भक्तपुर, चैत्र १५
काठमाण्डौंको तीनकुने क्षेत्रमा कफ्र्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले काठमाण्डौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कफ्र्यु आदेश जारी गरेको हो ।
राजावादीहरूले शुक्रबार काठमाण्डौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक हुँदै गएपछि त्यस क्षेत्रमा कफ्र्यु लगाइएको हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले तीनकुने क्षेत्रमा ४ बजेर २५ मिनेटदेखि राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो ।
गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँबानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कफ्र्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसअघि तीनकुने क्षेत्रमा दुर्गा प्रसाईं नेतृत्वमा भएको प्रदर्शनमा तोडफोड र झडप भएको थियो । निजी सम्पत्तिमाथि आगजनी पनि गरिएको थियो । प्रदर्शन हिंसात्मक बन्दै गएपछि तीनकुनेमा कफर््यु लगाउने निर्णय गरिएको हो ।
Category: भर्खरै
-
तीनकुने क्षेत्रमा राति १० बजेसम्म कफ्र्यु
-
भक्तपुरमा औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने
भक्तपुर, चैत्र १५
नयाँ वर्ष २०८२को अवसरमा भक्तपुरमा नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने भएको छ । महोत्सव भक्तपुरको सल्लाघारीमा यही चैत्र २८ गतेदेखी २०८२ बैशाख ७ गते सम्म सञ्चालन हुने छ ।
‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजक औद्योगिक शान्ति नेपाल बिहिवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु हुने आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।
औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री हुनेछ । मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु रहनेछ ।
महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव स्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी आयोजको रहेको छ । महोत्सवमा साना बालबालिकाहरुकोलागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालन हुनेछ, संयोजक थापाले पत्रकार सम्मेलनमा बताउनुभयो ।
पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती हुनेछ । राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा फेशन ¥याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बन्ने आयोजकले विश्वास लिएको छ ।
मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको र महोत्सवमा १ सय ५० स्टल रहने संस्थाका कोषाध्यक्ष प्रीतम मल्लले जानकारी दिनुभयो ।
मल्लका अनुसार करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने महोत्सवलाई व्यवस्थित गर्न रु. ५० र रु. ८० प्रवेश शुल्कको व्यबस्था गरिएको छ । यद्यपी विद्यार्थी ५० प्रतिशत र जेष्ठ नागरिकलाई सतप्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । साथै बैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने भक्तपुर सांगीतिक साँझ–२०८२ को समेत आयोजना गर्न लागेका संस्थाले जानकारी दिएको छ । -
मध्यपुर थिमि नगरपालिकाको २९ औं स्थापना दिवसमा उत्कृष्ट कर्मचारी, करदाता, उपभोक्ता समितिदेखी ज्येष्ठ नागरिकसम्म सम्मानित (फोटो फिचरसहित)
भक्तपुर, चैत्र १४
मध्यपुर थिमि नगरपालिकाको २९ औं स्थापना दिवसको अवसरमा बिहिवार नगरपालिकाका कर्मचारी, करदाता, उपभोक्ता समिति, ज्येष्ठ नागरिक र सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान गरेको छ । साथै विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने नगरबासीहरुलाई पनि सम्मान गरेको छ ।
