न्यूजअफ, ललितपुर, बैशाख २ गते ।
ललितपुरको माझखण्डस्थित माझखण्ड बुद्ध विहारमा अल्पकालिन रुपमा २०८१ चैत २० गतेदेखि २०८२ बैशाख २ गतेसम्म विभिन्न सिकाई एवं अभ्यासका अनुभवहरु संगाली चित्त परिशुद्ध पार्ने विधि सिकेर अल्पकालिन रुपमा “सतकुलपुत्र दुर्लभ श्रामणेर प्रव्रज्या”मा प्रव्रजित श्रामणेरहरु चीवर छोडेर आज गृहस्थी जीवनमा फर्केका छन् ।
विश्व शान्ति विहार एवं माझखण्ड बुद्ध विहारका विहारप्रमुख भिक्षु बोधिज्ञान महास्थविरले उक्त विहारमा हिजो आयोजित समापन समारोहका बीच श्रामणेर जीवनलाई छाडेर गृहस्थी हुन पाउँ भनी प्रार्थना गरेका अल्पकालिन नव श्रामणेरहरुलाई अनुमति दिनुहुँदै पञ्चशील प्रदान गर्नुभई गृहस्थी जीवनमा नै फर्काउनुभयो ।
उहाँले वल्र्ड बुद्धिष्ट अर्गनाइजेसनमा विश्व शान्ति विहार पनि आवद्ध रहेकाले अर्गनाइजेसनको घोषणापत्र अनुसार अन्तर्राष्ट्रिय बौद्ध दिवस मनाउन गरिएको आव्हानले सतकुलपुत्र श्रामणेर प्रव्रज्या कार्यक्रम गरिएको बताउनुभयो । कहिँ कतै गल्ती भएको छ भने चित्त दुखेको, रीस उठेको छ भने एकापसमा क्षमा मागी रीस शान्त गर्न सकिने ओवाद दिनुहुँदै उहाँले अल्पकालिन समयावधिका लागि श्रामणेर प्रव्रज्यामा सहभागी हुनुभएका श्रामणेरहरुलाई सम्झाउनु भएको थियो ।
समापन समारोहका प्रमुख अतिथि बागमती गाउँपालिका वडा ५ का वडाअध्यक्ष नवराज तिमिल्सिनाले आफू अध्यक्ष हुनु भन्दा अगाडिदेखि नै बुद्ध विहारलाई सक्दो सहयोग गरीरहेको र सहयोगलाई निरन्तरता दिइरहने वचन दिनुभयो ।
उक्त श्रामणेर प्रव्रज्यामा प्रव्रजित हुनुभएका काठमाण्डौ गुहेश्वरीका सुधीर कार्कीले उहाँले आफ्नो छोरालाई पनि सँगै प्रव्रजित गराउन ल्याएको र पछि घरमा जाँदा पनि कार्यक्रममा यी यी कुराहरु सिकियो भनी एकआपसमा छलफल गर्न पाइन्छ । त्यसैले आफ्ना नाता परिवारबाट पनि प्रव्रज्यामा सहभागीहरु बढाउनुपर्छ भन्नुभयो ।
त्यस्तै अर्का सहभागी भैंसीपाटी ललितपुरका नविन डंगोलले पनि बुद्ध शिक्षा बुबाले पनि सिक्न सकोस भनी सँगै प्रव्रजित गराउन ल्याएको पहिले पढेको र सुनेको कुराहरु माझखण्डमा आएर चंक्रमण गर्दै, जंगलमा गएर ध्यान गर्दा अनुभव पनि गर्न पाउँदा कतिपटक त भावविभोर समेत भएको स्मरण गर्नुभयो । उहाँले प्रव्रजित भई विहारमा रहँदा विभिन्न उमेर समूहका फरक फरक विचार र दृष्टिकोणका नवश्रामणेरहरुसँग मिली सामूहिक रुपमा काम गर्दा उहाँभित्र पनि कति क्लेशहरु रहेछ भनी हेर्न पाएको समापन समारोहमा सुनाउनुभयो ।
विश्वशान्ति विहार, माझखण्ड बुद्ध विहार र धम्मकाय विहारको संयुक्त आयोजनामा चैत २० गते नाम दर्ता गरी नेक्खमी पारमीको अभ्यास गरी घरबार, आफन्तजन, साथीसंगी त्यागी नयाँ अनौठो र नौलो जीवनको शुरुवात गरेका ९ वर्षदेखि ८२ वर्षसम्मका नेपाली कुलपुत्रहरु दश पारमिताको अभ्यास गर्दै बैशाख २ गतेसम्म अल्पकालिन प्रव्रजित जीवन बिताई आ–आफ्ना घर फर्केका हुन् ।
पूर्ण जीवनकालमा प्रव्रजित हुन नसकेका वा नपाएकाहरु केही समयको लागि अल्पकालिन रुपमा भएपनि प्रव्रजित भई भगवान बुद्धले सिकाउनु भएको त्यागी जीवन बिताइ, उपेक्षा, मैत्री, करुणाको जीवनमा जिएर, भिक्षाटन वा दानबाट जीवन निर्वाह गरी भगवान बुद्धको शिक्षा शील, समाधि र प्रज्ञाको अभ्यास गरेका छन् । उनीहरुले आन्तरिक सौन्दर्य, मनको शान्ति प्राप्ती गर्ने मूलस्रोततर्फ कदम अघि बढाउने अभ्यास गर्न पाएका छन् ।
जसमा चैत २२ गते केश छेदन, २३ गते स्थानीय क्षेत्रमा भिक्षाटन, २६ गते अन्तर्राष्ट्रिय बौद्ध दिवस मनाई दीप प्रज्वलन, २०८२ साल नववर्षको पूर्वसन्ध्यामा चैत ३१ गते रातको ८ बजेदेखि बैशाख १ गते बिहानको ४ बजेसम्म लगातार ध्यान भावना गरी, १ गते नै पुनः स्थानीय क्षेत्रमा भिक्षाटन गरेका छन् ।
समापन समारोहमा सहभागी श्रामणेरहरुलाई स्मरण पत्र, दाताहरु एवं सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
अखिल नेपाल भिक्षु महासंघको संरक्षकत्वमा शाक्यसिंह विहारको सह आयोजना तथा प्रव्रज्या सामाजिक नेपालको व्यवस्थापनमा सो दुर्लभ प्रव्रज्या कार्यक्रमको आयोजना गरिएको हो ।
Category: भर्खरै
-
“सतकुलपुत्र दुर्लभ श्रामणेर प्रव्रज्या” का अल्पकालिन श्रामणेरहरु मनको शान्तिको मूलस्रोततर्फ कदम चाल्दै नयाँ अनुभवहरुका साथ बैशाख गृहस्थी जीवनमा फर्के
-
बिस्काः जात्रा मनाउने क्रममा रथले किचेर एक जनाको मृत्यु
लक्ष्मी गारु, भक्तपुर, बैशाख १
भक्तपुरमा बिस्काः जात्रा मनाउने क्रममा भैरवनाथको रथले किचेर आइतवार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका ४ घर भई हाल सूर्यविनायक नगरपालिका ८ सिपाटोलस्थित इटबू बस्ने ३६ वर्षिय सुशिल तमखु हुन ।
