Category: राजनीति

  • भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मध्यपुर थिमिमा राजेन्द्रमान अघिअघि चन्दन पछिपछि

    भक्तपुर, मंसिर ६
    भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मध्यपुर थिमिमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले अग्रता कायम राख्नु भएको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार कलम चिन्हका राजेन्द्रमानले ४६८७ मत प्राप्त गर्नुभएको छ ।
    यस्तै नेकपा एमालेका चन्दनकृष्ण श्रेष्ठले ४६०२ मतका साथ राजेन्द्रमानलाई पछ्याइरहनु भएको छ । यस्तै नेमकिपाका रमेश वैद्यले ३९५९, राप्रपाका पञ्चकृष्ण श्रेष्ठले २१४९, राप्रपा नेपालका श्रीकृष्ण नेपालले १८५ मत प्राप्त गरेका छन ।
    यस क्षेत्रमा अहिले साँझ ८ बजेसम्म १६ हजार ६१६ मत गणना भएको छ भने ४९२ मत बदर भएको छ ।

  • भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मध्यपुर थिमिमा राजेन्द्रमानको अग्रता

    भक्तपुर, मंसिर ६
    भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मध्यपुर थिमिमा नेमकिपाका रमेश वैद्यलाई उचिन्दै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले अग्रता लिनुभएको छ ।
    प्राप्त पछिल्लो मत परिणाम अनुसार कलम चिन्हका राजेन्द्रमानले ३१०३ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेकपा एमालेका चन्दनकृष्ण श्रेष्ठले २९७९ मतका साथ पछ्याइरहनु भएको छ । नेमकिपाका वैद्यले २५३५ मतका साथ तेस्रो स्थानमा रहनु भएको छ र
    यसैगरी राप्रपाका पञ्चकृष्ण श्रेष्ठ ले १३५७, राप्रपा नेपालका श्रीकृष्ण नेपाल १२७ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा हालसम्म १० हजार ६९८ मत गणना भएको छ भने २९९ मत बदर भएको छ ।

     

  • भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा एमालेका किरणको अग्रता कायम

    भक्तपुर, मंसिर ४
    भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ सूर्यविनायकमा नेकपा एमालेका किरण थापामगरले अग्रता बनाउनुभएको छ । उहाँले ३३६२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका विष्णुराज कार्कीले २७९५ मत प्राप्त गर्नुभएको छ ।
    यसैगरी राप्रपाका विक्रम थापाले ९४७, नेमकिपाका सरोजराज गोसाईंले ६८० मत प्राप्त गर्नुभएको छ ।

     

  • भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ नेमकिपाको अग्रता कायम

    भक्तपुर, मंसिर ४

    भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मध्यपुर थिमिमा नेमकिपाको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणाम अनुसार नेमकिपाका रमेश बैद्यले २३२० मत प्राप्त गर्नुभएको छ ।
    उहाँलाई लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले २२४४ मतका साथ पछ्याइरहनु भएको छ । त्यस्तै नेकपा एमालेका चन्दनकृष्ण श्रेष्ठ २२०२ मतका साथ तेस्रो, राप्रपाका पञ्चकृष्ण श्रेष्ठ ८६९ मतका साथ चौंथो, राप्रपा नेपालका श्रीकृष्ण नेपाल ९४ मतका साथ पाँचौं स्थानमा हुनुहुन्छ ।
    यस क्षेत्रमा हालसम्म ८ हजार १६३ मत गणना भएको छ भने २१५ मत बदर भएको छ ।

     

  • भक्तपुर २ मा अग्रता बढाउँदैं थापा

    भक्तपुर, मंसिर ६
    भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदैं लगेको छ । पछिल्लो मत परिणाम अनुसार थापाले ९ हजार ९२५ मत प्राप्त गर्नुभएको छ । उहाँले निकतम प्रतिष्पर्धी नेकपा एमालेका महेश बस्नेतलाई ९६३ मतले अग्रता लिनुभएको हो ।
    बिहान साढे ३ बजे सार्वजनिक परिणाम अनुसार बस्नेतले ९ हजार २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताउनुभयो । त्यसैगरी नेमकिपाका अनुराधा थापामगर २७६३ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले १८१७ मतका साथ चौंथो र राप्रपाका मोहन केसी १०६५ मतका साथ पाँचौं स्थानमा छन ।
    भक्तपुर २ मा ९१ हजार ९११ मत मध्ये ६५ हजार ९१९ मत खसेको थियो । खसेको मध्ये २५ हजार ५७२ मत गणना भएको छ । भक्तपुर २ मा हालसम्म ८२५ मत बदर भएको पराजुलीले बताउनुभयो ।

