Category: राजनीति

  • आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुको हार निश्चित – सभापति थापा

    भक्तपुर, कार्तिक २३
    सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुको हार निश्चित भएको बताउनुभएको छ ।
    लोकतान्त्रिक वाम गठबन्धनले नलिञ्चोकको जोरपाटीमा बिहिवार आयोजित सूर्यविनायक नगरपालिका वडा नं. ९ र १० को चुनावी सभामा थापाले जनता लोकतन्त्रको पक्षमा रहेकोले प्रतिगामी शक्तिहरु आगामी निर्वाचनमा परास्त हुने बताउनुभएको हो ।
    उहाँले प्रतिगामी शक्तिहरुको अधिनायकवादका कारण भक्तपुरको नाम समेत बदनाम भएको बताउँदैं त्यस्ता अधिनायकवादका नाईकेलाई भक्तपुरका जनताले चुनावमा हराएर अधिनायकवादको अन्त्य गर्ने अपेक्षा गर्नुभयो ।
    उहाँले भक्तपुरमा विकासका नाममा संस्थागत भ्रष्टाचार बढेको चर्चा गर्दै विकासले भक्तपुरका जनतालाई भन्दा केही सिमित व्यापारीलाई प्रत्यक्ष फाइदा गरेको आरोप लगाउनुभयो । “सडक निर्माणको नाममा केही सिमित जग्गा व्यवसायीहरुले गरेका प्लानिङमा बाटो लाने कार्य भएको छ । जनतालाई भ्रममा राख्ने काम भएको छ । अब त्यस्ता कार्यको पर्दाफास भएको छ,” उहाँले भन्नुभयो ।
    उहाँले चित्तपोल र नंखेलका केही जग्गा प्लटिङमा चिल्ला सडक निर्माण भएपनि यस क्षेत्रका पुराना काठ बस्तीका सडकहरुको अवस्था, खानेपानी र विद्युतलगायतका समस्या पाँच वर्ष अघिको जस्तो थियो उस्तै रहेको चर्चा गर्दै ती समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


    उहाँले विगतका जनप्रतिनिधिहरुले जग्गा व्यवसायीहरुसँग मिलेर सार्वजनिक जग्गा र खोला समेत मासेको आरोप समेत लगाउनुभयो । ”मैले बयान गरिरहनु पर्दैन । तपाईंहरुले प्रत्यक्ष देख्नु भएको छ । जनप्रतिनिधिहरुको मिलेमतोमा यहाँका सार्वजनिक जग्गा र खोलानाला गायव भएका छन,“ उहाँले भन्नुभयो ।
    उहाँले स्थानीयलाई सचेत रहन आग्रह गर्दै भन्नुभयो, “सधै जनतालाई भ्रमजालमा पारेर झुट्टा आश्वासन दिएर करोडौँको मालिक बनेकाहरू घर आगनमा फेरि झुट्टो आश्वासन र नोटको बिटो लिएर आउलान त्यस तर्फ सचेत हुनुपर्छ ।”
    थापाले संबिधान रक्षार्थ बनेको गठबन्धन निर्वाचनपछिको पाँच वर्ष निरन्तर अगाडि बढ्ने बताउँदैं यसमा कुनै शंका गर्नुपर्ने आवश्यक नभएको बताउनुभयो ।
    नेकपा माओवादी केन्द्रका नेता दिलिप प्रजापतिले मुलुकमा संबिधानको रक्षा लोकतन्त्रको सस्थागत विकासका लागि निर्माण भएको गठबन्धनले आगामी पाँच वर्ष मुलुकले नेतृत्व गर्ने दावी गर्नुभयो ।
    के पी ओलिले मुलुकलाई भडखालोमा हाल्न खोजेको र संबिधान मास्न खोजेको बताउदैं उहाँले देशीबिदेशी शक्ति संग मिलेर संबिधानमा लात मारेर दुई दुई पटक संसद भंग गरेर अधिनायक बाद लाद्न खोज्ने ओलीहरुलाई आगामी निर्वाचनले परास्त गर्ने दावी गर्नुभयो । उहाँले मुलुकमा सदासदाका लागि बेरोजगारी अन्त्य गर्ने काम मंसिर ४ पछिको गठबन्धनको सरकारले गर्नेमा ढुक्क हुन अनुरोध गर्नुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य नारायणभक्त खायमली, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष श्याम बस्नेत, नेकपा एकिकृत समाजवादीका नेता दिलिप केसीलगायतले मंसिर ४ मा लोकतान्त्रिक शक्तिहरु पराजित भए मुलुकको लोकतन्त्र र संविधान थप संकटमा पर्ने जिकिर गर्नुभयो ।

