Category: राजनीति

  • झुटा फेसबुक पेज तथा ग्रुप तत्काल हटाउन आयोगको निर्देशन

    भक्तपुर, कार्तिक ८
    निर्वाचन आयोगले फेसबुक पेज÷ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै त्यस्ता फेसबुक पेज÷ग्रुपहरू तत्काल नहटाइए प्रचलित कानुनबमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
    ‘मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवार तथा दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा नो नट अगेन समेतका फेसबुक पेज र ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरुको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य ÷ श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
    आयोगले झुटा फेसबुक पेज÷ग्रुपहरू सिर्जना गरी नेताहरुविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को दफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने ठहर गरेको छ ।
    आयोगले उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा त्यस्ता झुठा फेसबुक पेज÷ग्रुपहरू तत्काल हटाई उप्रान्त यस किसिमको गतिविधि नगर्न सम्बन्धित सबैलाई सचेत समेत गराएको छ । आयोगले त्यस्ता फेसबुक पेज÷ग्रुपहरू तत्काल नहटाइए प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको हो ।

     

  • तोकिएको जरिवाना नबुझाउनेसहित समानुपातिकतर्फको ५५० जनाको उम्मेदवारी खारेज

    भक्तपुर, कार्तिक ८
    निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसुचीबाट ५ सया ५० जनाको नाम हटाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका पाँच सय ५० व्यक्तिको उम्मेदवारी खारेज गरेको हो ।
    समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका छ हजार चार सय ५७ उम्मेदवारमध्ये निर्वाचन कानून र निर्वाचन आचारसंहिताबमोजिम तोकिएको जरिवाना नबुझाउने तीन सय ६९ सहित उम्मेदवारका सम्बन्धमा परेको दाबी विरोधउपर जाँचबुझ गरी उम्मेदवारको नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक र कालोसूचीमा रहेका एक जनाको नाम पनि हटाइएको छ ।
    प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यका लागि दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारको सम्बन्धमा जाँचबुझ गर्दा दाबी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण पेश नगरेको पाइएको र २०७९ कात्तिक ५ गतेभित्र तोकिएको जरिवाना बुझाउने मौका प्रदान भएकोमा सो अवधिभित्र समेत जरिवाना नबुझाउने तीन सय ६९ को नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको हो ।
    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यस्तै बन्दसूचीमा समावेश रहेकामध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधिसभा सदस्यतर्फ २३ जना र प्रदेशसभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरुषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका छ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका छ जनाको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको छ ।

     

  • गुण्डुमा टोल सुधार समितिका अध्यक्ष कांग्रेसमा प्रवेश

    भक्तपुर, कार्तिक १
    सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुको टोल सुधार समितिका अध्यक्ष साजन लामासहित करिव एक दर्जन युवाहरु नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
    सूर्यविनायक नगरपालिका वडा नं. ५ मा सत्ता गठबन्धनको लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटनका क्रममा लामासहितका युवाहरु सोमवार कांग्रेसमा प्रवेश गर्नुभएको हो । कांग्रेस प्रवेश गर्नेहरुमा लामासहित पदम बहादुर तामाङ, राजन तामाङ, पदम स्याङ्बो, राजकुमार तामाङ, बच्चुकाजी लामालगायतका छन ।
    नवप्रवेशी युवाहरुलाई कांग्रेसमा स्वागत गर्दै नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं सत्ता गठबन्धनको लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य संयुक्त उम्मेदवार दुर्लभ थापाले कांग्रेसले युवाहरुको भावना अनुरुप नीति निर्माण गरी उनीहरुलाई राष्ट्र निर्माणमा लगाउने बताउनुभयो ।
    उहाँले कांग्रेस डनबाद, धनवाद र गनवादको ज्यादती विरुद्ध सधै डटेर सामना गरिरहने बताउँदैं युवाहरुलाई उचित शिक्षासहित रोजगारीका लागि सक्षम बनाउने कांग्रेसको नीति रहेको बताउनुभयो ।
    सो अवसरमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की , गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं. २ प्रदेश सभा क का उम्मेदवार विष्णुराज कार्की, नेकपा माओवादी केन्द्रकी नेतृ प्रतिमा श्रेष्ठलगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