बिस्काः जात्राको चौंथो दिन आइतवार भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो योसिं ठड्याउन भैरवनाथको रथलाई गाःहिटीबाट योसिंखेल लैजाने क्रममा तमखूलाई रथले किचेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
रथले तमखूको शरीरको बीच भागमा किचेको र उनको घटनास्थलमा नै मृत्यु भएको उहाँले बताउनुभयो । -
नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी पुरा
भक्तपुर, चैत्र २९
प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटलाई केन्द्रबिन्दूमा राखेर भक्तपुर, काठमाण्डौं र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रुपमा बैशाख १ गतेदेखि आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को सम्पूर्ण तयारी पुरा भएको छ ।
नगरकोटमा एक लाख विदेशी र १० लाख स्वदेशी गरि ११ लाख पर्यटक भित्र्याउने गरि नगरकोटसंग सिमाना जोडिएका चाँगुनारायण, मण्डनदेउपुर, वनेपा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को चारवटै पालिकाले शुत्रलवार पत्रकार सम्मेलन गरी ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को तयारी पुरा भएको जनाएको हो ।
नगरकोट भ्रमण वर्ष–२०८२ संयुक्त सचिवालयको आयोजना तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा आयोजित पत्रकार सम्मेलनमा नगरकोट भ्रमण वर्ष–२०८२ मूल आयोजक समितिका संयोजक एवं मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईबाले तयारी पुरा भएको जानकारी दिनुभएको हो ।
पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘बैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट नगरकोट भ्रमण वर्षको उद्घाटन बतासेडाँडा हुनेछ । नगरकोट केन्द्रीत गरेर बैशाख २ र ३ गतेसम्म भव्य रुपमा मनाउने छौँ । त्यसका लागि प्रचारप्रसार तिब्र पारेका छौँ । भ्रमण वर्षको उद्घाटन लगायतका कार्यक्रमहरुको तयारी चारवटै नगरपालिकाले संयुक्त रुपमा पुरा गरेका छौँ ।’
नगरकोट आउने पर्यटकहरूको बसाई लम्ब्याउदै स्थानीय संस्कृति र स्वादको अनुभव गराउने उद्देश्य सहित रैथाने बालीका परिकारहरु, खाना, कोदो, फापरका परिकार पर्यटकलाई चखाउने योजना अनुरुप गाउँ गाउँमा नमुना होमस्टे बनाइएको बताउनुभयो ।
भ्रमण वर्षको एक वर्ष अवधिभर नगरकोट आउने पर्यटकलाई चार वटा नगरपालिका भित्रका विभिन्न ऐतिहासिक, पुरातात्विक मठमन्दिरलगायत अन्य विविध धार्मिक, पौराणिक, आध्यात्मिक, सांस्कृतिक, क्षेत्रहरूको भ्रमण गराउने, हिमाली दृश्यहरू, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनसंगै यहाँका कृषि, पर्यावरणीय पर्यटनको मनोरम दृश्यावलोकन गरिने र मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्नो कार्यकालको पहिलो बैठकमै भ्रमण वर्ष मनाउने घोषणा गरेकोमा अहिले चारवटै नगरपालिकाको सहकार्यसहित नगरकोटलाई पर्यटकीय केन्द्रबिन्दु बनाउन भ्रमण वर्ष मनाउन लागेको बताउनुभयो ।
नगरप्रमुख खत्रीले भन्नुभयो, ‘नगरकोटलाई सरकारबाट पर्यटकीय क्षेत्र घोषणा गराउन र मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो कार्यपालिकाको पहिलो बैठकको निर्णयलाई पुरा गर्न हामी तयारीमा जुट्यौ, त्यतिबेला नै नगरकोटसँग सिमाना जोडिएका छिमेकी पालिकाका प्रमुखहरुसंगको छलफलबाट संयुक्त रुपमा भ्रमण वर्ष मनाउने निर्णय गर्यौ, यो एक वर्ष भरि मनाउने भ्रमण वर्षमा नगरकोटबाहेक चारवटै पालिकाले दुई दईवटा मख्य कार्यक्रम गर्ने र अरु आ–आफ्ना पालिकाको वडागत रुपमा पनि मनाउने गरि अगाडि बढ्यौ ।’
पत्रकार सम्मेलनमा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले नगरकोट भ्रमणमा आउने पर्यटकहरू बनेपाको चण्डेश्वरी मन्दिरसम्म पदयात्रा गराउन सकिने, यहाँका जात्रा परम्परामा पर्यटकलाई जोड्ने, जलजले ताल, गुम्बालगायतमा पर्यटकलाई लैजान सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नगरकोटमा प्रदुषणका कारण हिमाल देख्न छोडियो, सूर्योदय र सूर्यास्त मात्रै हेर्न पर्यटक धेरै रात बस्दैनन, पर्यटकको बसाई लब्याउन नगरकोट आएका पर्यटकलाई नगरकोटबाट बनेपा घुमेर फेरी नगरकोट आएर बास बस्ने गरि बसाई लम्ब्याउन सकिन्छ ।’
चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले भ्रमण वर्षमार्फत स्थानीय प्राकृतिक तथा धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने बताउदै पर्यटन, कृषि पर्यटन, विभिन्न जातजाति, भेषभूषा जात्रा, पर्व र सांस्कृतिक पहिचानलाई भ्रमण वषले उजागर गर्ने बताउनुभयो ।
मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले नगरकोटको समग्र विकासका लागि चारवटै पालिकाको साझेदारीमा नगरपालिकाको डीपीआर बनाउने काम भइरहेको बताउनुभयो । उहाँले नगरकोटमा मात्र पर्यटक सीमित भइरहेको अवस्थामा चार वटै पालिकामा पर्यटक पर्याउन भ्रमण वर्ष सफल हुने बताउनुभयो ।
भ्रमण वर्षको शुभारम्भका दिन बतासे डाँडामा ५० भन्दा बढी स्टलहरू रहनेछन् । यस्तै फुड स्टल तथा कृषि सामग्रीका स्टल, गुरुङ समुदायको संग्राहलय तथा प्रत्येक पालिकाका छुट्टाछुट्टै झाँकी भ्रमण वर्षको कार्यक्रममा प्रस्तुत गरिने छ ।
बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्डको प्रबद्र्धन रहने भ्रमण वर्ष सफल पार्न मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाइबाको संयोजकत्वमा चारवटै नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, वडाध्यक्ष, पूर्व तथा वर्तमान जनप्रतिनिधि, सामाजिक संस्था, पर्यटन व्यवसायी लगायत १ हजार १ सय १ सदस्यीय संयुक्त मूल आयोजक समिति र विभिन्न ९ वटा उपसमिति पनि गठन गरिएको छ ।
होटल व्यवसायीहरूले बैशाख ३ गतेसम्म १५ प्रतिशत र भ्रमण वर्ष अवधिभर १० प्रतिशत छुट दिने घोषणा गरेको बताउदै काठमाडौं–नगरकोट सिधा बस सेवा पनि सुरु गरिएको उपप्रमुख बुढाथोकीले बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाले भक्तपुर नगरकोट सडक स्तरोन्नती गर्न बोलपत्र आव्हान गरिसकेकोले आगामी जेठसम्म सडक निमाण हुने बताउदै उपप्रमुख बुढाथोकीले चारवटै नगरपालिकाबाट नगरकोट जोड्ने सडक स्तरोन्नतिको काम गरिरहेको र पदमार्गलाईसमेत चलायमान बनाइने बताउनुभयो ।
भ्रमण वर्ष सचिवालयका बिज्ञ डा. घनश्याम खतिवडाले चैत महिनामा राष्ट्रिय सहकारी दिवसको विशेष कार्यक्रम र नगरकोट भ्रमण वर्ष स्मारिका प्रकाशन गरिने, कार्यक्रमहरु समेत आयोजना गरिने बताउनभयो । -
खुल्ला धिमे बाजा प्रतियोगितामा श्री राज गणेश धिमे खलः प्रथम
भक्तपुर, चैत्र २९
मध्यपुर थिमिको भुलाँखेलमा बिहिवार सम्पन्न खुल्ला धिमे बाजा प्रतियोगितामा श्री राज गणेश धिमे खलः प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र नित्यनाथ धिमे खलःको संयोजनमा सम्पन्न प्रतियोगितामा मध्यपुर थिमि–४ को श्री राज गणेश प्रथम भएको हो । श्री राज गणेशले शिल्ड, प्रमाणपत्रका साथै नगद ५० हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा सूर्यविनायक नगरपालिका–२ सिरुटारको श्री नासः धिमे खल दोस्रो हुन सफल भयो । श्री नासः धिमे खलःले नगद २५ हजारका साथै शिल्ड, प्रमाण पत्र प्राप्त गरे । यसैगरी मध्यपुर थिमिकै सिवा सायमी खलः तेस्रो र काभ्रेपलाञ्चोकको पनौतीस्थित नेवाः देय् दबूले सान्त्वना पुरस्कार प्राप्त गरे । सिवा सायमी खलःले नगद १५ हजार, शिल्ड, प्रमाण प्राप्त गरे भने नेवाः देय् दबूले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगितामा विजयी खलःलाई पुरस्कृत गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले स्थानीय कला संस्कृति, बाजागाजाको संरक्षणमा विशेष जोड दिइरहेको बताउनुभयो । उहाँले यहाँको बाजाहरुमा युवा पुस्ताको आकर्षण बढाउन वर्षेनी प्रतियोगिताहरु गर्दै जाने र यस्ता प्रतियोगितामा नगरका सबै वडाहरुमा आलोपालो गर्ने योजना रहेको सुनाउनुभयो । यसैक्रममा आगामी बैशाख १३ गते वडा नं. १ लोहकिल्थलीमा बाँसुरी बाजा प्रतियोगिता हुन लागेको जानकारी गराउनुभयो ।
उहाँले नगरपालिकाले पछिल्ला वर्ष संस्कृति संरक्षण, वातावरण सरसफाई र पर्यटनको क्षेत्रमा उल्ल्ेख्य कार्य गरेको र यसैको मूल्यांकन गरी नगरपालिका संघले मध्यपुर थिमिलाई संस्कृति, पर्यटन र वातावरणमा नेपालकै उत्कृष्ट नगरपालिका घोषणा गरेर पुरस्कृत गरेको बताउनुभयो ।
उहाँले नगरपालिकाले नगरभित्रका सार्वजनिक जग्गा संरक्षण गरी बहुउपयोगी बनाउने योजना अनरुप कार्य अगाडि बढाएको बताउनुभयो । उहाँले नगरवासीलाई निःशुल्क शिक्षा, स्वास्थ्य उपलब्ध गराउने प्रमुख प्राथमिकता रहेको बताउँदैं पूर्वाधार विकासमा पनि नगरपालिकाले विशेष योजनाका साथ कार्य गरिरहेको जानकारी गराउनुभयो । -
दीप प्रज्वलनका साथ माझखण्ड बुद्ध विहारमा अन्तर्राष्ट्रिय बौद्ध दिवस मनाइयो ।
सुनीता तुलाधर, ललितपुर, चैत २८ गते ।
