भक्तपुर, मंसिर २०
मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्ने एवं मध्यपुर थिमिको सम्पदा र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले मध्यपुर महोत्सव आयोजना गरिएको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले बुधवार आयोजना गरेको ‘रेडक्रस स्मारिका–२०८१ विमोचन एवं सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले उक्त भनाई राख्नुभएको हो ।
नगर प्रमुख श्रेष्ठले आगामी पुस १२, १३ र १४ गते आयोजना हुने मध्यपुर महोत्सवमा रेडक्रसकर्मीहरुको भूमिकाबारे चर्चा गर्दै विप्दमा परेका मानवको उद्धार, राहत र पुनःस्थापनमा नेरेसो मध्यपुर थिमि उपशाखाको योगदानको प्रशंसा गर्नुभयो ।
मध्यपुर थिमि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले उपशाखाको भवन निर्माण नपा र रेडक्रसकर्मीहरुको साथ र सहयोगमा अघि बढ्ने बताउनुभयो । उपप्रमुख श्रेष्ठले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवन शिलान्यास भईसकेको र अस्पतालको सेवा सुविधा बृद्धि भइरहेको भन्दै मध्यपुर महोत्सव सफल पार्न सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा मध्यपुर थिमि वडा नं. ४ निवासी सुर्यकृष्ण थापा श्रेष्ठलाई उत्कृष्ट स्वयम्सेवक सम्मान गरिएको थियो । उहाँलाई नगर प्रमुख, उपप्रमुख दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
सो अवसरमा उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले रेडक्रसको मूल्यमान्यता एवम् दायित्वबारे बुदाँगत चर्चा गर्दै मध्यपुर थिमि नगरपालिका, स्थानीय समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ र रेडक्रसकर्मीहरुको साथ र सहयोगमा उपशाखाको भवन शिलान्यास गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा उपशाखाका सचिव जीवन श्रेष्ठ, सम्मानित व्यक्तित्व सुर्यकृष्ण थापा श्रेष्ठ, उपशाखाकी उपसचिव सुशिला श्रेष्ठ लगायतका वक्ताहरुले रेडक्रसको विविध कार्यका बारेमा चर्चा गर्नुभएको थियो ।
Category: भर्खरै
-
पर्यटन प्रवद्र्धनकालागि मध्यपुर महोत्सव–नगर प्रमुख श्रेष्ठ
-
खुल्लातर्फ पुरुषोत्तम र आशिष, महिलामा बिनिता कपालीको अग्रता
भक्तपुर, मंसिर २०
नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शुरु भएको नेशनल बी चेस च्याम्पियनसिपको तेस्रो दिन ६ चरणको खेल सम्पन्न भएको छ ।
सूर्यविनायक नगरपालिकाको प्रमुख प्रायोजनमा चलिरहेको चेस प्रतिस्पर्धामा काठमाण्डौंका युवा पुरुषोत्तम सिलवाल र दोलखाका आशिष फूँयालले समान ५ अंक जोडेर संयुक्त अग्रता लिएका छन् ।
यसअघि पाँचौ चरणमा एफएम रुपेश जैसवालसँग बराबरी खेलेका उदीयमान पुरुषोत्तम सिलवालले ललितपुरका सुरोज महर्जनलाई कठिन खेलमा पञ्छाउन सफल भए ।
यस्तै मकवानपुरका सिएक मिलन लामा, रौतहटका एफएम रुपेश जैसवाल र काठमाण्डौंका एफएम रिजेन्द्र राजभण्डारी, भक्तपुरका निकेन कुसाथाले समान ४.५ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा रहेका छन ।
सिएम मिलनले भक्तपुरका राजेश कक्षपतिलाई हारको स्वाद चखाए भने एफएम रुपेशसँग बराबरी खेलेका छन् । रुपेशले यसअघिको खेलमा पुरुषोत्तमसँग पनि बराबरी नै खेलेका थिए । एफएम रिजेन्द्रले आशिषसँग हारेर अर्को खेलमा पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारलाई पराजित गरे । निकेनले धनुषाका सुशील चौधरीलाई हराउँदैं आशिषसँग बराबरी गरे ।
