Category: राजनीति

  • स्थानीय तहका उम्मेदवारहरुको जरिवाना राष्ट्रपतिद्धारा मिनाहा

    भक्तपुर, फागुन ५
    गत स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले खर्च विवरण समयमा नबुझाएको भन्दै निर्वाचन आयोगले तोकेको जरिवाना रकम बुझाउन नपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार त्यस्तो जरिवाना मिनाहा गरिदिएपछि स्थानीय तहका उम्मेदवारहरुले आयोगले तोकेको जरिवाना बुझाउन नपर्ने भएको हो ।
    राष्ट्रपति कार्यालय शितल निवासले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गरी त्यस्तो जरिवाना मिनाहाको निर्णय भएको जनाएको हो । नेपाल नगरपालिका महासंघ र गाउँपालिका महासंघको पहलमा र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सो निर्णय गर्नुभएको हो ।
    दुवै पालिका महासंघले सबै उम्मेदवारहरुको निवेदन संकलन गरी राष्ट्रपति कार्यालयमा जरिवाना मिनाहाका लागि निवेदन दिएको थियो । त्यस्तै मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो सम्बन्धमा सिफारिस गरेको थियो ।
    मिति २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिवाना रकम नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७९÷११÷०४ को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा भएको छ, राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

     

     

     

  • भक्तपुर नगरपालिकाको बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७९ सर्वसम्मतिबाट पारित

    भक्तपुर, फागुन ४
    भक्तपुर नगरपालिकाको १३ औं नगरसभा बैठकले बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ बिहिवार सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।
    सभाध्यक्ष प्रजापतिले भक्तपुर नगरपालिकाले आवश्यक जग्गामा नगरपालिका र नगर क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरुको संयुक्त लगानीमा जनताको सहजताको लागि बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण गरी सञ्चालन गर्न कार्यविधि बनेको बताउनुभयो ।
    यसअघि नगरसभाको विशेष समयमा सभासद्हरु मञ्जुमैंया लाखा, रिता फसिकवा, सुमित्रा बोहजु, हेरा ख्याजु, नारायणप्रसाद त्वानाबासु, पुरुषोत्तम तमखु, जितेन्द्र मुनंकर्मी, कृष्ण नारायण देशेमरु, सूर्यप्रसाद श्रेष्ठ, श्यामसुन्दर मातां, कृष्णलाल किसी, सिद्धिराम अवाल र गोविन्द दुवालले नगरपालिकाद्धारा सञ्चालित नगरस्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा बिस्तार, ख्वप अस्पतालको सेवा र पार्किङ व्यवस्थापन, सुधारिएको शवदाह गृह व्यवस्थापन, अव्यवस्थित तार व्यवस्थापन, सडक बत्तीको सुधार, कृषकहरुलाई निःशुल्क वीउ विजन वितरण, आवास योजनाहरुमा सडक पेटी व्यवस्थापन लगायतका विषयमा आ–आफ्नो जिज्ञासा राख्नुभयो ।
    सभामा उठेका जिज्ञासामाथि प्रष्ट पार्दै सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले नगरभित्र सञ्चालित सहकारी संस्थाहरु सुरक्षित रहेको, सहकारीहरुले भाखा नाघेको ऋण व्यवस्थापन नगर्दा केही सहकारीहरुमा समस्या आएको र जग्गा बहाल करसम्बन्धी कुरा अघि बढिरहेको जानकारी दिनुभयो ।
    स्वास्थ्य, शिक्षा, संस्कृति तथा वातावरण समितिका सदस्य रविन्द्र ज्याख्यले ख्वप अस्पतालमा विरामीको चाप हेरी सेवा विस्तार र सुधार गर्न प्रयास गरिने, आयुर्वेद औषधीका लागि थप बजेटको व्यवस्था गर्ने प्रयास रहने तथा घुम्ती सरसफाइको लागि समितिमा छलफल गरिने बताउनुभयो ।
    त्यसैगरी निर्माण समितिका संयोजक उकेश कवांले विकास निर्माण सम्बन्धी जिज्ञासामाथि प्रष्ट पार्दै वार्षिक बजेट र योजनामा समावेश भएको योजनालाई प्राथमिकतामा राख्दै कार्य गरिने र खोलाको मापदण्ड २० मीटर कायम गर्न प्रयास गर्दै आएको तथा सुधारिएको शवदाह गृह स्तरोन्नतीको लागि प्राविधिक सुझाव अनुसार अगाडि बढाइने बताउनुभयो ।
    सभामा सभाअध्यक्ष एवम् नगर प्रमुख प्रजापतिको अनुमतिमा विधायन समितिका संयोजक हरिराम सुवालले नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेज अफ लको प्रस्तावित विनियम, २०७८ सभामा छलफलको लागि प्रस्तुत गर्नुभयो । बैठक फागुन ८ गते सोमबार दिनको १ बजे बस्नेगरी स्थगित भएको छ ।

