Category: राजनीति

  • सत्ता गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं. २ मा कांग्रेसका थापा र १ मा माओवादी केन्द्रका बासु

    भक्तपुर, असोज २३
    सत्ता गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका दुर्लभ थापाले टिकट पाउनु भएको छ । गठबन्धनको भागवण्डामा नेपाली कांग्रेसको भागमा परेको भक्तपुर क्षेत्र नं. २ मा कांग्रेसले जिल्ला सभापति समेत रहनुभएका थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
    भक्तपुर कटुञ्जेका थापा विद्यार्थीकालदेखी नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकटका थापा जिल्लामा कांग्रेसभित्र लोकप्रिय नेता हुन ।
    मध्यपुर थिमि र सूर्यविनायक गरी दुई नगरपालिका रहेको यस क्षेत्रमा मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच रहेको छ । गत स्थानीय निर्वाचनमा मध्यपुर थिमि नगरपालिकामा कांग्रेस नेतृत्वको गठबन्धन विजयी भएको थियो भने सूर्यविनायकमा नेकपा एमाले विजयी भएको थियो ।
    स्थानीय तह निर्वाचनको मत अनुसार यहाँ सत्ता गठबन्धन झिनो मतले अगाडि देखिन्छ । यस्तोमा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको मत निर्णायक हुने देखिन्छ । नेमकिपा गठबन्धन र तालमेलको विपक्षमा रहेकोले यहाँ राप्रपाको मत निर्णायक हुने देखिन्छ । राप्रपाले आफ्नै उम्मेदवार उठाएर मत जोगाउने निर्णय गरे सत्ता गठबन्धन र एमालेबीच यहाँ कडा प्रतिष्पर्धा हुनेछ ।
    यस क्षेत्रमा एमालेले पोलिटव्यूरो सदस्य एवम् युवा संघका ईन्चार्ज महेश बस्नेतलाई दोर्याउने निर्णय गरेको छ ।
    भक्तपुर क्षेत्र नं. २ मा एउटै दलले दुई पटक लगातार जितेको ईतिहास छैन । यहाँ २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका जगन्नाथ आचार्य विजयी भएका थिए । २०५१ को मध्यावधी निर्वाचनमा नेमकिपाका आशाकाजी बासुकला निर्वाचित भएको यस क्षेत्रमा २०५६ मा कांग्रेसका लेखनाथ न्यौपाने विजयी भएका थिए । त्यस्तै २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित भए भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका रामेश्वर प्रसाद ढुंगेल निर्वाचित भए ।
    २०७२ मा संघिय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधान जारी भएपछि भक्तपुरका प्रतिनिधि सभा निर्वाचन क्षेत्रको भुगोलमा भएको परिवर्तनसँगै भक्तपुर क्षेत्र नं. २ मा मुख्य प्रतिष्पर्धी कांग्रेस र एमाले रहेका छन ।
    २०७४ को निर्वाचन भक्तपुर क्षेत्र नं. २ मा पहिलो पटक एमाले विजयी भए । एमालेका महेश बस्नेतले कांग्रेसका हेभिवेट तर आयातित उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतान्तरले पराजित गरेको थियो । यसपटक पार्टीमा आएको विभाजन र सत्ता गठबन्धनका कारण एमालेलाई यो क्षेत्र त्यति सहज भने देखिँदैन ।
    यसैगरी सत्ता गठबन्धनले भक्तपुर क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल गोठे बासुलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनको भागवण्डामा माओवादी केन्द्रको भागमा परेको भक्तपुर क्षेत्र नं. १ मा जनयुद्धकालदेखी माओवादी आन्दोलनमा सक्रिय बासुलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।


    भक्तपुर क्षेत्र नं. १ नेमकिपाको बलियो पक्कड भएको क्षेत्र हो । यहाँ २०४८ सालदेखी नेमकिपाले एक छत्र जित निकाल्दै आएको छ । भक्तपुरको चाँगुनारायण र भक्तपुर नगरपालिका रहेको यस क्षेत्रमा गत स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकामा नेमकिपाले एकलौटी जित हासिल गरेको थियो ।
    सो क्षेत्रमा एमालेले जिल्ला समन्वय समितिका पुर्वप्रमुख नवराज गेलाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भक्तपुरका दुई वटै क्षेत्रमा नेमकिपाले कसलाई उम्मेदवारी दिलाउने भन्ने विषय टुंगो लागेको छैन ।
    सत्ता गठबन्धनको सिट बाँंडफाँटमा प्रदेश सभा १ क, १ ख, २ क कांग्रेसको भागमा परेको छ भने २ ख एकीकृत समाजवादीको भागमा परेको छ । प्रदेश सभाको उम्मेदवार भने टुंगो लगाएको छैन ।

