Category: अर्थ

  • मल कालोबजारी गर्ने व्यापारीलाई एक लाख ७५ हजार जरिवाना

    भक्तपुर, साउन २१
    जिल्ला प्रशासन कार्यालय भक्तपुरले रासायनिक मल कालोजारी गर्ने एक व्यापारीलाई एक लाख ७५ हजार जरिवाना गरेको छ । साथै उनको पसलको गोदाममा रहेको १३९ बोरा मल समेत जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।
    जफत गरिएको मल भक्तपुर नगरपालिकालाई जिम्मा लगाईएको छ । “नगरपालिकाले उक्त मल किसानहरुलाई बिक्रि गरी प्राप्त भएको रकम नगरपालिकाको राजश्व खातामा जम्मा हुने गरी जफत गरिएको १३९ बोरा मल भक्तपुर नगरपालिकालाई जिम्मा लगाएका छौं,” निरौलाले भन्नुभयो ।
    प्रशासनले गत शुक्रवार भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित एन बि मल पसलमा छापा मारेको थियो । सो पसलले एक हजार एक सय मूल्य पर्ने कृषि सामग्री केन्द्रले उपलब्ध गराएको नेपाल सरकारको अनुदान प्राप्त मल २ हजार एक सय रुपैयामा बिक्रि वितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रशासनले छापा मारेको थियो ।

    अनुसन्धानको क्रममा सो पसलका सञ्चालक न्हुछेंभक्त कटुभुटुले विभिन्न ब्राण्डका भारतिय अवैध मल बिक्रि वितरण गरेको पाईएपछि प्रशासनले पसलमा सिल गरी मल जफत गरेको थियो ।

     

  • घरजग्गाको खरिद बिक्रि पनि शेयर मार्केटको मोडलमा लैजानुपर्ने – अध्यक्ष लोहनी

    भक्तपुर, साउन १३
    नेपाल जग्गा तथा आवास विकास महासंघले घरजग्गाको खरिद बिक्रि पनि शेयर मार्केटको मोडलमा लैजानुपर्ने बताएको छ । महासंघले शुक्रवार भक्तपुरको रानीकोटमा आयोजित पत्रकारहरुसँगको अनौपचारिक भेटघाट कार्यक्रममा अध्यक्ष भेषराज लोहनीले घरजग्गाको खरिद बिक्रि व्यवस्थित र मर्यादित बनाई राजश्व असुलीमा समेत बृद्धि गर्न शेयर मार्केटको मोडलमा लैजानुपर्ने बताउनुभएको हो ।
    उहाँले पछिल्ला केही वर्ष यता व्यक्तिगतरुपमा घरजग्गाको कारोवार गर्ने व्यवसायीका कारण उपभोक्ता र बिक्रिकर्ता ठगिने गरेको र उनीहरुले गरेको आम्दानीको राज्यलाई कर पनि प्राप्त नहुने गरेकोले घर जग्गाको खरिद बिक्रि पनि शेयर मार्केटको मोडलमा लैजानुपर्नेमा महासंघले जोड दिएको बताउनुभयो ।
    उहाँले रियल स्टेट कम्पनीहरुले एउटा घडेरीमा घर बनिसकेपछि उपभोक्तालाई चाहिने सम्पूर्ण सुविधासहितको घडेरी विकास गर्ने भएकाले त्यस्ता कम्पनीहरुले विकास गरेको घडेरी अन्यको दाँजोमा केही महँगो पर्ने गरेको बताउनुभयो ।
    उहाँले ठूला ठूला व्यवस्थित विकसित शहर निर्माणमा सरकारले नीजि क्षेत्रसँग सहकार्य गर्नुपर्ने सुझाव समेत दिनुभयो । उहाँले शहर विकासमा नीजि क्षेत्रलाई जिम्मेवारी दिए विदेशी पुँजी ल्याउन सकिने र नयाँ नयाँ सिप समेत भित्र्याउन सकिने बताउनुभयो ।
    “कुनै स्थानमा नयाँ शहर विकास गर्ने हो भने त्यहाँ निश्चित मापदण्डसहितको नीति निर्माण गरी नीजि क्षेत्रका रियल स्टेट कम्पनीलाई साझेदार बनाउन सकियो भने विदेशी पुँजी सँगसँगै नयाँ नयाँ सिप भित्रिनुका साथै यहाँका जनशक्तिको क्षमता विकास र दक्षता विकासमा समेत टेवा पुग्न सक्छ,” उहाँले भन्नुभयो ।
    उहाँले सरकारले घरजग्गाको कारोवार कम्पनी मार्फत गर्ने नीति ल्याएपनि ऐन नियम निर्माण गर्न नसक्दा कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले घरजग्गा कारोवारलाई चलायमान बनाउन राज्यका ७५३ वटै स्थानीय तहले छिटो भन्दा छिटो भूउपयोग नीति निर्माण गरी सो सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिनुभयो ।

    तस्विर सौजन्य ः आशिष पौडेल

     

     

  • नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नतीका लागि कोरिया सरकारको १ अर्ब २५ करोड सहयोग

