Category: भर्खरै

  • जुवातास खेलिरहेको अवस्थामा भक्तपुर सिरुटारबाट १२ जना पक्राउ

    भक्तपुर, असार ३
    भक्तपुरको सुर्यविनायक नगरपालिका–१ सिरुटारमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले शनिवार पक्राउ गरेको छ । स्थानीय ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो ।
    जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।

     

  • भक्तपुरको श्री पद्म यो वर्ष पनि उत्कृष्ट विद्यालय

    भक्तपुर, असार ३
    भक्तपुर दरवारस्क्वायरस्थित श्री पद्य माध्यामिक विद्यालय यसवर्ष पनि उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । भक्तपुरकै पहिलो तथा एक शताब्दी पुरानो सामुदायिक विद्यालय श्री पद्म शैक्षिक मूल्याङ्कनमा यो वर्ष पनि उत्कृष्ट बन्न सफल भएको हो ।
    नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परिक्षण केन्द्र सानोठिमी भक्तपुरले प्रत्येक वर्ष देशैभरिको विद्यालयहरूमा गर्दै आएको शैक्षिक गुणस्तरीय मापन कार्य अन्तर्गत श्री पद्म शैक्षिक वर्ष २०८१ मा ९१ प्रतिशत अंक ल्याएर उत्कृष्ट विद्यालय बन्न सफल भएको हो ।
    श्री पद्य गत शैक्षिक वर्ष २०८० मा पनि ९० प्रतिशत बढी अङ्क ल्याई देशभरिमै तेस्रो उत्कृष्ट बनेको थियो ।
    गत जेठ २७ गते विज्ञ परिक्षक प्रकाश महर्जन सहितको टोलीले विद्यालय, विद्यार्थी, समुदाय समेतको अनौपचारिक अवलोकन गरि शैक्षिक, भौतिक, आर्थिक र वातावरणीय सरसफाई लगायतका विभिन्न नौ वटा मापदण्डको अनुगमन गरेको थियो ।
    शैक्षिक गुणस्तर मापन केन्द्रको मापदण्ड अनुसार नमुना विद्यालयको जम्मा अंक भार १ सय ९५ हो । जस मध्ये श्री पद्यले १ सय ७९ अंक अर्थात ९१.७९ प्रतिशत अंक हासिल गर्न सफल भएको सोमवार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
    सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका भक्तपुर नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष राजकृष्ण गोराले आलोचनालाई मार्गनिर्देशनको रूपमा बुझ्यौ भने यो विद्यालयलाई झन् उत्कृष्टताको उचाइमा पु¥याउन सकिने बताउनुभयो ।
    करिव १ हजार ६ सय बढी विद्यार्थी सहित कक्षा १२ सम्म माध्यमिक र स्नातकसम्म कलेज संचालन गर्दै आएका श्री पद्म २०७५ मै नमुना विद्यालय घोषित भएको थियो । विद्यालयले यसअघि २०८० मै बागमती प्रदेश सरकारले असल अभ्यासहरुमा उत्कृष्ट विद्यालयको खिताब पाएका थिए ।
    विज्ञ परिक्षक प्रकाश महर्जनका अनुसार हरेक सामुदायिक विद्यालयले पनि विद्यार्थीको रेकर्ड अभिलेख उत्कृष्ट रूपमा गर्नसक्नु पर्नेमा जोड दिनुभयो । उहाँले शिक्षक सरकारी कर्मचारी भन्दा पनि प्राविधिक व्यक्ति बन्नुपर्ने बताउँदैं उहाँले विद्यालय रणनैतिकतिर, शिक्षण सिकाई, विद्यालय व्यवस्थापन तथा कार्य व्यवस्थापन, पुस्तकालय, विज्ञान प्रयोगशाला नवपर्वतनात्म कार्यमा विद्यालयले राम्रो गरेको पाएको जनाउनुभयो ।
    त्यस्तै चमेना गृह थप व्यवस्थित गर्नुपर्ने, पेशागत विकासको कार्य थप व्यस्थित गर्नुपर्ने, अनुसन्धनात्मक पाटोमा थप लगानी गर्नुपर्ने, शैक्षणिक विधि प्रयोगमा थप सहभागिता गर्नुपर्ने, शताब्दी पुरानो विद्यालयमा दाताहरुलाई अझ आकर्षित गर्न सकिने जस्ता सुझाव विज्ञ परिक्षक महर्जनले दिनुभएको थियो ।

     

  • सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

    केके मानन्धर, भक्तपुर, असार १
    सात बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ शनिवार सम्पन्न गरेको छ । दुईदिने सम्मेलनमा बंगलादेश, भारत र नेपालका विभिन्न प्रदेशबाट पत्रकारहरुको सहभागिता रहेको थियो ।
    अन्तर्राष्ट्रिय सम्मेलन मार्फत पत्रकारहरुले मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्नुपर्ने, नेपाल सरकार लगायत सार्क राष्ट्रका सरकार प्रमुखहरुले मातृभाषाको पत्रकारिता गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, सरकारी स्तरमा नीति तर्जुमा गरेर बजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।
    भक्तपुरको थिमिमा सम्पन्न भएको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मातृभाषा संरक्षण गर्न स्थानिय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विद्यालयस्तरमा मातृभाषाको अध्यापन गर्नको लागि नगरपालिकाले तयारी गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।


    नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले नेपालभाषाको माध्यमबाट पत्रकारिता सुरु गर्नुभएको १०१ वर्ष पुगेको उपलक्ष्यमा सम्मेलनको आयोजना गरिएको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले बताउनुभयो ।
    करिब ५० विदेशी पत्रकार तथा सय जना नेपाली पत्रकारहरु समिल्लित रहेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सार्क जर्नलिष्ट फोरम र फोनिजले सहकार्य गरेको थियो ।
    सम्मेलनमा नेपाल लगायत विश्वव्यापी रहेको मातृभाषा पत्रकारिताको चुनौती, अवसर र भविष्यका सम्भावनाहरूमा केन्द्रीत रहेर विभिन्न चरणमा प्यानल छलफल गरेको थियो । गोरखापत्रका पूर्व प्रधान सम्पादक पुस्करभक्त माथेमाले नेपालको सरकारी सञ्चारगृहमा मातृभाषाको पत्रकारिताको अभ्यासको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


    सम्मेलनमा मातृभाषा संरक्षणका लागि पत्रकारिता, मातृभाषा पत्रकारिताको अभ्यास र प्रवृत्ति, सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिताको उपलब्धि, धर्मादित्य धर्माचार्यदेखि अहिलेसम्म मातृभाषा पत्रकारिता, बहुल समाज विकासमा मातृभाषा पत्रकारिताको भूमिका, मातृभाषा पत्रकारिता विकासमा संस्थागत भूमिका र मातृभाषा पत्रकारितामा बजार व्यवस्थाको विषयमा छलफल भएको थियो ।
    सम्मेलनमा मल्ल के सुन्दर, गणेश राई र अजितमान तामाङ्गलाई सम्मान गरिएको थियो भने रेडियो नेपाल, गोरखापत्र, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र प्रेस काउन्सिल नेपाललाई संस्थागतरुपमा सम्मान गरिएको थियो ।
    कार्यक्रममा नेपाल, भारत र बंगलादेशका गरी पाँच जना वरिष्ठ सञ्चारकर्मीहरुलाई नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य मातृभाषा पत्रकारिता सम्मान प्रदान गरिएको थियो । यसअघि सन् २०२४ मा पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन, सन् २०१८ र २०२२ मा राष्ट्रिय सम्मेलन गरेको थियो ।
    दुईदिने सम्मेलनको शुक्रवार उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातृभाषाको पत्रकारितामार्फत नेपालको संविधानले सुनिश्चित गरेको बहुल समाजभित्रको एकतालाई व्यवहारमा लागू गर्न सकिने बताउनुभयो । उहाँले सरकारी सञ्चारमाध्यममा भाषाभाषीका समाचार प्रकाशन र प्रशारण हुँदै आएको सन्दर्भ जोड्दै यसमा थप समृद्ध गर्नुपर्ने विचार राख्नुभयो ।


