Category: भक्तपुर

  • मध्यपुर थिमिका जनप्रतिनिधिहरुको तीन वर्षे कार्य प्रगति सार्वजनिक

    भक्तपुर, जेठ २८
    मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिहरुले तीन वर्षमा गरेका कार्य प्रगति बुधवार सार्वजनिक गरेको छ । मध्यपुर सञ्चार समाजले आयोजना गरेको ‘नगरप्रमुख र सञ्चारकर्मीबीचको सम्वाद’ कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाअध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत र नगरपालिकाको महाशाखा प्रमुखलाई साथै राखी १५ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गरेको हो ।
    कार्यक्रममा नगर प्रमुख श्रेष्ठले तीन वर्षमा ऐन कानून, नियम, नियमावली, कार्यविधि र निर्देशिका ४९ वटा निर्माण गरेको जानकारी दिनुभयो । “हामी निर्वाचित भएर आउँदा नगरपालिकाको न्यून मात्र ऐन नियम, कानून थियो । यो तीन वर्षमा ४९ वटा ऐन नियम निर्माण गरी नगरपालिकालाई नीतिगत रुपमा कानून बमोजिम सञ्चालन गरेका छौं,” उहाँले भन्नुभयो ।


    मध्यपुर थिमि नगरपालिकाले आन्तरिक आम्दानी एवम् राजश्व संकलनमा पनि उल्लेख्य बृद्धि गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा १८ करोड ४५ लाख रुपैंया आन्तरिक आम्दानी तथा राजश्व संकलन रहेको नगरपालिकामा आ.व. २०७९÷०८० मा २४ करोड १९ लाख, आ.व. २०८०÷०८१ मा ३० करोड र चालु आ.व.को बैशाखसम्म २२ करोड संकलन भएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
    उहाँले पुँजीगत खर्च आ.व. २०७९÷०८० मा ५३ दशमलव ९९ प्रतिशत , आ.व. २०८०÷०८१ मा ६३ दशमलव २५ प्रतिशत र आ.व. २०८१÷०८२ मा जेठ १५ गतेसम्म ३१ प्रतिशत रहेको बताउनुभयो ।


    यसैगरी चालुखर्चतर्फ आ.व. २०७९÷८० मा ७४ दशमलव ५३ प्रतिशत, आ.व. २०८०÷८१ मा ७३ दशमलव ०८ प्रतिशत र चालु आ.व.को १० महिनामा ५१ दशमलव ७४ प्रतिशत रहेको छ ।
    पूर्वाधार विकासतर्फ सडक कालोपत्रे तथा ढलान १५९५५.४ मिटर, ढुंगा तथा ब्लक छपाई ८०९८.४५ मिटर, बाटो खोल्ने, फराकिलो पार्ने, सिमांकन सहित ८५९८.३ मिटर, ग्राभेल ६०५५.२२ मिटर, ढल निकास ९२३८.४ मिटर गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    उहाँका अनुसार तीन वर्षमा मध्यपुर थिमिमा सामूदायिक भवन, वडा कार्यालय भवन, ट्रस निर्माण २९ वटा, सार्वजनिक शौचालय ६, मन्दिर २६, ज्येष्ठ नागरिक गृह २, फल्चा, पाटी, सत्तल ३०, बहा बही, बिहार, गुम्बा ९, पार्क, उद्यान, बगैंचा, चौतारा २८, ऐतिहासिक दरवार पुनःनिर्माण ३, देवी देवताको खट ११, विद्यालय भवन निर्माण तथा मर्मत ४, पोखरी ५, मसान घाट, सुधारिएको शवदाह गृह ५, हिटी, इनार कुवा १३ वटा निर्माण भएका छन ।


    यसैगरी मन्दिर रंगरोगन ३४३, नदी नियन्त्रण ३०० मिटर, पहिरो नियन्त्रण १४७ स्थानमा भएको छ । शिशु स्याहार केन्द्र, आपतकालिन आश्रयस्थल, सेन्ट्रल किचेन, ध्वखा (गेट) पनि निर्माण भएको छ ।
    उहाँले मध्यपुर थिमिको धार्मिक क्षेत्रलाई समेटेर क्षयरोग अस्पताल देखि निलबाराही मन्दिरसम्म सम्पदा मार्गको रुपमा विकास गरेको जानकारी दिँदैं सम्पदा मार्ग अन्तर्गत सिद्दिकाली देखि (दुनेंग) क्षयरोग अस्पताल सम्म र बोदे महालक्ष्मी निलबाराहीको निर्माण कार्य भइरहेको बताउनुभयो ।
    लोकल मास्टर प्लान अन्तर्गत नगर भित्रका ऐतिहासिक बस्ती क्षेत्रका घरहरुको स्वरुप परिवर्तन कार्य सुरु गर्न विज्ञहरुसंग छलफल गरि कार्य अगाडि बढाएको छ ।


    मध्यपुर उज्यालो अभियानः अन्तर्गत मध्यपुर क्षेत्रभित्र पेटी रहेका सम्पूर्ण सडक र अरनिको राजमार्गसहित १६ किलोमिटर क्षेत्रमा स्मार्ट लाइट जडानका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भई सो परियोजना अन्तर्गत सानोथिमिमा स्मार्ट लाइट जडान कार्य धमाधम भइरहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    नीलबाराही क्षेत्र संरक्षणका लागि डिपिआर तयार गरी उक्त स्वीकृत डिपिआर अनुसारको निर्माणका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणसंग साझेदारीमा १ वटा र नगरपालिकाबाट १ गरी दुई वटा निर्माण कार्यको टेण्डर भई ठेक्का सम्झौता सम्पन्न भएको उहाँले बताउनुभयो ।
    उहाँले परम्परागत माटोको भाँडा बनाउने पेशा संरक्षण गरी पर्यटकीय गन्तव्य निर्माणका लागि संग्रहालय स्थापना, नपा प्रशासकिय भवनको टेण्डर प्रक्रिया, वडा नं. २ को प्रशासकिय भवन निर्माण, मध्यपुर महोत्सव २०८१, इकोज इन द भ्याली संगीत महोत्सव, दिव्यश्वरी मन्दिर गुरुयोजना कार्यान्वयन, स्वंगा पुखु पुनःनिर्माण, नायगाचा क्षेत्रको सरसफाई, सौन्दर्यकरण र खुल्ला क्षेत्र बिस्तार प्रमुख उपलब्धी रहेको बताउनुभयो ।


