भक्तपुर, चैत्र ११
डिभिजन वन कार्यालय भक्तपुरको आयोजनामा ९० दिने वन पैदावरमा आधारित फिनिसिङ एण्ड फिटिङ सम्बन्धी सीप विकास तालिम शुक्रवारबाट शुरु भएको छ । भक्तपुर वन पैदावार उद्योग व्यवसायी संघको सहकार्यमा आयोजित उक्त तालिममा भक्तपुरका महिला र पुरुष गरी ४० जनाको सहभागिता रहेको छ ।
तालिम दुई स्थानमा सञ्चालन हुने डिभिजन वन कार्यालयका निमित्त डिभिजन वन अधिकृत प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । तालिममा उत्साहजनक सहभागिता रहेको बताउँदैं उहाँले यस्तो तालिमहरु सञ्चालनमा स्थानीय तहहरुको अग्रसरता रहे अझ उपयुक्त हुने बताउनुभयो ।
तालिमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भविष्यमा असल गुरु हुन असल शिष्य बन्नुपर्नेे बताउँदै तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई भविष्यमा आफू प्रशिक्षक हुने हिसाबले प्रशिक्षणमा कडा परिश्रम गर्न प्रेरित गर्नुभयो ।
भक्तपुर नगरपालिकाले परम्परागत शैलीमा घर निर्माण गर्नेलाई अनुदानको व्यवस्था गर्नुका साथै पुरानो नगरभित्र घर निर्माण गर्ने घरधनीहरुलाई घरको मोहदामा अनिवार्य काठको प्रयोग गर्नुपर्ने नीतिलाई अवलम्बन गर्दै आएको बताउनुभयो ।
सम्पदा पुनःनिर्माण र जीर्णोद्धारका लागि सहज काठ उपलब्ध नहुँदा काठमाण्डौं उपत्यकाको मौलिकता हराउँदै गएको बताउँदै उहाँले सम्पदा पुनःनिर्माण तथा निजी घर निर्माणमा काठको अभाव हुँदा चाहेर पनि मौलिकता संरक्षण गर्न नसकिरहेको गुनासो गर्नुभयो ।
“कुनै पनि व्यक्तिमा सीप हुनु भनेको उसलाई आत्मनिर्भर बन्ने आधार तयार गर्नु हो । त्यसैले नगरपालिकाले नियमित रुपमा सिकर्मी, डकर्मीको तालिम सञ्चालनका साथै नगरबासीहरुलाई सीपमूलक तालिम सञ्चालनलाई निरन्तरता दिँदै आएको छ,” उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले ऐतिहासिक र सांस्कृतिक नगर भक्तपुरलाई जीवन्त बनाउन र यहाँका कलाकृतिको जगेर्नाको लागि हस्तकलाका सीपहरुको तालिम सञ्चालनले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
वन पैदावार उद्योग व्यवसायी महासंघका माधवमणि हुमागाइँले तालिमले काष्ठकलासम्बन्धी दक्ष जनशक्ति अभाव हुन नदिनुका साथै रोजगारी समेत सिर्जना गर्ने बताउँदै सरकारी कार्यालयहरुले स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
Category: अर्थ
-
वन पैदावरमा आधारित ९० दिने तालिम शुरु
-
ताथलीको इँटा उद्योगमा बेलायती सांसदको अवलोकन
भक्तपुर, चैत्र २
बेलायती सांसदहरुको टोलीले भक्तपुरको श्वेत भैरब फिक्स इँटा उद्योगको अवलोकन भ्रमण गरेका छन । चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको फैढोकास्थित सो इँटा उद्योगमा बेलायतका ७ जना सांसदको टोलीले अवलोकन भ्रमण गरेको हो ।
नेपालमा मात्र नभएर दक्षिण एसियाकै नमूना र प्रदूषणमुक्त इँटा उद्योगको परिचय बनाउन सफल सो इँटा उद्योगको राम्रो अभ्यासबारे बुझ्न सांसदहरूको टोलीले भ्रमण गरेको हो ।
भ्रमणको क्रममा इँटा उद्योगले प्रदूषण न्यूनीकरण र उर्जा खपतका लागि गरिरहेको प्रयासका विभिन्न अभ्यासहरुको अवलोकनमात्र नगरी सांसदहरुले इँटा उत्पादनको प्रारम्भिक अवलोकन समेत गर्नुभयो । साथै उद्योगको जिकज्याक प्रविधिप्रति बेलायती सांसदहरुले चासो देखाएका थिए । ईट्टा उत्पादन प्रकृयाको स्थलगत अवलोकन गर्दै ती सांसदहरुले आफै माटो चलाए भने भट्टीमा कोइला खन्याए ।
नेपालमा ईट्टा भट्टाको वातावरणीय प्रभावलाई नजिकबाट हेर्दै प्राविधिक सहयोग गदैआएको इसिमोडको कार्य सम्पादनको प्रभावको अवस्था हेर्न सांसदहरुको टोलीले श्वेत भैरब फिक्स इँटा उद्योग रोजेको बेलायती राजदूतावासमा जलवायु परिवर्तन र वातावरण हेर्ने अधिकारी युगान मानन्धरले बताउनुभयो ।