     

  • समृद्ध भक्तपुर बनाउन आफुहरुले उम्मेदवारी दिएको एमाले उम्मेदवारको दावी

    भक्तपुर, असोज ३०
    नेकपा एमालेको तर्फबाट भक्तपुर जिल्लाको संघ र प्रदेश सभा उम्मेदवारहरुले समृद्ध भक्तपुर बनाउन आफुहरुले उम्मेदवारी दिएको बताउनुभएको छ । प्रेस चौतारी भक्तपुर जिल्ला शाखाले आयोजना गरेको ‘नेकपा एमालेका उम्मेदवारसँग सञ्चारकर्मी’ विषयक कार्यक्रममा संघ तर्फका दुई र प्रदेश तर्फका चार जना उम्मेवारहरुले सिंहदरवारको अबको नेतृत्व भक्तपुरले गर्ने दावी समेत गर्नुभयो ।
    कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य तथा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले विगतको निर्वाचनबाट नै भक्तपुरमा एमाले जनता माझ परिचित पार्टी भईसकेकोले यसपटक तेब्बर मत ल्याई विजयी हुने दावी गर्नुभयो ।
    राष्ट्र र राष्ट्रियताको हितमा लाग्ने पार्टी एमाले भएकाले पनि जनताले माया र विश्वास गर्ने बस्नेतको भनाई थियो । भक्तपुरमा एमालेले विकासको लहर सिर्जना गरेकाले पनि लोकप्रिय रहेको उहाँले बताउनुभयो । उहाँले अब भक्तपुरले सिंहदरवारको नेतृत्व गर्ने समय आएको बताउनुभयो ।
    निर्वाचन क्षेत्र न. १ (क) का उम्मेदवार एवम् एमाले भक्तपुर जिल्ला कमिटीका सचिब मोहनवीर श्रेष्ठले चाँगुनारायण क्षेत्र पर्यटकीय स्थल भएकाले सो क्षेत्रको प्रकृतिक र सांस्कृति महत्वलाई संरक्षण गर्ने आफ्नो एजेण्डा रहेको बताउनुभयो । “कृषिलाई आधुनिकिकरण गर्दै आवश्यक स्थानमा सिचाईको व्यवस्थापन गर्ने छु,” उहाँले भन्नुभयो ।
    सडकहरुको स्तर उन्नती गर्ने र भक्तपुर– नगरकोट सडक खण्ड निर्माण गर्न दबाब दिने एमाले उम्मेदवार श्रेष्ठको भनाई छ । कार्यक्रममा श्रेष्ठले महिलाहरुलाई शिपमुलक तालिमको व्यवस्था गरि आयआर्जन गर्ने बाटो देखाउने कार्यक्रम संचानल गर्ने आफ्नो तयारी रहेको बताउनुभयो । “भक्तपुरमा निर्माण हुने तयारीमा रहेको वीर अस्पताल र झौखेलमा बन्ने भनिएको अंग प्रत्यारोपण केन्द्र तत्काल बनाउनमा सम्बन्धीत स्थानमा तोकता गर्ने छु,” उम्मेदवार श्रेष्ठले भने ।
    भक्तपुर निर्वाचन क्षेत्र १ (ख) प्रदेश सभा तर्फका एमाले उम्मेदवार नारायण शुन्दर सिन्तकलाले भक्तपुर नगरमा रहेको खानेपानी समस्या समाधान गर्नु आफ्नो मुख्य चुनावी मुद्दा भएको बताउनुभयो । सिन्तकलाले भन्नुभयो, “हामीले जितेमा राज्यको नीति नियममा रहेर काम गर्ने छौं, ख्वप कलेज संंचालनपनि सोही अनुसार गर्ने छौं, ।”
    सो कार्यक्रममा निर्वाचन क्षेत्र न. १ का उम्मेदवार नवराज गेलालले इटाँ भट्टाको प्रदुषणलाई हटाउन वैज्ञानिक तरिकाबाट सो उद्योग व्यवस्थान गर्ने बताउनुभयो । “नियम विपरित रहेका उद्योगलाई हटाउने छौं,” उहाँले भन्नुभयो । विगतदेखि नै कुरा हुदैं आएको स्मार्ट सीटीको परिकल्पना पुरा गर्ने र सो क्रममा कसैलाई पनि भूमिहिन नबनाउने योजना रहेको गेलाल बताउनुभयो । जिल्लाका धेरै स्थानमा रहेको खानेपानीको समस्यालाई हल गर्ने र सरसफाईमा समेत विषेश ध्यान दिईने उहाँले बताउनुभयो ।
    भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सभातर्फका उम्मेदवार किरण थापाले आफु वडाअध्यक्ष हुँदा गरेका विकास निर्माणका कार्यहरुको जानकारी दिँदैं विगतको योगदान हेरेरै यसपटक जनताले माया गर्ने दावी गर्नुभयो । जनप्रतिनिधी हुदाँ राज्यले दिने सुविधा नलिएको र भत्ताबाट आएको रकमले गरिब विद्यार्थीहरुको पढाईमा लगानी गरेको समेत थापाले जानकारी दिनुभयो ।
    २ नं. निर्वाचन क्षेत्र (ख) एमालेका उम्मेदवार चंन्दन कृृष्ण श्रेष्ठले सुखी नेपाली समृद्ध नेपालको नारालाई पुरा गर्न चुनावी मैदानमा आएको बताउनुभयो । आफ््नो निर्वाचन क्षेत्र मध्यपुरथिमि नगरपालिकालाई दुई भागमा विभाजन गरेर विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
    “नेवाः समुदायको बस्ती भएकाले त्यहाँको कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटनको विकास गर्नुपर्दछ,” श्रेष्ठले भन्नुभयो । नयाँ बस्तीका जनताको सानो–सानो समस्या समाधान गर्ने योजना रहेको उहाँको भनाई छ । नेपाल कोरिया मैत्री नगर अस्पतालाई अझै सुधार गर्नुपर्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने श्रेष्ठले बताउनुभयो ।
    प्रेस चौतारी भक्तपुर जिल्ला शाखाका अध्यक्ष हेमराज ढकालको अध्यक्षता आयोजित कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजा, प्रचार विभाग प्रमुख निरञ्जन बजगाई, सल्लाकार कृष्णराम गेलाल, चाँगुनारायण नगरकमिटीका अध्यक्ष राम तिमिल्सिना र जिल्लामा संक्रिय सञ्चारकर्मीलगायतको उपस्थिती रहेको थियो ।