     

  • कांग्रेस र गठबन्धनबारे भ्रम नपैmलाउन कांग्रेस सभापति थापाको चेतावनी

    भक्तपुर, कार्तिक २३
    भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुलर्भ थापाले कांग्रेस र गठबन्धनबारे भ्रम नपैmलाउन प्रतिष्पर्धी दल र उम्मेदवारलाई चेतावनी दिनुभएको छ ।
    लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटीले मध्यपुर थिमिको स्वंगा पुखुमा बुधवार साँझ आयोजित चुनावी सभामा सभापति थापाले मंसिर ४ गतेको निर्वाचनमा हार्ने निश्चित भएपछि प्रतिष्पर्धी दल र उम्मेदवारले भ्रमको राजनीति शुरु गरेको आरोप लगाउँदैं कांग्रेस र गठबन्धनबारे भ्रम नपैmलाउन प्रतिष्पर्धी दल र उम्मेदवारलाई चेतावनी दिनुभएको हो ।
    “आफ्नो पार्टी मिलाउन नसक्ने, पार्टीमा हैकमवाद लाद्न खोज्ने, पार्टी हो की व्यक्ति हो छुट्याउन नसक्नेहरुले अरुलाई पनि त्यस्तै देख्छन,” थापाले भन्नुभयो, “म चेतावनी दिन चाहन्छु । तपाईंहरु मुल्य मान्यता, आदर्श र सिद्धान्तको नारा बोकेर हिँडीरहनु भएको छ की ? झुटको खेती गरिरहनुभएको छ ?”


    उहाँले आफ्नो दल मिलाउन नसक्नेहरुले कांग्रेसभित्र असन्तुष्टि भएको र गठबन्धनबीच एकता नभएको भन्दै भ्रम फैलाउन खोजेको आरोप लगाउँदैं चुनावी सभामा उपस्थित जनसमूदायले उनीहरुलाई गतिलो झापड दिएको दावी गर्नुभयो ।
    उहाँले प्रतिष्पर्धी उम्मेदवार महेश बस्नेततर्फ इंगित गर्दै विगतमा आफुले गरेका प्रतिवद्धता फर्केर हेर्न आग्रह गर्नुभयो । थापाले भन्नुभयो, “विगतमा यही ठाँउमा उभिएर गरेका प्रतिवद्धताहरु कति पुरा गर्नुभयो ।” उहाँले मतदातालाई एक पटक झुक्याउन सजिलो भएपनि बारबार त्यसो गर्न नसकिने ठोकुवा गर्नुभयो ।
    राजनीति नैतिकता र इमान्दारितामा आधारित हुनुपर्ने बताउँदैं उहाँले आम मतदाताहरु झुटको राजनीतिबाट सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले समाजको सेवामा समर्पित हुनुपर्ने राजनीति अहिले कसैका लागि व्यवसाय भएको र रातरात अरबपति बन्ने हतियार बनेको आरोप समेत लगाउनुभयो ।
    मध्यपुर थिमि कला सँस्कृतिको धनी शहर भएको र यहाँको कला सँस्कृतिको जगेर्ना स्थानीय गुठीहरुले गरिरहेको चर्चा गर्दै उहाँले विगतमा नेवार समूदायको मतबाट निर्वाचित जनप्रतिनिधिहरु गुठी विधेयक मार्फत परम्परागत साँस्कृतिलाई मास्न खाजेको आरोप समेत लगाउनुभयो ।

     

     

  • आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह

    भक्तपुर, कार्तिक २३
    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका संघसंस्था र युवा अभियन्तासँग आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्ने बताउनुभयो ।
    उहाँले आचारसंहिताको उल्लघंन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महँगो पर्न सक्ने चेतावनी दिनुभयो । थपलियाले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारवाही हुने स्पष्ट गर्नुभयो । निर्वाचनको सन्दर्भमा आयोगले दिएका निर्देशनहरूको कसैले अवज्ञा गरे त्यो महँगो हुने उहाँको चेतावनी थियो ।
    युवाहरूलाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी निर्वाचनको सकारात्मक प्रचारप्रसार र मतदाता शिक्षा दिन आग्रह गर्दै उहाँले आचारसंहिताको उल्लघंन पाइएमा जुनसुकै माध्यमबाट उजुरी दिने सकिने अवगत गराउनुभयो । जुनसुकै निर्वाचनमा जित्ने उम्मेदवारभन्दा हार्नेको संख्या बढि हुने व्याख्या गर्दै उहाँले निर्वाचनपछिको राजनीतिक वातावरण धूमिल हुन नदिन र सौहार्दता कायमका लागि पनि युवाहरुले सकारात्मक भूमिका निर्वाह खेल्न सक्ने उल्लेख गर्नुभयो ।
    प्रमुख आयुक्त थपलियाले मतदान केन्द्रहरु सकेसम्म अपाङ्गता मैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको स्पष्ट गर्नुभयो । प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस् । स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित निर्वाचन गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौँ ।”