  • सत्ता गठबन्धनबीच सिट बाँडफाडमा सहमति

    भक्तपुर, असोज २१
    सत्तारुढ गठबन्धनका दहरुबीच निर्वाचन क्षेत्र बाँडफाडमा सहमति भएको छ । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)लाई छुट्याएको सिट खाली राखी बाँकीमा चार दलले सहमति गरेको जनाएको छ ।
    प्राप्त सूचीअनुसार जसपालाई छुट्टयाइएको केही सिटमा लोसपालाई दिने तयारी गरिएको छ । सत्ता गठबन्धनमा सहमति भएको सुची यसप्रकार रहेको छ ः–

     

  • भक्तपुरमा एमालेको उम्मेदवार टुंगियो, १ मा गेलाल र २ मा बस्नेत

    भक्तपुर, असोज २१
    नेकपा एमालेले भक्तपुरका प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभा क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । एमालेले भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका लागि जिल्ला समन्वय समिति भक्तपुरका निवर्तमान अध्यक्ष नवराज गेलाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
    यसैगरी प्रदेश सभा १ (क) मा मोहनवीर श्रेष्ठ र ख मा नारायण सुन्दर सिन्तकलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
    यस्तै भक्तपुर क्षेत्र नं. २ मा एमालेले महेश बस्नेतलाई नै दोर्याउने भएको छ । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका हेभिवेट तर आयातित उम्मेदवार दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै भक्तपुरमा पहिलो पटक एमालेको झण्डा फहराएका बस्नेतलाई नै पुनः यसपटक पनि उम्मेदवार बनाउने निर्णय एमालेले गरेको हो ।
    यस क्षेत्रको प्रदेश सभा २ (क)मा किरण थापा र ख मा चन्दन कृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ ।

  • नागरिकता विधेयक भएन प्रमाणीकरण, राष्ट्रपतिबाटै संविधानको गम्भीर उल्लंघन

    भक्तपुर, असोज ५
    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्विकार गर्नुभएको छ । संघीय संसदले पारित गरेर पठाएको कुनै पनि विधेयक राष्ट्रपति कार्यालयमा दर्ता भएको १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । तर राष्ट्रपति भण्डारीले उक्त संवैधानिक प्रावधान विपरित नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्विकार गर्नुभएको हो ।
    संविधानमा कुनै पनि विधेयक राष्ट्रपति कार्यालयमा दर्ता भएको १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ । संघीय संसदले पारित गरी सभामुखले प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालयमा पठाउने यसरी आएको विधेयकमा चित्त नबुझे राष्ट्रपतिले सन्देश सहित पुनः संसदमा पठाउने व्यवस्था संविधानमा रहेको छ ।
    राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका सम्बन्धमा गत साउन २९ गते सन्देशसहित संसदमा फिर्ता पठाएको थियो । सो विधेयकलाई प्रतिनिधि सभाले पुनः हुबहु पारित गरी राष्ट्रिय सभामा पठाएको र राष्ट्रिय सभामा राष्ट्रपतिको सन्देशका विषयमा विधायन समितिमा छलफल गरी पुनः बहुमतले हुबहु पारित गरेको थियो । यसरी पारित भएको विधेयक सभामुख सापकोटाले गत भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो ।
    संविधानको धारा ११३ (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ,’ भन्ने उल्लेख छ । संविधानले राष्ट्रपतिलाई विधेयक रोक्ने कुनै अधिकार नभएको कानुनविदहरुको भनाई रहेको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक प्रावधानको उल्लंघन गरेको कानुनविदहरुको आरोप रहेको छ ।
    राष्ट्रपति कार्यालय, शीतल निवासले किन विधेयक प्रमाणीकरण नहुनुको कारण खुलाएको छैन । आफूले पठाएको सन्देशबारे संसदमा छलफल नगरी हुबहु पारित गरेर पठाएको प्रति राष्ट्रपति भण्डारीले असन्तुष्ट हुनुहुन्थ्यो । उहाँले नागरिकता विधेयककै विषयमा सुरक्षा अधिकारी, कानुन व्यवसायीहरुसँग निरन्तर छलफल गर्नुभएको थियो ।
    राष्ट्रपतिले आमाको नामबाट नागरिकता दिँदा गर्नुपर्ने स्वघोषणा, अंगीकृत नागरिकता र प्रादेशिक पहिचान सहितको नागरिकता सम्बन्धी व्यवस्थामा पुनर्विचार गर्नुपर्ने विचार राख्नुभएको थियो । आमाको नामबाट प्राप्त हुने नागरिकतामा आमालाई नै केन्द्रमा राखिनुपर्ने र आमा र सन्तान दुवैप्रति सम्मान हुने गरी पुनर्विचार गर्नु सान्दर्भिक हुने उहाँको धारणा थियो ।
    ‘प्रजननबारे आमाको गोपनीयतालाई आफ्नै सन्तानले नागरिकता प्राप्त गर्ने क्रममा राज्यसामु ‘बाबुका बारेमा स्वघोषणा’ बाट अभिलेखीकरण गरिँदा महिलामाथि लामो समयदेखि हुँदै आएका सबै प्रकारका विभेद अन्त्य गर्न हामीले गरेका संघर्षहरू निस्फल भएर जाने त होइनन् भन्ने प्रश्नले हामी सबैलाई घच्घच्याउनु आवश्यक छ,’ राष्ट्रपतिले संसदलाई पठाएको सन्देशमा उल्लेख थियो ।
    त्यस्तै अंगीकृत नागरिकतामा राष्ट्रिय सहमति जुटाउन र पुनर्विचार गर्न उहाँले भन्नुभएको थियो । उहाँको जोड विशेष गरी वैवाहिक अंगीकृत नागरिकतामा पुनर्विचार गर्नुपर्नेमा देखिन्थ्यो । विवाह गरेपछि अंगीकृत नागरिकता लिन केही वर्ष कुर्नुपर्ने प्रावधान राख्न घुमाउरो भाषामा संसदलाई सन्देश पठाएको देखिन्छ ।
    नागरिकता विधेयकका बारेमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दुई ध्रुबमा विभाजित भएका छन । विषेशगरी वैवाहिक अंगीकृत नागरिकताका विषयमा दलहरुको मत विभाजन रहेको छ । संसदमा लामो समयदेखी विचाराधिन रहेको विधेयक फिर्ता लिएर सरकारले वैवाहिक अंगीकृत नागरिकताका विषयमा मौन रही जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने प्रावधान समावेश गरी पुनः अर्को विधेयक संसदमा दर्ता गरी पारित गरेको थियो । विधेयकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले फरक मत राख्दै आएका थिए ।

