Category: मनोरन्जन

  • संगीतको धुनले गुलजार मध्यपुर थिमि

    भक्तपुर, फागुन २३
    मध्यपुर थिमि सुमधुर संगीतको धुनले गुलजार बनेको छ । एकोज इन द भ्यालीले आयोजना गरेको संगीत महोत्सवका कारण मध्यपुर थिमि शुक्रवार साँझ संगीतले गुलजार बनेको हो । यो क्रम शनिवार पनि चल्नेछ ।
    दिउँसो साढे ३ बजे मध्यपुर थिमिको भुलाँख्य (भुलाँखेल)को डबु (डबली)मा कविन्द्रपुर एण्ड फ्रेण्ड्सको प्रस्तुतीबाट शुरु भएको एकोज इन द भ्याली संगीतको महोत्सवमा थिमि दाफा भजन खलःले दोस्रो प्रस्तुती दिएको थियो ।
    त्यसपछि क्रमशः उजला सहनी एण्ड रामा शंकर रे कपिलवस्तु, श्रुती व्याण्ड, नेपाल तिवेतियन ल्हामो एशोसियसन, ओएमजी स्पार्कले प्रस्तुती दिएका थिए । साँझ ७ बजेपछि प्रसिद्ध कुटुम्ब व्याण्ड र कुटुम्बसँगैं नेपाली सुमधर संगीतका सुप्रसिद्ध गायिका ज्ञानु राणाले प्रस्तुती दिनुभएको थियो ।


    कुटुम्बले ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ बोलको गितको धुनबाट आफ्नो प्रस्तुती शुरु गरेको थियो । वरिष्ठ गायिका ज्ञानु राणाले ‘सिरिमा सिरी बतास चल्यो’ बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गर्नुभएको थियो । चिसो चिसो सिरेटो चलिरहेको बेला गायिका राणाले मौसम सुहाउँदो गीत प्रस्तुत गर्दा उपस्थित सबै दर्शकले स्वरमा स्वर मिलाएर साथ दिएका थिए । त्यसपछि उहाँले ‘काली पारी दाई कति राम्रो’,
    उहाँले प्रस्तुती दिनुअघि गणेशको प्रार्थना गर्नुका साथै सरस्वती बन्दना, कृष्णको प्रार्थना र भगवान पशुपति नाथको साधना गर्नु भएको थियो । कार्यक्रम पछि नेवाः भोय्को आयोजना गरिएको थियो ।
    मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा आयोजित एकोज इन द भ्याली संगीत महोत्सवको दोस्रो दिनको कार्यक्रम शनिवार बिहान ११ बजे शुरु हुने मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।


    दोस्रो दिनको प्रस्तुती स्थानीय श्री राज गणेश धिमे खलःको रहने छ । त्यसपछि क्रमशः श्री सिद्धि गणेश दाफा भजन खलः शाही खड्गी समाज र श्री सिद्धि गणेश दाफा न्हुँ धिमे गुठीको प्रस्तुती हुने छ ।
    यसैगरी बालकुमारी डबूमा सिवा साय्मी खलः, क्ष्नायलाक्षी फल्चामा कविन्द्रपुर एण्ड फ्रेण्ड्स, दिगु दबूमा जिजिविसा, भुलाँख्य दबूमा संगिता साह कञ्चनपुर एण्ड देउडा समूहको प्रस्तुती हुने छ ।
    यस्तै दिउँसो ३ बजे दिगु दबूमा अजेन्टिनाका कलाकार लाउरा क्येटालिन पेरल्टा र ज्ञान चोइर, निगु पुखुःमा राज गणेश धिमे खलः, बालकुमारी डबूमा अम्बिका देवी भण्डारी (पोखरा), हाम्रो सपनाको नेपाल महिला नौमती बाजा समूहको प्रस्तुती रहन छ ।


    साँझ ५ बजे दिगू दबूमा बाखँ (कथा), फोसी फल्चामा कविन्द्रपुर एण्ड फ्रेण्ड्स, भुलाख्य दबूमा भिन्सेन्ट मुनस् लाइभ सिनेमा (फ्रान्स), दिगू दबूमा द फ्लाइङ स्प्रिट्स र अन्त्यमा साँझ साडे ७ बजे बालकुमारी दबूमा कलेडोस्कोप–एलेना मिडलटोन (युके), क्याटलिन लियाङ म्याकइभोय्, चन्द्रेशा पान्डे र सुश्कियना गुरुङको प्रस्तुती रहने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
    उहाँले एकोज इन द भ्याली संगीत महोत्सवले यहाँको मौलिक कला संस्कृतिको प्रचार प्रसार हुने र यसले आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन टेवा पुग्ने विश्वासका साथ नगरपालिकाले सहकार्य गरेको बताउनुभयो ।

     

