Category: खेलकुद

  • पिएम कप टी–ट्वान्टी क्रिकेटमा एपीएफ च्याम्पियन

    भक्तपुर, माघ ६
    प्रधानमन्त्री कप (पिएम कप) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफ क्लव च्याम्पियन बनेको छ । किर्तिपुरस्थित टियु मैदानमा बुधवार सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
    टस हारेर पहिले व्याटिङ गरेको एपीएफले १९.५ ओभरमा अल आउट हुँदैं १५७ रन बनाएको थियो । १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाए ।
    एपीएफको जितमा तीव्र गतिका बलर किशोर महतो र अमर सिंह राउटेलाको उत्कृष्ट प्रदर्शन गरे । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ५४ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
    दीपेन्द्रले दुई जीवनदान पाएका थिए । भुवन कार्कीको १० औं ओभरको दोस्रो बलमा विकेटकिपर आसिफ शेख स्टम्पिङबाट चुकेका थिए । जुन समय दीपेन्द्र २७ रनमा क्रिजमा थिए । दीपकको १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्रले ३९ रनमा अर्को जीवनदान पाए । एक्स्ट्रा कभरमा अभिनाश बोहराले क्याच ड्रप गरेका थिए ।
    पुलिसका लागि दिलिप नाथले २३ रन जोड्दा आरिफ शेखले १२ रन बनाए । अनिल शाह १० रन आउट हुँदा अमित श्रेष्ठ ३ रनमा आउट भए । राशिद खानले ४ रन जोडे भने पवन सर्राफ सुन्य रनमा आउट भए । गुलशन झा ५ रनमा अविजित रहदा योगेन्द्र सिंह कार्की १ रन अविजित रहे ।
    एपीएफका किशोर महतोले ३ विकेट लिए । अविनाश बोहरा, दिपक बोहरा र अमर राउटेलाले १÷१ विकेट लिए । तीव्र गतिका बलर किशोरले पहिलो बलमै ओपनर पवन सरार्फलाई मिडअनमा सन्दीप जोराबाट क्याच गराउँदै गोल्डेन डक पेभेलिएन फर्काएका थिए । किशोरकै तेस्रो ओभरको पाँचौं बलमा अर्का ओपनर अमित श्रेष्ठ एज लागेर विकेटकिपर आसिफ शेखबाट ३ रनमा क्याच आउट भए । अमरसिंहले अनिल शाहलाई १० रनमा क्याच गराए ।
    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । एपीएफका लागि अमर राउटेलाले सर्वाधिक २९ रन बनाए । उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे । यस्तै लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए । कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए । भुवन कार्कीले १७ रन जोडे । आसिफ शेखले ९, प्रदिप ऐरीले ७, दिपक बोहराले ६ रन जोड्दा पुरण बिक सुन्य रनमा आउट भए । किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे ।
    पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३÷३ विकेट लिए । गुलशन झाले २ विकेट लिए । आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १÷१ विकेट लिए ।
    उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ । उप–विजेता बनेको पुलिसले तीन लाख प्राप्त गरेको छ । सेमिफाइनल पुगेका आर्मी र बागमती प्रदेशले ५०÷५० हजार पाएका छन् । पुष २६ देखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीको सहभागीता थियो ।


    आशिफ सर्वोत्कृष्ट
    नेपाल एपीएफ क्लबका मोहमद आशिफ शेख पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एपीएफलाई उपाधी दिलाउन उत्कृष्ट प्रदर्शन गरेका आशिफले फाइनलसहित ६ खेल खेल्दै उनले २ सय २७ रन बनाए । उनले नगद ३० हजार पुरस्कार पाए ।
    प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान पुलिस क्लबका कुशल भुर्तेल चुनिए । भुर्तेलले ४ खेल खेल्दै १ सय ८२ रन जोडेका थिए । यस्तै उत्कृष्ट बलर लुम्बिनीका अनिल खरेल चुनिए । अनिलले ४ खेलमा १० विकेट लिएका थिए । उत्कृष्ट ब्याट्सम्यान र बलरले नगद २०÷२० हजार प्राप्त गरे । विजेता खेलाडीलाई अर्थमन्त्री जनार्दन शर्मा, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतले पुरस्कृत गरे ।

