Category: खेलकुद

  • सिन्दिरा र रुपेश राष्ट्रिय बुद्धिचाल च्याम्पियन

    भक्तपुर, माघ १९
    काठमाण्डौंकी सिन्दिरा जोशी र रौतहटका रुपेश जैसवाल राष्ट्रिय बुद्धिचाल च्याम्पियन बनेका छन । सिन्दिरा महिलातर्फ र रुपेश पुरुषतर्फ राष्ट्रिय च्याम्पियन बनेका हुन । हेटौंडामा एक साता सञ्चालन भएको प्रतियोगितामा सिन्दिरा १० औं महिला र रुपेश २५ औं पुरुष राष्ट्रिय च्याम्पियन बनेका हुन ।
    नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ११ चरणको खेल समाप्तिमा सिन्दिराले ९ अंक जोडिन । पुनम प्रसाईं ८ अंक जोडेर दोश्रो भएकी छिन् । निकै कडा प्रतिस्पर्धामा झापाका पुनमले टाइब्रेक प्वाइन्ट ३८.७५ प्राप्त गरि दोश्रो भएकी हुन ।
    बाँकेका इशा गिरीले ८ अंक टाइब्रेक प्वाइन्ट ३६.२५ का आधारमा तेस्रो भइन । उदीयमान इशाले पहिलो प्रयासमा नै नेपाल तृतीय बन्न् सफल भएकी हुन । काठमाण्डौंका एञ्जल महर्जनले समान ८ अंक जोडेर चौथो स्थानमा रहने क्रममा अप्रत्याशित उत्कृष्ट खेल प्रदर्शन गर्दै ३५ टाइब्रेक प्वाइन्ट बनाईन ।
    यसैगरी मोरङकी शान्ति धिमाल ७.५ अंक सहित पाँचौं, झापाका कृतिसारा अधिकारी ६.५ अंकमा छैटौं, किर्तिपुरका बिनिता कपाली ६ अंक प्राप्त गर्दै सातौं, बारा जिल्लाका शुशिला गुरुङ ५.५ अंक आठौं, चितवनका लक्ष्मी कँडेल नवौं र काठमाण्डौंका निहाना श्रेष्ठ दशौं भए ।


    यसैगरी रुपेशले पुरुषतर्फ च्याम्पियन बन्ने क्रममा सात जीत, चार बराबरी खेल्दै ९ अंक जोडे । उनले आफ्नो व्यक्तिगत रेटिङ्ग २०९३ बाट खेल शुरु गरेर ३०.२ रेटिङ्ग बढाएका छन् । समग्रमा उनको उत्कृष्ट रेटिङ्ग पर्फोमेन्स २२११ रह्यो ।
    युवा पुरुषोत्तम सिलवालले टाइब्रेकरका आधारमा दोश्रो बने । वतर्मान नेपाल च्याम्पियन राजन सुवेदीसँग समान ८.५ अंक बनाएका पुरुषोत्तमको ३७.२५ टाइब्रेक प्वाइन्ट र राजन ३६.२५ मा सिमित भए । झापाका राजन तेस्रो स्थानमा अडिए ।
    मकवानपुरका एफएम क्षितिज भण्डारीले ८ अंक बनाइ चौथो स्थान प्राप्त गरेका छन् । दोलखाका आशिष फूँयाल ७ अंक जोडेर पाँचौ स्थानमा रहे । झापाका सिएम शुश्रुत दहाल ६.५ अंक सहित सातौं, काठमाण्डौंका एफएम रिजेन्द्र राजभण्डारी ६ अंकका साथ आठौं, प्रेमकृष्ण महर्जन नवौं र ललितपुरका सुरोज महर्जन दशौं भए ।


    महासंघका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण समारोहका बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले विजयी खेलाडीहरुलाई पुरस्कृत गरे ।
    सो अवसरमा वरिष्ठ खेल पत्रकार कान्तिपुर राष्ट्रिय दैनिकका ध्रुव कुमार तुलाधर र गोरखापत्र अनलाइनका गोविन्द रेग्मीलाई नगद सहित सम्मान गरिएको थियो ।
    कार्यक्रममा बागमती प्रदेश सांसद एकालाल श्रेष्ठ, साउथ एशियन चेस फेडेरेशनका अध्यक्ष एव अल इण्डियन चेस फेडेरेशनका कोषाध्यक्ष धर्मेन्द्र कुमार, महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकार, प्रवक्ता राजु ताम्राकार, एफए सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।

     

  • काठमाण्डुलाई हराउँदैं जनकपुरले जित्यो एनकेएल उपाधि

    भक्तपुर, माघ १८
    पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल)को उपाधि जनकपुर नाइट्सले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार सम्पन्न रोमाञ्चक फाइनलमा काठमान्डु माभरिक्सलाई हराउँदै जनकपुरले उपाधि जितेको हो । जनकपुरले लिगमा अपराजित रहँदैं उपाधि जितेको हो ।
    अपराजित रहँदै उपाधि जित्ने क्रममा जनकपुरले अन्तिम मिनेटमा शानदार पुनरागमन गर्दै काठमान्डु माभरिक्सलाई ४५–४१ ले हराएको हो । । पहिलो हाफमा २५–१९ ले पछि परेको काठमान्डुले दोस्रो हाफमा पुनरागमन गर्दै २२–२० को अग्रता बनाएपनि जितसम्म पुग्न सकेन । एक समय काठमान्डुले पुनरागमन गर्दै ३४–३४ को बराबरी गरेको थियो । त्यसपछि ४१–३७ को अग्रता बनाउँदै जित नजिक पुगेपनि काठमान्डुले अग्रतालाई होल्ड गर्न सकेन ।