  • श्री शाक्यमुनि विहार, टक्सार, भोजपुरको धार्मिक यात्रा संस्मरण – १

    शाक्य रत्न, काठमाण्डौ, कार्तिक १४ ।
    भोजपुर जिल्लाको नाम म करिब १२ वर्षको हुँदा नै मेरो मानसपटलमा बसेको थियो । यसको कारण भोजपुरबाट त्यतिबेला मेरै नाम गरेका अर्थात संघ रत्न शाक्य भन्ने एक युवा (हाल दिवंगत भैसक्नुभयो) हाम्रो घरको छिंडी (भुईं तला) मा पसल खोल्ने र बास बस्ने गरी बस्नु भएको थियो । करिब ५२ वर्ष अघि वहाँ भोजपुरको त्यस समयको प्रख्यात स्थान टक्सारबाट काठमाडौंमा पढ्ने र व्यवसाय गर्ने उद्देश्य लिएर आउनु भएको थियो र संयोगबस हामीहरुको घरमा भाडामा बस्नु भएको थियो ।
    यसैगरी, केही समयअघि बौद्ध ऋषि महाप्रज्ञाले आफ्नो जीवनीको बारेमा लेख्नु भएको पुस्तकमा पनि भोजपुरको बारेमा पढ्ने र जानकारी लिने मौका पाईयो । वहाँको किताबमा भोजपुरको बारे गरिएको वर्णन पढेर भोजपुर त्यतिबेला अति नै विकट पहाडी जिल्ला जहाँ यातायातको व्यवस्था थिएन भन्ने भौगोलिक अवस्थाको जानकारीका साथै बौद्ध इतिहासमा सबैभन्दा पहिला वि.सं. १९९३ सालमा थेरवादी शाक्यमुनि विहारको स्थापना हुनुका साथै बुद्ध जयन्तीको पावन अवसरमा बुद्ध प्रतिमाको रथ यात्रा सहित भव्यरुपमा बुद्ध जयन्ती मनाइएको जानकारी पाइयो । तथा सोही विहार स्थापना एवं बुद्ध धर्म र शिक्षा प्रचारप्रसार गरेको अभियोगमा जहाँनिया राणा शासनले नेपालको बौद्ध इतिहास कै कालो पन्नाको रुपमा वहाँ तथा वहाँको चेला त्यतिबेला श्रामणेर अमृतानन्दलाई भोजपुरकोे जेलमा कैद गरिएको नमिठो जानकारी पनि पाईयो ।
    यी कुराहरुको कारण मेरो मनमा भोजपुर वास्तवमा कस्तो ठाउँ रहेछ अनि त्यहाँका मानिसहरु कस्ता रहेछन् भन्ने उत्सुकता रहन गयो । र यो उत्सुकता मेट्ने अवसरको खोजीमा म थिएँ ।
    तँ चिता म पुर्याउँछु भन्ने उक्ति जस्तै यसवर्ष २०८१ सालमा विश्वशान्ति विहारका प्रमुख पूजनीय भिक्षु बोधिज्ञान महास्थविर भोजपुरमा वर्षावास बस्नुहुने खबर थाहा पाएर अब मेरो भोजपुर जाने इच्छा पुरा हुने भयो भनी मनमनै खुशी भएँ ।

    यात्राको अठोट र तयारी
    पूजनीय भिक्षु बोधिज्ञान महास्थविरले कोरोना महामारीको समयमा कोरोना कहरले आक्रान्त सत्वप्राणीहरुको कल्याण हेतु फेसबुकमार्फत ध्यानको प्रत्यक्ष प्रसारण चलाउनु भएको थियो । र, उक्त समयदेखि मैले वहाँको निर्देशनमा सतिपट्ठान विपस्सना ध्यान अभ्यास गर्ने मौका पाएँ, र हालसम्म पनि पाइरहेको छु । त्यसैले वहाँ मेरो प्रथम ध्यान गुरु हुनु भएकोमा मलाई गर्व महशुस छ । वहाँ मेरो मात्र नभईकन मेरी पत्नी, ञातीबन्धुहरुका साथै अन्य धेरै ध्यानप्रेमी योगी कल्याणमित्रहरुका पनि ध्यान गुरु हुनुहुन्छ । यसरी एक शिष्यको नाताले आफ्नो गुरु जहाँ वर्षावास बस्नुहुन्छ, समय र व्यवस्था मिलेसम्म वर्षावासको समयमा कमसेकम १ दिन मात्र भएपनि गुरुको सेवा गर्ने र कुशल पुण्य कार्य गर्ने शिष्यको कर्तव्य सम्झेर वहाँ वर्षावास बस्नु भएको भोजपुरको टक्सारस्थित शाक्यमुनि विहारको धार्मिक यात्रा गर्ने अठोट लिएँ ।
    कुशल मनसायले लिएको अठोट पुरा हुने कुरामा म विश्वस्त थिएँ । यसै विश्वासको आधारमा मैले पत्नीसित सल्लाह गर्दा तत्कालै सकारात्मक उत्तर पाएपछि यात्रा गर्ने मेरो हौसला बढ्यो । कुशल पुण्यकार्यमा सँधैजसो साथ दिंदै आउनु भएका मेरा ञातिबन्धुहरुका साथै कल्याण तथा धर्म मित्रहरुसँग पनि भोजपुरको धार्मिक यात्रा बारे सरसल्लाह गर्दा सबैले तत्क्षण जाने मञ्जुरी दिएपछि मिति २०८१ साल भाद्र ३१ गते सोमबार देखि मिति २०८१ साल आश्विन ४ गते शुक्रबार सम्म ५ दिनको यात्राको योजना बनाएँ । तत्काल यात्राका लागि गाडी (जीप) भाडामा लिन चिरपरिचित पाटनका रवि शाक्यलाई सम्पर्क गरें । यात्राको बारेमा कुरा गर्दा सहज रुपमा उचित भाडा सहित वहाँले स्वीकृती दिनुभएपछि भोजपुरको धार्मिक यात्रा मनले चिताए बमोजिम नै हुने तय भयो ।
    यात्रामा जानु अघि यात्रा गर्ने स्थानको बारेमा जानकारी लिनु उचित हुने ठानेर पूजनीय भिक्षु बोधिज्ञान महास्थविरज्यू, हाल उपत्यकामा रहनु हुने भोजपुर निवासी दाजु दान मान शाक्य तथा दिदी शान्ता शाक्यबाट आवश्यक जानकारी हासिल गर्नुका साथै थप जानकारी गुगल मार्फत लिएर विपि राजमार्ग हुँदै धरान अनि धरानबाट पुष्पलाल राजमार्ग हुँदै हिले भएर भोजपुर जाने र फर्किने बेला पुष्पलाल राजमार्गबाट दिक्तेल, हलेसी हुँदै काठमाडौं फर्किने योजना बनायौं । र, योजनामा सहमती जनाउँदै हामी सबै आठजना यात्रुहरु संघ रत्न शाक्य, सुजना शाक्य, तिर्थदेवी शाक्य, गौतम शाक्य, सुलोचना शाक्य, गंगा शिलाकार, ज्ञानीमैयाँ तुलाधर तथा रवि शाक्य (गाडी धनी /चालक) यात्राको लागि आवश्यक तयारीमा जुट्यौं ।

