Category: भर्खरै

  • राष्ट्रिय बुद्धिचालमा महिलातर्फको प्रतिष्पर्धा रोचक बन्दै, पुरुषतर्फ रुपेशको अग्रता

    भक्तपुर, माघ १६
    नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौंडामा जारी १० औं महिला तथा २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा महिलातर्फको प्रतिष्पर्धा रोचक बन्दै गएको छ भने पुरुषतर्फ रुपेश जैसवालको अग्रता कायम रहेको छ ।
    हेटौंडास्थित होटल सामनामा जारी प्रतियोगिताको महिलातर्फ काठमाण्डौंकी सिन्दिरा जोशी र एञ्जल महर्जनले संयुक्त पहिलो स्थानमा रहेकी छिन । छैटौं चरणको समाप्तिमा साबिक विजेता सिन्दिरालाई कडा टक्कर प्रस्तुत गरेकी १३ वर्षीय एञ्जलले समान ५ अंकमा रहँदै प्रतिष्पर्धालाई रोचक बनाएको हो ।
    सिन्दिराले झापाकी कृतिसारा अधिकारीसँग खेल बराबरी गर्दा एकल अग्रता कायम गर्ने मौका चुकाएकी छिन् भने एञ्जलले ताप्लेजुङकी शुशिला गुरुङलाई हराउदै स्कोर बराबरी गर्न सफल भइन ।
    प्रतिस्पर्धामा साढे ४ अंक बनाउदै संयुक्त दोश्रो स्थान ओगट्न सफल बाँकेकी इशा गिरि र मोरङकी शान्ति धिमालले शीर्ष खेलाडीलाई पछ्याइरहेका छन । झापाकी पुनम प्रसाईं र काठमाण्डौंकी बिनिता कपाली समान ४ अंक जोडेर संयुक्त तेस्रो स्थानमा रहेका छन् । छैटौं चरणको खेलमा विनितालाई हराएर पुनमले महत्वपूर्ण अंक जोडेका हुन् ।


    पुरुषतर्फ एफएम रुपेश जैसवालले ६ चरणको खेलमा ५.५ अंक जोडेर आफ्नो अग्रता कायम राखेका छन् । पूर्व नेपाल च्याम्पियन समेत रहेका रुपेशले पोजिसन डाउन अवस्थामा अनुभव प्रयोग गर्दै खेल उल्टाएका हुन् ।
    दोश्रो स्थानको लागि कडा प्रतिस्पर्धामा मकवानपुरका एफएम क्षितिज भण्डारी, दोलखाका आशिष फूँयाल र काठमाण्डौंका पुरुषोत्तम सिलवाल समान ४ अंक बनाएर रुपेशलाई पछ्याइ रहेका छन् ।
    अन्य चार जना खेलाडीले साढे ३ अंक जोडेर तेस्रो स्थानलाई साझा बनाएका छने । जसमा झापाका सिएम शुश्रुत दहाल, काठमाण्डौंका एफएम रिजेन्द्र राजभण्डारी, वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी र काठमाडौंका प्रेमकृष्ण महर्जन रहेका छन् ।
    प्रतियोगिता संयोजक महासंघका महासचिव धरम बहादुर लामाले राष्ट्रिय विजेतालाई काजकिस्तानमा हुने ४६औं ओलम्पियाड, श्रीलंकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता र अन्य अफिसियल खेलमा महासंघले सहभागीता गराउने निर्णय गरेको जानकारी दिए ।
    मकवानपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताको कूल २५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

     

  • भक्तपुरको रोम्बस स्कुलले पाए ‘आइएसओ सर्टिफिकेट’

    भक्तपुर, माघ १६
    भक्तपुरको रोम्वस सेकेण्डरी स्कुलले अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्रमाणपत्र ‘आइएसओ सर्टिफिकेट’ प्राप्त गरेको छ । भक्तपुरको कमलविनायकको टाउन प्लानिङमा अवस्थित उक्त विद्यालयले आइएसओ सटिर्फिकेट प्राप्त गरेको हो ।
    एभरेष्ट इन्टरनेशनल म्यानेज्मेन्ट कन्सल्टेन्सी एण्ड टे«निङ एजेन्सी प्रा.लि.ले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तरको मानकको रुपमा विद्यालयलाई आइएसओ सर्टिफिकेट दिँदै आएको छ ।
    सोही कन्सल्ट्यान्सीले बुधबार विद्यालयलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेको हो । उक्त संस्थाले भक्तपुर जिल्लामा रहेका विद्यालयहरुमध्ये आइएसओ सर्टिफिकेट प्राप्त गर्ने रोम्वस भक्तपुर नगरपालिकाको पहिलो र जिल्लाको दोस्रो विद्यालय रहेको जनाएको छ ।
    सर्टिफिकेट हस्तान्तरण कार्यक्रममा नेकपा (एस) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आइएसओ प्राप्त गर्न सफल रोम्वस स्कुललाई बधाई दिँदै विद्यालयले शिक्षा क्षेत्रमा छोटो अवधिमै उल्लेखनीय योगदान पुर्याउन सफल भएको बताउनुभयो ।


    उहाँले अभिभावकको ध्यान आफ्नो बालबालिकाको भविष्यप्रति हुने भएकाले विद्यालयले अभिभावकको मनोविज्ञानलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ज्ञान र बुद्धि फरक विषय भएको उल्लेख गर्दै उहाँले अहिलेका पुस्तालाई संसारसँग स्पर्धा गर्ने ज्ञानको जरुरी रहेको बताउनुभयो । “विद्यालयले प्राप्त गरेको आइएसओ सर्टिफिकेटले त्यो आवश्यकता पूरा गर्ने मार्ग प्रशस्त गरेको छ,” उहाँले भन्नुभयो ।
    बालबालिकालाई संस्कारयुक्त शिक्षा, नैतिक शिक्षा, सूचना प्रविधियुक्त शिक्षा र देशभक्तिपूर्ण शिक्षा जरूरी रहेको आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, “घरमा घरको अनुशासन, विद्यालयमा विद्यालयको अनुशासन, समाजमा समाजको अनुशासन र पेशामा पेशागत अनुशासन भए शिक्षाको उद्देश्य साकार हुन्छ ।”
    उहाँले आजका बालबालिका प्रफुल्ल भए भोली देश प्रफुल्ल हुने बताउँदैं नैतिकवान्, जिम्मेवार, अनुशासित नयाँ पुस्ताको जरुरीलाई पूरा गर्ने शिक्षाको खाँचो औंल्याउनुभयो ।
    कार्यक्रममा कन्सल्टेन्सीका प्रवन्ध निर्देशक शैलेन्द्र खरेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता कोजू र संस्थापक प्रिन्सिपल डा. राजेन्द्र कोजूलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
    सो अवसरमा डा. इवामुरा मेमोरियल अस्पतालको आकस्मिक शाखाका डा. विनोद दंगालले विद्यालयले प्राप्त गरेको सफलताको लागि बधाई दिनुभएको थियो । सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा प्रिन्सिपल डा. कोजूले उक्त प्रमाणपत्रसँगै विद्यालयको शैक्षिक गुणस्तर सुनिश्चितताको आधार बनेको बताउनुभयो ।

     