     

  • जसले टिकट ल्याएपनि चुनाव जिताउन कतिवद्ध भएर लाग्नुपर्छ – सभापति थापा

    भक्तपुर, भाद्र ३०
    नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जसले टिकट ल्याएपनि चुनाव जिताउन सबै नेता कार्यकर्ता कतिवद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर ४ नम्बर वडा समितिले बिहिवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सभापति थापाले टिकटको दौडमा जति जना भएपनि टिकट ल्याईसकेपछि पार्टीको उम्मेदवार जिताउन सबै एकजुट र कतिवद्ध भएर लाग्नुपर्ने बताउनुभएको हो ।
    उहाँले टिकट ल्याईसकेपछि आफ्नै सहकर्मीदेखी डराउनुपर्ने प्रवृत्ति कांग्रेसमा आगामी निर्वाचनदेखी अन्त्य हुनुपर्नेमा समेत जोड दिनुभयो । “टिकटको लागि धेरै आकांक्षी छन । टिकट आइसकेपछि पार्टीको उम्मेदवार जिताउन सबै एकजुट र कतिवद्ध भएर लाग्नुपर्छ,” उहाँले भन्नुभयो, “टिकट आइसकेपछि पार्टी कै साथीसँग तर्सिनु पर्ने, एउटा साथी डराउनुपर्ने, लुक्नु पर्ने र भाग्नुपर्ने स्थिती यो निर्वाचनबाट अन्त्य हुनुपर्छ ।”


    सभापति थापाले लोकतान्त्रिक मूल्य मान्यता अनुरुप चलेको मुलुकमा आवधिक निर्वाचन आइरहने हुनाले सबै खाले निर्वाचनका लागि पार्टी सधै तयार भएर बस्नुपर्नेमा जोड दिनुभयो ।
    “लोकतान्त्रिक मूल्य मान्यता र आदर्श बोकेर चलेको मुलुकमा आवधिक निर्वाचन आइरहन्छ । एउटा निर्वाचन मात्र होइन यसपछि अर्को निर्वाचन आउँछ भनेर सधै तयारी अवस्थामा रहनुपर्छ । सबै खाले निर्वाचनको लागि तयार भएर बसौं । पार्टी र संगठनलाई बलियो बनाउने उद्देश्यले सबै अगाडि बढौं,” उहाँले भन्नुभयो ।
    उहाँले निर्वाचन र पार्टीको अधिवेशनले पार्टीलाई गतिशिल, चलायमान र सक्रिय बनाइरहने बताउनुभयो । “स्थानीय तहको निर्वाचन सकिएको ४ महिना भयो । मंसिर ४ मा अर्को निर्वाचन हुँदैछ । अर्को साँढे चार वर्षमा फेरी स्थानीय निर्वाचन आउँछ । यसबीचमा पार्टीको अधिवेशन पनि आउँछ । यसले पार्टीलाई निरन्तर गतिशिल र चलायमान बनाइरहन्छ,” उहाँले भन्नुभयो ।
    विगतमा कांग्रेसको क्रियाशिल सदस्यता पाउनु भनेको अहिलेको जिल्ला सदस्य वा कुनै तहको उम्मेदवारको टिकट पाउनु जतिको महत्व हुने र क्रियाशिल सदस्यता पाउन पनि पार्टीका सक्रिय भएर संगठन बिस्तारसँगै त्यस्तै परिस्थितीमा जेलनेल समेत भोग्नुपर्ने अवस्था रहेको चर्चा गर्दै उहाँले अहिले क्रियाशिल सदस्यता पाउने वित्तिकै पद चाहिने विकृत्ति भित्रिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।