    भोजपुर जिल्ला
    तत्कालिन नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलको सदरमुकाम (राजधानी) भोजपुर जिल्ला मध्यकालिन समयमा स्थानीय बोलिचाली भाषामा पूर्व ४ नम्बरले चिनिन्थ्यो । र, स्थानीय बोलिचालीमा हालसम्म पनि धेरैले भोजपुरलाई पूर्व ४ नम्वर नै भन्ने गरिन्छ । भौगोलिक विविधतायुक्त यस भोजपुर जिल्ला र नगर क्षेत्रले नेपालको ऐतिहासिक महत्व बोकेको छ । नेपाल एकिकरण पश्चात यस क्षेत्रलाई माझकिराँत क्षेत्रको प्रशासनिक स्थल चयन गरिएको इतिहास रहेछ । वि. सं. १८७२ सालमा नेपालकै डोली पैसाको नामले प्रख्यात टक (पैसा) टकमारी गर्ने कार्य भएकोले भोजपुरको यस पुरानो बजार क्षेत्रको नाम नै टक्सार रहन गएको रहेछ । त्यहाँको ट्याम्के डाँडा, चखेवा डाँडा, सल्ले अनि सुन्तले डाँडाबाट नेपालको प्रसिद्ध हिमालहरु तथा अरुण उपत्यकाको पनि अवलोकन गर्न सकिने रहेछ । र, यस स्थान पर्यटकहरुको रोजाइको स्थान पनि रहेछ । भोजपुरको भित्री बजार क्षेत्रमा चाहीं सिद्धकाली मन्दिर र पानी ट्याँकी रहेको स्थानमा दृश्यावलोकनको लागि बनाइएको स्थलबाट भोजपुरको टुँडिखेल, आधुनिक नगरपालिका भवन, बजार क्षेत्र, विमानस्थल, रंगशाला, बसपार्क तथा बन्दिगृह आदिका साथै सुन्दर वातावरणको अवलोकन गर्न सकिने रहेछ ।
    भोजपुरमा किराँती तथा नेवाः जातीको बाहुल्यता रहेतापनि अन्य जातीहरुको पनि बसोबास रहेको छ । तर हाल यहाँका पुराना बासिन्दा (विशेष गरी नेवाः जाती) हरुले बिस्तारै शहरी क्षेत्रमा बसाईं बिस्तार गरिसकेकोले यहाँ (टक्सार) का अधिकाँश घरहरु खाली छन् । बसोबास गर्ने बासिन्दा अन्यत्र बसाईं सर्न थालेकाले पहिलेको प्रख्यात टक्सार क्षेत्र हाल सुनसान हुने क्रममा छ । यो देखेर हामीहरुको मन अलि खिन्न भयो । खै, कस्लाई के भन्ने ? वास्तवमा यो अवस्था पूरै देशको हुने क्रममा छ । हाल गाउँ छाडेर शहर पस्ने, अनि शहरमा केही समय व्यतित गरी देशै छाडेर विदेश जाने रोग पूरै देशमा व्याप्त भैरहेको छ । तर जिम्मेवार नेताहरुलाई सत्ता जोगाउने र सत्तामा जाने खेल खेल्न मै फुर्सद छैन ।
    धर्म सम्बन्धी भन्नुपर्दा भोजपुरमा हिन्दू र बुद्ध धर्म, संस्कार अनि संस्कृती बढी प्रचलनमा रहेछ । त्यसैले भोजपुरमा हिन्दू मन्दिर तथा बौद्ध विहार र गुम्बाहरु भ्रमणको क्रममा देख्न पाईयो । टक्सारको शानको रुपमा रहेको शाक्यमुनि विहार, पद्य्मपाणी लोकेश्वरको मन्दिर तथा स्वधाःहिटी (तिनधारा), भोजपुर बजारमा रहेको सप्तहिटी (सातधारा) र त्यसैको माथि अर्को स्वधाःहिटी (तिनधारा) अवलोकन गर्दा हामी सबैको मन हर्षविभोर भयो । शनिवारको दिन हाम्रो बसाई भोजपुरमा नपरेकोले भोजपुरको हटिया बजारमा लाग्ने हाटबजार चाहीं हेर्न पाइएन । भोजपुरको प्रसिद्ध उत्पादनमा भोजपुरे खुकुरी, भोजपुरे करुवा, काँसका भाडावर्तन तथा बम्बईसन मिठाई रहेछ ।

    यात्राको उद्देश्य तथा धरान यात्रा
    हामीहरुको यात्राको प्रमुख उद्देश्य भनेको वि.सं. १९९३ सालमा स्थापना भएको नेपालको प्रथम थेरवादी शाक्यमुनि विहार अवलोकन गर्नुका साथै विश्वशान्ति विहारका प्रमुख पूजनीय भिक्षु बोधिज्ञान महास्थविर उक्त विहारमा वर्षावास बस्नु भएको अवसर पारेर कुशल पुण्य कार्य सम्पादन गर्ने थियो । यही उद्देश्य साथ यात्राको पहिलो दिन मिति २०८१ साल भाद्र ३१ गते सोमवारका दिन काठमाडौंबाट विहान ६ः४५ बजे धरान तर्फको हाम्रो यात्रा सुरु भयो । विपि राजमार्गमा पर्ने बनेपा, धुलिखेल, भकुण्डे बेसी, नेपालथोक, खुर्कोट, सिन्धुलीगढी, भिमान हुँदै साँझको ६ः४५ बजे हामी धरान पुग्यौं । हुनत काठमाडौंबाट धरान ३६५ कि.मी. दूरीको यात्रा साँझको करिब ४ः०० बजे नै तय हुनुपर्ने थियो । तर हामीलाई लानुहुने चालक रविभाईले हतार नगरिकन सिमित गतिमा जीप चलाई आरामदायक यात्रा गराउनु भएकोले र हामी यात्रुहरुपनि विभिन्न स्थानमा रोकिएर चिया नास्ता, खाना खाँदै आराम गर्दै यात्रा गरेको कारण सबै ठाउँमा ढीला नै पुगियो । फेरी पहिलो दिनको हाम्रो यात्राको गन्तव्य धरानसम्म मात्रै थियो । त्यसैले पनि हामीलाई खासै हतार थिएन ।
    पूजनीय भिक्षु बोधिज्ञान महास्थविरबाट धरान बुद्ध विहारका श्री रमणा श्रेष्ठज्यू तथा श्री रमेश शाक्यज्यूलाई हामी आउने सूचना दिनु भएको कारण वहाँहरुबाट धरानको उक्त सुन्दर बुद्ध विहारमा नै खाना तथा बासको व्यवस्था गरिदिनु भएकोले पनि हामी अलि ढुक्क भएर यात्रा गरेका थियौं । र, धरान बुद्ध विहारमा हामीहरुले सोचेको भन्दा पनि उत्तम व्यवस्था गरिदिनु भएकोमा पुजनिय भिक्षु, रमणा श्रेष्ठज्यू तथा रमेश शाक्य दम्पत्तिलाई हामी सबैको तर्फबाट धेरै धेरै साधुवाद तथा धन्यवाद दिन चाहन्छु ।

    दोश्रोदिन धरानबाट हिले हुँदै भोजपुरको यात्रा
    धरानको सिद्धार्थ मार्गमा अवस्थित धरान बुद्ध विहार अति नै सुन्दर तथा दर्शनिय रहेछ । उक्त विहार भित्र पाइला टेक्नासाथ हामी सबैको मुखबाट “आहा कति राम्रो रहेछ” भनी अनायास नै वाक्य निस्कियो, जुन उचित पनि थियो । किनकी स्थानीय वासिन्दा श्री रमेश शाक्य दम्पत्तिको रेखदेखमा रहेको धरान बुद्ध विहार सुन्दर, स्वच्छ तथा शान्त थियो । यस विहार भित्र पाइला टेक्नासाथ नै “बुद्ध विहार भनेको यस्तो पो हुनुपर्दछ” भन्ने सुखानुभुतीको भाव सञ्चार भएको हामी सबैले महशूस गर्यौं ।


    यस धरान बुद्ध विहारमा भक्तपुर मुनि विहारका श्रद्धेय आलोक भन्ते वर्षावास बस्नु भएको रहेछ । त्यसैले भोलिपल्ट श्रद्धेय आलोक भन्तेबाट हामी सबैले त्रिशरण गमन सहित पञ्चशील ग्रहण, बुद्ध पूजा, धर्म श्रवण, पुण्यानुमोदन तथा श्रद्धा दान कुशल कार्य सम्पादन गर्न पाएर हामी सबै धन्य भयौं ।

    यसपछि श्री रमेश शाक्य दम्पत्तिबाट तयार पार्नु भएको जलपान ग्रहण पश्चात सबैसँग मैत्री आदानप्रदान तथा साधुवाद दिँदै वहाँहरुबाट पाएको आत्मिय सत्कार हृदयमा सँगालेर बिदा मागी विहानको करिब ९ः०० बजे हामी भानुचोक हुँदै पूर्वयोजनानुसार धरानमा हाल निर्माण हुँदै गरेको श्रमपार्क अवलोकन गर्न उक्त स्थल तर्फ लाग्यौं । ठूलो क्षेत्रफल ओगटेको निर्माणाधीन श्रमपार्क वास्तवमै सुन्दर रहेछ । निर्माणाधीन क्षेत्रमा जान निषेध गरेकोले निर्माण सम्पन्न भैसकेको पार्क क्षेत्रमा हामी सबै रमाइलो मानी घुम्दा र फोटो शेसनमा रमाउँदा करिब डेढ घण्टाको समय व्यतित भएको पत्तै पाइएन ।

    यसरी पार्क भ्रमण पश्चात धरानबाट भोजपुरसम्म १५१ कि.मि.को यात्राको लागी विहानको ११ः०० बजे तिर हिलेमा खाना खाने योजनाका साथ हामी हिले तिर लाग्यौं । करिब दुई सवा दुई घण्टाको धनकुटा हिले पुष्पलाल राजमार्गको निरन्तर पहाडी रमाइलो यात्रा तय गरी दिनको १ः०० बजे हामी हिले पुग्यौं । काठमाडौं देखिको धरान र धरान देखी हिलेको लामो पहाडी यात्राबाट अलि अलि थाकिसकेका हामी सबै खाना खाएर एकछिन सुस्ताउन हतारिएका थियौं । खाना खानकोलागि होटेल खोज्ने क्रममा गुम्बा होटेल नामको सानो गुम्बासँगैको होटेलमा बस्यौं । हिलेको शितल चिसो हावा अनि लोकल चामलको भात र दाउरामा पकाएको लोकल तरकारी अनि दाल धेरै नै मिठो मानी हामी सबैले पेटभरी खायौं । हामी सबै शाकाहारी भएकाले सबैले यात्रामा शाकाहारी भोजन नै गर्यौ, सबैठाउँमा मीठो भोजन खायौं । यो हामीहरुकोलागि सकारात्मक पक्ष हुन गयो । किनकी सबै ठाउँमा भोजन स्वादिलो र सुपाच्य अनि सस्तो (प्रतिव्यक्ति रु. १८० देखि २००मात्र) थियो । खाना खाएर केही बेर सुस्ताएपछि सबैको थकान मेटियो र पुनः यात्राको लागि तयार भई भोजपुरको यात्रा सुरु गर्यौं ।

    क्रमश: ……

  • ‘माखायात ग्वंगः माः’ म्यूजिक भिडियो सार्वजनिक

    ललितपुर, कार्तिक ४ गते ।

    नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हाल हङकङमा बस्दै आएका संगीतकर्मी कृष्णभक्त महर्जन र गायिका बानिका प्रधानबाट गाइएको गीत ‘माखायात ग्वंगः माः’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो । बिहिबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितीमा ललितपुरमा एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
    कार्यक्रममा ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्य, वरिष्ठ सिने पत्रकार बिजयरत्न तुलाधर, कीर्तिपुर नगरपालिकाका पूर्व नगर प्रमुख रमेश महर्जन लगायतले नेपालभाषाको संगीत क्षेत्रको दायरा फराकिलो हुँदै गएको विचार राखे । सार्वजनिक गरिएको गीतको संगीत संयोजक हरिशरण सायमिले गीत र म्यूजिक भिडियो निर्माण पक्षको बारे जानकारी गराए । गायक महर्जनको मन्तव्य भने भिडियो सामग्रीमार्फत राखिएको थियो । कार्यक्रममा गीत एवम् म्यूजिक भिडियो निर्माणमा योगदान दिने कलाकार, प्राविधिकहरुलाई सम्मान गरिएको थियो । वरिष्ठ कलाकार श्रेष्ठले कलाकार र प्राविधिकहरुलाई सम्मान पत्र प्रदान गरे ।
    सोही कार्यक्रममा संगीतकर्मी हरिशरण सायमि, गायक सतिश महर्जन, यमन श्रेष्ठ, बानिका प्रधान लगायतले गीत र कलाकार कृष्णभक्त महर्जनले नृत्य प्रस्तुत गरेका थिए । सार्वजनिक भएको गीत ‘माखायात ग्वंगः माः’ का रचनाकार र संगीतकार पनि गायक महर्जन नै हुन् । किरण जोशी र आराध्यालक्ष्मी खड्गी अभिनित म्यूजिक भिडियोको निर्देशन बालमुकुन्द प्रजापतिले गरेका छन् । छायाङ्कन र दृश्य सम्पादन शैलेस श्रेष्ठ लुभुले गरेका छन् । केभिएस लुभु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित म्यूजिक भिडियो गायक महर्जनकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

  • भक्तपुरमा शास्त्रीय संगीतसहितको ‘संगीत अर्पण’ कार्तिक २७ गते

    भक्तपुर, कार्तिक २३
    भक्तपुरमा यही कार्तिक २७ गते शास्त्रीय संगीतसहितको सांगीतिक कार्यक्रम संगीत अर्पण हुने भएको छ । पूर्वीय शास्त्रीय संगीतको विकास, सो सम्बधी अन्वेषण, शास्त्रीय संगीत सिक्ने संस्कारको विकास हेतु स्थापित भक्तपुरको संस्था ‘आराधना’को आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।
    संस्थाको उद्देश्य अनुरुप शास्त्रीय संगीत र साथमा नेपालकै मौलिक र परम्परागत बाद्यबादनका साथ भजन, आधुनिक गीत तथा नेपाली माटोको सुवास बोकेको लोकगीत समेतको प्रस्तुती राख्दै दुई बर्ष अघि शुरु गरिएको अभियान बिचमा कोरोनाका कारण रोकिएको तर नयाँ जोसका साथ यसपटक पुनः शुरु गरिएको संस्थाका सदस्य बिजेन्द्र चवालले बताउनुभयो ।
    संस्थाले आफ्नो प्रथम कार्यक्रम प्रसिद्ध शास्त्रीय तबला बादक तबला मायेष्ट्रो रबिन श्रेष्ठको सम्झनामा आयोजना गरेको थियो भने त्यसपछी ‘संगीत प्रबीण’ नरराज ढकालको सम्झनामा दोस्रो र नेपालकै प्रथम महिला धिमे बादक मानिने इन्दिरा लाछिमस्युको परम्परागत बाजाहरुको प्रस्तुति सहितको तेस्रो कार्यक्रम ‘म्युजिक फर पिस’ गरी तीन सांगीतिक शृंखला गरिसकेको छ । आराधनाको तेस्रो श्रृंखलामा संगीत ग्राम गुरुकुल नेपालका प्रमुख गायन प्रशिक्षक मिष्टर लोहलाको शास्त्रीय गायन सहित लक्ष्मण पलिखेल, प्रबिन शाही सहित अन्य गायक गायिकाहरुको प्रस्तुत रहेको आराधना समूहका अर्का सदस्य अनिस शाक्यले बताउनुभयो ।
    यसपटकको चौथो संस्करण भक्तपुर नगरपालिका गोलमढीस्थित झौरबही बहाल भित्र हुने र जसमा विगतमा झै नयाँ पुराना कलाकारहरुको समिश्रण रहने आराधना समूहका महेन्द्र सिंख्वालले बताउनुभयो ।
    कोभिडको जोखिम अझै रहेको कारण भिड्भाड नहुने र सामाजिक दूरी कायम हुने गरी कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ । कार्यक्रमले शास्त्रीय संगीत विकास र बिस्तारमा टेवा पुग्ने विश्वास लिईएको संस्थाका अर्का सदस्य शम्भोचरण राजभण्डारीले बताउनुभयो ।

  • नृत्य निर्देशक संघ नेपाल भक्तपुरको प्याब्सन पदाधिकारीलाई सम्मान

    भक्तपुर, कार्तिक १४
    नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाले जिल्लाका चार वटै नगरपालिकाका नव निर्वाचित प्याब्सन नगर कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई ज्ञापनका साथै सम्मान गरेको छ । नमस्ते ख्वप टिभी र नेपाल फोटो संसार प्रा.लि को सहकार्यमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नवनिर्वाचित प्याब्सनका पदाधिकारीहरुलाई सम्मान गर्नुभएको हो ।


    सो अवसरमा नगरप्रमुख श्रेष्ठ नृत्य दिवस मध्यपुर थिमिबाट शुरु गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ, प्याब्सन केन्द्रीय सचिव भुवन लाल श्रेष्ठ, प्याब्सन केन्द्रीय सह–कोषाध्यक्ष गणेश बाबु पोखरेल, राष्ट्रिय टेलिभिजन प्रसारक संघका अध्यक्ष शंकर अधिकारी, नमस्ते ख्वप टिभी का अध्यक्ष बालकृष्ण श्रेष्ठ लगायतले नृत्य विधालाई थप जनस्तरमा लगेर प्रतिभाको खोजीका लागि प्याब्सन । नृत्य निर्देशक संघले सहकार्य गरेर विद्यालयस्तरमा कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।


    सो अवसरमा नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको राहत कोष तथा नमस्ते ख्वप टिभीको स्टुडियो निर्माणको लागि संघका अध्यक्ष चुडामणि फुयाल, उपाध्यक्ष प्रदिप श्रेष्ठ, दिल कृष्ण प्रजापति, भुवन लाल श्रेष्ठ, विनोद काफ्ले, राम कुमार भट्टराई, कृष्ण कार्की, गणेश बाबु पोखरेल र अनिल न्यौपानेले सहयोग गर्नुभएको थियो ।


    नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाका अध्यक्ष चुडामणि फुयालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव गठित नृत्य निर्देशक संघ नेपाल चन्द्रागिरी नगर कमिटिलाई बधाई पत्रद्वारा सम्मान गरिएको थियो ।

     

  • दशैँ क्विनको विजेता बनिन अन्जु बुढाथोकी

    भक्तपुर, असोज २६
    व्यवसायी तथा समाजसेवी अन्जु बुढाथोकी नेपालीहरुको महान चांड बढादशैँ अर्थात विजयादशमीको अवसरमा काठमाण्डौंमा आयोजित दशैँ क्विन–२०७८ को विजेता बन्न सफल भएकी छिन ।
    त्यसैगरी दशैं क्विन – २०७८ कोत्यसैगरी फस्ट रनरअप ब्युटिसियन गीता मगर र सेकेण्ड रनरअपमा ब्युटिसियन सिर्जना कुँवर बन्न सफल भए ।
    लायन्स क्लब अफ काठमाण्डौँ अभियान तथा रोज शिप विकास तालिम केन्द्र रविभवनको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा बिजेताहरुलाई क्राउन, ट्रफी, मायाको चिनो लगायतका उपहार प्रदान गरिएको थियो ।
    वरिष्ठ सौन्दर्यविद सोनी कारंजितको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन रेश्मा श्रेष्ठ, लायन धानु सिंजाली मगर, गेल्मु शेर्पा बुढाथोकी, हरिकृष्ण गिरि, सुन्दर थापा, गीतकार सावित्रा चिलुवालको सहभागिता रहेको थियो ।
    दशैँ क्विन–२०७८ को विजेताहरुको छनोट निर्णायकहरु कोरियोग्राफर तथा संचारकर्मी जयान सुब्बा मानन्धर र निर्देशक कलाकार संचारकर्मी सुर्य चन्दले गरेका थिए ।

  • गायक प्रमोद खरेलको आवाजमा गीतकार श्रेष्ठको ‘बा आमा’(भिडियो सहित )

    भक्तपुर, भाद्र २३
    गायक प्रमोद खरेलको सुमधुर आवाज र विकास चौधरीको संगीतमा गितकार निश्चल श्रेष्ठको ‘बा आमा’ शिर्षकको गीत सार्वजनिक भएको छ । बाबु आमा प्रति सन्तानको भावना कस्तो हुनुपर्छ भन्ने विषयवस्तुमा तयार पारिएको गीत बा आमा कुशे औंसी, बाबुको मुखहेर्ने दिनलाई लक्षित गरी सार्वजनिक गरिएको हो ।
    एउटा सन्तानले आफ्ना आमा बुबालाई कुन रुपमा देख्छन् र महसुस गर्छन् भन्ने भाव गीतमा गहन रुपमा प्रस्तुत गरिएको छ । ‘यो गीत, गीत मात्र होइन, मान्छेको सोच बदल्ने कडी पनि बन्न सक्छ,’ गीतका रचनाकार श्रेष्ठले बताउनुभयो ।
    ग्लोबल प्रोडक्सन प्रा.लि.को युट्युब च्यानलबाट सार्वजनिक भएको गीत अहिले लिरिकल भर्सन छ भने चाँडै नै भिडियो निर्माणको क्रममा रहेको बताइएको छ । मिरा साउण्ड स्टुडियोमा रेकर्ड भएको यस गीतमा एरेन्जर रोशन बान्तवा, रेकर्डिष्ट सुबास कुथुमी राई, गीतार वर्क संजीव लिम्बु, ढोलक,तबला,मादल भरत बुढाथोकी, बाँसुरी संजीव मैनाली र मिक्सिङ गोविन्द सोनी गरेका हुन भने लिरिकल भिजुअल इडिट के.पी. देवकोटा तथा पोष्टर डिजाइन चिरंजीवी नौवागेले गरेका हुन ।
    गीतको टिकटक प्रतिस्पर्धा पनि आयोजना गरेको श्रेष्ठले बताएका छन् । उत्कृष्ट तीन जनालाई पुरस्कार स्वरुप गीतको अफिसियल म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्रदान गरिने छ ।
    विगत डेढ दशक देखि लामो संचार, सिनेमा र साहित्य क्षेत्रमा क्रियाशिल निश्चल श्रेष्ठका माया माया, पिरतीको खेल मैदान, नहेर त्यसरी, लुकी लुकी, कहाँ होला, अब हाम्रो मिलन हुन, लजाएर, लगायतका थुपै गीतहरु चर्चित छन् ।

  • युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई

    काठमाण्डौं, भाद्र ३

    १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाण्डौंमा आयोजना भएको युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललितपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् ।

    फोटो व्यवसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफिलाई अन्तर्राष्ट्रियमाझ पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फोटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताउनुभयो । प्रतियोगीतमा ३८ जिल्लाका ३ सय ६६ जना फाटोग्राफरले पठाएका ५ सय १३ वटा फोटोले सहभागिता जनाएका थिए । प्रतियोगिताको संयोजकको रुपमा सिनियर ल्याब टेक्निसियन हरि बहादुर पाण्डे, निर्णायक मण्डलहरुमा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाकोका वरिष्ठ फोटोग्राफर जेम्स बि सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस रहनु भएको थियो ।

    कार्यक्रममा माउन्टेन फोटोग्राफिका बादशाह जगदिश तिवारीले यस किसिमका प्रतियोगिताबाट नेपाली फोटोग्राफरहरुको व्यावसायिकतालाई महत्वपुर्ण सहयोग पुग्ने बताउनुभयो । अघिल्लो वर्ष फोटो पसलले कोभिड १९ फोटो प्रतियोगिता जनचेतनामुलक र फ्रन्ट लाईनमा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी, र पत्रकारहरुको सम्मानमा संचालन गरेको थियो ।

    फोटो पसलले यो पटक फोटो व्यवसायी र फोटोग्राफरहरुलाई विश्व फोटो दिवसको महत्व र फोटोग्राफरको सम्मान, फोटोको मुल्याङकन गर्दै क्षमता विकास गराउने र यस प्रतियोगितामा सहभागिहरुलाई निशुल्क तालिमको व्यवस्था गरेको छ । प्रतियोगिताको संचालन कार्यक्रम प्रस्तोता राजाराम गौतमले संचालन गर्नुभएको थियो ।

  • भक्तपुरका संगितकर्मीहरुले सम्झिए गायक अरुण थापा

    भक्तपुर, साउन ६
    कालजयी गीतमा गायक अरुण थापाको २२ औं स्मृति दिवसको अवसरमा मंगलवार साँझ भक्तपुरका संगितकर्मीहरुले उनलाई सम्झिएका छन । भक्तपुर सांगीतिक समाजले गायक थापाका गीतमार्फत उनलाई सझिएका हुन ।
    भक्तपुरको दुधपाटीस्थित टिसा इनमा भएको सांगीतिक श्रद्धाञ्जली कार्यक्रममा सहभागी कलाकारहरुले स्व. थापाका गीतहरु गुनगुनाउनुका साथै उनको स्मृती जोडिएका विविध पक्षहरुबारे समेत विचार आदानप्रदान गरेका थिए ।
    स्वर्गीय थापाले गाएको राष्ट्रिय गीत ‘करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल बोलको धुन’बाट शुरु भएको सांगीतिक श्रद्धाञ्जली कार्यक्रममा गायक शम्भोचरण राजभन्डारीले ‘तिमी राम राम भजी बाँच’ भन्ने कामना गरे भने वरिष्ठ गायक सत्यनारायण प्रजापतिले ‘चोट के हो ब्यथा के हो’ मार्फत गायक थापाको निधनबाट सांगीतिक क्षेत्रमा परेको चोट सम्झाए ।
    भक्तपुर सांगीतिक समाजका उपाध्यक्ष समेत रहेका गायक कपिल कस्पालले ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौँ’ मार्फत संगीतका बसन्त बनेका थापाप्रति श्रद्धासुमन व्यक्त गरे भने गायक बिजेन्द्र चवालले ‘भुलु भुलु लाग्यो’ गाउँदै गायक थापालाई भुल्न दिएनन् ।
    त्यसैगरी गायक कुबेर राइले ‘जति माया लाए पनि जति कसम खाएपनि’ बोलको गीत गाएर स्व. थापाप्रतिको माया झल्काए । गायक श्रीजल मधिकर्मीले ‘आँखाको निद’ बोलको गित गाएर स्व. थापालाई सम्झिए ।
    कार्यक्रममा गायिका रोशिका देउजाले पनि ‘ऋतुहरु’मा प्रस्तुती दिईन् भने गायक सुनिल लोहलाले ‘लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो’ गाउँदै गायक थापाको अभावले खट्किएको संगीत क्षेत्रकै कथा सुनाए ।

    कार्यक्रममा किबोर्डमा वरिष्ठ संगीतकार कृष्ण सुन्दर सुखुजु, हार्मोनियममा शम्भोचरण राजभण्डारी, रिदम गितारमा सुनिल लोहला, गितारमा सरोज केसी र तबलामा रोशन भासिमाले साथ् दिएका थिए ।
    कार्यक्रममा स्व. थापाको कर्णप्रिय गीत ‘चोट के हो ब्यथा के हो’ का रचयिता समेत रहेका वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेल र अर्का वरिष्ठ गीतकार एवं गायक रोशनकुमार राजभण्डारीको पनि उपस्थिती थियो ।
    भक्तपुर सांगीतिक समाजले स्व. गायक थापाको स्मृतीमा विगत ४ वर्षदेखि निरन्तर श्रद्धाञ्जली कार्यक्रम गर्दै आइरहेको छ । समाजका अध्यक्ष एवं गायक प्रविण शाहीको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा सचिव अल्बर्ट बज्राचार्य, किरण सुवाललगायतले स्व. थापाको जीवनका विविध पक्षबारे चर्चा गरेका थिए ।
    कार्यक्रममा समाजका आजीवन सदस्यद्वय रुकेश रन्जीत र रविन थापालाई उनीहरुले सामाजिक जीवनमा पाएको सफलताका लागि सम्मान समेत गरिएको थियो ।
    गुडविल कन्सल्टको प्रायोजनमा सम्पन्न कार्यक्रममा फोटोग्राफ पार्ट्नर क्याप्चर मोसन नेपाल र साउण्ड पार्टनर आराधना समूह रहेको थियो । त्यसैगरी मिडिया पार्टनरमा भक्तपुर पोस्ट र जनसंचार टिभी रहेका थिए ।
    वि. सं. २००८ सालमा जन्मिएका थापाको २२ वर्ष अघि २०५६ साल साउन ५ मा बागबजारमा देहान्त भएको हो । उनको भौतिक जीवन छोटो भएपनि सांगीतिक जीवन भने अजर अमर रहेको छ । उनले गाएको ‘ऋतुहरूमा तिमी’ बोलको गीत बिबिसीको सर्वेक्षणमा विश्वमा सातौं स्थानमा रहन सफल भएको थियो ।

  • मध्यपुर थिमिको शंखधरचोकदेखी बोडेसम्म सम्पदा पदयात्रा

    मध्यपुर थिमिको शंखधरचोकदेखी बोडेसम्म सम्पदा पदयात्रा

    भक्तपुर, असार ३१
    कुनै बेला फोहोर र झारले भरिएको मध्यपुर थिमि शंखधरचोकको पश्चिमतर्फको डाँडा अहिले पार्कको रुपमा रुपान्तर भइरहेको छ । नगरपालिकाले शंखधर पार्कको रुपमा यसलाई विकास गरेको छ । पार्कमा तीन धारे ढुंगेधारा निर्माण गरिएको छ । ठाउँठाउँमा हरिया दुवो रोपिएको छ । सिँढीले पार्कलाई थप आकर्षित बनाएको छ ।
    बालकुमारी मन्दिरको दक्षिण पश्चिमतर्फको पोखरी जिर्ण अवस्थामा थियो । केही महिना अघि नगरपालिकाले यसको जिर्णाद्धारको थालनी ग¥यो । अहिले यसले पूर्णता पाउँदैछ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बिहिवार पोखरीको मुख्य प्रवेशद्धारमा गजुर पदस्थापन गर्नुभयो ।


    त्यसैगरी वामुने टोलमा वामुने गणेशको मन्दिर पुनःनिर्माणको कार्य अन्तिम चरण रहेको छ । मन्दिरको गजुरमात्र राख्न बाँकी रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । यो मन्दिर गत बैशाख ११ गते पुनःनिर्माण शुरु गरिएको थियो ।
    मध्यपुर थिमि नगरपालिका भित्र शंखधरपार्क, बालकुमारी पोखरी, वामुने गणेशको मन्दिरको मात्र होईन दर्जनौ मठमन्दिर, पाटी पौवा, पोखरी, ढुंगेधारा, बिहारजस्ता सम्पदाहरुको पुनःनिर्माण तथा जिर्णोद्धार र संरक्षणका कार्य भइरहेका छन ।


    नगरपालिका जनप्रतिनिधि बहाल भएको चार वर्षमा ११३ वटा विभिन्न सम्पदा निर्माण तथा जिर्णाद्धारको काम भएका छन । ती मध्ये २३ वटा मन्दिर, ३७ वटा फल्चा (पाटी), २५ ढुंगेधारा, २० इनार, ५ बिहार र ३ वटा दरबार छन ।
    नगरपालिकाले सम्पदा निमार्ण तथा जिर्णोद्धारमा चार वर्षमा ७५ करोड खर्च गरिसकेको र आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि थप ३५ करोड विनियोजन गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।


    मध्यपुर थिमिलाई आन्तरिक तथा बाह्य पयर्टकको गन्तव्यस्थलको रुपमा विकास गर्न नगरपालिकाले शंखधरचोकदेखी बोडेसम्म सप्पदा पदमार्ग विकास गरेको छ । सोही पदमार्गको प्रचार प्रसार र नगरका सम्पदाहरुको अवलोकन गराउन बिहिवार नगरपालिकाले पत्रकारहरुलाई सम्पदा पदयात्रा गराए । मध्यपुर थिमिमा भइरहेको पुनःनिर्माण र विकासका कार्यलाई स्थलगत अवलोकन गरेर अनुभुती गरौं भन्ने उद्देश्यले पत्रकारहरुलाई सम्पदा पदयात्रा आयोजना गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।


    शंखधरचोकबाट शुरु भएको पदयात्रा शंखधरपार्क, बालकुमारी, वामुने टोल, विष्णुवीर, विष्णुकुन्ड, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, निगुपुखुः (दुई पोखरी) सिद्धिकाली मन्दिर परिसर, दिगु बहा, नगदेशहुँदै बोडेको कुमारी मन्दिर परिसर र पार्कमा पुगेर समापन भएको थियो ।
    पदयात्राका क्रममा नगरप्रमुख श्रेष्ठले सम्पदा पदमार्गमा रहेका महत्वपूर्ण मन्दिर, पोखरी, फल्चा, ढुंगेधारा, बिहार, दरबार, पार्कको बारेमा जानकारी दिनुभएको थियो ।


    पदयात्रामा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. ४ का वडाअध्यक्ष कुमार श्रेष्ठ, नगरपालिकाका प्राविधिक ई. प्रेमलाल भासिमा, विभिन्न सञ्चारमाध्यमका करिव तीन दर्जन सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

    तस्विर सौजन्य ः रामगोपाल तमाखु