Category: भक्तपुर

  • चोरी गरेको अभियोगमा दुई जना पक्राउ

    भक्तपुर, चैत्र १०
    चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–२ अनैकोट घर भई हाल भक्तपुर नगरपालिका–३, बंशगोपाल बस्ने २८ वर्षिय अश्विन लामा र सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने १९ वर्षिय सुवास तामाङ हुन ।
    गत चैत्र १ गते राती सूर्यविनायक नगरपालिका ५, पाढडुबजारस्थित यो यो पार्टी प्यालेसबाट पित्तलको पानसलगायतका वस्तु चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानले बताउनुभयो ।


    उनीहरुलाई प्रहरी वृत्त जगातीको प्रहरी टोलीले गत शुक्रवार पाण्डुबजारबाट पक्राउ गरिएको प्रनाउ नेउपानले बताउनुभयो । प्रहरीले उनीहरुको साथबाट चोरी भएको पित्तलको पानस र गाग्री समेत बरामद गरेको जनाएको छ । उनीहरु माथि भक्तपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा ५ दिन म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रनाउ नेउपानले जानकारी दिनुभयो ।

     

  • निलबाराही घटना – पैसा टिप्ने विवादमा हत्या गरेको आशंका

    भक्तपुर, चैत्र १०
    भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीमा आइतवार बिहान मृत भेटिएका खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६० वर्षीय ओम प्रकाश राईको हत्या भएको आशंका प्रहरीले गरेको छ ।
    घटनास्थलमा रगत लतपतिएको ढुंगा फेला पर्नु मृतक राईको शरीरका विभिन्न भागमा चोट देखिनुले प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढाएको हो ।
    घटनास्थल नजिक शनिवार लामाहरुले पुजा गरेको र सोही पुजास्थलमा रहेको पैसा टिप्ने विषयमा विवाद भई राईको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । सोही अनुसार प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) माधव बुढाथोकीले बताउनुभयो ।
    आइतबार बिहानै ५ः५५ बजेतिर बोदे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा राई मृत भेटिएका थिए । व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुग्यो ।
    प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो । दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो । शवसँगै बोरा पनि थियो । बोरामा विभिन्न कवाडीका सामानहरु पनि थिए । बोरा नजिकै क्याप टोपी, झोला पनि थियो । कवाडीका सरसामान भएको बोरा भेटिएपछि प्रहरी मृत कवाडीको सामान संकलन गर्ने व्यक्ति रहेको आशंका गरेर अनुसन्धान ग¥यो ।
    मृतकका छोरा समेत सम्पर्कमा आएर शव सनाखत गरिसकेको प्रहरीको भनाइ छ । राईका एक छोरा काठमाण्डौंमा पठाओ चलाउने गरेको र उनी आएर शव सनाखत गरेको प्रहरीले जनाएको छ । राईको शव पोस्टमार्टमका लागि भक्तपुर दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।
    राईले कवाडीको सामान संकलन गर्ने गरेको खुलेको छ । उनका तीन छोरामध्ये एक छोरा विदेश ग्रिसमा रहेको प्रहरीको भनाइ छ । राईको हत्या गएराति भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
    प्रहरीका अनुसार राईसँगै दुई जना अन्य व्यक्ति पनि कवाडीको सामान संकलन गर्दै आएका थिए । उनीहरुलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

  • अपहरणको धम्की दिएको आरोपमा लोहकिल्थली बस्ने गुप्ता पक्राउ

    भक्तपुर, चैत्र १०
    अपहरणको धम्की दिएर आपराधिक लाभ लिन खोजेको आरोपमा भक्तपुरको मध्यपुर थिमि १ लोहकिल्थली बस्ने सुदीपकुमार साह गुप्तालाई पक्राउ गरेको छ । सर्लाहीको धनकौला गाउँपालिका–२ घर भई भक्तपुरको लोहकिल्थली बस्ने गुप्तालाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाण्डौं कोटेश्वरबाट पक्राउ गरेको हो ।
    उनले आपराधिक लाभ लिने उदेश्यले योजनाबद्ध रूपमा विभिन्न धाक धम्की दिएको र अपहरण समेत गर्ने बताएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताउनुभयो ।
    पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । गुप्ताविरुद्ध यसअघि प्रहरी वृत्त थानकोटबाट १५ मंसिर २०७९ मा लागूऔषधको कसुरमा मुद्दा चलेको थियो । त्यसैगरी प्रहरी वृत्त सिंहदरबारबाट चोरी तथा डाँका कसुरमा उनीविरुद्ध मुद्दा चलेको पाइएको प्रवक्ता आचार्यले बताउनुभयो ।