  • भक्तपुर युनाईटेड बन्यो भक्तपुर जिल्ला लिग च्याम्पियन

    भक्तपुर, माघ ४
    भक्तपुर युनाईटेड एफसी भक्तपुर जिल्ला लिग फुटबलको च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा मंगलवार सम्पन्न फाइनलमा भक्तपुर युनाईटेड लोकन्थली एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
    भक्तपुर युनाईटेडलाई च्याम्पियन बनाउन मनोज लामा र कृष्ण गुरागाईले एक÷एक गोल गरे भने लोकन्थलीका रोहित गिरीले एक गोल फर्काए । खेलको ७ औं मिनेटमा भक्तपुर युनाईटेडले मनोजको गोलले अग्रता लिएको थियो । लगत्तै कृष्णले खेलको ९ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । निक्कै प्रतिष्पर्धात्मक खेलको ७५ औं मिनेटमा पेनाल्टी मार्फत रोहितले गोल गर्दै लोकन्थलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

    खेलमा दुवै टोलीले केही अवसर खेल फाले भने केही अवसरमा भक्तपुर युनाईटेडका गोलकिपर विशाल भण्डारी र लोकन्थलीका गोलकिपर रिजेन हेकाले उत्कृष्ट बचाउ गरे । फाईनल खेलका म्यान अफ द म्याच भक्तपुर युनाईटेडका गोलकिपर बिशाल भण्डारी घोषित भए ।

    उपाधी विजेता भक्तपुर युनाईटेडले नगद ५० हजारसहित ट्रफी पाए भने उपविजेता लोकन्थलीले नगद २५ हजारसहित ट्रफी पाए । प्रतियोगितामा थिमि युथ क्लव र विश्व विनायक एफसीले संयुक्तरुपमा तेस्रो स्थानमा रहे । दुवै टोलीले ट्रफिका साथ १०÷१० हजार नगद पुरस्कार पाए । प्रतियोगिताको सेमिफाइनलमा लोकन्थलीले विश्वविनायक युथ क्लबलाई २–० र भक्तपुर युनाईटेडले विश्वविनायकलाई टाईब्रेकरमा १२–११ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

    प्रतियोगितामा लोकन्थलीका रोहित गिरी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले निष्ट स्कुलले प्रायोजन गरेको नगद १० हजार पुरस्कार पाए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर लोकन्थलीका रिजेन हेका, सर्वाधिक ६ गोल गरेका लोकन्थलीकै आशिष थिङ उत्कृष्ट स्कोरर, थिमि युथका समिर श्रेष्ठ उत्कृष्ट रक्षक, भक्तपुर युनाईटेडका हरिश कार्की उत्कृष्ट फरवार्ड र विश्व विनायकका रविन कुटु उत्कृष्ट मिल्डफिल्डर घोषित भए । उत्कृष्ट सबै खेलाडीले बिज एजुकेशनले प्रायोजन गरेको जनही नगद ५÷५ हजार पुरस्कार पाए । प्रतियोगितामा दिब्यश्वरी युथ समाजले फेयर प्ले अवार्ड हात पार्दा उदियमान टोलीको अवार्ड बृहस्पति युवा क्लबले पाए ।


    प्रतियोगिताका विजयी खेलाडी तथा क्लवलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फाको जिल्ला समन्वय समितिका सहसंयोजक एवम् मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्टकुमार कवे, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष किशोर हेका, वरिष्ठ उपाध्यक्ष अनिल हेका, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तुबँजा श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।

     

     

  • लेवनडोस्की फिफा वर्ष खेलाडी

    भक्तपुर, माघ ४
    जर्मन फुटबल क्लव बायर्न म्युनिक स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको उपाधी जितेका छन । स्वीट्जरल्यान्डको जुरिचमा सम्पन्न अवार्ड कार्यक्रममा पोल्याण्डका लेवान्डोस्कीले लिभरपुलका मोहमद सलाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेसीलाई पछि पार्दै लगातार दोस्रो पटक फिफा वर्ष खेलाडी घोषित भएका हुन ।
    लेवान्डोस्कीले समग्रमा ४८ अंक प्राप्त गरे । मेस्सीले ४४ तथा सलाहले ३९ अंक प्राप्त गरे । सन् २०२१ मा ३३ वर्षीय फरवार्ड लेवान्डोस्कीले ६९ गोल गरेका थिए । उनले बुन्डेसलिगा अन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए । लेवान्डोस्की सन् २०१६ पछि लगातार अवार्ड जित्ने दोस्रो खेलाडी बने । यसअघि रोनाल्डोले सन् २०१६ र २०१७ मा लगातार अवार्ड जित्न सफल भएका थिए ।
    यस्तै फिफाले पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको रुपमा म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्डले सम्मान गरे ।
    महिलातर्फ बार्सिलोनाकी एलक्सिया पुटेलास वर्षको उत्कृष्ट खेलाडी घाषित भइन् । चेल्सीका थोमस टुचेल वर्षका उत्कृष्ट प्रशिक्षक बने । उनको नेतृत्वमा चेल्सीले दोस्रोपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको थियो ।
    सेभिल्लाका इरिक लामेलाले फिफा पुस्कास अवार्ड प्राप्त गरे । चेल्सीका इडोआर्ड मेन्डीले उत्कृष्ट गोलरक्षकको अवार्ड हात पारे । डेनमार्डको पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा फेयर प्ले अवार्ड जित्यो ।
    त्यस्तै फिफा फ्यान अवार्ड डेनमार्क र फिनल्यान्डका समर्थकले जिते । इमा हाएस वर्षका उत्कृष्ट महिला प्रशिक्षक बने । क्रिस्टिएन इन्डलेर उत्कृष्ट महिला गोलरक्षक, क्रिस्टिन सिन्क्लेरले फिफा उत्कृष्ट स्पेशल अवार्ड जिते ।

  • भक्तपुर लिगको फाइनल आज, उपाधीका लागि लोकन्थली र भक्तपुर युनाईटेड भिड्दै

    भक्तपुर, माघ ४
    भक्तपुर जिल्ला लिग फुटबलको फाइनल आज (मंगलवार) हुँदैंछ । फाइनलमा उपाधीका लागि लोकन्थली एफसी र भक्तपुर युनाईटेड एफसी प्रतिष्पर्धा गर्दैछन ।
    लोकन्थलीले आइतवार सम्पन्न पहिलो सेमिफाइनलमा विश्व विनायक एफसीलाई २–० र दोस्रो सेमिफाइनलमा भक्तपुर युनाईटेडले थिमि युथ क्लवलाई टाईब्रेकरमा १२–११ को गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन ।
    भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा जारी प्रतियोगिताको फाइनल खेल आज दिउँसो १२ बजे हुने संघका अध्यक्ष किशोर हेकाले जानकारी दिए ।

  • लोकन्थली एफसी फाइनलमा प्रवेश

    भक्तपुर, माघ २
    लोकन्थली फुटबल क्लव भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा जारी प्रतियोगिताको आइतवार सम्पन्न सेमिफाइनलमा लोकन्थलीले विश्वविनायक युथ क्लबलाई २– ० गोल अन्तरलेपराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
    लोकन्थलीको जितका लागि आशिष थिङले खेलको ४३ औं मिनेटमा र मानबहादुर पुनले ८० औंं गोल गरेका थिए । खेलमा लोकन्थलीका नरेशकुमार खत्री म्यान अफ द म्याच चुनिए । उनलाई साफ स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

  • भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिताका सेमिफाइनल खेलहरु आज

    भक्तपुर, माघ २
    भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिताका सेमिफाइनल खेलहरु आज (आइतवार) हुने भएको छ । सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा जारी भक्तपुर जिल्ला लिगको सेमिफाइनलमा लोकन्थली एफसी, भक्तपुर युनाईटेड एफसी, थिमि युथ क्लव र विश्व विनायक युथ क्लव पुगेका छन ।
    सहभागी क्लवलाई दुई समूहमा विभाजन गरी खेलाईएको लिगमा समूह ए बाट लोकन्थली एफसी र भक्तपुर युनाईटेड एफसी तथा समूह बी बाट थिमि युथ क्लव र विश्व विनायक युथ क्लवले सेमिफाइनलमा स्थान बनाएका हुन ।
    प्रतियोगिताको पहिलो समिफाइनल खेलमा दिउँसो ११ बजे लोकन्थली एफसी र विश्व विनायक युथ क्लवबीच हुनेछ । त्यस्तै दिउँसो ३ बजे हुने दोस्रो सेमिफाइनल खेलमा भक्तपुर युनाइटेडले थिमि युथसँग प्रतिष्पर्धा गर्नेछ ।
    प्रतियोगिताको फाइनल खेल मंगलवार हुने भक्तपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक अनिल हेकाले जानकारी दिए ।

  • राष्ट्रिय भारोत्तोलन सम्पन्न – अन्तिम दिन सन्देश र विशालको राष्ट्रिय कीर्तिमान

    भक्तपुर, पुस २९
    मध्यपुर थिमिमा बिहिवार सम्पन्न २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहिवार नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले राष्ट्रिय किर्तिमान बनाएका छन ।
    नेपाल भारोत्तोलन संघको आयोजनामा सम्पन्न प्रतियोगितामा सन्देशले सिनियर पुरुष ९६ केजीको स्न्याचतर्फ १ सय ९ केजी भार बहन गर्दै राजविराजमा २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशालसिंह विष्टले बनाएको १ सय ८ केजीको कीर्तिमान भंग गरेका हुन् । सन्देशले स्न्याचमा १०९ केजीसहित क्लिन एन्ज जर्कमा १ सय ३७ केजी गरी कुल २ सय ४६ केजी वजन उठाउदै स्वर्ण जिते । एपीएफका सुजन विकले रजत तथा धनुषाका उज्ज्वलकुमार मिश्राले कांस्य जिते ।


    सिनियर पुरुष १०२ केजीमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा राष्ट्रिय कीर्तिमान स्थापित गरे । उनले स्न्याचमा १ सय ११ र क्लिन एन्ड जर्कमा १ सय ५० केजी गरी जम्मा २ सय ६१ केजी भार उठाए । यसअघि उक्त कीर्तिमान सन्देश गुरुङको नाममा थियो । सन्देशको नाममा स्न्याचमा १ सय ३ केजी र क्लिन एन्ड जर्कमा १ सय ३५ केजीको राष्ट्रिय कीर्तिमान थियो । आर्मीका विनोद खड्का दोश्रो तथा एपीएफका रणबहादुर नगरकोटी तेश्रो भए ।
    सिनियर पुरुष ८९ केजीमा नेपाल प्रहरीका ओमप्रकाश वैश्य पहिलो भए । उनले स्न्याचमा १ सय ५ केजी र क्लिन एन्ड जर्कमा १ सय ३० केजी गरी कुल २ सय ३५ केजी भार वहन गरे । नेपाली सेनाका दिनेश कार्की दोश्रो तथा एपीएफका सन्तोष चौधरी तेश्रो भए ।

    जुनियर पुरुष ८९ केजीमा बाँकेका सुरज वैश्यले स्वर्ण जिते । उनले स्न्याचमा ७३ केजी र क्लिन एन्ड जर्कमा १ सय ५ केजी गरी जम्मा १ सय ७८ केजी वजन उठाए । चितवनका समिर थापा क्षेत्रीले रजत तथा पर्साका शिवनारायण यादवले कांस्य हात पारे । युथतर्फ पुरुषको ९६ केजीमा सप्तरीका सञ्जय यादवले स्न्याच र क्लिन एन्ड जर्कमा समान ९०–९० केजी गरी कुल १ सय ८० केजी तौल उचाल्दै शीर्ष स्थान हात पारे ।
    प्रतियोगिताको युथतर्फ महिला ८१ केजीमा कास्कीकी सिन्जल गुरुङ पहिलो भइन् । सिन्जलले स्न्याचमा ३३ केजी र क्लिन एन्ड जर्कमा ४२ केजी गरी कुल ७५ केजी वजन उठाइन् ।


    सिनियर महिलाअन्तर्गत ७६ केजीमा प्रहरीकी तारादेवी पुनले स्न्याचमा ६९ केजी र क्लिन जर्कमा ९३ केजी गरी जम्मा १ सय ६२ केजी भार उठाउदै पहिलो भइन् । ८१ केजीमा प्रहरीकी जानकी बुढा पहिलो भइन् । जानकीले स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ७८ केजी गरी जम्मा १ सय ३८ केजी वजन उचाल्दै स्वर्ण जितिन् । ८७ केजीमा प्रहरीकी विद्या राई पहिलो भइन् । विद्याले स्न्याचमा ६३ केजी र क्लिन एनड जर्कमा ७८ केजी गरी कुल १ सय ४१ केजी वजन उचालिन् । एपीएफकी निशाना बलाल दोश्रो भइन् । ८७ केजीमाथि नेपाल आर्मीकी अस्मिता राई पहिलो भइन् । अस्मिताले स्न्याचमा ५० केजी र क्लिन एन्ड जर्कमा ६० केजीसहित कुल १ सय १० केजी भार उचालिन् ।
    जुनियर पुरुषको १ सय २ केजीमा आर्मीका निरज सिग्देल पहिलो भए । उनले स्न्याचमा ५० केजी र क्लिन एन्ड जर्कमा ८० केजी गरी जम्मा १ सय ३० केजी भार वहन गरे ।


    सिनियर पुरुषको १०९ केजीमा प्रहरीका राजीव महर्जन पहिलो भए । उनले स्न्याचमा १ सय ७ केजी र क्लिन एन्ड जर्कमा १ सय २५ केजी गरी जम्मा २ सय ३२ केजी वजन उचाले । १०२ केजीमाथि आर्मीका पुकार गुरुङले पहिलो स्थान कब्जा गरे । उनले स्न्याचमा १ सय २० केजी र क्लिन एन्ड जर्कमा १ सय ४० गरी कुल २ सय ६० केजी भार वहन गरे । प्रहरीका सागर भण्डारी दोश्रो तथा सिरहाका प्रतापकुमार चौधरी तेश्रो बने ।
    विजेतालाई सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, आयोजक नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले पुरस्कृत गरे । तीनदिने प्रतियोगिताअन्तर्गत पुरुष÷महिलातर्फ सिनियर÷जुनियर÷युथमा गरी १ सय ४३ खेलाडीले विभिन्न ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

  • प्रिन्स ब्याडमिन्टनको विश्व वरियताको जुनियरतर्फ पहिलो स्थानमा

    भक्तपुर, पुस २९
    नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व वरियताको जुनियरतर्फ पहिलो स्थानमा पुगेका छन । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्ष स्थानमा उक्लिएका हुन् । प्रिन्सले पाएको सफलता ओलम्पिक मान्यता प्राप्त कुनै पनि खेलको खेलाडी वरियतामा प्राप्त अहिलेसम्मकै उच्च सफलता हो ।
    यस अघिको उनी तेस्रो स्थानमा थिए । प्रिन्सले प्राप्त गरेको वरीयता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट नतिजा हो । ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् । सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरीयता एक वर्षपछि परिवर्तन भएको हो । युवा अवस्थामै उनले राष्ट्रिय र अन्तराष्ट्रिय ब्याडमिन्टनमा प्रभाव जमाउँदै विश्व वरीयतामा फड्को मार्दै आईरहेका छन् ।
    प्रिन्सको वरीयतामा १० हजार ४ सय अंक छ । मलेसियाका जस्टिन हो ९५९० अंकसहित दोस्रो स्थानमा तथा मलेसियाकै मोहम्मद रजिफ ६९२५ अंकसहित तेस्रो स्थानमा छन् । प्रिन्स जुनियर बरियतामा डबल्सतर्फ नवौं स्थानमा रहेको छ ।
    बीडब्लुएफले पुरुषतर्फ जुनियर र सिनियरतर्फ गरी दुई स्पर्धामा विश्व वरीयता सार्वजनिक गर्दै आएको छ । महिलातर्फ नेपालकी रशिला महर्जन १९ औं स्थानमा तथा डबल्समा सातौं स्थानमा रहेकी छिन् ।

  • २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता – दोस्रो दिन सञ्जु र जुनुमायाको नयाँ किर्तिमान

    भक्तपुर, पुस २९
    मध्यपुर थिमिमा जारी २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०७८ मा दोस्रो दिन बुधवार थप दुई राष्ट्रिय किर्तिमान बनेका छन । पहिलो दिन जुनियर ५५ के जी तौल समूहमा गणेश रानाभाटले राष्ट्रिय किर्तिमान राखेका थिए पनि दोस्रो दिन बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले राष्ट्रिय किर्तिमान राख्न सफल भए ।


    १३औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियरतर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी र कुलमा १७१ केजी तौलमा सुधार गर्दै स्नाचमा ७८ केजी, क्लिन एण्ड जर्कमा ९८ केजी सहित कुलमा १७६ केजी तौलका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् ।
    उनले स्नाचमा पहिलो प्रयासमा ७० केजी भार बहन गरेकीमा दोश्रोमा ७५ केजी तौल भार बहन गर्दै किर्तिमानमा सुधार गरेकी थिईन् । पुनः तेश्रो प्रयासमा ७८ केजीका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् । यस्तै क्लिनमा पहिलो प्रयासमा ९१ केजी भार बहन गरेकी उनले दोश्रो प्रयासमा ९८ केजी भार बहन गर्न असमर्थ भईन् । तर तेश्रो प्रयासमा ९८ केजी तौललाई सहजताका साथ बहन गर्दै कुलमा १७६ केजी भारका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् ।
    ५९ केजी तौलको दोश्रो स्थान प्राप्त गरेकी नेपाली सेनाकी प्रसंशा पुनले स्नाचमा ४८ केजी, क्लिनमा ५७ केजी गरि कुल १०५ केजी भार बहन गरिन् । यस्तै सशस्त्र प्रहरी बलकी सरिता लामाले स्नाचमा ४३ केजी, क्लिनमा ५४ केजीका साथ कुल ९७ केजी भार बहन गरिन् ।

    यस्तै ७१ केजी तौलमा नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले पनि किर्तिमानमा आफ्नो नाम लेखाईन् । उनले स्नाचमा ६८ केजी र क्लिन एण्ड जर्कमा ८८ केजीका साथ कुल १५६ केजी भार बहन गर्दै किर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् । यसअघि यस तौल समूहको किर्तिमान नेपाल प्रहरीकी राजलक्ष्मी थापाको नाममा रहेको थियो । थापाले स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी र कुलमा १५४ केजीको किर्तिमान तेश्रो सुनिललाल स्मृति भारोत्तोलन प्रतियोगितामा राखेकी थिईन् ।
    यस विधामा दोश्रो स्थानमा सशस्त्र प्रहरी बलकी सरस्वती गुरुङ्ग रहिन् । उनले स्नाचमा ५८ केजी, क्लिनमा ६९ केजी गरि कुल १२७ केजी भार बहन गरिन् । यस्तै तेश्रो स्थानमा रहेकी सशस्त्र प्रहरीकै अन्जली श्रेष्ठले कुल १०८ केजी भार बहन गरिन् । उनले स्नाचमा ४८ केजी र क्लिनमा ६० केजी भार बहन गरेकी हुन् ।


    नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको ५९ केजी तौल समूहको युथ तर्फ एक्लै प्रतिस्पर्धा गरेकी सप्तरीकी सरिता यादवले स्नाचमा ४६ केजी, क्लिन एण्ड जर्कमा ६० केजीका साथ कुलमा १०६ केजी भारका साथ स्वर्ण हात पारिन् । महिला ५५ केजी तौलको युथमा सप्तरीकी पुजा मण्डलले स्नाचमा ४० केजी, क्लिनमा ५६ केजी गरि कुलमा ९६ केजी भारका साथ स्वर्ण हात पारिन् ।
    दोश्रो स्थानमा रहेकी बर्दियाकी सामना थारुले स्नाचमा ३५ केजी, क्लिनमा ३८ केजी गरि कुल ७३ केजी भार बहन गरिन् । यस्तै तेश्रो स्थान प्राप्त गरेकी सप्तरीकी सन्तोशी यादवले स्नाचमा ३० केजी, क्लिनमा ४० केजीका साथ कुलमा ७० केजी भार बहन गरिन् ।
    जुनियरतर्फ बर्दियाकी नन्दा थापा मगरले स्वर्ण हात पारिन् । उनले स्नाचमा ४६ केजी, क्लिनमा ५३ केजी गरी कुल ९९ केजी भार बहन गरिन् । दोश्रो स्थानमा दाङ्गकी राधिका चौधरी रहिन् । उनले स्नाचमा ३६, क्लिनमा ४२ गरी कुल ७८ केजी भार बहन गरिन् ।
    महिलाको ५५ केजीकै सिनियरतर्फ नेपाली सेनाका खेलाडीहरुले बर्चस्व राखे । सेनाकी प्रभा थारुले स्वर्ण, सृजना तामाङ्गले रजत र अस्मिता पुलामीले कास्य हात पारे । प्रभाले स्नाचमा ५२, क्लिनमा ६८ गरी कुल १२० केजी, सृजनाले स्नाचमा ४४, क्लिनमा ५१ ग्रि कुलमा ९५ केजी र अस्मिताले स्नाचमा ४०, क्लिनमा ५५ गरी कुलमा ९५ केजीका साथ प्राविधिक आधारमा तृतीय स्थानमा आईन् ।
    महिलाको ६४ केजी तौल समूहको युथतर्फ बर्दियाकी जयकला थापा मगरले स्वर्ण जितिन् । उनले स्नाचमा ४८ केजी, क्लिनमा ५६ केजी गरी कुलमा १०४ केजी भार बहन गरिन् । यस्तै ललितपुरकी खुशी थापाले युथ र जुनियर दुवैतर्फ रजत प्राप्त गरिन् । खुशीले स्नाचमा ३७ केजी, क्लिनमा ५२ केजी गरी कुल ८९ केजी भार बहन गरिन ।
    जुनियरतर्फ बर्दियाकी ललिता हेमरानाले स्वर्ण प्राप्त गरिन् । ललिताले स्नाचमा ४० र क्लिनमा ५५ केजी गरी कुल ९५ केजीका भार उचालिन् । यस्तै यस स्पर्धामा नेपाली सेनाकी श्रृजना सारुले तृतीय स्थान प्राप्त गरिन् । सारुले स्नाचमा ३५ र क्लिनमा ५० गरि कुल ८५ केजी तौल उचालिन् ।
    यस स्पर्धाको सिनियरतर्फ सेनाकी शारदा चौधरीले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६७ केजी, क्लिनमा ८० केजी गरि कुल १४७ केजी तौल उचालिन् । दोश्रो स्थानमा रहेकी प्रहरीकी देवी चौधरीले स्नाचमा ६४, क्लिनमा ७७ सहित कुल १४१ केजी भार उचालिन् । प्रहरीकै पुजा कुमाल तेश्रो भईन् । उनले स्नाचमा ५० केजी, क्लिनमा ६७ केजी सहित कुल ११७ केजी भार उचालिन् ।
    पुरुष ७३ केजी तौलको सिनियर तर्फ सेनाका जीवन तामाङले स्वर्ण हात पारे । उनले स्नाचमा ८६ केजी र क्लिनमा ११३ गरि कुलमा १९९ केजीका साथ स्वर्ण हात पारेका हुन् । दोस्रो स्थानमा सशस्त्र प्रहरीका राहुल कुमार दास रहे । उनले स्नाचमा ८२ क्लिनमा १०२ केजीका साथ कुल १८४ केजी भार बहन गरे । तेश्रो स्थानमा कास्कीका धनबहादुर झाक्री मगर रहे । उनले स्नाचमा ८५ र क्लिनमा ९८ केजी गरि कुल १८३ केजी भार बहन गरे ।
    ७३ केजी तौलको जुनियर र युथ तर्फको दुवै स्वर्ण कञ्चनपुरका हेमन्त पालले हात पारे । उनले दुवै स्पर्धामा सहभागिता जनाएका थिए । पालले स्नाचमा ७७, क्लिनमा ९५ केजी गरि कुलमा १७२ केजीका साथ स्वर्ण हात पारेका हुन् । जुनियरतर्फ सशस्त्र प्रहरीका लाहाङ थाम्सुहाङले स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी गरी कुलमा १५४ केजीका साथ रजत हात पारे हात पारे ।

    यस्तै कञ्चनपुरका अभिषेक बिष्टले स्नाचमा ६२, क्लिनमा ७६ गरि कुलमा १३८ केजीका साथ कास्य पदक पाए । युथतर्फ पर्साका अभय यादवले स्नाचमा ५०, क्लिनमा ६० गरी कुल ११० केजीका साथ रजत प्राप्त गरे ।

  • २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता – गणेशले राखे राष्ट्रिय किर्तिमान

    भक्तपुर, पुस २७
    मध्यपुर थिमिमा जारी २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका गणेश रानाभाटले राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । गणेशले सिनियर पुरुष ५५ केजी तौल समूहको क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका हुन् ।
    उनले सेनाका तुलाराम महतोको १०० केजी तौलको किर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय किर्तिमान राखेका हुन । सेनाका तुलारामले तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा आफैंले राखेको ९८ केजीको राष्ट्रिय किर्तिमान भंग गर्दै १०० केजी उठाएका थिए । लगत्तै गणेशले १०१ केजी भार बहन गर्दै राष्ट्रिय किर्तिमान राखेका हुन ।


    थिमिस्थित थिमि बैंक्वेटमा जारी प्रतियोगितामा गणेश समग्रमा दोस्रो स्थान हत पार्दै रजत पदक जिते । गणेशले क्लिन एण्ड जर्कमा राष्ट्रिय किर्तिमान राखेपनि सो स्पर्धामा तुलारामले स्वर्ण जिते । तुलारामले स्न्याचमा ८३ केजी, क्लिनमा १०० गरी समग्रमा १८३ केजी भार बहन गरे । यस्तै गाणेशले स्न्याचमा ७२ केजी र क्लिनमा १०१ केजी गरी समग्रमा १७३ केजी भार बहन गरे । तेश्रो स्थानमा बर्दियाका रमकुमार थारु रहे । उनले स्न्याचमा ६५ र क्लिनमा ९० केजी गरी कुल १५५ केजी भार बहन गरे ।
    नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५५ केजी युथतर्फ पर्साका राजन पटेलले स्न्याचमा ४२, क्लिन एण्ड जर्कमा ६० केजी गरी कुल १०२ केजीका साथ स्वर्ण हात पारे । यस तौल समूहमा युथमा प्रतिस्पर्धा गर्ने उनी एक्ला खेलाडी थिए ।


    यस्तै जुनियर तर्फ बाँकेका विनित योगी थारुले स्वर्ण जिते । उनले स्न्याचमा ७० केजी, क्लिनमा ९० केजीका साथ कुलमा १६० केजी भार बहन गरी स्वर्ण हात पारका हुन् । दोश्रो स्थानमा रहेका पर्साका धिरज गुप्ताले स्न्याचमा ६५ केजी, क्लिनमा ८० केजीका साथ कुल १४५ केजी भार बहन गरे । बर्दियाका सुदीप थारु कुलमा १४० केजीका साथ तेश्रो भए । उनले स्न्याचमा ६५ र क्लिनमा ७५ केजी भार बहन गरेका थिए ।
    महिलातर्फ युथ ४५ केजीतर्फ बर्दियाकी अरुणिमा थारुले स्वर्ण र सप्तरीकी अम्बिका यादबले रजत प्राप्त गरे । थारुले स्नाचमा ३८ केजी, क्लिन एण्ड जर्कमा ५० केजी गरी कुल ८८ केजी भार बहन गरिन् । यस्तै यादबले स्नाचमा ३० र क्लिनमा ३५ केजी गरी कुल ६५ केजी भार बहन् गरिन् ।
    ४९ केजी युथमा सप्तरीकी अञ्जली यादवले स्नाचमा ३५ केजी र क्लिनमा ४१ केजी गरी कुल ७६ केजीका साथ स्वर्ण प्राप्त गरिन् । यस्तै दाङकी निशा चौधरीले स्नाचमा ३४ केजी, क्लिनमा ३८ केजीका साथ कुल ७२ केजीका साथ रजत र झापाकी सोनीदेवी दासले स्नाचमा २८ केजी, क्लिनमा ४० केजी गरी कुलमा ६८ केजी भारका साथ कास्य प्राप्त गरिन ।
    जुनियर तर्फ ४५ केजीमा एक मात्र खेलाडी सप्तरीकी ज्योती मण्डलले स्नाचमा ३५ केजी, क्लिनमा ४० केजी गरि कुलमा ७५ केजी भार बहन गर्दै स्वर्ण प्राप्त गरिन् । ४९ केजीमा बर्दियाकी पवित्रा थापा मगरले स्वर्ण जित्दा दाङकी सन्जना चौधरीले रजत पाईन् । दुई खेलाडीविच भएको प्रतिस्पर्धामा थापा मगरले स्नाचमा ४५ केजी, क्लिनमा ५६ केजीका साथ कुल १०१ केजी भार बहन गरी स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै चौधरीले स्नाचमा ३५, क्लिनमा ४७ केजी गरी कुलमा ८२ केजी भार बहन गरिन् ।
    महिला ४५ केजी सिनियरतर्फ नेपाली सेनाकी मनिषा रानाभाटले स्वर्ण जितिन् । उनले स्नाचमा ५२ केजी र क्लिनमा ६१ केजी गरी कुल ११३ केजी भार बहन गरिन् । दोश्रो स्थानमा रहेकी झापाकी करिना चौधरीले स्नाचमा ४८ केजी, क्लिनमा ६१ गरी कुलमा १०९ केजी भार बहन गरिन् । तेश्रो स्थानमा रहेकी नेपाल प्रहरीकी हिरामती थारुले स्नाचमा ४६ केजी र क्लिनमा ५५ केजीका साथ कुल १०१ केजी भार बहन गरिन् ।
    महिला ४९ केजी तर्फ प्रहरीका संगिता राईले स्वर्ण र तिला राईले रजत पाईन् । संगिताले स्नाचमा ५५ केजी र क्लिनमा ७३ केजी गरी कुल १२८ केजी भार बहन गरेकी थिईन् । तिलाले स्नाचमा ४३ केजी, क्लिनमा ५२ केजी गरि कुल ९५ केजी भार बहन गरिन् ।
    यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रममा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमल बहादुर अधिकारी र १३ औं सागमा स्वर्ण पदक प्राप्त गर्न सफल बिकास थापा र सञ्जु चौधरीलाई संस्कृतिविद् सत्यमोहन जोशी, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ अध्यक्ष श्रेष्ठका पिता पुर्ण शंकर श्रेष्ठले नगदसहित सम्मान गरेका थिए । पुर्ण शंकरले व्यक्तिगत रुपमा नगद १० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।