विश्वशान्ति विहार एवं माझखण्ड विहारका विहारप्रमुख भिक्षु बोधिज्ञान महास्थविरले जापानको वल्र्ड बुद्धिस्ट सुप्रिम कन्फरेन्सको आयोजनामा भएको सम्मेलनको घोषणापत्र अनुसार अप्रिल ८ लाई अन्तर्राष्ट्रिय बौद्ध दिवसको रुपमा मनाउने निर्णय भएको जानकारी दिनुभयो । सोही अनुसार ललितपुरको माझखण्डस्थित माझखण्ड बुद्ध विहारमा गत मंगलवार बालक सिद्धार्थको प्रतिमामा जलअर्पण, धर्मचक्र पाठ, ध्यान भावना र दीप प्रज्वलन गरी अन्तर्राष्ट्रिय बौद्ध दिवसको मनाइएको छ ।
विश्व शान्ति विहार, माझखण्ड बुद्ध विहार र धम्मकाय विहारको संयुक्त आयोजनामा मनाइएको बौद्ध दिवसमा नेपालका भिक्षुहरुलगायत थाईलाण्डका भिक्षुहरु एवं नवप्रवजित सतकुलपुत्र श्रामणेरहरु, गुरुमाहरु एवं उपासकउपासिकाहरु सम्मिलित भएका थिए ।
भिक्षु विनित महास्थविर एवं भिक्षु बोधिज्ञान महास्थविरले बालक सिद्धार्थको प्रतिमामा जलअर्पण गर्नुभएपछि उपस्थित भन्तेहरुले पनि प्रतिमामा जलअर्पण गर्नुभएको थियो ।
उक्त अवसरमा ओवाद दिनुहुँदै भिक्षु विनित महास्थविरले सो विहारमा अनेक प्रकारले पुण्य गर्ने सुअवसर पाएको नै बोधिज्ञान भन्तेको मेहेनतले हो भन्नुभयो । “उहाँको योगदानले आज हामी यो माझखण्ड विहार आएर दिनभरी अनेक प्रकारले पुण्यहरु गरी, पुण्य संचय गरी, आफ्नो मनलाई शान्त गरेर बसीरहेको समय हो” उहाँले भन्नुभयो ।
‘दीपदो होति चक्खुदो’ अर्थात दीप वा बत्ती नै आँखा हो । उहाँले बुद्ध धर्ममा दीप प्रज्वलनले ज्ञानको ज्योतिलाई इंगित गर्दछ । ‘घनसारा परीद्देन दीपेन तमधंसिना’ राग द्वेष मोहले अन्धकारमा परीरहेकाहरुलाई भगवान बुद्धको ज्ञानको ज्योतिले अन्धकार नष्ट गरीदिंदा सत्यलाई बोध गर्ने सुअवसर पाउँछ भन्नुभयो ।
थाईल्याण्डको धम्मकाय विहारबाट आउनुभएका भन्तेहरुले नेतृत्व गर्नुभई भगवान बुद्धले प्रथम पटक पञ्चवर्गीय भिक्षुहरुलाई धर्मदेशना दिनुभएको “धर्मचक्र पाठ” गरीएको थियो ।
विहारको नवनिर्मित अनागारिका भवनको कौसीमा धर्मचक्र पाठपछि भिक्षु, अनागारिका एवं उपासकउपासिकाहरुले केही समय ध्यान भावना पनि गरेका थिए । लगत्तै विहारप्रमुख एवं कार्यक्रम संयोजक भिक्षु बोधिज्ञान महास्थविरले भगवान बुद्धको अगाडि दीयो बाली दिवसको अवसरमा दीप प्रज्वलनको शुभारम्भ गर्नुभएको थियो ।
सबैजनाले दीयो बालेर दीयो हातमा लिई अनागारिका भवनबाट विहारको माथिल्लो तल्लामा अस्थिधातु रहेको चैत्यलाई परिक्रमा गरी पुनः अनागारिका भवनको कौसीमा फर्की दीप प्रज्वलनका साथ अन्तर्राष्ट्रिय बौद्ध दिवस मनाइएको थियो । -
मल्लकालिन परिवारलाई इगिंत गर्ने नवदुर्गाको ङालाकेगु जात्रा
लक्ष्मी गारु, भक्तपुर, चैत्र २७
भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक महत्वको नवदुर्गा देवगणको ‘ङालाकेगु(माछामार्ने)जात्रा मल्लकालिन परिवारलाई दर्शाउने जात्रा हो । तान्त्रिक विधियुक्त जात्राले मल्लकालिन समयमा नेवार जनजीवनमा सबैसँग मिलेर बस्ने, संयुक्त परिवारमा बसी कामगर्ने, ठूलालाई आदर सत्कार, सानालाई मायाप्रेम, सामाजिक मर्यादा, रितिरिवाज, भेषभुषा, रहनसहन, खानपिन आदिलाई चरितार्थ गरिएको छ ।
तान्त्रिक विधिको माध्यमबाट मानव शरीरमा देवत्व प्रतिष्ठापित गरी बोलेर भन्दा निश्चित भाव संकेतद्धारा संवाद प्रस्तुत गरी मनाइने जात्राले मल्लकालिन समयको संयुक्त परिवारलाई इंगित गर्ने नाचको रुपमा ङालाकेगु जात्रालाई लिन मिल्ने ईतिहास एवम् संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । “नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुशरणको संकेत नाचमा प्रस्तुत गरिएको छ । सबै देवगणलाई देवगृहमा भित्र्याउने, निस्कासित गर्ने दायित्वसँगै नेवार समुदायमा मानिसको जन्मदेखी मृत्युसम्मको संस्कारमा नकी(घरमुली)ले संस्कार निभाउने भावप्रधानयुक्त नाच हो । उहाँले भन्नुभयो,” “जात्राले मल्लकालिन समयमा नेवार समुदाय र संस्कारमा नंकी प्रधान भन्ने मुल सन्देश जात्रामा देखाएको छ ।”
नगदुर्गा देवगणमा पित्तलको सानो मन्दिरलाई सिफोद्यः(महालक्ष्मी)को प्रतिक लिइन्छ । नाचमा भैरव, महाकाली, बाराही, ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, ईन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव, सिम्हदुम्ह (नन्दीभृंगी) गरी १३ मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ । त्यसाहेक खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र र नकींगरी १९ जनाको समूह हुन्छ । नाचमा सबै दैत्यहरुको संहार गरी रगत थाप्ने विषेश खालको महापात्र(खप्पर)लाई त्रिपुरासुन्दरीको प्रतिक मानिन्छ ।नाचमा मुबाहा(सुँगुरबली)को रगतमा चिउरा मिसाएर बनाएको(धौबजी)लाई प्रसादको रुपमा देवगणले ग्रहण गर्छ । यो विधि भैरव महाकालीले गर्छ । जात्रामा उनीहरुलाई गणका आमाबुबाका रुपमा लिइन्छ । महाकालीले धौबजी वितरण गर्दा महेश्वरीले लिइन्दैन । महेश्वरीलाई वर्खी वाँडेकी देवीका रुपमा पुजिन्छ ।