  • निलबाराहीको पार्किङमा एक बृद्ध मृत फेला

    भक्तपुर, चैत्र १०
    भक्तपुरको मध्यपुर थिमि–९ निलबाराहीको जंगलमा आइतवार बिहान एक बृद्ध मृत अवस्थामा फेला परेको छ । निलबाराहीको वनभोज स्थलको सवारी पार्किङस्थलमा खोटाङको केपिलासगढी गाँउपालिका–२ घर भई हाल मध्यपुर थिमि–९ बोदे बस्ने ६६ वर्षिय ओम प्रकाश राई मृत अवस्थामा फेला परेको हो ।
    राई कवाडीको सामान टिप्ने काम गर्दै आइरहेको खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानले बताउनुभयो । मृतक राईको दाइने कानको छेउ र टाउकोमा चोट देखिएको प्रनाउ नेउपानले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ नेउपानले बताउनुभयो ।

     

  • एपिएफ राष्ट्रिय महिला फुटबल च्याम्पियन

    भक्तपुर, चैत्र ९
    सशस्त्र प्रहरी बलको एपिएफ एससी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । चितवनको भरतपुरस्थित कृष्णपुरको मैदानमा शनिवार भएको फाइनलमा एपिएफ नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै च्याम्पियन बनेको हो ।
    निर्धारित ८० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकालेको हो । खेलमा अग्रता भने आर्मीले लिएको थियो । १३ औं मिनेटमा विमला चौधरीको गोलमा आर्मीले अग्रता लियो । अग्रता जोगाउन नसकेको आर्मीले उपाधि गुमायो ।
    अन्तिम ६ मिनेट सम्हालिन नसक्दा आर्मी स्तब्ध भयो । ७४ औं मिनेटमा रश्मीकुमारी घिसिङले सुन्दर हेडर गोल गर्दै एपिएफलाई खेलमा फर्काइन् । प्रिति राईको उत्कृष्ट भली पासमा रश्मीकुमारीले उत्कृष्ट हेडर गोल गरेकी हुन । एपिएफकी प्रीति राई प्लेयर दि फाइनल घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
    एपिएफले ट्रफीसहित ३ लाख र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपिएफले यो वर्ष लिग सहित ३ वटा उपाधि जितेको छ ।
    एन्फा महिला लिगको फाइनलमा नेपाल पुलिस क्लबलाई हराएको एपिएफले दुई वटा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आर्मीलाई पराजित गर्यो । फागुन २४ गते इलाम गोल्डकपको फाइनलमा पनि आर्मी एपिएफसँग पराजित भएको थियो ।
    चितवनमा आर्मीकी चन्द्रा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ४० हजार प्राप्त गरिन् । एपिएफकी सावित्री किसन उत्कृष्ट गोल रक्षक, आर्मीकी विमला बिक उत्कृष्ट डिफेन्डर, एपिएफकी रेनुका नगरकोटे उत्कृष्ट मिडफिल्डर, एपिएफका जीवेश पाण्डे उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगितामा ८ गोलसहित एपिएफकी रश्मि कुमारी घिसिङ सर्वाधिक गोलकर्ता रहिन् । उनीहरुले जनही २० हजार रुपैयाँ प्राप्त गरे । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा भएको प्रतियोगितामा ८ टोली सहभागी थिए ।

  • वरिष्ठ पत्रकार एवम् प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेतको निधन

    भक्तपुर, चैत्र ९
    वरिष्ठ पत्रकार, प्रजातन्त्र सेनानी एवम् राजनीतिज्ञ माथवरसिंह बस्नेतको ७८ वर्षको उमेरमा शनिवार निधन भएको छ । गत बिहिवार राती मष्तिष्कघाटबाट पिडित बन्नुभएका उहाँको उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौंमा निधन भएको हो ।
    भक्तपुरको सूर्यविनायक–८ सिपाडोलस्थित निजी निवासमा अचानक लडेर अचेत भएपछि उहाँलाई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगिएको थियो । मध्यपुरबाट थप उपचारका लागि अन्नपूर्ण लगिएको नेपाली कांग्रेस भक्तपुरका सचिव सुशिल बस्नेतले जानकारी दिनुभयो ।
    बस्नेत पुनर्जागरण साप्ताहिकको प्रकाशक र सम्पादक भएर लामो समय पत्रकारितामा क्रियाशिल हुनुहुन्थ्यो । विशेष गरी उहाँले प्रजातन्त्रको पक्षमा आफ्नो पत्रकारितालाई केन्द्रीत गर्नुभएको थियो । पञ्चायतकालमा पुनर्जागरण साप्ताहिक प्रजातन्त्र पुर्नप्राप्तीको आन्दोलनको लागि उचित खुराकको रुपमा रहेको थियो ।
    पत्रकारिता जीवनमा उहाँले प्रेस काउन्सिल नेपाल, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिको अध्यक्षको रुपमा कार्य गर्नुभएको छ । उहाँ पछिल्लो समय देशान्तर साप्ताहिकमा नियमितरुपमा लेख लेख्दै आइरहनुभएको थियो ।
    उहाँ प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा समेत हुनुहुन्थ्यो । २०१७ सालदेखि राजनीतिमा संलग्न बस्नेत प्रजातन्त्र स्थापनाका विभिन्न आन्दोलनहरूमा सहभागी हुनुहुन्थ्यो । नेपाली कांग्रेसमा आवद्ध भएर उहाँ लामो समय प्रजातन्त्र प्राप्तीको आन्दोलनमा सक्रिय हुनुभएको थियो । सोही क्रममा उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । वि. सं. २०४६ सालको जनआन्दोलनको सफलताले प्रजातन्त्र पुनःस्थापना भएपछि उहाँ जेलमुक्त हुनुभएको थियो ।
    कांग्रेसका संस्थापक मध्येका एक कृष्णप्रसाद भट्टराईको सामिप्यतामा रहेर काम गर्नुभएका बस्नेतले जननायक विपि कोइराला, लौह पुरुष एवम् सर्वमान्य नेता गणेशमान सिंहसँग पनि नजिक भएर काम गर्नुभएको थियो ।
    कृष्ण प्रसाद भट्टराई दोस्रो पटक प्रधानमन्त्री बन्नु हुँदा बस्नेत प्रेस सल्लाहकारको भूमिकामा हुनुहुन्थ्यो । बस्नेतले सर्वमान्य नेता सिंहको जीवनी पनि लेख्नुभएको छ ।
    बस्नेतको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीको लागि पशुपतिमा दिउँसो साढे एक बजेसम्म राखिएको थियो । त्यसपछि पशुपति आर्यघाटको एक नम्बर घाटमा उहाँको विधिवत अन्त्येष्टि गरिएको कांग्रेस भक्तपुरका सचिव बस्नेतले जानकारी दिनुभयो ।
    बस्नेतको पार्थिक शरीरमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भक्तपुर जिल्ला सभापति एवम् सांसद दुर्लभ थापाले पार्टीको झण्डा ओढाई सम्मान गर्नुभएको थियो ।
    बस्नेतलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद रमा कोइराला पौडेल, सांसद रघुजी पन्त, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, प्रहरी महानिरिक्षक दिनेश थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाल, प्रेस काउन्सिल नेपालका मूख्य अधिकृत झपेन्द्र भुसाल, नेपाली कांग्रेस भक्तपुरका विभिन्न तहका पदाधिकारी एवम् नेता कार्यकर्ताहरु पशुपति आर्यघाट पुग्नुभएको थियो । बस्नेतका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।
    बस्नेतको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शोक व्यक्त गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यबहाक सचिव डा. प्रदीप पराजुलीले शनिवार शोक वक्तव्य जारी गर्दै बस्नेतको निधनप्रति सभापति एवम् पूर्वप्रधानमन्त्री देउवाले गहिरो दुःख व्यक्त गरेको जनाएको हो । यसैगरी बस्नेतको निधनप्रति नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ ।

  • अर्जेन्टिना विश्वकपमा छनोट हुन एक अंकले टाढा

    भक्तपुर, चैत्र ९
    उरुग्वेलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप–२०२६ को छनोट नजिक पुगेको छ । लिओनल मेसी, लउटारो मार्टिनेज र अन्य प्रमुख खेलाडी विना मैदानमा उत्रेको अर्जेन्टिनाले शुक्रवार सम्पन्न खेलमा उरुग्वेलाई १–० ले पराजित गरेपनि विश्वकपको छनोट नजिक पुगेको हो ।
    दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना १३ खेलबाट २८ अंकसहित शिर्ष स्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा)को नियमानुसार विश्वकप २०२६ मा दक्षिण अमेरिकाबाट सोझै ६ टोलीले प्रवेश पाउने छन । दक्षिण अमेरिकी छनोटमा १३ औं चरणको खेल समाप्तीमा इक्वेडर २२ अंकसहित दोस्रो, ब्राजिल २१ अंक सहित तेस्रो, उरुग्वे २० अंकसहित चौंथो, पाराग्वे पनि २० अक सहित पाँचौं र कोलम्बिया १९ अंकसहित छैंटौं स्थानमा रहेको छ ।
    सातौं स्थानमा रहेको बोलिभियाको १३ अंक रहेको छ जुन पहिलो स्थानको अर्जेन्टिनाको तुलनामा १५ अंकले कम हो । जसअनुसार साविक विश्व विजेता अर्जेन्टिना विश्वकप छनोटबाट एक अंक टाढा रहेको छ ।
    अर्जेन्टिनालाई विश्वकप छनोट नजिक पु¥याउन थियागो आल्माडाले ६८औं मिनेटमा बक्सको छेउबाट सुन्दर कल्र्ड शट प्रहार गर्दै महत्वपूर्ण तीन अंक दिलाए । ब्राजिलविरुद्ध मंगलबार हुने घरेलु खेल बराबरी गरे या जित निकाले अर्जेन्टिनाले विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछ । पछिल्लोपल्ट अर्जेन्टिनाले ब्राजिललाई रियो डि जनेरियोको मराकाना स्टेडियममा १–० ले हराएको थियो ।
    अर्जेन्टिनाले यस खेल मेसी मात्र होइन, मार्टिनेज, लिसान्द्रो मार्टिनेज र रोड्रिगो डि पउलबिनै खेलेको हो । प्रशिक्षक लिओनल स्कालोनीले टिममा नयाँ अनुहार ल्याउँदै जुलियानो सिमेओनेलाई पहिलो रोजाइमा राखेका थिए, जसमा जुलियन अल्भारेज र थियागो आल्माडा आक्रमणमा थिए ।

     

  • भक्तपुरमा अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता हुने

    भक्तपुर, चैत्र ८
    भक्तपुरमा अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा यही चैत्र २३ गतेदेखी २६ गतेसम्म अन्त्रनगर जिम्नाष्टिक प्रतियोगिता हुने भएको हो ।
    प्रतियोगिता आयोजनाबारे शुक्रवार आयोजित बैठकमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मात्र नभई देशकै खेलकुदलाई क्षेत्रलाई अगाडि बढाउन नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
    उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा हुने अन्तर नगर जिम्नाष्टिक खेलकुद प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्न खेलकुद समिति, खेलाडी, निर्णायकलगायत सबैको भूमिका महत्वपूर्ण रहेको बताउँदै सबैको सामूहिक निर्णयमा जिम्नाष्टिक प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो ।
    नेपाल जिम्नाष्टिक संघका अध्यक्ष एवम् सांसद धु्रवबहादुर प्रधानले भक्तपुर नपाले खेलकुद क्षेत्रमा गरिरहेको गतिविधिहरुबाट अन्य स्थानीय तहहरुलाई पनि प्रेरणा मिलेको बताउँदै जिम्नाष्टिक खेल सबै खेलहरुको प्रारम्भिक खेलको रुपमा रहेको र यो खेल सिकेपछि अन्य खेल खेल्न पनि सहज हुने जानकारी दिनुभयो ।
    भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले खेलकुद मानव जीवनको अभिन्न अंग भएकोले विद्यालय तहदेखि खेलकुदमा विद्यार्थीहरुलाई सहभागी गराउन सके विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पुग्ने बताउनुभयो ।
    भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न १५१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा उपसमितिहरु गठन गरिएको जानकारी गराउँदै प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।
    बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, प्रशिक्षक राजेश्वरमान स्थापित, भक्तपुर जिल्ला जिम्नाष्टिक संघका अध्यक्ष दिपककृष्ण प्रजापति, युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीलगायतले प्रतियोगिताको विविध पक्षमा जानकारी दिनुभएको थियो ।

     

  • जिलेस्पीको गोलमा सिंगापुर माथि नेपालको ऐतिहासिक जित

    भक्तपुर, चैत्र ७
    नेपालले फुटबलमा सिंगापुर माथि ऐतिहासिक जित निकालेको छ । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत आज (शुक्रवार) राती सम्पन्न खेलमा नेपालले सिंगापुरलाई १–० ले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो ।
    सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि जिलेस्पी जंग कार्कीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दायाँ विंगबाट दिएको लो पासलाई उनले पहिलो टचमै गोलमा परिणत गरेका थिए । जिलेस्पीको राष्ट्रिय टोलीबाट यो तेस्रो गोल हो ।
    त्यसपछि पनि नेपालले खेलमा गोल गर्ने मौका पाएको थियो तर सदुपयोग भएन । सिंगापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि सफल भएन । सिंगापुरले अन्तिमतिर लगातार आक्रमण गरे पनि नेपाली डिफेन्स र कप्तान तथा गोलकिपर किरणले बचाएका थिए ।


    एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि नेपालले सिंगापुरलाई हराउन सकेको थिएन ।
    नेपाल र सिंगापुर सन् १९८९ पछि आमुन्नेसामुन्ने भएका हुन् । ५ जुन १९८९ मा भएको पछिल्लो भेटमा सिंगापुरले नेपाललाई ७–० ले पराजित गरेको थियो । त्यसअघि भएको दुई भेट (१९८२ र १९८९) मा पनि नेपाल क्रमशः २–० र ३–० ले पराजित हुन पुगेको थियो ।


    सन् १९८९ मा भएको दुई खेल विश्वकप छनोटका हुन् भने १९८२ को खेल किङ्स कपको रहेको थियो । तर, यसपल्ट भने फिफा वरीयतामा आफूभन्दा १५ स्थान (१६०औं स्थानमा) रहेको सिंगापुरलाई नेपालले हार चखाएको हो ।
    प्रशिक्षक म्याट रसको पहिलो अधिकारिक खेलमा नेपालले विजयी सुरुवात गरेको हो । रसले आफ्नो डेब्यु खेलमा युवा मिडफिल्डर सुबास बम ठकुरीलाई पनि डेब्युको अवसर दिए ।


    योसँगै नेपाल एएफसी एसियन कप छनोट २०२७ खेल्न प्रस्थान गर्नेछ । मार्च २५ मा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । यस समूहमा भिएतनाम र लाओस पनि छन् । शीर्षस्थानमा रहेको टोलीले एसियन कप खेल्नेछ ।
    सिंगापुरको समूहमा भने भारत, हङकङ र बंगलादेश छन् । सिंगापुरले पहिलो खेलमा हङकङको सामना गर्नेछ ।

  • बेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरमा महायज्ञ हुँदै

    भक्तपुर, चैत्र ७
    बेवारिसे सडक मानवको सहयोगार्थ महायज्ञ–२०८१ आयोजना हुने भएको छ । बिहीबार भक्तपुरको गठ्ठाघरस्थित राष्ट्रिय संचार केन्द्रमा पत्रकार सम्मलेन आयोजना गर्दै मानव कल्याण समाजले महायज्ञबारे जानकारी दिएको हो । महायज्ञ चैत्र २१ देखि २७ गतेसम्म मध्यपुर थिमि नगरपालिका–५ राधेराधेमा आयोजना हुनेछ भने कथावाचन संस्थाका संस्थापक अध्यक्ष देवी सुमी मानवबाट हुनेछ ।
    सामाजिक सेवाको पवित्र उद्देश्यलाई आत्मसात गर्दै ‘बेवारिसे सडक मानवका लागि महायज्ञ–२०८१’ आयोजना गर्न लागिएको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ प्रचारप्रसार समितिका संयोजक पेशल आचार्यले जानकारी दिनुभयो ।
    ‘बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१’ का संयोजक गोपीकृष्ण न्यौपानेले महायज्ञमार्फत सडक तथा सार्वजनिक स्थलहरूमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका मानवहरूको लागि दीगो रूपमा खाना, नाना र छानाको व्यवस्थापन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
    वि. सं. २०७४ सालमा स्थापना भएको संस्थाले बेवारिसे मानवहरूको उद्धार गर्दै उनीहरूको सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन, परामर्श तथा सुधारका लागि विभिन्न प्रयासहरूलाई निरन्तरता दिदै आएको छ ।
    केही वर्ष अघिसम्म भक्तपुरका सडक तथा अन्य सार्वजनिक स्थलहरूमा बेवारिसे मानिसहरूको संख्या उल्लेख्य रहेको अवस्थामा संघकै अगुवाइमा व्यवस्थापनको काम हुँदै आइरहेको छ । संस्थाको सक्रियता पछि भक्तपुरमा बेवारिसे मानवहरु सडकमा कम हुँदै गएको छ भने सडकमा बेवारिसे फेला परेकाहरुलाई झौखेलमा अस्थायी बासको व्यवस्था गरि राखिएको छ ।
    संस्थाका अध्यक्ष सुमी मानवका अनुसार त्यसअघि २०७२ देखि नै सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ बिस्कुट तथा पानी बाड्ने अभियानबाट सेवाको सुरुवात गरिएको थियो । संघले हालसम्म २१ सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी व्यवस्थापन गरिसकेको छ ।
    हाल भक्तपुर, काभ्रे, काठमाण्डौं, बारा र दाङमा शाखा कार्यालय स्थापना गरेर संघले पाँच सय जनालाई आश्रय दिंदै आइरहेको छ । महायज्ञमार्फत सेवाहरूलाई थप प्रभावकारी बनाउने र दिगो व्यवस्थापनका लागि महायज्ञबाट संकलित सहयोग तिनै असहाय सडक मानवहरूको लागि जग्गा खरिद तथा स्थायी आवास निर्माणमा प्रयोग गरिने संघका अध्यक्ष मानवले जानकारी दिनुभयो ।
    महायज्ञको मुख्य कार्यक्रम अन्तर्गत चैत्र २१ गते बिहान ७ देखि ९ बजेसम्म पुर्वाङ्ग हुनेछ भने सोही दिन विहान ९ बजे महायज्ञ स्थलबाट शोभाकलश यात्रा हुनेछ । महायज्ञको समुद्घाटन २१ गते दिउँसो साँढे १२ बजे हुनेछ ।
    यस्तै लक्ष्यवर्तिका प्रज्वलन चैत्र २६ र २७ गते तथा समापन चैत्र २७ गते हुने बताइएको छ । महायज्ञ अन्तर्गत बिहान ५ देखि ७ बजेसम्म दैनिक योगाभ्यास, ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ देखि ४ बजेसम्म संगीतमय कथावाचन, सवा ४ बजे आरती तथा साँढे ४ बजे प्रसाद वितरण गरिने छ ।
    यस्तै दैनिक रुपमा साँझ ६ देख ९ बजेसम्म श्रृङ्गारिक महाआरती सहित सन्ध्याकालिन भजन हुने संघले जानकारी दिएको छ ।
    महायज्ञ आयोजनाको संयोजक गोपीकृष्ण न्यौपानेको संयोजकत्वमा सम्पन्न पत्रकार सम्मेलनमा महायज्ञ समारोहका सहसंयोजक जुना बस्नेत र मधु ढुंगेल तथा कोषाध्यक्ष नरेश रञ्जितको पनि उपस्थिती रहेको थियो ।