Category: राजनीति

  • नेपाली कांग्रेस भक्तपुरले भदौ २४ गते प्रशिक्षण सञ्चालन गर्ने

    भक्तपुर, भाद्र २०
    महामानव वि पी कोइरालाको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस भक्तपुरको प्रशिक्षण शाखाले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रशिक्षण यही भदौ २४ गते राधेराधेस्थित भक्तपुर हेरिटेज पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।
    प्रशिक्षणमा नेपाली कांग्रेस भक्तपुरको क्षेत्रीय, प्रदेश सभा क्षेत्रीय, नगर र वडा सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरु र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहने जिल्ला उपसभापति एवम् प्रशिक्षण शाखा प्रमुख विजेश अवालले बताउनुभयो ।
    प्रशिक्षणमा सहभागीहरुलाई योजना आयोगका पुर्व उपाध्यक्षद्धय डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसको सरकारले गरेका विकास निर्माणका योजना र विकासका अवधारणाका बारेमा प्रशिक्षण दिने छ भने कांग्रेस केन्द्रीय पदाधिकारीबाट वर्तमान समसामयिक राजनीतिक अवस्था, आगामी मंसिर ४ को निर्वाचनमा गठबन्धनको आवश्यकताका बारेमा प्रशिक्षण दिनेछ ।
    प्रशिक्षणका लागि केन्द्रीय उपसभापति एवम् प्रशिक्षण विभागका प्रमुख पूर्णबहादुर खड्कालाई ल्याउने पहल भइरहेको बताउँदैं अवालले अन्य केन्द्रीय पदाधिकारीहरुले समेत प्रशिक्षण दिने तयारी भइरहेको जानकारी दिनुभयो ।

     

  • भक्तपुर २ मा बस्नेत सर्वसम्मत सिफारिस

    भक्तपुर, भाद्र २०
    नेकपा एमाले भक्तपुर जिल्ला कमिटिले पोलिटव्यूरो सदस्य एवम् सांसद महेश बस्नेतलाई भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ को टिकटको लागि अर्का नेता निर्मल भट्टराईले पनि दावी गरेपनि एमालेको सिंगो जिल्ला कमिटिले बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष वचन देउजाले बताउनुभयो ।
    त्यस्तै भक्तपुर क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस भएको छ । अध्यक्ष देउजाले क्षेत्र नं. १ को प्रत्यक्ष तर्फको उम्मेदवारको लागि सरस्वती वाटी, लक्ष्मण तिमिल्सिना र मिलन सुवालको नाम सिफारिस गरेको जानकारी दिनुभयो ।
    यसैगरी समानुपातिकतर्फको आकांक्षी उम्मेदवारको अन्तिम टुंगो लगाउन छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले सोमवार साँझसम्म समानुपातिकतर्फको नाम टुंगो गरी जिल्लाले सिफारिस गर्ने जानकारी दिनुभयो ।