    दुईदिने सम्मेलनले जारी गरेको सात बुँदें घोषणापत्र यसप्रकार रहेको छ ः
    १. उहाँको उत्कृष्ट योगदानको कदर गर्दै, धर्मादित्य धर्माचार्यलाई नेपाल सरकारले विधिवत सम्मान र मान्यता दिनुपर्छ ।
    २. राज्य समर्थन र नीतिगत प्रतिबद्धता नेपाल सरकार लगायत सार्क सरकारका प्रमुखहरूलाई मातृभाषामा काम गर्ने पत्रकारहरूको अधिकारको रक्षा गर्ने मिडिया नीतिहरू तर्जुमा र लागू गर्न र स्थानीय तथा आदिवासी भाषाहरूमा सञ्चालित मिडिया आउटलेटहरूको विकास र दिगोपनका लागि बढ्दो बजेट सहयोग विनियोजन गर्न आग्रह गरिएको छ ।
    ३. सरकारले आदिवासी तथा आदिवासी भाषाहरूमा पत्रकारितालाई सामाजिक न्याय र सांस्कृतिक संरक्षणको उपकरणको रूपमा मान्यता दिनुपर्छ र प्रवद्र्धन गर्नुपर्छ, यी समुदायहरूलाई आफ्नो आवाज उठाउन र सान्दर्भिक समाचार र जानकारीमा पहुँच गर्न प्लेटफर्महरू छन् भनी सुनिश्चित गर्नुपर्छ ।
    ४. मातृभाषामा काम गर्ने पत्रकारहरूका लागि नियमित प्रशिक्षण कार्यक्रम, कार्यशाला र फेलोशिपहरू आयोजना गर्न तत्काल कदम चाल्नुपर्छ ।
    ५. संयुक्त राष्ट्र संघ, युनेस्को, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र विकास साझेदारहरूलाई आफ्नो विकास एजेन्डा र कोष प्राथमिकताहरूमा मातृभाषा पत्रकारिता समावेश गर्न, प्राविधिक सहयोग, क्षमता निर्माण समर्थन, र तल्लो तहका मिडिया पहलहरूको लागि स्रोत परिचालन प्रदान गर्न आह्वान गरिएको छ ।
    ६. विश्वविद्यालयहरू, मिडिया संस्थाहरू र अनुसन्धान निकायहरूले यस क्षेत्रमा मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, चुनौतीहरू र सम्भावनाहरूको बारेमा व्यापक अध्ययन गर्नुपर्छ र सरकारहरू र प्रविधि प्लेटफर्महरूले अनलाइन मातृभाषा पत्रकारितालाई प्रवद्र्धन गर्न डिजिटल उपकरणहरू, फन्टहरू र भाषा अनुवाद प्रशोधन प्रविधिहरूमा लगानी गर्नुपर्छ र स्थानीय मिडिया आउटलेटहरूलाई मातृभाषामा डिजिटल ढाँचामा संक्रमण गर्न सहयोग दिनुपर्छ ।
    ७. मातृभाषा पत्रकारिताको प्रवद्र्धनका लागि काम गर्ने राष्ट्रिय र क्षेत्रीय पत्रकार संघहरूलाई मान्यता दिइनुपर्छ र उनीहरूको पहुँच र वकालत विस्तार गर्न आर्थिक रूपमा सहयोग गरिनुपर्छ। निष्कर्ष हामी, सहभागीहरू, हाम्रो मातृभाषामा पत्रकारिता डिजिटल युगमा मात्र बाँच्दैन तर फस्टाउँछ भन्ने कुरा सुनिश्चित गर्न सहकार्य गरेर काम गर्ने हाम्रो संकल्प दोहोर्याउँछौं । हामी सबै सरोकारवालाहरूलाई यी शब्दहरूलाई कार्यमा रूपान्तरण गर्न आह्वान गर्छौं ताकि दक्षिण एसियाका विविध आवाजहरूले स्वतन्त्र र निर्भयतापूर्वक बोल्न, रिपोर्ट गर्न र प्रेरणा दिन जारी राख्न सकून् ।

     