     

  • नेपाली नागरिकता प्राप्तीको प्रक्रिया नगरेको भन्दै सर्वोच्चद्धारा लामिछानेको सांसद पद खारेज (फैसलाको पूर्णपाठ)

    भक्तपुर, माघ १३
    सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः नेपाली नागरिकता प्राप्तीको प्रक्रिया नगरेको भन्दै उहाँको सांसद पद खारेज गरेको छ ।
    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्जर खतिवडा र आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले शुक्रवार लामिछाने विरुद्ध परेको रिटको सुनुवाई गर्दै अमेरिकी नागरिकता त्याग गरेको विधिवत जानकारी सम्बन्धित अधिकारी (सीडीओ)लाई नदिएको र नागरिकता ऐन र नियमावली अनुसार निवेदन दिई प्रक्रिया पनि पुरा नगरेको पाइएकोले लामिछानेको सांसद पद खारेज हुने पैmसला गरेको हो ।
    गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाको तर्फबाट चितवन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका लामिछानसँग नेपाली नागरिकता नरहेको दावी सहित निर्वाचन कार्यालयमा उजुरी परेको थियो । तर उम्मेदवारीमा दाबी विरोध गर्ने समय गुज्रिसकेको, तर मतदान हुन बाँकी रहेको अवस्थामा परेको उजुरीका सम्बन्धमा निर्वाचन आयोगले निर्णय नगर्दै निर्वाचन परिणाम आयो । आयोगले लामिछानेलाई प्रतिनिधि सभामा निर्वाचित भएको घोषणा गर्यो । उहाँ विरुद्धको उजुरीलाई संवैधानिक इजालासले हेर्ने भन्दै तामेली पठाएपछि उक्त मुद्दा सर्वोच्चमा पुगेको हो ।
    सर्वोच्चको पैmसलामा ‘यस्तो अवस्थाका व्यक्तिलाई नेपालको संविधानको धारा (८७) १ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ को प्रयोजनका लागि उम्मेदवारको योग्यता पुगेको भनि मान्न मिलेन’, भनिएको छ ।
    अदालतले लामिछानेलाई उम्मेदवार कायम गर्ने, निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने लगायतका कामकारबाही संविधानको धारा १३३ को उपधारा (२), (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेश बदर हुने अदालतको फैसला छ ।
    आदेशमा लामिछानेले वंशजको आधारमा २०५० मा नेपाली नागरिकता लिएको, २०७० मा अमेरिकी नागरिकता लिएको र तत्पश्चात २०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दुतावासलाई सूचना दिई २०७५ असार १४ को जानकारीका आधारमा अमेरिकी नागरिकता त्यागेकोमा विवाद नदेखिएको उल्लेख गरिएको छ ।
    लामिछानेले नेपाली नागरिकता पुनः कायम गर्न नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ तथा नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम प्रक्रिया पुरा गरेको नदेखिएको पैmसला गर्दै अदालतले ‘नेपालको संविधानको धारा १३ ले नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति संघीय कानुन बमोजिम हुने व्यवस्था गरेकोे छ । नेपाल नागरिकता ऐन, २०६३ को दफा १० मा आफुखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट व्यवस्था रहेको देखिन्छ । विदेशी मुलुकको नागरिकता लिएपछि नेपाली नागरिकता कायम रहँदैन । विदेशी मुलुकको नागरिकता आफुखुसी लिएको वा नेपाली नागरिकता त्यागेको दुवै अवस्थामा नेपाली नागरिकता कायम रहँदैन । यस्तो अवस्थामा नेपाली नागरिकता पुनः प्राप्त गर्न कानुनले तोकको प्रक्रिया पुरा गर्नु नै पर्ने हुन्छ,’ पैmसलामा उल्लेख छ ।

    अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।

  • राष्ट्रपति भण्डारी र अध्यक्ष बिजुक्छेंबीच भेटवार्ता

    भक्तपुर, माघ ८
    राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँबीच शनिवार कमलविनायकमा भेटवार्ता भएको छ । चाँगुनारायणको दर्शनका लागि भक्तपुर आउनुभएका राष्ट्रपति भण्डारीले कमलविनायकस्थित बिजुक्छें निवास पुगेर बिजुक्छेंसँग भेटवार्ता गर्नुभएको हो ।
    भेटमा आपसी पारिवारिक, कृषि, शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका विषयमा छलफल भएको नेमकिपा केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले जानकारी दिनुभयो ।


    गोसाईंका अनुसार भेटको शुरुमा राष्ट्रपति भण्डारीले बिजुक्छें पत्नी शोभालाई श्रद्धाञ्जली दिनुभयो र बिजुक्छेंको स्वास्थ्यका बारेमा चासो राख्नुभयो । गत असारमा बिजुक्छें पत्नी शोभाको क्यान्सरका कारण मृत्यु भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले असारमा आउन खोज्दा विविध कारणले आउन नसकेको जानकारी गराउनुभएको गोसाईंले जानकारी दिनुभयो ।
    भेटमा अध्यक्ष बिजुक्छेँले नेपाली नागरिक कोही पनि औषधिको अभावले ज्यान गुमाउन नपर्ने अवस्थाको लागि राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभयो । “औषधिको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् । नेपालमा विदेशबाट ल्याउनुपर्ने औषधि नपाएर पनि मानिसको ज्यान गइरहेको छ, त्यतातर्फ सरकारको ध्यान गइरहेको छैन,” बिजुक्छेँका भनाइ उद्धृत गर्दै गोसाईंले भन्नुभयो, “यो क्षेत्रमा काम गर्नु आवश्यक छ भनेर अध्यक्षज्यूले राष्ट्रपतिज्यूको ध्यानाकर्षण गराउनुभयो ।” नेपालमै औषधि उत्पादनमा जोड दिनुपर्ने र औषधि विभागलाई संवदनशील बनाउनुपर्ने कुरा पनि राखेको गोसाईंले बताउनुभयो ।


    उहाँका अनुसार राष्ट्रपति भण्डारीले कोरोना महामारीका बेलामा आफूले स्वास्थ्य क्षेत्र सुधारमा कोशिस गरेकोबारे पनि कुरा राख्नुभएको थियो । “कोभिडमा पनि केही गरौं भनेर कोशिस गरेको र केही कमीकमजोरीका कारण खोप उपलब्ध गर्न कठिन भएको कुरा राख्नुभयो,” राष्ट्रपति भण्डारीका भनाइ उद्धृत गर्दै गोसाईंले भन्नुभयो ।

    भेटमा स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा आफ्नो विशेष रूचि भएको बताउँदैं अध्यक्ष बिजुक्छेँले ३० वर्षदेखि किसानले समयमा रासायनिक मल पाउन नसकेको र नेपालमा मल उत्पादनको विषयमा कुरा राख्दा पनि सरकारले नसुनेको गुनासो राष्ट्रपति समक्ष राख्नुभएको थियो ।
    सोही सन्दर्भमा बिजुक्छेँले भक्तपुर दरबार स्क्वायरको पेन्टिङ देखाएर अहिले पनि त्यहाँ टेको लगाइरहेकोबारे राष्ट्रपति भण्डारीलाई अवगत गराउनुभयो । अध्यक्ष बिजुक्छेंले विदेशी दाताले एक अर्ब भन्दा बढी रकम दिन्छु भन्दा पनि नगरपालिकाले त्यसलाई अस्विकार गरी स्वदेशी पुँजी र स्वदेशी सिप उपयोग हुनुपर्ने आफुहरुको जोड रहेको राष्ट्रपति भण्डारी समक्ष राख्नुभयो ।