    उहाँले सामाजिक सञ्जालमा पार्टी र पार्टीका नेताहरु विरुद्ध नकारात्मक टिप्पणी नगर्न चेतावनी समेत दिनुभयो । “पार्टीको कुरा चित्त नबुझे पार्टीको फोरममा आएर राखौं, खुल्ला छलफल बहश गरौं तर सामाजिक सञ्जालमा टिका टिप्पणी नगरौं । यस्तो क्रियाकलाप राम्रो होइन र यो क्षम्य पनि हुन सक्दैन । यस्तो चरित्रको आजै अन्त्य गरौं । होइन भने राम्रो हुनेछैन । म होसियार र सचेत रहन आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।
    उहाँले गठबन्धन कांग्रेसको रहर नभएर बाध्यता भएकाले सोही अनुसार बुझी दिन आग्रह गर्नुभयो । उहाँले भक्तपुरका दुई वटै प्रतिनिधि सभा सदस्यको सिट कांग्रेसले पाउने खबर आएको बताउँदैं प्रदेशको पनि चार वटै सिटमा कांग्रेसको दावी रहेको बताउनुभयो । उहाँले कांग्रेस इमानको पार्टी भएकोले गठबन्धनमा पनि इमान्दार भएर उभिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
    उहाँले कांग्रेसका उम्मेदवारले जिते मात्र संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन सक्छ भन्ने विगतको के पी शर्मा ओली नेतृत्वको सरकारले पुष्टि गरेको दावी समेत गर्नुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका पुर्वसभापति एवम् पुर्वसांसद लेखनाथ न्यौपाने, भक्तपुर प्रदेश सभा क्षेत्र नं. २ (क)का आकांक्षीहरु विष्णुराज कार्की, सुरेन्द्र केसी, कृष्णमुरारी न्यौपाने, रामगोपाल न्यौपानेलगायतका नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।

     

  • समानुपातिक उम्मेदवार चयनमा कांग्रेसको चार मापदण्ड

    भक्तपुर, भाद्र २९
    नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको चयनका लागि चार वटा आधार र मापदण्ड तय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बुधवार बसेको केन्द्रीय संसदीय समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन समानुपातिक तर्फका उम्मेदवारको चयनका लागि चार वटा आधार र मापदण्ड तय गरेको हो ।
    कांग्रेसले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने पहिलो मापदण्ड तोक्ने निर्णय गरेको छ ।
    त्यसैगरी दोस्रोमा २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन नपाउने तर प्रत्यक्ष तर्फको उम्मेदवार भने बन्न पाउने निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
    “नेपाली कांग्रेसको विधानको धारा ३३ (२) मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा यस अगाडि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनः प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य पदमा पार्टीको तर्फबाट उम्मेदवार हुन नपाउने व्यवस्था छ । अतः यस अघि प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रदेश सभामा र प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रतिनिधि सभामा समेत समानुपातिकतर्फबाट उम्मेदवार हुन पाउने छैन । तर प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ उम्मेदवार हुन सक्नेछन्,” बैठकपछि मुख्य सचिव पौडेलले जारी विज्ञप्तीमा उल्लेख छ ।
    तेस्रो मापदण्डको रुपमा कांग्रेसले उम्मदेवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पु¥याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई समेत विशेष ध्यान दिइने पौडेलले बताउनुभयो ।
    चौंथोमा नेपाली कांग्रेसको विधानको धारा ३३ (३) मा उल्लेखित आधारलाई ध्यान दिंदै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र दुबैमा समानुपातिक तर्फको उम्मेदवारको निर्णय गर्दा सम्बन्धित प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक जना उम्मेदवार दिने मापदण्ड कांग्रेसले तयार गरेको छ । उम्मेदवार छनौट गर्दा संविधानको धारा ८४ र धारा १७६ तथा संघीय कानूनले निर्दिष्ट गरेको जातीय, लैगिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनको समेत ख्याल गरिने कांग्रेसले जनाएको छ ।

     

  • सत्ता गठबन्धनमा सिट बाँडफाँट : कुन–कुन क्षेत्रमा जुट्यो सहमति ? (सूचीसहित)

    २९ भदौ, काठमाडौं

    सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असाेजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् । गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ पनि ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ ।

    छलफलमा सहभागी नेताहरुका अनुसार निर्वाचन क्षेत्रगत रुपमा छलफल गर्दै जाँदा धेरै जसो ठाउँमा कुरा मिलेको देखिन्छ । तर जब दलले पाउने कुल सिट संख्याको कुरा आउँछ, फेरि हिसाब बिग्रिन्छ । ‘कांग्रेस ९० बाट तल झर्न तयार भएको छैन, माओवादीले ५० भन्दा तल जाने कल्पना गरेको छैन । एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि २० सिटभन्दा तल जान तयार छैनन्’, कार्यदलका एक नेता भन्छन्, ‘नमिलेका त्यही १५/२० सिटमा हो ।’

    कार्यदलका सदस्यहरुका अनुसार अहिलेसम्म पाँचै दल गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् र अब समानुपातिकको बन्दसूची तयार भएपछि फेरि सिट बाँडफाँटबारे सहमति खोजिने छ ।

    कहाँ टुंगियो ? कहाँ बाँकी ?