  • पद्म चैत्य विहार, बुटवलमा आजदेखि साप्ताहिक ‘दुर्लभ प्रव्रज्या कार्यक्रम’ शुरु

    पद्म चैत्य विहार, बुटवलमा आजदेखि साप्ताहिक ‘दुर्लभ प्रव्रज्या कार्यक्रम’ शुरु

    सुनीता तुलाधर, बुटवल, असार १ गते ।
    भगवान बुद्ध जन्मभूमि लुम्बिनी प्रदेश, यसै प्रदेश अन्तर्गतको बुटवल उपमहानगरपालिकाको वडा १ स्थित पद्म चैत्य विहारमा आज नेपालका कुलपुत्रहरुको सात दिवसीय “दुर्लभ श्रामणेर प्रव्रज्या” समारोह शुभारम्भ भएको छ । पद्म चैत्य विहारको आयोजनामा अखिल नेपाल भिक्षु महासंघका कोषाध्यक्ष भिक्षु बोधिज्ञान महास्थविरको उपाध्यायात्वमा सो प्रव्रज्या शुरुवात भएको हो ।
    भगवान बुद्धको प्रतिमा अगाडि दीप प्रज्वलनपछि शुरु भएको उक्त समारोहको पहिलो दिन आज कुलपुत्र धम्मदायादहरुले भिक्षु संघमा श्रामणेर प्रव्रज्याको याचना पाठ गरेपछि उपाध्याय भन्ते बोधिज्ञान महास्थविरले धम्मदायादहरुलाई दश शील प्रदान गर्नुभई औपचारिक रुपमा श्रामणेर भावमा प्रव्रजित गर्नुभयो । यसअघि उनीहरुले चीवर प्राप्तीका लागि गरेको याचनापछि भिक्षु बोधिज्ञान महास्थविर उनीहरुलाई चीवर प्रदान गुर्नभएको थियो ।
    उक्त अवसरमा उहाँले भगवान बुद्धको जन्मस्थल लुम्बिनी नजिक रहेको सो विहारमा साप्ताहिक रुपमा शुरु भएको प्रव्रज्यामा सहभागी नव श्रामणेरहरुले बिहान बेलुका बुद्ध पुजा गर्ने, ध्यान भावना गर्ने, पालि भाषा सिक्न पाउने अवसर प्राप्त गर्न पाएका छन्, भन्नुभयो । साथै सो कार्यक्रमको हेतु भन्ते, श्रामणेरहरुलाई ७ दिन भएपनि जलपान, भोजन दान गरी पुण्य कार्यमा सहभागी भई धेरै धेरै कुशल कार्यहरु गर्ने सुअवसरहरु प्राप्त भएकोमा उपासकउपासिकाहरुले खुशी व्यक्त गरीरहेको उहाँले बताउनुभयो ।
    उक्त विहारका विहारप्रमुख भिक्षु कविन्दोले ७ दिनको लागि अल्पकालिन रुपमा भएपनि प्रव्रजित हुन पाउन लागेकोमा भाग्यमानी भएको भन्नुहुँदै भिक्षु बोधिज्ञान महास्थविरले अनुकम्पा राखी बुटवलसम्म आउनुभई प्रव्रज्या दिन लाग्नुभएकोमा उहाँप्रति कृतज्ञ भाव व्यक्त गर्नुभयो ।
    विहार संचालक समितिका अध्यक्ष पद्म लाल शाक्यले प्रव्रज्याका लागि आवश्यक सामाग्रीहरु दान गर्नुहुने, सहयोग गर्नुहुने सम्पूर्णप्रति आभार प्रकट गर्नुहुँदै यसरी सहयोग र उपस्थिति पाएकाले विहारले आगामी दिनहरुमा पनि अझ राम्रो कार्यक्रमहरु गर्न हौसला प्रदान गरेको बताउनुभयो ।
    आजदेखि शुरु भएको प्रव्रज्यामा केश छेदनपछि १० जना धम्मदायादहरुले त्रिचीवर प्राप्त गरेका थिए भने प्रव्रज्या प्राप्तीपछि विहार परिसरमा भिक्षाटन पनि गरेका थिए । जसमा पद्म चैत्य विहार संचालक समितिका पदाधिकारीहरु लगायत गुरुमा एवं उपासकउपासिकाहरुले भन्तेहरु लगायत नवश्रामणेरहरुलाई दानप्रदान गरेका थिए ।
    आगामी असार ७ गते सम्मका दिनहरुमा अल्पकालिन नव श्रामणेरहरुले पहेलो चीवर पहिरी बुद्ध धर्मका १० वटा शील (नियमहरु) पालना गरी आफूलाई बाह्य मात्र नभई आन्तरिक रुपमा पनि रुपान्तरण गर्नेछन् ।

    (more…)

