Category: खेलकुद

  • उग्रचण्डी कप बुद्धिचालमा श्रीकृष्ण प्रथम

    भक्तपुर, पुस ७
    उग्रचण्डी माध्यमिक विद्यालय र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिवार सम्पन्न एकदिने उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगितामा श्रीकृष्ण मानन्धर प्रथम भएको छ ।
    काभ्रेपलाञ्चोक जिल्लाका १८०० रेटिङ्ग मुनिको प्रथम जिल्ला स्तरीय प्रतियोगिताको ६ चरण खेलमा सबै प्रतिस्पर्धीलाई पराजित गर्दै श्रीकृष्ण प्रथम भएको हो । श्रीकृष्णले ट्रफि, नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
    बनेपाको नालास्थित उग्रचण्डी वोर्डिङ्ग स्कुल प्राङ्गणमा सम्पन्न उक्त प्रतियोगितामा ६ जना खेलाडीले समान ५ अंक प्राप्त गर्दै क्रमशः श्याम मानन्धर द्वितीय, प्रेम खड्का तृतीय, शन्तलाल श्रेष्ठ चौथो, देवकृष्ण श्रेष्ठ पाँचौ, अञ्जन श्रेष्ठ छैटौं र धर्क सिं तामाङ सातौं स्थानमा रहन सफल हुँदैं पुरस्कार हात पार्न सफल बने ।
    प्रसतयोगितामा काभ्रेका ७८ जना खेलाडीको सहभागीता रहेको थियो । प्रतियोगितामा विधागततर्फ यु–१२ मा आदित्य बमजन प्रथम, सगर्भ न्यौपाने द्वितीय, यु–१४ मा विनेश श्रेष्ठ प्रथम, सिदेन प्रजापति द्वितीय र यु–१६ मा आर्यन वादे प्रथम, प्रजिल मानन्धर द्वितीय बने ।
    यसैगरी छात्रा तर्फ कृपा पौडेलले प्रथम स्थान हात पारे भने आरती थापाले द्वितीय स्थानमा रहेर प्रतियोगिता अन्त्य गरे । राइजिङ्ग स्टारको उपाधि आर्यस गिरिले जिते ।
    काभ्रे जिल्ला बुद्धिचाल संघका अध्यक्ष एवं महासंघका पूर्व महासचिव रघुवर चौ प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघका महासचिव धरम बहादुर लामाले विजेतालाई नगद २० हजार पुरस्कार प्रदान गरे ।
    पुरस्कार वितरण समारोहमा बनेपा नगरपालिका वडा नं ४ का अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, प्रधानअध्यापक सानु रोक्का क्षेत्री (बोधिकेश), महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट, सचिवालय सदस्य निरञ्जन प्रजापति, प्रमुख निर्णायक एनए प्रकाश मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

     

  • दीपेन्द्रसिंहले जिते कार, ललितलाई इलेक्ट्रिक बाइक

    भक्तपुर, पुस ६
    नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार जितेका छन् । यस्तै एनपिएलमा उत्कृष्ट बलिङ गरेका जनकपुर बोल्ट्सका स्पिनर ललित राजबंशीलेले अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक पाएका छन ।
    सुदूरपश्चिम रोयल्सका कप्तान ऐरीले नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ–फाइभ डीएलक्स कार प्राप्त गरेका हुन् । टोलीलाई फाइनलसम्म पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका दीपेन्द्रले प्रतियोगिताभर कुल २२७ रन बनाएका थिए । उनले खेल अवधिभर बलिङतर्फ ९ विकेटसमेत लिएका थिए ।
    ललितले उत्कृष्ट बलर बापत नगद पाँच लाख सहित अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक पुरस्कार पनि प्राप्त गरे । उनले १० खेलमा १७ विकेट लिए । सुदूरपश्चिमका स्कट कुगेलेइन पनि समान १७ विकेट लिएका थिए ।
    सुदूरपश्चिमका सैफ जैब प्लेयर अफ दि टुर्नामेन्ट भए । प्रतियोगिताभर २७५ रन र १२ विकेट लिएका उनले पाँच लाख रुपैयाँ पाए ।


    एनपीएलमा कुल ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थताले म्याक्स फोर अफ टुर्नामेन्टको अवार्ड प्राप्त गरे । उनले दुई लाख रुपैयाँ पुरस्कार पाए । २०४ भन्दा माथिको स्ट्राइकरेट भएका जनकपुर बोल्ट्सका जिम्मी निशम बेस्ट ब्याटर बने । उनले पनि दुई लाख रुपैयाँ नगद पाए ।
    १६ वर्षीय कर्णाली याक्सका खेलाडी विपिन शर्माले उदीयमान खेलाडी घोषित भए । उनले कर्णालीलाई प्लेअफमा पु¥याउन १३ विकेट लिएका थिए । उनले ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गरे । एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ ।

     

  • जनकपुरले जित्यो एनपिएलको उपाधि

    भक्तपुर, पुस ६
    पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्ले जितेको छ । किर्तिपुरस्थित टियु मैदानमा शनिवार सम्पन्न फाइनलमा सुदुरपश्चिम रोयल्स्लाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो ।
    उपाधिका लागि सुदुरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै उपाधि जितेको हो । जनकपुरलाई उपाधि दिलाउन ओपनर लाहिरु मिलन्थाले आक्रामक अर्धशतक बनाए । उनले सर्वाधिक ८७ रन जोडे ।
    मिलान्थाले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । लिगको दोस्रो अर्धशतक उनले ३१ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा मिलन्थाले जीवनदान पाएका थिए । उनलाई कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नै बलमा क्याच छोडेका थिए ।
    त्यो समयमा मिलान्था ६५ रन बनाएका थिए । पहिलो विकेटका लागि मिलान्था र आसिफ शेखले ४२ बलमा ७३ रनको साझेदारी गरे । आसिफले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे ।


    आसिफ अलि जेबको बलमा ब्राण्डन मक्मुलनबाट समातिए । हर्ष ठाकरले २४ बलमा २ छक्काका साथ नट आउट ३० रन जोडे । मोहम्मद मोहसिन ८ बलमा ९ रन बनाउँदै इशान पाण्डेको बलमा बोल्ड भए ।
    जेम्स निशम ४ रन जोड्दै कप्तान दीपेन्द्रको बलमा बोल्ड आउट भए । सुदूरपश्चिमका लागि दीपेन्द्र, स्कट कुग्गेलेइन, जेब र इशान पाण्डेले समान १ विकेट लिए ।
    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गरेको थियो । सुदूरपश्चिमका जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे । जेबले एनपिएलमा आफ्नो दोस्रो अर्धशतक ३३ बलमा पूरा गरे ।
    १२औं ओभरको पहिलो बलमा जेबले जीवनदान पाएका थिए । किशोर महतोको बलमा जेबको क्याच शेर मल्लले ड्रप गरेका थिए । त्यो समयमा जेबले ३९ बलमा ६४ रन जोडेका थिए । त्यसै ओभरको अन्तिम बलमा जेब बाउन्ड्री नजिकै ललितबाट समातिए ।
    पहिलो विकेटका लागि जेबले अर्का ओपनर विनोद भण्डारीसँग मिलेर ७२ बलमा १ सय १७ रनको महत्वपूर्ण साझेदारी गरे । जेब आउट भएको अर्को ओभरमा विनोद पनि आउट भए । विनोदले ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए ।
    हर्मित सिंह ८ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै आउट भए । उनी मोहम्मद मोहसिनको बलमा हेमन्त धामीबाट समातिए । ब्रेण्डन मक्मुलन १२ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै जेम्स निशमको बलमा बोल्ड आउट भए । १ सय १७ रन बनाउँदा कुनै विकेट नगुमाएको सुदूरपश्चिमले त्यसपछि निरन्तर विकेट गुमायो । उसले पछिल्लो ९ विकेट गुमाउँदा ६७ रन मात्र जोड्न सक्यो । कप्तान दीपेन्द्र ९, आरिफ शेख १ तथा स्कट कुग्गेलेइन ८ रनमा आउट भए ।
    जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३, ललित र जेम्स निशमले समान १ विकेट लिए ।
    उपाधिसँगै जनकपुरले आकर्षक ट्रफी सहित १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे भने उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख रुपैयाँ नगद पुरस्कार पाए । एनपिएलमा तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरे ।
    जनकपुरले लिग चरण र पहिलो क्वालिफायरमा भएको हारको बदला लिँदैं उपाधि जितेको हो । जनकपुर सुदुरपश्चिमसँग लिन चरणमा ७२ रन र क्वालिफायरमा ८ विकेटले पराजित भएको थियो । लिगमा पहिले व्याटिङरेको सुदुरपश्चिमले १२३ रन बनाएको थियो भने जवाफमा जनकपुर १२.१ ओभरमा ५१ रन बनाउँदैं अलआउट भएको थियो ।
    यस्तै फाइनल प्रवेशका लागि भएको पहिलो क्वालिफायरमा जनकपुरले पहिले व्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । जवाफमा सुदुरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाउँदैं १४१ रन बनाई खेल ८ विकेटले जित्दै फाइनल प्रवेश गरेको थियो । जनकपुरले त्यसपछि दोस्रो क्यालिफायरमा कर्णाली याक्सलाई रोमाञ्चक प्रतिष्पर्धामा २ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