    विभिन्न दलबाट सिट बाँडफाँट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ११० वटा कुन दलले लिने भन्नेमा सहमति जुटिसकेको छ ।

    दलहरुको एउटा मात्र दावी परेको वा छलफलका क्रममा अर्को दल छाड्न तयार भएको क्षेत्र हिसाब गर्दा कांग्रेसको भागमा ६८ क्षेत्र परिसकेको छ । माओवादी केन्द्रको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भागमा ७ सिट सुनिश्चित भएको छ । गठबन्धनको पाँचौं दल राष्ट्रिय जनमोर्चाले मागअनुसार प्रतिनिधिसभाको दुई क्षेत्र पाउने पक्का जस्तै भएको छ ।

    कार्यदल र शीर्ष तहमा भएको छलफलअनुसार ताप्लेजुङ कसले लिने भन्ने टुंगिएको छैन । पाँचथर कांग्रेसले लिनेछ भने इलाम–१ एकीकृत समाजवादी र २ कांग्रेसले लिने छ ।

    संखुवासभा र तेह्रथुम कांग्रेसले लिनेछ भने भोजपुर माओवादी केन्द्रले पाउने पक्काजस्तै छ । धनकुटामा कांग्रेस र जसपाको दाबी छ । यद्यपि कांग्रेस नेताहरु धनकुटा छाड्न सक्ने अवस्था नभएको बताउँछन् ।

    सोलुखुम्बु र खोटाङमा कांग्रेस र माओवादी दुबै दलको दाबी छ भने ओखलढुंगा कांग्रेसलाई छाड्न दलहरु तयार छन् । उदयपुर १ कांग्रेस र २ माओवादीले लिनेछ ।

    झापाको १, ३ र ४ कांग्रेसले लिनेछ । २ मा कांग्रेस र माओवादी दुबै दलको दाबी छ भने ५ माओवादीलाई छाड्न कांग्रेस तयार छ । मोरङको १, २, ३ र ६ कांग्रेसले लिने पक्का भएको छ । माओवादीले ४ र ५ मा दाबी गरेको छ भने जसपाले क्षेत्र नम्बर ५ कुनै हालतमा छाड्न नसकिने अडान लिएको छ ।

    कांग्रेस नेताहरुले पनि मोरङ–४ र ५ मध्ये एउटा आफ्नो दललाई दिनुपर्ने बताएका छन् । सुनसरीको १ जसपालाई दिन अरु दल सहमत भएका छन् भने २, ३ र ४ कांग्रेसले लिने छ ।

    नेताहरुका अनुसार सिट बाँडफाँटमा सबभन्दा गाह्रो प्रदेश २ का जिल्लामा देखिएको छ । कतिपय क्षेत्रमा तीन दलकै दाबी कायम छ, जसले गर्दा सहमति जुटेको छैन ।

    सप्तरीको १ मा कांग्रेस र जसपाको दाबी छ भने २ र ३ जसपा तथा ४ कांग्रेसले लिने सहमति भएको छ । सिरहा १ मा कांग्रेस र ४ मा जसपालाई दिन दलहरु सहमत छन् २ मा कांग्रेस, जसपा र एकीकृत समाजवादी तथा ३ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ ।

    धनुषाको १ मा माओवादी र जसपा, २ र ३ मा कांग्रेस र जसपा दुबैको दाबी छ भने ४ कांग्रेसलाई छाड्न दलहरु सहमत छन् ।

    यसैगरी महोत्तरी क्षेत्र नम्बर १ मा माओवादी, २ मा कांग्रेस, ३ र ४ जसपाको भागमा पर्ने पक्काजस्तै भएको छ । सर्लाहीको १ मा जसपा र कांग्रेस, २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा माओवादी र कांग्रेसको दावी छ ।

    रौतहटको क्षेत्र नम्बर १ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छाड्न सबै दल सहमत छन् भने क्षेत्र नम्बर ४ मा कांग्रेसको मात्र दाबी छ । बाँकी २ क्षेत्रमा भने तीन–तीन दलको दाबी छ । २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा कांग्रेस, एकीकृत समाजवादी र माओवादीको दाबी छ ।

    बारा क्षेत्र नम्बर १ कांग्रेस, २ जसपाले लिने सहमति भएको छ । ३ मा कांग्रेस र जसपा तथा ४ मा माओवादीसँगै एकीकृत समाजवादी र जसपाको पनि दाबी छ । पर्सामा कुनै सहमति जुटेको छैन । कांग्रेसले १, २ र ४ मा दाबी गरेको छ भने जसपाले ४ वटै क्षेत्रमा दाबी गरेको छ । माओवादी र एकीकृत समाजवादीका नेताहरुले भने एक–एक सिट आफ्नो दलले पाउनुपर्ने मत राखेका छन् ।