    खेलको पहिलो हाफमा पूर्णरूपमा जनकपुर नाइट्सले दबाब बनाएको थियो । सुरूवात देखि नै खेलमा अग्रता बनाएको जनकपुरले ४–२ को अग्रता रहेको अवस्थामा काठमान्डुका तीन खेलाडीलाई एकै पटक आउट गरेर ५ स्कोर जोड्यो । त्यसपछि निरन्तर स्कोर जोडेको जनकपुरले दोस्रो पटक काठमाण्डुलाई अल आउट गर्दै २३–१२ को अग्रता बनायो ।
    पहिलो हाफमा कमजोर देखिएको काठमाण्डुका स्टार खेलाडी तथा कप्तान घनश्याम रोक्का तीन पटक आउट भए । पहिलो हाफमा जनकपुरको पक्षमा २५–१९ को स्कोरमा सकियो ।
    यो लिगमा कमब्याक गर्न माहिर काठमाण्डुले दोस्रो हाफको सुरूवातमा अग्रता दुई स्कोरमा झारिसकेको थियो । खेल २८–२६ मा पुर्याए लगतै फेरि घनश्याम आउट भए । यसपछि पनि काठमाडौंले जनकपुरलाई चुनौती दिएको थियो ।
    पुनः घनश्याम कोर्ट छिरे र एकै पटक दुई खेलाडीलाई टच आउट गर्दै खेललाई ३४–३४ को बराबरीमा पुर्याए । लगतै काठमाण्डुले टच आउटमा अर्को स्कोर गर्दै पहिलो पटक खेलमा अग्रता बनाएको थियो ।


    फेरि एकपटक नाटकीय शैलीमा घनश्यामले फेरि दुई स्कोर गरे । यसपछि काठमाण्डुले पहिलो पटक जनकपुरलाई अल आउट गर्दै ४१–३५ को स्पष्ट अग्रता बनायो । यति खेर खेल सकिन १ मिनेट ५६ सेकेन्ड बाँकी थियो ।
    तर यसपछि फेरि जनकपुरले खेललाई ४१–४१ मा पुर्याउँदै सागर चौधरीलाई आउट गरेर ४३–४१ ले अगाडि बढ्यो । खेलको ३ सेकेन्ड बाकी छँदा जनकपुरले अल आउट गर्दै ४५–४१ ले फाइनल जित्दै च्याम्पियन बन्यो ।
    यसअघि जनकपुर २३ अंक सहित लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो । उसले लिग चरणमा ४ खेल जित्दा काठमाण्डुसँग बराबरी खेलेको थियो । उपाधिसँगै जनकपुरले ५ लाख प्राप्त गरेको छ । पहिलो पटक भएको फ्रेन्चाइज कबड्डी लिगमा कुल ६ टिमको सहभागीता रहेको थियो ।

  • राष्ट्रिय बुद्धिचालमा रुपेश र सिन्दिरा अपराजित रहँदै शिर्ष स्थानमा कायम

    भक्तपुर, माघ १८
    नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको २५ औं राष्ट्रिय पुरुष तथा १० औं महिला बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सिन्दिरा जोशीको अग्रता कायम रहेको छ ।
    रुपेश पुरुषतर्फ र सिन्दिरा महिलातर्फ ९ औं चरणको समाप्तिमा अपराजित रहँदै अग्र स्थानमा रहेका हुन । १२ खेलाडीबीच ११ चरणको राउण्ड रोविन लिगमा २ चरणको खेल बाँकी रहेको छ ।
    रौतहटका रुपेश र काठमाण्डौंकी सिन्दिरा दुबैले आ–आफ्नो विधामा समान ७.५ अंक बनाइ अग्रता कायम गर्ने क्रममा समान ६ जीत ३ बराबर खेल खेलेका छन् ।


    शिर्ष ३ स्थानमा रहने खेलाडी अर्को वर्षको राष्ट्रिय प्रतियोगितामा छनोट हुने प्रावधान रहेको छ । शीर्ष ३ को होडमा काठमाण्डौंका युवा पुरुषोत्तम सिलवाल र वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी समान ६.५ अंक बनाएर संयुक्त दोश्रो स्थानमा उभिएका छन् ।
    मकवानपुरका एफएम क्षितिज भण्डारी ६ अंक सहित चौथो स्थानमा, झापाका शुश्रुत दाहाल र दोलखाका आशिष फूँयाल समान ५.५ अंक जोडेर संयुक्त पाँचौ स्थानमा रहेका छन् ।
    यसैगरी महिलातर्फ अप्रत्याशित खेल प्रदर्शन गरेकी काठमाण्डौंका एञ्जल महर्जनले ७ अंक बनाएर दोश्रो स्थानमा र मोरङका शान्ति धिमाल ६.५ अंकमा जोडेर तेस्रो स्थानमा रहेकी छिन् । बाँकेका इशा गिरि र झापाका पुनम प्रसाईं दुबै खेलाडी ६–६ अंक बटुल्दै शिर्ष ३ मा रहने होड कायम राखेका छन ।