२५ औं राष्ट्रिय प्रतियोगिता छनौट हुने क्रममा छ जना पुरुष खेलाडीले ४ अंक बनाउदै सम्भावना जगाइरहेका छन् । ९ जना खेलाडी छनौट हुने स्पर्धामा काठमाण्डौंका सुरज सिंह, ललितपुरका सुरज महर्जन, धनुषाका सुशील चौधरी, शुशन आचार्य, काठमाण्डौंका प्रेमकृष्ण महर्जन र सिएम पुरुषोत्तम चौलागाईं रहेका छन् ।
बाचामारी स्थित होटल सिटि गाउँमा चलेको महिलातर्फ किर्तिपुरकी बिनिता कपाली ५.५ अंक जोडेर एकल अग्रता बनाउन सफल भएकी छिन् । उनले पाँचौ चरणमा काठमाण्डौंका रिया श्रेष्ठ र छैटौं चरणमा दानिशा पुरीमाथि जीत दर्ता गर्दै अपराजित रहे ।
यसैगरी चितवनकी लक्ष्मी कँडेल ५ अंकका साथ दोश्रो स्थानमा उभिएकी छिन् । उनले बाँकेकी ईशा गिरी र झापाकी पुनम प्रसाईंलाई पराजित गरेकी थिईन । लक्ष्मीसँग हारेकी ईशाले पर्साकी शुशीला गुरुङ विरुद्ध जीत प्राप्त गरिन । -
नेमकिपा अध्यक्ष बिजुक्छेँद्वारा निर्माणाधीन थन्थु दरबार, लक्ष्मीनरसिंह मन्दिर र इखालाछी मठको निरीक्षण
भक्तपुर, मंसिर १९
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरभित्र पुनर्निर्माणाधिन ऐतिहासिक दरवार र मठ मन्दिरहरुको निरीक्षण गर्नुभएको छ । बिजुक्छेंले मंगलवार भक्तपुर दरवार क्षेत्रमा अवस्थित थन्थु दरबार, गःहिटीस्थित निर्माणाधीन ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र तालाक्वमा अवस्थित इखालाछी मठ पुनःनिर्माण कार्यको स्थलगत निरीक्षण गर्नुभएको हो ।
निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुरको मौलिक स्वरुप संरक्षणमा नपाको अग्रसरता प्रशंसा गर्दै यहाँका सम्पदा पुनःनिर्माणमा स्थानीय जनताको साथ र सहयोग पनि महत्वपूर्ण विषय भएको बताउनुभयो ।
उहाँले सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको खण्डमा देशभरकै सम्पदाहरु संरक्षण हुने बताउनुभयो । सम्पदाको महत्वबारे नयाँ पुस्तालाई अवगत गराउन सके स्वतःस्फूर्त रुपमा संरक्षण र सम्बद्र्धन हुँदै जाने भन्दै उहाँले भक्तपुरको मौलिक पहिचान नै यहाँको परिचय भएको बताउनुभयो ।
भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर सात सय वर्ष पुरानो देखिन आएको छ । लक्ष्मीनरसिंह मन्दिरभित्र शक्तिसहितको शान्त भावको लक्ष्मीलाई साथमा लिएको नरसिंहको मूर्ति अवस्थित छ । भक्तपुर महोत्सवको तयारीस्वरुप भक्तपुर नपाले यहाँका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माण र संरक्षण कार्यलाई तीव्रता दिइएको छ ।
निरीक्षणमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडाध्यक्ष, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो । -
नेशनल बी चेस च्याम्पियनसिप भक्तपुरमा शुरु
भक्तपुर, मंसिर १८
नेशनल बी चेस च्याम्पियनसिप मंगलवारदेखी भक्तपुरमा शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सूर्यविनायक नगरपालिकाको सहयोगमा उक्त च्याम्पियनसिप शुरु भएको हो ।
च्याम्पियनसिप अन्तर्गत महिला तर्फ पहिलो चरणको खेलमा ओलम्पियाड खेलाडी शान्ति धिमालले अप्रत्याशित हार व्यहोर्न पुगेकी छिन् । झापाकी पुनम प्रसाईंसँग पराजित धनुषाकी धिमाल डिफेन्स गर्न चुकेपछि १ अंक गुमाउन पुगेकी छिन् ।
प्रसाईंसँगै किर्तिपुरका बिनिता कपाली, पर्साका शुशीला गुरुङ, चितवनकी लक्ष्मी कँडेल, ईषा गिरि, नयुमा मगर र निहाना श्रेष्ठले १ – १ अंक जोडेका छन् । बाचामारीस्थित होटल सिटि गाउँमा जारी च्याम्पियनसिपमा पुरुष तर्फ मकवानपुरका पुरुषोत्तम सिलवाल, काठमाण्डौंका एफएम रिजेन्द्र राजभण्डारी, दोलखाका आशिष फूँयाल, बनेपाका राहुल चौ प्रधान, सुसन आचार्य, धिरेन राई, ललितपुरका सानुराज बज्राचार्य, रौतहटका एफएम रुपेश जैसबाल, झापाका प्रकाशचन्द्र नेपाल, हेटौंडाका सिएम मिलन लामा आफ्ना खेल जितेर शुरुआती अंक जोडेका छन् ।