इसिमोडका विद्या प्रधानले नेपालमा ईट्टा भट्टाको विकासक्रम र यसले वातावरणमा पारेको प्रभाव न्यूनीकरणका लागि बेलायत सरकारले गर्दै आएको आर्थिक भौतिक सहयोगको अवस्थाबारे अध्ययन गर्न सांसदहरु नेपाल आएको जानकारी दिनुभयो ।
उहाँले भक्तपुरका ईट्टा उद्योगहरु क्रमशः प्रविधिमैत्री र प्रदूषण न्यूनीकरणतर्फ उन्मुख हुँदै गइरहेको पाइएको सांसदहरुले बताएको जानकारी दिनुभयो । ‘पहिला धेरै प्रदूषण हुने गरेकोमा अहिले सुधार भइरहेको छ । ईट्टा भट्टामा प्रविधिको प्रयोगद्वारा सुधार र व्यवस्थित भएको पाइएको एक बेलायती सांसदले प्रतिक्रिया दिए’, उहाँले भन्नुभयो ।
अवलोकनको क्रममा दक्षिण एसियाली ईटा उद्योग व्यवसायी संघका अध्यक्ष एवं नेपाल ईट्टा उद्योग महासंघका पूर्व अध्यक्ष महेन्द्र चित्रकारले विकसित देश बेलायतका सासंदहरु नै दंग भएर नेपालको ईट्टा भट्टाको प्रविधिको अवलोकन भएकोमा खुसी व्यक्त गर्नुभयो ।
भक्तपुर ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष नातीभाइ ह्याम्बाले भक्तपुरमा सञ्चालित सबै ईट्टा भट्टाले जिकज्याक प्रविधिबाट ईट्टा उत्पादन गर्न थालिसकेकाले सरकारको मापदण्डभन्दा कम मात्रै वातावरण प्रदुषण भइरहेको बताउनुभयो ।
भट्टाका प्रवन्धक तथा इसिमोड ईट्टा भट्टा प्रविधिका उपसंयोजक राजकुमार लाखेमरुले ईट्टा उत्पादनका लागि भट्टाको भट्टीमा बाल्ने इन्धनलाई जिकज्याक गरी पूर्णरुपमा बालेर धुवा ननिस्कने गरी बनाएको प्रविधिको बेलायती सांसदहरुले अभिरुचिपूर्वक अध्ययन गरेको बताउनुभयो । भ्रमणमा बेलायती सांसद सराह च्याम्पियन, रिकार्ड ब्याकन, पाउलिन लाथम, निगेल मिल्स, नर्भेन्दु मिश्र, काटे ओश्मार र वीरेन्द्र शर्मालगायत सहभागी रहेका थिए । -
पोखरा चेम्बरका प्रतिनिधिमण्डलद्धारा भक्तपुरको अवलोकन
भक्तपुर, फागुन २८
पोखरा चेम्बर अफ कमर्स, कास्कीको प्रतिनिधिमण्डलले शनिवार भक्तपुरको अवलोकन भ्रमण गरी यहाँका व्यवसायीहरुसँग छलफल गरेको छ । दुईपक्षीय सहकार्य र अनुभव आदानप्रदानका लागि पोखरा चेम्बरका अध्यक्ष यामनाथ पौडेल नेतृत्वको टोलीले भक्तपुरको भ्रमण गरेको हो ।
प्रतिनिधिमण्डललाई स्वागतगर्दै भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले संस्थागत सम्बन्ध अभिवृद्धि एवं व्यापार प्रवद्र्धनमा अध्ययन अवलोकन भ्रमणले महत्वपूर्ण टेवा पुग्ने बनाउनुभयो । उहाँले दुई वटै संस्थाको संयुक्त पहलमा लगानीका नयाँ अवसरहरु पहिचान गर्न सकिनेमा पनि जोड दिनुभयो ।
भ्रमण टोलीको नेतृत्व गर्नु भएका पोखरा चेम्बरका अध्यक्ष पौडेलले जिल्ला चेम्बरहरु जिल्लाको आर्थिक विकासको मेरुदण्डको रुपमा विकास हुनुपर्नेमा जोड दिँदैं व्यवसायिक समस्या समाधान र हकहितका विषयमा जिल्ला, नगर चेम्बरहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
छलफलमा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय कार्यसमिति सदस्य एवं भक्तपुर चेम्बरका सल्लाहकार रोशन भोयद्योले हरेक जिल्लामा जिल्ला, नगर चेम्बर अफ कमर्सहरु उद्यमी व्यवसायीहरुको छाता संगठनका रुपमा विकास हुदै आएको जानकारी दिँदैं चेम्बरहरुले स्थानीय निकाय एवं सरकारी निकायहरुमा विकास निर्माणको एक सक्रिय साझेदारको रुपमा छृुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो ।
सो अवसरमा भक्तपुर चेम्बरका उपाध्यक्ष कविदास धौबजी श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यललगायतले संस्थागत विकास, व्यापार प्रवद्र्धन लगायतका विषयहरुमा दुवै जिल्लाका व्यवसायीहरुको छलफल, अनुभव आदानप्रदान र अवलोकन भ्रमणले महत्वपूर्ण टेवा पुग्ने विश्वस व्यक्त गर्नुभयो । भ्रमण टोलीमा पोखरा चेम्बरका पदाधिकारी, महिला उद्यमी व्यवसायी सदस्यहरु गरी ११ जनाको सहभागिता रहेको थियो । -
भक्तपुर–नगरकोट सडक एक महिनाभित्र निर्माण सक्न उपप्रधानमन्त्री श्रेष्ठ निर्देशन
