भक्तपुर, पौष २७
प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संसद देश र जनताका समस्या समाधान गर्ने भन्दा पनि नेताहरुको कुण्ठा पोख्ने थलो बनेको टिप्पणी गर्नुभएको छ ।
भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको बुधवार आयोजित आठौं साधारणसभा एवम् चौंथो अधिवेशनमा सांसद थापाले संसदको आफ्नो पहिलो अनुभव सुनाउँदैं संसद देश र जनताको समस्या माथि छलफल, विवेचना गर्ने भन्दा पनि दलका नेताहरुले एक अर्कालाई छेडछाड गर्ने थलो बनेको बताउनुभएको हो ।
“एउटा नेता आउनुहुन्छ, गजक्क फुल्नुहुन्छ । हामीलाई पाठ पढाउनुहुन्छ । अनी हामीले उनीहरुले भनेका कुरा सुन्ने, थपडी बजाउने संस्थाको नाम प्रतिनिधि सभा रहेछ,” उहाँले भन्नुभयो । प्रतिनिधि सभा यस्तो संस्था भएपछि कुनै व्यवसायी, आम नागरिकका समस्या समाधान गर्ने, सम्बोधन गर्ने थलो बन्न नसक्ने उहाँको भनाई थियो ।
उहाँले दलका नेताहरुको ध्यान सत्तामा मात्र केन्द्रीत हुँदा संसदमा देश, जनता र व्यवसायीहरुका समस्याका बारेमा छलफल हुन नसकेको बताउनुभयो । “कुनै व्यवसायको, कुनै क्षेत्रको समस्याको बारेमा न त्यहाँ छलफल भयो, न त्यहाँ सम्बोधन भयो, न राष्ट्रको बारेमा त्यहाँ चिन्ता देखियो, मात्र कुर्सी मोह देखियो,” उहाँले भन्नुभयो ।
उहाँले कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर देशमा स्थिर सरकार निर्माण गरेको दावी गर्नुभयो । “हिजो देशले स्थिर सरकार प्राप्त गरेको छ । यो सरकार पाँच वर्ष टिक्छ,” उहाँले भन्नुभयो, “नत्र कसैले तान्ने बित्तिकै कुर्सी खुस्किने अवस्था थियो । त्यसको अन्त्य भएको छ ।”
उहाँले कसको सरकार छ, कुन दलको को प्रधानमन्त्री छ, राष्ट्रपति कुन दलको छ, सभामुख को छन त्यसले कुनै अर्थ नराख्ने बताउँदैं संसद पाँच वर्ष टिक्नुपर्नेमा जोड दिनुभयो । “पाँच वर्षको लागि निर्वाचित संसद पाँच वर्ष चल्नुपर्छ । देशको समृद्धिको खाका कोर्नुपर्छ, उहाँले भन्नुभयो सबै क्षेत्रको सम्बोधन हुनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले आर्थिक मन्दीले क्याटरिङ र पार्टी प्यालेस व्यवसाय मात्र होइन सबै क्षेत्रमा समस्या रहेको बताउनुभयो । उहाँले नेताहरुको घरमा पैसा थुप्रिएको टिप्पणी गर्दै विप्रेषण हुन्डी मार्फत आउने, बढ्दो आयातलगायतले नेपालमा आर्थिक मन्दी आएको बताउनुभयो ।
उहाँले एउटा सांसद सबै क्षेत्रको विज्ञ बन्न नसक्ने भन्दै समसामयिक क्षेत्रको समस्या उठान र समाधानका लागि सम्बन्धीत क्षेत्रको विज्ञसँग छलफल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राज्यले कानुन मार्फत सबै क्षेत्र र व्यवसायलाई व्यवस्थित गर्नुपर्ने बताउँदैं त्यस्ता कानुन बनाउन आफु सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जग्गा व्यवसायको काम गर्ने र सोही जग्गामा बाटो लगेर विकासवादी हुने प्रवृत्ति आफुमा नहुने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले क्याटरिङ र पार्टी प्यालेस व्यवसायले समाजमा हुने विविध सामाजिक कार्यलाई व्यवस्थित र सुरक्षित गर्न मद्दत गरेको बताउँदैं यदाकदा यो व्यवसायमा पनि विकृति विसंगती देखिएको भन्ने उपभोक्ताहरुको गुनासो बढेकोले व्यवसायीहरुले पनि स्वच्छ, पारदर्शी र सस्तो तथा सरल सहज ढंगले सेवा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीका समस्या समाधान गर्न निरन्तर छलफल र बहश हुनुपर्नेमा जोड दिँदैं त्यसका लागि सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
अर्का बागमती प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले कुनैपनि व्यवसायमा देखिएका समस्या समाधानमा सोही व्यवसायीहरु बढी सक्रिय हुनुपर्ने बताउँदैं व्यवसायीहरु पनि जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुँछेरत्न मानन्धरले चेम्बर र भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको सहकार्यमा कोभिड १९ को महामारीमा विभिन्न गतिविधि सञ्चालन गरेको चर्चा गर्नुभयो ।
संघका अध्यक्ष सचिन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका सचिव राजेन्द्र देउजा, नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लिलाबहादुर जिसिलगायतले हजारौं दक्ष अर्धदक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएको क्याटरिङ व्यवसाय कोभिडको महामारीले थिलथिलो बनाएको बताउँदैं त्यसलाई माथि उकास्न सरकारले व्याज दरमा सहुलियत दिनुपर्नेमा जोड दिएका थिए ।
यसैबीच संघको चौंथो अधिवेशनले पुनः सचिन्द्र श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन कमिटिका संयोजक धर्मरत्न खाईतुका अनुसार संघको उपाध्यक्षमा शान्तराम साँगाछें, सचिवमा राजेन्द्र देउजा, सदस्यमा भक्तलाल श्रेष्ठलगायत सर्वसम्मतले चयन भएका छन ।
Category: अर्थ
-
संसद देश र जनताका समस्या समाधान गर्ने भन्दा पनि नेताहरुको कुण्ठा पोख्ने थलो – सांसद थापा
-
व्यवसायीहरुले अनिवार्य पालना गर्नुपर्ने शर्तहरुसहितको हाते पुस्तिका सार्वजनिक
भक्तपुर, पौष २२
जिल्ला प्रशासन कार्यालय भक्तपुरले व्यवसायीहरुले अनिवार्य पालना गर्नुपर्ने शर्तहरुसहितको हाते पुस्तिका सार्वजनिक गरेको छ । बजारलाई उपभोक्ता मैत्री र स्वच्छ बनाउन व्यवसायीलाई जिम्मेवार बनाउन प्रशासनले सो हाते पुस्तिका सार्वजनिक गरेको हो ।
पुस्तिकामा व्यवसायीहरुले अनिवार्य रुपमा पालना गर्नुपर्ने शर्तहरु उल्लेख छ । जसमा व्यवसायीले दर्ता प्रमाणपत्र, कर सम्बन्धी प्रमाणपत्र मुल्यसुची अनिर्वाय रुपमा उपभोक्ताले देखिने गरी राख्नुपर्ने, दर्ता गरेपछि मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने, अनिर्वायरुपमा समयमा नविकरण गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसैगरी सो पुस्तिकामा व्यवसायीले मालसामान बिक्रि गर्दा ध्यान पुर्याउनु पर्ने विषय समेत उल्लेख गरिएको छ । बुँदागतरुपमा उल्लेख गरिएका शर्तहरुमा खाद्य, राजश्व, गुणस्तर तथा नापतौल, कृषि, औषधी, मासुजन्य र अन्य व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले के कस्ता सावधानी अपनाउने, उपभोक्ताको हितमा के कस्ता शर्तहरु पालना गर्नुपर्ने भन्ने विषय समावेश गरिएको छ ।
हाते पुस्तिकामा उल्लेख भएका शर्तहरुको पालना भए कुनै पनि व्यवसाय कानुन बमोजिम सञ्चालन भई व्यवसाय उपभोक्ता मैत्री बन्ने विश्वास प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यक्त गर्नुभएको छ ।
जिल्लामा विभिन्न व्यवसाय गरेर बसेका व्यवसायीहरुले आ–आफ्नो व्यवसाय अन्तर्गत अनिवार्यरुपमा पालना गर्नुपर्ने शर्तहरु पूर्णरुपमा जानकारी होस भने हिसावले हाते पुस्तिका प्रकाशन गरेको प्रजिअ शर्माले बताउनुभयो ।
उहाँले विगतमा बजार अनुगमनकाक्रममा देखिएका व्यवसायीहरुको कमी कमजोरीलाई मध्यनजर गरि हाते पुस्तिका तयार गरिएको बताउनुभयो । “अनुगमन गएर व्यवसायीलाई कार्यवाही गर्नु भन्दा व्यवसायीले आफुले पालना गर्नुपर्ने शर्तहरु जानकारी दिन पाए व्यवसायीहरु आफै कार्वाहीबाट जोगिन सचेत हुनेमा विश्वासका साथ हाते पुस्तिका प्रकाशन गरेको हो,” उहाँले भन्नुभयो ।
स्वच्छ बजार कायम गर्ने, उपभोक्ताको हकहित कायम गर्ने, व्यवसायीले पालना गर्नुपर्ने नियमको जानकारी गराउने, अनुचित व्यापार गर्न रोक लगाउने, अनुगमन कार्यलाई निरन्तरता दिदै संयुक्त अनुगमनलाई प्रभावकारी ढंगले अगाडि बढाउने उदेश्यका साथ व्यवसायीहरुले पालना गर्नुपर्ने विषयहरुलाई व्यवसायीको हात हातमा पुर्याउने अभियान शुरु गरिएको उहाँले बताउनुभयो ।
उहाँले स्थानीय तहले पनि आफ्नो क्षेत्रमा व्यवसाय दर्तालाई कडाई गर्नुपर्ने औल्याउदै व्यवसाय दर्ता नहुँदा कर नतिर्ने गरेको, व्यवसायीले सामानको लेबल नराख्ने, राख्दा पनि अनुमति बिना आफै राख्ने, म्याद नाघेका सामानमा आफै नयाँ लेबल टाँस्ने, म्याद गुज्रेका अखाद्य सामान बिक्री गर्ने जस्ता गलत कार्य भइरहेकाले यसलाई रोक्न बजार अनुगमन र कारबाहीलई कडाई गर्ने बताउनुभयो । सो हाते पुस्तिकालाई उद्योग वाणिज्य संघ माफर्त व्यवसायीको हात हातमा पुर्याईने प्रजिअ हर्माले बताउनुभयो ।
उद्योग बाणिज्य संघ भक्तपुरका अध्यक्ष शिव मानन्धरले संघले उक्त हाते पुस्तिकालाई जिल्लाका सबै व्यवसायीको हात हातमा पुर्याउने र व्यवसायीलाई सचेतना प्रदान गर्ने बताउनुभयो । उहाँले बजारमा अनियमितता गर्ने, अखाद्य बस्तु बिक्री गर्ने र गलत गर्नेलाई संघले सहयोग गर्दैन भन्दै बजारलाई स्वच्छ र सुशासन युक्त बनाउन संघ सधै सक्रिय रहने बताउनुभयो । -
मध्यपुर थिमिमा ज्येष्ठ नागरिक स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने
भक्तपुर, पौष १
मध्यपुर थिमि नगरपालिकाले नगरका ६० पुरा भई ७० वर्ष ननाघेका उमेर समूहका सबै ज्येष्ठ नागरिकहरुको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने भएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा शुक्रवार बसेको बागमती प्रदेश विमा बोर्डका पदाधिकारीहरु सहितको बैठकले नगरपालिकाको ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यविधि २०७९ बमोजिम नगरका ६० देखी ७० वर्ष उमेर समूहका सबै ज्येष्ठ नागरिकहरुको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने निर्णय गरेको हो ।
बैठकपछि नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाको ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यविधि २०७९ बमोजिम ६० वर्ष पुरा भई ७० वर्ष ननाघेका ज्येष्ठ नागरिकहरुको ज्येष्ठ नागरिक स्वास्थ्य बिमा नगरपालिकाले गर्ने निर्णय भएको छ ।”
बैठकले ५ जनासम्म परिवार संख्या भएका ज्येष्ठ नागरिकका सबै सदस्यहरुको बिमा वापतको प्रिमियम (योगदान) रकम समेत नगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ । यसैगरी ज्येष्ठ नागरिकप्रति आश्रित बाबु आमा नभएका टुहुरा नाबालकहरु रहेको हकमा परिवारका सदस्य सबैको स्वास्थ्य बिमा प्रिमियम नगरपालिकाबाट व्यवस्था गर्ने भएको छ ।
यसैबीच ज्येष्ठ नागरिक स्वास्थ्य बिमा मध्यपुर थिमि नगरपालिकाले शुक्रवार देखी नै शुरु गरेको छ । नगरपालिकाको बैठक कक्षमा नगरको वडा नं. ७ का वडाअध्यक्ष कृष्ण कुमार प्रजापति, कार्यपालिका सदस्यहरु सरस्वती खड्का र बालकृष्ण परियारको बिमा गरी ज्येष्ठ नागरिक स्वास्थ्य बिमा शुरु गरिएको नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले जानकारी दिनुभयो । -
चर्काे ब्याजदरका विरुद्ध भक्तपुरका उद्योमी व्यवसायी एकजुट, प्रजिअलाई बुझाए ज्ञापनपत्र
भक्तपुर, कार्तिक ४
बैंक तथा वित्तिय सस्थाले असुल्दै आएको चर्काे ब्याजदरका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायी एकजुट भएका छन । उनीहरुले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ६ बुँदे मागसहित ज्ञापनपत्र समेत बुझाएका छन ।
ज्ञापनपत्रमा बैंक तथा वित्तिय संस्थाले निक्षेपमा ब्याजदर बढाएर पनि निक्षेप बढन नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजूदा वास्तविकता र विगतको अनुभव समेतलाई मनन गर्दै ब्याजदरलाई वान्छित सिमा भित्र राख्नु पर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ ।
यसैगरी बैंक तथा वित्तिय संस्थाहरुले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा समेत न्यूनतम प्रतिशतमात्रै प्रिमियम थप गर्ने व्यवस्था लागू हुनुपर्ने र बैंक तथा वित्तिय संस्थाहरुले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधार दर समेत घटाउन सकिने अवस्था रहेको तर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएको छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुँदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनुपर्ने तर्फ पनि ध्यानाकर्षण गराएको छ ।
यसैगरी हाल मुलुकको असहज परिस्थितिका कारण ऋणको सावा ब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रिय बैकबाट पहल हुनुपर्ने तर्फबाट पनि व्यवसायीको माग रहेको छ ।
मौजूदा परिवेशबाट सिर्जित चरम मूल्य वृद्धि र उद्योग व्यवसायहरु धमाधम धरासायी बन्दै गएको चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई बचाउन केन्द्रिय बैंक र सरकार दुवैबाट भरमग्दुर प्रयास हुनुपर्ने तर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएको छ ।
भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा ज्ञापनपत्र बुझाउन भक्तपुर नगर चेम्बर, चाँगुनारायण नगर चेम्बर, मध्यपुर थिमि नगर चेम्बर, सूर्यविनायक नगर चेम्बर, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरीङ संघ, नेपाल औषधी व्यवसायी संघ भक्तपुर जिल्ला समिति, भक्तपुर वन पैदावार उद्योग व्यवसायी संघका प्रतिनिधिहरुको जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ज्ञापन पत्र भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले प्रजिअ शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । -
सहकारी संस्थाहरुको अनुगमन गरी थप व्यवस्थित गर्ने – नगरप्रमुख श्रेष्ठ
भक्तपुर, असोज २
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरभित्र सञ्चालित सहकारी संस्थाहरुको अनुगमन गरी सहकारीहरुलाई थप व्यवस्थित गर्ने बताउनुभएको छ ।
नगरपालिकाले पारित गरेको सहकारी ऐन २०७९ को विषयमा जानकारी दिने उद्देश्यले सहकारी शाखाले आइतवार आयोजना गरेको नगरपालिकाको सहकारी कार्यक्रम सार्वजनिकरण तथा सहकारी सम्बन्धी एक दिवसिय अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख श्रेष्ठले सहकारी संस्था सम्बन्धी जनगुनासो बढेकोले सहकारीहरुको अनुगमन गरी व्यवस्थित गर्ने बताउनुभएको हो ।
उहाँले नगरपालिकाले ऐन निर्माण गरेपनि नियमावली बनाउन बाँकी रहेकोले नियमावलीमा सहकारीहरुको पनि सुझाव समेट्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले केही सहकारीहरुको बदमासीले समग्र सहकारीको बदनाम हुन सक्नेतर्फ सबै सहकारीकर्मी सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीको भविष्यसँगै मुलुककै अर्थतन्त्रको भविष्य जोडिएको बताउँदैं सहकारीहरुले वचतकर्ता शेयर सदस्यहरुको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारीहरुले आर्थिक गतिविधिमा मात्र जोड नदिई शेयर सदस्यहरुको सामाजिक, शैक्षिक रुपान्तरण र नगरको कला सँस्कृतिको संरक्षण र प्रवद्र्धन, रोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रम सञ्चालन आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले पछिल्लो समय सहकारीहरु स्थानीय नागरिकको जीवनसँग जोडिन पुगेको चर्चा गर्दै सहकारीहरुले निक्षेपलाई सदस्यहरुको बृहत हितमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मध्यपुर थिमिमा रहेका एक सय भन्दा बढी सहकारी संस्थाहरुबाट परिचालन भएको अर्बौ रुपैंयाले यहाँको उद्यमशीलतामा प्रभावकारी ढंगले प्रयोग हुनुपर्ने बताउनुभयो ।
जिल्ला सहकारी संघका अध्यक्ष केदार खड्काले सहकारीमा पनि माफियाहरु प्रवेश गरेकाले पछिल्लो समय सहकारी संस्था बदनाम हुन थालेको बताउनुभयो । केही ठूला भनाउँदा सहकारीहरुले विभिन्न स्थानमा शाखा बिस्तार गर्ने र संकलन भएको निक्षेप सञ्चालकहरुका आफ्ना र आफन्तको व्यवसायमा मात्र लगानी गर्ने प्रवृत्तिले त्यस्ता सहकारीमा आर्थिक संकट आई वचतकर्ताको वचत जोखिम परेको खड्काले बताउनुभयो । उहाँले नगरपालिकाले पनि नियमितरुपमा सहकारीहरुको अनगुमन तथा नियमन गरी वचतकर्ताको भविष्य सुनिश्चित गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले वचतकर्ताहरुले पनि सहकारीका सञ्चालकहरुको बारेमा जानकारी लिएर, स्थानीय हो की, बाहिरबाट आएर सहकारी चलाएका हुन की, सहकारीको उद्देश्य के हो बुझेर मात्र सदस्यता लिने वचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा १२८ वटा सहकारी सञ्चालनमा भएपनि ११० मात्रले वार्षिक प्रतिवेदन पेश गरि लेखा परीक्षण गराउँदै आएको, १८ वटा सहकारीमा समस्या रहेको जानकारी दिएको थियो । -
भन्सार छली गरी ल्याईएका कपडासहित एक जना पक्राउ
भक्तपुर, भदौ २१
भन्सार छली ल्याएका तयारी पोशाकसहित भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा नं. ११ का २५ वर्षिय किरण बिश्वकर्मा हुन ।
भक्तपुरको जगातीमा सवारी जाँचका क्रममा सोमवार राती धनुषाको ढल्केबरबाट बर्दिबास सिन्धुली बि.पी. राजमार्ग हुँदै भक्तपुरतर्फ आउदै प्रदेश नं. २–०३–००१ ख १९९७ नं. को आईचर गाडीमा लुकाई छिपाई ल्याउँदैं गरेको पोशाकसहित सो गाडीका चालक बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
गाडीको पछाडी पट्टी ढालाको भित्री भागमा लुकाई छिपाई राखेको जुट र प्लाष्टिकको १६ वटा बोराभित्र भन्सार छली गरी ल्याईएका कपडा र तयारी पोशाक फेला परेपछि प्रहरीले चालक विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
बरामद गरिएको बोराभित्र विभिन्न साईज तथा रंगका घाघर २ हजार ४५४ थान, साडी २३१ थान, ब्रा ४ हजार ६९२ थान, महिलाले लगाउने, वानपिस कपडा २० थान, कुर्था सुरुवाल ४८० थान फेला परेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।
पक्राउ परेका विश्वकर्मालाई बरामद गरिएका सामान र गाडीसहित आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय हरिहरभवन ललितपुरमा पठाईएको प्रनाउ पाण्डेले बताउनुभयो । -
सूर्यविनायकमा नक्कली नोटसहित एक जना पक्राउ
भक्तपुर, असार २६
प्रहरीले नक्कली नेपाली नोटसहित भक्तपुरमा आइतवार एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ८ बस्ने ३० वर्षिय निर विकार प्रजापति हुन ।
उनलाई प्रहरीले सूर्यविनायकस्थित राष्ट्रिय बाणिज्य बैक नजिकै बाट पक्राउ गरिएको हो । पक्राउ परेका प्रजापतिको साथबाट प्रहरीले एक हजार दरका नेपाली नोट १३ थान समेत बरामद गरिएको प्रहरी वृत्त जगातीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रजापतिलाई पक्राउ गरी खानतालसी गर्दा रंगिन फोटोकपी गरेको जस्तो देखिने १३ थान एक हजार दरका नोट बरामद भएको प्रहरीले जानकारी दिए । उनलाई प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान भइरहेको छ । -
