Category: राजनीति

  • सूर्यविनायक नगरप्रमुखलाई कांग्रेसको २० बुँदें स्मरणपत्र

    भक्तपुर, जेठ १९
    नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिले बिहिवार सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई स्मरणपत्र बुझाएको छ । नगरसभापति निशान ढुंगेल नेतृत्वको टोलीले नगरप्रमुख थापाको कार्यकक्ष पुगेर २० बुँदे स्मरणपत्र बुझाएको हो ।
    स्मरणपत्रमा २०७९ बैशाख ३० को स्थानीय तहको निर्वाचन पछि २०७९ असार ७ गते कांग्रेसले बझाएको ध्यानाकर्षण पत्रमा उल्लेखित विषय नगरपालिकाले सम्बोधन नगरेको उल्लेख गरेको छ ।
    स्मरणपत्रमा विकास निर्माणका कार्यगर्दा अधिकतम सहमति र न्युनतम क्षतीको नीति अवलम्बन गर्नुपर्ने, जनप्रतिनिधि शासक होइन सेवक हुन भन्ने मान्यतालाई व्यवहारमा उतार्नुपर्ने, सूर्यविनायक नगरपालिकालाई प्लाष्टिक झोला मुक्त बनाउनुपर्ने, चर्को करको दरलाई घटाउनुपर्ने, खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने, निर्माण अलपत्र परेका ढल, पुल सडक अविलम्ब सम्पन्न गर्नुपर्ने उल्लेख छ ।
    यसैगरी उपभोक्ता समिति गठनका व्यापक जनगुनासो आएकाले स्थानीय उपभोक्ता र सरोकारवालाहरुको बृहत भेला गरी समिति गठन गर्नुपर्ने, सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने, नीजि जग्गाका प्लटिङ गर्दा सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने, संस्थागत विद्यालयको छात्रवृत्तिमा कडाई साथ कार्यान्वयन हुनुपर्ने, सार्वजनिक जग्गा अतिक्रम तत्काल रोक्नुपर्ने स्मरण गराईएको छ ।
    स्मार्ट सिटीको काम पनि अघि नबढेको र स्मार्ट सिटीको नाममा जग्गा कित्ताकाट, नक्सापास लगायतका विषय रोकिएकोले जनतालाई मर्का परेको उल्लेख गर्दै कांग्रेसले तत्काल जग्गा फुकुवा गर्नुपर्ने माग स्मरणपत्रमा उल्लेख गरेको छ ।
    यस्तै सूर्यविनायकको सम्भावित पर्यटन उद्योगमा नीजि क्षेत्रको लगानीको वातावरण बनाउनुपर्ने, धार्मिक र साँस्कृतिक पर्यटन प्रवद्र्धनका लागि शिव सर्किट निर्माण गर्नुपर्ने, लाकुरी भञ्ज्याङदेखी घ्याम्पेडाँडासम्म पर्यटकिय पदमार्ग निर्माण गर्नुपर्ने, प्रत्येक वडामा प्रयोगशालासहितको कम्तीमा ५ शैयाको अस्पताल स्थापना गर्नुपर्ने माग स्मरण पत्रमा उल्लेख गरिएको छ ।
    कांग्रेसले ‘राजनितिमा प्रतिस्पपर्धा विकास निर्माणको सवालमा सहयोगितामा जोड’ दिएको उल्लेख गर्दै भू उपयोग नीति, नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने, हनुमन्ते करिडोरमा नक्सा पासको व्यवस्था, नगरभित्रको सामूदायिक विद्यालयमा प्रतिष्पर्धाबाट प्रधानाध्यापक नियुक्तिलगायतका कार्यका लागि नगरप्रमुखलाई धन्यवाद समेत दिएको छ ।

     