     

  • नेपाल एसिसी यु–१९ महिला एसिया कपको सुपर ४ मा प्रवेश

    भक्तपुर, पुस १
    नेपाल एसिसी यु–१९ महिला एसिया कपको सुपर ४ मा पुगेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा सोमवार पाकिस्तान यु–१९ लाई ६ विकेटले पराजित गर्दै नेपाल सुपर ४ मा पुगेको हो ।
    पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सुपर ४ मा प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
    १ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक ४७ रन जोडिन् । उनले ४७ बलमा ४ चौका प्रहार गरिन् ।


    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन जोडिन् । उनले ४४ बलमा २ चौका प्रहार गरेकी थिइन् ।
    नेपालले पहिलो ओभरको तेस्रो बलमा विकेट लिए पनि त्यसपछि पाकिस्तानका ब्याटरहरु क्रिजमा जमेपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो । महम अनिसले ३७ बलमा २ चौकाको सहयोगमा २९ तथा रभेल फरहानले १५ बलमा १३ रन जोडिन् ।
    नेपालका लागि कप्तान पूजाले २ तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ विकेट आफ्नो नाममा गरे ।
    नेपालले मंगलबार समूह बी कै खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपालले सुपर ४ मा समूह ए को शीर्ष २ टोलीसँग खेल्नेछ । सुपर ४ को खेल विहीबार र शुक्रबार हुनेछ । सुपर ४ को शीर्ष २ टोलीले आइतबार फाइनल खेल्नेछन् ।

     

  • एनपिएलको प्लेअफ समीकरण पूरा

    भक्तपुर, पुस १
    नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणका खेल सोमवार सकिएसँगै प्लेअफ समीकरण पनि पूरा भएको हो ।
    लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भएका छन ।
    सुदूरपश्चिमले लिगका ७ खेलबाट १२ अंक जोडेको छ । जनकपुरले लिगमा ५ जित, दुई हार व्यहोर्दै १० अंक जोड्यो भने चितवन, कर्णाली र काठमाण्डौं गुर्खाजको समान ८ अंक रहेको छ । समान ८ अंक भएपनि नेटरनरेटको आधारमा चितवन र कर्णाली प्लेअफमा पुगेको हो ।
    लिगमा समान ४ अंक जोडेको विराटनगर किंग्स र पोखरा एभेन्जर्स, २ अंक जोडेको लुम्विनी लायन्स् प्लेअफबाट बाहिरिएका छन ।
    एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णालीबीच हुनेछ । त्यो इलिमिनेटर खेल हुनेछ ।
    त्यस खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रवेश पाउनेछ । पराजित हुने टोली एनपिएलबाट बाहिरिने छ ।
    बुधवार दिउँसो १ बजे प्लेअफको दोस्रो खेल हुनेछ । प्लेअफको दोस्रो खेल पहिलो क्वालिफायर खेल हुनेछ । त्यसमा शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रोको जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
    पहिलो क्वालिफायर खेलको विजेता टोलीले स्वतः फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ । पहिलो क्वालिफायरको पराजित टोली र इलिमिनेटरको विजेताबीच दोस्रो क्वालिफायर खेल हुनेछ । त्यसको विजेता फाइनल पुग्ने दोस्रो टोली हुनेछ । पहिलो संस्करणको एनपिएलको फाइनल शनिवार दिउँसो १२ बजे सुरु हुनेछ ।

  • बंगलादेशले जित्यो यु–१९ एसिया कपको उपाधि

    भक्तपुर, मंसिर २४
    साविक विजेता बंगलादेशले एकदिवसिय क्रिकेटको यु–१९ एसिया कपको उपाधि जितेको छ । युएईमा आइतवार भएको यु १९ एसिया कपको ११ औं संस्करणको फाइनलमा बंगलादेशले आठ पटकको च्याम्पियन भारतलाई पराजित गर्दै ंउपाधि जितेको हो ।
    फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो । बंगलादेश यसअघि २०२३ मा युएईमा नै भएको यु १९ एसिया कपमा घरेलु टोलीलाई पराजित गर्दै च्याम्पियन भएको थियो ।
    बंगलादेशले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याएको भारत ३५.२ ओभरमा अल आउट हुँदै १ सय ३९ रन मात्र बनाएपछि भारत उपविजेतामा समिति बनेको हो ।


    भारतका कप्तान मोहम्मद अमानले सर्वाधिक ३६ रन जोडे । हार्दिक राज २४, केपि कार्तिक्य २१, आन्द्र सिद्धार्थ २० तथा चेतन शर्मा १० रनमा आउट भए । बंगलादेशका लागि अजिजुल हाकिम र एकवाल होसैनले समान ३ तथा अल फहादले २ विकेट लिए ।
    त्यसअघि दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश ४९.१ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । बंगलादेशका रियाज होसनले सर्वाधिक ४७ तथा मोहम्मद जेम्सले ४० रन जोडे । फरिद हसन ३९, जवाद अबरार २० तथा कप्तान अजिजुल हाकिम १६ रनमा आउट भए ।
    भारत यु–१९ का लागि युदराज गुहा, चेतन शर्मा र हार्दिक राजले समान २ तथा किरन चोरमाली, केपि कार्तिय र आयुष महतराले समान १ विकेट लिए ।

     

  • राष्ट्रिय बी बुद्धिचालको उपाधि पुरुषोत्तमले जिते

    भक्तपुर, मंसिर २२
    राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ उपाधि उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले जितेका छन । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भक्तपुरमा शनिवार सम्पन्नमा पुरुषोत्तमले ६.५ अंक जोडेर उपाधि जितेका हुन ।
    सूर्यविनायक नगरपालिकाको प्रायोजनमा होटल सिटीगाउँमा सम्पन्न ९ चरणको प्रतिष्पर्धामा काठमाण्डौंका युवा पुरुषोत्तमले ४ जीत र ५ बराबर नतिजा आत्मसाथ गर्दै अपराजित रहन पुगे ।
    २५ औं राष्ट्रिय प्रतियोगिताको छनोटका रुपमा आयोजित स्पर्धामा समान ६.५ अंक जोडेर दोलखाका आशिष फूँयाल द्वितीय र रौतहटका एफएम रुपेश जैसवाल तृतीय भए ।


    पाँच दिन सम्म चलेको प्रतियोगितामा उत्कृष्ट चौथो स्थान देखि नवौं स्थान प्राप्त गर्ने खेलाडीले समान ६ अंक जोडेर राष्ट्रिय खेलमा छनौट हुन सफल भएका छन् । प्रतिस्पर्धा मार्फत सानदार खेल प्रदर्शन गरि भक्तपुरका विनय थापा, ललितपुरका सुरोज महर्जन, काठमाण्डौंका धिरेन राई, सिएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन र एफएम रिजेन्द्र राजभण्डारी २५ औं राष्ट्रिय प्रतियोगिताको छनोट भएका छन ।
    प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै सूर्यविनायक नगरपालिका वडा नं. ७ का अध्यक्ष रविन्द्र सापकोटाले स्थानीय निकायले खेलमा लगानी गरी देशको सान बढाउनु पर्ने धारणा राखे । कार्यक्रममा महासंघका महासचिव धर्मबहादुर लामा, पूर्व उपाध्यक्ष रामप्रसाद कासुला, सचिवालय सदस्यद्वय निरञ्जन प्रजापति, राजु ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।

     

  • भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा राजु थापा नियुक्त

    भक्तपुर, मंसिर २२
    भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा राजु थापा नियुक्त हुनुभएको छ । बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषदले भक्तपुर कटुञ्जेका थापालाई गत बुधवार चार वर्षको लागि भक्तपुर अध्यक्ष नियुक्त गरेको हो ।
    परिषदका सदस्य सचिव दिपक लामाले प्रदेश खेलकुद विकास ऐन, २०७५ को दफा १२ उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली, २०७६ (संशोधन सहित)को नियम (३), उप नियम १(क)मा भएको व्यवस्था बमोजिम थापालाई ४ वर्षको लागि समितिको अध्यक्ष नियुक्त गरेको हो ।
    थापाले आइतवार दिउँसो जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रांगणमा रहेको समितिको कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

     

  • बिनिताले जितिन महिला उपाधि, पुरुषतर्फ पुरुषोत्तम, आशिष र रुपेशको अग्रता

    भक्तपुर, मंसिर २२
    नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सञ्चालन भइरहेको नेशनल बी चेस प्रतियोगितामा महिलातर्फको काठमाण्डौंकी बिनिता कपालीले जितेकी छिन ।
    यससँगै बिनिताले माघमा हुने १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेकी छिन् । उनले अन्तिम ७ औं चरणको स्पर्धामा धनुषाकी शान्ति धिमाल माथि जीत दर्ता गर्दै ६.५ अंक जोडेर विजयी बनेकी हुन् ।
    यस्तै चितवनकी लक्ष्मी कँडेल ५.५ अंक बनाएर दोश्रो स्थानमा रहन सफल भइन् । उनले पनि राष्ट्रिय प्रतियोगितामा स्थान सुरक्षित बनाएकी छिन । संयुक्त तेस्रो स्थान ओगट्दै छनौट हुने क्रममा नेपालगञ्जकी ईशा गिरी, धनुषाकी शान्ति धिमाल, काठमाण्डौकी दानिशा पुरी, पर्साकी शुशीला गुरुङ, झापाकी पुनम प्रसाईं र काठमाण्डौकी एञ्जल महर्जनले समान ४–४ अंक जोड्न सफल भए ।
    काठमाण्डौकी रिया श्रेष्ठ ३.५ अंक जोडेर ९ औं स्थान प्राप्त गर्न सफल भइन् ।रिया सँगै यी ९ खेलाडीले गत राष्ट्रिय प्रतियोगिताका शीर्ष ३ खेलाडी काठमाण्डौकी सिन्दिरा जोशी, झापाकी कृतिसारा अधिकारी र मकवानपुरकी पूजा भण्डारी सँग प्रतिस्पर्धामा गर्नेछन ।
    यसैगरी भक्तपुरको बाचमारी स्थित होटल सिटि गाउँ सभाहलमा जारी प्रतियोगितामा ८ औं चरणको खेल पश्चात पुरुष तर्फ काठमाण्डौंका पुरुषोत्तम सिलवाल, दोलखाका आशिष फूँयाल र रौतहटका एफएम रुपेश जैसवाल समान ६ – ६ अंक जोडेर संयुक्त पहिलो स्थानमा रहन सफल भएका छन् ।
    काठमाण्डौका धिरेन राई, ललितपुरका सुरोज महर्जन, काठमाण्डौंका एफएम रिजेन्द्र राजभण्डारी, मकवानपुरका सिएम मिलन लामा, भक्तपुरका निकेन कुसाथा समान ५.५ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा छन् ।
    काठमाण्डौका सुरज सिंह, धनुषाका सुशील चौधरी, काठमाण्डौका विनय थापा, सिएम नवीन तण्डुकार र प्रेमकृष्ण महर्जन ५ – ५ अंक बटुल्दै संयुक्त तेस्रो स्थानमा छन् ।
    भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रायोजनमा सञ्चालन भइरहेको नेशनल बी चेस प्रतियोगितामा ४० जना राष्ट्रिय खेलाडीहरुले छनौटका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
    पुरुष तर्फ जम्मा ९ जना खेलाडी छनौट भइ गत राष्ट्रिय च्याम्पियन शीर्ष तिन खेलाडी झापाका राजन सुवेदी, शुश्रुत दहाल र मकवानपुरका क्षितिज भण्डारी सँग २५ औं नेपाल च्याम्पियन प्रतिस्पर्धामा स्पर्धा गर्नेछन् ।

     

  • खुल्लातर्फ पुरुषोत्तम र आशिष, महिलामा बिनिता कपालीको अग्रता

    भक्तपुर, मंसिर २०
    नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शुरु भएको नेशनल बी चेस च्याम्पियनसिपको तेस्रो दिन ६ चरणको खेल सम्पन्न भएको छ ।
    सूर्यविनायक नगरपालिकाको प्रमुख प्रायोजनमा चलिरहेको चेस प्रतिस्पर्धामा काठमाण्डौंका युवा पुरुषोत्तम सिलवाल र दोलखाका आशिष फूँयालले समान ५ अंक जोडेर संयुक्त अग्रता लिएका छन् ।
    यसअघि पाँचौ चरणमा एफएम रुपेश जैसवालसँग बराबरी खेलेका उदीयमान पुरुषोत्तम सिलवालले ललितपुरका सुरोज महर्जनलाई कठिन खेलमा पञ्छाउन सफल भए ।
    यस्तै मकवानपुरका सिएक मिलन लामा, रौतहटका एफएम रुपेश जैसवाल र काठमाण्डौंका एफएम रिजेन्द्र राजभण्डारी, भक्तपुरका निकेन कुसाथाले समान ४.५ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा रहेका छन ।
    सिएम मिलनले भक्तपुरका राजेश कक्षपतिलाई हारको स्वाद चखाए भने एफएम रुपेशसँग बराबरी खेलेका छन् । रुपेशले यसअघिको खेलमा पुरुषोत्तमसँग पनि बराबरी नै खेलेका थिए । एफएम रिजेन्द्रले आशिषसँग हारेर अर्को खेलमा पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारलाई पराजित गरे । निकेनले धनुषाका सुशील चौधरीलाई हराउँदैं आशिषसँग बराबरी गरे ।
    २५ औं राष्ट्रिय प्रतियोगिता छनौट हुने क्रममा छ जना पुरुष खेलाडीले ४ अंक बनाउदै सम्भावना जगाइरहेका छन् । ९ जना खेलाडी छनौट हुने स्पर्धामा काठमाण्डौंका सुरज सिंह, ललितपुरका सुरज महर्जन, धनुषाका सुशील चौधरी, शुशन आचार्य, काठमाण्डौंका प्रेमकृष्ण महर्जन र सिएम पुरुषोत्तम चौलागाईं रहेका छन् ।
    बाचामारी स्थित होटल सिटि गाउँमा चलेको महिलातर्फ किर्तिपुरकी बिनिता कपाली ५.५ अंक जोडेर एकल अग्रता बनाउन सफल भएकी छिन् । उनले पाँचौ चरणमा काठमाण्डौंका रिया श्रेष्ठ र छैटौं चरणमा दानिशा पुरीमाथि जीत दर्ता गर्दै अपराजित रहे ।
    यसैगरी चितवनकी लक्ष्मी कँडेल ५ अंकका साथ दोश्रो स्थानमा उभिएकी छिन् । उनले बाँकेकी ईशा गिरी र झापाकी पुनम प्रसाईंलाई पराजित गरेकी थिईन । लक्ष्मीसँग हारेकी ईशाले पर्साकी शुशीला गुरुङ विरुद्ध जीत प्राप्त गरिन ।