    भक्तपुर, असार २६
    विपन्न वर्गका नागरिकहरुको विश्वव्यापी स्वास्थ्य पुहँच हासिल गर्नका लागि चिकित्सा सेवाको क्षमता अभिबृद्धि परियोजना अन्तर्गत दक्षिण कोरियाली सरकारले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नतीका लागि ९ दशमलव ५ मिलियन डलर अर्थात एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायता प्रदान गरेको छ ।
    सो सम्बन्धमा मंगलवार अर्थ मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र दक्षिण कोरिया सरकारका तर्फबाट नेपालस्थित कोरियाली राजदुत पार्क ते–योङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
    सो अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत विजयराज सुवेदी, नेपाल कोरिाय मैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक डा. डि.के. रौशन, कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका)का प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


    गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार, कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने र भक्तपुरमा विश्व्व्यापी स्वास्थ्य पहुँच लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बिमा लक्ष्यका साथै कोइका मार्फ ५ वर्ष (सन् २०२७ सम्म्मा पुरा हुने) यस योजनाका लागि ९.५ अमेरिकी डलर खर्च गरिनेछ ।
    यो परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुर थिमि नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्नेछ ।
    सो सहयोगबाट कोइकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नती गरी अस्पतालको छेउको जग्गामा १५० शैयाको अस्पताल भवन निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीहरुको क्षमता विकास गर्नेछ । प्रभावकारी सेवा प्रवाहका लागि अस्पतालका पुराना र नयाँ भवनहरु आपसमा जोडिनेछ ।


    सम्झौतापछि मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठले कोरियाली सरकारको सहयोगले मध्यपुर थिमि नगरबासी मात्र नभई भक्तपुर जिल्ला र आसपासका जिल्ला बासीले समेत गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्दै आएको बताउनुभयो ।
    उहाँले यस चालु आर्थिक वर्ष मात्रै नगरपालिकाले अस्पतालको स्तरबृद्धिका लागि १३ करोड रुपैंया खर्च गरेको जानकारी दिँदैं प्राप्त सहयोगले यहाँका जनता थप लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अस्पतालमा सिटी स्क्यान मेसिन जडान भइसकेको, ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य बिमा मार्फत स्वास्थ्य सेवा उपलब्ध गराउँदैं आएको र अस्पतालको उत्कृष्ट सेवाकै कारण दैनिक ८ सय सेवाग्रहीलाई अस्पतालले सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
    हस्ताक्षर समारोहमा अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले कोरियाली सरकारको सहयोग स्वीकार गर्दै कोरिया नेपालको निकै नजिकको विकास साझेदारको रुपमा रहँदै आएको बताउनुभयो । उहाँले दुई देशबीचको जनस्तरको सम्बन्धको प्रशंसा समेत गर्नुभयो ।


    कोइकाका निर्देशक कोङ मूहओनले कोइकाले नेपालमा विभिन्न स्वास्थ्य परियोजनाहरु कार्यान्वयन गरेको र हरेक परियोजनाको आफ्नै विशिष्ट उपलब्धी रहेको बताउनुभयो । उहाँले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको दोस्रो चरणको विकासले सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने र भक्तपुर लगायत आसपासका जिल्लाका गरिव तथा जोखिममा परेका जनतालाई विशेषीकृत स्वास्थ्य सेवामा सहज पहुँच हुने बताउनुभयो ।
    राजदुत पार्क ते–योङले नयाँ अस्पताल सर्वसाधारणका लागि निक्कै उपयोगी हुने बताउँदैं यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले सो कार्यक्रममा नेपाल र कोरियाबीचको द्धिपक्षीय कुटनीतिक सम्बन्धको ५० औं वर्षगाँठ मनाउन ईच्छुक भएको जनाउनुभयो ।
    अर्थ सचिव अर्जुनप्रसाद पोखरेलले दुईदेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिबृद्धि गर्ने साझेदारीका लागि गणतन्त्र कोरिया सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले यस आयोजनालाई सफल कार्यान्वयनका लागि पूर्णरुपमा सहयोग गर्ने विश्वास दिलाउनुभयो । साथै उहाँले भविष्यमा पनि दुई देशबीच यस्तै सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।

  • मध्यपुर थिमिले आयोजना गरेको मेलामा ५० जनाले गरे रोजगारी पक्का, ४८० जनाको विवरण संकलन

    भक्तपुर, असार १६
    मध्यपुर थिमि नगरपालिकाले शनिवार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्रांगणमा आयोजित वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलामा करिव ५० जनाको रोजगारी पक्का भएको छ । मेलामा राखिएका विभिन्न संघसंस्था, उद्योग, व्यवसायमा रहेको रोजगारीको अवसरमा आवेदन दिने मध्ये मेला स्थलमा नै ५० जनाको रोजगारी पक्का भएको हो ।
    मेलामा एक सय भन्दा धेरै रोजगारीको अवसरका लागि विभिन्न संघसंस्था, व्यवसाय र उद्योगले आवेदन माग गरेका थिए । जसमध्ये ४८० जनाले रोजगारीको लागि आवेदन दिएको मेला आयोजक समितिका संयोजक एवम् मध्यपुर थिमि नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले जानकारी दिनुभयो ।
    यस्तै मेलामा रोजगारी प्रदान गर्न ईन्स्योर परियोजनाले ६, भक्तपुर चेम्वर्स अफ कम्मर्सले ५०, पुर्ण हस्तकला संकलनले ५०, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७२, मध्यपुर उद्योग वाणिज्य संघले ११, जिल्ला सहकारी संघ भक्तपुरले ८, प्याव्सनले ११७, बालकुमारी महिला समाज मध्यपुर थिमिले ५०, रोजगारी सर्भिसेज प्रालिले ९८ जनाको व्यक्तिगत विवरण संकलन गरेको छ ।


    रोजगारीका लागि आवेदन दिनेहरुलाई मेलामा स्टल राख्ने संघसंस्था, व्यवसाय र उद्योगसँग समन्वय गरी रोजगारीको अवसर प्रदान गरिने आचार्यले बताउनुभयो ।
    मेलामा सबैभन्दा धेरै नीजि विद्यालयकोहरुको संस्था प्याव्सन भक्तपुरले ४१ जनाको लागि रोजगारीको अवसर राखिएको थियो । त्यसैगरी बालकुमारी महिला समूहले ३० र अन्य व्यवसायिक संघसंस्थाहरुले समेत गरी एक सय भन्दा धेरै रोजगारीको अवसर राखिएको थियो ।
    यसैगरी मेलामा राखिएको वृत्ति मार्ग निर्देशन परामर्शमा एक हजार ६५० जनाले परामर्श सेवा लिएको आचार्यले बताउनुभयो । मेलामा ३ हजार ३ सय जनाले अवलोकन गरेका थिए ।
    मेलामा नीजि उद्योगका १२, संघसंस्थाका ५, प्राविधिक विद्यालयका ८, खाना र स्वास्थ्य सेवाका गरी कुल ३४ स्टल रहेका थिए ।

     

  • कृषिप्रधान देशले धान मात्र होइन तरकारी समेत आयात गर्नुपर्ने परिस्थिती छ – सांसद थापा

    भक्तपुर, असार १५
    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कृषिप्रधान देशले धान मात्र होइन सम्पूर्ण अन्नबाली र तरकारी समेत आयात गर्नुपर्ने परिस्थिती रहेको बताउनुभएको छ । नेपाल किसान महासंघ भक्तपुर जिल्ला समितिले राष्ट्रिय धान दिवसको अवसरमा शुक्रवार मध्यपुर थिमिको कमेरोटारमा आयोजित रोपाईं महोत्सवमा सांसद थापाले शहरीकरण र आधुनिकीकरणका कारण सम्पूर्ण वस्तुमा परनिर्भर बन्नु परेको बताउनुभएको हो ।
    उहाँले किसानले सहज तरिकाले अझै मल पाउन नसक्नु दुःखद भएको बताउँदैं किसानलाई सहज रुपमा मल तथा बिउविजन उपलब्ध गराउने दायित्व सरकारको भएको बताउनुभयो ।
    “असार १५ राष्ट्रिय धान दिवसको अवसरमा पनि किसानहरु मलको लागि चिन्तित बन्नु परेको छ । किसानलाई आवश्यक मलखाद उपलब्ध गराउने दायित्व सरकारको हो । त्यसैले सरकारले छिटो भन्दा छिटो मलको सहजरुपमा पाउने वातावरण बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।
    उहाँले संसदमा सबै दलका नेताहरुले समस्या पोख्ने तर समाधानका उपायका बारेमा छलफल नै नहुने गरेको भन्दै गुनासो समेत राख्नुभयो ।


    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले शहरीकरण विकासले खेतीयोग्य जमिन मासिँदैं गएको बताउँदैं सरकारले कृषि उत्पादनको बजारीकरणका साथै उत्पादनको सही मूल्य पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले डोल क्षेत्र, हरियाली क्षेत्र घोषणा गरी घर निर्माण रोक्का राखेको स्थानका जग्गाधनीहरु स्वयम् जग्गा एकिकरण आयोजना सञ्चालन गरी घडेरी विकास गर्नुपर्ने माग गर्न थालेको बताउनुभयो । उहाँले किसानहरुलाई सहज ढंगले मल, विउविजन उपलब्ध गराउने तर्फ सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
    नेपाली कांग्रेसका नेता अष्ट कवेले सरकारले दिने अनुदान वास्तविक किसानले भन्दा जग्गा भाडामा लिएर खेती गर्ने व्यवसायिक किसानले पाउने गरेको बताउनुभयो । उहाँले हाइब्रिड विउबिजनले गर्दा स्थानीय जातको कृषि उत्पादन लोप हुँदैं गएको बताउनुभयो ।
    नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति गणेशमान चक्रधरले किसानलाई समयमा मल बिउविजन उपलब्ध गराउने कार्यको नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो ।