  • पूर्वस्ट्राइकर अनुले घरेलु फुटबलबाट पनि लिए सन्यास

    भक्तपुर, माघ १६
    करिव ६ वर्षअघि नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्यास लिएकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार सम्पन्न एन्फा महिला लिगको फाइनलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गरी उपाधि जिते लगत्तै उनले सन्न्यास लिएकी हुन् ।
    लिगको फाइनलमा ८७औं मिनेटमा रेनुका नगरकोटेको स्थानमा कप्तानी आर्मब्यान्ड लगाउँदै मैदान छिरेकी अनुले इन्ज्युरी समयमा एक गोल समेत गरेकी थिइन ।
    अनुले सन् २०१० मा बंगलादेशविरुद्ध दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबल प्रतियोगितामा नेपाली यु–२३ टोलीमा डेब्यू गरेकी थिइन् । उनले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई कांस्य पदक जिताउन महत्वपूर्ण योगदान दिइन् । अनुले पाकिस्तानविरुद्धको सेमिफाइनलमा ह्याट्रिक गर्दै नेपाललाई ७–० को जित दिलाएकी थिइन् ।
    त्यही वर्ष आयोजना भएको साफ महिला च्याम्पियनसिप खेल्न उनलाई नेपाल राष्ट्रिय महिला टोलीमा बोलाइएको थियो । उनले डिसेम्बर १२ मा माल्दिभ्सविरुद्धको डेब्यु खेलमै गोल गरेकी थिइन् । उक्त खेलमा नेपालले ३–० को जित हासिल गरेको थियो । त्यसको दुई दिनपछि अफगानिस्तानसँगको भेटमा उनी एक्लैले पाँच गोल गर्दै १३– ० को जित दिलाएकी थिइन् ।
    यस्तै, पाकिस्तानसँगको १२–० को जितमा पनि उनले ह्याट्रिक गरेकी थिइन् । बंगलादेशलाई ३–० ले हराउँदा उनले एक गोलको योगदान दिए पनि नेपाल फाइनलमा पराजित भएको थियो । उनले तीनपल्ट साफमा सहभागिता जनाएकी छन् । जसमा २१ गोल गर्दै नेपालका लागि सर्वाधिक गोलकर्ताको सूचीमा उनी अग्रस्थानमा पुगेकी थिइन् ।
    उक्त कीर्तिमानलाई सावित्रा भण्डारीले मात्रै पछ्याइरहेकी छन् । अनुले साफसहित राष्ट्रिय जर्सीमा ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छन् । यद्यपि, एसिएल शल्यक्रियापछि डिसेम्बर २०१६ देखि उनलाई बेन्चमा राखिएको थियो । अनुले शल्यक्रियापछि डेढ वर्षको विश्राम लिएर पुनः खेलमा फर्किएकी थिइन् । तर उनी कहिल्यै राष्ट्रिय टोलीको पहिलो रोजाइमा परिनन् ।
    उनको लोभलाग्दो प्रदर्शनका बाबजुद सन् २०१९ मा भएको १९औं सागअन्तर्गत विराटनगरमा सम्पन्न महिला फुटबलमा तत्कालीन मुख्य प्रशिक्षक हरि खड्काले उनलाई टोलीमा राखेका थिएनन् । त्यसैले उनले एन्फा डेको अवसर बनाएर अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएकी थिइन् ।
    करिब ६ वर्षअघि नै अन्तर्राष्ट्रिय खेल जीवनबाट उनले सन्न्यास लिइसकेकी थिइन् । यद्यपि, ३७ वर्षीय अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल भने खेल्दै आएकी थिइन् ।
    उनले सन्न्यास लिने भएसँगै महिला लिगको फाइनलअघि नै एपिएफका प्रशिक्षक, स्टाफ र खेलाडीहरूले अनुसँग सामूहिक तस्बिर लिएका थिए । खेल सकिनेबित्तिकै भावुक बनेकी उनलाई एपिएफका खेलाडीले गार्ड अप द अनरबाट सम्मान गर्दै बिदाइ गरेका थिए ।

  • अपराजित सहँदैं एपिएफ बन्यो एन्फा महिला फुटबल लिगको च्याम्पियन

    भक्तपुर, माघ १६
    सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लव एन्फा महिला फुटबल लिगको च्याम्पियन बनेको छ । एपिएफ लिगको बुधवार सम्पन्न फाइनलमा विभागीय डर्वी नेपाल पुलिस क्लवलाई ४–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनलमा एपिएफलाई च्याम्पियन बनाउन सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे । एपिएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल पुगेको थियो ।


    अखिल नेपाल फुटबल संघले पहिलो पटक महिला लिगलाई लिग, सुपर लिग हुँदै प्लेअफ फम्र्याटमा खेलाइएको हो । एपिएफ लिग, सुपर लिग र प्लेअफमा अपराजित रहँदैं च्याम्पियन बनेको हो ।
    एपिएफ महिला लिगमा यो लगातार चौंथो पटक च्याम्पियन बनेको हो । लिगभर उत्कृष्ट प्रदर्शन गर्दै आएको एपिएफलाई च्याम्पियन बनाउन ६४औं मिनेटमा सविताले गोल गर्दै अग्रता दिलाए । अनिता केसीले दिएको बलमा सरू लिम्बुले बक्स भित्रबाट दिएको सटिक पासमा सविताले क्लोज रेन्जबाट गोल गरिन् ।


    ६९ औं मिनेटमा सरुले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् । निशा थोकरको लामो पासमा रश्मी कुमारी घिसिङको हेडर पोलमा लागेर फर्कियो । रिबाउन्डमा सुरुले गोल गरेकी हुन ।
    खेलको ८३ औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । प्रीती राईको पासमा सविताले अर्को गोल गरेकी हुन । इन्ज्युरी समयमा अनुले खाली पोष्टमा गोल गर्दै टिमलाई ४–० को जित दिलाइन् ।


    यसअघि खेलको पहिलो हाफमा एपिएफले पुलिसमाथि दबाब बनाउँदै गोल गर्ने केही अवसर बनाएपनि फिनिसिङ राम्रो हुन सकेन । ३० मिनेटमा अनिता केसीले करिब १५ यार्डबाट हानेको हाफ भलि पुलिसकी गोलकिपर उषा नाथले बचाइन् । ३२ औं मिनेटमा एपिएफले पुलिसको पेनाल्टी बक्स बाहिर फ्रिकिक पाएको थियो । त्यसमा कप्तान अनिताले हानेको प्रहार बारमाथिबाट बाहिरियो ।
    पुलिसले भने पहिलो हाफमा एपिएफको पोष्टमै बल पु¥याउन संघर्ष गर्नुपरेको थियो । दोस्रो हाफमा पनि एपिएफले शुरुवात देखि नै पुलिसमाथि दबाब बनाएको थियो ।


    यस सिजनको महिला लिगमा एपिएफ र पुलिसको यो चौंथो भेट हो । एपिएफले पुलिसलाई हराएको तेस्रो पटक हो । यी दुई बीचको एक खेल बराबरीमा सकिएको थियो । एपिएफले लिगका १९ खेलमा १८ जित र एक बराबरीको नतिजा हात पा¥यो । त्यो एक बराबरी लिग चरणमा पुलिसविरुद्ध नै थियो ।
    अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपिएफले पहिलो चरणको लिगमा ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम चरणमा स्थान बनाएको थियो । सुपर लिग डबल राउन्ड रोबिन फरम्याटमा भयो । जहाँ एपिएले ८ मा ८ खेल नै जित्यो । एपिएफ शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरको हकदार एपिएफ बनेको थियो । पहिलो क्वालिफायरमा भने एपिएफलाई जित निकाल्न कठिन बनेको थियो । पुरा लिगमा एपिएफ नवाबमा परेको यो नै एक मात्र खेल थियो । पहिलो हापमा १–० ले पछि परेको एपिएफ दोस्रो हाफको अन्त्य तिर आर्मीमाथि दुई गोल गर्दै फाइनल प्रवेश गरेको थियो ।


    च्याम्पियन बनेसँगै एपिएफले नगद १० लाख पुरस्कार प्राप्त गरे । उपविजेता बनेको पुलिसले ५ लाख हात पारे ।
    एन्फा महिला लिगमा एपिएफलाई च्याम्पियन बनाउँन महत्वपुर्ण भुमिका खेलेकी सविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन । सविताले सर्वोत्कृष्ट खेलाडीको सम्मानमा नगद रु १ लाख नगद प्राप्त गरिन् ।
    च्याम्पियन एपिएफकै रश्मिकुमारी घिसिङ प्रतियोगिताको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहिन् । रश्मिले लिग भरमा ३९ गोल गरेकी थिइन् । उनले सर्वाधिक गोलकर्ताको सम्मान स्वरुप नगद रु ५० हजार प्राप्त गरिन् । प्रतियोगिताको उत्कृष्ट गोल रक्षकका रुपमा एपिएफकी सावित्री किसान भइन् । उनले यो सम्मान बापत नगद रु ५० हजार प्राप्त गरिन् ।
    प्रतियोगिताको फेयर प्ले अवार्ड विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । अवार्डका साथ आर्मीले नगद रु १ लाख ५० हजार प्राप्त गरेको छ । रेनुका नगरकोटे फाइनल खेलको प्लेयर अफ द म्याच भइन् ।