यसवर्ष मध्यपुर थिमि नगरपालिकाले उत्कृष्ट कर्मचारीको रुपमा आर्थिक विकास महाशाखा प्रमुख तुलसी भक्त तकोलाई सम्मान गरेको हो । तको जागिरे जीवनको २४ वर्षमा तेस्रो पटक उत्कृष्ट कर्मचारी घोषित हुनुभएको हो । उहाँ पहिलो पटक २०६१ मा, दोस्रो पटक २०७७ मा उत्कृष्ट कर्मचारी घोषित हुनुभएको थियो ।
उहाँले यसवर्ष मौलिक स्थान नाम प्रतिस्थापन गर्ने, मध्यपुर महोत्सवलाई सफल बनाउन, नगरपालिकाको आन्तरिक राजश्व बृद्धिलगायतका कार्यमा गरेको योगदानको कदर गर्दै उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाले उत्कृष्ट करदाताको रुपमा मध्यपुर थिमि वडा नंं ३, चारदोबाटो सुन्दरनगरस्थित जगदिश किराना पसल, उत्कृष्ट उपभोक्ता समितिको रुपमा शंखधर पार्क गुरु योजना निर्माण उपभोक्ता समितिलाई सम्मान गरेको हो ।
यस्तै सामुदायिक विद्यालयतर्फ आदर्श मा.वि (सानो थिमि), संस्थागत विद्यालयतर्फ मातृभुमी स्कुल, जिब्रो छेड्ने जात्रामा जिब्रो छेड्ने ब्यक्ति विरेन्द्रभक्त गजु श्रेष्ठ र सुजन बाग श्रेष्ठ, सगरमाथा आधार शिविर चढ्न सफल मध्यपुर थिमि ७ नगदेशका दुई जुमल्याहा दाजुभाई त्रिनेश कवाडी र त्रिजल कवाडी, नेवा आइडल सिजन २ गायन प्रतियोगिताका विजेता आश्रेय रन्जितलाई पनि सम्मान गरिएको थियो ।
यसैगरी प्रत्येक वडाबाट एक महिला र एक पुरुष गरी दुई÷दुई जना सबैभन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरु र सेवा निर्बित्त कर्मचारीहरु रामे खत्री, गंगा थापा, पुर्ण ज्योती शाक्य, कुमार पौडेल तथा हिरा काजीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले लोकतन्त्रले सबै नागरिकलाई राजा बनाउने अधिकार दिएको उल्लेख गर्दै मुलुकमा कुनै राजा आवश्यक नरहेको टिप्पणी गर्नुभयो । उहाँले अहिलेको व्यवस्था संसारकै सुन्दर व्यवस्था भएकाले अर्को व्यवस्था आवश्यक नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा न कुनै आन्दोलनको आवश्यकता छ, न त व्यवस्था परिवर्तनको आवश्यकता न राजाको आवश्यकता छ, न त कुनै रानीको आवश्यकता । प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ । त्यसकारण तपाईंहरु सबै राजा हुनुहुन्छ ।”
उहाँले प्रधानमन्त्री तथा आफ्ना प्रतिनिधिले चित्तबुझ्दो र जनआकांक्षाअनुसार काम गर्न नसके अर्को पटकको चुनावमा उक्त प्रतिनिधि र दललाई जनताले स्वीकार नगर्ने बताउँदैं सबै जनप्रतिनिधिहरुले जनहितमा काम गर्न जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले एकथरी पार्टीहरू मिसन ०८४ भन्दै हिँडेको उल्लेख गर्दै काम गर्न कुनै वर्ष कुर्न नपर्ने टिप्पणी गर्नुभयो । उहाँले मुलुकले थप अन्धकार र आन्दोलन थेग्न नसक्ने उल्लेख गर्दै संविधानले नचिन्ने राजा ल्याउन लहलहैमा नलाग्न समेत आग्रह गर्नुभयो ।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर महोत्सव २०८१ को सफलताले नगरमा पर्यटन उद्योगको सम्भावना बढेको बताउनुभयो । उहाँले मध्यपुर महोत्सव देशकै नमूना साँस्कृतिक महोत्सव बनेको जिकिर गर्नुभयो । उहाँले महोत्सवपछि नगरमा कसरी दैनिक पर्यटक भित्र्याउन सकिन्छ भन्ने योजना निर्माणमा अघि बढाउने बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षको ९ महिनामा नगरपालिकाले डेढ किलोमिटर सडक कालोपत्रे, ढलान एक किलोमिटर, ढुंगा र ब्लक छपाई डेढ किलोमिटर, ढल बिच्छ्याउने डेढ किलोमिटर निर्माण सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।
