधिहरू जनताबीच छिटो—छरितो पु¥याउन र जनतालाई हरेक गतिविधिबारे सुसूचित गर्न ख्वप टेलिभिजन सञ्चालनमा ल्याउन, अनलाइनबाट कर तिर्ने र अनलाइन नक्सापासको प्रक्रिया अगाडि बढाउने, भक्तपुर नपा वडा नं. २ स्थित पेपर क्राफ्टलाई पुनः सञ्चालनमा ल्याउने कार्यक्रम रहेको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।

     

     

  • भक्तपुर नगरपालिकाको १२ औं नगरसभा शुरु

    भक्तपुर, असार ८
    भक्तपुर नगरपालिकाको १२ औं नगरसभा बुधवार शुरु भएको छ । सो नगरसभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले शासक दलको सत्ता मोहले गर्दा जनताले दुःख पाइरहेको बताउनुभयो ।
    उहाँले मन्त्रीले ऐन लागु गर्ने भन्दा पनि नीतिगत काममा जोड दिनुपर्ने बताउनुभयो । नेपालका युवाहरुलाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेकोेमा चिन्ता व्यक्त गर्दै उहाँले एसियामा तेस्रो विश्वयुद्ध हुने सम्भावना प्रबल रहेको बताउनुभयो ।
    भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न सके देशभरिका विद्यार्थीहरु लाभान्वित हुने बताउँदैं उहाँले भक्तपुर नपाले चित्रकला विषयको अध्यापनमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
    कार्यक्रममा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतीय एकाधिकारी पुँजीले नेपाललाई अघोषित नाकाबन्दी गरिरहेको बताउँदैंै नेपाल सरकारको बजेट जनमुखी नभई पुँजीपति वर्गको हितमा रहेको आरोप लगाउनुभयो ।
    भक्तपुर नगरलाई सफा, स्वच्छ, सांस्कृतिक र पर्यटकीय गन्तव्य स्थल बनाउन जनप्रतिनिधि निरन्तर क्रियाशील हुनुपर्नेमा जोड दिँदैं उहाँले विकास निर्माणमा उपभोक्ता समितिमार्फत आर्थिक अनुशासनमा बसी पारदर्शी ढंगले सम्पन्न गर्ने कार्यलाई नगरपालिकाले चालु राख्नुपर्ने बताउनुभयो ।


    कुहिने र नकुहिने फोहर अलग अलग संकलन गर्न सके ८० प्रतिशत फोहोर स्रोतमै घट्ने बताउँदैं उहाँले अस्पताल र उद्योगबाट निस्कने फोहरको विशेष रुपमा संकलन गर्ने बन्दोबस्त नगरपालिकाले गर्नुपर्ने सुझाव दिनुभयो ।
    उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनालाई प्राथमिकतामा राखी जनभावनाबमोजिम छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर र नगरबासीहरूको हितलाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
    उहाँले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्ने र विश्वविद्यालय सञ्चालन गर्न विज्ञहरुको टोली समेत गठन गरी आवश्यक तयारी गर्ने उल्लेख गर्दै ख्वप अस्पतालमा प्रसुती सेवा सञ्चालनमा ल्याईने बताउनुभयो ।
    नगरपालिकाद्वारा प्रवाह गरिने सेवा सुविधालाई सरल, छिटो बनाइने र अनलाइनबाट कर तिर्ने र नक्सापासको प्रक्रिया अगाडि बढाइने योजना रहेको उहाँले बताउनुभयो ।


    नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँले एसपीपीका कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भइरहेको बताउनुभयो । उहाँले नयाँ पुस्तामा व्यक्तिवादी चिन्तन हावी भइरहेको चर्चा गर्दै सामूहिक चिन्तानसहितको सेवाको भावबाट नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने बताउनुभयो ।
    त्यस्तै प्रदेशसभा सदस्य सृजना सैंजुले भक्तपुर नगरपालिकाले अपनाइरहेको जनसहभागितामा आधारित विकासको मोडलको देशव्यापी रुपमा चर्चाको विषय बनिरहेको बताउनुभयो । भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले काठमाण्डौं उपत्यकाको सम्पदा जगेर्नामा भक्तपुर नपाले अग्रणी भूमिका खेल्ने बताउनुभयो ।
    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुर नपाको नीति तथा कार्यक्रममा नगरको लाभ प्रवद्र्धन गर्न सकिने जनमुखी खालका विषयवस्तु समाविष्ट भएको बताउनुभयो ।
    भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले भक्तपुर क्यान्सर अस्पताल काठमाण्डौं उपत्यकाकै सुविधासम्पन्न अस्पतालको रुपमा अगाडि बढिरहेको जानकारी दिँदैं भक्तपुर नपाले टोलटोलमा क्यान्सर परीक्षण शिविर सञ्चालन गरी व्यापक जनतालाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो । लक्ष्मी गारु

     