  • नेपाली कांग्रेस सूर्यविनायक नगर सम्मेलन सम्पन्न

    भक्तपुर, भाद्र १९
    नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिको प्रथम ऐतिहासिक नगर सम्मेलन आइतवार सम्पन्न भएको छ । दुई दिन चलेको सम्मेलनले विभिन्न प्रस्ताव पारित गरी सम्पन्न भएको हो ।
    सम्मेलनमा सहभागी नेता कार्यकर्ताहरुलाई नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण शाखाका सदस्य सुरेन्द्र के सी र जनार्दन घिमिरेले प्रशिक्षण दिनुभएको थियो । सहभागीहरुलाई विभिन्न १० समूहमा विभाजन गरी विविध विषयमा सामूहिक छलफल गराई प्रस्तुतीकरण गराईएको थियो ।
    सम्मेलनको समापन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले अनेकतामा एकता अहिलेको खाँचो रहेको बताउनुभयो । उहाँले कांग्रेस भित्रको विभिन्न समूहहरुबीचको एकतावद्ध सहकार्य नै निर्वाचन जित्ने प्रमुख हतियार भएको बताउँदैं कांग्रेस एकजुट भए कांग्रेसलाई कसैले हराउन नसक्ने जिकिर गर्नुभयो ।
    उहाँले नेपालमा जब जब राजनीतिक संकट आइपर्छ, जनताले दुःख पाउँछ र देशमा आपत आइलाग्दा कांग्रेसले निकास दिएको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रको संस्थागत गरेर जनतालाई सुखी मनाउनुका साथै समृद्ध नेपाल निर्माणको जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताउनुभयो ।
    उहाँले गठबन्धन कांग्रेसको रहर नभएर बाध्यता भएको बताउनुभयो । उहाँले २०७४ मा कम्युनिष्टहरुले गठबन्धन बनाएर चुनाव जाँदा कांग्रेस पछि परेको र करिव दुई तिहाई बहुमत ल्याएको वाम गठबन्धन लोकतन्त्रको संस्थागत गर्ने सवालमा चुकेकोले आफैं विघटन भई अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको बताउनुभयो । उहाँले गठबन्धनको प्रमुख उद्देश्य प्रतिगामी तत्वलाई परास्त गरी लोकतन्त्रलाई संस्थागत गर्नु रहेको बताउनुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले कांग्रेसले जनता र कार्यकर्ताको घरदैलोमा पुगेर उनीहरुको भावना अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको आन्तरिक समस्यालाई फेसबुकलगायतका सामाजिक सञ्जालमा सार्वजनिक गरेर भन्दा पार्टी कार्यालयमा राख्दा समस्याको समाधान हुने बताउनुभयो । उहाँले मंसिर ४ गतेको निर्वाचनमा जित हासिल गर्न अहिले देखी नै दिनरात नभनी जनताको घरदैलोमा खटिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
    नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीले व्यक्तिको पछाडी भन्दा पनि पार्टीको निर्वाचन चिन्ह रुख हेरेर अघि बढ्नुपर्ने बताउनुभयो । नगरसभापति निशान ढुंगेलले निर्वाचनको माहोल बनाएर जनताको घर घरमा पुग्न सम्मेलनमा सहभागी नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

     

  • प्रदेश र प्रतिनिधि सभामा समानुपातिक प्रणाली खारेज गर्नुपर्छ – सभापति बाँनिया

    भक्तपुर, भाद्र १८
    नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बाँनियाले प्रदेश सभा र प्रतिनिधि सभामा समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले सिरुटारको बिरुवामा आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै सभापति बाँनियाले समानुपातिक, समावेशी प्रतिनिधित्व हुने गरी राष्ट्रिय सभाको सदस्य संख्या बढाएर प्रदेश सभा र प्रतिनिधि सभामा समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताउनुभएको हो ।
    “प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष निर्वाचन पद्धतीबाट चुन्ने र राष्ट्रिय सभाको ५९ सदस्य संख्या बढाएर एक सय पुर्याएर पूर्ण समावेशी र समानुपातिक बनाउने नीतिमा कांग्रेस अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।


    लोकतन्त्र र गणतन्त्रलाई बदनाम गराउने तत्व यत्रतत्र रहेको र गणतन्त्र विरोधीहरुले प्रदेश सभा राष्ट्रलाई भारी भएको भन्दै संघीयतालाई खारेज गर्नुपर्ने बताउँदैं आएकोले त्यस्ता तत्वलाई निस्तेज बनाउन पनि आगामी निर्वाचनमा गठबन्धनले दुई तिहाई बहुमत जितेर संविधान संशोधन गरी प्रदेश सभा र प्रतिनिधि सभामा समानुपातिक प्रणाली खारेज गर्ने नीति लिनुपर्ने सुझाव बाँनियाले दिनुभयो ।
    उहाँले निर्वाचनमा खडा हुने उम्मेदवारले जनताको बीचमा भ्रम सृजना गर्नेलाई जनताको बीचमै भण्डाफोर गर्न सक्ने क्षमता र पार्टीका सबै नेताहरुलाई एकतावद्ध भएर अघि बढ्ने झमता राख्न सके मात्र निर्वाचनमा जित हासिल गर्न सकिने बताउनुभयो । “उम्मेदवारको टिकटको दौडमा सफल हुनेले दौडमा सहभागी सबैको मन जितेर, नमिलेका मनलाई मिलाएर लान सक्नुपर्छ,” उहाँले भन्नुभयो ।


