Category: खेलकुद

  • पेरिस ओलम्पिकमा प्रिन्स भिक्टरसँग सोझो सेटमा पराजित

    भक्तपुर, साउन १३
    पेरिस ओलम्पिक २०२४ अन्तर्गत शनिवार राती सम्पन्न व्याडमिन्टन खेलमा नेपाली स्टार खेलाडी प्रिन्स दाहाल समूह चरणको पहिलो खेलमा पराजित भएका छन । उनी विश्व वरियतामा दोस्रो नम्बरमा समेत रहेका डिफेन्डिङ च्याम्पियन डेनमार्कका भिक्टर एक्सल्सनसँग सहजै पराजित भएका हुन ।
    भिक्टरसँग पहिलो सेट २१–८ ले गुमाएका प्रिन्सले दोस्रो सेटमा पनि गतिलो चुनौती पेश गर्न सकेन र २१–६ ले पराजित भए ।
    हारसँगै समूह ‘पी’ मा रहेका प्रिन्सको अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ । ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स आयरल्यान्डका नियात नुयन (४३औं वरीयता) र इजरायलका मिसा जिल्वरमन (५९औं वरीयता) विरुद्ध खेल्नेछन् । प्रिन्स विश्व वरीयतामा १ सय ७२औं स्थानमा रहेका छन् ।
    १९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी समेत भएका छन् । प्रिन्सले युनिभार्सलिटी कोटाबाट ओलम्पिकका लागि छनोट भएका हुन् ।

  • पेरिस ओलम्पिकमा स्यान्टु प्रारम्भिक चरणबाटै बाहिरिए

    भक्तपुर, साउन १३
    पेरिस ओलम्पिकमा नेपाली टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन् । उनी सेनेगलका इब्राहिम डिएवसँग ४–० को सोझो सेटमा पराजित भएका हुन् ।
    स्यान्टुले पहिलो सेटमा इब्राहिमलाई कडा टक्कर दिएका थिए । उनले पहिलो सेट १०–१२ ले गुमाए । त्यसपछि उनी खेलमा फर्किन सकेनन् । उनी लगातार ३–११, ४–११ र ५–११ ले पराजित हुन पुगे ।
    जितसँगैं इब्राहिम अन्तिम ६४ मा प्रवेश गर्दा स्यान्टु भने प्रतियागिताबाट बाहिरिएका छन । उनी गत जेठ दुई गते लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको दक्षिण एसियाली छनोट फाइनलमा नेपालकै संयोग कपालीलाई हराउँदै पेरिस ओलम्पिकमा छनोट भएका हुन ।
    स्यान्टु छनोटचरण पार गरेर पेरिस ओलम्पिक २०२४ खेल्ने एकमात्र नेपाली खेलाडी हुन् । समग्रमा भने उनी छनोटचरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी हुन् । यसअघि संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । नेपाली टेबल टेनिस इतिहासमा भने ओलम्पिकमा छनोट हुने उनी पहिलो खेलाडी हुन् ।