    उहाँले नगरका ९ वटै वडामा स्वास्थ्य सेवा बिस्तार, ६० वर्ष नाघेका र ७० वर्ष नपुगेका जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र दलित परिवारको साथै महिला स्वास्थ्य स्वयम् सेविका, दर्ता सहयोगीसहित २७३३ परिवारको निःशुल्क स्वास्थ्य बिमा, निःशुल्क रगत वितरण १०८३ जना, घरदैलो स्वास्थ्य कार्यक्रम अन्तर्गत नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोलीले महिनाको २ दिन प्रत्येक वडामा स्वास्थ्य शिविर सञ्चालनलाई स्वास्थ्य सेवाको उपलब्धीको रुपमा व्याख्या गर्नुभयो ।


    नगर प्रमुख श्रेष्ठले स्ववासीको रुपमा रहेका नगरवासीलाई करिव २४०० वटा पुर्जा वितरण र २०५६ साल देखि नक्सा पास रोक्का रहेको बुढाथोकी, काँलाडोल, मनोहरा फाँट बोडे तथा २०७७ साल देखि पुनः रोक्का रहेका कोँला फाँट, विसंतकी, राधेराधे, कुण्डोल र गाँखु क्षेत्रमा एकिकृत जग्गा विकास योजना सञ्चालन गर्ने उद्देश्यले प्रारम्भिक सम्भाव्यता अध्ययन गराई सो अध्ययनको प्रतिवेदनको आधारमा जग्गा विकास आयोजना सञ्चालन सम्भव नभएका स्थानमा घरनक्सा फुकुवा गरी नियमित र अभिलेखिकरण गर्ने निर्णय गरी कार्यान्वयन ल्याएको जानकारी दिनुभयो ।


    शिक्षामा कक्षा १ देखी १२ सम्मका करिव ३ हजार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति, सामुदायिक विद्यालयमा ईसिडीलाई २ वर्षको बनाई थप १ जना गरी १५ जना शिक्षकको व्यवस्था, शिक्षक दरबन्दी मिलान तथा शिक्षक नपुगेको विद्यालयहरुमा नगरपालिकाको अनुदानमा ५ जना शिक्षक व्यवस्था, सामूदायिक विद्यालयहरुमा अतिरिक्त क्रियाकलापहरु खेलकुद, नृत्य, गित संगीत तथा कम्प्युटर शिक्षकको व्यवस्था गरेको छ ।
    यस्तै सामूदायिक विद्यालयका विद्यार्थीहरुको दिवा खाजाका लागि केन्द्रीकृत भान्छा घर निर्माण गरी खाजामा एकरुपकता ल्याउनुका साथै स्वस्थकर एवम् पौष्टिक खाजा खुवाउने गरी भवन निर्माण कार्य सम्पन्न भएको र खाजा खुवाउनका लागि डब्लुएफपी र फुड फर लाइफ र नगरपालिका बीच सम्झौता भएको छ ।


    कक्षा ६ सम्मका विद्यार्थीहरु लागि स्टेशनरी सामाग्री निःशुल्क वितरण, माध्यमिक विद्यालय स्तरीय विज्ञान, गणित प्रदर्शनीका साथै नृत्य, वक्तृत्वकला, चित्रकला लगायतका प्रतियोगिताहरु नियमित सञ्चालन गर्नुका साथै नगर प्रमुख श्रेष्ठले स्थानीय पाठ्यक्रम कक्षा ६ देखी ८ सम्म लागू भएको र कक्षा १ देखी ५ सम्मको पाठ्यक्रम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
    उहाँका अनुसार हरियाली प्रर्वद्धनका लागि विभिन्न स्थानमा वृक्षारोपण गरिएको, फोहर मैला संकलनका लागि २० जना सफाइकर्मी, १३ जना द्रुत सहयोगी ४ सवारी चालक, टिप्पर ठूलो २, हात्ति गाडी ३ वटा, जेट मेसिन १, व्याको लोडर २ वटा परिचालन, चार वटा नीजि क्षेत्र परिचालन गरी दैनिक रुपमा करिब ४५ टन फोहर संकलन तथा व्यवस्थापन र नीजि क्षेत्रसंग समन्वय गरी २००० वटा भान्छा(किचन) को फोहर श्रोतमै बर्गिकरण गरी संकलन गरिएको छ ।


    उद्यम र उद्यमशिलता विकासका लागि ९० जनालाई विभिन्न सिपमूलक तालिम, बेरोजगारमा सूचिकृत २६७ जना मध्ये ९३ जनालाई एक सय दिन बराबरको रोजगारी, महिलाहरुलाई आत्मनिर्भर बनाउन, उद्यमशिलता विकास गरी स्वरोजगार बनाउन विभिन्न ९० वटा तालिम मार्फत १८४६ जनालाई विभिन्न किसिमका छोटो अवधीको आय आर्जन तथा सीप विकास तालिम र ईन्स्योर परियोजना मार्फत कार्यगत अभ्यासमा आधारित लामो अवधी (१६९६ घण्टाको ) व्यवसायिक तालिम २ वटा मार्फत १२० जनालाई तालिम प्रदान गरिएको छ ।
    तीन वर्षमा कृषि उत्पादन बृद्धि गर्न माटो सुधारको लागि ५० प्रतिशत अनुदानमा ४३२ जनालाई कृषि चुन, ४३२ जनालाई कौशी खेती तालिम तथा सामाग्री वितरण गरिएको छ । हिउदे तथा बर्षे तरकारी वीउ मिनिकिट ४१७५ पकेटर कृषि व्यावसाय प्रवद्र्धन गर्न ५०% अनुदानमा प्लाष्टिक १२१ वटा र स्प्रेयर २३९ वटा वितरण गरिएको छ ।
    यस्तै पशु उपचार ६६४५, सर्जिकल उपचार २३५, कृत्रिम गर्भाधान ३३२१, रेविज खोप २८०७, एफएमडी खोप ३९५० पशुलाई दिईएको छ ।


    नगरभित्रको सार्वजकिन जग्गाहरुको संरक्षणका लागि प्रत्येक वडाको सार्वजनिक जग्गाको विवरण अद्यावधिक गरी हालसम्म विभिन्न १९ स्थानको सार्वजनिक, पर्ती र सरकारी जग्गा सिमांकन गरी संरक्षणको कार्य अघि बढाएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    उपप्रमुख विजयकृष्ण श्रेष्ठ नेतृत्वको न्यायीक समितिले समितिका दर्ता भएका १८६ निवेदन मध्ये ११६ वटा निवेदनको मेलमिलाप, सहमती र निर्णय भएको र तामेलीमा पठाएको निवेदन संख्या ३४ रहेको छ ।
    नगरपालिकाले दिने सेवा सूविधाहरुका सूचना प्रवाह, पारदर्शी सुशासन र नागरिक सहभागिताका लागि नगरपालिकाको आधिकारिक वेवसाइट, फेसबुक, युट्युव सञ्चालन गरिएको जानकारी दिँदैं नगरपालिकाको गतिविधि जानकारी दिन रेडियो कार्यक्रम सञ्चालन गर्नुका साथै हाम्रो मध्यपुर थिमि बुलेटिन प्रकाशन गरिएको बताउनुभयो ।


    नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा, डायलासिस, एन्जियोग्राम सहितको सिटि स्क्यान शुरु गरिएको छ । ब्लड बैंक सञ्चालनको अन्तिम तयारीमा छ । ३ करोड ५० लाखको आकस्मिक कोष स्थापना, कोइकाको १ अर्ब ३० करोड बराबरको सहयोगमा १०० शैयाको अत्याधुनिक नयाँ भवन निर्माण भइरहेको छ ।
    यस्तै अत्याधुनिक मोडुलर अपरेशन थिएटर (ओटी) सञ्चालन, अत्याधुनिक आइसियू र एचडियू सेवा बिस्तारको क्रम शुरु, आमा सुरक्षा कार्यक्रमसँगै नवजात शिशुको सघन उपचार कक्ष (एनआइसियू) सञ्चालन पनि तीन वर्षे उपलब्धी भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    नगर प्रमुख श्रेष्ठले ९१ वटा सहकारी संस्थाहरु कोपोमिसमा आबद्ध गराइएको, वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन अगाडि बढीरहेको जानकारी दिनुभयो ।


    पर्यटन, कला, धर्म संस्कृति अन्तर्गत मध्यपुर थिमि क्षेत्रमा मनाईने विभिन्न ऐतिहासिक, साँस्कृतिक एवँ पौराणिक नाच, जात्रा, चाडपर्व, रितिरिवाज र संस्कृतिको संरक्षण र सम्वद्र्धन कार्यका लागि वार्षिक रुपमा बजेटको व्यवस्था गरिएको नेपाल भाषा लिपि (रञ्जना लिपि र प्रचलित लिपि) लेखन तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
    यसैगरी पर्यटन प्रवद्र्धनका लागि लायन्स क्लव, नेपाल सम्पदा संघ, प्याव्सन भक्तपुर, टुरिष्ट गाइड एशोसियसन.लगायतका संघ संस्थाहरुको सहकार्यमा सम्पदा पदयात्रा गराईएको छ ।
    महिला हिंसा निवारण कोषको स्थापना गरिएको, किशोरीहरुका लागी जिवन उपयोगी सिप तालिम प्रदान गरिएको, बालमैत्री स्थानिय शासनयुक्त नगर घोषणाको तयारी शुरु गरिएको उहाँले बताउनुभयो ।
    उहाँले नगरपालिकाले पर्यटन, संस्कृति र वातावरण क्षेत्रमा गरेको उल्लेख्य कार्यको मूल्यांकन गरी नेपाल नगरपालिका संघले मध्यपुर थिमिलाई देशकै उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत गर्नु, सूचना आयोगको १८ औ स्थापना दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकारी राष्ट्रपतिबाट उत्कृष्ट सूचना अधिकारीको रुपमा पुरस्कृत हुनु, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) र स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्यांकन (एफएआर)मा मा मध्यपुर थिमि भक्तपुरको उत्कृष्ट हुनु, जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा मध्यपुर थिमिको स्वास्थ्य सेवा उत्कृष्ट घोषित हुनु र आ.व. २०८०÷०८१ को महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार मध्यपुर थिमि नगरपालिका भक्तपुरमा सबैभन्दा कम बेरुजु भएको पालिका बन्न सफल हुनुलाई नगरपालिकाको पारदर्शी, जवाफदेहिता र सुशासनमा प्राप्त महत्वपूर्ण उपलब्धी रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।


    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर अध्यक्ष सुन्दर श्रेष्ठ, पत्रकारहरु रत्न श्रेष्ठ, पृथ्वीराम श्रेष्ठ, कृष्ण प्रजापति, कृष्ण किसी, विज्ञान श्रेष्ठ, हेमराज ढकाल, रत्नकाजी प्रजापति, प्रदिप ढकाललगायतले विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियो ।
    पत्रकारहरुको जिज्ञासाको विषयमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडा नं. १ का वडाअध्यक्ष बाबुकाजी डंगोल, वडा नं. ६ का वडाअध्यक्ष ज्ञानदास प्रजापति, वडा नं. ८ का वडाअध्यक्ष रमेश थापा श्रेष्ठले स्पष्ट पार्नुभएको थियो ।
    आयोजक समाजका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल करिव ५० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

     

  • बोदेमा आयोजित स्थलगत सम्पदा चित्रकला प्रतियोगितान जेनिस प्रथम

    भक्तपुर, जेठ २८
    मध्यपुर थिमि–८, बोदेमा मंगलवार आयोजित स्थलगत सम्पदा चित्रकला प्रतियोगितामा ग्ल्याडस्टोन एकेडेमीका जेनिस बलम्पाकी प्रथम हुनुभएको छ । वडा नं. ८ कार्यालयले अमेजिङ्ग आर्ट एण्ड ट्रेनिङ्ग सेन्टरको सहकार्यमा आयोजना गरेको सो प्रतियोगितामा ईम्यानुयल ई. स्कुलका करिन राई दोस्रो हुनुभयो ।
    मध्यपुर थिमि नगरपालिका ब्यापी विद्यालय स्तरीय उक्त प्रतियोगितामा सिद्धार्थ विद्यापीठका आरोही बल्ल तृतीय, क्रियटिभ लनर्स एकेडेमीका संजीव श्रेष्ठ चौथो र प्राईम एकेडेमीका उत्कर्ष पाँले सान्त्वना पुरस्कार जित्न सफल हुनुभयो ।
    प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शिल्ड, नगद, मेडल र प्रमाणपत्र तथा सहभागी छात्रछात्रारुलाई प्रशंसा पत्र वितरण गर्नुभयो ।


    सो अवसरमा नगरप्रमुख श्रेष्ठले नगरपालिका शैक्षिक गुणस्तर बृद्धिका साथै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन एवम् व्यक्तित्व विकासका लागि काम गर्दै आइरहेको बताउनुभयो । सम्पदा, कला र संस्कृतिका बारेमा नयाँ पुस्तामा सचेतना फैलाउने कार्यमा प्रतियोगिता उपयोगी र उपलब्धिमुलक हुने विश्वास व्यक्त गर्नुभयो ।
    वडाअध्यक्ष रमेश थापा श्रेष्ठले कला सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा विद्यालय तहबाट नै अभियान चलाउनु पर्ने र चित्रकला त्यसमा शसक्त एवम् सकारात्मक माध्यम भएको धारण ब्यक्त गर्नुभयो ।
    चित्रकला मार्फत बोदेको सम्पदाहरुहरु प्रचारप्रसार तथा छात्रछात्राहरु र अभिभावकहरुलाई कला सम्पदा संरक्षणमा सहभागी गराई जागरण ल्याउने उदेश्यले बोदेमा दोस्रो पटक सम्पदा चित्रकला प्रतियोगिता आयोजना गरिएको वडा नं. ८ का सचिव रञ्जन प्रजापतिले जानकारी दिनुभयो ।
    प्रतियोगिताको प्रमुख निर्णायकमा बरिष्ठ चित्रकार बिष्णु पुकार श्रेष्ठ र सदस्यमा जुजुभाई बाँस श्रेष्ठ रहनुभएको थियो । प्रतियोगितामा मध्यपुर थिमि नगरका ३१ विद्यालयका १०९ जना छात्र छात्राहरुले बोदे क्षेत्र अन्तरगतका मुर्तअमुर्त सम्पदाहरुको चित्र स्थलगत रुपमा क्यााभासमा उतारेको थियो ।

     

  • शहरी विकास मन्त्रालयबाट मध्यपुर थिमिमा १९ करोड ४० लाख बजेट विनियोजन

    भक्तपुर, जेठ २७
    आर्थिक वर्ष २०८२÷०८३ का लागि शहरी विकास मन्त्रालयले मध्यपुर थिमि नगरपालिमा १९ करोड ४० लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विनियोजित बजेटको विवरण अनुसार मध्यपुर थिमिका विभिन्न योजनामा सो बजेट विनियोजन भएको हो ।
    मन्त्रालयले मध्यपुर थिमि वडा नं. ९ राधेराधेस्थित राधेराधे परिसर सडक कालोपत्रेसहित स्त्तोरन्नतीका लागि ३ करोड, सघन शहरी विकास कार्यक्रम अन्तर्गत मध्यपुर थिमिमा एकीकृत शहरी पुर्वाधार विकास कार्यक्रम लागू गर्न ४ करिड बजेट विनियोजन गरेको छ ।
    मध्यपुर थिमिकै वडा नं. १ को अरुण चन्दको घरदेखी डिभिजन वन कार्यालय जाने सडक स्तरोन्नती गर्न ३ करोड, मध्यपुर थिमि–९ निलवाराही परिसर पहिरो नियन्त्रण, वृक्षारोपण तथा मन्दिर परिसर सौन्दर्यीकरण गर्न ३ करोड छुट्याइएको छ ।
    मध्यपुर थिमी–८ स्थित श्री द्योमा जगत बृद्धाश्रमको भवन निर्माणका लागि ३ करोड, मध्यपुर थिमि–७ स्थित वादे चोक दुसिटोलसम्म सडक स्तरोन्नती २५ लाख, मध्यपुर थिमि–९ गौतम ईन्जिनियरिङ्ग देखि कुमार निरौलाको घरसम्मको बाटो स्तरोन्नतीका लागि २५ लाख रुपैंया विनियोजन गरेको छ ।
    यसैगरी मध्यपुर थिमिका मुख्य सडक तथा शाखा सडकमा सडक बत्ती सहित स्तरोन्नति गर्न २५ लाख, वडा नंं को पावन चोकवाट पश्चिम जाने सडक स्तरउन्नती कार्यका लागि २५ लाख विनियोजन गरिएको छ ।
    वडा नं ३, गठ्ठाघरमा नमुनाबस्ती चन्द्रबिनायक गणेश मन्दिर क्षेत्रमा सडक स्तरोन्नति कार्यका लागि २५ लाख, वडा न ७ स्थित बोडे चोकदेखि दुसि डोल सम्म सडक स्तरोन्नति कार्यका लागि ७० लाख, वडा न ३ र ४ को सिमानामा थिमि व्याङ्केटदेखि हनुमन्ते खोला सम्मको सडक( ढल बाटो) निर्माण तथा स्तरोन्नतिका लागि २५ लाख रुपैंया विनियोजन भएको छ ।
    मध्यपुर युथ एशोशियसन खेल मैदान स्तरोन्नति एवं प्याराफिट निर्माणका लागि ७० लाख, वडा नं. ९ स्थित राजेन्द्र सिलवालको घर देखि माधव भट्टराईको घर हुँदै शंकर आचार्यको घरसम्मको बाटो स्तरोन्नतीका लागि २५ लाख रुपैंया विनियोजन भएको छ ।
    शहरी विकास मन्त्रालयले मध्यपुर थिमिमा पहिलो पटक उल्लेख्यरुपमा योजनाहरुमा बजेट विनियोजन गरेर मध्यपुर थिमिको विकास निर्माणमा सहयोग गरेको भन्दै मध्यपुर थिमि नगरपालिकाले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई धन्यवाद दिनुभएको छ ।
    यसैगरी शहरी विकास मन्त्रालयले मध्यपुर थिमिसहित जिल्लाका अन्य पालिकामा समेत खर्च गर्न सक्ने गरी संयुक्त योजनामा १३ करोड ३९ लाख रुपैंया बजेट विनियोजन गरेको छ ।
    मन्त्रालयले प्रकाशित गरेको बजेट विवरण अनुसार शहरी सडक विस्तार कार्यक्रम अन्तर्गत भक्तपुर जिल्लाको विभिन्न भागमा स्थानीय निकायको सिफारिसमा सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, पर्खाल सार्ने तथा सडक स्तार्रोंनती गर्ने कार्यका लागि ३ करोड विनियोजन भएको छ ।
    यस्तै भक्तपुर जिल्लाको विभिन्न क्षेत्रमा हरियाली सहितको अपाङ्गमैत्री फुटपाथ निर्माण, चोक सुधार, सम्पदा संरक्षण, मन्दिर निर्माण, सौन्दर्यकरण तथा सम्पदा क्षेत्रमा ढुंगा छाप्ने कार्य गर्न ३ करोड, भूकम्पीय सुरक्षा पूर्वाधार निर्माण सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमि ३ करोड विनियोजन गरिएको छ ।
    भक्तपुर जिल्लामा कायम रहेको निर्देशित जग्गा विकास कार्यक्रम (जिएलडी) को अत्यावधिक, तथा जि. आ. का भक्तपुरबाट जारी गरिएका योजना अनुमती सम्बन्धी विवरण अत्यावधिक गरि जिआइएस म्यापिङ गर्ने कार्यका लागि १३ लाख ५० हजार र भक्तपुर जिल्लाका विभिन्न सरकारी कार्यालयको मर्मत सुधार माग र आवश्यकता अनुसार खर्च गर्न एक करोड १६ लाख रुपैंया विनियोजन गरिएको छ ।
    यसैगरी शहरी विकास मन्त्रालयले भक्तपुर जिल्लालाई १ अर्ब भन्दा बढीको बजेट विनियोजन गरेको छ । शहरी विकास मन्त्रालयले भक्तपुरका विभिन्न योजनालाई एक अर्ब ३० लाख बजेट विनियोजन गरेको हो ।
    मन्त्रालयका अनुसार भक्तपुर क्षेत्र नं. २ मा ७३ करोड २५ लाख रुपैंया बराबरको विभिन्न योजना परेको छ भने बाँकी क्षेत्र नं. १ मा बजेट परेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको पहलमा यो बजेट परेको हो ।

  • रहेनन् मध्यपुर थिमिका बामपन्थी अभिभावक कृष्णलाल

    भक्तपुर, जेठ २६
    मध्यपुर थिमिका बामपन्थी नेता कृष्णलाल गोजा श्रेष्ठको सोमवार बिहान असामयिक निधन भएको छ । श्रेष्ठको ७३ वर्षको उमेरमा आफनै निवासमा निधन भएको हो ।
    लामो समयदेखी मधुमेहको नियमित औषधि सेवन गरिरहेका श्रेष्ठको स्वास्थ्यमा अन्य समस्या थिएन । नियमित दैनिकी जस्तै बिहान बजार गई दुध ल्याएर चिया बनाएर खाएका श्रेष्ठ आफ्नै घरको कौशीमा अचानक बेहोश भई लड्नु भएको र त्यही कारण निधन भएको पारिवारिक श्रोतले बताए ।
    मध्यपुर थिमि ४ तछुटोल निवासी श्रेष्ठ मध्यपुर थिमिका पुराना बामपन्थी नेता हुन । २०१८ सालदेखि बामपन्थी राजनीतिमा क्रियाशिल रहेका श्रेष्ठले एकता केन्द्र र जनमोर्चा हुँदै नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका थिए ।
    उहाँले वि. स २०४८ सालको स्थानीय निकायको निर्वाचनमा बालकुमारी गाउँ विकास समितिको उपाध्यक्षमा निर्वाचन लडेका थिए भने भक्तपुर क्षेत्र नं. २ को संसदीय निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । उहाँ नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समेत हुन ।
    राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल श्रेष्ठ हाल बालकुमारी विष्णुवीर सामूदायिक वन उपभोक्ता समितिको अध्यक्षको रुपमा सक्रिय थिए । उहाँ भूमि ब्यवस्था आयोग जिल्ला कार्यालय भक्तपुरका पूर्व सदस्य समेत हुनु ।
    उहाँको पार्थिव शरीरलाई सोमबार नै दधिकोटको दक्षिण बाराहीस्थित घाटमा दाहसंस्कार गरिएको छ । उहाँका दुई छोरा र दुई छोरी छन् । उहाँकी धर्मपत्नीको भने यसअघि नै निधन भइसकेको छ ।

