Category: भक्तपुर

  • विश्वकप छनोट – नेपाल जोर्डनसँग ३–० ले पराजित

    विश्वकप छनोट – नेपाल जोर्डनसँग ३–० ले पराजित

    भक्तपुर, जेठ २५
    कुवेतमा जारी विश्वकप तथा एसियन कप छनोट प्रतियोगितामा नेपाल जोर्डनसँग पराजित भएको छ । सोमवार राती सम्पन्न खेलमा जोर्डनले नेपाललाई ३–० ले पराजित गरेको हो । जोर्डनको जितका लागि बाहा फैसल सेफले खेलको २३ औं मिनेटमा पेनाल्टी मार्फत र दोस्रो हापको शुरुमा गोल गरे भने खेलको ६८ औं मिनेटमा याजान अलअरबले गोल गरेका थिए ।


    जोर्डनसँग पराजित भएसँगै नेपाल एसियन कप २०२३ को छनोटको तेस्रो चरणमा सिधै प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ । नेपालले अब शुक्रवार हुने खेलमा अष्ट्रेलियालाई पराजित गर्न सके मात्र एसियन कप २०२३ को छनोटको तेस्रो चरणमा सिधै प्रवेश गर्ने सम्भावना रहन्छ, त्यसका लागि अन्य समूहका खेलको नतिजा पनि अनुकुल हुनुपर्छ ।
    जोर्डन जितसँगै समूहको दोस्रो स्थानमा उक्लेको छ । जोर्डनको ६ खेलमा १३ अंक पुगेको छ भने कुवेत समान खेलमा १० अंक सहित तेस्रो स्थानमा छ । नेपाल ६ अंकसहित चौथो स्थानमा नै छ । नेपालले अब अर्को खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ९ः४५ सुरु हुनेछ ।
    पहिलो हाफमा जोर्डनले बल पोसेसनमा दबाब राख्दै आक्रमण बुनेको थियो । जोर्डनको एकपछि अर्को आक्रमणमा गोलरक्षक किरण बाधक बनेका छन ।


    खेलको १४ औं मिनेटमा जोर्डनका मोहमद सुलेमानले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई किरणले आफ्नो बायाँतर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरे । २१ औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्रभित्र बल गुमाएपनि डिफेन्डर अनन्त तामाङले ६ यार्ड बक्स भित्र आएको लो क्रसलाई क्लियर गर्दै खतरा टारे ।
    खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टी मार्फत गोल गर्दै नेपाल विरुद्ध अग्रता बनाए । रोहित चन्दले सुलेमानलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै रेफ्रीले पेनाल्टी दिए । बाहा फैसल सेफले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । गोलरक्षक किरणले सहि दिशामा डाइभ दिएपनि सेफको शक्तिशाली प्रहार रोक्न भने सकेनन् ।
    खेलको २९ औं मिनेटमा डिफेन्डर विकास खवास घाइते हुँदै बाहिर जानु परेपछि सुनिल बल मैदान प्रवेश गरेका थिए । ३५ औं मिनेटमा सुनिल बलले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई अन्जन विष्टले भेट्न नसक्दा नेपालले बराबरी गर्ने अवसर गुमाएको थियो ।


    खेलको ४२ औं मिनेटमा जोर्डनले अग्रता दोब्बर पर्ने अवसर गुमायो । किरण चेम्जोङले पहिलो प्रहार बचाएपछि जोर्डनका खेलाडीले रिबाउन्डमा गरेको दोहोरो प्रहारले पोस्टको दिशा लिन सकेन । इन्जुरी समयमा सुलेमानले तीन डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरिएको थियो ।
    दोस्रो हाफको शुरुवातमै जोर्डनले आफ्नो अग्रता दोब्बर पा¥यो । खेलको ४९ औं मिनेटमा बाहा फाइजलले व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाए । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । झन्डै ३५ यार्ड टाढाबाट गरेको शक्तिशाली फ्रिकिक गोलरक्षक किरणलाई बिट गर्दै टप कर्नरमा गोल भएको थियो ।
    नेपालले खेलको ५८ औं मिनेटमा तीन खेलाडी परिवर्तन गरेको थियो । नवयुग श्रेष्ठ, एरिक विष्ट र विशाल राईलाई पुजन उपरकोटी, सन्तोष तामाङ र दीनेश राजवंशीको स्थानमा मैदानमा प्रवेश गराएका थिए । त्यसपछि नेपालको खेलमा केही सुधार देखिएको थियो । तर ५८ औं मिनेटमा मनिष र नवयुगले पेनाल्टी क्षेत्र बाहिर बल नियन्त्रण गर्न नसक्दा नेपालले कुनै खतरा सिर्जना गर्न सकेन ।


    ६८ औं मिनेटमा जोर्डनले ३–० को अग्रता लियो । छोटो फ्रिकिकमा जोर्डनले उत्कृष्ट मुभ बनाउँदै गोल गरेको थियो । दायाँ विंगबाट आएको क्रसलाई याजान अलअरबले फार पोस्टमा सहजै हेडरमार्फत गोल गरेका थिए ।

    ८६ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै विशाल राईले लामो दुरीबाट गरेको प्रहार पनि बाहिरियो ।

  • भक्तपुरमा गोली बरामद

    भक्तपुरमा गोली बरामद

    भक्तपुर, जेठ २४
    भक्तपुरको सूर्यविनायक नगरपालिका ४, दक्षिणबाराही मन्दिर नजिक एसएलआर राइफलको गोली बरामद भएको छ । स्थानीय चौतारा मर्मत गर्नेक्रममा ५ थान गोली बरामद भएको हो ।
    चौतारा ममर्तमा खटिएका कामदारले गोली फेला परेको जानकारी दिएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । महानगरिय प्रहरी वृत्त थिमिको प्रहरीले गोली बरामद गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • मध्यपुर थिमि नगरपालिकाले निःशुल्क पिसिआर परीक्षण गर्ने

    मध्यपुर थिमि नगरपालिकाले निःशुल्क पिसिआर परीक्षण गर्ने

    भक्तपुर, जेठ २४
    मध्यपुर थिमि नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका नगरबासीको निःशुल्क कोरोनाको पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकाको सोमवार बसेको ५२ कार्यपालिका बैठकले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आर्थिक अवस्था कमजोर भएका नगरबासीको निःशुल्क कोरोनाको पिसिआर परीक्षण गर्ने निर्णय गरेको हो ।
    त्यसैगरी बैठकले कोभिड–१९ विरुद्धको खोप नगरपालिका आफैंले व्यवस्थापन गर्ने गरी अनुदानका लागि आवश्यक प्रक्रिया गर्न स्वास्थ्य मन्त्रालयमा स्विकृतिको लागि प्रस्ताव गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता एवम् वडा नं. २ का वडाअध्यक्ष राम थापामगरले जानकारी दिनुभयो ।
    यसैगरी बैठकले नगरपालिकाको नगरसभा आगामी असार ७ गते गर्ने निर्णय गरेको प्रवक्ता थापामगरले बताउनुभयो ।

  • भक्तपुरमा ९३ प्रतिशत कोरोना संक्रमण मुक्त

    भक्तपुरमा ९३ प्रतिशत कोरोना संक्रमण मुक्त

    भक्तपुर, जेठ २४
    भक्तपुरमा आइतवार १५८ महिलासहित ३३९ जना कोरोना संक्रमण मुक्त भएका छन । यो सँगै भक्तपुरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १९ हजार ८४ पुगेको छ । यहाँ कुल संक्रमितको ९३ प्रतिशत संक्रमित कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
    भक्तपुरमा कुल २० हजार ६१३ संक्रमित मध्ये १ हजार २५९ सक्रिय संक्रमित छन । ती मध्ये ६३८ पुरुष र ६२१ महिला छन । सक्रिय संक्रमित मध्ये ३६ महिलासहित ८५ जना अस्पताल र संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । त्यस्तै ५८९ पुरुष र ५८५ महिलागरी एक हजार १७४ संक्रमित होम आइसोलेसनमा छन ।
    भक्तपुरमा कारोना संक्रमणबाट २७० जनाको मृत्यु भएको मिजारले बताउनुभयो । ती मध्ये १७४ पुरुष र ९६ महिला छन । मृत्यु हुनेमा सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकामा ९२ छन । त्यस्तै सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिकामा समान ७२÷७२ जनाको कोरोना संक्रमितको मृत्यु भएको मिजारले बताउनुभयो । चाँगुनारायण नगरपालिकामा भने ३६ जनाको मृत्यु भएको छ ।