  • त्रियोग अन्तर विद्यालय बुद्धिचालमा प्रतीक र रियाले जिते उपाधि

    भक्तपुर, साउन ४
    अन्तर्राष्ट्रिय बुद्धिचाल दिवसको अवसरमा आयोजना गरेको चौथो त्रियोग अन्तर विद्यालयस्तरिय बुद्धिचाल प्रतियोगितामा प्रतिक सुवेदी र रिया श्रेष्ठले उपाधि जितेका छन ।
    विश्व बुद्धिचाल महासंघ स्थापनाको शतवार्षिकीको अवसरमा आयोजित प्रतियोगिताको ८ देखि १० कक्षा समूहको छात्रतर्फ मनकामना माविका प्रतिक र छात्रातर्फ आयोजक त्रियोगका रियाले उपाधि जितेका हुन ।
    काठमाण्डौं जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा त्रियोग स्कुलमा सञ्चालन भएको प्रतियोगितामा ८ देखि १० कक्षा समूहको छात्रतर्फ मोर्डन ईण्डियन स्कूलका आशिष् गुप्ता द्वितीय र क्रियटिभ स्कूलका सफल महर्जन तृतीय भए । यस्तै छात्रातर्फ त्रियोगका कृपा बेलबासे द्वितीय र डिएभि स्कूलका प्रज्ञा पन्त तृतीय भए ।
    कक्षा ६ देखि ७ सम्मको छात्रतर्फ पाठशालाका ओस्कार पन्थी प्रथम, त्रियोगका आभाष रिमाल द्वितीय तथा त्रियोगकै सम्पन्न बज्रचार्य तृतीय भए । छात्रातर्फ मार्भलसका निहाना श्रेष्ठ प्रथम, त्रियोगका परिधि खत्रि द्वितीय तथा मार्भलसका कृष्टी रिजाल तृतीय भए ।
    बृहत् विद्यालय चेस खेलमा कक्षा ४ देखि ५ सम्मको छात्रा समूहमा नितिन मेमोरियलकी नन्दा श्रेष्ठ प्रथम, यूरो हात्तिगौँडाकी कृसा श्रेष्ठ द्वितीय तथा मार्भलसकी सोनालिका सराफ तृतीय भइन् । सोही समूहको छात्रतर्फ माछापुच्छ्रे आइबीका साहस श्रेष्ठ प्रथम, पुष्पसदनका हार्दिक पन्त द्वितीय तथा पेभिलियनका लक्ष मोरे तृतीय भए ।
    यस्तै कक्षा १ देखि ३ सम्मका छात्रा समूहमा इम्पेरियल वल्र्डकी अग्रता आचार्य प्रथम, यूरो हात्तिगौँडाकी रुस्बेरी चौलागाई द्वितीय तथा पेभिलियनकी अधिरा पौडेल तृतीय भइन् । सोही समूहको छात्रतर्फ ल्याबोरेटरीका अंकुर पोखरेल प्रथम, त्रियोगका प्रसुन मल्ल द्वितीय तथा काठमाडौ गुरुकुलका सुनभ ओझा तृतीय भए ।
    विजेता खेलाडीहरुलाई काठमाण्डौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष एवं संयोजक केशब श्रेष्ठ, त्रियोग हाई स्कूलका प्रधानअध्यापक सविता कपरुवान, नेपाल बुद्धिचाल संघका अध्यक्ष हेराकाजी महर्जन, बरिष्ठ उपाध्यक्ष दिपेन राई, पुर्व अध्यक्ष विदुर गौतम तथा प्रथम महिला नेशनल च्याम्पियन मोनालिसा खम्बु लगायतले प्रमाणपत्र, शिल्ड, मेडल प्रदान गरेका थिए ।

     

  • दक्षिण एसियाली करातेमा ३१ स्वर्णसहित नेपाल टिम च्याम्पियन

    भक्तपुर, साउन ४
    भुटानको थिम्पुमा शुक्रवार सम्पन्न आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा ३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरि कुल ६२ पदक सहित नेपाल टिम च्याम्पियन बनेको हो ।
    भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो, श्रीलंका ५ स्वर्ण १८ रजत र ३१ कास्य सहित तेस्रो हुँदा आयोजक भुटान ले ५ रजत र ३७ कास्य पदक सहित चौथो भयो ।
    प्रतियोगिताको अन्तिम दिन शुक्रबार नेपालका लागि पुरुष क्याडेट तर्फ ५२ केजी मुनी समन श्रेष्ठ, ६३ केजी मुनी साहिल राई, जुनियर तर्फ ६८ केजी मुनीमा निशान तामाङ्ग, यु–२१ को ८४ केजी मुनी गौरव नेपाल, ८४ केजी माथि आशिष श्रेष्ठ, पुरुष कै सिनियर तर्फ ५५ केजी मुनी एलोन श्रेष्ठ, ६७ केजी मुनी सन्तोष श्रेष्ठ, ८४ केजी मुनी मोहम्मद सेखु आलम र ८४ केजी माथि विप्लभ लाल श्रेष्ठले स्वर्ण पदक दिलाए ।


    त्यस्तै महिलातर्फ क्याडेटको ४२ केजी मुनी वर्षा राई, ४७ केजी मुनी प्रोसिया चौधरी, ६१ केजी मुनी मनिषा कुमारी बोहरा, महिलातर्फकै जुनियर ४२ केजी मुनी सुस्मिता वाईवा, ५३ केजी मुनी समिक्षा ढुङ्गाना,यु–२१ को ४५ केजी मुनी प्रियंका शाही,५० केजी मुनी अन्जली महर्जन, र ५५ केजी मुनी जिया कार्कीले स्वर्ण पदक जितिन् ।
    त्यसैगरि महिला सिनियर तर्फ ४५ केजी माथि वर्षा बुढा मगर, ६१ केजी मुनी निरुपा तामाङ र ६८ केजीमाथि १९ औं एसियाडकी रजत पदक विजेता एरिका गुरुङ्गले नेपाललाई स्वर्ण पदक दिलाए र
    यस्तै महिला टिम कुमितेमा नेपालले पहिलो स्थान हासिल गर्यो । पुरुष टिम कुमितेमा नेपाल दोस्रो भयो ।
    विजेता खेलाडी तथा टिमलाई भुटानका राजकुमार जिगेल उग्येन वाङचुक, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, दक्षिण एसियाली कराते महासंघका अध्यक्ष भरत शर्मा, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, भुटान कराते महासंघका अध्यक्ष दावा ल्हाम, नेपाल कराते महासंघका महासचिव दावा गुरुङ्ग लगायतले पुरस्कार वितरण गरे ।
    प्रतियोगिता नेपाल, भुटान, भारत र श्रीलंका खेलाडीको सहभागिता थियो । गत वर्ष काठमाण्डौंमा भएको सातौं संस्करणमा पनि नेपाली टोली टिम च्याम्पियन बनेको थियो ।

     

  • एसीसी महिला टि–२० एसिया कपमा नेपालको ऐतिहासिक जित, युएई ६ विकेटले पराजित

    भक्तपुर, साउन ४
    एसीसी महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले ऐतिहासिक जित निकालेको छ । श्रीलंकाको दम्बुलमा शुक्रवार सम्पन्न खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो । जितसँगै नेपालले २ अंक जोडेको छ ।
    महिला एसिया कपमा नेपालको यो पहिलो जित हो । यसअघि सन् २०१२ र २०१६ मा दुई पटक एसिया कमा सहभागिता जनाएको नेपाली महिला टोलीले सबै ८ खेलमा हार बेहोरेको थियो । नेपालले एसिया कपको नवौं खेलमा पुगेर पहिलो जित दर्ता गर्न सफल रह्यो ।


    नेपालको जितमा ओपनर सम्झना खड्का शानदार व्याटिङ र कप्तान इन्दु बर्माको बलिङले महत्वपूर्ण भूमिका खेल्यो । यूएईले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १७ औं ओभरमा पूरा गर्यो । जसमा ओपनर सम्झनाको ७२ रनको योगदान रह्यो ।
    करिअरको पहिला अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्ने क्रममा सम्झनाले ४५ बलमा ११ चौकाको मद्दतले ७२ रन बनाएका हुन । उनले ३५ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेकी थिइन् ।


    पुजा महतो ७ रनमा नटआउट रहँदा नेपालका लागि सिता रानामगरले ७, कविता कुँवरले २ तथा इन्दु वर्माले ६ रन जोडिन् । रुविना १० रन जोडेर पेभेलियन फर्कीइन् ।
    त्यसअघि नेपालले टस जितेर यूएईलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो । यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोड्यो । यूएईका लागि मध्यक्रमकी ब्याटर खुशी शर्माले ३६ रन जोडिन् । उनले ३९ बल खेल्दै २ चौका प्रहार गरिन् । कविशा एगोदागेले २२ रनको योगदान दिइन् । ओपनर इशा ओजा १० रन जोड्दै दोस्रो ओभरमा रनआउट भएपछि यूएई केही दवाबमा परेको थियो ।


    तिर्था सतिशलाई ९ र रिनिथा रजिथ ६ रनमा आउट भएपनि यूएईको रन गति रोकिएन । १० ओभरमा ५७–४ को स्थितिमा रहेको यूएईले इनिङको अन्त्यतिर भने चाहेजस्तो रन जोड्न सकेन ।
    नेपालका लागि कप्तान इन्दु वर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । कृतिका मरासिनी, सबनम राई र कविता जोशीले १–१ विकेट हात पारे । रुविना क्षेत्रीले ४ ओभरमा १८ रन र सिता रानामगरले ३ ओभरमा १२ रन खर्चिएर किफायती बलिङ गरे ।

    खेलको प्लेअर अफ दी म्याच नेपालकी सम्झना खड्का घोषित भइन ।
    नेपालले अब आइतबार पाकिस्तानको सामना गर्नेछ । त्यसपछि मंगलबार समूहको अन्तिम खेलमा नेपाल र भारत खेल्नेछन् ।

     

  • इन्टरनेशनल चेस दिवसको उपलक्ष्यमा त्रियोग हाई स्कुलमा बुद्धिचाल प्रतियोगिता

    भक्तपुर, साउन ३
    इन्टरनेशनल चेस दिवसको उपलक्ष्यमा त्रियोग हाई स्कुल, धापासीले चौथो त्रियोग अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ । साउन ३ र ४ गते गरी दुई दिन सञ्चालन हुने प्रतियोगिता विभिन्न विधामा स्वीस लिग नियम अनुसार ७÷७ चरणको खेल खेलाइनेछ ।
    प्रतियोगितामा बिहिवार तीन चरणको खेल सम्पन्न भएका छन् । तेस्रो चरण सम्मको खेल पश्चात् कक्षा ६–७ को छात्रा समूहमा त्रियोगकी नोयल थापा र नितेन मेमोरियलकी ज्ञानी श्रेष्ठ ३÷३ अंक सहित शीर्ष स्थानमा रहन सफल भएका छन् । सोही समूहको छात्रतर्फ त्रियोग स्कूलका आभास रिमाल र सम्पन्न बज्रचार्य, सुर्योदयका अग्रीम सैजु र नितेन मेमारियलका सञ्जीव तामाङ ३÷३ अंक सहित शीर्ष स्थानमा छन् ।


    त्यसैगरी सिनियर कक्षा ८–१० को छात्रा समूहमा त्रियोगकी रिया श्रेष्ठ, कृपा बेलबासे, सेन्ट मेरीजकी एलिना तिमल्सिना र दिव्या सिग्देल ३÷३ अंक सहित शीर्ष स्थानमा उभिन सफल रहे । यस्तै छात्रतर्फ त्रियोगका रियान श्रेष्ठ, पुष्पसदनका सुप्रभ सागर श्रेष्ठ, के.एम.सीका विधान सापकोटा र नितेन मेमोरियलका दिपक गोले ३÷३ अंक सहित शीर्ष स्थानमा छन् ।
    विद्यालयमा अध्ययनरत खेलाडीहरुलाई अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरेको प्रतियोगिताका संयोजक एवम् काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष केशब श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगितामा उपत्यकाका ४० भन्दा बढि विद्यालयका ३४० भन्दा बढी खेलाडीको सहभागिता रहेको छ ।
    प्रतियोगिताको उदघाटन आयोजक त्रियोग हाई स्कुलका कार्यकारी निर्देशक अजित लामा, प्रधानअध्यापिका सविता कपरुवान, नेपाल बुद्धिचाल संघका महासचिव धरम लामा र कोषाध्यक्ष तारा बहादुर रानाभाटले गरेका थिए ।

  • अर्जेन्टिनाले जित्यो कोपा अमेरिका कप

    भक्तपुर, असार ३१
    अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले पराजित गर्दै कीर्तिमानी १६ औं पटक कोपा अमेरिका कपको उपाधि जितेको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको फाइनलमा लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि अर्जेन्टिनाले उपाधि जितेको हो ।
    मार्टिनेजले ११२औं मिनेटमा जिओभानी लो सोल्सोको पासमा निर्णायक गोल गरे । लाउटारो र लो सोल्सो दुवै ९७औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
    निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । जहाँ जारी कोपाकै सर्वाधिक गोलकर्ता मार्टिनेज नायक बने । उनको प्रतियोगितामा यो पाँचौ गोल हो । उनी प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बने ।


    अर्जेन्टिनाका कप्तान तथा सुपरस्टार लिओनल मेसी चोटका कारण दोस्रो हाफमा मैदान छोडेका थिए । उनलाई ६६औं मिनेटमा निकोलस गोन्जालेजले रिप्लेस गरेका थिए ।
    च्याम्पियन बनेपछि अर्जेन्टिना कोपा अमेरिकाको सर्वाधिक सफल टोली बनेको छ । । यसअघि अर्जेन्टिना र उरुग्वेले समान १५ पटक उपाधि जितेको थियो । अब अर्जेन्टिनाले उरुग्वेलाई पछि पारेको छ ।
    सन् १९९४ पछि लामो समय कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले पछिल्लो ३ वर्षमा लगातार तीन मुख्य उपाधि जित्न सफल भएको छ । यसअघि अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जितेको थियो भने सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेको थियो ।

     

  • इंग्ल्याण्डलाई हराउँदैं स्पेनले जित्यो युरो कप

    भक्तपुर, असार ३१
    स्पेनले युरो कप २०२४ को उपाधि जितेको छ । जर्मनीको बर्लिनमा आइतवार राती सम्पन्न फाइनलमा इङ्ल्यान्ड माथि २–१ को जित निकाल्दै स्पेनले युरो कपको उपाधि जितेको हो ।
    स्पेनले यो कीर्तिमानी चौंथो पटक उपाधि जितेको हो । स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन यो जितसँगैं युरोको सर्वाधिक सफल टोली बनेको छ ।


    स्पेनलाई कीर्तिमानी चौंथो उपाधि जिताउन निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए ।
    पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो । खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाए । स्पेनका लागि दुई युवा विंगर गोलमा संलग्न रहे । लामिन यमालको पासमा निको विलियम्सले गोल गरेका हुन ।


    तर ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए । खेलको ७० औं मिनेटमा मैदान प्रवेश गरेका उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काए ।
    निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेको बेला ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन । त्यही अग्रता कायम राख्दै स्पेनले खेल जित्यो र चौथो पटक युरो च्याम्पियन बन्यो ।
    इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ । यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो । इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन । इङ्ल्यान्डले १९६६ पछिको उपाधि खडेरी आज समेत तोड्न सकेन ।


    स्पेनले युरो २०२४ मा खेलेको सबै ७ खेल जित्दै उपाधि जितेको हो । स्पेनले समूह चरणमा क्रोएसियालाई ३–० तथा इटली र अल्वानियालाई समान १–०ले पराजित गर्दै क्लिनसिट राखेको थियो । यस्तै अन्तिम १६ मा युरोको नवप्रवेशी जर्जियालाई ४–१ ले पराजित गरेको स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनी, सेमिफाइनलमा फ्रान्स तथा फाइनलमा इंग्ल्याण्डलाई समान २–१ को नतिजामा पराजित गरेको हो । स्पेनले प्रतियोगिताभर कुल १५ गोल गर्दा ४ गोल बेहोरेको थियो ।

  • प्रिन्स ओलम्पिकको कठिन समूहमा, विश्व वरीयताको दोस्रो स्थानका भिक्टरसँग खेल्ने

    भक्तपुर, असार २९
    नेपाली ब्याडमिन्टनका उदियमान स्टार खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा कठिन समूह मा परेका छन् । ब्याडमिन्टनको विश्व वरीयताका जुनियरतर्फ विश्व नम्बर एक भइसकेका प्रिन्स समूह ‘पी’ मा डिफेन्डिङ च्याम्पियन तथा विश्व वरीयताको दोस्रो स्थानमा रहेका डेनमार्कमा भिक्टर एक्सेलसनसँगै परेका छन् ।
    विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) को मुख्यालय मलेसियाको क्वालालम्पुरमा शुक्रबार भएको समुह विभाजनमा प्रिन्सको समुहमा भिक्टरसँगै आयरल्यान्डका नियात नुयन (४३औं वरीयता) र इजरायलका मिसा जिल्वरम्यान (५९औं वरीयता) रहेका छन् । प्रिन्स विश्व वरीयतामा १ सय ७२औं स्थानमा रहेका छन् ।
    ३० वर्षीय भिक्टर विश्वकै शीर्ष वरीयतामा पुगिसकेका खेलाडी हुन् । टोकियो ओलम्पिक २०२० को फाइनलमा चीनका चेन लोङलाई पराजित गर्दै पुरुष सिंगल्सको स्वर्णपदक जितेका भिक्टर दुईपल्टका विश्व च्याम्पियनसिपका विजेता पनि हुन् । चेनले रियो २०१६ मा स्वर्ण जित्दा भिक्टरले त्यहाँ कांस्यपदक हात पारेका थिए ।
    इजरायलका ३३ वर्षीय जिल्बरम्यान निक्कै अनुभवी खेलाडी हुन् । उनी चौथोपल्ट ओलम्पिकमा सहभागि हुँदैछन् । समूहका अर्का खेलाडी नियात २४ वर्षका छन । त्यसैले घरेलु प्रतियोगितामा नियमित सफलता हात पारिरहेका प्रिन्सलाई पेरिस ओलम्पिकमा सजिलो हुने छैन ।
    ओलम्पिकमा सहभागी खेलाडीलाई १६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्षमा रहने खेलाडी अन्तिम १६ मा पुग्नेछन् । पेरिस ओलम्पिक २०२४ अन्तरगत ब्याडमिन्टनका खेलहरु २७ जुलाईबाट ५ अगस्टसम्म हुनेछन् ।
    १९ वर्षीय युनिभार्सलिटी कोटाबाट ओलम्पिक खेल्न लागेको हो । ब्याडमिन्टनमा यसपटक १ सय ६६ नियमित कोटा (८३ पुरुष र ८३ महिला), ३ युनिभार्सलिटी कोटा र एक ओलम्पिक रिफ्युजी कोटामार्फत खेलाडी प्रतिस्पर्धा गर्दैछन् । यस्तै आयोजक कोटामा फ्रान्सका खेलाडी वरीयताबाट योग्य हुँदा त्यसमा अर्का योग्य खेलाडीले खेल्नेछन् ।
    विश्वभरबाट ब्याडमिन्टनमा ३ खेलाडी पाएको कोटामा प्रिन्स आफ्नो पुरानो प्रदर्शनको आधारमा छनोट भएका हुन् । प्रिन्ससँगै ब्याडमिन्टनको यस कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ति र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले खेल्नेछन् ।

  • दसौं राष्ट्रिय खेलकुदमा ३५ खेलका ४१९ स्पर्धा प्रस्ताव

    भक्तपुर, असार २८
    कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेलका ४१९ स्पर्धामा प्रतिष्पर्धा हुने प्रस्ताव गरिएको छ । दसौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बसेको बैठकमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सो प्रस्ताव गरेका हुन ।
    सदस्य–सचिव घिसिङले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये प्याराग्लाइडिङ बाहेक ३५ खेल प्रस्ताव गरेको जानकारी दिए ।
    प्रस्ताव गरिएका खेलहरुमा एथलेटिक्स, व्याडमिन्टन, क्रिकेट महिला÷पुरुष, फुटबल महिला÷पुरुष, टेनिस, बक्सिङ, भलिबल महिला÷पुरुष, जिम्न्यास्टिक, ह्याण्डबल महिला÷पुरुष, सफ्ट टेनिस, स्क्वास, उसु, बास्केटबल महिला÷पुरुष, आर्चरी, फेन्सिङ, फुलकन्ट्याक्ट कराँते, जुडो, शारीरिक सुगठन, बुद्धिचाल, पौडी, टेबल टेनिस, सेपाक्टाक्रो महिला÷पुरुष, हक्की महिला÷पुरुष, भारात्तोलन, सुटिङ, गल्फ, साईक्लिङ, ट्रायथेलन, रग्वी महिला÷पुरुष, कबड्डी महिला÷पुरुष, कुस्ती, तेक्वान्दो, खोखो महिला÷पुरुष, कराँते, आईटिएफ तेक्वान्दो रहेका छन ।
    राखेपले दसौं राष्ट्रिय खेलकुद मंसिर २ देखि ९ गतेलाई प्रस्ताव गरिसकेको छ । त्यसअघि विभिन्न ६ खेलको प्रतियोगिता भने कात्तिक २७ गतेदेखि नै सुरु गर्ने गरी प्रस्ताव गरिएको छ ।
    महिला फुटबल, उसु, पुरुष÷महिला बास्केटबल, जुडो, पुरुष÷महिला हक्की र तेक्वान्दो खेललाई दसौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै गर्ने गरी प्रस्ताव गरिएको हो । निर्णायक संख्या १ हजार ४ सय ९९ प्रस्ताव गरिएको छ ।
    बैठकमा सदस्य–सचिव घिसिङले दसौं राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारबाट ६० करोड बजेट सुनिश्चित भइसकेको जानकारी गराए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउने बताए ।
    उनले बृहत राष्ट्रिय खेलकुद देशकै ओलम्पिक खेलकुदका रुपमा रहेको हुँदा समयमै आयोजनाको विकल्प नभएको बताउँदै दसौं राष्ट्रिय खेलकुदलाई सफलतापूवर्क सम्पन्न गर्न सरोकारवाला सबै जिम्मेवार र गम्भीर हुनु जोड दिए ।
    सदस्य–सचिव घिसिङले दसौं राष्ट्रिय खेलकुद समयमै आयोजना गर्न परिषद् तयार रहेको बताउँदै खेलकुदलाई व्यवसायिक बनाउनु पर्ने आवश्यकता औल्याए ।
    उनले लोगो र मस्कट छनोट भइसकेको अवगत गराउँदै खेल पोशाकको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिने गरी तयार थालिएको जनाकारी दिए ।
    सदस्यसचिव घिसिङले अन्तर्राष्ट्रिय प्रचलन अनुसार १०औं राष्ट्रिय खेलकुद सकिए लगत्तै नेपालमा पहिलो पटक कर्णालीमै पारा खेलकुद पनि आयोजना गर्न लागिएको बताउँदै प्रस्ताव गरिएका बुदाँमा यथशीघ्र सुझाव उपलब्ध गराउन आग्रह गरे ।
    राखेपका उपाध्यक्ष शिव कोइरालाले बैठकका दौरान खेलकुद सञ्चालन निर्देशिका संशोधनका विषयमा प्राप्त सुझावलाई सम्बोधन गरिने बताउँदै तोकिएकै समयमा प्रतियोगिता गर्नुको विकल्प नरहेको धारणा राखे ।
    कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालले आवासको व्यवस्थापन कारण कर्णालीका पाँच जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने बताउँदै बाँकी खेलका विषय चाँडै टुंगो लगाउन आग्रह गरे ।
    बैठकमा सहभागी प्रदेश खेलकुदका सदस्यसचिवहरूले गाउँपालिकादेखि नै खेलाडी छनोट हुनुपर्ने, एक खेलमा कम्तीमा पाँच टिम सहभागी हुनुपर्ने, बजेट समयमा निकासा हुनुपर्नेलगायतका विषयमा धारणा राख्नु राखेका थिए ।