Category: खेलकुद

  • पिएनजी विरुद्ध नेपालको संघर्षपूर्ण जित

    भक्तपुर, भाद्र २२
    नेपालले पपुवा न्युगिनीविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण एकदिवसीय क्रिकेट खेलमा संघर्षपूर्ण जित निकालेको छ । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र सोमपाल कामीको संयमित ब्याटिङले नेपालले २ विकेटको संघर्षपूर्ण जित निकालेको हो ।
    पपुवा न्युगिनीको १३४ रनलाई पछ्याउने क्रममा नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको जितमा रोहित कुमारको ४१ र सोमपालको २२ रनको महत्वपूर्ण योगदान रहयो । रोहितले ६५ बलमा २ चौका सहित सर्वाधिक ४१ रनको योगदान दिए । सोमपाल ३२ बलमा १ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । दुवैले आठौं विकेटका लागि ५२ रनको महत्वपूर्ण साझेदारी गरे ।
    खेलमा नेपालले राम्रो शुरुवात गरेको थियो । युवा ओपनर आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई पहिलो विकेटका लागि ११.१ ओभरमा ४६ रनको साझेदारी गरेका थिए । २८ बलमा २ चौका प्रहार गरी १५ रन बनाएका कुशललाई चन्द सोपरले एलवीडब्लू आउट गर्दै पिएनजीलाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि नेपालले लगातार विकेट गुमाउन थाल्यो र एक समय ८२–७ को कठिन अवस्थामा पुगेको थियो ।


    कुशलपछि अर्का ओपनर आसिफ शेख ४६ बलमा ४ चौका सहित ३० रनमा क्याच आउट भए । आसिफलाई डेमियन राभूले गौडी टोकाबाट क्याच गराएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा आउट भए । ज्ञानेन्द्र १७ औं ओभरमा राभूको बलमा एज लागेर विकेटकिपर किप्लिङ डोरिगाबाट क्याच आउट भए । २० बल खेलेका ज्ञानेन्द्रले बाउन्ड्री प्रहार गर्न सकेनन् । आरिफ शेख सोपरको बलमा ९ रनमा एलबीडब्लू आउट हुँदा नेपाल ६२–४ को अवस्थामा थियो ।
    अनुभवी व्याट्सम्यान शरद भेष्वाकरपनि चल्न सकेन । उनी पनि ६ रनमा क्याच आउट भए । शरद नोसैना पोकनाको बलमा क्याच आउट भएका हुन । टोकाले २८ औं ओभरको पाँचौं बलमा कुशल मल्ललाई एक रनमा स्टम्पिङ आउट गरे । लगत्तै अर्को बलमा पवन सरार्फ गोल्डेन डक आउट हुँदा नेपाल २८ ओभरमा ८२–७ को संकटपूर्ण अवस्थामा पुगेको थियो । पिएनजीका गौडी टोकाले सर्वाधिक तीन विकेट लिए । डेमियन राभू र चन्द सोपरले दुई दुई विकेट लिए ।
    त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजी ३३ ओभरमा १ सय ३४ रनमा अल आउट भएको थियो । पिएनजीका ओपनर लेगा सियाकाले सर्वाधिक ३० रनको योगदान दिए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।


    पिएनजी विरुद्ध नेपाललाई युवा बलर विक्रम सोबले पहिलो सफलता दिलाए । उनले डेब्यु खेलको पहिलो बलमा नै विकेट लिन सफल भए । विक्रम ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गरेसँगै ओडिआई डेब्यूको पहिलो बलमै विकेट लिने नेपालका पहिलो खेलाडी बन्न सफल भए । समग्रमा उनी ओडिआई करीअरको पहिलो बलमै विकेट लिने विश्वकै २८ औं खेलाडी समेत बने ।
    विकेटसँगै विक्रमले ओभर मेडन राखेका थिए । विक्रमले चौथो ओभरको अन्तिम बलमा कप्तान असाद भालालाई आरिफ शेखबाट चार रनमा क्याच गराउँदै नेपाललाई अर्को सफलता दिलाए । खराब सुरुवात गरेको पिएनजीलाई तेस्रो विकेटका लागि लेगा र चाल्र्सले ५० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