उहाँले सुशासन र पारदर्शी सेवा प्रवाहका लागि चालु आर्थिक वर्ष ऐन, निती नियम, कार्यविधि, निर्देशिका १९ वटा निर्माण भएको, सूचनाको हक प्रयोग गरी सूचना माग संख्या ३४ वटामा सबै माग बमोजिम सूचना उपलब्ध गराएको, हेलो सरकारमा मध्यपुर थिमि नगरपालिकाको कामकाजको विषयमा परेको उजुरी गुनासोको संख्या १५ वटामा सबै गुनासो र उजुरीको सुनुवाई भएको बताउनुभयो ।
उहाँले मध्यपुर थिमि स्वास्थ्यमा उत्कृष्ट भएको स्मरण गराउँदैं ६० वर्ष माथिका ज्येष्ठ नागरिक, एकल महिला, ख वर्गका अपांगता भएका व्यक्ति, दलित परिवार र दर्ता सहयोगी गरी २ हजार ७३३ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको, २८३ जना बिरामीलाई ४६१ प्रिन्ट रगत उपलब्ध गराएको, सुत्केरी पोषण सामग्री वितरण ५६५, विपन्न नागरिक औषधी उपचार वापत प्रतिव्यक्ति ५ हजारका दरले १८८ जना, विपन्न नागरिक औषधी उपचार वापत प्रतिव्यक्ति १ लाखका दरले ९६ जना, ज्येष्ठ नागरिक सुस्वास्थ्य कार्यक्रम अन्तर्गत १ हजार १ सय जना लाभान्वित भएको र पाठेघरको मुखको क्यान्सर निःशुल्क स्क्रिनिङ १ हजार ३६ जनाको गरिएको बताउनुभयो ।
उहाँले विगतमा ७ करोड बिमाको रकम बाँकी हुँदा ९ महिना तलव खुवाउन नसकेको अवस्था रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा अहिले २५ करोड भुक्तानी नहुँदा पनि समस्या नभएको बताउनुभयो ।
उहाँले चालु वर्ष नपा प्रशासकिय भवनको टेण्डर, वडा नं. २ को प्रशासकिय भवन निर्माण, थिमि लायकू दरवार मूल प्रवेशद्धार, नगदेश लायकू दरवार, बोडे महालक्ष्मी मन्दिर गरुयोजना, दिव्यश्वरी मन्दिर गुरुयोजना, बालकुमारी प्रवेश उकालो गुरुयोजना, करुणामय लोकेश्वर मन्दिर पुनःनिर्माण, निलबाराही मन्दिर संरक्षण तथा पहिरो नियन्त्रणका लागि टेण्डर प्रक्रिया, हात्ति महांकालमा शौचालय निर्माण, स्वंगा पुखु पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
नेपाली कांग्रेस मध्यपुर थिमि नगर सभापति हरीदास प्रजापति नगरपालिका संघले मध्यपुर थिमिलाई उत्कृष्ट घोषणा गरेकोमा सबै जनप्रतिनिधिहरुलाई बधाई दिँदैं बाँकी कार्यकालमा थप नौलो र उत्कृष्ट कार्य गर्न सुझाव दिनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठले नगरपालिकाले तत्काललाई भन्दा पनि भविष्यलाई सोचेर योजना बनाई कार्य गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भौतिक पूर्वाधार मात्र होइन यहाँको साँस्कृतिक पक्षको संरक्षण र जगेर्ना गर्न पनि जोड दिनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख सुजाता बादे बैद्यले मध्यपुर थिमि नगरपालिकाले साँस्कृतिक क्षेत्र, स्वास्थ्य क्षेत्रमा उल्लेख्य कार्य गर्दै आइरहेको चर्चा गर्नुभयो ।
बागमती प्रदेशका सांसद धनेश्वरी प्रजापति प्रदेशका विभिन्न निकायबाट मध्यपुर थिमि नगरपालिकामा विभिन्न योजना सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
बागमती प्रदेशका अर्का सांसद भुवनकेशरी श्रेष्ठले मध्यपुर थिमि नगरपालिका आफ्नो मूलनारालाई आत्मसाथ गर्दै अघि बढेको बताउनुभयो । उहाँले मध्यपुर थिमिका एक पुस्ताले यहाँको कला सँस्कृतिका बारेमा जानकारी पाउन नसक्ने अवस्था बनेको अवस्थामा मध्यपुर महोत्सव आयोजना गरेर नयाँ पुस्तालाई मध्यपुर चिनाउन सफल भएको चर्चा गर्नुभयो ।
उहाँले अहिलेको जनप्रतिनिधिको टोलीले शिक्षा, स्वास्थ्य, कला सँस्कृति, वातावरण एवम् सरसफाईको क्षेत्रमा उल्लेख्य कार्य गरेको बताउँदैं त्यसैको कदर गरी नगरपालिका संघले वातावरण, सँस्कृति र पर्यटनमा देशकै उत्कृष्ट नगरपालिका घोषणा गरेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसी, वडा नं. ३ का वडाअध्यक्ष एवम् नगर प्रवक्ता कृष्णहरी आचार्यले नगरका विभिन्न कार्यका बारेमा चर्चा गर्नुभएको थियो । -