भक्तपुर, फागुन १८
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भक्तपुर–नगरकोट सडक एक महिनाभित्र निर्माण सक्न निर्देशन दिनुभएको छ । उपप्रधान मन्त्री श्रेष्ठले बिहिवार उक्त सडकको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै अबको एक महिनाभित्र गुणस्तरीय सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे ठेक्का सम्झौता खारेज गर्ने चेतावनी समेत दिनुभयो ।
उहाँले अनुगमनपछि सडक विस्तारको कामप्रति सन्तुष्ट हुने ठाउँ नरहेको बताउँदैं अवस्था यस्तै रहे सरकार चुप लागेर नबस्ने प्रतिक्रिया दिनुभयो । सडक निर्माणको अवस्था सन्तोषजनक छैन । दुई वर्षमा सकिनुपर्ने सडक ७ पटक म्याद थप भइसकेको छ । अबको एक महिनामा निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे सरकार चुप लागेर बस्न सक्दैन, उहाँले भन्नुभयो ।
भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माणाधिन सडकको ठेक्का भारतीय कम्पनी आराभाली इन्फ्रा पावर लिमिडेट र नेपाली साझेदार शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले लिएको हो । यो सडकको सम्झौता सन् २०१४ मा भएको हो । यो सन् २०१६ भित्रमा सम्पन्न गरिसक्नुपर्ने थियो । तर पटक पटक गरी सात पटक म्याद थप गरिसक्दा पनि अझै यो सडकको निर्माण कार्य सम्पन्न भएको छैन ।
सडक घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने गर्नाले स्थानीयले विगत ९ वर्षदेखी कष्टपूर्ण यात्रा गरिरहनु परेको छ । यो सडकको दुरावस्थाकै कारण नगरकोटको पर्यटन उद्योग समेत प्रभावित पारेको छ ।
सडक अनुगमनका लागि पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई स्थानीय प्रत्यक्ष गुनासो समेत राखेका थिए । स्थानीयले निर्माण कम्पनीलाई कालोसुचीमा राख्नुपर्ने माग समेत राखेको थिए । उनीहरुले ठेकेदारलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठले स्थानीयलाई सडक एक महिनाभित्र निर्माण सम्पन्न नभए नियम बमोजिम कारवाहीको प्रक्रियामा जाने आश्वासन दिनुभयो । “यो सडक निर्माण सात पटक म्याद थप भइसकेको छ, बीचमा क्रसर उद्योगको समस्या आएकाले गत जनवरीमा एक महिना थप समय दिएका हौँ । अब कुनै पनि बाहनामा समय थप हुदैन ।” उहाँले तत्कालै निर्माण कम्पनीसँग छलफल गरी समीक्षा गर्ने र थप निर्णय लिने बताउनुभयो ।
अनुगमनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, भक्तपुर नगरकोट सडक विस्तार आयोजनाका प्रमुख, शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिलगायत सरोकारवाला निकायसहितको टोली सहभागी थिए ।
उप प्रधानमन्त्री श्रेष्ठले अनुगमनपछि भारतीय राजदुत, निर्माण कम्पनीका प्रतिनिधि, आयोजनाका कर्मचारीहरुसँग छलफल समेत गर्नुभएको थियो । सो अवसरमा निर्माण कम्पनीले सो सडकको काम करिव ९० प्रतिशत सम्पन्न भएको जानकारी दिएका थिए । मन्त्री अनुगमनमा आउने भएपछि निर्माण कम्पनीले रातारात सडकमा पानी हालेर धूलो नउड्ने बनाएको थियो । -
भक्तपुर सुडालका तीन कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि
भक्तपुर, फागुन १०
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल रातोपाटीस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु देखिएको छ । प्रहरीका अनुसार चाँगुनारायण पोल्टी एण्ड ह्याचरी उद्योग प्रा.लि., अर्जुन गिरी पोल्टी फार्म, आदित्य पोल्टी फार्ममा बर्डफ्लु देखिएको हो ।
पशु सेवा विभागले उल्लेखित फार्मका कुखुरामा बर्डफ्लु पुष्टि गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीले जानकारी दिनुभयो । उहाँले बर्डफ्लु संक्रमित कुखुरा, कुखुरा जन्य पदार्थ दाना, अण्डा, चल्ला बुधवार दिउँसो नष्ट गरिएको बताउनुभयो ।