यसैगरी भक्तपुरका निकेन कुसाथा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका सिएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन, भक्तपुरका राजेश कक्षपति, ललितपुरका सानुभाई महर्जन, विनय थापा र प्रसित खनालले जित दर्ता गर्दै संयुक्त अग्रस्थानमा उभिन सफल भएका छन् ।
च्याम्पियनसिपमा ४० जना पुरुष र २० जना शीर्ष महिला खेलाडीले सहभागिता रहेको छ । नेशनल बी चेस प्रतिस्पर्धा मार्फत छनौट हुने ९ जना पुरुष र ९ जना महिला खेलाडीले नेपाल च्याम्पियनका शिर्ष तीन जना खेलाडीसँग राष्ट्रिय च्याम्पियनका लागि खेल्नेछन् । २५ औं राष्ट्रिय र १० औं महिला राष्ट्रिय च्याम्पियन आगामी माघको दोश्रो साता हुनेछ ।
यसअघि च्याम्पियनसिपको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले भक्तपुर जिल्लाले बुद्धिचाल खेलको विकास र उन्नतिमा विशेष पहल गर्दै आइरहेका कारण चेस खेलमा नगरपालिकाले लगानी गर्ने वातावरण बनेको धारणा ब्यक्त गरेका थिए ।
सो अवसरमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष दिपक थापा, महासंघका सहसचिव मोनालिसा खम्बू, कोषाध्यक्ष ताराबहादुर रानाभाट, सदस्य बालाराम पुन, रमिला पोखरेल, निरञ्जन प्रजापति, राजु ताम्राकार लगायतको उपस्थिती रहेको थियो । -
मध्यपुर महोत्सव–२०८१– नगरका ८० भन्दाबढी स्थानमा २०० स्टल रहने
भक्तपुर, मंसिर १८
मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते आयोजना गर्ने मध्यपुर महोत्सव–२०८१ मा ८० भन्दाबढी स्थानमा २ सय भन्दा बढी स्टल रहने भएको छ । महोत्सवमा नगरको शंखधर चोकदेखि नगदेश र बोदे हुँदै तिगनिको नीलबाराही स्थान सम्मका ऐतिहासिक बस्तीक्षेत्रका ८० भन्दा बढी टोलबस्तीहरुमा महोत्सवका २ सय भन्दा बढी स्टल रहने भएको हो ।
महोत्सवका लागि टोलटोलमा तयारी भइरहेको छ । महोत्सवका विशेष आकर्षणमा यहाँको लोपोन्मुख मौलिक पेशा व्यवसाय रहनेछ । महोत्सवको अवसर पारेर टिगनीको टिगनी बजी (चिउरा)लाई पुनर्जिवित गर्ने तयारी भइरहेको छ । ऐतिहासिक तथा परम्परागत टिगनी क्षेत्र बाट लोप भैसकेको टिगनी बजीलाई पुनर्जिबित गर्न स्थानिय आमा, दिदी बहिनीहरू सक्रिय भएका छन ।
टिगनी बजी उत्पादनको जिवन्त प्रदर्शनको लागि स्थानीय महिलाहरुले परम्परागत ओखललगायतका सामग्रीहरुको संलकन शुरु गरिसकेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवम् मध्यपुर महोत्सव मूल समारोह समितिका सयोजक सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
“महोत्सवका बेला आगन्तुकहरुले टिगनी बजी उत्पादनका लागि धान भुट्ने, भिजाउने, चिउरा कुट्ने विधि प्रत्यक्ष हेर्न र चिउरा खरिद गरी लैजान सक्ने व्यवस्था गरिनेछ,” उहाँले भन्नुभयो ।
यस्तै महोत्सवमा प्रदर्शन गरिने साँस्कृतिक झाँकी, परम्परागत पेशा व्यवसाय, मौलिक उत्पादनलगायतका विषय वस्तुहरुलाई विभिन्न १० वटा समूहमा विभाजन गरी सो अनुसारको स्टल व्यवस्थापन गरी प्रदर्शन गरिने उहाँले बताउनुभयो ।
महोत्सवमा स्थानीय मौलिक कला सँस्कृति अन्तर्गत बिस्काःजात्राको खत, पुलुकिसि जात्रा, महाकाली नाच, अष्टमातृका नाच, लाखे, नागाचा प्याखं, इन्द्र अप्सरा नाचहरुको प्रदर्शनी गरिनेछ ।