  • आज गणतन्त्र दिवस

    भक्तपुर, जेठ १५
    १६ औँ गणतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा गरिएको थियो । जनआन्दोलन ०६२÷ ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।
    राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइन्छ । यो दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनको रूपमा मनाइने गरिएको छ ।
    विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद पुनःस्थापना गरे । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रुपमा स्थापित भयो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृंखला चल्यो ।
    राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शाही कदम चालेपछि संसद्वादी दल र माओवादीबीच कार्यगत एकता भयो । फलस्वरूप २०६२ मङ्सिरमा संसद्वादी दल र माओवादीबीच १२ बुँदे समझदारी भई पूर्ण लोकतन्त्र स्थापना निम्ति आन्दोलन शुरू भयो ।
    विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

    नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठक समेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।
    विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।
    यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो ।
    विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधान बमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

  • कांग्रेस गुण्डुको वडा कार्यालयलाई ध्यानाकर्षण

    भक्तपुर, जेठ १३
    नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका ७ नं. वडा समितिले शुक्रवार वडाकार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । वडा कार्यालयले सञ्चालन गरिरहेको विकास निर्माणका कार्य र काठमाण्डौं वल्ड स्कुलले सार्वजनिक वन क्षेत्र मिचिएको र ढल खुल्ला रुपमा छोडिएको जनगुनासो आएपछि कांग्रेस वडा समितिले वडाअध्यक्ष रविन्द्र सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
    ध्यानाकर्षण पत्रमा साविक गुण्डु गाविस–५ को बुढीगण्डकी देखि मन्थली जाने सडकमा बागमती प्रदेश सरकारबाट विनियोजित १५ लाखको निर्माण कार्य हाल भई रहेकोमा सो ठाउँमा रहेको प्रति जग्गा संरक्षण नभएको र खोलाको मापदण्डको विषयमा जनगुनासो आएकोले सो खोलाको २१ सालको नापी अनुसार सिमांकन गरि खोलाको करीडोर र प्रति जग्गा संरक्षण गरिनुपर्ने उल्लेख गरिएको छ ।


    पार्टी इकाइ सभापति जगदिश बस्नेतले बुझाएको ध्यानाकर्षपत्रमा साविक गुण्डु–५ मा अवस्थित काठमाण्डौं वल्ड स्कुलले वन क्षेत्र ओगटेको र सो स्कुलबाट निस्किने ढल त्रिलोचन महादेव मन्दिरको प्राङ्गणमा हाके डाँडा मुनि खुला रूपमा विसर्जन भएकोले वडाबासीको स्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको, सरकारी बनको समेत व्यापक दुरुपयोग भएको तथा निजि शैक्षिक संस्थाबाट चर्को मूल्य असूल उपर गरिएको व्यापक जन गुनासो आएको साथै छात्रवृत्तिमा पनि पारदर्शिता नभएकोले वन सिमानाको सिमांकन गरि पारदर्शी शुल्क निर्धारण र ढलको उचित व्यवस्थापन गर्न माग गरिएको छ ।
    यसैगरी गुण्डु बृहत खानेपानीका पदाधिकारीहरुको ४ वर्षे कार्यकाल गत २०७४ चैत्रमा सम्पन्न भई सकेकोले हाल सम्म साधारणसभा नभएको सो खानेपानी संस्थाको विधान अनुरुप तत्काल साधारण सभा गराउन समेत ध्यानाकर्षण गराएको छ ।

    सूर्यविनायक नगरपालिका–७ वडामा उपभोक्ता समिति मार्फत भएका विकास निर्माण योजनामा नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद ऐन विपरीत भएको जन गुनासो आएकोले वडा कार्यालयले सार्वजनिक खरिद ऐन अनुसार जनतालाई दिनुपर्ने सूचनाको जानकारी गराउन समेत कांग्रेसले ध्यानाकर्षण गराएको सभापति बस्नेतले बताउनुभयो ।
    ध्यानाकर्षणपत्रमा जनगुनासो र प्रश्न उठेका विषयहरुमा छलफलबाट तत्काल समाधानको निम्ति सहयोग समन्वय सहजीकरण गर्न कांग्रेस तयार रहेको प्रतिवद्धता जनाएको छ ।

     

  • नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलन जेठ २७ गते

    नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलन जेठ २७ गते

    भक्तपुर, जेठ ८
    नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलन यही जेठ २७ गते हुने भएको छ । जिल्ला कार्य समितिको २० औं बैठकले जिल्ला सम्मेलन जेठ २७ गते गर्ने निर्णय गरेको हो ।
    सम्मेलनमा जिल्ला भरीका चार वटै पालिकाका ३८ वडाका वडा सभापतिसहित क्षेत्रीय प्रतिनिधि, जिल्ला, नगर, क्षेत्र र प्रदेश सभा समितिका सभापतिसहित पदाधिकारीहरु, महाधिवेशन तथा महासमिति सदस्यहरु गरी करिव २ हजार जनाको सहभागिता रहनेछ ।
    सम्मेलनका लागि जिल्ला कार्यसमिति भक्तपुरका सहसचिव कृष्णमुरारी न्यौपानेको संयोजकत्वमा जिल्ला सम्मेलन मुल तयारी समिति गठन गरिएको जिल्ला सचिव सुशिल बस्नेतले जानकारी दिनुभयो । कांग्रेसले सम्मेलनलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।
    सम्मेलनको लागि जिल्ला कोषाध्यक्ष धर्मरत्न खाइतु संयोजकत्वमा क्याटरिङ्ग व्यवस्थापन उपसमिति, ललिता धिताल पोखरेलको संयोजक अतिथि सत्कार उपसमिति, सुभाष कार्कीको संयोजकत्वमा आर्थिक उपसमिति, रञ्जन राज ढुङ्गेलको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
    यसैगरी तरुण दलका जिल्ला अध्यक्ष राजु थापाको संयोजकत्वमा सामाजिक कार्य समन्वय उपसमिति, नेविसंघ जिल्ला अध्यक्ष बद्री राम थापा संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, पवन भुजु संयोजकत्वमा प्रचार प्रसार उपसमिति, रामकाजी भुजु संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, महेश हाडाको संयोजकत्वमा सांस्कृतिक उपसमिति र हरिशरण वास्तोला संयोजकत्वमा कार्यालय व्यवस्थापन उपसमिति गठन गरिएको बस्नेतले जानकारी दिनुभयो ।
    सम्मेलनमा पार्टीलाई जनतासँग जोड्न सरसफाई, रक्तदानलगायतका सामाजिक कार्य गर्ने, सहभागीहरुबीच पार्टीको आगामी कार्यदिशा, संगठन बिस्तार, क्रियाशिल वितरण तथा नविकरणलगायतका विषयमा छलफल गरी घोषणापत्र जारी हुने नेपाली कांग्रेस भक्तपुर सभापति एवम् सांसद दुर्लभ थापाले बताउनुभयो ।

     

     

  • डा. श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त

    भक्तपुर, जेठ ७
    भक्तपुर क्षेत्र नं. २ (२)का बागमती प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठ बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त हुनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतवार मन्त्रिपरिषद बिस्तार गर्दै डा. श्रेष्ठलाई मन्त्री नियुक्त गर्नुभएको हो ।
    नेकपा एकिकृत समाजवादीका पोलिट्व्युरो सदस्य समेत रहनुभएका श्रेष्ठ गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्यको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेदवार भई विजयी हुनुभएको थियो ।

  • टीकापुर घटनालाई राजनीतिक तवरबाट समाधान नखोजिए सरकारबाट बाहिरिने नाउपाको चेतावनी