     

  • विकासका नाममा जनतामा भ्रम फैलाउने कुचेष्ट नगर्न थापाको चेतावनी

    भक्तपुर, असोज ३०

    नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका संयुक्त उम्मेदवार दुर्लभ थापाले जिल्लामा विकासका नाममा जनतामा भ्रम फैलाउने कुचेष्ट नगर्न चेतावनी दिनुभएको छ ।
    रफत सञ्चार क्लवले आइतवार आयोजित साक्षात्कार कार्यक्रममा थापाले २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना पछि मुलुकमा विकासको लहर चलेको र यो निरन्तर चलिरहने बताउँदैं भक्तपुरमा केही समय यता सबै विकास निर्माण आफुले गरेको भन्ने जस्तो गरी प्रचार गरेर जनतामा भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाउनुभयो ।
    उहाँले नीति निर्माणको तहमा पुग्ने सांसदको निर्वाचनमा विकासको ललिपप बाँडेर चुनावी एजेन्डा बनाउनेहरुलाई अब जनताले तह लगाउने विश्वास व्यक्त गर्नुभयो । कांग्रेसका सांसदले शुरु गरेको विकास निर्माणका कार्यमा समेत रिवन काटेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाउँदैं त्यस्ता कार्यको प्रमाण आफुहरुसँग सुरक्षित रहेको बताउनुभयो ।
    उहाँले निर्वाचनलाई पाँच पाँच वर्षमा आउने राष्ट्रिय पर्वको संज्ञा दिँदैं यसलाई शान्तिपूर्ण, निष्पक्ष ढंगले सम्पन्न गर्ने दायित्व सबै राजनीतिक दलहरुको भएकाले गठबन्धनमा रहेका दलहरुबीच यस सम्बन्धमा गम्भिर छलफल भइरहेको बताउनुभयो ।
    उहाँले भक्तपुरमा कसैले धनवाद, डनवाद र गनवादको आडमा निर्वाचन जित्ने प्रयत्न गर्छ र निर्वाचनलाई अशान्त बनाउन खोज्छ भने कांग्रेस र गठबन्धनमा रहेका दलहरु हातमा दही जमाएर नबस्ने चेतावनी समेत दिनुभयो ।
    देशभरी गठबन्धनको पक्षमा आएको जनलहर र उत्साहले चुनावी परिणाम गठबन्धनको पक्षमा जाने निश्चित भएपछि निर्वाचनमा विभिन्न किसिमका वितण्डा मच्चाउन सक्ने तर्फ सबै चनाखो हुनुपर्नेमा थापाले जोड दिनुभयो ।

    मंसिर ४ मा हर्ष उल्लासका साथ मतदाताले निर्वाचनमा भाग लिने र निर्वाचन सम्पन्न हुने आशा व्यक्त गर्दै थापाले कहिँ कतैबाट शान्त वातावरणलाई खलल गर्ने दुस्साहस भए त्यसको प्रतिकारमा गठबन्धन हरदम तत्पर रहेको बताउनुभयो ।

    विगतमा आफुले गठबन्धन गर्दा पवित्र हुने र अहिले कांग्रेसले गठबन्धन गर्दा अपवित्र हुने तर्कलाई हारको मानसिकता भएको बताउँदैं राष्ट्रिय एजेण्डा, संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेस सधैं सबै दलहरुसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
    उहाँले विगतमा एमालेसँग पनि सहकार्य गरेको स्मरण गराउँदैं निर्वाचनपछि पनि लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, मुलुकको आर्थिक समृद्धिका लागि एमालेसँग पनि सहमति र सहकार्य गरी अघि बढ्न सकिने धारणा राख्नुभयो ।

  • गठबन्धन निर्वाचनपछि पनि निरन्तर चल्छ – सभापति थापा

    भक्तपुर, असोज २९
    नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्लभ थापाले गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
    मध्यपुर थिमिको राधेराधेमा लोकतान्त्रिक बाम गठबन्धनको निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन कार्यक्रममा थापाले संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षा र संविधान कार्यान्वयन गर्ने उदेश्यले बनेको गठबन्धनलाई निर्वाचन पछि पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
    उहाँले भन्नुभयो, “म कांग्रेसको जिल्ला सभापति भएको नाताले मेरो दायित्व पनि हो । यो गठबन्धनलाई निर्वाचन पछि पनि निरन्तरता दिने छु ।” उहाँले संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षा र संविधान कार्यान्वयन गर्ने कार्यमा एमालेसँग पनि सहकार्य गर्ने बताउनुभयो ।
    “हामी लोकतन्त्रको मर्म अनुसार स्वच्छ प्रतिष्पर्धामा छौं, चुनावपछि एमालेसँग पनि सहकार्य गरेर अघि बढ्छौं,” उहाँले भन्नुभयो । आफूहरु कसैलाई हराउन उम्मेदवार नभएको भन्दै सभापति थापाले सबै उम्मेदवार प्रति सम्मान गर्दै जनताको मतद्वारा निर्वाचन जित्ने उद्घोष गर्नुभयो ।
    “हामीले हाम्रो लागि मात्र लोकतन्त्र ल्याएका होइनौं, निर्वाचनमा उम्मेदवार हुने स्वतन्त्र उम्मेदवार प्रति पनि हाम्रो सम्मान छ । जनताको फैसलाले हाम्रो जित सुनिश्चित छ,” उहाँले भन्नुभयो ।
    कार्यक्रममा भक्तपुर २ प्रदेश ‘क’ सूर्यविनायक क्षेत्रका उम्मेदवार विष्णुराज कार्की र प्रदेश ‘ख’ मध्यपुर थिमी क्षेत्रका उम्मेदवार डा. राजेन्द्रमान श्रेष्ठले एकतामै बल हुने बताउदै एकतावद्ध भएर प्रतिगामी शक्तिलाई पराजित गर्दै बाम लोकतान्त्रिक गठबन्धनले जित्ने विश्वास व्यक्त गर्नुभयो ।
    कार्यक्रममा स्वतन्त्र उम्मेदवार कल्पदिप राइले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन गठबन्धनको मर्म र भावना अनुसार सबै एकतावद्ध भएर अघि बढ्नुपर्ने खाँचो औंल्याउनुभएको थियो ।