     

  • प्रदेश सभा भक्तपुर क्षेत्र नं. १ (ख)मा नेमकिपाका बैद्यको अग्रता

    भक्तपुर, मंसिर ५
    भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा क मध्यपुर थिमि नगरपालिका क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका रमेश बैद्यले अग्रता बनाउनुभएको छ । उहाँले एक हजार ७४७ मतका साथ अग्रता बनाउनुभएको हो ।
    उहाँलाई लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य डा. राजेन्द्रमान श्रेष्ठले एक हजार ५ सय मतका साथ पछ्याईरहनु भएको छ । नेकपा एमालेका चन्दनकृष्ण श्रेष्ठ एक हजार ३७० मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । त्यसैगरी राप्रपाका पञ्चकृष्ण श्रेष्ठले ५२९, राप्रपा नेपालका श्रीकृष्ण नेपालले ४५ मत प्राप्त गर्नुभएको छ ।
    यस क्षेत्रमा कुल खसेको मत मध्ये ५ हजार ४६४ मतगणना भइसकेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताउनुभयो । यहाँ १२९ मत बदर भएको छ ।

    यस क्षेत्रमा आदर्श जनप्रेमी मावि कौशलटार च, दिगुभैरव स्थान दिगुटोल क र ग, लाक्षी नायकु गणेश नगदेश थिम िक, बोडे मावि लाय्कु ख, हिमालय क्लव बोडे क र ख, युनिक नेपाल एकेडेमी लोकन्थली घ, मध्यपुर थिमि नगरपालिका कार्यालय क केन्द्रको मतगणना सम्पन्न भएको छ ।

  • भक्तपुर क्षेत्र नं. २ मा अग्रता बढाउँदैं कांग्रेसका थापा, कुन कुन केन्द्रको मतगणना सकियो ? सुची सहित

    भक्तपुर, मंसिर ५
    भक्तपुर क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनमा साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाएका छन । भक्तपुर क्षेत्र नं. २ को २० हजार ३९३ मत गणना हुँदा थापाले ९१६ मतको अग्रता बनाउनु भएको छ ।
    निर्वाचन अधिकृत लोकनाथ पराजुलीका अनुसार थापाले ८ हजार १२५ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई महेश बस्नेतले ७ हजार २०९ मतका साथ पछ्याई रहनु भएको छ ।
    नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगर तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले १ हजार ५०६ मत पाउनु भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले १ हजार ४७७ मतका साथ चौंथो स्थानमा छन । भक्तपुरमा हालसम्म ८४४ मत बदर भएको पराजुलीले बताउनुभयो ।
    भक्तपुर क्षेत्र नं. २ को मतगणना दुई स्थानमा भइरहेको छ । प्रत्येक स्थानमा एकै पटक चार वटा मतदान केन्द्रका चार वटा बाकसको मतपत्र खन्याउने र ती मतपत्रको गणना भइसकेपछि आधिकारिक रुपमा परिणाम घोषणा गर्ने व्यवस्था मिलाएको छ ।
    हालसम्म १ नं. वडा कार्यालय सिरुटार ग, महेन्द्र शान्ति मा वि बालकोट ग, भैरबी आधारभुत विद्यालय गुण्डु ख, आदर्श जनप्रेमी माध्यामिक विद्यालय कौशलटार घ, अरनिको माध्यामिक विद्यालय गाम्चा ग, ५ नं. वडा कार्यालय कटुञ्जे क र ग, हिमालय युवा क्लव बोडे क र ख केन्द्रको मतगणना भइसकेको छ ।
    त्यस्तै आदर्श जनप्रेमी कौशलटार क, ख, ग, ङ र च, सोमलिंगेश्वर सिरुटार क र ख, ५ नं. वडा कार्यालय कटुञ्जे घ, युनिक नेपाल एकेडेमी लोकन्थली क र ग, सुशिला भैरव ख र ग, कुमारी पाटी सिपाडोल क, वडा नं. ७ गुण्डु ग, श्री राम आधारभुत विद्यालय सुनपा ९ ख को पनि मतगणना सम्पन्न भइसकेको छ ।
    त्यसैगरी १ नं. वडा कार्यालय सिरुटार ख, चित्रपुर गणेश मन्दिर पाटी ग, ५ नं. वडा कार्यालय कटुञ्जे ख, युनिक नेपाल एकेडेमी लोकन्थली ख र घ, बाल विनायक आधारभुत विद्यालय बालकोट क, अरनिको मा वि गाम्चा ख, मध्यपुर थिमि नगरपालिका कार्यालय क को समेत मतगणना सम्पन्न् भएको निर्वाचन अधिकृत पराजुलीले बताउनुभयो ।

