Category: खेलकुद

  • एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड – एरिका र रोहित उत्कृष्ट वर्ष खेलाडी, पिपुल्स च्वाइसमा कविता

    भक्तपुर, भदौ २९
    एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल वर्ष २०८० को उत्कृष्ट खेलाडी घोषित भएका छन । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले शुक्रवार आयोजना गरेको अवार्ड कार्यक्रममा एरिका र रोहित वर्ष २०८० भरी खेल क्षेत्रमा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट घोषित भएका हुन ।
    एनएसजेएफले आयोजना गर्दै आइरहेको देशकै प्रतिष्ठित अवार्डमा एसियाली खेलकुद ( एसियाड)मा रजत पदक विजेता एरिकाले फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशीलाई पछि पार्दै उपाधि जितेकी हुन ।


    पुरुष क्रिकेट टोलीका कप्तान रोहितले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङलाई पछि पारे ।
    एरिकालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अवार्ड प्रदान गरे । अवार्डको मुख्य प्रायोजक हंशराज हुलास चन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले रोहितका आमा र दाई राजुलाई अवार्ड हस्तान्तरण गरेका थिए । वर्ष उत्कृष्ट खेलाडीद्वय एरिका र रोहितले पल्सर एनएस २०० मोटरबाइक पाए ।


    भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन् । इसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन् ।
    कविताले सर्वाधिक ५६ प्रतिशत मत प्राप्त गरिन् । यस अवार्डको मनोनयनमा कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा थिए ।
    पिपल्स च्वाइस विजेता कविताले पल्सर एनएस ४०० मोटर बाइक जितिन् । उनलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले अवार्ड प्रदान गरे ।


    वर्ष उत्कृष्ट प्रशिक्षक करातेका कुशल श्रेष्ठ घोषित भए । यो अवार्ड विजेता कुशलले पनि पल्सर एनएस २०० मोटरबाइक पाए । उनलाई प्लाजा ग्रुप अप होटलका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले अवार्ड प्रदान गरे ।
    कुशलको प्रशिक्षणमा नेपालले १९औं एसियाड एक रजत तथा दशौं विश्व कराते च्याम्पियनसिप इन्डोनेसिया (१ स्वर्ण, ३ रजत र ५ कांस्य पदक) मा पदक प्राप्त गरेको थियो । उनको प्रशिक्षणमा सातौं एसियन कराते च्याम्पियनसिपमा (२९ स्वर्ण, २५ रजत र सात कांस्य) र युएस ओपन कराते च्याम्पियनसिपमा (१ स्वर्ण र १ रजत) पदक जितेको थियो ।
    प्रशिक्षक कुशलले कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) लाई पछि पारे ।


    युवा वर्ष खेलाडी भारोत्तोलनका हेमन्त पाल घोषित भए । हेमन्तले अवार्डसँगै पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए । उनलाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले अवार्ड प्रदान गरे ।


    हेमन्तले अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) लाई पछि पार्दै यो अवार्ड जिते । १६ वर्षे हेमन्त भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा तीन कांस्य विजेता हुन् । उनले नेपाली भारोत्तोलनलाई ३८ वर्षपछि एसियालीस्तरमा पदक दिलाएका हुन् ।
    एनएसजेएफ पारा एथ्लिट अवार्डबाट पलेशा गोवर्धन सम्मानित भइन् । पलेशालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले अवार्ड प्रदान गरे ।  पलेशा चौथो पारा एसियन गेम्समा नेपालका लागि पहिलोपल्ट कांस्य पदक दिलाउन सफल खेलाडी हुन् ।


    लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघ (क्यान) पूर्वअध्यक्ष विनयराज पाण्डेले प्राप्त गरे । पाण्डेलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र महासचिव प्रज्वल ओलीले अवार्ड प्रदान गरे ।


    स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई सम्मानित भए । उनी दुई दशकभन्दा बढी समय भलिबलको प्रशिक्षणमा सक्रिय छन् । प्रशिक्षक राई एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले अवार्ड प्रदान गरे ।
    १९औंं एसियाडमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले टिम अफ दी इयरको अवार्ड प्राप्त गर्यो । नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष ब्रजाचार्यले यो टोलीलाई अवार्ड प्रदान गर्यो ।


    लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथ्लेटिले अवार्डसँगै जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
    एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड एआइपिएस एसियाका अध्यक्ष हि डोङ जङलाई प्रदान गरिएको छ । सूर्य नेपाल प्रालीका ब्रान्ड म्यानेजरले दक्षिण कोरियाली पत्रकार ही डोङले अवार्ड प्रदान गरे ।
    कुल १० विधामध्ये एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट एक वर्षका लागि खेलकुद विमा पाउनेछन् ।
    यसै कार्यक्रममा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदीसहित ६ देशका पत्रकारले एआइपिएस एसिया लिजेन्ड्स अवार्ड प्राप्त गरे । युएईका अब्दुला इब्राहिम, मलेसियका अहमद खवारी इसा, भारतका सबा नायकन, साउदी अरेबियाका सालेह अब्दुल अजिज र बंगलादेशका महमुद हुसेन खानले यो अवार्ड पाएका हुन् ।


    बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, केल्मी नेपालका प्रवन्ध निर्देश उत्तम न्यौपाने, चन्द्रागिरी हिल्सका सेल्स एन्ड मार्केटिङ निर्देशक प्रभावकर खड्का र एआइपिएसका उपाध्यक्ष यानिस दारासले एआइपिएस एसिया लिजेन्ड्स अवार्ड विजेतालाई सम्मान गरेका थिए ।
    हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको मूख्य प्रायोजन रहेको अवार्ड कार्यक्रमको सह–प्रायोजक र सहयोगीमा सूर्य नेपाल प्रालि, ई–सेवा, केल्मी नेपाल, युनाइटेड अजोड इन्स्योरेन्स, रोयल सिंगी होटल, प्लाजा ग्रुप अफ होटल्स, इमेजिङ, न्यु होराइजन कार्पेट, हिमालय होटल, चन्द्रागिरी हिल्स, राखेप, एनओसी, होटल संघ नेपाललगायत छन् ।

  • पलेशालाई कांग्रेसको ५ लाखसहित सम्मान

    भक्तपुर, भदौ २३
    काठमाडौं । नेपाली कांग्रेसले पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवर्धनेलाई आइतवार नगद ५ लाखसहित सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पलेशासहितको टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
    कांग्रेसले पलेशालाई ५ लाख, प्रशिक्षक कविराज नेगी लामा १ लाख ५० हजार तथा पेरिस पारा ओलम्पिकमा सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महतालाई ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित गरेको हो । कांग्रेसले व्यवस्थापक रामचन्द्र श्रेष्ठ र नेपाल तेक्वान्दो संघलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
    सो अवसरमा सभापति देउवाले नेपाली छोरी पलेशाले पारा ओलम्पिकमा पहिलो पदक जितेर नेपालको इज्जत र प्रतिष्ठा बढाएको धारणा व्यक्त गर्दै पलेशाको सफलताले अन्य खेलाडीलाई पनि उत्साहित गर्ने विश्वास व्यक्त गरे ।
    उनले खेलकुदको विकासका लागि अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सभापति देउवाले पलेशाका परिवार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल तेक्वान्दो संघ, राष्ट्रिय पारालिम्पिक कमिटी– नेपाललाई पनि धन्यवाद व्यक्त गरे ।
    खेलकुद मन्त्री तेजुलाल चौधरीले पलेशाले ऐतिहासिक पदक जित्दै देशको गौरव बढाएको बताउदै शिक्षा, रोजगारी र स्वास्थ्यमा ध्यान दिन सके खेलाडी विदेश पलायन हुने अवस्थालाई रोक्न सकिने धारणा व्यक्त गरे ।
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले पारा खेलकुद मार्फत पलेशाले विश्वव्यापी रुपमा नेपाललाई चिनाएको बताउँदै सानो देशले पनि बलिया राष्ट्रलाई हराउन सक्ने क्षेत्र महत्वपूर्ण क्षेत्र खेलकुद भएको बताए । उनले खेलकुद राज्यको प्राथमिकतामा पर्नु पर्ने बताउदै अहिलेको बजेट खेलकुदका लागि अपुग भएको बताएका थिए ।

     

  • एनपिएल टोली पोखरा बिक्यो साढे ३ करोडमा

    भक्तपुर, भदौ २०
    नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली पोखरा सबै भन्दा उच्च मूल्य साढे तीन करोडमा बिक्रि भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहिवार गरेको खुला बिडिङमा नेपाल टी–२० प्रालिले पोखरालाई ३ करोड ५७ लाखमा खरिद गरेको हो । यो एनपिएलका ८ टोली मध्ये सबैभन्दा उच्च मूल्य हो ।
    बिडिङमा काठमाण्डौं ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा बिक्रि भएको छ । काठमाण्डौंलाई कान्तिपुर पब्लिकेसन्सले खरिद गरेको हो ।
    यस्तै जनकपुरको फ्रेन्चाइजी ड्रिम्स स्पोर्टसले २ करोड ५ लाखमा पाएको छ । लुम्बिनीको फ्रेन्चाइजी फर्टुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँमा लिँदा सुदूरपश्चिमको फ्रेन्चाइजी इम्पायर स्पोटर्सले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा लिएको छ ।
    चितवनको फ्रेन्चाइजी चितवन मेडिकल कलेजले १ करोड ७६ लाख एक हजार, विराटनगरको एमएडी ड्रिम्स स्पोर्टसले १ करोड ५१ लाख र सबैभन्दा कम मूल्य १ करोड ११ लाख ७० हजार रुपैयाँमा हिमालयन बिल्डर्सले कर्णालीको फ्रेन्चाइजी लिएको हो ।
    एनपिएल मंसिर १५ देखि ६ पुससम्म हुने क्यानले जनाएको छ । फ्रेन्चाइजी टिमका लागि १६ वटा आवेदन परेको थियो । खुला बिडिङ गर्दा ८ वटा फ्रेन्चाइजी कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयााँमा बिक्री भएको छ ।

     

  • पारालिम्पिक्समा कास्य विजेता पलेशाले ६५ लाख नगद पुरस्कार पाउने

    भक्तपुर, भदौ १५
    फ्रान्सको पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएकी छिन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पलेशाले सो रकम पुरस्कार पाउने भएको हो ।
    नियमावली २०७९ मा ग्रीष्मकालीन÷शीतकालीन÷पारा÷विशेष ओलम्पिक तथा र विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ । सो अनुसार पलेशाले ६५ लाख रुपैंया पुरस्कार पाउने भएको हो ।
    नियमावली अनुसार पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख पुरस्कार दिने व्यवस्था छ ।
    पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार तेक्वान्दोको के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनी कास्य पदक जितेकी हुन् । उनले सर्बियाकी खेलाडीलाई १५–८ ले ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक जिताएकी हुन् । ओलम्पिकमा ६ दशकदेखि सहभागिता जनाउँदै आए पनि नेपालले पदक जित्न सकेको थिएन ।
    पलेशाले पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१–० को पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएकी थिइन् । तर क्वाटरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०–८ ले पराजित हुन पुगेकी थिइन् । त्यसपछि रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २–१ ले पराजित गर्दै पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् ।

     

  • पलेशाले जितिन पेरिस पारालिम्पिक्समा ऐतिहासिक पदक

    भक्तपुर, भदौ १५
    नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक पदक जितेकी छिन् । पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत शुक्रबार भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै ऐतिहासिक कांस्य पदक जित्न सफल भएकी हुन ।
    यो सँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो खेलाडी बनेकी छिन् । साथै अन्तराष्ट्रिय खेलमा नेपालले प्राप्त गरेको अहिले सम्मकै उच्च पदक हो ।
    पलेशाले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा उनी विश्व नम्बर एक ब्राजिलकी सिल्भाना फर्नान्डेससँग पराजित हुन पुगिन । सिल्भाना विरुद्ध पाँच अंकको अग्रता लिँदा लिँदै उनी अन्तमा लय गुमाउँदा उक्त खेल १०–८ ले गुमाउन पुगिन ।
    दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाइन, जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै पलेशा कांस्यनजिक पुगेकी थिइन् ।
    पलेशा छनोटचरण पार गर्दै पेरिस पारालिम्पिक नेपालको प्रतिनिधित्व गरेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोटचरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी पनि हुन् ।


    पलेशा १९औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कांस्य पदक विजेता हुन् । उनीसँग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव छ । टोकियोमा पलेशा कांस्य भिडन्तमा चीनकी खेलाडीसँग चुकेकी थिइन् ।
    नेपालले सन् १९६४ को टोकियोमा पहिलो पटक समर ओलम्पिक्समा सहभागिता जनाएको थियो । ६ दशकदेखि नेपालले ओलम्पिक्समा सहभागिता जनाउँदै आएको छ । तर कुनै पनि खेलाडीले ओलम्पिक्समा एक खेल समेत जित्न सकेका छैनन् ।
    यो अवस्थामा पारा खेलाडी पलेशाले नेपाललाई पदक दिलाएकी छिन् । यसअघि तेक्वान्दोकै विधान लामाले भने सिओल ओलम्पिकमा प्रदर्शनी खेलका रुपमा राखिएको तेक्वान्दोमा कास्य पदक जितेका थिए ।


    विशेष क्षमताकी धनी पलेशाको जन्म एउटा हातको हत्केला बिना नै भएको थियो । उनको हत्केलालाई पलेशाले कमजोरी कहिले बनाइनन् । अदम्य साहस र परिवारको साथमा यही हात उनको जीन्दगीको सफलताको कडी बनेको छ, साथै देशलाई विश्व खेलकुदमा चिनाउने सशक्त माध्यम नै बन्यो । ओलम्पिक्स पदक यही विशेष क्षमताबाट सम्भव बनेको छ ।
    उनले २०१४ मा १३ वर्षको कलिलो उमेरदेखि नै तेक्वान्दो खेल्न सुरू गरेकी थिइन् । उनले चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् । महिला के– ४४ क्याटगोरी अन्तर्गत ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् । एसियाली पारा खेलकुदमा नेपालले जितेको यो पहिलो पदक थियो ।

     

  • छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता शुरु

    भक्तपुर, भदौ ७
    नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब, झापाको संयुक्त आयोजनामा शुक्रबारवाट छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । प्रतिस्पर्धामा विभिन्न जिल्लाका ९० जना राष्ट्रिय खेलाडी सहभागी भएका छन् ।
    काँकडभिट्टास्थित होटल व्यवसायी संघ मेची नगरको सभाहलमा चार दिन सम्म चल्ने प्रतियोगितामा समूह क अन्तर्गत २ हजार रेटिङ्ग मुनिका २६ जना राष्ट्रिय एमेच्योर खेलाडी र समूह ख अन्तर्गत १७ सय रेटिङ्ग मुनिका ६४ जना खेलाडीहरुले सहभागीता जनाएका छन् ।
    प्रतियोगिताका निर्देशक भरत गुरुङको रेखदेखमा सम्पन्न पहिलो चरण समूह ‘क’ को खेलमा १२ जना खेलाडीहरुले जितको स्वाद प्राप्त गरेका छन् । पहिलो वोर्डमा कालोगोटीले खेलेका पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईंले आयोजक क्लबका अध्यक्ष विश्वविजय घिमिरे माथि जीत दर्ता गरेका छन् ।
    मेची नगरपालिका र पशुपति बोर्डिङ स्कूलको प्रमुख प्रायोजनमा सञ्चालन भएको दोश्रो वोर्डमा पूर्व एमेच्योर च्याम्पियन सिएम कृष्ण थापाले उमेश राईलाई पराजित गरेका छन् ।
    अन्य खेलमा निलम बस्नेतले अप्रत्याशित नतिजा निकाल्दै आफू भन्दा उच्च रेटेड सुरज महर्जन माथि कठिन विजय हासिल गरेका छन् । यस्तै आशिष् फूँयालले ललित बहादुर राईलाई, प्रेम लिम्बुले राजेन्द्र राईलाई, वसन्त लामाले सुमन श्रेष्ठलाई र पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले बल बहादुर तामाङलाई हराएर समान एक एक अंक जोडेका छन् ।
    यता समूह ‘ख’ अन्तर्गतको प्रतिस्पर्धामा २७ जना खेलाडीहरुले पहिलो चरण पार गर्न सफल भएका छन् । कृष सबेङहाङ्गले पहिलो चरणको पहिलो वोर्डमा शीर्ष खेलाडी राजन पहाडी माथि जीत हात हासिल गरे ।
    कृषसँगै रञ्जित राई, एसिएम कृजन महर्जन, पवन पौड्वाल, गोविन्दमान श्रेष्ठ, अविरल राई, राजकुमार वान्तवा, क्षितिज लिम्बु, रोशन खड्गी लगायत खेलाडीले समान एक एक अंक जोडेका छन् ।
    भदौ १० गतेसम्म सञ्चालन हुने राष्ट्रिय एमेच्योर चेस प्रतियोगितामा दुवै समूहका शीर्ष दशौं स्थान प्राप्त गर्ने खेलाडीहरुलाई कूल पुरस्कार रकम २ लाख ८२ हजार प्रदान गरिनेछ । साथै प्रतियोगिताका विजेता तथा उपविजेताले मंसिर १३ देखि पुस २२ सम्म दुबईको अलएन शहरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता गराइने छ ।
    खेल पूर्व प्रतियोगिताको उदघाटन गर्दै मेचिनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले देशको पूर्वीय भेगले कयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु जन्माएको स्मरण गराउदै बुद्धिचाल खेलमा राजन सुवेदी वर्तमान नेपाल च्याम्पियन भएको उल्लेख गरे ।
    प्रतियोगितामा पहिलो हुनेले नगद पुरस्कार रु. ५० हजार प्राप्त गर्नेछन् । उपविजेताले २५ हजार, तृतीयले १५ हजार, चौथोले १२ हजार, पाँचौंले १० हजार, छैटौंले ८ हजार, सातौंले ६ हजार र आठौं देखि दशौं हुने प्रत्येकले जनही ५ हजार हात पार्ने छन् ।
    क्लबका पूर्व अध्यक्ष बालाजित राई र शेरबहादुर बस्नेतका अनुसार राष्ट्रिय चेस प्रतियोगिता सम्पन्न गर्न कूल अनुमानित बजेट १८ लाख २२ हजार खर्च हुने छ । छैटौं राष्ट्रिय एमेच्योर चेस खेल एफए कोर्स पूरा गरेका निर्णायक सोराज ताम्राकारले सञ्चालन गरेका छन् ।

  • साफ यु–२० फुटबल ः नेपालको संघर्षपूर्ण जित

    भक्तपुर, भदौ ३
    साफ यु–२० च्याम्पियनसिप २०२४ मा आइतवार नेपालले संघर्षपूर्ण जित निकालेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध १–० को जित निकालेको हो ।
    नेपालको जितमा निराजन धामीले खेलको २३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले रिवाउण्डमा गोल गरेका हुन । फ्रिककबाट आएको बललाई समीर तामाङले बाइसाइकल किक प्रहार गरेका थिए । तर उक्त बल श्रीलंकाका खेलाडीलाई लाग्न पुगेको थियो । सोही रिबाउन्डमा आएको बललाई उनले जाली चुमाए ।
    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले खेलमा तुलनात्मक रूपमा बल पोजिसनमा पकड जमाए पनि फिनिसिङ कमजोर हुँदा प्रतियोगिताकै कमजोर मानिएको श्रीलंकाविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नुप¥यो । नेपाल गोल गर्न बारम्बार चुकेको थियो ।


    आक्रमक फुटबलमा जोड दिएको नेपालले पटक पटक गोलको अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । श्रीलंकाले पहिलो हाफमै २ खेलाडी परिवर्तन गरेको थियो । दोस्रो हाफमा नेपालले थप अवसर सिर्जना गरेको थियो, तर पुनः एकपटक पहिलो हाफकै फिनिसिङको समस्या दोहोरिंदा खेलमा अग्रता बढाउन असफल रह्यो ।
    खेलको दोस्रो मिनेटमै नेपालको अग्रता लिने प्रयासमा अफसाइड बाधक बन्यो । अभिनाश स्याङतानको फ्रिकिकमा निराजन धामीको प्रयास गोल भएपनि सहायक रेफ्रीले अफसाइडका लागि झन्डा उठाए । २१ औं मिनेटमा कुशल देउवाको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
    पहिलो हाफको इन्ज्युरी समयमा श्रीलंकाका मिहम्द थिल्हमले गरेको प्रहार नेपालका गोलरक्षक जियारत शेखले बचाए । दोस्रो हाफको ६३ औं मिनेटमा समिर तामाङले गोल गर्ने सुवर्ण अवसर खेर फाले । राम थापाले दायाँ विंगबाट दिएको लो क्रस निराजनले छुन नसक्दा ब्याक पोस्टमा रहेका समिरले गरेको पहिलो टचकै प्रहार आकासियो ।


    ८० औं मिनेटमा नेपालले गोल गर्ने अर्को अवसर सदुपयोग गर्न सकेन । अभिनाशको थ्रु बलमा अनिल बम्जनको प्रहार श्रीलंकाका गोलरक्षक अहमद फुलेलले खुट्टाले विफल पारे । त्यसअघि अभिनाशकै क्रसमा आश्विन घोरासैनीको हेडरले पोस्टको दिशा लिन सकेन ।
    इन्ज्युरी समयको पहिलो मिनेटमा निराजनको प्रहारमा पोस्ट बाधक बन्यो । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको हाफ भली प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।
    जितसँगै नेपालले समूह ए मा महत्वपूर्ण ३ अंक जोडेको छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । नेपालले दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्ने छ । श्रीलंकाले भने मंगलबार बंगलादेशसँग खेल्ने छ । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

     

  • पेरिस ओलम्पिकको महिला म्याराथनमा सन्तोषीको निराशाजनक प्रदर्शन

    भक्तपुर, साउन २७
    पेरिस ओलम्पिक २०२४ मा नेपाली महिला म्याराथन धाविका सन्तोषी श्रेष्ठले निराशाजनक प्रदर्शन गरेकी छिन । उनले निर्धारित दुरी २ घण्टा ५५ मिनेट ६ सकेन्डमा पुरा गरी ७९औँ स्थान हासिल गरिन ।
    ‘वाइल्ड कार्ड’मार्फत पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएकी सन्तोषीले सहभागी ९२ जना मध्ये ७९ औं स्थानमा दौड पुरा गरेकी हुन । उनले १२ प्रतिस्पर्धीलाई पछि पारिन् ।
    उनले पहिलो १० किलोमिटरको दुरी ३९ मिनेट १६ सेकेन्डमा पुरा गरेकी थिइन् । हाफ म्याराथन सकाउन उनलाई १ घण्टा २५ मिनेट ३१ सेकेन्ड समय लागेको थियो । उनलाई अन्तिम ७ किलोमिटरको दुरी तय गर्न करिब आधा घन्टा नै लागेको थियो । सन्तोषीको यो टइमिङ करियरको खराब प्रदर्शन हो ।
    गतवर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषीले २ घन्टा ४६ मिनेट २२ सेकेन्डको टाइमिङमा राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेकी थिइन् ।
    म्याराथनमा नेदरल्याण्डका सिफन हसनले २ घन्टा २२ दशमलव ५५ सेकेन्डमा दौड पूरा गर्दै ओलम्पिक रेकर्ड सहित स्वर्ण जित्न सफल भइन् । यो पटक कोर्सलाई कठिन मानिएपनि महिलातर्फ म्याराथनमा नै ओलम्पिक रेकर्ड बनेको छ । स्वर्ण विजेता सिफन भन्दा सन्तोषी ३२ मिनेट ११ सेकेन्डले पछि परिन् ।
    इथोपियाकी टिक्सट असेफा २ घन्टा २२ दशमलव ५८ सेकेन्डको टाइमिङमा रजत र केन्याकी हेलेन ओबिरी २ घन्टा २३ दशमलव १० सेकेन्डको टाइमिङमा कास्य पदक जितिन् ।


    यसपटकको ओलम्पिकमा पौडी खेलाडी एलेक्सजेन्डरको प्रदर्शन मात्र उपलब्धीमूलक भएको छ । उनले पौडीकोे १ सय मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।
    स्पर्धाको तेस्रो हिटमा रहेका उनले ५१ दशमलव ९१ सेकेन्डमा निर्धारित दुरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड कीर्तिमान गरेका हुन । यसअघि उनकै नाममा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान रहेको थियो । उनले सन २०२४ को फेब्रुअरीमा दोहाको वल्ड एक्वेटिक्स च्याम्पियनशीपमा सो कीर्तिमान बनाएका थिए । उनी कुल सहभागी ७९ जना प्रतिष्पर्धी मध्ये ५९ औं स्थानमा रहेका थिए ।
    नेपालबाट सहभागी अन्य खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए । टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधान तथा ब्याडमिन्टनका प्रिन्स दाहाल ओलम्पिकको प्रारम्भिक चरणबाटै बाहिरिएका थिए ।

     

  • दशौं राष्ट्रिय खेलकुदको सय दिने ‘काउन्टडाउन’ शुरु, प्रस्तावित मस्कट, लोगो र गीत सार्वजनिक

    भक्तपुर, साउन २७
    कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको १०० दिने काउन्टडाउन शुरु भएको छ । साथै प्रतियोगिताको प्रस्तावित मस्कट, लोगो र गीत समेत सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सुर्खेतमा शनिवार विशेष कार्यक्रमको आयोजना गरेर दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको काउन्टडाउन शुरु गर्नुका साथै मस्कट र लोगो सार्वजनिक गरेको हो ।
    दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा मंसिर २ देखि ९ गतेसम्म सञ्चालन गर्ने तयारी छ । सरकारले यसअघिनै मिति घोषणा गरेर प्रतियोगिताको तयारी अघि बढाएको थियो । प्रतियोगिता सञ्चालनका लागि सरकारले ६० करोड रुपैयाँ बजेट समेत चालू आर्थिक वर्षमा विनियोजन गरिसकेको छ ।
    प्रतियोगिताको प्रस्तावित लोगोमा सातवटा रंगमा सात वटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालको राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदी अंकित रहेको छ । सो लोगो राष्ट्रिय खेलकुद परिषद्लाई प्रस्तावको रुपमा पठाइएको छ । उक्त लोगोको रचयता भने विकास तमखु रहेका छन् ।
    यस्तै कर्णालीले सार्वजनिक गरेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट भने कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा रहेको छ । सरोकारवाला सबैको सुझावमा रेडपाण्डालाई मस्कटको रुपमा राष्ट्रिय खेलकुद परिषद्लाई पठाइएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।
    आयोजकले प्रतियोगिताका लागि बनाएको गीत समेत सार्वजनिक गरेको छ ।सार्वजनिक गरिएको गीतको शब्द क्षितिज समर्पण, सङ्गीत सन्तोष श्रेष्ठ र स्वर सन्तोष श्रेष्ठ, दुर्गा परियार, कृष्ण बस्याल र धनमाया रानाको रहेको छ । कर्णाली प्रदेश सरकारले दशौं राष्ट्रिय खेलकुदलाई केन्द्रित गरेर झण्डै ३ अर्ब रुपैयाँ बढी लगानीमा खेलकुद पूर्वाधारको कामलाई अन्तिम चरणमा पुर्याएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा खेलकुद पूर्वाधार निर्माणको कामलाई प्रदेश सरकारले अन्तिम चरणमा पुर्याएको हो ।
    कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्जेलले निर्धारित समयमा प्रतियोगिता आयोजना गर्न थोरै समय बाँकी रहेकाले काउन्टडाउन बनाएर तयारी अघि बढाईएको बताए ।
    ’खेल पूर्वाधारको हिसाबले कुनै समस्या छैन । सहभागी खेल र खेल स्थलको विषयमा चाँडो निर्णय लिनुपर्नेछ,’ सन्जेलले भने, ’सरकारले बजेट समेत सुनिश्चित गरिसकेको छ । कतै कार्यान्वनयमा जटिलता भए त्यसको समाधान गरेर निर्धारित समयमै खेल आयोजना गर्नपर्छ ।’
    सदस्य सचिव सन्जेलका अनुसार परिषद्ले पहिलो प्रथामिकतामा राखेका पाँच काममध्ये पूर्वाधार, बसोबास, यातायात, स्वास्थ्य र सुरक्षा रहेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजना स्थल प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी कार्य असोजसम्म सम्पन्न गर्ने कार्य योजना तयार रहेको सन्जेलले बताए ।
    प्रतियोगिताका लागि हुम्लामा हक्की खेल मैदान, रारामा कबड्डीको खेल मैदान र जुम्ला, कालीकोट, दैलेख र रुकुम पश्चिममा इनडोर कवर्डहल तयार गरिएको छ । जाजरकोटमा भने टेवल टेनिसको लागि खेल पूर्वाधार तयार रहे पनि केही मर्मत सुधार गर्नु पर्नेछ ।
    दशौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशभित्र २४ खेल मात्र गर्न सम्भव रहेको सन्जेलले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेलहरु समावेश भएका थिए । तर, १०औंमा आयोजक कर्णाली प्रदेशले २४ वटा खेल खेलाउन सक्ने गरी खेल तालिका बनाएर पठाएको छ । सोही अनुसार बसोबासलाई व्यवस्थित गर्न उद्घाटन भन्दा ६ दिन अगाडिदेखि खेलहरू शुरु गर्ने गरी प्रस्तावित तालिका र खेल संख्या राष्ट्रिय खेलकुदलाई पठाइसकेको छ ।

  • मध्यपुरका रोहनसहित साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

    भक्तपुर, साउन २७
    अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । काठमाण्डौंमा आगामी भदौ २ गतेदेखी शुरु हुने च्याम्पियनसिपका लागि एन्फाले मध्यपुर थिमिका रोहन खड्गीसहित शनिवार २३ सदस्यीय युवा टोलीको घोषणा गरेको हो ।
    घोषित नेपाली टोलीमा जियारथ शेख( गोलकिपर ), कृषल मोक्तान (गोलकिपर), विशाल केसी, सिमान्त थापा, अश्विन घोरा, सैनीबिक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लचु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्बेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी र रोहन खड्गी रहेका छन ।
    प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहेको छ । ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । नेपाल र श्रीलंकाले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन् ।