    उहाँले जनताले विश्वास गरेर जो कोहीलाई कार्यकारी पदमा पुर्याउनु नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदैं स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको जित पनि लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो ।
    उहाँले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी हुनु दलहरुलाई चुनौती भएपनि विगतमा गरेका गल्ती सच्चिने मौका भएको बताउनुभयो । उहाँले जनतालाई फैसला गर्ने न्यायधिश र उम्मेदवारलाई वकिलको संज्ञा दिँदैं जनताले स्वतन्त्रको पक्षमा गरेको फैसला दलहरुले स्विकार गरेर, आफ्ना गल्ती कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो ।
    नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेस भित्र एउटै नेताले वडादेखी संघीय संसदको टिकट दावी गर्ने प्रवृत्तिले नेता व्यवस्थापनमा असजिलो भएको बताउनुभयो । उहाँले कांग्रेस भिजन र मिशनका साथ अघि बढिरहेको चर्चा गर्दै कांग्रेसले नयाँ पुस्ताको अकांक्षा र पुराना पुस्ताको त्याग तपस्या र ईतिहासलाई फ्युजन गरेर अघि बढ्ने बताउनुभयो ।
    कर्णालीमा तुईन मार्फत जोखिम मोलेर नदि तर्नुपर्ने अवस्थामा भक्तपुरको साँगामा झोलुंगे पुल निर्माण गर्नुलाई विकासको मोडल मान्न नसकिने बताउँदैं त्यस्ता विकासले निश्चित व्यापारीलाई मात्र फाइदा पुगेको आरोप लगाउनुभयो ।


    बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले विगतमा भक्तपुरमा विकासका नाममा भू–माफियालाई पोस्ने कार्य भएको आरोप लगाउँदैं अहिले जनताले विकासको अनुभुती हुने गरी यसवर्ष प्रदेश सरकारबाट बजेट विनियोजन गरेको दावी गर्नुभयो ।
    नगरसभापति निशान ढुंगेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापतिद्धय जीवन खत्री र भेषबहादुर कार्की, पुर्व जिल्ला सभापति एवम् पुर्व सांसद लेखनाथ न्यौपाने, मध्यपुर थिमि नगर सभापति हरिदास प्रजापति, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ (क) प्रदेश समिति सभापति प्रदिप कार्कीलगायतले आगामी मंसिर ४ गतेको निर्वाचनमा कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन कांग्रेस एकजुट भएर निर्वाचनमा होमिनु पर्ने बताउनुभयो ।
    दुई दिनसम्म चल्ने सम्मेलनको दोस्रो दिन आइतवार विभिन्न कार्यपत्र माथि छलफल गरी पारित गर्ने नगरसभापति ढुंगेलले बताउनुभयो । सम्मेलनमा सूर्यविनायक नगरसमिति अन्तर्गतका १० वडाका क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमितिका पदाधिकारी, टोल इकाई समितिका सभापति, नगर समितिका पदाधिकारी, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधिगरी करिव ४ सय जनाको सहभागिता रहेको छ ।

  • भक्तपुरको प्रदेश सभाको प्रत्यक्षतर्फको चार सिटको लागि नेकपा एमालेका २२ नेताको दावी

    भक्तपुर, भाद्र १८
    बागमती प्रदेश सभाको प्रत्यक्षतर्फको चार सदस्यका लागि नेकपा एमाले भक्तपुरका २२ नेताले टिकटको दावी गरेका छन । उनीहरुले पार्टी कार्यालयमा उम्मेदवारी दावी गर्दै आशय पत्र दर्ता गराएका हुन ।
    टिकटको दावी गर्ने नेताहरुमा भक्तपुर क्षेत्र नं. १ (क) मा शिवराम तिमिल्सिना, मोहनवीर श्रेष्ठ, नवराज गेलाल, निरन्जन बर्जागाई, शम्भु प्रसाद दाहाल, कान्छा तामाङ मुखिया, राम बहादुर श्रेष्ठ, कृष्णराम गेलाल, राम प्रसाद तिमिल्सिना र रामहरि थापा छन । यस क्षेत्रमा चाँगुनारायण नगरपालिकाको पुरै भाग र भक्तपुर नगरपालिकाको वडा नं. १० रहेको छ ।
    यस क्षेत्रमा २०७४ को निर्वाचनमा तत्कालिन वाम गठबन्धनका तर्फ उम्मेदवार बन्नुभएका नेकपा एमालेका हरिशरण लामिछाने निर्वाचित हुनुभएको थियो । उहाँको निधनपछि सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल तत्कालिन नेकपाका उम्मेदवार डि पि ढकाललाई पराजित गर्दै विजयी हुनुभएको थियो । भँडेल हाल बागमति प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्री हुनुहुन्छ ।
    त्यस्तै भक्तपुर नगरपालिकाको वडा नं. १ देखी ९ सम्मको भाग समेटिएको प्रदेश सभा क्षेत्र नं. १ (ख)को प्रत्यक्ष तर्फको टिकटको लागि सरस्वती बाटी, नारायण सुन्दर सिन्ताकल र विश्वराज शिल्पकारले दावी पेश गर्नुभएको नेकपा एमालेले जनाएको छ । यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीको वर्चश्व रहेको छ ।
    सूर्यविनायक नगरपालिकाको १ देखी १० वडा समेटिएको भक्तपुर क्षेत्र नं. २ (क)को प्रदेश सभा सदस्यका लागि नेकपा एमालेका तीन जनाले प्रत्यक्ष तर्फको टिकट दावी गर्दै पार्टी कार्यालयमा आशय पत्र दर्ता गराएका छन । एमालेका अनुसार यस क्षेत्रको टिकटको लागि राजेन्द्र राजथला, शशिजंग थापा र किरण थापाले आशय पत्र दर्ता गराएका हुन । यस क्षेत्रमा २०७४ को निर्वाचनमा शशिजंग निर्वाचित हुनुभएको थियो ।
    त्यसैगरी भक्तपुर क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्यका लागि ६ जनाले प्रत्यक्षतर्फको टिकट दावी गरेका छन । टिकटको दावी गर्दै पार्टीमा आशय पत्र दर्ता गर्ने नेताहरुमा राष्ट्र सम्शेर थापा, चन्दन कृष्ण श्रेष्ठ, भाष्कर प्रधानाङ्ग, सूर्यलाल श्रेष्ठ, चन्द्रभक्त श्रेष्ठ र तारामान जोशी छन ।
    मध्यपुर थिमि नगरपालिकाको वडा नं. १ देखी ९ सम्मको भाग समेटिएको यस क्षेत्रमा २०७४ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका राजेन्द्रमान श्रेष्ठ निर्वाचित हुनुभएको थियो । एमालेको विभाजनसँगै श्रेष्ठ नेकपा एकिकृत समाजवादीमा रहनुभएको छ ।