  • प्रमुख आयुक्त थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रमा मतदान गरे

    भक्तपुर, मंसिर ४
    निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले भक्तपुर क्षेत्र नं. २ को मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान स्थलको ख मतदान केन्द्रमा मतदान गर्नुभएको छ । उहाँले बिहान ७ बजेर १० मिनेटमा सो मतदान स्थलको दोस्रो मतदाताको रुपमा मतदान गर्नुभएको हो ।
    मतदान पछि पत्रकारहरुसँग कुराकानी गर्दै थपलियाले मतपेटिका संकलन भइसकेपछि सर्वदलीय छलफलपश्चात मतगणना शुरु हुने जानकारी दिनुभयो । उहाँले केही हिमाली भेगमा हिमपातका कारण तोकिएको समय ७ बजे नै मतदानको प्रक्रिया शुरु हुन नसके केही समय ढिला भएपनि शुरु गरी मतदान सम्पन्न गर्न मतदान अधिकृतहरुलाई निर्देशन समेत दिनुभयो ।


    उहाँले आम नागरिकलाई आफु र आफुसँगै परिवारका सबै सदस्य जो मतदाता नामावलीमा नाम छन, सबैलाई मतदानमा सहभागी गराउन आह्वान समेत गर्नुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित गर्न निर्वाचनमा खटिएका कर्मचारीहरूलाई निर्देशन दिँदैं उहाँले राजनीीतक दलहरुले पनि निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
    यसअघि सो मतदान स्थलको ख केन्द्रमा अपाङ्गता भएका व्यक्ति दिपेन्द्रराज केसीले पहिलो मतदाताको रुपमा मतदान गर्नुभएको थियो । ह्विल चियरमा मतदान गर्न आउनुभएका केसीलाई निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले नै पहिलो मतदाताको रुपमा मतदान गर्न दिनुभएको थियो ।