    भेटको अन्तिममा राष्ट्रपति भण्डारीले बिजुक्छेंलाई भेटेर माईती आएको अनुभुती भएको प्रतिक्रिया दिएको गोसाईंले बताउनुभयो । “अध्यक्ष बिजुक्छें वरिष्ठ राजनीतिज्ञ, नेपालको कम्युनिस्ट आन्दोलनको अनुभवी, राजनीतिक नैतिकता, इमानदारी, वाम चिन्तक भएकाले भेटको अन्तमा एकदमै खुसी भएर राष्ट्रपति भण्डारीले माइती आएजस्तै अनुभुती भएको बताउनुभयो,” गोसाईंले भन्नुभयो ।
    अपराह्न ४ बजे बिजुक्छें निवास पुग्नुभएका राष्ट्रपति भण्डारी र अध्यक्ष बिजुक्छेंबीच करिव ४५ मिनेट छलफल भएको थियो ।

    तस्वीर, सुरेन्द्रराज गोसाईं

  • प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल र नेतामा नेमकिपाको दावी

    भक्तपुर, माघ १
    नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको दावी गरेको छ । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको–पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार नेमकिपाले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल र नेताको दावी गरेको हो ।
    सो ऐनको दफा २ (ङ) ४ मा प्रधानमन्त्रीलाई विश्वासको मत दिने दल विपक्षी दल हुन नसक्ने स्पष्ट व्यवस्था रहेकोले सोही अनुसार आफुहरुले प्रतिनिधि सभाको प्रमुख विपक्षी दल र नेताको दावी गरेको सांसद प्रेम सुवालले बताउनुभयो ।
    प्रतिनिधिसभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सो भन्दा बढी सदस्यहरु भएको कुनै पनि दल विपक्षमा नभए प्रतिनिधि सभामा सभामुखले र राष्ट्रिय सभामा राष्ट्रिय सभाका अध्यक्षले तोकिदिएको दल प्रमुख प्रतिपक्षी दल हुने व्यवस्था सो ऐनमा छ ।
    प्रतिनिधि सभामा रहेका १२ दल मध्ये पहिलो देखी दशौं स्थानसम्मको दलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै नेमकिपाका सांसद प्रेम सुवालले आफूहरु एघारौं ठूलो दल भएकोले प्रमुख प्रतिपक्षी दल र नेताको दावी गरेको हो । “ऐन अनुसार नै नेमकिपा प्रमुख प्रतिपक्षी दलको नेता हो,” सुवालले भन्नुभयो, “कानुन बनाउने थलो संसदले नियम मिच्दैन ।”
    गत मंसिर ४ गते सम्पन्न आम चुनावबाट संसदमा १२ वटा दलले प्रतिनिधित्व जनाएका छन् । त्यसमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।
    नेमकिपा र राष्ट्रिय जनमोर्चाले मात्रै प्रधानमन्त्री प्रचण्ण्डलाई विश्वासको मत दिएका थिएनन् । विश्वासको मत नदिएका दुबै दलसँग प्रतिनिधिसभामा एक÷एक सांसद छन् । निर्वाचनमा समानुपातिकतर्फ नेमकिपाले ७५ हजार १६८ मत पाएको थियो भने राष्ट्रिय जनमोर्चाले ४६ हजार ५०४ मत पाएको थियो । समानुपातिकतर्फ मत पाएको दृष्टिमा नेमकिपा ११ औं ठूलो दल भएको र १० वटा दलले सरकारलाई समर्थन गरेकाले आफूहरुले नै प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको दावी छ ।

     