  • भक्तपुरको विकास निर्माणका बारेमा प्रधानमन्त्री ओलीलाई साक्षी राखेर दुर्लभ थापा र महेश बस्नेतबीच जुहारी

    भक्तपुर, माघ १५
    भक्तपुरको विकास निर्माणका बारेमा प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र नेकपा एमालेका पोलिट्व्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतबीच जुहारी चलेको छ । सूर्यविनायक नगरपालिकाको प्रशासकिय भवनको सोमवार आयोजित उद्घाटन कार्यक्रममा एउटै मञ्चमा रहनुभएका कांग्रेस भक्तपुरका सभापति समेत रहनुभएका थापा र बस्नेतबीच जुहारी चलेको हो ।
    प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित कार्यक्रममा ओलीलाई नै साक्षी राखेर भक्तपुरको विकासको गतिका विषयमा एक अर्काको नाम नलिई यी दुई नेताबीच एक आपसमा घोचपेच नै चलेको थियो ।
    कार्यक्रममा पहिले बोल्ने मौका पाएका पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्रीको स्वास्थ्य बिग्रियो भन्ने खालको समाचार जबरजस्ती प्रचार गरेको र कांग्रेस एमालेको सरकार धेरै जाँदैन भन्ने ढंगले प्रचार गरिएको टिप्पणी गर्दै मन्तव्य शुरु गर्नुभएको थियो ।
    त्यसपछि उहाँले संविधान सभाको दोस्रो निर्वाचन २०७० मा उम्मेदवारीको प्रसंग कोट्याउँदैं चुनाव हारेका आफुलाई ओलीले विश्वास गरेर मन्त्री बनाएको र उद्योग मन्त्रीको रुपमा १३ महिने कार्यकालमा सेतो दौरा सुरुवालमा कुनै रंगको दाग नलगाई फर्केको बताउँदैं बस्नेतलाई चुनाव हराएर सांसद बनेका थापा मन्त्री बन्न नसकेको व्यंग्य गर्नुभयो ।
    उहाँले आफु मन्त्री भएको बेला आफ्नो क्षेत्रलाई सूर्यविनायक र अनन्तलिङ्गेश्वर गरी दुई वटा नगरपालिका बनाउँदा जनताको गाली खाएको बताउनुभयो ।
    “नगरपालिका घोषणा भएपछि स्याबासी पाईएला भनेको गाली खाईयो । किन गाली खाईयो भन्दा, न सडक छ, न ढल छ, न खानेपानी छ, न खेल मैदान छ, न व्यवस्थित स्कुल कलेज छ, न राम्रो अस्पताल छ, यस्तो ठाउँलाई नगरपालिका बनाउने ? भनेर जनताको गाली खाईयो,” उहाँले भन्नुभयो ।


    उहाँले भक्तपुरको चित्तपोलको भकारीमुलमा अन्तराष्ट्रियस्तरको रंगशाला बनाउने अवधारणा र आफु मन्त्री हुँदा काठमाण्डौं उपत्यकामा चार वटा व्यवस्थित शहर बनाउने भनेर स्मार्ट सिटीको अवधारणा अघि बढाएको बताउनुभयो ।
    “चक्रपथ बन्यो, ललितपुर र काठमाण्डौं जोड्यो, भक्तपुर आएन । त्रिभुवन विश्वविद्यालय आएन । किर्तिपुर गयो कता गयो । भक्तपुरको कुरा सिंहदरवार पुगेन । भक्तपुरबाट जितेका जनप्रतिनिधिहरुको पहुँच सिंहदरवारमा पुग्न सकेन । बजेट नआउने,” उहाँले भन्नुभयो, “०७४ मा फेरी चुनाव लड्दा मैले भनेको थिएँ । भक्तपुरलाई सिंहदरवारमा जोड्छु, भक्तपुरको पहुँच बढाउँछु भक्तपुरमा विकासको आँधीबेहरी ल्याउँछु ।”
    उहाँले भक्तपुरमा विकास निर्माणको आँधी बेहरी ल्याएको दावी गर्दै सांसदको काम कानून र विधि विधान बनाउने मात्र नभई विकासको पहलकर्ता पनि भएको भन्दै थापा प्रति कटाक्ष गर्नुभयो ।
    “धेरैले मलाई भने सांसदले त कानून बनाउने हो । मैले भने हाम्रो जस्तो देशमा सांसद कानून निर्माता मात्र होइन विकासको पहलकर्ता पनि हो,” उहाँले भन्नुभयो ।
    उहाँले आफुले विगतमा विकासको लागि स्याण्डविचको भूमिका निर्वाह गरेको बताउनुभयो । “सूर्यविनायक र मध्यपुरमा भएका सारा विकासको जस वर्तमान र पूर्व जनप्रतिनिधिहरुलाई दिन चाहन्छु तर त्यसमा स्याण्डविच भएर महेश बस्नेतले भूमिका खेलेको छ भन्ने कुरा आम जनताले बुझेका छन ।”
    बस्नेतले अगाडि भन्नुभयो, “सूर्यविनायकका डेढसय किलोमिटर भन्दा बढी ८ मिटर, ११ मिटर र २० मिटर ९ मिटरका छन त्यो हाम्रो गौरवको विषय हो । आज सूर्यविनायका ३७ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत व्यवस्थित भवनहरु बनाएका छौं । खानेपानी बनाएका छौं । सूर्यविनायक नगर अस्पताल, चाँगुनारायण नगर अस्पताल जन्मिँदैं आइसीयु लिएर जन्मियो, क्यान्सर अस्पताललाई २ अर्व छुट्याईयो । मानव अंग प्रत्यारोपणलाई एक अर्व छुट्याईयो । विविध कारणले हामीले काम गर्न सकेनौं तर शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा हामीले चमत्कारी काम गर्यौ । सूर्यविनायकमा वर्षको ६ वटाको दरले पुल बनायौं ।”
    उहाँले आफुले चुनाव हारेपछि भक्तपुरमा विकास निर्माण ठप्प भएको दावी गर्दै भन्नुभयो, “सूर्यविनायकमा आउने हाइवे थिएन । हामीले डोलिडार मार्फत परिकल्पना ग¥यौं, मध्यपुरसम्म हनुमन्ते कोरिडोर, यता सुनकोसी जलविद्युतको परियोजनाको हाइटेनसनमा २० मिटरको सडकको परिकल्पना गर्यौ त्यसमा एडिबिले सहयोग गरेको थियो, त्यो अहिले रोकिएको छ । सिरुटारदेखी व्यासी झौखल हुँदैं थानकोट भक्तपुर प्रशारण लाईनलाई २० मिटर सडकको प्रस्ताव गर्यौ बजेटको समेत व्यवस्थापन गरेर डिपिआर बनायौं, त्यो पनि रोकिएको छ ।”
    उहाँले अहिले प्राणी उद्यान, हनुमन्ते करिडोर, बाहिरी चक्रपथ, बालकोट, रानीकोट कुसादेवी हुँदैं पनौती जाने सडकको प्रस्ताव, नगरकोट पछिको पर्यटकीय स्थल घ्याम्पे डाँडा, अनन्तलिङ्गेश्वर, काँक्राबारीलगायतका स्थानहरु जोड्ने गरी शुश्र गरिएको विकासका अलपत्र परेको बताउनुभयो ।
    उहाँले बाँकी रहेका सबै विकासका काममा पूर्व सांसद र पूर्वमन्त्रीका हैसियतले सधैं सहकार्य गर्न तयार रहेको बताउँदैं आफुले भन्दै आएको राजनीतिमा प्रतिष्पर्धा र विकासमा ऐक्यवद्धता जनाऔं भन्ने भावना अनुसार पछिल्लो चरणमा काम भयो की भएन सबैले म म भन्दै मूल्यांकन गर्न आग्रह गर्नुभयो ।
    “हाम्रो पालामा भक्तपुरमा विकासको आँधीबेहरी ल्याएका थियौं । अहिले भक्तपुरमा डेभलेपमेन्ट होली डे भनेर विकास सुतेको छ । त्यसलाई फेरी जगाउनु परेको छ । महेश बस्नेत तयार छ । सूर्यविनायक नगरपालिका तयार छ, मञ्चमा बसैका सबै तयार छ ?उहाँले थापा प्रति प्रश्न सोझ्याउँदैं मन्तव्य अन्त गर्नुभयो ।
    बस्नेत पछि मन्तव्य दिने पालो थापाको थियो । उद्घोषक रविन्द्र सापकोटाले थापालाई मन्तव्यका लागि आग्रह गर्नुभयो ।
    सो अनुसार मन्तव्य शुरु गर्नुभएका थापाले सूर्यविनायक क्षेत्रमा कटुञ्जेबाट विकास शुरु भएता पनि अहिले कटुञ्जे नै विकासमा पछाडी परेको भन्ने विषयमा जानकार रहेको बताउनुभयो ।
    उहाँले भन्नुभयो, “विकास कटुञ्जेबाटै शुरु भएको हामीलाई थाहा छ । बाटो कटुञ्जेबाटै बन्न शुरु भएको थियो । खानेपानी पहिला हामीले नै बनाएका थियौं । बोर्डिङ स्कुल पहिले हामीले नै पढेका थियौं । अहिले कटुञ्जे विकासमा पछि परेको छ, त्यो हामीलाई पनि थाहा छ ।”