माघे संक्रान्तिको भोलीपल्ट सुजमारीबाट शुरुगर्ने जात्रा नगरका २१ स्थान लगायत काठमाडौंको जयबागेश्वरी, थिमी, बनेपा, पनौती, साँखु, चाँगुनारायण, साँगा, श्रीखण्डपुर, टोखा, नालामा प्रदर्शन गरिन्छ । जात्रा शुरु गर्नु एकदिन अगाडि वापी पाछाकिगु जात्रा भनी सुजमारी टोल परिक्रमा गरेर राती खःप्याखं प्रदर्शन गरी मुःवाहा( जात्रा गर्ने परम्परा छ ।
जात्रामा प्रर्दशन गर्ने नाचहरु
भैरबनाथको नाचबाट जात्रा शुरु गरिन्छ । गीतको बोल, बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलिबेटीको दुःख, शाकाहारी, मासांहारी जस्ता विषयवस्तुहरुमा नाच प्रर्दशन गरिन्छ । भैरबको बाहुलीबाट पूजा गर्ने, बलिदिने, समयबजीका साथ मुबाहालाई लखेटेर मुबाहा ल्यगु(लखटने) नाच शुरु गरिन्छ । नाच शुरु गर्न मुबाहा अगाडि खुल्ला ठाउँमा छोडि, लियो लियो पायो पायो भन्दै लखट्दै समातेर सिफोद्यः अगाडि लगी बलि दिन्छ । त्यसपछि क्रमिकरुपमा महेश्वरीले बाहेक सबै गणले रगत खाएपछि भैरब, काली र गणेशको नाच प्रर्दशन गरिन्छ ।
धान रोपाई नाच
ब्रम्हायणी, महेश्वरी, कुमारी र भद्रकालीले धान रोपाई नाच देखाइन्छ । सृष्टीकर्ताको रुपमा रहेका बम्हायणीबाट नाचबाट शुरु गरिन्छ । कुमारीले परिवारमा चेलीवेटीले गरिने व्यवहारको नाच प्रर्दशन गर्छ । सरसफाइ गर्ने, श्रृंगारहरु गर्ने, खाना पकाउने र बाँडेर खुवाउने कार्य कुमारीले देखाउँछ । नाचमा अरुलाई बाँडेर खुशी हुने कुमारीलाई भैरबले खाली पात्र दियो भनी चित्त दुःखाई कुमारी तुलेगु (कुमारी विलाप गर्ने) नाच प्रर्दशन गरिन्छ । नाचमा कुमारीलाई लक्ष्मी र सरस्वतीको रुपमा समेत पुजा गरिन्छ ।
त्यसपछि भद्रकालीले कृषि कार्यको प्रतिकको नाच देखाइन्छ । कुनै प्राणी बाच्नको लागि खानपान आवश्यक पर्छ भन्ने भाव नाचमा प्रस्तुत गरिन्छ । गणमा महेश्वरीलाई शाकाहारी देवीको रुपमा पुजिन्छ । शान्तिको प्रतिकका स्वरुप यिनलाई गंगाजस्तो पवित्र मानी छुट्टै पहिचान भएकी देवीको रुपमा पुजि नाच देखाइन्छ ।
बाराही नाच
बाराहीले घरको महिलाको नाच प्रर्दशन गरिन्छ । बेलबिवाह, सूर्यविवाह, बुहारीमा हुनुपर्ने व्यवाहारिक ज्ञान, घरपरिवारमा नारीले निभाउनुपर्ने व्यवहार, आदर, सम्मान, शिष्टता लगायत नाच प्रर्दशन गरिन्छ ।
सिम्हदुम्हको ङालाकेगु जात्रा
जात्रामा सिम्हदुम्हलाई भिमसेन र द्रौपतिका रुपमा पुजिन्छ । दुम्हले बालबालिकाहरुका गतिविधिका साथै भिमसेनको भूमिका निभाउँछ भने सिम्हले द्रौपतिको भूमिका निभाउँछ । जात्रामा सिम्हदुम्ह दुवैले ङालाकगु गर्नेे टोलमा पैसा माग्न जान्छ । पैसा माग्ने कार्य सकेपछि श्रीमान श्रीमती विचहुने दाम्पत्य जीवनमा हुनुपर्ने सदाचार युक्त सिम्हदुम्हको ङालाकेगु जात्रामा गरिन्छ । जात्रा गर्दा स्थानीय टोल टोलमा तीन पटकसम्म ङालाकेगु गर्छ ।
महाकाली नाच
सिम्हदुम्हको ङालाकेगु जात्रापछि युद्धको भूमिका, नारी र तीन नेत्रको क्रोधयुक्त नाच महाकालीले देखाइन्छ । गणमा महाकालीलाई सबैभन्दा क्रोधी देवीको रुपमा प्रस्तुत गरिन्छ । नाचमा देवीहरुको क्रोधबाट महिषासुरलाई स्वर्ग र पातालबाट खोजेर आफ्नो हतियारबाट वध गरेको प्रर्दशन गरिन्छ । नाचमा आफूले बली नपाउँदा रिसाई फर्कने क्रोधी देवीको रुपमा देखाइन्छ ।श्वेतभैरबको खास्टो लुट्ने फिर्ता गर्ने नाच
यो नाच महिषासुरको वध गरेपछि रगताम्य महाकालीले वस्त्र सफागरी रहेको बेला श्वेतभैरबले सुन्दर नारीको नग्न शरीर हेर्दै जिस्किरहेको देखाइन्छ । आफूलाई लुकीछिपी हेरेर जिस्काए भन्दै क्रोधित महाकालीले श्वेतभैरबसँग खास्टो लुटेर लिने नाच देखाइन्छ । त्यसपछि खास्टो फर्काउन श्वेतभैरबले महाकालीलाई मायाँले फकाए पनि मान्दैन ।
जति मायाँले फकाए नि महाकाली नमानेपछि स्वेतभैरबले बाटोमा पैसा मागेर महाकालीलाई चढाएर मनाउन खोज्छ । क्रोधित महाकालीले भाले कुखुरा खाने इच्छा प्रकट गर्छ । श्वेतभैरबले त्यही पैसाले भाले किनेर महाकालीलाई चढाउँछ । महाकालीले खुशी भई मुखबाट भालेको टाउको छुट्याई बली लिन्छ र भैरबलाई खास्तो फिर्ता गर्छ । यस कथालाई जीवन्त दिँदै नाच प्रर्दशन गरिन्छ ।
श्वेतभैरबको ङालाकेगु जात्रा
खास्तो फिर्ता गरेपछि सिम्हदुम्ह, बालकुमारी, श्वेतभैरब र महाकालीबीच विशेष पूजा गरी गरिन्छ । त्यसपछि श्वेतभैरबले बोक्ने पुलुको सबै कुनामा माछा राखेर श्वेतभैरबको नाच देखाइन्छ । माछा राख्न सकेपछि पुलुले श्वेतभैरबलाई हावा हम्काई ङालाकेगु जात्रा गरिन्छ । यो जात्रा टोलटोलमा तीन पटकसम्म गरिन्छ ।