     

  • कसैलाई हराउन होइन, जित्नको लागि आएका छौं – सभापति थापा

    भक्तपुर, असोज २५
    नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार दुर्लभ थापाले आफुहरु कसैलाई हराउनका लागि नभई जित्नको लागि आएको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ ले मंगलवार आयोजित कार्यक्रममा थापाले आफ्नो प्रतिष्पर्धा विकासका नाममा भएका भ्रष्टाचार, बेरोजगारी, बेथिती, विसंगती र अशिक्षासँग रहेको बताउँदैं कसैलाई हराउनका लागि भन्दा पनि आफु जित्नको लागि चुनावी मैदानमा आएको बताउनुभएको हो ।
    उहाँले भन्नुभयो, “हामी कसैलाई हराउनका लागि आएका छैनौं । हामी जित्नका लागि निर्वाचनमा आएका छौं । हाम्रो कुनै पार्टीसँग प्रतिष्पर्धा छैन । हाम्रो प्रतिष्पर्धा यहाँको बेरोजगारीसँग छ । हाम्रो प्रतिष्पर्धा यहाँको भ्रष्टाचार र भ्रष्टचारीसँग छ । यहाँको गरिवी, बेथिती र विसंगतीसँग छ ।


    उहाँले निर्वाचनका बेला कुनै दल वा उम्मेदवारलाई कुनै प्रकारको गाली गलौज नगर्न समेत कार्यकर्ताहरुलाई आग्रह गर्दै आइलाग्ने माथि जाइलाग्न भने पछि नहट्न निर्देशन समेत दिनुभयो । “हामी कसैलाई गाली गर्देनौ तर एउटा कुरा विचार गर्नुहोस आइलाग्ने माथि जाई लाग्न पछि नहट्नुहोस,” उहाँले भन्नुभयो ।
    पार्टी भित्र कुनै मनमुताव र विवाद नभएको प्रष्ट पार्दै सभापति थापाले कसैले कांग्रेसभित्र विवाद छ, भन्दै भ्रमको खेती गर्ने र धमिलो पानीमा माछा मार्ने कुचेष्टा नगर्न चेतावनी समेत दिनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा जस्तै जिल्ला, क्षेत्र, प्रदेश, नगर, वडा र टोल इकाई समितिमा रहेका पदाधिकारी र सदस्यहरु तथा क्रियाशिल सदस्यहरुलाई समेत जनताका घरघर टोलटोल पुगेर निर्वाचनको प्रचार प्रसार गर्न र नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अग्रसर हुन निर्देशन समेत दिनुभयो ।


    क्षेत्रीय सभापति भेषबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु मदनकृष्ण श्रेष्ठ, रमा पौडेल कोइराला, जिल्ला नेता अष्ट कवे, पुर्व जिल्ला सभापति गणेशमान चक्रधर, नेताहरु कविर राणा, माथवरसिंह बस्नेत, सन्तोष भट्टराई, मध्यपुर थिमिमा नगरसभापति हरिदास प्रजापति, मध्यपुर थिमिका नगरसभापति सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरसभापति निशान ढुंगेललगायत पार्टीका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रममा सहभागीहरुले भक्तपुर क्षेत्र नं. २ मा कांग्रेस कहिल्यै कमजोर नभएको तर नेताहरुको एकजुट नहुँदा निर्वाचन हार्ने गरेको तथ्यांक प्रस्तुत गर्दै नेताहरुलाई एक भएर निर्वाचनमा होमिन र स्थानीय तहको निर्वाचनमा जस्तै जनताका घर घरमा पुगेर मत माग्नुपर्ने सुझाव दिएका थिए ।