एएफसी एसियन कप छनोटमा मलेसियासँग नेपाल पराजित
भक्तपुर, चैत्र १३
एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूस्थित सुल्तान इब्राहिम रंगशालामा मंगलवार राती सम्पन्न खेलमा नेपाल २–० ले पराजित भएको हो ।
खेलको पहिलो हाफमा १–० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थप्दै २–० को जित निकालेको हो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता लियो । हेक्टर हेभलले गोल गर्दै मलेसियालाई खेलमा अघि बढाएका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।
पोर्चुगाली क्लब पोर्टिमोनेन्सका खेलाडी हेक्टर हेभलले मलेसियाली जर्सीमा डेब्यु खेलमै गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन् । उनी नेदरल्यान्ड्समा जन्मिएका हुन् । मिडफिल्डर हेभेल मलेसियाले ‘हेरिटेज प्लेयर’का रुपमा भित्रयाएका नयाँ खेलाडी हुन् । नेदरल्यान्ड्समा जन्मिएका उनी अट्याकिङ मिडफिल्डर हुन् । उनले यू १६, यू १९ र यू २० डच टिमबाट खेलिसकेका छन् ।
उनीसँग नेदरल्यान्ड्स र साइप्रसको शीर्ष श्रेणीसँगै स्पेनको सेगुन्डा डिभिजन, चीनको लिग वान र पोर्चुगलको लिग २ खेलेको अनुभव पनि छ । यो सिजन पोर्टिमोनेन्सबाट पोर्चुगलको दोस्रो श्रेणीको लिग खेलिरहेका २८ वर्षीय उनी प्राविधिक रुपमा उत्कृष्ट छन् ।
उनी भर्सटाइल मिडफिल्डर हुन् । सेन्ट्रल र अट्याकिङ मिडफिल्डमा जम्ने गरेका उनी खेल नियन्त्रण गर्दै गोलका लागि सटिक पास उपलब्ध गराउन सिपालु छन् । उनको ट्रान्सफर मार्केटको मूल्य चार लाख ५० हजार युरो उल्लेख छ । उनै हेभलले मलेसियाली जर्सीमा डेब्यु खेलमै गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन् ।
त्यसपछि नेपालले ४० मिनेट मलेसियालाई रोकेको थियो । तर, ७०औं मिनेटमा दोस्रो गोल खाएको हो । ला’भेरे कोर्बिन–अङले गोल गर्दै मलेसियाको अग्रता दोब्बर बनाए । फ्रिकिकबाट सुरु भएको उत्कृष्ट सेटअप प्लेमा अरिफ आइमान हनापीले पास मिलाउँदै अङलाई अवसर दिलाएका थिए । जसमा उनले कुनै गल्ती गरेनन् । यद्यपि अन्तिम पास लिने क्रममा उनी अफसाइड पोजिसनमा देखिएका थिए ।
जित सँगै मलेसियाले ३ अंक जोडेको छ । समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् । अर्को खेलमा भिएतनामले लाओसलाई ५–० ले हराउँदै शानदार सुरुवात गरेको छ । होम एण्ड अवे खेलपछि समूहमा शीर्ष स्थानमा रहने एक टिमले एसियन कपमा स्थान बनाउने छ । -
मलेसिया विरुद्ध नेपाल पहिलो हाफमा नेपाल १–० ले पछि
भक्तपुर, चैत्र १२
नेपाल एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा मलेसियासँग पहिलो हाफमा पछि परेको छ । मलेसियाको सुल्तान इब्राहिम स्टेडियममा जारी खेलमा घरेलु टोलीले १–० को अग्रता लिएको हो ।
मलेसियाको लागि खेलको २९औं मिनेटमा हेक्टर हेभलले गोल गर्दै अग्रता लिएको हो । हेभल पोर्चुगाली क्लब पोर्टिमोनेन्सका खेलाडी हुन । मिडफिल्डर हेभेल मलेसियाले ‘हेरिटेज प्लेयर’का रुपमा भित्रयाएका नयाँ खेलाडी हुन् । नेदरल्यान्ड्समा जन्मिएका उनी अट्याकिङ मिडफिल्डर हुन् । उनले यू १६, यू १९ र यू २० डच टिमबाट खेलिसकेका छन् ।
उनीसँग नेदरल्यान्ड्स र साइप्रसको शीर्ष श्रेणीसँगै स्पेनको सेगुन्डा डिभिजन, चीनको लिग वान र पोर्चुगलको लिग २ खेलेको अनुभव पनि छ । यो सिजन पोर्टिमोनेन्सबाट पोर्चुगलको दोस्रो श्रेणीको लिग खेलिरहेका २८ वर्षीय उनी प्राविधिक रुपमा उत्कृष्ट छन् ।