    काठमाण्डौं, जेठ ३
    नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले टीकापुर घट्नाको मुद्दालाई राजनीतिक तवरबाट समाधान खोज्न सरकारसमक्ष आग्रह गरेको छ । टीकापुर घटनाका आरोपित रेशम चौधरीसहितलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेपछि आज (बुधबार) नाउपाले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आफ्ना माग सरकारले सम्बोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिनेसमेत चेतावनी दिएको छ ।
    लाल आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने नाउपाको माग छ । रेशमलगायतका राजवन्दी हत्यारा भेटिएमा फाँसी दिने ऐन बनाएर फाँसी दिन पनि आग्रह गरिएको छ । सरकारलाई दिएको समय सीमाभित्र प्रतिवेदन सार्वजनिक नभएर आफूहरुको माग सुनुवाई नभएको खण्डमा चरणबद्ध आन्दोलनमा उत्रिने पनि नागरिक उन्मुक्तिको चेतावनी छ ।
    ‘अब सरकारसँग हाम्रो माग मात्र २ वटा छ । एक सम्मानित सर्वोच्च अदालतले लाल आयोग प्रतिवेदनलाई सार्वजनिक गर्न दिएको आदेश पालना गर्नुपर्छ र लाल आयोग प्रतिवेदन सार्वजनिक गरिनुपर्छ । दोस्रो, यदि रेशमलाल चौधरीलगायतका राजवन्दी हत्यारा हुनभने फाँसी दिने ऐन बनाएर रेशमलाल चौधरीलाई फाँसी दिए हुन्छ ।’ विज्ञप्तिमा भनिएको छ,‘यदि लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन ।’
    टिकापुर आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएको नागरिक उन्मुक्ति पार्टीको ठहर छ । उक्त आन्दोलनसँग जोडिएका मुद्दाहरुको समाधान राजनीतिक तवरबाट नै हुनुपर्ने नउपाको माग छ । तीन दिने समय सीमाभित्र सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको खण्डमा आन्दोलनमा उत्रिने नाउपाले चेतावनीसमेत दिएको छ । नाउपाले आजैदेखि देशव्यापी रुपमा जेठ ५ गतेसम्म राँके जुलुस प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेको छ । त्यसैगरी, जेठ ६ गतेदेखि जेठ १० गतेसम्म नेपाल बन्दकोसमेत घोषणा गरिएको छ ।
    पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नाउपाका नेता लक्ष्मण थारुले राज्यले देशको धेरै ठूलो जनसंख्या भएको समुदायलाई नै आतंकवादी जत्थाको रुपमा व्याख्या गरेको भन्दै आपत्ति जनाउनुभयो । थरुहट आन्दोलन राजनीतिक एजेन्डा र मुद्दा बोकेको आन्दोलन भएको उनको भनाई छ । आन्दोलनमा गएकै कारण हिंसाका आरोप लगाएर जेल हाल्ने हो भने लाखौं थारु, बाहुन, क्षेत्री र मधेशीहरु जेल जान तयार हुनपर्ने उहाँको भनाई छ ।
    राजनीतिक एजेण्डा र मुद्दा बोकेको थरुहट आन्दोलनलाई कानुनी सीमा मिचेर अदालतमा पुर्याइएको उहाँको आरोप छ । आफूहरुको आन्दोलन राजनीतिक आन्दोलन भएकाले यसलाई अदालती प्रक्रियामा भन्दा पनि राजनीतिक तवरबाट समाधान खोजिनु पर्ने उहाँको माग छ ।