     

  • परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

    भक्तपुर, कार्तिक २२
    निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने व्यवस्था गरेको छ ।
    आयोगको मंगलवार बसेको बैठकले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो ।
    निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको÷नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको हो ।

     

  • मंसिर ४ को निर्वाचनका लागि मतपत्र छपाई सम्पन्न

    भक्तपुर, कार्तिक १९
    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाईको कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि आवश्यक ८ करोड तीन लाख ९४ हजार ५ सय मतपत्र छपाइ सम्पन्न भएको हो ।
    आयोगका अनुसार पहिलो हुने (प्रत्यक्ष) निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि सभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ ।
    प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड ९९ लाख १८ हजार ५ सय र समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो ।

     

  • चुनावी प्रचारका लागि भक्तपुरमा दलहरु घर दैलोमा

    भक्तपुर, कार्तिक १८
    आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि भक्तपुरका राजनीतिक दल तथा उम्मेदवारहरुले घर दैलो कार्यक्रम शुरु गरेको छ । निर्वाचन आचार संहिताले प्रचार प्रसारका लागि घर दैलो गर्न पाउने छुट दिएपछि भक्तपुरका प्रमुख राजनीतिक दल तथा उम्मेदवारहरुले शुक्रवारबाट घर दैलो कार्यक्रम शुरु गरेको हो ।
    निर्वाचन आचार संहिताले कार्तिक १८ गते देखी घरदैलो मार्फत निर्वाचनको प्रचार प्रसार गरी मत माग्न पाउने व्यवस्था गरेको छ । सोही अनुसार भक्तपुरका सत्ता गठबन्धन, नेकपा एमाले र नेमकिपालगायतका दलहरुले घरदैलो कार्यक्रम शुरु गरेको हो ।
    भक्तपुर क्षेत्र नं. २ मा गठबन्धनले मध्यपुर थिमिको शंखधर चोकबाट घरदैलो शुरु गरेको नेपाली कांग्रेस मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापतिले बताउनुभयो । शंखधर चोकबाट शुरु भएको घरदैलो बायरिया लाँ, हनुमन्ते पुल भई पुनः शंखधर चोक, बालकुमारी, सुंगाटोल, दथुटोल, लाय्कु दुई पोखरी, भुलाँखेल, नासननी, चपाचो, गुंगचिवा, बहाखाबजारमा पुगी सम्पन्न भएको नगर सभापति प्रजापतिले जानकारी दिनुभयो ।


    घर दैलो कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको लागि सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दुलर्भ थापा, प्रदेश सभा भक्तपुर क्षेत्र नं. २ (ख)का नेकपा एकिकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ र समानुपातिक उम्मेदवारहरुले जनताको घर दैलोमा पुगेर प्रत्यक्ष भेटघाट गरी मत माग्नुभएको थियो ।
    सत्ता गठबन्धनले शुक्रवार नै सूर्यविनायक नगरपालिका १ सिरुटारमा घर दैलो कार्यक्रम मार्फत निर्वाचनको प्रचार प्रसार गरेको नेपाली कांग्रेस सूर्यविनायक नगरसभापति निशान ढुंगेलले बताउनुभयो ।

    त्यसैगरी नेकपा एमालेले पनि मध्यपुर थिमि वडा नं. ६ बाट घरदैलो शुरु गरेको छ । भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेका उम्मेदवार तथा एमाले पोलिट्व्यूरो सदस्य महेश बस्नेत, प्रदेश सभा भक्तपुर क्षेत्र नं. २ (ख) का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ र समानुपातिक उम्मेदरसहितको टोलीले वडा नं. ६ का बहाखाबजार, गुंगचिवा, गार्चा, पाटी बिहारलगायतका क्षेत्रमा जनताको घर दैलोमा पुगेर मत मागेका थिए ।