    बाग्मती प्रदेशका धेरै जिल्लामा सहमति जुटेको छ । काठमाडौंको क्षेत्र नम्बर १, ३, ४, ५, ६ र १० मा कांग्रेसको मात्र दाबी छ भने ७ जसपा र ८ एकीकृत समाजवादीलाई छाड्न अरु दल सहमत भएका छन् । २ मा कांग्रेससँगै माओवादीको दाबी छ भने ९ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको दाबी छ ।

    भक्तपुरको दुबै क्षेत्र कांग्रेसले पाउने निश्चित जस्तै भएको छ भने ललितपुरको १ कांग्रेस र ३ माओवादीले लिनेछ । २ मा भने कांग्रेस र एकीकृत समाजवादीको दाबी छ ।

    काभ्रे र सिन्धुपाल्चोक दुबैमा क्षेत्र नम्बर १ माओवादीले लिनेछ भने २ कांग्रेसको भागमा परेको छ । मकवानपुरमा कांग्रेस र एकीकृत समाजवादीले १–१ सिट लिने सहमति भएको छ । रसुवा कांग्रेसको भागमा परेको छ भने धादिङ क्षेत्र नम्बर १ मा माओवादी र एकीकृत समाजवादीको र २ मा कांग्रेसको मात्र दावी छ ।

    नुवाकोटको क्षेत्र नम्बर १ माओवादी र २ मा कांग्रेसको मात्र दाबी छ । तर प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भने प्रवक्ता डा. प्रकाशशरण महतलाई १ मा उम्मेदवार बनाउन चाहेकाले २ लिन माओवादी नेताहरुलाई भनेका छन् ।

    सिन्धुलीको १ कांग्रेस र २ माओवादीले लिने छ भने दोलखा र रापेछापमध्ये १–१ वटा माओवादी र कांग्रेसले लिनेछ । चितवनको १ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ भने २ कांग्रेसले लिनेछ भने क्षेत्र नम्बर ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्न सबै दल एकमत छन् ।

    कास्कीको तीनवटै क्षेत्रमा कांग्रेसको दाबी छ । क्षेत्र नम्बर १ कांग्रेसले पाउने पक्काजस्तै भएको छ भने २ मा एकीकृत समाजवादी र ३ मा माओवादी केन्द्रको पनि दाबी छ । कार्यदलका एक सदस्यका अनुसार कास्कीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक क्षेत्र लिने सम्भावना बढी छ ।

    तनहुँ र स्याङ्जाको (१ र २) दुबै क्षेत्र कांग्रेसले पाउने छ भने मुस्ताङ, मनाङ, म्याग्दी र पर्वत कांग्रेसले लिने छ भने लमजुङ माओवादी केन्द्रले पाउने छ ।

    बाग्लुङको १ राष्ट्रिय जनमोर्चा र २ माओवादी केन्द्रले लिने छ । गोरखाको दुबै क्षेत्रमा माओवादीको दाबी छ, तर कांग्रेस भने एउटा क्षेत्र आफूले पाउनुपर्ने अडानमा छ । नवलपरासी पूर्व १ मा कांग्रेसको मात्र दाबी छ भने २ मा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्र गरी तीन दलको दाबी छ ।

    रुपन्देहीको १ मा कांग्रेस, जसपा र एकीकृत समाजवादीको दाबी छ भने २ मा कांग्रेस र एकीकृत समाजवादीको । बाँकी ३, ४ र ५ मा कांग्रेसलाई छाड्न अरु दल सहमत भएका छन् । कपिलवस्तुको १ माओवादी केन्द्रले लिनेछ भने २ र ३ कांग्रेसको भागमा परेको छ ।

    अर्घाखाँची कांग्रेसको भागमा परेको छ भने पाल्पाको २ क्षेत्रमध्ये कांग्रेस र एकीकृत समावादीले १–१ वटा लिनेछ । कांग्रेस नेताहरुले १ एकीकृत समाजवादीलाई दिएर २ लिन चाहेका छन् । तर माधवकुमार नेपालले आफ्ना सम्धीसमेत रहेका सोमप्रसाद पाण्डेलाई क्षेत्र नम्बर २ मा नै निरन्तरता दिन चाहेकाले सहमति जुटेको छैन ।

    गुल्मीको १ कांग्रेसले लिनेछ भने २ एकीकृत समावादीलाई छाड्न गठबन्धनका दलहरु सहमत भएका छन् ।

    प्युठान राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई छाड्न गठबन्धनमा दलहरु सहमत भएका छन् । रुकुम पूर्व र रोल्पा माओवादी केन्द्रको भागमा परेको छ भने दाङको १ एकीकृत समाजवादी, २ माओवादी र ३ कांग्रेसको भागमा परेको छ ।

    बाँकेको क्षेत्र नम्बर १ माओवादी, २ जसपा र ३ कांग्रेसले लिने छन् भने बर्दियाको १ कांग्रेस र २ माओवादीको भागमा पर्ने लगभग टुंगिएको छ ।

    नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने २ कांग्रेसलाई छाड्न सत्तारुढ गठबन्धनका दलहरु सहमत देखिएका छन् ।

    कर्णाली प्रदेशका धेरै जिल्लाको सिट बाँडफाँट टुंगिएको छ । सुर्खेतको दुबै क्षेत्र कांग्रेसको भागमा परेको छ भने सल्यान र डोल्पा एकीकृत समाजवादीले दिने छ । रुकुम पश्चिम, जाजरकोट, हुम्ला, कालीकोट माओवादी केन्द्रले पाउने लगभग पक्का भएको छ । मुगुमा कांग्रेस एकीकृत समाजवादी र माओवादीको दाबी छ भने जुम्लामा कांग्रेस र माओवादीको ।

    दैलेखको १ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ भने २ कांग्रेसले पाउने निश्चित जस्तै छ ।

    डडेलधुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्न सबै दल सहमत छन् । यस्तै कैलालीको क्षेत्र नम्बर ५ प्रधानमन्त्री पत्नी आरजु देउवालाई छाड्न अरु दल सहमत छन् । अरु चार क्षेत्रबारे भने छलफल नभएको कार्यदलका सदस्यहरु बताउँछन् ।

    कञ्चनपुरको १ माओवादीले लिनेछ भने २ र ३ कांग्रेसको भागमा परेको छ । वैतडीमा कांग्रेस र माओवादीको दाबी छ भने डोटीमा कांग्रेस र एकीकृत समाजवादीको । अछाम क्षेत्र नम्बर १ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ भने २ कांग्रेसले लिनेछ । बाजुरा र दार्चुला कांग्रेसले लिने छ भने बझाङमा कांग्रेस र एकीकृत समाजवादीको दाबी रहेको कार्यदलका सदस्यहरु बताउँछन् ।

    अनलाइनखबरबाट साभार

  • गठबन्धनले सिट बाँडफाँड छिट्टै टुंग्याउँछ – उपसभापति खड्का

    भक्तपुर, भाद्र २४
    नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनले सिट बाँडफाँड छिट्टै टुंगोमा पुर्याउने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरको प्रशिक्षण शाखाले शुक्रवार राधेराधेमा आयोजित प्रशिक्षण कार्यक्रममा उपसभापति खड्काले सबै परिवेशलाई साक्षी राखेर बढी भन्दा बढी उपलब्धी हासिल हुनेगरी गठबन्धनको सिट बाँडफाँड हुने बताउनुभयो ।
    उहाँले के पी शर्मा ओलीको अधिनायकवादी चरित्र विरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठन भएको गठबन्धनलाई थप मजबुद बनाउन पनि सिट बाँडफाँडमा सबै दल लचिलो भएर प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकता, एमसीसीको कार्यान्वयन, शान्ति प्रक्रियाको बाँकी काम पुरा गरी देशलाई समृद्ध बनाउन र आर्थिक विकासका लागि पनि गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्ने बताउनुभयो ।
    उहाँले गठबन्धनका कारण कांग्रेसले चाहेर पनि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउन नसकिने अवस्थालाई सबै कांग्रेसीले बुझ्नु पर्ने बताउनुभयो । उहाँले कांग्रेसको रहरले गठबन्धन नभएको प्रष्ट पार्दै हिजोको निर्वाचन परिणामले गर्दा पनि कांग्रेसलाई गठबन्धनमा जानुपर्ने बाध्यता परेको बताउनुभयो ।


    “गठबन्धन कुनै परिवेश भएको छ । बाध्यकारी अवस्थामा गठबन्धन सरकारको नेतृत्व कांग्रेसले लिनु परेको छ,” उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा यही विषयलाई जनता समक्ष लिएर जानुपर्छ ।”
    महामानव वि पी ले वास्तविक समाजवाद पढाएर जानुभएको चर्चा गर्दै खड्काले कांग्रेसले सधैं पार्टीको विधान, विचार र सिद्धान्त अनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रशिक्षणबाट सिकेका ज्ञानलाइृ आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताको घरदैलोसम्म पुर्याउन निर्देशन समेत दिनुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा जस्तै आगामी मंसिर ४ गतेको निर्वाचनमा पनि भक्तपुरमा कांग्रेसको विजयको झण्डा फरफराउने र कांग्रेसलाई जिल्लामा एक नम्बरको पार्टी बनाउने उद्घोष गर्नुभयो । उहाँले पार्टीका नेता कार्यकर्ता इमान्दार भएर अघि बढे भक्तपुरमा कांग्रेसलाई हराउने कसैको ताकत नभएको दावी समेत गर्नुभयो ।
    “सबै ईमान्दार हुनु पर्यो । चित्त नबुझेका विषयमा छलफल गर्न सकिन्छ । आगामी निर्वाचनमा कांग्रेस ईमान्दारीपूर्वक एक ढिक्का भएर अघि बढे भक्तपुरमा कांग्रेसको जित सुनिश्चित छ,” उहाँले भन्नुभयो ।
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् भक्तपुरका लागि केन्द्रीय प्रतिनिधि अम्बिका बस्नेतले लोकतन्त्र बचाउन कांग्रेस आवश्यक छ भन्ने तथ्य जनताले बुझिसकेको बताउँदैं जनता सँग कांग्रेस अभियानले कांग्रेस र जनताको सम्बन्ध थप मजवुद बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले ठूलो पार्टीमा धरै नेता भएको दलमा केही केही मनमुटाव हुन सक्ने र त्यस्तो भएतापनि निर्वाचनका बेला तितामिठा सबै विषय थाँती राखेर, गाँठो पारेर निर्वाचनमा एकजुट भएर लाग्र्नुपर्नेमा जोड दिनुभयो ।
    कांग्रेस जिल्ला उपसभापति एवम् जिल्ला प्रशिक्षण शाखाका संयोजक विजेश अवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बागमति प्रदेशका महामन्त्री कञ्चन बाडे, उत्तम मल्ललगायतले प्रशिक्षणले कांग्रेसको ईतिहास, मुलुकका लागि गरेको योगदान, कांग्रेसले गरेका विकास निर्माण र आर्थिक नीतिका बारेमा कार्यकतामार्फत जनतालाई सू–सुचित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    प्रशिक्षणमा नेपाली कांग्रेस भक्तपुरको क्षेत्रीय, प्रदेश सभा क्षेत्रीय, नगर र वडा सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरु र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको जिल्ला उपसभापति एवम् प्रशिक्षण शाखा प्रमुख विजेश अवालले बताउनुभयो ।
    प्रशिक्षणमा सहभागीहरुलाई योजना आयोगका पुर्व उपाध्यक्षद्धय डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसको सरकारले गरेका विकास निर्माणका योजना र विकासका अवधारणाका बारेमा प्रशिक्षण दिनेछन ।

     

  • ध्वजूको संयोजकत्वमा कांग्रेसको भक्तपुर संगठन शाखा गठन

    भक्तपुर, भाद्र २३
    नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले सूर्यविनायक नगरपालिका (सूनपा)वडा नं. ६ का रामेश्वर ध्वजूको संयोजकत्वमा १५ सदस्यीय संगठन शाखा गठन गरेको छ । जिल्ला कार्यसमितिको ११ औं बैठकले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) र नियमावली २०७६ को नियम ४८ (३) १ को अधिनमा रही ध्वजूको संयोजकत्वमा जिल्ला संगठन शाखा गठन गरेको हो ।
    शाखाको सचिवमा मध्यपुर थिमि (मथिनपा) ५ का नरेश श्रेष्ठ छन भने सदस्यहरुमा सूनपा ३ का विश्वनाथ ढुंगेल, सूनपा ९ का नारायणबहादुर खत्री, सूनपा ७ का रामेश्वर वाग्ले, सूनपा ८ का वोधबहादुर थापा, मथिनपा ६ का उज्वल श्रेष्ठ, मथिनपा २ का सुमन थापामगर, मथिनपा ७ का रविन बाडे छन ।
    यसैगरी चाँगुनारायण नगरपालिका (चानपा) २ का बाबुराजा मुलेपति, चानपा १ का गोविन्द श्रेष्ठ, चानपा ५ का मोहनकुमार वन, चानपा ९ का प्रकाश खड्का, भक्तपुर नगरपालिका (भनपा)१ का बालकृष्ण दाहाल र भनपा ४ का मोहनकृष्ण श्रेष्ठलाई चयन गरिएको जिल्ला सचिव सुशिल बस्नेतले जानकारी दिनुभयो ।

  • माओवादी केन्द्रको वाईसिएल ईन्चार्ज दिपशिखा भक्तपुर २ बाट सिफारिस

    भक्तपुर, भाद्र २१
    नेकपा माओवादी केन्द्रले भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारको लागि वाईसिएलका केन्द्रीय ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’को नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिको सोमवार बसेको बैठकले सापकोटाको एकल नाम सिफारिस गरेको हो ।
    यस्तै भक्तपुर क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रले सुरेश न्यौपानेको एकल नाम सिफारिस गरेको माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल वासुले जानकारी दिनुभयो ।
    बैठकले प्रदेश सभा क्षेत्र नं. १ (ख)को प्रत्यक्षतर्फको उम्मेदवारको लागि सुनिल वासु, क्षेत्र नं. २ (ख)को प्रत्यक्षतर्फको उम्मेदवारको लागि दिलिप प्रजापतिको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ ।
    प्रदेश सभा क्षेत्र नं. १ (क) र २ (क)मा दावेदार धेरै भएकोले छलफलको क्रममा रहेको जिल्ला संयोजक वासुले बताउनुभयो । “सकेसम्म सर्वसम्मत रुपमा एकल नाम सिफारिस गर्ने नीति अनुरुप प्रदेश सभाको दुई वटा क्षेत्रमा छलफल जारी रहेको छ,” उहाँले भन्नुभयो, “आज मंगलवार बिहान बस्ने बैठकले बाँकी दुई प्रदेश सभा क्षेत्रको पनि टुंगो लाग्नेछ ।”