  • सूर्यविनायक नगर प्रमुखलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण

    भक्तपुर, असार २
    नेपाली कांगं्रेस सूर्यविनायक नगर कार्य समितिले सूर्यविनायक नगर प्रमुख बासुदेव थापालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । नगरसभापति निशान ढुंगेल नेतृत्वको कांग्रेस प्रतिनिधि मण्डलले बुधवार नगरप्रमुख थापालाई उहाँकै कार्यकक्षमा पुगेर ध्यानाकर्षपत्र बुझाएको हो ।
    ध्यानाकर्षण पत्रमा नगरभित्र निर्माण सुरु गरिएका तर सम्पन्न हुन नसकेर अलपत्र बनेका, बिग्रिएका सडक, पुल पुलेसा, विद्युत, खानेपानी लगायतका पूर्वाधारका कामहरु अविलम्ब निर्माण सम्पन्न गर्नुपर्ने, उपभोक्ता समिति गठन गर्दा सरोकारवाला समुह, समुदायको बृहत भेला बोलाएर मात्र उपभोक्ता समिति गठन गर्नुपर्ने र उपभोक्ता समितिका काम कारवाही पारदर्शी हुने व्यवस्था गर्नुपर्ने, सार्वजनिक सुनुवाईको व्यवस्था सुनिश्चित हुनुपर्ने, नगरपालिकाका सार्वजनिक जमिनमा भइरहेको अतिक्रमण अन्त्य गरी संरक्षण गर्नुपर्ने, निजी क्षेत्रले जमिन प्लटिङ्ग गर्दा सार्वजनिक जमिन अतिक्रमण रोकिनुपर्ने उल्ल्ेख छ ।


    त्यस्तै सूर्यविनायक नगरपालिका सबै वडामा आवतजावत गर्न सहज हुने गरी नगर यातायात सेवा सञ्चालन गर्नुपर्ने, प्रत्येक वडामा न्यूनतम ५ वटा बेडको अस्पताल संचालनमा ल्याउनुपर्ने, अस्पतालमा स्तरीय प्रयोगशाला तथा प्रर्याप्त चिकित्सकको व्यवस्था गर्नुपर्ने, सामुदायिक विद्यालयहरुमा गुणस्तरिय प्राविधिक शिक्षाको व्यवस्था गर्दे विद्यालयहरुको गुणस्तर वृद्धि गर्नुपर्ने, नीजि विद्यालयहरुलाई लगानी मैत्री वातावरण सृजना गर्दे व्यवस्थित गर्नुपर्ने, राजनीतिक आस्था तथा व्यक्तिगत प्रभावका आधारमा शिक्षकहरुबीच विभेद गर्ननहुने बुँदा कांग्रेसले बुझाएको ध्यानाकर्षमा उल्लेख छ ।
    यस्तै सूर्यविनायक नगरपालिकालाई प्लाष्टिक झोला मुक्त नगरपालिका बनाउनुपर्ने, नगरको फोहर व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्ने, फोहोर संकलन शुल्क घटाउनुपर्ने, सार्वजनिक स्थानहरुमा सार्वजनिक शौंचालय व्यवस्था गर्नुपर्ने, खानेपानी समस्या देखिएका क्षेत्रहरुमा तत्काल खानेपानीको व्यवस्था गर्नुपर्ने, चर्को कर दर घटाउनुपर्ने, ‘जनप्रतिनिधी जनताका सेवक हुन, शासक होइनन्’ भन्ने मान्यतालाई आम नागरिकले अनुभव गर्नेगरी व्यवहारमा उतार्नुपर्ने, र विकास योजना कार्यान्वयन गर्दा ‘अधिकतम सहमति, न्यूनतम क्षती’को नीति अपनाउनुपर्ने माग कांग्रेसले ध्यानाकर्षण पत्रमार्फत गरेका छन ।
    ध्यानकर्षण पत्र बुझ्दै नगर प्रमुख बासुदेव थापाले कांग्रेसले दिएका सुझावहरुलाई आफूले गंभिरतासाथ लिने बताउनुभयो । ‘हामी जनताकै सेवक भएर काम गर्ने छौं’ थापाले भन्नुभयो ‘तपाईहरुले दिएका राय, सल्लाह, सुझावलाई मैले सकारात्मक रुपमा लिएको छु ।’
    थापाले नेपाली कांग्रेस र एमाले मुलुकका जिम्मेवार पार्टीहरु भएको चर्चा गर्दे दुबै पार्टी विकासका बाहक भएको बताउनुभयो । थापाले भन्नुभयो ‘तपाईहरुले दिएका सुझावहरुलाई मनन् गरेर आगामी नगर परिषदमा समेटने प्रयास गर्ने छु ।’


    नेपाली कांग्रेस सूर्यविनायक नगर कार्य समितिका सभापति निशान ढुंगेलले आफूहरुले दिएका सुझाव र ध्यानाकर्षणलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्ने बताएकोमा पार्टी र आफ्नो तर्फबाट धन्यवाद दिनुभयो ।
    ‘जनमुखी र जनतालाई सुखः दिने विकासका काममा सधै नेपाली काग्रेसको साथ र समर्थन रहने छ ’ढुंगेलले भन्नुभयो ‘आगामी नगर परिषदमा हामीले ध्यानाकर्षण पत्रमा दिएका सुझावहरुलाई विशेष ध्यान दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’
    ढुंगेलले नगरपालिका ‘शासक भन्दा जनताको सेवक’ बनेर अगाडि बढेमा सूर्यविनायक कांग्रेस हातमा हात मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    सो अवसरमा उपप्रमुख सरिता भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेल कांग्रेस सूर्यविनायक नगर कार्यसमितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

  • जिसस भक्तपुरको प्रमुख एमाले, उपप्रमुखमा कांग्रेस

    भक्तपुर, जेठ २८
    जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन । जिससको शनिवार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका जनार्दन खड्कासँग बराबर मत भएपछि गोलाप्रथामा थापा विजयी हुनुभएको हो ।
    त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी सुजाता बाडे निर्वाचित हुनुभएको छ । उहाँले पनि गोलाप्रथामा नेकपा एमालेकी रामकेशरी श्रेष्ठलाई पछि पार्नुभएको हो ।
    त्यस्तै सदस्यहरुमा नेकपा एमालेकी नानु कार्की, मञ्जु कार्की, राममाया मिजार र विश्वराम त्वानाबासु निर्वाचित भए भने नेपाली कांग्रेसकी विनु केसी पनि निर्वाचित हुनुभयो ।
    जिसस भक्तपुरको यसअघि सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुले बराबर ३÷३ मत प्राप्त गरेपछि निर्णयका लागि गोलाप्रथा गरिएको हो ।


    चार वटा स्थानीय तह रहेको भक्तपुरमा जिससको पदाधिकारी चयनका लागि ८ मत रहेको छ । जसमध्ये नेकपा एमालेको ३, नेपाली कांग्रेसको २, नेकपा माओवादी केन्द्रको १ र नेपाल मजदुर किसान पार्टीको २ मत रहेको छ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका कारण जिससमा निर्णायक बनेको नेमकिपाले कुनै दलसँग तालमेल नगरेका कारण कांग्रेस र एमालेको मत बराबर भएको हो ।

     

  • चाँगुनारायण नगर कार्यपालिकामा मिश्रित परिणाम

    भक्तपुर, जेठ १८
    चाँगुनारायण नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा मिश्रित परिणाम आएको छ । कार्यपालिकाको मंगलवार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तथा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल भएपनि निर्वाचन परिणाम भने मिश्रित आएको हो ।
    कार्यपालिकाको ८ सदस्यका लागि सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका ४, नेमकिपाका ३ र राप्रपाका एक सदस्य निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
    प्राप्त मत परिणाम अनुसार महिला सदस्यतर्फ नेपाली कांग्रेसकी निर्मला केसी २४, पुजा बर्देवा २४, सितादेवी दाहाल लामिछाने २४ मतका साथ विजयी भए भने दलित तथा अल्पसंख्यकतर्फ दधिराम धिताल २३ मतका निर्वाचित भए ।
    त्यसैगरी महिला सदस्यतर्फ नेमकिपाकी कमला भारती गिरी २२ र राप्रपाकी सोनु विश्वकर्मा २४ मतका साथ निर्वाचित भए भने दलित तथा अल्पसंख्यकतर्फ नेमकिपाका जीवन नेपाली २३ र युवराज सार्की बयलकोटी २३ मतका साथ विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिए ।

     

  • सूर्यविनायक नगर कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार विजयी

    भक्तपुर, जेठ १८
    सूर्यविनायक नगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । नगर कार्यपालिकाको मंगलवार सम्पन्न निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन ।
    सूर्यविनायक नगरपालिकामा कुल ५१ मत रहेको छ । जस मध्ये एमालेका उम्मेदवारहरु महिलातर्फ कमला पोखरल, तारा सापकोटा, शर्मिला बस्नेत, हेमा दाहाल खतिवडा, साबित्री मिश्र र दलित तथा अल्पसंख्यकतर्फ सुमन परियार, प्रजुन त्रिखती, सुनिल भुजेल ३३÷३३ मत प्राप्त गर्दै विजयी भएका हुन । कांग्रेसका उम्मेदवारहरुले १८÷१८ मत प्राप्त गरे ।
    नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई निर्वाचत अधिकृत सरिता कुमारी खतिवडाले प्रमाणपत्र प्रदान गर्नुभयो भने नगर प्रमुख वासुदेव थापाले शपथ ग्रहण गराउनु भएको थियो ।
    सो अवसरमा नगर प्रमुख थापाले कार्यपालिकामा एमालेको बहुमत भएपनि नेपाली कांग्रेसका निर्वाचित जनप्रतिनिधि र आम नगरबासी बुद्धिजिवी तथा नागरिकको सरसल्लाहमा सहमति र सहकार्यका साथ नगरपालिका सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।