    वडा नं. ६ को गुंगचिवाबाट शुरु भएको घर दैलो चापाचो, पाटी विहार, कुण्डोल, प्रहरी वृत्त थिमि, बहाखाबजार हुँदैं गुंगचिवामा पुगेर समापन भएको नेकपा एमाले जिल्ला अध्यक्ष वचन देउजाले जानकारी दिनुभयो ।
    त्यस्तै नेकपा एमालेले शुक्रवार नै सूर्यविनायक नगरपालिका वडा ३ बालकोटमा पनि घर दैलो कार्यक्रम आयोजना गरेको थियो । वडा नं. ३ को ब्रम्हनगरबाट शुरु भएको घर दैलो कार्यक्रमले गणेश आधारभुत विद्यालय, पानी ट्यांकीलगायतका स्थानको परिक्रमा गरेको अध्यक्ष देउजाले बताउनुभयो ।
    त्यसैगरी नेपाल मजदुर किसान पार्टीले मध्यपुर थिमि ८ बोडेमा शुक्रवार घरदैलो कार्यक्रम आयोजना गरी मतदाता समक्ष मत मागेका थिए ।

     

  • कांग्रेसको घोषणा पत्र सार्वजनिक – कोखदेखी शोकसम्मका योजना

    भक्तपुर, कार्तिक १३
    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले शनिवार घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्री एवं घोषणापत्र मस्यौदा समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसमिति संयोजक स्वर्णिम वाग्ले लगायतले ५२ पेजको घोषणापत्र सार्वजनिक गरेको हो ।
    ‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको घोषणापत्रमा ६५ वर्षमै वृद्ध भत्ता, ३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार, विपन्नलाई १० हजार किरिया खर्च, ५० युनिटसम्म विद्युत निःशुल्क जस्ता लोकप्रिय कार्यक्रमहरु समावेश गरिएको छ ।
    त्यस्तै ५ वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन, अर्थतन्त्रमा रेमिट्यान्सको योगदान २३ प्रतिशतबाट १०–१२ प्रतिशतमा झार्ने, साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने संकल्प कांग्रेसले गरेको छ ।
    कांग्रेसले कोखदेखि शोकसम्म नारा दिएर ९ बुँदें कार्यक्रम घोषणा गरेको छ । पहिलो– प्रजनन स्वास्थ्य र अधिकार अन्तर्गत प्रजनन छनोटको स्वतन्त्रताको प्रत्याभूति युवा–युवतीलाई निःशुल्क प्रजनन स्वास्थ्य शिक्षा दिने भनेको छ ।
    दोस्रो– सुरक्षित मातृत्व अन्तर्गत निःशुल्क संस्थागत सुत्केरी सेवा, सुत्केरी र नवजात शिशुको घरदैलोमा स्वास्थ्य सेवा, सुत्केरी भत्ता पाँच ५ हजार पु¥याउने र १००० दिनसम्म पोषण कुपन दिने जस्ता कार्यक्रमहरु समेटिएको छ ।
    तेस्रो– गर्भावस्थामा निःशुल्क परीक्षण र पोषण प्याकेज, विपन्न अवस्थाका गर्भवतीका लागि आवश्यकता निःशुल्क अनुसार आश्रय र पोषणको नारा दिइएको छ ।
    चौथो– बालविकास अन्तर्गत निःशुल्क खोप तथा पोषण शिशु स्याहार केन्द्र, दिवा खाजा, ३ बर्षमुनि निःशुल्क उपचार गर्ने घोषणा गरिएको छ ।
    पाचौं– गुणस्तरीय शिक्षामा सबैको पहुँच, उद्यमशील तथा रोजगारमूलक शिक्षा भनिएको छ ।
    हस्तक्षेप मुक्त विश्वविद्यालय, एक विद्यालय एक दलित शिक्षकको योजना पनि कांग्रेसले अघि सारेको छ ।
    शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेत्रबाट मुक्त गर्न संघीय शिक्षा ऐन बनाउने र विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था हटाउने कांग्रेसको प्रतिबद्धता छ । कांग्रेसले सामुदायिक स्कुलको व्यवस्थापन, निजी स्कुलको शुल्कलाई समन्यायिक बनाउने प्रतिवद्धता जनाएको छ । विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्ने विषय पनि कांग्रेसको घोषणापत्रमा छ ।
    छैठौं – स्वास्थ्यमा ३÷७३ को नारा दिइएको छ । ३ बर्षमुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार गर्ने घोषणा गरिएको छ । विपन्न तथा अपाङ्गता भएका नागरिकलाई निःशुल्क बिमा, निःशल्क मृगौला प्रत्यारोपण, निःशुल्क डायलासिसको कार्यक्रम ल्याइएको छ ।
    सातौं – रोजगारी र श्रम अन्तर्गत सबै श्रमिकको सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गर्ने घोषणा छ । श्रमिकको संचयकोष र उपदानको प्रत्याभूति, एकल महिला तथा अपाङ्गता भएका नागरिकद्वारा सञ्चालित स्वरोजगारको हकमा ५० प्रतिशत सरकारको तर्फबाट योगदान दिने घोषणा गरिएको छ । विपन्नलाई १०० दिन रोजगारी दिने पनि भनिएको छ ।
    आठौं– वृद्धाअवस्था अन्तर्गत ६५ वर्षमाथिका सवै ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा, ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक भत्ता भनिएको छ ।
    नवौं– विपन्न नागरिकको मृत्यु संस्कार खर्च १० हजार रुपैयाँ स्थानीय तहको वडा मार्फत् घरमै पु¥याउने घोषणा गरिएको छ ।
    कांग्रेसको प्रारम्भिक लक्ष्य भन्दै झन्डै ७५ वर्षअघि बिपी कोइरालाले कल्पना गरेको समुन्नत नेपालको अवधारणालाई निरन्तरता दिँदैं घोषणापत्रमा भनिएको छ, ‘हामी जनता जनार्दनको बलमा नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहुन्; देशमा सडक, बाटोघाटो, अस्पताल लगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरु कुनै कुराहरुको अभाव नरहोस; त्यस्तो (उत्तरदायी शासन) व्यवस्था ल्याउने प्रयत्नमा छौं ।’