     

  • पोर्चुगलले जित्यो युइएफए नेशन्स लिगको उपाधि

    भक्तपुर, जेठ २६
    पोर्चुगलले स्पेनलाई हराउँदैं युइएफए नेशन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । म्युनिखमा आइतवार भएको रोमाञ्चक फाइनलमा पोर्चुगलले पेनाल्टी सुटआउटमा स्पेनलाई ५–३ ले पराजित गर्दै उपाधि जितेको हो । पोर्चुगलले दोस्रो पटक नेशन्स लिगको ट्रफी जितेको हो ।
    क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए । तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक देखिएन । अतिरिक्त समय सुरु हुनु अगावै मैदानबाट बाहिरिएका पोर्चुगल कप्तान रोनाल्डो जित निश्चित भएपछि मैदानको छेउमा घुँडा टेकेर खुसीको आँसु झारे । जितको क्षण तब आयो जब रुबेन नेभेसले निर्णायक पेनाल्टी गोल गरे । त्यसअघि डिओगो कोस्टाले स्पेनका आल्भारो मोराटाको कमजोर प्रहार रोकिदिएका थिए ।
    २०२३ संस्करणका विजेता स्पेनले २१औं मिनेटमा मार्टिन जुबिमेन्दीको गोलबाट अग्रता लिएको थियो । पोर्चुगलको डिफेन्स लाइनले बल क्लियर गर्न असफल भएको थियो ।
    तर त्यो अग्रता धेरै समय टिक्न सकेन । पाँच मिनेटमै नुनो मेंडेसले कुनाबाट गरेको तीव्र प्रहारले उनाई साइमनलाई पराजित गर्दै बराबरी गोल गरे ।
    गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम क्षणमा विजयी गोल गरेका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए ।
    तर रोनाल्डो फेरि पोर्चुगलका उद्धार गरे । उनले मार्क कुकुरेलालाई पछाडि छोड्दै नुनो मेंडेसको डिफ्लेक्टेड क्रसमा भली प्रहार गर्दै नजिकबाट गोल गरे ।
    पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज र नुनो मेंडेसले गोल गरे भने मोराटाको प्रयास गोलरक्षक कोस्टाले बचाए । अन्ततः नेभेसले निर्णायक पेनाल्टी गोल गरेपछि पोर्चुगल दुई पटक नेशन्स लिग उपाधि जित्ने पहिलो टोली बन्यो ।

     

  • नेपाल स्कटल्याण्डसँग २ रनले स्तव्ध, कीर्तिमानी जितबाट चुक्यो

    भक्तपुर, जेठ २६
    नेपाल क्रिकेटको एकदिवसीय खेलका किर्तिमानी जितबाट २ रनले चुकेको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ को खेल अन्तर्गत आइतवार राती स्कटल्याण्डको डण्डीमा सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग २ रनले पराजित हुँदैं किर्तिमानी जितबाट चुकेको हो ।
    स्कटलयाण्डले दिएको ३२४ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमा अलआउट भएपछि किर्तिमानी जितबाट चुकेको हो । नेपालले यो खेलमा जित हासिल गरेको भए एक दिवसीय क्रिकेटमा अहिलेसम्म ठूलो लक्ष्य पछ्याएर जित हासिल गरेको किर्तिमान कायम हुन्थ्यो । तर अन्तिम ओभरको ६ बलमा ७ रन बनाउन नसक्दा नेपाल यो किर्तिमानबाट चुकेको हो ।


    स्कटल्याण्डले दिएको ३२४ रनको बलियो लक्ष्य पछ्याउने क्रममा भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । बलियो लक्ष्य पछ्याउँदा ३४–३ को दबाबपूर्ण स्थितिमा रहेको नेपालका लागि आरिफ शेख र भीम सार्की मिलेर ९४ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । आरिफ ३९ रनमा आउट भएपछि भीम ७३ रनमा तथा त्यसपछि आएका गुल्शन झा ११ रनमा आउट भएपछि नेपाल १८३–६ को अवस्थामा पुगेको थियो ।
    त्यसपछि दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले मिलेर सातौं विकेटका लागि १०५ रनको सानदार साझेदारी गर्दै सम्भावित शानदार जितको नजिक पु¥याएका थिए । तर दिपेन्द्र ४७औं तथा सोमपाल ४८औं ओभरमा आउट भएपछि करण केसी र सन्दीप लामिछाने माथि जिम्मेवारी आएको थियो ।


    १२ बलमा १६ रन आवश्यक हुँदा ब्रान्डन म्याकमुलेनले एक चौकासहित ९ रन बेहोरेपछि नेपाललाई अन्तिम ओभरको ६ बलमा ७ रन आवश्यक भयो । यस्तोमा करण केसी स्ट्राइकमा थिए र अनुभवी बलर सफिया शरिफ बलिङमा आए । पहिलो बलमा २ रन लिएर दोस्रो बल डट फेस गरेका करण तेस्रो बलमा क्याच आउट भएपछि नेपाललाई ३ बलमा ५ रन आवश्यक भयो ।
    त्यसपछि ललित राजवंशीले ब्याटबाट मिस गरेपनि बाइको रन लिँदा सन्दीप स्ट्राइकमा आए र उनले पनि १ रन लिएपछि नेपाललाई अन्तिम बलमा ३ रन आवश्यक थियो । अन्तिम बलमा ललित बोल्ड भए ।
    स्कटल्याण्डका म्याकेन्जी जोन्सले ३ तथा शफिया शरिफ र माइकल लिस्कले २–२ विकेट लिँदा ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले १–१ विकेट लिए ।