    उहाँले देशको आर्थिकस्थितीका बारेमा प्रधानमन्त्री, देशका तमाम बुद्धिजिवीहरु र जनप्रतिनिहिरु सबै जानकार रहेको बताउँदैं विकासले एउटा गति लिइरहेको र दावी गर्दै विकासका काम निरन्तर एउटा प्रक्रियामा रहेको र निरन्तर अगाडि बढीरहेको बताउनुभयो ।
    त्यसपछि थापाले बस्नेततर्फ इंगित गर्दै रातारात खल्तीबाट विकास ल्याएँ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने सुझाव दिनुभयो । “काँही कतै कोही जनप्रतिनिधि, कसैलाई के लाग्छ भने रातारात मैले खल्तीबाट विकास निकाले र यो विकास मैले गरें । मैले मेरो घर खेतबाट विकास गरें जस्तो लागेको छ भने यो भ्रमको खेती आजै बाट अन्त्य गर्नुपर्छ भन्ने मलाई लाग्छ,” थापाले भन्नुभयो, “हामीले हेरेका छौं । हामीले देखेका छौं र हामी निरन्तर विकासका प्रक्रियासँग जोडिएका छौं । हामी निरन्तर राजनीतिमा पनि छौं । राजनीतिमात्र गरिरहेका छैनौं राजनीतिमा प्रतिष्पर्धा मात्र गरिरहेका छैंनौं विकासमा ऐक्यवद्धता पनि गर्दै आइरहेका छौं ।”
    “विगतमा साथीहरु जनप्रतिनिधि हुनुहुन्थ्यो होला । आज म जनप्रतिनिधि छु । हिजो साथीहरु जनप्रतिनिधिहरु रहँदै गर्दा हामीले विकास निर्माणका गति र प्रक्रियामा कँही कतै साथ र सहयोग नगरेको भए एउटा कुरा रहन सक्छ । तर अहिले भक्तपुरमा विकास हरायो रे । विकास खोज्दै म सम्माननीय प्रधानमन्त्री यही हुनुहुन्छ । कहाँ नेर विकासका प्रक्रिया रोकियो । प्रधानमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु” भन्दै थापाले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भन्नुभयो, “ भक्तपुरको विकास तपाईंले कहाँनेर अड्काउनुभयो । म प्रश्न गर्न चाहन्छु ।”
    थापाले भक्तपुरमा कुनै राजनीतिक दल र नेताको लागि मात्र विकास निर्माण अडकिएको हो त्यसको जिम्मेवारी सरकारको नेतृत्व गरेको दलले लिनुपर्ने तर्क राख्नुभयो, “म तमाम भक्तपुरबासीलाई सोध्न चाहन्छु र भन्न चाहन्छु, के विकासको गति सरकारको नेतृत्व गरेको दलले लिने की नलिने ?”
    थापाले कांग्रेस र एमाले अहिले एउटै बाटोमा र सरकारमा पनि रहेकोले विकास निर्माण रोकिएको हो भने सरकारमा प्रतिनिधित्व गर्ने दलको प्रतिनिधि सभाको सदस्यको हैसियतले विकास निर्माणको गाठो कहाँ नेर अडकियो फुकाइदिन आग्रह गर्नुभयो ।
    उहाँले भन्नुभयो, “हामीले पञ्चायत नदेखेका होइनौं । विकास पञ्चायतमा पनि नभएका होइन । त्यसपछि हामीले २०४६ सालको आन्दोलनपछि एउटा खालको विकासका प्रक्रिया अगाडि नबढेको पनि होइन । त्यसपछि २०५१ सालमा नेकपा एमालेको सरकार बनीसकेपछि पनि विकासका प्रक्रिया अघि नबढेका होइन । यो विकास निर्माणका प्रक्रिया र गतिलाई कसैले मैले मात्रै गरेको हो भन्ने लाग्छ भने यो भ्रमबाट मुक्त हुनका लागि म हार्दिक हार्दिक अनुरोध गर्दछु ।
    भक्तपुरमा पाँच तल्ले मन्दिर भुपतिन्द्र मल्लले, ५५ झ्याले दरवार रणजित मल्लले बनाएको र भक्तपुरमा राणाले बनाएको खानेपानी अहिले पनि उपभोग गरिरहेको, र जर्मनले बिछ्याएको ईंटा निकालेर ढुंगा विछ्याएको अवस्थालाई भक्तपुरमा जस्तो विकास अन्त छैन भन्ने गरेको टिप्पणी गर्दै थापाले भन्नुभयो, “भक्तपुरको विकास हेर्दा ख्वप इञ्जिनियर कलेज हेर्ने की ? ख्वप विश्वविद्यालयको बारेमा छ । भक्तपुरको विकास बागेश्वरी स्कुल मात्र हेर्ने हो की भक्तपुर बहुमुखी क्याम्पसको बारेमा नबोल्दिने हो ? पद्य हाइ स्कुलको बारेमा नबोल्ने हो विद्यार्थी निकेतन स्कुलको बारेमा नबोल्दिने हो भने के विकास निर्माण भनेको ख्वप विश्वविद्यालय मात्रै हो ? ख्वप इञ्जिनियर कलेज मात्रै र केही सानातिना कामलाई विकास ठान्ने हो ? कँही कतै यस्ता भ्रमको खेती गरेर दिवा सपना देखेर राजनीति गर्न खोज्नु छ भने मेरो भनाई केही छैन ।”
    उहाँले कांग्रेसको जिल्ला सभापति ९ वर्ष रहँदै गर्दा कुनै पनि राजनीतिक दलसँग सहकार्य नगरेको हो भने पुष्टि गर्न चुनौती दिँदैं संविधान संशोधनको चर्चा भइरहेको प्रसंग उठाउनुभयो र संविधान संशोधन गरेरै भए पनि भक्तपुर सानो जिल्ला भएका कारण चार वटा पालिकालाई मिलाएर एउटै महानगरपालिका बनाउनु पर्ने धारण राख्नुभयो । एउटै महानगर भएपछि काग्रेस, एमाले, नेमकिपा र अन्य दल एक ठाउँमा बसेर भक्तपुरको विकासका बारेमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
    उहाँले ठूला भवन बन्दैमा जनताले विकास र छिटो छरितो न्याय नपाउने बताउँदैं विकास भनेको जनताले समयमा न्याय पाउने, कानूनी उपचार पाउने, जनताले समयमा शिक्षा, स्वास्थ्य र रोजगारी पाउनुपर्ने विषयलाई आधारभुत विकास ठानेको बताउनुभयो ।
    उहाँले विगतमा सडक निर्माणको नाममा जग्गा व्यापारलाई फाइदा प्र्याएको टिप्पणी गर्नुभयो । “हामीले जग्गाको व्यापार गर्दै गर्दा आफ्नै सालीलाई पनि कमिशन खाएका छौं, जग्गा देखाई सकेपछि माननीयलाई फोन गरेर यो बाटो बन्छ होइन भन्दा बन्छ भनेको पनि थाहा छ । ३ लाख आनाको जग्गा ९ लाखमा बचेको पनि थाहा छ,” उहाँले भन्नुभयो, “जग्गा किन्ने गोरेटो बाटोमा अनि जनप्रतिनिधिहरुले रातारात बाटो खोल्दिनु पर्ने परिस्थिती अब नआओस भन्ने अनुरोध गर्छु ।”
    उहाँले भक्तपुरमा मेघा आयोजनाको रुपमा महादेव खोला बहुउद्देश्य परियोजना र प्राणी उद्यानलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदैं ओलीले नै शिलान्यास गरेको प्राणी उद्यानका लागि आगामी वर्ष बजेट हाल्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “ओलीले नै शिल्यान्यास गर्नुभएको प्राणी उद्यान मेरो कारणले रोकिएको हो जस्तो मलाई लाग्दैन । सरकारमा हामी सँगै छौं अब भक्तपुरमा २ वटा मेघा प्रोजेक्टको रुपमा एउटा महादेव खोला खानेपानी बहुउद्देश्य परियोजना र अर्को सूर्यविनायकको प्राणी उद्यान अगाडि बढाउनका लागि म अनुरोध गर्दछु ।
    उहाँले विगतका जनप्रतिनिधिहरुसँग पनि हातेमालो गरेर अगाडि बढ्न चाहेको बताउँदैं कहाँ कहाँ विकास रोकिएको छ, कुन कुन ठाउँमा रोकिएको छ, के के कारणले रोकिएको छ । त्यसको हिसावकिताव बसेर छलफल गर्न तयार रहेको बताउनुभयो ।
    “कुन कुन विकास कहाँ रोकियो, रंगशाला कहाँ रोकियो, भक्तपुर अस्पताल कहाँ निर रोकियो युनिभसिर्टी कहाँ रोकियो, यी सारा कुराको हिसाब किताव गर्न म तयार छु । यही ठाउँमा उभिएर छलफल गर्न तयार छु,” उहाँले भन्नुभयो ।
    उहाँले निर्वाचनमा हार जित हुने बताउँदैं सबै राजनीतिक दलहरु एक ठाउँमा बस्नुपर्नेमा जोड दिनुभयो । “सबै साथीहरु एक ठाउँमा बसौ । राजनितिमा प्रतिष्पर्धा गरौं । हार जित भनेको हुन्छ । हारिन्छ निर्वाचनमा गइसकेकपछि हारिन पनि सकिन्छ । जितिन पनि सकिन्छ । जित्ने मात्र राजनीति र हार्ने राजनीति होइन भने विगतमा साथीहरुले जुन प्रकारको राजनीति शुरु गर्नुभयो हामी भ्रममा छौं ।”

     

  • विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्छौं – प्रधानमन्त्री ओली

    भक्तपुर, माघ १४
    प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउन दुई ठुला दलको सहकार्यमा बनेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताउनुभएको हो ।
    राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको बताउँदैं उहाँले लोकतन्त्र यताका विकास निर्माणको गति बेग्लै भएको बताउनुभयो ।
    “अब नेपाल विकासको क्रममा अगाडी बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नेछ,” उहाँले भन्नुभयो ।


    उहाँले सत्ता साझेदार कांग्रेसको बलियो साथ रहेकोले यो सरकारले कसैले छात्ति पिटेर बिलौना गर्दैमा नढल्ने बताउनुभयो । “सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली काँग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ,” उहाँले भन्नुभयो ।
    प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गर्नुभयो । उहाँले संसदको हिउँदें अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गर्नुभयो ।
    प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भन्नुभयो, “मलाई रुघाखोकी लागेको हो । एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्यू गरेको देख्यो भने आइसियु कक्षमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् ।”
    प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गर्नुभयो ।


    प्रधानमन्त्री ओलीले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतंकको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।
    कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापाले आफु जनप्रतिनिधि हुँदा विकासको मूल फुटेको र अहिले नहुँदा विकास रोकिएको भनेर भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले विकास निर्माण नियमित प्रक्रिया भएको बताउँदैं भन्नुभयो, “यदि भक्तपुरमा विकासको गति रोकिएको भए कहाँ, कसरी, कसले रोक्यो प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ ।” उहाँले अमूक व्यक्ति सत्तामा हुँदा मात्र वा जनप्रतिनिधि हुँदा मात्र विकास हुन्छ भन्ने भ्रम पनि नराख्न आग्रह गर्नुभयो ।
    उहाँले विकास निर्माण कसैको खल्तीको पैसाले नभई राज्यको ढुकुटी प्रयोग गरेर हुने चर्चा गर्दै कोभिड महामारीपछिको समयमा आर्थिक गतिविधि सुस्ताउँदा राज्यको आर्थिक अवस्था कमजोर भएकाले पनि विकास निर्माण असर परेको बताउनुभयो ।
    उहाँले सूर्यविनायकमा बन्ने भनेको प्राणी उद्यानलाई तत्काल अघि बढाउन आगामी वर्षको बजेटमा आवश्यक बजेट विनियोजन आग्रह गर्नुभयो । उहाँले विगतमा जग्गा प्लटिङ गर्नेको स्वार्थमा सडक बन्ने गरेको टिप्पणी गर्दै विकासमा सहकार्य र राजनीतिमा प्रतिपष्र्धा गर्न तयार रहेको बताउनुभयो ।


    पूर्वमन्त्री महेश बस्नेतले आफु निर्वाचन हारेर पनि मन्त्री भएको स्मरण गराउँदैं १३ महिना उद्योग मन्त्री हुँदा भक्तपुरमा विकासको वृजारोपण गरेको र पछि निर्वाचन जितेर सांसद हुँदा भक्तपुरमा विकासको मूल फुटाएपनि अहिले ठप्प भएको दावी गर्नुभयो । उहाँले अन्तराष्ट्रिय रंगशाला निर्माणमा केही राजनीतिक दलको विरोधका कारण सम्भव नभएको बताउँदैं नगरपालिका घोषणा हुँदा कुनै पूर्वाधार नभएको सूर्यविनायकमा अहिले जताततै बाटोघाटो, खानेपानीको सूविधा आफ्नै पहलमा भएको दावी गर्नुभयो ।
    कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले ६ रोपनी जग्गा मध्ये ३ रोपनीमा फैलिएको भवनमा दुईवटा लिफ्ट, तीन सय जना अट्ने सेमिनार हल, दुईवटा बैठक कक्ष, एउटा पुस्तकालय, एउटा तालिम कक्ष र ९२ वटा कार्यकक्ष रहेको जानकारी दिनुभयो ।
    उहाँले नयाँ भवन बाबुरत्न जेभी कन्स्ट्रक्सन कम्पनीले भ्याटबाहेक २० करोड ४१ लाख ५२ हजार रुपैयाँमा निर्माण सम्पन्न गरेको बताउनुभयो । कोभिडका कारण भवन निर्माणमा दुई वर्ष ढिला भएको जानकारी दिँदैं उहाँले दुई साँगुरा कोठाबाट शुरु भएको सूर्यविनायक नगरपालिकाको दैनिक कार्य हाल अत्याधुनिक भवनबाट शुरु हुँदैं गर्दा जनताले सरल र सहजरुपमा सेवा प्राप्त गर्ने विश्वास दिलाउनुभयो ।
    कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, काठमाण्डौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबू महर्जनलगायतले सम्बोधन गर्नुभएको थियो ।

     

  • प्रचार प्रसार र दैनिक खुल्ला नहुँदा भक्तपुरको चारधाम ओझेलमा

    लक्ष्मी गारु, भक्तपुर, माघ १४
    ख्वप लाय्कू (भक्तपुर दरवार स्क्वायर) परिसरमा अवस्थित पवित्र तिर्थ स्थलका चारधाम देवस्थल ओझेलमा परेको छ । ख्वप लाय्कूको दक्षिण पश्चिममा अवस्थित चारधाम प्रचार प्रसारको अभाव र दैनिक दिनभरी मन्दिर खुल्ला नहुँदा भक्तपुरको पवित्र चारधाम स्थल ओझेलमा परेको हो ।
    भक्तपुरमा चारधामका पाँच देवस्थल रहेका छन । ख्वप लाय्कू प्रवेश गर्ने मूख्य प्रवेशद्धार खौमा ढोकाको दक्षिणतर्फ रहेको चारधाम अन्र्तगत बद्रीनाथ, जगन्नाथ, केदारनाथ, द्धारिकानाथ(गोपीनाथ) र रामेश्वर महादेवको देवस्थल रहेको छ ।
    भक्तपुरको ख्वप लाय्कूमा अवस्थित तलेजु भवानी सहित चारधामका पाँच देवस्थलका देवीदेवताको श्रद्धापुर्वक नियमित पुजापाठ गर्नाले मृत्युपछि बैकुण्ठ बास हुने धार्मिक विश्वास स्थानीयहरुको रहेको छ ।
    चारधामका सबै देवलमा दैनिक बिहान नित्य पुजा हुन्छ । दिनभरी बन्द हुने यी देवलहरुमा नित्य पुजाको क्रममा स्थानीयले मन्दिर भित्रै गएर पुजाआजा र दर्शन गर्न पाईन्छ । तर प्रचार प्रसारको अभावमा चारधाममा दर्शनार्थीहरु भने न्यून मात्रामा आउने गरेको द्धारिकानाथका पुजारी विनोदराज शर्माले बताउनुभयो ।
    “प्रचार प्रसार नहुँदा भक्तपुरमा चारधाम छ भन्ने नै आमनागरिकलाई जानकारी छैन । यहाँका स्थानीय पनि खासै पुजाआजा र दर्शन गर्न आउँदैंन,” उहाँले भन्नुभयो ।


    उहाँका अनुसार द्धारिकानाथको मन्दिरमा कार्तिक शुक्ल पुर्णिमाको दिन नसा(भुटेको मकै, गहँु, लाभा, भटमास)ले भगवानको आकृति बनाई पुजा गर्ने परम्परा रहेको छ । त्यसैगरी वर्षको एकदिन पुरोहितसहित राखेर रुद्धी पुजा गरी केदारनाथको बुसादाँ(जन्मदिन) गर्ने परम्परा छ ।
    चारधाममा बालाचतुर्थीमा सतविज छर्ने परम्परा पनि छ । मल्लकालदेखि चल्दै आएको यो परम्परा अहिले पनि कायमै रहेको पुजारी शर्मा बताउँछन । चारधाममा महास्नान गराउने परम्परा भने लोप भैसकेको छ ।
    बद्रीनाथ १७ औं शताब्दीमा राजा भुपतिन्द्र मल्लले बनाएको इतिहासमा उल्लेख छ । शिखर शैलीमा दाँचीअप्पाले निर्मित देवस्थलको गर्भगृहमा डेढ फिट अग्लो भगवान विष्णुको मुर्ति छ । मन्दिरमा ढुङ्गाको कलात्मक थाम, कलात्मक काठको ढोका र अगाडी एक जोडा सिंह रहेको छ ।
    जगन्नाथ मन्दिर राजा भुपतिन्द्र मल्ल कै पालामा निर्माण गरिएको हो । यस मन्दिरमा बाँया सेतो बलराम, बीचमा रातो सुभद्रा दायाँ, निलो कृष्णको काठको मुर्ति रहेको छ । यी तीन देवीदेवताको संयुक्त नाम जगन्नाथ हो । हाल यस मन्दिरको पुननिर्माण कार्य भैरहेको छ ।


    केदारनाथ मन्दिरमा पशुपतिमा जस्तै जलहरी भएको शिवलिङ्ग स्थापना गरिएको छ । राजा भुपतिन्द्र मल्लको समयमा निर्माण गरिएको यो मन्दिर पनि दाँचीअप्पाले शिखर शैलीमा निर्माण गरिएको छ । मन्दिरको चारै दिशामा चारवटा बुर्जाहरु जडित एकादश रुद्रका सुनमोलम्बा लगाएको धातुको शिरोभाग मुर्तिहरु, कलात्मक ढुङ्गाको थाम र धातुको गजुरले बनेको छ । मन्दिरको अगाडि ढुङ्गेधारा र पश्चिममा साँढे रहेको छ ।
    द्धारिकानाथ(गोपीनाथ)मन्दिर दुई तल्ले झिँगटीको छाना र सुनको मोलम्बा गजुर भएको मन्दिर हो । काठका कलात्मक भ्mयाल ढोकाहरुले निर्मित मन्दिरमा दायाँ बायाँ नृत्य मुद्रामा रहेको कृष्णका जेठी र माइली श्रीमती सत्यभामा र रुकुमणीको बीचमा महाविष्णु ध्यानमा रहेका कृष्णको मुर्ति छ । जसमा माथिको दुई हातमा शंख र गदा छ । तलको दुई हातले बाँसुरी समाएको छ । दुई गाई माथि खुटा टेकेर आशन बनाएको छ । मुल प्रवेश अगाडि गरुडध्वज स्तम्भ रहेको छ ।
    त्यसैगरी रामेश्वर मन्दिर जलहरी सहितको शिलाको शिवलिङ्ग भएको मन्दिर हो । ६ फिट अग्लो प्लेट फर्मको बीचमा शिवलिङ्ग भएको यस मन्दिर चुनासुर्की प्लाष्टरले ढलान गरी घोप्टिएको कमलको फुलको आकारका छाना भएको नाग शैलीको मन्दिर हो । यस मन्दिरमा जलहरी सहितको शिवलिङ्ग र शिलाका कलात्मक थामहरु छन ।
    चारधामको रुपमा प्रख्यात देवस्थलमा द्धारिकानाथ, केदारनाथ, बद्रीनाथ र जगन्नाथ पर्दछ । भारतमा चारधाम यात्राका बेला हिउँदमा केदारनाथ जान नसक्ने अवस्थामा रामेश्वरको दर्शन गर्ने प्रचलन रहेको छ । सोही अनुसार भक्तपुरमा चारधाम निर्माण गर्ने क्रममा केदारनाथसँगैं रामेश्वरको पनि देवस्थल निर्माण गरिएकोले ५ वटा रहन गएको पुजारी शर्माले बताउनुभयो ।


    मल्लकालमा राजधानी शहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चारधामको देवस्थलहरुको नित्य र पर्व पुजा गुठी संस्थान मार्फत सञ्चालनमा छन । त्यसैगरी मर्मत सम्भार कार्यको लागि स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भैरहेको पुजारी शर्माले बताउनुभयो ।
    धार्मिक तथा साँस्कृतिक महत्व झल्काउनुका साथै राष्ट्रहितको लागि भक्तपुर दरवार क्षेत्रमा चारधाम स्थापना गरेको ईतिहास तथा सँस्कृतिविद् प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो । विषेशगरी भारतमा जान नसक्ने तथा आर्थिक अवस्था कमजोर भएका र असाहाय अशक्तलाई आफ्नै ठाउँमा चारधाममा दर्शन एवम् पुजा गर्न सजिलो लागि बनाएको उहाँले बताउनुभयो ।
    “भक्तपुरमा चारधामका पाँच प्रसिद्ध देवस्थल यहाँका स्थानीय जनताहरुको अवस्थालाई बुझेर बनाएको हो,” उहाँले भन्नुभयो, “आर्थिक रुपले कमजोर, कार्य व्यस्तताले भारतमा जान नसक्नेहरु, बृद्धबृद्धा, बालबालिकाहरुका लागि यही दर्शन पुजन गराउने उद्देश्यले तत्कालिन राजधानीको मुटु भक्तपुरको लाय्कूमा यी देवलहरुको तान्त्रिक विधिपुर्वक प्राण प्रतिस्था गरी स्थापना गरिएको हो ।”
    भक्तपुरमा चारधाम स्थापना गर्र्नुको अर्को कारण तत्कालिन शैव र वैष्यमा कुनै भेदभाव छैन भन्ने सन्देश दिनुपनि रहेको स्थानीय किंवदन्ती रहेको छ । तत्कालिन समयमा शिवका अनुयायी शैव समूदाय र विष्णुका अनुयायी वैष्य समूदायबीच केही मतभिन्नता रहेको अवस्थामा नेपाल मण्डलमा त्यस्तो कुनै विमेल छैन भन्ने सन्देश दिन दरवार क्षेत्रभित्र चारधामका पाँच देवलको निर्माण गरेको कथन रहेको प्रा. डा. श्रेष्ठले जानकारी दिनुभयो ।
    विष्णुको लोकप्रियता अत्यन्त बढेको तत्कालिन समयमा सामाजिक एकता र सद्भाव झल्काउन एकै स्थानमा चारधाम निर्माण गरेको प्रा. डा. श्रेष्ठले बताउनुभयो । “धार्मिक समन्वय साँस्कृतिक एकता सदभावको एउटा उत्कृष्ट उदाहरण हो चारधाम । शिव र विष्णुमा कुनै भेदभाव छैन भन्ने भाव यसले दिन खोजेको छ । त्यो युगमा विष्णुको लोकप्रियता अत्यन्त बढेको समयमा चारधाम निर्माण भएको देखिन्छ,” प्रा.डा श्रेष्ठले भन्नुभयो ।
    मल्लकालमा राजधानी शहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चारधामको देवस्थलहरु नृत्य र पर्व पुजा गुठी संस्थान मार्फत संचालनमा छन । त्यसैगरी मर्मत सम्भार कार्यको लागि स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भैरहेको छ ।
    चारधामका पाँचै देवस्थल मल्लकालिन राजा भुपतिन्द्र मल्लको पालामा निर्माण गरिएको इतिहासमा उल्लेख छ । चारधाम अन्र्तगत बद्रीनाथ, जगन्नाथ र केदारनाथको देवल १९९० सालको भुकम्पले केही क्षती पु¥याएको थियो । केदारनाथको गजुरको भागमा क्षती भएर जिर्णोद्धार गरिएको थियो । त्यसपछि २०७२ सालको भुकम्पले पनि केदारनाथको देवलको आधा भाग भत्काएपनि भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरिसकेको छ ।
    चारधाम राजा भुपतिन्द्र मल्लको पालामा निर्माण गरेको भनिएता पनि पछिल्लो अनुसन्धानका क्रममा नेपाल संम्वत ३४७ मै जगन्नाथको जीर्ण प्रतिमा फेरिएको पुरानो अभिलेखमा फेला परेको प्रा. डा. श्रेष्ठले बताउनुभयो । “जगन्नाथको देवल राजा यक्ष मल्लको भन्दा पहिला आन्नदेवको समय तिर १२ औं शताब्दीमा स्थापना भएको अनुसन्धानले देखाएको छ । त्यो समय नेपाल मण्डलमा जगन्नाथको इपि सेन्टर भक्तपुर नै हुन । त्यसपछि चारधाम कान्तिपुर र ललितपुरमा समेत बिस्तार भएको हो,” उहाँले भन्नुभयो ।
    भारतको सिक्किममा केही वर्ष अघि निर्माण गरेको चारधामको प्रचार प्रसारले अहिले पश्चिम सिक्किममा वार्षिक लाखौं धार्मिक पर्यटकहरु दर्शनका लागि जाने गरेको छ । भक्तपुरमा भएको चारधामको पनि प्रचार प्रसार गरी दैनिकरुपमा दिनभरी भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था गर्न सके वार्षिक लाखौं भक्तजन आउने र यसले भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा थप टेवा पुग्ने देखिन्छ । यसतर्फ सम्बन्धीत निकायको गम्भिर ध्यान जानुपर्ने देखिन्छ ।

     

     

     

     

  • २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडामा शुरु

    भक्तपुर, माघ १३
    नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आइतवारबाट हेटौंडामा शुरु भएको छ ।
    हेटौंडास्थित होटल सामनामा सञ्चालन भएको प्रतियोगिताको पहिलो चरणको खेलवाट राजन सुवेदी, रुपेश जैसवाल, क्षितिज भण्डारी, प्रेमकृष्ण महर्जन, नवीन तण्डुकार र आशिष् फूँयालले समान महत्वपूर्ण १ अंक जोड्न सफल भएका छन् ।
    प्रतियोगितामा नेपाल च्याम्पियन झापाका राजन सुवेदीले पहिलो चरणको खेलमा ललितपुरका टाक्टिस मास्टर सरोज महर्जन पराजित गर्दै विजयी शुरुवात गरे । प्रतियोगितामा सिएम शुश्रुत दहालले पूर्व नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसँग हार ब्यहोरे । क्षितिज भण्डारीले आशा गरिएका युवा खेलाडी पुरुषोत्तम सिलवाललाई लामो ¥र्याली खेलमा निराश पारे ।
    अर्को खेलमा काठमाडौंका प्रेमकृष्ण महर्जनले सुनसरीका धिरेन राईलाई कठिन खेलमा हराउन सफल भए । अनुभवी खेलाडी प्रेमकृष्णले धिरेन विरुद्ध सटिक चाल चाल्दै खेल आफ्नो पक्षमा पार्न सफल भएका थिए ।
    पूर्व नेपाल च्याम्पियन एवं सिनियर खेलाडी सिएम नवीन तण्डुकारले भक्तपुरका युवा खेलाडी विनय थापालाई सहज रुपमा पराजित गरेका छन् । यस्तै दोलखाका युवा खेलाडी आशिष् फूँयालले एफएम रिजेन्द्र राजभण्डारी विरुद्ध उत्कृष्ट खेल पस्केर पिस अप हुदै जितको स्वाद चाखे ।
    महिलातर्फ ईशा गिरी, एञ्जल महर्जन, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, शुशिला गुरुङ र बिनिता कपालीले एक एक अंक जोडेर प्रतियोगितामा राम्रो शुरुआत गरेका छन् ।
    प्रतियोगितामा उदीयमान खेलाडी ईशा गिरिले झापाका पुनम प्रसाईं र एञ्जल महर्जनले ओलम्पियाड शान्ति धिमाल, सिन्दिरा जोशीले निहाना श्रेष्ठ, झापाका कृतिसारा अधिकारीले नयुमा मगर, ताप्लेजुङका शुशिला गुरुङले चितवनका लक्ष्मी कँडेल र बिनिता कपालीले दानिशा पुरीलाई पराजित गरे ।
    महासंघले केही वर्ष यता राष्ट्रिय च्याम्पियनसिपमा नेशनल सिनियर च्याम्पियनका शिर्ष तिन जना खेलाडी र नेशनल बी वाट शिर्ष ९ जना खेलाडी समावेश गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
    जस अनुसार महिला र पुरुष दुबै विधाका समान १२ जना खेलाडी बीच एक अर्का सँग ११ चरणको प्रतिस्पर्धा मार्फत राष्ट्रिय बिजेता घोषणा हुने छ ।
    प्रतियोगिताका संयोजक महासंघका महासचिव धरम बहादुर लामाले प्रतियोगिता सञ्चालन गर्न २५ लाख खर्च हुने र सो खर्च बागमती प्रदेश खेलकुद विकास परिषद, राष्ट्रिय खेलकुद परिषद, हेटौंडा उपनगरपालिका लगायतका निकायबाट सहयोग हुने बताए ।

     

  • कर्मचारी यूनियन भक्तपुरमा चक्रधर निर्विरोध निर्वाचित

    भक्तपुर, माघ १३
    नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी यूनियन भक्तपुरको अध्यक्षमा निरज चक्रधर निर्वाचित हुनुभएको छ । यूनियनको शनिवार सम्पन्न अधिवेशनले चक्रधरलाई निर्विरोध निर्वाचित गरेको आज (आइतवार) घोषणा गरेको हो । चक्रधर मध्यपुर थिमि नगरपालिकामा कार्यरत हुनुहुन्छ ।
    अधिवेशनले खुल्ला उपाध्यक्षमा मालपोत तथा भूमिसुधार कार्यालय भक्तपुरमा कार्यरत दिपक कोइराला, महिला उपाध्यक्षमा चाँगुनारायण अस्पतालका बालकुमार रेग्मी (प्रभा), समावेशी उपाध्यक्षमा मध्यपुर थिमि नगरपालिकाका श्रीकृष्ण प्रजापति निर्विरोध निर्वाचित भएका छन ।
    यस्तै सचिवमा मध्यपुर थिमि नगरपालिकाका रजिया चौधरी, कोषाध्यक्षमा नापी कार्यालयका जुमिन अधिकारी र सहसचिवमा जुद्ध वारुण यन्त्र कार्यालयका हिमाल घर्ती मगर निर्वाचित भएका छन ।
    सदस्यहरुमा जिल्ला प्रशासन कार्यालयका सिताराम प्याकुरेल र विष्णुहरी थापा, मध्यपुर थिमि नगरपालिकाका दिलबहादुर राजबहाक, नापी कार्यालयका यज्ञराज चौधरी र चाँगुनारायण नगरपालिकाका सुदिपा खड्का निर्वाचित भएका छन ।
    यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधि चाँगुनारायण नगरपालिकाका सुरज पौडेल, बलराम तिमिल्सिना, नापी कार्यालयका राजिब श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका सरिता उपाध्याय र यातायात व्यवस्था कार्यालयका महोन प्रसाद धिताल निर्विरोध निर्वाचित भएका छन ।
    प्रदेश प्रतिनिधिमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सत्यनारायण ध्वजू र इश्वर कुमार पाण्डेय, चाँगुनारायण नगरपालिकाका आशा माझी, मध्यपुर थिमि नगरपालिकाका गोकुलबाबु रेग्मी र यातायात व्यवस्थापन कार्यालयका जगदिश थापा निर्विरोध निर्वाचित भएका छन । लक्ष्मी गारु –––

  • प्रोटिन हाफ म्याराथनको उपाधि सन्तोषी र राजनले जिते

    भक्तपुर, माघ १३
    ओलम्पियन सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका राजन रोकायले शनिवार सम्पन्न राइट टु प्रोटिन रन हाफ म्याराथनको चौंथो संस्करणको उपाधि जितेका छन् । सन्तोषीले महिलातर्फ र राजनले पुरुषतर्फको उपाधि जितेका हुन ।
    सन्तोषीको यो तेस्रो उपाधि हो । यसअघि पहिलो र तेस्रो संस्करणको उपाधि जितेकाी सन्तोषीले दोस्रो संस्करणमा सहभागिता जनाएको थिएन । सन्तोषीले नखेलेको दोश्रो संस्करणमा फुलमति राना पहिलो भएकी थिइन् ।
    यस्तै पुरुष विजेता राजनको पनि यो तेस्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । पुरुषमा पहिलो संस्करणमा तीर्थ पुन तथा दोश्रो र तेश्रो संस्करणमा दीपक अधिकारी पहिलो भएका थिए ।
    दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता ओलम्पियन सन्तोषीले निर्धारित दूरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा तय गरिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (१ घण्टा २२ मिनेट ५१ सेकेन्ड) दोश्रो तथा एपीएफकी पुष्पा भण्डारी (१ घण्टा २४ मिनेट २१ सेकेन्ड) तेश्रो भए । आर्मीकी निर्मला केसीले चौथो तथा नेपाल प्रहरीकी सुमित्रा चौधरीले पाँचौं स्थानमा दौड टुंगाए ।
    निर्धारित २१ किलोमिटर दूरी पूरा गर्न राजनले १ घण्टा ०६ मिनेट १० सेकेन्ड समय खर्चे । राजन भन्दा ५ सेकेन्डले पछि आर्मीकै खडकबहादुर खड्का १ घण्टा ०६ मिनेट १५ सेकेन्ड समयसाथ दोश्रो भए । १ घण्टा ०६ मिनेट २० सेकेन्ड समयसाथ वाहोमका जुलियस मुरलुकी तेश्रो बने । आर्मीका मुकेशबहदाुर पाल चौथो र सुशीलकुमार शाही पाँचौं भए ।
    पुरुष÷महिला दुवैमा शीर्ष ५ स्थानमा रहनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ७० हजार, ५० हजार र ३० हजार रुपैयाँ प्राप्त गरे ।

    नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका सञ्जय श्रेष्ठ पहिलो भए । उनले ३० मिनेट १०.०७ सेकेन्डमा दौड सकाए । दोलखाका मिङमार शेर्पा (३१ मिनेट ०८.४० सेकेन्ड) दोश्रो तथा आर्मीका दीपक अधिकारी (३१ मिनेट १७.२९ सेकेन्ड) तेश्रो भए ।
    आर्मीका रामजी बस्नेत चौथो र एपीएफका सन्तोषविक्रम विष्ट पाँचौं भए । पहिलोले ५० हजार, दोश्रोले ४० हजार, तेश्रोले ३० हजार, चौथोले २० हजार र पाँचौं १० हजार रुपैयाँ पाए ।
    महिला ५ किलोमिटर दौडमा एपीएफकी फुलमति राना पहिलो हुँदा २३ मिनेट १३ सेकेन्डको समय निकालिन् । एपीएफका आशा रावत दोश्रो तथा दिपा परियार तेश्रो भए । दौड पूरा गर्न आशाले २३ मिनेट ३७ सेकेन्ड तथा दिपाले २३ मिनेट ४५ सेकेन्ड समय लगाए । जुम्लाकी राज्यलक्ष्मी रावल चौथो र आर्मीकी रेखा लिम्बूले पाँचौं स्थान हासिल गरे ।
    विद्यालयतर्फ (कक्षा १२ सम्म) ५ किलोमिटर पुरुषमा लोकेन्द्र बोहरा पहिलो भए । उनले २१ मिनेट २०.८६ सेकेन्ड खर्चे । २१ मिनेट २३.२७ सेकेन्डसाथ कृष्णबहादुर परियार दोश्रो तथा २१ मिनेट २५.१४ सेकेन्डसाथ हस्त सुनार तेश्रो बने । सम्राट कोयाहाङ लिम्बू चौथो तथा पुकारजंग बस्नेत पाँचौं भए ।
    व्हीलचेयरको पुरुषमा रमेश खत्री, प्रेमबहादुर विक, दिपक आले मगर, विष्णुपुकार श्रेष्ठ र अर्जुन दोङ क्रमशः शीर्ष ५ स्थानमा रहे । सो स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमाल पहिलो, यानी झाँक्री मगर दोश्रो, रजनी राई तेश्रो, हिउँकला साउद चौथो र मिना मगर पाँचौं भए ।
    चारै स्पर्धामा शीर्ष ५ स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
    विद्यालयतर्फ (कक्षा १२ सम्म) महिला ३ किलोमिटरमा अस्मिता भुजेल १७ मिनेट ३०.६७ सेकेन्ड टाइमिङमा पहिलो भइन् । १७ मिनेट ५१.५५ सेकेन्ड समयमा नारायणी भण्डारी दोश्रो तथा १८ मिनेट ००.०५ सेकेन्ड समयमा भगवती खड्का तेश्रो भए । पूजा पछाईं चौथो र पुष्पा शर्मा पाँचौं भए । पहिलो हुनेले २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ५ हजार र पाँचौंले २ हजार ५ सय नगद पुरस्कार पाए ।
    विजेतालाई कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, राइट टु प्रोटिन हाफ म्याराथनका संयोजक डा. सितलकाजी श्रेष्ठलगायतले पुरस्कृत गरे ।
    युनाइटेड स्टेट्स सोयबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को मुख्य प्रायोजन, पशु सेवा विभाग र नेपाल दाना उद्योग संघको सहयोग तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा करिब ८ हजारको सहभागिता रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।
    दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भइ विभिन्न भागको परिक्रमा गरी दशरथ रंगशालामै आएर टुंगिएको थियो । उक्त ८ स्पर्धा बाहेक बालवालिकाको रन फर फनमा पनि प्रतिस्पर्धा भएको थियो ।