    यसलाई निरन्तरता दिँदै कांग्रेसले ‘पुँजी संग्रह र आर्थिक वृद्धि महत्वपूर्ण साधन हुन् तर विकासको साध्य भनेको नागरिकको स्वतन्त्रता, सक्षमता र सवलीकरण नै हो’ भनेको छ ।
    ‘डिजिटल नेपालः सुशासन र समुन्नतिको आधार’ भन्ने नाराका साथ कांग्रेसले सूचना प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पु¥याइ विशेष गरी युवा उद्यमी, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सिर्जनशीलता प्रवद्र्धन गर्ने उपयोग गर्ने नीति लिने भनेको छ ।
    लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाबाट जनताको भावनाअनुसार अग्रगामी आर्थिक–सामाजिक रुपान्तरण गर्ने लक्ष्यका साथ स्थापित कांग्रेसले समुन्नत नेपाल कुनै एक व्यक्तिको चमत्कारले होइन, सबै नागरिकको सामूहिक प्रयत्न र सहभागितामा तय गरिने राष्ट्र निर्माणको गतिशील यात्रा हो भनेको छ ।
    कांग्रेसको चुनावी घोषणापत्रमा तत्कालिक आर्थिक कार्यक्रम र सुशासन नयाँ विषयमा रुपमा आएका छन् । कांग्रेसले घोषणापत्रमार्फत सार्वजनिक गरेका योजनाहरुमा पूर्वाधार लगायतका क्षेत्रमा गरेका धेरै संकल्पहरु १५ पञ्चर्षीय योजनाका लक्ष्यभित्रै अटाएका विषय भएकाले सरकारले कार्यशैली सुधारेमा ‘असम्भव’ देखिँदैन । कांग्रेसले घोषणापत्रमा गरेका कतिपय प्रतिवद्धता पुरानै कामहरुको निरुन्तरता हो भने कतिपय घोषणाले नयाँ विषय पनि समेटेका छन् ।
    आगामी ५ वर्षमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग ५० प्रतिशत पु¥याउने र ५ वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्नेदेखि ५ वर्षभित्रै टोखा–छहरे सुरुङमार्गसहित पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने, हुलाकी, मध्यपहाडी र मदनभण्डारी राजमार्गको निर्माण सक्ने, मनाङदेखि मुस्ताङ हुँदै हुम्ला जोड्ने सडकको अधिकांश भाग सम्पन्न गर्ने, मेची, कोसी, सगरमाथा, तमोर, कालीगण्डकी, भेरी, कर्णाली र महाकाली करिडोरको निर्माण सक्ने घोषणा कार्यान्वयन संकल्प कांग्रेसले गरेको छ ।
    कांग्रेसले नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाको नामसारी, सवारी चालक अनुमतिपत्र वाहेकका अन्य सम्पूर्ण सेवा र कागजात सूचना प्रविधिको माध्यम मार्फत सेवाग्राहीलाई घरमै उपलब्ध गराउने प्रणाली विकास गर्ने कांग्रेसको घोषणा छ ।

