Category: भक्तपुर

  • साथीको हत्याको आरोपमा बादल करागार चलान

    भक्तपुर, फागुन २८
    भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत भेटिएका युवक निरज लामा (निरोज)को हत्या आरोपमा पक्राउ परेका उनका साथी बादल तामाङ कारागार चलान भएका छन् ।
    बादललाई भक्तपुर जिल्ला अदालतका न्यायाधिश दिलिपराज पन्तको इजलासले गत फागुन २६ गते सोमवार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
    गत फागुन ५ गते निरज आफ्ना साथी बादलको घरमा गएका थिए । खाना खाएर त्यही सुतेका निरज भोलीपल्ट फागुन ६ गते दिउँसो ३ बजेसम्म नउठेपछि बादल बोलाउन जाँदा निरज अचेत अवस्थामा फेला परेको थियो । सो घटनामा प्रहरीले अनुसन्धानका लागि बादललाई नियन्त्रणमा लिएको थियो ।
    मृतक निरजका परिवारले पनि बादल विरुद्ध ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । प्रहरीले बादललाई कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाएको थियो ।

  • भक्तपुर नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जित्यो

    भक्तपुर, फागुन २७
    भक्तपुर जिल्लाव्यापी १३ औँ राष्ट्रपति रनिङ शिल्ड भक्तपुर नगरपालिकाले जितेको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा भक्तपुर नगरपालिकाले ३७ स्वर्ण, १९ रजत र ३८ कास्य सहीत ९४ पदक जित्दै १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको हो ।
    भक्तपुर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको यो लगातार तेस्रो पटक हो । भक्तपुर नगरपालिकाले यसअघि २०७९ मा सम्पन्न ११ औं र २०८० मा सम्पन्न १२ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको थियो ।
    राष्ट्रपति रनिङ शिल्डको नियम अनुसार भक्तपुर नगरपालिकाले अब शिल्ड फिर्ता गर्नुपर्ने छैन् भने आयोजकले अर्को वर्षको लागि नयाँ रनिङ शिल्डको व्यवस्था गर्नुपर्ने भएको छ ।
    प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका १५ स्वर्ण, १९ रजत र ३० कास्य सहित ६८ पदक जित्दै दोस्रो हुन सफल भयो । त्यसैगरी चाँगुनारायण नगरपालिका १२ स्वर्ण, २५ रजत र १८ कास्यका साथ तेस्रो स्थान हासिल गरे ।
    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराँते, भलिवल, कवड्डी, उसु, तेक्वान्डो र एथलेटिक्स गरी ६ वटा खेलमा प्रतिस्पर्धा भएको थियो ।
    भक्तपुर नगरपालिकाले उसु खेलमा ५ स्वर्ण, ६ कास्य र १० कास्य जितेको हो । त्यसैगरी भलिबल खेलको महिला र पुरुष दुवैमा स्वर्ण पदक भक्तपुर नगरपालिकाले जितेको थियो । एथ्लेटिक्समा भक्तपुर नगरपालिकाले १३ स्वर्ण, ६ रजत र ८ कास्य जित्न सफल भएको थियो ।
    त्यसैगरी तेक्वान्डो खेलमा १० स्वर्ण, ४ रजत र ११ कास्य, कबड्डीको महिला र पुरुष दुवै खेलको स्वर्ण, १ रजत र ३ कास्य भक्तपुर नगरपालिकाले जितेको थियो । प्रतियोगिताको अन्तिम दिन चाँगुनारायण नगरपालिकाको तपाडम्फोमा भएको कराँते खेलमा ५ स्वर्ण, २ रजत र ६ कास्य भक्तपुर नगरपालिकाले जितेको थियो ।
    यसैगरी मध्यपुर थिमि नगरपालिकाले उसुमा २ स्वर्ण, २ रजत, २ कास्य, भलिबलमा २ रजत, २ कास्य, तेक्वान्दोमा एक स्वर्ण ४ रजत, ७ कास्य, एथलेटिक्समा ९ स्वर्ण, ७ रजत, ८ कास्य, कबड्डीमा एक रजत, एक कास्य र कराँतेमा ३ स्वर्ण, ३ रजत र १० कास्य पदक जितेको भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।
    प्रतियोगितामा तेस्रो हुन सफल चाँगुनारायण नगरपालिकाले उसुमा ५ स्वर्ण, ४ रजत, ३ कास्य, तेक्वान्दोमा एक स्वर्ण, ४ रजत, ६ कास्य, एथलेटिक्समा २ स्वर्ण १० रजत, ६ कास्य र कराँतेमा ४ स्वर्ण, ७ रजत, ३ कास्य पदक जितेको थापाले बताउनुभयो ।

  • सानोथिमिमा अचेत अवस्थामा फेला परेका युवकको मृत्यु

    भक्तपुर, फागुन २७
    भक्तपुरको मध्यपुर थिमि–२, सानोथिमिस्थित आर्मी व्यारेक नजिकको ओरोलोमा मंगलवार बिहान अचेत अवस्थामा फेला परेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
    प्रहरीका अनुसार बिहान ५ः३० बजे बाटोको किनारमा लडेर अचेत अवस्थामा युवक फेला परेको थियो । उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा मृत्यु भएको प्रहरी वृत्त थिमिले जनाएको छ ।
    उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि तत्काल नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेमसागर केसीले बताउनुभयो । मृतकको शव परीक्षणको लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ पठाएको छ ।
    मृतकको परिचय खुल्न सकेको छैन । प्रहरीले सामाजिक सञ्जालमार्फत मृतकको हुलिया सार्वजनिक गरेपछि मृतक आफन्त भएको दावी गर्दै केही व्यक्ति प्रहरी वृत्त थिमिको सम्पर्कमा आएको प्रनाउ केसीले बताउनुभयो ।
    “केही व्यक्ति मृतकको आफन्त भएको दावी गर्दै सम्पर्कमा आएका छन । बुधवार शिक्षण अस्पतालमा पठाएर मृतको सनाखत गराईनेछ,” उहाँले भन्नुभयो ।
    यसैगरी मंगलवार नै मध्यपुर थिमि–८, बोदेस्थित वृद्धाश्रम नजिकको खाली जग्गामा एक बृद्ध मृत अवस्थामा फेला परेको छ । नविन लोक्चन नाम बताउने उनको सनाखत हुन सकेको छैन । प्रहरीले उनको पनि हुलिया सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गरेको छ ।
    प्रहरीले शव परीक्षणको लागि काठमाण्डौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाईएको छ । प्रहरीले दुवै घटनाको थप अनुसन्धान गरिरहेको प्रनाउ केसीले बताउनुभयो ।

     

  • स्थापनाको २७ वर्षपछि मध्यपुर थिमि नगरपालिका प्रशासनिक भवन निर्माण गर्दै

    भक्तपुर, फागुन २६
    भक्तपुरको मध्यपुर थिमि नगरपालिका स्थापना भएको २७ वर्षपछि आफ्नै प्रशासनिक भवन बन्ने भएको छ । स्थापनाकालदेखी वडा नं. ६ स्थित पुरानो स्वास्थ्य चौकी भवनबाट सेवा सञ्चालन गरिरहेको मध्यपुर थिमि नगरपालिकाले वडा नंं ५ स्थित जल्खुमा नयाँ भवन निर्माण गर्न लागेको हो ।
    नगरपालिकाको प्रस्तावित नयाँ प्रशासनिक भवन निर्माणका लागि सोमवार बोलपत्र आह्वान गरेको छ । बोलपत्रकमा कम कबोल गर्ने निर्माण व्यवसायीलाई ठेक्का दिइने भएकाले भवनको लागत घट्ने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
    करिव ३ रोपनी १३ आना क्षेत्रफलको जग्गामा निर्माण हुने नयाँ प्रशासनिक भवन परम्परागत र मौलिक शैलीको सुविधा सम्पन्न हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    भवन वेसमेन्टसहित ८ तलाको हुनेछ । ९५० वर्ग मिटरको वेसमेन्टमा पार्किङको व्यवस्था हुनेछ । भवनमा अत्याधुनिक सुविधा सम्पन्न करिव ५५ जनाको क्षमता भएको कार्यपालिका बैठक कक्ष, १५० जनाको क्षमता भएको मल्ती प्रपोज सभाहल, न्यायपालिकाको इजलाश, मेलमिलाप केन्द्र कक्ष, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नगरपालिकाको विभिन्न विषयगत महाशाखा, शाखा, स्टोरलगायतको छुट्टाछुट्टै कक्ष हुनेछ ।
    अपाङ्गतामैत्री भवनमा दुई वटा लिफ्ट हुनेछ । भवनको बाहिरी भागमा परम्परागत र मौलिक शैली झल्काउन डाँची अप्पा प्रयोग गरिनेछ भने काठका १५ वटा भन्दा बढी सँझ्या हुनेछ, जसले भवनलाई आकर्षक बनाउने नगर प्रमुख श्रेष्ठले दावी गर्नुभयो । नयाँ भवनमा यथेस्त खुल्ला क्षेत्र र आकर्षक उद्यान पनि नगरपालिका ई. कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
    हाल नगरपालिकाले पुरानो र साँघुरो भवनका साथै अन्य दुई वटा भाडाको भवनबाट सेवा प्रवाह गर्दै आइरहेको छ । प्रशासनिक भवन नहुँदा सेवाग्राहीलाई विभिन्न सेवा लिनको लागि अलग अलग भवनमा जानुपर्ने समस्या रहेको र नगरपालिकाको आन्तरिक कार्यसम्पादनमा समेत सकस पर्ने गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    जग्गा नहुँदा भवन निर्माणमा केही समय लागेको जानकारी दिँदैं उहाँले भवन निर्माणका लागि आवश्यक जग्गा खरीद गरेको बताउनुभयो ।

  • मध्यपुर थिमिमा महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ

    भक्तपुर, फागुन २६
    मध्यपुर थिमि नगरपालिकामा महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ शुरु भएको छ । नगरपालिकाको जनस्वास्थ्य शाखाले भक्तपुर क्यान्सर अस्प्तालको समन्वयमा मध्यपुर थिमिमा आज (सोमवार)बाट महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ शुरु गरिएको हो ।
    नगरको विभिन्न टोलमा शिविर सञ्चालन गरी सो स्क्रिनिङ शुरु गरिएको मध्यपुर थिमि नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ३० वर्षदेखी ५९ वर्षसम्मका महिलाहरु सहभागी भई स्वास्थ्य परीक्षण गरी लाभ लिन सकिने छ ।


    स्क्रिनिङको पहिलो शिविर मध्यपुर थिमि नगरपालिका वडा नं. ९ भुलाँखेलमा आयोजना गरिएको प्रजापतिले बताउनुभयो । भुलाँखेलस्थित शहरी स्वास्थ्य केन्द्रमा पहिलो शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
    उहाँका अनुसार दोस्रो शिविर चैत्र २ गते शनिवार वडा नंं ७ को नगदेश स्वास्थ्य चौकी, चैत्र ६ गते बुधवार वडा नं. ८ को बोदे स्वास्थ्य चौकी र चैत्र ९ गते शनिवार वडा नं. ३ कौशलटारस्थित जनप्रेमी वल्र्ड स्कुलमा सञ्चालन हुनेछ ।

  • हनुमन्तेमा फेला परेको शवको पहिचान खुल्यो

    भक्तपुर, फागुन २६
    भक्तपुरको भक्तपुर नगरपालिका–१, सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिवार फेला परेको शवको पहिचान खुलेको छ । शनिवार अपरान्ह पौने ४ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो ।
    उक्त शव रामेछापको गोकुलगंगा गाउँपालिका–५ कानीटार घर भई हाल भक्तपुर जगाती बस्ने २१ वर्षिय रञ्जित बि.क.को भएको खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानेले बताउनुभयो ।
    मृतककी दिदी पुजा वि.क. प्रहरी सम्पर्कमा आई शवको पहिचान गरेको डिएसपी नेउपानेले जानकारी दिनुभयो । शवको पोष्टमार्तम पश्चात भाउजु शर्मिला गजमेरले सोमवार दिउँसो पौने १२ बजे बुझी लगेको डिएसपी नेउपानेले बताउनुभयो ।
    वि.क.को शव नग्न अवस्थामा फेला परेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेर प्रहरी अनुसन्धान शुरु गरेको थियो । मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान जारी रहेको डिएसपी नेउपानेले बताउनुभयो ।

     

  • नगदेशको लायकू पुनःनिर्माण शुरु

    भक्तपुर, फागुन २६
    मध्यपुर थिमि नगरपालिका–७, नगदेशस्थित ऐतिहासिक लायकू (दरवार) पुनःनिर्माण शुरु भएको छ । मल्लकालमा तत्कालिन राजदरवारको रुपमा रहेको नगदेश लायकूको सोमवार शिलान्यास भएसँगैं पुनःनिर्माण शुरु भएको हो ।
    मध्यपुर थिमि नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत लायकूको पुनःनिर्माण शुरु भएको हो । लायकू तीन तल्ले र परम्परागत शैलीमा पुनःनिर्माण हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । नगरको क्रमागत योजना अन्तर्गत लायकू पुनःनिर्माण हुन लागेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    लायकू पुनःनिर्माणका लागि यसवर्ष मध्यपुर थिमि नगरपालिकाले लागत साझेदारी अन्तर्गत ६९ लाख ९७ हजार ४१७ रुपैंया सहयोग गर्ने छ भने स्थानीय जनसहभागिताबाट ५७ हजार ८३९ रुपैंया व्यहोर्ने छ ।


    लायकूको शिलान्यास गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने र पुनःनिर्माण गर्ने मात्र नभई अबदेखी यहाँका सम्पदाहरुलाई स्थानीयको आयस्रोतको केन्द्रको रुपमा विकास गर्ने नीति लिएको बताउनुभयो ।
    उहाँले ऐतिहासिक एवमु पुरातात्विक महत्वका सम्पदाहरुको प्रचार प्रसार गरी पर्यटन उद्योगको विकाससँगै स्थानीयको आय आर्जन बृद्धि गर्ने लक्ष्य नगरपालिकाको रहेको बताउनुभयो ।
    उपप्रमुख विजयकृष्ण श्रेष्ठले अस्तित्वको संकटमा रहेको नगदेश स्थित पुरातात्विक एवम् ऐतिहासिक महत्वको लायकूको पुनःनिर्माणले नगदेश क्षेत्रकै महत्व बढ्ने बताउनुभयो । उहाँले नगरभित्रका अमुल्य सम्पदाहरुको निर्माण एवम् पुनःस्थापनको कार्य निरन्तर जारी रहने स्पष्ट पार्नुभयो ।
    लायकू पुनःनिर्माणका लागि स्थानीय बासिन्दाको भेलाले भाइजन बादेको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको थियो । समितिले गत फागुन २५ गते नगरपालिकासँग सम्झौता गरी कार्य शुरु गरेको र आगामी २०८२ असार १० गते सम्पन्न गर्ने लक्ष्य रहेको समितिका सचिव दिनेश बादेले बताउनुभयो ।

     

  • भक्तपुरका अधिवक्ता न्यौपानेको केन्द्रिय सदस्यमा उम्मेदवारी

    भक्तपुर, फागुन २६
    भक्तपुरका अधिवक्ता किरण न्यौपानेले नेपाल बार एसोसिएसनको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । कानुन क्षेत्रमा करिब तीन दशकदेखि निरन्तर क्रियाशील रहँदै आउनुभएका न्यौपानेले प्रजातान्त्रिक कानून व्यासायीहरुको संस्था डिएलएको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको हो ।
    न्यौपानेले लोकतान्त्रिक, प्रगतिशील, देशभक्त कानून व्यवसायी समूह को नेतृत्व गर्दै प्रा.डा. विजय प्रसाद मिश्रको अध्यक्षतामा घोषणा गरिएको समूह बाट उम्मेदवारी दिनुभएको हो ।
    पेशालाई पहिलो धर्म मान्दै, कानूनी सेवाको सुदृढीकरण र न्यायिक सुधारका पक्षमा दृढ अडान राख्दै आउनुभएका न्यौपानेले २०५२ सालदेखि कानुन व्यवसायको पेशा अंगाल्नुभएको हो । अनवरत रूपमा क्रियाशील न्यौपाने २०५७ सालमा अधिवक्ताको रूपमा अनुमोदित हुनुभएको थियो ।
    उहाँले नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको विभिन्न तहमा रहेर नेतृत्व सम्हाल्नुका साथै नेपाल बार एसोसिएसन भक्तपुर शाखाको सचिव, जिल्ला कानुन व्यवसायी संघका केन्द्रीय परिषद् सदस्य तथा जिल्ला सचिवको जिम्मेवारी समेत सम्हाल्नुभएको छ । हाल उहाँ मानव अधिकार तथा जनसरोकार समिति, भक्तपुरको संयोजकका रूपमा कार्यरत हुनुहुन्छ ।
    न्यायपालिकामा सुधार, कानुनी सेवालाई जनमुखी बनाउने तथा कानुन व्यवसायीहरूको हकहित संरक्षणका लागि आफुले उम्मेदवारी दिएको न्यौपानेले बताउनुभयो ।

