Category: खेलकुद

  • भक्तपुरमा नेपाल विद्यालय खेलकुद महासंघको जिल्ला कार्यसमिति गठन

    भक्तपुर, मंसिर ६
    भक्तपुरमा नेपाल विद्यालय खेलकुद महासंघको जिल्ला कार्यसमिति गठन गरिएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोहकिल्थलीमा बुधवार भएको एक भेलाले निलेश आचार्यको अध्यक्षतामा महासंघको जिल्ला कार्यसमिति गठन गरिएको हो ।
    नवगठित कार्यसमितिको उपाध्यक्षमा विजय कर्माचार्य र मिना महर्जन, सचिवमा सुमन बस्नेत, कोषाध्यक्षमा विना पाण्डे चयन हुनुभएको छ । यस्तै कार्यसमिति सदस्यहरुमा कृष्ण भक्त ङाखुसी, मनोज आचार्य दिक्षित, रुपेश कुमार बिष्ट, राजु प्रजापति, दिनेश पाण्डे र रामबाबु रेग्मी रहेका छन् ।
    विद्यालयमा खेलकुद विकासका लागि पहिलोपटक भक्तपुरमा नेपाल विद्यालय खेलकुद महासंघ जिल्ला कार्यसमिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष आचार्यले बताउनुभयो । उहाँले समितिमा भक्तपुरका नीजि तथा सामूदायिक विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।
    उहाँले पछिल्लो समय नेपालले क्रिकेट, महिला फुटबल, भलिबललगायतका खेलमा गरेको प्रगती र उपलब्धीलाई निरन्तरता दिन विद्यालयस्तरमा नै खेलकुद गतिविधि बृद्धि हुनुपर्ने खाँचोलाई मनन गरी भक्तपुरमा पनि विद्यालयस्तरमा खेल गतिविधि बृद्धि गरी नयाँ र प्रतिभावान खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले महासंघको जिल्ला समिति गठन गरिएको जानकारी दिनुभयो
    उहाँले तदर्थ समितिको रुपमा गठन गरिएको समितिलाई आगामी दिनमा थप विद्यालय सञ्चालक र प्रधानाध्यापकहरुको सहभागिता गराई सबैलाई समेटेर लैजाने प्रतिवद्धता व्यक्त गर्दै महासंघले भक्तपुरका विद्यालयहरुमा खेलकुदका गतिविधीलाई अझ सकृय र व्यवस्थित लैजाने रहेको योजना रहेको बताउनुभयो ।
    यसैबीच महासंघ जिल्ला कार्यसमितिको बुधवार नै बसेको पहिलो बैठकले प्याव्सनका केन्द्रीय सदस्य रहनुभएका चन्द्रकुमार अधिकारी र स्थानीय व्यवसायी किशोर हेकालाई सल्लाहकारमा मनोनयन गरेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

     

  • फुटबलमा १३ वर्षपछि अफगानिस्तानमाथि नेपालको जित

    भक्तपुर, मंसिर १
    नेपालले पुरुष फुटबलमा १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको छ । फिफा अन्तराष्ट्रिय विण्डो अन्तर्गत ताजिकिस्तानको सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिवार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
    नेपालको जितमा जिलेस्पीजंग कार्की र रोहित चन्दले एक एक गोल गरे । पहिलो हाप बराबरीमा सकिएको खेलको दोस्रो हापको शुरूआतमै जिलेस्पीजंगले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।
    खेलको ७८ औं मिनेटमा रोहितले नेपालको अग्रता दोब्बर पारे । सन् २००९ मा प्यालिस्टाइनविरुद्ध १७ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका रोहितको राष्ट्रिय टोलीको लागि पहिलो गोल हो । कर्नरमा डिफेन्डरले क्लियर गरेको बललाई रोहितले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोल गरेका थिए ।


    खेलको ८७ औं मिनेटमा कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै खेललाई २–० को स्थितिमा राखे । उनले ६ यार्ड बक्स नजिकबाट आएको भलीलाई डाइभ दिँदै विफल पारेका थिए । नेपालले अग्रता लिएपछि रक्षात्मक रुपमा बलियो प्रदर्शन गरेको थियो ।
    नेपालले अफगानिस्तानविरुद्ध पछिल्लो जित भरत खवासको गोलमा हात पारेको थियो । एएफसी च्यालेन्ज कप २०१२ छनोटमा भरतको गोलमा नेपालले दशरथ रंगशालामा १–० (अप्रिल, २०११)को जित निकालेको थियो ।
    त्यसपछि नेपालले अफगानिस्तानविरुद्ध दुई खेल मध्ये दुवैमा नेपाल पराजित भएको थियो । ती दुवै हार साफको सेमिफाइनलमा भएको थियो । पहिलो नयाँ दिल्लीमा सन् २०११ र काठमाडौं २०१३ को भेटमा अफगानिस्तानले बाजी मारेको थियो ।
    काठमाडौंमा भएको अन्तिम भेटमा रोहितले दुईपल्ट पेनाल्टी प्रहार गरे पनि गोल गर्न नसक्दा नेपाल पराजित हुन पुगेको थियो । तर, यसपल्ट उनले नै नेपालको जर्सीमा गोल गर्दै नेपाललाई सहज जित दिलाए ।
    नेपालले कार्तिक २८ गते बुधबार भएको खेलमा फिफा वरीयतामा ५१ स्थानमाथिको घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० को हार बेहोरेको थियो । अफगानिस्तानले मंगलबार ताजिकिस्तानसँग खेल्ने छ ।
    नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न नपाएपछि यसपटक भने खेल्न पाएको थियो । अन्तरिम प्रशिक्षक नवीन न्यौपानेले पनि दोस्रो खेलमै जितको स्वाद चाखेका छन् ।
    अब टोलीले मार्च २०२५ मा एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ । यसका लागि समूह विभाजन डिसेम्बर ९, २०२४ मा हुनेछ ।

  • नेपाल युएईलाई हराउँदै यु–१९ विश्वकपमा छनोट

    भक्तपुर, कार्तिक २८
    नेपाल आइसीसी महिला यु–१९ विश्वकप त्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । एसियाली छनोट अन्तर्गत बुधवार संयुक्त अरब इमिरेट्स (युएई)को अजमानमा सम्पन्न अन्तिम खेलमा घरेलु टोली युएईमाथि ८ विकेटको ऐतिहासिक जित निकाल्दै नेपाल यु–१९ विश्वकपमा छनोट भएको हो ।
    नेपालले ६ खेलबाट १० अंक जोड्यो । युएईले पनि ६ खेलबाट १० अंक नै जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो । नेपालले ३.९३५ नेट रनरेट रहेको छ भने युएईको ३.७४० नेट रनरेट रहेको छ ।
    छनोट भएसँगैं नेपालले अर्को वर्ष मलेसियामा हुने विश्वकप खेल्नेछ । छनोटको अन्तिम खेलमा युएईले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा दुई विकेट गुमाउँदै ८६ रन बनाउँदैं ऐतिहासिक जित निकालेको हो । दुईपल्ट यु–१९ विश्वकप छनोट खेलेको नेपालले युएईलाई पहिलोपल्ट हराएको हो ।
    नेपालको ऐतिहासिक जितमा ओपनर साना प्रभिनले अविजित रहँदै सर्वाधिक ३५ रन बनाइन् । ४२ बल खेलेकी उनले एक चौका प्रहार गरिन् । कप्तान पूजा महतो २१ रनमा आउट हुँदा सावित्री धामीले १२ रनको योगदान दिइन् । यस्तै, उपकप्तान सोनी पाख्रिन १३ रनमा अविजित रहिन् ।


    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको योगफल तयार गरेको थियो । नेपालले विश्वकपमा छनोट हुन यो लक्ष्य १६.२ ओभरमा पूरा गरे पुग्ने समिकरण रहेको बनेको थियो ।
    युएईका लागि कप्तान समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१ , रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन जोडिन् । एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको युएईले २४ रन जोड्दा ७ विकेट गुमायो ।
    नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । कप्तान पुजा महतोले ४ ओभरमा मात्र ११ रन खर्चेर उत्कृष्ट बलिङ गरिन् ।
    यु–१९ टि ट्वान्टी महिला विश्वकप आगामी वर्षको १८ जनवरी देखि २ फेब्रुवरी सम्म मलेसियामा आयोजना हुदैछ । विश्वकपमा छनोट भएसँगै नेपाल समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ । विश्वकपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ ।
    यसैबीच यु–१९ नेपाली महिला टोलीले विश्वकपका साथै यु–१९ एसिया कपमा स्थान बनाएको छ । युनाइटेड अरब इमिरेट्स(युएई) लाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएसँगैं आगामी महिना एसिसीको आयोजनामा हुन लागेको पहिलो संस्करणको यु–१९ महिला एसिया कपका लागि समेत छनोट भएको हो ।
    १४ देखि २१ डिसेम्बर सम्म मलेसियामा आयोजना हुने यु–१९ एसिया कपमा नेपाल सहित ६ राष्ट्रको सहभागीता रहनेछ । सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह विभाजनमा नेपाल समूह बी मा रहेको छ । यस समूहमा नेपालका अलावा पाकिस्तान र भारत रहेका छन् । समूह ए मा भने श्रीलंका, बंगलादेश र आयोजक मलेसिया रहेका छन् ।

  • न्हूदँ १० किमि दौडमा मुकेश र चेसमा रुपेश प्रथम

    भक्तपुर, कार्तिक १६
    नेपाल सम्वत् ११४५ न्हूदँ समारोह समितिको आयोजना तथा नेपालभाषा मंकाः खलः, यलको संयोजनमा सम्पन्न दोश्रो मंकाः खलः खुल्ला दौड प्रतियोगितामा साविक विजेता नेपाल आर्मीका मुकेश पाल प्रथम भएका छन । उनी निर्धारित दुरी ३४ मिनेट ५५ सेकेण्डमा पुरा गर्दै प्रथम भएको हो । उनले नगद १० हजार पुरस्कार प्राप्त गरे ।
    प्रतियोगितामा आर्मी कै राजन रोकायले द्वितीय स्थान हासिल गरे । उनले ३४ मिनेट ५८ सेकेण्डमा निर्धारित दौड पार गरेका थिए । नेपाल प्रहरीका नागेश्वर अहिरले ३६ मिनेट ११ सेकेण्ड समय लिदै तेस्रो स्थान प्राप्त गरे ।


    नेपाल प्रहरीका प्रिन्स कुमार मुखिया चौथो, तिलक बुढाथोकी पाँचौ, नवराज कार्कीले छैटौं स्थान प्राप्त गरे । ललितपुरका राकेश महर्जनले ४५ मिनेटमा उक्त दौड पूरा गरि ललितपुर उत्कृष्ट धावक बन्न सफल भए । राकेशले पुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरे ।
    साफ माराथुन खेलका सर्वकालिन रेकर्ड होल्डर वैकुण्ठ मानान्धर र ललितपुर महानगरपालिकाका ७ नं. अध्यक्ष बाबू रत्न महर्जनले संयुक्त रुपमा शुभारम्भ गरेको दौडमा ६० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
    यसैगरी तेस्रो राष्ट्रब्यापी ¥यापिड रेटिङ्ग चेस प्रतियोगितामा रौतहटका एफएम रुपेश जैसवालले प्रथम हुँदै नगद १० हजार पुरस्कार जिते । ललितपुरका राजन पुरी द्वितीय हुँदै नगद ७ हजार र दोलखाका आशिष फूँयाल तृतीय हुँदै नगद ५ हजार पुरस्कार प्राप्त गरे ।

     

  • चाँगुनारायणले ‘नगरकोट भ्रमण वर्ष २०८२’ मनाउने – नगरप्रमुख खत्री

    भक्तपुर, कार्तिक १२
    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाले आगामी वर्ष २०८२ लाई ‘नगरकोट भ्रमण वर्ष २०८२’ का रुपमा मनाउने तयारी गरिएको जानकारी दिनुभएको छ ।
    राष्ट्रिय सञ्चार केन्द्रले नगरपालिकाको कार्यालयमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा नगर प्रमुख खत्रीले नगरकोटको पहिचानसँगैं चाँगुनारायणको पर्यटन प्रवद्र्धनका लागि आगामी बैशाख १ गतेबाट शुभारम्भ हुने गरी ‘नगरकोट भ्रमण वर्ष २०८२’ मनाउन लागिएको जानकारी दिनुभयो ।


    उहाँले भ्रमण वर्षका लागि धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको मर्मतसम्भार, स्तरोन्नतिका कार्यका लागि योजना बनाइरहेको बताउँदैं संघीय सरकारको कार्यक्षेत्र अन्तर्गत रहेको नगरकोट–कमलविनायक सडकखण्ड समयमै मर्मत नहुनाले भने पर्यटकको आगमनमा केही असहजता हुनसक्ने जानकारी दिनुभयो ।
    उहाँले वायु गुणस्तरको सुधार लागि कार्यविधि बनाएर अघि बढ्ने पहिलो नगरपालिका भएको दावी समेत गर्नुभयो । “सरसफाइको तालिम दिने र वायुगुणस्तरको सुधार लागि कार्यविधि नै बनाएर अघि बढ्ने चाँगुनारायण नै देशैभरमा पहिलो हो,” उहाँले भन्नुभयो ।


    उहाँले नगरबासीको आवश्यकताको क्षेत्रमा र हकहितमा नै काम गरिएको बताउँदैं प्रचार प्रसारको कमीका कारण नगरबासी समक्ष पु¥याउन नसकिएको स्पष्ट पार्नुभयो । “हामीले निर्वाचित भएर आएबाट नै जनहितका लागि कार्यहरु गर्दै आएका छौं । भौतिक पूर्वाधारको विकास सँगसँगै सामाजिक र मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौं । तर, प्रचारप्रसार खासै नभएका कारण हामीले नगर र वडा स्तरबाट गरेको काम नगरबासीसमक्ष पुगेको भने छैन,” उहाँले भन्नुभयो ।
    नगरप्रमुख खत्रीले आफूहरु शासकका रुपमा नभइ सेवकका रुपमा सेवा दिइरहेको दाबी गर्दै कानुनले नै तोकेको ऐन नियमको दायरामा बसेर पारदर्शी ढंगले कार्यहरु गरिरहेको चर्चा गर्नुभयो ।
    गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण चाँगुनारायण नगरपालिकामा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको बताउँदै प्रमुख खत्रीले पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेटको १० प्रतिशत रकम कटाएर विपद् व्यवस्थापनका लागि कोषमा जम्मा गरिएको जानकारी दिनुभयो ।


    कार्यक्रममा उपप्रमुख रमेश बुढाथोकीले आफ्नो नगरको भौगोलिक बनावटका कारण यातायातको समस्या रहेपनि त्यसको समाधानका लागि कार्यविधि नै बनाएर कार्य अघि बडाएको जानकारी दिनुभयो ।
    उहाँले स्वास्थ्य र खेलकुदलाई सँगैसँगै लैजान नगरपालिकाले नै प्रशिक्षक राखेर खेलकुदको तालिम दिइरहेको बताउँदै खेलकुदले स्वस्थ रहन मद्दत गर्ने ठानेर स्वास्थ्य र खेलकुदलाई साथसाथै लैजाने गरी कार्यहरु गरिएको जानकारी दिनुभयो ।
    नगरपालिकाले शिक्षामा आवश्यक पूर्वाधारदेखि शिक्षकरुको व्यवस्थापनसमेतमा सहयोग पुर्याउँदै आएको बताउँदैं बुढाथोकीले चाँगुनारायणमा अधिकांश वडा ग्रामिण बस्ती रहेको र स्थानीयको आम्दानीको प्रमुख आम्दानीको स्रोत कृषि रहेको जानकारी दिनुभयो ।नगरभित्रका ८० प्रतिशत जमिनमा कृषि उत्पादन गरिँदै आएपनि को प्रर्याप्त मात्रामा रासायनिक मल ल्याउन भने समस्या परेको उपप्रमुख रमेश बुढाथोकीले बताउनुभयो ।
    उपप्रमुख बुढाथोकीका अनुसार, एक घर एक धाराको नीति अनुसार सबै नगरबासीलाई आवश्यकता अनुसार पानीको वितरण गर्न बजेट विनियोजन गरिएको छ ।

    नगरपालिकाका प्रशासन प्रमुख सुरज पौडेलले पछिल्लो नेतृत्व आएसंगै सडक लगायतका पूर्वाधारको क्षेत्रमा उल्लेख्य कार्यहरु भइरहेको दाबी गर्दै नगरपालिकाले भौतिक पूर्वाधार र मानवीय विकासलाई सँगसँगै लैजाने उद्देश्यले विभिन्न तालिम, गोष्ठी आदिको आयोजना गर्दै आएको बताउनुभयो । उहाँले नगरपालिकाले स्थानीयलाई निःशुल्क रगत र अक्सिजनको व्यवस्था समेत गर्ने गरेको बताउनुभयो ।
    वडा नं. २ का वडाध्यक्ष सोम प्रधानले शिक्षा क्षेत्रमा आफ्नो वडा अब्बल रहेको दावी गर्दै सामुदायिक विद्यालय पढाउने शिक्षकले आफ्ना बालबालिकाहरु भने निजी विद्यालयमा पढाउँदा विश्वसनियतामाथि प्रश्न उठ्ने गरेको बताउनुभयो ।
    वडा नं. ६ का वडाअध्यक्ष धन बहादुर लामाले वडाले आफ्नै क्यालेण्डर निर्माण गरेर त्यसै अनुसारका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले पर्यटकको आकर्षणको केन्द्र मानिने नगरकोटमा सडकको दुरावस्था लगायतका कारण पर्यटकको आगमनमा कमी आएकोले नगरकोटलाई सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्ने ठाउँका रुपमा मात्र नहेरी ऐतिहासिक र धार्मिक महत्वको स्थान भनेर ‘रि–ब्राण्डिङ’ गर्न आवश्यक रहेको बताउनुभयो ।


    हिन्दु धर्मको स्कन्दपुराणलाई आधार बनाएर महादेवपोखरी र बौद्ध धर्मको स्वयम्भू पुराणलाई आधार मानेर महामञ्जुश्रीको प्रचार प्रसार गर्न सके विभिन्न देशका धार्मिक पर्यटक समेत उक्त स्थान आउन सक्ने लामाको भनाइ थियो ।
    वडा नं. ७ का वडाअध्यक्ष श्याम नायजु श्रेष्ठले धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण, फल्चा निर्माण, मन्दिर पुनःनिर्माण आदिका कार्यहरु समेत गरिएको जानकारी दिनुभयो ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले स्थानीय तहले स्थानीय सञ्चार नीति निर्माण गरी कार्यान्वयन गरेर स्थानीय सञ्चारमाध्यमलाई संरक्षण गरे स्थानीय तहले गरेका कामको प्रचार गर्न सहज हुने बताउनुभयो ।
    राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका तर्फबाट दिवस गुरागाइँले नगरपालिकालाई ८ क्षेत्रमा सुधार र नयाँ कार्यक्रमका लागि सुझाव दिनुभएको थियो । उहाँले पुरातात्विक तथा सांस्कृतिक, पर्यटकीय, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा सुधार गर्नुपर्ने क्षेत्र औंल्याएका थिए ।
    अन्तरक्रियात्मक कार्यक्रममा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उनीहरुले विभिन्न क्षेत्रका कार्यप्रगतिबारे जिज्ञासा राखेका थिए र उपप्रमुख बुढाथोकीले प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

  • आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित

    भक्तपुर, कार्तिक १२
    आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ । अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशाला आइतवार राती सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको हो ।
    जितको लागि २ सय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा ३ विकेट गुमाउँदै २९१ रन बनाएको हो । अमेरिकाको जितमा ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेले । उनले विश्वकप छनोट २०२३ मा जिम्बावेमा नेपालविरुद्ध पनि शतक हानेका थिए ।

    कप्तान मोनांक पटेल ७६ बलमा ५ चौकासहित ६२ रनमा आउट भए । दोस्रो विकेटलाई मोनांक पटेल र शयानले १६१ रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याए ।
    मानांकलाई २९ औं ओभरको पाँचौं बलमा ललित राजवंशीले बोल्ड आउट गर्दा अमेरिका १६५–२ को अवस्थामा थियो । त्यसपछि कुशल भुर्तेलले शयानलासँगै साइतेजा मुकामल्लालाई ११, मिलिन्द कुमारलाई ५ र सन्जय कृष्णमुर्तीलाई शून्यमा आउट गरेपछि अमेरिका १९७–६ को अवस्थामा पुगेको थियो ।


    तर सातौं विकेटका लागि हरमित र शाड्लीले ७१ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपाल पराजित भयो । हरमित सिंहले ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन जोडे । विजयी छक्का हानेका शाड्ली २७ र जसदीप सिंह ११ रनमा नटआउट रहे ।
    नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए ।
    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको इनिङ खेलेका थिए ।
    ओपनर आसिफ शेख ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ तथा अनिल साह ६२ बलमा ५ चौकासहित ५६ रनमा आउट भए । नेपाललाई ओपनर अनिल साह र आसिफ शेखले १५.४ ओभरमा ९८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछि रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेनन् ।


    कुशल भुर्तेल ११, आरिफ शेख ३७, दीपेन्द्रसिंह ऐरी १३, गुल्सन झा १ र सोमपाल कामी २ रनमा आउट भए । अमेरिका स्पिनर नोष्थुश केन्जिगेले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए । हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले १–१ विकेट लिए । नेपालले अव मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
    नेपाल लिग २ मा ९ खेलमा ७ मा हार, १ मा जित र १ खेलमा अंक विहीन हुँदै ३ अंकका साथ सातौं स्थानमा छ । अमेरिका १० खेलमा ७ मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ ।

     

  • नेपाल पेनाल्टीमा भारतलाई हराउँदै फाइनल प्रवेश

    भक्तपुर, कार्तिक ११
    नेपाली महिला फुटबल टोली साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आइतवार राती सम्पन्न सेमिफाइनलमा नेपाल भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
    खेलको सुरुवाती १५ मिनेट भारतले नेपाललाई पूर्ण दबाबमा राखेको थिय । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । पहिलो हापको अन्त्यतिर भारतले पेनाल्टी क्षेत्र भित्रबाट लगातार आक्रमण गरेपनि डिफेन्सले खतरा टार्यो ।


    दोस्रो हाफ निकै तनावपूर्ण रह्यो । सुरुवातमा रेखा पौडेलले रातो कार्ड खाएपछि मैदानमा दर्शकले बोतल फाल्दा खेल झन्डै १३ मिनेट रोकियो । खेल सुरु भएको केही बेरमा भारतले संगीता बास्फोरको उत्कृष्ट गोलमा अग्रता लियो ।
    भारतले गोल गरेपछि सबै खेलाडी गोलको खुसी मनाउन थाले । त्यसक्रममा सबै खेलाडी आफ्नो बेन्चतर्फ गए । भारतको हाफ र बेन्च एकैतर्फ रहेकाले नेपालले गोल खाएपछि फटाफट बल चलाउने सुर गर्यो । नेपालले बल चलाउने क्रममा भारतका कुनै खेलाडी विपक्षी हाफमा नरहेका कारण रेफ्री चोकी ओमले सिठी बजाइन् । प्रिती राईले बल अघि बढाउँदै गोल पनि गरिन् । तर रेफ्रीले त्यसपछि फोर्थ अफिसियल र सहायक रेफ्रीको निर्देशनमा गोल दिइनन् ।


    कारण नेपालले बल चलाउने बेलामा भारतीय अफिसियल पनि मैदानभित्र थिए । रेफ्रीले नेपालको गोल रद्द गर्दै भारतीय अफिसियललाई पहेंलो कार्ड दिइन् । नेपालले पनि असन्तुष्टि पोख्यो तर केहीबेरमा खेल सुचारु गर्न मान्यो । तर एक मिनेट नबित्दै दर्शकहरुले बोतल प्रहार गर्न थालेपछि खेल रोकियो । नेपालको बेन्चले पनि फोर्थ अफिसियलसँग असन्तुष्टि पोख्यो ।खेल रोकिएपछि रेफ्री एसेसर भारतकी मारिया रेबेलो र म्याच कमिस्नर भुटानका मिन्दु दोर्जी पनि मैदानछेउ पुगे । दुवैले रेफ्रीसँग छलफल गरे । नेपालले गोल नदिए खेल नमान्ने बतायो । यता भारतले भने नेपालले बल चलाइसकेका कारण गोल रद्द नै हुनुपर्ने बतायो ।
    झन्डै १ घण्टा खेल रोकिएर पुनः खेल सूचारु भएको केहीबेरमा नेपालले गोल फर्कायो । साम्बाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल बराबरी हुँदै टाइब्रेकरमा पुग्यो ।


    टाइब्रेकरमा भारतको पहिलो प्रहारमा कप्तान आशालता देवीले गरेका थिए । नेपाली गोलकिपर अञ्जना रानामगरले आशालताको बल रोक्दै नेपालको जितको आशा जगाए । साम्बाले नेपालको पहिलो पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रतामा पुर्याइन् ।
    भारतकी मनिषाले दोस्रो प्रहारमा गोल गरिन् । नेपालकी गीता रानाले गोल गर्दै २–१ को अग्रतामा पुर्याइन् । त्यसपछि पुरुषोत्तम शिरोभ्करले गोल गर्दै खेल २–२ मा ल्याइन् । सविताले तेस्रो प्रहारमा गोल गर्दै खेलमा नेपालको अग्रता कायम राखिन् ।भारतको चौथो प्रहार गरेकी रन्जना चानुको पेनाल्टीलाई अन्जनाले रोकिन् । त्यसपछि अमिषा कार्कीले गोल गर्दै नेपाललाई जित दिलाइन् ।
    भारतले किकअफबाट नै सिधै गोलपोस्टमा सट लिँदै आफ्नो आक्रामक रणनीतिको झल्को दिएको थियो । कप्तान एन्जिला तुम्बापो सुब्बाले उक्त प्रहार बचाइन् । त्यसको दुई मिनेटमै एन्जिलले पुनः अर्को बचाउ गर्दै भारतलाई हावी हुन दिइनन् ।
    १९ औं मिनेटमा ज्योति चौहानले कर्नरमा गरेको हेडरलाई डिफेन्डर अमृता जैशीले ६ यार्ड बक्स भित्र रोकिन् । उक्त रिबाउन्डमा ज्योतिले बक्स भित्रबाट नै गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।


    २३ औं मिनेटमा भारतकी मनिषाले बायाँ विंगबाट विमला विकलाई बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको लगातार प्रयासले डिफेन्स लाइन काट्न सकेन । ३१ औं मिनेटमा नेपालले गोल गर्ने सुवर्ण अवसर सदुपयोग गर्न सकेन । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतीय गोलरक्षक चानुले रोकिन् । रिबाउन्डमा अमिशा कार्कीले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार चानुले पन्च गर्दै मुस्किलले बचाइन् ।
    इन्ज्युरी समयको चौथो मिनेटमा भारत गोल गर्ने अवसरमा चुक्यो । मनिषाको फ्रिकिकमा गोलरक्षक एन्जिलाले पहिलो बचाउ गरेपछि ज्योति चौहान र अरुणा बागको लगातार प्रहार विफल भयो । त्यसपछि मनिषा आफैंले लगातार गरेको प्रयासमा पनि नेपाली डिफेन्सले बललाई पोस्टमा जान दिएन ।


    दोस्रो हाफको ५० औं मिनेटमा नेपाल १० खेलाडीमा सिमित भयो । रेखा पौडेलले रन्जना चानुमाथि फल गरेपछि रेफ्री चोकी ओमले दोस्रो पहेंलो कार्ड देखाएकी थिइन् । त्यसअघि उनले पहिलो हाफको इन्ज्युरी समयमा मनिषामाथि गरेको फलका कारण पहेंलो कार्ड पाएकी थिइन् ।
    रेखाले रातो कार्ड पाएलगत्तै दर्शकहरुले रेफ्रीको निर्णयमा असन्तुष्ट जनाउँदै बोतल फालेका थिए । खेल १३ मिनेट रोकिएपछि सुचारु हुन सकेको थियो ।
    प्रतियोगिताको फाइनल बुधवार साँझ ५ः३० बजे हुनेछ । नेपालले फाइनलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग खेल्नेछ । बंगलादेशले आजै भएको पहिलो खेलमा भुटानलाई ७–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

     

  • ठमेल जित्यो दोश्रो भेट्रान्स फुटबलको उपाधि (फोटो फिचरसहित)

    भक्तपुर, कार्तिक ११
    दोश्रो भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले जितेको छ । फुटबलर्स मिसन टुगेदरद्वारा सानो थिमिस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सञ्चालित प्रतियोगिताको आइतवार सम्पन्न फाइनलमा ठमेलले फ्रिडम फाइटर युवा क्लबलाई २–१ गोलले पराजित गरी उपाधि जितेको हो ।
    ठमेलका लागि बुद्धराज लिम्बु र कोमल खवासले गोल गरे भने फ्रिडमका लागि मिलन राईले गोल गरे । ठमेलले विजेता ट्रफीका साथै नगद रु. ८ लाख नगद पुरस्कार जिते भने उपविजेता फ्रिडमले नगद रु पाँच लाखमा चित्त बुझाए ।


    प्रतियोगितामा ठमेलका मीनबहादुर बस्नेत उत्कृष्ट गोलकिपर, भेषराज लिम्बु उत्कृष्ट मिल्डफिडर, विनोद आले उत्कृष्ट प्रशिक्षक, टासी छिरिङ्ग सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
    यस्तै फ्रिडमका राजकुमार घिसिङ्ग उत्कृष्ट डिफेन्डर, विकर्ण श्रेष्ठ उत्कृष्ट फरवार्ड चुनिए । हाम्रो धरान फुटबल क्लबले अनुशासित टिम र सबैभन्दा बढी उमेरका फुटबल खेलाडी वीरगञ्जका ऋतु शाक्यलाई पनि पुरस्कृत गरिएको थियो ।


    नागार्जुन नगरपालिकाको प्रायोजनमा कात्तिक ३ गतेदेखि मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सञ्चालित प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको थियो ।
    विजेता, उपविजेता, सर्वोत्कृष्ट खेलाडीहरुलाई उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत, मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, गोदावरी नगरपालिकाको प्रमुख गजेन्द्र महर्जन र फुटबलर्स मिसन टुगेदरका अध्यक्ष अशोकरत्न बज्राचार्य, एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, मध्यपुर थिमि नगरपालिकाका वडाध्यक्षहरु बाबुकाजी डंगोल, श्रीकृष्ण श्रेष्ठ र कृष्णहरी आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए ।

     

  • चीनमा मध्यपुर युथ एशोसियसनको दोस्रो हार

    भक्तपुर, कार्तिक ८
    चीन भ्रमणमा रहेको मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोलीले दोस्रो हार व्यहोरेको छ । चीनको लिज्याङ्गमा बिहिवार भएको खेलमा मध्यपुर युथ एशोसिएसन हपे फुटबल टिमसँग ४ – ० गोल अन्तरले पराजित भएको हो ।
    मध्यपुर युथ एशोसियसनको यु–१६ युवा टोली यु–१६ टियाङ्यु लिउफाङ कपमा सहभागी हुन चीनको लिज्याङ्ग पुगेको हो । टोलीमा करुन काफ्ले कप्तान, आभाष खड्का, स्वर्णिम श्रेष्ठ, बिशेष बस्नेत, सुशोभित खड्का, स्वयम थापामगर, प्रसिद्ध घतानी, स्वयमभक्त श्रेष्ठ, रोहन मोक्तान, रोजिन सलाजु, आरुस प्रजापति, आयन श्रेष्ठ, विपुलाहाङ राई, मोहम्मद अरमन मिया, सोहाङ राई र जेनियम श्रेष्ठ रहेका छन ।
    एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिहं नेतृत्वको टोलीमा, एशोसियसनका उपाध्यक्ष अष्ट कवे, प्रशिक्षक राजेश श्रेष्ठ र खेल सामग्री व्यवसायी राजेन महर्जन रहेका छन ।

     

  • त्रिभुवन आर्मी र ठमेल टेरिजम भेट्रान्स कपको क्वाटरफाइनल प्रवेश

    भक्तपुर, कार्तिक ८
    त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टेरिजम डेभलपमेन्ट काउन्सिल दोस्रो भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम दिन बुधवार जित निकाल्दै आर्मी र ठमेल टुरिजम अन्तिम ८ मा पुगेको हो ।
    आर्मीले सानोगौचरण नाइटकिङ (एसएनकेसी) लाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरी क्वाटरफाइनल प्रवेश गरेको हो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
    निर्धारित समयसम्म आर्मीका हरि महतो र सानोगौचरणका जगतमान लामाले गोल गरे । आर्मीका महेन्द्र खवास प्लेयर अफ दी म्याच घोषित भए र उनलाई राष्ट्रिय टोलीका सदस्य भरत खवासले पुरस्कृत गरे ।
    ठमेल चितवन भेट्रान्स एफसीलाई ४–० ले पराजित गरी क्वाटरफाइनल प्रवेश गरेको हो । ठमेलका टासी छिरिङ, विशाल राई, रमेश गुरुङ र भेषराज राईले गोल गरे । ठमेलका टासी छिरिङ प्लेयर अफ दी म्याच चुनिए र उनलाई आठौं साफका स्वर्ण पदक विजेता कराते खेलाडी रवि महर्जनले पुरस्कृत गरे ।
    प्रतियोगितामा बिहीवार क्वार्टरफाइनल खेल हुनेछन् । पहिलो क्वाटरफाईनल हाम्रो धरान भेट्रान्स फुटबल क्लब र सरस्वतीनगर भेट्रान्स, दोश्रो बानेश्वर फ्रेण्डससिप र फ्रिडम फाईटर, तेश्रो आर्मी र किङकम स्पोर्टस क्लब तथा चौथो ठमेल र एनआरटीबीच हुनेछ आयोजकले जनाएको छ ।