    कांग्रेसले आगामी एक दशकमा नेपाललाई उद्यम–अनुकुल, मध्यम आय भएको समन्यायिक मुलुक बनाउने भनेको छ । त्यसका लागि कम्तीमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।
    स्वदेशमै सम्मानजनक रोजगारी र उद्यममैत्री वातावरण बनाएर अर्थतन्त्रमा रेमिट्यान्सको योगदान २३ प्रतिशतबाट १०–१२ प्रतिशतमा झार्ने प्रतिवद्धता पनि कार्यान्वयन हुनसक्छ भन्नेमा आशंका गर्ने ठाउँ छन् । कांग्रेसले आर्थिक रुपमा केही चुनौतीपूर्ण योजनाहरु घोषणा गरेपनि त्यसलाई कार्यान्वयन गर्न सकिने आर्थिक स्रोतका आधारहरु घोषणापत्रमै दिएको छ ।
    लोकतन्त्रको शुद्धीकरण र सुशासन, समावेशी आर्थिक सामथ्र्य, समन्यायिक समाज र साँस्कृतिक सहअस्तित्व जस्ता नारा दिँदै कांग्रेसले सुशासनको विषयलाई अगाडि सारेको छ । ‘अव्यवस्थालाई सुव्यवस्थामा बदल्ने प्रतिबद्धता’ अन्तर्गत कांग्रेसले हरेक सार्वजनिक निकायका अधिकारीहरूले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने वाध्यकारी कानून जारी गर्ने बाचा गरेको छ ।
    सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु बर्षौंदेखि दरबन्दी, सेवा सुविधा, उमेर हदको अनिश्चितता तथा उचित तलब र पन्सनको सेवा सुविधाबाट वञ्चित रहनुको समस्याको न्यायिक र दीर्घकालीन समाधान गर्ने प्रतिवद्धता छ । काठमाडौं महानगरपालिका लगायत देशभरिको शहरी क्षेत्रमा रहेको फोहोरको समस्यालाई दीर्घकालीन समाधान गर्न तीनै तहका सरकारबीच समन्वय गरी निजी क्षेत्र समेतको संलग्नतामा आधुनिक व्यवस्थापन गर्दै फोहोरबाट विद्युत एवं प्रागांरिक मल उत्पादन गर्न अविलम्व पहल गर्ने भनिएको छ ।
    कृषकले प्रत्येक वर्ष भोग्नु परिरहेको रासायनिक मलको समस्या समाधान गर्न निजी क्षेत्र समेतको सहभागितामा आन्तरिक उत्पादन लगायत दीर्घकालीन उपाय खोज्ने, उखु तथा अन्य किसानले आफ्नो कृषि सामग्रीको मूल्य पाउन कृषकले पछिल्लो केही वर्षदेखि राजधानी आई आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न अविलम्ब आवश्यक नीतिगत निर्णय गर्ने विषय पनि समावेश छ ।
    वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको विकृति–विसगति नियन्त्रण गर्ने, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, जनताले तिर्न नसक्ने चर्को करलाई पुनर्विचार गरी न्यायोचित बनाइने, राज्यवाट नीतिगत रुपमा भइरहेको सबै प्रकार र आवरणको लैङ्गिक विभेद निर्मूल गर्ने, सामाजिक विकृति– विसंगति तथा महिला र यौन हिंसामा संलग्न पार्टीका सदस्यलाई तत्काल पार्टीबाट निष्कासन गरी कानूनी कारवाही गर्ने प्रतिवद्धता गरिएको छ ।
    जातीय विभेद, यौन हिंसा, छुवाछुत लगायतका अन्य कुनै पनि विभेद गर्ने व्यक्तिलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउने, राष्ट्रिय समावशी सोचका आधारमा जीवनमा एक कार्यकाल मात्र आरक्षण पाउने कानुन बनाउने, बादी, मुक्त कमलरी, मुक्त कमैया, चेपाङ, राउटे, गन्धर्व लगायतका परम्परागत सीप र पेशागत क्षमता भएका समदाय लक्षित राजगारीका कार्यक्रम ल्याउने बाचा गरिएको छ ।
    पहिरो, वाढी, आगलागी लगायत प्राकृतिक विपद्हरू कम गर्न भौतिक पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभावको अनिवार्य अध्ययन गर्नुपर्ने वाध्यकारी कानूनी व्यवस्था गर्ने भनिएको छ ।
    सार्वजनिक संस्थाहरूलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै सार्वजनिक पदहरूमा नियुक्ति गर्दा विषयगत योग्यता र व्यक्तिको ‘ट्रयाक रेकर्ड’ हेरेर निश्चित मापदण्डका आधारमा गर्ने, स्वार्थको द्वन्द्व सम्बन्धी एकीकृत कानून तर्जुमा गर्ने, विद्युतीय प्रणाली मार्फत् पाँच वर्षपछि हुने निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न निर्णायक पहल गर्ने, विस्तृत शान्ति सम्झौताको भावना अनुसार संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम अविलम्ब सम्पन्न गर्ने, भ्रष्टाचारलाई प्रभावकारी ढङ्गले नियन्त्रण गर्न मौजुदा कानूनमा अत्यावश्यक सुधार गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनर्संरचना गर्ने लगायतका संकल्प कांग्रेसले गरेको छ ।
    चुनावी प्रतिवद्धताहरुको विषयहरूको कार्यान्वयनको अवस्थाका सन्दर्भमा पार्टीभित्र अनुगमन र मूल्याङ्कन संयन्त्र बनाई प्रभावकारी अनुगमन गर्न हरेक आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्र ‘पार्टी अडिट’ गर्ने पनि कांग्रेसको घोषणा छ ।
    कांग्रेसले पाँच वर्षलाई ‘सर्वसत्तावादमा खेर गएको समय’ भनेको छ । संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पाउने स्वाभाविक अपेक्षा विपरीत एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले जनादेश प्राप्त गरेको र आफूले प्रतिपक्षीय भूमिका खेलेको कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।
    कांग्रेसले मुख्य त तीन वटा विषयमा ओली नेतृत्वको सरकारको भने चर्को आलोचना गरेको छ । पहिलो – संविधान कार्यान्वयन र सुशासन, दोस्रो– कोभिड–१९ महामारी नियन्त्रणमा तत्कालिन सरकारको भूमिका र तेस्रो– दुई दुई पटक भएको प्रतिनिधिसभा विघटन ।
    ओली नेतृत्वको संघीय सरकार मात्र होइन, तत्कालिन नेकपाको नेतृत्वमा रहेका प्रादेशिक र स्थानीय सरकारहरू समेत संघीय प्रणालीभन्दा ठीक विपरीत एकात्मक र केन्द्रीकृत प्रणालीलाई संस्थागत गर्नमा केन्द्रित भएको कांग्रेसको आरोप छ । ओलीको नेतृत्वको सरकारले प्राप्त अवसरको अधिकांश समय र ऊर्जा सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टतामा खर्च गरेको तिखो टिप्पणी कांग्रेसले गरेको छ ।
    ‘कोभिडको कारणले लाखौं संक्रमित र हजारौं भन्दा बढी नागरिकको मृत्यु भइसकेको मानवीय संकटको घडीमा समेत नागरिकको स्वास्थ्यमा खेलवाड गरी कमिसनको खेलमा सरकार डुब्यो’ घोषणापत्रमा भनिएको छ, ‘जनताको स्वास्थप्रति यो हदसम्मका अनोत्तरदायी र असंवेदनशील सरकार नेपालको इतिहासमा अहिलेसम्म थिएन,’ कांग्रेसले भनेको छ ।
    कांग्रेसले दुईदुई पटक भएको प्रतिनिधिसभा विघटनलाई संविधान असफल बनाउने षड्यन्त्रको रुपमा ब्याख्या गरेको छ । ओलीको नेतृत्वमा सरकार बनेदेखि नै सार्वभौम संसदलाई सरकारको ‘रबर स्ट्याम्प’ बनाउने दुस्साहस गरिएको भन्दै कांग्रेसले घोषणापत्रमा लेखेको छ, ‘संविधान नै असफल बनाउने सुनियोजित षड्यन्त्र अनुरूप पटक–पटक असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको वास्तविकता अहिले घाम जत्तिकै छर्लङ्ग भएको छ ।’

  • ललितपुर क्षेत्र नं. ३ डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

    भक्तपुर, कार्तिक १३
    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनु भएका डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ ।
    डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको देखिएको र उहाँले काउन्सिलको बैठकमा सहभागी भइृ भत्ता बुझेको देखिएकोले आयोगले आइतवार उहाँको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।
    आयोगले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय (ङ) मा भएको कानूनी व्यवस्था बमोजिम निजको उम्मेदवार हुन योग्यता पूरा गरेको नदेखिएकाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (५) बमोजिम डा. कार्कीको ललितपुर निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी अयोग्य हुने गरी आयोगबाट निर्णय भएको छ,’ आयोगले जारी विज्ञप्तीमा उल्लेख छ ।
    डा. कार्कीको उम्मेदवारी खारेज गरी पाउँ भनी मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी पेश भएकोमा सो उजुरीका सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (२) मा भएको कानूनी व्यवस्था बमोजिम मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरबाट सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरण सहितको कागजातहरू प्राप्त भएको थियो ।
    छानविनका क्रममा डा. कार्की २०७८ पुस २ गते ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा वहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको वैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९ बैशाख ९ गते देखि २०७९ भदौ २ गते सम्म भत्ता बुझेको पाइएको आयोगले जनाएको छ ।
    “नेपालको संविधानको धारा ३०६ को उपधारा (१) को ख (६) मा पारिश्रमिक भन्नाले तलब भत्ता र अन्य कुनै किसिमको पारिश्रमिक तथा सुविधा समेत सम्झनु पर्छ भन्ने व्यवस्था समेतका आधारमा भत्ता पारिश्रमिक भित्रै पर्ने देखिएकोले डा. कार्की हाल बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पद राजनीतिक पद नभई सरकारी कोषबाट भत्ता, भ्रमण भत्ता लगायतका आर्थिक सुविधा पाउने कार्यकारी सदस्य पदमा बहाल रहेको र उम्मेदवार मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिमको स्वघोषणाको (घ) मा कुनै संघीय कानूनले अयोग्य नभएको र (च) मा सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको भनी स्वघोषणा गरी सहीछाप समेत गरेकोमा सो आफ्नै स्वघोषणाको प्रतिकूल हुने गरी निज डा. कार्की नेपाल मेडिकल काउन्सिलबाट बैठक भत्ता र भ्रमण भत्ता लिनु खानु गरिरहेको देखिएकेले निजले सार्वजनिक पद धारण नगरेको र लाभको पदमा बहाल नरहेको भन्ने देखिन आएन” आयोगले उल्लेख गरेको छ ।

  • प्रत्यक्ष तर्फको २ करोड ३७ लाख मतपत्र छपाई सम्पन्न

    भक्तपुर, कार्तिक १३
    प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ सम्पन्न भएको छ ।
    निर्वाचन आयोगले प्रत्यक्ष तर्फ प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ सम्पन्न भएको शनिवार जनाएको हो ।
    मतपत्र छपाईसँगै आयोगले मतपत्र ढुवानी समेत शुरु गर्ने भएको छ । आयोगका अनुसार सोमवार (आज)बाट सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलाका लागि प्रत्यक्ष तर्फको मतपत्र ढुवानी हुने भएको छ ।
    यसैगरी उल्ल्ेखित जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुनेछ । साथै अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुने आयोगले जनाएको छ ।

     

  • गठबन्धनको बाध्यता बुझेर निर्वाचनमा एकतावद्ध भएर लाग्न सभापति देउवाको निर्देशन

    भक्तपुर, कार्तिक ९
    नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मध्यपुर थिमिमा बुधवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवाले गठबन्धनको बाध्यताका कारण भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा ख मा अन्य दललाई दिनुपरेको बताउँदैं त्यसको क्षतीपुर्ति निर्वाचन पछि सम्बोधन गर्ने बताउनुभएको हो ।
    सभापति देउवा थिमिको शंखधर चोकमा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजित माल्यापर्ण कार्यक्रमका लागि थिमि आउनुभएको थियो । सो कार्यक्रम पश्चात सभापति देउवा कार्यकर्ता भेटघाटका लागि नजिकको पार्टी प्यालेस पुग्नुभएको थियो ।
    अत्यन्त छोटो सम्बोधन गर्नुभएका सभापति देउवाले गठबन्धन सरकार भएकाले निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिएर जानु परेको र त्यसैका कारण कांग्रेस एक्लैले जित्ने केही क्षेत्र गठबन्धनमा रहेका सहयात्री दललाई छाड्नु परेको स्पष्ट पार्नुभयो । उहाँले उपस्थित नेता कार्यकर्ताहरुलाई गठबन्धनको बाध्यता बुझेर निर्वाचनमा एकतावद्ध भएर लाग्न र गठबन्धनका उम्मेदवारहरुलाई जिताउन निर्देशन समेत दिनुभयो ।
    उहाँले गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका दुर्लभ थापालाई निर्वाचन जिताए निर्वाचन पछिको सरकारमा मन्त्री बनाउने आश्वासन समेत दिनुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का साझा उम्मेदवार दुर्लभ थापाले जिल्लाका कांग्रेसी कार्यकर्ता विशेष गरी मध्यपुर थिमि नगर क्षेत्रको गुनासो पार्टीको जिल्ला सभापतिको हैसियतले जसरी पनि सम्बोधनका लागि केन्द्रीय नेतृत्वलाई बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    भक्तपुर क्षेत्र नं. २ का निर्वाचन परिचालन समितिका संयोजक गणेशमान चक्रधरले कांग्रेसको बलियो गढको रुपमा रहेको मध्यपुर थिमि नगर क्षेत्र समावेश भएको भक्तपुर २ (ख)को प्रदेश सभा सदस्य गठबन्धनका दललाई दिएपनि समानुपातिक तर्फ समेत एक जनालाई मौका नदिनु अन्याय भएको गुनासो गर्नुभएको थियो ।