बर्डफ्लु देखिएका फार्मका कुखुरा पशु विभागको चिकित्सक डा.श्रीजा वाग्ले, प्राविधिक आत्माराम शर्मा तथा चाँगुनारायण नपा वडा नं ८ का वडा अध्यक्ष जनक खत्रीको उपस्थितिमा नष्ट गरिएको हो । टोलीले सो स्थानका १० हजार ४८० वटा कुखुरा, १ हजार ५० कुखुराका चल्ला, ४ हजार ५२३ वटा अण्डा र १ हजार ४७५ केजी दाना नष्ट गरेको एसपी केसीले बताउनुभयो । -
ख्वप इन्जिनियरिङ कलेजमा ६१ लाख बराबरको छात्रवृत्ति वितरण
भक्तपुर, फागुन ७ गते
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा आइतवार करिव ६१ लाख रुपैंया बराबरको छात्रवृत्ति वितरण गरिएको छ । कलेजले गरिब तथा जेहेनदार विद्यार्थी शिर्षकमा सो छात्रवृत्ति वितरण गरिएको हो ।
छात्रृत्ति अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप इन्जिनियरिङ कलेजले ३२ लाख ९ सय रुपैंयाको खात्रवृत्ति वितरण गरेको कलेजका प्राचार्य सुजन माकले बताउनुभयो ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङले २९ लाख ३६ हजार रुपैया बराबरको छात्रवृत्ति प्रदान गरेको प्राचार्य सुनिल दुवालले जानकारी दिनुभयो ।
छात्रवृत्ति वितरण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले सञ्चालन गरेका विभिन्न शैक्षिक संस्थाहरुले वार्षिक ४ करोड भन्दा बढी रकम बराबरको छात्रवृत्ति वितरण गर्दै आइरहेको बताउनुभयो ।
उहाँले इमानदारीपूर्वक देश र जनताको निम्ति सेवा गर्ने भावना विद्यार्थीहरुमा हुनुपर्नेमा जोड दिँदै नगरपालिकाले अन्य विभिन्न विषयमा पीएचडीसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक ऋण समेत उपलब्ध गराउँदै आएको बताउनुभयो ।
प्रजातन्त्र पुनःस्थापनाको ३३ वर्ष बितिसक्दा पनि जनताले देशमा कुनै परिवर्तनको महसुस नगरेको बताउँदै प्रमुख प्रजापतिले ‘आर्थिक समानतासहितको प्रजातन्त्र आजको आवश्यकता हा’े भन्नुभयो ।
राजनीतिक अस्थिरता भएको देशमा विकासको सम्भावना नहुने भन्दै उहाँले नेपालको राजनीतिमा भारतीय हस्तक्षेप नै देश विकास नहुनुको कारक तत्व भएको बताउनुभयो । विद्यार्थीहरुले अध्ययनसँगसँगै देशको राजनीतिबारे पनि ध्यान दिन सके हामीले सोचेअनुसार देशमा परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दे उहाँले परिश्रम र मेहनती विद्यार्थीले नै सफलता हासिल गर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नंं ९ का वडाध्यक्ष तथा कलेज सञ्चालक समितिका सदस्य रबिन्द्र ज्याख्वले नगरपालिकाले हाल ८ वटा कलेज, ६ वटा शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेको जानकारी दिँदैं ख्वप विश्वविद्यालय सञ्चालनको अनुमतिको प्रतिक्षामा नगरपालिका रहेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेज स्थापनाका उद्देश्यमाथि प्रष्ट पार्दै निजी कलेजको तुलनामा झण्डै आधा शुल्कमा ख्वप इन्जिनियरिङ कलेजले इन्जिनियरिङ शिक्षाको अध्ययन अध्यापन गराउँदै आएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले छात्रवृत्ति रकमको सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्दै नगरपालिकाको योगदानबाट सबै विद्यार्थीहरु लाभान्वित भएको र भक्तपुरका दुवै इन्जिनियरिङ कलेजले उत्कृष्टता हासिल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य रबिन्द्र फोँजुले कलेजले प्रदान गरेको छात्रवृत्तिले विद्यार्थीहरुमा उत्साह थपेको, नयाँ नयाँ कुरा सिक्न प्रेरित गरेको र परीक्षाको नतिजामा समेत सकारात्मक प्रभाव परेको बताउनुभयो । -
बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध व्यवसायीद्धारा आन्दोलनको घोषणा
भक्तपुर, फागुन १
नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ÷संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । व्यवसायीहरुले आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् ।
