Category: खेलकुद

  • नेपाल लोकतान्त्रिक खेलकुद महासंघको भक्तपुर जिल्ला अध्यक्षमा पुनः सुदिप डंगोल

    भक्तपुर, चैत्र २३
    नेपाल लोकतान्त्रिक खेलकुद महासंघको भक्तपुर जिल्ला अध्यक्षमा सुदिप डंगोल चयन भएको छ । महासंघको शुक्रवार सम्पन्न प्रथम जिल्ला अधिवेशनले डंगोललाई पुनः अध्यक्ष चयन गरेको हो ।
    अधिवेशनले महासंघको भक्तपुर उपाध्यक्षमा करुणा राउत क्षेत्री, सचिवमा अक्षय कवे र कोषाध्यक्षमा एलिना अवाललाई सर्वसम्मत चयन गरेको छ । यस्तै सदस्यहरुमा सुजन पौडेल, यमन राजबहाक, बलराम प्रजापति, विकास प्रजापति, विमला डंगोल, सोनु डंगोल, संजिव कौरी र शक्तिलाल सिन्केमन चयन भएका छन ।
    यसैगरी अधिवेशनले प्रतिनिधि सभा क्षेत्र नं. १ को अध्यक्षमा पुष्कर खड्का, क्षेत्र नं. २ को अध्यक्षमा राजेश श्रैष्ठ, प्रदेश सभा क्षेत्र नं. १ क को अध्यक्षमा देवेन्द्र गेलाल, क्षेत्र नं. १ ख को अध्यक्षमा सञ्जय अवाल, प्रदेश सभा क्षेत्र नं. २ ख को अध्यक्षमा रवि प्रजापति, मध्यपुर थिमि नगर अध्यक्षमा सहज प्रजापति, चाँगुनारायण नगर अध्यक्षमा श्याम गेलाल चयन भएको नवनिर्वाचित अध्यक्ष सुदिप डंगोलले जानकारी दिनुभयो ।

     

  • लिग टु का लागि ४८ खेलाडी छनोट

    भक्तपुर, चैत्र १७
    विश्वकप लिग टु अन्तर्गत जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनोटमा ४८ खेलाडीलाई समावेश गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार टोली छनोट प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
    छनोटमा परेका खेलाडीहरूमा रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, गुल्सन कुमार झा, करण केसी, ललित नारायण जोशी, अनिल कुमार साह, सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, विवेक कुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जीसी रहेका छन ।
    यसैगरी अविनाश बोहरा, मयन यादव, अर्जुन घर्ती, हेमन्त धामी, दीपेश प्रसाद कँडेल, रुपेश कुमार सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, किरण ठगुन्ना, ईशान पाण्डे, शेर मल्ल, प्रज्वल थापा, तृतराज दास, दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलीप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, शाकिब हक, विनोद भण्डारी, पवन सर्राफ, राशिद खान, अर्जुन साउद छन ।
    क्यानका अनुसार छनोट भएका ४८ खेलाडीलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी ४ समूहमा विभाजन गरी तयारी खेलहरु संचालन गरिने छ ।
    आगामी जुनमा नेपालले स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्नेछ ।
    नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने क्यानले जनाएको छ । छनोटका खेलहरु आगामी साता हुने हङकङ सिरिज पश्चात हुनेछ । मुख्यतः लुम्बिनी प्रदेशमा शनिवार सकिएको प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिताको प्रर्दशनका आधारमा खेलाडीको छनोट गरिएको बताइएको छ ।

     

  • एएफसी एसियन कप छनोटमा मलेसियासँग नेपाल पराजित

    भक्तपुर, चैत्र १३
    एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूस्थित सुल्तान इब्राहिम रंगशालामा मंगलवार राती सम्पन्न खेलमा नेपाल २–० ले पराजित भएको हो ।
    खेलको पहिलो हाफमा १–० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थप्दै २–० को जित निकालेको हो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता लियो । हेक्टर हेभलले गोल गर्दै मलेसियालाई खेलमा अघि बढाएका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।
    पोर्चुगाली क्लब पोर्टिमोनेन्सका खेलाडी हेक्टर हेभलले मलेसियाली जर्सीमा डेब्यु खेलमै गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन् । उनी नेदरल्यान्ड्समा जन्मिएका हुन् । मिडफिल्डर हेभेल मलेसियाले ‘हेरिटेज प्लेयर’का रुपमा भित्रयाएका नयाँ खेलाडी हुन् । नेदरल्यान्ड्समा जन्मिएका उनी अट्याकिङ मिडफिल्डर हुन् । उनले यू १६, यू १९ र यू २० डच टिमबाट खेलिसकेका छन् ।
    उनीसँग नेदरल्यान्ड्स र साइप्रसको शीर्ष श्रेणीसँगै स्पेनको सेगुन्डा डिभिजन, चीनको लिग वान र पोर्चुगलको लिग २ खेलेको अनुभव पनि छ । यो सिजन पोर्टिमोनेन्सबाट पोर्चुगलको दोस्रो श्रेणीको लिग खेलिरहेका २८ वर्षीय उनी प्राविधिक रुपमा उत्कृष्ट छन् ।
    उनी भर्सटाइल मिडफिल्डर हुन् । सेन्ट्रल र अट्याकिङ मिडफिल्डमा जम्ने गरेका उनी खेल नियन्त्रण गर्दै गोलका लागि सटिक पास उपलब्ध गराउन सिपालु छन् । उनको ट्रान्सफर मार्केटको मूल्य चार लाख ५० हजार युरो उल्लेख छ । उनै हेभलले मलेसियाली जर्सीमा डेब्यु खेलमै गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन् ।
    त्यसपछि नेपालले ४० मिनेट मलेसियालाई रोकेको थियो । तर, ७०औं मिनेटमा दोस्रो गोल खाएको हो । ला’भेरे कोर्बिन–अङले गोल गर्दै मलेसियाको अग्रता दोब्बर बनाए । फ्रिकिकबाट सुरु भएको उत्कृष्ट सेटअप प्लेमा अरिफ आइमान हनापीले पास मिलाउँदै अङलाई अवसर दिलाएका थिए । जसमा उनले कुनै गल्ती गरेनन् । यद्यपि अन्तिम पास लिने क्रममा उनी अफसाइड पोजिसनमा देखिएका थिए ।
    जित सँगै मलेसियाले ३ अंक जोडेको छ । समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् । अर्को खेलमा भिएतनामले लाओसलाई ५–० ले हराउँदै शानदार सुरुवात गरेको छ । होम एण्ड अवे खेलपछि समूहमा शीर्ष स्थानमा रहने एक टिमले एसियन कपमा स्थान बनाउने छ ।

     

  • मलेसिया विरुद्ध नेपाल पहिलो हाफमा नेपाल १–० ले पछि

    भक्तपुर, चैत्र १२
    नेपाल एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा मलेसियासँग पहिलो हाफमा पछि परेको छ । मलेसियाको सुल्तान इब्राहिम स्टेडियममा जारी खेलमा घरेलु टोलीले १–० को अग्रता लिएको हो ।
    मलेसियाको लागि खेलको २९औं मिनेटमा हेक्टर हेभलले गोल गर्दै अग्रता लिएको हो । हेभल पोर्चुगाली क्लब पोर्टिमोनेन्सका खेलाडी हुन । मिडफिल्डर हेभेल मलेसियाले ‘हेरिटेज प्लेयर’का रुपमा भित्रयाएका नयाँ खेलाडी हुन् । नेदरल्यान्ड्समा जन्मिएका उनी अट्याकिङ मिडफिल्डर हुन् । उनले यू १६, यू १९ र यू २० डच टिमबाट खेलिसकेका छन् ।
    उनीसँग नेदरल्यान्ड्स र साइप्रसको शीर्ष श्रेणीसँगै स्पेनको सेगुन्डा डिभिजन, चीनको लिग वान र पोर्चुगलको लिग २ खेलेको अनुभव पनि छ । यो सिजन पोर्टिमोनेन्सबाट पोर्चुगलको दोस्रो श्रेणीको लिग खेलिरहेका २८ वर्षीय उनी प्राविधिक रुपमा उत्कृष्ट छन् ।
    उनी भर्सटाइल मिडफिल्डर हुन् । सेन्ट्रल र अट्याकिङ मिडफिल्डमा जम्ने गरेका उनी खेल नियन्त्रण गर्दै गोलका लागि सटिक पास उपलब्ध गराउन सिपालु छन् । उनको ट्रान्सफर मार्केटको मूल्य चार लाख ५० हजार युरो उल्लेख छ । उनै हेभलले मलेसियाली जर्सीमा डेब्यु खेलमै गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन् ।
    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले मलेसियाविरुद्धको खेलमा एक परिवर्तन गरेका छन् । प्रशिक्षक रसले शुरुआती ११ मा नियमित खेल्दै आएका फरवार्ड अञ्जन विष्टलाई आराम दिएका छन् । उनको स्थानमा मिडफिल्डर लाकेन लिम्बूलाई सुरुआती ११ मा समेटेका छन् ।
    नेपालको शुरुवाती ११ मा किरण चेम्जोङ (कप्तान तथा गोलकिपर), सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, जेलेस्पीजंघ कार्की, एरिक विष्ट, सुमित श्रेष्ठ, लाकेन लिम्बू, आयुष घलान, मनीष डाँगी र रोहित चन्द रहेका छन ।
    नेपाल हाल फिफा वरीयतामा १७५औं स्थानमा छ भने मलेसिया १३२औं स्थानमा छ । विगत सात भेटमा नेपालले मलेसियालाई पराजित गर्न सकेको छैन । मलेसियाले ६ खेल जित्दा एक खेल बराबरीमा सकिएको छ ।
    नेपाल र मलेसियाबीचको अन्तिम भेट २०१९ मा मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ नेपाल २–० ले पराजित भएको थियो ।

  • एपिएफ राष्ट्रिय महिला फुटबल च्याम्पियन

    भक्तपुर, चैत्र ९
    सशस्त्र प्रहरी बलको एपिएफ एससी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । चितवनको भरतपुरस्थित कृष्णपुरको मैदानमा शनिवार भएको फाइनलमा एपिएफ नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै च्याम्पियन बनेको हो ।
    निर्धारित ८० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकालेको हो । खेलमा अग्रता भने आर्मीले लिएको थियो । १३ औं मिनेटमा विमला चौधरीको गोलमा आर्मीले अग्रता लियो । अग्रता जोगाउन नसकेको आर्मीले उपाधि गुमायो ।
    अन्तिम ६ मिनेट सम्हालिन नसक्दा आर्मी स्तब्ध भयो । ७४ औं मिनेटमा रश्मीकुमारी घिसिङले सुन्दर हेडर गोल गर्दै एपिएफलाई खेलमा फर्काइन् । प्रिति राईको उत्कृष्ट भली पासमा रश्मीकुमारीले उत्कृष्ट हेडर गोल गरेकी हुन । एपिएफकी प्रीति राई प्लेयर दि फाइनल घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
    एपिएफले ट्रफीसहित ३ लाख र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपिएफले यो वर्ष लिग सहित ३ वटा उपाधि जितेको छ ।
    एन्फा महिला लिगको फाइनलमा नेपाल पुलिस क्लबलाई हराएको एपिएफले दुई वटा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आर्मीलाई पराजित गर्यो । फागुन २४ गते इलाम गोल्डकपको फाइनलमा पनि आर्मी एपिएफसँग पराजित भएको थियो ।
    चितवनमा आर्मीकी चन्द्रा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ४० हजार प्राप्त गरिन् । एपिएफकी सावित्री किसन उत्कृष्ट गोल रक्षक, आर्मीकी विमला बिक उत्कृष्ट डिफेन्डर, एपिएफकी रेनुका नगरकोटे उत्कृष्ट मिडफिल्डर, एपिएफका जीवेश पाण्डे उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगितामा ८ गोलसहित एपिएफकी रश्मि कुमारी घिसिङ सर्वाधिक गोलकर्ता रहिन् । उनीहरुले जनही २० हजार रुपैयाँ प्राप्त गरे । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा भएको प्रतियोगितामा ८ टोली सहभागी थिए ।

  • अर्जेन्टिना विश्वकपमा छनोट हुन एक अंकले टाढा

    भक्तपुर, चैत्र ९
    उरुग्वेलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप–२०२६ को छनोट नजिक पुगेको छ । लिओनल मेसी, लउटारो मार्टिनेज र अन्य प्रमुख खेलाडी विना मैदानमा उत्रेको अर्जेन्टिनाले शुक्रवार सम्पन्न खेलमा उरुग्वेलाई १–० ले पराजित गरेपनि विश्वकपको छनोट नजिक पुगेको हो ।
    दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना १३ खेलबाट २८ अंकसहित शिर्ष स्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा)को नियमानुसार विश्वकप २०२६ मा दक्षिण अमेरिकाबाट सोझै ६ टोलीले प्रवेश पाउने छन । दक्षिण अमेरिकी छनोटमा १३ औं चरणको खेल समाप्तीमा इक्वेडर २२ अंकसहित दोस्रो, ब्राजिल २१ अंक सहित तेस्रो, उरुग्वे २० अंकसहित चौंथो, पाराग्वे पनि २० अक सहित पाँचौं र कोलम्बिया १९ अंकसहित छैंटौं स्थानमा रहेको छ ।
    सातौं स्थानमा रहेको बोलिभियाको १३ अंक रहेको छ जुन पहिलो स्थानको अर्जेन्टिनाको तुलनामा १५ अंकले कम हो । जसअनुसार साविक विश्व विजेता अर्जेन्टिना विश्वकप छनोटबाट एक अंक टाढा रहेको छ ।
    अर्जेन्टिनालाई विश्वकप छनोट नजिक पु¥याउन थियागो आल्माडाले ६८औं मिनेटमा बक्सको छेउबाट सुन्दर कल्र्ड शट प्रहार गर्दै महत्वपूर्ण तीन अंक दिलाए । ब्राजिलविरुद्ध मंगलबार हुने घरेलु खेल बराबरी गरे या जित निकाले अर्जेन्टिनाले विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछ । पछिल्लोपल्ट अर्जेन्टिनाले ब्राजिललाई रियो डि जनेरियोको मराकाना स्टेडियममा १–० ले हराएको थियो ।
    अर्जेन्टिनाले यस खेल मेसी मात्र होइन, मार्टिनेज, लिसान्द्रो मार्टिनेज र रोड्रिगो डि पउलबिनै खेलेको हो । प्रशिक्षक लिओनल स्कालोनीले टिममा नयाँ अनुहार ल्याउँदै जुलियानो सिमेओनेलाई पहिलो रोजाइमा राखेका थिए, जसमा जुलियन अल्भारेज र थियागो आल्माडा आक्रमणमा थिए ।

     

  • भक्तपुरमा अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता हुने

    भक्तपुर, चैत्र ८
    भक्तपुरमा अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा यही चैत्र २३ गतेदेखी २६ गतेसम्म अन्त्रनगर जिम्नाष्टिक प्रतियोगिता हुने भएको हो ।
    प्रतियोगिता आयोजनाबारे शुक्रवार आयोजित बैठकमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मात्र नभई देशकै खेलकुदलाई क्षेत्रलाई अगाडि बढाउन नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
    उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा हुने अन्तर नगर जिम्नाष्टिक खेलकुद प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्न खेलकुद समिति, खेलाडी, निर्णायकलगायत सबैको भूमिका महत्वपूर्ण रहेको बताउँदै सबैको सामूहिक निर्णयमा जिम्नाष्टिक प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो ।
    नेपाल जिम्नाष्टिक संघका अध्यक्ष एवम् सांसद धु्रवबहादुर प्रधानले भक्तपुर नपाले खेलकुद क्षेत्रमा गरिरहेको गतिविधिहरुबाट अन्य स्थानीय तहहरुलाई पनि प्रेरणा मिलेको बताउँदै जिम्नाष्टिक खेल सबै खेलहरुको प्रारम्भिक खेलको रुपमा रहेको र यो खेल सिकेपछि अन्य खेल खेल्न पनि सहज हुने जानकारी दिनुभयो ।
    भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले खेलकुद मानव जीवनको अभिन्न अंग भएकोले विद्यालय तहदेखि खेलकुदमा विद्यार्थीहरुलाई सहभागी गराउन सके विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पुग्ने बताउनुभयो ।
    भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न १५१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा उपसमितिहरु गठन गरिएको जानकारी गराउँदै प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।
    बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, प्रशिक्षक राजेश्वरमान स्थापित, भक्तपुर जिल्ला जिम्नाष्टिक संघका अध्यक्ष दिपककृष्ण प्रजापति, युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीलगायतले प्रतियोगिताको विविध पक्षमा जानकारी दिनुभएको थियो ।

     

  • जिलेस्पीको गोलमा सिंगापुर माथि नेपालको ऐतिहासिक जित

    भक्तपुर, चैत्र ७
    नेपालले फुटबलमा सिंगापुर माथि ऐतिहासिक जित निकालेको छ । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत आज (शुक्रवार) राती सम्पन्न खेलमा नेपालले सिंगापुरलाई १–० ले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो ।
    सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि जिलेस्पी जंग कार्कीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दायाँ विंगबाट दिएको लो पासलाई उनले पहिलो टचमै गोलमा परिणत गरेका थिए । जिलेस्पीको राष्ट्रिय टोलीबाट यो तेस्रो गोल हो ।
    त्यसपछि पनि नेपालले खेलमा गोल गर्ने मौका पाएको थियो तर सदुपयोग भएन । सिंगापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि सफल भएन । सिंगापुरले अन्तिमतिर लगातार आक्रमण गरे पनि नेपाली डिफेन्स र कप्तान तथा गोलकिपर किरणले बचाएका थिए ।


    एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि नेपालले सिंगापुरलाई हराउन सकेको थिएन ।
    नेपाल र सिंगापुर सन् १९८९ पछि आमुन्नेसामुन्ने भएका हुन् । ५ जुन १९८९ मा भएको पछिल्लो भेटमा सिंगापुरले नेपाललाई ७–० ले पराजित गरेको थियो । त्यसअघि भएको दुई भेट (१९८२ र १९८९) मा पनि नेपाल क्रमशः २–० र ३–० ले पराजित हुन पुगेको थियो ।


    सन् १९८९ मा भएको दुई खेल विश्वकप छनोटका हुन् भने १९८२ को खेल किङ्स कपको रहेको थियो । तर, यसपल्ट भने फिफा वरीयतामा आफूभन्दा १५ स्थान (१६०औं स्थानमा) रहेको सिंगापुरलाई नेपालले हार चखाएको हो ।
    प्रशिक्षक म्याट रसको पहिलो अधिकारिक खेलमा नेपालले विजयी सुरुवात गरेको हो । रसले आफ्नो डेब्यु खेलमा युवा मिडफिल्डर सुबास बम ठकुरीलाई पनि डेब्युको अवसर दिए ।


    योसँगै नेपाल एएफसी एसियन कप छनोट २०२७ खेल्न प्रस्थान गर्नेछ । मार्च २५ मा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । यस समूहमा भिएतनाम र लाओस पनि छन् । शीर्षस्थानमा रहेको टोलीले एसियन कप खेल्नेछ ।
    सिंगापुरको समूहमा भने भारत, हङकङ र बंगलादेश छन् । सिंगापुरले पहिलो खेलमा हङकङको सामना गर्नेछ ।

  • श्रीलंकामा पुरुषोत्तमले सिएम उपाधि प्राप्त गरे

    भक्तपुर, चैत्र ५
    नेपाल च्याम्पियनका उपविजेता पुरुषोत्तम सिलवालले श्रीलंकामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टर (सिएम)को उपाधि जितेको छ । आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे युवा पुरुषोत्तमले उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धा मार्फत ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गर्न सफल भएका हुन ।
    वल्र्ड चेस फेडेरेसन (फिडे) र एसियन चेस फेडेरेसन (एसिएफ)को समन्वयमा श्रीलंका चेस फेडेरेसनको आयोजनामा सम्पन्न एसियन जोनल ३.२ चेस प्रतियोगितामा पुरुषोत्तमले मध्यम स्तरको खेल पस्केका छन्।
    आयोजक श्रीलंका सहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानका खेलाडी बिच प्रतिस्पर्धा भएको एसियन जोनल ३.२ कोलम्बोस्थित फ्याकल्टि अफ ग्राजुएट स्टडिज युनिभर्सिटीको हलमा ११ मार्च देखि १८ मार्च सम्म सञ्चालन भएको हो ।
    २५ औं नेपाल च्याम्पियन तथा १० औं महिला नेपाल च्याम्पियनको हैसियतमा एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीलाई हवाई टिकट सहित अन्य सम्पूर्ण खर्च उपलब्ध गराउदै नेपाल बुद्धिचाल महासंघले सहभागी गराएका थिए ।
    स्पर्धामा नेपाल च्याम्पियन फिडे मास्टर रुपेशले ५ अंक जोडेका छन् भने महिला च्याम्पियन सिन्दिराले कमजोर खेल खेल्दै ३.५ मात्र जोडिन ।
    दक्षिण एसियाली देशको प्रतिष्ठित चेस खेलमा बंगलादेशका २४३१ रेटेड अन्तर्राष्ट्रिय मास्टर आईएम मनुन रेजा नीरले ७ अंक बनाउदै एकल अग्रता सहित पहिलो स्थान हासिल गरे ।
    प्रतियोगितामा समान ६.५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा बंगलादेशका २३२७ रेटेड फिडे मास्टर जिया तहसिन तज्वार द्वितीय, श्रीलंकन २४०२ रेटेड आईएम लियानागे रानिन्दे दिलसान तृतीय, बंगलादेशका २४३१ रेटेड आईएम मोहमद फहाद रहमान चौथो, २११३ रेटेड एफएम रहमान साहिद महफुजुर पाँचौ र ६ अंक जोडेर श्रीलंकाका पेसान्दु रस्मिथा छैटौं स्थानमा रहे ।
    महिलातर्फ बंगलादेशका २०९७ रेटेड अहमेद वादिफाले ७ अंक प्रोग्रेसिभ ४६ प्वाइन्ट बनाउदै पहिलो स्थान हासिल गरे । उनले महिला उपाधि सँगसँगै अन्तर्राष्ट्रिय मास्टरको आईएम टाइटल पनि पाउन सफल भए ।
    समान ७ अंक जोडे पनि प्रोग्रेसिभ ४२.५ प्वाइन्टमा सिमित बन्दै श्रीलंकाका २१२१ रेटेड डेभिण्ड्या गुरुवर्धने दोश्रो स्थान प्राप्त गरे । प्रतिस्पर्धामा श्रीलंकाका १७८१ रेटेड एएफएम दुलिन्मा हेमाल्नी र २०५३ रेटेड डब्लूसिएम दाहाम्दि समान ६.५ अंक सहित तेस्रो र चौथो भईन् । यस्तै ६ अंकमा १८०१ रेटेट एम ईशान्दि र १७७६ रेटेड सेथुम्ली डेभहारा पाँचौ र छैटौं बनीन् ।
    वल्र्ड चेस फिडेको अफिसियल बुद्धिचाल प्रतियोगितामा शीर्ष ६ पुरुष र ६ जना महिला खेलाडीहरुले ६ हजार १५० युएस डलर बराबरको पुरस्कार एक आपसमा बाँडे । जसमा पुरुषतर्फ क्रमशः १ हजार ५ सय, १ हजार, ५ सय, ३ सय, २ सय र १ सय ५० डलर प्राप्त गरे भने महिलातर्फका विजेताले १ हजार, ६ सय, ४ सय, २ सय ५० र १ सय डलर पुरस्कार प्राप्त गरे ।
    यसैबीच सम्पन्न फन खेलको अर्को विधा ब्लिट्ज् चेस प्रतियोगितामा नेपालका २१५९ रेटेट एफएम रुपेश जैसवालले ५.५ अंक जोडेर चौथो स्थान प्राप्त गर्न सफल भएका छन् भने २१३५ रेटेड युवा पुरुषोत्तम सिलवालले ५ अंक जोडेर छैटौं स्थान हासिल गरेका छन् ।

     

  • बी डिभिजन लिगमा मध्यपुरको पहिलो जित

    भक्तपुर, चैत्र ५
    शहिद स्मारक बी डिभिजन लिगमा भक्तपुरको मध्यपुर युथ एशोसियसनले पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलवार सम्पन्न रोमाञ्चक खेलमा मध्यपुरले झापा फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै लिगमा पहिलो जित निकालेको हो । मध्यपुरले पहिलो खेलमा टुसाल युथ क्लवसँग बराबरी खेलेको थियो ।
    जितसँगैं मध्यपुरको दुई खेलबाट चार अंक भएको छ । झापाको भने यो लगातार दोस्रो हार हो । मध्यपुरलाई जित दिलाउन सजिन थापामगरले एक गोल गरे भने अर्को आत्मघाती गोल भएको थियो । झापाका लागि पुजन राईले एक गोल गरे ।


    खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । खेलको ५१ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । यो गोलमा मध्यपुरले १–० को अग्रता बनायो ।
    मध्यपुरका कप्तान राहुल खड्काले रिबाउन्डमार्फत आएको बललाई झापाको पेनाल्टी बक्सबाट प्रहार गरेका थिए । उक्त बललाई बचाउने प्रयास गर्दा पेमालाई ‘डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भएको थियो ।


    खेल सकिन एक मिनेट बाकी छँदा पुजन राईले गोलकिपरलाई बिट गर्दै गोल गरे र खेल १–१ को बराबरीमा पु¥याए । इन्जुरी समयमा सजिन थापा मगरले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार गोलमा परिणत भयो । यही गोल निर्णायक बन्दा मध्यपुरले नाटकीय शैलीमा २–१ को जित दर्ता गर्यो ।


    खेलमा निर्णायक गोलकर्ता सजिन प्लेयर अफ दी म्याच घोषित भए । उनले नगद ७ हजार ५ सय पुरस्कार प्राप्त गरे । मध्यपुर युथले खेल जिते वापत २५ हजार रुपैंया खेल विजेता पुरस्कार प्राप्त गरे ।