उनी भर्सटाइल मिडफिल्डर हुन् । सेन्ट्रल र अट्याकिङ मिडफिल्डमा जम्ने गरेका उनी खेल नियन्त्रण गर्दै गोलका लागि सटिक पास उपलब्ध गराउन सिपालु छन् । उनको ट्रान्सफर मार्केटको मूल्य चार लाख ५० हजार युरो उल्लेख छ । उनै हेभलले मलेसियाली जर्सीमा डेब्यु खेलमै गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले मलेसियाविरुद्धको खेलमा एक परिवर्तन गरेका छन् । प्रशिक्षक रसले शुरुआती ११ मा नियमित खेल्दै आएका फरवार्ड अञ्जन विष्टलाई आराम दिएका छन् । उनको स्थानमा मिडफिल्डर लाकेन लिम्बूलाई सुरुआती ११ मा समेटेका छन् ।
नेपालको शुरुवाती ११ मा किरण चेम्जोङ (कप्तान तथा गोलकिपर), सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, जेलेस्पीजंघ कार्की, एरिक विष्ट, सुमित श्रेष्ठ, लाकेन लिम्बू, आयुष घलान, मनीष डाँगी र रोहित चन्द रहेका छन ।
नेपाल हाल फिफा वरीयतामा १७५औं स्थानमा छ भने मलेसिया १३२औं स्थानमा छ । विगत सात भेटमा नेपालले मलेसियालाई पराजित गर्न सकेको छैन । मलेसियाले ६ खेल जित्दा एक खेल बराबरीमा सकिएको छ ।
नेपाल र मलेसियाबीचको अन्तिम भेट २०१९ मा मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ नेपाल २–० ले पराजित भएको थियो । -
मोवाइलको विषयमा विवाद हुँदा कुटपिट, कुटपिटबाट मृत्यु, २ जना पक्राउ
भक्तपुर, चैत्र १२
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिमा गत फागुन २७ गते अचेत अवस्थामा फेला परेका युवकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका–९ का ३९ वर्षिय यादव पौडेल र सिन्धुली तीनपाटन गाँउपालिका–३ चकमकेका २४ वर्षिय अनिश तामाङ हुन ।
गत फागुन २७ गते मध्यपुर थिमि २, सानोथिमि मगरगाँउ जाने राधाकृष्ण सडक खण्डको सडक छेउमा एक युवक अचेत अवस्थामा फेला परेको थियो । प्रहरीले तत्काल उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौं पठाएकोमा त्यही उपचारको क्रममा ती युवकको मृत्यु भएको थियो ।
अनुसन्धानका क्रममा मृतक युवक मध्यपुर थिमि–६ बस्ने ३२ वर्षिय लक्ष्मण खड्का रहेको खुल्न आएको थियो । सो घटना शंकास्पद देखिएपछि प्रहरीले हत्या आशंका अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा पौडेल र तामाङको कुटपिटले खड्काको मृत्यु भएको देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक ढुण्डीराज नेउपानले जानकारी दिनुभयो ।
प्रहरी स्रोतका अनुसार मध्यपुर थिमि–६ बस्ने ३२ वर्षिय लक्ष्मण खड्का, सर्लाही लालबन्दी नगरपालिका–९ का ३९ वर्षिय यादव पौडेल र सिन्धुली तीनपाटन गाँउपालिका–३ चकमकेका २४ वर्षिय अनिश तामाङ चिनजानकै साथीहरु हुन । स्थायी काम नभएका तीनै जना सँगै मादकपदार्थ सेवन गर्ने पनि गर्दथे ।
केही हप्ता अघि पौडेलको मोवाइल लक्ष्मण खड्काले लिएर गएका थिए । पौडेलले मोबाइल फिर्ता माग्दा खड्काले दिन मानेका थिएन । यसैका विषयमा पौडेल र खड्काबीच बेलाबेलामा भनाभन र झगडा हुने गरेको थियो ।
गत फागुन २६ गते साँझ पनि खड्का, पौडेल र तामाङ तीनै जना सँगै मादकपदार्थ सेवन गरेका थिए । घर फर्किने बेलामा बाटोमा मोवाइलकै विषयमा पौडेल र खड्काबीच भनाभन भयो र पौडेलले खड्कालाई कुटपिट गर्न थाले । तामाङले झगडा नगर्न सम्झाउने प्रयास पनि गरेका थिए, तर सकेनन् । यस्तैमा पौडेलले खड्कालाई ढुंगाले प्रहार गरे । खड्का बेहोश भयो । खड्का बेहोश भएपछि पौडेल र तामाङ त्यहाँबाट भागे ।