     

     

  • दिप कार्की नायक बनेपछि संकटाले जित्यो सभापति कप

    भक्तपुर, माघ १७
    गोलकिपर दीप कार्कीको उत्कृष्ट प्रदर्शनबाट प्रेरित संकटा क्लवले सभापति कपको उपाधि जितेको छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिवार सम्पन्न फाइनलमा संकटाले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
    निर्धारित ९० मिनेटमा गोलरहित र पेनाल्टी सुटआउटमा ३–३ को बराबरीपछि सडन डेथमा संकटाले बाजी मारेको हो । सडन डेथमा कप्तान समेत रहेका गोलकिपर दीपले बागमती लोकतान्त्रिकका गौरव श्रेष्ठको पेनाल्टी रोक्दै संकटालाई उपाधि दिलाएका हुन ।
    बागमती लोकतान्त्रिकका कप्तान समेत रहेका गोलकिपर विकेश कुथुले पेनाल्टी सुटआउटमा शुरुको २ पेनाल्टी रोके पनि बागमतीलाई जित दिलाउन पर्याप्त रहेन । विकेशले संकटाका राम थापा र रोशन पहारीको पेनाल्टी रोक्दै बागमतीको सम्भावना बढाएका थिए । नवीन लामा र फोडे फोफानाले गोल गर्दैै बागमतीलाई २–० ले अघि बढाए थिए।
    त्यसपछि खेलले नाटकिय मोड लियो । तेस्रो पेनाल्टी प्रहार गर्न आएका बागमतीका कुलदीप कार्कीको पेनाल्टी दीपले रोके । उता संकटाका लागि लक्षु थापाले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याए । बागमतीका रजत तिवारीको प्रहार बाहिरिएपछि संकटाका लागि साम कार्लोसले गोल गर्दै खेलमा २–२ को बराबरी गरे ।


    पाँचौ पेनाल्टीमा सन्दीप कार्कीको गोलबाट बागमतीेले पुनः अग्रता बनायो । संकटाका लागि दीप आफै पाँचौं पेनाल्टी हान्न अघि बढे । उनी सफल भएर पेनाल्टीमा ३–३ को बराबरी भयो । सडन डेथमा संकटाका सुनिल खड्काले गोल गरे । दीपले बागमतीका गौरवको प्रहार रोके र संकटालाई च्याम्पियन बनाए ।
    नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको प्रतियोगिताको विजेता संकटाले २६ लाख र बागमतीले १३ लाख रुपैयाँ प्राप्त गरे ।


    प्रतियोगितामा संकटा फुटबल क्लबका कप्तान दीप कार्की सर्वोत्कृष्ट खेलाडी भएका छन् । सभापती कपमा संकटालाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान दीप प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट खेलाडी भएका दीपले नगद ७५ हजार रुपैयाँ प्राप्त गरे ।
    प्रतियोगितामा तीन खेलाडी सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहे । प्रतियोगिताको सर्वाधिक गोलकर्तामा संकटाका अबेकाह रिचार्ड तथा न्युरोड टिम एनआरटिका अन्जन बिष्ट र कृतिश रत्न छुन्जु रहे । उनीहरुले प्रतियोगिताभर समान २ गोल गरेका थिए ।
    सर्वाधिक गोलकर्ता तीनै खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा आयोजक टोलीका विकेश कुथु चुनिए । टोलीका कप्तान समेत रहेका विकेशले ५० हजार प्राप्त गरे । आयोजक टोलीका सन्दीप कार्की उदयीमान खेलाडी भए । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

     

  • उत्कृष्ट खेल पस्कँदै रुपेश र सिन्दिरा अगाडि

    भक्तपुर, माघ १७
    राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सिन्दिरा जोशीले अग्रता लिएको छ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौंडामा जारी २५ औं पुरुष र १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा आठौं चरणको खेल सम्पन्न हुँदा पुरुषतर्फ रुपेश र महिलातर्फ सिन्दिराले अग्रता लिएको हो ।
    पूर्व नेपाल च्याम्पियन रुपेशले सिएम नविन तण्डुकारलाई पराजित गर्नु पूर्व युवा पुरुषोत्तम सिलवालसँग बराबरी खेल खेलेका थिए । रौतहटका रुपेशले जारी प्रतियोगितामा उत्कृष्ट २३०५ रेटिङ्ग पर्फोमेन्स खेल प्रदर्शन गर्दै आफ्नो व्यक्तिगत ३३.८ रेटिङ्ग बृद्धि गर्न सफल भएका छन । उनले २०९३ रेटिङ्गवाट खेल प्रारम्भ गरेका थिए ।
    हेटौंडास्थित होटल सामनाको सभाहलमा चलिरहेको प्रतिस्पर्धामा एफएम क्षितिज भण्डारी, काठमाण्डौंका पुरुषोत्तम सिलवाल र झापाका राजन सुवेदीले समान ५.५ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगटेका छन् ।


