भक्तपुर, जेठ १८
नेकपा एमालेको बालुवाटारमा सम्पन्न स्थायी समितिको मंगलवार बसेको बैठकले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष के पी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले पार्टीलाई एकतावद्ध बनाउन जारी छलफलबारे विवेचना गर्दै त्यसका लागि लचकता अपनाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ’, ज्ञवालीको भन्नुभयो ।
त्यस्तै बैठकमा प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहस, सरकारले अध्यादेश मार्फत प्रस्तुत बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनको बारेमा समिक्षा भएको ज्ञवालीले बताउनुभयो ।
बैठकमा स्पष्टिकरण सोधेका १२ जना नेतालाई कारवाहीबारे एजेण्डा पेश नभएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । उहाँले एमाले एकता जोगाउन गठित कार्यदलको औचित्य समाप्त भएकाले अहिले अस्तित्वमा नरहेको जानकारी समेत दिनुभयो ।
नेकपा एमालेको आन्तरिक मतभेद हटाई पार्टीलाई एकतावद्ध बनाउने प्रयास स्वरुप सोमवार राती एमालेका दोस्रो तहका नेताहरु छलफलमा जुटेका थिए । दरवारमार्गको एक होटलमा सम्पन्न छलफल करिव ५ घण्टा चलेको बताईएको छ । सो छलफलमा प्रधानमन्त्री ओलीको तर्फबाट सुभाषचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, पार्टी प्रवक्ता समेत रहनुभएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली तथा माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराई सहभागी भएका थिए । छलफल केही सकारात्मक भएकोले आजको स्थायी समिति बैठकले स्पष्टिकरण सोधिएका १२ जनालाई कारवाही गर्ने एजेण्डामा प्रवेश नगरेको बताईएको छ ।
Category: भर्खरै
-

पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय
-

ग्रीक अक्षरबाट कोरोना भाइरसका नयाँ भेरियन्टको नामाकरण गर्ने डब्लुएचओको निर्णय
भक्तपुर, जेठ १८
विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)ले कोरोना भाइरसका नयाँ भेरियन्टको नयाँ नामाकरण गर्ने निर्णय गरेको छ । भाइरसका नयाँ नयाँ भेरियन्ट देखिन थालेपछि डब्लुएचओले नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गर्दै यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर नामाकरण गरेको हो ।
जहाँ कोरोनाको नयाँ भेरियन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँको नामबाट चिनिने अहिलेको प्रणालीले स्थान विशेष विरुद्ध विभेदपूर्ण भावना विकसित भएको भन्दै डब्लुएचओले पछिल्लो निर्णय गरेको बताईएको छ । नयाँ नामाकरण अनुसार अबदेखी यूके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरियन्टलाई बिटा र भारतीय भेरियन्टलाई डेल्टा भनिने छ ।
डब्लुएचओकी कोभिड–१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले भेरियन्ट पत्ता लागेकै आधारमा कुनै पनि देशलाई अप्ठेरोमा पारिन नहुने बताउनुभयो । उहाँले संक्रमण बिस्तार रोक्न भेरियन्टहरूको सक्रियतापूर्वक निगरानी गर्न र वैज्ञानिक डेटा बाँड्न आवश्यक भएको बताउनुभयो । अब प्रयोग गरिने ग्रीक अक्षरहरूले चासोका साथ हेरिएका तथा चिन्ताका साथ हेरिएका दुवै प्रकारका भेरियन्टलाई जनाउनेछन् । तिनका नामहरूको पूर्ण विवरण डब्लुएचओको वेबसाइटमा राखिएको छ ।
डब्लुएचओका अनुसार ग्रीक अक्षरहरुले ती भेरियन्टको वैज्ञानिक नामलाई विस्थापन भने नगर्ने जनाएको छ । कर्खोभका अनुसार २४ भन्दा धेरै भेरियन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिने भएकाले त्यसपछि नयाँ प्रणाली घोषणा गरिनेछ । -