     

     

  • मध्यपुर थिमिको बोडे र आस्था माविमा जोखिम न्यूनीकरण अभिमुखीकरण

    भक्तपुर, फागुन २६
    मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोदेस्थित बोडे मावि र वडा नं. ३ गठ्ठाघरस्थित आस्था महिला माविका विद्यार्थीहरुलाई जोखिम न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण गरेको छ ।
    नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र मध्यपुर थिमि नगरपालिका वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखाको संयुक्त आयोजनामा सो विद्यालय स्तरीय अभिमुखीकरण आयोजना गरिएको हो ।
    कार्यक्रममा रेडक्रसका सहजकर्ता ऋषि खड्का र ईश्वर श्रेष्ठले सहभागी विद्यार्थी एवम् शिक्षकहरुलाई विपद्का घटनामा हुने जोखिम न्यूनीकरण र सडक सुरक्षा सम्बन्धी विभिन्न विषयमा जानकारीमूलक प्रस्तुतीकरण गर्नुभएको थियो ।
    कार्यक्रममा सडक दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानीहरू, भूकम्प, आगलागी जस्ता प्राकृतिक विपदहरूमा सुरक्षित रहने उपायहरू, तथा विद्यालय र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने विषयमा सहभागिहरूलाई अभिमुखीकरण गरिएको थियो ।


    विद्यार्थीहरूलाई सडक सुरक्षाका उपाय, विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी जानकारी गराउने उद्देश्य लिएको नेपाल रेडक्रस सोसाईटी भक्तपुरका मन्त्री धर्मराज कार्कीले बताउनुभयो ।
    बोडे माविमा आयोजित कार्यक्रममा वडा सदस्य सुरेन्द्र था श्रेष्ठ, मध्यपुर थिमि नगरपालिका वातावरण सरसफाई तथा विपद व्यवस्थापन शाखाका प्रमुख गणेशदेवी प्रजापति तथा शाखाका कर्मचारी सुदन प्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो ।
    यस्तै आस्थामा माविमा आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय समुदायका सदस्यहरू तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

     

  • युगाण्डामाथि नेपालको रोमाञ्चक जित

    भक्तपुर, फागुन २६
    नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली युगान्डामाथि रोमाञ्चक जित निकालेको छ । नेपालले आइतवार युगान्डामाथि १ विकेटको जित हासिल गरेको हो ।
    नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।
    युगान्डाले प्रस्तुत गरेको ७६ रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी रहँदा नौ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालकी ओपनर सना प्रविणले सर्वाधिक १७ रन बनाइन् । उनले यही खेलमार्फत सिनियर टोलीमा डेब्यु गरेकी हुन् ।
    नेपाली यु–१९ महिला टोलीलाई एसिया कप र आइसिसी यु–१९ विश्वकप खेलाएकी ओपनरलाई यसैपल्ट राष्ट्रिय टोलीमा समावेश गरिएको थियो । नामिबियासँग पहिलो खेलमा ६ विकेटले हार्दा उनी बेन्चमा थिइन् । उनी नेपाली महिला टोलीबाट डेब्यु गर्ने ३८औं खेलाडी हुन् ।
    पूजा महतो १६ र रुविना क्षेत्री बेलबासेले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
    त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् ।
    स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडिन् । मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडे । नेपालका लागि पूजा महतोले ३ र कप्तान इन्दु बर्माले २ विकेट लिइन् ।
    जारी वुमन्स डे कपमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।