    मकवानपुरका क्षितिजले २०९१ रेटिङ्ग स्तरको खेल खेल्दै आफ्नो ६ दशमलव ५ रेटिङ्ग बृद्धि गरेका छन् । उदीयमान पुरुषोत्तमले २०९० को स्तरिय खेल खेल्दै २२ रेटिङ्ग बृद्धि गरेका छन् । वर्तमान नेपाल च्याम्पियन राजन २१३५ रेटिङ्ग पर्फोम गर्दै व्यक्तिगत ३२ दशमलव ८ रेटिङ्ग बढाउन सफल भएका छन् ।
    अन्तिम तिन चरणको खेल बाँकी हुदा सिएम शुश्रुत दहाल ५ अंक बनाउदै एकल तेस्रो स्थानमा छन् । झापाका शुश्रुतले २०४२ रेटिङ्ग पर्फोम गर्दै व्यक्तिगत ५ रेटिङ्ग बृद्धि गरेका छन् । दोलखाका आशिष फूँयाल र काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ४ दशमलव ५ अंक जोडेर चौथो स्थानमा टिकेका छन् ।
    यसैगरी दशौं महिला राष्ट्रिय बुद्धिचालमा वर्तमान वुमन नेशनल च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ट प्रदर्शन गरी पुनः उपाधि तर्फ बढेकी छिन् । काठमाण्डौंकी सिन्दिराले ६ दशमलव ५ अंक जोड्ने क्रममा पाँच जीत र तिन खेल बराबरी खेलेकी छिन् ।


    नयाँ उदीयमान खेलाडीद्वय बाँकेकी इशा गिरी र काठमाण्डौंकी एञ्जल महर्जन दुवैले समान ६÷६ अंक जोडेका छन् । संयुक्त दोश्रो स्थान प्राप्त गर्ने क्रममा युवा खेलाडी इशाले एक हार, पाँच जीत र दुई खेल बराबर खेलेकी छिन । यस्तै युवा एञ्जलले दुई खेलमा हार व्यहोरे भने ६ वटा खेलमा जीतको स्वाद चाखेकी छिन् ।
    मोरङकी शान्ति धिमालले एक हार, एक बराबरी र ५ खेलमा जीत गर्ता गर्दै ५ दशमलव ५ अंक जोडेर तेस्रो स्थानमा रहन सफल भएका छन् भने किर्तिपुर काठमाण्डौंकी बिनिता कपालीले तिन हार र पाँच खेलमा जीत हासिल गर्दै सम्भावना जगाएका छन् ।

  • राष्ट्रिय बुद्धिचालमा महिलातर्फको प्रतिष्पर्धा रोचक बन्दै, पुरुषतर्फ रुपेशको अग्रता

    भक्तपुर, माघ १६
    नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौंडामा जारी १० औं महिला तथा २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा महिलातर्फको प्रतिष्पर्धा रोचक बन्दै गएको छ भने पुरुषतर्फ रुपेश जैसवालको अग्रता कायम रहेको छ ।
    हेटौंडास्थित होटल सामनामा जारी प्रतियोगिताको महिलातर्फ काठमाण्डौंकी सिन्दिरा जोशी र एञ्जल महर्जनले संयुक्त पहिलो स्थानमा रहेकी छिन । छैटौं चरणको समाप्तिमा साबिक विजेता सिन्दिरालाई कडा टक्कर प्रस्तुत गरेकी १३ वर्षीय एञ्जलले समान ५ अंकमा रहँदै प्रतिष्पर्धालाई रोचक बनाएको हो ।
    सिन्दिराले झापाकी कृतिसारा अधिकारीसँग खेल बराबरी गर्दा एकल अग्रता कायम गर्ने मौका चुकाएकी छिन् भने एञ्जलले ताप्लेजुङकी शुशिला गुरुङलाई हराउदै स्कोर बराबरी गर्न सफल भइन ।
    प्रतिस्पर्धामा साढे ४ अंक बनाउदै संयुक्त दोश्रो स्थान ओगट्न सफल बाँकेकी इशा गिरि र मोरङकी शान्ति धिमालले शीर्ष खेलाडीलाई पछ्याइरहेका छन । झापाकी पुनम प्रसाईं र काठमाण्डौंकी बिनिता कपाली समान ४ अंक जोडेर संयुक्त तेस्रो स्थानमा रहेका छन् । छैटौं चरणको खेलमा विनितालाई हराएर पुनमले महत्वपूर्ण अंक जोडेका हुन् ।


    पुरुषतर्फ एफएम रुपेश जैसवालले ६ चरणको खेलमा ५.५ अंक जोडेर आफ्नो अग्रता कायम राखेका छन् । पूर्व नेपाल च्याम्पियन समेत रहेका रुपेशले पोजिसन डाउन अवस्थामा अनुभव प्रयोग गर्दै खेल उल्टाएका हुन् ।
    दोश्रो स्थानको लागि कडा प्रतिस्पर्धामा मकवानपुरका एफएम क्षितिज भण्डारी, दोलखाका आशिष फूँयाल र काठमाण्डौंका पुरुषोत्तम सिलवाल समान ४ अंक बनाएर रुपेशलाई पछ्याइ रहेका छन् ।
    अन्य चार जना खेलाडीले साढे ३ अंक जोडेर तेस्रो स्थानलाई साझा बनाएका छने । जसमा झापाका सिएम शुश्रुत दहाल, काठमाण्डौंका एफएम रिजेन्द्र राजभण्डारी, वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी र काठमाडौंका प्रेमकृष्ण महर्जन रहेका छन् ।
    प्रतियोगिता संयोजक महासंघका महासचिव धरम बहादुर लामाले राष्ट्रिय विजेतालाई काजकिस्तानमा हुने ४६औं ओलम्पियाड, श्रीलंकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता र अन्य अफिसियल खेलमा महासंघले सहभागीता गराउने निर्णय गरेको जानकारी दिए ।
    मकवानपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताको कूल २५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

     

  • पूर्वस्ट्राइकर अनुले घरेलु फुटबलबाट पनि लिए सन्यास

    भक्तपुर, माघ १६
    करिव ६ वर्षअघि नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्यास लिएकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार सम्पन्न एन्फा महिला लिगको फाइनलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गरी उपाधि जिते लगत्तै उनले सन्न्यास लिएकी हुन् ।
    लिगको फाइनलमा ८७औं मिनेटमा रेनुका नगरकोटेको स्थानमा कप्तानी आर्मब्यान्ड लगाउँदै मैदान छिरेकी अनुले इन्ज्युरी समयमा एक गोल समेत गरेकी थिइन ।
    अनुले सन् २०१० मा बंगलादेशविरुद्ध दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबल प्रतियोगितामा नेपाली यु–२३ टोलीमा डेब्यू गरेकी थिइन् । उनले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई कांस्य पदक जिताउन महत्वपूर्ण योगदान दिइन् । अनुले पाकिस्तानविरुद्धको सेमिफाइनलमा ह्याट्रिक गर्दै नेपाललाई ७–० को जित दिलाएकी थिइन् ।
    त्यही वर्ष आयोजना भएको साफ महिला च्याम्पियनसिप खेल्न उनलाई नेपाल राष्ट्रिय महिला टोलीमा बोलाइएको थियो । उनले डिसेम्बर १२ मा माल्दिभ्सविरुद्धको डेब्यु खेलमै गोल गरेकी थिइन् । उक्त खेलमा नेपालले ३–० को जित हासिल गरेको थियो । त्यसको दुई दिनपछि अफगानिस्तानसँगको भेटमा उनी एक्लैले पाँच गोल गर्दै १३– ० को जित दिलाएकी थिइन् ।
    यस्तै, पाकिस्तानसँगको १२–० को जितमा पनि उनले ह्याट्रिक गरेकी थिइन् । बंगलादेशलाई ३–० ले हराउँदा उनले एक गोलको योगदान दिए पनि नेपाल फाइनलमा पराजित भएको थियो । उनले तीनपल्ट साफमा सहभागिता जनाएकी छन् । जसमा २१ गोल गर्दै नेपालका लागि सर्वाधिक गोलकर्ताको सूचीमा उनी अग्रस्थानमा पुगेकी थिइन् ।
    उक्त कीर्तिमानलाई सावित्रा भण्डारीले मात्रै पछ्याइरहेकी छन् । अनुले साफसहित राष्ट्रिय जर्सीमा ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छन् । यद्यपि, एसिएल शल्यक्रियापछि डिसेम्बर २०१६ देखि उनलाई बेन्चमा राखिएको थियो । अनुले शल्यक्रियापछि डेढ वर्षको विश्राम लिएर पुनः खेलमा फर्किएकी थिइन् । तर उनी कहिल्यै राष्ट्रिय टोलीको पहिलो रोजाइमा परिनन् ।
    उनको लोभलाग्दो प्रदर्शनका बाबजुद सन् २०१९ मा भएको १९औं सागअन्तर्गत विराटनगरमा सम्पन्न महिला फुटबलमा तत्कालीन मुख्य प्रशिक्षक हरि खड्काले उनलाई टोलीमा राखेका थिएनन् । त्यसैले उनले एन्फा डेको अवसर बनाएर अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएकी थिइन् ।
    करिब ६ वर्षअघि नै अन्तर्राष्ट्रिय खेल जीवनबाट उनले सन्न्यास लिइसकेकी थिइन् । यद्यपि, ३७ वर्षीय अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल भने खेल्दै आएकी थिइन् ।
    उनले सन्न्यास लिने भएसँगै महिला लिगको फाइनलअघि नै एपिएफका प्रशिक्षक, स्टाफ र खेलाडीहरूले अनुसँग सामूहिक तस्बिर लिएका थिए । खेल सकिनेबित्तिकै भावुक बनेकी उनलाई एपिएफका खेलाडीले गार्ड अप द अनरबाट सम्मान गर्दै बिदाइ गरेका थिए ।

  • अपराजित सहँदैं एपिएफ बन्यो एन्फा महिला फुटबल लिगको च्याम्पियन

    भक्तपुर, माघ १६
    सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लव एन्फा महिला फुटबल लिगको च्याम्पियन बनेको छ । एपिएफ लिगको बुधवार सम्पन्न फाइनलमा विभागीय डर्वी नेपाल पुलिस क्लवलाई ४–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनलमा एपिएफलाई च्याम्पियन बनाउन सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे । एपिएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल पुगेको थियो ।


    अखिल नेपाल फुटबल संघले पहिलो पटक महिला लिगलाई लिग, सुपर लिग हुँदै प्लेअफ फम्र्याटमा खेलाइएको हो । एपिएफ लिग, सुपर लिग र प्लेअफमा अपराजित रहँदैं च्याम्पियन बनेको हो ।
    एपिएफ महिला लिगमा यो लगातार चौंथो पटक च्याम्पियन बनेको हो । लिगभर उत्कृष्ट प्रदर्शन गर्दै आएको एपिएफलाई च्याम्पियन बनाउन ६४औं मिनेटमा सविताले गोल गर्दै अग्रता दिलाए । अनिता केसीले दिएको बलमा सरू लिम्बुले बक्स भित्रबाट दिएको सटिक पासमा सविताले क्लोज रेन्जबाट गोल गरिन् ।


    ६९ औं मिनेटमा सरुले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् । निशा थोकरको लामो पासमा रश्मी कुमारी घिसिङको हेडर पोलमा लागेर फर्कियो । रिबाउन्डमा सुरुले गोल गरेकी हुन ।
    खेलको ८३ औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । प्रीती राईको पासमा सविताले अर्को गोल गरेकी हुन । इन्ज्युरी समयमा अनुले खाली पोष्टमा गोल गर्दै टिमलाई ४–० को जित दिलाइन् ।


    यसअघि खेलको पहिलो हाफमा एपिएफले पुलिसमाथि दबाब बनाउँदै गोल गर्ने केही अवसर बनाएपनि फिनिसिङ राम्रो हुन सकेन । ३० मिनेटमा अनिता केसीले करिब १५ यार्डबाट हानेको हाफ भलि पुलिसकी गोलकिपर उषा नाथले बचाइन् । ३२ औं मिनेटमा एपिएफले पुलिसको पेनाल्टी बक्स बाहिर फ्रिकिक पाएको थियो । त्यसमा कप्तान अनिताले हानेको प्रहार बारमाथिबाट बाहिरियो ।
    पुलिसले भने पहिलो हाफमा एपिएफको पोष्टमै बल पु¥याउन संघर्ष गर्नुपरेको थियो । दोस्रो हाफमा पनि एपिएफले शुरुवात देखि नै पुलिसमाथि दबाब बनाएको थियो ।


    यस सिजनको महिला लिगमा एपिएफ र पुलिसको यो चौंथो भेट हो । एपिएफले पुलिसलाई हराएको तेस्रो पटक हो । यी दुई बीचको एक खेल बराबरीमा सकिएको थियो । एपिएफले लिगका १९ खेलमा १८ जित र एक बराबरीको नतिजा हात पा¥यो । त्यो एक बराबरी लिग चरणमा पुलिसविरुद्ध नै थियो ।
    अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपिएफले पहिलो चरणको लिगमा ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम चरणमा स्थान बनाएको थियो । सुपर लिग डबल राउन्ड रोबिन फरम्याटमा भयो । जहाँ एपिएले ८ मा ८ खेल नै जित्यो । एपिएफ शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरको हकदार एपिएफ बनेको थियो । पहिलो क्वालिफायरमा भने एपिएफलाई जित निकाल्न कठिन बनेको थियो । पुरा लिगमा एपिएफ नवाबमा परेको यो नै एक मात्र खेल थियो । पहिलो हापमा १–० ले पछि परेको एपिएफ दोस्रो हाफको अन्त्य तिर आर्मीमाथि दुई गोल गर्दै फाइनल प्रवेश गरेको थियो ।


    च्याम्पियन बनेसँगै एपिएफले नगद १० लाख पुरस्कार प्राप्त गरे । उपविजेता बनेको पुलिसले ५ लाख हात पारे ।
    एन्फा महिला लिगमा एपिएफलाई च्याम्पियन बनाउँन महत्वपुर्ण भुमिका खेलेकी सविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन । सविताले सर्वोत्कृष्ट खेलाडीको सम्मानमा नगद रु १ लाख नगद प्राप्त गरिन् ।
    च्याम्पियन एपिएफकै रश्मिकुमारी घिसिङ प्रतियोगिताको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहिन् । रश्मिले लिग भरमा ३९ गोल गरेकी थिइन् । उनले सर्वाधिक गोलकर्ताको सम्मान स्वरुप नगद रु ५० हजार प्राप्त गरिन् । प्रतियोगिताको उत्कृष्ट गोल रक्षकका रुपमा एपिएफकी सावित्री किसान भइन् । उनले यो सम्मान बापत नगद रु ५० हजार प्राप्त गरिन् ।
    प्रतियोगिताको फेयर प्ले अवार्ड विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । अवार्डका साथ आर्मीले नगद रु १ लाख ५० हजार प्राप्त गरेको छ । रेनुका नगरकोटे फाइनल खेलको प्लेयर अफ द म्याच भइन् ।

