Category: भर्खरै
-

उपमेयरमा ९९ भोट ल्याएकी रेणुका गुरूङ राज्यमन्त्री
भक्तपुर, जेठ २२
चार वर्ष अघि उपमेयरमा पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री हुनुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार गुरूङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त गर्नुभएको हो । उहाँले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उहाँ काठमाडौंको टोखा नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बन्नुभएको थियो । तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार बनेकी गुरूङले उपप्रमुखमा ९९ मत पाएको निर्वाचन आयोगको तथ्यांक छ ।
टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की ज्ञानमाया डंगोल निर्वाचित हुनुभएको थियो । उहाँले आठ हजार ९८ मत पाउनुभएको थियो ।
नवनियुक्त राज्यमन्त्री गुरूङ राजनीतिमा लागेको पनि चार वर्षमात्रै भएको छ । उहाँ स्थानीय तहको निर्वाचन अघि फोरमको टोखा नगर कमिटी अध्यक्ष बन्नुभएको थियो । उपप्रमुखमा पराजित गुरूङलाई फोरमले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनाएको थियो । उहाँ समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको थियो ।
जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष उपेन्द्र यादव पक्षकी उहाँले पछिल्लो समय अर्का अध्यक्ष महन्थ ठाकुरलाई सघाउँदै आउनुभएको छ । यादव पक्षलाई छोडेर आएकाले नै उहाँलाई राज्यमन्त्री बनाइएको ठाकुर पक्षको भनाइ छ ।
उहाँ जसपा एकीकरण हुनुअघि फोरमलाई फुटाउने ६ जना सांसदमा थिइन् । त्यतिबेला प्रधानमन्त्री ओलीले फोरमलाई फुटाउनका लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए । गुरूङ सहित ६ जना सांसदले फोरम फुटाउन लागेपछि रातारात राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरेर जसपा बनाइएको थियो।
अहिले जसपा पनि विभाजनको संघारमा पुगेको छ । सुनसरीको रामधुनी नगरपालिका–६ की गुरूङ हाल काठमाडौंमा बस्दै आउनुभएको छ । समाजसेवामा सक्रिय उहाँ नेपाल मानव कल्याण संगठन र दिगो विकास केन्द्रकी अध्यक्ष भइसक्नुभएको छ ।
हिमालखबरबाट -

बाल यौन दुराचारमा दुई शिक्षक पक्राउ
भक्तपुर, जेठ २२
एक १३ वर्षिया बालिकालाई यौन दुराचार गरेको अभियोगमा भक्तपुरमा शुक्रवार दुई शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ७, गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्डो प्रशिक्षक चुलाई मुखिया छन ।
प्रहरीका अनुसार शिक्षक कोजुले गत मंसिर १६ गते आफ्नै घरमा भोज खान बोलाई ती १३ वर्षिया बालिकालाई यौन दुराचार गरेको आरोप लागेको छ भने भक्तपुर सृजनानगर बस्ने तेक्वान्डो प्रशिक्षक मुखियालाई गत फागुन १ गते बिहान भक्तपुरको सल्लाघारीमा तेक्वान्डो प्रशिक्षण गर्नेक्रममा यौन दुराचार गरेको आरोप लगाईएको छ ।
महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक दिपक गिरीका अनुसार पिडित बालिकाकी आमाले बुधवार दिएको उजुरीका आधारमा कोजु र मुखियालाई पक्राउ गरिएको हो ।
पिडित बालिकाले आमालाई भनेपछि घटना सार्वजनिक भएको हो । मुखियाले राम्रोसँग खेल सिकाईदिन्छु भनी सल्लाघारीमा बोलाई एकान्तस्थानमा लगेर यौन दुराचार गरेको बताईएको छ । पक्राउ परेका कोजु र मुखियामाथि छुट्टाछुट्टै आवश्यक अनुसन्धान कार्य भैरहेको प्रनाउ गिरीले बताउनुभयो । -