  • चुनाव हार्ने निश्चित भएपछि नेकपा एमाले गाली गलौजमा उत्रेको कांग्रेसको ठहर

    चुनाव हार्ने निश्चित भएपछि नेकपा एमाले गाली गलौजमा उत्रेको कांग्रेसको ठहर

    भक्तपुर, मंसिर १
    भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हार्ने निश्चित भएपछि नेकपा एमाले विपक्षी उम्मेदवार र दल प्रति तल्लो स्तरको गाली गलौज र आरोपमा उत्रिएको छ । आफ्ना नजिकको अनलाईन न्यूज र्पोटल मार्फत नेकपा एमाले विपक्षी उम्मेदवार दल प्रति तल्लो स्तरको गाली गलौज र आरोपमा उत्रिएको हो ।
    नेकपा एमालेबाट भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतको मुखपत्रको रुपमा रहेको एक अनलाइन मार्फत एमाले गाली गलौज जस्तो तल्लो स्तरको राजनीतिमा उत्रिएको नेपाली कांग्रेसले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।
    भक्तपुरमा तेब्बर मतान्तरले जित्ने दावी गर्दै आएका बस्नेत चुनाव हार्ने निश्चित भएपछि कांग्रेस र उसका उम्मेदवारको चरित्र हत्यामा उत्रेको कांग्रेसको ठहर छ ।
    विगतमा भक्तपुर अस्पतालका मेसु मार्फत अस्पताल निर्माणमा भइरहेको कार्यबाट खाइरहेको कमिशन बन्द भएको, हनुमन्ते करिडोरका नाममा भएको अनियमितता सार्वजनिक भएको, नेपाल इन्जिनियरिङ कलेज आफ्नो स्वार्थ अनुरुप सञ्चालन गर्न नपाएको, गुण्डुमा यातायात कार्यालय निर्माणमा कमिशन खान नपाएको, विगतमा आफुले गरेको वाचा अनुसार जनतालाई खानेपानी उपलब्ध गराउन नसकेको कारण जनताबाट तिरस्कृत हुने अवस्था आएपछि नेकपा एमाले र महेश बस्नेत कांग्रेसमाथि दोष थोपारेर पानी माथिको ओभानो बन्न खोजेको कांग्रेसको ठहर रहेको छ ।
    पहिला आफ्ना आसेपासेलाई सस्तो दरमा जग्गा किन्न लगाउने त्यसपछि बजेटको व्यवस्थापन नभई विर अस्पताल निर्माणको योजना राख्ने र सोही कारण देखाउँदैं महँगोमा जग्गा बिक्रि गरी खाएको कमिशनका कारण अफ्ठ्यारो स्थिती उत्पन्न भएपछि त्यसबाट जोगिन एमालेले कांग्रेसले विर अस्पताल बन्न नदिएको भनी भ्रम सिर्जना गर्न खोजेको विज्ञप्तीमा जनाएको छ ।
    यसैगरी पहिला हनुमन्ते खोलाको धार परिवर्तन गर्न नदिने पक्षमा आन्दोलन गर्ने र धार परिवर्तन गर्नेलाई भूमाफियाको संज्ञा दिएका महेश बस्नेत आफैं नेतृत्व गरी हनुमन्ते करिडोरका नाममा खोला सार्ने कार्यको नेतृत्व गरेर भूमाफियाको नाईके प्रमाणित भएको तथ्यलाई धाकछोप गर्न एमाले गाली गलौज जस्तो तल्लो स्तरको राजनीतिमा ओर्लिएको कांग्रेसले दावी गरेको छ ।
    कांग्रेस नेतृत्वको सरकारले भक्तपुरका कुनै पनि योजनाको बजेट कटौती नगरेको, स्थानीय तहमा आफ्नै दलको नेतृत्वसहित बहुमत भएको तथ्यलाई बंग्याएर भक्तपुरमा योजना काटेको, उपभोक्ता समितिमा दलका कार्यकर्ता पोसेको भन्नु कतिको साँचो हो, जनता स्वयम्ले प्रष्टसँग बुझेको कांग्रेसको ठहर रहेको विज्ञप्तीमा उल्लेख छ ।
    कांग्रेसमा पछिल्लो पटक देखिएको अभुतपुर्व सहकार्य र एकताबाट त्रसित भएर कतै कांग्रेसमा विग्रह ल्याउन सकिन्छ र चुनाव जित्न सकिन्छ की भन्ने हार मानसिकताको उपज लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापालाई उम्मेदवारको टिकट खरिद बिक्री गरेर विद्युतीय गाडी र जग्गा उपहार लिएको भनी भ्रम सिर्जना गर्न खोजेको कांग्रेसको ठहर छ । थापा विभिन्न पेशा व्यवसायमा संलग्न भएको आफ्नै पौरखको कमाईले त्यस्ता गाडी किन्ने हैसियत भएको सबैमा जगजाहेर रहेको कांग्रेसले जनाएको छ ।
    यसैगरी अस्पताल जस्तो पवित्र व्यवसाय गरी भक्तपुरलगायत छिमेकी जिल्लाबासीलाई समेत सरल, सहज र सुपथ मूल्यमा अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउँदैं आएको तथ्यलाई बंग्याएर नेकपा एमाले र उसका उम्मेदवार महेश बस्नेत भ्रमको राजनीतिमा उत्रेको ठहर कांग्रेसको छ ।
    आसन्न मंसिर ४ गतेको निर्वाचनमा पराजित हुने निश्चित भएपछि विगतमा सांसद अपहरण, आफ्नै सहकर्मीका पत्नीसँगको अनैतिक सम्बन्ध, गुण्डागर्दीलगायतका कार्यमा नाम जोडिएको घटनालाई धाकछोप गरी विपक्षी उम्मेदवारको चरित्र हत्या गर्ने उद्देश्यले प्रायोजित रुपमा अनेक लाञ्छना लगाउने कार्यमा एमाले र महेश बस्नेत लागि परेको बताउँदैं कांग्रेसले त्यस्ता तल्लो स्तरको गैरराजनीतिक क्रियाकलापमा उत्रेका दल र तीनका उम्मेदवारको विपक्षमा मतदान गरी मंसिर ४ गते आफ्नो अमूल्य मत मार्फत गतिलो जवाफ दिन कांग्रेसले आम मतदातालाई आग्रह गरेको छ ।

     