    स्पिनर सन्दीप लामिछाने १२ औं ओभरको पाँचौं बलमा चाल्र्सलाई २३ रनमा आरिफ शेखबाट क्याच गराएपछि पिएनजीको गति आरोलो लाग्न थाल्यो । लगत्तै अर्को ओभरको पाँचौं बलमा ओपनर लेगा सियाका ३० रनमा कट एण्ड बोल्ड आउट भए । स्पिनर कुशल मल्लको बलमा ठूलो सट खेल्ने धुनमा लेगा टप एज लागेर क्याच आउट हुन पुगेका थिए । लेगाले ३८ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

    सन्दीपले २० औं ओभरको पहिलो बलमा सेसे बाउलाई कुशलबाट १४ रनमा क्याच आउट गराए । बाउले २४ बलमा २ चौका प्रहार गरे । कुशलले विकेटकिपर किप्लिङ डोरिगालाई कुशल भुर्तेलबाट १५ रनमा क्याच गराए । सन्दीपले जेसन किलालाई शून्यमा एलबिडब्लू आउट गर्दा पिएनजी २३.३ ओभरमा ९७–७ को कमजोर अवस्थामा पुगेको थियो ।
    सोमपाल कामीले २९ बलमा २ चौका प्रहार गरी २४ रन बनाएका गौडी टोकालाई भुर्तेलबाट क्याच आउट गरे । अन्तिम विकेटका लागि सन्दीपले नोसैना पोकनालाई एक रनमा एलबीडब्लू आउट गरेका थिए । चन्द सोपार ३३ बलमा १ चौका सहित १७ रनमा अविजित रहे ।
    नेपालका लागि स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । विक्रम सोबले ५ ओभरमा १ मेडन सहित २० रन खर्चेर २ विकेट लिए । स्पिनर कुशल मल्लले ७ ओभरमा १ मेडन सहित १९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । नेपालले पिएनजीसँग दोस्रो ओडिआई खेल शुक्रबार खेल्ने छ ।
    आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नु अघि नेपालले तयारी स्वरुप दुई ओडिआई खेल खेल्ने वातावरण मिलाएको हो ।

  • अग्रता जोगाउन नसक्दा नेपाल भारतसँग रोकियो

    भक्तपुर, भाद्र १९
    भारत विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल बराबरीमा रोकिएको छ । काठमाण्डौंको दशरथ रंगशालामा बिहिवार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा नेपाल एक गोलको अग्रता जोगाउन नसक्दा अन्ततः भारतसँग बराबरीमा रोकिएको हो ।
    प्रतिस्पर्धात्मक खेलमा नेपालले खेलमा ३६ औं मिनेटमा अञ्जन बिष्टको गोलले अग्रता लिएको थियो । अञ्जनले भारतीय खेलाडीको गल्तीको फाइदा उठाउँदैं गोल गर्न सफल भएका थिए । भारतका चिनलेनिना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अन्जनले नियन्त्रणमा लिदै गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका हुन् ।


    भारतले खेलको ६० औं मिनेटमा सब्सिच्युट अनिरुद थापाको गोलको सहायताले खेललाई बराबरीमा ल्याए । भारतिय कप्तान सुनिल क्षेत्रीले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई नेपाली कप्तान गोलरक्षक किरणले पञ्च गर्दै बचाएपनि उनीसँगै रहेका सब्सिच्युट अनिरुदले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीबाट गोलका केही अवसरहरु सिर्जना भएपनि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो ।


    यसअघि खेलको चौथो मिनेटमा अञ्जन गोल गर्नबाट चुकेका थिए । उनको क्रसलाई भारतीय गोलरक्षक गुरुप्रित सहजै नियन्त्रणमा लिए । खेलको २४औं मिनेटमा ब्रनडन फर्नान्डेसको कर्नरलाई गोलक्षक किरण चेम्जोङले पञ्च गर्दै खतरा टारे । २६औं मिनेटमा आयुष घलानको क्रसलाई फरवार्ड नवयुग श्रेष्ठले भेटाउन नसक्दा नेपालले मौका सिर्जना गर्न सकेन । २८औं मिनेटमा पुजन उपरकोटीको प्रहार फितलो बन्यो । ३२औं मिनेटमा सुमन लामालाई फउल गरेपछिको प्राप्त फ्रिकिकमा अन्जनको प्रहार अकासियो ।