    नेपाल एक साताभित्रै अर्को कीर्तिमानी जितबाट चुकेको हो । नेपालले ओडिआईमा ३०० भन्दा माथिको लक्ष्य हालसम्म पूरा गर्न सकेको थिएन । स्कटल्याण्डसँग गत साता भएको खेलमा २९७ रनको लक्ष्य पूरा गर्दै कीर्तिमान बनाएको नेपाललाई त्यो कीर्तिमान तोड्ने अवसर थियो ।
    यद्यपी यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल भने बनेको छ । यसअघि नेपालले ओमानविरुद्ध कीर्तिपुरमा ३१० रनको योगफल खडा गरेको थियो ।
    त्यसअघि कप्तान रिची बेरिङटनको शतक तथा माइकल लिस्कको विस्फोटक फिनिसिङमा स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको बलियो योगफल खडा गरेको थियो । यो नेपालले एसोसियट राष्ट्रसँग बेहोरेको सबैभन्दा उच्च योगफल हो ।
    कप्तान रिची बेरिङटनले ११४ बलमा ६ चौका र ४ छक्का मद्दतले १०२ रनमा रनआउट भए । माइकल लिस्क ६२ बलमा १२ चौका र ३ छक्कासहित ९६ रनमा अविजित रहे । ओपनर चार्ली टियरले ६८ रन बनाए ।
    नेपालका लागि करण केसीले १० ओभरमा २ मेडन राख्दै ७४ रन खर्चेर २ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । त्यस्तै ललित राजवंशीको नाममा १ विकेट रह्यो ।

     

  • स्व. राधेश्याम जोन्छेंको प्रतिमा अनावरण

    भक्तपुर, जेठ २६
    नेपाली कांग्रेस भक्तपुरका जुझारु नेता स्व. राधेश्याम जोन्छेंको प्रतिमा अनावरण भएको छ । साथै उहाँको स्मृतिमा स्थापना भएको शहिद रोधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको भवन समेत निर्माण भएको छ ।
    नेता जोन्छेंको प्रतिमा र उहाँको स्मृति भवन एक करोड १० लाखको लागतमा तयार भएको प्रतिष्ठानका उपाध्यक्ष बाबुराजा जोशीले जानकारी दिनुभयो । यसका लागि सूर्यविनायक नगरपालिकाबाट पटक पटक गरी ४० लाख र अन्य रकम बागमती प्रदेश सरकार लगायत अन्य विभिन्न निकाय र दाताबाट प्राप्त भएको जोशीले बताउनुभयो ।
    स्व. जोन्छेंको प्रतिमा र स्मृति भवनको आइतवार नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान दिएका पार्टीका नेताहरुको योगदानलाई देशव्यापी रुपमा प्रचार गर्नुपर्ने बताउनुभयो ।
    उहाँले जोन्छेँले प्रजातन्त्र प्राप्तिका लागि गरेको योगदानको चर्चा गर्दै त्यस्ता व्यक्तिको जीवनीबारे थप विषय खोज्दै पुस्तक प्रकाशित गरि देशभर फैलाउँदै प्रेरणा दिनुपर्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “उहाँले लोकप्रिय नेता हुनुहन्थ्यो, देशमा प्रजातन्त्र ल्याउने अग्रसर लडाकु हुनुहुन्थ्यो, उहाँ लोकप्रिय भएकै कारण माओवादीले गोली हान्यो ।”
    कार्यक्रममा पूर्वमन्त्री विमलेन्द्र निधीले अहिले संसद चल्न दिने कि नदिने भन्ने निर्णय माओवादीको हातमा रहेको बताउनुभयो । संसद अबरुद्ध गर्ने समय अहिले नभएको भन्दै उहाँले भन्नुभयो, “अहिले ससद अबरुद्ध गरिरहेको छ । भिजिट भिषाकोबारेमा छानबिन हुदैछ । रबि लामिछानेको जस्तो होइन, भिजिट भिषाको विषय, त्यसैले ससद अबरुद्ध खाल्नु पर्छ ।” पटक पटक जनतालाई धोका दिने राजा फेरी ल्याउँछौ भनेर निरर्थक यात्रामा लाग्न नहुने उहाँले बताउनुभयो ।
    कार्यक्रममा जोन्छेँको स्मृतिमा प्रतिष्ठान भवन निर्माण गर्न सहयोग गर्ने सूर्यविनायक नगरपालिका र नगर प्रमुख वासुदेव थापासहित बिभिन्न व्यक्तिहरुलाई सभापति देउवाले सम्मान गर्नुभयो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई छात्रबृत्ति रकम प्रदान गरिएको थियो ।
    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रस्य सदस्य मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधि सभा सांसद दूर्लभ थापाले जोन्छेँको योगदानलाइ पार्टीले भुल्न नहुने चर्चा गर्नुभयो ।

     

  • विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

    भक्तपुर, जेठ २२
    विश्व वातावरण दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले वृक्षारोपण गर्नुका साथै हरियाली प्रवद्र्धन कार्यक्रम शुभारम्भ गरेको छ । नगरपालिकाको वातावरण शाखाको आयोजनामा वडा नंं १ लोहकिल्थलीस्थित विपि बाल उद्यानमा वृक्षारोपण गरी हरियाली प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गरेको हो ।
    सो क्रममा उद्यानको सौन्दर्यकरण हुने गरी विभिन्न प्रजापतिका १८१ वटा बिरुवा रोपिएको वातावरण शाखा प्रमुख गणेशदेवी प्रजापतिले जानकारी दिनुभयो ।


    शाखाका सहायक कृष्णा श्रेष्ठका अनुसार कपुर २० वोट, बेगन बेली ठूलो २, हेबिसकस ३०, असारे फुल २०, ज्याकोरोदा गोल्डमोहर २०, बेगन बेली सानो ३८, धुपी २०, पारिजात ४, गुलाव २६ र क्रिसमस ट्री एउटा रोपिएको हो ।
    वृक्षारोपण शुभारम्भ गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरको सौन्दर्यकरणका लागि पनि नगरपालिकाले वृक्षारोपणलाई प्राथमिकता दिँदैं आइरहेको बताउनुभयो । उहाँले नगरका खुल्ला क्षेत्रको संरक्षणका लागि बस्ती नजिक पार्क र उद्यानको रुपमा नगरवासीलाई टहल्ने र बालबालिका खेल्ने ठाउँको विकास गरिने बताउँदैं बस्ती देखी टाढाको खुल्ला क्षेत्रमा हरियाली प्रवद्र्धन अन्तर्गत ठूलो हुने प्रजातिको बिरुवा रोप्ने योजना रहेको बताउनुभयो ।


    उहाँले फोहर मैला संकलनका लागि दैनिक २० जना सफाईकर्मी, १३ जना द्रुत सहयोगी ४ सवारी चालक, टिप्पर ठूलो २, हात्ति गाडी ३ वटा परिचालन, जेट मेसिन १, व्याको लोडर २ वटा परिचालन गरिरहेको जानकारी दिँदैं चार वटा नीजि क्षेत्र परिचालन गरी दैनिक रुपमा करिब ४५ टन फोहर संकलन तथा व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो ।
    वृक्षारोपण अघि उद्यानमा दिव्यश्वरी सहयोगी हातहरु, नेप्सेम्याक, नगरको द्रुत सहयोगी टोली, नगर प्रहरी र स्थानीयको सहयोगमा सरसफाई गरिएको थियो ।

  • पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    भक्तपुर, जेठ २२
    पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो ।
    नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालविरुद्धको केहीबेरअघि दर्ता भएको अख्तियार उच्च स्रोतले बतायो । नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो ।

     

  • आइसिसी लिग टु मा नेपालको लगातार दोस्रो जित

    भक्तपुर, जेठ २२

    आइसिसी विश्वकप लिग टुमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । स्कटल्याण्डको डुन्डीमा बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराउँदैं लगातार दोस्रो जित निकालेको हो ।
    स्कटल्याण्डले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालले जितमा आरिफ शेखले महत्वपूर्ण अर्धशतक बनाए । आरिफले ९९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ७८ रनमा आउट भए । खेलमा आरिफ प्लेयर अफ द म्याच घोषित भए ।
    टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६१ बलमा ३ चौकाको सहयोगमा नट आउट ३८ रन बनाए । पाँचौ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपूर्ण साझेदारी गरी नेपाललाई जिततर्फ दो¥याएका थिए ।
    ओपनर कुशल भुर्तेलले ४२ बलमा ३ चौकाको सहयोगमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा १ चौकाको सहयोगमा २३ रनमा आउट भए । अर्का ओपनर आसिफ शेख २२ बलमा ३ चौकाको सहयोगमा १९ रनमा आउट भए । भीम सार्की २६ बलमा १ चौकाको सहयोगमा ११ रनमा आउट भए ।


    नेदरल्याण्ड्सका माइकल लेभिटले २ तथा भिभियन किंग्मा र पल भान मेकरेनले समान १ विकेट लिए ।
    त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २ सय २५ रनको योगफलमा समेटियो । नेदरल्याण्ड्का नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए । आठौं विकेटका लागि कोर्स र रोलेफ भान डर मिर्वोले ५५ रनको साझेदारी गर्दै टोलीलाई मध्यम योगफल सम्म पुर्याए । मिर्वो २२ बलमा २१ रन बनाउँदै रन आउट भए ।
    कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । एडवार्डस ललित नारायण राजवंशीको बलमा रोहित पौडेलबाट समातिए ।
    नेपाल ५ ओभर भित्र नेदरल्याण्ड्सको २ ओपनरलाई आउट गरिसकेको थियो । नेपालले नेदरल्याण्ड्सका दुवै ओपनर माइकल लेभिट र म्याक्स ओ डाउडलाई सस्तैमा आउट गरेको थियो । पहिलो विकेटका रुपमा इनिङको दोस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले लेभिटलाई १ रन जोडेको अवस्थामा आउट गराए ।
    नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर म्याक्स ओ डाउडलाई ४ रनमा आउट गरायो । पाँचौ ओभरको पाँचौ बलमा म्याक्स करण केसीको बलमा बोल्ड आउट भए । दोस्रो विकेट लिएको १ सय १ बल पछि नेपालले तेस्रो सफलता पाएको थियो ।
    तेस्रो विकेटका रुपमा नेदरल्याण्ड्सले विक्रमजित सिंहलाई ३८ रनमा गुमाएको थियो । सिंहले कप्तान एडवार्डससँग मिलेर तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी नेपालका बलर सन्दीप लामिछानेले तोडेका थिए ।
    ज्याक लायन ३४ बलमा २७ रन बनाउँदै ललितको बलमा आउट भए । तेजा निदामनुरु २९ बलमा १३ रनमा सन्दीप लामिछानेको बलमा आउट हुन पुगे । नेपालका लागि सोमपालले ३ तथा करण, ललित र सन्दीपले समान २ विकेट लिए ।
    नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ । नेदरल्याण्ड्स २१ खेलमा २६ अंकसहित दोस्रो स्थानमा यथावत छ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो ।
    सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।
    नेपालले अर्को खेल घरेलु टोली स्कटल्याण्डसँग जेठ २५ गते खेल्ने छ भने जेठ २७ गते पुनः नेदरल्याण्ड्ससँग खेल्ने छ ।