    महेश श्रेष्ठले स्थानीय तहले भुमीलाई आवसिय र व्यवसायिकमा वर्गिकरण गर्ने तर किसानहरुका हकहितको कुरा गरेर दोहोरो भूमिका खेल्न नहुनेमा जोड दिनुभयो ।
    नेपाल किसान महासंघ भक्तपुर जिल्ला अध्यक्ष ईन्द्रबहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल किसान महासंघका केन्द्रीय सदस्य रामगोपाल न्यौपाने, नेपाली कांग्रेसका विभिन्न तहमा रहेका पदाधिकारी, नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

  • व्यवसायीलाई जु जु धौको माग धान्ने चटारो, साविक भन्दा चार गुणा माग

    लक्ष्मी गारु, भक्तपुर, असार १५
    मानो रोपेर मुरी फलाउन रोपाईंमा मस्त हुनुपर्ने असार महिना । हिलो माटोमा पौंठेजोरी खेल्दै लडिबुडी गर्दा हुने थकानमा पनि बेग्लै खालको आनन्दको अनुभुती हुने बेला हो असार । यही असारको मध्य दिन अर्थात असार १५ रोपाईं गर्दै हर्षोल्लासका साथ खुसी साटासाट गरी दही चिउरा खाएर रोपाईं महोत्सव मनाउने दिन पनि हो ।
    सरकारले राष्ट्रिय धान दिवसको रुपमा समेत मनाउन थालेपछि असार १५ को महत्वले अझ बढी व्यापकता पाएको छ । धानबाली नेपालको प्रमुख बाली हो । धानलाई मात्र अन्न मान्ने परम्परा समेत रहेको नेपालमा रोपाईंलाई एउटा पर्वकै रुपमा लिने गर्दछ । त्यसैले रोपाईंमा बाजागाजासहित गित गाउने रोपाईं सकेपछि भोज गर्ने प्रचलन समेत रहेको छ ।
    गाउँका मुखिया, काजी र ठूलाबडाले रोपाईंलाई ठूलो पर्वको रुपमा मनाउने नेपाली समाजमा अन्य साना किसानहरुले समेत रोपाईंलाई पर्वको रुपमा मनाउन असार १५ मा दही चिउरा खाने परम्पराको विकास भएको संस्कृतिकर्मीहरुको भनाई रहेको छ । त्यसैले असार १५ मा दहीको माग अत्याधिक हुने गर्दछ ।


    असार १५ को यही मागलाई धान्न भक्तपुरका दही व्यवसायीलाई अहिले चटारो परेको छ । भक्तपुर दहीको उपत्यका मात्र नभएर मुलुक बाहिर समेत प्रख्यात छ । यहाँ उत्पादन हुने मौलिक र परम्परागत जुजु धौ को स्वाद र गुणस्तरका कारण यो अत्याधिक लोकप्रिय रहेको छ । एक पटक यसको स्वाद चाखेको व्यक्तिले हत्तपत्त अन्य दही खान मन नपराउने भएकाले यसको माग उच्च छ ।
    असार १५ कै लागि साविकको तुलनामा चार गुणा बढी जु जु धौ उत्पादन गर्नु परेको व्यवसायीहरु बताउँछन । भक्तपुर नगरपालिका–२ व्यासीस्थित आर एस जुजु धौ सप्लार्यसका रिना सुवालले असार १५ को लागि कम्तीमा पनि ७ हजार लिटरको दही उत्पादन गरेको बताउनुभयो । उहाँले अन्य दिन बढीमा २ हजार लिटर दुधको जुजु धौ उत्पादन गर्दै आउनुभएको बताउनुभयो ।
    भक्तपुर नगरपालिका–३ बंशगोपाल श्री बाराही जुजु धौ भण्डारका व्यवसायी राधेश्याम कर्माचार्यले असार १५ का लागि तीन दिन अघिदेखी जु जु धौ तयारी गरिरहेको बताउनुभयो ।
    असार १५ का लागि एक साता अघिदेखी जु जु धौको अर्डर आउने गरेको बताउँदैं एक साता अघिदेखी दुध संकलन र आवश्यक भाँडाको जोहो गर्ने चटारो पर्ने गरेको बताउनुभयो । उहाँका अनुसार जु जु धौ को लागि कम्तिमा ५÷६ प्रतिशत फ्याट भएको दुध आवश्यक हुन्छ तर बजारमा त्यति गुणस्तरको दुध पाउन मुस्किल हुने गर्दछ ।