भोलीपल्ट फागुन २७ गते बिहान झिसमिसेमा मर्निङवाकमा निस्किएका स्थानीयले एक व्यक्ति सडक किनारामा अचेत भई ढलेर बसेको देखेर प्रहरीलाई खबर गरे । प्रहरी तत्काल घटनास्थल पुगेर उनको उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल लगे । त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौं रिफिर गरी पठाए । ट्रमा सेन्टरमा उपचारका क्रममा उनको मृत्यु भयो ।
उनको मृत्यु भएपछि प्रहरीले उनको हुलिया सार्वजनिक ग¥यो । प्रहरीले सामाजिक सञ्जालमार्फत मृतकको हुलिया सार्वजनिक गरेपछि मृतक आफन्त भएको दावी गर्दै केही व्यक्ति प्रहरी वृत्त थिमिको सम्पर्कमा आएका थिए । उनीहरुले नै मृतक खड्का भएको सनाखत गरेका थिए ।
पक्राउ परेका दुवै जनालाई भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रनाउ नेउपानले बताउनुभयो ।थप विवरण प्राप्त भएपछि अपडेट गरिएको छ । सं.
-
निलबाराहीको जंगलमा १०० रुपैंयाको विवादमा हत्या, आरोपी पक्राउ
भक्तपुर, चैत्र १२
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्पट नजिक पार्किङ स्थलमा हत्या गरिएका ओमप्रकाश राईको हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका ५७ वर्षीय हिमाल बुढामगर छन् ।
पक्राउ परेका बुढामगर राईसँगै कवाडीका सामान टिपि हिँड्ने काम गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक सय रुपैंयाको लागि झगडा हुँदा बुढामगरले ढुंगाले हानेर राईको हत्या गरेको खुल्न आएको छ ।
“बुढामगरको एक सय रुपैंया राईले खोसेर लगेको रहेछ । सोही विषयमा विवाद भई झगडा हुँदा बुढामगरले ढुंगाले हानेको र राईको मृत्यु भएको देखिन्छ,” प्रहरी स्रोतले भन्यो ।
गत फागुन १० गते आइतबार बिहान करिव ६ बजे मध्यपुर थिमि–९, निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा राई मृत भेटिएका थिए ।
प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो । दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो । शवसँगै बोरा पनि थियो । बोरामा विभिन्न कवाडीका सामानहरु पनि थिए । बोरा नजिकै क्याप, झोला पनि थियो । कवाडीका सरसामान भएको बोरा भेटिएपछि प्रहरी मृत कवाडीको सामान संकलन गर्ने व्यक्ति रहेको आशंका गरेर अनुसन्धान गरेको थियो ।
मृतकका छोरा समेत सम्पर्कमा आएर शव सनाखत गरेका थिए । मृतक खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय वर्षीय ओम प्रकाश राई रहेको खुलेको थियो । ओमप्रकाशको आइतबार राति १२ बजेतिर हत्या भएको पाइएको छ । पक्राउ परेका हिमालले प्रहरी समक्ष उक्त कुरा बताएका छन् ।
प्रहरीका अनुसार शनिबार मात्रै ओमप्रकाशको शव भेटिएको ठाउँ नजिकै लामाहरुले पूजापाठ गरेका थिए । पूजापाठको भेटी टिप्न उनीहरु शनिबार साँझ उक्त ठाउँमा पुगेको समेत पाइएको छ ।
पक्राउ परेका हिमालले प्रहरी समक्ष आइतबारको साँझ दुबै जना मिलेर मदिरा सेवन गरेको बताएका छन् । त्यसपछि भेटी टिप्न भन्दै निलबाराही पिकनिकस्थल पुगेको बताएका छन् । भेटी टिपेर सुत्न जाने क्रममा भने १०० रुपैयाँको विवाद हुँदा हत्या भएको प्रहरीले बताएको छ । -
चोरी गरेको अभियोगमा दुई जना पक्राउ
भक्तपुर, चैत्र १०
चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–२ अनैकोट घर भई हाल भक्तपुर नगरपालिका–३, बंशगोपाल बस्ने २८ वर्षिय अश्विन लामा र सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने १९ वर्षिय सुवास तामाङ हुन ।
गत चैत्र १ गते राती सूर्यविनायक नगरपालिका ५, पाढडुबजारस्थित यो यो पार्टी प्यालेसबाट पित्तलको पानसलगायतका वस्तु चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानले बताउनुभयो ।