  • गठबन्धन संविधानको रक्षा र लोकतन्त्रको संस्थागत गर्दै अघि बढ्छ – सभापति थापा

    भक्तपुर, कार्तिक २५
    सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संविधानको रक्षा गर्दै लोकतन्त्रको संस्थागत गर्नु नै लोकतान्त्रिक वाम गठबन्धनको प्रमुख उद्देश्य भएको स्पष्ट पार्नुभएको छ ।
    गठबन्धनले बालकोटमा शुक्रवार आयोजित चुनावी सभामा थापाले प्रतिगामी शक्तिहरुको चलखेलले दुई दुई पटक सार्वभौम संसद असंवैधानिक तवरले भंग गरी मुलुकमा संवैधानिक र राजनीतिक अस्थिरता निम्त्याउने षडयन्त्र गरेपछि निर्माण भएको गठबन्धन आगामी निर्वाचनपछि संविधानको रक्षा र लोकतन्त्रको संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि निरन्तर अघि बढ्ने बताउनुभएको हो ।
    भक्तपुर क्षेत्र नं. २ मा निर्वाचन हार्ने निश्चित भएपछि विपक्षी दल र उम्मेदवार विभिन्न व्यक्ति तथा समूदायलाई आर्थिक प्रलोभनमा पारेर निर्वाचन जित्ने दाउमा लागि परेको आरोप लगाउँदैं उहाँले भन्नुभयो, “लोकतन्त्रमा जनता सर्वेसर्वा हो । जनताको मत अमूल्य हुन्छ । लोकतन्त्रमा जनतालाई खरिद गर्न सकिँदैन । यदी कोही कसैले तपाईंको मत खरिदका लागि पैसा दिन आउँछ भने त्यो पैसा लिनुस् तर भोट गठबन्धनलाई दिएर मत खरिद गर्नेहरुलाई गतिलो जवाफ दिनुस् ।”


    उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशिलता, सडक, खानेपानी, सरसफाई जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय नै आफुहरुको मुल एजेण्डा भएको बताउनुभयो । “म झुठा आश्वासन बाँड्ने र ठूला ठूला योजना सुनाएर जनतालाई भ्रमित पार्न चाहन्न । हाम्रो साझा एजेण्डा जनताका शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, रोजगारी जस्ता आधारभुत आवश्यकता पुरा गर्ने हो,” उहाँले भन्नुभयो । उहाँले २०७४ को प्रतिवद्धता कति पुरा भयो भनी विगतका जनप्रतिनिधिलाई प्रश्न सोध्न आग्रह समेत गर्नुभयो ।
    नेकपा माओवादी केन्द्रका नेता दिलिपकुमार प्रजापतिले के पी शर्मा ओलीले संविधानलाई च्यातचुत पार्ने, गणतन्त्रलाई ध्वस्त पार्ने उद्देश्यका साथ देशलाई अशान्तिको दिशातर्फ लिएर जान संसद विघटन गरेको र त्यसको विरुद्ध आवाज उठाउनु पर्ने स्थिती पैदा भएको बताउनुभयो ।


    उहाँले संविधानमा उल्लेखित नेपालका तममा वर्गिय, जातिय, लैंगिक र अल्पसंख्यकहरुको अधिकार रक्षाका लागि अहिलेको गठबन्धन निर्माण भएको बताउनुभयो । जब जब नेपाली कांग्रेस र साँचो कम्युनिष्टहरु एक भए तब तब नेपालमा राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “के पी शर्मा ओली जो गणतन्त्र विरोधीको रुपमा देखा परेको छ । अधिनायक वादको नेतृत्व गरेर अघि आएको छ । यस्तो बेला हाम्रा सामु यक्ष प्रश्न खडा भएको छ की हामी गणतन्त्रको पक्षमा उभिने की, गणतन्त्रको विरुद्धमा ?, हामी भ्रष्टाचारीको पक्षमा उभिने की विपक्षमा उभिने ?”
    कार्यक्रममा नेकपा एकिकृत समाजवादी भक्तपुरका अध्यक्ष श्याम बस्नेतले ०७४ सालको निर्वाचनमा माओवादीसँग मिलेर महेश बस्नेतलाई जिताउनु भुल भएको बताउनुभयो ।
    उहाँले भन्नुभयो, “बाम गठबन्धनले २०७४ मा भक्तपुरका आम मतदातालाई गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेर महेश बस्नेतलाई सांसद जितायौं त्यो नै सबैभन्दा ठूलो भुल भयो । किनकी हामीले भक्तपुर परिवर्तन हुन्छ, भक्तपुरमा विकास हुन्छ, भक्तपुरका जनतामा समृद्धी आउँछ भनेर जनताको घरघरमा पुगेर मत माग्यौ र जितायौं तर विगत पाँच वर्षमा भक्तपुरमा गुण्डाहरुको राज भयो, तस्करहरुको राज भयो, भ्रष्टाचारीहरु जन्मियो, सांसद अपहरणकारीको दाग लाग्यो ।
    उहाँले बालकोटका विभिन्न स्थानको विकास निर्माणमा एमालेका पहुँचवाला नेताहरुले अवरोध गरिरहेको आरोप समेत लगाउनुभयो ।
    नेपाली कांग्रेसका नेता कविर राणाले के पी ओलीको अधिनायकवादका कारण आजको गठबन्धन जन्मिएको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा २ (क)का उम्मेदवार विष्णुराज कार्कीलगायतले धारणा राख्नुभएको थियो ।