     

  • भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेश सभा क, ख का लागि कांग्रेसका ५३ जना आकांक्षी

    भक्तपुर, भाद्र १५
    आगामी मंसिर ४ गतेका लागि घोषित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेश सभा क, ख को सदस्यका लागि नेपाली कांग्रेसका चार दर्जन भन्दा बढी नेताहरुले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन ।
    कांग्रेसका अनुसार प्रतिनिधि सभाका लागि ५ जना प्रत्यक्ष र ८ जना समानुपातिक, प्रदेश सभातर्फ क्षेत्र नं. २ (क)मा ९ जना प्रत्यक्ष र ११ जना समानुपातिक उम्मेदवारका लागि आकांक्षा व्यक्त गरेका छन । त्यस्तै क्षेत्र नं. २ (ख)का लागि १० जना प्रत्यक्ष र १० जना समानुपातिक गरी २० जना गरी कुल ५३ जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन ।
    क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फको आकांक्षीहरुमा जिल्ला सभापति दुर्लभ थापा, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, सुनिल ठकुरी, कविर राणा र विनोद प्रकाश कायष्ठ छन । त्यस्तै समानुपातिकतर्फ जिल्ला नेता अष्ट कवे, नारायणभक्त खायमली, अच्युत प्रसाद मिश्र, रमा कोइराला पौडेल, जयराम श्रेष्ठ, मिना ढकाल, सविन ढुंगेल र माथवरसिंह बस्नेतले उम्म्ेदवारको आकांक्षा व्यक्त गरेका छन ।
    त्यसैगरी प्रदेश सभा क्षेत्र नं. २ (क)मा प्रत्यक्षतर्फ विष्णुराज कार्की, भेषबहादुर कार्की, कृष्णमुरारी न्यौपाने, उद्धव सिलवाल, सुमन कार्की, दिपेन्द्र थापामगर, कविन्द्र मिश्र, अंगत खड्का, सुरेन्द्र केसीले उम्मेदवार बन्ने आकांक्षा राखेको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सचिव सविन ढुंगेलले जानकारी दिनुभयो ।
    त्यस्तै समानुपातिकतर्फ दिपक थापा, राजन बके, राजनकाजी त्वाती, विदुरमान सिं बस्नेत, संगिता थापा, शिवराम न्यौपाने, सुवास कार्की, जीवन श्रेष्ठ, रामगोपाल न्यौपाने, रामेश्वर ध्वजु र सुनिता खत्री छन ।
    प्रदेश सभा क्षेत्र नं. २ (ख)मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि दुई जना पुर्व सभापतिहरुसहित १० जनाले आकांक्षा व्यक्त गरेका छन । मध्यपुर थिमि नगरपालिकाको पुरै भाग समेटिएको यस क्षेत्रको प्रत्यक्ष तर्फको उम्मेदवारका लागि पुर्वजिल्ला सभापतिहरु गणेशमान चक्रधर र महेश श्रेष्ठसहित नगरसभापति हरिदास प्रजापति, प्रदेश सभा क्षेत्रीय सभापति ओमप्रकाश श्रेष्ठ, महाधिवेशन प्रतिनिधि सन्तोष भट्टराई, केदार खड्का, ओम जिमा, रामचन्द्र (आरसी) श्रेष्ठ, गोकुल शर्मा र महासमिति सदस्य उमेश खड्काले उम्मेदवारको दावेदारी प्रस्तुत गरेका छन ।
    त्यसैगरी समानुपातिकतर्फ मुरारीप्रसाद आचार्य, उर्मिला बन, बच्चु कैलास बुढाथोकी, सुबर्णजंग सिजापति, अन्जनादेबी मधिकर्मी, ईन्द्रबहादुर प्रजापति, बुद्धिकुमार श्रेष्ठ, कंसबहादुर कोजु, शुसिला कुमारी सिंग्देल र लक्ष्मीशोभा प्रजापतिले उम्मेदवारको दावेदारी दिएका छन ।