कोरोना संक्रमितको स्वास्थ्यलाभको कामना गर्दै कांग्रेसले भक्तपुरमा दिप प्रज्वलन गर्ने
भक्तपुर, जेठ २१
नेपाली कांग्रेसले भोली शनिवार बिहान भक्तपुरका चार नगरपालिकाका ३८ वटै वडामा दिप प्रज्वलन गर्नेभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ र २ का सभापतिहरुको निर्देशनमा बिहान ७ बजे जिल्लाका ३८ वटै वडाका मन्दिरहरुमा दिप प्रज्वलन र पुजा अर्चना गर्न लागेको हो ।
कोरोना भाइरसको महामारीले आक्रान्त पारेको बेला कांग्रेसले संmक्रमितको स्वास्थ्यलाभ र मृतकको आत्माको चीर शान्तिको कामना गर्दै दिप प्रज्वलन गर्न लागेको क्षेत्र नं. का सभापति जीवन खत्रीले बताउनुभयो ।
वडाका स्थानीय पायक पर्ने मन्दिरमा स्थानीय जनप्रतिनिधि, पार्टी कमिटी र भातृ संगठनका पदाधिकारीहरुको उपस्थितीमा सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाई कार्यक्रम गर्न निर्देशन दिईएको क्षेत्र नं. २ का सभापति नारायण खायमलीले बताउनुभयो । -

मन्त्रिपरिषद पुनर्गठन, जसपाका १० नेता मन्त्री बने
भक्तपुर, जेठ २१
प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रवार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका १० सहित १३ नयाँ अनुहारलाई समावेश गर्दै मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति भवन शितल निवासमा शपथ ग्रहण भएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नेक्रममा मौजुदा मन्त्रिपरिषदका उपप्रधानमन्त्रीसहित ९ मन्त्री र ३ राज्यमन्त्रीलाई बिदा गर्नुभएको छ । पुरानो मन्त्रिपरिषदका अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई मात्र निरन्तरता दिईएको छ ।
नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नयाँ मन्त्रिपरिषदमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई, अनिलकुमार झाले खानेपानी, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरियाले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएको छ ।
त्यस्तै चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मिया युवा तथा खेलकुद मन्त्री बन्नुभएको छ । जसपाकै चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त हुनुभएको छ । सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् ।
मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे बिदा हुनुभएको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो, स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विकलाई पनि सरकारबाट बिदा गरिएको छ ।
प्रधानमन्त्र िओलीले सात मन्त्रालयको जिम्मेवारी आफैंसँग राख्नुभएको छ । प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय आफैंसँग राख्नुभएको छ ।
सरकारमा रहेका केही वरिष्ठ नेताहरुलाई पार्टीमा सक्रिय बनाउन सरकारबाट बिदा गरिएको बुझिएको छ । त्यस्तै पुर्वमाओवादी पृष्ठभुमिका केही नेता र एमाले भित्र पनि माधव–झलनाथ समूह छाडेर आउने नेतालाई मन्त्री बनाउन सात मन्त्रालयले ओली आफैंले राखेको स्रोतले बताएको छ ।तस्विर, सेतोपाटीबाट साभार
-

नेपालमा थप ८६३३ कोरोना संक्रमण मुक्त
भक्तपुर, जेठ २१
नेपालमा थप ८ हजार ६३३ जना कोरोना संक्रमण मुक्त भएका छन । त्यस्तै विगत २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको र सोही अवधीमा १०१ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुल २० हजार ८१३ नमुना परीक्षण गर्दा ६ हजार ६५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । तीमध्ये ६ हजार ६३१ एन्टिजेन परीक्षण हो जसबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।
नेपालमा कुल संक्रमित संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ जसमध्ये अहिले ९७ हजार छ सय ९९ जनामा सक्रिय संक्रमित छन् । कुल संक्रमितमध्ये ३९ प्रतिशत महिला हुन् ।
कुल संक्रमितमध्ये ८२ प्रतिशत निको भएका छन् भने मृत्यु हुनेको प्रतिशत कुल संक्रमितको १.३३ प्रतिशत रहेको छ । अहिलेसम्म कुल ७ हजार ७३१ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितमध्ये ६ हजार ८०७ जना संस्थागत आइसोलेशनमा छन् । ती मध्ये १ हजार ४२२ आईसीयूमा र ४०४ जना भेन्टिलेटरमा रहेका छन् ।
शुक्रवार काठमाण्डौंमा ८९७, भक्तपुरका १८८ र ललितपुरमा २९९ जना गरी काठमाण्डौं उपत्यकामा १ हजार ३८४ जना संक्रमित थपिएका छन् । -