     

  • नेपाली कांग्रेस भक्तपुरको प्रचार शाखा गठन, संयोजकमा प्रधान

    भक्तपुर, असोज २४
    नेपाली कांग्रेस भक्तपुरले जिल्ला प्रचार शाखा बिस्तार गरेको छ । जिल्ला सभापति दुर्लभ थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) तथा नियमावली २०७६ को नियम ४८ (५) बमोजिम गत चैत्र ३ गते गठन गरेको प्रचार शाखालाई सोमवार बिस्तार गर्नुभएको हो ।
    सभापति थापाले पार्टी जिल्ला समितिका प्रवक्ता रविन्द्र प्रधानको संयोजकत्वमा प्रचार शाखा गठन गर्नुभएको थियो । सो शाखालाई बिस्तार गरी सह संयोजकमा सूर्यविनायक नगरपालिका–५ का रमेश खड्का, सचिवमा भक्तपुर नगरपालिका–१ का पवन भुजु र सह सचिवमा मध्यपुर थिमि–१ का जगतकृष्ण प्रजापतिलाई मनोनयन गरिएको छ ।
    यसैगरी सदस्यहरुमा मध्यपुर थिमिबाट केदार खड्का, पुरुषोत्तम खड्का, लक्ष्मी शोभा प्रजापति, सुजन पौडेल, भक्तपुर नगरपालिकाबाट किरण प्रजापति, रामगोपाल तमाखु, रञ्जु सापकोटा, चाँगुनारायण नगरपालिकाबाट राजेन्द्र बस्नेत, रोशन तिमल्सिना, कल्पना सुवाल, प्रदुभ्न पोखरेल र सुमना दाहाल (सोनु), सूर्यविनायक नगरपालिकाबाट शंकर गिरी, कृष्ण शरण पौडेल, सुनिल तामाङ रहेका छन ।
    शाखामा मनोनित पदाधिकारी र सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै सभापति थापाले प्रचार शाखाले आगामी निर्वाचनमा जिम्मेवारीपूर्ण कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचनका बेला नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवार विरुद्ध विपक्षी दलले विभिन्न खाले अफवाह फैलाउने र झुठा प्रचार गर्ने तर्फ प्रचार शाखाले विशेष चनाखो भई कार्य गर्नुपर्ने बताउँदैं त्यस्ता अफवाहलाई चिरेर अगाडि बढ्न निर्देशन समेत दिनुभयो ।
    उहाँले प्रचारका नाममा कसैप्रति नकारात्मक प्रचार नगर्न, पार्टी र गठबन्धनका उम्मेदवारहरुले विगतमा गरेका सामाजिक, राजनीतिक कार्यहरुको सही ढंगले प्रचार गर्न सुझाव दिनुभयो ।

     

  • संविधानको पूर्ण कार्यान्वयन र संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न उम्मेदवारी – सभापति थापा

    भक्तपुर, असोज २४
    नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्नो उम्मेदवारी संविधानको पूर्ण कार्यान्वयन र संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न रहेको बताउनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएका सभापति थापाले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदैं आफ्नो उम्मेदवारी कसैको विरुद्ध नभई संविधान र लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको बताउनुभएको हो ।
    “मेरो उम्मेदवारी कसैको विरोधमा होइन । लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र संविधानको पूर्ण कार्यान्वयनको लागि हो,” उहाँले भन्नुभयो ।
    उहाँले विगतमा भक्तपुरमा विकासका नाममा धेरै भ्रष्टाचार र अराजकता बढेको आरोप लगाउँदैं त्यस्ता तत्वलाई यसपटक जनताले उचित दण्ड दिने बताउनुभयो । उहाँले कांग्रेस र गठबन्धनको पक्षमा जनतामा देखिएको उत्साह नै आफ्नो जितको आधार रहेको बताउनुभयो ।
    उहाँले भक्तपुरमा कांग्रेस कहिल्यै पनि कमजोर नभएको दावी गर्दै स्थानीय निर्वाचनको परिणामले पनि प्रमाणित गरेको बताउनुभयो । यसपटक गठबन्धनमा कारण पनि आफ्नो जित सुनिश्चित रहेको थापाले दावी गर्नुभयो ।