व्यवसायीहरुले पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती जारी गर्दै बैंकिङ व्याजदर एक प्रतिशत कार्यम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्ने लगायतका माग राखेका छन ।
‘अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजि स्वार्थ, सरकारले दीर्घकालीन उत्पादनमुखी अर्थतन्त्रमा प्राथमिकता नदिनुमा राजनीतिक र गैरजिम्मेवार शैली मुख्य हो । व्यवसायी आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्,’ पत्रकार सम्मेलनका सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले भूकम्प, कोरोना महामारीलगायतका प्राकृतिक विपत्तिका कारण देशको अर्थतन्त्र धरासायी बनेको बेला त्यसको प्रत्यक्ष मारमा साना व्यवसायी परेको बताएनुभयो । बैंक तथा वित्तीय संस्थाको गलत नीतिका कारण व्यवसायीहरुले आत्महत्याको बाटो अवलम्बन गर्ने अवस्था आएको उहाँको भनाई छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो अवस्थामा बैकहरु फाइदामा र लगानीकर्ता घाटामा भएको बताउनुभयो । कोभिडदेखि यातायात व्यवसाय अस्तव्यस्त भएको उहाँको भनाइ छ । अहिले सबैको पेशा व्यवसाय बामे सरिरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाको मारमा पारेको उहाँको आरोप छ ।
‘सुरुवातमा बैक तथा वित्तीय संस्थाबाट हामीले जतिमा बैंक ऋणीको सहमतिमा हामीले लोन लिएका हुन्छौं । सो लोन आज ऋणीलाई पनि नसोधी बैंक तथा वित्तीय संस्थाले १८ प्रतिशतदेखि २२ प्रतिशतसम्म पुर्याएका छन् । यो कहाँको दादागिरी हो ? यसैका लागि सरकारलाई हामीले बुलन्द ढंगबाट अनुरोध गरिरहेका छौं । हामी अन्यायमा परेका छौं,’ उहाँले भन्नुभयो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सरकारले अहिले हरेक क्षेत्रका व्यवसायीमाथि परेको पीडालाई बुझ्नुपर्ने बताउनुभयो । सझौंला र साना व्यवसायी कोरोना महामारीको मारबाट माथि उठ्न नसकिरहेको बेलामा बैक तथा वित्तीय संस्थाले एकतर्फीरुपमा व्याजदर बढाएको उहाँको आरोप छ ।
‘मझौला र साना खाल्का उद्यमी व्यवसायीहरु जसले बैंकको सर्पोटबाट आफ्नो उद्यम सञ्चालन गरिरहनु भएको छ । कोभिड–१९ पछाडि देशको अर्थतन्त्र धराशायी भएको छ । अर्थतन्त्र धराशयी भएको सन्दर्भमा व्यवसायीले आफ्नो व्यवसायलाई पुनर्जीवन दिन नसकिरहेको अवस्थामा बैकले एकतर्फी रुपमा विना छलफल, आवश्यकता पनि नभएको बेलामा व्याजदर बढाएको छ । जसको मारका लाखौं लाख व्यवसायी परेका छन,’उहाँले भन्नुभयो ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले देशमा रोजगारी सिर्जना गर्ने र राज्यलाई राजस्व बुझाउने श्रेय साना व्यवसायी भएको उहाँको दाबी छ । कोभिडको महामारीबाट तङ्ग्रिन नपाउँदै सरकारको अदूरदर्शी नीतिका कारण व्यवसायी मारमा परेको उहाँले बताउनुभयो । आफूहरुले आठ प्रतिशतमा लिएको ऋण बैंक तथा वित्तीय संस्थाले दोब्बर बनाउँदा पनि सरकार मौन बसेको उहाँले आरोप लगाउनुभयो ।
‘कसैले नियतवश बैंकलाई व्याज नतिर्ने, बैकलाई धरासायी बनाउने नियत राखे कारबाही गर्नुस् । एउटा ठूलो उद्योगले लिएको ऋणले सय वटा उद्योगलाई दिन पुग्छ । साना उद्योगलाई प्रवद्र्धन गर्न सरकारले कदम चाल्नैपर्छ । यस्तो कठिन अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाको नाफा कयौं गुणा छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाको समाजिक उत्तरदायित्व पनि हुन्छ । हामीलाई सडकमा आउने वातावरण नबनाइयोस्,’–उहाँले भन्नुभयो ।
नेपाल मोबाईल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई अहिलेका युवा पुस्तालाई यो देशमा गरिखाने वातावरण नभएको बताउनुभयो ।
नेपाल निर्माण व्यवसायी महासंघ काठमाडौंका अध्यक्ष अच्युतम् कटुवालले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण सम्पूर्ण व्यवसायीहरु प्रेम आचार्य हुने अवस्था आएको बताउनुभयो । ‘अहिले व्यपार व्यवसायहरु बन्द गर्नुपर्ने स्थिति छ । हामी सबै व्यवसायी साथीहरुलाई प्रेम आचार्य हुनलाई त्यति गार्हो नहोला भन्न सकिन्न । हामी सम्पूर्ण प्रेम आचार्य हुनसक्छौं । त्यो कारण बैंकको चर्को व्याज हो,’ उहाँले भन्नुभयो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कुमार कार्कीले कोभिड–१९ को मारमा परेका व्यसायीको संरक्षण गर्नुको सट्टा बैंक तथा वित्तीय संस्थाले चर्को रुपामा व्याजदर बढाउँदा र लिलामी निकाल्दा पनि सरकार मौन बसेको आरोप लगाउनुभयो । बैंक तथा वित्तीय संस्थाबाट व्यसायीलाई अत्याउने र धम्क्याउने काम भएको उहाँले बताउनुभयो ।
संयुक्त पत्रकार सम्मेलनका संयोजक नरेश कटुवालले मुलुकको अर्थतन्त्र जोगाउनका लागि देशभरबाट नयाँ आन्दोलनको जमर्को सुरु भएको बताउनुभयो । बैंक तथा वित्तीय संस्थाको चर्को व्याजका विरुद्धमा आगामी फागुन पाँच गते माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
‘हामी (फागुन ५ गते) शान्तिपूर्ण ढंगले बानेश्वरमा गएर आन्दोलन गर्छौं । यसमा देशभरका संगठनको सहभागिता हुन्छ । त्यो दिनसम्म सरकार तथा सरोकारवाला निकायले हाम्रो माग सम्बोधन नगरे हामी बैंक तथा वित्तीय संस्थासँगको कारोबार बन्द गर्छौं । नेपाल राष्ट्र बैंकले यसको ग्यारेन्टी लिनपर्छ । हामी आन्तरिक रुपमा काम गरेर बैंकहरुसँगको कारोबार बन्द गरिदिन्छौं । हाम्रो उद्योग, व्यपार व्यवसाय स्थलमा रहेको सम्पूर्ण चाबी र ताला नेपाल सरकारलाई लगेर हामी बुझाउँछौं । कही प्रेम आचार्य त बनाउन लागिएको हैन हामीलाई ?,’ उहाँले भन्नुभयो । -
व्यवसाय दर्ता अभियान करको दर घटाउने र दायरा फराकिलो बनाउने अभियान – उपप्रमुख श्रेष्ठ
भक्तपुर, माघ २९
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ व्यवसाय दर्ता अभियानलाई करको दर घटाउने र दायरा फराकिलो बनाउने अभियानको रुपमा स्पष्ट पार्नुभएको छ । नगरपालिकाले गत माघ १५ गतेदेखी सञ्चालन गरिरहेको व्यवसाय दर्ता अभियानका बारेमा विभिन्न टिका टिप्पणी उठ्न थालेपछि उपप्रमुख श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत अभियानलाई करको दर घटाउने र दायरा फराकिलो बनाउने अभियानको रुपमा स्पष्ट पार्नुभएको हो ।
उहाँले अभियानका क्रममा किन कर तिर्ने ?, हामिलाई के फाईदा दिएको छ ? लगायतका प्रश्न उठ्ने गरेको भन्दै करको दरमा केही छुट दिने विषयमा नगरपालिका अध्ययनको चरणमा रहेको र गत माघमा सम्पन्न सातौ नगरसभामा पेश गरिएको अर्धबार्षिक समिक्षामा समेत प्रस्तुत गरेको स्पष्ट पार्नुभएको छ ।
‘यो वर्ष देशको आर्थिक अवस्था स्वस्थ नभएको अर्थ मन्त्रालयबाट जारी प्रेस बिज्ञप्ति तथा परिपत्रबाटै स्पस्ट भएको छ । राजस्व बाँडफाड तथा अनुदानमा कटौतीहुने सुचना जारी भैसकेको छ । अतः हामी आन्तरिक आयमा अब्बल हुन सकेनौं भने हामीले नगरसभाबाट लिएका जनउत्तरदायी निर्णयहरु कार्यान्वयनमा समस्या हुन सक्छ,’ उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले स्थानिय सरकार, प्रदेश सरकार, केन्द्र सरकारबाट विनियोजित बजेटको योजना कार्यान्वयनको निगरानी गर्न आवश्यक भएको उल्लेख गर्दै करको दुरुपयोग गर्न नसकोस् भनी आमनगरवासी सचेत हुनुपर्ने खाँचो समेत औंल्याउनुभएको छ ।
‘मध्यपुर थिमि नगरपालिकामा तपाईंहरुबाट संकलित कर कुनैपनी हालतमा दुरुपयोग हुने छैन भन्ने सुनिस्चित गर्न चाहन्छु । करोडौं पर्ने गाडी खरिद गरि चढ्ने, अमितब्ययी हुने जस्ता काम हामी जनप्रतिनिधिबाट हुने छैन,’ उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।