  • देशलाई समृद्ध बनाउन स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्छ – अध्यक्ष बिजुक्छें

    भक्तपुर, भाद्र ११
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले काम गरेको एक सय दिन पुगेको अवसरमा शनिवार आयोजित प्रवचन कार्यक्रममा अध्यक्ष बिजुक्छेंले देशलाई समृद्ध बनाउन स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
    उहाँले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुको एक सय दिनको कार्यकाल उपलब्धीमूलक भएको बताउँदैं जनप्रतिनिधिहरुले आफुलाई सधैं जनताको सेवामा समर्पित गर्नुपर्ने सुझाव दिनुभयो ।


    भक्तपुर नगरपालिकालाई भ्रष्टाचारमुक्त र पारदर्शी नगरपालिकाको रुपमा कायम राख्न जनप्रतिनिधि र कर्मचारीहरुले प्रतिबद्ध भएर काम गर्नुपर्ने सुझाव दिँदैं उहाँले समय सापेक्षित ढंगले कर्मचारीहरुलाई तालिम र प्रशिक्षणहरुको आवश्यकता रहेको बताउनुभयो ।
    उहाँले नयाँ पुस्ताले अन्धविश्वासमा वैज्ञानिकताको खोजी गर्नुपर्ने बताउँदैं सरकारले अन्य देशबाट सिक्दै देशलाई समृद्ध बनाउनतर्फ सोच्नुपर्ने बेला भएको बताउनुभयो । अध्यक्ष बिजुक्छेँले राजनीतिक कार्यकर्ताहरुले संगठित भएर काम गरे गल्ती कम मात्र हुने र त्यसले राजनैतिक प्रतिबद्धतामा ठूलो नैतिक बल हुने बताउनुभयो ।
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले एक सय दिनमा गरेका गतिविधिहरुबारे जानकारी दिँदैं भक्तपुरलाई सफा, सुन्दर र विश्वकै हेर्नलायक नगर बनाउने काममा यहाँका जनताको निरन्तर साथ र सहयोगको आवश्यकता औंल्याउनुभयो ।


    उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयलाई ई–लाइब्रेरीको रुपमा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको, ख्वप अस्पताल १०० शैय्यामा स्तरोन्नति, ख्वप विश्वविद्यालय सञ्चालनको निम्ति प्रयास, दैनिक संकलन भएका कुहिने फोहरबाट सीएनबिएम प्रविधिबाट कम्पोष्ट मल बनाइ बिक्री वितरण, विभिन्न वैकल्पिक स्रोतहरुमार्फत केयुकेएलसँगको समन्वयमा भक्तपुरमा खानेपानी वितरण, पर्यटन क्षेत्रमा गत वर्षको तुलनामा उल्लेख्य सुधार, अनलाइनमार्फत कर भुक्तानी प्रक्रिया सुरु गर्ने योजना, हनुमानघाटमा सुधारिएको शवदाह गृह सञ्चालन, ख्वप टेलिभिजन सञ्चालनको तयारीमा जुटेको जानकारी दिनुभयो ।
    शिक्षालाई व्यापार बनाउन चाहनेहरुले जनताका छोराछोरीलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्न नचाहेको प्रष्ट पार्नुहुँदै उहाँले नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नर्सिङका नयाँ विद्यार्थी भर्ना गर्न सीटीईभीटीले अनावश्यक दुःख दिइरहेको आरोप लगाउनुभयो ।
    नगरपालिकाका उपप्रमुख रजनी जोशीले संघ, प्रदेश र स्थानीय तहको व्यवस्था भएपछि भक्तपुर नगरपालिकाले स्थानीय तहको रुपमा विभिन्न कानुन, नीति र नियमावलीहरुको व्यवस्था गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो ।