  • जुनियर राष्ट्रिय चेसमा रिसोन र रिया च्याम्पियन

    भक्तपुर, जेठ ३१
    प्रथम जुनियर राष्ट्रिय चेस च्याम्पियनसिपमा झापाका रिसोन थापा र रिया श्रेष्ठ च्याम्पियन बनेका छन । बुढानीलकण्ठ नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रतियोगितामा रिसोनले ९ चरणको खेलमा शतप्रतिशत जित निकाल्दै च्याम्पियन बनेका हुन । उनले ९ अंक प्राप्त गर्दै नगद ४० हजारसहित आकर्षक ट्रफी स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गरे ।
    यस्तै श्रीलंकामा भएको एसियाली चेसमा रजक पदक प्राप्त गरेका सीएम पुरुषोत्तम सिलवालले ८ अंक जोडेर दोस्रो बन्दै नगद २५ हजार प्राप्त गरे । प्रतिस्पर्धामा समान ७ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा प्रतिक सुवेदी तेस्रो हुँदैं नगद १० हजार प्राप्त गरे ।
    समान ७ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा ललितपुरका अविक शाह चौथो स्थानमा रहँदै नगद ७ हजार ५ सय, काठमाडौँका अग्रिम सैजु पाँचौं स्थानमा रहँदैं नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
    यसैगरी जुनियर छात्रातर्फ काठमाडौँका रिया श्रेष्ठले ७ चरणको खेलमा पाँच जित र दुई बराबरी नतिजासँगै ६ अंकका साथ उपाधि जित्न सफल भइन । छात्रा तर्फ अपराजित रहँदै उपाधि जितेकी रियाले नगद रु. ४० हजार, ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र हात पारे ।
    प्रतियोगितामा बाँकेकी ईशा गिरीले ५.५ अंक टाइब्रेक ३३ प्वाइन्ट जोडेर द्वितीय स्थान हासिल गरे । ईशाले नगद पुरस्कार २५ हजार, सिल्भर मेडल प्रमाणपत्र प्राप्त गरे ।
    यस्तै दक्षिणकाली नगरपालिकाका एन्जल महर्जनले समान ५.५ अंक टाइब्रेक ३१ प्वाइन्ट बनाउँदै तृतीय बन्न सफल भए । उनले नगद पुरस्कार १० हजार प्राप्त गरे ।
    यसै स्पर्धामा काठमाडौँका दानिसा पुरीले ५.५ अंक टाइब्रेक २७.५ प्वाइन्टमा सीमित रहँदै चौथो स्थान प्राप्त गरे । उनले नगद पुरस्कार ७ हजार ५ सय हात पारे । काठमाडौँकै प्रिसियस अधिकारीले पाँच अंक जोडेर पाँचौं स्थानमा उभिँदै नगद पुरस्कार ५ हजार हात पारे ।
    छात्रतर्फ यु–८ काठमाडौँका शुभाङ्ग प्रधान, यु–१० आस्विक पोखरेल, यु–१२ समृद्ध श्रेष्ठ, यु–१४ ओस्कार पन्थी र यु–१६ आद्यान्त काफ्ले र यु–१८ युनिक गौतम उत्कृष्ट बने ।
    छात्रातर्फ यु–१० अग्रता आचार्य, यु–१२ निहाना श्रेष्ठ, यु–१४ नेलिसा ओझा, यु–१६ ओजस्वी श्रेष्ठ र यु–१८ ग्लोसी श्रेष्ठ उत्कृष्ट बने ।
    त्रिज्योति स्कुलमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा संयोजक दीपक तामाङ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, प्रवक्ता राजु ताम्राकार र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

     

  • एथलेटिक्समा अनिशाले तोडिन १८ वर्ष पुरानो किर्तिमान

    भक्तपुर, जेठ ३१
    बागमती प्रदेशकी अनिशा थारुले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदमा एथलेटिक्सको छात्रा ट्रिपल जम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार सम्पन्न १५ औं केन्द्रीय राष्ट्रत रनिङ शिल्ड प्रतियोगितामा अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण पदक जितिन् ।
    अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् । लुम्बिनीकी पिन्जु चौधरीले रजत र कर्णालीकी सरिता शाही कास्य पदक प्राप्त गरिन् ।
    तीनदिने एथलेटिक्समा जम्मा ९ कीर्तिमान बने । एथलेटिक्समा छात्रा ट्रिपलजम्पसहित छात्र÷ छात्राको ४ गुणा १ सय मिटर रिलेमा राष्ट्रिय जुनियर कीर्तिमान बने । छात्र ४ गुणा १ सय मिटर रिलेमा बागमतीका प्रवीण राना मगर, सन्त दराई, सुविन लामा र निरज शाहको टोलीले निर्धारित दूरी ४३.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण पदक जियो ।
    बागमती टोलीले २०८० सालमा सुजल, सुदीप थारु, तुल्सीराम चौधरी र रोहित गुप्ता सम्मिलित लुम्बिनी टोलीको ४४.०० सेकेन्डको कीर्तिमान तोडेका हुन् । यसमा गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो बने ।
    सो स्पर्धाको छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारु, भगवती खड्का र सुरुची मोक्तानले निर्धारित दूरी तय गर्न ५१.९ सेकेन्ड खर्चदै कीर्तिमान स्थापित गरे । लुम्बिनीका निशा चौधरी, रेसु थारु, रामकुमारी थारु र सम्झना थारुको नाममा ५४.२ सेकेन्डको कीर्तिमान थियो । लुम्बिनी टोलीले २०७९ सालमा उक्त कीर्तिमान बनाएका थिए । गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो स्थानमा रहे ।