    दोस्रो हापको ५०औं मिनेटमा गोलरक्षक किरणले गल्ती गर्दा भारतले पाएको फ्रिकिकलाई किरणले नै खतराबाट बचाए । ७९औं मिनेटमा विशाल राईले नेपाललाई पुनः अग्रता दिलाउने सुवर्ण अवसर गुमाए । मनिष डाँगीको क्रसमा पेनाल्टी बक्समा प्राप्त सुवर्ण अवसरमा विशालले प्रहार फितलो बन्दा नेपालले पुनः अग्रता लिने अवसर गुमाएको थियो । ।
    यस् दुई टोलीबीचको दोस्रो मैत्रीपुर्ण खेल आइतबार हुनेछ । नेपाल र भारत दुवै टोली साफ च्याम्पियनसिपको तयारीमा रहेको छ । साफ च्याम्पियनसिप अर्काे महिना माल्दिभ्समा आयोजना हुदैछ ।

  • भक्तपुर फुटबल क्लवको लक्ष्य सी डिभिजन

    भक्तपुर, भाद्र ५
    भक्तपुरको सिद्धि स्मृति भक्तपुर फुटबल क्लवले शहिद स्मारक सी डिभिजन पुग्ने लक्ष्य राखेको छ । क्लवले आज फुटबल टोलीको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राम प्रजापतिले फुटबलमा भक्तपुरको पुरानो साख फिर्ता ल्याउन सी डिभिजनमा पुग्ने लक्ष्य राखेको बताए ।
    वि. सं. २०६५ सालमा स्थापना भएको क्लवले यसवर्ष सी डिभिजन छनोट प्रतियोगिताको तयारी गरिरहेको छ । विगतमा भक्तपुरका थुप्रै फुटबल खेलाडीहरुले राष्ट्रिय टोलीमा स्थान बनाएपनि केही वर्ष यता प्रायः शुन्यको अवस्था रहेको बताउँदैं अध्यक्ष प्रजापतिले यसवर्ष सी डिभिजन पुग्ने र क्रमशः ए डिभिजनसम्म पुग्ने क्लवको लक्ष्य रहेको जानकारी दिए ।
    क्लवले सी डिभिजनको छनोट प्रतियोगिताको लागि विरगंजको युनाईटेडका खेलाडीलाई क्लवमा आवद्ध गराई प्रशिक्षण गरीरहेको प्रशिक्षक दामोदर शिल्पकारले जानकारी दिए । ‘मैले विगतमा लामो समय विरगंजको युनाईटेडको प्रशिक्षक भएर टिम हेरेको आधारमा यसवर्ष भक्तपुर फुटबल क्लवबाट खेलाउन ल्याएका हौं,’ प्रशिक्षक शिल्पकारले भने ।
    टोलीले बिहान ८ बजेदेखी महेश्वरी खेल मैदानमा प्रशिक्षण गरिरहेको जानकारी दिँदैं मैदानको खराब अवस्थाले फुटसलमा लगेर प्रशिक्षण गराउनु पर्ने बाध्यता रहेको समेत बताए । ‘भक्तपुरमा एउटा स्तरिय मैदान समेत छैन । खेलाडी भएपनि मैदान नभएका कारण भक्तपुरको फुटबलको स्तर उठ्न नसकेको हो,’ उनले भने ।


    प्रशिक्षणमा खेलाडीहरुको फिटनेसलाई विशेष ध्यान दिईएको र उनीहरुको खेल क्षमता विकासका लागि मैत्रीपूर्ण खेलमा जोड दिएको शिल्पकारले बताए । उनले हालै ए डिभिजन क्लवसँग मैत्रीपुर्ण खेल खेलेको र त्यसमा ५–१ ले पराजित भएपनि एक गोल गर्न सक्नु क्लवको सफलता भएको बताए ।
    पत्रकार सम्मेलनमा क्लवका मुख्य प्रायोजक सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेलले प्रतिष्ठानको पाँच प्रमुख उद्देश्य मध्ये खेलकुद पनि एक भएकोले विगतदेखी नै प्रतिष्ठानले खेल क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिए । उनले खेलको विकासका लागि प्रमुख पुर्वाधारको रुपमा रहेको खेल मैदानको अभावले खेलाडीहरु पलायन हुने अवस्था रहेको बताए । ‘सम्पदा संरक्षणमा जस्तै स्थानीय तहको अग्रसरता खेल र खेल मैदानको विकास तथा बिस्तारमा पनि हुनुपर्छ,’ उनले भने ।
    क्लवका प्रायोजक गोर्खा ईको प्यानलका कार्यकारी प्रमुख सुरेश कवाँले फुटबलको क्षेत्रमा पनि भक्तपुरको पहिचान स्थापित गराउन आफ्नो उद्योग जोडिन पाउँदा खुसी लागेको बताए ।
    अर्को प्रायोजक डा. इवामुरा अस्पतालका राजुमृगेन्द्र जोशी र भक्तपुर ११ का श्यामशरण श्रेष्ठले विगतमा प्रायोजक नपाएकै कारण भक्तपुरको फुटबल माथि उठ्न नसकेको चर्चा गर्दै जिल्लामा ठूला उद्योग नभएका कारण पनि
    नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले दुई दशक अघि भक्तपुर फुटबलको उर्वराभुमीको रहेको भएतापनि केही वर्षदेखी फुटबल गतिविधि प्रायः शुन्यमा रहेको बताए । उनले भक्तपुरमा फुटबलको विकास गर्न जिल्ला स्तरिय प्रतियोगिताहरु निरन्तर चल्नुपर्नेमा जोड दिए ।
    सिद्धि स्मृति भक्तपुर फुटबल क्लव शहिद स्मारक सी डिभिजन छनोट प्रतियोगिताको समूह ‘आई’ मा रहेको छ । सो समूहमा युथ हसन्टार क्लव र भक्तपुरकै दिव्यश्वरी फुटबल क्लव रहेको छ । भक्तपुरले पहिलो खेल भदौ २२ गते युथ हसन्टारसँग खेल्ने छ भने समूह चरणको दोस्रो खेल दिव्यश्वरीसँग भदौ २६ गते खेल्ने तालिका छ ।
    यसवर्षको सी डिभिजन छनोट प्रतियोगितामा भक्तपुरका ६ क्लवले प्रतिष्पर्धा गर्दैछन । यसवर्ष सिद्धि स्मृति भक्तपुर फुटबल क्लव, दिव्यश्वरी फुटबल क्लव, मध्यपुर जागरुक युवा क्लव, थिमि युथ क्लव, भ्याली इगल्स क्लव र सत्य संसार रियल फुटबल क्लवले सहभागिता जनाउने भक्तपुर फुटबल संघका उपाध्यक्ष अनिल हेकाले जानकारी दिए ।

  • पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक सम्पन्न – अमेरिका शीर्ष स्थानमा

    भक्तपुर, साउन २५
    विश्व खेलकुदको कुम्भमेला गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण जापानको टोकियोमा आइतवार सम्पन्न भएको छ । कोरोना भाइरसको महामारी, विभिन्न संघ संस्थाको विरोधका बावजुद भव्य र सभ्य रुपमा सम्पन्न टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
    ओलम्पिकको ३३ औं संस्करण सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा हुने छ । जापानको राष्ट्रिय रङ्गशालामा आयोजित समापन समारोहमा अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले ओलम्पिक झण्डा पेरिसका मेयरलाई हस्तान्तरण गर्दै पेरिसमा तीन वर्ष पछि भेट्ने वाचा गरे ।
    उनले सो अवसरमा जापानी नागरिकप्रति धन्यवाद ज्ञापन गर्दै महामारीका कारण १६ दिने कार्यक्रम यसपालि अभूतपूर्व भएको बताए । उनले ओलम्पिक्स खेलकुदले विश्वलाई एकसाथ ल्याएको र सबैभन्दा मूल्यवान उपहार आशा दिएको टिप्पणी गरे । कोभिड महामारी हुँदाहुँदै सफलतापूर्वक खेलहरू सम्पन्न भएको अध्यक्ष बाचले बताए।
    टोकियो ओलम्पिकको अन्तिम दिन अमेरिकाले चीनलाई उछिन्दैं पदक तालिकामा शिर्ष स्थान कब्जा गरे । अमेरिकाले ३९ स्वर्ण ४२ रजत र ३३ कास्यसहित कुल १ सय १३ पदक जिते । दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक हात पारे ।
    आयोजक जापानले तेस्रो स्थान हात पारे । जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य गरी कुल ५८ पदक जित्यो । जापानको यो ओलम्पिक इतिहासमै उत्कृष्ट नतिजा हो ।

    त्यस्तै ग्रेट ब्रिटेन २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित कुल ६५ पदकका साथ चौंथो, रसियन ओलम्पिक कमिटि २० स्वर्ण, २८ रजत र २३ कास्यसहित कुल ७१ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
    अष्टे«लियाले १७ स्वर्ण, ७ रजत र २२ कास्यसहित ४६ पदक जितेर छैटौं स्थान हात पारे । सातौं स्थानको नेदरल्यान्ड्सले १० स्वर्ण, १२ रजत र १४ कास्य जिते । आठौं स्थानको फ्रान्सले १० स्वर्ण, १२ रजत र ११ कास्य जिते । १० स्वर्ण, ११ रजत र १६ कास्य जितेको जर्मनी नवौं स्थानमा रहे भने दशौं स्थानको इटालीले १० स्वर्ण, १० रजत र २० कास्यसहित ४० पदक जिते ।
    दक्षिण एसियाली राष्ट्रबाट भारतले १ स्वर्ण पदकसहित कुल ७ पदक जितेको छ । टोकियो ओलम्पिकमा ६३ राष्ट्रले स्वर्ण पदक जिते भने ८६ राष्ट्रले कुनै न कुनै पदक जिते ।
    बहराइन, साउदी अरब, लिथुवानिया, उत्तर म्यासेडोनिया, नामिविया र तुर्कमेनिस्तानले एक एक पदक जिते जुन स्वर्ण पदक रहेको छ । त्यस्तै कुवेत, सिरिया, मोल्डोभा, ग्रेनेडा, घाना, आइभरीकोष्ट, बोट्स्वाना र बर्किना फासोले एक एक कास्य पदक जिते ।
    टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सहभागी खेलाडीहरु मध्ये पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएपनि दोस्रो चरणमा पुग्न सकेन । जुडोकी सोनिया भट्ट पहिलो चरणमा नै पराजित भइन भने एथलेटिक्सकी सरस्वती चौधरीको प्रदर्शन सामान्य रह्यो ।

  • टोकियो ओलम्पिक–महिला फुटबलमा क्यानडालाई ऐतिहासिक स्वर्ण

    भक्तपुर, साउन २३
    जापानको टोकियोमा जारी ३२ औं गृष्मकालिन ओलम्पिकमा महिला फुटबलको स्वर्ण क्यानडाले जितेको छ । जापान नेशनल स्टेडियममा शुक्रबार सम्पन्न फाइनलमा क्यानडाले उपाधि दावेदार स्वीडेनको चुनौतीलाई पेनाल्टी सुटआउटको सडनडेथमा ३–२ ले पन्छाउँदै स्वर्ण हात पारेको हो ।
    क्यानडाले ओलम्पिक फुटबलमा जितेको यो पहिलो स्वर्ण हो । क्यानडाले यसअघि रियो र लण्डन ओलम्पिकमा क्यानडाले कास्य पदक जितेको थियो ।
    स्वर्णका लागि भएको भिडन्तमा निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले एक एक गोल गर्दै बराबरी खेलेका थिए । खेलमा स्विडेनले अग्रता लिएको थियो । खेलको ३४औं मिनेटमा स्टिना ब्ल्याकटेनिएसको गोलबाट स्वीडेनले अग्रता लिएको थियो । ६७औं मिनेटमा जेसी फ्लेमिङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएकी थिइन् । त्यसपछि थप गरिएको ३० मिनेटको समयमा कुनै गोल निस्कन सकेन र खेल पेनाल्टी सुटआउटमा गएको थियो ।


    पेनाल्टी सुटआउटमा दुवै टोलीले कमजोर प्रदर्शन गर्दा खेल रोमाञ्चक बनेको थियो । पेनाल्टीमा स्वीडेनकी कोसोभारे एस्लाएनीको पहिलो पेनाल्टी नै क्रसबारमा लाग्दै बाहिरिएको थियो । क्यानडाकी जेस्सी फ्लेमिङले गोल गरिन् । स्वीडेनकी नाथालि बिजोर्नले गोल गर्दा क्यानडाकी लरेन्सको प्रहारलाई स्वीडेनकी गोलरक्षक लिन्डालले बचाइन् र खेल १–१ को बराबरीमा पुग्यो ।
    त्यसपछि स्काउजले गोल गर्दै स्वीडेनलाई २–१ ले अघि बढाइन् । भेनेसा गिलेसको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा स्वीडेन अघि बढेको थियो । त्यसपछि एन्भेगार्डको प्रहारलाई लावीले बचाउँदै क्यानडाको सम्भावना जीवितै राखिन् । त्यसपछि एड्रिएना लिओनको प्रहार पनि गोल हुन नसकेपछि खेल रोमाञ्चक बनेको थियो । सेगरको प्रहार बाहिरिदा स्वीडेन जितबाट वञ्चित बन्यो । क्यानडाकी डिएनी रोसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् ।
    एन्डरसनको प्रहारलाई लावीले बचाउँदा क्यानडाको लागि छैटौ प्रहारमा आएकी जुलिया ग्रोस्सोले गोल गर्दै टोलीलाई ३–२ को रोमाञ्चक जितसहित ऐतिहासिक स्वर्ण दिलाइन् ।

  • ओलम्पियन थापा इन्स्पेक्टरमा बढुवा

    भक्तपुर, साउन २१
    ओलम्पियन देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । सन् २००८ को बेईजिङ ओलम्पिकमा सहभागी भएकी जुडो खेलाडी थापालाई बुधवार नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य सचिव रहेका प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले दज्र्यानी चिन्ह प्रदान गरे ।


    वि सं. २०४८ सालमा जवानबाट प्रहरी सेवामा प्रवेश गरेका थापा सेवा अवधीको तीन दशकमा प्रहरी निरिक्षकमा बढुवा भएका हुन । उनी २०५७ हवल्दार, २०६२ मा असई र २०६३ मा सईमा बढुवा भएकी थिइन् । जुडोकी प्रशिक्षक तथा रेफ्री समेत रहेकी थापाले दक्षिण एसियाली खेलकुद (साग) मा रजत र कास्य पदक जितेकी थिइन् ।
    १० औं सागमा रजत पदक जितेपछि उनी असईमा बढुवा भएकी थिइन् । जुम्लामा जन्मेकी थापाले २०५२ मा जुडो खेलाडीका रुपमा खेल जीवन अघि बढाएकी थिइन् ।

     

  • पाराल्याम्पिक टोलीलाई केल्मीको प्रायोजन

    भक्तपुर, साउन २१
    जापानको टोकियोमा यही अगष्ट २४ देखी ५ सेप्टेम्बरसम्म हुने पाराल्याम्पिक गेम्समा सहभागी हुने नेपाली टोलीलाई केल्मीले प्रायोजन गर्नेभएको छ । सो सम्बन्धमा नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रा.लि.का प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र नेपाल पाराल्याम्पिक कमिटीका सचिव विश्वास बस्नेतले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
    टोकियो पाराल्याम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनले प्रतिस्पर्धा गर्दैछिन् । उनले के ४४ अन्तर्गत ५८ केजी मुनी प्रतिस्पर्धा गर्नेछिन् ।
    पलेशाका साथमा टोकियो जाने प्रशिक्षक कविराज नेगी लामा, सेफ दि सरोज श्रेष्ठ, डाक्टर दीपक श्रेष्ठलाई प्याराल्याम्पिक अवधिभर प्रयोग हुने सामाग्री केल्मीले उपलब्ध गराउनेछ ।
    केल्मीले पाराल्याम्पिकलाई ४ वर्षका लागि प्रायोजन गरेको छ । पाराल्याम्पिकका सबै अन्तर्राष्ट्रिय सहभागितामा नेपाली सहभागीले केल्मीको खेल पोशाक प्रयोग गर्नेछन् । अहिले जापानमा जारी ओलम्पिकका लागि पनि केल्मीले प्रायोजन गरेको थियो ।

  • टोकियो ओलम्पिक – पदक तालिकामा चीन शिर्ष स्थानमा यथावत

    भक्तपुर, साउन २०
    जापानको टोकियोमा जारी ३२ औं संस्करणको गृष्मकालिन ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायम राखेको छ । विश्व खेलकुदको कुम्भमेलाको रुपमा लिने ओलम्पिकको ११ औं दिनको खेलको समाप्तिमा चीन ३२ स्वर्ण पदकाका साथ शिर्ष स्थानमा रहेको छ ।
    चीनले मंगलवार ११ औं दिनको खेल सकिंदा ३२ स्वर्ण, २१ रजत र १६ कास्य गरी कुल ६९ पदक जितेको छ । चीनलाई पदक तालिकामा अमेरिकाले पछ्याउँदैं आएको छ । अमेरिका २४ स्वर्ण, २७ रजत र २१ कास्यगरी कुल ७२ पदक जित्दै चीनलाई पछ्याइरहेको छ । कुल पदक संख्यामा अमेरिकाले अघि भएपनि स्वर्ण पदकको संख्याका आधारमा चीन शिर्ष स्थानमा रहेको हो ।
    आयोजक जापान १९, स्वर्ण ६ रजत र ११ कास्यगरी कुल ३६ पदक गरी जापान तेस्रो स्थानमा यथावत रहेको छ । त्यस्तै अष्ट्रेलिया १४ स्वर्ण, ४ रजत र १५ कास्यगरी कुल ३३ पदक सहित चौंथो स्थानमा रहेको छ ।


    डोम्पिङका कारण प्रतिबन्धमा परेको रसिया रसियन ओलम्पिक कमिटि टोली (आरओसी)को नाममा ओलम्पिकमा सहभागी रहेको छ । उसले १३ स्वर्ण, २१ रजत र १८ कास्यसहित ५२ पदक जित्दै पदक तालिकामा पाँचौ स्थानमा रहेको छ ।
    इंग्ल्यान्ड १३ स्वर्ण, १७ रजत र १३ कास्यगरी कुल ४३ पदक जितेर छैटौं स्थानमा रहेको छ । जर्मनी ८ स्वर्ण, ८ रजत र १४ कास्यगरी ३० पदकसहित सातौं स्थानमा उक्लदा फ्रान्स ६ स्वर्ण, १० रजत र ८ कास्यसहित २४ पदक जितेर आठौं स्थानमा झरेको छ ।
    नेदरल्यान्ड्स ६ स्वर्ण, ७ रजत र ७ कास्यगरी २० पदक जित्दै नवौं स्थनमा उक्लदा मंगलबार कुनै पदक जित्न नसकेको दक्षिण कोरियाल६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदकसहित शीर्ष १० मा अटाएका छन् ।


    न्युजिल्यान्डले ६ स्वर्ण, ४ रजत र ५ कास्यगरी १५ पदक जितेको छ । इटाली ५ स्वर्ण, ९ रजत र १५ कास्यगरी २९ पदकसहित १२औं स्थानमा रहेको छ । हंगेरीले ४ स्वर्ण, ४ रजत र ३ कास्यगरी ११ दिक जितेको छ । क्युवाले ४ स्वर्ण, ३ रजत र ४ कास्य गरी ११ पदक जितेको छ । चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र १ कास्यगरी ८ पदक जित्दै शीर्ष १५ मा अटाएका छन् ।
    क्यानडा, स्वीट्जरल्यान्ड, ब्राजिल र क्रोएसियाले समान ३ स्वर्ण जितेका छन् । चाइनिज ताइपेइ, पोल्यान्ड, डेनमार्क, जमैका, नर्वे, स्लोभेनिया, इक्वेडर, ग्रीस, उज्वेकिस्तान, कोसोभो र कतारले समान दुई स्वर्ण जितेका छन् ।
    स्पेन, जर्जिया, रोमानिया, स्वीडेन, भेनेजुएला, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, अष्ट्रिया, इन्डोनेसिया, सर्विया, बेल्जियम इथियोपिया, फिलिपिन्स, ट्युनिसिया, टर्की, आयरल्यान्ड, इजरायल, बेलारुस, इस्टोनिया, फिजि, इरान, लात्भिया, बर्मुडा, मोरोक्को, प्युरेटो रिको र थाइल्यान्डले समान एक स्वर्ण जितेका छन् ।
    टोकियो ओलम्पिकमा सहभागी २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ५७ राष्ट्रले स्वर्ण जित्दा ८३ राष्ट्रले पदक जित्न सफल भएका छन् ।

  • टोकियो ओलम्पिक – पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने

    भक्तपुर, साउन २०
    टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णको लागि फाइनलमा ब्राजिल र स्पेन भिड्ने भएका छन् । स्पेनले मंगलवार सम्पन्न सेमिफाइनलमा आयोजक जापानलाई र ब्राजिल मेक्सिकोलाई टाईब्रेकरमा पराजित गर्दै स्वर्ण भिडन्तको लागि स्थान पक्का भएको हो ।
    स्पेनले स्वर्ण भिडन्त पक्का गर्ने क्रममा आयोजक जापानलाई १–० ले पराजित गर्यो । स्पेनको जितमा मार्को एसेन्सियोले निर्णायक गोल गरे । उनले अतिरिक्त समयको ११५ औं मिनेटमा गोल गरेका थिए ।
    त्यसैगरी ब्राजिलले मेक्सिकोलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै ओलम्पिक फुटबलको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेट अतिरिक्त समय पनि गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । ब्राजिलको सबै ४ प्रहार गोलमा परिणत हुँदा मेक्सिकोले भने सुरुवाती दुई प्रहारमा गोल गर्न सकेन ।
    ब्राजिलका लागि कप्तान ड्यानी आल्भेसले पहिलो प्रहार नै गोलमा परिणत गरेका थिए । त्यसपछि मेक्सिकोका एडुआर्डो अगिएरको प्रहार गोलरक्षक अबेर्दार सान्तोसले विफल पारे । ब्राजिलका ग्याब्रिएल मार्टिनेलीले दोस्रो प्रहारमा गोल गर्दा मेक्सिकोका जोहान भास्केजको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।
    त्यसपछि ब्रुनो गुइमारेसले गोल गर्दै ब्राजिललाई जितको संघारमा पुर्याए । मेक्सिकोका कार्लोस रोड्रीग्वेजको प्रहार गोल भएपनि त्यसपछि रेनिएरले गोल गर्दै ब्राजिललाई फाइनलसम्म पुर्याए ।

  • टोकियो ओलम्पिक – सरस्वती पहिलो चरणबाटै बाहिरिए

    भक्तपुर, साउन १५
    टोकियो ओलम्पिकमा नेपालकी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन । ओलम्पिकको महिला १ सय मिटरमा प्रतिष्पर्धा गरेकी सरस्वती शुक्रवार बिहान भएको खेलमा पहिलो चरणबाटै बाहिरिएकी हुन ।
    उनले निर्धारित दुरी १२.९१ सेकेन्डमा पुरा गरिन, जुन उनले यस स्पर्धामा राखेको व्यक्तिगत उत्कृष्ट समय भन्दा पनि कमजोर प्रदर्शन हो । हिट २ मा रहेकी सरस्वती आफ्नो हिटमा रहेका ९ मध्ये आठौं स्थानमा रहिन ।
    सरस्वतीले यसअघि सन् २०१९ मा कतारमा भएको विश्व च्याम्पियनसिपमा १२.७२ सेकेन्ड र त्यसपछि १३ औं सागमा १२.५५ सेकेन्डको समय निकालेकी थिइन् । नेपालको राष्ट्रिय कीर्तिमान भने देवीमाया पनेरुको नाममा छ । उनले सन् १९९९ को दक्षिण एसियाली खेलकुदमा १२.२० सेकेन्डको समय निकालेकी थिइन् ।
    यससँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती सकिएको छ । ५ खेलाडीमध्ये तीन जनाले राष्ट्रिय कीर्तिमान कायम गर्न सके । पौडीमा एलेक्स शाह र गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइल तथा सुटिङकी कल्पना परियारले १० मिटर एअर राइफलमा कीर्तिमान बनाए । जुडोमा सोनिया भट्ट पहिलो चरणमा नै बाहिरिइन् ।