    भक्तपुर नपामा जनप्रतिनिधिको सय दिन निकै उपलब्धीपूर्ण भएको दावी गर्दै उहाँले संविधान र कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही भक्तपुर नगरपालिकाले नीति निर्माण गर्ने, त्यसको कार्यान्वयन गर्ने र व्यापक जनताको हितको निम्ति शिक्षा र स्वास्थ्य जस्ता विषयहरु न्यून शुल्कमा सेवा प्रदान गर्दै समाजवादउन्मुख राज्य निर्माणमा जोड दिएको बताउनुभयो ।
    कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले निर्वाचनमा हुने आर्थिक चलखेलबाट जनता सचेत हुनुपर्ने बताउँदैं विकासको भक्तपुर मोडल देशका अन्य स्थानीय तहहरुले सिकेर कार्यान्वयन गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
    भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेलले भक्तपुरलाई आफ्नो कार्यक्षेत्र बनाउन पाउँदा गौरवान्वित महसुस भएको बताउँदैं वडा वडामा पाठेघर शिविर गरी भक्तपुरका महिलाहरुलाई क्यान्सरबारे सचेत बनाउन भक्तपुर नपाले विशेष पहल गर्नुपर्ने सुझाव दिनुभयो ।
    इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले सम्पदा र पर्यटन एउटै सिक्काका दुई पाटा भएकोले भक्तपुरका भौतिक सम्पदाहरुमा दृश्य प्रदूषण नहुने गरी सम्पदाहरुको मौलिक नाम उल्लेख गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    सो अवसरमा वडा नं. ५ स्थित भीमसेन सत्तल निजी गुठीका सञ्चालक गणेशमान बिजुक्छेँका माहिला छोरा प्रयागमान बिजुक्छेँले नगर प्रमुख प्रजापतिलाई भीमसेन सत्तल हस्तान्तरण गर्नुभएको थियो ।

     

  • भक्तपुरमा ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु

    भक्तपुर, भाद्र १०
    नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले ‘जनताको साथमा कांग्रेस’ अभियान कांग्रेसलाई जनतासँग जोड्ने कडी भएको बताउनुभएको छ । आगामी मंसिर ४ गतेको आम निर्वाचनलाई लछित गरी कांग्रेसले सञ्चालन गरेको जनताको साथमा कांग्रेस अभियानलाई शुक्रवार भक्तपुरमा पनि शुभारम्भ गर्दै नेतृ बस्नेतले अभियान निर्वाचनमुखी मात्र नभएर कांग्रेसलाई जनतासँग जोड्ने अभियान पनि भएको बताउनुभएको हो ।
    उहाँले अभियान अन्तर्गत जनताको घर आँगनमा गई आगामी मंसिर ४ गतेको चुनावमा गठबन्धनको उम्मेदवारलाई जिताउन पार्टी जिल्ला नेतृत्वलाई निर्देशन समेत दिनुभयो । “जनता र कार्यकर्ता बिच गई गठबन्धनको भावी काम कर्तब्यको बारेमा जानकारी गराउने र निर्वाचनमा स्थानियस्तरबाट कार्यकर्ता जागरूक बनाउने अभियानको उद्देश्य हो,” उहाँले भन्नुभयो । उहाँले पार्टीले तोकेको उम्मेदवारलाई जिताउन निर्धक्क भएर लाग्न आग्रह गर्नुभयो ।


    नेपाली कांग्रेस भक्तपुरका नेता तथा पुर्व सांसद लेखनाथ न्यौपानेले सबै भन्दा पहिला आफु कांग्रेस हुँ, पार्टीले टिकट दिएकाले चुनाब हारे म हार्छु भन्ने भावना कांग्रेस नेता कार्यकर्ताहरुमा हुनुपर्नेमा जोड दिनुभयो ।
    पार्टी बलियो भए हामी सबैको शान बढ्छ भन्दै उहाँले व्यक्ति बिशेष होइन कि पार्टी बलियो बनाउन लाग्नु नै एउटा ईमान्दार नेता, कार्यकर्ताको जिम्मेवारी भएको बताउनुभयो । “भक्तपुरलाई कांग्रेसमय बनाउन सबैले हिजोका झिनामसिना कुरामा होईन कि पार्टीले दिएको निर्देशनमा लाग्नुपर्छ । त्यही नै पार्टी हित र संगठनको हित हुने कुरामा दुई मत रहदैन,” उहाँले भन्नुभयो ।
    नेपालीे काग्रेस बागमति प्रदेशका महामन्त्री कन्चन बादे श्रेष्ठले अभियानले कांग्रेसलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै हिजोका तितामिठा गुट उपगुटमा नरही पार्टी हितमा लाग्न अनुरोध गर्नुभयो ।
    जिल्ल सभापति दुर्लभ थापाले पार्टीको अभियानलाई गाउँ गाउँ पुर्याउनु नै वडा, नगर, प्रदेश सभा, क्षेत्रीय समिति र जिल्ला समितिको दायित्व भएको बताउनुभयो । उहाँले जसले टिकट ल्याएपनि पार्टीको उम्मेदवार हुने भएकाले सबैले जिम्मेवारी बहन गरी जिताउनु कर्तव्य भएको बताउनुभयो ।


    “हिजो स्थानिय निर्वाचनमा कोहिलाई चित्त बुझेन होला, कसैले टिकट प्राप्त गर्दा गर्दै पनि पराजय भोग्नु परेको तिता अनुभव होला । अब ती तिता मिठा कुरालाई छाडेर कांग्रेस जिताउँ अभियानमा लाग्नुपर्छ,” उहाँले भन्नुभयो, “भोली पार्टीले योग्य सम्झेर जसलाई टिकट दिन्छ, उसलाई चुनाव जिताउन एक ढिक्का भएर लाग्नुपर्छ ।”
    सभापति थापाले अग्रजहरुको त्याग र तपस्याले पार्टी आजको अवस्थामा आइपुगेको बताउँदैं सबै एकमत भएर लागे भक्तपुरमा कांग्रेसलाई कसैले हल्लाउन नसक्ने दावी गर्नुभयो ।
    कार्यक्रममा बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल, बागमति प्रदेशका उद्योग तथा वाणिज्य राज्यमन्त्री रजनी जोन्छे, पुर्व जिल्ला सभापति गणेशमान चक्रधर र महेश श्रेष्ठ, भक्तपुर क्षेत्र नं. १ का सभापति एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठ, मध्यपुर थिमिका नगरसभापति हरिदास प्रजापति, चाँगुनारायण नगरसभापति शिवहरी केसी, भक्तपुर नगरसभापति राजेन्द्र तमाखू, सूर्यविनायक नगरसभापति निशान ढुंगेललगायत कार्यसमितिका पदाधिकारी, भातृ संगठनका नेताहरु र कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

     

  • कांग्रेसको चुनावलक्षित ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु

    भक्तपुर, भाद्र १०
    नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको छ । अभियान तीन चरणमा सञ्चालन हुने कांग्रेसले जनाएको छ ।
    पहिलो चरणको अभियान यही भाद्र २४ गतेसम्म चल्नेछ । दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि सञ्चालन हुनेछ । अभियानका लागि कांग्रेसले यसअघि नै केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा पठाइसकेको छ ।
    अभियानका चार उद्देश्य छन । पहिलो मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने, दोस्रो जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने रहेका छन ।
    त्यसैगरी तेस्रोमा कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने र चौंथो निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने रहेको कांग्रेस प्रवक्ता प्रकाशरण महतले बताउनुभयो ।
    अभियान अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति प्रतिनिधिलगायत बैठक बोलाउने छन् । यस्तै प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउने कांग्रेसले बताएको छ ।

  • भक्तपुर क्षेत्र नं. २ मा मेरो दावी स्वभाविक हो – सभापति थापा

    भक्तपुर, भाद्र १०

    नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले आगामी प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नं. २ बाट उम्मेदवारको दावी गर्नुभएको छ । रफत सञ्चार क्लवमा शुक्रवार आयोजित साक्षात्कार कार्यक्रममा सभापति थापाले आफु स्वभाविकरुपमा उम्मेदवारको दावेदार भएको बताउँदैं आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको हो ।
    उहाँले भक्तपुरका जनताले पनि आफुलाई उम्मेदवारका रुपमा हेर्न चाहेको दावी गर्दै भन्नुभयो, “कांग्रेसको तर्फबाट संघीय सांसदमा मेरो उम्मेदवारी स्वभाविकै हो, जनताले पनि त्यही चाहिरहेका छन् ।” उहाँले अन्य नेताहरुले गरेको उम्मेदवारको दावीलाई पनि स्वभाविकरुपमा लिनुपर्ने बताउनुभयो ।

    अहिलेको गठबन्धनको राजनीति संघ र प्रदेशको निर्वाचनपछि पनि निरन्तर चल्ने बताउँदैं उहाँले संघ र प्रदेशको लागि उम्मेदवार चयन गर्न जिल्लास्तरमा पनि छलफल भइरहेको बताउनुभयो । निर्वाचन नजिकिएसँगै गठबन्धन भित्रका दलहरुका नेताले उम्मेदवारी घोषणा गर्नु स्वभाविकै भएको बताउदै उहाँले त्यसले गठबन्धनमा कुनै असर नपार्ने र गठबन्धन भित्र कुनै तित्तता नरहेको समेत स्पष्ट पार्नुभयो ।
    उहाँले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीलगायतका गठबन्धनका दलहरु समेतको सहभागितामा चुनावी अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँल उम्मेदवारीमा धेरैको दावी भएपनि अन्ततः गठबन्धनको निर्णय अन्तिम हुने बताउँदैं भन्नुभयो, “गठबन्धनले निर्णय जसलाई गर्छ त्यहीँ नै आधिकारिक उम्मेदवार हो, जुनसुकै पार्टीबाट गठबन्धनले उम्मेदवारी दिए पनि जिताउन एक भएर लाग्नेछौँ ।”
    उहाँले नेकपा एमालेका नेता एवम् सांसद महेश बस्नेतलाई संकेत गर्दै सिंगल सिंगल भिड्छु् भन्नेहरुलाई धूलो चटाउने बताउने दावी गर्नुभयो । “आज सिंगल सिंगल भिड्छु भन्नेहरुलाई यसअघि पनि धूलो चटाएकै हौँ, हिजो माओवादीको बैशाखी टेकेर एक पटक जिते भन्दैमा घमण्ड नगरे हुन्छ, यस पटक धूलो चटाउँछौ ।”
    उहाँले नेकपा एमालेका नेताहरुले हिजो माओवादीको बैशाखी टेकेर निर्वाचन जित्दा ठिक भएको तर आज कांग्रेसले माओवादीलगायतसँग गठबन्धन गरेर निर्वाचन जाँदा बेठिक भएको तर्क गरेर हार मानसिकता प्रदर्शन गरेको टिप्पणी समेत गर्नुभयो । उहाँले भन्नुभयो, “आफूले माओवादी केन्द्रको बैशाखी टेकेर चुनाब जित्दा सुहाउँदो, र पवित्र हुने तर अरुले गठबन्धन गर्दा अपबित्र हुने मानसिकता हार मानसिकता हो ।”
    उहाँले केही राजनीतिक व्यापारीहरुले गर्दा राजनीति व्यापारीकरण भइरहेको चर्चा गर्दै त्यस्ता नेताहरु धेरै समय राजनीतिमा नटिक्ने टिप्पणी समेत गर्नुभयो । “अहिले केही राजनीतिक व्यापारीहरुले पैसा कमाएका छन्, पैसाका भरमा उम्मेदवारी खरिदबिक्री गर्नेसम्मका चर्चा परिचर्चा चलिरहेका छन् । त्यस्ता चर्चा र परिचर्चा पराजित मानसिकता हो । निर्वाचन हुनुभन्दा अगाडिको पराजित मानसिकताले हामीसित निर्वाचन लड्ने औकात र हैसियत राख्दैन,” उहाँले भन्नुभयो, “हिजो राजनीतिक व्यापारीहरुसँग कमाएको पैसा, सांसद अपहरणमा कमाएको पैसा बाँडेर टिकट खरिद गर्ने र चुनाब जित्छु भनेर हल्ला पनि सुनिएको छ । यसपटकको निर्वाचनमा जनताले त्यस्ताको औकात देखाई दिनेछन ।
    काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अल्फा बिटाको अबैधानिक संरचना हटाएर निकै राम्रो गरेको र त्यसमा कांग्रेसको समर्थन रहेको सभापति थापाले बताउनुभयो । उहाँले सांसद महेश बस्नेतले बालेन्द्रलाई गरेको गालीले त्यस्ता व्यापारीसँग साँठगाठ रहेको र लुटेको धन त्यस्ता व्यवसायमा लगानी गरेकाले बिरोध गरेको दावी गर्नुभयो ।