Category: खेलकुद

  • महिला क्रिकेट टोलीले थाई र डच टोलीसँग त्रिकोणात्मक टि–२० खेल्ने

    भक्तपुर, पुस २८
    नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिकोणात्मक अन्तराष्ट्रिय टि–२० प्रतियोगिता खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै नेपाली महिला क्रिकेट टोलीले थाइल्याण्ड र नेदरल्याण्ड्स (डच) टोलीसँग त्रिकोणात्मक अन्तराष्ट्रिय टि–२० प्रतियोगिता खेल्ने जनाएको हो । प्रतियोगिता माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म हुने छ ।
    त्रिकोणात्मक प्रतियोगिताका सबै खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा हुनेछ । सिरिजको खेल तालिकामा अनुसार नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ । प्रतियोगितामा हरेक टोलीले हरेकसँग तीन पटक खेल्नेछन् । लिग चरणको अंकतालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
    प्रतियोगितामा नेपाली महिला टोलीले माघ १७ गते नेदरल्याण्ड्ससँग, माघ १८ गते थाइल्याण्डसँग, माघ २० गते नेदरल्याण्ड्ससँग, माघ २१ गते – थाइल्याण्डसँग, माघ २२ गते नेदरल्याण्ड्ससँग र माघ २३ गते थाइल्याण्डसँग खेल्ने तालिका रहेको क्यानले जनाएको छ ।
    नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टि–२० प्रतियोगिता हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि–२० खेलेको थियो ।

     

  • आहा रारा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित

    भक्तपुर, पुस २८
    सहारा क्लवको आयोजनामा माघ २२ गते शुरु हुने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ ।
    आहा रारामा यस पटक सहभागी हुनेमा टोलीमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब सहित ७ ए डिभिजन टोली छन् । जसमा लिग विजेता चर्च ब्वाइज युनाइटेड, थ्रीस्टार क्लब, मच्छिन्द्र एफसी, नेपाल पुलिस क्लब, संकटा क्लब, र एनआरटी छन् ।
    त्यस्तै एपिएफ फुटबल क्लब, ब्रिगेड ब्वाइज फुटबल क्लब युके र आयोजक सहारा छन् । अन्य २ विदेशी टोलीसँग सहभागिताका बारेमा छलफल भइरहेको सहाराले जनाएको छ । आहा राराको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
    यसैबीच प्रतियोगितामा यस पटकबाट जयश्री फुड्स प्रालि पनि जोडिएको छ । जयश्री सह–प्रायोजकको रुपमा प्रतियोगितामा जोडिएको हो । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
    सम्झौता एक वर्षको लागि गरिएको जानकारी सहाराका अध्यक्ष बरालले दिए । सहकार्य निरन्तरता रहने प्रतिबद्धता जनाउँदै जयश्रीका जनरल म्यानेजर अग्रवालले क्लबसँग जोडिदाँ व्यवसायको पनि प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । अध्यक्ष बरालका अनुसार सम्झौता अनुसार जयश्री फुड्सले ५ लाख रुपैयाँ प्रदान गर्ने छ ।

  • पुष्पसदन अन्तराष्ट्रिय विद्यालय चेस च्याम्पियन शुरु

    भक्तपुर, पुस २८
    पुष्पसदन अन्तराष्ट्रिय विद्यालय चेस च्याम्पियन शनिवारबाट किर्तिपुरस्थित पुष्पसदन आवासीय माध्यामिक विद्यालयमा शुरु भएको छ । पुष्पसदन आमाविले आयोजना गरेको खुल्ला विद्यालय स्तरीय च्याम्पियनसिपमा यु–११, यु–१३ र यु–१५ छात्र छात्राले प्रतिष्पर्धा गरिरहेका छन ।
    च्याम्पियनसिपको पहिलो दिन सम्पन्न भएका दुई चरणका खेलपछि यु–१५ छात्र तर्फ हिल टाउन सेकेण्डरी स्कूलका रसिल महर्जन २ अंक जोडेर पहिलो स्थानमा उभिएका छन् । समान २ अंक बनाउदै अन्नपूर्ण सेकेण्डरी स्कूलका आयुष बोहरा, भारत सिक्किम चेस एशोसियसनका अभनिष प्रधान, त्रियोग हाई स्कूलका सक्रिट कुईकेल, आयोजक पुष्पसदन स्कूलका सागर सुप्रभ श्रेष्ठ, बज्र एकेडेमीका विभव जोशीले संयुक्त अग्रस्थान हासिल गरेका छन् ।
    यस्तै पेभेलियन चेस एकेडेमीका स्पर्श सारावगी, हिमालयन चेस एकेडेमीका रिनछेन डोम्जोन, आशिर्वाद थापा, त्रियोग स्कूलका सईस घिमिरे र ललितपुर चेस एकेडेमीका सहर्ष श्रेष्ठले अग्रता कायम गर्न सफल भएका छन् ।
    यु–१५ छात्रा तर्फ आयोजक पुष्पसदनका सबनम रिजाल २ अंकका साथ अगाडि रहेकी छिन् । उनीसँगै त्रियोग स्कूलका कृपा बेलबासे, सिक्किमका डेसियल ओङ्गमु भुटिया र हिमालयन चेसका प्रज्ञा पन्त समान अंक जोडेर संयुक्त अग्रस्थानमा रहन सफल बनेकी छिन् ।


    प्रतियोगितामा यु–१३ समूह छात्र तर्फ ज्ञानोदय बालबाटिकाका प्रविर केसि, सिक्किमका निरव ढकाल लगायत १४ जना खेलाडीले संयुक्त अग्रता हासिल गरेका छन् । यु १३–छात्रा विधामा सिक्किमका मानश्वी आचार्यले २ अंक जोडेर अगाडि रहेकी छिन् भने मनकामना सेकेण्डरी स्कूलका प्रिसिअस अधिकारी, पेभेलियन चेस एकेडेमीका नेलिसा ओझा, बिएन एकेडेमीका बिविषा तामाङ्ग र त्रियोग हाई स्कूलका नोएल थापाले संयुक्त अग्रता लिएका छन् ।
    यु–११ छात्र विधामा ग्रिनल्याण्ड स्कूलका सुलभ पन्थीसँगै अन्य १५ जना २ अंक जोडेर संयुक्त अग्रस्थानमा रहन सफल भएका छन् । यस्तै छात्रा यु–११ तर्फ सिक्किमका पालक अग्रवाल, हिमालयन चेस एकेडेमीका निहाना श्रेष्ठ, अन्नपूर्ण सेकेण्डरीका ओजस्वी श्रेष्ठ, त्रियोग स्कूलका श्रीयश्री तुलाधर र कस्यप एकेडेमीका प्रशन्ना चौधरीले २ अंकका अग्रता लिएका छन ।
    प्रतियोगितामा नेपालका २३६ जना तथा भारतका ११ जना खेलाडीले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरिरहेका छन । तिन दिन सम्म चल्ने स्पर्धा ३० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट सेमि क्लासिकल विधा अन्तर्गत फरक उमेर समूहका विजेता खेलाडीले ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट १० स्थान ओगट्ने खेलाडीले पनि मेडल हात पार्ने छन् ।
    यसअघि प्रतियोगिताको आयोजक पुष्पसदन आमाविका अध्यक्ष महेश श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

     

  • जिल्ला व्यापी कराते प्रतियोगितामा नगदेश डोजो च्याम्पियन

    भक्तपुर, पुस २३
    भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगितामा नगदेश डोजो च्याम्पियन बनेको छ । चाँगुनारायण नगरपालिकाको सहयोगमा भक्तपुर जिल्ला सितोरियो कराते संघले सोमवार आयोजना गरेको प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र २ कांस्य पदक जितेर नगदेश डोजो टिम च्याम्पियन बनेको हो ।
    प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र ७ कांस्य पदक जितेर भक्तपुर मेन डोजो दोस्रो र २ स्वर्ण, ५ रजत र ४ कांस्यका साथ भक्तपुर नगरपालिका डोजो तेस्रो भएको छ ।
    प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ नगदेशका विष्णु थापा र महिलातर्फ झौखेलकी रुविना सुलु घोषित भइन । यस्तै प्रतियोगितामा उदयमान खेलाडीको उपाधि भने एस एस सदनका प्रसून थापा र मदरल्याण्डकी बिपना तसिजुले हात पार्न सफल भए ।


    प्रतियोगितामा विजयी खेलाडी र टोलीलाई पुरस्कृत गर्दै वागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले खेलकुदको विकासले असल नागरिक उत्पादन गर्न सहयोग पुग्ने बताए । उनले स्थानीय तहले खेल क्षेत्रमा लगानी गर्नुपर्ने खाँचो औंल्याउँदैं राज्यले पनि खेलाडीहरुको उचित व्यवस्थाको लागि नीति बनाउनु पर्ने बताए ।
    प्रतियोगितामा २५ टिमका ३२५ खेलाडीको सहभागिता रहेको सितोरियो कराते संघ भक्तपुरका अध्यक्ष राजन चित्रकारले जानकारी दिए ।
    तौल समूह अनुरूप खेलाइएको प्रतियोगितामा पुरुषतर्फ २० केजी तौलदेखी ६० केजी माथि तौल समूहसम्म र महिलातर्फ २० केजी तौलदेखी ५५ केजी तौल सम्मका १९ स्पर्धामा प्रतिष्पर्धा भएको थियो । यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत प्रतियोगितामा समावेश गरिएको संघका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीले जानकारी दिए । खेल डब्ल्यु केएफ, एकेएफ र एनकेएफ को नियम अनुसार खेल खेलाइएको त्वातीले बताए ।
    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाले खेल र खेलाडीको वृत्ति विकासका लागि विभिन्न योजना बनाई नियमितरुपमा खेलकुद प्रतियोगिता आयोजना र सहयोग गर्दै आइरहेको बताए । यसअघि प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले गरेका थिए ।

     

  • आइसीसी यु–१९ महिला टि–२० क्रिकेट विश्वकपका लागि नेपाली टोलीको घोषणा

    भक्तपुर, पुस २१
    नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी यु–१९ महिला टि–२० क्रिकेट विश्वकपका लागि शनिवार १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले पुजा चितवनमा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु मध्ये बाट महतोको कप्तानीमा कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ ।
    टोलीमा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत रहेका छन ।
    यूएईमा विश्वकप छनोट खेलेकी मनिषा उपाध्याय भने अहिले टिममा छैनन् । उनी एसिया कपमा पनि टिममा थिइनन् । विश्वकप छनोट नखेलेका किरण कुमारी कुँवर र अनु कडायत भने विश्वकप खेल्ने टिममा अटाएका छन् ।
    आइसीसी यु–१९ महिला टि–२० क्रिकेट विश्वकप मलेसियामा यही जनवरी १८ देखि सुरु हुँदैंछ । फेब्रुअरी २ सम्म सञ्चालन हुने यु–१९ महिला टि–२० विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ । यु–१९ महिला विश्वकपको यो दोस्रो संस्करण हो भने नेपालले पहिलो पटक खेल्न लागेको हो ।


    नेपाल समूह डी मा छ । यस समूहमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । नेपाल जस्तै स्कटल्याण्ड पनि छनोट चरण पार गरेर विश्वकपमा पुगेको हो । नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्डसँग र जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ ।
    चारै समूहको शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा पुग्नेछन् । जहाँ १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । नेपालले समूह चरणमा एक खेल जितेर शीर्ष तीनमा रहन सके सुपर सिक्स पुग्दै थप ३ खेल खेल्ने अवसर पाउन सक्छ ।
    गत नोभेम्बरमा यूएईमा भएको आईसीसी यु–१९ महिला विश्वकप एसिया छनोटको उपाधि जित्दै नेपाल पहिलो पटक यु–१९ महिला विश्वकपकमा छनोट भएको थियो । त्यसपछि नपालले यु–१९ महिला एसिया कप समेत खेल्न पाएको थियो जहाँ नेपालले पाकिस्तानलाई हराएको थियो ।

     

  • एनएनआइपिए स्पोट्र्स अवार्ड– २०८०, करातेकी एरिका र उसुका विजय सर्वोत्कृष्ट घोषित

    भक्तपुर, पुस २०
    एनएनआइपिए स्पोट्र्स अवार्ड– २०८० मा करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली सर्वोत्कृष्ट घोषित भएका छन । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गरेको १९ औं एनएनआइपिए स्पोट्र्स अवार्ड– २०८० मा एरिका महिलामा र विजय पुरुषतर्फ सर्वोत्कृष्ट घोषित भएका हुन ।
    तार्केश्वर नगरपालिकाको मनमैजु मन्दिर परिसरमा आयोजित अवार्ड कार्यक्रममा एरिका र विजय जनही नगद एक÷एक लाख रुपैंयाले पुरस्कृत भए ।
    त्यस्तै अश्विन रावत प्रतिभाशाली खेलाडी (पुरुष) र प्रतिभाशाली खेलाडी (महिला) मा कबड्डीका मनमती विष्टलाई प्रदान गरिएको छ । उनीहरूलाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।
    तेक्वान्दोकी पलेशा गोबर्धनलाई वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डसहित १५ हजार रुपैयाँ प्रदान गरियो । गजराज आदर्श व्यक्तित्व अवार्ड रघुराज वन्तलाई प्रदान गरिएको छ । एनएनआपिए खेल पत्रकारिता पुरस्कारबाट हाम्रो खेलकुद र न्युज एजेन्सी नेपालकी सरिता श्रेष्ठ सम्मानित भए । रघुराज र सरिता दुवैले प्रशंसा पत्रसहित समान ३५ हजार रुपैयाँ पुरस्कार पाए ।


    यसका साथै १९ औं एसियाली खेलकुदमा समावेश गरिएको विभिन्न २९ खेलका खेलाडीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड हात पारे ।
    अवार्ड प्राप्त गर्नेमा आर्चरीका योगेन्द्र शेरचन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलका विजय बुर्जा, बक्सिङका चन्द्रबहादुर थापा, क्यानोइङका गणेश गुरुङ, क्रिकेटका कुशल मल्ल, साइक्लिङकी उषा खनाल, डान्स स्पोट्र्सका श्याम महर्जन, इस्पोट्र्सका साहस भण्डारी, फेन्सिङका राजेन्द्र गजुरेल, फुटबलकी प्रीति राई, गल्फका सद्भाव आचार्य, ह्यान्डबलकी संगिता चौधरी रहे ।
    त्यस्तै जुडोका विकास विक, कबड्डीकी मानमति विष्ट, करातेकी एरिका गुरुङ, रग्बीका पुजन फेवाली, सुटिङका विपेश खड्का, स्क्वासकी स्वास्थानी श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी इभाना थापा, तेक्वान्दोका अश्विन राउत, टेनिसका निशान श्रेष्ठ, ट्रायथलनकी श्रेवी महर्जन, भलिबलकी निरुता ठगुन्ना, भारोत्तोलनकी विद्या राई, कुस्तीका सुरेश चुनारा र उसुका विजय सिन्जाली उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टले जनही १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
    उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, स्थानिय आयोजक समेत रहेको तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, राखेप सदस्य अञ्जन धमला, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतले पुरस्कृत गरे । अर्को संस्करणको स्थानीय आयोजक बनेपा नगरपालिका हुने कार्यक्रममा जानकारी दिइयो ।

  • हेटौंडाका कृष्ण थापाले जिते टोखा र्यापिड चेस उपाधि

    भक्तपुर, पुस २०
    टोखा युथ क्लबले आयोजना गरेको तेस्रो टोखा फिडे ¥यापिड रेटिङ्ग चेस प्रतियोगितामा हेटौंडाका सिएम कृष्ण थापाले उपाधि जितेका छन् । नेपाल र भारतका गरी १ सय १२ जना खेलाडी सहभागी रहेको प्रतिस्पर्धामा सिएम कृष्ण थापाले अन्तिम चरण बराबरी खेल्दै ७ दशमलब ५ अंक टाइब्रेकका आधारमा उपाधि जितेका हुन । उनले आकर्षक ट्रफी, गोल्ड मेडल सहित नगद रु.१५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
    भक्तपुरका निकेन कुसाथाले समान ७.५ अंक जोडेर दोश्रो स्थान ओगट्न सफल भए । निकेनले ट्रफी, सिल्भर मेडल र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । माउण्ट एभरेष्ट चेस क्लबका धिरेन राई तेस्रो हुँदै ट्रफी, ब्रञ्ज मेडल र नगद ६ हजार पुरस्कार हात पार्न सफल भएका छन् ।
    शिर्ष दशौं स्थान सम्म प्राप्त गरेका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएकोमा झापाका वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी, सर्लाहीका कमल श्रेष्ठ, काठमाण्डौंका सिएम नवीन तण्डुकार, मोरङका उमेश राई, शंखरापुरका सन्देश श्रेष्ठ समान ७ अंक बनाउदै क्रमशः आठौं स्थानमा रहन पुगे । ६.५ अंकमा ललितपुरका बद्रीलाल नेपाली नवौं तथा राजन पुरी दशौं स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेका छन् ।
    अन्य ११ विधा मध्ये बेष्ट लोकल अष्टनारायण लवट, वेष्ट टोखा यु–१६ छात्र अर्जुन परियार, छात्रा निरुता परियार, सिनियर ५५ वर्षमा सिएम भगवती प्रसाद शर्मा, अनरेटेड रजिन महर्जन उत्कृष्ट छानिएका छन् ।
    यस्तै रेटिङ १९ सय मुनि दोलखाका राजीव कार्की, १८ सय मुनि सुरज सिंह, १७ सय मुनि भारतका राजन राजीव उत्कृष्ट बने । नितेन मेमोरियल विद्यालयकी निलम कोइराला उत्कृष्ट महिला, वनस्थलीका मदन दाहाल यु–१६, अनामनगरका दिपन मैनाली यु–१४ उत्कृष्ट बन्दै नगद पुरस्कार जितेका छन् ।
    क्लबका अध्यक्ष राजीव श्रेष्ठको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विजेता खेलाडीहरुलाई पुरस्कृत गर्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बुद्धिचाल खेललाई पाठ्यक्रममा राखिनु पर्ने धारणा ब्यक्त गरे ।
    समापन समारोहमा सल्लाहकार रणबहादुर डंगोल, रामराज श्रेष्ठ, टोखा वडा नं. ३ का अध्यक्ष रमेश डंगोल, शिक्षा तथा युवा शाखा प्रमुख बाबुराम गौतम, अधिकृत खगेन्द्र सिं धामी, सहकारी प्रतिनिधि शान्ति श्रेष्ठ, प्रमुख निर्णायक आईए ज्ञानेन्द्र खाईजू, यज्ञप्रसाद पन्त, एफए सोराज ताम्राकार, एनए असुन राजकर्णीकार लगायतको उपस्थिति रहेको थियो ।

     

  • थापाथली चेस पार्क क्लबले जित्यो राष्ट्रिय टिम चेस उपाधि

    भक्तपुर, पुस १६ 

    नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न ७ औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि थापाथली चेस पार्क क्लबले जितेको छ । च्याम्पियनसिपको मंगलवार सम्पन्न फाइनलमा आयोजक ललितपुर स्पोट्र्स क्लबलाई पराजित गर्दै थापाथलीले उपाधि जितेको हो ।
    थापाथलीले ¥यापिड चरणमा ललितपुर स्पोट्र्सलाई पराजित गर्दै उपाधि जितेको हो । ¥यापिड चरणमा ललितपुरका सजिन महर्जनसँग रिजेन्द्र राजभण्डारी पराजित भए पनि थापाथलीका सुशील चौधरी, आशिष फुँयाल र सिन्दिरा जोशीले आ–आफ्नो खेल जितेर ३ – १ अंकको स्कोर बनाउँदै टोलीलाई उपाधि दिलाए ।
    यसअघि थापाथलीले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टको गेममा २–२ अंक बराबर गर्दै ¥यापिड चरण सम्म धकेल्न सफल भएको थियो । पहिलो बोर्डमा थापाथलीका रिजेन्द्र ललितपुरका सिएम सजिनसँग हार व्यहोरे । चौथो बोर्डको स्पर्धामा नेसनल वमेन च्याम्पियन सिन्दिरा जोशी विनिता कपालीसँग पराजित भइन् ।
    टिम गेममा थापाथली २ अंक गुमाउँदाको दबाब झेल्दै दोश्रो बोर्डमा खेलेका सुशील चौधरीले शैलेन्द्र न्यौपाने माथि जित निकाल्दै १ अंक जोडे । तेस्रो बोर्डमा आशिषले रिसोन थापालाई टाइम आउट गराउँदै टिमको स्कोर २–२ बनाए पछि खेल¥यापिड चरणमा प्रवेश गरेको थियो ।
    उपाधि सहित थापाथलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । दोस्रो भएको आयोजक ललितपुर स्पोट्र्सले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको ललितपुर महानगरपालिका टोली तेस्रो हुँदै ६० हजार र चौथो भएको दोलखा चेस होमले ४० हजार रुपैयाँ प्राप्त गर्यो ।
    राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंक लाल घिसिङले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
    घिसिङले खेलकुद सरकारको मातहतमा रहनु पर्ने जिकिर गर्दै राज्यको न्यायालयले दिने निर्देशन सबैले निःशर्त पालना गर्नुपर्ने बताए । उनले भने,’ बौद्धिक खेल बुद्धिचालले अनुशासन सिकाउँछ । यसलाई सबैले समयमै अनुसरण गरे खेलकुद सहि ढंगवाट अगाडि बढ्ने वातावरण श्रृजना हुनेछ ।’
    आयोजक नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले बुद्धिचाल खेललाई आगामी राष्ट्रपति रनिङ्ग शिल्डमा समावेश गर्न आग्रह गर्दै बुद्धिचाल सबै भन्दा बढि गतिविधि गर्ने संघ भएको दाबी गरे ।
    महासंघका प्रवक्ता राजु ताम्राकारले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष बाबुराम थापा, महासंघका उपाध्यक्ष धिरेन बोगटी, उप महासचिव मोनालिसा खम्बू लगायतको उपस्थिति थियो ।

     

  • राष्ट्रिय क्लब चेस – सेमिफाइनल समीकरण पूरा

    भक्तपुर, पुस १४
    राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ । ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित लिग चरणको शनिवार सम्पन्न लिगका ७ चरणका खेलको समाप्तीसँगैं सेमिफाइनल समिकरण पुरा भएको हो ।
    च्याम्पियनसिपमा ललितपुर महानगरपालिका १४ अंक, थापाथली चेस क्लब १०, दोलखा चेस होम १० र ललितपुर स्पोट्र्स क्लब ९ अंक जोडेर अन्तिम चारमा पुगेका हो ।
    स्वीस लिग तालिकाले सातौं चरणमा ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिका, दोलखा चेस होम र थापाथली चेस पार्क, दोलखा जिल्ला संघ र काठमाडौं चेस क्लब, कास्की जिल्ला संघ र ललितपुर स्पोट्र्स क्लब तथा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश बिच प्रतिस्पर्धा भएको थियो ।
    नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोट्र्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको च्याम्पियनसिपको विजेताले २ लाख, दोस्रोले १ लाख २० हजार तेस्रोले ६० हजार र चौथोटोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
    प्रतिस्पर्धामा व्यक्तिगत विधा तर्फ उत्कृष्ट अंक प्राप्त गर्दै क्रमशः रुपेश जैसवाल, सुशील चौधरी, कृष्ण थापा, हेम भण्डारी र अभिक शाहले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
    आइतवार सेमिफाइनलमा ललितपुर महानगर र ललितपुर स्पोट्र्स क्लब तथा थापाथली चेस पार्क र दोलखा चेस होम बिच प्रतिस्पर्धा हुनेछ ।

     

  • राष्ट्रिय क्लब टिम बुद्धिचाल आजबाट शुरु हुने

    भक्तपुर, पुस १०
    नेपाल बुद्धिचाल महासंघको ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा आज (बुधवार)बाट राष्ट्रिय क्लब टिम बुद्धिचाल च्याम्पियनसिप ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा शुरु हुने भएको छ । च्याम्पियनसिपको तयारी पूरा भएको आयोजकले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
    महासंघका प्रवक्ता राजु ताम्राकारका अनुसार विश्व बुद्धिचाल महासंघ (फिडे) को तत्वावधानमा सञ्चालन हुने प्रतियोगिताको फिडे ईभेण्ट कोड ३९१८७३ रहेको छ । खेल क्लासिकल स्टाण्डर्ड ९० मिनेट ३० सेकेण्ड ईन्क्रिजमेण्टको हुनेछ ।
    प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन दोलखा चेस होम्स सहित आयोजक ललितपुर स्पोर्ट्स क्लब, ललितपुर महानगरपालिका, पूर्व विजेता थापाथली चेस पार्क, दोलखा जिल्ला बुद्धिचाल संघ, काठमाण्डौं चेस क्लब, महालक्ष्मी नगरपालिका ललितपुर, कास्की जिल्ला बुद्धिचाल संघ र कोशी प्रदेश बुद्धिचाल संघको सहभागिता रहने छ ।
    यसैगरी गोदावरी नगरपालिका ललितपुर, भक्तपुर जिल्ला बुद्धिचाल संघ, पुल्चोक इन्जिनियरिङ कलेज, मध्यपुर थिमि चेस एशोसियशन, बुकास डटकम कुमारीपाटी, सुदुरपश्चिम प्रदेश संघ, डाइनामिक चेस क्लब लहान, पेभेलियन चेस एकेडेमी, हिमालयन चेस एकेडेमी ब्, माउन्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब र हिमालयन चेस एकेडेमी गरि कूल २० सहभागी चेस टोलिको नाम दर्ता भइसकेको प्रवक्ता ताम्राकारले जानकारी दिए ।
    क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगितामा हरेक टोलीवाट ५ जना खेलाडी र एक जना टिम ब्यबस्थापक रहने छ । अन्तर्राष्ट्रिय फर्म्याटमा खेलाइने प्रतिस्पर्धामा ३ जना खुल्ला तर्फका शीर्ष खेलाडी, एक जना महिला वा युवा १६ वर्षका खेलाडीले सामूहिक स्पर्धा गर्ने छन् भने एक जना खेलाडी रिजर्भ रहनेछ ।
    प्रतियोगितामा ७ चरणको लिग खेल सञ्चालन हुनेछ । लिग खेलवाट शीर्ष ४ टोली सेमिफाइनलका लागि छनौट हुनेछन् । सेमिफाइनल जित्ने २ टोलीले फाइनल खेल्ने छन् । जसका विजेताले पुरस्कार रकम नगद २ लाख सहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् र
    यस्तै उप विजेता टिमले नगद १ लाख २० हजार हात पार्नेछन् । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टिमले नगद ६० हजार , चौथो टिमले ४० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
    प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्ने हरेक बोर्डका ५ जना खेलाडीले नगद १० हजार सान्त्वना पुरस्कार हात पार्नेछ । कूल नगद पुरस्कार ४ लाख ७० हजार रहेको छ ।
    नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले महासंघले पूर्व घोषणा गरेका राष्ट्रिय प्रतियोगिताहरु सम्पन्न गरिसकेको बताए । पूर्व घोषित राष्ट्रिय ब्लिट्ज , राष्ट्रिय रापिड, राष्ट्रिय सिनियर, राष्ट्रिय एमेच्योर, उमेर समूहका सबै राष्ट्रिय खेल, ९ औं महिला राष्ट्रिय च्याम्पियन, १४ औ राष्ट्रिय प्रतियोगिता सकिसकेको छ । उहाँले यो राष्ट्रिय टिम पनि सम्पन्न हुने चरणमा रहेको बताउदै आगामी जनवरी देखि नयाँ क्यालेण्डरमा खेल सञ्चालन गरिने जानकारी दिए ।
    अध्यक्ष महर्जनले टिम खेल मार्फत खेलाडीहरुलाई व्यवसायिक खेल तर्फ अग्रसर गर्ने प्रयास गरेको बताउदै राम्रा खेलाडीले अक्सन कै शैलीमा पारिश्रमिक पाउन सफल भएको बताए ।
    पत्रकार सम्मेलनमा तुल्सीलाल प्रतिष्ठानका अध्यक्ष एवं पूर्व खेलकुदमन्त्री गोपाल शाक्य, महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकार, अन्तर्राष्ट्रिय प्रमुख निर्णायक यज्ञप्रसाद पन्त, फिडे आर्विटर सोराज ताम्राकार, फिडे वर्डकप खेलेका एफएम रुपेश जैसवाल लगायतको उपस्थिति रहेको थियो ।