कोपा अमेरिका कप ब्राजिलमा हुने
भक्तपुर, जेठ १८
कोपा अमेरिका कप फुटबल प्रतियोगिता ब्राजिलमा हुने भएको छ । बढ्दो राजनीतिक अस्थिरताका कारण कोलम्बिया र कोरोना संक्रमणका कारण अर्जेन्टिनालाई आयोजकबाट हटाएर दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबलले प्रतियोगिता ब्राजिलमा गर्ने निर्णय गरेको हो ।
कन्मेबलको विज्ञप्ति जारी गर्दै कोपा अमेरिका २०२१ ब्राजिलमा हुने जनाएको हो । कन्मेबलले प्रतियोगिता यसअघि निर्धारित मितिमा नै हुने जनाएको छ तर खेलस्थलका बारेमा भने उल्लेख गरेको छैन । विज्ञप्तिमा प्रतियोगिताको खेल तालिका र मैदान केही समयमा नै पक्का गर्ने बताएको छ । कोपा अमेरिका दक्षिण अमेरिकी राष्ट्रहरुबीचको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो ।
गतवर्ष नै हुनुपर्ने कोपा अमेरिका कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको थियो । अर्जेन्टिना र कोलम्वियाले कोपा अमेरिका आयोजना गर्ने तयारी गरिरहेको थियो । ब्राजिलले ४७औं पटक कोपा अमेरिका आयोजना गर्दैछ ।
ब्राजिल दुई वर्ष अघिको च्याम्पियन टोली हो । ब्राजिलले पेरुलाई ३–१ ले हराँउदै दुई वर्षअघि घरमै भएको प्रतियोगिताको उपाधि जितेको थियो । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा अर्जेन्टिना, बोलिभिया,उरुग्वे, चिली र पाराग्वे थिए । समूह बी’ मा कोलोम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन् । -

चीनबाट खोप आज आईपुग्ने
भक्तपुर, जेठ १८
चीनले अनुदान दिने घोषणा गरेको १० लाख डोज कोरोना विरुद्धको भेरोसिल खोप मध्ये ९ लाख डोज आज काठमाण्डौं आइपुग्ने भएको छ । नेपाल वायुसेवा निगमको विमानबाट ८ लाख र हिमालयन एयरलाइन्सको विमानबाट एक लाख डोज खोप आज आइपुग्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनिया समकक्षी सी पेङ जीनलाई खोप सहयोग गर्न आग्रहपछि चीनले नेपाललाई १० लाख डोज भेरोसिल अनुदान गर्ने घोषणा गरेको थियो । सो १० लाख डोज मध्ये ८ लाख चीनको केन्द्रीय सरकार मार्फत र २ लाख डोज चीन स्वशासित तिब्बतबाट दिईने जनाएको थियो ।
सो अनुसार वायुसेवा निगमले बेइजिङबाट र हिमालयन एयरलाइन्सले तिब्बतको ल्हासाबाट खोप ल्याउन लागेको हो । खोप दिउँसो २ बजे आईपुग्ने जनाईएको छ ।
यो खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले अब आउने खोप प्राथमिकताका आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाउने तयारी भएको जानकारी दिनुभयो । ‘यो उमेर समूह उच्च जोखिममा रहेकाले प्राथमिकता अनुसार खोप लगाउने तयारी भईरहेको छ,’ उहाँले भन्नुभयो । -

एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट
भक्तपुर ः सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न असम्भव भएपछि सरकारले सो निर्णय गरेको एक मन्त्रीले बताउनुभयो । उहाँका अनुसार बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सो प्रस्ताव पेस गर्नुभएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले आइतबार मात्रै एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । सो प्रस्ताव अनुसार मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा लगेको बताईएको छ । -

