Category: खेलकुद

  • एनकेएलको प्ले–अफ समीकरण पूरा

    भक्तपुर, माघ १३
    काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी कबड्डीको फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) को प्ले–अफ समिकरण पूरा भएको छ । लिगमा शनिवार सम्पन्न खेलमा विराटनगर ब्यान्डिट्सले पोखरा लेकर्समाथि एकपक्षीय जित हात पारेसँगै एनकेएलको प्ले–अफ समिकरण पूरा भएको हो । खेलमा विराटनगर ५०–२५ ले विजयी भएको हो ।
    योसँगै पहिलो क्वालिफायरमा अपराजित जनकपुर नाइट्स र विराटनगर भिड्ने भएका छन् । अपराजित रहँदै २३ अंक जोडेको जनकपुरले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको हो ।
    विराटनगरले भने अंक तालिका काठमान्डु माभरिक्सलाई दुई अंकले पछि पार्दै जनकपुरसँगको भेट पक्का ग¥यो । यो खेलमा जित हात पार्ने टोली फाइनलमा प्रवेश गर्ने छ भने पराजित हुनेले अर्को मौका पाउने छन् ।
    विराटनगरले २१ र काठमान्डुले १९ अंक जोडे । काठमान्डुलाई भने इलिमिनेटरमा धनगढी वाइल्डक्याट्सले चुनौती पेस गर्नेछ । शनिबार नै भएको खेलमा हिमालयन रेइडर्सलाई ४१–३८ अंकले पराजित गर्दै धनगढीले इलिमिनेटरमा स्थान बनाएको हो ।
    पाँच खेलबाट ११ अंक जोड्दै धनगढी चौथो स्थानमा रह्यो । समान खेलबाट सात अंक जोडेको हिमालयन र जितविहीन पोखरा प्रतियोगिताबाट बाहिरिएका छन् । पोखराले चार अंकसहित पहिलो संस्करण सक्काएको हो ।

     

  • गोलकिपर एन्जिलाले युरोपमा ‘डेब्यू’ गरे

    भक्तपुर, माघ १३
    नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा ‘डेब्यू’ गरेकी छिन । एन्जिलाले शनिवार ग्रिसको निस अट्रोमिटौबाट व्यवसायिक फुटबल खेल्ने युरोपमा डेब्यू गरेकी हुन । केहि साता अघि ग्रिस पुगेकी एन्जिलाले शुक्रवार लिग खेल्ने अनुमति पाएकी थिइन् ।
    उनले ग्रिस महिला ‘ए’ लिगमा ओएफआइविरुद्ध खेल्दै युरोपमा डेब्यू गरेकी हुन् । खेलमा एन्जिलाको टोली ओएफआइसँग ०–३ ले पराजित भएको थियो । एन्जिलाको डेब्यूसँगैं उनी युरोपमा व्यवसायिक फुटबल खेल्ने दोस्रो महिला खेलाडी बनेकी छिन । यस अघि सावित्रा भण्डारी साम्बाले फ्रान्समा खेलिरहेकी छिन ।
    एन्जिलाले यसअघि पाकिस्तान र भारतमा लिग खेलेकी थिइन् । उनको कप्तानीमा नेपालले कात्तिकमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा दोस्रो स्थान प्राप्त गरेको थियो । एन्जिलाको जीवनीमा आधारित अन्जिला फिल्म फागुन २९ गते प्रदर्शन हुँदैछ ।

     

  • भक्तपुरमा सुटिङ संघ गठन

    भक्तपुर, माघ १०
    भक्तपुरमा सुटिङ खेलको विकास र बिस्तारको लागि भक्तपुर जिल्ला सुटिङ संघ गठन गरिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको अध्यक्षतामा बिहिवार सम्पन्न भेलाले राजु सिं बजिकोको अध्यक्षतामा १३ सदस्यीय सुटिङ संघ गठन गरेको हो ।
    नेपाल सुटिङ संघका बागमती प्रदेश अध्यक्ष राजु दर्शनको उपस्थितीमा भएको भेलाले संघको उपाध्यक्षमा रामशरण बैंजु, सचिवमा रोहित मानन्धर, सहसचिवमा रचना लाखेमरु र कोषाध्यक्षमा चन्द्र प्रसाल सुवाल चयन गरेको छ ।
    यसैगरी सदस्यहरुमा सचि बनेपाली, आषिश बैद्य, रामकृष्ण लवजु, अनिल फोंजु, दिपा अधिकारी, गोपीलाल श्रेष्ठ, सरोज केसी र कपिल देव नेपाल चयन भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