  • कविता प्रतियोगिताका विजयी विद्यार्थी पुरस्कृत

    कविता प्रतियोगिताका विजयी विद्यार्थी पुरस्कृत

    भक्तपुर, जेठ २४
    शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले जिल्लाव्यापी विद्यालय तथा कलेजस्तरिय कविता प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई आज पुरस्कृत गरेको छ । स्व. जोन्छेंको ९ औं स्मृति दिवसको अवसरमा प्रतिष्ठानको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कारले पुरस्कृत गरिएको हो ।
    गत चैत्र २७ गते सम्पन्न प्रतियोगिताको दश जोड दुई र कलेजतर्फ आदर्श माध्यामिक विद्यालयका सुष्मा तिमल्सिना प्रथम हुनुभएको थियो । उहाँले नगद १० हजार पुरस्कार प्राप्त गर्नुभयो । त्यसैगरी द्धितिय हुने सैनिक आवासिय विद्यालयकी सुस्मिता श्रेष्ठले ७ हजार, तृतिय हुने सैनिक आवासिय विद्यालयकै रोमिका शर्माले ५ हजार र सान्तवना पुरस्कार पाउने सैनिक आवासिय विद्यालयका आदर्शबाबु ढकाल र आदर्श माविका ईन्दिरा नेपालले जनही ३÷३ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।

    त्यसैगरी विद्यालयतर्फको प्रतियोगितामा प्रथम हुने महेन्द्र विद्या आश्रम माविका अपेक्षा लामाले ५ हजार, द्धितिय हुने अरनिको माविका समिक्षा न्यौपानेले ३ हजार, तृतिय हुने दुई जना श्री मेधा माविका आयुष दंगाल र एमिनिटी ई. स्कुलका संयोग अधिकारीले जनही २÷२ हजार, तथा सान्तवता पुरस्कार पाउने दुई जना सैनिक आवासिय विद्यालयका श्रेया नेपाल र बालमिकेश्वर माविका प्रवेश तिमिल्सिनाले जनही एक एक हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।

    पुरस्कृत विद्यार्थीहरुलाई प्रतिष्ठानका अध्यक्ष एवम् बागमति प्रदेशसभा सदस्य रजनी जोन्छेंले पुरस्कार प्रदान गर्नुभएको थियो । संक्षिप्त कार्यक्रममा सहभागीहरुले स्व. जोन्छेंको तस्विरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
    स्व. जोन्छेंको स्मृतिमा प्रत्येक वर्ष आयोजना हुँदैं आएको जिल्ला व्यापी विद्यालयस्तरिय कविता प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई स्मृति दिवसको दिन पारेर नगद पुरस्कार वितरण गरेको अध्यक्ष जोन्छेले बताउनुभयो । प्रमाणपत्र र शिल्ड कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएर वातावरण सहज भएपछि खुल्ला कार्यक्रम आयोजना गरी वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

  • विभिन्न अस्पताललाई २१ हजार एन९५ मास्क वितरण

    विभिन्न अस्पताललाई २१ हजार एन९५ मास्क वितरण

    भक्तपुर, जेठ २३
    नेपाल मजदुर किसान पार्टीको अनुरोधमा चिनिया कम्युनिष्ट पार्टीले प्रदान गरेको स्वास्थ्य सामग्री मध्ये आइतवार २१ हजार थान एन९५ मास्क जिल्लाका विभिन्न अस्पताललाई वितरण गरिएको छ ।
    नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंका अनुसार भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ५÷५ हजार र चाँगुनारायण अस्पताल चाँगु, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि र सूर्यविनायक नगर अस्पताल जगातीलाई २÷२ हजार थान एन ९५ मास्क वितरण गरिएको हो ।
    कोभिडविरुद्घको लडाइँमा सहकार्य अन्तर्गत चिनियाँ कम्युनिस्ट पार्टीले सो मास्क नेमकिपालाई प्रदान गरिएको र नेमकिपाले महामारीमा अग्रपंक्तिमा बसेर लडिरहेका स्वास्थ्यकर्मीहरूको मनोवल उकास्ने उद्देश्यले विशेषतः अस्पताल प्रयोजनका निम्ति प्रदान गरिएको गासाईंले बताउनुभयो ।

  • प्रकोप व्यवस्थापन कोषमा थप १८ लाख ४२ हजार जम्मा

    प्रकोप व्यवस्थापन कोषमा थप १८ लाख ४२ हजार जम्मा

    भक्तपुर, जेठ २३
    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम आइतबार पनि जारी रहेको छ ।
    ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा आइतवार थप १८ लाख ४२ हजार ६ सय ८६ रुपैयाँ जम्मा भएको छ । यो सँगै गत जेठ ५ गते यता उक्त कोषमा ४ करोड ७८ लाख ८७ हजार ७ सय २८ रुपैंया बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
    कोभिड–१९ कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा आइसोलेसन केन्द्र र एचडीयु सञ्चालन गरी निःशुल्क सेवा प्रदान गरिरहेको छ । सो को लागि नगरपालिकाले प्रकोप कोषमा सहयोग गर्न आव्हान गरेको हो ।

  • चुरे दोहनमा वर्तमान र पुर्व सरकारहरु जिम्मेवार ः अध्यक्ष बिजुक्छें

    चुरे दोहनमा वर्तमान र पुर्व सरकारहरु जिम्मेवार ः अध्यक्ष बिजुक्छें

    भक्तपुर, जेठ २२, लक्ष्मी गारु
    नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले चुरे दोहनमा वर्तमान र पुर्व सरकारहरु जिम्मेवार रहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाले प्रकाशन गरेको ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन अनलाइनमार्फत शनिबार सार्वजनिक गर्दै अध्यक्ष बिजुक्छेंले चुरे दोहनमा विदेशी स्वार्थ समेत रहेको बताउनुभएको हो ।
    उहाँले चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत भएकाले यसको संरक्षण गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत हो, यसको संरक्षण गर्नु आवश्यक छ । चुरे दोहनमा पुर्व र वर्तमान सरकारहरु जिम्मेवार रहेको र यसमा विदेशी स्वार्थ रहेको प्रष्ट छ ।’
    अध्यक्ष बिजुक्छेंले ङातापोल्हँ (पाँचतले मन्दिर) र अन्य सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरु मानव जातिको शिल्प, कला र विश्व शान्तिको निम्ति एक महत्वपूर्ण शिक्षालयको रुपमा रहेको बताउनुभयो । कुनै पनि नयाँ भौतिक निर्माण गर्दा त्यहाँ रहेका प्राकृतिक स्रोतबारे अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याउँदैं उनले मुख्य–मुख्य स्मारकहरुबारे अध्ययनलाई निरन्तरता दिनुपर्ने र पुरातत्व सम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
    नेमकिपाका सचिव प्रेम सुवालले दुईतिहाई बहुमत प्राप्त सरकारले देश र जनताको सेवा गर्न नसेकेको आरोप लगाउँदैं निर्वाचनको माध्यमबाट यिनीहरुलाई पराजीत गर्नुपर्ने बताउनुभयो । उहाँले जन्मको आधारमा नागरिकता पाएकालाई वंशजको आधारमा नागरिकता दिने अध्यादेश देशको हितमा नभएको बताउनुभयो । काठमाडौं उपत्यका वरपर आधुनिक सहर निर्माण गर्ने सरकारको योजना सन्तुलित विकासको विरोधी योजना भएको उहाँको भनाई छ ।
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार अरुको सहयोगमा भर परेर नभई आफ्नै पौरखले सम्पन्न गर्नुपर्ने भावनासहित सम्पदा पुनःनिर्माण र जीर्णोद्धारका काम प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी जनताकै सहयोग र सहभागितामा मौलिक शैलीमै सम्पन्न गर्न निरन्तर नगरपालिका लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    उहाँले भन्नुभयो, “स्थानीय जनताको मौलिक सीप र प्रविधि तथा निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएको पाँचतले मन्दिरले आधुनिक ज्ञान र प्रविधिलाई समेत चुनौती दिएको छ ।”
    विशेष अदालतका पूर्व मुख्य न्यायाधीश गौरीबहादुर कार्कीले पाँचतले मन्दिरबारे थप अध्ययन तथा अन्वेषणहरु आवश्यक भएको बताउँदैं भूकम्प पश्चात पुनःनिर्माण हुन बाँकी सम्पदाहरुको पुनःनिर्माणमा भक्तपुर नपाले जोड दिनुपर्ने सुझाव दिनुभयो । उहाँले सांस्कृतिक सम्पदा संरक्षण कार्यमा अग्रणी भूमिका खेलेका दक्ष कालिगढहरुलाई सरकारले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
    प्रा.डा. सुदर्शनराज तिवारीले २०७२ सालको भूकम्पबाट क्षति पुगेको पाँचतले मन्दिरको जीर्णोद्धार र सबलीकरणको काममा सल्लाहकारको रुपमा कम गर्न पाउँदा निकै गौरवान्वित महसुस गर्दै मन्दिर जीर्णोद्धारमा देखिएको जनसहभागिताका कारण यस मन्दिरप्रति समाजको अपनत्व हुनु सकारात्मक रहेको बताउनुभयो ।
    प्रा.डा. प्रेमनाथ मास्केले सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाको नियमित अनुगमन र मर्मत सम्भार हुनुपर्ने सुझाव दिनुभयो । ईतिहासविद् एवम् संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भूपतिन्द्र मल्लको पालामा पाँचतले मन्दिर ६ महिनाको छोटो समयमा निर्माण भएको तथ्यबारे प्रष्ट पार्दै नेपाल अबका दिनमा सांस्कृतिक सम्पदाहरुबाट चिनिनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा ङातापोल्हँ पुनर्निर्माण उपभोक्ता समितिले मन्दिर जीर्णोद्धारदेखिका कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पुस्तकमा ङातापोल्हँ मन्दिरको धार्मिक, साँस्कृतिक, एतिहासिक र पुरातात्विक विषयवस्तुका साथै यसको निर्माण र जिर्णोद्धारका सम्पूर्ण पक्ष समेटिएको बताईएको छ । मन्दिरको जिर्णोद्धार भक्तपुरबासी जनताको साथ र सहयोगबाट लगभग ८ महिना सम्पन्न भएको थियो । मन्दिर जिर्णोद्धारका लागि दैनिक सयौंको संख्यामा स्थानीयले श्रमदान समेत दिएका थिए ।