    सर्वोच्चको फैसलालाई आफूहरुले स्विकार गरेको उहाँले बताउनुभयो । नाउपाको चित्त दुःखाई सत्तामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको र सरकारले थारुहरुलाई द्वन्द्वमा धकेल्ने काम गरेको उहाँको आरोप छ ।
    ‘अदालतको निर्णयलाई स्विकार्नुपर्छ । हामी स्विकार्छांै । थुप्रै आन्दोलनको नेतृत्व गरेका नेताहरु सत्तामा हुनुहुन्छ तर हाम्रो चित्त दुखाइ छ । थारुहरुलाई पछाडि धकेलेर, अझै द्वन्द्वमा धकेल्नेगरी जुन षड्यन्त्र गरिँदैछ, यो दुर्भाग्यपूर्ण छ,’ उहाँले भन्नुभयो ।
    लाल आयोगको प्रतिवेदन, देवीराम शर्मा समितिको प्रतिवेदन र संसदीय सुनुवाइ समितिको प्रतिवेदन तीन दिनभित्र सार्वजनिक नभएको खण्डमा सरकारमा रहेको सहभागिता र समर्थनबारेमा सोच्न बाध्य हुने उहाँको चेतावनी छ ।
    ‘तीन दिनको हाम्रो अल्टिमेटम छ । तीन दिनभित्र लाल आयोगको प्रतिवेदन, देवीराम शर्मा समितिको प्रतिवेदन र संसदीय सुनुवाइ समितिको प्रतिवेदन सार्वजनिक गरिएन भने हामी आन्दोलनमा जान बाध्य छौं । हामी संसद् सरकारमा छौं । तीन दिनभित्र हाम्रो माग सुनुवाई भएन भने सरकारको सहभागिता र समर्थन बारेमा पनि हामी सोच्न बाध्य हुनेछौं,’– थारुले भन्नुभयोे ।
    त्यसैगरी, नाउपाका उपाध्यक्ष हिमाचल भट्टराईले आफूहरुको आकांक्षाभन्दा फरक तरिकाबाट सर्वोच्चको फैसला आएको बताउनुभयो । सर्वोच्चले पहिल्यै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आदेश दिएपनि उक्त प्रतिवेदन नै सार्वजनिक नभइ मुद्दाको अन्तिम सुनुवाइ भएकोमा उहाँले आपत्ति जनाउनुभयो ।
    ‘सर्वोच्च अदालतको जुन फैसला आयो, हाम्रो आकांक्षाभन्दा फरक आयो । न्याय प्रक्रियालाई हामी सम्मान गर्छौं । तर, असहमति जाहेर गर्छौं । अझैपनि पुनरावलोकनमा जाने ठाउँ छ भने हामी पुनरावलोकनमा जान्छौं,’ उहाँले भन्नुभयो ।
    लाल आयोगको प्रतिवेदन, देवीराम शर्माको प्रतिवेदन र संसदीय सुनुवाई समितिको प्रतिवेदन सार्वजनिक भयो भने रेशम र टीकापर घटना राजनीतिक थियो भन्ने कुरा छर्लङ्ग हुने उहाँको दाबी छ ।
    २०७२ साल साउनदेखि सुरु भएको थारुहट आन्दोलनका क्रममा भदौ ७ गते टीकापुर घट्ना घटेको थियो । टीकापुर घटनामा नौ जना सुरक्षाकर्मी र एक नाबालकले ज्यान गुमाएका थिए । उक्त आन्दोलनका सहभागी रहेका २९ जना अहिले फरार रहेका छन् भने चार जनाविरुद्ध जन्मकैदको फैसला भएको छ । ४ जनालाई १० वर्ष कैद सजाय तोकिएको छ भने, ८ जनालाई ५वर्ष, ४ जनालाई ३ वर्ष र १ जनालाई ६ महिना कैद सजाय तोकिएको छ । उक्त घटनाका आरोपित ६ जनाले सफाई पाइसकेका छन् ।

     

  • किसानको पक्षमा काम गर्ने नेताको खाँचो छ – सभापति देउवा

    भक्तपुर, बैशाख ११
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किसानको पक्षमा काम गर्ने नेताको खाँचो रहेको बताउनुभएको छ । नेपाली कांग्रेसका नेता जगन्नाथ आचार्यको एक सयौं जन्मजयन्तीको अवसरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले सोमवार कौशलटारमा आयोजित कार्यक्रममा सभापति देउवाले नेपालमा कृषिमा आधारित र किसानहरुको देश भएकाले यहाँ किसानको पक्षमा काम गर्ने नेताको खाँचो रहेको बताउनुभएको हो ।
    सभापति देउवाले नेता आचार्य जुझारु र लडाकु स्वभावको नेता भएको र उहाँले किसानका पक्षमा धेरै काम गरेको चर्चा गर्दै उहाँका अधुरा काम पुरा गर्न पार्टीले सहयोग गर्ने बताउनुभयो । “आचार्यका अधुरा काम उहाँका परिवारले अघि बढाउनुपर्छ । उहाँका छोराहरुले अघि बढाउनुपर्छ । त्यसमा पार्टीको पूर्ण साथ सहयोग रहनेछ,” उहाँले भन्नुभयो ।