भक्तपुरका ५३८ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण
भक्तपुर, असार २१
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरका विभिन्न चार वटा स्थानीय तहमा उम्मेदबार बनेका मध्ये ५ सय ३८ जनाले निर्वाचनको खर्च विवरण बुझाएको छ । गत स्थानीय निर्वाचनमा भक्तपुरमा कुल ९२८ जना उम्मेदवार बनेका थिए । ती मध्ये ५३८ जनाले चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएको हो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० मा स्थानीय तहमा उम्मेदवार बनेका प्रत्येकले निर्वाचन सम्पन्न भएको ३० दिन भित्र खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था छ ।
सो व्यवस्था अनुसार भक्तपुरमा अझै ३९० जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले जानकारी दिनुभयो । उहाँले असार मसान्तसम्ममा बाँकी उम्मेदवारले पनि खर्च विवरण बुझाउने बताउनुभयो ।
उहाँले विवरण बुझाउनेहरुको विवरण रुजु गर्न बाँकी रहेकोले कुन दल, कुन स्थानीय तहका उम्मेदवार र निर्वाचित वा पराजित क–कसले खर्च विवरण बुझाएको हो एकिन गर्न बाँकी रहेको बताउनुभयो । “समय अभावका कारणले खर्च विवरण बुझाउनेहरुको पार्टी, नगरपालिका र वडा केही छुट्याउन सकिएको छैन,” उहाँले भन्नुभयो, “आएको जति सबैको अहिले दर्ता मात्र छ, अरु केही खुलाएको छैन ।” उहाँले असार मसान्तसम्म पनि विवरण नबुझाउनेहरुलाई निर्वाचन सम्बन्धी ऐन अनुसार कारवाही गरिने जानकारी दिनुभयो । -
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खपट घटाउन कोटा प्रणाली लागु गर्न निगमको सुझाव
भक्तपुर, असार २१
नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज (मंगलवार)देखी लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा ९ रूपैयाँ मूल्य बढाएको हो ।
निगमले सोमवार साँझ विज्ञप्ति निकालेर नयाँ मूल्यअनुसार अब पेट्रोल १८१ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेल १७२ रूपैयाँ प्रतिलिटर पुगेको जनाएको छ । निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रूपैयाँ बढाएको छ ।
यसैगरी निगमले सोमवार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाई निगम ईन्धन खरिद गर्न नसक्ने अवस्थामा पुगेको जानकारी दिएको छ । निगमले बक्यौता बढ्ने तर मूल्य समायोजन आवश्यकताअनुसार नहुँदा निकट भविष्यमै पेट्रोलियम आपूर्तिमा समस्या आउन सक्ने जनाएको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य अत्यधिक बृद्धि भई सो बमोजिम नेपालमा मूल्य समायोजन हुन नसक्दा मासिक नोक्सानी जुलाई १, २०२२ को मूल्य बमोजिम करिब १० अर्बभन्दा बढी रहेको भन्दै निगमले भारतीय आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता रकम समेत २२ अर्बबाट बढेर जुलाई ८, २०२२ देखि झण्डै ३० अर्ब पुग्ने प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा उल्लेख छ ।
पत्रमा पेट्रोलियम पदार्थको खपट कम गर्न सवारी साधनमा जोरबिजोर लागू गर्नुपर्ने, पेट्रोलबाट चल्ने दुई पाङ्ग्रे सवारीसाधनलाई एकपटकमा ५ लिटर, कार तथा जीपलगायत साना सवारीसाधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने प्रबन्ध मिलाउन सरकारलाई सुझाव दिइएको छ ।
त्यस्तै सार्वजनिक विदाको दिन गाडी चलाउन पूर्णरुपले निषेध गर्नुपर्ने लगायतका सुझाव समेत दिइएको छ । विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहर र राष्ट्रिय राजमार्गमा निःशुल्क चार्जिङ स्टेशन निर्माण गर्ने तथा सार्वजनिक÷निजी पार्किङ स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङस्थल तोक्न सरकारलाई प्रस्ताव गरिएको छ ।निगमले छोटा दूरीमा सवारी साधनको प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्न, ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधन पूर्ण क्षमतामा चलाउन, मोटरसाइकल, कार तथा सरकारी सवारी साधनमा सहमतिअनुरुप यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रस्ताव गरेको छ ।
निगमले यसअघि पनि २०७८ चैत १३ गते सरकारलाई इन्धनको खपत घटाउन पत्राचार गरेको थियो । त्यतिबेलाको सुझावका आधारमा सरकारले गत जेठ १ गतेदेखि लागू हुने गरी सरकारी कार्यालयमा परीक्षणका रुपमा सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । तर दुई दिने बिदाको चौतर्फी आलोचना भएपछि सरकारले असार १ गतेदेखि लागू हुने गरी आइतबारको बिदा कटौती गरेको थियो ।
-
मध्यपुर थिमि नगरपालिकाको बजेट सवसम्मतले पारित
भक्तपुर, असार २१
मध्यपुर थिमि नगरपालिकाको सोमवार बसेको छैंटौ नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजित बजेट सर्वसम्मतले पारित गरेको छ । बैठकले आ. व. २०७९÷८० को लागि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको ३ अर्ब १५ करोड १० लाख रुपैंयाको बजेट छलफलपछि सर्वसम्मत पारित गरेको हो ।
मध्यपुर थिमि नगरपालिकाको वार्षिक बजेटमा नगरपालिकाद्धारा सञ्चालित कमेरोटार जग्गा एकिकरण आयोजनाको ६० करोड ८७ लाख ६२ हजार र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालतर्फ ५७ करोड ३७ लाख ४६ हजार रुपैंया समेत समावेश गरिएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
यसैगरी नगरसभाले विभिन्न चार वटा ऐन समेत सर्वसम्मतले पारित गरेको नगर प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले बताउनुभयो । नगरसभाले सुखी र समृद्ध मध्यपुर थिमि बनाउने अठोटका साथ शिक्षा ऐन – २०७९, स्वास्थ्य ऐन–२०७९, सहकारी ऐन – २०७९ र विपद्जोखिम न्युनिकरण व्यवस्थापन ऐन – २०७९ सर्वसम्मतले पारित गरेको प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।
बैठकमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम सर्वसम्मतले पारित गरेर नगरसभालाई ऐतिहासिक बनाउन भूमिका खेल्ने सबै नगरसभा सदस्यहरुलाई धन्यवाद दिँदैं नगरपालिकाको विकासमा सबै राजनीतिक दलहरुसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मध्यपुर थिमि नगरपालिकामा २०७४ सालको स्थानीय निर्वाचनपछि पहिलो पटक सोहार्दपूर्ण र विधिपूर्वक नगरसभा बैठक सञ्चालन भई नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित भएको हो । विगतका वर्षमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु दुई समूहमा विभाजन हुने, नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठले कांग्रेसका दुई समूह मध्ये आफु अनुकुलको समूहसँग सहकार्य गर्दा नगरसभा सधैं विवादित हुने गरेको थियो । त्यसैगरी नगरसभामा तत्कालिन उपप्रमुख अञ्जनादेवी मधिकर्मी नेतृत्वको समूहले नगरसभा बहिष्कार गर्ने र नगरसभामा बहुमत पुर्याउन नगरसभा सदस्यहरुको घरघरमा गएर माईन्युटमा दस्तखत गराउने, दलका नेताहरु बसेर नगरसभाका एजेण्डामा सहमती गरी नगरसभालाई औपचारिकता मात्र दिने प्रवृत्ति रहेको थियो ।