  • २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडामा शुरु

    भक्तपुर, माघ १३
    नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आइतवारबाट हेटौंडामा शुरु भएको छ ।
    हेटौंडास्थित होटल सामनामा सञ्चालन भएको प्रतियोगिताको पहिलो चरणको खेलवाट राजन सुवेदी, रुपेश जैसवाल, क्षितिज भण्डारी, प्रेमकृष्ण महर्जन, नवीन तण्डुकार र आशिष् फूँयालले समान महत्वपूर्ण १ अंक जोड्न सफल भएका छन् ।
    प्रतियोगितामा नेपाल च्याम्पियन झापाका राजन सुवेदीले पहिलो चरणको खेलमा ललितपुरका टाक्टिस मास्टर सरोज महर्जन पराजित गर्दै विजयी शुरुवात गरे । प्रतियोगितामा सिएम शुश्रुत दहालले पूर्व नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसँग हार ब्यहोरे । क्षितिज भण्डारीले आशा गरिएका युवा खेलाडी पुरुषोत्तम सिलवाललाई लामो ¥र्याली खेलमा निराश पारे ।
    अर्को खेलमा काठमाडौंका प्रेमकृष्ण महर्जनले सुनसरीका धिरेन राईलाई कठिन खेलमा हराउन सफल भए । अनुभवी खेलाडी प्रेमकृष्णले धिरेन विरुद्ध सटिक चाल चाल्दै खेल आफ्नो पक्षमा पार्न सफल भएका थिए ।
    पूर्व नेपाल च्याम्पियन एवं सिनियर खेलाडी सिएम नवीन तण्डुकारले भक्तपुरका युवा खेलाडी विनय थापालाई सहज रुपमा पराजित गरेका छन् । यस्तै दोलखाका युवा खेलाडी आशिष् फूँयालले एफएम रिजेन्द्र राजभण्डारी विरुद्ध उत्कृष्ट खेल पस्केर पिस अप हुदै जितको स्वाद चाखे ।
    महिलातर्फ ईशा गिरी, एञ्जल महर्जन, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, शुशिला गुरुङ र बिनिता कपालीले एक एक अंक जोडेर प्रतियोगितामा राम्रो शुरुआत गरेका छन् ।
    प्रतियोगितामा उदीयमान खेलाडी ईशा गिरिले झापाका पुनम प्रसाईं र एञ्जल महर्जनले ओलम्पियाड शान्ति धिमाल, सिन्दिरा जोशीले निहाना श्रेष्ठ, झापाका कृतिसारा अधिकारीले नयुमा मगर, ताप्लेजुङका शुशिला गुरुङले चितवनका लक्ष्मी कँडेल र बिनिता कपालीले दानिशा पुरीलाई पराजित गरे ।
    महासंघले केही वर्ष यता राष्ट्रिय च्याम्पियनसिपमा नेशनल सिनियर च्याम्पियनका शिर्ष तिन जना खेलाडी र नेशनल बी वाट शिर्ष ९ जना खेलाडी समावेश गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
    जस अनुसार महिला र पुरुष दुबै विधाका समान १२ जना खेलाडी बीच एक अर्का सँग ११ चरणको प्रतिस्पर्धा मार्फत राष्ट्रिय बिजेता घोषणा हुने छ ।
    प्रतियोगिताका संयोजक महासंघका महासचिव धरम बहादुर लामाले प्रतियोगिता सञ्चालन गर्न २५ लाख खर्च हुने र सो खर्च बागमती प्रदेश खेलकुद विकास परिषद, राष्ट्रिय खेलकुद परिषद, हेटौंडा उपनगरपालिका लगायतका निकायबाट सहयोग हुने बताए ।

     

  • प्रोटिन हाफ म्याराथनको उपाधि सन्तोषी र राजनले जिते

    भक्तपुर, माघ १३
    ओलम्पियन सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका राजन रोकायले शनिवार सम्पन्न राइट टु प्रोटिन रन हाफ म्याराथनको चौंथो संस्करणको उपाधि जितेका छन् । सन्तोषीले महिलातर्फ र राजनले पुरुषतर्फको उपाधि जितेका हुन ।
    सन्तोषीको यो तेस्रो उपाधि हो । यसअघि पहिलो र तेस्रो संस्करणको उपाधि जितेकाी सन्तोषीले दोस्रो संस्करणमा सहभागिता जनाएको थिएन । सन्तोषीले नखेलेको दोश्रो संस्करणमा फुलमति राना पहिलो भएकी थिइन् ।
    यस्तै पुरुष विजेता राजनको पनि यो तेस्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । पुरुषमा पहिलो संस्करणमा तीर्थ पुन तथा दोश्रो र तेश्रो संस्करणमा दीपक अधिकारी पहिलो भएका थिए ।
    दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता ओलम्पियन सन्तोषीले निर्धारित दूरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा तय गरिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (१ घण्टा २२ मिनेट ५१ सेकेन्ड) दोश्रो तथा एपीएफकी पुष्पा भण्डारी (१ घण्टा २४ मिनेट २१ सेकेन्ड) तेश्रो भए । आर्मीकी निर्मला केसीले चौथो तथा नेपाल प्रहरीकी सुमित्रा चौधरीले पाँचौं स्थानमा दौड टुंगाए ।
    निर्धारित २१ किलोमिटर दूरी पूरा गर्न राजनले १ घण्टा ०६ मिनेट १० सेकेन्ड समय खर्चे । राजन भन्दा ५ सेकेन्डले पछि आर्मीकै खडकबहादुर खड्का १ घण्टा ०६ मिनेट १५ सेकेन्ड समयसाथ दोश्रो भए । १ घण्टा ०६ मिनेट २० सेकेन्ड समयसाथ वाहोमका जुलियस मुरलुकी तेश्रो बने । आर्मीका मुकेशबहदाुर पाल चौथो र सुशीलकुमार शाही पाँचौं भए ।
    पुरुष÷महिला दुवैमा शीर्ष ५ स्थानमा रहनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ७० हजार, ५० हजार र ३० हजार रुपैयाँ प्राप्त गरे ।

    नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका सञ्जय श्रेष्ठ पहिलो भए । उनले ३० मिनेट १०.०७ सेकेन्डमा दौड सकाए । दोलखाका मिङमार शेर्पा (३१ मिनेट ०८.४० सेकेन्ड) दोश्रो तथा आर्मीका दीपक अधिकारी (३१ मिनेट १७.२९ सेकेन्ड) तेश्रो भए ।
    आर्मीका रामजी बस्नेत चौथो र एपीएफका सन्तोषविक्रम विष्ट पाँचौं भए । पहिलोले ५० हजार, दोश्रोले ४० हजार, तेश्रोले ३० हजार, चौथोले २० हजार र पाँचौं १० हजार रुपैयाँ पाए ।
    महिला ५ किलोमिटर दौडमा एपीएफकी फुलमति राना पहिलो हुँदा २३ मिनेट १३ सेकेन्डको समय निकालिन् । एपीएफका आशा रावत दोश्रो तथा दिपा परियार तेश्रो भए । दौड पूरा गर्न आशाले २३ मिनेट ३७ सेकेन्ड तथा दिपाले २३ मिनेट ४५ सेकेन्ड समय लगाए । जुम्लाकी राज्यलक्ष्मी रावल चौथो र आर्मीकी रेखा लिम्बूले पाँचौं स्थान हासिल गरे ।
    विद्यालयतर्फ (कक्षा १२ सम्म) ५ किलोमिटर पुरुषमा लोकेन्द्र बोहरा पहिलो भए । उनले २१ मिनेट २०.८६ सेकेन्ड खर्चे । २१ मिनेट २३.२७ सेकेन्डसाथ कृष्णबहादुर परियार दोश्रो तथा २१ मिनेट २५.१४ सेकेन्डसाथ हस्त सुनार तेश्रो बने । सम्राट कोयाहाङ लिम्बू चौथो तथा पुकारजंग बस्नेत पाँचौं भए ।
    व्हीलचेयरको पुरुषमा रमेश खत्री, प्रेमबहादुर विक, दिपक आले मगर, विष्णुपुकार श्रेष्ठ र अर्जुन दोङ क्रमशः शीर्ष ५ स्थानमा रहे । सो स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमाल पहिलो, यानी झाँक्री मगर दोश्रो, रजनी राई तेश्रो, हिउँकला साउद चौथो र मिना मगर पाँचौं भए ।
    चारै स्पर्धामा शीर्ष ५ स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
    विद्यालयतर्फ (कक्षा १२ सम्म) महिला ३ किलोमिटरमा अस्मिता भुजेल १७ मिनेट ३०.६७ सेकेन्ड टाइमिङमा पहिलो भइन् । १७ मिनेट ५१.५५ सेकेन्ड समयमा नारायणी भण्डारी दोश्रो तथा १८ मिनेट ००.०५ सेकेन्ड समयमा भगवती खड्का तेश्रो भए । पूजा पछाईं चौथो र पुष्पा शर्मा पाँचौं भए । पहिलो हुनेले २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ५ हजार र पाँचौंले २ हजार ५ सय नगद पुरस्कार पाए ।
    विजेतालाई कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, राइट टु प्रोटिन हाफ म्याराथनका संयोजक डा. सितलकाजी श्रेष्ठलगायतले पुरस्कृत गरे ।
    युनाइटेड स्टेट्स सोयबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को मुख्य प्रायोजन, पशु सेवा विभाग र नेपाल दाना उद्योग संघको सहयोग तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा करिब ८ हजारको सहभागिता रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।
    दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भइ विभिन्न भागको परिक्रमा गरी दशरथ रंगशालामै आएर टुंगिएको थियो । उक्त ८ स्पर्धा बाहेक बालवालिकाको रन फर फनमा पनि प्रतिस्पर्धा भएको थियो ।