श्वेतभैरबको पेटदुख्ने नाच
माछा मार्ने जात्रा सकेपछि श्वेतभैरबलाई पेट दुखेर छटपतिरहेको नाच देखाइन्छ । सिम्हदुम्हलाई भनेर इन्द्रायणीलाई बोलाउन पठाई अक्षता छरेर निको पारिन्छ । यसपछि श्वेतभैरब र इन्द्रायणीको नाच प्रर्दशन गरिन्छ । नाचमा स्वेतभैरवले सिम्हदुम्हको सहयोग लिई लुगा धुन लगाउँदा लुगा फालिदिन्छ । फालिदिएपछि सिम्हदुम्हलाई गाली गरी आफैले लुगा धुने नाच देखाइन्छ ।
समापन नाच
समापन नाच राती देखाइन्छ । यस नाचमा श्वेतभैरबको नाच देखाइन्छ । लगत्तै सम्पूर्ण देवगणहरुले सामुहिक नाच प्रर्दशन गरिन्छ । त्यसपछि स्थानीयबासीका हर्ष उल्लासका साथ बाजागाजा अगाडि राखेर जय जयकारकासाथ धुपअगरबत्ति बाली देवगृह पु¥याई जात्रा सम्पन्न गर्छ ।
प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखदक्षण, उत्साह उमंग छाएको हुन्छ । यसको अन्त्यसँगै भक्तपुरमा मात्र नभएर देशकै लागि विभिन्न कठिनाइहरुको सामना गर्नुपर्छ । नेवार समुदायमा वर्षदिनको चाड घण्टाकर्णदेखि शुरुभई सिथी नखाःमा समापन हुन्छ । घण्टाकर्णसँगै नवदुर्गा उत्पति भई सिन्हाज्या शुरु गरिन्छ । भगस्थीमा देवगण जलमा समावेश भएपछि देशमा बाढीपहिरोको प्रकोप शुरुहुने, मानिसहरु आलस्य भई विभिन्न रोगबाट गस्रित हुने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले जानकारी दिनुभयो ।
नवदुर्गागणको नाचबारे प्रचलित किंवदन्ती अनुसार भक्तपुर नगरको पूर्वमा अवस्थित नालागाउँमा एउटा ब्रम्हायणी जोल भन्ने जंगल थियो । सो जंगलको खोँचमा एउटा मन्दिर छ । उक्त मन्दिरबाट नवदुर्गागण प्रकट भई नाच्ने, जंगलको बाटोभई आवतजावत गर्ने जोसुकै मानिसहरुको भोगवली लिने कारण जनजीवन भयावह अवस्था आयो । एकपल्ट नालाकै एक सिद्ध तान्त्रिक आचाजु सोही बाटो हुँदै जाँदा नवदुर्गाले भोगवली लिन खोज्दा आचाजु चलाख भएर पहिले सबै गणको दर्शनपुजन गर्न पाउँभनी विन्तीभाव गर्दा गणले मानेपछि आचाजुले सबै देवगणलाई तान्त्रिक मन्त्रशक्तिबाट तानेर कलाली (नेवार समुदायान पुजा राख्ने विशेष खालको थाली) मा विराजमान गराई नालास्थित आफ्नै घरमा लगेछ । आचाजु जीवत भएसम्म नित्य पूजा भयो तर मृत्युपछि पुजा गर्ने कोही नभएपछि देवगणहरु तान्त्रिक मन्त्रशक्तिबाट बाहिर आएर पुनः सोही स्थानमा आएर मानिसको भोगवली लिन थाले । भोगवलीकै लागि नवदुर्गाले मनुष्यको रुप धारण गरी नालाका मानिसहरुलाई जंगलमा लाने र भोगवली लिनथाले । यस्तो भएपछि नालामा पुरुष नहुने स्थिति आयो ।
एकदिन नालामा नवदुर्गाले भोगवली लिएका मानिसको कर्मकाण्ड गर्न सोमराज नाम गरेका एकजना ब्राह्मण गएछ । कारणबस ब्राहमण आचाजुको घरमा पुगेछ । घरको अवस्था देखेर उहाँले आचाजुको घरमा खोजनीति गर्दा एउटा कोठामा कलाली भेटाएछ । ब्राह्मणले तान्त्रिक मन्त्रद्धारा सबै देवगणलाई आह्वान गरी पुनः त्यही कलालीमा राखेर आफ्नो वासस्थान सोमला गल्लीमा लगेछ । कसैले नदेख्ने गोप्य ठाउँमा राखी नियमित नित्यकर्म पूजापाठ गर्न थाले । एकदिन ब्राम्हण स्नान गर्न गएको बेला उहाँको श्रीमतीले देवगण भएको कोठामा ढोका खोली हेर्दा देवगणले चालपाएर कोप भई त्यहाँबाट पूर्वदिशातर्फ लागे । त्यहाँबाट कोप भई गएपछि इनाचोस्थित स्वंग ल्हमा पुग्दा देवगणहरुले सुगुरको भोगवली लिई रहेको ब्राह्मणले थाहा पाए । त्यो देखेर ब्राह्मणले देवगणलाई पुन र्फकन आग्रह गर्छ । मन्त्रले काम नगरेपछि नवदुर्गालाई देशवासीको अगाडि ल्याउनु पर्छ भनी सबै गण समावेश भएको गणखा(बनमाला समुदाय)लाई नृत्य सिकाई मुकुण्डो खर्पनमा राखी पठाएको किवदन्ती रहेको छ । किवदन्ती अनुसार देवगण सिद्ध हुनलाई मोहनी (कालो टिका) धारण गरेपछि देव प्रतिनीधि हुन पाउने छ । यसकारण नवदुर्गाको मुबाहाका रुपमा सुगुरलाई लिएको मानिन्छ ।
८महिना सञ्चालन हुने यो जात्रा नगरको तुलाछे स्थित त्रिपुरासुन्दरी, तुछिमला, इच्छु बाहेक बाहिर जिल्लाका पनौती र बनेपा गरी पाँच ठाउँमा बाकी रहेको छ । खाली पेटमा जाँड र रक्सीको भरमा नाङगो खुट्टाले नाच्नुपर्ने कठोर नाचको नियम पालाना गर्दै जात्रालाई जीवन्त राख्दै आएका बनमाला सुमुदायको संरक्षण र सम्बद्र्धका लागि गुठि संस्थान, भक्तपुर नगरपालिका लगायत राज्यले विषेश बन्दोबस्त गरिदिनुपर्ने जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका पुर्व सचिव रत्नमान बनमालाले भन्नुभयो । -
नेपाल लोकतान्त्रिक खेलकुद महासंघको भक्तपुर जिल्ला अध्यक्षमा पुनः सुदिप डंगोल
भक्तपुर, चैत्र २३
नेपाल लोकतान्त्रिक खेलकुद महासंघको भक्तपुर जिल्ला अध्यक्षमा सुदिप डंगोल चयन भएको छ । महासंघको शुक्रवार सम्पन्न प्रथम जिल्ला अधिवेशनले डंगोललाई पुनः अध्यक्ष चयन गरेको हो ।
अधिवेशनले महासंघको भक्तपुर उपाध्यक्षमा करुणा राउत क्षेत्री, सचिवमा अक्षय कवे र कोषाध्यक्षमा एलिना अवाललाई सर्वसम्मत चयन गरेको छ । यस्तै सदस्यहरुमा सुजन पौडेल, यमन राजबहाक, बलराम प्रजापति, विकास प्रजापति, विमला डंगोल, सोनु डंगोल, संजिव कौरी र शक्तिलाल सिन्केमन चयन भएका छन ।
यसैगरी अधिवेशनले प्रतिनिधि सभा क्षेत्र नं. १ को अध्यक्षमा पुष्कर खड्का, क्षेत्र नं. २ को अध्यक्षमा राजेश श्रैष्ठ, प्रदेश सभा क्षेत्र नं. १ क को अध्यक्षमा देवेन्द्र गेलाल, क्षेत्र नं. १ ख को अध्यक्षमा सञ्जय अवाल, प्रदेश सभा क्षेत्र नं. २ ख को अध्यक्षमा रवि प्रजापति, मध्यपुर थिमि नगर अध्यक्षमा सहज प्रजापति, चाँगुनारायण नगर अध्यक्षमा श्याम गेलाल चयन भएको नवनिर्वाचित अध्यक्ष सुदिप डंगोलले जानकारी दिनुभयो । -
“सतकुलपुत्र् अल्पकालिन श्रामणेर प्रव्रज्या – २०८१” माझखण्ड बुद्ध विहारमा शुभारम्भ
सुनीता तुलाधर शिल्पकार, ललितपुर, चैत २२ गते ।
अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु धर्मगुप्त महास्थविरको उपाध्यायत्वमा १० दिवसीय “सतकुलपुत्र् दुर्लभ श्रामणेर प्रव्रज्या” कार्यक्रम माझखण्ड बुद्ध विहार, माझखण्ड, ललितपुरमा आज शुभारम्भ भएको छ ।
अखिल नेपाल भिक्षु महासंघको संरक्षणमा विश्व शान्ति विहार, माझखण्ड बुद्ध विहार र धम्मकायको संयुक्त आयोजना तथा शाक्यसिंह विहारको सह आयोजना एवं प्रव्रज्या सामाजिक नेपालको व्यवस्थापनमा अन्तर्राष्ट्रिय बौद्ध दिवसको उपलक्ष्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
आजदेखि शुभारम्भ भएको सो प्रव्रज्या कार्यक्रममा अ.ने.भि. महासंघका सचिव भिक्षु निग्रोध महास्थविरले ‘सब्ब दुक्ख निस्सरण निब्बानस्स सच्छिकरणत्थाय इमं कासावं गहेत्वा’ भनी धम्मदायादहरुलाई वाक्य वाचन गराउनु भइसकेपछि उहाँहरुले सो चीवर उपाध्याय भन्ते लगायत गुरु भन्तेहरुलाई प्रदान गरेका थिए । र ‘सब्ब दुक्ख निस्सरण निब्बानस्स सच्छिकरणत्थाय एतं कासावं दत्वा’ भनी वाक्य वाचन गरिसकेपछि गुरु भन्तेहरुले चीवर धम्मदायादहरुलाई नै प्रदान गर्नुभएको थियो ।
उहाँहरुले चीवर पहिरिसकेपछि भिक्षु निग्रोध महास्थविरले श्रामणेर प्रव्रज्याको याचना पाठ गराउनुभएको थियो भने उपाध्याय भिक्षु धर्मगुप्त महास्थविरले धम्मदायादहरुलाई दश शील प्रदान गर्नुभएपछि उहाँहरुले श्रामणेर प्रव्रज्या प्राप्त गर्नुभएको थियो ।
उपाध्याय भन्ते भिक्षु धर्मगुप्त महास्थविरले गाउँगाउँमा कुलपुत्रहरुलाई भिक्षु, श्रामणेरमा प्रव्रजित गराएर प्रचारप्रसार गर्न सकेमा बहुजनले पनि लाभ लिन सक्ने र छिटै नै बुद्ध धर्मको विकास हुने बताउनुभयो । प्रव्रज्या भनेको दुर्लभ र गाह्रो छ, त्यस्तो मौका पाउन पनि धेरै धेरै नै अवस्थाहरु मिल्नु पर्दछ भन्नुहुँदै उहाँले यस प्रकारको कार्यक्रम माझखण्ड जस्तो विकट क्षेत्रमा गर्न अथक प्रयास गरीरहनु भएका भिक्षु बोधिज्ञान महास्थविरको अटुट कार्यको प्रशंसा पनि गर्नुभयो ।
अ.ने.भि. महासंघका सचिव भिक्षु निग्रोध महास्थविरले जीवनमा एकचोटि प्रव्रजित हुनु भनेको ठूलो सौभाग्य हो भन्नुभयो । उहाँले भगवान बुद्धको जन्मभूमि यस पुण्यभूमि नेपालको ललितपुरको दक्षिण भेगमा रहेको माझखण्ड बुद्ध विहारमा प्रव्रजित हुन घरबार त्यागेर आउनु पनि अति महत्वपूर्ण रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा माझखण्ड बुद्ध विहारका प्रमुख भिक्षु बोधिज्ञान महास्थविरले यस कार्यक्रमको आयोजना गर्न पाउँदा खुशी लागेको बताउनुहुँदै यस कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्नु हुने अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु संघ, माझखण्डवासीहरु लगायत दाताहरु र उपासकउपासिकाहरु एवं प्रचारप्रसारमा लागिरहनु भएका मिडियाकर्मीहरु सम्पूर्णलाई साधुवाद दिनुभयो ।
समारोहको शुरुवात आज बिहान उपाध्याय भन्ते धर्मगुप्त महास्थविरले धम्मदायाद (प्रव्रजित हुने व्यक्ति) हरुलाई “तचपञ्चक” भावना गराई केश छेदन गराउनु भएपछि उपस्थित नेपाली तथा थाई भन्तेहरुले धम्मदायादहरुको कपाल खौरिदिनु भएको थियो । कपाल खौरिसकेपछि सेतो वस्त्र लगाई उनीहरुले माझखण्डको स्थानीय क्षेत्रमा परिक्रमा गरी विहारमा पुगेका थिए ।