    भक्तपुरमा जुजु धौ व्यवसायी करिव डेढ सयको हाराहारीमा छन । ती व्यवसायीले औसतमा दैनिक २५÷३० हजार लिटर दुधको जुजु धौ उत्पादन गर्दै आइरहेको छ । असार १५ मा जुजु धौ को माग उच्च हुने गरेकोले कम्तीमा एक लाख लिटर दुध आवइश पर्ने भक्तपुर जुजु धौ व्यवसायी संघका अध्यक्ष कृष्ण गोपाल सैजुले बताउनुभयो ।
    जुजु धौ व्यवसायीले पहिले पहिले भक्तपुरका ग्रामिण भेग र आसपासका काठ क्षेत्रबाट दुध संकलन गरी दही उत्पादन गर्दै आएका थिए । पछिल्लो सयम बढ्दो शहरीकरणले भैंसी पालन व्यवसाय लोप हुँदै गएपछि जुजु धौ व्यवसायीहरुले अहिले धुलिखेल, कुशादेवी, चितवन, नारायणघाट, झापा, बुटवल र नेपालगञ्जसम्म पुगेर दुध संकलन गरी ल्याउने गरेको सैंजुले जानकारी दिनुभयो ।
    जुजु धौ बनाउन डेरीको सामान्य दही बनाउन भन्दा धेरै समय, परिश्रम र लगानी आवश्यक पर्छ । जुजु धौ बनाउन दुधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदैं कराईमा उमाल्नुु पर्दछ । दुध उमाल्दा एक क्यान बराबर ४ केजी चिनी हालेर नडढने गरी चलाउँदै राम्रोसँग उमाल्नुपर्छ । उमाल्न पुगेपछि भुसमाथि राखेको माटोको कटारामा पहिले कटाराको आधा भाग मात्र दुध राख्नु पर्दछ । उक्त दुध सेलाएर ४० डिग्रि तापक्रममा पुगेपछि बाँकी आधा भागमा दुध भरी हालेर धौ पुसा (दहीको बिऊ÷जोरन) राखिन्छ । त्यसपछि दही जमाएको कटारामाथि अर्को कटाराले छोपेर त्यसको माथि न्यानो हुनेगरी सिरक र जुटको बोराले छोपेर राख्नु पर्दछ । यसरी छोपेर राखेको ५ घण्टामा जुजु धौ तयार हुन्छ । त्यसपछि चिसो पार्न फ्रिजमा राखिन्छ ।
    परम्परागत शैलीमा दही उत्पादन गरे माग धान्न निकै गाह्रो भएकोले छिटो जमाउनका लागि व्यवसायीहरुले पछिल्लो समय आधुनिक प्रविधि अँगाल्न थालेका छन । पहिला जस्तै दाउरा नभएर ग्यासमा दुध उमालेर बट्टा वा कटरामा राखेपछि ४० डिग्रि तापक्रम भएको बेला हट एण्ड कोल्डमा राखेर दही जमाउने गरिएको आर एस जुजु धौ सप्लार्यसका रिना सुवालले बताउनुभयो ।
    जुजु धौंको प्रमुख विशेषता चक्कुले टुक्रा टुक्रा पारेर काट्न मिल्नु हो । माटोको कटारोको दहीलाई घोप्ट्याएपनि नपोखिने यसको अर्को विशेषता हो । यस्तो विशेषता भएको जुजु धौ दही मात्र नभई भक्तपुरको पहिचान बनिसकेको छ । भक्तपुरको दहीले मल्लकालिन समयदेखी जुजु धौं अर्थात राजा दहीको उपमा पाएको संस्कृतिविदहरु बताउँछन । जुजु धौंको स्वाद र गुणस्तर नेपालमा मात्र होईन विदेशमा समेत प्रख्यात छ । त्यसैले भक्तपुर आउने आन्तरिक पर्यटक मात्र होईन विदेशी पर्यटकले समेत जुजु धौ को स्वाद लिएर मात्र फर्कने गर्दछन ।
    जुजु धौको मौलिकता पहिलो यसको स्वाद हो भने दोस्रो माटोको भ्यगः अर्थात कटारो हो । असार १५ मा दही चिउरा खाने परम्परा राष्ट्रिय पर्वको रुपमा विकास भैसकेको छ । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार असार १५ मा दहि चिउरा खाने चलन लिपिवद्ध गरेको इतिहास नभएको बताउनुभयो । उहाँले असारमा माना रोपेर मुरी फलाउने महिना भएकाले यस महिनाको आधासम्ममा रोपाई सकिएको सन्देश मुलुकभर फैलाउन दही चिउरा खाने पर्वको रुपमा विकास भएको बताउनुभयो । अर्को कुरा शरिरको पुरै बल यो रोपाईको समयमा खर्चिने हुँदा त्यसको परिपुर्तीको लागि पनि दही चिउरा खाने परम्परा थालेको बताउनुभयो ।

     

     

     

     

     

     

  • सूर्यविनायकमा आजदेखी घरेलु, कृषि तथा पर्यटन मेला, प्रवेश निःशुल्क

    भक्तपुर, असार १५
    भक्तपुरको सूर्यविनायक नगरपालिका–८, आदर्शचोकस्थित हरित कृषि बजारमा आजदेखी तीन दिन घरेलु, कृषि तथा पर्यटन मेला सञ्चालन हुने भएको छ । घरेलु तथा साना उद्योग संघको संयोजन, भक्तपुर पर्यटन विकास समितिको प्रवद्र्धन र सूर्यविनायक नगरपालिकाको आयोजनामा मेला सञ्चालन भएको हो ।
    मेलामा ९० वटा स्टलहरु रहने सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो । मेलाले घरेलु उद्योगका परम्मपरागत तथा मौलिक उत्पादन र सीप उजागर गरिने उहाँले बताउनुभयो ।
    स्थानीय मौलिक उत्पादनहरु ( जुजु धौ, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाडाँकुडाका उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्ठकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु, मौलिक नेवारी खाजा, समय बजी, यमरी, चटामारी, बारासहितको फुड फेष्टिवल मौलिक एवं परम्परागत साँस्कृतिक प्रस्तुती, स्थानीय गायक गायिकाको साङ्गितिक प्रस्तुती मेलामा रहने उहाँले बताउनुभयो ।
    मेलामा १० हजारले अवलोकन गर्ने र करिव ५ करोडको कारोवार हुने अपेक्षा गरिएको नगरप्रमुख बासुदेव थापाले बताउनुभयो । थापाले दिगो विकास व्यवस्थित शहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर भन्ने दीर्घकालीन सोच अनुसारको लक्ष्य प्राप्तिको लागि मेला आयोजना गरिएको बताउनुभयो ।
    भौतिक पुर्वाधारको विकासमा मात्र जोड दिँदा उद्योग व्यवसाय, कृषि र पर्यटन क्षेत्र ओझेलमा पर्न थालेको होकी भन्ने अनुभुती भएकाले यी क्षेत्रको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको उहाँले बताउनुभयो ।
    बजार र उपभोक्तालाई जोड्न मेलाले सहयोग गर्ने विश्वस व्यक्त गर्दे नगर प्रमुख थापाले मेला नाफामुखी नभई नगरपालिकाका उद्योगी व्यवसायी र उपभोक्ता दुवै पक्षलाई उत्तिकै लाभ पुर्याउने उदेश्यले आयोजना गरिएको बताउनुभयो । मेलामा आर्थिक विषय मात्र नभएर घरेलु, कृषि र पर्यटन क्षेत्रमार्फत सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासमा खेल्न सकिने भूमिकाका बारेमा छलफल, विचारविमर्श र सरोकारवालासँग अन्तक्र्रिया समेत आयोजना गरिने उहाँले बताउनुभयो ।
    मेला आयोजक समितिका संयोजक एवम् सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले मेलाबाट समग्र सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सूर्यविनायक नगरपालिका क्षेत्रको उत्पादन स्थानीय, प्रादेशिक तथा राष्ट्रिय हुदै अन्तर्राट्रिय स्तरसम्म पुहँच अभिवृद्धि गर्न समेत यसले कडीको रुपमा काम गर्ने उहाँले बताउनुभयो ।
    यस्तो प्रकारको मेला सूर्यविनायक नगरपालिकाको लागि पहिलो अनुभव भएकोले मेलामा जोडिन र सवै क्षेत्रबाट नगरपालिकाको यो प्रयासलाई साथ दिन आयोजकले आम जनसमुदायलाई अपिल समेत गरेको छ ।

     

  • सूर्यविनायकले मिडिया क्षेत्र परिचालन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने

    भक्तपुर, असार १३
    सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटमा स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन गर्ने नीति लिएको छ । नगरपालिकाले त्यसका लागि मिडिया क्षेत्र परिचालन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको छ । त्यसका लागि नगरपालिकाले २५ लाख रुपैंया विनियोजन गरेको नगरप्रमुख बासुदेव थापाले बताउनुभयो ।
    उहाँले नेपाल पत्रकार महासंघ र विभिन्न सञ्चारकर्मीहरुको सुझावमा आगामी वर्ष मिडिया परिचालन नीति तर्जुमा गर्ने नीति लिएको बताउनुभयो । उहाँले महासंघको भवन निर्माणका लागि समेत आवश्यक बजेट दिने प्रतिवद्धता जनाउनुभयो । “बजेटमा विनियोजन गरेको छैन कसरी भवन बनाउन बजेट दिन्छ भन्नुहोला । महासंघले भवन बनाउन शुरु गर्नुहोस । कार्यपालिका बैठकबाट निर्णय गरेर आवश्यक सहयोग गर्नेछु,” उहाँले भन्नुभयो ।
    यसैगरी सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि २ अर्ब १० करोड ५० लाखको बजेट विनियोजन गरेको नगर प्रवक्ता एवम् वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले बताउनुभयो । जसमध्ये १ अर्ब ११ करोड ९२ लाख ३३ हजार पुँजीगततर्फ र ९८ करोड ५७ लाख ६७ हजार चालुखर्च रहेको छ ।


    खर्च व्यहोर्ने स्रोत मध्ये राजश्व परिचालनबाट २८ करोड ९८ लाख, घरजग्गा रजिष्ट्रेसनबाट ३८ करोड, चालु आर्थिक वर्षको वचतबाट ४० करोड, नगद लागत सहभागिताबाट ३ करोड ७१ लाख ३८ हजार, संघ र प्रदेशबाट प्राप्त वित्तिय समानीकरण अनुदान २१ करोड ६६ लाख ७६ हजार, संघ र प्रदेशबाट प्राप्त सशर्त अनुदान ३८ करोड १२ लाख ९४ हजार, प्रदेशबाट प्राप्त विशेष अनुदान ५० लाख, संघ तथा प्रदेशको राजश्व बाँडफाँडबाट १५ करोड ५५ लाख ७२ हजार समपुरक योजना कार्यान्वयनको लागि जिल्ला समन्वय समिति र प्रदेशबाट ३ करोड, सामाजिक समपुरक कार्यक्रमबाट १७ करोड ३२ लाख २० हजार, सडकबोर्डबाट ६३ लाख प्राप्त हुने सापकोटाले जानकारी दिनुभयो ।
    सूर्यविनायकले शिक्षा तथा खेलकुदमा २५ करोड ९७ लाख ६८ हजार, स्वास्थ्यमा ८ करोड ३२ लाख ३० हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ९० लाख ५० हजार, युवा खेलकुद ४ करोड २१ लाख, कृषि २ करोड ३७ लाख ७५ हजार, महिला, बालबालिका, विपन्न्, अपांगता र ज्येष्ठ नागरिक एक करोड २१ लाख १६ हजार, नगर अस्पताल सञ्चालन र व्यवस्थापन ९ करोड ५४ लाख, सबै प्रकारका पूर्वाधारमा ६३ करोड विनियोजन गरेको छ ।

     

     

  • स्थानीय उत्पादनको प्रवद्र्धनका लागि भक्तपुरमा ३ दिने मेला हुने

    भक्तपुर, असार १२
    भक्तपुरमा यही असार १५, १६ र १७ गते तीन दिन घरेलु, कृषि तथा पर्यटन मेला हुने भएको छ । सूर्यविनायक नगरपालिकाको आयोजना, भक्तपुर पर्यटन विकास समितिको प्रवद्र्धन र घरेलु तथा साना उद्योग संघको संयोजनामा मेला आयोजना हुन लागेको हो ।
    मेलामा भक्तपुरमा उत्पादित घरेलु तथा कृषि उत्पादन एवं नेवारी खानाका परिकारका स्टल हुनेछ । मेलामा ९५ भन्दा बढी स्टलहरू रहने सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नम्वर ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।
    “नगरपालिकाले विभिन्न स्वरोजगारका कार्यक्रम साथै सीपमूलक तालिम दिँदै आएको छ, नगरपालिकाको उपलब्धि साथै कृषि, पर्यटन तथा घरेलु उद्योगबाट उत्पादन भएका सामग्रीलाई बजारीकरणमा सहजताका लागि मेलाको आयोजना गरिएको हो,” उहाँले भन्नुभयो ।
    नेपाली उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले बताउनुभयो । “नेपाली उत्पादनको प्रयोग गरौँ स्थानीय उत्पादनलाई प्राथमिकता दिऊँ भन्ने उद्देश्यले मेला आयोजना गरिएको हो,” उहाँले भन्नुभयो । नेपालको कुल गार्हस्थ्य उत्पादनको ठुलो हिस्सा ओगटेको साना तथा घरेलु उद्योगका उत्पादनलाई नेपाली माझ चिनाउन मेला आयोजना गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
    मेलामा घरेलु, कृषि, पर्यटन, हस्तकला, काष्ठकला, धातुकला, विद्युतीय सामग्रीहरू, सहकारी, बैङ्किङ, शिक्षा, नेवारी खानाहरु योमरी, चटामरी, समय बजी, बारा, च्याउको छ्वायला तथा च्याउका विभिन्न परिकारहरू समेटिने खर्बुजाले जानकारी दिनुभयो ।
    भक्तपुर जिल्लाका स्थानीय उत्पादन विशेष गरी सूर्यविनायक नगरपालिकाका स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्नको लागि उक्त मेलाको आयोजना गरिएको भक्तपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष राम सुन्दर भेलेले जानकारी दिनुभयो । उहाँले भक्तपुरका घरेलु, रैथाने उत्पादनसँग पर्यटन जोड्न नसके पर्यटन उद्योग र घरेलु उद्योग दुवै धरासायी बन्न सक्ने खतरा रहेको बताउनुभयो ।
    मेला सूर्यविनायक नगरपालिका वडा नम्वर ८ स्थित हरित कृषि थोक बजार आदर्श चोकमा हुने छ । मेलामा भक्तपुर साङ्गीतिक समाजले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्ने साङ्गीतिक समाजका अध्यक्ष प्रवीण शाहीले जानकारी दिनुभयो ।

     

     

  • मध्यपुर थिमिको २ अर्ब ९९ करोड ४० लाखको बजेट सार्वजनिक, वडा बजेट वडाबाटै खर्च गर्न सकिने

    भक्तपुर, असार १०
    मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि २ अर्ब ९९ करोड ४० लाख २९ हजार २ सय रुपैंयाको बजेट सार्वजनिक गरेको छ । मध्यपुर थिमि नगरपालिकाको आइतवार शुरु भएको नगरसभाको ८ औं अधिवेशनमा उपप्रमुख विजयकृष्ण श्रेष्ठले सो बजेट वक्तव्य सार्वजनिक गरेको हो ।
    प्रस्तुत बजेटमा आन्तरिक आम्दानी मौज्दात समेत ६३ करोड, राजश्व बाडफाँड संघीय र प्रदेश ३१ करोड, २२ लाख ९३ हजार २ सय, समानिकरण प्रदेश सरकार २ करोड २९ लाख ५० हजार, समानिकरण संघीय सरकार २० करोड ८० लाख, सशर्त अनुदान चालु र विशेष संघीय सरकार २६ करोड ६० लाख, सशर्त अनुदान पुँजीगत संघीय सरकार एक करोड ४० लाख, सशर्त अनुदान संघीय समपुरक अनुदान २ करोड ३० लाख, नगद लागत सहभागिता ६० लाख, सशर्त अनुदान प्रदेश सरकार समपुरक अनुदान ३ करोड र सशर्त अनुदान चालु र विशेष अनुदान प्रदेश सरकार ४ करोड ६९ लाख १० हजार आम्दानी हुने उल्लेख छ ।


    यसैगरी नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ४४ करोड ४ लाख ३ हजार, कमेरोटार जग्गा एकिकरण ५६ करोड ९१ लाख ५२ हजार, सिन्टीटार जग्गा एकिकरण आयोजना २१ करोड ८३ लाख २१ हजार, सामाजिक सुरक्षा भत्ता २० करोड र सडक बोर्ड नेपाल ७० लाख रुपैंया रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
    खर्चतर्फ सशर्त चालु र विशेष अनुदान संघीय सरकार २७ करोड ६० लाख, सशर्त अनुदान पुँजीगत संघीय सरकार १४ करोड, सडक बोर्ड समपुरक र म्याचिङ्ग अनुदान ४६ करोड, प्रशासनिक तथा कार्यालय सञ्चालन खर्च र कार्यक्रम खर्च १८ करोड १९ लाख ६२ हजार, विषयगत कार्यालय र नगरपालिका कार्यक्रम १८ करोड ६४ लाख ६६ हजार, वडा बजेट १ देखी ९ सम्म १८ करोड ९ लाख, सशर्त अनुदान चालु प्रदेश सरकार ४ करोड ६९ लाख १० हजार, सशर्त अनुदान प्रदेश सरकार समपुरक अनुदान ३ करोड, नगरस्तरीय प्रशासनिक भवन तथा वडा प्रशासनिक भवन निर्माण ७ करोड, सार्वजनिक निर्माण खर्च ५२ करोड ९ लाख १५ हजार २ सय र नगद लागत सहभागिता ६० लाख खर्च हुने अनुमान गरिएको छ ।
    उपप्रमुख श्रेष्ठले दिगो विकासको लागि आर्थिक, सामाजिक, साँस्कृतिक र भौतिक पुर्वाधार तया गर्ने, सेवा प्रवाहमा जनताको सहज पहुँच अभिबृद्धि गर्ने, संस्थागत क्षमता विकास र सुदृढीकरणमा जोड दिने, लक्षित एवम् समावेशी विकासलाई आत्मसाथ गर्ने र शिक्षा, स्वास्थ्य, रोजगारी जनताको पहुँचमा पु¥याउने उद्देश्यले बजेटले लिएको बताउनुभयो ।


    बजेटमा स्वास्थ्य कार्यक्रमको लागि ६ करोड ४४ लाख, नेपाल कोरिया मैत्री नगरपालिकाको पुर्वाधार विकासका लागि ४ करोड, नगरपालिकाका वडाहरुमा उज्यालो नगर अभियानका लागि ३ करोड ५० लाख, शिक्षामा सबैको पहुँचका लागि २० लाख, शिक्षा तथा खेलकुद कार्यक्रमको लागि ७ करोड ७ लाख ४१ हजार, सूचना प्रविधि कार्यक्रमका लागि एक करोड ४० लाख विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
    बजेट मार्फत मध्यपुर थिमिले वडा बजेटको खर्च गर्ने अख्तियारी वडालाई दिने नीति लिएको छ । वडा बजेटबाट विनियोजित वडा स्तरिय योजना सञ्चालन गर्दा बजेट स्विकृती र कार्यान्वयनका लागि नगरपालिका जानुपर्ने बाध्यता अन्त्य गरी उपभोक्ता समितिलाई वडाबाटै कार्य सम्पादन गर्ने उद्देश्यले वडालाई खर्च गर्ने अख्तियारी दिने तयारी गरेको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
    त्यसका लागि बजेटमा नगरपालिकाको संगठन संरचनामा वडा सचिव अधिकृत स्तर छैंटौं र लेखा सहायकको पनि दरवन्दी रहेकोले आ. व. २०८०÷०८१ देखी वडालाई दिइएको सिलिङ अनुसारको बजेट र कार्यालय सञ्चालन खर्च सम्बन्धीत वडाबाटै हुन सुत्र प्रणालीमा अपडेट गर्न महालेखा नियन्त्रक कार्यालयमा अनुरोध गर्ने व्यवस्था गरिएको छ ।