झुठको पुलिन्दा धेरै बेर टिकेन
भक्तपुर, जेठ २१, जगत प्रजापति
राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टिका प्रसाद ढकालले बिहिवार राती ९ बजेर ३५ मिनेटमा एउटा सनसनीपूर्ण ट्वीट गरे । उनले ट्वीटमा राष्ट्रपतिको अग्रसरतामा अमेरिकाले नेपाललाई ५० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको खुलासा गरे ।
‘सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशिलताले कोभिड–१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ । हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ,’ ढकालले ट्वीटमा उल्लेख गरेका थिए ।
जेठको पहिलो साता विकसित भएको राजनीतिक घटनाक्रम र ती घटनामा प्रधानमन्त्री के पी शर्मा ओलीको रबरस्ट्यामको रुपमा काम गरेको भन्दै आलोचित बनेका राष्ट्रपति भण्डारीले त्यसयता कोरोना विरुद्धको खोप र स्वास्थ्य सामग्री अनुदानमा ल्याउन पहलकदमी र अग्रसरता देखाएका छन । उनले टेलिफोनमा प्रत्यक्ष सम्वाद गरेपछि चिनिया राष्ट्रपतिले तत्काल १० लाख खोप दिने घोषणा गरे । सो घोषणा अनुसारको खोप नेपाल आइसकेको छ । राष्ट्रपतिकै आग्रहमा थाई राजपरिवारले स्वास्थ्य सामग्री सहयोग गरेको छ । उनले भारतका समकक्षीलाई पनि पत्र पठाई खोप सहयोग गर्न आग्रह गरेका छन ।
यसै सन्दर्भमा राष्ट्रपति भण्डारीले अमेरिकाका लागि नेपालका राजदुत डा. युवराज खतिवडामार्फत अमेरिकी राष्ट्रपति जे वाइडेन समक्ष खोप सहयोगको आग्रह गरेका थिए । ढकालको ट्वीटले आम मानिसमा चासो बढ्नु स्वभाविक हो ।
ढकालको ट्वीटपछि यो खबर राती नै कयौं अनलाईन सञ्चारमाध्यमहरुले ब्रेकिङ न्यूजको रुपमा प्रकाशन गरे । राती नै यो खबरले सनसनी मच्चायो । नमचाउनु पनि किन ? नेपाल अहिले कोरोना भाइरसको महामारीको चपेटामा परेको छ । मानिसमा त्राहीत्राही छ । जनता निषेधाज्ञाले घरभित्र थुनिनु परेको अवस्था छ । खोप लगाउन बाँकी जनता खोप कहिले आउला भनेर सरकारको मुख ताकेर बसेका छन । सरकारले समयमा खोपको व्यवस्थापन गर्न चासो नदिएको, कोरोना विरुद्धको लडाईंका लागि आवश्यक तयारी समयमा नगर्नाले जनता अक्सिजन र औषधिउपचार गर्न नपाएरै प्राण त्याग्न बाध्य भएको आरोप विपक्षीहरुले लगाउँदै आएका छन । सरकारलाई यो चुनौतीको रुपमा खडा भएको अवस्थामा एकाएक विश्व शक्ति राष्ट्र अमेरिकाले ५० लाख डोज खोप दिने खबर राष्ट्रपतिको सञ्चार विज्ञजस्तो गरिमामय पदमा आसिन ढकालबाट सार्वजनिक भएपछि नपत्याउनु पनि कसरी ?
लगत्तै प्रधानमन्त्री के पी शर्मा ओलीका अन्धभक्त समर्थकहरुले पनि यसलाई भाइरल नै हुने गरी सामाजिक सञ्जालमा शेयर गरे । राष्ट्रपतिलाई गाली गर्नेहरुलाई गतिलो जवाफ फर्काए ।
बिहिवार राती नै अर्को समाचार प्रकाशनमा आयो, जुन समाचारले ढकालको ट्वीटको खण्डन ग¥यो । समाचार अनुसार अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको थियो । जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकलाई उपलब्ध गराउने घोषणा गरिएको थियो ।
कोभ्याक्समार्फत वितरण हुने खोपमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जाने र बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जाने घोषणा गरिएको थियो ।
एशियाका लागि छुट्याइएको ७० लाख डोज खोप नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुन्यूगिनी, ताइवान र एशिया प्यासिफिक आइल्याण्डलाई दिने घोषणा अमेरिकी राष्ट्रपति कार्यालयको छ ।
अमेरिकाले जुन महिनाको अन्तिमसम्ममा ८ करोड डोज कोरोना खोप विश्वभर सहयोग गर्दैछ, यसमध्ये पहिलो चरणमा दिइने साढे २ करोडको खोप वितरणको योजना अमेरिकी राष्ट्रपति जे वाइडेनले सार्वजनिक गरेका हुन् । कोभ्याक्स कार्यक्रममार्फत नेपालले २० प्रतिशत जनसंख्यालाई खोप पाउने अपेक्षा छ । हालसम्म २ लाख ८४ हजारभन्दा बढी डोज खोप आइसकेको छ ।
बिहिवार राती नै खण्डित भईसकेको समाचारलाई पुष्टि गर्न शुक्रवार बिहान प्रधानमन्त्री के पी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि एक तिहाई खोपको व्यवस्थापन भन्दै खोप सम्बन्धी एक ट्वीट गरे । उनले पनि अमेरिकाले नेपाललाई ५० लाख खोप दिने जानकारी दिए । उनले लेखेका छन, ‘एक तिहाई खोपको व्यवस्थापन– अमेरिकाबाट अनुदान ५० लाख, चीनबाट अनुदान १८ लाख, भारतबाट अनुदान १० लाख, सुरक्षकर्मीलाई प्राप्त १ लाख, भारतबाट खरिद १० लाख, खरिदको आउनबाँकी १० लाख, कोभ्याक्स अनुदान ३ लाख ४८ हजार–जम्मा १ करोड २ लाख ४८ हजार, कुल चाहिने ४ करोड डोज । बधाई छ सरकार ।’
ढकालले आफ्नो ट्वीट राती हटाए । किनकी उनको ट्वीटमा कुनै सत्यता थिएन । उनले सरासर झुठ बोलेर जनतालाई झुक्याउने प्रयास गरेका थिए । तर त्यो झुठको पुलिन्दा धेरै बेर टिक्न सकेन । उनले राती नै उक्त ट्वीट डिलिट गरेर अर्को ट्वीट गरे । उनले नयाँ ट्वीटमा लेखेका छन, ‘मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु! यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो ।’
ढकालको ट्वीट झुठो भएको प्रमाणित भइसकेपछि पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारले पुनः अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिन लागेको ट्वीटर मार्फत सार्वजनिक गर्नु अर्को लज्जाको विषय हो । उनले पनि पहिलेको ट्वीटलाई हटाएर अर्को ट्वीट गरिसकेका छन । त्यसमा उनले भनेका छन, ‘तथ्यांक लेख्न उचित लागेन । हामीलाई ४ करोड डोज खोप चाहिन्छ, त्यसका निम्ति राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेका छन । आफु र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरुले राष्ट्रपतिको विरोध गर्ने पाखण्डीपन त प्रकट भएकै छ ।’
देशको गरिमामय पदमा आसिन व्यक्तिको सचिवालयमा बसेका जिम्मेवार व्यक्तिहरुले गर्ने यस्ता गल्तीलाई के भन्ने ? के यो जानी जानी जनता झुक्याउन गरेको ट्वीट थियो ? यसको जवाफ ढकाल र थापा दुवैले दिनैपर्छ । यस्ता ट्वीटले थापा र ढकालको व्यक्तिगत प्रतिष्ठामा आँच ल्याएको त छ नै, यसले प्रधानमन्त्री र राष्ट्रपतिको गरिमामा समेत ठेस पु¥याएको छ । -

भक्तपुरमा विगत २४ घण्टामा ४५३ कोरोना मुक्त
भक्तपुर, जेठ २१
भक्तपुरमा बिहिवार ४५३ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेसनमा बसेका कोरोना संक्रमित मध्ये बिहिवार २५२ पुरुष र २०१ महिला संक्रमण मुक्त भएका हुन ।
यससँगै जिल्लामा कोरोना संक्रमित मध्ये १७ हजार ६९९ जना कोरोना संक्रमण मुक्त भएका छन । यो कुल संक्रमितको ८७ दशमलव ४० प्रतिशत हो । भक्तपुरमा बिहिवारसम्म २० हजार २५० जना संक्रमित भएका छन ।
भक्तपुरमा पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादर मिजारले बताउनुभयो । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिकाका महिला छन । यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट १७१ पुरुष र ९५ महिलाको मृत्यु भएको मिजारले बताउनुभयो । -

सर्वाेच्चको पूर्ण बैठक आज बस्दै
भक्तपुर, जेठ २१
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) बोलाउनुभएको छ । संसद विघटन सम्बन्धी रिटको सुनुवाईमा संवैधानिक अदालतका न्यायधीशहरुमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले सर्वोच्चको पूर्ण बैठक बोलाउनुभएको हो ।
बैठकमा संवैधानिक इजलास गठनलगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा बिस्तारलगायतका विषयमा छलफल गर्न ‘फुल कोर्ट’को बैठक बोलाइएको जनाइएको छ ।
संसद विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलासका न्यायाधीशका सम्बन्धमा विवाद उठेपछि प्रधानन्यायाधीश राणाले इजलास नै विघटन गर्दै नियमावली संशोधन गरेर वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्ने बताउनुभएको थियो ।
प्रधानन्यायाधीश राणा र सर्वोच्च अदालतको बार एशोसियसनका पदाधिकारीहरूसँग भएको छलफलमा नियमावली संशोधन गरेर वरिष्ठताको आधारमा इजलास गठन गर्ने व्यवस्था गर्ने सहमति भएको सार्वजनिक थियो । -

आनन्दकुटी आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग
काठमाण्डौं, जेठ २१, सुनिता तुलाधर,
काठमाण्डौं स्वयम्भू स्थित आनन्दकुटी विद्यापीठ हाई स्कूलमा संचालन गरिएको ‘आनन्दकुटी आइसोलेसन केन्द्र’लाई ‘चु जि च्यारिटी फाउण्डेशन’ ताइवानले ५ वटा अक्सिजन कन्सेन्टरेटर सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरको पहलमा सो सामग्री सहयोग प्राप्त भएको केन्द्रले जनाएको छ ।
त्यसैगरी सो केन्द्रलाई सिद्धार्थ बनस्थली इन्स्टिच्यूट ‘४७ व्याच समूह’ ले पनि स्वास्थ्य सामग्री प्रदान गरेको छ । उक्त समूहले केन्द्रलाई आवश्यक मास्क, पञ्जा, औषधि र सर्जिकलका सामानहरु सहयोग गरेको केन्द्रका सल्लाहकार एवम् भिक्षु महासंघका अध्यक्ष भिक्षु महास्थविरले जानकारी दिनुभयो । सो अवसरमा ईन्टरनेशनल बुद्धिस्ट सोसाईटी लुम्बिनीलाई पनि एक थान अक्सिजन कन्सेन्टरेटर हस्तान्तरण गरिएको थियो ।

साथै यस आइसोलेसन केन्द्रलाई थुप्रै शुभेच्छुकहरुबाट पनि आर्थिक सहयोग प्राप्त भैरहेको छ । र हाल साधारण खालका कोविदका विरामीहरुले यहाँ उपचार पाई स्वास्थ्य लाभ पाइरहेका छन ।

काठमाण्डौं क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठको पहलमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्डौ मोडेल स्कूल अफ नर्सिंगको व्यवस्थापनमा सो केन्द्र गत जेठ २ गते देखी सञ्चालनमा आएको हो । यहाँ सबै सेवा सुविधा निःशुल्क व्यवस्था गरिएको छ ।