भक्तपुरमा सक्रिय संक्रमितको संख्या घट्न थाल्यो
भक्तपुर ः भक्तपुरमा कोरोनाको सक्रिय संक्रमितको संख्या घट्न थालेको छ । संक्रमण मुक्त हुनेको संख्या बढेसँगै यहाँ सक्रिय संक्रमितको संख्या घट्न थालेको हो । भक्तपुरमा आइतवार १६९, शनिवार २३१, बिहिवार र शुक्रवार २४० जना संक्रमण मुक्त भएका थिए ।
भक्तपुरमा आइतवार साँझसम्म २ हजार ९५७ जना सक्रिय संक्रमित रहेका छन । यहाँका सक्रिय संक्रमितहरु मध्ये १०४ जना पुरुष र ७७ महिलासहित १८१ जना विभिन्न अस्पताल र आइसोलेसन केन्द्रमा उपचाररत छन । त्यस्तै १ हजार ४८० पुरुष र १ हजार २९६ महिलागरी २ हजार ७७६ जना होम आइसोलेसनमा छन ।
भक्तपुरमा कोरोना संक्रमण मुक्त हुने ८४ प्रतिशत पुगेको छ । भक्तपुरमा १६ हजार ५०६ जना संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जुन कुल संक्रमित १९ हजार ७२२ को ८३ दशमलव ६९ प्रतिशत हो ।
भक्तपुरमा सोमवार बिहानसम्म २५९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । मृत्यु हुनेमा १६९ पुरुष र ९० महिला छन । मिजारका अनुसार जेठ १६ गते ६, १५ गते ३, १४ गते ४ र १३ गते १ जनाको मृत्यु भएको थियो । जेठ १२ गते भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्यमा झरेको मिजारले बताउनुभयो ।
भक्तपुरमा सबैभन्दा धेरै कोरोना संक्रमणबाट मृत्यु हुने मध्यपुर थिमि नगरपालिकामा छन । यहाँ ६२ पुरुष र २५ महिला गरी ८७ जनाको मृत्यु भएको छ । त्यस्तै भक्तपुर नगरपालिकामा ४२ पुरुष र २९ महिलागरी ७१, सूर्यविनायक नगरपालिकामा ४३ पुरुष र २५ महिलागरी ६८ र चाँगुनारायण नगरपालिकामा २२ पुरुष र ११ महिलागरी ३३ जनाको मृत्यु भएको छ । -

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
भक्तपुर – मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई विभिन्न संघसंस्था र दातृनिकायले स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार अस्पताललाई नेपालका लागि अमेरिकी पुर्वराजदुत स्टक डेलिसिको पहलमा १० लि.को हाइपर्फमेन्स अक्सिजन कन्सेन्टरेटर ६३ थान प्राप्त भएको छ । करिव ७५ लाख रुपैंयाको यो सहयोगका लागि डा. दिबेश कर्माचार्यले समन्वय गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
अक्सिजन कन्सेन्टरेटर ग्रहण गर्दै नगरप्रमुख श्रेष्ठले मैत्री नगरपालिका अस्पतालमा अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । सो अस्पतालमा हालै अक्सिजन प्लान्ट स्थापना गरिएको छ । सो प्लान्टले दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको छ ।
त्यसैगरी सो अस्पताललाई वन लभ वन वल्र्ड नामको संस्थाले ह्विल चियर ५ वटा, निबुलाइजर मेसिन ३ वटा, अक्सिमिटर ५ वटा, पन्जा ४ सय थान, आई भि स्ट्याण्ड ९ थान, कम्मोड ५ थान, वेडसिट २५ थान, तौल मेसिन २ थान, युरिनल ५ थान, वेडप्यान ५ थान, ठूलो बाल्टिन ५ थान र तकिया २५ थान सहयोग गरेको छ । संस्थाका निर्देशक ऋतु श्रेष्ठले सो सामग्री सोमवार नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गरेका हुन ।
त्यस्तै कोरिया सहयोग नियोग कोइकाले पनि मैत्री अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोइकाले डा. किम मार्फत २ सय थान पिपिइ, मास्क, पन्जा, हेडकभर लगायत लजिस्टिक सामग्री प्रदान गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले पनि ५ हजार थान मास्क, स्यानिटाइजर, हाइजिन किटलगायतका सामग्री सहयोग गरेको छ । च्याउ कृषक आकाश बाडले नगरपालिकाले बोडेमा सञ्चालन गरेको आइसोलेसन केन्द्रमा बसेका कोभिड–१९ का बिरामीका लागि रातो च्याउको सुपको लागि धुलो च्याउ सहयोग गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । -

ख्वप अस्पताललाई थप ७३ लाख ७० हजार सहयोग
भक्तपु – भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र अन्य आवश्यक उपकरण खरिदका लागि विभिन्न संघसंस्था, सहकारी र दाताहरुबाट सहयोग गर्ने सोमवार पनि जारी रहेको छ ।
नगरपालिकाका अनुसार सोमवार थप ७३ लाख ७० हजार २ सय ५४ रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । यससँगै भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ३ करोड २० लाख ८२ हजार रुपैंयाँ जम्मा भइसकेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।
भक्तपुर ईंटा व्यवसायी संघले सोमवार ५० लाख सहयोग गरे । त्यस्तै सहयोग गर्ने अन्य दाताहरुमा अनिल न्हेम्हफुकी ११ हजार ११०, डा. राजेन्द्र शिल्पकार र कदमश्वरी शिल्पकार ३५ हजार, लवराज जोशी एक लाख, दिल मेडिकल सेन्टर १० हजार १०, दयाराम अगाञ्जा ५ हजार ५५५, शिवजी त्वनावासु ५ हजार ५५५, पूर्णकुमार कोजू १० हजार, पेटल्स समूह १२ हजार, दिलबहादुर मानन्धर ५ हजार १०५, कृष्णभक्त सुवाल ३० हजार १५०, सामूहिक वचत तथा ऋण सहकारी संस्था २ लाख २ हजार ५५, बलराम भुजु ४० हजार, बेखाल वचत तथा ऋण सहकारी ४८ हजार ५५, कुवेर वचत तथा ऋण सहकारी ५० हजार छन ।

त्यस्तै हरिगोपाल फर्निचर तथा सःमिल ५० हजार ५५, कमलविनायक मन्दिर परिसर सुधार समिति एक लाख, सुनिभा वचत २५ हजार, केयर किन्डर वल्र्ड ५ हजार ५ सय, सञ्चय वचत २० हजार, गणेशमान वान्ताकछी २५ हजर ५५५, हरिकृष्ण धौवञ्जार २५ हजार ५५५, सर्वसुलभ उपभोक्ता सहकारी ५० हजार, सत्यकुमार बजिको २५ हजार ५२५, गोविन्द दुमरु १५ हजार, अभियान कृषि सहकारी १५ हजार ५ सय, सिद्धिराम प्रजापति २० हजार र भाषासेवी मास्टर जगतसुन्दर सहकारी २५ हजार ५५५ सहयोग गरेको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।
त्यसैगरी सहयोग दाताहरुमा जि ८ ग्रसप ५० हजार, भक्तपुर भरेलु तथा साना उद्योग संघ ५० हजार, कृष्णगोविन्द र प्रेममाया खर्बुजा ५० हजार, भुवन बुढाथोकी एक लाख ११ हजार १११, नपली सिर्जनानगरबासी ६८ हजार ७५५, छिमेकी भेटघाट समूह ३२ हजार, सन्तती आधारभुत विद्यालय शिक्षक कर्मचारी ३१ हजार ५, सूर्यप्रसाद श्रेष्ठ २६ हजार ६७०, लक्ष्मी सुन्दर प्रजापति २० हजार, भक्तपुर निर्माण सामग्री व्यपार संघ ५० हजार ५५५, कृष्णप्रसाद वैद्य ५५ हजार ५५५, रामजी वैद्यको स्मृतिमा १८ हजार ८८८, ख्वप भक्तपुर मिनिबस यातायात कर्मचारी ईकाइ समिति ५० हजार, ख्वप भक्तपुर मिनिबस यातायात प्रा लि. एक लाख एक हजार, स्वप्नशील वचत एक लाख एक हजार, गोलमढी मानन्धर ख्यूँलाभ गुठी परिवार एक लाख ५ सय, लक्ष्मी केशरी तुल्सिबाख्यो तुईतुई ७७ हजार ७७७, डिजिटल प्रिन्टलिंक २५ हजार, कृष्ण वचत ५० हजार, शमशेर सिन्ताकल एक लाख, रमेश कुसी २० हजार, रामहरी श्रेष्ठ २५ हजार छन ।
नगरपालिकाले सहयोग प्रदान गर्न चाहने दाताहरुलाई भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा रकम जम्मा गर्नुहुन अथवा भक्तपुर नपामा उपलब्ध गराउन अनुरोध गरेको छ ।
-

राष्ट्रिय सभा सदस्यमा कांग्रेसका पाण्डे विजयी
भक्तपुर – राष्ट्रिय सभा रिक्त एक सदस्यका लागि भएको लुम्बिनी प्रदेशमा सोमवार सम्पन्न निर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५ सय २८ मत भार अन्तरले पराजित गरेको हो ।
पाण्डेले स्थानीय तहतर्फ २ हजार १ सय २४ र प्रदेशसभा तर्फ २ हजार १६ गरी कूल ४ हजार १ सय ४० मत भार प्राप्त गर्नुभयो । निकतम प्रतिद्धन्द्धी खड्काले स्थानीय तहतर्फ १ हजार ६ सय ९२ र प्रदेश सभातर्फ १ हजार ९ सय २० गरी कूल ३ हजार ६ सय १२ मत भार प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
पाण्डेलाई स्थानीय तहका प्रमुख–उपप्रमुख १ सय १८ र प्रदेशसभा सदस्य ४२ जनाले मतदान गरेका थिए भने खड्कालाई स्थानीय तहका प्रमुख–उपप्रमुख ९४ र प्रदेश सभा सदस्य ४० जनाले मतदान गरेका थिए । प्रदेशसभा सदस्य र स्थानीय तह तर्फ एक–एक मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभा सदस्यको एक मतको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ मतभार गणना हुन्छ ।
पाण्डे हालै एमाले छाडेर कांग्रेस प्रवेश गरेका हुन् भने खड्का माओवादी छाडेर एमाले प्रवेश गरेका हुन । खड्का एमाले प्रवेश गरेकाले खाली भएको स्थानमा उपनिर्वाचन भएको हो ।
कांग्रेस उम्मेदवार पाण्डेलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समूहको समर्थन रहेको थियो । खड्कालाई जसपाका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले भोट दिएका थिए ।
तीन सय मतदाता रहेकोमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१३ गरी २९६ मत खसेको थियो । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजे दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।
-

राष्ट्रिय सभा सदस्यका लागि आज लुम्बिनीमा उपनिर्वाचन
राष्ट्रियसभाको एक रिक्त सदस्यको लागि आज लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि प्रदेश राजधानी दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान स्थल तोकिएको छ ।
उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र नेकपा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का चुनावी मैदानमा छन ।
खड्का यसअघि माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । पार्टी विभाजनसँगै खड्का एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उहाँलाई कारवाही गरी पद मुक्त गराएका थिए । सोही पदका लागि उपनिर्वाचन हुन लागेको हो । एमालेले खड्कालाई पुनः उम्मेदवार बनाएको छ ।
कांग्रेसका पाण्डे २०७४ को निर्वाचन अघि एमाले प्रवेश गरेर प्रदेशसभामा उम्मेदवार बनेका थिए । पाण्डे प्रदेशसभा सदस्यबाट राजिनामा दिएर पुनः कांग्रेस प्रवेश गरेका हुन ।
मतदान स्थलमा तीन वटा केन्द्र तयार गरिएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिनुभयो । निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ । कोभिड पोजेटिभका लागि छुट्टै मतदानस्थल बनाइएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको थापाले बताउनुभयो ।
निर्वाचनमा कुल मतदाता ३ सय छन् । जसमा प्रदेश सांसदको संख्या ८३ छ भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् । उपनिर्वाचनमा मतदाता नामावलीमा नाम नभएका चार जना मन्त्रीले पनि मत दिन पाउने भएपछि प्रदेशसभा सदस्यको संख्या ८३ पुगेको हो ।
यसअघि प्रकाशित मतदाता नामावलीमा जसपाका चार सांसदको नाम थिएन । जसपाले कारवाही गरी सांसद पद खारेज गरेका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि निर्वाचन आयोगले पुरक मतदाताको रुपमा मताधिकार दिएको हो ।