Category: अर्थ

  • असार १५, १९ औं राष्ट्रिय धान दिवस र दही चिउरा

    भक्तपुर, असार १५
    ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ आज १९ औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गर्दै देशभर मनाईंदैं छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
    असार १५ मा रोपाईं गरी दही चिउरा खाने लोक परम्परालाई जिवन्त राख्नुका साथै खाद्यान्नमा धानको महत्व झल्काउन र धान उत्पादनमा बृद्धि गर्दै जाने उद्देश्यले सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउन थालेको हो ।
    राष्ट्रिय धान दिवसको अवसरमा भक्तपुरमा पनि विविध कार्यक्रम गरी मनाईंदैछ । अखिल नेपाल किसान महासंघले सूर्यविनायक नगरपालिका १ सिरुटारमा रोपाईं कार्यक्रम आयोजना गरेको छ । दिउँसो १२ बजे हुने कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री के पी शर्मा ओलीलगायतका नेता कार्यक्रममा सहभागी हुने जनाएको छ ।
    यसैगरी नेपाल किसान संघको आयोजना, नेपाली कांग्रेस सूर्यविनायक १ नं. वडा कार्यसमितिको संयोजनमा सिरुटारमै दिउँसो १ बजे विन्दवासिनी पार्टी प्यालेस ठिक अगाडिको खेतमा रोपाइ कार्यक्रम आयोजना गरेको छ । रोपाईंपछि दही चिउराको व्यवस्था गरिएको नेपाली कांग्रेस भक्तपुरका जिल्ला सचिव सुशिल बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको उपस्थिती रहने बस्नेतले बताउनुभयो ।


    रोपाईंलाई नेपालमा महोत्सवमा लिने गरिन्छ । रोपाईंको दिन बाजागाजासहित नाचगान गर्ने परम्परा अझै पनि नेपालका विभिन्न जिल्लामा प्रचलनमा रहेको छ । वर्षको एक दिन हिलोसँग खेल्नु पर्ने मान्यता बमोजिम असार १५ मा विगतमा राजारानीले समेत खेतमा गई रोपाई गर्ने परम्परा थियो । रोपाईंपछि दही चिउरा खाएर रमाइलो गर्ने परम्परा समेत रहेको छ ।
    असार १५ को दिन असारे भाकामा लोकदोहोरी गाउँदैं रोपार, बाउसे, व्याडे सबै खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । औपचारिकरूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दहीच्युरा खाने लोकसंस्कृति प्राचीनकालदेखि चल्दै आएको छ ।
    संस्कृतिकर्मी ओम धौभडेलका अनुसार असार १५ मा दही चिउरा खाने चलन लिपिबद्ध गरेको इतिहास नभएपनि राष्ट्रिय पर्वको रुपमा विकास भइसकेको छ । उहाँले शरिरको पुरै शक्ति रोपाईको समयमा खर्चिने हुँदा त्यसको परिपुर्तीको लागि पनि दही चिउरा खाने परम्परा थालेको बताउनुभयो । दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वासले कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।

    हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । नेवारी परम्परा अनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिईने सगुन होस या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । पछिल्लो समय पार्टी भोज लगायत दैनिक उपभोगमा समेत दहीको प्रयोग बढ्दै गएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ ।

     

  • जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो

    लक्ष्मी गारु, भक्तपुर, असार १३
    भक्तपुरका जुजु धौं व्यवसायीहरुलाई माग धान्ने चटारो परेको छ । नेपाली लोक परम्परा अनुसार बुधवार असार १५, रोपाईं महोत्सव गरी दही चिउरा खाने दिन । असार १५ को अवसरमा दहीको माग उच्च हुने भएकाले भक्तपुरका जुजु धौ व्यवसायीहरुलाई माग धान्न चटारो परेको हो ।
    भक्तपुरमा जुजु धौ व्यवसायी करिव एक सयको हाराहारीमा छन । ती व्यवसायीले औसतमा दैनिक १३ हजार लिटर दुधको जुजु धौ उत्पादन गर्दै आइरहेको छ । असार १५ को अवसरमा जुजु धौ को माग २० हजार लिटर पुग्ने गर्दछ । त्यसैले यतिखेर भक्तपुरका जुजु धौ व्यवसायीहरुलाई माग अनुसारको आपुर्ती गर्न दुधको जोहो गर्नुका साथै दही जमाउने माटोको कटारो, प्लाष्टिकका बट्टाका साथै पछिल्लो समय लोकप्रिय बन्दै गएको मट्काको जोहो गर्ने चटारो परेको व्यवसायीहरु बताउँछन ।


    जुजु धौ व्यवसायीहरुले पहिले पहिले भक्तपुरका ग्रामिण भेग र आसपासका काठ क्षेत्रबाट दुध संकलन गरी दही उत्पादन गर्दै आएका थिए । तर काठ क्षेत्रमा बढ्दो शहरीकरण र आवादीले भैंसी पालन व्यवसाय लोप हुँदै गएपछि जुजु धौ व्यवसायीहरुले अहिले काभ्रेपलाञ्चोकका ग्रामिण भेग, चितवन, झापा, बुटवल र नेपालगञ्जसम्म पुगेर दुध संकलन गरी ल्याउने गरेको भक्तपुर जुजु धौ व्यवसायी संघका अध्यक्ष कृष्ण गोपाल सैंजुले बताउनुभयो ।
    “उपत्यकाको काठ क्षेत्रबाट आवश्यक मात्रामा दुध आउँदैन । झापा, चितवन, बुटवल र नेपालगञ्जबाट संकलन गरेर ल्याउनुपर्छ,” उहाँले भन्नुभयो, “त्यो पनि सिजनको समयमा महँगो तिर्नुपर्छ । दुध महँगो मूल्यमा खरिद गर्नु परेपनि जुजु धौको मूल्य बढाउन सकिँदैन ।”
    सैजुले असार १५ लगायत विवाह, व्रतबन्ध जस्ता ठूला भोजको मौसममा जुजु धौको माग अत्याधिक हुने गरेको जानकारी दिँदैं यस्तो बेला थप दुधको जोहो गर्न गर्न नसक्दा व्यवसायीलाई जुजु धौको माग धान्न हम्मे हम्मे पर्ने गरेको बताउनुभयो । उहाँले दहीको माग बढ्दा दुधसँगै माटोको कटारोको समेत अभाव हुने गरेको बताउनुभयो ।


    जुजु धौ बनाउन सामान्य डेरीको दही बनाउन भन्दा उच्च कोटीको दुध आवश्यक पर्ने गरेको भक्तपुर नगरपालिका–३ बंशगोपालकी बाराही जुजु धौ भण्डारका व्यवसायी संगीता कर्माचार्यले बताउनुभयो । उहाँले जुजु धौको लागि कम्तिमा ५ प्रतिशत फ्याट भएको दुध आवश्यक पर्ने बताउनुभयो । “डेरीलाई कम फ्याट भएपनि हुन्छ तर जुजु धौको लागि कम्तिमा ५ प्रतिशत फ्याट भएको दुध चाहिन्छ,” कर्माचार्यले भन्नुभयो । उहाँले दुधको फ्याट अनुसार जुजु धौको स्वाद र गुणस्तर कायम हुने बताउनुभयो ।
    जुजु धौ बनाउन डेरीको सामान्य दही बनाउन भन्दा धेरै समय, परिश्रम र लगानी आवश्यक पर्छ । जुजु धौ बनाउन दुधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदैं कराईमा उमाल्नुु पर्दछ । दुध उमाल्दा एक क्यान (१० लिटर) बराबर ४ केजी चिनी हालेर नडढने गरी चलाउँदै राम्रोसँग उमाल्नुपर्छ । उमाल्न पुगेपछि भुसमाथि राखेको माटोको कटारामा पहिले कटाराको आधा भाग मात्र दुध राख्नु पर्दछ । उक्त दुध सेलाएर ४० डिग्रि तापक्रममा पुगेपछि बाँकी आधा भागमा दुध भरी हालेर धौ पुसा (दहीको बिऊ÷जोरन) राखिन्छ । त्यसपछि दही जमाएको कटारामाथि अर्को कटाराले छोपेर त्यसको माथि न्यानो हुनेगरी सिरक र जुटको बोराले छोपेर राख्नु पर्दछ । यसरी छोपेर राखेको ५ घण्टामा जुजु धौ तयार हुन्छ । त्यसपछि चिसो पार्न फिज राखिन्छ ।