  • पार्टीको नीति प्रति विमती हुँदैमा पार्टी नै परित्याग गर्ने परिपाटी बेठिक – सांसद थापा

    भक्तपुर, पौष २८
    नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले पार्टीको नीति प्रति विमती हुँदैमा पार्टी नै परित्याग गर्ने परिपाटी बेठिक भएको बताउनुभएको छ । प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका नेता स्व. कमलबहादुर खड्काको ४२ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. १ इकाई समितिले बिहिवार आयोजित कार्यक्रममा सांसद थापाले पार्टीभित्र काम गर्दै जाँदा कहीँ कतै विचार र कार्यशैली फरक हुन सक्ने बताउँदैं त्यसैका कारण पार्टी नै परित्याग गर्नु ठिक नभएको बताउनुभयो ।


    उहाँले पार्टीको संगठन बिस्तारमा सबैले मेहनत परिश्रम गरेको र सबैले उत्तिकै दुःख गरेको बताउँदैं आपैंmले दुःख गरेर निर्माण गरेको पार्टी परित्याग गर्नु लोकतान्त्रिक चरित्र नभएको स्पष्ट पार्नुभयो ।
    “कांग्रेस र कांग्रेसका कोहीसँग रिस उठदैमा हिजो कांग्रेसका लागि गरेको दुःख बिर्सेर आज कांग्रेसलाई समाप्त पार्न लाग्ने हो भने लोकतन्त्रवादी हुनु र कांग्रेस हुनुको के अर्थ भयो ? उहाँले प्रश्न गर्नुभयो । स्व. खड्का १६ वर्ष जेल बसेको प्रसंग कोट्याउँदैं थापाले हिजोको कठिन परिस्थितीमा जेलनेल भोगेका नेताहरुको योगदानले नै कांग्रेस आजको अवस्थामा आएको बताउनुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले कांग्रेसको किसान आन्दोलनको नेतृत्व गरेका स्व. खड्का सच्चा किसान नेता भएको बताउनुभयो ।


    कार्यक्रममा स्थानीय समाजसेवी प्रेमबहादुर खड्काले स्व.कमलबहादुर खड्काको योगदानको चर्चा गर्दै कांग्रेसले सधै जनताको हितलाई केन्द्रमा राखेर अघि बढे मात्र स्व. कमलबहादुर जस्ता प्रजातन्त्र सेनानीहरुको सच्चा सम्मान हुने बताउनुभयो ।
    वडा ईकाइ सभापति विजयकृष्ण खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पुर्व जिल्ला सभापति गणेशमान चक्रधरलगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

     

  • जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भयो ः अध्यक्ष नेपाल

    भक्तपुर, पौष २३
    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा शनिवार आयोजित बधाई तथा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिलाई पदमा पुग्ने साधन मात्र ठान्ने र कमाइखाने भाडो बनाउने कार्यले यसलाई बद्नाम गरेको बताउनुभएको हो ।
    उहाँले नागरिकमा एकअर्का राजनीतिक दलहरूप्रतिको विश्वास हराउँदै जानु दुःखद भएको बताउँदैं देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौती सम्बोधन हुने गरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो । पदमा को बस्छ भन्ने कुरा महत्वपूर्ण नभएको भन्दै पदमा रहने व्यक्तिले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
    ‘हाम्रो राजनीति‚ प्रशासनिक क्षेत्र र समाज चुनौती रहेका छन् । ती सम्बोधन गर्ने गरी सरकार अघि बढ्नुपर्छ । जनतामा राजनीतिप्रति कताकता नकारात्मक धार, वितृष्णाको अवस्था छ । एक अर्काप्रतिको विश्वास, कमजोर र हराएको पाइन्छ, यो दुःखको कुरा हो,’ उहाँले भन्नुभयो ।
    नेपालले राजनीति आफ्नै हिसाबले अघि बढिरहेको भन्दै उहाँले वर्तमान सत्ता गठबन्धन कति दरिलो छ भन्ने अनुमान गर्न नसकिने बताउनुभयो । उहाँले देशमा राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिनुभयो ।
    ‘एउटा गठबन्धन अघि बढिरहेको थियो । त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्यो । यो गठबन्धन कति दरिलो र टिकाउ छ भन्न सकिने अवस्था छैन,’ उहाँले भन्नुभयो ।


    पत्रकारले देशको समस्याबारे जनतालाई बताइरहेको तर, यो संगै समस्या समाधानको बाटो समेत सुझाउन सक्नुपर्ने उहाँले सुझाव दिनुभयो । पत्रकारिता क्षेत्रलाई नेपाली जनताले असाध्यै बिश्वास गरेको बताउदै यसको पछिल्लो उदाहरण उपप्रधान एवं गृहमन्त्री बन्न सफल रवी लामिछाने भएको उहाँको भनाइ थियो । उहाँले जनताको विश्वास गुम्न नदिन पत्रकार देश र जनताप्रति पूर्ण जवाफदेवी र प्रतिवद्ध हुनुपर्ने समेत प्रष्ट पार्नुभयो ।
    सो अवसरमा अध्यक्ष नेपालले भक्तपुर चार जना पत्रकारहरु प्रविणराज जोशी, भरतबन्धु थापा, कविता थापा र नविना खर्बुजा श्रेष्ठलाई नगदसहित पुरस्कृत गर्नुभएको थियो भने भक्तपुरबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाई सम्मान गर्नुभएको थियो ।
    राष्ट्रिय समाचार समितिका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले स्थापना दिवसको अवसर पारेर पत्रकारलाई पुरस्कृत गर्नुका साथै सांसदहरुलाई सम्मान गरेर प्रशंसनीय कार्य गरेको चर्चा गर्नुभयो ।
    कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमा कोइराला पौडेलले पत्रकारका ट्रेड युनियन समस्या हल गर्न प्रयत्न गर्ने प्रतिवद्धता जनाउनुभयो । आफ्नो राजनीति जीवनको लामो कालखण्ड ट्रेड युनियन आन्दोलनमा बिताएको अनुभवलाई संसदमा श्रमजिवि पत्रकारका श्रम सम्बन्धी समस्या हल गर्न र प्रेस सम्बन्धी कानुन ल्याउन पत्रकारसँग सहकार्य गरी कार्य गर्ने कोइरालाले बताउनुभयो ।
    नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौंलागाई, केन्द्रीय सदस्यद्धय शान्तराम विडारी र ज्ञानप्रसाद पौडेलले बागमती प्रदेश सरकारले पत्रकार महासंघको काठमाण्डौं उपत्यका प्रदेशसँग सहकार्य नगरेको गुनासो गर्दै प्रदेश सभा सदस्यहरुले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्यहरु सुरेश श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, डा. राजेन्द्रमान श्रेष्ठ, किरण थापा, भुवन केशरी श्रेष्ठ, धनेश्वरी प्रजापतिले प्रदेश सभाबाट ऐन कानुन बनाउने सवालमा पत्रकारहरुले पनि मार्ग निर्देशन गर्नुपर्ने र जिल्लाको विकासका साथै प्रदेश सभाबाट प्रेस सम्बन्धी कानुन बनाउने क्रममा महासंघसँग सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
    त्यस्तै लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडी, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका उपाध्यक्ष रोजिना थापा, महासंघ भक्तपुरका सल्लाहकार एवम् पुर्व अध्यक्ष तथा उपत्यका प्रदेश समितिका सचिव अमर भुजु, काठमाण्डौं अध्यक्ष सूर्य सुवेदी, ललितपुरका सचिव रामहरी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्दै पत्रकारका समस्या र समाधानका उपायबारे चर्चा गरेका थिए ।
    शाखा अध्यक्ष जगतकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका उपाध्यक्ष लिला श्रेष्ठ, सचिव संजीप घिमिरे शुभचिन्तकले महासंघ भक्तपुरको गतिविधिको बारेमा चर्चा गर्नुभएको थियो ।
    कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, बागमती प्रदेश सभा सदस्य सुलोचना श्रेष्ठ राजभण्डारीलगायतको उपस्थिती रहेको थियो ।

     

  • वि पि को राष्ट्रिय एकता एवम् मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक ः सांसद थापा

    भक्तपुर, पौष १६
    नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ प्रदेश सभा ख समितिले आज शनिवार भक्तपुर अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । ४७ औं राष्ट्रिय एकता एवम् मेलमिलाप दिवसको अवसरमा कांग्रेसले फलफुल वितरण गरेको हो ।
    सो अवसरमा भक्तपुर क्षेत्र नं. २ का सांसद एवम् नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जननायक वि पि कोइरालाले राष्ट्र माथि जुन खालको संकट देखेर राष्ट्रिय एकता एवम् मेलमिलापको नीति अंगाल्नुभएको हो सो नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।


    उहाँले भर्खर सम्पन्न निर्वाचनले जुन खालको संसद बन्यो र एकाएक राजनीतिक घटनाक्रम परिवर्तन भई नयाँ गठबन्धनका साथ सरकार बन्यो त्यसले नेपालमा अझै पनि राजनीतिक शक्तिहरुबीच राष्ट्रिय एकता एवम् मेलमिलापको खाँचो देखाएको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस भित्र पनि एकता र मेलमिलाप आवश्यक रहेको बताउनुभयो ।
    नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ प्रदेश सभा ख का सभापति शिव अवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद रमा कोइराला पौडेल, भक्तपुर क्षेत्र नं. १, प्रदेश सभा क का सांसद सुरेश श्रेष्ठ, बागमती प्रदेशका उद्योग राज्यमन्त्री रजनी जोन्छेलगायतले वि पि को राष्ट्रिय एकता र मेलमिलापको नीति बारे चर्चा गर्नुभएको थियो ।

  • राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान

    भक्तपुर, पौष ३
    राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको जनाउँदैं राष्ट्रपति भण्डारीले नेपालको संविधान २०७२ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
    राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा धेरै दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि यही पौष १० गते आइतवार साँझ ५ बजेसम्म दावी पेश गर्न आह्वान गर्नुभएको हो ।
    प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम मिति २०७९ मंसिर २९ गते पेश हुन आएको प्रतिवेदनमा प्रधानमन्त्री नियक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

     

  • समानुपातिकतर्फ भक्तपुरका ६ जना सिफारिस

    भक्तपुर, मंसिर २५
    प्रतिनिधि सभा र प्रदेश सभातर्फ भक्तपुरका थप ६ जना सांसद बन्ने भएको छ । दलहरुले समानुपातिकतर्फको उम्मेदवारबाट शनिवार भक्तपुरका ६ जनाको नाम सिफारिस गरेसँगै भक्तपुरका थप ६ जना सांसद बन्न लागेको हो । ती मध्ये प्रतिनिधि सभामा एक जना र बागमती प्रदेश सभामा ५ जना छन ।
    प्रतिनिधि सभा सदस्यमा सिफारिस हुने कांग्रेसकी रमा कोइराला पौडेल हुन । उनी भोजपुरकी भएपनि केही समय यता भक्तपुर बस्दै आउनुभएको छ । उहाँले कांग्रेसको क्रियाशिल सदस्यता भक्तपुरमा स्थानान्तरण गरी भक्तपुरबाटै पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदैं केन्द्रीय सदस्य समेत निर्वाचित हुनुभएको हो । उहाँलाई उम्मेदवारका लागि नेपाली कांग्रेस भक्तपुरले सिफारिस गरेको हो ।
    यसैगरी भक्तपुरबाट प्रदेश सभा सदस्य सिफारिस हुनेहरुमा नेकपा एमालेकी सकुन्तला श्रेष्ठ राजभण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी धनेश्वरी प्रजापति, नेकपा माओवादी केन्द्रका देवेन्द्र श्रेष्ठ छन ।
    यस्तै नेपाल मजदुर किसान पार्टीकी सृजना सैंजु र गिता काफ्ले पनि समानुपातिक तर्फ प्रदेश सभा सिफारिस गरेको छ ।