     

  • कोरोना संक्रमितको स्वास्थ्यलाभको कामना गर्दै मन्दिरमा दिप प्रज्वलन

    कोरोना संक्रमितको स्वास्थ्यलाभको कामना गर्दै मन्दिरमा दिप प्रज्वलन

    भक्तपुर, जेठ २२
    नेपाली कांग्रेसले आज भक्तपुरमा दिप प्रज्वलन गरेको छ । कांग्रेसले भक्तपुरका चार वटै नगरपालिकाका ३८ वडामा एकै साथ दिप प्रज्वलन गरेको हो ।
    कोरोना संक्रमितको शिघ्र स्वास्थ्यलाभ र मृतकको चीर शान्तिको कामना गर्दै वडाका स्थानीय मन्दिरमा दिप प्रज्वलन गरिएको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. का क्षेत्रीय सभापति जीवन खत्रीले बताउनुभयो । पुजा अर्चना र दिप प्रज्वलनले कोरोना संक्रमण भई उपचार गराईरहनुभएका आम नेपालीहरुमा आत्मबल र शक्ति प्राप्त गर्ने विश्वासकासाथ मन्दिरमा दिप प्रज्वलन गरिएको हो, उहाँले भन्नुभयो ।
    कार्यक्रममा सहभागीहरुबीच भौतिक तथा सामाजिक दुरी कायम गरिएको र स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरिएको क्षेत्र नं. २ का सभापति नारायण खायमलीले बताउनुभयो ।
    कार्यक्रममा स्थानीय वडा कमिटि र भातृसंगठनका पदाधिकारीहरु र कांग्रेसका शुभेच्छुक तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
  • बाल यौन दुराचारमा दुई शिक्षक पक्राउ

    बाल यौन दुराचारमा दुई शिक्षक पक्राउ

    भक्तपुर, जेठ २२

    एक १३ वर्षिया बालिकालाई यौन दुराचार गरेको अभियोगमा भक्तपुरमा शुक्रवार दुई शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ७, गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्डो प्रशिक्षक चुलाई मुखिया छन ।
    प्रहरीका अनुसार शिक्षक कोजुले गत मंसिर १६ गते आफ्नै घरमा भोज खान बोलाई ती १३ वर्षिया बालिकालाई यौन दुराचार गरेको आरोप लागेको छ भने भक्तपुर सृजनानगर बस्ने तेक्वान्डो प्रशिक्षक मुखियालाई गत फागुन १ गते बिहान भक्तपुरको सल्लाघारीमा तेक्वान्डो प्रशिक्षण गर्नेक्रममा यौन दुराचार गरेको आरोप लगाईएको छ ।
    महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक दिपक गिरीका अनुसार पिडित बालिकाकी आमाले बुधवार दिएको उजुरीका आधारमा कोजु र मुखियालाई पक्राउ गरिएको हो ।
    पिडित बालिकाले आमालाई भनेपछि घटना सार्वजनिक भएको हो । मुखियाले राम्रोसँग खेल सिकाईदिन्छु भनी सल्लाघारीमा बोलाई एकान्तस्थानमा लगेर यौन दुराचार गरेको बताईएको छ । पक्राउ परेका कोजु र मुखियामाथि छुट्टाछुट्टै आवश्यक अनुसन्धान कार्य भैरहेको प्रनाउ गिरीले बताउनुभयो ।