    पछिल्लो सयम प्रविधिको विकाससँगै जुजु धौको उत्पादनमा पनि प्रविधिको प्रयोग बढ्न थालेको भक्तपुर नगरपालिका–२ व्यासीस्थित आर एस जुजु धौ सप्लार्यसका रक्की सुवालले बताउनुभयो । उहाँले दुध उमाल्न दाउराको सट्टामा ग्याँस र पछिल्लो समय हट एण्ड कोल्डको प्रयोग बढेको बताउनुभयो ।
    “आवश्यक तापक्रममा दुध उमालेर बट्टा वा कटरामा राखेपछि ४० डिग्रि तापक्रम भएको बेला हट एण्ड कोल्डमा राखेर दही जमाउने गरिन्छ । यसमा दही जमाउन ४ घण्टा राखेपछि कोल्ड बटम थिचे पुग्छ, जसले गर्दा दही चाँडै जम्ने गर्छ,” उहाँले भन्नुभयो । परम्परागत शैलीमा दही उत्पादन गरे माग धान्न निकै गाह्रो भएकोले छिटो जमाउनका लागि सबैले आधुनिक प्रविधि अँगालेको उहाँले बताउनुभयो ।
    जुजु धौंको प्रमुख विशेषता चक्कुले टुक्रा टुक्रा पारेर काट्न मिल्नु हो । माटोको कटारोको दहीलाई घोप्ट्याएपनि नपोखिने यसको अर्को विशेषता हो । यस्तो विशेषता भएको जुजु धौ दही मात्र नभई भक्तपुरको पहिचान बनिसकेको छ । भक्तपुरको दहीले मल्लकालिन समयदेखी जुजु धौं अर्थात राजा दहीको उपमा पाएको संस्कृतिविदहरु बताउँछन । जुजु धौंको स्वाद र गुणस्तर नेपालमा मात्र होईन विदेशमा समेत प्रख्यात छ । त्यसैले भक्तपुर आउने आन्तरिक पर्यटक मात्र होईन विदेशी पर्यटकले समेत जुजु धौ को स्वाद लिएर मात्र फर्कने गर्दछन ।
    जुजु धौको माग धान्न मुस्किल भएपनि यसको परम्परागत स्वाद, मौलिकता र गुणस्तर जोगाउन दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएको व्यवसायीहरु बताउँछन ।


    “जुजु धौको मौलिकता पहिलो यसको स्वाद हो भने दोस्रो माटोको भ्यगः अर्थात कटारो हो । तर काठ क्षेत्रमा गाईभैंसी पालन व्यवसाय हराउँदै जानु र कुमालेहरुले पनि माटोको कटारो बनाउन छाड्नु तथा बजारले पनि प्लाष्टिकका बट्टाको माग गर्नुले जुजु धौको मौलिकता जोगाई राख्नु चुनौतीपूर्ण बन्दै गएको छ,” संघका अध्यक्ष सैंजुले भन्नुभयो ।
    बजारले माटोको कटारोको तुलनामा प्लाष्टिकको बट्टाकै धेरै माग गर्ने र व्यवसायीले पनि सरल र सस्तो हुने भएकाले प्लाष्टिक बट्टाकै प्रयोग गर्न रुचाउने भएकाले भक्तपुरको मौलिक माटोको कटारोमा जमाएको जुजु धौको परिचय भने मेटिंदै जाने सम्भावना बढेको उहाँले बताउनुभयो ।
    “बजारले सस्तो दहीको माग गर्नु, साधारण दहीको तुलनामा जुजु धौ तयार गर्न समय, परिश्रम र लगानी बढी पर्नुले पनि जुजु धौको मौलिकता जोगाउन मुस्किल हुँदैं गएको छ,” उहाँले भन्नुभयो ।


    उहाँले संघले जुजु धौको मौलिकता जोगाई यसको स्वाद र गुणस्तरलाई एकरुपकता ल्याउन जुजु धौको ब्राण्डिङ गरी ट्रेडमार्क लागु गर्ने तयारी थालिसकेको बताउनुभयो । उहाँले सबैको प्यान नम्बर संकलन गरी त्यसबारे कानुन व्यवसायीसँग छलफल गरिसकेको बताउनुभयो । “जुजु धौको पहिचान कायम गर्न संघले ट्रेडमार्क लागु गरी अगाडि बढ्ने योजना अघि सारेका छौं । यसले गर्दा भोली कुनै पनि डेरी लगायत अन्यले जुजु धौको नाममा अन्य दही उत्पादन र व्यापार गर्न नमिल्ने गरी कानुनी प्रक्रिया अगाडि बढाइसक्यौं ।” उहाँले भन्नुभयो, “यसमा कसैले जुजु धौ व्यवसाय सञ्चालन गर्नुप¥यो भने संघमा आवद्ध भएर अगाडि लान्छौ ।”
    माग बढेसँगै भक्तपुरको जुजु धौं व्यवसाय पनि फस्टाएको छ । जुजु धौ को माग बढेपछि भक्तपुर नगरका टोल टोलमा जुजु धौ पसल खोलिएका छन । जुजु धौं उत्पादनका हिसावले मात्र होईन यसको बिक्रि वितरणका हिसावले पनि यो व्यवसाय दिनदिनै फस्टाएको संघका अध्यक्ष सैंजुले बताउनुभयो ।
    “विवाह ब्रतवन्ध, बेलविवाह जस्ता भोजमा डेरीको दही प्रयोग गर्ने पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरुले समेत अचेल जुजु धौ प्रयोग गर्दछन,” सैंजुले भन्नुभयो, “यसले गर्दा पनि जुजु धौं को माग बढेको हो ।” एक पटक यसको स्वाद चाखेपछि यसैमा मन बस्ने भएकाले पनि काठमाडौं उपत्यकामा मात्र नभई काभ्रेको बनेपा, पनौती र धुलिखेलसम्म जुजु धौ को माग बढेको सैंजुले बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुरको जुजु धौ व्यवसायीलाई काठमाडौ, ललितपुर, काभ्रेका पसलहरुमा जुजु धौ पु¥याउन भ्याई नभ्याइए नै हुन्छ । झन असार १५ को सिजनमा त माग धान्नै मुस्किल हुने गर्दछ ।” उहाँले जाडो महिनामा जुजु धौ नेपाल अधिराज्यभर जानुका साथै छिमेकी मुलुकसम्म पनि निर्यात गरिने बताउनुभयो ।

     

     

     

  • पेट्रोलियम पदार्थको मूल्य भारी कटौती, पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्यो

    भक्तपुर, असार ११
    सरकारले आज राती १२ बजेदेखी लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य भारी कटौती गरेको छ । सरकारले पेट्रोलियम पदार्थको कर समायोजन गरी मूल्य घटाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आकिस्मक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।
    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर कटौती गर्दै मूल्य घटाइएको बताउनुभयो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रुपैयाँ पुगेको मन्त्री बडूले जानकारी दिनुभयो । सरकारले खाना पकाउने ग्यासमा भने मूल्य घटाएको छैन ।
    नेपाल आयल निगमले हालै मूल्य समायोजन गर्दै पेट्रोल डिजेल र मट्टीतेलको मूल्य क्रमशः प्रतिलिटर १९९, १९२ र १९२ रुपैयाँ तोकेको थियो । पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धि भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन र सडक दुवैमा सशक्त आवाज उठाउन थालेपछि आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले महँगी नियन्त्रणका लागि पेट्रोलियम पदार्थको मूल्य भारी घटाउन सरकारलाई निर्देशन दिएको थियो । सो निर्देशन लगत्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आकिस्मक पत्रकार सम्मेलन गर्दै पेट्रोलियम पदार्थको मूल्य भारी कटौती गरेको हो ।

  • आ. व. २०७९÷८० का लागि मध्यपुर थिमि नगरपालिकाको कुल ३ अर्ब १५ करोड १० लाख ५८ हजार रुपैंयाको बजेट सार्वजनिक

    भक्तपुर, असार १०
    मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि कुल ३ अर्ब १५ करोड १० लाख ५८ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको शुक्रवार शुरु भएको छैंटौं नगरसभा बैठकमा उपप्रमुख विजयकृष्ण श्रेष्ठले आर्थिक वर्ष २०७९÷८० का लागि सो बजेट सार्वजनिक गर्नुभएको हो ।
    विनियोजित बजेटमा नगरपालिकातर्फ चालु र पुँजीगत खर्च गरी कुल एक अर्ब ७८ करोड, १० लाख ५० हजार रुपैंया विनियोजन गरिएको छ । त्यसैगरी नगरपालिकाद्धारा सञ्चालित कमेरोटार जग्गा एकिकरण आयोजनातर्फ ६० करोड ८७ लाख ६२ हजार, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालतर्फ ५७ करोड ३७ लाख ४६ हजार, सामाजिक सुरक्षा भत्तातर्फ १८ करोड र सडक बोर्ड नेपालको ७५ लाख विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
    नगरपालिका तर्फको एक अर्ब ७८ करोड, १० लाख ५० हजार रुपैंया मध्ये चालुतर्फ ५९ करोड ५९ लाख ४४ हजार, वडागत योजना तथा कार्यक्रमका लागि प्रत्येक वडालाई ३ करोड एक लाखका दरले २७ करोड ९ लाख, नगर स्तरिय र सार्वजनिक निर्माणका लागि ५७ करोड ६९ लाख ५६ हजार, क्रमागत आयोजनाका लागि १२ करोड ८० लाख, सडक बोर्ड समपुरक म्याचिङ्ग अनुदानका लागि ४ करोड ७० लाख र नयाँ नगर स्तरिय प्रशासनिक भवन तथा वडा प्रशासनिक भवन निर्माणका लागि १६ करोड २२ लाख ५० हजार विनियोजन गरिएको छ ।


    मध्यपुर थिमि नगरपालिकाले आ. व. २०७९÷८० का लागि विनियोजित बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आय (मौज्दात समेत) ७७ करोड ८ लाख १५ हजार, राजश्व बाँडफाँड (संघिय, प्रदेश र स्थानीय)बाट ४३ करोड ४ लाख ६१ हजार, संघिय सरकारको समानीकरण अनुदानबाट २४ करोड १९ लाख, प्रदेश सरकार समानीकरण अनुदानबाट २ करोड ४३ लाख ८० हजार, सशर्त अनुदानतर्फ २५ करोड १४ लाख, संघिय सरकार समपुरक अनुदान ७० लाख, प्रदेश सरकार समपुरक अनुदान ३ करोड, नगद जनसहभागिता १४ लाख ५० हजार, सर्शत अनुदान प्रदेश सरकार २ करोड ३६ लाख ४४ हजार आम्दानी हुने अनुमान गरिएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
    उपप्रमुख श्रेष्ठले चालु आर्थिक वर्ष २०७८÷०७९ को आर्थिक गतिविधि तथा बजेट कार्यान्वयनको समिक्षा प्रस्तुत गर्दै २०७९ जेठ मसान्तसम्म एक अर्ब २८ करोड ७२ लाख ४७ हजार रुपैंया आय भएको जानकारी दिनुभयो । नगरपालिकाको चालु आर्थिक वर्षको बजेट एक अर्ब ७७ करोड ३४ लाख ४८ हजार रुपैंयाको थियो ।

     

  • आ.व. २०७९÷८० का लागि भक्तपुर नगरपालिकाको २ अर्ब १८ करोड ४२ लाख रुपैंयाको बजेट सार्वजनिक

    भक्तपुर, असार १०
    भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९÷८० का लागि २ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैंयाको वार्षिक बजेट प्रस्तुत गर्नुभएको छ । उपप्रमुख जोशीले शुक्रवार बसेको नगरसभाको १२ औं बैठकमा आगामी आ.व. २०७९÷८० का लागि सो बजेट प्रस्तुत गर्नुभएको हो ।
    विनियोजित बजेटमा चालू खर्चतर्फ ६५.३९ प्रतिशत, पुँजीगत खर्चतर्फ ३२.५० प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरिएको छ ।
    विनियोजित बजेटमा शिक्षा तथा संस्कृति क्षेत्रमा कूल बजेटको १९.४३ प्रतिशत छ्ट्याएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा ४.९५ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा ४.१२ प्रतिशत, भौतिक पूर्वाधार निर्माणका लागि १८.०७ प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.१८ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा २३.६६ प्रतिशत, वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरेको उपप्रमुख जोशीले जानकारी दिनुभयो ।
    शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा विशेष जोड दिएको भक्तपुर नगरपालिकाले १०० शैयाको स्वीकृति प्राप्त ख्वपः अस्पताल भवन निर्माणको काम पूरा गरी सुविधा सम्पन्न ‘जनताको अस्पताल’ सञ्चालन गर्न रु. ८ करोड रुपैयाँ विनियोजन गरेको छ ।


    क्यान्सर, मुटु, मृगौला, मस्तिष्कघात तथा मेरुदण्ड पक्षघात (स्पाइनल कर्ड इन्ज्युरी) जस्ता कडा तथा दीर्घरोग भएका नगरवासी विरामीहरूलाई प्रतिव्यक्ति रु. १५ हजारका दरले सहयोग गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिन रु. ४० लाख विनियोजन गरेको छ भने क्यान्सर, मृगौला रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई मासिक रु. ५ हजारको दरले उपचार खर्च भत्ता व्यवस्थाको लागि रु. ९० लाख विनियोजन गरेको छ ।
    चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र लगायतका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययरत नगरवासी विद्यार्थीहरूका लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्दै आएकोमा आगामी वर्ष ऋणको सीमा वृद्धि गर्देै २ करोड रुपैयाँ विनियोजन गरिएको छ । शिक्षाशास्त्र संकायमा उच्च शिक्षा अध्ययन गरी शिक्षक बन्न चाहने नगरवासीहरुको लागि विशेष व्यवस्था गरेको छ ।
    पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा, काठ र झिंगटीमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत अनुदान दिन ५० लाख रुपैया विनियोजन गरिएको छ भने ख्वप टेलिभिजन सञ्चालनकोे लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    त्यस्तै देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रुपैया, अँचा पोखरी परिसरमा आदर निकेतन संचालन गर्न ५० लाख रुपैयाँ, शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि १ करोड रुपैयाँ, महेश्वरी खेलमैदानको लागि रु. १ करोड, बेखाल कभर्ड हल निर्माण सम्पन्न गर्न ३ करोड रुपैयाँ र खेलकुद पूर्वाधार, प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न रु. ६ करोड १ लाख विनियोजन गरेको छ ।
    बाराही पुल निर्माण सम्पन्न गर्ने गरी रु. ३ करोड, नगरमा खानेपानी फिल्ट्रेसन, ट्यांकी निर्माण तथा खानेपानी पाइप सुधार कार्यका लागि लिवाली आवास योजना र कमल विनायक आवास योजनामा खानेपानी व्यवस्था गर्न रु. ५० लाख, नगरबासीहरुलाई खानेपानी सुविधा उपलब्ध गराउन रु. १ करोड २५ लाख र नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरुसँग सहकार्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र युवा उद्यमशील ऋण तर्फ रु. १ करोड बजेट विनियोजन गरेको छ ।
    त्यस्तै लिवालीमा चिस्यान केन्द्र निर्माण गर्न रु. १ करोड, वडा नं. ५ मा तरकारी बजार निर्माण सम्पन्न गर्न रु. ४० लाख रुपैयाँ, थंथु दरबार पुनःनिर्माण, सांस्कृतिक संग्रहालय निर्माण, कोसेली घरलगायत वडा वडाका सम्पदाहरु पुनःनिर्माण र संरक्षणको लागि रु. ६ करोड बजेट विनियोजन गरेको छ ।
    पर्ती जग्गा संरक्षण तथा सिमांकन, पार्किङ, कृषि उत्पादन वृद्धि गर्न माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्य लगायतका लागि रु. ७० लाख विनियोजन गरेको छ भने नगरभित्रका सामुदायिक विद्यालयहरुमा बालविकास सहजकर्ता (ईसीडी) शिक्षकहरुको कार्य मूल्यांकन गरी थप पारिश्रमिकको बन्दोबस्त गरेको छ ।
    युवा तथा खेलकुद क्षेत्रमा ६ करोड १ लाख ९९ हजार रुपैया, कृषि औजार एवम् बीऊ विजनका लागि कृषि क्षेत्रमा २ करोड ७ लाख रुपैया र प्रशासनिक व्यवस्थापनको लागि रु. ३८ करोड ८६ लाख ६३ हजार विनियोजन गरिएको छ ।
    यसैगरी बैठकमा उपप्रमुख जोशीले ‘भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०७९,’ ‘भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०७९’ सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । सभाले छलफलको लागि स्वीकृत गरेको छ । नगरसभाको अर्को बैठक असार १२ गते आइतबार दिनको १ बजे बस्ने गरी स्थगित भयो ।

     

  • पेट्रोलियम पदार्थमा भारी मूल्य बृद्धि, पेट्रोल १९९, डिजेल र मट्टितेल १९२

    भक्तपुर, असार ६
    नेपाल आयल निगमले आजदेखी लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले गएराती १२ बजेदेखी लागु हुने गरी पेट्रोलमा प्रतिलिटर १९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले बृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १९२ पुगेको छ ।
    निगमले एकै पटक यति धेरै रकम बृद्धि गरेको यो पहिलो पटक हो । निगमले खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत राखेको छ ।
    निगमले हालको खरिद मूल्यमा अझै पेट्रोलमा १३ रुपैंया ५८ पैसा र डिजेलमा १३ रुपैंया ९५ पैसा, एलपीजी ग्यासमा ७५१ रुपैंया १४ पैसा घाटा भएको जनाएको छ । त्यसैगरी मट्टितेलमा ४३ रुपैंया ६ पैसा, हवाई ईन्धन आन्तरिकतर्फ १३ रुपैंया ६१ पैसा र हवाई ईन्धन बाह्यतर्फ ५६ रुपैंया ६७ पैसा नाफा रहेको जनाएको छ ।
    हालको मूल्यमा बिक्रि गर्दा पनि निगमले मासिक ४ अर्ब ७० करोड घाटा रहेको जनाएको छ ।

     

  • अन्तराष्ट्रिय बजार पहुँच सम्बन्धी चार दिने तालिम सम्पन्न

    भक्तपुर, असार ४

    भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा भक्तपुरका उद्योगी व्यवसायीहरुलाई अन्तराष्ट्रिय बजार पहुँच सम्बन्धी चार दिने तालिम प्रदान गरिएको छ । आयात निर्यात व्यापारमा सहजिकरण गर्दै अन्तर्राष्ट्रिय बजारसम्म नेपाली उत्पादनहरुको पहँुच बढाउन सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना भएको हो ।
    गत जेठ ३१ गते शुरु भएको उक्त तालिम शुक्रवार सम्पन्न भएको हो । तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले जिल्लाका उद्यमी व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि तालिम फलदायी हुने बताउनुभयो । सरोकारवाला निकायहरुको साथ सहयोग प्राप्त भएको खण्डमा जिल्लाका मौलिक उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउन सहज हुने उहाँले अपेक्षा गर्नुभयो ।
    व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक एवं तालिमका प्रतिक्षक राजेन्द्र सिंले दुढ इच्छा शक्तिले नै अवसरको ढोका खोल्ने बताउँदैं केन्द्रले व्यवसायीलाई अवसरतर्फ दोहोर्याउने कार्य गर्दै आइरहेको जानकारी दिनुभयो ।
    तालिममा सहभागी पशुपति भुसालले चार दिने तालिममा सहभागी भए पश्चात् आफूमा आत्मविश्वास बढेको बताउनुभयो । व्यवसायीहरुमा अझै पनि धेरै विषयहरुमा जानकारी अभाव रहेको कारणले गर्दा सहज तरिकाबाट जानकारी हासिल गर्ने वातावरण तयार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।


    अर्का सहभागी चन्देश्वरी सकुपायोले भर्खर व्यवसायमा प्रवेश गरेका व्यवसायीलाई तालिम झनै उपलब्धी मुलक भएको बताउनुभयो । उहाँले सफल उद्यमी व्यवसायीहरुसँग पनि अन्तरक्रिया गर्ने अवसर पाएको खण्डमा तालिम थप व्यवहारिक हुने तर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।
    तालिममा विभिन्न क्षेत्रका २५ जना व्यवसायीहरु सहभागी थिए । तालिममा केन्द्रका उपनिर्देशक राजेन्द्र सिं, अर्का उपनिर्देशक सिद्धिचरण दाहाल र केन्द्रकै वरिष्ठ अधिकृत गोविन्द आचार्यले प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा सहभागीहरुले तालिमका दौरान तयार पारेको अन्तर्राष्ट्रिय बजार सम्भाव्यता सम्बन्धीको परियोजनाहरु समेत प्रस्तुत गरेका थिए ।

  • परम्परागत शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई अनुदान वितरण

    भक्तपुर, चैत्र १५
    भक्तपुर नगरपालिकाले नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरुलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले मंगलवार नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरुलाई मोहडामा प्रयोग भएको काठ, ईटा र झिंगटीको अनुदान वितरण हो ।
    नगरपालिकाका अनुसार २६ जनालाई कूल ७९ लाख ८३ हजार ९२५ रुपैंया अनुदान वितरण गरिएको हो । नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड २०६०, तेस्रो संशाेधन अनुसार भक्तपुर नगरको विश्व सम्पदा क्षेत्र तथा पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर तथा भवन निर्माण गर्न नगरबासीहरुको प्रोत्साहन स्वरुप घर तथा भवन निर्माण गर्ने क्रममा मोहडा तर्फ प्रयोग हुने काठ, ईटा र झिंगटी खरिदको लागि भक्तपुर नगरपालिकाले दिने अनुदान सम्बन्धी कार्यविधि २०७५ अनुसार आ.व. २०७५/७६ देखि मापदण्ड अनुरुप घर निर्माण गर्ने नगरबासीहरुलाई लागेको खर्चमा ३५ प्रतिशत अनुदान वितरण गर्दै आएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।


    नगरवासीलाई अनुदान वितरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नगरभित्र पराम्परागत शैलीमा घर निर्माण गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदैं आधुनिक शैलीका घर निर्माणले देश परनिर्भरतातर्फ उन्मुख हुँदै गएको बताउनुभयो ।
    पुराना घरको संरचनाहरुमा प्राविधिक र वैज्ञानिक आधार रहेको बताउँदैं उहाँले परम्परागत, स्थानीय सामग्री तथा सीपको प्रयोग गरी पुरानै शैली र संरचनामा घर निर्माण गर्नेलाई नगरपालिकाले प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
    “मूर्त र अमूर्त सम्पदाहरुको संरक्षण हामी सबैको जिम्मेवारी हो । पुराना पुस्ताको अनुभव नयाँ पुस्तालाई पुस्तान्तरण गर्दै नगरको कला संस्कृति, सम्पदा संरक्षण लगायत समग्र विकासमा अगाडि बढ्न नगरबासी र नगरपालिकाले हातेमालो गर्नुपर्छ,” उहाँले भन्नुभयो ।


    बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईले भक्तपुर नगरको सौन्दर्यकरणको लागि जनप्रतिनिधिहरु र जनताको एकता अपरिहार्य रहेको चर्चा गर्दै मौलिकताको पहिचान परम्परागतका साथसाथै वैज्ञानिकता पनि रहेको बताउनुभयो ।
    भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले भूकम्प अघि र पछि क्षति भएका नगरभित्रका ११८ भन्दा बढी सम्पदाहरु पुनःनिर्माण र संरक्षण गरेको उल्लेख गर्दै नक्सापास सम्बन्धी व्यवस्था र भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माण सम्बन्धी प्रगति विवरण जानकारी दिनुभयो ।


    दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका कार्यालय प्रमुख अरुणा नकर्मीले विश्व सम्पदा क्षेत्रमा परेका सम्पदा क्षेत्रमा भवनहरु पराम्परात हुनुपर्नेमा जोड दिँदैं परम्परागत शैलीका घर निर्माणका फाइदाहरुको बारेमा चर्चा गर्नुभयो ।

     

  • भक्तपुरमा फेरी वर्ड फ्लु भेटियो

    भक्तपुर, फागुन २७
    भक्तपुरमा फेरी वर्ड फ्लु भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १० स्गित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा वर्ड फ्लु भेटिएको हो । यसअघि गत साता सूर्यविनायक नगरपालिका १० का दुई फार्ममा वर्ड फ्लु भेटिएको थियो ।
    सुवाल पोल्ट्री फार्मका कमर्शियल लेयर्स कुखुराको नमूना केन्द्रीय पशुपंछी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा वर्ड फ्लु रोग एच पि ए वान को सबटाईप एच फाइभ एच वान नतिजा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।
    उक्त फार्मका कुखुरामा वर्ड फ्लु भेटिएको पुष्टि भएपछि जिल्ला सुरक्षा समितिको शुक्रवार बसेको बैठकले वर्ड फ्लु नियन्त्रण नियमावली २०७८ अनुसार उक्त फार्मका कुखुरा, चल्ला तथा कुखुराजन्य पदार्थ दाना, सुली, अण्डा नियन्त्रणमा लिई नष्ट गर्ने निर्णय गरेको छ । साथै बैठकले वर्ड फ्लु भेटिएको कुखुरा फार्मलाई केन्द्रविन्दु मानी पुर्वमा अजिमा ईंटा उद्योगसँगै रहेको अरनिको राजमार्गतर्फ जाने कच्ची बाटो, पश्चिममा कृष्ण ईंटा उद्योगसँगै रहेको अरनिको राजमार्गतर्फ जाने कच्ची बाटो, उत्तरमा हनुमन्ते खोलाको दक्षिण किनारा र दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना भित्र वर्ड फ्लु नियन्त्रण नियमावली २०७८ अनुसार पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्री अण्डा, दाना, सुली समेत अन्यत्र निकासी हुन नपाउने गरी नियन्त्रणमा लिई भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरको संयोजकत्वमा पशु सेवा विभाग र सम्बन्धीत स्थानीय तहको समन्वयमा उचित व्यवस्थापन गर्ने निर्णय गरेको प्रजिअ शर्माले बताउनुभयो ।
    बैठकले भक्तपुर जिल्ला लगायत उपत्यका भित्रिने सबै नाकाहरुमा पशु सेवा विभागको सहयोगमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरको संयोजकत्वमा पशु सेवा विभाग र सम्बन्धीत स्थानीय तहको समन्वयमा पन्छी, पन्छीजन्य पदार्थ दाना, अण्डा, सुली ओसारपसारमा सघन निगरानी बढाउने निर्णय गरेको छ ।
    बैठकले वर्ड फ्लु नियन्त्रणमा खटिने कर्मचारी र कामदारलाई नियमानुसार पाउने सेवा सुविधा तथा रोग नियन्त्रणका लागि नष्ट गरिएका सामग्रीको क्षतीपुर्ति उपलब्ध गराउन पशु सेवा विभाग हरिहरभवनलाई अनुरोध समेत गरेको छ ।

     

  • वाइन पारखीलाई द ड्रिंकरस नेपाल

    ललितपुर, फागुन ९
    के तपाई विदेशी वाइनका पारखी हुनुहुन्छ ? यदी हुनुहुन्छ भने अब तपाईंको चाहना सहज रुपमा पुरा हुने भएको छ । ललितपुरको कुपन्डोल हाइट सानेपामा ‘द ड्रिंकरस नेपाल’ सञ्चालनमा आएसँगै तपाईंको विभिन्न स्वादका विदेशी वाईनको स्वाद चाख्ने चाहना पुरा हुने भएको हो ।
    विभिन्न देशमा वैदेशिक रोजगारमा रही नेपालमै केही गर्ने उद्देश्यका साथ नेपाल फर्केका १६ जनाको समूहले द डिं«करस नेपाल सञ्चालनमा ल्याएको हो, जहाँ इटाली र स्पेनका प्रसिद्ध वाइनहरुको संगालो रहेको छ ।
    युरोपियन मुलुकका प्रसिद्ध वाइन बिक्रि गर्ने र नेपालीहरुको वाइन प्रतिको चाहना पुरा गर्ने उद्देश्यले करिव ३ करोड लगानीमा द डिं«करस नेपाल शुरु गरिएको सञ्चालक मध्यकी एक सुकु कसुलेले बताउनुभयो ।