    कार्यक्रममा पुर्वमन्त्री एवम् आचार्यका सहयात्री ओमकार श्रेष्ठले स्व. आचार्यकै पहलमा किसानहरुले मोहीयानी हक प्राप्त गर्दै जग्गामा आधा हिस्साको अधिकार स्थापित भएको बताउनुभयो ।
    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले युवाहरुलाई पार्टीमा आकर्षित गर्न नसकिय पुराना दलहरुको भविष्य संकटमा पर्ने अवस्था आएको बताउनुभयो । उहाँले पार्टीको संगठन बिस्तारका साथै युवाहरुलाई पार्टीमा आकर्षित गर्न सामाजिक सञ्जालको भरपुर उपयोग गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
    प्रतिष्ठानका अध्यक्ष विनोद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय मदनकृष्ण श्रेष्ठ र गंगालक्ष्मी अवाल, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की, तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष विनोद कायष्ठले स्व. आचार्यको जीवनीको चर्चा गर्नुभएको थियो ।
    सो अवसरमा नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. ३ ईकाइ समितिको प्रायोजनमा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

  • कोटेश्वर बहुमखीको स्ववियुमा नेविसंघका संजय बुढाथोकी सर्वसम्मत चयन

    भक्तपुर, चैत्र १०
    कोटेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)अध्यक्षमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का संजय बुढाथोकी सर्वसम्मत रुपमा चयन भएका छन् । क्याम्पसमा शुक्रवार बसेको विद्यार्थी संगठनहरुको सर्वपक्षीय बैठकले नेविसंघका बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
    यस्तै उपाध्यक्षमा अखिल क्रान्तिकारीका सागर पराजुली चयन भएका छन् भने सचिवमा अनेरास्ववियुका रामकृष्ण थापालाई सर्वसम्मत चयन गरेको छ । सहसचिवमा अनेरास्ववियुकी शर्मिला भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुकै शैलेन्द्र श्रेष्ठ सर्वसम्मतिले चयन भएका छन ।

     

     

     

     

     

     

     

     

     

     

     

    यसैगरी सदस्यहरुमा अनेरास्ववियुका रामजेश कुमार गुप्ता, प्रेमराज रेग्मी, सुशील दाहाल र नवराज देवकोटा, नेविसंघका आशिश कार्की, आरती ढकाल, प्रदीप कार्की र सन्तोष घर्ती मगर, अखिल क्रान्तिकारी विप्लव समूहका मिठु टमाटा, अखिल क्रान्तिकारीकी अप्सरा बस्नेत, रविना थापा मगर र सरला बस्नेत तथा अनेरास्ववियूका खेमराज ढुंगाना, सरोज श्रेष्ठ, विनीता फुयाँल र सञ्जु भट्ट सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

  • भक्तपुर बहुमुखीमा नेविसंघका पुकार विजयी

    भक्तपुर, चैत्र ६
    भक्तपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा नेपाल विद्यार्थी संघ (नेविसंघ)नेतृत्वको प्यानल विजयी भएको छ । स्ववियुको आइतवार सम्पन्न निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघका पुकार पराजुली ‘बी’ एक हजार १६७ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका निकतम प्रतिष्पर्धी नेपाल क्रान्तिकारी विद्यार्थी संघ (नेक्राविसंघ)का दिनेश खड्गीले ७६१ मत प्राप्त गर्नुभयो ।
    स्ववियुको सचिवमा यादव दुलाल ११४६, कोषाध्यक्षमा सुजन प्रधान ११७६ विजयी हुनुभयो । सदस्यहरुमा संयुक्त प्यानलका अस्मिता खनाल १२६९, निमेश नायभा १२२३, सजगकृष्ण पोखरेल ११८३, निरज कार्की १२९१, नवराज सिंह धामी १२५२, धिराज खड्का १२७०, सजना हुमागाईं १२६१ र तिलक पराजुली १२६२ मतका साथ विजयी हुनुभयो ।
    यसैगरी समानुपातिकतर्फ नेविसंघले ७६४, नेक्राविसंघले ५१६, अनेरास्ववियुले ३५३ र अखिल क्रान्तिकारीले २७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा. शेर सिंह रैखोलाले बताउनुभयो ।
    यस्तै सानो थिमि शिक्षा क्याम्पस सानोथिमिको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका रेशमलाल श्रेष्ठ विजयी हुनुभएको छ ।