स्थानिय सरकारलाई केन्द्र सरकार, प्रदेश सरकारबाट अनुदान, राजस्व बाँडफाडबाट बजेट प्राप्त हुने गरेपनि भूगोलका हिसावले सानै नगरपालिका भएपनी हाम्रो माग आवश्यकता धेरै भएको र साँस्कृतिक नगरी भएकोले सम्पदाहरुको पुनः निर्माण ब्यवस्थापनमा कम खर्चले पुग्ने अवस्था नभएको उल्लेख गर्दै उपप्रमुख श्रेष्ठले शिक्षा क्षेत्रमा बिगतदेखी लगानी न्यून रहेकोले त्यसलाई वृद्धि गरि शिक्षामा सम्पुर्ण जनताको पहुँच सुनिश्चित गर्ने चुनौती रहेको उल्लेख गर्नुभएको छ ।
नगरपालिकाले जनताबाट उठाउने कर स्थानिय सरकारको दायित्व, अधिकार पनि भएको बताउँदैं उहाँले कर सकलन गर्न सकिएन, आन्तरिक आयमा बृद्धि गर्न सकिएन भने नगरपालिकाको योजना साकार हुन नसक्नेमा जोड दिनुभएको छ ।
‘कर सकलन भएन, आम्दानी भएन भने विकास निर्माणको कार्य लक्ष्य अनुरुप अगाडि बढाउन सकिँदैन । जति धेरै बजेट त्यति धेरै विकास निर्माण कार्य बढी गर्न सक्छौं,’ उहाँले भन्नुभयो, ‘जनताको सुबिधाका लागि अहिले लागु गरिएका जेष्ठ नागरिक तथा परिवारको स्वास्थ्य विमा कार्यक्रम सफल बनाउन कठिन हुन्छ । निःशुल्क रगत सुबिधा जस्ता कार्यक्रम सफल बनाउन चुनौती हुन सक्छ ।’
प्राविधिक शिक्षालय सञ्चालन, प्यारा मेडिक्स कलेज सञ्चालन, सामुदायिक बिद्यालयहरुमा बाल सेवा केन्द्र सञ्चालन जस्ता नगरपालिकाले लिएको दिर्घकालिन योजनाका कार्यक्रमहरु सन्चालन गरि जनतालाई सहज सुपथ मुल्यमा शिक्षा प्रदान गर्ने योजना पूरा गर्न पनि कर संकलनलाई अभियानको रुपमा सञ्चालन गर्नु आवश्यक भएको बताउँदैं मध्यपुर थिमिलाई शिक्षा, स्वास्थ्य, रोजगारीमा आत्मनिर्भर बनाउने योजना सफल बनाउन पनि कर सकलन आवश्यक भएको उल्ल्ेख गर्नुभएको छ ।
‘जनताबाट उठाएको कर जनतालाई विभिन्न बहानामा फिर्ता गर्नु नै सरकारको दायित्व हो । शिक्षा, स्वास्थ्य, रोजगारी सुरक्षा लगायतका सुविधा पुर्याउनु सरकारको दायित्व हो । त्यो पुरा गर्न हामी कार्यरत छौं । ती सम्पुर्ण आधारभुत आवश्यकताहरु पुर्याउन पुँजीको आवश्यकता पर्दछ । त्यसको लागि आफ्नो आम्दानीको केही प्रतिशत कर सरकारलाई तिर्न जरुरी छ । करलाई सबैले भुत्तानी गर्न सक्ने कसरी बनाउने भन्नेमा हामीहरु लागिरहेका छौँ । समय सापेक्ष नीति नियम परिवर्तन गरी जनपक्षिय बनाउने निती अनुरुप यो पटक नगरसभाबाट आ.ब ०७४÷७५ लाई आधार बर्ष मानेर कर तिरे नयाँ ब्यबसाय दर्तामा कर तथा जरिवाना छुटको ब्यबस्था ल्याएका छौ,’ उहाँले उल्लेख गर्नुभएको छ । -
‘सरकार झुलाइरहन्छ, बैंकले सम्पत्ति लिलाम गर्न लागिसक्यो’
भक्तपुर, माघ २३
भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित गाकु कालिज फार्मका सञ्चालक रघुनाथ खड्का ४ हजार कालिज बजारमा पठाउने तयारी गर्दै थिए । पोथी कालिजहरु अण्डा कोरल्दै थिए । व्यवसाय फस्टाउँदै गएकामा उनी सन्तुष्ट थिए ।
गत ७ असारमा फार्मका केही कालिजहरु मरे, केही झोक्राउन थाले । खड्का डराए, कतै रोग पो लाग्यो कि ? उनले मरेको कालिज केन्द्रीय कृषि प्रयोगशालामा परीक्षणमा लगे । दुई दिनसम्म प्रयोगशालाले केही भनेन, त्यही बेला अरु कालिजहरु पनि भटाभट मर्न थाले ।
चौथो दिन ११ असारको बिहानै केन्द्रीय कृषि प्रयोगशालाबाट फोन आयो ‘तपाईंको फार्मका कालिज नष्ट गर्नुपर्छ तपाईंहरु फार्मबाट अलग्गै रहनुहोला ।’ खड्का छाँगाबाट खसेजस्तै भए ‘हुर्केका ४ हजार कालिज बिक्री गर्दा १ करोड रुपैयाँ भन्दा बढी नगद आउने थियो ।’
११ गते नै केन्द्रीय कृषि प्रयोगशालाका कर्मचारी, नेपाल प्रहरी, नगर प्रहरी आए । खड्कालाई फार्मबाट परै रहन भने र सबै कालिज नष्ट गरे । उनका अनुसार फार्ममा ७ हजार ५ सय कालिज थिए । २२ सय कालिजका बच्चा त उनले फ्रान्सबाट ल्याएर हुर्काएका थिए ।
तर सरकारी बर्ड फ्लू नियन्त्रण टोलीले उनको ४५०० कालिज मात्र नष्ट गरेको विवरण टिप्यो । ‘रोगले सबै मारिनु भन्दा केहीको भए पनि क्षतिपूर्ति आउने र रोग साम्य भएपछि पुनः यही पेशामा जम्ने भन्दै मन बाँध्नुको विकल्प थिएन’, खड्काले अनलाइनखबरसँग भने ।
बजारमा कालिजको माग बढिरहेको थियो । लगानी गरे राम्रो आम्दानी हुने देखेर खड्काले सुरुमा ४ करोड रुपैयाँ खर्च गरेर फार्म खोलेका थिए । ‘२ करोड आफ्नै लगानी हो २ करोड बैंकबाट ऋण लिए । पछि ८ आना जग्गा बचेर लगानी थप गरेको थिएँ’, उनी भन्छन्, ‘सबै स्वाहा भयो ।’
सरकारले बर्डफ्लू पीडितका लागि राहत दिने कुरा बुझेका थिए । कालिज नष्ट गर्न आएका सरकारी कर्मचारीले क्षतिपूर्तिको दररेट पनि बताएका थिए । जसअनुसार उनको कालिजको भालेको क्षतिपूर्ति २० हजार, १७ सय देखि ८ सय रुपैयाँसम्मको थियो । टोलीले तीन महिनाभित्र सरकारले राहत दिने पनि भनेको थियो । ‘करिब एक करोड ५० लाख राहत पाइन्छ भन्ने थियो’, खड्का भन्छन् ‘भए भरको लगानी रित्तिएपछि आशा राहतमै थियो ।’
त्यसपछि उनले राहतका लागि आफ्नो सरकारी प्रक्रिया सुरु गरे । कृषि विभाग, मन्त्रालय, केन्द्रीय प्रयोगशाला उनी धेरै ठाउँ पुगे । पुगेका जति सबै अड्डाले उनलाई राहत पाइन्छ भनेर आश्वस्त पारे । तर, दिन साता र महिना बित्दै गए, खड्का आफ्नै आर्थिक व्यवहारको संकटमा पर्न थाले ।
कालिज फार्मममा लगानी थप गरेर चलाउन नसक्ने अवस्थामा पुगे उनी । सरकारले क्षतिपूर्ति दिन आलटाल गर्न थाल्यो । कहिले चुनाव, कहिले मन्त्री नभएको, कहिले अर्को मन्त्रालयमा फाइल अड्किएको भन्दै टार्न थाल्यो ।
कृषि विभागको कुरा सुनेर खड्का मन्त्रालय आए, मन्त्रालयको कुरा सुनेर अर्थ मन्त्रालय पुगे, तत्कालीन अर्थमन्त्री जर्नादन शर्मादेखि मुख्य सचिवसम्मलाई बिन्ती बिसाए । तर, कसैले क्षतिपूर्ति दिन हुन्न त भनेनन् तर ७ महिनासम्म दिएनन् ।
सरकारी निकाय धाउँदा धाउँदै उनले आफूजस्तै धेरै साथीहरु भेटे । उनीहरु कोही त खड्का भन्दा पनि बढी समस्यामा परेका थिए । ‘हामी ७ महिनादेखि हामी विभाग, मन्त्रालय, कर्मचारी र नेताका दैलो र ढोका हिँडिरहेका छौं, तर राहत पाइएन,’ खड्काले भने, ‘यही देशमा गरेर खान्छु भनेको साना किसानलाई राज्यले मर्न बाध्य बनायो ।’
सरकारको आफ्नै संयन्त्र परिचालन गरेर मारेको पन्छीको मुचुल्का स्थानीय तह, प्रहरी, प्रदेश कृषि कार्यालय र केन्द्रीय सरकारसम्म समेत रहेको भन्दै उनले किसानको राहतका लागि राज्यबाट शंका र हेलचेक्रयाइँ भएका बताए ।
व्यवसाय डुबेपछि आर्थिक व्यवहार बिग्रिएको र पारिवारिक, सामाजिक सम्बन्धमै ह्रास आएको उनले दुखेसो पोखे । ‘बैंकको ऋणको भाका बिग्रिंदा सम्पत्ति लिलाम हुने अवस्था बनिसक्यो । तर, सरकारले राहत दिएन’, रघुनाथले भने ‘राज्यले अवहेलना गरेको छ । कमिसन मागे जसरी बर्ड फ्लु पीडित किसानलाई झुलाएको छ ।’
अनलाइन खबरका लागि नविन ढुंगानाको रिपोर्ट, तस्वीरहरु : आर्यन धिमाल
-
मध्यपुर थिमिमा व्यवसाय दर्ता अभियान शुरु
भक्तपुर, माघ १६
मध्यपुर थिमि नगरपालिकाले व्यवसाय दर्ता अभियान शुरु गरेको छ । नगरभित्र दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने र दर्ता गरेकाले पनि लामो समय नविकरण नगर्ने प्रवृत्ति देखिएकाले नगरभित्र सञ्चालित व्यवसायलाई नियमन गर्न दर्ता अभियान शुरु गरेको नगरपालिकाले जनाएको छ ।
अभियानको क्रममा व्यवसाय दर्ता गर्दा आर्थिक वर्ष २०७४÷०७५ भन्दा अघिको सम्पूर्ण व्यवसाय कर छुट दिने र आर्थिक वर्ष २०७४÷०७५ देखी २०७८÷०७९ सम्मको सम्पूर्ण जरिवाना छुट दिईने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
अभियान आइतवार नगरको व्यवसायिक क्षेत्र राधेराधेबाट शुरु गरिएको छ । अभियान नगरका ९ वटै वडामा वडा कार्यालयमार्फत सञ्चालन हुनेछ ।
नगरको आन्तरिक आम्दानीको प्रमुख स्रोत मध्येको एक व्यवसाय करलाई नियमित गर्न र नगरको आन्तरिक आम्दानी बृद्धि गर्न अभियान सञ्चालन गरेको उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो ।