उनीहरुलाई प्रहरी वृत्त जगातीको प्रहरी टोलीले गत शुक्रवार पाण्डुबजारबाट पक्राउ गरिएको प्रनाउ नेउपानले बताउनुभयो । प्रहरीले उनीहरुको साथबाट चोरी भएको पित्तलको पानस र गाग्री समेत बरामद गरेको जनाएको छ । उनीहरु माथि भक्तपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा ५ दिन म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रनाउ नेउपानले जानकारी दिनुभयो । -
निलबाराही घटना – पैसा टिप्ने विवादमा हत्या गरेको आशंका
भक्तपुर, चैत्र १०
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीमा आइतवार बिहान मृत भेटिएका खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६० वर्षीय ओम प्रकाश राईको हत्या भएको आशंका प्रहरीले गरेको छ ।
घटनास्थलमा रगत लतपतिएको ढुंगा फेला पर्नु मृतक राईको शरीरका विभिन्न भागमा चोट देखिनुले प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढाएको हो ।
घटनास्थल नजिक शनिवार लामाहरुले पुजा गरेको र सोही पुजास्थलमा रहेको पैसा टिप्ने विषयमा विवाद भई राईको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । सोही अनुसार प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) माधव बुढाथोकीले बताउनुभयो ।
आइतबार बिहानै ५ः५५ बजेतिर बोदे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा राई मृत भेटिएका थिए । व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुग्यो ।
प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो । दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो । शवसँगै बोरा पनि थियो । बोरामा विभिन्न कवाडीका सामानहरु पनि थिए । बोरा नजिकै क्याप टोपी, झोला पनि थियो । कवाडीका सरसामान भएको बोरा भेटिएपछि प्रहरी मृत कवाडीको सामान संकलन गर्ने व्यक्ति रहेको आशंका गरेर अनुसन्धान ग¥यो ।
मृतकका छोरा समेत सम्पर्कमा आएर शव सनाखत गरिसकेको प्रहरीको भनाइ छ । राईका एक छोरा काठमाण्डौंमा पठाओ चलाउने गरेको र उनी आएर शव सनाखत गरेको प्रहरीले जनाएको छ । राईको शव पोस्टमार्टमका लागि भक्तपुर दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।
राईले कवाडीको सामान संकलन गर्ने गरेको खुलेको छ । उनका तीन छोरामध्ये एक छोरा विदेश ग्रिसमा रहेको प्रहरीको भनाइ छ । राईको हत्या गएराति भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरीका अनुसार राईसँगै दुई जना अन्य व्यक्ति पनि कवाडीको सामान संकलन गर्दै आएका थिए । उनीहरुलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । -
अपहरणको धम्की दिएको आरोपमा लोहकिल्थली बस्ने गुप्ता पक्राउ
भक्तपुर, चैत्र १०
अपहरणको धम्की दिएर आपराधिक लाभ लिन खोजेको आरोपमा भक्तपुरको मध्यपुर थिमि १ लोहकिल्थली बस्ने सुदीपकुमार साह गुप्तालाई पक्राउ गरेको छ । सर्लाहीको धनकौला गाउँपालिका–२ घर भई भक्तपुरको लोहकिल्थली बस्ने गुप्तालाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाण्डौं कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनले आपराधिक लाभ लिने उदेश्यले योजनाबद्ध रूपमा विभिन्न धाक धम्की दिएको र अपहरण समेत गर्ने बताएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताउनुभयो ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । गुप्ताविरुद्ध यसअघि प्रहरी वृत्त थानकोटबाट १५ मंसिर २०७९ मा लागूऔषधको कसुरमा मुद्दा चलेको थियो । त्यसैगरी प्रहरी वृत्त सिंहदरबारबाट चोरी तथा डाँका कसुरमा उनीविरुद्ध मुद्दा चलेको पाइएको प्रवक्ता आचार्यले बताउनुभयो ।
