     

  • भक्तपुरमा शान्तिपूर्ण वातावरणमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न

    भक्तपुर, असोज २३
    मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतवार भक्तपुरमा शान्तिपूर्ण वातावरणमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा प्रदेश सभाका ४ क्षेत्रको लागि समेत उम्मेदवारहरुको मनोनयन दर्ता गरेको हो ।
    भक्तपुर क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् निर्वतमान सांसद प्रेम सुवालले पुनः प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन । यस्तै सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुनिल गोठे बासु, नेकपा एमालेका नवराज गेलाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत बहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का माधव खत्रीले पनि प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन ।


    यस्तै प्रदेश सभा १ (क)को सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुरेश श्रेष्ठ, नेकपा एमालेका मोहनवीर श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका मिनबहादुर बाटा, जसपा नेपालका कल्पना सुनुवार, राप्रपाका राजु कुईंकेलले उम्मेदवारी दर्ता गराएका छन ।
    त्यसैगरी प्रदेश सभा १ (ख)को सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पवन भुजु, नेकपा एमालेका नारायण सुन्दर सिन्तकला, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईं, राप्रपाका रोशन नापित, राप्रपा नेपालका शान्ति भक्त बाटी, जनता समाजवादी पार्टी नेपालका विश्वराम शिल्पकारले उम्मेदवारी दर्ता गराएका छन ।
    यसैगरी भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दुर्लभ थापा, नेकपा एमालेका महेश बस्नेत, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर, राप्रपाका मोहन केसी, राप्रपा नेपालका राजु नापितले उम्मेदवारी दर्ता गराएका छन ।
    भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा क को सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुराज कार्की, नेकपा एमालेका किरण थापा, नेमकिपाका सरोजराज गोसाईं, राप्रपाका विक्रम थापा, राप्रपा नेपालका उमेश बिष्टले उम्मेदवारी दर्ता गराएका छन ।


    त्यस्तै सत्ता गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका डा राजेन्द्रमान श्रेष्ठ, नेकपा एमालेका चन्दनकृष्ण श्रेष्ठ, नेमकिपाका रमेश बैद्य, राप्रपाका पञ्चकृष्ण श्रेष्ठ, राप्रपा नेपालका श्रीकृष्ण नेपालले भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा ख को सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन ।
    भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरु बाजागाजा र झाँकीसहित सयौं नेता कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरु निर्वाचन कार्यालय पुगेका थिए ।
    निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ताका लागि उम्मेदवारको समर्थक र प्रस्तावकसहित २५ जना भन्दा बढी जान नपाईने, बाजा गाजा र साँस्कृतिक झाँकी प्रस्तुत गर्न नपाईने आचारसंहिता जारी गरेपनि प्रमुख दलहरुले भने उक्त व्यवस्था विपरित बाजागाजासहित सयौंको संख्याका सहभागी भएको ¥यालीसहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।
    नाम दर्ताको लागि नेकपा एमाले र सत्ता गठबन्धन थिमिको शंखधर चोकबाट ¥यालीसहित भक्तपुर क्षेत्र नं. २ को निर्वाचन कार्यालय मध्यपुर थिमि–९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र पुगेका थिए ।
    यसैबीच भक्तपुर क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यका लागि ४ जना स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिम बिसीले बताउनुभयो ।
    यस्तै भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका लागि २६ जनाले उम्मेदवारको मनोनयत दर्ता गराएका छन । जसमध्ये ११ जना स्वतन्त्र छ भने बाँकी विभिन्न दलका छन ।