  • राष्ट्रिय बुद्धिचाल माघको तेस्रो साता हेटौंडामा

    भक्तपुर, माघ ७
    नेपाल बुद्धिचाल महासंघले तय गरेको नयाँ वार्षिक क्यालेण्डर अन्तर्गत २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघको १३ गते देखि १९ गते सम्म सञ्चालन हुने भएको छ । महासंघका प्रवक्ता राजु ताम्राकारले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रतियोगिता हेटौंडामा हुने जानकारी दिए ।
    महासंघले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न संयोजकको जिम्मा महासचिव धरम बहादुर लामालाई प्रदान गरिएको छ । प्रतियोगितामा दुबै विधा तर्फ नै पूर्व निर्धारित फम्र्याट अनुसार सिनियर नेशनल च्याम्पियनका शिर्ष ३ खेलाडी र नेशनल बी वाट छनौट भएका उत्कृष्ट ९ खेलाडी बिच जम्मा ११ चरणको खेल प्रतिस्पर्धा हुनेछ ।
    जसमा पुरुषतर्फ नेपाल च्याम्पियन, दोश्रो अनि तेस्रो राजन सुवेदी, शुश्रुत दहाल, क्षितिज भण्डारी सहित नेशनल बी वाट छनौट भएका पुरुषोत्तम सिलवाल, आशिष फूँयाल, एफएम रुपेश जैसवाल, विनय थापा, सुरोज महर्जन, धिरेन राई, सिएम नवीन तण्डुकार र एफएम रिजेन्द्र राजभण्डारी खेल्नेछन् ।
    यसैगरी महिलातर्फ नेशनल वोमन शीर्ष तिन सिन्दिरा जोशी, कृतिसारा अधिकारी, पूजा भण्डारी सहित बिनिता कपाली, लक्ष्मी कँडेल, इशा गिरि, शान्ति धिमाल, दानिशा पुरी, शुशीला गुरुङ, पुनम प्रसाईं र एञ्जल महर्जन बिच स्पर्धा हुने भएको छ ।
    महासंघको सचिवालय बैठकले राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा खेलाडीलाई सहभागी गराउनका लागि समन्वय विभाग प्रमुख सुशील चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ । यस्तै मकवानपुर जिल्ला बुद्धिचाल संघलाई स्थानीय व्यवस्थापनको जिम्मेदारी दिएको छ ।
    यस्तै राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न अन्तर्राष्ट्रिय आर्विटर यज्ञप्रसाद पन्तलाई प्रमुख निर्णायकको जिम्मेवारी प्रदान गरिएको छ भने फिडे आर्विटर सरोज ताम्राकार, एफए मिशन दहाल, एफए सन्दिप धिमिरे र एनए रमिला पोखरेलको टिम रहने भएको छ ।
    महासंघले २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न गर्न कूल अनुमानित खर्च २४ लाख ५० हजार हुने समेत अवगत गराएको छ । बागमती खेलकुद विकास परिषद् तथा स्थानीय तहसँगको सहकार्यमा सञ्चालन हुने उक्त प्रतियोगिताका विजेता खेलाडीलाई आगामी वर्ष काजकिस्तानमा हुने चेस ओलम्पियाडमा सहभागी गराइने भएको छ ।

  • सभापति कपको उद्घाटनमा चर्च व्याइज र संकटा भिड्ने

    भक्तपुर, माघ ७
    नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिड्ने भएका छन् । निर्देशन समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले खेल तालिका सार्वजनिक गरेका हुन् ।
    ८ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल माघ १० गते बिहीबार दिउँसो ३ बजे हुनेछ । हरेक दिन एक खेल हुने पत्रकार सम्मेलनमा जनकारी गराइयो । प्रतियोगितामा आयोजकको टिम पनि रहेको छ । आयोजक टिमको रूपमा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश बागमतीले खेल्नेछ ।
    त्यस्तै माघ ११ गते मच्छिन्द्र र एपीएफ क्लब, १२ गते पुलिस क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश र माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच खेल हुने आयोजकले जनाएको छ । खेल नकआउट हुने छ भने १४ र १५ गते सेमिफाइनलका खेल हुनेछन् । फाइनल खेल १७ गते हुनेछ ।
    प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउने छ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमले ५० हजार पाउने छन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिने छ ।
    फाइनलका दिन सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।
    पत्रकार सम्मेलनमा कांग्रेस सांसद एवं महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतले नेपालमा खेल क्षेत्रको विकासका साथै खेलाडीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । पछिल्लो समय नेपालले खेलकुदमा सफलता हासिल गरे पनि खेलाडी टिकाइ राख्ने वातावरण नभएको भन्दै ध्यान दिन सबैलाई आग्रह गरे । प्रतियोगिताको अनुमानित बजेट १ करोड ४० लाख रुपैयाँ रहेको जानकारी गराउँदै आगामी दिनमा नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तित्वहरूको नाउँमा देशव्यापी प्रतियोगिताहरू आयोजना गर्ने प्रस्ट पारे । सभापति कप हरेक २–२ वर्षमा आयोजना हुने जानकारी दिए ।

     

  • खो खो विश्वकप–नेपाली पुरुष र महिला दुवै उपविजेतामा सिमित

    भक्तपुर, माघ ६
    पहिलो पटक आयोजना गरिएको खो खो विश्वकपमा नेपाली पुरुष र महिला दुवै टोली उपविजेतामा सिमित भएको छ । विश्वकपको आइतवार सम्पन्न फाइनलमा भारतसँग पराजित हुँदैं नेपाली टोलीहरु उपविजेतामा सिमित बनेको हो ।
    भारतको दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४–३६ ले पराजित हुँदै नेपाल पुरुषतर्फ उपविजेता बनेको हो । समूह चरणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो ।
    नेपालले शनिवार सम्पन्न सेमिफाइनलमा इरानलाई ७२–२० ले हराउँदै फाइनल प्रवेश गरेको थियो । शुक्रवार भएको क्वाटरफाइनलमा बंगलादेशलाई ६७– १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।
    यसअघि नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो । नेपाल भारतसँगको आफ्नो पहिलो खेलमा ४१–३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४– ८ र पेरुलाई ८०–३४ लाई र भुटानलाई ९८–८ ले हराएको थियो ।
    यसैगरी नेपाली महिला टोली पनि फाइनलमा घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित बनेको थियो । अपराजित रहँदैं फाइनल प्रवेश गरेको नेपाल फाइनलमा ७८–४० अन्तरले पराजित भएको हो । घरेलु टोलीले पहिलो टर्नदेखि नै नेपाललाई दवाबमा राखेको थियो ।


    पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा नेपाललाई २४ अंक मात्र जोड्न दियो । भारतले डिफेन्समा १ अंक पनि थप्यो । त्यसपछि तेस्रो टर्नमा ४० अंक जोड्दै भारत बलियो स्थितिमा पुग्यो । अन्तिम टर्नमा नेपालले १६ अंक मात्र जोड्दा भारतले ड्रिम रनमा ५ अंक थपेको थियो ।
    युगाण्डालाई शनिवार ८९–१८ ले हराउँदै नेपाली टोली फाइनल प्रवेश गरेको थियो । इरानलाई शुक्रवार १०३–८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो ।
    नेपाली महिला टोली समूह चरणमा समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको थियो । समूह चरणमा नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगालादेशलाई ८४–२४ ले हराएको थियो । विश्व कपमा महिलामा १९ र पुरुषमा २० देशको सहभागिता थियो ।

     

  • नेपाली पुरुष र महिला दुवै टोली खो खो विश्वकपको फाइनल प्रवेश

    भक्तपुर, माघ ५
    नेपाली राष्ट्रिय पुरुष र महिला दुवै टोली खो खो विश्वकपको फाइनल प्रवेश गरेको छ । भारतको राजधानी दिल्लीमा जारी खो खो विश्वकपको शनिवार सम्पन्न सेमिफाइनलमा नेपाली पुरुष टोली इरान र महिला टोली युगाण्डालाई हराउँदैं फाइनल प्रवेश गरेको हो ।
    नयाँ दिल्ली स्थित इन्दिरा गान्थी इन्डोर हलमा आयोजित पहिलो सेमिफाइनलमा नेपालले ७२–२० अंकले इरानलाई हराउँदैं ऐतिहासिक सफलता हासिल गरेको हो । यसैगरी महिला टोलीले युगाण्डालाई ८९–१८ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
    पुरूषतर्फ उद्घाटन खेलमा भारतसँग झिनो अंकको अन्तरले पराजित भएपनि त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो ।
    पहिलो खेलमा भारतसँग ४२–३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०–३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८–८ अन्तरले हराएको थियो । क्वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७–१८ को अन्तरले हराएको थियो ।


    नेपाली महिला टोली अपराजित रहँदैं फाइनलमा प्रवेश गरेको हो । युगाण्डालाई ८९–१८ ले हराउँदै फाइनल प्रवेश गरेको नेपाली महिला टोलीले इरानलाई शुक्रवार १०३–८ को फराकिलो अन्तरले हराँउदै सेमिफाइनल पुगेको थियो ।
    नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो । नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगालादेशलाई ८४–२४ ले हराएको थियो ।
    नेपालले पुरुषतर्फको फाइनलमा दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ भने महिला टोलीले भारतसँग उपाधिका लागि भिड्ने छ ।
    नेपालको टोली कुनै पनि खेलको विश्वकपमा फाइनल पुगेको यो पहिलोपटक हो । त्यसमा पनि महिला र पुरुष दुवै टोली फाइनलमा पुग्दै इतिहास रचेको हो । नेपालको लागि कुनै पनि खेलको विश्वकप पुग्नु नै ठूलो विषय हुन्छ । त्यसमा पनि खो खो विश्वकपमा अपराजित रहँदैं महिलातर्फ फाइनल पुग्नु नेपाली खेलकुदकै ऐतिहासिक क्षण हो ।

  • नेपाली पुरुष र महिला दुवै टोली खो खो विश्वकपको सेमिफाइनल प्रवेश

    भक्तपुर, माघ ५
    नेपाली पुरुष र महिला दुवै टोली खो खो विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा जारी विश्वकपमा शुक्रवार नेपाली पुरुष टोली बंगलादेशमाथि सानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
    क्वार्टरफाइनलमा नेपालले बंगलादेशमाथि ६७–१८ को सानदार जित हासिल गरेको हो । नेपालले फाइनल प्रवेशका लागि सेमफिाइनलमा इरानसँग खेल्ने भएको छ । नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो । नेपाल भारतसँगको आफ्नो खेलमा ४१–३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४– ८ र पेरुलाई ८०–३४ लाई र भुटानलाई ९८–८ ले हराएको थियो ।


    इरानले शुक्रबार नै भएको पहिलो क्वार्टरफाइनलमा केन्यालाई ८६–१८ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । सेमिफाइनल खेल आज (शनिवार) हुनेछ ।
    यसैगरी अपराजित महिला टोली पनि खो खो विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । नेपाली महिला टोली इरानलाई शुक्रवार १०३–८ को फराकिलो अन्तरले हराँउदै सेमिफाइनल पुगेको हो ।
    नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो । नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगालादेशलाई ८४–२४ ले हराएको थियो ।

     

  • खो खो विश्वकपमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

    भक्तपुर, माघ १
    भारतमा नयाँ दिल्लीमा जारी खो–खो विश्वकपमा नेपाली महिला टोलीले आज (मंगलवार) लगातार दोस्रो जित हासिल गरेको छ । समूह सी अन्तर्गत नयाँ दिल्लीस्थित इन्धिरा गान्धी इन्डोर हलमा सम्पन्न खेलमा नेपालले जर्मनीलाई ७३–३४ ले पराजित गरेको हो ।
    यसअघि मंगलबारै भएको पहिलो खेलमा नेपालले भुटानलाई ९३–२४ ले पराजित गरेको थियो ।
    समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् । नेपालले बुधबार श्रीलंकासँग तथा बिहीबार बंगलादेशसँग खेल्ने छ । हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

     

  • खो खो विश्वकपमा नेपाल भारतसँग पराजित

    भक्तपुर, माघ १
    खो खो विश्वकपमा नेपाल भारतसँग पराजित भएको छ । पहिलो पटक आयोजना भएको खो खो विश्वकपको पुरुषतर्फको पहिलो खेलमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३ अंकले पराजित भएको हो ।
    नयाँ दिल्लीस्थित इन्धिरा गान्धी इन्डोर हलमा सोमबार राती भएको उद्घाटन खेलमा नेपाल भारतसँग ४२–३९ ले पराजित भएको हो । समूह ए मा रहेको नेपालले दोस्रो खेल मंगलबार पेरुसँग खेल्नेछ ।
    भारतले सबै ४२ अंक अट्याकबाट जोड्दा नेपालले ३८ अंक अट्याकबाट र १ अंक डिफेण्डबाट जोडेको थियो ।


    पहिलो टर्नमा अट्याक गरेको भारतले २४ अंक जोडेको थियो । त्यसपछि टर्न टु मा नेपालले अट्याक गर्दै २० अंक जोड्यो । टर्न थ्री मा भारतले अट्याकबाट १८ अंक जोड्दा नेपालले डिफेण्डबाट १ अंक जोडेको थियो । टर्न फोरमा नेपालले अट्याकबाट १८ अंक जोडेको थियो ।
    कप्तान तथा ‘वजीर’ प्रतीक वैकरको नेतृत्वमा भारतले सानदार प्रदर्शन ग¥यो । भारतले उत्कृष्ट सुरुआत गरेको थियो । पहिलो टर्नको ६० सेकेन्डभित्रै नेपालका तीन डिफेन्डर आउट भएका थिए । प्रतीक र रामजी कश्यपले पहिलो टर्नमा तीन मिनेट बाँकी रहँदा नेपालका दुई ब्याच डिफेन्डरलाई आउट गर्दै १४ अंकको ठूलो अग्रता दिलाए ।


    प्रतीकलाई प्रतिस्थापन गरेका सचिन भार्गोले उत्कृष्ट प्रदर्शन देखाए । उनले एक सानदार स्काइडाइभ गर्दै ब्रेकमा भारतको टच अंकलाई २४ मा पु¥याए, जसले नेपाललाई ‘ड्रिम रन’ (तीन मिनेटमा डिफेन्डर म्याटमा रहिरहने अवस्था) हासिल गर्नबाट रोक्यो ।
    नेपालले दोस्रो टर्नमा ६ अंक बनाउन लगभग दुई मिनेट लगायो । तर, बलियो पुनरागमन गर्न सफल रह्यो । भारतीय डिफेन्डरले ‘ड्रिम रन’ हासिल गर्न सकेनन्, जसका कारण नेपालले आफ्नो पालोमा २० अंक जोडेको थियो । नेपालका अलराउन्डर जोगेन्द्र राणा मुख्य आक्रामक बने । उनले दुई डाइभसहित चार अंक जोडे, जसले नेपाललाई खेलमा फर्कायो ।
    खो खो विश्वकप २०२५ को पहिलो ‘ड्रिम रन’ नेपालका भरत सारुले हासिल गरे । तर, यो जितका लागि पर्याप्त भएन । भारतले चौथो टर्नमा २१ अंकको अग्रता लियो । चौथो टर्नमा नेपालका झलक विकले उत्कृष्ट प्रदर्शन गरे । उनले भारतसँग अंकअन्तर पाँचमा झार्न सफल भएका थिए । तर, यो अन्तिम प्रयास पनि भारतलाई प्रभावशाली जित हासिल गर्न उनले रोक्न सकेनन् ।


    पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ। पुरुषतर्फ समूह ‘ए’ मा भारत र नेपालसँगै भुटान, ब्राजिल र पेरु छन् । महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ । महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ ।