Category: खेलकुद

  • साफ च्याम्पियनसिप फाइनल – भारतलाई हारको स्वाद चखाउँदैं पहिलो पटक उपाधी उचाल्ने दाउमा नेपाल

    भक्तपुर, असोज ३०
    माल्दिभ्सको मालेमा जारी दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२१ को उपाधीका लागि आज राती नेपाल र भारत भिड्दैछन । साफ फुटबलको ईतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको नेपाल जारी प्रतियोगितामा अपराजित रहेको भारतलाई हारको स्वाद चखाउँदैं पहिलो पटक उपाधी उचाल्ने दाउमा रहेको छ भने भारत आठौं पटक साफ च्याम्पियन बन्ने लक्ष्यका साथ मैदानमा ओर्लने छन ।
    पाकिस्तान फिफाको प्रतिवन्धका कारण र भुटान आफ्नै देशको कोभिड–१९ को प्रोटोकलका कारण प्रतियोगितामा सहभागी नभएपछि सहभागी ५ टोलीलाई राउण्ड रोविन लिगका आधारमा खेलाईएको थियो ।


    लिगका चार खेल मध्ये नेपाल दुई जित, एक हार र एक बराबरीका साथ ७ अंक सहित फाइनलमा प्रवेश गरेको हो । त्यसैगरी भारत चार खेलमा दुई जित र दुई हारकासाथ ८ अंक सहित फाइनल प्रवेश गरेको हो ।
    नेपालले समूह चरणको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–०, दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले पराजित गरेको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित गरेको नेपाल बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो ।
    भारत पहिलो दुई खेलमा बंगलादेशसँग १–१ र र श्रीलंकासँग गोलरहित बराबरी खेलेको भारत तेस्रो खेलमा नेपाललाई १–० र चौंथो खेलमा आयोजक माल्दिभ्सलाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।


    समूह चरणका ४ खेलमा नेपाल ५ गोल गरेको छ । नेपालका लागि अञ्जन विष्टले २ तथा मनिष डाँगी, सुमन लामा र आयुष घलानले एक एक गोल गरेका छन । भारतले जारी प्रतियोगितामा ५ गोल गरेका छन जसमध्ये कप्तान सुनिल क्षेत्री एक्लैले ४ गोल गरिसकेको छन । उनले नेपाल विरुद्ध निर्णायक गोल गरेका थिए भने माल्दिभ्सविरुद्ध २ र बंगलादेशविरुद्ध एक गोल गरेका थिए । उनी प्रतियोगितामा ४ गोलसहित सर्वाधिक गोलकर्ताको शिर्ष स्थानमा छन ।
    फाइनलमा नेपालका अञ्जन बिष्ट खेल्ने छैनन् । उनी दोहोरो पहेंलो कार्डका कारण फाइनल गुमाउन पुगेका हुन । त्यसैगरी भारतीय प्रशिक्षक इगोर स्टिमाच र दुई मुख्य खेलाडी पनि मैदानमा हुने छैन । यसको फाइदा नेपालले लिन सक्छन ।


    माल्दिभ्सविरुद्ध बुधबार भएको समूह चरणको अन्तिम खेलमा स्टिमाचले रातो कार्ड पाएपछि उनले फाइनल गुमाउने भएका हुन् । भारतका लागि डिफेन्डर सुभासिस बोसले पनि फाइनल गुमाउनेछन् । उनले पनि खेलमा दुई पहेंलो कार्डको सामना गरेका थिए । त्यसैगरी भरपर्दा मिल्डफिल्डर फारुख चौधरीले पनि फाइनल गुमाउने भएका छन । उनी घाईते भएका कारण मैदानमा हुने छैन ।

  • बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफको इतिहासमै पहिलोपटक फाइनलमा

    भक्तपुर, असोज २७
    नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ को बुधवार साँझ सम्पन्न खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।
    इतिहासमै पहिलो पटक राउण्ड रोविन लिगको आधारमा खेलाईएको प्रतियोगितामा नेपाल दुई जित, एक हार र एक बराबरीका साथ ७ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको हो । नेपालले उपाधीका लागि फाइनलमा माल्दिभ्स वा भारतसँग प्रतिष्पर्धा गर्नेछ । लिगको अन्तिम खेलमा आजै राती आयोजक माल्दिभ्स र भारत भिड्दै छन । सो खेलमा जित वा बराबरीले माल्दिभ्स फाइनलमा प्रवेश गर्नेछ । भारतलाई फाइनल प्रवेशको लागि निश्चित जित आवश्यक छ ।


    मालेस्थित राष्ट्रिय रंगशालामा भएको रोमान्चक खेलमा एक गोलले पछि परेको स्थिती उल्टाउदै नेपालले बराबरी खेलेको हो । खेलको नवौं मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान जमल भुयानको फ्रिकिकमा हेड मार्फत उनले उत्कृष्ट गोल गरेका थिए ।
    नेपालले खेलको ८६ औं मिनेटमा बराबरी गोल फर्काए । अञ्जन बिष्टको पेनाल्टी गोलमार्फत नेपालले बराबरी गोल गर्दै खेलमा फर्केको हो । मोहमद साद उद्दीनले अन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसमा अन्जनले सहजै गोल गरे ।


    त्यसअघि खेलको ७९ औं मिनेटमा गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो । पेनाल्टी बक्स क्षेत्रभन्दा बाहिर आएर बल क्लियर गर्ने क्रममा ह्याण्ड गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए ।
    यसअघि खेलको दोस्रो मिनेटमा नै बंगलादेशका टोपु बर्मनले नवयुग श्रेष्ठलाई पेनाल्टी क्षेत्रको ठिक बाहिर लडाएपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । उक्त फ्रिकिकमा सुजल श्रेष्ठले पोस्टतर्फ प्रहार गर्न सकेनन् । लगत्तै दुवै टोलीले आक्रामक प्रस्तुति गरेपनि गोलरक्षकलाई समस्या दिन सकेनन् ।
    १५ औं मिनेटमा नेपालले खेल बराबरीमा ल्याउने सुन्दर अवसर खेर फाल्यो । गौतम श्रेष्ठले पेनाल्टी क्षेत्रको दायाँ भागबाट कटब्याक गर्दै ६ यार्ड बक्सनजिक रोहित चन्दलाई पास दिएका थिए । तर अनमार्क रहेका रोहितले बललाई पोस्टको दिशा दिन सकेनन् ।


    ३२ औं मिनेटमा अन्जन विष्टको क्रसमा आयुष घलानको प्रहारलाई डिफेन्डर टोपुले क्लियर गर्दै खतरा टारेका थिए । ४२ औं मिनेटमा रोहितको क्रसमा दिनेशको हेडरलाई बंगलादेशका अनिसुर रहमानले सहजै बचाए । इन्ज्युरी समयमा रोहिकै क्रसमा आयुषको हेडरले पोस्टको दिशा लिन सकेन ।
    दोस्रो हाफको ५२ औं मिनेटमा बंगलादेशका गोलरक्षक अनिसुर पुनः नेपालको प्रयासमा बाधक बने । अनन्तको हेडरपछि आयुष घलानको अन्तिम प्रहारलाई उनले उत्कृष्ट बचाउ गरे । खेलको ५५ औं मिनेटमा नेपालका कप्तान किरण चेम्जोङले वन भर्सेस वनमा उत्कृष्ट बचाउ गर्दै खेलमा नेपालको सम्भावना कायम राखे । काउन्टर अट्याकमा सुमनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार किरणले विफल पारेका थिए ।
    ६४ औं मिनेटमा सुमन रेजाको प्रहारलाई गोलरक्षक किरणले सहजै बचाए । लगत्तै अर्कोतर्फ नवयुगको हेडरमा बंगलादेशका गोलरक्षक अनिसुर बाधक बने । ७० औं मिनेटमा गौतम श्रेष्ठको क्रसमा रोहितको हेडर पोस्ट नजिकबाट बाहिरिंदा नेपाल बराबरी गर्नबाट चुक्यो ।
    नेपाल यसअघि ५ पटक सेमिफाइनलमा पुगेर फाइनल पुग्नबाट बन्चित भएको थियो । पछिल्लो पटक सन् २०१८ मा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित हुँदै सेमिफाइनलमा बाहिरिएको थियो । त्यसअघि सन् २०१३ र २०११ मा अफगानिस्तानले नेपाललाई सेमिफाइनलमा हराएको थियो । सन् १९९५ मा श्रीलंकासँग हारेको नेपाल सन् १९९९ मा भने बंगलादेशसँग पराजित भएको थियो ।

  • साफ च्याम्पियनसिप २०२१ – नेपाल भारतसँग पराजित, फाइनल समिकरण खुला

    भक्तपुर, असोज २५
    दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) २०२१ को फाइनल समिरकण खुला भएको भएको छ । च्याम्पियनसिपको आइतवार राती नेपाल भारतसँग पराजित भएपछि फाइनल समिकरण खुला भएको हो ।
    भारतिय कप्तान सुनिल क्षेत्रीले खेलको अन्त्यतिर गोल गरेपछि नेपाल भारतसँग पराजित भएको हो । फारुख चौधरीको फ्लिक हेडरमा सुनिलले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।
    खेलमा आक्रमण भन्दा पनि भारतलाई बराबरीमा रोक्ने रणनीति बनाएको नेपालले एक गोलले पछि परेको अवस्थामा आक्रमणलाई जोड दिएको थियो । रक्षात्मक खेल्दै प्रत्याक्रमणमा जोड दिएको नेपालले भारतका एकपछि आक्रमणलाई निस्तेज पारेको थियो ।
    भारतले सिर्जना गरेको आक्रमणमा नेपालको डिफेन्स लाइन र कप्तान किरण लिम्बु बाधक बने । खेलको अन्तिम समयतिर डिफेन्स र गोलरक्षकबीच तालमेलको कमीको फाइदा उठाउँदै सुनिलले विजयी गोल गरेका थिए ।


    यसअघि खेलको २५ औं मिनेटमा गोलरक्षक किरणले भारतको आक्रमण बचाउँदै नेपालको खतरा टारे । ३४ औं मिनेटमा सुनिल क्षेत्रीले खालि पोस्टमा गोल गर्न नसक्दा नेपाल पछि पर्नबाट जोगिएको थियो । सुरेश वाङजामको क्रसमा गोलरक्षक किरण समेत बिट भइसकेपछि ६ यार्ड बक्सभित्र खाली पोस्टको अघि अनमार्क रहेका सुनिलले गरेको फितलो प्रहार पोस्टबाट बाहिरिएको थियो ।
    यस्तै खेलको ५७ औं मिनेटमा भारतका मनबिर सिंहले गोलको अवसर गुमाए । सिंहको फ्रि हेडर नेपालका कप्तान तथा गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे । ७६ औं मिनेटमा भारतले सिर्जना गरेको अर्को अवसरमा किरण बाधक बने । ब्रान्डनको फ्रिकिकमा सुनिलले मिलाएको फ्लिक हेडरलाई सुभाशिश बोसले अन्तिम प्रहार गरेका थिए । सुभाशिशको अन्तिम हेडर सिधै किरणको हातमा टुंगिएको थियो । ८१ औं मिनेटमा कर्नरमा सुनिलको हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो । नेपालले दुबै हाफमा भारतविरुद्ध कुनैपनि डरलाग्दो पोस्ट आक्रमण गर्न सकेन ।


    साफ इतिहासमै पहिलो पटक राउण्ड रोविन लिग अनुसार खेलाईएको प्रतियोगितामा सहभागी टोली मध्ये श्रीलंका बाहेक सबै टोलीले तीन तीन खेल खेली सकेको छ । जसमध्ये नेपाल दुई जित र एक हारसहित ६ अंकका साथ शिर्ष स्थानमा रहेको छ भने आयोजक माल्दिभ्स समान ३ खेलका ६ अंक जोडेपनि नेपालसँग हेड टु हेडको आधारमा दोस्रो स्थानमा रहेको छ । भारत एक जित र दुई बराबरीसँगै ५ अंकका साथ तेस्रो र बंगलादेश एक जित, एक हार र एक बराबरीका साथ ४ अंकसहित चौंथो स्थानमा रहेको छ । श्रीलंका भने ४ खेलका एक अंक बटुल्दै प्रतियोगिताबाट बारिहएको छ ।
    प्रतियोगिताको अन्तिम चरणका दुई खेल बुधवार हुँदैछ । जसमध्ये पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ भने अन्तिम खेलमा आयोजक माल्दिभ्स र भारतले प्रतिष्पर्धा गर्नेछ ।

    लिग चरणका अन्तिम दुई खेल बराबरीमा सकिए नेपाल र माल्दिभ्स फाइनलमा प्रवेश गर्नेछ । त्यसैगरी अन्तिम दुई खेल सेमिफाइनल सरह हुनेछ । दुवै खेलमा जित निकाल्ने टोली फाइनलमा प्रवेश गर्नेछ ।

  • साफ च्याम्पियनसिप २०२१ – दोस्रो जितसँगै नेपाल शिर्षस्थानमा

    भक्तपुर, असोज १९
    नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जितसँगै समूहको शिर्ष स्थानमा उक्लेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सोमवार राती सम्पन्न खेलमा नेपाल श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै समूहको शिर्ष स्थानमा उक्लेको हो ।
    नेपालको जितमा सुमन लामा, आयुष घलान र अञ्जन बिष्टले गोल गरे भने श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए । जितसँगै नेपालको दुई खेलबाट ६ अंक भएको छ । समूहमा शिर्ष स्थानमा रहेको छ ।
    भुटानले कोरोना प्रोटोकलका कारण नाम फिर्ता लिएपछि पहिलो पटक राउण्ड रोविन लिग आधारमा खेलाईएको प्रतियोगितमा बंगलादेश समूहमा दोस्रो स्थानमा रहेको छ । बंगलादेशले दुई खेलबाट ४ अंक बटुलेको छ । उसले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो भने सोमवार राती सम्पन्न पहिलो खेलमा १० खेलाडीमा सिमित बंगलादेशले भारतलाई १–१ गोलमा रोकेको थियो । समूहमा भारत १ अंकसहित तेस्रो स्थानमा छन भने माल्दिभ्स र श्रीलंका अंक विहिन छन ।


    नेपालले श्रीलंका विरुद्ध उत्कृष्ट प्रदर्शन गरे । खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गर्दै नेपाललाई दवाबमा राखे । नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं पनि केहि अवसर सिर्जना गरेको थियो । रोमाञ्चक बनेको खेलको ३३ औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यु गोल हो । नवयुग श्रेष्ठले मिडफिल्डबाट आएको बलमा डिफेन्डरलाई छक्याउँदै दिएको पासलाई सुमनले पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरेका थिए ।
    खेलको ५२ औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका आयुष घलानले बायाँ विंगमा दुई डिफेन्डरलाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्रबाट दिएको कटब्याकमा नवयुगको पहिलो प्रहार सफल भएन । उक्त प्रहारपछि आएको रिबाउन्डमा अन्जनले सहजै गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका हुन ।
    नेपालले अग्रता दोब्बर पारेको केही बेरमै श्रीलंकाले गोल फर्कायो । खेलको ५६ औं मिनेटमा श्रीलंकाका मार्विन ह्यामिल्टनले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भयो र खेल २–१ को स्थितीमा पुग्यो ।


    खेलको ८६ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई जित नजिक पुर्याए । आयुषले तेज तामाङको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोलरक्षक सुजनलाई चिप गर्दै नेपाललाई ३–१ ले अघि बढाएका थिए । इन्ज्युरी समयमा श्रीलंकाले पेनाल्टी पाए । डिलन डे सिल्भाले पेनाल्टीमा गोल गर्दै श्रीलंकालाई खेलमा फर्काउन प्रयास गरेपनि त्यो पर्याप्त रहेन र नेपालले महत्वपूर्ण जित निकाल्यो ।
    प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्ध पहिलो खेलमा जित हासिल गरेको टोलीबाट २ परिवर्तन गरेका थिए । प्रशिक्षक अलमुताइरीले पहिलो खेलको तुलनामा आक्रामक परिवर्तन गर्दै दीनेश राजवंशी र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई टोलीमा समेटेका थिए ।

  • चेम्निज ओपन करातेमा मण्डेकाजीलाई २ सहित नेपाललाई ४ स्वर्ण

    भक्तपुर, असोज १७
    जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा साग स्वर्णधारी मण्डेकाजी श्रेष्ठले २ सहित नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णका अलावाले नेपालले थप २ कांस्य पदक पनि जित्यो । प्रतियोगिता ३ नेपाली खेलाडीले सहभागिता जनाएकोमा सबैले दोहोरो पदक चुम्न सफल भए ।
    मन्डेकाजीले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि उमेर समूहमा दोहोरो स्वर्ण जितेका हुन् । मन्डे १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता पनि हुन् ।
    सागकै कांस्य विजेता मुकुन्द्र महर्जनले कुमुतेको पुरुष ७५ केजीमुनि कांस्य तथा ३० वर्षमाथि स्वर्ण जिते । त्यस्तै सुमन तिमल्सिनाले पुरुष सिनयर एकल कातामा कांस्य तथा आफ्नो उमेर समूहमा स्वर्ण हात पार्न सफल भएको अफिसियल स्वच्छम् गुरुङले जानकारी दिए ।
    अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा जर्मन, पोल्यान्ड, अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड, स्पेन, बेल्जियमलगायतका राष्ट्रको सहभागिता रहेको बताइएको छ ।

  • मनिष डाँगीको शानदार गोलसँगै साफ च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

    भक्तपुर, असोज १६
    वैकल्पिक खेलाडी मनिष डाँगीको शानदार गोलसँगै नेपालले दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ)मा विजयी शुरुवात गरेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शुक्रवार राती सम्पन्न खेलमा मनिषले ८५ औं मिनेटमा गरेको गोलको मद्दतले नेपालले आयोजक माल्दिभ्सलाई १–० ले पराजित गर्दै च्याम्पियनसिपमा विजयी शुरुवात गरेको हो ।


    जितसँगै नेपालले महत्वपूर्ण ३ अंक बटुलेको छ । मनिष दोस्रो हाफको ६९ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । मनिषले काउन्टर अट्याकमा घरेलु टोलीका तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । विशाल राईले मैदानको मध्यभागबाट निकालेको बललाई नियन्त्रणमा लिएर मनिषले माल्दिभ्सका तीन रक्षकलाई बिट गर्दै गोलरक्षकलाई वन भर्सेस वनको स्थितिमा बिट गरेका थिए ।


    खेलको अधिकांश समय माल्दिभ्सले बल पोसेसन र आक्रमणमा पकड जमाएपनि नेपाली टोलीले अनुशासित डिफेन्स गर्दै खेलमा आफूलाई कायम राखेका थिए । काउन्टर अट्याकमा समय समयमा माल्दिभ्सलाई समस्या दिएको नेपालले अन्तिम समयमा गोल पनि सोही रणनीति अनुसार गर्न सफल भयो र महत्वपूर्ण तीन अंक बटुल्न सफल भयो ।
    खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई साविकको ४–३–३ को रणनीतिमा उतारेका थिए । गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्दा सेन्टर डिफेन्समा अनन्त तामाङ र दीनेश राजवंशी तथा विंगब्याकमा सुमन अर्याल र गौतम श्रेष्ठ थिए । मिडफिल्डमा पुजन उपरकोटी र रोहित चन्दले रक्षात्मक भूमिका निर्वाह गर्दा तेज तामाङ सेन्टर मिडफिल्डमा थिए । आक्रमणमा सुजल श्रेष्ठ र अन्जन विष्टले नवयुग श्रेष्ठलाई साथ दिएका थिए ।


    फुटबलमा नेपालले माल्दिभ्सलाई २२ वर्षपछि पहिलो पटक पराजित गर्न सफल भएको छ । जितसँगै नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा व्यहोरेको हारको बदला समेत लिएको छ । ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३–० ले पराजित भएको थियो । नेपालले पछिल्लो पटक सन् १९९९ को साग खेलकुदमा माल्दिभ्सलाई २–१ ले हराएको थियो ।
    नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।
    यसपटकको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । भुटानले कोरोना प्रोटोकलका कारण नाम फिर्ता लिएपछि खेलको तालिका हेरफेर गरी राउण्ड रोविनको आधारमा खेलाईएको हो । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
    यसआघ दिनको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । बंगलादेशले १–० को जित हासिल गर्दै ३ अंक जोडेको हो । बंगलादेशको जितमा टोपु बर्मनले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । श्रीलंकाका डिफेन्डरले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि रेफ्रीले ५६ औं मिनेटमा पेनाल्टी दिएका थिए । खेलमा श्रीलंकाका दुक्सन पुस्लासले रातो कार्ड खाएका थिए ।

  • भक्तपुरमा एक दिने फुटसल प्रतियोगिता हुने

    भक्तपुर, असोज ५
    बडादशैंको अवसरमा भक्तपुरमा एक दिने फुटसल प्रतियोगिता हुने भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ८, ईंटबुमा अवस्थित हेल्दी फुटसलले यही असोज १६ गते प्रथम हेल्दी फुटसल प्रतियोगिता २०७८ आयोजना गर्न लागिएको सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
    प्रतियोगितामा २० देखी ३२ टोलीको सहभागिता रहने अपेक्षा गरिएको आयोजक समितिका संयोजक श्यामकृष्ण प्रजापतिले जानकारी दिए । नकआउटका आधारमा खेलाईने प्रतियोगिता असोज १६ गते बिहान ७ बजेदेखी बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ । प्रत्येक खेल १५ मिनेटको हुने छ । निर्धारित समयमा खेल बराबरी भए सिधै टाईब्रेकरबाट खेलको निर्णय गरिने छ ।
    प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्धितिय हुने टोलीलाई नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी वेष्ट गोलकिपर, वेष्ट प्लेयर र फेयर प्ले अवार्ड पनि प्रदान गरिने छ ।
    कोभिड १९ को कहरले खेलकुद क्षेत्रलाई पनि प्रभावित बनाएको र कोभिडका कारण खेल गतिविधि कम भएको अवस्थालाई मध्यनजर गर्दै खेल क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिता आयोजना गरिएको अर्का सञ्चालक उज्वल धौभडेलले बताए । ‘फुटसलको विकास र खेलाडीहरुको प्रतिभालाई उत्प्रेरित गर्ने उद्देश्यले पनि यो प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने ।
    हेल्दी फुटसलले खेलको विकास र खेलाडीलाई प्रोत्साहन स्वरुप विगतमा टेबल टेनिस, व्याडमिन्टन जस्ता खेल प्रतियोगिता गरेको जानकारी दिँदैं फुटसल प्रतियोगिता सञ्चालक समितिका रविन धौभडेलले आगामी दिनमा बक्सिङलगायतका प्रतियोगिता गर्ने योजना रहेको बताए ।

  • प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगितामा नरहरिपुर डोजो प्रथम

    भक्तपुर, भाद्र २८
    प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगितामा नरहरिपुर डोजो प्रथम भएको छ । मध्यपुर थिमिको बोडेस्थित कुमारी मन्दिर परिसरमा सोमवार सम्पन्न प्रतियोगितामा नरहरिपुरले ३ स्वर्ण, २ रजत र ३ कास्य पदक जित्दै समग्रमा टिम च्याम्पियन भएको हो ।
    मध्यपुर थिमि नगरपालिका र शिव शिखर बहुउद्देश्य सहकारी संस्थाको प्रायोजनमा शंखधर शाखा डोजोले आयोजना गरेको दुई दिने प्रतियोगितामा वादोकाइ डोजोले ३ स्वर्ण र २ कास्यका साथ दोस्रो स्थान हात पारे । प्रतियोगितामा २ स्वर्ण, १ रजत र १ कास्य जितेको चन्द्रागिरी बेसिक सितोरियोले तेश्रो स्थान हात पारे । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार जिते ।


    करातेतर्फ पुरुषमा लगनखेलका विपिनसिंह दर्जी तथा महिलामा चन्द्रागिरी बेसिककी स्वस्तिका केसी उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टले पुरस्कार स्वरुप माउन्टेन बाइक प्राप्त गरे ।
    प्रतियोगिताको किक बक्सिङतर्फ मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले स्वर्ण पदक जिते । पुरुष ४५ केजीमा रोशनले विष्णुदेवी डोजोका सुनिल ठगुन्ना तथा ५० केजीमा बुद्धले एनएसकेका धनबहादुर सुनुवारलाई फाइनलमा पराजित गर्दै स्वर्ण हात पारेका थिए ।
    पुरुष एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धर पहिलो तथा चन्द्रागिरीका सन्दिप राई दोश्रो भए । सोही स्पर्धाको महिलामा नरहरिपुरकी सन्जु देशारले स्वर्ण तथा प्रयागपोखरीकी सुभद्रा थापाले रजत जिते ।


    पुरुष ३० केजीमा बौद्धका प्रभात मगरले विष्णुदेवीका सोनम लामा, ४० केजीमा विष्णुदेवीका राजेश मानन्धरले इचङगुनारायणका सेभेन श्रेष्ठ तथा ३५ केजीमा विष्णुदेवीका सन्देश लामाले नरहरिपुरका ओम ठाकुरलाई फाइनलमा हराउदै पहिलो स्थान हात पारे । महिला ३० केजी फाइनलमा मानसिंह डोजोकी अनु मोक्तानले लुभूकी प्रमिला पाख्रिनलाई पन्छ्याउदै शीर्ष स्थान कब्जा गरिन् ।
    विजेता खेलाडीहरुलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पुरस्कार वितरण गरे । यसअघि प्रतियोगिताको उद्घाटनका अवसरमा आयोजक डोजोले आठौं र नवौं सागका स्वर्णधारी कारतेका दीपक श्रेष्ठ, सागका ४ स्वर्ण पदक विजेता तेक्वान्दोका दीपक विष्ट, रेफ्री काउन्सिलका संयोजक राजेन्द्र कपालीलगायतलाई सम्मान गरेको थियो ।
    दुईदिने प्रतियोगितामा ४ सय ७५ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक मन्डेकाजी श्रेष्ठले जानकारी दिए ।
    तस्विर ः नगरप्रमुख मदनसुन्दर श्रेष्ठको फेसबुकबाट

  • डेब्यु खेलमा सविता र प्रिती चम्केपछि बंगलादेशविरुद्ध नेपालको जित

    भक्तपुर, भाद्र २४
    डेव्यु खेलमा सविता राना मगर र प्रिती राईले गोल गरेपछि नेपालले बंगलादेश विरुद्धको पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलमा २–१ को जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा सविताले १४ औं मिनेटमा र प्रितीले २३ औं मिनेटमा नेपालका लागि गोल गरे । बंगलादेशका लागि खेलको ८४ औं मिनेटमा तोहुरा खातुनले एक गोल फर्काइन ।
    सविताले बिमला चौधरीको क्रसमा बंगलादेशकी गोलरक्षक रुप्ना खातुन र डिफेन्डरलाई बिट गर्दै हेडर मार्फत बललाई जाली चुमाएकी थिइन् । २३औं मिनेटमा अर्का डेब्यु मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सरु लिम्बुले दिएको चलाखीपुर्ण पासमा प्रितीले एक डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गोलरक्षक रुप्ना खातुन अघि बढेको अवस्थामा उत्कृष्ट गोल गरेकी थिइन ।

    खेलको पहिलो हापमा नेपालले बंगलादेशलाई दवाबमा राखेपनि बिस्तारै बंगलादेशले पनि खेलमा पकड जमाएको थियो । दोस्रो हापमा लगातार नेपालमाथि आक्रमण बुनेको बंगलादेशले केही राम्रा अवसर पनि सिर्जना गरेको थियो । पहिलो हापमा केही फुर्सदिला देखिएका नेपाली गोलकिपर एञ्जिला तुम्बापो सुब्बा दोस्रो हापमा केही व्यस्त देखिए । विशेषगरी बंगलादेशी कप्तान खातुन र श्रीमोती सरकारको तालमेलले नेपाली रक्षापंक्ति र गोलरक्षकलाई व्यस्त राखेका थिए ।
    ४९औं मिनेटमा सरु लिम्बुले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासमा प्रितीले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहारलाई बंगलादेशी गोलरक्षक चक्माले पञ्च गर्दै बचाए ।


    खेलको ६९औं मिनेटमा मोसामत सोप्नाले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी बक्सभित्रबाट दिएको क्रसलाई रितु पोर्न चक्माले हेड प्रयास गरेपनि भेटाउन नसक्दा नेपालको खतरा टरेको थियो । ७९औं मिनेटमा श्रीमोती सरकारको प्रहारलाई नेपाली टोलीकी गोलरक्षक एन्जिलाले पञ्च गर्दै बचाए । दोस्रो हाफमा नेपालले रक्षात्मक रणनीति अपनाउँदा केही दवावम परेको थियो ।
    नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपुर्ण खेल आइतबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी एसियन कप २०२२ छनोट प्रतियोगिताको तयारी स्वरुप नेपाल र बंगलादेशले दुई मैत्रीपुर्ण खेल खेल्ने तय भएको हो । खेलमा प्रिती मोस्ट भ्यालुएबल खेलाडी घोषित भईन् ।


    नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटका लागि उज्वेकिस्तानमा दुई खेल खेल्नेछ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले १८ सेप्टेम्वरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङको सामना गर्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

     

  • नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग खेल्दै

    भक्तपुर, भाद्र २४
    नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । काठमाण्डौंको दशरथ रंगशालामा हुने खेलसँगै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दशरथ रंगशालामा डेब्यु समेत गर्नेछ, साथै विदेशी प्रशिक्षकको समेत डेब्यु हुनेछ ।
    नेपाली महिला राष्ट्रिय फुटबल टिमले सन् १९८६ मा पहिलो पल्ट एएफसी वुमेन्स च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यस यता करिव ३५ वर्षको अवधीमा नेपाली महिला टोलीले दशरथ रंगशालामा खेल्ने समय जुरेको थिएन । बंगलादेशसँगको खेलसँगै महिला टोलीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने ३५ वर्षदेखीको सपना समेत पुरा हुनेछ ।
    नेपालले महिला टोलीले सन् २०१६ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै घरेलु मैदानमा अन्तर्राष्ट्रिय डेब्यु गरेको थियो, तर सो खेल सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको थियो ।
    त्यसयता नेपालमा दुई अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सम्पन्न भएपनि दशरथ रंगशालामा नभई विराटनगर र पोखरामा भएको थियो । नेपालले सन् २०१८ मा पहिलो पटक महिला राष्ट्रिय टोलीको प्रतियोगिता आयोजना गर्ने क्रममा विराटनगरमा महिला साफ च्याम्पियनसिप आयोजना गर्यो । त्यसैगरी दुई वर्ष अघि नेपालमा भएको साफ खेलकुद प्रतियोगितामा महिला फुटबल पोखरामा भएको थियो ।
    नेपाली महिला टोली मुख्य फरवार्ड सावित्रा भण्डारी विना मैदानमा उत्रँदैछ । उनी चोटका कारण टोली बाहिर छिन । अर्की फरवार्ड शर्मिला थापा टोलीमा नै नपर्नुले यसपटक युवा खेलाडीलाई अवसरको ढोका खुल्नेछ । बंगलादेशविरुद्धको खेल प्रशिक्षक ग्यारी फिलिप्सको पनि पहिलो परीक्षा हो । विगत एक महिनादेखी नेपाली टोलीलाई प्रशिक्षण दिईरहेका फिलिप्स महिला टोलीका पहिलो विदेशी प्रशिक्षक हुन ।
    प्रशिक्षक फिलिप्सले पहिलो पटक टोलीमा परेका अनिता केसी, सरु लिम्बु, रजनी थोकर, रश्मी घिसिङ, सविता राना, प्रिती राई, निशा थोकर, सिर्जना सिंह र विमला विकलाई डेब्यु गराउने सम्भावना रहेको छ । यसबाहेक टोलीमा नियमित खेल्दै आएका गीता राना, हिरा भुजेल, पुनम जर्घा मगर, अमृता जैसी र पुजा रानाले पनि अवसर पाउनेछ । टोलीमा पोस्ट सम्हाल्न एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ छन ।
    त्यसैगरी मिडफिल्डमा दिपा राई र रेनुका नगरकोटेको अनुभवको सदुपयोग हुनेछ भने इन्दिरा राई, अनिता बस्नेत, विमला चौधरी र मन्जली तामाङले पनि मौका पाउन सक्छ । बंगलादेशविरुद्धको खेल अघि बुधवार आयोजित प्रिम्याच प्रेस कन्फरेन्समा प्रशिक्षक फिलिप्सले नेपाली टोलीको बलियो पक्ष अनुसार शुरुवाती एघार घोषणा गर्ने बताए ।
    प्रशिक्षक फिलिप्सलाई सहायक प्रशिक्षकहरु चेतन घिमिरे, अरुणा गुरुङ, भगवती थापा र श्रीप्रकाश वैद्यले साथ दिइरहेका छन । अखिल नेपाल फुटबल संघको महिला विभाग प्रमुख हरी खड्काले पनि टोलीलाई नजिकबाट नियालीरहेको बताईएको छ ।
    महिला फुटबलमा बंगलादेशविरुद्धको इतिहास नेपालको पक्षमा रहेको छ । सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालले अहिलेसम्म बंगलादेशसँग हार बेहोरेको छैन । हालसम्म खेलेका ६ खेलमा नेपालले ५ जित र १ बराबरी खेलेको छ ।
    तर पछिल्ला खेलमा बंगलादेशले आफ्नो प्रदर्शन भने निकै सुधार गरेको छ । उमेर समूहमा बंगलादेश नेपालमाथि हावी हुन थालेको छ । उमेर समूहको टोलीदेखी साथमा रहेका प्रशिक्षक गोलामका कारण पनि बंगलादेशको प्रदर्शनमा सुधार देखिएको हो ।
    युवा खेलाडीको बाहुल्यता, दशरथ रंगशालामा खेल्ने अवसर, घरेलु मैदान र दर्शकको साथले एसियन कप छनोटको तयारीमा रहेको महिला टोलीले बंगलादेशविरुद्ध उत्कृष्ट नतिजा निकाल्ने विश्वास गरिएको छ ।
    नेपाली महिला टोली उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट खेल्ने तयारीमा रहेको छ । छनोटमा नेपाल फिलिपिन्स र हङकङसँगै समूह ‘एफ’ मा रहेको छ । छनोट खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालले फिलिपिन्ससँग खेल्दै सेप्टेम्बर १८ (असोज २) मा छनोटको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा सेप्टेम्बर २१ (असोज ५) मा हङकङको सामना गर्नेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुने एसियन कप खेल्नेछ ।