नव श्रामणेरहरु २०८१ चैत २२ गते देखि २०८२ बैशाख २ गतेसम्म पूर्णरुपमा भगवान बुद्धले बताउनु भएको नियममा बस्नुभई ध्यान भावना गर्नुभएर अकुशललाई त्याग गरी कुशल चित्त वृद्धि गर्नेछन् । -
सहकारी दिवसमा आयोजित प्रभातफेरीमा सिद्धिकाली प्रथम
भक्तपुर, चैत्र २०
६८ औ सहकारी दिवसको अवसरमा बुधवार मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको प्रभातफेरीमा चपाचोस्थित सिद्धिकाली वचत तथा ऋण सहकारी संस्था लि. प्रथम भएको छ ।
साँस्कृतिक झाँकीसहितको प्रभातफेरीमा उपकार वचत तथा ऋण सहकारी संस्था दोस्रो, श्री महालक्ष्मी वचत तथा ऋण सहकारी संस्था तेस्रो भएका छन भने बालकुमारी वचत तथा ऋण सहकारी संस्थाले सान्त्वना पुरस्कार प्राप्त गरे ।
प्रभातफेरीमा महिलाहरु मात्र सञ्चालक रहेको महिला सहकारीहरु मध्ये दक्षिणकाली वचत तथा ऋण सहकारी संस्था उत्कृष्ट हुन सफल भयो ।
प्रभातफेरी पछि कमेरोटार जग्गा एकिकरण आयोजनास्थित खेल मैदानमा आयोजित सभामा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले उत्कृष्ट हुन सफल सहकारीहरुलाई प्रमाणपत्र र शिल्डसहित पुरस्कृत गर्नुभयो ।
सो अवसरमा उहाँले सहकारीविज्ञहरुको सहयोगमा र मध्यपुर थिमि नगरभित्रका सहकारीहरुकै सहकार्यमा नगरपालिकाले सहकारी सम्बन्धी विभिन्न ऐन नियम, नीति, कार्यविधि निर्माण गरी कार्यान्वयन गरेको बताउनुभयो ।
उहाँले एकाध सहकारीका कारण सहकारी क्षेत्र नै बदनाम हुने अवस्था आएको भन्दै नगरपालिका सहकारीका सबै वचतकर्ताको वचत सुरक्षित गराउन कतिवद्ध रहेको बताउनुभयो । सहकारी प्रति आम नागरिकहरुमा नकारात्मक सोच विकास भइरहेको अवस्थामा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहकारीकर्मीहरुको सहभागिताले वचतकर्तामा उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीले सहकारीका शेयरधनी सदस्यहरु पनि चनाखो हुनुपर्ने चर्चा गर्दै सहकारीहरुले पनि वचतकर्ता माथि विश्वासघात गर्ने, ठगी गर्ने उद्देश्यले आर्थिक अपचलन गर्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला सहकारी संघका उपाध्यक्ष विरेन्द्रभक्त प्रधानाङ, नगरपालिकाका सहकारी शाखाका प्रमुख अभयेन्द्र रञ्जितलगायतले सहकारीका विविध पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।
यसअघि नगरपालिकाको वडा नं. १, २ र ३ को सानोथिमिबाट, वडा नं. ४ को शंखधर चोकबाट, वडा नं ५ र ६ भुलांखेलबाट, वडा नं ७ को नगदेशबाट र वडा नं ८ र ९ को बोदेबाट साँस्कृतिक झाँकीसहितको प्रभातफेरि कार्यक्रम स्थल कमेरोटार खेल मैदानमा आएको थियो ।
कार्यक्रममा नगरभित्रका करिव १ सय २८ वटा सहकारी संस्था मध्ये ९६ वटा सहकारी संस्थाबाट करिव ४ हजार सहकारीकर्मीको सहभागीता रहेको थियो । -
लिग टु का लागि ४८ खेलाडी छनोट
भक्तपुर, चैत्र १७
विश्वकप लिग टु अन्तर्गत जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनोटमा ४८ खेलाडीलाई समावेश गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार टोली छनोट प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
छनोटमा परेका खेलाडीहरूमा रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, गुल्सन कुमार झा, करण केसी, ललित नारायण जोशी, अनिल कुमार साह, सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, विवेक कुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जीसी रहेका छन ।
यसैगरी अविनाश बोहरा, मयन यादव, अर्जुन घर्ती, हेमन्त धामी, दीपेश प्रसाद कँडेल, रुपेश कुमार सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, किरण ठगुन्ना, ईशान पाण्डे, शेर मल्ल, प्रज्वल थापा, तृतराज दास, दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलीप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, शाकिब हक, विनोद भण्डारी, पवन सर्राफ, राशिद खान, अर्जुन साउद छन ।
क्यानका अनुसार छनोट भएका ४८ खेलाडीलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी ४ समूहमा विभाजन गरी तयारी खेलहरु संचालन गरिने छ ।
आगामी जुनमा नेपालले स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्नेछ ।
नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने क्यानले जनाएको छ । छनोटका खेलहरु आगामी साता हुने हङकङ सिरिज पश्चात हुनेछ । मुख्यतः लुम्बिनी प्रदेशमा शनिवार सकिएको प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिताको प्रर्दशनका आधारमा खेलाडीको छनोट गरिएको बताइएको छ ।