  • द्धन्द्धकालिन घटनालाई फौजदारी कानुन अनुसार समाधान खोजिए देशको आधा भाग जेलमा परिणत हुन्छ – नेता ढकाल

    भक्तपुर, फागुन २८
    वागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले द्धन्द्धकालिन घटनालाई फौजदारी कानुन अनुसार समाधान खोजिए देशको आधा भाग जेलमा परिणत हुने चेतावनी दिनुभएको छ ।
    प्रेस सेन्टर नेपाल, भक्तपुरले शनिवार आयोजित साक्षात्कार कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनुभएका ढकालले तत्कालिन विद्रोही माओवादीले उठाएका एजेण्डा संविधान सभा, गणतन्त्र, संघियता स्थापित भएको बताउँदैं जनयुद्धको जित भएको जिकिर गर्नुभयो ।
    उहाँले जनयुद्धकालिन घटनालाई विस्तृत शान्ति सम्झौताको भावना र मर्म अनुसार समाधान खोजिनु पर्नेमा जोड दिनुभयो । “एजेन्डाले जित्ने र योद्धाले हार्ने स्थिति हुँदैन । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएर देश स्थायी शान्ति र दिगो विकासमा केन्द्रीत हुनुपर्छ,” उहाँले भन्नुभयो ।
    अर्थ राजनीतिका जानकार समेत रहनुभएका ढकालले युवाहरुको विदेश पलायनलाई रोक्न उत्पादनमुखी योजना सञ्चालनमा जोड दिँदैं प्रदेश सरकारले कृष्ीि र पर्यटनको दिगो विकासको लागि भएका प्रयासहरुबारे जानकारी दिनुभयो ।
    उहाँले नागरिकलाई स्वरोजगार बनाउने तालिममा मात्र प्रदेशले वार्षिक २० करोड लगानी गरेको तथ्यांक प्रस्तुत गर्नुभयो । स्थानीय तहलाई स्थानीय आवश्यकताको आधारमा अरवौं रुपैया अनुदान उपलब्ध गराउदै आएको उल्लेख गर्दै उहाँले प्रदेश सरकारले नमूना समाजवादी वडाको लागि २५ करोड उपलब्ध गराएको जानकारी गराउनुभयो ।
    प्रदेशलाई बलियो बनाई संघियतालाई स्थायित्व दिन नेपाली प्रेस जगतले पनि भूमिका खेल्नुपर्नेमा जोड दिँदैं उहाँले अहिले केही तत्वले प्रदेश खारेजीको माग गर्दै संघीयता माथि प्रहार गरेको टिप्पणी गर्नुभयो ।
    नेता ढकालले भक्तपुरमा विकास निर्माणका योजनालाई बजेट विनियोजन गर्न आफुले भूमिका खेल्ने बताउँदैं भक्तपुर चक्रपथसँगै बागमती प्रदेशको १३ वटै जिल्ला जोड्ने चक्रपथ निर्माणको जरुरी रहेकोमा जोड दिनुभयो ।
    उहाँले बागमती प्रदेश र नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिबीच समन्वय र सहकार्यको लागि पहल गर्ने बताउँदैं महासंघको उपत्यकाको तीन वटै शाखाको भवन निर्माणका लागि आवश्यक बजेटका लागि पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    प्रेस सेन्टर नेपाल भक्तपुर संयोजक सन्जीप घिमिरे शुभचिन्तकको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष जगतकृष्ण प्रजापति, काठमाण्डौं अध्यक्ष सूर्य सुवेदी, ललितपुर सचिव रामहरी कार्की, महासंघ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकी, सहसचिव हेमराज ढकाल, कार्यसमिति सदस्य सञ्जिव दुलाल, रेडियो जनसञ्चार एफएमका सुरेश सायेजु, अनलाइन खबरका रेणु त्वानावासुलगायतले श्रमजीवि पत्रकारका समस्या समाधानमा बागमती प्रदेश सरकारले पनि ठोस नीति ल्याउनुपर्ने सुझाव दिनुभएको थियो ।