परम्परागत र मौलिक पेशा व्यवसाय अन्तर्गत माटोको भाँडा बनाउने, मुकुण्डो बनाउने, चिउरा कुट्ने, तेल पेल्ने, कपडा बुन्ने, बत्ती काट्ने, धूप बाट्ने, खेती गर्ने, गेडागुडी, मूर्तिकला, सेरामिक्स, चित्रकला र काष्ठकलाको प्रदर्शन गरिनेछ ।
नेवाी परिकारमा समय् बजि, वः (बारा), चटांमरी, योमरी लगायतका पकवानका स्टल रहनेछ ।
पुरातात्विक स्मारक क्षेत्र एवम् सम्पदा अन्तर्गत मध्यपुरको बालकुमारी क्षेत्रमा क्वलाखु अजिमा, बिष्णुुविर, ईन्द्रायणी, लोकेश्वर मन्दिर, थिमिलायकू, बाखाछे महादेव, दिगू भैरब, निगु पुखु र बिष्णु कुण्डलगायतका मठ मन्दिर दरवारको अवलोकन गर्न पाइनेछ ।
यस्तै चपाचो क्षेत्रमा इनायक्व (सिद्धिकाली), विश्व विनायक, दिगु बहाः, जिस्वाँ बहाः, सिद्धिकाली द्यछें, स्वगाँ पुखु, गुँगचिवाः, पाटी विहार, बहाखा भिमसेन र महादेव मन्दिरलगायतका सम्पदा रहेका छन ।
नगदेश क्षेत्रमा सिद्धिगणेश द्यछें, लँु झ्या (सुनको झ्याल), नगदेश लायकु, सिद्धिगणेश मन्दिर, नगदेश बुद्घविहार र शिलेश्वर महादेवको दर्शन र अवलोकन गर्न सकिनेछ ।
बोदे क्षेत्रमा बोदे लायकू, पलिस्वां पुखू (कमल पोखरी), कालिका मन्दिर, विष्णुघाः, महालक्ष्मी, र कुमारी मन्दिर रहेको छ । टिगनी क्षेत्रमा नीलबाराही द्यछें र नील बाराही मन्दिरको अलोकन गर्न सकिनेछ । दिव्यश्वरी क्षेत्रमा दिव्यश्वरी मन्दिर, कुशल भैरव र नाट्येश्वरी मन्दिर प्रख्यात । चर्चित छन ।
महोत्सवको अर्को आकर्षणको रुपमा नेवाः भ्वय् रहनेछ । नेवा भ्वय् अन्तर्गत परम्परागत शैलीमा सुकुलमा बसेर भोज खान पाइने छ । नेवाः भ्वय्मा सुजँबुजँ भ्वय्, चौरासी ब्यञ्जन भ्वय्को समेत व्यवस्था रहनेछ ।
महोत्सवमा मध्यपुरमा खेलिने परम्परागत र मौलिक खेलहरु लैलै (घ्वाँय् कासा), खिपःकासा, यकंधाला, घःचाः तुइकेगु, तुतुमाकुुचा, ह्वाकरा, पाँयचा, कसि खेलको अवलोकन गर्न पाइने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
यस्तै स्थानीय जीवनशैली र रहनसहन अन्तर्गत महोत्सव अवधीभर टोलटोलमा भजनकीर्तन, पूजाआजाका साथै नेवारी भेषभुुषा, बाजागाजा, माटोको भाँडा बनाउने, सेरामिक्स, तरकारी उत्पादन, टिंकी बजीको जिवन्त प्रदर्शनी हुनेछ ।
साँस्कृतिक कार्यक्रममा धिमेबाजा, बाँसुरी बाजा, दाफा भजन, ज्ञानमाला भजन,
लोकदोहरी र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ ।
स्थानीय मौलिक उत्पादनहरुको व्यापारिक प्रदर्शनी अन्तर्गत हस्तकला, टिगिनी बजि (चिउरा), माटोको भाँडाकुँडा, सेरामिक्स, ताजा तरकारी, चाकुवासः, मध्यपुरको मीठो दहि, बिभिन्न प्रकारका बिउबिजन र बोटविरूवा, विभिन्न थरीका गेडागुडी, घरबुना कपडा र यसबाट बनेको लुगाफाटो, पाउँ, गुुँदपाक, मरमसला, मुकुण्डो, शुद्ध तोरीको तेललगायत मध्यपुरमा उत्पादन हुने वस्तुको प्रदर्शनी रहने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । -
भक्तपुरमा एड्स संक्रमित एक सय ५१ जना
भक्तपुर, मंसिर १६
भक्तपुर जिल्लामा कुल एक सय ५१ एचआईभी एड्स संक्रमित रहेको छ । उनीहरु सबैले औषधि सेवन गरिरहेको जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
३७ औँ विश्व एड्स दिवसको अवसरमा आइतवार जनस्वास्थ्य कार्यालयले राधेराधेस्थित भाटभटेनी परिसरमा आयोजना गरिएको दिप प्रज्ज्वलन कार्यक्रममा कार्यालय प्रमुख शान्तिराम खतिवडाले सो जानकारी दिनुभएको हो ।
उहाँले एचआईभी एड्स रोग नलुकाई उपचार गर्न आग्रह गर्नुभयो । उहाँले एड्स रोग पनि अन्य रोगहरु जस्तै सामान्य रोग बन्दै गएको बताउँदैं रोगविरुद्ध जित हासिल गर्न मनोवल उच्च राख्न आग्रह गर्नुभयो । “सुरुमा रोग लाग्नै नदिनेतर्फ विशेष ध्यान दिनुपर्छ । रोग लागिसकेपछि उपचार गरेर मनोबल उच्च बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा नर्सिङ अफिसर रुपा प्याठले एचआईभी एड्सका तथ्यांकहरु पेश गर्दै नेपाल, एसिया प्रसान्त क्षेत्र र विश्वमै यो रोगको अवस्थाको बारेमा जानकारी दिनुभयो ।
तथ्यांक अनुसार नेपालमा हरेक दिन एक जना मानिसहरुमा एचआईभी संक्रमित हुने गरको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले यसवर्षको ३७ औ विश्व एड्स दिवसको अवसरमा विश्व र नेपालमा एचआईभी र एड्सको अवस्थाको बारेमा सार्वजनिक तथ्यांक अनुसार सन् २०२३ को अन्त्यसम्म नेपालमा ३० हजार तीन सय व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ ।
सन् २०२३ मा ४५७ व्यक्तिहरुमा एचआईभीको नयां संक्रमण भएको अनुमान गरिएको छ जुन सन् २००० को तुलनामा ९१ प्रतिशतले घटेको छ । केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआईभी सङ्क्रमण ९१ प्रतिशतले घटेको छ ।
सन् २०१० यता विश्वमा एचआइभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको संख्या पनि आधाले घटेको छ । सन् २०२३ को अन्त्यसम्म एसिया प्रशान्त क्षेत्रमा ६७ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ ।
एचआइभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा नेपाल पनि एक रहेको जनाइएको छ । यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हासिल गरेको केन्द्रले राखेको तथ्यांकमा उल्लेख छ ।
नेपालमा पनि सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ः९५ः९५ र एचआइभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआइभी तथा एड्स सम्बन्धि कार्यक्रमहरु संचालन भइरहेको छ ।
‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आइतबार देशभर ३७ औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइएको थियो । नेपालमा एचआईभी तथा यौन रोग रोकथाम र प्रतिक्रियाका लागि वि स २०४९ सालमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द स्थापना भएको थियो ।
सन् २०३० सम्ममा नेपालमा एड्स इपिडेमिकलाई अन्त्य गर्ने परिकल्पना गरिएको छ । नयाँ एचआईभी सङ्क्रमण रोकथाम गर्ने, एचआईभी सङ्क्रमित व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी परिणामहरूमा सुधार ल्याउने, एचआईभी सङ्क्रमित तथा मुख्य समूहहरूमा एचआईभी सम्बन्धित असमानताहरूमा कमी ल्याउने सरकारको योजना छ ।
सन् २०२६ सम्मका उद्देश्यहरूमा अनुमानित एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, एचआईभी सङ्क्रमण पुष्टि भएका ९५ प्रतिशत व्यक्तिको उपचार गर्ने, एआरटी सेवा लिइरहेका एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ एचआईभी सङ्क्रमणलाई ९० प्रतिशतले कम गर्ने (२०१० को आधारमा), आमाबाट बच्चामा एचआईभीको सङ्क्रमण उन्मूलन गर्ने सन् २०२६ का उद्देश्यहरु रहेका छन् । -
मुलुकको समृद्धि र समाज रुपान्तरणका लागि गुणस्तरीय आवश्यक – नगर प्रमुख श्रेष्ठ
भक्तपुर, मंसिर १६
मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मुलुकको समृद्धि र समाज रुपान्तरणका लागि गुणस्तरीय, व्यवहारिक एवं संस्कारयुक्त शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ४ स्थित सनसाईन (एसएस) कलेजको शनिवार आयोजित १८ औं वार्षिकोत्सव कार्यक्रममा नगर प्रमुख श्रेष्ठले शिक्षाको गुणस्तरसँगैं व्यवहारिक र संस्कार पनि आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले नगरपालिकाले शिक्षाको गुणस्तरका साथै विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि सामूदायिक विद्यालयहरुमा अतिरिक्त क्रियाकलापका शिक्षक नियुक्त गरी विद्यालयमा पठाएको बताउनुभयो ।
उहाँले नगरपालिकाले आगामी पुस १२, १३ र १४ गते आयोजना गरिने मध्यपुर महोत्सव–२०८१ सफल बनाउन शिक्षक विद्यार्थी एवं शिक्षाकर्मीहरुको महत्वपूर्ण भूमिका हुने भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
एसएस कलेजका प्राचार्य राजन प्रसाद काफ्लेले शिक्षासँगै असल संस्कार, अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व विकासका कार्यलाई एसएस कलेजले प्राथमिकता दिएको बताउनुभयो । प्राचार्य काफ्लेले एसएस कलेजले स्थापनादेखि हालसम्म बोर्ड परीक्षामा नेपाल दोस्रो, काठमाण्डौं उपत्यका पहिलो, भक्तपुर पहिलो लगायतका सफलता प्राप्त गरेको जानकारी दिँदैं नेपालका ५ दर्जन बढि जिल्लाका विद्यार्थीहरुले एसएस कलेजबाट शिक्षा हासिल गरिसकेको बताउनुभयो ।
सनसाइन स्कुल व्यवस्थापन समितिका अध्यक्ष निर्मल कुमार भट्टराईले सबैले कर्तव्य र दायित्व सदैव पुरा गरेमा असल व्यक्ति बन्न सहज हुने धारणा राख्नुभयो ।
एसएस कलेज व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै प्रतिस्पर्धी नागरिक तयार गर्न एसएस कलेज सदैव प्रयत्नशील रहेको बताउनुभयो ।
कार्यक्रममा स्नातक तहको नतिजामा काठमाण्डौं उपत्यका प्रथम भएका मेधावी छात्र विशेष खड्कालाई नगद सहित सम्मान गरिएको थियो । स्नातक तह प्रथम वर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई पनि स्वागत गरिएको उक्त कार्यक्रममा वार्षिक विविधअतिरीक्त क्रियाकलापमा उत्कृष्टता हासिल गरेका ७० जनाभन्दा बढि छात्रछात्रालाई प्रमाणपत्र र पदक सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विविध भेषभूषामा सज्जिएर नेपाली, नेवारी, तामाङ, गुरुङ, राई, लिम्बु, मगर, सन्थाल जातजाति र भाषाभाषीको गीतमाआकर्षक नृत्यका साथै सन्देशमुलक नाटक प्रहसन प्रस्तुत गरेका थिए । -
शैलेन्द्र र सिन्दिरा बने बुद्धिचाल च्याम्पियन
भक्तपुर, मंसिर १६
शैलेन्द्र न्यौपाने र सिन्दिरा जोशी तेस्रो राष्ट्रब्यापी र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन । शैलेन्द्र पुरुषतर्फ र सिन्दिरा महिलातर्फ च्याम्पियन बनेका हुन ।
शंखरापुर युथ क्लबको आयोजनामा मेलम्ची रोड शांखुमा सम्पन्न प्रतियोगितामा शैलेन्द्रले अपराजित रहँदै च्याम्पियन बनेका हुन । बनेपाका १८८१ रेटेड शैलेन्द्रले ८ जित र एक बराबरी खेल्दै ८.५ अंक जोड्न सफल भए । उनले २२३४ रेटिङ्गको खेल प्रदर्शन गरि आफ्नो ब्यक्तिगत ५८.४ रेटिङ्ग बढाउदै नगद २० हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा २०२६ रेटिङ्गको खेल पस्केका १८२५ रेटेड कमल श्रेष्ठले एकल ७.५ अंक बनाएर दोश्रो बने । सर्लाहीका कमलले ब्यक्तिगत ४३.४ रेटिङ्ग बढाउदै नगद १५ हजार पुरस्कार प्राप्त गरे ।
स्वीस लिग डाइरेक्ट इन्काउन्टर र बुछोल्ज्स् नियम लागु गरिएको स्पर्धामा थापाथली चेसपार्कका १८४२ रेटेड सुमन लामाले ७ अंक जोडेर तेस्रो स्थान ओगट्न सफल भए । उनले १९८२ रेटिङ्ग खेल पस्केर नगद १० हजार प्राप्त गरे ।
प्रतिस्पर्धामा समान ७ अंक बनाएर काठमाण्डौंका १८७६ रेडेट सिएम भगवतीप्रसाद शर्मा चौथो, १७९५ रेटेड सुरज सिंह पाँचौ, बनेपाका १८३२ रेटेड राहुल चौ प्रधान छैटौं, शांखुका १७६४ रेटेड पूर्णनारायण अवाले सातौं स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गरे ।
अन्तिम चरणमा विजेता शैलेन्द्रसंग पराजित भई ६.५ अंकमा सिमित भक्तपुरका १८०६ रेटेड दामोदर गाँइजू आठौं, शांखुका १७५५ रेटेड रमेशवीर माली नवौं र १७४५ रेटेड सन्देश श्रेष्ठ दशौं स्थानमा रही खेल अन्त्य गरे ।
नेपाल वोमेन च्याम्पियन १६५१ रेटेड काठमाण्डौकी सिन्दिराले ४.५ अंक जोडेर महिलातर्फ प्रथम बनेकी हुन । झापा दमककी १५६९ रेटेड पुनम प्रसाईंले ४ अंक हासिल गर्दै वोमन द्वितीय र चेसपार्ककी १६५७ रेटेड शान्ति धिमाल ३.५ अंक बनाउदै तेस्रो भएन ।
प्रतियोगितामा विधागत पुरस्कार अन्तर्गत स्थानीय खेलाडी मध्ये जितेन्द्र श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र ज्ञानेन्द्र कुमार श्रेष्ठ क्रमशः उत्कृष्ट बन्न सफल भए ।
यस्तै उत्कृष्ट नवप्रवेशी भोजपुरका सन्तोष तामाङ, उत्कृष्ट सिनियरमा टोखाका १८३२ रेटेड आशानारायण लवट, उत्कृष्ट १८०० मुनी सिन्धुलीका रामहरि कार्की, उत्कृष्ट १६०० मुनी काठमाण्डौंका आभाष तिवारी, ५ अंक जोडेका उत्कृष्ट युवा १६ प्रथम सिन्धुपाल्चोकका १६५३ रेटेड सम्यक श्रेष्ठ र पेभेलियन चेस एकेडेमीका शुभनदीप थापा द्वितीय घोषित भए ।
शंखरापुर नगरपालिकाका मेयर रोशन नापितले विजेता एवं उत्कृष्ट विधाका खेलाडीहरुलाई पुरस्कार वितरण गरे । आयोजक क्लबका अध्यक्ष कृष्णभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको समापन कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, संयोजक कुमार महर्जन, प्रमुख निर्णायक आईए ज्ञानेन्द्र खाइजूको उपस्थिति रहेको थियो ।
दुई दिने प्रतियोगितामा १९०० रेटिङ्ग मुनि ४० जिल्लावाट १०४ जना खेलाडीहरुको सहभागीता रहेको थियो । जस मध्ये २० जना खेलाडीले कूल १ लाख २ हजार नगद पुरस्कार पाए । -
एसियन प्यासिफिक करातेमा नेपाललाई २ स्वर्णसहित ९ पदक
भक्तपुर, मंसिर १६
सिंगापुरमा सम्पन्न १६ औं एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ ।
नेपालको लागि सिनियर महिलातर्फ ६८ केजी तौल भन्दा माथि समुहमा १९ औं एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् । त्यसैगरि महिलातर्फकै ५० केजी मुनीको तौल समुहमा अन्जली महर्जनले नेपाललाई स्वर्ण पदक दिलाइन् ।
एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्बुको समूहले महिलातर्फको टिम कातामा रजत पदक जितेको छ । निरुपा दोङ तामाङले सिनियर महिलाको ५५ केजी मुनिको तौल समुहमा रजत पदक जितिन् ।
त्यसैगरि सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर कास्य पदक प्राप्त गरिन् । महिला जुनियर तर्फ ४५ केजी मुनिको तौल समुहमा पोरसिया चौधरी, ६८ केजी मुनि तौल समुहमा आशिका राईले कास्य पदक जितिन् ।
पुरुष तर्फको १६ बर्ष मुनि एकल कातामा रेहान जावेद र सिनियर पुरुष तर्फ ८४ केजी मुनिको तौल समूहमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाए ।
१२ खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्री,अफिसियल गरि कुल ३० जनाको नेपाली टोलीले एसियन प्यासिफिक सितोरियो करातेमा भाग लिएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी ‘ईश्वर’ले जानकारी दिए । -
एनपिएलमा जनकपुरको विजयी शुरुवात, विराटनगर ८ विकेटले पराजित
भक्तपुर, मंसिर १५
काठमाण्डौंमा शनिवारबाट शुरु भएको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । त्रिवि मैदान किर्तिपुरमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै लिगमा विजयी शुरुवात गरेको हो ।
विराटनगरले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । जनकपुरको जितमा लाहिरु मिलन्थाले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । जनकपुरका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका लाहिरुले ३९ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
तेस्रो विकेटका लागि लाहिरुले हर्ष ठाकरसँग मिलेर १ सय १६ रनको नट आउट साझेदारी गरे । ठाकरले ३३ बलमा २ चौकाको सहयोगमा २९ रन बनाए । जनकपुरका ओपनर तथा कप्तान अनिलकुमार साह पाँच र आसिफ शेख शून्य रनमै पेभिलियन फर्किएका थिए ।
जनकपुरले पहिलो ओभरमा नै ओपनर आसिफलाई पहिलो विकेट रुपमा गुमाएको थियो । पहिलो ओभरको चौथो बलमा ओपनर आसिफ ३ बलमा रनको खाता नै नखोली आउट भएका हुन् । आसिफलाई क्रिस सोलले बोल्ड आउट गराएका हुन् ।
अर्का ओपनर तथा कप्तान अनिल शाह दोस्रो ओभरमा आउट भए । दोस्रो ओभरको अन्तिम बलमा अनिल ४ बलमा ५ जोड्दै प्रतिस जिसीको बलमा बोल्ड आउट भए ।
जनकपुरको जितमा विराटनगरको अतिरिक्त रनको पनि योगदान रहयो । विराटनगरले २२ रन अतिरिक्त खर्चेको थियो । विराटनगरका लागि क्रिस र प्रतिसले समान १ विकेट लिए ।
त्ससअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १९ ओभरमा १ सय २७ रनमा समेटिएको थियो । विराटनगरले सुरुआत राम्रो गर्न सकेन । किशोर महतलाई दोस्रो बलमै चौका प्रहार गर्दै आक्रामक सुरुआत गरेका लोकेश बम ६ रनभन्दा अगाडि बढ्न सकेनन् । उनलाई दोस्रो ओभरको पहिलो बलमै ललितनारायण राजवंशीले बोल्ड गरे ।
त्यसपछि ओमानी ब्याटर अकिब इलियासले ओपनर मार्टिन गप्टिलसँग ४७ रनको साझेदारी गर्दै विराटनगरको इनिङ्सलाई उकास्ने प्रयास गरेका थिए । तर, नवौं ओभरको दोस्रो बलमा उनी मोहम्मद मोहसिनबाट एलबिडब्यु आउट भए ।
आउट हुनुपूर्व उनले १८ बलमा एक चौकासहित १५ रन प्रहार गरे र उनी आउट भएसँगै विराटनगरले पुनः ब्याटिङमा संघर्ष गर्न थाल्यो र क्यानडाका कप्तान निकोलस किर्टन नौ रनमा बोल्ड भए । तर, गप्टिलले इनिङ्स सम्हाल्दै ३६ बलमा अर्धशतक पूरा गरेपछि विराटनगरले बलियो स्थितिमा पुग्ने संकेत गरेका थिए ।
एनपिएलमा पहिलो अर्धशतक प्रहार गरेका उनी १४औं ओभरको अन्तिम बलमा लङ अनमा तैनाथ कप्तान अनिलबाट ५५ रनमा क्याच आउट भए । त्यसपछि पुनः विराटनगरले ब्याटिङमा संघर्ष गर्न थाल्यो । बसिर अहमद सात, राजेश पुलामी एक र प्रतीश दुई रनमा पेभिलियन फर्किएसँगै जनकपुर खेलमा पुनरागमन गर्न सफल भयो ।
तल्लो क्रमका कप्तान सन्दीप लामिछाने, जितेन्द्र मुखिया र क्रिस सोलले ब्याट चलाउन नसक्दा विराटनगर १९ ओभरमा १२७ रनमै अलआउट हुन पुग्यो ।
जनकपुरका ललितनारायण राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २८ रन खर्चिए । किशोर महतो र हर्ष ठाकरेको नाममा समान दुई विकेट रह्यो र यस्तै, मोहम्मद महसिन र बेन मिकेले एक विकेट आफ्नो नाममा टिपाए ।
उप निर्वाचनका कारण एनपिएलमा आइतवार खेल हुने छैन । सोमवार हुने दुई खेल हुनेछ । पहिलो खेल काठमाण्डौं गुर्खाज र चितवन राइनोज बीच बिहान सवा नौ बजे तथा दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच दिउँसो ुवा एक बजे हुनेछ ।