    यसअघि छात्र १ सय मिटर दौडमा बागमतीका प्रवीण राना मगर (१०.७६ सेकेन्ड), छात्रा ४ सय मिटर दौडमा सुदूरपश्चिमकी संगीता विक (१ मिनेट ०१.१९ सेकेन्ड), छात्रा ८ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी (२ मिनेट १७.९ सेकेन्ड) र छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनीका राहुल थारु (५७.४० मिटर) ले कीर्तिमान स्थापित गरेका थिए ।
    त्यस्तै, छात्र÷छात्राको बागमती टोलीले ४ गुणा ४ सय मिटर रिलेमा पनि कीर्तिमान कायम गरे । छात्रमा प्रवीण राना मगर, निरज शाह, हस्त सुनार र सन्तबहादुर दराई तथा छात्रामा दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेलले कीर्तिमान आफ्नो नाममा लेखाए ।
    छात्र त्रिपलजम्पमा सुदूरपश्चिमका विकास बुढा पहिलो भए । उनले १३.७३ मिटर जम्प गरे । सुदूरपश्चिमकै विक्रम नाथ दोश्रो र बागमतीका अविनाश सुनार तेश्रो भए ।
    छात्र ३ हजार मिटर दौडमा कर्णालीका अनिल शाही पहिलो भए । उनले ९ मिनेट ०८.९ सेकेन्डमा दौड पूरा गरे । कोशीका अमिर लिम्बू दोश्रो तथा लुम्बिनीका अर्विन्दकुमार यादव तेश्रो बने ।
    सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी देवकी धामीले १० मिनेट ५२.९ सेकेन्डमा पूरा गर्दै स्वर्ण चुमिन् । बागमतीकी अस्मिता भुजेलले रजत तथा कर्णालीकी स्वस्तिका कठायतले कांस्य पदक जितिन् ।
    छात्र २ सय मिटर दौडमा बागमतीका प्रवीण राना मगर पहिलो भए । उनले २२.४ सेकेन्ड समय खर्चे । लुम्बिनीका सुभम् वमरेल दोश्रो तथा गण्डकीका सुदीप भण्डारी तेश्रो भए । उक्त स्पर्धाको छात्रामा बागमतीकी दिना गोपाली पहिलो भइन् । दिनाले २७.१ सेकेन्ड समय लगाइन् । लुम्बिनीकी आरुषी भट्टराई दोश्रो तथा गण्डकीकी अनुष्का अधिकारी तेश्रो भए ।

  • राष्ट्रपति रनिङ शिल्डमा बागमती च्याम्पियन

    भक्तपुर, जेठ ३१
    बागमती प्रदेश १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ । शुक्रवार सम्पन्न प्रतियोगितामा बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदकका साथ च्याम्पियन बनेको हो ।
    युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोश्रो भयो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जित्यो ।
    यस्तै ११, १२ र १३ औं संस्करणको विजेता लुम्बिनी प्रदेशले तेश्रो भयो । लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जित्यो । गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्य पदकसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्य पदकका साथ पाँचौं तथा मधेश प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यका साथ छैटौं भयो । सातौं स्थानमा रहेको कोशी प्रदेश स्वर्ण विहीन भयो । कोशी प्रदेशले ७ रजत र ८ कांस्य जित्यो ।
    विजेतालाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, रञ्जना प्रधान र सुवर्ण श्रेष्ठ, राखेप सदस्य जगतसिंह धामी, प्रशासन विभाग प्रमुख भोजानन्द राई, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतले पुरस्कृत गरे ।
    प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । तीन दने प्रतियोगितामा ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
    प्रतियोगितामा कुल ९ जुनियर राष्ट्रिय कीर्तिमान बने । प्रत्येक कीर्तिमानका लागि १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । समावेश ६ वटै खेलको हरेक पदकका कुल १२ लाख रुपैयाँ पुरस्कार वितरण गरिएको राखेपले जनाएको ।

     

  • लागुऔषध र विदेशी मुद्रासहित ४ जना पक्राउ

    भक्तपुर, जेठ ३१
    भक्तपुरको मध्यपुर थिमि राधेराधे र कमेरोटार क्षेत्रबाट प्हरीले लागु र्आषधसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा एक युवती र तीन युवक छन ।
    प्रहरीले मध्यपुर थिमि–७ राधेराधे भाटभटेनी नजिकबाट लागुऔषध सहित खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१४ का २६ वर्षिय केवल राईलाई बिहिवार पक्राउ गरेको हो ।
    प्रहरीले उनको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामाडेक्स लेखेको लागुऔषध १४६ थान बरामद भएको जनाएको छ ।


    यस्तै प्रहरीले मध्यपुर थिमि–५ कमेरोटार क्षेत्रबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मध्यपुर थिमि–६ कुण्डोल बस्ने २२ वर्षिय रिकेश थापा, सिन्धुपालचोक चौतारा साँगाचोकगढी–३ बस्ने ३२ वर्षिय तारा बहादुर भारती, काठमाण्डौं चन्द्रागिरी नगरपालिका–७ बस्ने २२ वर्षिया रेश्मा ठकुरी हुन ।
    उनीहरुको साथबाट लागुऔषध खैरो हिरोईन लागेको स्टिलको थाल एक थान, खैरो हिरोईन जस्तो पदार्थको पोका थान ५ प्लास्टिक सहित तौल गर्दा ६४० मिलिग्राम, नेपाली नगद ५ हजार ७५० रुपैंयाका साथै अमेरिकी डलर, कुवेती डिनार, साउदी रियाल, मलेसियन रिङ्गेट, कतारी रियाललगायतका विदेशी मुद्रा पनि बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानले बताउनुभयो ।
    पक्राउ परेका चारै जनालाई भक्तपुर जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ नेउपानले बताउनुभयो ।

     

  • शैक्षिक परामर्श व्यवसायीलाई करदाता शिक्षा र लेखा व्यवस्थापन तालिम

    भक्तपुर, जेठ ३०
    जापानिज भाषा स्कुल संघ (जाल्सान), नेपालले आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरसँगको सहकार्यमा शैक्षिक परामर्श व्यवसायीलाई बुधवार करदाता शिक्षा र लेखा व्यवस्थापन तालिन प्रदान गर्नुका साथै करका विषयमा अन्तरक्रिया गरेको छ ।
    कार्यक्रममा प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले परामर्श व्यवसायीले पालना गर्नुपर्ने कानुनी प्रावधानका बिषयमा जानकारी दिनुका साथै व्यवसाय मैत्री नीतिमार्फत अर्थतन्त्रमा स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्न निजी क्षेत्रबाट सकारात्मक भूमिकाको खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।
    कर अधिकृत रमेश श्रेष्ठले करसम्बन्धी विविध विषयमा जानकारीमूलक प्रस्तुती सहित व्यवसायीहरुलाई नेपाल सरकारले हालै बजेटमार्फत ल्याएका करका बारेमा शिक्षा दिनुभएको थियो ।
    त्यसैगरी कर एवं लेखा व्यवस्थापनका विषयमा सिए नवराज गौतमले प्रशिक्षण दिनुभएको थियो भने सहभागीहरुको जिज्ञासालाई कर अधिकृत वेद प्रसाद खनाल र प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले सम्बोधन गर्नुभएको थियो ।
    सो अवसरमा जाल्सानका अध्यक्ष रमेश देवकोटाले कर शिक्षा कार्यक्रम व्यवसायीका लागि निकै उपयोगी भएको प्रतिक्रिया दिदै आगामी दिनमा समेत सहकार्यको अपेक्षा गर्नुभयो ।
    संस्थाका प्रथम उपाध्यक्ष एवं तालिम संयोजक महेश श्रेष्ठको संयोजनमा सम्पन्न कार्यक्रम जाल्सानका महासचिव अरुण पाण्डेले सञ्चालन गर्नुभएको थियो भने कर सम्बन्धि सन्देशमूलक भिडियो सामाग्री प्रशारण गरिएको थियो ।

     

  • नेपाल मेडिसिटीमा पहिलो पटक कलेजो प्रत्यारोपण

    भक्तपुर, जेठ २९
    ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । पोखरा निवासी ५६ वर्षिय ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो । उहाँलाई उहाँको २६ वर्षिय छोरा आयुष कार्कीले कलेजो दान गर्नुभएको हो । प्रत्यारोपण गत जेठ ८ गते भएको अस्पतालले बिहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
    कलेजो प्रत्यारोपण संसारकै जटिल प्रत्यारोपण मध्ये एक पर्दछ भने प्रत्यारोपणको लागि ठूलो मल्टिडिसिप्लिनरी टोलीको आवश्यकता पर्दछ । प्रत्यारोपण गर्दा कलेजो दाता (डोनर)को झण्डै ९ घण्टा र कलेजो प्राप्तकर्ता (रिसिभर) को १३ घण्टा लागेको थियो ।
    भारतको प्रसिद्ध परोपकारी अस्पताल अमृता अस्पतालसँग सहकार्य गरी नेपाल मेडिसिटीका चिकित्सकहरुको नेतृत्वमा सफलतापूर्वक प्रत्यारोपण गरिएको अस्पतालका अध्यक्ष डा. उपेन्द्र महत्तोले बताउनुभयो ।


    पत्रकार सम्मेलनमा कलेजो दाता आयुष कार्कीले बुबालाई कलेजो दान गर्न पाउँदा आफु जन्मले सार्थकता पाएको बताउनुभयो । “मलाई मेरो जन्म भएको दिन थाहा थियो, तर आज म किन जन्मेको रहेछु भन्ने बारेमा पनि थाहा भयो,” उहाँले भन्नुभयो ।
    उहाँले बुबाको उपचारका लागि दुई पटकसम्म भारत जाँदा पनि प्रत्यारोपण गर्न नसकिएको बताउनुभयो । “हामी उपचारका लागि दुई पटक भारत गएका थियौं, तर त्यहाँ डाक्टरको परामर्श चित्त बुझेन । बुबालाई जसरी पनि मिर्गौला र कलेजो प्रत्यारोपण गर्नैपर्छ भनेपछि हामी झन् आँतियौं र नेपाल नै फक्र्याैं,” आयुषले भन्नुभयो ।
    नेपालमै विश्वस्तरीय सेवा दिने अस्पताल रहेको थाहा पाएपछि मेडिसिटी अस्पतालमा परामर्शको लागि पुगेको उहाँले बताउनुभयो । कलेजो प्रत्यारोपण गरेर मिर्गौला जोगाउन सकिन्छ भन्ने बुझेपछि यहीँ प्रत्यारोपण गर्ने निर्णय गरेको जानकारी दिँदैं उहाँले भन्नुभयो, “नेपालमै सम्भव हुने उपचारका लागि हामी भारत धाउनु प¥र्यो । यदिपहिले नै यहाँ परामर्श लिएको भएहाम्रो समय र पैसा दुबै खर्च हुने थिएन,”


    मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण गरिएको यो पहिलो पटक हो । अस्पतालमा मल्टिडिसिप्लिनरी टिम भएका कारण जटिल शल्यक्रिया सम्भव भएको हो अस्पतालका अध्यक्ष डा. महत्तोले बताउनुभयो ।
    नेपालमा हरेक वर्ष २०० देखि ३०० जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता देखिन्छ । एम्बेसी अफ नेपाल, डिल्लीका अनुसार सन् २०२३ देखि २०२४ मा मात्र ७० जना भन्दा बढि नेपालीहरुले भारतमा गएर कलेजो प्रत्यारोपण गराएका छन् ।
    “हामीले नेपालीहरु उपचारका लागि विदेश जान नपरुन् भन्ने उद्धेश्यले नै यो अस्पताल सञ्चालनमा ल्याएका हौं । त्यसैले यहाँका जनशक्तिलाई नै बलियो बनाई जस्तो सुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गरिरहेका छौं,” उहाँले भन्नुभयो ।
    ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. उमिद कुमार श्रेष्ठका अनुसार बिरामीको कलेजो तथा मिर्गौला दुबै बिग्रिसकेको थियो । निकै जटिल स्वास्थ्य अवस्थामा रहेका उनको सफल कलेजो प्रत्यारोपण गरिएको डा. श्रेष्ठले बताउनुभयो ।
    “ईश्वर बहादुर कार्कीको पेटमा पानी जम्ने, बेला बेलामा होस हराएको जस्तो हुने, रगत वान्ता हुने तथा बेहोस हुने जस्ता समस्या थियो । उनको कलेजोसँगै मिर्गौलाले पनि काम गर्न छाडिसकेको थियो । यस क्रममा उनी नेपालका अन्य अस्पताल र भारतमा पनि दुई पटक प्रत्यारोपणका लागि गएका थिए । उनको जटिल अवस्थाका कारण कलेजो तथा मिर्गौला प्रत्यारोपण दुबै गर्नुपर्ने भएकोले जोखिम उठाउन चाहेनन्, तर नेपाल मेडिसिटीमा भने उनको कलेजोको सफल प्रत्यारोपण भएको छ,” डा. श्रेष्ठले भन्नुभयो ।


    कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार देखिएको उहाँले बताउनुभयो ।
    बिरामीको शल्यक्रिया गर्नु अघि नै यसमा जोखिम रहेको र पहिले कलेजो प्रत्यारोपण गर्ने र कलेजोको कारण मिर्गौला बिग्रेको हो वा होइन जाँच गरेर मात्र मिर्गौला प्रत्यारोपण गर्ने जानकारी परिवारलाई गराएर मात्र बिरामीको कलेजो प्रत्यारोपढा गरिएको कलेजो प्रत्यारोपण सर्जन डा.रामबाबु साहले बताउनुभयो ।
    “बिरामीले धेरै अस्पतालमा धाइसकेको तथा लामो समय बिति सकेका कारण चुनौतीलाई आत्मसाथ गरी यो प्रत्यारोपण गरेका हौं,” उहाँले भन्नुभयो ।
    नेपाल मेडिसिटी अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सर्वसुलभ शूल्कमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको अस्पतालका अध्यक्ष डा. महत्तोले बताउनुभयो ।
    मेडिसिटीमा कलेजोसँगैं विभिन्न अंगको प्रत्यारोपण हुँदै आइरहेको छ । अस्पतालमा हालसम्म ४५ जनाको सफलता पूर्वक मिर्गौला प्रत्यारोपण भईसकेको छ भने ५०० जनाभन्दा बढिको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ ।